शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४१४ - कीर्ते

भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११

निर्णय नं. ४४१४    ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

सम्वत् २०४५ सालको फौ.वि.नं. ४९

फैसला भएको मिति: २०४८।११।१८।१ मा

पुनरावेदक/वादी : भ.पु.न.पं. वा.नं. ८ बस्ने सिद्धिवीर कर्माचार्य

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.वार्ड नं.१० बस्ने विष्णु वासुकलासमेत

मुद्दा : कीर्ते

(१)    रेखा विशेषज्ञले ल्याप्चे सहिछाप मिल्न भिड्न नआउने भनी राय दिएको र कृष्णेश्वरीले पनि सोही अनुरुप विशेष प्रहरीमा कीर्ते गरे भनी उजूर दिएको देखिएबाट अदालतमा निजले आई बयान गर्दा सद्दे साँचो भनी भनेकै आधारमा सद्दे साँचो हो भनी मान्न नसकिने नमिल्ने हुँदा कीर्ते नठहर्ने गरी गरेको फैसला नमिल्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली, विद्वान अधिवक्ता श्री बसन्तराम     भण्डारी

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी परेको बिन्तिपत्रमा इन्साफ जाँच गरिदिनु श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।

२.    विष्णुधर वैद्यलाई रिझाए बापत वहाँबाट ०३४।३।२० मा हालै देखि भोग चलन गर्न पाउने गरी (साविक पेज नं. ७५२) पाएको हालैको बकसपत्र बमोजिम घर पाताल समेतका घर जग्गा मध्येको घर मुनिको पसल साल १ को रु. ९०००।बहाल लिने गरी विष्णुप्रसाद हाडालाई कबूलियत गराई बहालमा राखी भोग चलन गरी आएकोमा निज विष्णु घरको हालसम्म सगोल साथमा बसी आउनु भएको कृष्णेश्वरीले वारिसनामा गरिदिएको भनी विपक्षीहरु मिली कीर्ते वारेसनामा खडा गरी उक्त घर आधा अंश बदर गरिपाउँ भनी विष्णुले फिराद गर्नु भएको रहेछ । यसरी कीर्ते वारेसनामा बनाई मुद्दा खडा गराएकोले कीर्ते कागजको १४।१५ नं. बमोजिम विष्णु वासुकला र साक्षी लेखक समेतलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको सिद्धिवीर कर्माचार्यको मिति ०३५।९।१२ को फिरादपत्र ।

३.    वादी दावा झुठ्ठा हो, कृष्णेश्वरीको सहिछाप कीर्ते गर्नुपर्ने कुनै प्रयोजन पनि नभएको कृष्णेश्वरीले स्वेच्छाले आफ्नो अंश जति बदर गरी पाउन नालेश गर्नको निमित्त वारेसनामा दिनु भएको हो । अतः कपोल कल्पित वादी दावा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्र.सारदाभक्तको र ललितलाल मुल्मी, विष्णु वासुकलाले दिएको संयुक्त प्रतिउत्तर ।

४.    अ.बं. ८२ नं. बमोजिम वादीलाई फिराद दायर गर्न पाउने एकलौटी हक प्राप्त भई नसक्दै यो फिराद दायर हुन आएकोले यो मुद्दाको फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको ०४१।१।२० को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन भनी वादीको पुनरावेदन ।

६.    वारेसनामा कीर्ते गरिएको हो होइन भन्ने समेत सबूद प्रमाणको मूल्यांकन गरी ठहर गर्नु पर्नेमा खारेज गरेको भ.पु.जि.अ. को इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरिएको छ । कानुन बमोजिम इन्साफ तहकिकात गर्नु भनी मिसिल भ.पु.जि.अ. मा पठाइदिनु भन्ने ०४२।८।२ को म.क्षे.अ. को फैसला ।

७.    वादी दावीको वारेसनामा सद्दे साँचो हो भनी अदालतले ठहर गर्न सक्ने आधार मिसिलमा देखिन आएन । यस्तो सद्दे नदेखिने वारेसनामा वादी दावी सद्दे नभई कीर्ते ठहर्छ भन्नेसमेत व्यहोराको भ.पु.जि.अ.को ०४२।१२।१९।३ को फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.विष्णु वासुकला र प्र. शारदाभक्तको म.क्षे.अ.मा परेको पुनरावेदन ।

९.    वारिसनामा जसको नाउँमा खडा भएको छ सो आफैंले स्वेच्छाले दिएको भनी कृष्णेश्वरीले बयान समेत गरी स्वीकारेको अवस्थामा ल्याप्चे सहिछापको आकृति बिग्रेकोमा नमूनाको ल्याप्चेसंग मेल नखाएको भन्ने निर्णय आधार पनि मिलेन र यस आधारमा विवादको उक्त वारेसनामा कीर्ते हुन् भन्ने प्रमाणिक सबूदको अभाव समेतबाट कीर्ते ठहर्‍याएको भक्तपुर जिल्ला अदालतको फैसला मिलेको देखिएन उल्टी हुने ठहर्छ, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन पुनरावेदकलाई केही सजाय गर्न परेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    मध्यमाञ्चल क्षेत्रीय अदालतले छिनेको बिन्तिपत्रमा लेखिएको कीर्ते मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएकोमा विविधको लगतमा दर्ता गरी निवेदकलाई दिन ७ को सूचना दिई संयुक्त इजलासमा पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

११.    विशेषज्ञहरुको जाँचबाट वारेसनामाको ल्याप्चे सहिछाप सद्दे हो र मिल्न भिड्न आउँछ भन्ने तथ्य प्रमाणित हुन सकेको छैन, यस्तो अवस्थामा कृष्णेश्वरी वैद्यले वारेसनामा आफूले गरिदिएको भनी स्वीकार गरेको आधारमा मात्र कीर्ते नठहराएको म.क्षे.अ. को फैसला फरक पर्ने देखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षीहरुलाई झिकाई (साविक पेज नं. ७५३) नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

१२.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री विष्णुप्रसाद नेपाल र श्री वसन्तराम भण्डारीले विष्णुधरले सिद्धिवीरलाई रिझाए बापत २०३४।३।२० गते हालैको बकसपत्र पास गरिदिनु भएको सोही मितिमा विष्णुधरले रुक्मिणी कर्माचार्यलाई रिझ बापत हालैको बकसपत्र गरिदिनु भएकोमा रुकमिणीले पुनमायालाई २०३४।२।२३ मा बकसपत्र गरिदिनु भएको हो । दाताको श्रीमती कृष्णेश्वरीले आधा लिखत बदर गरिपाउँ भनी दिनु भएको लिखत मुद्दाको वारेसनामा कीर्ते हो । दुईजना रेखा तथा लेखा विशेषज्ञसंग जँचाउन पठाउँदा ल्याप्चे मिल्न भिड्न आउँदैन भन्ने राय दिएको र तेस्रो विशेषज्ञसंग जँचाउन पठाउँदा पनि यकीन गर्न नसकिने भन्ने राय हुँदा वारेसनामाको सहिछाप कृष्णेश्वरीको नभई कीर्ते गरेको हुँदा क्षेत्रीय अदालतको इन्साफ उल्टी हुनुपर्छ भन्ने र प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले लिखत बदर मुद्दामा दिएको वारेसनामा सद्दे हो भनी पक्षले स्वीकारेपछि कीर्ते हुन सक्दैन, यस सम्बन्धमा सर्वोच्च अदालतबाट ने.का.प. ०४२, अंक ६, नि.नं. २४०७, पृष्ठ ५९४ मा सिद्धान्त समेत प्रतिपादन भइसकेको हुँदा क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।

१३.   म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

१४.   यस्मा निर्णयतर्फ विचार गर्दा, विष्णुधर वैद्यलाई रिझाए बापत २०३४।३।२० मा हालै देखि भोग चलन गर्न पाउने गरी हालैको बकसपत्र पाएकोमा दाताको एकासगोलमा बसेकी कृष्णेश्वरीको वारेसनामा कीर्ते गरी आधा अंश बदर गरिपाउँ भनी विष्णुले फिराद गर्नु भएको रहेछ, कीर्ते वारेसनामा बनाई मुद्दा खडा गराएकोले कीर्तेमा सजायँ गरिपाउँ भन्ने फिराद दावी भएको देखिन्छ । कृष्णेश्वरीले आफ्नो अंश जति बदर गरिपाउन नालेश गर्नको निम्ति वारेसनामा दिनु भएको सो वारेसनामा कीर्ते हुँदा झुठ्ठा फिराद दावी खारेज गरिपाउँ भन्ने प्रतिउत्तर जिकिर भएको पाइन्छ । विष्णुधरले सिद्धिवीरलाई मिति २०३४।३।२० मा गरिदिएको हालैको बकसपत्रमा आफ्नो आधा अंश बदर गरिपाउँ भन्ने मुद्दा शुरु भक्तपुर जिल्ला अदालतमा दायर गर्दा कृष्णेश्वरीको वारेसनामा कीर्ते गरी दायर गरेको भन्ने भएबाट कृष्णेश्वरीले २०३५।११।१४ मा विशेष प्रहरी विभागमा दिएको निवेदनमा मेरो लगाई राखेको सहिछाप ढाक्ने गरी दोस्रो व्यक्तिको सहिछाप लगाई डबल सहिछाप गराई मेरो वारेसनामामा लगाएको सही बिगारी वारेसनामा नै कीर्ते वारिसनामा हुने किसिमबाट वारेसनामा बिगारेकोले कारवाही गरिपाउँ भन्ने जिकिर लिएको पाइयो भने २०३६।३।५।३ मा भक्तपुर जिल्ला अदालतमा कृष्णेश्वरीका वारेस विष्णुप्रसादले बयान गर्दा वारेसनामा देखाउँदा देखें, उक्त वारेसनामामा लगाएको ल्याप्चे सहि मेरो हो, सद्दे व्यहोराको वारेसनामा पेश दाखिल गरी फिराद दायर गरेको हुँदा वादी दावी बमोजिम कीर्ते होइन भनी बयान गरेको पाइन्छ । विशेष प्रहरी विभागमा दिएको निवेदनमा कीर्ते भन्ने र अदालतमा भएको बयानमा सद्दे भनेकोले उजूरी र बयान एकापसमा फरक फरक देखिन्छ । अदालतमा बयान गर्दा विशेष प्रहरीमा उजूर गरेको कुरा उल्लेखसम्म नगरी अदालतलाई नै भ्रममा पार्न खाजेकोले शुद्ध नियतले अदालतमा प्रवेश गरेको मान्न मिलेन ।

१५.   विवादास्पद वारेसनामामा लागेको ल्याप्चे सहिछापहरु जाँच गर्ने विशेषज्ञद्वय मदनबहादुर कार्की र घनश्याम मुखियाले कृष्णेश्वरीको ल्याप्चे सहिछाप वारेसनामाको ल्याप्चे सहिछापसंग फरक देखिएको भनी राय दिएको र अर्का रेखा विशेषज्ञ पद्मराज काफ्लेले (साविक पेज नं. ७५४) दोहोरो ल्याप्चे भएको कारणबाट जाँच गर्न नसकिने भन्ने राय व्यक्त गरेको देखिँदा वारेसनामा कीर्ते भन्ने कुरामा विवाद देखिएन । प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वारा प्रस्तुत गरिएको नजीरमा विवादित लिखतको ल्याप्चे सहिछाप भिडे मिलेको भनी रेखा विशेषज्ञको राय भएको र वि.प्र.वि.मा वारेसनामा कीर्ते भनी उजूर नगरेको समेतबाट वस्तुस्थिति नमिल्ने हुँदा सो नजीर प्रस्तुत मुद्दामा सान्दर्भिक देखिन आएन ।

१६.    अतः रेखा विशेषज्ञले ल्याप्चे सहिछाप मिल्न भिड्न नआउने भनी राय दिएको र कृष्णेश्वरीले पनि सोही अनुरुप विशेष प्रहरीमा कीर्ते गरे भनी उजूर दिएको देखिएबाट अदालतमा निजले आई बयान गर्दा सद्दे साँचो भनी भनेकै बयान गरेकै आधारमा सद्दे साँचो हो भनी मान्न नसकिने नमिल्ने हुँदा म.क्षे.अ.ले कीर्ते नठहर्ने गरी गरेको फैसला नमिलेको देखिँदा उल्टी हुन्छ । भक्तपुर जिल्ला अदालतले कीर्ते ठहर्‍याएको इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ओमभक्त श्रेष्ठ

 

इति सम्वत् २०४८ साल फाल्गुण १८ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु