निर्णय नं. ४४१५ - कर्तव्य ज्यान

निर्णय नं. ४४१५ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४७ सालको फौ.पु.नं. २३१
फैसला भएको मिति : २०४८।११।५।२ मा
पुनरावेदक/प्रतिवादी : जि.प्र.का.का. शाखा पर्सामा थुनामा रहेको प्रकाश घिमिरे
विरुद्ध
प्रत्यर्थी/वादी: प्र.ना.नि. शभ्मुप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) चुप्पीले गर्दन छिनाउँदा सहभागी रहेको र टाउको बोकी ल्याई गाड्ने कार्य र अपराध बारे कसैलाई नसुनाएबाट अपराध लुकाउने प्रयासबाट निजको पनि पूर्ण संलग्नता देखिँदा सजायँ कठोर भयो भन्न नमिल्ने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।
२. २०४३।८।२६ गते झापा दमक न.पं. वा.नं. ३ बेलगाडीमा टाउको बिनाको लास छ भन्ने खबर आएकोले गई हेर्दा अन्यत्र स्थानमा कर्तव्य गरी मारी त्यहाँ ल्याई टाउको काटी लगेको देखिएको र लास सनाखत नभएकोले कानुन बमोजिम गरी पाउँ भन्ने समेत शम्भुप्रसादको प्रतिवेदन ।
३. मेरो छोरा साइला चन्द्रबहादुर राई ०४३।८।५ गते चिया विक्री गर्न दमकमा गएको कसले काटी कर्तव्य गरी मारी टाउको समेत बेपत्ता पारेकोले कानुन (साविक पेज नं. ७५५) बमोजिम गरिपाउँ भन्ने लम्बी राईको सनाखत कागज ।
४. २०४३।८।२५ गते बेलुका दमक बजारबाट घर फर्कदा तित्रेबोटे भन्ने ठाउँमा पुगी माइला राई कहाँ जाँड खाँदै गर्दा चन्द्रबहादुर पनि आई पुगेर निजलाई एक गिलास रक्सी समेत किनी दिएँ, तहाँबाट बाटो लागे पछि अलिक माथि नर्सरी जंगलको फलैचामा पुगेपछि महेन्द्र राईलाई मृतकले समातेपछि अर्काको जिउमा हात लगाउने भनी महेन्द्रले मृतकलाई फकाफक बक्सिङले हान्न थाले र छुट्याउन जाँदा मलाई समेत कुटी लडाए एकछिन पछि उठी हेर्दा चन्द्रबहादुर बोल्न नसक्ने अवस्थामा थिए, महेन्द्रले लौ यसलाई तान भनी महेन्द्र र प्रकाशले हातमा समाती घिसार्दै उत्तर पश्चिमतर्फ लगे आधा घण्टा पछाडि महेन्द्र र प्रकाश म भएमा आई चन्द्रलाई मा¥यांै यो कुरा कसैलाई नभन्नु भनेबाट डरका मारे जाहेर गर्न सकिँन र हाल मात्र प्रहरी थाना दमकमा गै सम्पूर्ण विवरण बताएको छु भन्ने समेत नरभक्त राईले प्रहरीमा गरेको कागज ।
५. मृतक चन्द्रबहादुर राई समेतले म मधुमल्लाबाट घर फर्कदा बाटो ढुकी विभिन्न धाक दिई कुटपिट गर्ने चेष्टा गरेका थिए । सो रिसइवीबाट निज चन्द्रबहादुर राईलाई मिति ०४३।८।२५ गते दमकबाट घर फर्कदा बाटोमा भेट भई प्रकाश घिमिरेको सहयोग लिई मृतकलाई कुटपिट गरी घिसार्दै पर लगी प्रकाश समाउने र मैले मेरै चुपीले घाँटी काटी शिर छुट्याई टाउको अन्यत्र लगी गाडेका हौं भन्ने समेत महेन्द्र राईले प्रहरीमा गरेको साविती कागज ।
६. महेन्द्र राईले मृतकलाई कुटपिट गर्ने कुरामा मद्दत मागेकोले म र महेन्द्र राईले मृतकलाई लात मुक्काले हिरकाई लडाई घिसार्दै पर लगी मैले समातेँ महेन्द्रले मृतकको घाँटी काटी टाउको मैले बोकेर केही पर लगी बालुवामा गाडी दिएको हो भन्ने समेत प्रकाश घिमिरेले प्रहरीमा गरेको बयान कागज ।
७. प्रस्तुत मुद्दामा महेन्द्र राईले मृतकको घाँटीमा छुरी प्रहार गरी घाँटी छिनाई टाउको अन्यत्र लगी गाडेको र प्रकाश घिमिरेले मृतकलाई समाती मार्ने संयोग पारी दिएको देखिएकोले महेन्द्र राईलाई ज्यानसम्बन्धीको १३(१) र प्रकाश घिमिरेलाई ऐ.ऐनको १३(४) अनुसार सजाय हुन र नरभक्त राईले ज्यान मारेको देखी मौकामा जाहेर नगरेकोले निज उपर ज्यानसम्बन्धीको २५ नं. अनुसार सजाय गरी पाउँ भन्ने समेत संयुक्त प्रहरी प्रतिवेदन ।
८. २०४३।८।२५ गते दमक बजारबाट घर तर्फ फर्कदा तित्रीबोटे माइला राईका दोकानमा जाँड खाँदै थियो । एकछिनपछि मृतक चन्द्रबहादुर पनि आइपुगे र निजले पनि १ गिलास रक्सी खाई त्यहाँबाट हिंडेपछि अलिक माथि महेन्द्र राई रुखमा टाँसी बसी रहेका बेलामा चन्द्रबहादुरले देखेपछि सर भन्दै प्र.छुन जाँदा महेन्द्रले बक्सीङले हानेपछि म छुट्याउन जाँदा मलाई समेत कुटेबाट म लडेछु, एकछिन पछि म उठी हेर्दा मृतक बोल्न नसक्ने भई लडी रहेछ महेन्द्रले मृतकलाई तान भन्दा म विरामी हुँदा सकिन, त्यसपछि महेन्द्र र प्रकाश घिमिरेले समाई घिसार्दै नरसरी तर्फ लगे, आधा घण्टा पछि महेन्द्र र प्रकाश आई म विरामी हुँदा झुण्ड्याउँदै लगे निकै माथि पुगेपछि चन्द्रबहादुर कहाँ गए भनी सोध्दा हामीले सकेर आयौं कसैलाई नभन्नु भनेकोले ज्यान बचाउनका लागि कसैलाई भनिन, निजलाई मार्नुपर्छ भन्ने म समेतको सल्लाह थिएन भन्ने समेत नरभक्त राईले अदालतमा गरेको इन्कारी बयान ।
९. ०४३।८।२५ गते दमक बजारबाट घर फर्कदा बीच बाटामा तित्रीबोट छेउमा मानबहादुर राईका दोकानमा जाँड रक्सी खाई मृतकले महेन्द्रलाई घर जाउँ भन्दा महेन्द्र राई र मृतक बीच झगडा भयो, छुट्याउन कोशिस गरेँ छुट्याउन नसकी नरभक्त र म समेतलाई चन्द्रबहादुरलाई तान भनी धाक धम्की दिएबाट हामी दुबैले तान्यौं तर चन्द्रबहादुर मरेका थिएन । मैले नमारौं छाडी दिउँ भन्दा महेन्द्रले चुप्पी निकालेर काटेपछि लास त्यहीँ छोडी (साविक पेज नं. ७५६) टाउको मलाई बोक भनी अराएर मैले डरले बोकेर केही पर लगी म महेन्द्रले पैनीको दोभानमा पुरेँ, तिमीहरुले कसैलाई नभन्नु भनी महेन्द्रले भनेबाट जाहेर समेत नगरेको हो मैले नमारेको हुँदा सफाई पाउँ भन्ने समेत प्रकाश घिमिरेले अदालतमा गरेको बयान ।
१०. २०४३।८।२५ गते दमक बजार गै बेलुका घर तर्फ फर्कदा नरभक्त राई समेत ४ जना तित्रीबोटमा जाँड रक्सी खाइरहेको अवस्थामा मृतक चन्द्रबहादुर राई समेत आई पुगे र ५ जना भई आउँदै गर्दा म नर्सरी छेउ सिसौको रुखमा अडेस लागेर बसेको थिएँ, चन्द्रबहादुर आएर मेरो जिउ छामे, मेरो जिउ किन छामेको भन्दा मलाई गाली गरे, तेसपछि कुटाकुट भै मृतक अन्तिम अवस्थामा पुगे, निज मरेपछि तिनै जना भई पश्चिम तर्फ घिसार्दै लगी प्रकाश र मेरो अपराध छिपाउने सल्लाह भई मेरो चुप्पीले मृतकको टाउको काटी छुट्याई टाउको प्रकाश घिमिरेले बोकेर पैनीमा एक फिट जति खनी पुरी दिएको हो । मृतकसंग कुनै रिसइवी थिएन अचानक कुटपिट हुँदा मृत्यु भएको हो भन्ने समेत महेन्द्र राइले अदालतमा गरेको बयान ।
११. प्र.महेन्द्र राईलाई ज्यानसम्बन्धीको १३ (१) बमोजिम सर्वश्वसहित जन्मकैद, प्रकाश घिमिरेलाई ऐ.ऐनको १३(४) बमोजिम जन्मकैद हुने ठहर्छ र प्र.नरभक्तले मौकामा जाहेर नगरेकोले ज्यानसम्बन्धीको २५ नं. ले सजाय गर्ने भन्ने समेत शुरु झापा जिल्ला अदालतको मिति २०४४।७।४।४ को फैसला ।
१२. शुरु झापा जि.अ.बाट कसूरदार ठहराएको इन्साफ बदर गरी सफाई पाउँ भन्ने समेत प्र.प्रकाश घिमिरेको मेची अं.अ. इलाममा परेको पुनरावेदन ।
१३. प्र.प्रकाश घिमिरेलाई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम जन्मकैद हुने ठहराएको शुरुको इन्साफ मनासिब देखिँदा प्रकाश घिमिरेको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मेची अं.अ.को मिति २०४५।११।१७।३ को फैसला ।
१४. शुरुको इन्साफ सदर गरेको मेची अं.अ. को फैसला बदर गरी सफाई पाउँ भन्ने समेत प्र.प्रकाश घिमिरेको पु.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
१५. महेन्द्र राईले धाकधम्की दिएकोले सो काम गरेको भनी प्र. प्रकाश घिमिरेले अदालतमा गरेको बयानमा जिकिर लिएको देखिन्छ । त्यसरी धाक धम्की दिँदैमा मानिसको ज्यान मार्ने जस्तो जघन्य अपराध गर्न सरिक भएको भन्ने पत्यारलायक नहुनुको अतिरिक्त महेन्द्र राईको प्रभावबाट छुटकारा पाउने बित्तिकै आएर सो कुरा जाहेर प्रकाश गरेको नदेखिएकोले प्र.महेन्द्रको धाकधम्कीबाट सो काम गरेको भन्ने जिकिरबाट अपराध गरेबापत सजायबाट उन्मुक्त हुने देखिँदैन । निजलाई ज्यानसम्बन्धी महल अन्तर्गत जन्मकैद हुने ठहराएको शुरुको इन्साफ सदर गरेको मेची अं.अ.को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पू.क्षे.अ.को २०४६।३।४।१ को फैसला ।
१६. पू.क्षे.अ.को उपरोक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.प्रकाश घिमिरेको यस अदालतमा परेको पुनरावेदन ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले मृतक चन्द्रबहादुर राईलाई प्रतिवादी महेन्द्र राईले मारेको भन्ने छर्लड्ड हुँदा हुँदै प्रस्तुत पुनरावेदकलाई पनि मुख्य कारणी सरह नै सजाय भएको मिलेको छैन भन्नेसमेत बहस प्रस्तुत गर्नु भयो ।
१८. प्रस्तुत मुद्दामा प्रकाश घिमिरेको पुनरावेदन परेबाट सो तर्फ विचार गर्दा चन्द्रबहादुर राईको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद देखिँदैन । उक्त अपराधमा महेन्द्र राईको साथ आफू समेत सरिक रहेकोमा पुनरावेदक प्रतिवादी प्रकाश घिमिरेले प्रहरी तथा अदालत समक्ष साविती बयान गरेको देखिन्छ । प्रस्तुत पुनरावेदनमा प्रकाश घिमिरेको मुख्य जिकिर महेन्द्र राईले मारेको (साविक पेज नं. ६५७) छर्लड्ड हुँदा हुँदै मलाई पनि मुख्य कारणी सरह नै सजाय भएको मिलेको छैन भन्ने छ । तर मिसिल संलग्न रहेको पुनरावेदक तथा महेन्द्र राईको प्रहरी तथा अदालतको बयानबाट निजहरु दुबैले चन्द्रबहादुरलाई बेस्सरी कुटेकोले मृतकको अवस्था चिन्ताजनक भएपछि महेन्द्र राईले चुप्पीले चन्द्रबहादुरको गर्दन छिनाउँदा प्रकाश घिमिरे पनि सहभागी रहेको र टाउको बोकी ल्याई गाड्ने कार्य र अपराध बारे कसैलाई नसुनाएबाट अपराध लुकाउने प्रयासबाट निजको पनि पूर्ण संलग्नता देखिँदा सजाय कठोर भयो भन्न नमिल्ने हुँदा पुनरावेदक प्रतिवादी प्रकाश घिमिरेको पुनरावेदन जिकिर पुग्न सक्दैन अतः प्रतिवादी प्रकाश घिमिरेलाई ज्यानसम्बन्धीको १३(३) अन्तर्गत जन्मकैद हुने ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इति सम्वत् २०४८ साल फाल्गुण ५ गते रोज २ शुभम् ।