शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४४२ - अंश चलन

भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७६।९।२१

०७०-CI-१२९१

 

मुद्दाः अंश चलन

 

निवेदक / वादी : जिल्ला भक्तपुर, छालिङ गाउँ विकास समिति वडा नं. ५ बस्ने शान्ति चौधरी (श्रेष्‍ठ)

विरूद्ध

विपक्षी / प्रतिवादी : मोरङ जिल्ला मृगोलिया स्थायी ठेगाना भई हाल जिल्ला भक्तपुर, छालिङ गाउँ विकास समिति वडा नं. ५ खरिपाटी बस्ने चुडाबहादुर श्रेष्‍ठसमेत

 

विवाह दर्ता विवाहलाई पुष्टि गर्ने एक विश्वसनीय तथा आधिकारिक प्रमाण हो तर विवाह दर्ता नभएको अवस्थामा विवाह नै नभएको भनी निष्कर्षमा पुग्नु तर्कसङ्गत नहुने । 

(प्रकरण नं.६)

राहदानीमा आफ्नो नामसहित पतिको थर नराखेको र निकटतम व्यक्तिको महलमा पतिको नाम नराखेको भन्‍ने नै आधारमा श्रीमती होइन भनी अर्थबोध गर्नु उचित नहुने । 

(प्रकरण नं.७)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल, विद्वान् वैतनिक अधिवक्ताद्वय श्री रजिता थापा तथा श्री इन्दिरा सिलवाल

प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू सर्व श्री कृष्णप्रसाद कटुवाल, श्री प्रभाकर खनाल, श्री चेतनाथ घिमिरे, श्री रिता मैनाली, श्री अर्जुन खनाल, श्री सीता शरण मण्डल

अवलम्बित नजिर : 

ने.का.प.२०४३, अंक ५, नि.नं.२७३५

ने.का.प.२०५५, अंक ८, नि.नं.६५८८

ने.का.प.२०७४, अंक ६, नि.नं.९८३३

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री चण्डीराज ढकाल

भक्तपुर जिल्ला अदालत 

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्‍ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः

विपक्षी चुडाबहादुर श्रेष्‍ठ मेरो पति 

हुनुहुन्छ । उहाँसँग २०५० साल भाइटीकाको दिन विवाह भई पति पत्‍नीको सम्बन्ध स्थापित भएको 

हो । निजसँग विवाह हुनुभन्दा अगाडि मेरो स्थायी परिवार नियोजन भइसकेकोमा विपक्षी पतिको जेठी श्रीमती चन्द्रमाया श्रेष्‍ठको तर्फबाट छोरा सविन श्रेष्‍ठको जायजन्म भएकाले निज सविनलाई आफ्नो छोरा मानी माया ममता दिने सहमतिबाट विपक्षी पतिसँग विवाह भएको हो । हामीबिच कुनै झै-झगडा मनमुटाव 

थिएन । जेठी श्रीमती परलोक भएको १ वर्ष नबित्दै विपक्षीले चेतना लोकसम श्रेष्‍ठलाई मेरो सौता बनाई विवाह गरी भित्र्याउनु भएको मिति २०६०।११।२३ मात्र थाहा पाएको र सोपश्चात् मलाई खान लाउनसमेत नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी ४ भागको १ भाग अंश पाउँ भन्‍ने फिराद दाबी । 

मिति २०५० सालको भाइटिकाको दिन विवाह गरेको भन्‍ने कथन बिल्कुल तथ्यहीन हो । मेरी जेठी श्रीमती चन्द्रमाया श्रेष्‍ठ जीवित छँदै म एक प्रहरी अधिकृतको हैसियतले कसैसँग दोस्रो विवाह गर्न वा अर्की श्रीमती ल्याउन प्रचलित नेपाल कानूनअनुसार स्वतः गैरकानूनी कार्य हुने हुँदा निज शान्ति चौधरीसँग विवाह गरेको छैन । आफ्नो श्रीमान् श्यामशंकर चौधरीसँग विधिवत् रूपमा सम्बन्ध विच्छेद पनि नभएको र सुरेन्द्रराज श्रेष्‍ठसँग अंश तथा बहुविवाह मुद्दा दायर गरी विचाराधीन रहेकै अवस्थामा विपक्षीले पुनः २०५० सालमै मसँग विवाह गरेको भने तापनि निजले २०५१।७।८ मा तदनुसार २५ अक्टोबर, १९९४ मा प्राप्‍त गरेको राहदानीको नाम, थर ठेगानाको महलमा शान्ति चौधरी, काठमाडौं-१ र निकटम व्यक्तिको महलमा रामबाबु चौधरी नारायणचौर, नक्साल काठमाडौं भनी उल्लेख भएबाट निजसँग मेरो कुनै प्रकारको नाता सम्बन्ध नभएको प्रस्ट छ । विपक्षीले तथ्यहीन आधारहरू अघि सारी सम्मानित अदालतलाई समेत गुमराहमा पारी दायर हुन आएको प्रस्तुत फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६२।३।१३ गतेको संयुक्त प्रतिउत्तर पत्र । 

प्रतिवादी सविन श्रेष्‍ठका नाउँमा जारी भएको ३० दिने इतलायनामा म्याद मिति २०६२।१।२२ मा तामेल भई प्रतिउत्तर नफिराई सुरू म्यादै गुजारी बसेको देखिन्छ । 

पुनरावेदिका वादी शान्ति चौधरीको विवाह भएको यकिन मिति थाहा छैन, पछि सानीआमाको परिचय गराउँदा मेरो सानुबुबा भन्‍ने चिनेको हो । चुडाबहादुरले दोस्रो विवाह गरेको भन्‍ने थाहा पाएको 

हुँ । कोसँग कहिले विवाह गरेको भन्‍ने मलाई थाहा छैन । सानी आमाले चुडाबहादुरसँग दोस्रो विवाह गरेको थाहा पाएपछि अंश मुद्दा दिएको हुँदा १ भाग अंश पाउनु पर्ने हो भन्‍नेसमेत बेहोराको वादीका साक्षी आनन्द चौधरीले गरेको बकपत्र । 

यी वादी प्रतिवादीबिच २०५० सालको भाइटिकाको दिन विवाह भएको हो । उक्त विवाहमा मसमेत थिएँ । विवाहपछि सँगै बसेको हो । त्यसपछि चुडाबहादुरले दोस्रो विवाह गरेका रहेछन् । दोस्रो विवाह गरेको थाहा पाएपछि अंश मुद्दा गरेको हो । दाबीबमोजिम ४ भागको १ भाग अंश पाउनु पर्ने हो भन्‍नेसमेत बेहोराको वादीका साक्षी राधिका खनालले गरेको बकपत्र । 

पुनरावेदिका वादी शान्ति चौधरी श्रेष्‍ठ र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको २०५० सालको भाइटिकाको दिन काठमाडौंमा विवाह भएको हो । प्रतिवादीले २०६१ सालमा दोस्रो विवाह गरेकोले वादीले अंश मुद्दा दिएको र वादीले अंश पाउनु पर्ने हो भन्‍नेसमेत बेहोराको वादीका साक्षी जानकी बस्यालले गरेको बकपत्र । 

प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ र मेरोबिचमा २०५० साल भाइटिकाको दिन हो, महिना सम्झना भएन निजले पत्‍नी स्वीकार गरी निज पति चुडाबहादुर भारतको मद्रासमा मृगौलासम्बन्धी उपचार गर्न गएको बेला निजले लेखेको पत्रसमेतले मेरो पति साबित भइसकेको र ससुरा गोपीलाललाई थाइल्याण्डको राजदरबारमा लगी मसमेतलाई दर्शन भेट हुँदा निज चुडाबहादुरले लेखेको पत्रबाट पनि मलाई पत्‍नी स्वीकारेका छन् । सोसमेतबाट निजसँग मेरो पति पत्‍नीको नाता रहेको भन्‍ने बेहोराको पुनरावेदिका वादी शान्ति चौधरीले अ.बं.८० नं. बमोजिम नाता सम्बन्धमा गरेको बयान । 

मेरो चन्द्रमाया श्रेष्‍ठसँग २०२८ सालमा विवाह भएकोमा निजको मिति २०५९ साल फाल्गुण ११ गते स्वर्गारोहण भएको हो । सोपश्चात् मैले २०६०।८।१२ गते म जनकपुरमा कार्यरत हुँदा काठमाडौं कमलपोखरी निवासी चेतना लोकसमसँग वैदिक परम्पराअनुसार जनकपुरमै विवाह भएको 

हो । भाइटिकाको दिन मेरो र शान्ति चौधरीबिच विवाह भएको छैन । निजले बयानमा उल्लेख गर्नुभएको कुरा सबै अन्य चिठीपत्रहरूको विषयमा २०५५ सालमा म अचेत अवस्थामा किड्नी केयर सेन्टर नक्सालमा लगिएको रहेछ । कानूनबमोजिम किड्नी दान आफ्नै परिवारका सदस्य बुबा, आमा, श्रीमती वा पति, दाजु, भाइ वा दिदी बहिनीहरूले मन्जुरीमा दान दिन 

सक्छन् । प्रत्यारोपणका लागि भारतको सुविधा सम्पन्‍न सहरहरूमा मात्र हुन्छ । शान्ति चौधरीले किड्नी दान गरी जीवन रक्षा गरी पुन्य कमाउँछु भन्‍ने कुरा राखी मलाई भेट्नु भएको बखत मलाई अब्जेक्सन पेपरमा सही गराएको रहेछ । अङ्ग प्रत्यारोपण गर्ने क्रममा काम नगरी मलाई झुक्याई सही गराएको 

रहेछ । निजसँग विवाह भएको होइन र कुनै नाता सम्बन्ध छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले अ.बं.८० नं. बमोजिम गरेको बयान । 

चुडाबहादुर श्रेष्‍ठको जेठी श्रीमती चन्द्रमायाको २०५९ सालमा निधन भएपछि साथी भाइ नाताका मानिसहरूको सरसल्लाहमा चुडाबहादुर श्रेष्‍ठसँग विवाह भएको हो, हाम्रो वैवाहिक जीवनमा मानसिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने गरी विपक्षीले प्रमाण पेस गरेको देखिन्छ । निज शान्ति चौधरीसँग चुडाबहादुरले विवाह गरेको छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी चेतना लोकसम श्रेष्‍ठले अ.बं.८० नं. बमोजिम गरेको बयान । 

आदेशबमोजिम प्राप्‍त तायदाती फाँटवारीअनुसार ४ भागको १ भाग अंश वादीले पाउने हो, होइन भन्‍नेतर्फ विचार गर्दा वादी र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको बिचमा लोग्ने स्वास्नी नाता सम्बन्ध नै कायम हुन नसक्ने देखिएकोले विवाहको हिसाबले अंश पाउँ भनी गरेको फिराद दाबीलाई मनासिब मान्‍न मिलेन । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ पति, चेतना लोकसम सौता र सविन श्रेष्‍ठ सौतातर्फको छोरा हुँदा जम्मा ४ अंशियार भएको ४ भागको १ भाग अंश पाउँ भन्‍ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत बेहोराको भक्तपुर जिल्ला अदालतको मिति २०६६।८।२ को फैसला । 

अंशबन्डाको २०, २१, २२ र २३ नं. बमोजिम वादी प्रतिवादीसँग तायदाती फाँटवारी माग गरेकोमा विपक्षीले अ.बं.१७ नं. बमोजिम पुनरावेदन अदालत पाटनमा निवेदन गर्दा तायदाती माग गर्ने आदेश बदर भएको छैन । नातातर्फ विवाद भएकोमा अ.बं.८० नं. बमोजिम बयान भइसकेपछि गरिएको तायदाती आदेशमा पति पत्‍नीको नाता देखाई फाँटवारी मागिएको छ । पुनरावेदन अदालतले आदेश गर्दा फैसला हुँदा विचार हुन सक्ने नै भने पनि तायदाती फाँटवारी मागेको समयभन्दा पछाडि मेरो विरूद्धमा कुनै प्रमाणहरू सङ्कलित रहेको छैन । यस अवस्थामा समग्र प्रमाणमा तायदाती माग गर्ने आदेशमा विचार भइसकेकोले पुनरावेदन अदालतबाट आदेश भइसकेपश्चात् भक्तपुर जिल्ला अदालतले पुनः अन्यथा विचार गर्न सक्ने अवस्था छैन । यस अवस्थामा सो तायदाती आदेशको विपरीत भक्तपुर जिल्ला अदालत जान नसक्ने हुँदा सो अकाट्य आदेशबाट मेरो वादी दाबी नपुग्ने फैसला गर्नु अन्यायको पराकाष्टा भई त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी दाबीबमोजिम न्याय गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र । 

प्रत्यर्थी चुडाबहादुर श्रेष्‍ठले २३ अगस्त २००१ मा His majesty the king and Her majesty the Queen, The Royal Palace of Thailand, Bangkok लाई लेखेको पत्रमा "my writer wife Mrs. Shanti Chaudhary” भनी उल्लेख गरेको परिप्रेक्ष्यमा समेत निजलाई श्रीमतीको रूपमा अंशियार कायम नगरी फिराद दाबी पुग्न नसक्ने ठहर्‍याइएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा छलफलको लागि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि पेस गर्नु भन्‍ने पुनरावेदन अदालत पाटनबाट भएको आदेश । 

यसमा विवाहपश्चात् विवाह दर्ता नगराएको अवस्था, थाइल्याण्डका राजारानीलाई सम्बोधन गरी लेखिएको लिखत तथा पुनरावेदक पुनरावेदिका वादी शान्ति चौधरीले किड्नी दिने क्रममा तयार गरिएको Letter of Consent मा प्रतिवादी चुडाबहादुर श्रेष्‍ठलाई रोगले ग्रस्त भएको अवस्थामा शुभचिन्तक भनी विश्वासमा पारी अध्ययन नगरी सहीछाप गराएको भन्‍ने प्रतिवादीको बयान र तरूण पत्रिकामा पुनरावेदिका वादी शान्ति चौधरीले आफू एकल महिला भनी दिएको अन्तर्वार्ताका आधार तथा प्रमाणहरूबाट निजहरू पति पत्‍नी हुन् भनी निश्चयात्मक रूपमा पुष्टि नभएको हुनाले अंशियारका नाताका मानिस नहुने स्थितिमा वादी दाबी पुग्न नसक्ने ठहर गरी भक्तपुर जिल्ला अदालतबाट मिति २०६६।८।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्‍नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०६८।८।१ को फैसला । 

सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०६६।८।२ मा भएको फैसलाउपर पुनरावेदिका वादी शान्ति चौधरीको पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा उक्त अदालतबाट सुरू फैसलालाई सदर गर्ने गरी भएको फैसलामा चित्त बुझेन । म निवेदिकाको विगतमा २ जना पतिसँगको दाम्पत्य जीवन असफल रहेको भनी यस मुद्दासँग सम्बद्ध नभएका बेहोरा उल्लेख गरी भएको फैसला भेदभावपूर्ण छ । एकैसाथ तीनजना पति रहने कानूनी व्यवस्था नभएकोले विपक्षी चुडाबहादुर श्रेष्‍ठसँग नाता कायम नहुने भनी गरेको फैसला मुलुकी ऐन, लोग्ने स्वास्नीको महलको २ नं. विपरीत रहेको छ । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले २३ अगष्ट २००१ मा थाइल्याण्डका राजारानीलाई सम्बोधन गरी लेखिएको निवेदन तथा वि.आर.सिंहलाई मैले किड्नी दिने क्रममा १० नोभेम्बर १९९९ मा तयार पारिएको Letter of Consent मा म निवेदिकालाई श्रीमती भनी सम्बोधन गरेका छन् । उल्लिखित कागज बेहोरामा भएको सहीछापलाई प्रतिवादीले आफ्‍नो भनी स्वीकारेका 

छन् । यसैगरी राष्‍ट्रिय वाणिज्य बैंक बालाजु शाखामा विपक्षी चुडाबहादुर श्रेष्‍ठले खाता खोल्दा शेषपछि इच्छाइएको व्यक्तिको नाममा म निवेदिकालाई नै उल्लेख गरेका छन् । इच्छाइएको व्यक्तिमा नाम राख्दैमा पत्‍नी साबित नहुने तर म निवेदिकाको राहदानीमा निकटतम व्यक्तिमा विपक्षीको नाम उल्लेख नभएकोले निज विपक्षी पति नाताको नभएको भनी भएको फैसला प्रमाण ग्रहणको दृष्टिकोणले विरोधाभाषपूर्ण रहेको छ । तरूण पत्रिकामा उल्लेख भएको असङ्गत तथ्यलाई प्रमाणको आधार बनाई भएको फैसला मिलेको छैन । तसर्थ विपक्षी चुडाबहादुर श्रेष्‍ठ म निवेदिकाको श्रीमान् हुन् भनी प्रमाणित भइरहेको अवस्थामा म निवेदिकाले अंशियारको हैसियतले ४ अंश भागको १ भाग अंश पाउनुपर्नेमा वादी दाबी पुग्न नस्कने ठहर गरी भएको पुनरावेदन अदालत पाटनको फैसला कानून एवं नजिर सिद्धान्तसमेतको प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्‍ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने बेहोराको पुनरावेदिका वादी शान्ति चौधरीको तर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्र ।                                                                 

यसमा यसै लगाउको नं ०६८-RI-२१६० को बहुविवाह मुद्दामा आज यसै इजलासबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएकोले सो मुद्दासँग प्रस्तुत मुद्दा पनि अन्तर प्रभावित भएको हुँदा सो मुद्दामा दिइएका आधार कारणसमेतबाट पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्‍ड (क) र (ख) को विद्यमानता रहेको देखिँदा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्न निस्सा प्रदान गरिएको छ । कानूनबमोजिम गर्नु भन्‍नेसमेत बेहोराको यस अदालतको मिति २०७१।०२।२३ को आदेश । 

अदालतको ठहर

नियमानुसार निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिल कागजात अध्ययन गरी निम्नबमोजिमको बहससमेत सुनियो । 

पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल, विद्वान् वैतनिक अधिवक्ताद्वय श्री रजिता थापा तथा श्री इन्दिरा सिलवालले पुनरावेदिका वादी शान्ति चौधरी  र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठबिच २०५० साल भाइटिकाको दिन विवाह भएको थियो । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले आफ्नो पहिलो श्रीमती रहँदाको अवस्थामा पुनरावेदिका वादी शान्ति चौधरीसँग विवाह गरेको कारण विवाह दर्ता गर्ने परिवेश नमिलेको हो र विवाह भएको कुरा लुकाउनु पर्ने अवस्था रहेको 

थियो । जेठी श्रीमती परलोक भएको १ वर्ष नबित्दै प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले प्रतिवादी चेतना लोकसम श्रेष्‍ठलाई विवाह गरेका हुन् । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले २३ अगष्ट २००१ मा थाइल्याण्डका राजारानीलाई सम्बोधन गरी लेखिएको निवेदनमा तथा १० नोभेम्बर १९९९ मा तयार पारिएको Letter of Consent मा जाहेरवाली शान्ति चौधरीलाई श्रीमती भनी सम्बोधन गरेका छन् । उल्लिखित कागज बेहोरामा भएको सहीछापलाई प्रतिवादीले अन्यथा भन्‍न सकेको छैन । राष्‍ट्रिय वाणिज्य बैंक बालाजु शाखामा विपक्षी चुडाबहादुर श्रेष्‍ठले खाता खोल्दा शेषपछि इच्छाइएको व्यक्तिको नाममा शान्ति चौधरीलाई नै उल्लेख गरेका छन् । प्रहरी अधिकृतजस्तो व्यक्तिले पटक-पटक विभिन्‍न कागजातमा शान्ति चौधरीलाई Wife भनी सम्बोधन गर्नु कुनै संयोग (coincidence) हो भन्‍न मिल्ने अवस्था हुँदैन । एक पटक श्रीमती भनेर स्वीकार गरिसकेको अवस्थामा पछि श्रीमती होइन भनेर दाबी गर्नु विबन्धनको सिद्धान्त प्रतिकूल हुन्छ । पुनरावेदिका वादी शान्ति चौधरीको श्रीमान्‌ प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ हुन् भनेर पुष्‍टि हुँदाहुँदै प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ पति, चेतना लोकसम सौता र सविन श्रेष्‍ठ सौतातर्फको छोरा हुँदा जम्मा ४ अंशियार भएको ४ भागको १ भाग अंश पाउँ भन्‍ने फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत बेहोराको भक्तपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला गम्भीर त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला उल्टी गरी वादीलाई ४ भागको १ भाग अंश दिलाई पाउँ भन्‍नेसमेत बेहोराको बहस प्रस्तुत 

गर्नुभयो । 

प्रत्यर्थीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू सर्व श्री कृष्णप्रसाद कटुवाल, श्री प्रभाकर खनाल, श्री चेतनाथ घिमिरे, श्री रिता मैनाली, श्री अर्जुन खनाल, श्री सीता शरण मण्डलले पुनरावेदिका वादी शान्ति चौधरीको सुरेन्द्रराज श्रेष्ठसँग २०५५।३।२६ सम्म अंश चलन मुद्दा तथा बहुविवाह र गाली बेइज्जती मुद्दा चलिरहेको अवस्थामा २०५० साल भाइटिकाको दिन प्रतिवादी चुडाबहादुर श्रेष्ठसँग विवाह भएको भन्‍ने जाहेरवालाको भनाइ झट्ठा भएको पुष्टि 

हुन्छ । कार्तिक महिनामा विवाह हुँदैन र विवाह भएको पुष्टि हुने वस्तुनिष्ठ प्रमाण वादीले प्रस्तुत गर्न सकेको अवस्था छैन । २३ अगष्ट २००१ मा थाइल्याण्डका राजारानीलाई सम्बोधन गरी लेखिएको निवेदन तथा १० नोभेम्बर १९९९ मा तयार पारिएको Letter of Consent पुनरावेदिका वादी शान्ति चौधरीले आफैँले तयार पारी बिरामी भई सिकिस्त अवस्थामा रहेका प्रतिवादी चुडाबहादुर श्रेष्‍ठलाई सहीछाप गराएका 

हुन् । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले आफ्नो बयानमा उक्त कागजातमा भएका सहीछापलाई स्वीकारेको भए तापनि सो कागजातको बेहोरालाई इन्कार गरेको अवस्था छ । किड्नी प्रत्यारोपणको लागि दाता खोज्ने व्यक्तिको मार्फत नै रकम बुझाउनु पर्ने हुँदा राष्‍ट्रिय वाणिज्य बैंक बालाजु शाखामा प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले खाता खोल्दा शेषपछि इच्छाइएको व्यक्तिको नाममा शान्ति चौधरीलाई उल्लेख गरेका हुन् । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ र चेतना लोकसम श्रेष्‍ठबिच २०५९ मङ्सिर १२ मा विवाह पञ्‍चमीको दिन विवाह सम्पन्‍न भएको र धनुषाबाट विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । अतः प्रमाणको मूल्याङ्कन भई ४ भागको १ भाग अंश पाउँ भन्‍ने वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्‍याई भएको सुरूको फैसला सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । 

यसमा विपक्षी पति चुडाबहादुर श्रेष्‍ठसँग २०५० साल भाइटिकाको दिन विवाह भएको 

हो । विपक्षी पतिले जेठी श्रीमती परलोक भएको १ वर्ष नबित्दै विपक्षी चेतना लोकसम श्रेष्‍ठलाई मेरो सौता बनाई विवाह गरी मलाई खान लाउनसमेत नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी ४ भागको १ भाग अंश पाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदिका वादी शान्ति चौधरीको फिराद दाबी रहेकोमा मिति २०५० सालको भाइटिकाको दिन विवाह गरेको भन्‍ने कथन बिलकुल तथ्यहीन 

हो । निज शान्ति चौधरीसँग विवाह गरेको छैन । आफ्नो श्रीमान् श्यामशंकर चौधरीसँग विधिवत् रूपमा सम्बन्ध विच्छेद पनि नभएको र सुरेन्द्र राज श्रेष्‍ठसँग अंश तथा बहुविवाह मुद्दा दायर गरी विचाराधीन रहेकै अवस्थामा विपक्षीले पुनः २०५० सालमै मसँग विवाह गरेको भने तापनि निजले २०५१।७।८ मा तदनुसार २५ अक्टोबर, १९९४ मा प्राप्‍त गरेको राहदानीको नाम, थर ठेगानाको महलमा शान्ति चौधरी, काठमाडौं-१ र निकटतम व्यक्तिको महलमा रामबाबु चौधरी नारायणचौर, नक्साल काठमाडौं भनी उल्लेख भएबाट निजसँग मेरो कुनै प्रकारको नाता सम्बन्ध नभएको प्रस्ट छ । वादीको  फिराद खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादीहरूको सुरू भक्तपुर जिल्ला अदालतमा परेको संयुक्त प्रतिउत्तर जिकिर देखिन्छ । प्रस्तुत मुद्दामा वादी र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको बिचमा लोग्ने स्वास्नी नाता सम्बन्ध नै कायम हुन नसक्ने देखिएकोले वादीको फिराद दाबी पुग्न नसक्ने ठहर्छ भन्‍नेसमेत बेहोराको भक्तपुर जिल्ला अदालतको फैसलाउपर पुनरावेदन अदालत पाटनमा वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहरी भएको फैसलाउपर यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्‍ने निवेदन परेकोमा सोमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ पेस हुन आएको देखिन्छ । 

समग्र मिसिल अध्ययन एवं दुवैतर्फबाट उपस्थित विद्वान्‌ कानून व्यवसायीहरूले गर्नुभएको बहससमेतका आधारमा यस मुद्दामा मुलतः निम्न प्रश्नको निर्णय दिनुपर्ने देखिन आयो । 

(क) पुनरावेदिका वादी शान्ति चौधरी र प्रतिवादीमध्येका चुडाबहादुर श्रेष्‍ठ श्रीमान् श्रीमतीका नाताका मानिस हुन वा होइनन् ? 

(ख) वादी दाबी पुग्न नसक्ने ठहर गरी भक्तपुर जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०६८।८।१ को फैसला मिलेको छ वा     छैन ? 

 

२. निर्णयतर्फ विचार गर्दा, यी पुनरावेदिका वादी शान्ति चौधरीले प्रस्तुत मुद्दाका प्रतिवादी चुडाबहादुर श्रेष्ठसँग २०५० सालको भाइटिकाको दिन आफ्नो विवाह भएको र तदुपरान्त निजसँग पति पत्‍नीको रूपमा बस्दै आएकोमा निज चुडाबहादुरले चेतना श्रेष्‍ठ लोकसमसँग पुनः विवाह गरी आफूलाई पत्‍नीको रूपमा उचित व्यवहार नगरी अपमानजनक व्यवहार गरेकाले ४ खण्डको १ खण्ड सम्पत्ति पाउन अंशको दाबी लिई फिराद गरेको देखिन्छ । प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको जेठी श्रीमती चन्द्रमाया श्रेष्‍ठको तर्फबाट दुई छोराहरूको जायजन्म भएकोमा जेठो छोरा सविन श्रेष्‍ठको २०५६ साल श्रावणदेखि अमेरिकामा अध्ययनको लागि बसोबास रहेको र कान्छो छोरा प्रविणको २०४० सालमै स्वर्गारोहण भइसकेको भन्‍ने देखिन्छ । त्यसैगरी जेठी श्रीमती चन्द्रमाया श्रेष्‍ठको २०५९ सालमा परलोक भएपछि प्रतिवादीहरू चुडाबहादुर श्रेष्‍ठ र चेतना लोकसम श्रेष्‍ठबिच २०६१ पौष १२ मा विवाह सम्पन्‍न भई जिल्ला प्रशासन कार्यालय धनुषाबाट मिति २०६२।१।५ मा विवाह दर्ता प्रमाणपत्र लिएको मिसिल संलग्न विवाह दर्ताको प्रमाणपत्रबाट देखिन्छ । अब पुनरावेदिका वादी शान्ति चौधरी र प्रत्यर्थीमध्येका चुडाबहादुर श्रेष्‍ठ पति पत्‍नी नाताका मानिस हुन् होइनन् भन्‍ने सम्बन्धमा विचार गर्दा, प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले सार्वजनिक रूपमै पति पत्‍नी भनी चिनाउँदै हिँडेको र अत्यन्त ‌औपचारिक र सार्वजनिक रूपमा २३ अगस्त २००१ मा His majesty the king and Her majesty the Queen, The Royal Palace of Thailand, Bangkok लाई लेखेको पत्रमा सहीछाप गरेको र "My writer wife Mrs. Shanti Chaudhary" भनी उल्लेख गरेको देखिन्छ । यसैगरी किड्नी रोगबाट थलिएका वादीका असल मित्र B.R. Singh नाम गरेका मानिसलाई शान्ति चौधरीले किड्नी दिने क्रममा १८ नोभेम्बर सन् १९९९ मा तयार गरिएको Letter of Consent मा चुडाबहादुरले शान्ति चौधरीलाई आफ्नो श्रीमती भनी सम्बोधन गरेको र सो लिखतमा समेत निजले सहीछाप गरेको पाइन्छ । यी लिखतमा परेको सहीछापलाई प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले अ.बं. ८० नं. बमोजिम गरेको बयानमा आफ्नो सहीछाप होइन भनी अस्वीकार गरेको अवस्था पनि छैन । 

३. यस अतिरिक्त २०५६।४।६ मा राष्ट्रिय वाणिज्य बैंक, बालाजु शाखामा खाता खोल्दा चुडाबहादुर श्रेष्‍ठले आफ्नो शेषपछि इच्छाइएको व्यक्तिको नाममा शान्ति चौधरीलाई उल्‍लेख गरेको देखिन्छ । आफ्नै परिवारका सदस्यहरू रहेको अवस्थामा पुनरावेदिका वादी शान्ति चौधरीलाई इच्छाइएको व्यक्तिमा राखेको कार्यले पनि प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको पुनरावेदिका वादी शान्ति चौधरीसँगको नाता केवल सामान्य चिनजानसम्म मात्र सीमित थियो भन्‍न मिल्ने देखिँदैन । 

४. जहाँसम्म प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले गरेको बयानमा अङ्ग प्रत्यारोपण गर्ने क्रममा शान्ति चौधरीले आफूलाई झुक्याई सही गराएको भनी उल्‍लेख गरेको अवस्था छ, प्रहरी अधिकृतजस्तो व्यक्तिले एक मात्र नभई विभिन्‍न लिखतहरू अध्ययन नगरी सहीछाप गरेको भनी अनुमान गर्नु तर्कसङ्गत हुँदैन । यसरी प्रतिवादी स्वयम्‌ले उल्लिखित कागजातहरूमा पुनरावेदिका वादी शान्ति चौधरीलाई श्रीमती भनी सम्बोधन गरेको, इच्छाइएको व्यक्तिमा शान्ति चौधरीलाई उल्‍लेख गरेको तथा लिखतमा परेको सहीछापलाई समेत स्वीकारेको कार्यबाट निजहरू पति पत्‍नी नाताका होइनन् भन्‍न मिल्ने देखिएन । यसै सम्बन्धमा ने.का.प. २०४३, अंक ५, नि.नं. २७३५ मा “प्रतिवादीले हस्ताक्षर सहीछाप गरेको र सो कुरालाई स्वीकार गरेको देखिन्छ । मिसिल संलग्न लिखतको प्रमाणबाट नै लोग्ने स्वास्नी कायम गरेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब छ ।” भनी कानूनी सिद्धान्त प्रतिपादित भएको छ । 

५. प्रमाण ऐन २०३१ को दफा ३४ मा “कुनै व्यक्तिले लेखेर, वचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्‍ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बिचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन ।” भन्‍ने कानूनी व्यवस्था रहेकोमा प्रतिवादी चुडाबहादुर श्रेष्‍ठले पुनरावेदिका वादी शान्ति चौधरीलाई विभिन्‍न कागजमा श्रीमती भनी स्वीकार गरी पछि श्रीमती होइनन् भनी इन्कार गर्नु विबन्धनको मान्य सिद्धान्तको प्रतिकूल रहेको देखिन्छ । 

६. त्यसैगरी वादी र प्रतिवादीबिच भएको विवाह प्रमाणित गर्ने विवाहको दर्ता प्रमाणपत्र नभएको भन्‍ने सन्दर्भमा नेपाली समाजको परिवेशलाई विवेचना गर्न उपयुक्त देखियो । नेपाली समाजमा आफ्नो धर्म तथा परम्पराअनुसार विवाह गर्ने प्रचलन रहेको छ । व्यक्तिगत घटना दर्ता गर्ने कानूनी प्रावधान भए तापनि सोको अनिवार्य रूपमा अभ्यास नभएको अवस्थालाई पनि अदालतले मध्यनजर गर्नुपर्ने हुन्छ । विवाह दर्ता विवाहलाई पुष्टि गर्ने एक विश्वसनीय तथा आधिकारिक प्रमाण हो तर विवाह दर्ता नभएको अवस्थामा विवाह नै नभएको भनी निष्कर्षमा पुग्नु तर्कसङ्गत हुँदैन । 

७. जहाँसम्म राहदानीमा आफ्नो नामसहित श्रीमान्‌को थर नराखेको अवस्थामा श्रीमती कायम नहुने भन्‍ने जिकिर सम्बन्धमा विचार गर्दा, कुनै पनि व्यक्तिलाई आफ्नो नाम, थर छान्‍ने व्यक्तिगत अधिकार रहेको हुन्छ । राहदानीमा आफ्नो नामसहित पतिको थर नराखेको र निकटतम व्यक्तिको महलमा पतिको नाम नराखेको भन्‍ने नै आधारमा श्रीमती होइन भनी अर्थबोध गर्नु उचित हुँदैन । यस सम्बन्धमा “पत्‍नी हो भनी स्वीकारेको साक्षी राखी गरिएको कागजले विवाहको कानूनी मान्यता नै हुन्छ भन्‍ने पनि होइन तर उक्त कागजले वैवाहिक सम्बन्धमा रहेको आत्मीय र सामाजिक सम्बन्धको स्वीकारोक्ति गरेको 

छ । विवाह दर्ता गर्नुपर्ने कानून रहे तापनि नेपालमा हालसम्म व्यक्तिगत घटना दर्ता ऐनको प्रभावकारिता नरहेको अवस्थामा प्रेम विवाह सामाजिक साँस्कृतिक विवाहलाई अन्यथा भन्‍न नमिल्ने तथा नियुक्तिको फाराम भर्दा पतिको नाम नराखेको र नागरिकता लोग्नेको नामबाट किन नलिएको भन्‍ने प्रश्नमा महिलाले कुन थर लिने उसको स्वनिर्णयको अधिकार रहेको, महिला अधिकारसम्बन्धी महासन्धि (CEDAW) को धारा १६ ले पारिवारिक नामथर छान्ने व्यक्तिको व्यक्तिगत अधिकार हो (Right to choose a family name) भन्‍ने मान्यता स्थापना भएको अवस्थामा आफ्नो स्वतन्त्र पहिचानसहितको पारिवारिक जीवनको हक रहेको हुन्छ । तसर्थ, नागरिकतामा वा नियुक्तिको फाराममा पतिको नाम उल्लेख नगर्नु वा पतिको नामबाट नागरिकता नलिनुको अर्थ श्रीमती होइन भन्‍ने पुष्टिको आधार हुन नसक्ने ।” भनी ने.का.प. २०७४, अंक ६, नि.नं.९८३३ मा सिद्धान्तसमेत प्रतिपादित भएको छ । अतः पुनरावेदिका वादी शान्ति चौधरी र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ पति पत्‍नी नाताका मानिस हुन् भन्‍ने देखिन आयो । 

८. अब दोस्रो प्रश्न अर्थात्‌ पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन भन्‍ने सम्बन्धमा विचार गर्दा, उक्त फैसलामा पुनरावेदिका वादी शान्ति चौधरीको सुरेन्द्रराज श्रेष्ठसँग मिति २०५५।३।२६ सम्म अंश चलन तथा बहुविवाह र गाली बेइज्जती मुद्दा चलिरहेको कारणबाट वादीको एकैसाथ दुईजना पति हुने कुरालाई कानूनले परिकल्पना नगरेको भन्‍ने आधार लिएको देखिन्छ । यस सन्दर्भमा तत्कालीन मुलुकी ऐनको लोग्ने स्वास्नीको महलको २ नं. मा अर्को विवाह गरेमा पहिलो विवाह स्वतः विच्छेद हुने व्यवस्था रहेको साथै हाल सुरेन्द्रराज श्रेष्ठसँगको उक्त मुद्दामा निज सुरेन्द्रराज श्रेष्‍ठ वादीका पति होइनन् भन्‍ने ठहरेबाट पनि पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिएन । 

९. त्यसैगरी तरूण पत्रिकामा पुनरावेदिका वादी शान्ति चौधरीले आफू एकल महिला भनी दिइएको अन्तर्वार्ताको सम्बन्धमा हेर्दा, पत्रपत्रिकामा प्रकाशित सामग्रीको प्रामाणिक महत्त्व बुझ्नुपर्ने हुन्छ । प्रमाण कानूनको मान्य सिद्धान्तअनुसार कुनै पनि कुरालाई प्रमाणको रूपमा ग्राह्य हुन सम्बद्धता र सान्दर्भिकता अर्थात्‌ Relevancy  हुनुपर्छ । मुद्दामा पक्षहरूको चरित्र असल वा खराब छ भन्‍ने कुरा प्रमाणमा लिन हुँदैन भनी प्रमाण ऐन, २०३१ को दफा २४ मा उल्लेख गरिएको छ । 

१०. नेपालको संविधानको धारा २८ मा “कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानूनबमोजिम बाहेक अनतिक्रम्य 

हुनेछ ।” भनी गोपनीयताको हक सुनिश्चित गरिएको तथा अन्‍नपूर्ण राणाको मुद्दामा (ने.का.प. २०५५, अंक ८, नि.नं.६५८८) गोपनीयताको हकको (Right to privacy) स्पष्ट व्यवस्था भएबाट गोपनीयताको अतिक्रमण गर्न नमिल्ने भनी सिद्धान्त प्रतिपादितसमेत भएको अवस्थामा कुनै पनि महिलाको विगतमा के कस्तो सम्बन्ध वा मुद्दा थियो भन्‍ने आधारमा निजको चरित्रमाथि आक्षेप लगाउनु नैतिक एवं कानूनसम्मत हुँदैन । तसर्थ पुनरावेदिका वादी शान्ति चौधरीको तरूण पत्रिकामा प्रकाशित अन्तर्वार्तालाई प्रमाणको रूपमा ग्राह्य गरी भएको फैसला मिलेको देखिएन । 

११. पहिलो प्रश्नमा गरिएको सविस्तार विवेचनाले पुनरावेदिका वादी शान्ति चौधरी र प्रतिवादी चुडाबहादुर श्रेष्‍ठ पति पत्‍नी नाताका मानिस हुन् भन्‍ने पुष्‍टि भएको देखिन्छ । मुलुकी ऐन, अंशबन्डा महलको १ नं. मा "अंशबन्डा गर्दा यस महलमा अन्य नम्बरको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी छोराछोरीहरूको जियजियैको गर्नुपर्छ" भन्‍ने व्यवस्था रहेको छ । सम्पूर्ण मिसिल संलग्न प्रमाणहरूबाट पुनरावेदिका वादी शान्ति चौधरी प्रतिवादी चुडाबहादुर श्रेष्‍ठको श्रीमती हुन् भनी प्रमाणित भइरहेको अवस्थामा पुनरावेदिका वादी शान्ति चौधरीले अंशियारको हैसियतले ४ अंश भागको १ भाग अंश पाउने ठहर्छ । 

१२. तसर्थ, माथि विवेचित मुद्दाको तथ्य आधार र कारणहरूबाट वादी दाबी पुग्न नसक्ने ठहर गरी भएको भक्तपुर जिल्ला अदालतको मिति २०६६।८।२ मा भएको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६८।८।१ को फैसला मिलेको नदेखिँदा उल्टी भई फिराद परेको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी तायदाती फाँटवारीमा उल्लिखित दर्ता स्रेस्ता भिडेसम्मका सम्पूर्ण सम्पत्तिबाट ४ अंश भाग लगाई सोको १ भाग पुनरावेदिका वादी शान्ति चौधरीले अंश छुट्‍याई लिन पाउने ठहर्छ । अन्यमा तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदिका वादी शान्ति चौधरीले प्रतिवादी चुडाबहादुर श्रेष्‍ठबाट ४ भागको १ अंश भाग पाउने ठहरेकोले तायदातीमा उल्लिखित भएको सम्पूर्ण सम्पत्तिबाट फैसलाबमोजिम अंशबन्डा गरिपाउँ भनी पुनरावेदिका वादी शान्ति चौधरीको कानूनका म्यादभित्र दरखास्त परे फैसलाअनुसार बन्डा छुट्याई दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू ..............................................१

 

तायदातीमा उल्लिखित सम्पत्तिको विवरण

प्रतिवादी चुडाबहादुर श्रेष्ठको नाममा भएको सम्पत्ति विवरणः

सि.नं. जिल्ला गा.वि.स. वडा नं. कि.नं. क्षे.फ. कैफियत

१ मोरङ मृगौलिया ७ (क) १८७ ०-४-० (सोमा बनेको घर) जग्गाको मूल्य २,००,०००।-

घरको मूल्य ५०,०००।-

 

प्रतिवादी सविन श्रेष्ठको नाममा भएको सम्पत्ति विवरणः

सि.नं. जिल्ला गा.वि.स. वडा नं. कि.नं. क्षे.फ. कैफियत

१ भक्तपुर छालिङ्ग ५ ६५० ०-६-२-० (सोमा बनेको घर) जग्गाको मूल्य १,००,०००।-

घरको मूल्य ५०,०००।-

 

 

पुनरावेदिका वादी शान्ति चौधरीले फिराद दर्ता गर्दा रू.२००।- दाखिल गरी फिराद दायर गरेको देखिएकोले सो रकम प्रतिवादीहरूबाट भराई पाउने हुँदा ऐनका म्यादभित्र सो रकम भराई पाउँ भनी वादीको दरखास्त पर्न आए प्रतिवादीहरूबाट वादीलाई सो रकम भराई दिनु भनी सुरू भक्तपुर जिल्ला अदालतमा लेखी पठाई दिनू .........२

नक्‍कल माग्ने सरोकारवालाहरूबाट नियमानुसार लाग्ने दस्तुर लिई नक्‍कल दिनू .....................................३

प्रस्तुत फैसला अपलोड गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई  दिनू ......................................................................................................................................४

 

उक्त रायमा सहमत छु । 

न्या.पुरूषोत्तम भण्डारी

इजलास अधिकृतः मतिना शाक्य

इति संवत् २०७६ पौष २१ गते रोज २ शुभम् । 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु