शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४५६ - उत्प्रेषण

भाग: ६२ साल: २०७७ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

आदेश मिति : २०७६।८।९

०७०-WO-०६६८

 

मुद्दा :- उत्प्रेषण

 

निवेदक : जिल्ला बारा, गा.वि.स. पिपरा सिमरा वडा नं. २ स्थित हुलास स्टिल इन्डष्ट्रिज लिमिटेड, केन्द्रीय कार्यालय, गोल्छा हाउस, गणबहाल, काठमाडौंको तर्फबाट अधिकार प्राप्‍त ऐ. का सञ्चालक का.जि. काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने दिवाकर गोल्छा

विरूद्ध

विपक्षी : श्रम अदालत, काठमाडौं, अनामनगरसमेत

 

दुई अलग प्रतिष्ठान एक भई एउटै प्रतिष्ठानको शाखा युनिटको रूपमा कार्य सञ्चालनमा रहेको स्थितिमा त्यसका कामदार कर्मचारीको ट्रेड युनियन अलग नै हुन्छ भन्नु कानूनसम्मत र व्यावहारिक पनि नहुने ।

(प्रकरण नं.१३)

 

निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री सदिप खरेल

विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री रामकृष्ण काफ्ले

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

श्रम ऐन, २०४८

ट्रेड युनियन ऐन, २०४९

कम्पनी ऐन, २०६३

 

आदेश

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत दायर भई नेपालको संविधानको धारा ४६ र धारा १३३ (२)(३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत पर्ने प्रस्तुत रिटको संक्षिप्त तथ्य तथा आदेश यस प्रकार छ :-

तथ्य खण्ड

निवेदक प्रा.लि. तत्कालीन कम्पनी ऐन, २०२१ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता भएको छ । उद्योगको मुख्य काम फलामे जस्ता कर्कट पाता, रंगीन पाता, कालो र ग्याल्भनाइज्ड पाएप, वेल्डेड स्ट्रक्चर र पोल्ससमेत उत्पादन गरी बिक्री वितरण गर्ने रहेको छ । श्रम अदालत, काठमाडौंको मिति २०६७।३।२३ को ट्रेड युनियन दर्ता सम्बन्धमा जो बुझ्न पर्ने भए बुझी ट्रेड युनियन दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा निर्णय दिनु भनी भएको फैसलाअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०६७।२।२७ मा अग्रणी आल्मुनियम ई.लि. र हुलास स्टिल ई. लि. गाभ्न गरेको निर्णय कहीँकतैबाट बदर नभएको भन्नेसमेतका आधारमा उक्त दुवै उद्योगमा कार्यरत कामदार कर्मचारीहरूसमेत स्वतः एकीकृत हुने हुँदा ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद २ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने ठहर्छ भन्नेसमेत बेहोराको विपक्षी श्रम कार्यालय, पर्सा, वीरगन्जले मिति २०६७।११।१५ गते गरेको निर्णय   छ ।

उक्त निर्णयमा ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद-२ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रिया एकीकृत रूपमा हुने ठहर्छ भन्नुले प्रस्तुत विवाद श्रम ऐन, (सं.स.) २०४८ अन्तर्गतको विवाद नभई ट्रेड युनियन ऐन, २०४९ सम्बन्धी विवाद भएको स्पष्ट 

छ । यस्तो अवस्थामा सो निर्णयउपर ट्रेड युनियन ऐन, २०४९ को दफा २९(३) बमोजिमको क्षेत्राधिकार ग्रहण गरी श्रम अदालतमा उक्त निर्णय बदर गराउन पुनरावेदन गर्नुपर्नेमा श्रम ऐन (सं.स.), २०४८ को दफा ६०(ग) को आधारमा पुनरावेदन दर्ता भएको छ । ट्रेड युनियन दर्ता, नवीकरण आदिसम्बन्धी प्रक्रियाहरू अलग अलग ढङ्गबाट हेरिनु पर्नेमा ट्रेड युनियन दर्ता प्रक्रिया एकीकृत रूपमा हुने भनी विपक्षी श्रम कार्यालय, वीरगन्ज, पर्साको मिति २०६७।११।१५ मा भएको निर्णय विपक्षी श्रम अदालतले मिति २०७०।१।२५ मा सदर गरेको छ ।

अग्रणी अल्मुनियम इन्डष्ट्रिजलाई हुलास स्टिल इन्डष्ट्रिज लि.मा गाभ्ने गरी कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०६४।७।२७ मा कम्पनी गाभ्ने स्वीकृति दिएको र मिति २०६४।८।६ को पत्रबाट कम्पनी गाभिएको जानकारी गराएको छ । विपक्षी श्रम कार्यालय, पर्साले श्रम तथा रोजगार प्रबर्द्धन विभागसँग पत्र सं. ०६५/०६६ चलानी नं. १७ बाट अग्रणी आल्मुनियम र हुलास स्टिल गाभ्न स्वीकृति दिएको सन्दर्भमा ती दुवै प्रतिष्ठानहरूको ट्रेड युनियन दर्ता तथा नवीकरण एवम् सामूहिक मागदाबीसम्बन्धी प्रक्रियाहरू हुलास स्टिल इण्ड. लि. अन्तर्गत रहेर गर्नु पर्ने हो वा अलग अलग नै गर्नु पर्ने हो ? भन्नेबारेमा राय उपलब्ध गराई पाउन पत्र लेखेको थियो । उक्त विभागले च.नं. ७२५ मिति २०६५।५।२० मा अग्रणी आल्मुनियम र हुलास स्टिल उद्योग विभागको मिति २०६४।११।१६ को निर्णयले गाभ्ने स्वीकृतिमा प्रश्नचिह्न लगाएकोले श्रमसँग सम्बन्धित काम कारबाही अलग अलग रूपमा गर्न गराउनु हुन मिति २०६५।५।३ मा नेपाल सरकार सचिवस्तरीय निर्णय भएको बेहोरा अनुरोध छ भनी लेखी पठाएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले विभागलाई च.नं. ३६ मिति २०६५।५।३ को रायसम्बन्धी पत्रमा अग्रणी आल्मुनियम हुलास स्टिल इन्डष्ट्रिजमा गाभिएको सम्बन्धमा कुनै एउटा कम्पनीअन्तर्गत एकभन्दा बढी उद्योग वा प्रतिष्ठान हुनसक्ने भएकोले ती दुईलाई श्रम ऐन, २०४८ को प्रयोजनका लागि अलग अलग प्रतिष्ठानका रूपमा लिइनु पर्ने मिति २०६५।५।३ मा निर्णय भएको बेहोरा अनुरोध छ भनी लेखेको थियो ।

यसरी अग्रणी आल्मुनियम र हुलास स्टिल गाभिई अलग-अलग रूपमा सञ्चालन गर्न दुई उद्योगको सम्बन्धमा श्रम ऐन, २०४८ को प्रयोजनका लागि अलग अलग प्रतिष्ठानका रूपमा लिइनु पर्ने भन्ने श्रम मन्त्रालयको मिति २०६५।५।३ को निर्णयबाट देखिएको अवस्थामा ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने भनी प्रत्यक्ष त्रुटि हुने गरी निर्णय गरिएको 

छ । दुई उद्योग एउटामा गाभिएको र पृथक् पृथक् रूपमा सञ्चालन भएकोबाट त्यसको काम कारबाहीसमेत अलग अलग रूपमा रहेको छ । अलग अलग कामदार कर्मचारीका हकमा सामूहिक मागदाबी तथा ट्रेड युनियन गठन प्रक्रियालाई एउटैमा गाभ्न नमिल्नेमा ट्रेड युनियन ऐन, २०४९ को भावनाविपरीत विपक्षी श्रम अदालतसमेतबाट भएको उक्त फैसलाले निवेदकको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हकसमेतमा आघात पुग्न गएको हुँदा उक्त फैसला उत्प्रेषणलगायत जो चाहिने आदेश जारी गरी बदर गरिपाऊँ । साथै, प्रस्तुत निवेदनको किनारा नलागेसम्म श्रम अदालतको उक्त मिति २०७०।१।२५ को निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०७०।१२।९ को निवेदन पत्र । 

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने 

हो ? मागबमोजिमको आदेश जारी गर्न नपर्ने कुनै आधार र कारण भए यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एकप्रति नक्कलसहित विपक्षी नं. १ र २ लाई सूचना पठाई त्यसको बोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा पठाई दिनू । निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई आउनु भनी विपक्षी नं. ३ र ४ को नाउँमा यो आदेश र रिट निवेदनको एक एकप्रति नक्कल साथै राखी विपक्षीहरूलाई सम्बन्धित जिल्ला अदालतमार्फत सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नू । निवेदकले माग गरेको अन्तरिम आदेशका हकमा विचार गर्दा दुई कम्पनी एकआपसमा गाभिएका कारणबाट ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुन जाँदा निवेदकलाई अपूरणीय क्षति हुने स्थिति नदेखिएबाट अन्तरिम आदेश जारी गरिरहनु परेन भन्ने यस अदालतबाट मिति २०७०।१२।१३ मा भएको    आदेश । 

पुनरावेदक हुलास स्टिल इन्डष्ट्रिज र प्रत्यर्थी उक्त हुलास स्टिल इन्डष्ट्रिजको आल्मुनियम डिभजनमा कार्यरत सम्पूर्ण कामदार, कर्मचारीको हकमा ऐ.ऐ. कम्पनीमा कार्यरत मनहरी अधिकारीसमेत भएको श्रम विवाद तथा प्रक्रियासम्बन्धी मुद्दा यस अदालतमा पुनरावेदनको रोहमा दर्ता हुन आएको थियो । उक्त मुद्दामा मिसिल संलग्न सबुत प्रमाणको अध्ययन गर्दा हुलास इन्डष्ट्रिज लि. अन्तर्गत हुलास स्टिल र अग्रणी आल्मुनियम पृथक् पृथक् प्रतिष्ठान रहेको भन्ने जिकिर लिए तापनि व्यवस्थापन र लेखा प्रणाली छुट्टाछुट्टै नभई एकै व्यवस्थापन र लेखा प्रणाली सञ्‍चालन भएको पाइयो र अलग अलग प्रतिष्ठानको रूपमा सञ्‍चालन गर्न स्वीकृति प्रदान भएको अवस्था पाइएन । छुट्टाछुट्टै युनिटको रूपमा मात्र सञ्‍चालन भएको अवस्थालाई पृथक् पृथक् प्रतिष्ठान मान्न सकिने अवस्था नहुँदा ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने भनी गरेको श्रम कार्यालयको निर्णय मिलेकै देखिँदा सदर गरी यस अदालतबाट मिति २०७०।१।२५ मा फैसला भएको हो । सो फैसला श्रम कानून तथा न्यायका मान्य सिद्धान्त एवम् संविधानको भावनाअनुरूप रहेकाले सो फैसलाबाट रिट निवेदकको कानूनी एवम् संवैधानिक हकमा आघात पुगेको अवस्था नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको श्रम अदालत, अनामनगरको लिखित जवाफ । 

विपक्षीको निवेदन दाबीबमोजिम कुनै संवैधानिक तथा कानूनी हक हनन् नभएकाले उत्प्रेषणको आदेश जारी गर्नुपर्ने अवस्था छैन । निवेदन मागदाबी विवादको विषयलाई विषयान्तर गराउने धृष्टता मात्र रहेको छ । कम्पनी ऐन, २०६३ ले मुख्य कम्पनीअन्तर्गत कुनै शाखा उद्योगको वा प्रतिष्ठानको अवधारणा नै राखेको छैन । सहायक कम्पनी र मुख्य कम्पनीको अवधारणामा मुख्य कम्पनी मात्र श्रम ऐन, २०४८ को दफा २(ख), ट्रेड युनियन ऐन, २०४९ को दफा २(क), बोनस ऐन, २०३० को दफा २(ख) समेतले कम्पनी ऐनको समेत प्रयोजनका लागि प्रतिष्ठानको परिभाषा गरेको छ । हालको हुलास स्टिल इन्डष्ट्रिज लि. भनेको साबिक हुलास स्टिल इन्डष्ट्रिज प्रा.लि. र अग्रणी आल्मुनियम इन्डष्ट्रिज प्रा.लि. गाभिने निर्णय भई एकीकृत र सङ्गठित रूपमा एक प्रतिष्ठान भएको तथ्यमा विपक्षी निवेदकको स्वीकारोक्ति नै रहेको छ ।

श्रम पुँजीसम्बन्धी विवादको सुरू निर्णय गर्ने क्षेत्राधिकार श्रम कार्यालयलाई र पुनरावेदन सुन्ने अधिकार श्रम अदालतलाई रहेको छ । कम्पनी गाभिनु कम्पनी ऐन, २०६३ अन्तर्गतको एउटा प्रशासनिक चरण र प्रक्रिया हो । कुनै कम्पनीको अलग विभाग भनेको कुनै कानूनी हैसियत राख्ने स्वतन्त्र कानूनी व्यक्तित्वसहितको निकाय नभई काम गर्न सजिलोका लागि प्रतिष्ठानले गर्ने आन्तरिक प्रशासनिक तथा व्यावहारिक विभाजन हो । आल्मुनियम डिभिजन मात्र होइन हुलास स्टिल इन्डष्ट्रिज लि. भित्र कोरोगेसन, ट्रस, स्टिल, पाइपलगायतका कैयौं कार्यप्रकृतिगत आन्तरिक डिभिजन (विभाग) हरू छन् । तिनको प्रतिष्ठानस्तरको कानूनी हैसियत रहँदैन र सबै डिभिजनमा मजदुर युनियन पनि छैन । मिति २०६८।०२।२५ मा कामदार मनोज तामाङलाई प्रतिष्ठानको आलमुनियम डिभिजनको जेनेरेटरमा काम गर्ने गरी पठाएको पत्रले सो निर्णय कार्यान्वयन गराई आएको विपक्षीको व्यवहारलाई पुष्टि र प्रमाणित गरेको छ । दुई अलग प्रतिष्ठान एक भएपछि पनि त्यसका कामदार कर्मचारीको ट्रेड युनियन अलग रहन्छ भन्नु तार्किक हुँदैन । तसर्थ, श्रम कार्यालयको मिति २०६७।११।१५ को निर्णयलाई सदर गरेको श्रम अदालतको मिति २०७०।१।२५ को निर्णयमा कुनै कानूनी त्रुटि नहुँदा निराधार दाबी लिई दायर गरेको रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडका सम्पूर्ण कामदार कर्मचारीको तर्फबाट अख्तियारप्राप्त मनहरी अधिकारी र रामचन्द्र अधिकारीको मिति २०७१।२।१३ को संयुक्त लिखित जवाफ । 

विपक्षीमध्येका श्रम कार्यालय, पर्सा वीरगन्जको नाउँमा मिति २०७१।३।९ मा म्याद तामेल भएकोमा सो कार्यालयको तर्फबाट लिखित जवाफ दर्ता हुन नआएको ।

आदेश खण्ड

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो ।

निवेदकतर्फबाट उपस्थित रहनुभएका विद्वान्‌ अधिवक्ता श्री सुदिप खरेलले कम्पनी रजिस्ट्रारको कार्यालयको मिति २०६४।७।२७ को निर्णयअनुसार अग्रणी आल्मुनियम लि. र हुलास स्टिल इन्डष्ट्रिज लि. दुवै कम्पनी मर्ज भएको हो । यसरी गाभिए पनि अलगअलग रूपले छुट्टाछुट्टै सञ्चालन भएको अवस्थामा ट्रेड युनियन एकीकृत रूपमा हुने भनी गरिएको निर्णय प्रत्यक्ष त्रुटिपूर्ण रहेको छ । दुई उद्योग एउटामा गाभिएको र पृथक् पृथक् रूपमा सञ्चालन भएकोबाट त्यसको काम कारबाहीसमेत अलग अलग रूपमा रहेको प्रस्ट छ । अलग अलग कामदार कर्मचारीका हकमा सामूहिक मागदाबी तथा ट्रेड युनियन गठन प्रक्रियालाई एउटैमा गाभ्न नमिल्ने हुँदा ट्रेड युनियन ऐन, २०४९ को भावनाविपरीत ट्रेड युनियन दर्तासमेत एकीकृत रूपमा हुने भनी श्रम अदालतसमेतबाट भएको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्दछ भन्नेसमेतको बहस प्रस्तुत गर्नुभयो ।

विपक्षीमध्ये कर्मचारी ट्रेड युनियनका तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता श्री रामकृष्ण काफ्लेले ट्रेड युनियन ऐन, २०४९ को दफा २ (क), बोनस ऐन, २०६३ को दफा २(ख) र श्रम ऐन, २०४८ को दफा २ (ख) समेतले प्रतिष्ठानको परिभाषा गरेको छ । अग्रणी आल्मुनियम लि. र हुलास स्टिल इन्डष्ट्रिज लि. मर्ज भई एउटै प्रतिष्ठान भएको अवस्था छ । एउटा प्रतिष्ठानमा एउटै युनियन रहने हुँदा अलग अलग ट्रेड युनियन रहनुपर्छ भन्ने निवेदकको दाबी कानूनसम्मत रहेको छैन । कुनै प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीको हकहितका लागि ट्रेड युनियन रहने हुँदा दुई अलग प्रतिष्ठानहरू एउटैमा गाभिएपछि पनि त्यसका कामदार कर्मचारीहरूको ट्रेड युनियन अलग हुन्छ भन्नु व्यावहारिक पनि हुँदैन । तसर्थ, श्रम अदालत काठमाडौंसमेतबाट ट्रेड युनियन दर्ता प्रक्रिया एकीकृत रूपमा हुने ठहर गरी कानूनबमोजिम नै फैसला भएकाले निवेदन दाबीअनुसार रिट जारी हुनुपर्ने अवस्था नहुँदा रिट खारेज गरिपाउँ भन्नेसमेत बेहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो ।

उपर्युक्त बहससमेत सुनी निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा, कम्पनी रजिस्ट्रारको कार्यालयको मिति २०६४।७।२७ को निर्णयअनुसार अग्रणी आल्मुनियम इन्डष्ट्रिज र हुलास स्टिल इन्डष्ट्रिज गाभिई छुट्टाछुट्टै युनिटको रूपमा सञ्चालन भएको अवस्थालाई पृथक् पृथक् प्रतिष्ठान मान्न सकिने अवस्था नहुँदा ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने भनी विपक्षी श्रम अदालतसमेतबाट गरिएको फैसला ट्रेड युनियन ऐन, २०४९ को भावनाविपरीत भएकाले कानूनी त्रुटिपूर्ण रहेको र सो फैसलाले निवेदकको संवैधानिक एवम् कानूनी हकमा आघात पुग्न गएको हुँदा विपक्षी श्रम अदालत, काठमाडौंबाट मिति २०७०।१।२५ मा भएको फैसलासमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदन दाबी रहेको देखियो ।

३. हुलास स्टिल इन्डष्ट्रिज लि. अन्तर्गत हुलास स्टिल र अग्रणी आल्मुनियमको व्यवस्थापन र लेखा प्रणाली छुट्टाछुट्टै नभई एकै प्रणालीमा सञ्चालन भएको पाइनुका साथै अलगअलग प्रतिष्ठानको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान भएको अवस्थासमेत देखिँदैन । छुट्टाछुट्टै युनिटको रूपमा मात्र सञ्‍चालन भएको अवस्थालाई पृथक् पृथक् प्रतिष्ठान मान्न सकिने अवस्था नहुँदा ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने भनी गरेको श्रम कार्यालय, वीरगन्जको निर्णय सदर गरी श्रम अदालतबाट फैसला भएको हो । दुई प्रतिष्ठानहरू एक भएपछि त्यसका कामदार कर्मचारीको ट्रेड युनियन अलग अलग रहन नमिल्ने हुँदा श्रम अदालतबाट मिति २०७०।०१।२५ मा भएको फैसला कानूनसम्मत भएकाले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत लिखित जवाफ रहेको पाइयो । 

४. उल्लिखित निवेदन बेहोरा तथा लिखित जवाफसमेतलाई मध्यनजर गर्दा अग्रणी आल्मुनियम  लिमिटेडलाई निवेदक हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडमा गाभ्न कम्पनी रजिस्ट्रारको कार्यालयको मिति २०६४।७।२७ को निर्णयअनुसार स्वीकृति दिइएको भन्ने कुरामा विवाद देखिएन । उक्त गाभिएका कम्पनीहरूमा कार्यरत कामदार कर्मचारीहरूको ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद २ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने ठहर गरी श्रम कार्यालय, वीरगन्ज पर्साबाट मिति २०६७।११।१५ मा भएको निर्णय सदर गरी श्रम अदालत, काठमाडौंबाट मिति २०७०।१।२५ मा फैसला भएको देखियो ।

५. निवेदकको निवेदन दाबीतर्फ हेर्दा, उल्लिखित कम्पनीहरू गाभिए पनि पृथक् पृथक् रूपमा सञ्चालनमा रहेको हुँदा त्यसमा कार्यरत कामदार कर्मचारीहरूको ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत हुने होइन, अलग अलग रूपमै हुनु पर्ने हो भन्ने दाबी रहेको देखियो । सो सम्बन्धमा विचार गर्दा, प्रथमत: अग्रणी आल्मुनियम  लिमिटेड निवेदक हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडमा गाभिन स्वीकृति दिने निर्णय भएपश्‍चात् अलग अलग सञ्चालनमा रहेको मान्न मिल्ने हो वा एउटै प्रतिष्ठान मानिने हो भन्ने सम्बन्धमा निर्क्यौल गर्नु पर्ने देखिन आयो । 

६. श्रम ऐन, २०४८ को दफा २ (ख) मा “प्रतिष्ठान” भन्नाले कुनै उद्योग, व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम स्थापित दश जना वा सोभन्दा बढी कामदार वा कर्मचारी कार्यरत रहेको कुनै कारखाना, कम्पनी, संगठन, संस्था, फर्म वा तिनको समूह सम्झनु पर्छ..” भन्ने उल्लेख गरिएको छ । बोनस ऐन, २०३० को दफा २(ख) तथा ट्रेड युनियन ऐन, २०४९ को दफा २(क) मा “प्रतिष्ठान” भन्नाले श्रम ऐन, २०४८ को दफा २ को खण्ड (ख) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ भन्ने व्यवस्था उल्लेख भएको देखिँदा श्रम ऐनद्वारा गरिएको प्रतिष्ठानको परिभाषालाई उक्त ऐनहरूमा समेत आत्मसात् गरिएको पाइन्छ । उक्त कानूनी व्यवस्थाबाट दश जना वा सोभन्दा बढी कामदार वा कर्मचारी कार्यरत रहने गरी उद्योग, व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको कुनै कारखाना, कम्पनी, संगठन, संस्था, फर्म वा तिनको समूहलाई प्रतिष्ठानको रूपमा परिभाषित गरेको देखियो ।

७. प्रस्तुत निवेदक कम्पनी तत्कालीन कम्पनी ऐनअन्तर्गत दर्ता भएको भन्ने तथ्य निवेदन बेहोराबाटै देखिन्छ । कम्पनी ऐन, २०६३ को दफा ३ अनुसार मुनाफाको उद्देश्य लिई कुनै उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग समूहबद्ध भई प्रबन्धपत्रमा उल्लेख भएबमोजिम एक वा एकभन्दा बढी उद्देश्य प्राप्तिका लागि कम्पनी संस्थापना गर्न सक्ने देखिन्छ । सोही ऐनको दफा १७७ (१) को व्यवस्था हेर्दा कुनै पब्लिक कम्पनीले आफ्नो साधारण सभामा विशेष प्रस्ताव पारित गरी अर्को कम्पनीमा गाभिन सक्ने र प्राइभेट कम्पनीको हकमा आफ्नो प्रबन्धपत्र, नियमावली वा सर्वसम्मत सम्झौतामा भएको व्यवस्थाबमोजिम कम्पनी गाभिन सक्ने कानूनी व्यवस्था रहेको 

देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयको च.नं.४२७ मिति २०६४।८।६ को पत्रबाट सो कार्यालयको मिति २०६४।७।२७ को निर्णयअनुसार अग्रणी आल्मुनियम  लिमिटेडलाई हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडमा गाभ्न स्वीकृति दिने निर्णय भएको जानकारी उद्योग विभाग, काठमाडौं, आन्तरिक राजस्व कार्यालय, सिमरा र मालपोत कार्यालय, बारालाई दिइएको देखिन्छ । उद्योग विभाग, काठमाडौंको च.नं. ३१५४ मिति २०६६।११।२० को पत्र हेर्दा, साबिककै स्थानमा सञ्चालन गर्ने गरी अग्रणी आल्मुनियम लि. हुलास स्टिल इन्डष्ट्रिज लि. को शाखा युनिटको रूपमा सञ्चालन गर्न मिति २०६५।६।२७ मा स्वीकृति प्रदान गरिएको भन्ने देखिन्छ । 

८. उल्लिखित कम्पनी रजिस्ट्रारको कार्यालय तथा उद्योग विभागको निर्णयहरूलाई अन्यथा भन्ने निवेदकको दाबी रहेको देखिँदैन । साथै, निवेदकले अग्रणी आल्मुनियम लि.ले हुलास स्टिल इन्डष्ट्रिज लि. बाट अलग रही सम्पूर्ण कार्य छुट्टै रूपमा सञ्चालन गरेको छ भन्ने कुराको दाबी पुष्टि गर्न सकेको पाइँदैन । यी दुई कम्पनीहरू एउटैमा गाभिने निर्णय भई शाखा युनिटको रूपमा कार्य सञ्चालन गर्न स्वीकृति लिइसकेको अवस्थामा केवल कार्य गर्ने स्थान अलग भएको आधारमा मात्रै छुट्टाछुट्टै प्रतिष्ठान मान्न मिल्ने देखिएन ।  

९. अब, उक्त प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरूको ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत नभई अलग अलग रूपमा हुनु पर्ने हो भन्ने निवेदकको दाबीतर्फ विचार गर्दा, ट्रेड युनियन ऐन, २०४९ को दफा २ खण्ड (घ) मा “ट्रेड युनियन भन्नाले कामदारहरूको पेसागत हकहितको संरक्षण र सम्बर्द्धन गर्न यस ऐनबमोजिम दर्ता भएको प्रतिष्ठानस्तरको ट्रेड युनियन सम्झनुपर्छ र सो शब्दले ट्रेड युनियन संघ तथा ट्रेड युनियन महासंघलाई समेत जनाउँछ” भन्ने कानूनी व्यवस्था उल्लेख भएको पाइन्छ । सोही दफा २ को खण्ड (ङ) मा “प्रतिष्ठानस्तरको ट्रेड युनियन भन्नाले दफा ३ बमोजिम दर्ता भएको प्रतिष्ठानस्तरको ट्रेड युनियन सम्झनुपर्छ” भन्ने उल्लेख गरिएको छ ।  

१०. त्यसैगरी, ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद २ अन्तर्गत दफा ३ मा प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्तासम्बन्धी व्यवस्था गरिएको पाइन्छ । सो दफा ३ को उपदफा (१) मा सम्बन्धित प्रतिष्ठानका कामदारहरूले आफ्नो पेसागत हकहितको संरक्षण र सम्बर्द्धन गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूको गठन गर्न सक्ने व्यवस्था रहेको देखिन्छ । साथै, सोही दफा ३ को उपदफा (५) मा “कुनै पनि कामदार एकै समयमा एकभन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्य हुन सक्ने छैन” भन्ने उल्लेख भएको देखिन्छ । 

११. उक्त कानूनी व्यवस्थाअनुसार सम्बन्धित प्रतिष्ठानका कामदार कर्मचारीहरूले आफ्नो हकहितको संरक्षण र सम्बर्द्धन गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियन गठन गर्न सक्ने कानूनी प्रावधान रहेको 

देखियो । त्यस्तो ट्रेड युनियनको कुनै सदस्य एकै समयमा एकभन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्य रहन नसक्ने भन्ने देखियो । त्यसैगरी, निवेदक हुलास स्टिल इन्डष्ट्रिज लि. ले कामदार मनोज तामाङलाई प्रतिष्ठानको आल्मुनियम डिभिजनको जेनेरेटरमा काम गर्ने गरी आल्मुनियम हाजिरी शाखामा हाजिरी गर्न पठाएको भन्ने सो प्रतिष्ठानको मिति २०६८।०२।२५ को पत्रबाट देखिन्छ । सो पत्रलाई निवेदकले अन्यथा भनी खण्डन गर्न सकेको पाइँदैन । एउटा डिभिजनबाट अर्को डिभिजनमा कामदार कर्मचारी सरूवासमेत हुने गरी सञ्चालनमा रहेको एकै प्रतिष्ठानका अलग अलग डिभिजनमा छुट्टाछुट्टै ट्रेड युनियन रहने भन्ने निवेदकको दाबी कानूनी आधारयुक्त देखिँदैन । 

१२. वस्तुतत: निवेदक हुलास स्टिल इन्डष्ट्रिजमा अग्रणी आल्मुनियम इन्डष्ट्रिज लि. गाभिएर एउटै प्रतिष्ठान भएको पाइन्छ । एउटा प्रतिष्ठानमा एउटै आधिकारिक ट्रेड युनियन हुने कानूनी व्यवस्था रहेको देखिन्छ । एउटै प्रतिष्ठानमा विभिन्न इकाई हुन सक्दछन् । त्यस्ता इकाइहरूको अलग अलग ट्रेड युनियन भएमा आधिकारिकताको विवाद हुन आउँछ । प्रतिष्ठानमा कामदार कर्मचारीको हकहितका लागि ट्रेड युनियन रहने, सामूहिक विवाद र सामूहिक सौदावाजी जस्ता कामकारबाही ट्रेड युनियनले गर्ने र बोनस वितरण प्रतिष्ठानको वार्षिक मुनाफाबाट हुने जस्ता कारणबाट प्रतिष्ठान र ट्रेड युनियन गठनको प्रक्रिया जोडिएर आउने हुन्छ । 

१३. त्यसैगरी, कामदार कर्मचारीको हकहित सुरक्षित गर्नका लागि ट्रेड युनियन दर्ता हुन्छ र प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीको असन्तुष्टि वा मागलाई प्रणालीगत रूपमा विधिसम्मत ढङ्गले व्यवस्थापन गरी प्रतिष्ठानले समेत यसबाट लाभ प्राप्त गर्न सक्दछ । दुई अलग प्रतिष्ठान एक भई एउटै प्रतिष्ठानको शाखा युनिटको रूपमा कार्यसञ्चालनमा रहेको स्थितिमा त्यसका कामदार कर्मचारीको ट्रेड युनियन अलग नै हुन्छ भन्नु कानूनसम्मत र व्यावहारिक पनि हुँदैन । यसर्थ, श्रम अदालतबाट भएको फैसलासमेतबाट निवेदकको कुनै संवैधानिक तथा कानूनी हकको प्रचलनमा सुविधा असन्तुलन हुन गएको भन्ने स्थिति देखिँदैन । साथै, उक्त निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको भन्ने अवस्था पनि देखिँदैन । तसर्थ, निवेदक प्रतिष्ठानमा कार्यरत कामदार कर्मचारीहरूको हकहितलाई ध्यानमा राखी ट्रेड युनियनको आधिकारिकताको विषयलाई निश्‍चितता प्रदान गर्न एकै आधिकारिक ट्रेड युनियन राखिनु पर्ने हुँदा ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने भनी श्रम अदालतसमेतबाट भएको फैसला कानूनी त्रुटिपूर्ण देखिन आएन ।

१४. अत: माथि उल्लिखित आधार कारणसमेतबाट अग्रणी आल्मुनियम इन्डष्ट्रिज लिमिटेड र हुलास स्टिल इन्डष्ट्रिज लिमिटेड गाभ्ने निर्णय भई एकीकृत भएको उद्योगमा कार्यरत कामदार कर्मचारीहरूको ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद २ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने गरी श्रम कार्यालय वीरगन्जबाट भएको निर्णय सदर गरी श्रम अदालत, काठमाडौंबाट मिति २०७०।१।२५ मा भएको फैसला कानूनसम्मत देखिएकाले निवेदकको मागबमोजिम सो फैसला उत्प्रेषणको आदेशले बदर गर्न रिट जारी गर्नुपर्ने देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत आदेशको विद्युतीयप्रति अपलोड गरी निवेदनको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.हरिप्रसाद फुयाल

 

इजलास अधिकृतः- दिपेन्द्र थापामगर 

इति संवत् २०७६ साल मङ्सिर ९ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु