निर्णय नं. १०४२० - कर्तव्य ज्यान, जबरजस्ती करणी ।

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७६।१२।३
मुद्दाः कर्तव्य ज्यान, जबरजस्ती करणी ।
०७१-CR-००४१
पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं.२ बस्ने शिवजी महतोको छोरा साहेव महतोसमेत
०७५-RC-०१७२ / ०७६-FN-०२२९
पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं. २ बस्ने पल्टु मुखियाको छोरा विरेन्द्र मुखिया विन
०७४-RC-०१५५
पुनरावेदक / वादी : मोटरदास भन्ने रामजी दास तत्माको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बारा, छाताप्रिया गा.वि.स. वडा नं. २ बस्ने शिवजी महतोको छोरा साहेव महतो
गम्भीर प्रकृतिको सजाय हुने मुद्दामा कुनै कारणबाट सम्बन्धित प्रतिवादी उपस्थित हुन नआएको स्थितिमा पनि निजको प्रतिवाद गर्नेसम्बन्धी स्वच्छ सुनुवाइ (Fair trial) को अधिकार सुरक्षित हुन सकोस भन्ने अभिप्रायले न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) मा प्रावधान व्यवस्थित गरिएको देखिन्छ । स्वच्छ सुनुवाइको मान्यताअनुसार यो प्रावधान ऐनमा समावेश भएको हो र यसलाई नेपालको संविधानको धारा २०(९) को सापेक्षतामा पनि हेर्न सकिन्छ । तसर्थ प्रतिवादीकी आमाले मुद्दामा अनुपस्थित रहेको छोराको हकमा भनी पेस गरेको निवेदन बेहोरालाई समेत हेरी, सोलाई समेत जानकारीमा लिई न्याय निरूपण गर्नु पर्ने ।
(प्रकरण नं.३)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री मन्जुल गौतम
अवलम्बित नजिर :
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०७३
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री अवधविहारी सिन्हा
बारा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
मा. न्यायाधीश श्री जीवनहरि अधिकारी
माननीय न्यायाधीश श्री उमेशकुमार सिंह
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
जिल्ला बारा, छातापिप्रा गा.वि.स. वडा नं. १ स्थित सरेसवा खोला जमीनमा निलो रंगको च्यादर विच्छाई सुतेको अवस्थामा मृत अवस्थामा रामदुलारी दासको लास रहेको, मृतक नजिकै कलेजी रंगको चप्पल मिलाएर राखेको, टाउको मुनि तथा वरपर रगत बगेको, रगतको छिर्का उछिटिएको, मृतक लासको बायाँ गाला निलो भई फुलेको, नाकबाट रगत बगेको, बायाँ कानको लोती काटी रगत बगेको, निधारमा अं. ७ इन्च गोलाईको कडा वस्तुले प्रहार गरी छाला च्यातिई सोबाट रगत बगी अनुहारमा लागेको, योनि वरपर तरल पदार्थ देखिएको भन्ने बेहोराको घटनास्थल लासजाँच मुचुल्का ।
मिति ०६७।११।४ गते राति मेरो छोरी रामदुलारी देवीलाई छोरीले प्रयोग गरेकै ९८१५२८२६७१ नं. को मोबाइलमा को-कसले सम्पर्क गरी बोलाई घटनास्थलमा लगी कर्तव्य गरी मारेको हुँदा अपराधीलाई पत्ता लगाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मृतककी आमा भागमती देवी दासको कागज र सोही बेहोराको मृतकको बुबा रामजी दासको जाहेरी दरखास्त ।
मिति २०६७।११।४ गते जिल्ला बारा, छातापिप्रा गा.वि.स. वडा नं. ६ बस्ने वर्ष २५ की रामदुलारी दासलाई कर्तव्य गरी मारेको घटना सम्बन्धमा गोप्य रूपमा बुझ्दै जाँदा मिति २०६७।११।३ गते बेलुका निज मृतकले प्रयोग गर्ने गरेको मो.नं. ९८१५२८२६७१ मा पटक पटक ९८४५०९४८४६ मो.नं. प्रयोग गर्ने साहेव महतोले फोन गरी बोलाई घटनास्थलमा लगी निजलाई कर्तव्य गरी मारेको बुझिन आएकोले निजलाई पक्राउ गरी निजको उक्त मोबाइलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि पेस गरिएको बेहोराको प्र.ना.नि. भीमबहादुर थापाको प्रतिवेदनपत्र ।
मिति २०६७।११।३ बेलुका निज रामदुलारी दासलाई मसँगै भएको मोबाइलले फोन गरी बोलाई घटनास्थलमा लगी म तथा विरेन्द्र मुखियाले पालैपालो करणी गरी निजलाई मुङ्ग्राले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारेको हौं, उक्त मुङ्ग्रा खोलामा फालिदिएको भन्नेसमेत बेहोराको प्रतिवादी साहेव महतोले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मृतक रामदुलारी दासलाई प्रतिवादी साहेव महतो र विरेन्द्र मुखियाले प्रहार गरी कर्तव्य गरी मार्ने कार्यमा प्रयोग गरेको १ फिट लामो भएको बाँसको मुङ्ग्रो छातापिप्रा १ स्थित नदीमा फेला परेको भन्नेसमेत बेहोराको बरामदी मुचुल्का ।
मिति २०६७।११।३ गतेको बेलुका घरमा खाना खाई सुतेँ, भोलिपल्ट विहान गाउँघरबाट सरेसवा खोलामा दिशा गर्न जाने महिलाहरूले गाउँको रामदुलारी दासलाई कर्तव्य गरी मारेको अवस्थामा लास देखी होहल्ला गरेको सुनी गई लास देखेको
हो । निजलाई को कसले कर्तव्य गरी मारेको हुन थाहा छैन । पक्राउ परेको प्रतिवादी साहेव महतोसमेतसँग बोलचाल सम्पर्क राम्रो थियो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचल्का ।
मेरो छोरीलाई कर्तव्य गरी मार्नेहरूबारे बुझ्दै जाँदा पक्राउ परेको साहेव महतोसमेत मिली फोन गरी बोलाई घटनास्थलमा लगि कर्तव्य गरी मारेका हुन भन्नेसमेत बेहोराको रामजी दासको जाहेरी दरखास्त ।
मृतक रामदुलारी दासको टाउकोमा चोट लागि अत्याधिक रक्तश्राव भई मृत्यु भएको हो भन्ने शव परीक्षण प्रतिवेदन ।
प्रतिवादीहरू साहेव महतो र विरेन्द्र मुखियाले मृतक रामदुलारी दाससँग अनैतिक शारीरिक सम्बन्ध राखेको कारण महिनावारी रोकिएको छ घर लैजाउ भनेको कारण निज रामदुलारीलाई मार्ने योजना बनाई मिति २०६७।११।३ गते प्रतिवादी साहेव महतोको ९८४५०९४८४६ नं. को मोबाइलबाट रामदुलारीको ९८१५२३२६७१ नं. को मोबाइलमा पटक पटक फोन गरी एकान्त ठाउँ सरेसवा नदीको किनारमा रहेको बासको झ्याङ्गमा यौन सम्पर्कको लागि बोलाई शारीरिक सम्पर्क गरी प्रतिवादी विरेन्द्र मुखियाले यौन सम्पर्क गरी पूर्वयोजनाअनुसार माथिबाट अठ्याई राखेको अवस्थामा पहिलेदेखि लुकाई राखेको बाँसको मुग्रोले प्रतिवादी साहेव महतोले प्रहार गरी कर्तव्य गरी मारेको वारदात पुष्टि हुन आएको हुँदा उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. तथा जबरजस्ती करणीको १ नं. ३ र ३(क) नं. बमोजिमको कसुर अपराध हुँदा निज प्रतिवादी साहेव महतोलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम र जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम सजाय गरी ऐ. ३ (क) नं. बमोजिम थप सजाय हुन र प्रतिवादी विरेन्द्र मुखियाले ज्यान मार्ने योजना बनाई ज्यान मार्न संयोग पारिदिन मृतकलाई करणी गरी उठ्न नदिई अठ्याई राखी ज्यानसम्बन्धी महलको १ नं. र १३(४) नं. तथा जबरजस्ती करणी महलको १ नं. र ३(क) नं. को कसुर अपराध गरेकोमा निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. तथा प्रतिवादीहरू साहेव महतो र विरेन्द्र मुखियाबाट पीडितसँग आश्रित नाबालक छोरालाई पर्न गएको मानसिक तथा अन्य पीडासमेतलाई विचार गरी जबरजस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
जाहेरी बेहोरा झुट्टा हो । मेरो भाइ विदेश कतारमा रहेको, निजकी पत्नी माइतीमा रहेकी र मिति २०६७।११।३ गते निजको माइतीबाट फोन आई अचानक बिरामी परेको थाहा पाई म मोटरसाइकल लिई निजको माइती जिल्ला पर्सा, चिलझप्टी गाउँमा गएको थिए । निजलाई उपचार गर्न मोतियारी भारत लगेकोमा उपचारका लागि भर्ना गर्नु पर्ने भएकोले म पैसाको व्यवस्था गर्न घर भोलिपल्ट आइपुग्दा घटनाबारे थाहा भएको हो । मैले उक्त कार्य गरेको होइन । केही दिन अगाडी जंगलबाट दाउरा ल्याउँदा जितपुर प्रहरीले साइकल खोसेको विषयमा प्रहरीसँग मेरो वादविवाद परेकोमा प्रहरीले सोही रिसइवीले मलाई पक्राउ गरेको हो । सोबाहेक अन्य कारण छैन भन्नेसमेत बेहोराको प्रतिवादी साहेव महतोले बारा जिल्ला अदालतमा गरेको बयान ।
मउपरको अभियोग बेहोरा झुट्टा हो । मिति २०६७।११।३ गते घरगाउँमा नभई मिति २०६७।११।१ गते म जिल्ला बारा, जितपुर गा.वि.स. भवानीपुर बकुलियामा पत्नीलाई बोलाउन म ससुराली गएको हो । मिति २०६७।११।४ गते बिहान म घरमा फर्की आएको हुँ । मउपरको जाहेरी बेहोरा झुट्टा हो । मैले मृतकलाई जबरजस्ती करणी गरी मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी विरेन्द्र मुखिया विनले बारा जिल्ला अदालतमा गरेको बयान ।
म फैक्ट्रीमा काम गर्ने मान्छे भएकोले सो राति १२:०० बजे घरमा आई हेर्दा छोरी घरमा नरहेको, गाउँमा अष्ठजाम भइरहेको हुँदा त्यही गीत गाउन गएकी होली भनी सोची हामी सुत्यौ, बिहान पख गाउँकै छेउँमा रहेको नदीको बाँसबारी तिर छोरीको लास भेटेको थियो । छोरीसँग रहेको मोबाइलबाट प्रहरीले जाँचबुझ गर्दा साहेव महतोसमेतले मेरो छोरीलाई फोन गरी बोलाई कर्तव्य गरी मारेको रहेछन भन्ने कुरा खुल्न आयो । मैले आफ्नो आँखाले नदेखेकोले कसले मार्यो थाहा भएन । मेरो छोरीको मोबाइल नम्बर कति हो मलाई थाहा छैन । म पढे लेखेको छैन । मोबाइल चाँही छोरीले नै चलाउने गर्दथी । बाँसको मुङ्ग्रोले टाउँकोमा हानेको रहेछ । सल बिछ्याई सलको माथि लास राखेको देखेको थिए भन्नेसमेत बेहोराको जाहेरवाला मोटर दास भन्ने रामजी दासको बकपत्र ।
मृतक रामकुमारी दासलाई कसले कर्तव्य गरी मारेको हो भन्ने विषयमा मलाई थाहा
थिएन । प्रशासनले छानबिन गरेबाट थाहा पाएको
हुँ । प्रतिवादीसँग निज मृतकको कुनै रिसइवी थिएन भन्नेसमेत बेहोराको कागज गर्ने व्यक्ति भागमनी देवीले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालाको छोरीलाई कर्तव्य गरी मारेको भन्ने सम्बन्धमा मलाई केही थाहा छैन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचल्ल्काका व्यक्ति राजेन्द्र महतोले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालाको छोरीलाई कर्तव्य गरी मारेको भन्ने सम्बन्धमा मलाई केही थाहा छैन । घटना विवरण कागज र सोमा भएको सहीछाप बेहोरा मेरो हो । प्रतिवादी साहेव महतोले कसुर गरेको हुन भन्ने अभियोग गलत हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस लालजी महतो धानुकले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
जाहेरवालाको छोरीलाई कर्तव्य गरी मारेको भन्ने सम्बन्धमा मलाई केही थाहा छैन । घटना विवरण कागज र सोमा भएको सहीछाप बेहोरा मेरो हो । प्रतिवादी साहेव महतोले कसुर गरेका हुन भन्ने अभियोग गलत हो । प्रतिवादी मिति २०६७।११।३ गते मोतीहारी गएको थियो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस फेकु महतोले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६७।११।११ गते म सरेस्वा नदी निर थिए । प्रहरीले नदीमा खोजतलास गर्दा केही फेला नपरेको, पछि मसँग सहीछाप गराई प्रहरी फर्की गएको हो भन्नेसमेत बेहोराको बरामदी मुचल्काका मानिस विगन साहले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
अभियोग मागदाबीबमोजिम प्रतिवादी साहेव महतोले मृतक रामदुलारीलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको होइन । सो दिन रात ऊ मसँगै मोतिहारीमा थिए भन्नेसमेत बेहोराको प्रतिवादी साहेव महतोको साक्षी रामज्ञा महतोले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६७।११।२ गतेका दिन म घरमा थिएँ । प्रतिवादी साहेव महतो भाई बुहारीलाई लिएर मोतिहारी उपचार गराउन गएको हुँदा निज माथि लगाइएको सबै बेहोरा झुट्टा हो । गाउँ घरमा पार्टी रिसइवीले त्यस्तो बेहोरा लेखाएको हो भन्नेसमेत बेहोराको प्रतिवादी साहेव महतोको साक्षी गोपिचन्द्र महतोले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६७।११।३ गते प्रतिवादीसँग निजको ससुराली बकुलिया बारामा भेट भएको हो । साँझ ६:०० बजेदेखि ९ बजेसम्म निजको ससुराली घरमा निजैसँग थिएँ । निजलाई सापटी पैसा दिन त्यँहा पुगेको थिए । त्यहाँ उनकै ससुरालीमा खाना खाई ९:०० बजे राति घर फर्की आएको हुँदा निज विरेन्द्रको संलग्नता देखाई दिएको जाहेरी र लगाएको अभियोग बिल्कुल झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी विरेन्द्र मुखिया विनको साक्षी राजुप्रसाद यादवले बारा जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतकको योनिबाट निस्केको वीर्यको परीक्षण हुन सकेको नदेखिएबाट करणी यिनै प्रतिवादीहरूबाट गरेको तथ्य स्थापित हुन सकेको छैन । प्रतिवादीहरूको सो करणी र कर्तव्य गरी मार्ने कार्यमा संलग्न भएको निश्चयात्मक प्रमाण नरहेको र परिस्थितिजन्य प्रमाण मालाकार रूपमा नजोडिई रहेको यस्तो परिस्थितिजन्य प्रमाण स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा साबिती बयान कागजको आधारले मात्र अनुमान र संदेहको आधारमा ज्यान जस्तो गम्भीर कसुरमा प्रतिवादीहरूलाई कसुरदार ठहर्याउन फौजदारी न्यायका मान्य सिद्धान्तसमेतले नमिल्ने हुँदा प्रतिवादीहरूले कर्तव्य गरी मृतकलाई मारेको र जबरजस्ती करणी गरेको भन्ने अभियोग दाबीबाट प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बारा जिल्ला अदालतबाट मिति २०६८।११।२३ मा भएको फैसला ।
मृतकका बाबु आमाले मृतक र प्रतिवादीहरूबिच पूर्वरिसइवी र सम्बन्ध नरहेको भनी बकपत्र गरेको कुरालाई सफाईको आधार मान्न मिल्दैन । प्रतिवादीहरू र मृतकबिच लामो समयदेखि प्रेम सम्बन्ध रही शारीरिक सम्बन्धसमेत हुँदै आएको अवस्थामा निजहरूबिच रिसइवी रहेको कुरा मृतकका बाबु आमाले देख्नु थाहा नपाउनु स्वभाविकै देखिन्छ । साथै सन् २०११।२।२५ मा १ घण्टामा ७ पटक फोन सम्पर्क भएको र वारदातको मिति, समय अगाडि पनि घण्टामा ७ पटक मृतक र प्रतिवादीबिच फोन सम्पर्क भएको तथ्यलाई फैसलाले समेत स्वीकार गरेको अवस्था छ । सात पटक फोन सम्पर्क भए पनि प्रतिवादीहरूले नै वारदातस्थलमा मृतकलाई बोलाएको अकाट्य रूपमा मान्न मिलेन भनी प्रतिवादीहरूलाई सफाई दिएको छ । प्रतिवादी साहेव महतोको Alibi को जिकिरलाई स्वीकार गरिएको अवस्थामा त्यस्तो Alibi को जिकिर लिनेले शंकारहित तवरबाट सो जिकिर पुष्टि गर्नुपर्ने
हुन्छ । निजहरू के प्रयोजनका लागि भारतको
मोतिहारी गएका हुन् भन्ने कुरा पुष्टि हुन सकेको अवस्था छैन । यसरी प्रतिवादीहरूले अन्यत्र थिएँ भनी लिएको जिकिर पुष्टि गर्न नसकेको अवस्थामा निजहरू विरूद्ध प्रमाण लाग्ने भनी सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरूमा प्रतिपादित सिद्धान्तलाई समेत प्रस्तुत फैसलाले ध्यान नदिई मिसिल संलग्न प्रमाणको उचित मूल्याङ्कन र विश्लेषण नगरी प्रतिवादीहरूलाई अभियोग दाबीबाट सफाई दिने गरी सुरू बारा जिल्ला अदालतबाट भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
अदालतमा बयान गर्दा स.ज. १० मा बयान झुक्याएर गराएको भनी लेखाएको कुराको आधार प्र. साहेव महतोले उल्लेख गरी लेखाएको नपाइनु, (Alibi) अनेत्र थिए भनी लिएको जिकिर call detail बाट खण्डित भएको स्थिति हुनु, मृत्युको कारणमा Due to massive hemorrhage and shock as a result of head injury भनी उल्लेख भएको पाइनु, प्रतिवादी मौकामा साबित हुनु, जाँचबाट भेजिनल स्वावमा Human Semen पाइनुसमेतका परिस्थितिजन्य प्रमाणहरूको विवेचना र विश्लेषणको अभावमा भएको सुरूको फैसला फरक पर्न सक्ने देखिएकोले छलफलको निमित्त प्रत्यर्थीहरूलाई मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६९।८।१२ को आदेश ।
जाहेरवालाको किटानी जाहेरी र प्र.स.नि. भिमबहादुर थापाको किटानी प्रतिवेदन तथा शव-परीक्षण प्रतिवेदनबाट मृतकलाई करणी गरी कर्तव्य गरी मारेको कुरा प्रमाणित हुन आएको हुँदा प्रतिवादी साहेव महतोलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी विरेन्द्र मुखियासमेत भई मृतकलाई कर्तव्य गरी मारेको हो । विरेन्द्र मुखियाले करणी गरी थिची राखेको अवस्थामा मैले मुङ्ग्रोले हिर्काएको हो भनी प्रतिवादी साहेब महतोले बयान गरेको र सो कुरालाई अन्य प्रमाणहरूले पुष्टि गरिरहेको स्थिति देखिएको हुँदा विरेन्द्र मुखियालाई पोल उजुर गर्नु पर्नेसम्मको कुनै रिसइवी तथा कारणसमेत नदेखिँदा प्रतिवादी विरेन्द्र मुखियालाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।१०।१२ को फैसला ।
प्रतिवादी साहेव महतोको ९८४५०९४८४६ नं. को मोबाइलबाट मृतक रामदुलारी दासको ९८१५२३२६७१ नं. को मोबाइलमा फोन गरी एकान्त नदीको किनारमा रहेको बाँसको झ्याङमा बोलाई जबरजस्ती करणी गरी सोही स्थानमा निजलाई कर्तव्य गरी मारेको भन्ने स्पष्ट देखिँदादेखिँदै कर्तव्य ज्यानको कसुर गरेकोमा मात्र ठहर गरी जबरजस्ती करणीको मागदाबी नपुग्ने गरी जबरजस्ती करणी गरेको नठहराई भएको फैसलामा जबरजस्ती करणीको महलको ३(क) नं. को व्याख्यामा गम्भिर त्रुटी भएको हुँदा उक्त फैसला बदरभागी
छ । प्रतिवादीहरूले मृतकसँग राजीखुशीबाट करणी गरेको भन्न नसकेको अवस्थामा के कुन आधार प्रमाणहरूबाट जबरजस्ती करणीको दाबी पुग्न नसक्ने ठहर भएको हो सोसमेत फैसलामा खुलाउन सकेको देखिँदैन । अतः उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।१०।१२ गते फैसला हुँदा म निवेदिकाको छोरा व्यापारको सिलसिलामा घरबाट निस्की हिँडेको र खोज खबर गर्दासमेत पत्ता नलागि हालसम्म पनि बेपत्ता नै छ, सोही कारणले मुद्दाको प्रक्रिया सम्बन्धमा समेत थाहा जानकारी हुन
सकेन । मुद्दा अझै चलिरहेको भन्ने सुनेकोले सम्मानित अदालतमा गई बुझ्दा छोरा विरेन्द्र मुखियालाई जन्मकैद हुने गरी फैसला भएको कुरा थाहा भयो । छोरा विरेन्द्र मुखियाका नाममा जारी भएको म्याद म निवेदिकाले छोडी आएको घरमा बेरीतको म्याद तामेल गरिएको पनि रहेछ । म्याद तामेल भएको थाहा जानकारी पनि मलाई भएन । जाहेरवालाले मौकामा मेरो छोराउपर शंकासम्म पनि व्यक्त गरेका छैनन् । घटनाको धेरै दिनपश्चात केवल सहअभियुक्तको पोलको आधारमा मेरो छोराको नाम उल्लेख गरी जाहेरी दिएको छ । वारदातमा उपस्थित नभएको छोरालाई केवल सहप्रतिवादीको पोलको आधारमा साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०७०।१०।१२ को फैसला बदर गरी अभियोग दाबीबाट सफाई दिलाई पाउँ भनी न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) बमोजिम यो निवेदनपत्र पेस गरेको छु । सो निवेदन पुनरावेदनसरह हेरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विरेन्द्र मुखियाको आमा तुर्निदेवी विनिनले पेस गरेको निवेदनपत्र ।
प्रतिवादी साहेव महतोले अभियोग दाबीबाट सफाई पाउने ठहरी मिति २०६८/११/२३ मा सुरू बारा जिल्ला अदालतबाट फैसला भएकोमा पुनरावेदन अदालत हेटौडाबाट मिति २०७०/१०/१२ मा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएको र म्यादभित्र प्रतिवादी साहेव महतोको पुनरावेदन नपरेकोले साधक दायरीमा दर्ता गरी पेस गर्नु भन्ने यस अदालतको आदेश ।
मृतकलाई करणी गरी मारेको कुरा प्रमाणित हुन आएको भनी प्रतिवादी साहेब महतोलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम र अर्का प्रतिवादी विरेन्द्र मुखियालाई सोही महलको १३(४) नं. बमोजिमको कसुरसम्म कायम गरी सजाय गरी जबरजस्ती करणी तर्फको अभियोग दाबी पुग्न नसक्ने भनी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको देखियो । यसरी प्रस्तुत वारदातमा करणीसमेत भएको तथ्यलाई स्वीकार गर्दागर्दै पनि मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. को कसुरतर्फ नबोली जबरजस्ती करणीतर्फको मागदाबी पुग्न नसक्ने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोवस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७३।१२।७ को आदेश ।
प्रतिवादी विरेन्द्र मुखिया विनको हकमा साधकको रूपमा दर्ता भएको नदेखिनुका साथै सोबमोजिम मुद्दा पेसीमा चढेको नपाइएको र निजकी आमाले मिति २०७५।५।१४ मा न्याय प्रशासन ऐन, ०७३ को दफा १०(४) बमोजिम दिएको निवेदन पनि पेसीमार्फत नआएको देखिँदा सो सम्बन्धमा विचार गरी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।३।२ को आदेश ।
निवेदनमा प्रतिवादी विरेन्द्र मुखिया विनलाई साबिक पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/१०/१२ गतेको फैसलाबमोजिम जन्मकैद हुने ठहरी फैसला भएको एवं यस अदालतको मिति २०७६/०३/०२ गतेको आदेशानुसार निज प्रतिवादी विरेन्द्र मुखिया विनको हकमा प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता गरी नियमानुसार इजलाससमक्ष पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।३।१७ को आदेश ।
यसै लगाउको ०७४-RC-०१५५, ०७१-CR-००४१ का मुद्दाहरूमा प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि उक्त मुद्दासँग अन्तरप्रभावी रहेको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम छलफल गर्नलाई महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई लगाउका मुद्दाहरू तथा ०७६-FN-०२२९ को निवेदनसमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७६।९।७ को आदेश ।
पुनरावेदन अदालत हेटौंडाबाट प्रतिवादी विरेन्द्र मुखिया विनलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय गरेको देखियो । सहअभियुक्त साहेव महतोले अनुसन्धानमा गरेको बयानमा प्रतिवादी विरेन्द्र मुखिया विनसमेतको संलग्नता भई मृतक रामदुलारी दासलाई कर्तव्य गरेको भनी पोल गरेको देखिएकोमा सो पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको अवस्था नहुँदा निज विरेन्द्र मुखिया विनलाई जन्मकैदको सजाय गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई लगाउको ०७१-CR-००४१ नं. को मुद्दासमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतको आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्यले प्रतिवादीहरूले मृतक रामदुलारीलाई फोन सम्पर्क गरी बोलाई सरेसवा नदीको किनारमा बाँसको झ्याङ्गमा लागि जबरजस्ती करणीसमेत गरी मारेको अवस्था छ । प्रतिवादी साहेब महतोले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा विरेन्द्र मुखिया विनले मृतकसँग शारीरिक सम्बन्ध राखेको अवस्थामा आफूले बाँसको मुङ्ग्रोले हिर्काई मारेको भन्ने कुरा स्वीकार गरेको देखिन्छ । निजले अदालतमा बयान गर्दा Alibi को जिकिर लिए पनि निज नेपालमा रहेको Call Detail ले पुष्टि गरेको अवस्था छ । टाउकोमा चोट लागेको कारण मृतकको मृत्यु भएको, मृतकको यौनाङ्ग सुन्निएको तथा Human semen देखिएकोले जबरजस्ती करणी गरी मारेको हुँदा सहमतिमा करणी भएको होइन । प्रतिवादीहरूलाई कर्तव्य ज्यानतर्फ अभियोग दाबीबमोजिम सजाय भइसकेकोले त्यसतर्फ केही भन्नु छैन, जबरजस्ती करणीतर्फ प्रतिवादीहरूलाई सजाय नभएकोले अभियोग दाबीबमोजिम जबरजस्ती करणीतर्फ पनि सजाय गरिपाउँ भनी बहस गर्नु भयो ।
प्रतिवादी विरेन्द्र मुखिया विनको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री मन्जुल गौतमले प्रतिवादी विरेन्द्र मुखियाउपर किटानी जाहेरी नपरेको, वारदातको दिन मृतकलाई फोन गरेको पनि छैन । मृतकको लासजाँच मुचुल्कामा विरेन्द्र मुखियाले सहीछाप गरेको
देखिन्छ । सहप्रतिवादी साहेव महतोले पोल गरेको अवस्था मात्रै छ । अन्य प्रमाणले त्यो पोललाई समर्थन गरेको पाइँदैन । मृतक र साहेव महतोसँग अनैतिक सम्बन्ध रहेको देखिन्छ । कर्तव्य ज्यान र जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको फौज्दारी मुद्दामा केवल शंकाको भरमा मात्र दोषी ठहर गर्न नमिल्ने हुँदा प्रतिवादी विरेन्द्र मुखिया विनलाई अभियोग दाबीबाट सफाई दिइनु पर्दछ भनी गर्नु भएको बहस सुनियो ।
अब यसमा पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।१०।१२ मा भएको फैसला मिलेको छ छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने, नपुग्ने के हो ? सो सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, जाहेरवाला मोटरदास भन्ने रामजी दासकी छोरी राम दुलारी दासलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेकाले प्रतिवादीहरूमध्ये साहेव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. र जबरजस्ती करणीको महलको ३(५),३क नं. बमोजिम सजाय हुन र प्रतिवादी विरेन्द्र मुखियालाई ऐ. ज्यानसम्बन्धी महलको १३(४) नं. तथा जबरजस्ती करणीको महलको ३(५), ३क.नं. बमोजिम सजाय हुन माग दाबी लिई बारा जिल्ला अदालतमा अभियोग दायर भएको देखियो । प्रतिवादीहरूउपरको अभियोग दाबी पुग्न नसक्ने, सफाई पाउने गरी मिति २०६८/११/२३ मा सुरू बारा जिल्ला अदालतबाट फैसला भएको पाइयो । सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको र सुरू फैसला केही उल्टी भई प्रतिवादीमध्येका साहेव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने तथा प्रतिवादीमध्येका विरेन्द्र मुखियालाई ऐ. ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने तथा दुवै प्रतिवादीको हकमा जबरजस्ती करणीतर्फ अभियोग दाबी पुग्न नसक्ने ठहर्याई पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०/१०/१२ मा फैसला भएको देखियो । जबरजस्ती करणीतर्फ अभियोग दाबी नपुग्ने भनी गरेको सो फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेको र कर्तव्य ज्यानतर्फ कसुर ठहर भएका प्रतिवादीहरू साहेव महतो र विरेन्द्र मुखियाको हकमा साधकको रोहमा दर्ता भई सुनुवाइका लागि पेस हुन आएको देखियो ।
३. मिसिल संलग्न ०७६-FN-०२२९ को विरेन्द्र मुखिया विनको आमा तुर्नी देवी विनिनले छोरा व्यापारको सिलसिलामा घरबाट निस्की हिँडेको र खोज खबर गर्दासमेत पत्ता नलागि हालसम्म पनि बेपत्ता नै रहेको तथा छोरा विरेन्द्र मुखियाका नाममा जारी भएको म्यादसमेत म निवेदिकाले छोडी आएको घरमा बेरीतपूर्वक म्याद तामेल गरिएकोले मुद्दाको कारबाहीको बारेमा केही जानकारी हुन नआएको भन्ने कारण जनाई मिति २०७५/५/१४ मा मुद्दामा अनुपस्थित रहेको छोरा विरेन्द्र मुखियाको हकमा निवेदनसमेत पेस गरेको पाइयो । न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) मा “साधकको रोहमा हेरिने मुद्दामा पुनरावेदन नगर्ने कुनै पक्ष वा अन्य कुनै सम्बन्धित व्यक्तिले पुनरावेदनसरहको जिकिर लिई निवेदन दिएमा पुनरावेदन सुन्ने अदालतले त्यसलाई समेत विचार गरी मुद्दा किनारा गर्नु पर्नेछ” भनी उल्लेख भएको छ । गम्भीर प्रकृतिको सजाय हुने मुद्दामा कुनै कारणबाट सम्बन्धित प्रतिवादी उपस्थित हुन नआएको स्थितिमा पनि निजको प्रतिवाद गर्नेसम्बन्धी स्वच्छ सुनुवाइ (Fair trial) को अधिकार सुरक्षित हुन सकोस भन्ने अभिप्रायले उल्लिखित दफा १०(४) मा प्रावधान व्यवस्थित गरिएको देखिन्छ । स्वच्छ सुनुवाइको मान्यताअनुसार यो प्रावधान ऐनमा समावेश भएको हो र यसलाई नेपालको संविधानको धारा २०(९) को सापेक्षतामा पनि हेर्न सकिन्छ । तसर्थ प्रतिवादी विरेन्द्र मुखिया विनकी आमा तुर्नी देवी विनिनले मिति २०७५/५/१४ मा मुद्दामा अनुपस्थित रहेको छोराको हकमा भनी पेस गरेको निवेदन बेहोरालाई समेत हेरी, सोलाई समेत जानकारीमा लिई न्याय निरूपण गर्नु पर्ने देखिन आयो ।
४. अब ईन्साफको सन्दर्भमा सर्वप्रथम प्रतिवादीमध्येका साहेव महतोका हकमा विचार गर्दा मिति २०६७/११/४ गते विहान जिल्ला बारा, छातापिप्रा गा.वि.स. वडा नं. ६ बस्ने रामदुलारी दासलाई कर्तव्य गरी मारी खोला छेउमा लास भेटिएको, गोप्य रूपमा बुझ्दा रामदुलारी दासको साहेव महतोसँग अनैतिक सम्बन्ध रहेको र मिति २०६७/११/३ गते बेलुकी निज साहेव महतोले राम दुलारीलाई पटकपटक फोन गरी बोलाई कर्तव्य गरी मारेको भनी खुल्न आएको हुँदा निजलाई पक्राउ गरी निजले प्रयोग गर्ने ९८४५०९४८४६ नं. को मोबाइलसमेत दाखिल गरेको छु भनी प्र.ना.नि. भिमबहादुर थापाले प्रतिवेदन दिएको पाइयो । प्रतिवादी साहेव महताले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा मृतक रामदुलारी दाससँग गोप्य रूपमा शारीरिक सम्बन्ध दुवैको समहतिमा हुने गरेको, साथी विरेन्द्र मुखियासँग पनि राम्रो सम्बन्ध भएकाले बेलाबेलामा फोन सम्पर्क गरी बोलाई शारीरिक सम्पर्क गर्दै आएका, केही दिन अगाडि मृतक रामदुलारीले महिनावारी रोकिएको छ, घर लैजाउ, विवाह गर भनी भनेकाले गाउँघरमा बदनाम हुने डरले विरेन्द्र मुखियासमेत भई रामदुलारी दासलाई मार्ने सल्लाह गरी मिति २०६९/११/३ गते सरेसवा खोला पारी एकान्तमा गई पटकपटक फोन गरी राम दुलारी दासलाई बोलाएको हो । रामदुलारी दास आफैँले ओडेको निलो रङ्गको सल ओच्छाई सुतेकी र विरेन्द्र मुखियाले यौन सम्पर्क गर्न सुरू गरी रामदुलारी दासलाई उठ्न नदिई माथिबाट थिची राखेको तथा योजनाबमोजिम पहिलेदेखि लुकाई राखेको बाँसको मुङ्ग्रोले रामदुलारी दासको निधार र बाँया कञ्चटमा २/३ पटक प्रहार गरेपछि निजको मृत्यु भयो । त्यसपछि बाँसको मुङ्ग्रो खोलामा फाली घरमा गयौं भनी आरोपित कसुरमा साबित भई बयान गरेको पाइयो । निज प्रतिवादी साहेव महतोले अदालतसमक्ष बयान गर्दा भाइबुहारीलाई उपचार गर्न भारत मोतीहारी लगेको र सो समयमा आफू गाउँ घरमा नभएकोले रामदुलारी दासलाई कर्तव्य गरी मारेको होइन भनी इन्कारी बयान गरेकोसमेत देखियो । घटनास्थल प्रकृति मुचुल्का हेर्दा मृतकको टाउको मुनी तथा वरपर रगत बगेको, रगतको छिर्का उछिटिएको, निधार र कानमा चोट लागेको, बाँया कानको लोती काटिएको, निधारमा अन्दाजी ७ इन्च गोलाइको भाग कडा वस्तुले प्रहार गरी छाला च्यातिई भित्री हाड देखिएको र सो ठाउँबाट रगत बगी अनुहारमा रगत जमेको भन्ने देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण “massive hemorrhage and shock as a result of head injury” भनी उल्लेख भएको पाइयो ।
५. यस प्रकार प्रतिवादी साहेव महतोले अधिकारप्राप्त अधिकारीसमक्ष रामदुलारी दासलाई कर्तव्य गरी मारेको हो भनी साबिती बयान दिएको देखिन्छ । सो बयान बेहोरा प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणयोग्य मान्न नपर्ने कुनै उचित कारण रहेको पाइएन । लास प्रकृति मुचुल्कामा उल्लेख भएको बेहोराबाट प्रतिवादी साहेव महतोले गरेको बयानका कतिपय तथ्यहरू समर्थित हुन आएका देखिन्छन् । निजले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा उल्लेख गरेअनुसारको बाँसको मुङ्ग्रोसमेत दशीको रूपमा बरामद भएको देखिन्छ । अदालतमा उपस्थित भई बयान गर्दा कसुरमा इन्कार रही आफू वारदातको समयमा भाई बुहारीलाई उपचार गर्न भारत मोतीहारीमा रहेको भनी विपरीत स्थानमा उपस्थित रहेको जिकिर (Defense of Alibi) लिएको भएपनि निजले सो कुरा विश्वसनीय प्रमाण पेस गरी पुष्टी गर्न सकेको देखिँदैन । अदालतसमक्ष बयान गर्दा मृतकसँग फोन सम्पर्क गरेको तथ्यसमेत इन्कार गरेको भएपनि निज प्रतिवादीको मोबाइल नं.९८४५०९४८४६ बाट मिति २०६७/११/३ गते बेलुकी ६/७ पटक ९८१५२८२६७१ नं. को मृतकको मोबाइलमा फोन सम्पर्क भएको कुरा मिसिल संलग्न Call detail बाट देखिएको छ । यसबाट निज प्रतिवादीले विपरीत स्थानमा उपस्थित रहेको भनी लिएको जिकिर खण्डित भएको देखिन्छ । प्रमाणबाट प्रतिवादी साहेव महतोले रामदुलारी महतोलाई कर्तव्य गरी मारेको कुरा शंकारहित तबरबाट पुष्टि भएको देखियो । तसर्थ प्रतिवादी साहेव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मनासिब देखियो ।
६. अब प्रतिवादी विरेन्द्र मुखियाका हकमा विचार गर्दा निज प्रतिवादी मौकामा पक्राउ नपरी फरार रहेको तथा पछि अदालतमा उपस्थित भएको देखिन्छ । अदालतसमक्ष बयान गर्दा निज आरोपित कसुरमा इन्कारी रहेको पाइयो । घटनाको भोलिपल्ट भएको लासजाँच मुचुल्कामा निज विरेन्द्र मुखिया साक्षीको रूपमा रोहवरमा बसेको समेत पाइयो । मृतक रामदुलारी दासका बाबु आमाले अदालतमा बकपत्र गर्दा मृतक छोरीको यी प्रतिवादीसँग रिसइवी वा सम्बन्ध नरहेको भनी उल्लेख गरेको देखिन्छ । निजहरूसहित अन्य कसैले अदालतमा बकपत्र गर्दा शंकासम्म पनि गरेको देखिएन । कसले हत्या गरेको हो भन्ने थाहा छैन भन्ने वस्तुस्थितिका मानिसले बकपत्र बेहोरा रहेको पाइयो । यस अवस्थामा प्रतिवादी विरेन्द्र मुखियाउपर सहअभियुक्त साहेव महतोले प्रहरीसमक्ष गरेको बयानमा पोल गरेको भन्नेसम्मको कुराका आधारमा कसुरदार ठहर गर्नु न्यायोचित देखिँदैन । सहअभियुक्त साहेव महतोको बयान बेहोरा स्वयम्मा पनि प्रतितलायक
देखिँदैन । मृतक र साहेव महतोका बिच स्वेच्छाले शारीरिक सम्बन्ध रहने गरेको अवस्था देखाइएको हुँदा निजसँग सहवास गर्न र हत्या गर्न उनाउ व्यक्ति विरेन्द्र मुखिया विनलाई लिई आउने कुरा स्वभाविक र विश्वसनीय देखिँदैन । सहअभियुक्तको उक्त पोल प्रतिवादी विरेन्द्र मुखिया विनको हकमा अन्य कुनै पनि स्वतन्त्र प्रमाणबाट समर्थित हुन आएको पाइएन । तसर्थ सहअभियुक्तले प्रहरीसमक्ष गरेको बयानमा उल्लेख गरेको कुराका आधारमा शंका गरी सोही शंका र अनुमानका आधारमा निजलाई कसुरदार ठहर गर्नु फौजदारी न्यायको सिद्धान्त तथा यस अदालतबाट अवलम्बन गरी आएका न्यायिक मान्यतासमेतका दृष्टीले उचित
देखिएन । तसर्थ प्रतिवादी विरेन्द्र मुखिया विनलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई निजले आरोपित कसुरको अभियोग दाबीबाट सफाइ पाउने देखियो ।
७. अब प्रतिवादीहरूलाई जबरजस्ती करणीतर्फको अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा उपर्युक्त प्रकरणमा उल्लेख भएअनुसार प्रतिवादीमध्येका विरेन्द्र मुखिया विनले अभियोग दाबीबाट सफाई पाउने ठहर भएको छ । परिणामतः हत्या कार्य एकजना प्रतिवादी साहेव महतोले गरेको भन्ने देखिन आयो । निज साहेव महतोले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानबाट रामदुलारी दाससँग निजको पहिलेदेखि स्वेच्छाले शारीरिक सम्बन्ध रही आएको, निजको महिनावारी रोकिएको, घर लैजाउ भनेकोसमेतका कारणबाट वारदात मितिमा आफ्नो मोबाइलबाट पटकपटक फोन गरी यौनसम्पर्कको लागि बोलाएको भनी उल्लेख गरेको देखिन्छ । निजको यस भनाइबाट रामदुलारी दासउपर वारदातको दिन जबरजस्ती करणी गरेको नभई पहिलेदेखि मन्जुरीले शारीरिक सम्पर्क राखी आएअनुसार नै वारदातका दिन पनि मन्जुरीले शारीरिक सम्पर्क राखेको र त्यसपछि निज राम दुलारीको महिनावारी रोकिएको, घर लैजाउ भन्ने गरेको कारणबाट सो दायित्वबाट बच्ने कुत्सित मनसायले प्रतिवादी साहेब महतोले पूर्वनियोजित योजनाअनुसार हत्या गरेको भन्ने देखिन आएको छ । यसरी राखिएको शारीरिक सम्पर्कको कारणबाट मृतकको शरीरमा मानव वीर्य देखिनु स्वभाविक छ । त्यसैले मृतकको योनिमा Human semen पाइएको भन्ने आधारमा नै जबरजस्ती करणी भएको भनी ठहर गर्नु तर्कपूर्ण र मनासिब देखिएन । तसर्थ जबरजस्ती करणीतर्फको अभियोग दाबी ठहर नहुने भनी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मनासिब देखियो ।
८. अतः माथि विवेचित आधार, कारण र प्रमाणबाट पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०/१०/१२ मा भएको फैसला केही उल्टी भई प्रतिवादीमध्येका विरेन्द्र मुखिया विनले अभियोग दाबीबाट सफाई पाउने ठहर्छ । सो हदसम्म बाहेक प्रतिवादी साहेव महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र जबरजस्ती करणीतर्फको अभियोग दाबी पुग्न नसक्ने भनी गरिएको हदसम्म पुनरावेदन अदालतको उक्त फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ (२)(ख) मा कुनै कसुरको सजाय साबिक ऐनमा मुलुकी अपराध संहितामा लेखिएको भन्दा बढी रहेछ भने संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ भन्ने कानूनी व्यवस्था भएको परिप्रेक्ष्यमा मुलुकी अपराध संहिता, २०७४ मा सर्वस्व गर्ने कानूनी व्यवस्था नभएको र ऐ. को दफा १७७ (२) मा ज्यान मर्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय मात्र हुने कानूनी व्यवस्था रहेकाले ऐ. दफा १७७ (२) बमोजिम निज साहेव महतोको सर्वस्व गरी रहन परेन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी भई प्रतिवादीमध्येका साहेब महतोलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम जन्मकैदको मात्र सजाय हुने ठहरेकाले पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार प्रतिवादी साहेव महतोका नाममा कायम भएको सर्वस्वको लगत कट्टा गरी सर्वस्व गर्ने प्रयोजनको लागि निजको अंश भाग जायजेथा रोक्का रहेको भए सोसमेत फुकुवा गरी जन्मकैदको मात्र लगत राखी असुलउपर गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाई दिनू.................. १
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी भई प्रतिवादीमध्येका विरेन्द्र मुखिया विनले अभियोग दाबीबाट सफाई पाउने ठहरेकाले पुनरावेदन अदालत हेटौंडाको फैसलाअनुसार प्रतिवादी विरेन्द्र मुखिया विनका हकमा जन्मकैदको लगत राखेको भए सो लगत कट्टा गरी दिनु भनी सुरू जिल्ला अदालतमा लेखि पठाई दिनू.......१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा तथा विद्युतीय प्रणालीमा फैसला प्रविष्ट गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ........................ १
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
इजलास अधिकृतः डल्लुराम चौधरी
इति संवत् २०७६ साल चैत्र ३ गते रोज २ शुभम् ।