निर्णय नं. १०४६४ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।८।१३
०७२-CR-१५७८
मुद्दा : जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम बिसको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही सिपवा गा.वि.स. वडा नं. ४ बस्ने सुवास भरसमेत
जबरजस्ती करणीको मुद्दामा पीडितको बकपत्रलाई महत्त्वपूर्ण कडीको रूपमा लिइने भए तापनि त्यसलाई मात्र एकाङ्की तथा यान्त्रिक किसिमले मूल्याङ्कन गर्दा न्यायको अभीष्ट पूरा गर्ने कार्यमा विचलन आउन सक्ने ।
(प्रकरण नं.५)
जबरजस्ती करणी कसुरमा प्रमाणको मूल्याङ्कन गर्दा पीडितको बकपत्रलाई प्रमाणको पहिलो र प्रमुख कडी मान्नु पर्छ । तर जाहेरी दरखास्त र पीडितको भनाइलाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नु पर्ने हुन्छ । यस्तो प्रकृतिको अपराधमा न्यायको रोहमा विचार गर्दा न्याय मर्न जाने सम्भावनालाई समेत मध्यनजर गरी अत्यन्त विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी निष्कर्षमा पुग्नु पर्ने ।
पीडितको बकपत्रलाई शंकारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाण कसुर पुष्टि हुन नसकेको देखिँदा पीडितको जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र एकतर्फी यान्त्रिक तवरले प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई सजाय गर्न नहुने ।
(प्रकरण नं.१४)
वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री खेमराज भट्ट
प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ताहरू श्री अन्जु शर्मा वर्मा र श्री स्निग्दा भट्ट
अवलम्बित नजिर :
ने.का.प.२०५९, अङ्क ३/४, पृ.१२३, नि.नं.७०६९
ने.का.प.२०६७, अङ्क २, नि.नं.८३११
ने.का.प.२०६७, नि.नं.८४६९
ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८५६
ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७२
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री कमलराज विष्ट
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
माननीय न्यायाधीश श्री वीरबहादुर डांगी
पुनरावेदन अदालत, बुटवल
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
तथ्य खण्ड
म जाहेरवालाको कान्छी छोरी परिवर्तित नाम २०७०(४) यु मिति २०७०।७।५ गते राति मेरो घरमा आएका ज्वाइँ नाता पर्ने पाहुना अकस्मात बिरामी भएकाले निजलाई दबाई लिन भनी बेलुका अं.२१.०० बजे हतार हतार छतरापुरास्थित छोरा बस्ने घरमा गएको अवस्थामा विपक्षी सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहले एक्कासी निजलाई हातपात गर्दै जबरजस्ती समाती एकान्तस्थानमा लगी पालैपालो जबरजस्ती करणी गरी मरणासन्न अवस्थामा एक्लै छाडेछन् । राति अं.१ बजे छोरी रूँदै कराउँदै घरमा आई सबै विवरण बताएपछि थाहा पाएकोले मेरी वर्ष १४ की छोरीलाई एकान्त कुनामा लगी पालैपालो जबरजस्ती करणी गरी फरार भएका अभियुक्तहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७०।७।६ को जाहेरी दरखास्त ।
मिति २०७०।७।५ गते २१:०० बजे म आफ्नै घरमा रहेको अवस्थामा मेरो भिनाजुलाई अकस्मात ज्वरो आई बिरामी पर्नु भएकोले म औषधी लिन भनी घरबाट गाउँमा जाँदै गरेको अवस्थामा सिपवा ४ स्थित बाटोमा सुवास भर, अंगद भर, राकेश लोध र नन्दे मल्लाह रहेछन् । त्यसपछि सुवास भरले मलाई समाती आज तिमीलाई छोड्दैनौं भने, मैंले हल्ला गर्न लाग्दा अंगद भर र राकेश लोधले मेरो मुख थुनी नन्दे मल्लाहले खेतमा लैजाउ भनेकाले तीनैजनाले मलाई खेतमा
लगे । पछि नन्दे पनि गएका थिए । तत्पश्चात् प्रतिवादीहरूले मलाई सुताई भोला लोध र अंगद भरले मेरो मुख तथा हात समाती सुभास भरले मेरो तल लगाएको सुरूवाल खोली आफ्नो लिङ्ग निकाली मेरो योनिभित्र घुसारी भित्र बाहिर गराई वीर्य स्खलन गराए । तत्पश्चात् अंगद भरले करणी गरे । सोपश्चात् भोला लोधले करणी गरे । नन्दे मल्लाहले करणी गर्नुपर्छ भन्ने आदेश दिएका हुन् । तीनै जनाले मलाई पालैपालो करणी गरी बेहोस पारी राति १ बजे उक्त स्थानमा छाडेकाले म बेहोसीबाट ब्युँझिई घरमा आएर सबै कुरा बुबालाई बताएकोले मिति २०७०।७।६ गते बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएका हुन् । मलाई नन्दे मल्लाहको आदेशमा तीनैजना प्रतिवादीहरूले पालैपालो सामूहिक करणी गरेकोले निजहरूलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको पीडित परिवर्तित २०७०(४) युले गरेको घटना विवरण कागज ।
जिल्ला रूपन्देही सिपवा गा.वि.स. वडा नं.४ स्थित प्रसाद भरको जमिनमा रहेको बाँसको झ्याङ नजिकको खाली जमिनमा मिति २०७०।७।५ गते राति २१.०० बजे प्रतिवादी सुवास भरसमेतले जाहेरवालाको छोरी वर्ष १४ की परिवर्तित नाम २०७०(४) यु लाई जबरजस्ती करणी गरेको भन्नेसमेतको मिति २०७०।७।१० को घटनास्थल मुचुल्का ।
पीडितको Examination Report को General Examination मा The girl was conscious, cooperative and well oriented to time, person and place. She was of adequate build and of good hygiene. No external injuries noted over any part of the body. त्यस्तै Systemic Examination मा Pubic hair present and of adolescent type. External genitals well developed. Hymen loose and elastic. No fresh\recent tears or bleed noted, No tear, laceration or bleed over vulva, vagina and anus noted. No per vaginal discharge noted. Swab was negative for spermatozoa. भन्नेसमेत बेहोराको मिति २०७०।७।६ को भिम अस्पताल सिद्धार्थनगर रूपन्देहीले दिएको पीडितको स्वास्थ्य जाँच
प्रतिवेदन ।
जाहेरवालाको घर नजिकैको बाटो हुँदै जानुपर्ने भएकोले बाटो हिँड्ने क्रममा निजहरूले गालीगलौज गर्ने भएकोले पहिलादेखि नै बाटोको विषयमा झैझगडा हुँदै आएको थियो । मिति २०७०।७।५ गते राति म आफ्नै घरमा थिएँ । सो रात पीडितलाई को कसले के के गरे मलाई केही थाहा भएन । मैले निजलाई करणी गरेको छैन । भोला यादव, अंगद भर र रामचन्द्र मल्लाह मेरै गाउँका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी सुवास भरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला तथा मेरो घर एउटै गाउँमा पर्ने भएको र निजहरूको घर नजिकैको बाटोबाट हिँड्नुपर्ने भएकोले जाहेरवाला तथा निजको घरपरिवारले अनावश्यक गालीगलौज गर्ने, अपशब्द प्रयोग गर्ने गर्दथे । मिति २०७०।७।१० गते प्रहरी मेरो घरमा पुगी मसमेतलाई पीडित २०७०(४) यु लाई मिति २०७०।७।५ गते राति जबरजस्ती करणी गरेको भनी नियन्त्रणमा लिएको हो । उक्त राति म आफ्नै घरमा सुतिरहेको थिए । पीडितलाई करणी गरे नगरेको मलाई थाहा भएन । पहिलेदेखिको झगडाले गर्दा मसमेतलाई फसाउने नियतले जाहेरी दिएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी अंगद भरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जाहेरवाला तथा मेरो घर परिवारबिच पहिलेदेखि नै बाटो तथा जग्गाको विषयमा झगडा भएकोले निजहरूसँग मेरो बोलचाल थिएन । मिति २०७०।७।५ गते राति म आफ्नै घरमा थिएँ । पीडित २०७० (४) यु लाई उक्त राति को कसले के के गरे मलाई थाहा भएन भन्नेसमेतको प्रतिवादी नन्दे भन्ने रामचन्द्र मल्लाहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७०।७।५ गते राति आफ्नै घरमा थिएँ । जाहेरवाला तथा मेरो घर एउटै गाउँमा पर्ने र निजहरूको घर नजिकैको बाटो भएर हिँड्नुपर्ने भएकोले केही दिन पहिला झगडा भएको थियो । पहिलेदेखिको झगडाले गर्दा फसाउने नियतले जाहेरी दिएको हुनुपर्छ । पीडित छिमेकी भए पनि कुनै किसिमको सम्बन्ध छैन । मसँगै पक्राउ परेका सुभाष भर, अंगद र नन्दे मल्लाहले उक्त कार्य गरे गरेनन् मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी भोला लोध भन्ने राकेश लोधले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीहरू सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहको स्वास्थ्य परीक्षण प्रतिवेदनमा no spermatozoa seen भन्ने
देखिन्छ ।
मिति २०७०।७।५ गतेका दिन म आफ्नै घरमा थिएँ । उक्त दिन अं.२१:०० बजेको समयमा जिल्ला रूपन्देही सिपवा गा.वि.स. वडा नं.४ स्थित जाहेरवालाको छोरी वर्ष १४ की परिवर्तित २०७०(४) यु लाई प्रतिवादी सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहसमेतले जबरजस्ती करणी गरेको भन्ने सुनी थाहा पाएको हो । निज प्रतिवादीहरूले पीडितलाई करणी गरे गरेनन् थाहा भएन । निजहरूले उक्त कार्य गरेको कुरामा मलाई विश्वास लाग्छ भन्नेसमेत बेहोराको वस्तुस्थितिमा बुझिएका सौरहवा मल्लाह, मायादेवी मल्लाह र शिवचन्द्र मल्लाहसमेतले गरेको कागज ।
प्रतिवादीहरूमध्ये सुवास भर, अंगद भर, भोला भन्ने राकेश लोधले पीडितलाई जबरजस्ती करणी गरेको कार्य मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. विपरीतको कसुर भएकाले उक्त कसुरमा प्रतिवादीहरू सुवास भर, अंगद भर, भोला भन्ने राकेश लोधलाई ऐ. को ३ नं. को देहाय ३ बमोजिम सजाय गरी सामूहिक रूपमा जबरजस्ती करणी गरेतर्फ ऐ. को ३(क) बमोजिम थप सजाय हुनका साथै प्रतिवादीमध्येका नन्दे भन्ने रामचन्द्र मल्लाहलाई ऐ. को ६ नं. को कसुरमा सजाय गरिपाउन तथा ऐ.को १०, १०(ग) बमोजिम पीडितलाई क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
पीडित २०७०(४) यु गाउँकै केटी भएकोले चिन्दछु । जाहेरीबमोजिम मैले निजलाई करणी गरेको होइन । मेरो घर र पीडितको घर एकै गाउँमा भएकाले निजको घरको बाटो भई हिँड्दा पटकपटक वादविवाद भएको थियो । सोही कारणमसमेतका उपर किटानी जाहेरी दिएको हुनुपर्छ । म इँट्टाभट्टाबाट काम गरी आएको र वारदातको रातमा आफ्नै घरमा सुतेको
थिएँ । क कसले निजलाई जबरजस्ती करणी गरे सो मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी अंगद भरले सुरू अदालतमा गरेको बयान ।
परिवर्तित नाम २०७०(४) यु लाई मैले राम्रोसँग चिनेको छु । जाहेरीबमोजिम निजलाई मैले जबरजस्ती करणी गरेको छैन । सो रात म आफ्नै घरमा छु । जाहेरवाला र मेरोबिचमा गाउँ घर जाने आउने बाटोको विषयमा पटक पटक झगडा हुने गरेकाले सोही रिसइवीबाट यो किटानी जाहेरी दिएको
हुनुपर्छ । पीडितलाई कसले करणी गर्यो मलाई थाहा छैन । जाहेरी बेहोरा झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी सुवास भरले सुरू अदालतमा गरेको बयान ।
जाहेरीबमोजिम मैले पीडितलाई जबरजस्ती करणी गरेको छैन । घरमा जाने बाटोको विषयमा बारम्बार झगडा हुने गरेकाले सोही रिसइवीका कारण जाहेरी परेको हुनुपर्छ । निजलाई कसले करणी गरे सो मलाई थाहा छैन । उक्त रात म आफ्नै घरमा सुतेको थिएँ भन्नेसमेत बेहोराको प्रतिवादी भोला लोध भन्ने राकेश लोधले सुरू अदालतमा गरेको बयान ।
पीडित र जाहेरवालालाई मैले चिनेको छु । पीडितकी आमासँग बारम्बार बाटोको विषयमा झगडा हुने गर्दथ्यो । जाहेरीमा उल्लेख भएबमोजिमको कार्य मैले गरेको छैन । पीडितलाई कसले करणी गरे मलाई थाहा छैन । रिसइवीको कारण जाहेरी दिएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी नन्दे मल्लाह भन्ने रामचन्द्र मल्लाहले सुरू अदालतमा गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी प्रतिवादीहरू सुवास भर, अंगद भर र भोला भन्ने राकेश लोधसँग जनही रू. एक लाख र प्रतिवादीहरू रामचन्द्र मल्लाहबाट रू. पचास हजार नगद धरौटी वा जेथा जमानी दिए लिनु, दिन नसके थुनामा राख्न कारागार कार्यालयमा पठाउनु भन्नेसमेत बेहोराको सुरू जिल्ला अदालतको मिति २०७०।८।१३ को आदेश ।
म १७ वर्षको भएँ । बेलुका खाना खाएर सुत्न जाँदै गरेको अवस्थामा बाटोमा यी प्रतिवादीहरूमध्ये सुवास भर र राकेश लोधले मलाई खेतमा लगे । त्यसपछि पहिला सुवासले करणी गरे । अनि राकेश र अंगदले गरेका हुन् । नन्देले मलाई समाएर लगेका हुन् । निजले करणी गरेनन्, दुईवटा घरको दुरी ५० मिटरको फरकमा पर्दछ । नन्दे र हाम्रो परिवारको बिचमा रिसइवी थियो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम २०७०(४) यु ले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरी दरखास्तको बेहोरा मेरो हो । उक्त समयमा छोरी औषधी लिन एक्लै गएकी थिइन् । प्रतिवादीहरूले मेरो छोरीलाई जबरजस्ती करणी गरेको मैले देखेको होइन । छोरीले भनेकीले थाहा पाएकी हुँ । निजको शरीरमा चोटपटक देखिन । शरीरमा लगाएका कपडा प्रहरीले लगेका हुन् । प्रतिवादीहरू गाउँघरका मानिस भएको हुँदा कहिले काहीँ झगडा हुने गरेको भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम २० ले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू र जाहेरवालाबिचको बाटोको विषयमा झगडा भएको कारण जाहेरी दिएका हुन् । घटना घटेको होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरूका साक्षी प्रकाश भर, नगिन्दर भर, मनिराम लोध, शंकर भरले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादीको स्वास्थ्य परीक्षण गर्दा जे देखेको हो सोही कुरा उल्लेख गरेको हुँ । निजको शरीरमा परीक्षणको समयमा घाउचोट केही देखिन भन्नेसमेत बेहोराको पीडितको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा. वृजेश पाण्डेले सुरू अदालतमा गरेको बकपत्र ।
जबरजस्ती करणी भएका चिह्न र लक्षणहरू मौकामा जाँच भएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा नदेखिएको र पीडितको भनाइ उक्त प्रतिवेदनले पुष्टि गरेको पनि नपाइएको साथै आरोपित कसुरमा इन्कार रही बाटोसम्बन्धी पूर्वरिसइवीका कारण झुट्टा आरोप लगाएको भन्ने प्रतिवादीहरूको भनाइलाई निजहरूका साक्षीको बकपत्रसमेतबाट पुष्टि भएको देखिएकोले निजहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने रूपन्देही जिल्ला अदालतको मिति २०७१।३।२५ को फैसला ।
सुरू अदालतको फैसलामा चित्त बुझेन । पीडितले गरेको घटना विवरण कागजमा प्रतिवादीहरूले करणी गरेको भन्ने देखिएको छ । जाहेरवाला तथा पीडितले मौकाको भनाइलाई समर्थन गरी बकपत्र गरेकोले करणी गरेको तथ्य पुष्टि भएको छ । सामूहिक सहभागितामा वारदात घटाएकोले पीडितले प्रतिकार गर्नसक्ने अवस्था हुँदैन । यस्तो करणीमा डाक्टरी जाँचबाट पीडित व्यक्ति तथा प्रतिवादीको शरीरमा संघर्षको चिह्न देखिनु पर्ने अनिवार्यता रहँदैन । जबरजस्ती करणीको वारदातमा प्रमाणको पहिलो कडी नै स्वयं पीडित हुने र त्यसपछि मात्र शारीरिक परीक्षणलाई मान्नुपर्ने हुन्छ । वादीका साक्षीहरूले वारदातको पुष्टि हुने गरी अदालतसमक्ष गरेको बकपत्रलाई बेवास्ता गरी अभियोग दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको भन्ने तर्क गरी प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको सुरू फैसला ने.का.प.२०५७ नि.नं.६०४९ तथा ने.का.प. २०६७ अङ्क ९ नि.नं. ८४६९ मा प्रतिपादित सिद्धान्तविपरीत हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत बुटवलमा वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदन ।
प्रतिवादीहरू तीनै जनाले पालैपालो पीडितलाई सामूहिक जबरजस्ती करणी गरेको भन्ने निजको स्वास्थ्य जाँचबाट नदेखिनुका साथै घटना विवरण कागजलाई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनले समर्थन गरेको पाइएन । यसबाट पीडित परिवर्तित नाम २०७०(४) युको बकपत्रमा विश्वसनीयता रहेको नदेखिएको समेतबाट प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने ठहर्याएको रूपन्देही जिल्ला अदालतको २०७१।३।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत बुटवलको २०७२।२।२१ को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । रातको समयमा पीडित घरबाहिर निस्केको मौका पारी प्रतिवादी सुभाष भरले समाती अंगद भर र भोला लोधसमेतले जोरजुलुम गरी करकापमा पारी खेतमा लगी सामूहिक जबरजस्ती करणी गरेको भन्ने किटानी जाहेरी परेको र प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी पीडितले मौकामा घटना विवरण कागज लेखाई अदालतमा बकपत्रसमेत गरेको पाइन्छ । जबरजस्ती करणीको अपराधमा वीर्य स्खलन नभएको भन्ने कुरा सफाइको आधार बन्न सक्दैन । त्यसैगरी सामूहिक सहभागितामा वारदात घटाएको एवं पीडितले प्रतिकार गर्न नसक्ने अवस्था सिर्जना भएको बेलामा डाक्टरी जाँचबाट पीडित र प्रतिवादीको शरीरमा संघर्षको चिह्न देखिनु पर्ने अनिवार्यता पनि रहँदैन । जबरजस्ती करणीको वारदातमा प्रत्यक्ष प्रमाण नै पीडित मानिन्छ । वादीका साक्षीले वारदातको पुष्टि हुने गरी गरेको बकपत्रसमेतलाई बेवास्ता गरी प्रतिवादीहरूलाई जबरजस्ती करणीजस्तो गम्भीर अपराधमा सफाइ दिने गरी भएको सुरू फैसला ने.का.प.२०६५ नि.नं. ७९२३ तथा ने.का.प. २०६७ अङ्क ९ नि.नं. ८४६९ मा प्रतिपादित सिद्धान्तसमेत विपरीत हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन ।
प्रतिवादीहरूउपर किटानी जाहेरी परी पीडितले प्रतिवादीहरूले आफूलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको भनी घटना विवरण कागज लेखाई सोही बेहोरा समर्थन गरी बकपत्र गरेको अवस्थामा वादी दाबी पुग्न नसक्ने ठहर्याएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको २०७२।२।२१ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को त्रुटि विद्यमान रहनुको साथै यस अदालतबाट ने.का.प. २०६७, नि.नं. ८४६९ मा प्रतिपादित सिद्धान्तको पालना भएको नदेखिएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम निस्सा प्रदान हुने भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७२।१२।२ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्री खेमराज भट्टले प्रतिवादीहरूउपर किटानी जाहेरी परेको र प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी पीडितले मौकाको भनाइलाई समर्थन गरी अदालतमा बकपत्र गरेकोसमेतबाट जबरजस्ती करणीको अपराध स्थापित भएकोमा सुरू तथा पुनरावेदन अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण छ । उक्त फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्ने र प्रत्यर्थी प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा अधिवक्ताहरू श्री अन्जु शर्मा वर्मा र श्री स्निग्दा भट्टले पीडितको शरीरमा घाउचोट नभई निज सामान्य अवस्थामा रहेको देखिन्छ । वारदातस्थलमा खुट्टाका निसाना र घाँस मडारिएको भन्ने देखिँदैन । पीडितको भनाइ र निजको बाबुको बकपत्रमा एकरूपता छैन । वारदात रातको ९ बजे भएको भनिएको छ । राति ९ बजे औषधी लिन गएकी पीडित १ बजेसम्म नआएको भन्ने भनाइ विश्वासलायक छैन । रिसइवीको कारण जबरजस्ती करणीमा अभियोग लगाइएको हुँदा प्रतिवादीहरूलाई सफाइ दिएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ । सदर हुनुपर्दछ भनी गर्नुभएको बहस सुनियो ।
विद्वान् उपन्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूको उल्लिखित बहस सुनी पुनरावेदनसहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ वा छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो ।
पीडित परिवर्तित नाम २०७०(४) यु लाई प्रतिवादीहरूले जबरजस्ती करणी गरेको भनी जाहेरी परी अनुसन्धान भई प्रतिवादीहरूमध्ये सुवास भर, अंगद भर, भोला भन्ने राकेश लोधउपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३ नं. को देहाय ३ बमोजिम तथा निजहरूले सामूहिक रूपमा पालैपालो पीडितलाई जबरजस्ती करणी गरेकोमा ३(क) बमोजिम थप सजायका साथै प्रतिवादी नन्दे भन्ने रामचन्द्र मल्लाहलाई ऐ. को ६ नं. को कसुरमा सजाय हुन र जबरजस्ती करणीको महलको १० तथा १०(ग) बमोजिम पीडितलाई क्षतिपूर्तिसमेत भराई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट अभियोग दायर भएकोमा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याई सुरू अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परी सो निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दर्ता हुन आएको देखियो ।
मिसिल संलग्न कागजातहरू हेर्दा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी एवं अदालतमा वारदात भएको मिति र समयमा आ-आफ्नो घरमा रहेकोले परिवर्तित नाम २०७० (४) यु लाई जबरजस्ती करणी गरेको होइनौं, रिसइवीको कारण जाहेरी दिएकोसमेत भनी आरोपित कसुरमा इन्कारी रही बयान गरेको र सो बयानलाई निजहरूका साक्षीले समर्थन गरी बकपत्र गरेको देखिन्छ ।
२. पीडितले मौकामा लेखाएको घटना विवरण कागजमा मिति २०७०।७।५ गते राति ९.०० बजे भिनाजु अकस्मात बिरामी भएकोले औषधी लिन गाउँमा जाँदै गरेको अवस्थामा बाटामा नन्दे भन्ने रामचन्द्रको आदेशमा प्रतिवादीहरूमध्ये सुभास भरले समाएको, अंगद भर र भोला भन्ने राकेश लोधले मुख थुनी खेतमा लगी सुताई भोला लोध र अंगद भरले मुख तथा हात समाती सुवास भरले सुरूवाल खोली आफ्नो लिङ्ग निकाली मेरो योनिभित्र घुसाई भित्र बाहिर गरी वीर्य स्खलन गराएको । तत्पश्चात् अंगद भर र भोला भन्ने राकेश लोधले करणी गरे । निजहरू तीनै जनाले मलाई पालैपालो जबरजस्ती करणी गरी राति १:०० बजे छाडी दिएपछि म बेहोसबाट ब्युँझी घरमा गई सबै बेहोरा बताएकी हुँ । मलाई करणी गर्ने प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने पाइन्छ । निजले अदालतमा बकपत्र गर्दा उक्त दिन सुत्न रातको ९:०० बजे पुरानो घरबाट नयाँ घर जाँदै गर्दा बाटामा निज प्रतिवादीहरूले समाई जबरजस्ती करणी गरेको र हाम्रो परिवारको नन्दे भन्ने रामचन्द्रसँग रिसइवी रहेको भनी मौकामा लेखाएको कागजको बेहोरामा केही फरक बेहोरा उल्लेख गरेको देखिन्छ ।
३. पीडितको बाबुले दिएको जाहेरी दरखास्तमा छोरी परिवर्तित नाम २०७०(४) यु मिति २०७०।७।५ गते राति ज्वाइँ नाता पर्ने पाहुना अकस्मात बिरामी भएकाले निजलाई दबाई लिन बेलुका अं.२१:०० बजे छतरापुरास्थित छोरा बस्ने घरमा गएको अवस्थामा सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहले निजलाई हातपात गर्दै जबरजस्ती समाती एकान्तस्थानमा लगी पालैपालो जबरजस्ती करणी गरी मरणासन्न अवस्थामा एक्लै छाडेको र राति अं.१ बजे निज छोरी रूँदै कराउँदै घरमा आई बताएकोले थाहा पाएको हुँ । जबरजस्ती करणी गर्ने निज अभियुक्तहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने देखिएकोमा निज जाहेरवालाले अदालतमा बकपत्र गर्दा पीडित वारदातबाट फर्किंदा निजको शरीरमा कुनै पनि चोटपटक नदेखिएको, निजले लगाएको कपडा प्रहरीले लगेको साथै छिमेकका प्रतिवादीहरूसँग झगडा हुनु सामान्य रहेकोसमेत भनी उल्लेख गरेको पाइन्छ ।
४. मिति २०७०।७।१० को घटनास्थल प्रकृति मुचुल्कामा प्रसाद भरको जमिनमा रहेको बाँसको झ्याङ नजिकको खाली जमिनमा मिति २०७०।७।५ गते राति २१.०० बजे प्रतिवादी सुवास भरसमेतले परिवर्तित नाम २०७०(४) यु लाई जबरजस्ती करणी गरेको भन्नेसम्म उल्लेख भएको र वारदातको भोलिपल्ट मिति २०७०।७।६ मा भएको पीडितको स्वास्थ्य परीक्षणमा The girl was conscious, cooperative and well oriented to time, person and place. She was of adequate build and of good hygiene. No external injuries noted over any part of the body. Pubic hair present and of adolescent type. External genitals well developed. Hymen loose and elastic. No fresh\recent tears or bleed noted, No tear, laceration or bleed over vulva, vagina and anus noted. No per vaginal discharge noted. Swab was negative for spermatozoa भन्ने उल्लेख भएको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण गर्ने डा.वृजेश पाण्डेले उक्त प्रतिवेदनलाई समर्थन गरी अदालतमा बकपत्र गरको पाइन्छ । साथै प्रतिवादीहरू सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहको स्वास्थ्य परीक्षण रिर्पोटमा spermatozoa देखिँदैन भन्ने पाइन्छ ।
५. जबरजस्ती करणीको वारदातमा प्रत्यक्ष प्रमाण नै पीडित मानिने र निजले घटना विवरण कागजमा लेखाएको बेहोरा अदालतमा पुष्टि गरेकोले अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्ने भन्नेसमेत पुनरावेदन जिकिर
देखिन्छ । जबरजस्ती करणीको अपराधलाई पीडितको इच्छाविपरीत जबरजस्ती, डरधाक, धम्की, अनुचित प्रभाव वा बल प्रयोगबाट गरिने एक जघन्य फौजदारी अपराधको रूपमा लिइन्छ । यस्तो विषय मानव शरीर विरूद्धको ज्यादै संवेदनशील अपराध भएकोले पीडितको भनाइलाई महत्त्वपूर्ण कडीको रूपमा
लिइन्छ । तथापि जाहेरी दरखास्त, जाहेरवालाको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का, पीडित र प्रतिवादीहरूको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको मौका तथा अदालतको बयान, अपराधसँग सम्बन्धित भौतिक वस्तुको विशेषज्ञबाट भएको परीक्षण प्रतिवेदन, वस्तुस्थिति मुचुल्का, वादी तथा प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्रलगायतका मिसिल संलग्न तथ्यहरूको प्रामाणिक मूल्य शून्यमा रहन्छ भन्ने हुँदैन । यी तथ्यहरू पनि शंकारहित तवरले पुष्टि भई स्वतन्त्र र विश्वसनीय देखिएमा प्रमाणको रूपमा ग्राह्य हुन्छन् । जबरजस्ती करणीको मुद्दामा पीडितको बकपत्रलाई महत्त्वपूर्ण कडीको रूपमा लिइने भए तापनि त्यसलाई मात्र एकांकी तथा यान्त्रिक किसिमले मूल्याङ्कन गर्दा न्यायको अभीष्ट पूरा गर्ने कार्यमा विचलन आउन सक्ने सम्भावना पनि उत्तिकै रहन सक्दछ । यस्तो अवस्थामा स्वच्छ र निष्पक्ष न्यायका लागि तथा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम फौजदारी मुद्दामा आफ्नो अभियुक्तको कसुर प्रमाणित गर्ने भार वादीको हुनेछ । अभियुक्तमाथि लागेको आरोप शंकारहित तवरले पुष्टि गर्न मिसिल संलग्न कागजातहरूको समष्टिगत मूल्याङ्कन आत्मनिष्ठ रूपमा नगरी वस्तुनिष्ठ तवरले विवेकको उच्चतम प्रयोगबाट गर्नु पर्दछ, जसले दाबी पुष्टि गर्ने तथ्य शंकारहित तवरले पुष्टि हुन्छ । यसै सन्दर्भमा यस अदालतको संयुक्त इजलासबाट जबरजस्ती करणीजस्तो अपराधमा न्यायको रोहबाट न्यायको लागि संवेदनशील हुनुपर्ने हो तर पनि अति संवेदनशील भई एकतर्फी रूपमा विचार गर्दा न्याय मर्न जाने हुँदा विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी न्यायमा पुग्नु पर्ने । पीडितको बकपत्र कसुरमा मुख्य कडी भए पनि सो बकपत्रको पुष्ट्याईं शंकारहित रूपबाट नभएमा बकपत्रलाई यान्त्रिक रूपबाट प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्नु विवेकयुक्त मान्न नसकिने (ने.का.प. २०७४, अङ्क ८, नि.नं. ९८५६) भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उल्लिखित कानूनी सिद्धान्तबाट पनि पीडितको बकपत्र कसुरमा मुख्य कडी भए तापनि न्यायको रोहमा त्यस्तो बकपत्रलाई मिसिल संलग्न अन्य प्रमाणहरूबाट शंकारहित तवरले पुष्टि हुनुपर्ने देखियो ।
६. यस अदालतले मुद्दाको निस्सा दिँदा ने.का.प. २०६७ नि.नं. ८४६९ मा जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नु पर्ने, प्रतिवादीहरूले अदालतमा इन्कारी बयान गर्नु मात्र निर्दोषिता ठहर हुने आधार बन्न सक्ने तथा पीडितको मौकाको कागज, सनाखत कागज र बकपत्र, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाइ, पीडिताको शारीरिक परीक्षण अनुसन्धान अधिकारीसमक्ष कसुरमा एकआपसमा पोल गरी गरेको साबिती बयानलगायतका सम्बद्ध प्रमाणहरूबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित भएको र सोमा प्रतिवादीहरूको संलग्नतालाई पुष्टि गरिरहेको अवस्थामा सो प्रमाणलाई बाहेक गरी प्रतिवादीहरूको अदालतको इन्कारी बयानलाई मात्र निर्दोषिताको आधार बनाई वास्तविक अपराधीलाई अभियोग दाबीबाट सफाइ दिँदै जाने हो भने समाजमा दण्डहीनताको स्थिति सिर्जना हुन जान्छ भन्ने सिद्धान्तलाई आधार बनाइएको छ । प्रस्तुत मुद्दामा स्वयं पीडितलाई एउटा र पीडितको शारीरिक परीक्षणलाई अर्को प्रमुख कडी मानेको देखिन्छ । त्यस्तै तथ्यगत रूपमा हेर्दा पीडितको बयानसँग शारीरिक परीक्षण प्रतिवेदनको General Examination मा The girl was conscious, cooperative and well oriented to time, person and place. She was of adequate build and of good hygiene. No external injuries noted over any part of the body. त्यस्तै Systemic Examination मा Pubic hair present and of adolescent type. External genitals well developed. Hymen loose and elastic. No fresh\recent tears or bleed noted, No tear, laceration or bleed over vulva, vagina and anus noted. No per vaginal discharge noted. Swab was negative for spermatozoa. भन्ने बेहोरासँग जाहेरी दरखास्त, पीडितको बयानलगायतका मिसिल संलग्न अन्य कागजातहरूसँग मेल खाएको देखिँदैन । जाहेरी दरखास्तमा विपक्षीहरूले एक्कासी निजलाई हातपात गर्दै जबरजस्ती समाती एकान्तस्थानमा लगी पालैपालो जबरजस्ती करणी गरी मरणासन्न अवस्था देखिन्छ भने स्वास्थ्य प्रतिवेदनबाट पीडितको अवस्था सामान्य रहेको, कुनै चोटपटक नरहेको, No fresh\recent tears or bleed noted, No tear, laceration or bleed over vulva, vagina and anus noted. No per vaginal discharge noted भनी
देखिन्छ । सामूहिक जबरजस्ती करणीमा परेकी पीडितको मरणासन्न अवस्था भन्ने उल्लेख भएकोमा स्वास्थ्य प्रतिवेदन सामान्य अवस्थाको हुनै सक्दैन । पीडितले प्रतिकार गर्दा वा संघर्ष गर्दा घटनास्थल र पीडितको शरीरमा संघर्ष चिह्नहरू देखिनु पर्दछ । पीडित परिवर्तित नाम २०७०(४) यु ले सुरू अदालतमा गरेको बकपत्रमा नन्दे र हाम्रो परिवारको बिचमा रिसइवी
थियो । नन्देले मलाई समाएर लगेका हुन् । निजले करणी गरेनन् भन्ने बकपत्र पनि विरोधाषापूर्ण
देखिन्छ । जाहेरवाला परिवर्तित नाम २० ले सुरू अदालतमा गरेको बकपत्रमा छोरीले भनेकीले थाहा पाएकी हुँ । निजको शरीरमा चोटपटक देखिन । त्यसैगरी प्रतिवादीहरू सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहको स्वास्थ्य परीक्षण प्रतिवेदनमा no spermatozoa seen भन्ने देखिन्छ । प्रतिवादीहरू सुवास भर, अंगद भर, राकेश लोध र रामचन्द्र मल्लाहले अनुसन्धानको क्रममा र सुरू अदालतमा गरेको बयानमा परिवर्तित नाम २०७०(४) यु लाई राम्रोसँग चिनेको, जबरजस्ती करणी गरेको छैन, जाहेरवालासँग पटक पटक झगडा भई पूर्वरिसइवीको कारण जाहेरी दिएको भनी कसुरमा इन्कार रहेको देखिन्छ । ने.का.प. २०७६ अङ्क १ नि.न. १०१७२ मा "पीडितले प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको हो भन्दैमा जबरजस्ती करणी ठहर हुन सक्ने अवस्था हुँदैन । सो कुरा मिसिल संलग्न स्वतन्त्र सबुद प्रमाणबाट तथ्यगत रूपमा पुष्टि हुन सक्नु पर्दछ । जबरजस्ती करणी मुद्दामा पीडितको कागज बेहोरा सबुदको रूपमा रहने भए तापनि अकाट्य प्रमाणको रूपमा भने लिन मिल्ने अवस्था हुँदैन । त्यस्तो बकपत्रमा उल्लेख भएका कुराहरू विश्वसनीय पनि देखिनु पर्ने ।" भन्ने सिद्धान्त प्रतिपादन भएको अवस्थामा यसमा मुद्दामा निस्सा दिँदाका बखत आधार बनाइएको प्रतिपादित नजिरको सिद्धान्त यस मुद्दामा आकर्षित हुने देखिँदैन ।
७. सामूहिक जबरजस्ती करणीको वारदातमा पीडितले प्रतिकार गर्न सक्ने अवस्था न्यूनत्तम रहन्छ । यस्तो अवस्थामा डाक्टरी जाँचबाट पीडित र प्रतिवादीको शरीरमा संघर्षको चिह्न देखिनु पर्ने अनिवार्यता रहँदैन भन्ने पुनरावेदन जिकिर पाइन्छ । Medical Jurists Dr. Jaising P. Modi ले Modi’s Textbook of Medical Jurisprudence and Toxicology (15th Edition, p. 331 र 332) भन्ने पुस्तकमा यस्ता अपराधका सम्बन्धमा देहायबमोजिम उल्लेख गरेको पाइन्छ । उक्त पुस्तकमा पीडितले लगाएको कपडाको परीक्षणका सम्बन्धमा यसप्रकार उल्लेख छ । If the clothes are the same as those worn at the time of the occurrence of rape, they should be carefully examined for the presence of blood or seminal stains, and whether these are on the front or on the back of the garments. Usually seminal stains are on the front of the clothes and those of the blood are on the back, but no arbitrary rule can be laid down. It should also be noted, if the clothes have been torn or soiled with mud. If there are any marks of suspicious stains, the clothes should be preserved with a view to forwarding them to the Chemical Examiner. If there are foreign hairs, fibres, etc., they must be carefully preserved and sent to experts for comparison with those found on accused and his clothing. भनी वारदातमा पीडितले लगाएको कपडामा blood तथा seminal stains को होसियारीसाथ परीक्षण गर्नुपर्ने र कपडा फाटेको, च्यातिएको, त्यसमा माटो लागेको वा अन्य शंकास्पद दाग तथा वस्तुहरू भए सुरक्षित राखी रसायनिक परीक्षणका लागि पठाउनु पर्ने र ती चिह्न तथा वस्तुहरूको आरोपित व्यक्तिहरूसँग तुलना गर्नु पर्दछ भन्नेसमेत उल्लेख भएको पाइन्छ । त्यस्तै अपराधबाट पीडितको शरीरमा हिंसाको चिह्न रहने सम्बन्धमा The body, especially the fore-arms, wrist, face, breasts, chest, lower part of abdomen, inner aspects of thighs and back, should be examined for marks of violence. Such as scratches and bruises, as a result of struggle. If present, they should be carefully described as regards their appearance, extent, situation and probable duration. Such mark are more likely to be found on the bodies of grown- up women who are able to resist than on the bodies of children who are incapable of offering any resistance…. In addition to these marks the female may experience difficulty in walking and pain in micturition or defaecation, the gait of the victim should be carefully observed. भनी यस्तो घटनामा विशेष गरी पीडितको अघिल्लो पाखुरा, नाडी, अनुहार, छाती, पेटको तल्लो भाग, फिलाको पछाडि र त्यसको भित्री भागमा हिंसाका चिह्नहरूको जाँच गरिनु पर्दछ, त्यहाँ scratches र bruises देखिएमा त्यसलाई संघर्षको परिणामको रूपमा लिइन्छ । संघर्षको समयमा कुटपिट भए त्यसको दाग, नङ टुक्रिएको भाँचिएको भए सो र अपराधका कारण पीडितलाई हिँडाईको चालमा र पिसाबमा कठिनाई उत्पन्न हुन सक्ने हुँदा यी सबै कुरालाई विचार गर्नुपर्दछ । त्यस्तै पीडित महिलाको Genitals को परीक्षणमा देहायका कुराहरू हेरिनु पर्ने भनी उल्लेख भएको पाइन्छ ।
In grown-up females, if the pubic hairs are found matted due to the presence of semen, they should be cut off with a pair of scissors and examined for the presence of spermatozoa, if possible, or they should be preserved to be forwarded to the Chemical Examiner. Dried seminal stains found on the external genitals and thighs should be carefully scraped by means of a clean, blunt knife, and preserved for sub-sequent examination
Recently effused or dried blood may be found upon the genital organs or in the neighbourhood, and in recent cases there may be bleeding from the vagina, which is usually very slight, unless there is some injury to the vagina itself. It should not be forgotten that the bleeding may be due to menstruation, which is possible to be induced by sexual intercourse.
Bruising and laceration of the external genitals may be present with redness, swelling and inflammation.
In nubile virgins the hymen, as a result of complete sexual inter- course, is usually lacerated, having one or more radiate tears, the edges of which are red, swollen and painful, and bleed on touching, if examined with- in a day or two after the deed. These tears heal within five or six days and after eight to ten days become shrunken and look like small granular tags of tissue. Frequent sexual intercourse and parturition completely destroy the hymen, which is represented by several small granular tags of tissue, called carunculæ hymenealis or myrtiformes.
In cases where the hymen is intact and not lacerated, it is absolutely necessary to note the distensibility of the vaginal orifice in the number of fingers passing into vagina without any difficulty. The possibility of sexual intercourse having taken place without rupturing the hymen may be inferred, if the vaginal orifice is big enough to admit easily the passage of two fingers. In girls under fourteen years of age the vaginal orifice is usually so small that it will hardly allow the passage of the little finger through the hymen.
The fourchette and posterior commissure are not usually injured in cases of rape, but they may be torn, if the violence used is very great indeed. The amount of injury to the hymen and genital canal depends upon the degree of disproportion between the genital organs of both parties and the violence used on the female. In small children the hymen, being situated high up in the canal, is not usually ruptured, but may become red and congested along with the inflammation and bruising of the labia, or, if considerable violence is used, there “is often laceration of the fourchette and perinæum.
In grown-up virgin girls, unmarried or married women, when they offer resistance marks of violence, such as bruises, scratches, etc. may be found on the external genitals, perinæum, abdomen chest back limbs neck and face.
The vaginal secretion from the posterior fornix should always be obtained by introducing a swab (or 1 ml. pipette) and the material obtained on the swab must immediately be transferred to a microscopic slide and spread out in the form of a thin film and fixed. After staining, the slide should then be examined microscopically for the presence of spermatozoa, which is a positive sign of rape in the case of children and grown-up virgins. In grown- up married women, it does not necessarily indicate rape, but it proves the occurrence of a previous sexual intercourse. Even presence of motile per matozoa is not necessarily indicative of intercourse few hours before the time of examination.
८. यसरी महिलाको Genitals को परीक्षणमा हिंसाको कारण पीडितको योनाङ्गको बाहिरी भागमा वीर्य र रगतका दागहरू हुने, महिलाको pubic hair मा आरोपितको pubic hair लगायतका वस्तु रहन सक्ने, घाउचोट, निलडाम हुने, योनिबाट रक्तस्राव हुने, योनि च्यातिने, सुन्निनेलगायतका विभिन्न किसिमका हिंसाका चिह्न तथा वस्तु रहन सक्ने र nubile virgin हरूमा सामान्यतः hymen lacerate हुने र त्यस्तो lacerate भएको भागमा रातो हुने, सुन्निने, दुख्ने र छोएमा रगत बग्ने गर्दछ । यस्तो अवस्था एक वा दुई दिनसम्म हुन्छ । ५, ६ दिनपछि विस्तारै निको हुँदै
जान्छ । बारम्बार यौन सम्पर्क गर्दा र बच्चा जन्मिँदा hymen पूर्णतया भंग हुने गर्दछ । यदि यौनसम्पर्क भएको छ तर hymen च्यातिएको छैन भने सो सम्बन्धमा पीडितको vagina को मुख खुलेको छ र हातका औंला सजिलै छिर्यो भने यौन सम्पर्क भएको मान्न सकिन्छ । तर १४ वर्षभन्दा कम उमेरकी बालिकाको हकमा सानो एउटा औंला मुस्किलले छिर्न सक्दछ । महिलामा कति injury छ भन्ने कुरा victim र accused को genital organs को disproportion बाट यकिन गर्न सकिन्छ । In grown-up virgin girls, unmarried or married women का हकमा violence का कारण external genitals, perinæum, abdomen chest back limbs neck and face मा bruises, scratches हुन्छ भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै ऐ. पुस्तकको पेज नं. ३३५ मा accused को परीक्षणको ११ नं. मा …The locality where the offence was alleged to have been committed should be examined, as it might reveal valuable clues in the shape of blood stains, pieces of torn clothing, marks of the body on the ground, or the crushed and trampled condition of the grass in the vicinity. भनी वारदातस्थलमा रगतको दाग, फाटेको कपडाको टुक्रा, भुइँमा शरीरको चिह्न वा कुल्चिएको पाइलाको आकारलगायत वारदातसँग सम्बन्धित महत्त्वपूर्ण वस्तुहरू देख्न सकिन्छ । साथै त्यसको वरपर घाँस मडारिएको, कुल्चिएकोसमेत हुन सक्ने उल्लेख गरेको पाइन्छ ।
९. प्रस्तुत मुद्दामा वारदातको समयमा आफ्नै घरमा रहेकोसमेत भनी प्रतिवादीहरू आरोपित कसुरमा अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्षको बयानमा इन्कार रहेको देखिन्छ । पीडितले घटना विवरण सम्बन्धमा लेखाएको वारदातको तथ्य हेर्दा रातको समयमा औषधी लिन जाँदै गरेकी निजलाई बाटामा रहेका चारजना प्रतिवादीहरूमध्ये कसैले करणी गर्न आदेश दिने, कसैले हात समाउने, कसैले मुख थुन्ने र नजिकैको बाँसको झ्याङ छेउको खेतमा लगी निजको सुरूवाल खोली पालैपालो तीन जनाले ९ बजेदेखि करिब १ बजेसम्म जबरजस्ती करणी गरी वीर्यसमेत स्खलन गराएको र पीडित बेहोससमेत भएको भन्ने देखिन्छ । जाहेरी दरखास्तमा करणी गरिसकेपछि पीडितलाई एक्लै मरणासन्न अवस्थामा छाडेको र निज रूँदै घर आएको भन्ने पाइन्छ । पीडितले सुरूमा हल्ला गर्न लाग्दा प्रतिवादी अंगद र राकेशले मुख थुनेको भन्ने देखिन्छ । वारदातको यस तथ्यलाई आधार मान्दा बाटोबाट नै पीडितलाई करणी गर्ने मनसायले प्रतिवादीहरूले हात समाएको, मुख थुनेको, नजिकैको बाँसको झ्याङ छेउ खेतमा लगेको, करणी गर्न जबरजस्ती सुताएको, निजको सुरूवाल खोलेको र जबरजस्ती करणी गर्दा पीडित बेहोस भएको देखिन आउँछ । करणीको क्रममा पीडित बेहोस भएको अवस्थालाई जबरजस्ती करणी र त्यसको पीडाको अनपेक्षित कार्यको परिणामको रूपमा लिन सकिन्छ । उल्लिखित अपराधको वर्णनलाई विचार गर्दा अभियोगपत्रमा वर्ष १४ भनिएकी निज पीडितउपर तीनजना प्रतिवादीहरूले हात समाई, मुख थुनी रातको ९ बजेबाट करिब १ बजेसम्म बेहोस हुने गरी जबरजस्ती करणी गरेको भन्ने वारदातको घटना आफैँमा आततायी, पाशविक र बर्बर प्रकृतिको बुझिन्छ । साथै प्रतिवादीहरूको समूह, पीडितको उमेर, वारदातको समय र जबरजस्ती करणीको क्रममा पीडित बेहोस भएको अवस्थासमेतको सन्दर्भबाट हेर्दा उक्त आपराधिक कार्यले पीडितको genital organ समेतमा हुने पिडाको अवस्था सामान्य रहन सक्ने प्रकृतिको देखिँदैन ।
१०. जबरजस्ती करणीको संघर्षको अपराधमा पीडित महिलाको अघिल्ला पाखुरा, नाडी, अनुहार, छाती, पेटको तल्लो भाग, फिलाको पछाडि, त्यसको भित्री भागमा हिंसाका चिह्नहरू रहने, पीडितको हिँडाइको चाल तथा पिसाबमा समस्या आउने र nubile virgin मा सामान्यतः hymen lacerate हुने, lacerate भएको भाग रातो हुने, सुन्निने, दुख्ने र छोएमा रगत बग्ने, वारदातमा लगाएको कपडामा रगत र वीर्यका दाग हुने, च्यातिने, पीडितको pubic hair मा accused को pubic hair लगायतका वस्तु रहन सक्ने भन्ने मोदीको Medical Jurisprudence मा उल्लेख भएको पाइन्छ । प्रतिवादीहरूले बाटोबाट नै पीडितलाई करणी गर्ने मनसायले प्रतिवादीहरूले हात समाउनेदेखि जबरजस्ती करणी गर्दा बेहोस हुनेसम्मका उल्लिखित कार्य गरेको भन्ने पीडितको भनाइलाई आधार मान्दा निजउपर प्रतिवादीहरूबाट बल प्रयोग भएको प्रस्ट देखिन्छ । यसरी पीडितको भनाइबाट निजउपर जबरजस्ती करणीको क्रममा बल प्रयोग भएको पाइएको र उल्लिखित Modi’s Jurisprudence मा पनि यस्तो अपराधमा पीडितको शरीरमा घाउचोटका चिह्न तथा वस्तुहरूसमेत हुन सक्ने देखिएको परिप्रेक्ष्यबाट हेर्दा प्रतिवादीहरूले पीडितउपर गरेको बल प्रयोगबाट निजको हात र मुखमा कुनै न कुनै प्रकारको बल प्रयोगको चिह्न देखिने र genital organ को बाहिरी भागमा करणी गर्दाको चापले दुख्ने, रातो हुने, सुन्निने, वीर्यको दाग रहने, भित्री भागमा वीर्यको शेष रहन सक्ने तथा पीडितमा प्रतिवादीहरूको pubic hair र कपडामा वीर्यको दागलगायतका कुनै न कुनै वस्तु तथा चिह्नहरू देख्न सकिने हुन्छ ।
११. वारदातको भोलिपल्ट पीडितको शारीरिक परीक्षण हुँदा निजको शरीरमा कुनै प्रकारको चोटपटक रहेको, गुप्ताङ्गको छाला च्यातिएको, काटिएको, vulva तथा vagina र गुद्वारमा रगत र vaginal swab मा पुरूष वीर्य रहेको पाइँदैन । She was of adequate build and of good hygiene भन्ने र निज सचेत तथा राम्रो अवस्थामा रहेको
पाइन्छ । साथै पीडितको hymen loose र elastic रहेको भन्ने पनि देखिन्छ । मोदीको विधिशास्त्रमा vergin महिलामा पनि hymen loose र elastic हुन सक्ने भन्ने पाइन्छ । उक्त विधिशास्त्रमा यस्तो अवस्थामा करणी भए नभएको परीक्षण पीडितको vagina को मुख खुले नखुलेको र हातका औंला vagina मा सजिलै छिरे नछिरेको आधारबाट गरिन्छ भन्ने देखिन्छ । निजको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको हाइमेन के कसरी च्यातिएको र करणी भएको भन्ने सम्बन्धमा केही उल्लेख भएको
पाइँदैन । यसै सन्दर्भमा यस अदालतको पूर्ण इजलासबाट साइकल चढ्ने मानिसको पनि hymen rupture हुन सक्ने अवस्था भएबाट करणी भन्न पनि नसकिने हुँदा सो hymen rupture भएकोलाई नै बलियो आधार प्रमाण मान्न मिल्ने नदेखिने भनी ( ने.का.प. २०५९, अङ्क ३/४, पृष्ठ १२३, नि.नं. ७०६९) सिद्धान्तसमेत प्रतिपादन भएको हुँदा उल्लिखित सिद्धान्तबमोजिम पीडितको hymen loose र elastic हुँदैमा करणी भएको मान्न मिल्ने देखिँदैन । यसरी hymen loose तथा elastic हुँदैमा करणी भएको मान्न नमिल्ने अवस्था एकातर्फ रहेको पाइन्छ भने अर्कोतर्फ निजको शरीरमा कुनै प्रकारको चोटपटक देखिँदैन ।
१२. प्रतिवादीहरू सुवास भर, अंगद भर, नन्दे भन्ने रामचन्द्र मल्लाह र भोला लोध भन्ने राकेश लोधले अधिकारप्राप्त अधिकारीसमक्ष र सुरू अदालतमा गरेको बयानमा बाटोको विषयमा झैझगडा हुँदै आएकोमा सोही रिसइवीबाट यो किटानी जाहेरी दिएको हुनुपर्छ । पीडित २०७० (४) यु लाई उक्त राति को कसले के के गरे मलाई थाहा भएन । निजलाई करणी गरेको छैन भनी कसुरमा पूर्ण इन्कार गरेको
देखिन्छ । प्रतिवादीहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनमा no spermatozoa seen भन्ने देखिन्छ ।
१३. उल्लिखित पृष्ठभूमिमा विशेषज्ञको रायसहितको परीक्षण प्रतिवेदन प्रमाणमा लिन मिल्छ कि मिल्दैन भन्ने सम्बन्धमा हेर्दा पीडित परिवर्तित नाम २०७०(४) यु को शारीरिक परीक्षण भिम अस्पतालका डा. वृजेश पाण्डेले गरी निजले सुरू अदालतमा उपस्थित भई बकपत्रसमेत गरेको
पाइन्छ । जाहेरवालाले वारदातबाट फर्किएकी पीडितको शरीरमा कुनै किसिमको घाउचोट देखिन भनी बकपत्र गरेको देखिन्छ । साथै निजको बकपत्रमा छिमेकका प्रतिवादीहरूसँग झगडा हुनु सामान्य रहेकोसमेत भन्ने पाइन्छ । जाहेरवालाको उल्लिखित बकपत्रलाई आधार मान्दा पीडित घाउचोटबेगर वारदातस्थलबाट घर पुगेको देखिन्छ । वारदातस्थलमा पीडितलाई प्रतिवादीहरूले मरणासन्न अवस्थामा एक्लै छाडेको भन्ने निजको जाहेरी र पीडितलाई घउचोट बेगर घरमा देखेको भन्ने निजको बकपत्रको अवस्था फरक पर्न गएको देखिन्छ । प्रतिवादीहरूले पीडितउपर लामो समयसम्म सामूहिक जबरजस्ती करणी गरेको भनिएको स्थलमा अपराधसँग सम्बन्धित वस्तु तथा शरीरको आकार वा कुल्चिएको टेकिएको पाइलाको आकारलगायतका कुनै पनि चिह्न तथा वस्तुहरू रहे नरहेको खुलाएको पाइँदैन । घटनाको सबुत प्रमाण तथा चिह्न रहन सक्ने उक्त स्थललाई घटना घटेको ठाउँको रूपमा मात्र चित्रण गरेको
पाइन्छ । साथै प्रतिवादीहरूले वीर्यसमेत स्खलन गराएको भन्ने पीडितको भनाइ रहेकोमा निजले वारदातमा लगाएको सुरूवालमा प्रतिवादीहरूको वीर्यको दाग रहन सक्ने उत्तिकै सम्भावना
देखिन्छ । अपराध अनुसन्धानको क्रममा उक्त सुरूवाल प्रहरीले लगेको भनिएकोमा सो सुरूवाल परीक्षण भएको पाइँदैन । वस्तुस्थिति मुचुल्काका मानिस तथा जाहेरवालाले वारदात प्रत्यक्ष देखेको पनि पाइँदैन । पीडितको मौकाको कागज हेर्दा निजले भिनाजु नाता पर्ने अकस्मात बिरामी परेको हुँदा घरबाट गाउँतर्फ औषधी लिन गइरहेको अवस्थामा बाटामा वारदात भएको भनी गम्भीर अपराधको वर्णन गरेको पाइएकोमा अदालतमा बकपत्र गर्दा उक्त समयमा अर्को घरमा सुत्न गएको अवस्थामा वारदात भएको भन्ने देखिन्छ । साथै प्रतिवादी नन्देसँग झगडा रहेको भनी मौकाको कागजभन्दा केही फरक बेहोरा उल्लेख गरेको देखिन्छ । निज पीडित बिरामीलाई औषधी लिन रातको ९ बजे गएकी भनिएकोमा १:०० बजेसम्म पीडित घरमा नआउँदासम्म जाहेरवालालगायतका घर परिवारका मानिसले खोजतलास गरेको मिसिल संलग्न कागजातहरूबाट पाइँदैन । जाहेरवालाले निज औषधी लिन गएकी भनी बकपत्र गरेको देखिए तापनि पीडित गाउँमा औषधी लिन गएकी वा अर्को घरमा सुत्न गएकी हुन् भनी यकिनसँग खुल्न सकेको देखिँदैन । निजले पीडितलाई खोजतलास गरेको नदेखिएकोसमेतको अवस्थाबाट पीडित औषधी लिन नगई सुत्न गएकी हुन कि जस्तो पनि देखिन्छ । अपराधका कारण पीडितलाई हिँडाइको चालमा र पिसाबमा समस्या रहेको भन्ने पनि देखिँदैन । निजको शरीरमा घउचोट नरहेको भन्ने जाहेरवालाको उल्लिखित बकपत्रसमेतका आधारमा पीडितले घटनाको विवरणमा उल्लेख गरेजस्तो अपराधको प्रकृति गम्भिर, पाशविक र आततायी किसिमको पनि देखिँदैन । यसरी अपराध अनुसन्धानको क्रममा अपराधसँग सम्बन्धित विवरणहरू उल्लेख नगरी घटना घटेको ठाउँको मात्र चित्रण भएको घटनास्थल प्रकृति मुचुल्का, पीडितले वारदातमा लगाएको सुरूवाल परीक्षण नहुनु, जाहेरवालाले पीडितको शरीरमा घाउचोट नदेख्नुसमेतको अवस्था न्याय निरूपणको परिप्रेक्ष्यबाट विचारणीय देखिन्छ । त्यस्तै जाहेरी दरखास्त, बुझिएका व्यक्तिहरूको कागजमा पीडितको उमेर १४ वर्ष तथा पीडितले अदालतमा बकपत्र गर्दा आफ्नो उमेर १७ वर्षको बताएकोले पीडितको उमेरमा एकरूपता देखिँदैन । उल्लिखित मिसिल संलग्न तथ्य प्रमाणहरू पीडितको शारीरिक परीक्षण प्रतिवेदनसँग सामञ्जस्यता रहेको देखिँदैन । साथै उक्त प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट देखिन्छ । यसरी विशेषज्ञको रायसहितको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट रहेको तथा उल्लिखित तथ्यहरूसँग सामान्जस्यता रहेको नपाइएकोले उक्त प्रतिवेदन प्रमाणमा लिन मिल्ने नै देखिँदैन । यसै सन्दर्भमा यस अदालतको पूर्ण इजलासबाट विशेषज्ञको राय प्रतिवेदन यो यति कारणबाट शंकास्पद वा विरोधाभाषयुक्त छ भनी इजलाससमक्ष प्रस्ट्याउनु पर्ने सम्बन्धित पक्षको दायित्व हुने हुँदा यस्तो दायित्वलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने । विशेषज्ञले दिएको प्रतिवेदन शंकास्पद, द्विविधायुक्त वा अस्पष्ट नभई फटिक झैं स्वच्छ (crystal clear) र अन्य स्वतन्त्र प्रमाणले समर्थित गर्दछ भने त्यस अवस्थामा अदालत स्वयंले तर्क वितर्क गरी शंका उपशंका उठाउनुसमेत न्यायोचित नहुने... भनी (ने.का.प.२०६७, अङ्क २, नि.नं. ८३११) सिद्धान्त प्रतिपादन भएको पाइन्छ । उल्लिखित सिद्धान्तसमेतका आधारमा पीडितको शारीरिक परीक्षण प्रतिवेदनलाई प्रमाणमा लिन मिल्ने नै देखियो । यसरी पीडितको शारीरिक परीक्षण प्रतिवेदन प्रमाणको रूपमा विश्वसनीय भई ग्रहणयोग्य देखिएकोले उक्त प्रतिवेदनभन्दा फरक अवस्थाको निजको बकपत्र मिसिल संलग्न पीडितको शरीरमा घाउचोट नदेखेको भन्ने जाहेरवालाको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का, पीडित र प्रतिवादीहरूको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको मौका तथा अदालतको बयान, वस्तुस्थिति मुचुल्का, प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्रसमेतका मिसिल संलग्न तथ्यहरूबाट शंकारहित तवरले पुष्टि हुन सकेको देखिन आउँदैन ।
१४. जबरजस्ती करणी महिलाको अस्मिता तथा सामाजिक प्रतिष्ठामा आँच पुग्ने किसिमको अपराध हो । यस्तो कसुरमा पीडितबाहेक अन्य प्रत्यक्षदर्शी वा चश्मदिद गवाह हुन सक्ने सम्भावना अत्यन्त कम हुन्छ, त्यसैले जबरजस्ती करणी कसुरमा प्रमाणको मूल्याङ्कन गर्दा पीडितको बकपत्रलाई प्रमाणको पहिलो र प्रमुख कडी मान्नुपर्छ । तर जाहेरी दरखास्त र पीडितको भनाईलाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नु पर्ने हुन्छ । यस्तो प्रकृतिको अपराधमा न्यायको रोहमा विचार गर्दा न्याय मर्न जाने सम्भावनालाई समेत मध्यनजर गरी अत्यन्त विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । जाहेरी दरखास्त, पीडितको मौकाको कागज र पीडितको बकपत्रको तथ्य अन्य प्रमाणहरूसँग विरोधाभाषपूर्ण अवस्था देखिएमा शंकारहित ढङ्गबाट न्याय निरूपण गर्न विवेक पुर्याउनु पर्ने देखिन्छ । तसर्थ पीडितको बकपत्रलाई शंकारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाण कसुर पुष्टि हुन नसकेको देखिँदा पीडितको जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र एकतर्फी यान्त्रिक तवरले प्रमाणको रूपमा ग्रहण गरी प्रतिवादीलाई सजाय गर्नु न्यायसङ्गत हुँदैन ।
१५. यसरी प्रतिवादीहरूउपरको अभियोग दाबी वस्तुनिष्ठ र ठोस प्रमाण (material evidence) बाट समर्थित नभएकोले शंकाको सुविधा प्रतिवादीहरूले पाउने नै हुँदा निज प्रतिवादीहरू सुवास भर, अंगद भर, भोला भन्ने राकेश लोध र नन्दे भन्ने राम चन्द्र मल्लाहलाई रूपन्देही जिल्ला अदालतले मिति २०७१।३।२५ मा अभियोग दाबीबाट सफाइ दिएको फैसलालाई सदर ठहर्याएको पुनरावेदन अदालत बुटवलको मिति २०७२।२।२१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृत : मेघनाथ चापागाँई (उपसचिव) / रक्षाराम चमार (शा.अ.)
इति संवत् २०७६ साल मंसिर १३ गते रोज ६ शुभम् ।