निर्णय नं. १०४७१ - अंश

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्र. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७६।१०।२६
०७१-CI-११७८
मुद्दाः अंश ।
पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, रघुनाथपुर गा.वि.स. वडा नं.९ मा बस्ने स्व.दुखीया मुखियाको छोरा राम अशिष मुखिया विन
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला धनुषा, रघुनाथपुर गा.वि.स. वडा नं.९ मा बस्ने शिवु मुखिया विनको छोरा रामलखन मुखिया विन
अंशसम्बन्धी अधिकार अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण भई जाने अधिकार भएकोले मूल पुरूषका नाति (तेस्रो पुस्ता) र पनाति (चौथो पुस्ता) बिचको अंशसम्बन्धी विवाद भएकोमा अघिल्लो पुस्तामा परेको विवादलाई पछिल्लो पुस्तासँग जोडेर हेर्नु न्यायोचित नदेखिने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रमोदप्रसाद शाह
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जगन्नाथ महतो सिंह
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने न्यायाधीश :
मा. जिल्ला न्या. श्री अमृतबहादुर बस्नेत
धनुषा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशः-
माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
मा. न्यायाधीश श्री अनिता मानन्धर जोशी
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मूल पुरूष सिवु मुखिया विनको दुई भाइ छोरा फिरादी रामलखन मुखिया र जेठो दुखिया मुखिया र निजकी श्रीमती विल्टुनिया देवी भएकोमा विल्टुनिया देवीको मृत्यु भइसकेको छ । दाजु दुखिया मुखियाको दुई छोरा प्रतिवादी रामअशिष मुखिया र कान्छा रामनारायण मुखिया हुन् । हामीहरू सगोलमै बस्दै आइरहेका छौं । विपक्षीहरूले सगोलको सम्पत्ति पचाउने नियतले झै-झगडा गरी सगोलको सम्पत्ति आ-आफ्नो श्रीमतीको नाउँमा राख्ने बराबर कलह गर्नेसमेतका कारणले सगोलमा बस्न सक्ने अवस्था नभएकोले सबै बन्डा गरी बसौं भनी विपक्षी प्रतिवादीहरूलाई भन्दा नमानेकोले यो नालेस गर्न आएको छु । तसर्थ नालेस परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश छुट्याई हाम्रो नाउँमा दर्ता गरी चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको फिरादपत्र ।
विपक्षीले देखाउनु भएको नाता सम्बन्ध ठिकै छ । वादीको दाबीअनुसार हामीले वादीलाई अंश दिनुपर्ने होइन । विपक्षी हाम्रा बाबुकै पालामा घरसारमा अंशबन्डा भई आफ्नो घरद्वार बनाई अलग बसी आएका छन् । हाम्रो बुबाले भरेको १ नं. फाँटवारी र ७ नं. लगतमा विपक्षीको नाउँ भरिएको छैन । बाबुको पालादेखि नै हाम्रो घरद्वार खानपिन खती उपती अलग अलग भएको छ । वि.सं.२०४४ सालमा मौजे मुखियाले दिएको अंश मुद्दा हाम्रो बुबा दुखिया र वादी लखनले संयुक्त प्रतिउत्तर पत्र दर्ता गराउँदा सोही समयमा घरसारमा भिन्न भएको भनी उल्लेख गरी प्रतिउत्तर गर्नु भएको छ । वादीले उक्त अंश मुद्दामा आफ्नो नाउँ लखन उल्लेख गरेका छन् भने यस मुद्दामा राम लखन उल्लेख गर्नुभएकोबाट पनि निजले हामीमाथि बदनियत चिताई हामीले आर्जन गरेको सम्पत्तिमा लोभ लागी यो झुठ्ठो मुद्दा दिनु भएको हो । वादीलाई हामीले अंश दिनुपर्ने होइन । झुठ्ठा वादी दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी रामअशिष मुखिया विन र रामनारायण मुखिया विनको संयुक्त प्रतिउत्तरपत्र ।
वादी दाबीबमोजिम वादीले प्रतिवादीबाट अंश पाउनु पर्ने हो भन्नेसमेत बेहोराको वादीका साक्षी घुरन राउत अमात र वेचन सदाले गरेको बकपत्र ।
वादी प्रतिवादी अलग अलग बस्दछन् । प्रतिवादीले वादीलाई अंश दिन बाँकी छैन भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रामजतन मुखियाले गरेको बकपत्र ।
वि.सं.२०४४ सालको दे.नं.१५३० को अंश दर्ता चलन मुद्दामा र पुनरावेदन अदालतबाट भएको दे.पु.नं.६६९ को मिति २०४८।१०।२८ को मिलापत्रमा आफू अन्य प्रतिवादीहरू र प्रस्तुत मुद्दाका प्रतिवादीसँग समेत व्यवहारमा छुट्टी भिन्न भई आ-आफ्नो व्यवहार गरी बसेको र त्यस्तो व्यवहारले अंशबन्डाको महलको ३० नं. बमोजिम कानूनी मान्यता प्राप्त गर्नेसमेत देखिएको र हाल यी वादी रामलखन मुखिया यी प्रतिवादीहरूका सगोलका अंशियार हुन् भन्ने नदेखिँदा प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू धनुषा जिल्ला अदालतबाट मिति २०६७।०३।३१ मा भएको फैसला ।
साक्षी सबुत प्रमाणलाई मूल्याङ्कन नगरी घरसारमा नै भिन्न भएको प्रमाणविना अंश ठहर नगर्ने गरी सुरू धनुषा जिल्ला अदालतको फैसला कानूनी रूपमा त्रुटिपूर्ण भएकोले सो मिति २०६७।०३।३१ गतेको फैसला बदर गरी तायदाती फाँटवारीको लागि आदेशसमेत जारी गरिपाउँ भन्ने वादीको
पुनरावेदनपत्र ।
यसमा वादी र प्रतिवादीको बिचमा घरसारमा नरम गरम मिलाई छुट्टिई आ-आफ्नो भागसान्ती लिई दाखिल खारेजसमेत गराई छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको प्रस्तुत मिसिलबाट नदेखिई रहेको स्थितिमा पनि त्यसतर्फ दृष्टिगोचर नगरी धनुषा जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहर्याई भएको २०६७।०३।३१ को निर्णय इन्साफको रोहमा फरक पर्न सक्ने देखिएकोले मुलुकी ऐन, अ.बं.२०२ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा म्याद गुजारेपछि नियमानुसार पेस गर्नु भनी पुनरावेदन अदालत जनकपुरबाट मिति २०६८।०३।२९ मा भएको आदेश ।
वादी प्रतिवादीहरू अंशियार नाताका मानिस भएको, निजहरू यस अगाडि पारित लिखतबाट अंश लिनु दिनु गरी छुट्टी भिन्न भएको नदेखिएको र व्यवहार प्रमाणबाट पनि निजहरू छुट्टी भिन्न भएको मिसिलबाट नदेखिँदा वादीले प्रतिवादीबाट अंश पाउने नै
देखियो । तसर्थ प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित ऋणको हकमा साहुको नालिस परेका बखत ठहरेबमोजिम हुने नै हुँदा तायदाती फाँटवारीमा उल्लिखित दुखिया बिन नाम दर्ताको कि. नं. ९९ को ०-५-० र कि.नं. १३० को ०-४-१८, बिल्टुनिया देवी नाम दर्ताको कि.नं. १८ को ०-२-११ र कि.नं. १५२ को ०-६-१० तथा वादीले पेस गरेको तायादती फाँटवारीमा उल्लिखित ०-०-१२ जग्गालाई २ भाग लगाई सोमध्ये १ भाग अर्थात् आधा सम्पत्ति वादीले अंश पाउने ठहर्छ । वादी दाबी पुग्न नसक्ने ठहर गरेको धनुषा जिल्ला अदालतको मिति २०६७।०३।३१ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्याई पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१/०३/३० गतेमा भएको फैसला ।
मूल पुरूष निर्सु मुखियाको ४ जना छोराहरूमध्येका बिर्छा मुखिया, माहिला सिबु मुखिया, साहिला अच्छलाल मुखिया र कान्छा कनकी भन्ने सुनर मुखिया भएको र निजहरूमध्ये बिर्छा मुखिया, सिबु मुखिया, अच्छलाल मुखिया स्वर्गीय भइसकेको अवस्थामा बिर्छा मुखियाका छोरा मौजा मुखिया वादी भई सिवु मुखियाका छोराहरू म पुनरावेदक प्रतिवादीका बुबा दुखिया मुखिया र काका नातामा पर्ने लखन मुखियासमेतलाई प्रतिवादी बनाई श्री धनुषा जिल्ला अदालतमा वि.सं.२०४४ सालमा दे.मु.नं.१५३० को अंश दर्ता मुद्दा दायर गरेका थिए । सो मुद्दामा प्रतिवादी बनाइएका म पुनरावेदक प्रतिवादीका बुबा दुखिया मुखिया र विपक्षी प्रत्यर्थी काका नातामा पर्ने लखन मुखिया भन्ने (राम लखन मुखिया विन, प्रस्तुत मुद्दाका वादी) समेतले संयुक्त रूपमा प्रतिउत्तर लगाउँदा हामी एकासगोलमा बसेको नभई २००७ सालदेखि नै भिन्न भई बसेका छौं भनी प्रतिवाद गर्नु भएको थियो । त्यसैगरी विपक्षी वादी र म पुनरावेदकका बुबा दुखिया विनले आफ्नो अंश भागको जग्गा छुट्टाछुट्टै देखाई ७ नं. फाराम भरेबाट म पुनरावेदकका बुबा र विपक्षी काकासमेत घरसारमै अंशबन्डा छुट्याई भिन्न भइसकेको अवस्था देखिन आउँछ । यसरी विपक्षी वादी म पुनरावेदक प्रतिवादीका भिन्न रहेका अंशियार हुन् भन्ने प्रमाणित रहँदारहँदै पनि श्री पुनरावेदन अदालत जनकपुरबाट सो तथ्य र प्रमाणसमेतको विपरीत हुने गरी श्री धनुषा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याई पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी प्रतिवादीहरूमध्येका राम अशिष मुखिया विनले यस अदालतसमक्ष पेस गरेको मिति २०७१/०९/२१ गतेको पुनरावेदन पत्र ।
यसमा वादी राजेन्द्र मुखिया विन र प्रतिवादीहरू शिवु मुखियाको छोरा लखन मुखिया (प्रस्तुत मुद्दाको वादी) र दुखिया मुखिया (प्रस्तुत मुद्दाको प्रतिवादीहरूको पिता) समेतका बिच दे.पु.नं ६६९ को अंश मुद्दामा हामी सबै वादी प्रतिवादीहरू एक अर्कासँग अलग अलग भिन्न भई आ-आफ्नो खती उपती आफैँले बेहोर्दै आएको र एक अर्कोमा अंश नलाग्ने बेहोरासमेत उल्लेख गरी मिति २०४८/१०/२८ मा पुनरावेदन अदालत जनकपुरमा मिलापत्र भएको देखिन्छ । सो मिलापत्रबाट यी वादी प्रतिवादीहरू छुट्टी भिन्न भइसकेको देखिएको अवस्थामा वादीले अंश पाउने ठहर्याएको पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१/०३/३० मा भएको फैसला प्रमाण मूल्याङ्कनसमेतले फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भनी यस अदालतबाट भएको मिति २०७३/०५/१७ गतेको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री प्रमोदप्रसाद शाहले वि.सं.२०४४ सालमा दे.नं.१५३० को अंश मुद्दामा प्रतिवादी बनाइएका पुनरावेदक प्रतिवादीका बुबा दुखिया मुखिया र पुनरावेदक प्रतिवादीका काका नातामा पर्ने विपक्षी वादी रामलखन मुखियाले संयुक्त रूपमा प्रतिउत्तर लगाउँदा हामी सगोलमा बसेको नभई २००७ सालदेखि नै भिन्न भई बसेका छौं भनी प्रतिवाद गर्नुका साथै प्रत्यार्थी वादी र पुनरावेदक प्रतिवादीका बुबा दुखिया विनले आफ्नो अंश भागको जग्गा छुट्टाछुट्टै देखाई भरेको ७ नं. फारामबाट यी पुनरावेदकका बुबा र विपक्षी काकासमेत घरसारमै अंशबन्डा छुट्याई भिन्न भइसकेको अवस्था हुँदा प्रत्यार्थी वादीलाई पुनरावेदक प्रतिवादीका हकको सम्पत्ति बन्डा गरी दिनुपर्ने होइन । तसर्थ पुनरावेदन अदालत जनकपुरको फैसला उल्टी हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री जगन्नाथ महतो सिंहले प्रत्यर्थी वादीले अंशियारबाट अंश पाएको छैन । २०४८ सालको मिलापत्रमा दुई दाजुभाइले आफ्नो बाबुको प्रतिनिधित्व गरी बाबुका दाजुभाइबिच बन्डा भइसकेको भन्ने मात्र स्वीकारेको, शिवुका २ भाइ छोराहरूबिच अंश छुट्टिइसकेको कुनै प्रमाण छैन, वादीका नाममा कुनै सम्पत्ति नभई प्रतिवादीहरूका नाममा मात्र सम्पत्ति रहेबाट पनि अंश नभएको प्रमाणित हुने र एकजना प्रतिवादी रामनारायणले पुनरावेदन नै नगरी पुनरावेदन अदालतको फैसला स्वीकारी बसेसमेतबाट अंशबन्डा भएको भन्ने जिकिर तथ्यगत रूपमा प्रमाणित हुन सकेको छैन । तसर्थ पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नु भयो ।
उपर्युक्तबमोजिम दुवैतर्फका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहस सुनी मिसिल संलग्न प्रमाण कागजातहरूको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१/०३/३० मा भएको फैसला मिलेको छ वा छैन ? तथा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन भन्ने सम्बन्धमा न्याय निरूपण गर्नुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा विपक्षी प्रतिवादीहरूले सगोलको सम्पत्ति पचाउने नियतले झै-झगडा गरी सगोलको सम्पत्ति आ-आफ्नो श्रीमतीको नाममा राख्ने, बराबर कलह गर्नेसमेतका कारणले सगोलमा बस्न सक्ने अवस्था नभएकोले सबै अंशबन्डा गरी बसौँ भनी विपक्षी प्रतिवादीहरूलाई भन्दा नमानेकोले नालेस परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी २ भागको १ भाग अंश छुट्याई हाम्रो नाममा दर्तासमेत गरी चलनसमेत चलाई पाउँ भनी धनुषा जिल्ला अदालतमा वादीको फिरादपत्र परेकोमा सुरू जिल्ला अदालतबाट वादी दाबी नपुग्ने ठहर्याई भएको फैसला पुनरावेदन अदालत जनकपुरबाट उल्टी हुने ठहर्याई वादी प्रतिवादीले पेस गरेको फाँटवारीको जग्गालाई २ भाग लगाई सोमध्ये १ भाग अर्थात् आधा सम्पत्ति वादीले अंश पाउने फैसला भएकोमा सो फैसलाउपर प्रतिवादीमध्ये रामनारायण मुखिया विनले चित्त बुझाई बसेका र अर्का प्रतिवादी रामअशिष मुखिया विनको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
पुनरावेदक प्रतिवादीले पेस गरेको प्रतिउत्तरपत्र र प्रत्यार्थी वादीले पेस गरेको फिरादपत्रमा उल्लेख गरेको पुस्तेवारी हेर्दा निजहरू अंशियार नाता सम्बन्धका व्यक्ति रहेको र तीमध्ये पुनरावेदक प्रतिवादी भतिजा नाताका व्यक्ति र प्रत्यार्थी वादी काका नाताका व्यक्ति रहेको भन्ने तथ्यमा विवाद देखिएन । अब यी पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादीबिच अंशबन्डा भएको छ छैन भन्ने तथ्यलाई केलाउनु पर्ने देखिन्छ ।
२. अब यी पुनरावेदक प्रतिवादी र प्रत्यर्थी वादीबिच अंशबन्डा भएको छ छैन भन्ने तथ्यमा प्रवेश गरी हेर्दा प्रत्यर्थी वादीले हामी वादी प्रतिवादी सगोलका अंशियार भएकोले अंशबन्डा गरिपाउँ भनी फिराद पेस गरेको देखिन्छ भने निज वादी हाम्रा बाबुकै पालामा घरसारमा अंशबन्डा भई आफ्नो घरद्वार बनाई अलग बसी आएका थिए । हाम्रो बाबुले भरेको १ नं. फाँटवारी र ७ नं. लगतमा वादीको नाम भरिएको छैन भनी विगतमा नै वादी प्रतिवादी अंशबन्डा भइसकेको भन्ने जिकिरसहित प्रतिउत्तर फिराएको देखियो । वादी प्रतिवादीहरूको उल्लिखित जिकिरको मूल्याङ्कन गरी हेर्दा ७ नं. फाँटवारीलाई पुनरावेदकले अंशबन्डाको मुख्य आधारका रूपमा लिएको
देखिन्छ । ७ नं. फाँटवारीको मुख्य प्रयोजन हेर्दा यो फाँटवारी भूमिको हदबन्दीसम्बन्धी व्यवस्थापनको प्रयोजनार्थ भर्ने गरिन्छ । त्यसैगरी अंशबन्डा विशुद्ध रूपमा सम्पत्तिसम्बन्धी अधिकारसँग जोडिएको विषय हो । साथै सगोलको सम्पत्ति अंशियारहरूका हकमा पूर्ण अधिकार सम्पत्ति (Absolute Property)
मानिन्छ । ७ नं. फाँटवारी अंशबन्डाको मुख्य आधार हुन सक्दैन । त्यसलाई अरू तथ्य र प्रमाणबाट पनि समर्थन गरेको हुनुपर्छ । तसर्थ ७ नं.फाँटवारीलाई मात्र अंशबन्डाको अकाट्य प्रमाणका रूपमा ग्रहण गर्न मिल्दैन ।
३. त्यसैगरी यी पुनरावेदक प्रतिवादी रामअशिष मुखिया विनले प्रत्यर्थी वादी काका रामलखन मुखियाले वि.सं.२०४४ सालको दे.नं.१५३० को अंश दर्ता चलन मुद्दामा २००७ सालदेखि नै घरसारमा अंश बन्डा गरी भिन्न भई अलग अलग घरद्वार गरी बसी आइरहेको भनी प्रतिवाद गरेबाट निज प्रत्यार्थी वादी रामलखन मुखिया म पुनरावेदक प्रतिवादी रामअशिष मुखियाका भिन्न रहेका अंशियार हुन् भनी मुख्य जिकिर लिएको देखिन्छ । सो जिकिरतर्फ विचार गरी हेर्दा पुनरावेदन अदालत जनकपुरको दे.पु.नं. ६६९ (धनुषा जिल्ला अदालतमा दर्ता दे.पु.नं. १५३०) को अंश दर्ता चलन मुद्दामा मूल पुरूष निर्सु मुखियाका ४ छोराहरू बिर्छा मुखिया, सिबु मुखिया, अच्छलाल मुखिया र कनरी भन्ने सुनर मुखियामध्येका जेठा बिर्छा मुखियाका छोरा मौजा मुखिया फिरादकर्ता र निज निर्सु मुखियाका माहिला छोरा सिबु मुखियाका छोराहरू दुखिया मुखिया (प्रस्तुत मुद्दाका प्रतिवादीका बाबु) र लखन मुखिया (प्रस्तुत मुद्दाका वादी) एवं निर्सु मुखियाका कान्छा छोरा कनरी मुखिया र निज कनरी मुखियाका छोरा मोलहा मुखिया गरी ४ जना प्रतिवादी भएको अंश दर्ता चलन मुद्दा धनुषा जिल्ला अदातलमा दर्ता भएको देखियो । सो मुद्दामा सुरू धनुषा जिल्ला अदालतबाट मिति २०४६/०३/०८ गतेमा वादी दाबी नपुग्ने ठहरी फैसला भएकोमा पुनरावेदन अदालत जनकपुरबाट मिति २०४८/१०/२८ मा वादी प्रतिवादीबिच मिलापत्र भएको देखिन्छ । सो मुद्दाको रोहमा सिबु मुखियाका छोराहरू रामलखन मुखिया (प्रस्तुत मुद्दाका वादी) र दुखिया मुखिया (प्रस्तुत मुद्दाका प्रतिवादीहरूका बाबु) समेतका चारैजना प्रतिवादीहरूले संयुक्तरूपमा प्रतिउत्तर पेस गर्दा "हामी चारै अंशियारले आ-आफ्नो अंश फाँटको जग्गा आ-आफ्नो नाममा घरसारमै बाँडफाट गरी तत्कालीन जिमदार कचहरीमा पटवारीमार्फत दाखेल दर्ता गराई आ-आफ्नो घर हबेली छुट्टाछुट्टै बनाई भोग चलन गर्दै आएका छौं" भन्ने बेहोरा लेखाएको देखियो ।
४. सो मुद्दामा मूल पुरूष निर्सु मुखियाका अंशियार सिबु मुखियाका छोराहरू रामलखन मुखिया (प्रस्तुत मुद्दाका वादी) र दुखिया मुखिया (प्रस्तुत मुद्दाका प्रतिवादीका बाबु) ले आफ्ना बाबु सिबु मुखियाको अंशको प्रतिनिधित्व गरेको देखिन्छ । जुन प्रस्तुत मुद्दाको अंशियारभन्दा अघिल्लो पुस्ताको अंश सम्बन्धमा परेको विवाद देखिन्छ । अंशसम्बन्धी अधिकार अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण भई जाने अधिकार भएकोले प्रस्तुत मुद्दामा मूल पुरूष निर्सु मुखियाका नाति प्रत्यर्थी वादी रामलखन मुखिया (तेस्रो पुस्ता ) र पनाति पुनरावेदक प्रतिवादी रामअशिष मुखिया (चौथो पुस्ता) बिचको अंशसम्बन्धी विवाद भएको हुँदा अघिल्लो पुस्तामा परेको विवादलाई पछिल्लो पुस्तासँग जोडेर हेर्नु न्यायोचित देखिँदैन ।
५. सम्पत्तिसम्बन्धी अधिकार कुनै पनि व्यक्तिको नैसर्गिक अधिकार हो । बन्डाबाट प्राप्त हुने साम्पत्तिक अधिकार संरक्षणका लागि मुलुकी ऐन, सातौं संशोधन (मिति २०३४/०९/२७) ले अंशबन्डाको महलको ३० नं. मा संशोधन गरेको देखिन्छ । यसरी अंशबन्डाको महलको ३० नं. को व्यवस्था हेर्दा "अंशबन्डा गर्दा साक्षी राखी कानूनबमोजिम बन्डा छुट्याई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नु पर्नेमा सो गरी राख्नुपर्छ । सोबमोजिम नभएको बन्डा सदर
हुँदैन । तर यो ऐन प्रारम्भ हुँदासम्ममा बन्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भागसान्तीबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बन्डा भइसकेको ठहरेमा पछि बन्डापत्र रजिस्ट्रेसन भएको छैन वा बन्डा घटीबढी असल कमसल भयो भन्न पाउँदैन । रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिस्ट्रेसन भएको हुनुपर्छ" भन्ने व्यवस्था रहेको देखिन्छ ।
६. यसरी यी पुनरावेदक प्रतिवादीले प्रत्यर्थी वादी २००७ सालमा नै घरसार गरी छुट्टै भिन्न भइसकेका हुन् भनी जिकिर लिए तापनि मुलुकी ऐन, सातौं संशोधन (वि.सं.२०३४) ले अंशबन्डाको महलको ३० नं. मा संशोधन हुनुपूर्व अंशबन्डासम्बन्धी खुकुलो व्यवस्थाबमोजिम यी प्रतिवादीले वादी / प्रतिवादीबिच बन्डापत्र खडा गरी घरसारमा नरम गरम मिलाई अचल अंशबन्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भागसान्तीबमोजिम लिई पाई दाखिल खारेजसमेत गराउनु पर्नेमा सो भए गरेको देखिँदैन । साथै संशोधित व्यवस्थाबमोजिम बन्डा गरिएको जग्गालाई बन्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहीछाप गरी रजिस्ट्रेसन गर्नु पर्ने भनी अनिवार्य सर्त तोकिएको देखिन्छ । पुनरावेदक प्रतिवादीको जिकिरबमोजिम वादी प्रतिवादीबिच अंशबन्डा भएमा सो बन्डाका सम्पत्ति राजीनामालगायतका बिक्री व्यवहारको लिखत, जग्गा दर्ता प्रमाण पुर्जालगायतका प्रमाण यी पुनरावेदक प्रतिवादीले पेस गर्न सकेको नदेखिँदा शिवु मुखिया विनका २ छोरा दुखिया र रामलखनबिच अंशबन्डा भइसकेको भन्ने देखिएन ।
७. तसर्थ उल्लिखित आधार र कारणबाट वादी प्रतिवादीले पेस गरेको फाँटवारीको जग्गालाई २ भागमा लगाई सोमध्ये १ भाग अर्थात् आधा सम्पत्ति वादीले अंश पाउने ठहर्याई पुनरावेदन अदालत जनकपुरबाट मिति २०७०/०३/३० मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डबमोजिम पुनरावेदन अदालत जनकपुरको फैसला सदर हुने ठहरी फैसला भएकोले वादीले कोर्ट फीबापत दाखिल गर्नुपर्ने रू.५३७०/- यस अदालतमा पुनरावेदन गर्दा र.नं.२०६ मिति २०७१/९/२१ मा धरौटी रसिदमार्फत दाखिल गरेको देखिँदा वादीले उक्त धरौटी रकमबापतको कोर्ट फी रकम फिर्ता पाउँ भनी यस अदालतमा कानूनबमोजिमको म्यादभित्र दरखास्त दिएमा सो धरौटी रकमबाट फिर्ता दिनू ........................................................... १
प्रस्तुत मुद्दाको लगत कट्टा गरी नियमानुसार गर्नू .......२
उक्त रायमा मेरो सहमति छ ।
प्र.न्या.चोलेन्द्र शम्शेर ज.ब.रा.
इजलास अधिकृतः जयन्ती अवस्थी भट्ट
इति संवत् २०७६ साल माघ २६ गते रोज १ शुभम् ।