निर्णय नं. १०४४९ - अंश चलन

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति : २०७६।९।२४
०७४-NF-००२२
मुद्दाः- अंश चलन
पुनरावेदक / प्रतिवादी : विक्रम शम्शेरको नाति, सुदर्शन शम्शेरको छोरा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ मानभवन बस्ने मुनी शम्शेर ज.ब.रा.
विरूद्ध
प्रत्यर्थी / वादी : ऐ. का नाति, सुदर्शन शम्शेरको छोरा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ विक्रम भवन बस्ने मन शम्शेर ज.ब.रा.
एकपटक स्वीकार गरिसकेको मानो छुट्टिएको मितिलाई अस्वीकार गरी पुनरावलोकनको निवेदनमा चित्त नबुझाएको भनी उक्त मितिका सम्बन्धमा लेखिएको बेहोरालाई औचित्यपूर्ण र विवेचनायुक्त तथ्य मान्न नमिल्ने ।
(प्रकरण नं.४)
अदालतमा प्रश्न उठेपछि बन्डा हुन योग्य पैतृक सम्पत्तिको न्यायोचित र सन्तुलित हस्तान्तरण नभएको अवस्था देखिएमा वादी वा प्रतिवादी जो जसको नाममा दर्ता रहेको र जुनसुकै किसिमबाट परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको भए पनि त्यस्तो सम्पत्तिलाई सगोलको पैतृक सम्पत्ति मानी अंशबन्डाको विधिशास्त्रीय र सैद्धान्तिक मान्यता एवं विद्यमान कानूनी व्यवस्थाको मर्म र भावनाअनुरूप हुने गरी समानतापूर्ण र सन्तुलित रूपमा अंशियारहरूबिच अंशबन्डा गरिनुपर्ने ।
(प्रकरण नं.१२)
मानो छुट्टिएपछि दा.खा. नामसारी वा हस्तान्तरण भएको भन्ने आधारमा मात्र त्यस्तो बन्डायोग्य पैतृक सम्पत्तिलाई निजी आर्जनसरह मानी बन्डा नलाग्ने भन्न नमिल्ने ।
(प्रकरण नं.१४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेल तथा विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद ढुंगाना
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री सोहनकुमार खड्का, श्री चेतनाथ घिमिरे, श्री उज्जल रायमाझी र श्री अन्जन धिताल
अवलम्बित नजिर :
ने.का.प.२०४९, नि.नं.४४६१
ने.का.प.२०५०, नि.नं.४६७९
ने.का.प.२०५२, अङ्क ८, नि.नं.६०६०
ने.का.प.२०५३, नि.नं.६०६०
ने.का.प.२०६८, नि.नं.८६७९
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले
ललितपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री शिवनारायण यादव
माननीय न्यायाधीश श्री हेमराज पन्त
पुनरावेदन अदालत पाटन
यस अदालतमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला
न्या.सपना प्रधान मल्ल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम निवेदन परी यस अदालतबाट निस्सा प्रदान भएको र नियमानुसार निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
पिता सुदर्शन शम्शेर र माता आना राणाको तर्फबाट जायजन्म भएका २ छोराहरूमा जेठा छोरा प्रतिवादी मुनी शम्शेर ज.ब.रा. र कान्छो छोरा म फिरादी मन शम्शेर ज.ब.रा. भएको र ३ छोरीहरूमा शान्ति राणा, सन्तु शाह र सन विष्टको जायजन्म भएकोमा माता पिताको परलोक भइसकेको र छोरीहरूसमेतको विवाह भइसकेकोले जम्मा २ अंशियार छौं । हालसम्म अंशबन्डा भएको छैन । म फिरादी अध्ययनको क्रममा विदेशतर्फ रहेको र परिवार संख्या वृद्धि भएकोले अंश माग गर्दा नदिने भनी प्रतिवादीले ठाडो जवाफ दिएकाले अन्यायमा परी बाध्य भई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग गरी सम्पूर्ण सम्पत्तिलाई २ भाग गरी १ भाग म फिरादीको अंश छुट्याई चलन चलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
नाता सम्बन्धमा विवाद छैन । आ–आफ्नो खती उपती गरी आई आ–आफ्नो नाममा छुट्टाछुट्टै सम्पत्तिहरू राखी भोगचलन, खरिद बिक्री, ना.सा. दर्तासमेत गरी भोग व्यवहार गर्दै आएका छौं । हामी वादी प्रतिवादीबिच अंशबन्डा हुनुपर्ने अवस्था
छैन । मिति २०४१/०३/१९ को र.नं. ३२३६ को अंश छोडपत्रसमेतबाट फिरादी र म प्रतिवादीबिच मिति २०२९/०५/०२ गतेभन्दा अगाडि नै मानो छुट्टिई भिन्न भई भोग बिक्री व्यवहार गरी व्यवहार प्रमाणबाट समेत अंशबन्डा भइसकेको हुँदा विपक्षी वादीलाई अंश दिनुपर्ने होइन । सो व्यवहार प्रमाणबाट अंशबन्डा भई आ–आफ्नो हिस्सा छुट्याई लिई दिई दुवै पक्षले भोगचलनसमेत गरी आएको अवस्थामा पुनः अंशबन्डा गरिपाउँ भन्न वादी आफैँ विबन्धित हुनुहुन्छ । साथै आफ्नै ज्ञान, सीप, प्रयासबाट निजी आर्जनको रूपमा केही सम्पत्तिसमेत प्राप्त गरेकोले बन्डा गर्नुपर्ने अवस्था छैन भन्नेसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तरपत्र ।
आदेशानुसारको अ.बं. ७८ नं. बमोजिमको बयानमा वादीका वारेस प्रविण कार्कीले उक्त मन्जुरनामाको बेहोरा र सहीछाप ठीक हो । तर उक्त मन्जुरनामा घर निर्माण गराउनको लागि दिएको हो । सो मन्जुरनामा अंशबन्डाको विषयमा आकर्षित हुँदैन भनी गरेको बयान सुरू अदालतको मिसिल सामेल रहेको ।
आदेशानुसारको वादी र प्रतिवादीले आफ्नो पुर्खाबाट हालसम्म विभिन्न बेहोराबाट के कति सम्पत्ति प्राप्त गरेका हुन् ? र के कुन सम्पत्ति उनीहरूको नाममा छ वा हस्तान्तरण भएको हो ? सो सम्बन्धमा वादी र प्रतिवादीले अ.बं.१३३ नं. बमोजिम गरेको कागज सुरू अदालतको मिसिल सामेल रहेको ।
फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डाको २०, २१, २२ र २३ नं. बमोजिम वादी प्रतिवादीहरूबाट तायदाती फाँटवारी मागी नियमानुसार गर्नु भन्नेसमेत बेहोराको मिति २०६९/०५/०३ मा सुरू ललितपुर जिल्ला अदालतबाट भएको आदेश ।
आदेशानुसार वादी र प्रतिवादीबाट पेस भएको तायदाती फाँटवारी विवरण तथा सोअनुसार झिकाई आएको दर्ता स्रेस्ता र आदेशानुसारका लिखतको प्रतिलिपिसमेत सुरू ललितपुर जिल्ला अदालतको मिसिल सामेल रहेको ।
वादीले र.नं. ७६८१ मिति २०६९/०९/२२ को आम्दानी रसिदबाट नपुग कोर्ट फी रू. १,४६,१८०।२३ दाखिल गरेको रसिद सुरू ललितपुर जिल्ला अदालतको मिसिल सामेल रहेको ।
वादी प्रतिवादी अंशियार रहे भएकाले पेस भएको फाँटवारीमा उल्लिखित सम्पत्तिको २ भाग गरी एक भाग अंश वादीले पाउने ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०७०/०१/२४ को फैसला ।
विपक्षी वादीले आफ्ना पितापुर्खाबाट तथा म पुनरावेदक र विपक्षी वादीका बिच भएका विभिन्न मितिका कागजका साथै म पुनरावेदकको बुबा सुदर्शन शम्शेरका बिचमा मिति २०४१/०३/१९ मा मालपोत कार्यालयबाट रजिस्ट्रेसन पाससमेत गराई लिएको अंश छोडपत्रसमेतका आधारमा विपक्षीले मबाट अंश पाउन नसक्ने अवस्था हुँदा दुवैका बिच अंशबन्डा हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मुनी शम्शेरको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
लगाउको जालसाज मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दामा समेत मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।
पुनरावेदक प्रतिवादी मुनी शम्शेर ज.ब.रा. ले आफ्ना बाबु सुदर्शन शम्शेर ज.ब.रा. बाट आफूले पाउने अंश बुझी अंश छोडपत्रको लिखत खडा गरी रजिस्ट्रेसन पाससमेत गरी छुट्टिई भिन्न भएको देखिएको छ, सो लिखत बदर बातिल नभएसम्म निज २०४१ सालमै छुट्टिई भिन्न भएको मान्नुपर्ने देखिन आयो । २०४१ सालमै छुट्टिई भिन्न भएका प्रतिवादीसँग वादी सगोलमा रहेको पुष्टि एवं प्रमाणित नभएसम्म वादीले प्रतिवादीबाट अंश पाउने अवस्था नदेखिँदा अंशको दाबी पुग्न नसक्ने ठहर्याउनु पर्नेमा अंश पाउने ठहर्याएको सुरू ललितपुर जिल्ला अदालतको मिति २०७०/०१/२४ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने मिति २०७१/०७/२७ को पुनरावेदन अदालत पाटनको फैसला ।
अंशबन्डाको लिखत र बन्डापत्रका लिखत अलग अलग विवाद हुन् । मिति २०२१/०८/०५ को लिखत म पुनरावेदक नाबालक छँदा भएको लिखत
हो । बाबु सुदर्शन शम्शेरले रजिस्ट्रेसन गरी दिएको जग्गा निजले नै फिर्ता लिएको, म पुनरावेदकले अंश प्राप्त गरेको व्यवहार प्रमाणबाट पुष्टि नभएको, घर व्यहार चलाउन विपक्षीले र म पुनरावेदकले बिक्री गर्ने गरेको र म पुनरावेदक देशबाहिर रहेकाले विपक्षीलाई अधिकृत वारेसनामा दिएको अवस्थामा एकलौटी भन्ने शब्द पर्दैमा अंश जस्तो नैसर्गिक हक संकुचित हुन सक्ने होइन । मिति २०४१/०३/१९ को अंश छोडपत्रको लिखतका आधारमा प्रत्यर्थी / प्रतिवादीलाई सगोलमा नरहेको भनिएको छ तर पिताको मृत्युपछि बाँकी जग्गा आमा आना राणा, म वादी र विपक्षीले संयुक्त रूपमा अपुतालीका आधारमा नामसारी गरेको अवस्था छ । मिति २०४२/०२/१३ को शेषपछिको बकस लिखतलाई सगोलको भनी प्रत्यर्थी प्रतिवादीले जिकिर लिएको अवस्थामा प्रत्यर्थी प्रतिवादीलाई सगोलमा नरहेको भनी हाल प्रचलनमा रहेको अंशबन्डाको ३० नं. लागु हुनुपूर्व पुनरावेदक वादीले अंश नपाएको अवस्थामा मुलुकी ऐनको सातौं संशोधनपश्चात् अनिवार्य अंशबन्डाको लिखत र रजिस्ट्रेसन गर्नुपर्नेमा सो बन्डा नभएकोले पुनरावेदक वादीले अंश नपाएको अवस्थामा अंश नपाउने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला ने.का.प.२०६८, अङ्क ९, पृ.१४४६, नि.नं.८६७९ मा प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेको हुँदा उक्त फैसलाको निर्णयाधार बदर गरी सुरू ललितपुर जिल्ला अदालतको फैसला कायम गरिपाउँ भन्ने वादी मन शम्शेर ज.ब.रा. को यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा यसै मुद्दासँग सम्बन्धित मन शम्शेर ज.ब.रा. विरूद्ध मुनी शम्शेर ज.ब.रा. भएको ०७२-CR-१११२ को जालसाज मुद्दा साथै राखी कानूनबमोजिम गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३/०५/०८ को आदेश ।
यसमा लगाउमा रहेको जालसाजी (०७२-CR-१११२) मुद्दामा यसै अदालतबाट मिति २०७२/०८/०८ मा मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी रहेको कारणबाट पुनरावेदन अदालत पाटनको मिति २०७१/०७/२७ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. को प्रयोजनार्थ विपक्षी झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७३/०८/२२ को आदेश ।
प्रतिवादी आफ्नो पिता सुदर्शनको जीवनकालमा नै २०४१ सालमा पारित अंश छोडपत्र र भरपाइको लिखतबाट अलग भएको भने पनि सो लिखत र सोपछि अंशियार बाबु, आमा र यी वादी भाइबाटै विभिन्न मितिको लिखतबाट असमान रूपले अरू सम्पत्तिहरू पनि हस्तान्तरण हुँदै गरेको र केही सम्पत्ति अझै यी प्रतिवादीसमेतको संयुक्त नाउँमा रहेको र सोबारे साबिकमा नै अंश भरपाइमा केही पनि उल्लेख नभएको अवस्थाले यी प्रतिवादी मुनी शम्शेर साबिक २०४१ सालबाट नै वास्तविक स्वाभाविक र कानूनी रूपमै अंशबन्डाको प्रयोजनको लागि लिखतअनुसार व्यवहारबाट नै अलग भएको भन्न मिल्ने अवस्था देखिँदैन । अंश छोडपत्र र अंश भरपाइको लिखतबाट प्रतिवादी अलग भई निजको नाउँमा उल्लिखित जग्गा दर्ता भएको र व्यवहारबाट भोग गरेको भए पनि त्यसअघि र पछि गरी निजै प्रतिवादीको नाउँमा अंशियारहरूबाट आएको पैतृक सम्पत्तिको मात्रासमेत हेर्दा अंशको भागबन्डा गर्दा अंशियारहरूबिच कानूनतः बराबरी अर्थात् समानुपातिक रूपमा न्यायोचित हुनुपर्छ भन्ने कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी बन्डा भए गरेको अवस्था देखिँदा माथि उल्लिखित यसै अदालतबाट सिद्धान्त प्रतिपादन भएका मुद्दाको तथ्यसँग नै प्रस्तुत मुद्दाको तथ्य मेल खाएको नदेखिएकाले ती मुद्दामा प्रतिपादित सिद्धान्तहरू प्रस्तुत मुद्दामा आकर्षित हुने देखिएन । अतः मिति २०४१/०३/१९ मा र.नं. ३२३६ को लिखतबाट प्रतिवादीले अंश छोडपत्र गरी भरपाइ गरिदिएको भन्ने भए पनि सो मितिमा प्रतिवादी, वादी भाइबाट मानो छुट्टिएर अलग भई बसेको अवस्थासम्म कानूनतः मान्नुपर्ने देखिन
आउँछ । सो देखिँदा पुनरावेदन अदालत पाटनले प्रतिवादी वादीबाट मिति २०४१/०३/१९ गते पारित अंश छोडपत्र भरपाइको लिखतबाट अलग भएकोले वादी दाबी पुग्न सक्दैन भनी गरेको फैसला कानूनतः मिलेको देखिन आएन । अंश छोडपत्र भरपाइको लिखत पारित भएको मिति २०४१/०३/१९ मा नै प्रतिवादी, वादीबाट मानो छुट्टिई अलग भएको मिति कायम भएको हुँदा सो मितिपछि प्रतिवादीले खरिद गरेको कि.नं. ८०२, २६१, २६३ र २६२ का जग्गा भने बन्डा नलाग्ने र ती जग्गा प्रतिवादीको निजी हुने ठहर्छ । सोबाहेक प्रतिवादीका नाउँमा रहेका अन्य कि.नं.का जग्गाहरू अंशियारहरूबाटै विभिन्न लिखतबाट हक हस्तान्तरण भई आए पनि ती सगोल र पैतृक सम्पत्तिका रूपमा नै रहेको देखिन आउँछ । यी पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादीले कम बेसीमा भए पनि कहिले आमा, भाइ र कहिले बाबुबाट बकसपत्र, अंश छोडपत्र र राजीनामाको लिखतबाट हक हस्तान्तरण गरी लिएका छन् । ती कि.नं. का जग्गा प्रत्यर्थी प्रतिवादी मुनि शम्शेरले बन्डा नलाग्ने भनी तायदाती फाँटवारीमा जिकिर लिएको
देखिन्छ । प्रत्यर्थी प्रतिवादीले मिति २०४१।३।१९ अघि र त्यसयता पनि अंशियारबाटै पैतृक र सगोलको बन्डा लाग्ने सम्पत्ति नै विभिन्न लिखतबाट प्राप्त गरेका छन् । त्यसरी अंशियारबाटै सबैलाई बन्डा लाग्ने सम्पत्ति जुनसुकै लिखतबाट प्राप्त गरे पनि त्यो सम्पत्तिको प्रकृति र स्रोत पैतृक भएमा र अंशियारबिच सम्पत्तिको बाँडफाँट वा प्राप्ति हुँदा असमान भएको देखिए वा समानुपातिक एवं न्यायोचित रूपमा भएको नदेखिएमा कानून एवं स्वाभाविक रूपमा पनि ती सम्पत्ति जुनसुकै अंशियारले प्राप्त गरेर तीनका नाउँमा रहे पनि त्यस्ता सम्पत्तिमा समेत बन्डा लाग्ने हुन्छ । अतः माथि उल्लिखित निजी आर्जनको देखिएका कि.नं. का जग्गाहरूबाहेक वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित दर्ता स्रेस्तासँग भिडेका जग्गाहरूमध्ये केही कि.नं. का जग्गाहरू प्रतिवादीले अंश भरपाइ गरी दिएको मिति २०४१/०३/१९ अघि र पछि पनि प्रतिवादीकै नाउँमा जुनसुकै लिखतबाट हस्तान्तरण भई आए पनि ती सम्पत्ति पैतृक र सगोलकै सम्पत्ति मान्नुपर्ने हुँदा ती सम्पत्तिबाट दुई भागको एक भाग सम्पत्ति अंशबापत वादीले पाउने देखिन आयो । अतः मिति २०४१/०३/१९ लाई प्रतिवादी, वादीबाट मानो छुट्टिएको मिति कायम गरिएको हुँदा सो मितिपछि प्रतिवादीले खरिद गरेको कि.नं. ८०२, २६१, २६३ र २६२ का जग्गाबाहेक सो मितिअघि र त्यसयता प्रतिवादी र अंशियारबिच भएका साबिकदेखिका लिखतहरूबाट प्रतिवादीले प्राप्त गरेको संयुक्त दर्तामा रहेको तथा वादी, प्रतिवादीको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले २ भागको १ भाग अंश पाउने ठहर्छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०७४।१।१३ को फैसला ।
ललितपुर जिल्ला ल.पु.न.पा. वडा नं. ५(ग) कि.नं.१२६ को जग्गा विपक्षी वादीले पिता सुदर्शन शम्शेरलाई बिक्री गरेका छन् । र.नं. ४८६ मिति २०३२।७।१० को हा.ब. को लिखतबाट कि.नं. २३१ को जग्गा निज विपक्षीले निजकी विवाहिता छोरीलाई बकसपत्र गरिदिएका छन् । पिता सुदर्शन शम्शेरले मिति २०४२।२।१३ को र.नं. २९७८ र २९७९ बाट कि.नं. ४१४ को क्षे.फ. ४-१२-२-२ मध्येको पश्चिमतर्फबाट विपक्षी वादीलाई र बाँकी आमा आना राणालाई शे.ब. गरिदिएको अवस्था छ । विपक्षी वादीले कि.नं. ४०२ को जग्गा आफ्नो र आमाको मात्र संयुक्त नाममा नामसारी गराई र.नं. ३३२९ मिति २०५५।१०।१३ को लिखतबाट मलाई हा.ब. गरिदिएका छन् । जसको लिखत मिसिलसाथ संलग्न छ । कैयौँ जग्गा सहमतिमा संयुक्त नाममा समेत लिने दिने कार्य भएका छन् । जुन अंशियारहरूको रूपमा नभई प्राकृतिक व्यक्तिको स्वतन्त्र हैसियतले भएका छन् । त्यसैलाई आधार मानेर मलाई हराई मानो छुट्टिएको मिति पछाडिका सम्पत्तिलाई समेत बन्डा लगाउने गरी मिति २०७४।१।१३ मा भएको फैसला अंशबन्डासम्बन्धी प्रचलित कानून एवं अदालतबाट स्थापित सिद्धान्तसमेतको विपरीत भएकोले सो फैसला बदर गरिनुपर्दछ । मिति २०४१।३।१९ पछाडि मैले गरेको पेसा व्यवसायबाट आर्जित रूपैयाँबाट कतिपय परिवारिक सम्पत्तिसमेत खरिद गरेको अवस्था हुँदा २०४१।३।१९ लाई मानो छुट्टिएको मिति स्वीकार गर्ने गरी मिति २०७४।१।१३ को फैसलाले लिएको निर्णयाधार गलत र कपोलकल्पित भएकोले उक्त मिति २०७४।१।१३ को फैसला त्रुटिपूर्ण छ । मानो छुट्टिएपछि आर्जन भएको सम्पत्तिमा एक दोस्रोको अंश हक पुग्न नसक्ने भनी रामेश्वर यादवको मु.स. गर्ने निजकी श्रीमती कुसुम देवी विरूद्ध परमेश्वर यादव भएको अंश दर्ता मुद्दामा व्याख्या भई ने.का.प. २०५२ अङ्क ८ नि.नं. ६०६० पृष्ठ ७४१ सिद्धान्त प्रतिपादन भएकोले २०४१।३।१९ लाई मानो छुट्टिएको मिति कायम गरी तत्पश्चात् मैले आर्जन गरेको सम्पत्तिमा बन्डा लाग्ने गरी सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले मिति २०७४।१।१३ मा गरेको फैसला त्रुटिपूर्ण भएकोले मुद्दा पुनरावलोकन गरी उक्त फैसला बदर गरिपाउँ भनी प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावलोकनको निवेदन ।
पिताबाट २०४१ सालमा नै अंश लिई लिखत पारित भएको हुँदा सोही मितिलाई मानो छुट्टिएको मिति कायम भएपछि तत्पश्चात् निवेदकले प्राप्त गरेको सम्पत्तिसमेत बन्डा लगाइदिने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला ने.का.प. २०५२, अङ्क ८, निर्णय नं. ६०६० मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल देखिँदा न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा २ को खण्ड (ख) बमोजिम प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेर्न अनुमति प्रदान गरी दिइएको छ भन्ने बेहोराको मिति २०७५।२।२४ को आदेश ।
संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसलामा र मिति २०७५।२।२४ मा मुद्दा पुनरावलोकन गरी हेर्न अनुमति दिइएको आदेशमा समेत मिति २०४१।३।१९ लाई मानोसम्म छुट्टिएको मिति कायम गरिएको तर अंशबन्डा नै भएको नभनिएको अवस्था भएबाट वादी र प्रतिवादीका बिचमा अंशबन्डा नभएकोले सो मितिभन्दा पछि प्रस्तुत मुद्दाका अंशियारबाहेक अन्य व्यक्तिबाट प्रतिवादीले खरिद गरेको जग्गालाई प्रतिवादीको निजी ठहरी बन्डा नलाग्ने भनी फैसला भएको साथै प्रतिवादीले सगोलको अंशियारबाट प्राप्त गरेको जग्गा निजले आर्जन गरेको निजी धन लगानी गरी खरिद गरेको नभई बकसपत्रबाट प्राप्त गरेको देखिएकोले सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम नै बन्डा लाग्ने भएबाट सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला सदरै कायम गरी विपक्षीको निवेदन खारेज गरिपाउँ भन्ने बेहोराको विपक्षी वादीको तर्फबाट परेको लिखित प्रतिवाद ।
उल्लिखित बेहोरा भएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी मुनी शम्शेर ज.ब.रा. का तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेल तथा विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद ढुंगानाले २०४१।३।१९ मा नै मुनी शम्शेर पिताबाट अंश लिई छुट्टी भिन्न भएको देखिन्छ । विपक्षी वादीले अंश मुद्दामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्न माग गरेकोमा अदालतले २०४१।३।१९ को अंश भरपाइलाई मानो छुट्टिएको मिति कायम गरी फैसला गरेको छ, यसरी फिरादीको मागभन्दा बाहिर गई मानो छुट्टिएको मिति कायम गरेकोलाई हाम्रो कानून प्रणालीले स्वीकार गर्दैन । साथै २०४१।३।१९ अघि र पछि मेरो पक्षको नाममा आएका जग्गा बन्डा लाग्ने गरी संयुक्त इजलासबाट फैसला भएको पनि त्रुटिपूर्ण छ । २०४१।३।१९ को अंश भरपाइलाई स्वीकार गरिसकेपछि त्यसपछि मेरो पक्षको नाममा आएका जग्गा बन्डा गरिनु हुँदैन । अंशबन्डा भइसकेपश्चात् मेरो पक्षको नाममा आएको कि.नं. ४१२, ३९०, र ४२० का जग्गा बन्डा लाग्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । त्यसैगरी विपक्षी वादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री सोहनकुमार खड्का, श्री चेतनाथ घिमिरे, श्री उज्जवल रायमाझी र श्री अन्जन धितालले अंशबन्डा हुनु र मानो छुट्टिनु फरक फरक कुरा हुन् । २०४१।३।१९ मा मानो छुट्टिँदा मेरो पक्षले केही जग्गा मात्र लिएर छुट्टिएको हो । सम्पूर्ण पैतृक सम्पत्ति वा बन्डा हुनुपर्ने सम्पत्ति कानूनअनुसार नरम गरम मिलाई बन्डा गरी अंशबन्डा गरेको होइन । त्यतिखेर बन्डा नगरेको कि.नं. का जग्गाहरू बन्डा लाग्ने गरी संयुक्त इजलासबाट फैसला भएको छ । २०४१।३।१९ को भरपाइलाई दुवै पक्षले स्वीकार गरेकाले अदालतले त्यही मितिलाई मानो छुट्टिएको मिति कायम गरेको हुँदा त्यसमा पनि विवाद गर्नुपर्ने अवस्था छैन, तसर्थ संयुक्त इजलासकै फैसला सदर कायम होस् भनी बहस प्रस्तुत गर्नुभयो ।
मिसिल अध्ययन गरी निवेदक र विपक्षीतर्फबाट प्रस्तुत भएको उल्लिखित बेहोराको बहससमेत सुनी निर्णय सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा मूलतः संयुक्त इजलासबाट भएको मिति २०७४।१।१३ को फैसला ने.का.प. २०५२ अङ्क ८ नि.नं. ६०६० मा उल्लिखित सिद्धान्तको प्रतिकूल भएकोले पुनरावलोकन गरिपाउँ भन्ने निवेदकको मागसमेत भएकोले प्रस्तुत मुद्दामा निम्न प्रश्नहरूउपर विचार गरी संयुक्त इजलासको मिति २०७४।१।१३ को फैसला मिले नमिलेको सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
प्रश्न नं. १- प्रस्तुत मुद्दामा मिति २०४१।३।१९ लाई मानो छुट्टिएको मिति कायम गर्नु उपयुक्त हो होइन ?
प्रश्न नं. २- निवेदक / प्रतिवादीले पुनरावलोकन पत्रमा माग गरेअनुसार संयुक्त इजलासको मिति २०७४।१।१३ को फैसला बदर हुनुपर्ने अवस्था छ छैन ?
प्रश्न नं. ३- संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला ने.का.प. २०५२ अङ्क ८, नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्तको प्रतिकूल छ छैन ?
२. प्रश्न नं. १ उपर विचार गर्दा निवेदक /प्रतिवादी मुनी शम्सेर ज.ब.रा. र प्रत्यर्थी / वादी मन शम्शेर ज.ब.रा. बुबा सुदर्शन शम्शेर ज.ब.रा र आमा आना राणाको छोरा भई दाजु भाइ नाताका व्यक्ति रहेका देखिन्छन् । बुबा र आमाको मृत्युपछि पनि आफूलाई दाजु मुनी शम्शेरले आफ्नो भाग अंश दिन नमानेकाले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी बन्डा लाग्ने सम्पत्तिबाट २ भागको १ भाग अंश माग गरी मन शम्शेर ज.ब.रा. ले मिति २०६६।७।११ मा ललितपुर जिल्ला अदालतमा फिराद दायर गरेकोमा मुनी शम्शेरले प्रतिउत्तरपत्रमा फिरादी मन शम्शेर ज.ब.रा. र आफू २०२९।५।२ भन्दा अगाडि नै मानो छुट्टिई २०४१।३।१९ मा र.नं. ३२३६ बाट अंश छोडपत्रसमेत गरी छुट्टी भिन्न भएको हुँदा अंशबन्डा हुनुपर्ने अवस्था छैन भनी आफूले अंश दिनु नपर्ने बेहोरा उल्लेख गरी प्रतिउत्तर पत्र फिराएको देखिन्छ । यस सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा फैसला हुँदा २०४१।३।१९ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिपश्चात् प्रतिवादीले खरिद गरेका कि.नं. ८०२, २६१, २६२, र २६३ का जग्गाबाहेकका तायदाती फाँटवारीमा उल्लिखित जग्गाबाट २ भागको १ भाग जग्गा वादीले अंश भाग पाउने ठहराई फैसला गरेकोमा सर्वोच्च अदालतले फैसला गर्दा कायम गरेको मानो छुट्टिएको मितिसमेतमा असहमति जनाई पुनरावलोकनको निवेदनमा बेहोरा उल्लेख गरेको देखिन्छ ।
३. अंश पाउने गरी फैसला गर्दा अदालतले मानो छुट्टिएको मितिलाई आधार लिने गरेको भए पनि यस्तो मिति कायम गर्ने सम्बन्धमा भने निरपेक्ष रूपमा कुनै सिद्धान्त नियम वा सूत्रको प्रयोग नगरी सापेक्ष दृष्टिकोण अपनाउने गरिएको पाइन्छ । मानो छुट्टिएको मितिको सम्बन्धमा वादी र प्रतिवादीबिच मुख मिलेमा सोही मितिलाई (ने.का.प. २०५३, नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्त) र मुख नमिलेको अवस्थामा कुनै लिखत भए सो लिखत भएको मितिलाई (ने.का.प. २०५० नि.नं. ४६७९ मा प्रतिपादित सिद्धान्त) र त्यस्तो लिखत पनि नभएको तर व्यवहार प्रमाणबाट मानो छुट्टिएको मिति स्पष्ट देखिने अवस्था भएमा त्यस्तो स्पष्ट देखिएको मितिलाई र त्यस्तो मिति देखिने अवस्था पनि नभए र मुख पनि नमिलेकोमा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने (ने.का.प. २०४९ नि.नं. ४४६१ मा प्रतिपादित सिद्धान्त) लगायतका विविध दृष्टिकोणलाई यस अदालतले अभ्यास र प्रयोग गर्दै आएको पाइन्छ ।
४. प्रस्तुत मुद्दामा संयुक्त इजलासले कायम गरेको मानो छुट्टिएको मितिको सम्बन्धमा निवेदक प्रतिवादीले चित्त नबुझाएको भन्ने तथ्य निजले यस अदालतमा दिएको मुद्दा पुनरावलोकन गरिपाउँ भन्ने निवेदनको बेहोराबाट देखिन्छ तर सुरू जिल्ला अदालतले तायदाती विवरण माग गर्ने गरी गरेको आदेशउपर यिनै निवेदक प्रतिवादीले पुनरावेदन तहमा दिएको मुलुकी ऐन, अ.बं. १७ नं. को निवेदनमा मिति २०४१।३।१९ लाई नै मानो छुट्टिएको तथ्य मान्नुपर्ने कुरा उल्लेख गरेको देखिएकाले निज निवेदक आफैँले मिति २०४१।३।१९ लाई नै मानो छुट्टिएको मितिका रूपमा स्वीकार गरिसकेको अवस्था देखिन्छ, यसरी एकपटक स्वीकार गरिसकेको उक्त मितिलाई अस्वीकार गरी पुनरावलोकनको निवेदनमा चित्त नबुझाएको भनी उक्त मितिका सम्बन्धमा लेखिएको बेहोरालाई औचित्यपूर्ण र विवेचनायुक्त तथ्य मान्न मिल्ने देखिएन ।
५. साथै प्रत्यर्थी वादी र आफू २०२९।५।२ भन्दा अगाडि नै मानो छुट्टिई भिन्न भएको भन्ने निवेदक प्रतिवादीको अर्को जिकिरतर्फ विचार गर्दा, निवेदक र प्रत्यर्थी २०२९।५।२ भन्दा अगाडि नै मानो छुट्टिई अलग अलग भएको तथा निवेदक र प्रत्यर्थीबिच मुलुकी ऐन, अंशबन्डाको ३० नं. को व्यवस्थाअनुकूल हुने गरी घरसारमा नरम गरम मिलाई अचल सम्पत्ति अंशबन्डा भएको अवस्थासमेत देखिँदैन । मुलुकी ऐन अंशबन्डाको ३० नं. मा "अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नु पर्नेमा सो गरी राख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारिजसमेत गराई सकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भाग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ ।" भन्ने व्यवस्था भएकोमा उक्त ३० नं. को व्यवस्थाअनुसार नरम गरम मिलाई अंशबन्डा भएको र बन्डा भएपश्चात् निवेदक र प्रत्यर्थीले बन्डाअनुसार आ-आफ्नो भागको अचल सम्पत्ति छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको अवस्थासमेत देखिन आउँदैन । प्रत्यर्थी / वादीलाई बाबु सुदर्शन शम्शेर ज.ब.रा. ले २०२१ सालमा कि.नं. १२६ र कि.नं. २३१ (क्षे.फ. २-२-० र १-०-०) को २ कित्ता जग्गा दिएको र सोही कुरालाई आधार मानी २०२९।५।२ भन्दा अगाडि नै वादी मानो छुट्टिइसकेको भनी निवेदक प्रतिवादीले जिकिर लिएको देखिन्छ तर सो २ कित्ता जग्गा मिति २०२९।५।२ मा निज वादीले आफ्नो बुबा सुदर्शन शम्शेर ज.ब.रा. लाई नै फिर्ता दिएको अवस्था देखिएको अवस्थालाई विचार गर्दा मिति २०२९।५।२ भन्दा अगाडि नै निवेदक / प्रतिवादी र प्रत्यर्थीबिच रीतपूर्वक मानो छुट्टिएको भनी निष्कर्षमा पुग्न मिल्ने नहुँदा २०२९।५।२ भन्दा अगाडि नै आफू र प्रत्यर्थीबिच मानो छुट्टिएको भन्ने निवेदकको जिकिरलाई यथार्थपरक मान्न मिलेन, निवेदक तथा प्रत्यर्थीलाई आफ्नो बुबा तथा आमाबाट विभिन्न फरक फरक मितिमा सगोलको जग्गा हस्तान्तरण हुँदै आएकोसमेत मिसिल संलग्न तथ्यहरूबाट देखिन्छ भने सो तथ्यलाई मुद्दाका दुवै पक्षले अन्यथा भन्न सकेको अवस्थासमेत देखिँदैन । जग्गा हस्तान्तरण गर्ने क्रममा नै २०४१।३।१९ मा अंश छोडपत्रको कागज भएको र सो कागजबाट कि.नं. ७३८ र कि.नं. १०१ को जग्गा प्रत्यर्थी मन शम्शेरले बुबा सुदर्शन शम्शेरबाट प्राप्त गरेको देखिन्छ भने सोही मितिमा निवेदक मुनी शम्शेरले कि.नं. ३९० र कि.नं. ४१२ को जग्गा प्राप्त गरेको देखिन्छ, यसका साथै निज मुनी शम्शेरले सोअगावै २०३८ सालमा हा.ब. मार्फत कि.नं. ११६ र ११७ को जग्गा तथा शे.व. मार्फत कि.नं. ११२ र ३८९ को जग्गा बाबु सुदर्शन शम्शेरमार्फत प्राप्त गरेको देखिन्छ । यसप्रकार २०४१।३।१९ सम्म निवेदक र प्रत्यर्थीले आफ्नो बाबुबाट प्राप्त गरेका जग्गाबाहेक पनि निजका बाबु तथा आमासँग अन्य थुप्रै कित्ता जग्गाहरू बाँकी रहेको र ती कित्ता जग्गाहरूका सम्बन्धमा २०४१।३।१९ को अंश छोडपत्रमा कुनै कुरा उल्लेख भएको देखिँदैन । २०४१।३।१९ पछि निवेदक र प्रत्यर्थी एकासगोलमा बसी संयुक्त रूपबाट घरायसी व्यवहार सञ्चालन गरेको भन्ने तथ्य, प्रमाण नरहेको तथा त्यसरी संयुक्त रूपमा व्यवहार सञ्चालन गरेको भन्ने दाबी जिकिरसमेत निवेदक र प्रत्यर्थी तर्फबाट प्रस्तुत हुन सकेको देखिँदैन । मानो छुट्टिएको मिति यकिन गर्ने सम्बन्धमा यस अदालतबाट पनि सापेक्ष दृष्टिकोण अपनाउने गरिएको पाइन्छ, यस सन्दर्भमा मानो छुट्टिएको मितिलाई निरपेक्ष रूपमा ग्रहण गर्न सकिँदैन, मुद्दामा रहेको तथ्यले नै त्यसलाई निर्धारित गर्दछ भनी ने.का.प. २०६८ नि.नं. ८६७९ मा यस अदालतबाट व्याख्या भई सिद्धान्तसमेत प्रतिपादन भएको
देखिन्छ । तसर्थ उक्त नि.नं. ८६७९ मा प्रतिपादित कानूनी सिद्धान्त, मुलुकी ऐन, अंशबन्डाको ३० नं. को कानूनी व्यवस्था तथा निवेदक र प्रत्यर्थीलाई निजका बुबा आमाबाट प्राप्त अचल सम्पत्ति र प्राप्त हुन बाँकी रहेको अन्य अचल सम्पत्तिको विवरण एवं निवेदक र प्रत्यर्थी २०४१।३।१९ पछि एकासगोलमा बसेको भन्नेसमेत नदेखिएको अवस्था एवं निवेदक स्वयम्ले मुलुकी ऐन, अ.बं. १७ नं. अनुसार निवेदन दिँदा उल्लेख गरेको बेहोरासमेतलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा संयुक्त इजलासबाट मिति २०४१।३।१९ लाई मानो छुट्टिएको मिति कायम गर्ने गरी गरिएको व्याख्यालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन आएन ।
६. प्रश्न नं. २ का सम्बन्धमा विचार गर्दा, अंशबन्डाको विधिशास्त्रीय र कानूनी दृष्टिकोण नै बन्डा हुनुपर्ने सम्पत्ति सबै अंशियारहरूलाई बराबर हुने गरी नरम गरम मिलाई सन्तुलित रूपमा बाँडफाँट गर्नु हो, औचित्यपूर्ण आधार र कारणविना बन्डा हुने सम्पत्तिलाई घटी बढी गरी तथा पूर्वाग्राही र कलुषित भावना राखेर गरिने सम्पत्तिको बाँडफाँटलाई अंशबन्डाको सैद्धान्तिक मान्यताले स्वीकार गर्दैन, समानतामूलक बाँडफाँट नै अंश हकको नैसर्गिकता कायम राख्ने महत्त्वपूर्ण आधार भएकोले अंश माग गरेको र अदालतमा प्रवेश भएको अंश मुद्दामा बन्डा हुनुपर्ने सम्पत्तिको समानतामूलक बाँडफाँट सम्बन्धमा न्यायोचित र विवेकपूर्ण विश्लेषण गरी अंश हकको नैसर्गिकता कायम रहने गरी निर्णय दिनु पर्ने मान्यतालाई अदालतले नजर अन्दाज गर्न मिल्दैन । आफूले अंश पाउनु पर्ने दाबी गरी प्रस्तुत मुद्दाका प्रत्यर्थी / वादीले फिराद दायर गरेकोमा २०२९।५।२ अगाडि नै आफू र वादी मानो छुट्टिएको र २०४१।३।१९ मा अंश छोडपत्रसमेत भइसकेको अवस्था हुँदा अंश दिनुपर्ने होइन भन्ने प्रतिवादी निवेदकको जिकिर रहेको देखिन्छ । अदालतबाट तहतह निर्णय हुने सन्दर्भमा यस अदालतको संयुक्त इजलासबाट मिति २०४१।३।१९ लाई मानो छुट्टिएको मिति कायम गरी सो मितिपछि निवेदक प्रतिवादीले खरिद गरेका कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाबाहेक वादी प्रतिवादीले तायदाती फाँटवारीमा उल्लेख गरेका सम्पत्तिबाट २ भागको १ भाग अंश वादीले पाउने ठहराई भएको फैसलाउपर प्रतिवादी मुनी शम्शेरले पुनरावलोकनको निवेदन दिएको देखिन्छ ।
७. सुरू अदालतमा वादी प्रतिवादीबाट पेस भएको तायदाती विवरण हेर्दा ललितपुर, भक्तपुर र बारा जिल्लाका विभिन्न ठाउँमा वादी प्रतिवादी तथा निजहरूको आमा आना राणाको नाममा एकल तथा संयुक्त रूपमा दर्ता स्रेस्ता रहेका २० भन्दा बढी कित्ता जग्गाहरू रहेको देखिन्छ भने निजहरूका पिता पुर्खाहरूको नाममा दर्ता भएका र दर्ता नामसारी हुन बाँकी विभिन्न किसिमका जग्गाहरूसमेत विभिन्न ठाउँमा रहेको भन्ने देखिन्छ । वादी प्रतिवादी र आमा आना राणाको एकल तथा संयुक्त रूपमा दर्ता रहेका जग्गाको प्राप्ति तथा अवस्थालाई हेर्दा साबिक मौजे ८२ नं. लगतमा दर्ता भएको, पछि नापीमा कि.नं. १२६ र २३१ मा दर्ता भएको क्रमशः क्षे.फ. २-२-० र १-०-० को जग्गा वादी नाबालक नै हुँदा निज वादी मन शम्शेरलाई पिता सुदर्शन ज.ब.रा. ले २०२१ सालमा र.नं. ७९७ को राजीनामाबाट दिएकोमा सोही जग्गा र.नं. ९४ मिति २०२९।५।२ मा वादीले नै पिता सुदर्शन शम्शेरलाई फिर्ता दिएको देखिन्छ । यसैगरी वादी मन शम्शेरले बाबु सुदर्शनबाट ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) को कि.नं. ७३८ को क्षे.फ. ३-६-०-० र ऐ. कि.नं. १०१ को ३-०-० जग्गा प्राप्त गरेकोमा कि.नं. १०१ को जग्गाबाट कित्ताकाट भई कि.नं. ७४८ मा १-१-३-० जग्गा कुमार राई र कि.नं. ७५० को १-०-०-३ जग्गा विष्णुप्रसाद उपाध्यायलाई बिक्री गरी कि.नं. ७४९ मा ०-२-३-० जग्गा बाँकी रहेको अवस्था छ । वादीका नाउँको उक्त कि.नं. ७४९ को जग्गा बाटोमा प्रयोग भएको भन्ने उल्लेख रहेको छ ।
८. यसरी नै प्रतिवादी मुनी शम्शेरले २०३८ सालमा ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) को कि.नं.११६ को ०-११-० र ऐ.ऐ.को कि.नं.११७ को ०-१९-० जग्गा हालैको बकसपत्रबाट प्राप्त गरेका छन् भने २०४१/०३/१९ को र.नं. ३२३६ को अंश छोडपत्रको लिखतबाट कि.नं. ३९० को २-४-०-० र कि.नं. ४१२ को ०-३-२-० को जग्गा प्राप्त गरेको देखिन्छ । निज प्रतिवादीले ऐ.ऐ. कि.नं. ११२ को ०-८-० र ऐ.ऐ. कि.नं. ३८९ को ०-६-० को जग्गा भने मिति २०३८/०५/२९ को शेषपछिको बकसपत्रको लिखतबाट प्राप्त गरी २०५३ सालमा बाबुको मृत्युपछि मात्र निजको नाउँमा दर्ता हुन गएको देखिन्छ । ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) कि.नं. ४१९ को ०-९-२-० जग्गा २०५५ सालमा र ऐ.ऐ. कि.नं. ७३९ को ३-६-०-० जग्गा २०६३ सालमा आमा आना राणाबाट हालैदेखिको बकसपत्रको लिखतबाट प्राप्त गरेको देखिन्छ । यसैगरी निवेदक प्रतिवादी मुनी शम्शेरले मिति २०५५/०५/२५ मा ललितपुर र बारा जिल्ला, सिमरामा रहेका प्रतिवादी मुनी शम्शेर, आमा आना राणा र भाइ वादी मन शम्शेरका नाउँका संयुक्त दर्ताका विभिन्न २४ कित्ता जग्गाहरू बिक्री गर्न वादी मन शम्शेर र आमा आना राणाबाट अधिकृत वारेसनामा प्राप्त गरी निजले नै सुक्री बिक्री गरेको मिसिल संलग्न कागजातबाट देखिन आउँछ ।
९. पिता सुदर्शन शम्शेरको २०५३ सालमा देहावसान भएपछि मिति २०५३/१०/०८ मा आमा आना राणा, प्रतिवादी मुनी शम्शेर र भाइ वादी मन शम्शेरले बाबुको नामको ललितपुर जिल्ला, ल.पु. उ.म.न.पा. वडा नं. ५(ग) कि.नं. ४२० को ०-१०-० जग्गा संयुक्त रूपमा नामसारी गर्न दिएको संयुक्त निवेदनले निजहरूको नाउँमा कि.नं. ४२० को ०-१०-० जग्गा संयुक्त नाममा दर्ता भएको अवस्था छ । उक्त जग्गा आमा आना राणा र वादी भाइले प्रतिवादी मुनी शम्शेरलाई २०५५ सालमा हालैको बकसपत्रको लिखतबाट हक हस्तान्तरण गरिदिएको देखिन्छ । आमा आना राणा, प्रतिवादी मुनी शम्शेर र वादी भाइ मन शम्शेरको नाउँमा ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) कि.नं. ९१ को १-१-२, कि.नं. २५८ को ०-३-०-१, कि.नं. २४८ को ०-७-०-१, कि.नं. २५० को ०-३-०-१, कि.नं. २९९ को ०-१-०-१, कि.नं. ३३७ को ०-९-०-२, कि.नं. ३३९ को ०-२-१-०, कि.नं. ३४८ को ०-३-०-० र बाराको सिमरा पिपरा ४(क) को कि.नं. ३१ को ०-१-१५ जग्गा संयुक्त रूपमा दर्ता रहेको देखिन्छ ।
१०. पिता सुदर्शनले आमा आना राणालाई २०४२ सालमा शेषपछिको बकसपत्रको लिखतबाट ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) कि.नं. ४१९ को ०-९-० र कि.नं. ४१४ को ४-१२-२-२ को जग्गा र सोमा बनेको घर दिएकोमा कि.नं. ४१९ को जग्गा २०५५ सालमा आमा आना राणाले प्रतिवादी छोरा मुनी शम्शेरलाई हक हस्तान्तरण गरेको र आमा आना राणाको नाउँमा भक्तपुर दधिकोट ५(झ) को कि.नं. ६६ मा २-९-०-० जग्गा यथावत् कायम रहेको अवस्था देखिन्छ । प्रतिवादी मुनी शम्शेरको कि.नं. ३९० र कि.नं. ४१२ को दुई कित्ता जग्गा लिएर मिति २०४१।३।१९ मा र.नं. ३२३६ को अंश छोडपत्रको भरपाइ लिखतबाट अलग भएकोले वादी भाइलाई अंश दिनुपर्ने होइन भन्ने जिकिर लिएको देखिन्छ । मिसिल संलग्न कागजातहरू हेर्दा सो अंश छोडपत्रको भरपाइको लिखतभन्दा अगावै २०३८ सालमा नै प्रतिवादी मुनी शम्शेरले पिता सुदर्शनबाट ललितपुरको कि.नं. ११६ र कि.नं. ११७ को जग्गा प्राप्त गरेका छन् भने कि.नं. ३८९ र कि.नं. ११२ को जग्गा मिति २०३८ सालमा नै शेषपछिको बकसपत्रबाट लिएको र सो जग्गा पिता सुदर्शनको २०५३ सालमा स्वर्गे भएपछि मात्र निजका नाउँको दर्ता भएको देखिन्छ । यसरी नै आमा आना राणाबाट पनि प्रतिवादिले कि.नं. ४१९ को जग्गा र आमा आना राणा तथा भाइ वादी मन शम्शेरका नाउँमा बाबुको नामबाट आएको कि.नं. ४२० को जग्गासमेत प्राप्त गरेको र बारा सिमराका २४ कित्ता जग्गा आमा आना राणा र भाइ वादी मन शम्शेरको अधिकृत वारेसनामा लिई निजैले नै बिक्री गरेको र आमा आना राणा भाई वादी मन शम्शेर र यी प्रतिवादी मुनी शम्शेरको नाउँमा केही कित्ता जग्गाहरूसमेत संयुक्त नाउँमा दर्ता रहेको अवस्था छ ।
११. मिति २०४१।३।१९ को अंश छोडपत्रको भरपाइमा “तिमी छोरा मुनिन्द्र शम्शेर ज.ब.रा.लाई तिमीले पाउने तिम्रो अंश भागमध्येमा हाललाई ... कि.नं. ४१२ र कि.नं. ३९० का जग्गा मात्र छोडपत्र गरिदिएको” भन्ने बेहोरा लेखिएको देखिन्छ । यसरी मिति २०४१।३।१९ मा मुनी शम्शेरले कि.नं. ४१२ र कि.नं. ३९० का दुई कित्ता जग्गा लिएको अवस्था तथा अंश छोडपत्रमा उल्लिखित “हाललाई” भन्ने बेहोरालाई ध्यान दिँदै वादी प्रतिवादीको नाममा रहेका अन्य जग्गाको दर्ता, प्राप्ति र हस्तान्तरण एवं बाँडफाँटको उल्लिखित अवस्था र प्रकृतिलाई हेर्दा वादी र प्रतिवादीबिच बन्डा हुनुपर्ने पैतृक सम्पत्तिको समानतापूर्ण तथा सन्तुलित रूपमा बाँडफाँड भएको भन्न मिल्ने अवस्था देखिँदैन । वादी र प्रतिवादीले एकल रूपमा प्राप्त गरी आफ्नो स्वामित्वअन्तर्गत दर्ता स्रेस्ता कायम गराएका तथा वादी, प्रतिवादी र आमा आना राणाको संयुक्त नाममा दर्ता स्रेस्ता कायम रहेका जग्गाको विवरण हेर्दा उक्त बाँडफाँट र हस्तान्तरणले अंशबन्डाको विधिशास्त्रीय एवं सैद्धान्तिक मान्यतालाई आत्मसात गर्न सकेको देखिँदैन । साथै उक्त बाँडफाँट “अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ” भन्ने मुलुकी ऐन अंशबन्डाको महलको २ नं. को कानूनी व्यवस्थाको अनुकूल भएकोसमेत देखिन नआएबाट मिति २०४१।३।१९ र सोभन्दा अगाडि विभिन्न मितिमा वादी र प्रतिवादीबिच भएका फरक फरक प्रकृतिका बन्डा, छोडपत्र एवं बकसपत्रसमेतको लिखतबाट निजहरूलाई हस्तान्तरण भई सिर्जित स्वामित्वलाई आधार मानी वादी र प्रतिवादीबिच अंशबन्डा भइसकेको भनी निष्कर्ष पुग्नु औचित्यपूर्ण र न्यायोचित हुने देखिन आएन ।
१२. उल्लिखित विवेचनाका अतिरिक्त “हा.व. को लिखत पारित गरी हक हस्तान्तरण गरिएको भए पनि सगोलका ती सम्पत्ति परिवारभित्रै रहेकोले एकले अर्कालाई हक हस्तान्तरण गरेकै आधारमा ती सम्पत्तिलाई बन्डा हुने सम्पत्तिबाट बाहेक वा अलग गर्न नमिल्ने” भनी यस अदालतबाट ने.का.प. २०६८, नि.नं.८६७९ मा प्रतिपादित सिद्धान्तसमेतलाई दृष्टिगत गर्दा अदालतमा प्रश्न उठेपछि बन्डा हुन योग्य पैतृक सम्पत्तिको न्यायोचित र सन्तुलित हस्तान्तरण नभएको अवस्था देखिएमा वादी वा प्रतिवादी जो जसको नाममा दर्ता रहेको र जुनसुकै किसिमबाट परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको भए पनि त्यस्तो सम्पत्तिलाई सगोलको पैतृक सम्पत्ति मानी अंशबन्डाको विधिशास्त्रीय र सैद्धान्तिक मान्यता एवं विद्यमान कानूनी व्यवस्थाको मर्म र भावनाअनुरूप हुने गरी समानतापूर्ण र सन्तुलित रूपमा अंशियारहरूबिच अंशबन्डा गरिनुपर्दछ भनी अदालतले निष्कर्षमा पुग्नु नै न्यायोचित र औचित्यपूर्ण हुने हुँदा प्रस्तुत मुद्दामा वादी वा प्रतिवादीले सुरू अदालतमा तायदाती विवरण पेस गर्दा सो विवरणमा उल्लेख गरेको बन्डा हुन योग्य मानिएको अचल सम्पत्ति जो जसका नामामा रहे भएको भए पनि उक्त सम्पत्ति निज वादी प्रतिवादीबिच बन्डा हुने देखियो ।
१३. माथि प्रश्न नं. १ मा गरिएको विवेचनाको आधारमा प्रस्तुत मुद्दामा निवेदक / प्रतिवादी र प्रत्यर्थी वादीको बिचमा मिति २०४१।३।१९ मा मानो छुट्टिएको मिति कायम भएको छ । २०४१।३।१९ लाई मानो छुट्टिएको मिति स्वीकार गरेपछि सो मितिपश्चात् निवेदक / प्रतिवादीका नाममा कायम हुन आएका जग्गा बन्डा हुनु हुँदैन भन्ने निवेदक / प्रतिवादीको अर्को जिकिर रहेको देखिन्छ । २०४१।३।१९ पश्चात् निज प्रतिवादीका नाममा को कहाँबाट के कसरी कति जग्गा प्राप्त भएका छन् भन्ने तथ्यगत विवरण माथिका प्रकरणहरूमा उल्लेख भइसकेको छ । सुरू अदालतमा पेस भएको तायदाती विवरण र दर्ता स्रेस्ताको विवरणसमेतबाट २०४१ सालमा अंश छोडपत्रको भरपाइ गरेपछि प्रतिवादी मुनी शम्शेरले २०५९।१२।६ मा ललितपुर जिल्ला, ल.पु.उ.म.न.पा. वडा नं. ५(ग) कि.नं.८०२ को ०-४-० को जग्गा, मिति २०६६।७।११ मा ललितपुर जिल्ला, बडिखेल-९ को कि.नं. २६१ को ०-३-० को जग्गा, मिति २०६८।३।१५ मा ऐ.ऐ. को कि.नं. २६३ को ०-१०-० जग्गा र मिति २०६६।१२।१ मा ऐ.ऐ. को कि.नं.२६२ को ०-४-० जग्गा राजीनामाबाट खरिद गरी लिएको देखिन आउँछ । उक्त ४ कित्ता जग्गाहरूको प्राप्तिको स्रोत र अवस्थालाई हेर्दा ती कित्ता जग्गाहरू वादी तथा प्रतिवादीको पैतृक सम्पत्तिअन्तर्गत पर्ने जग्गाहरू हुन् भन्ने देखिन नआएको र मानो छुट्टिएको मिति २०४१।३।१९ पश्चात् प्रतिवादी मुनी शम्शेरको नाममा राजीनामाको लिखतमार्फत आएको देखिएकाले उल्लिखित ४ कित्ता जग्गाहरू निवेदक मुनी शम्शेरको निजी आर्जनअन्तर्गतको सम्पत्ति देखिन आउँछ भने उक्त कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाबाहेकका तायदाती विवरणमा उल्लिखित अन्य कि.नं. का जग्गाहरू वादी तथा प्रतिवादीको पैतृक सम्पत्तिअन्तर्गत पर्ने जग्गाहरू भएको देखिएकाले ती जग्गाहरू वादी र प्रतिवादीबिच बन्डा हुन योग्य पैतृक सम्पत्ति रहे भएको देखिन्छ ।
१४. व्यक्ति स्वयम्लाई पनि सम्पत्ति आर्जन गरी आत्मनिर्भर हुन उत्साहित र प्रोत्साहित गर्न निजी सम्पत्तिको अवधारणा विकास भएको देखिन्छ । निजी आर्जनको संरक्षणको सुनिश्चितताले मात्र त्यस्तो सम्पत्ति आर्जन गर्नको लागि आवश्यक पर्ने ज्ञान, सिप र श्रमको संरक्षणमा प्रोत्साहन हुने र त्यसबाट समाजमा स्वस्थ र अनुशासित रूपबाट ज्ञान, सिप र श्रम प्रयोग गरी सम्पत्ति आर्जन गर्नुपर्दछ भन्ने सामाजिक मनोविज्ञान विकास हुन गई प्रत्येक व्यक्तिले आफ्नो ज्ञान, सिप, श्रम र सम्पत्तिको समुचित प्रयोग र व्यवस्थापन गरी व्यक्तिगत लाभ लिन सक्ने स्थितिको सिर्जना हुन जान्छ र त्यस्तो स्थितिको सिर्जनाबाट समग्र समाज र देशको विकासमा नै टेवा पुग्न जाने हुन्छ । अतः निजी आर्जनको चाहना प्रोत्साहित हुने गरी विद्यमान कानूनी व्यवस्थाको सीमा र परिधिभित्र रहेर यस अदालतले निजी आर्जनको सम्बन्धमा व्याख्या विवेचना गर्दै आएको छ । प्रस्तुत मुद्दामा पनि उल्लिखित कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाहरू मानो छुट्टिएको मितिपश्चात् निवेदक मुनी शम्शेरले खरिद गरेको देखिन्छ । मानो छुट्टिएको धेरै वर्षपछि निजले खरिद गरेको देखिएकाले सो सम्पत्तिलाई बन्डा हुने सम्पत्तिअन्तर्गत राख्दा निजी आर्जनको संरक्षणको सैद्धान्तिक मान्यताअनुकूल नहुने भएबाट सो कित्ता जग्गाहरू बन्डा गर्नु मनासिब देखिएन, साथै उक्त कि.नं. ८०२, २६१, २६२ र २६३ बाहेकका अन्य कित्ता जग्गाहरू निवेदकको निजी आर्जनअन्तर्गतको नदेखिएको र पैतृक सम्पत्तिअन्तर्गतको देखिएको हुँदा मानो छुट्टिएपछि निजका नाममा दा.खा. नामसारी वा हस्तान्तरण भएको भन्ने आधारमा मात्र त्यस्तो बन्डा योग्य पैतृक सम्पत्तिलाई निजी आर्जनसरह मानी बन्डा नलाग्ने भन्न मिल्ने देखिँदैन । यसप्रकार प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी र प्रत्यर्थी वादीबिच मिति २०४१।३।१९ मा मानो छुट्टिएको देखिएको र सो मितिपश्चात् निवेदकले खरिद गरी प्राप्त गरेका कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाहरू बन्डा नलाग्ने र सोबाहेकका अन्य कित्ता जग्गाहरू वादी र प्रतिवादीबिच बन्डा लाग्ने अवस्थाको देखिएको र सोहीअनुरूप हुने गरी संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा फैसला भएकाले निवेदक / प्रतिवादीले पुनरावलोकन पत्रमा माग गरेअनुसार संयुक्त इजलासको मिति २०७४।१।१३ को फैसला बदर हुनुपर्ने अवस्था देखिन आएन ।
५. अब प्रश्न नं. ३ का सम्बन्धमा विचार गर्दा पुनरावेदक / वादी श्रीमती कुसुमी देवी विरूद्ध प्रत्यर्थी परमेश्वर यादव भएको मुद्दामा यस अदालतबाट व्याख्या भई ने.का.प. २०५२ अङ्क ८ नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्तको प्रतिकूल संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला छ छैन भन्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो । पुनरावेदक / वादी श्रीमती कुसुमी देवी विरूद्ध प्रत्यर्थी परमेश्वर यादव भएको उक्त मुद्दामा मानो छुट्टिएको मिति २०३८।१०।१ कायम भएको र पछि प्रतिवादीको छोरा बुहारी तथा श्रीमतीको नाउँमा आएका जग्गाहरू अन्य व्यक्तिबाट राजीनामामार्फत आएको र उक्त सम्पत्ति वादी प्रतिवादीबिच बन्डा नलाग्ने प्रकृतिको पैतृक सम्पत्ति नदेखिएकाले सो सम्पत्ति बन्डा नलाग्ने भनी व्याख्या भएको देखिन्छ तर प्रस्तुत मुद्दामा मिति २०४१।३।१९ मा मानो छुट्टिएको मिति कायम भएको र सोपश्चात् प्रतिवादीका नाममा हस्तान्तरण भई आएका जग्गाहरूमध्ये कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाबाहेकका अन्य जग्गाहरू वादी तथा प्रतिवादीको बिच बन्डा हुनुपर्ने प्रकृतिको पुर्ख्यौली सम्पत्ति भएको देखिएकोले प्रस्तुत मुद्दामा उल्लिखित कि.नं. ८०२, २६१, २६२ र २६३ का जग्गाबाहेकका जग्गाको स्रोत र हस्तान्तरणको प्रकृति उक्त पुनरावेदक / वादी श्रीमती कुसुमी देवी वि. प्रत्यर्थी परमेश्वर यादव भएको मुद्दामा (ने.का.प. २०५२ नि.नं. ६०६० मा) बन्डा नभएको जग्गाको स्रोत र हस्तान्तरणको प्रकृतिभन्दा फरक देखिएकाले उक्त ने.का.प. २०५२ नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्त प्रस्तुत मुद्दामा वादी प्रतिवादीबिच बन्डा हुने भनी उल्लिखित सम्पत्तिको सन्दर्भमा लागु हुन सक्ने अवस्था देखिएन । तसर्थ मिति २०४१।३।१९ मा मानो छुट्टिएपछि प्रतिवादीका नाममा प्राप्त भएका जग्गाहरूमध्ये कि.नं. ८०२, २६१, २६२ र २६३ बाहेक अन्य कि.नं. का जग्गाहरू बन्डा लाग्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला ने.का.प. २०५२ अङ्क ८, नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्तको प्रतिकूल भएकोसमेत देखिन आएन । यसप्रकार संयुक्त इजलासको मिति २०७४।१।१३ को फैसला नि.नं. ६०६० मा प्रतिपादित सिद्धान्तको प्रतिकूल नदेखिएबाट प्रस्तुत मुद्दामा अनुमति प्रदान गर्दा उल्लिखित आधारसँग समेत सहमत हुन सकिएन ।
१६. अब माथिका ३ वटा प्रश्नहरूमा गरिएको व्याख्या तथा विवेचनाको आधारमा प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा फैसला हुँदा पुनरावेदन अदालत पाटनको मिति २०७१।७।२७ को फैसला उल्टी भई मिति २०४१।३।१९ मा वादी प्रतिवादीबिच मानो छुट्टिएको मिति कायम गरी सो मितिपश्चात् प्रतिवादीले खरिद गरेको कि.नं. ८०२, २६१, २६२, २६३ का जग्गाबाहेक सो मितिअघि र त्यसयता प्रतिवादी र अंशियारबिच भएका साबिकदेखिका लिखतहरूबाट प्रतिवादीले प्राप्त गरेको संयुक्त दर्तामा रहेकोसमेतको वादी प्रतिवादीको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट २ भागको १ भाग अंश वादीले पाउने ठहर गरी गरेको फैसलालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन आएन । तसर्थ प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ मा भएको फैसला नै सदर हुने ठहर्छ । उक्त फैसला बदर गरिपाउँ भन्ने पुनरावलोकनकर्ता वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.टंकबहादुर मोक्तान
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृत: उद्धवप्रसाद गजुरेल
इति संवत् २०७६ साल पुष २४ गते रोज ५ शुभम् ।