शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४७६ - मोही लगत कट्टा

भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की

माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ

फैसला मिति : २०७६।११।२०

०७४-CI-०५९४

 

मुद्दाः मोही लगत कट्टा

 

पुनरावेदक / प्रतिवादी : हरिप्रसाद फुयालको श्रीमती माननाथ भण्डारीको छोरी काठमाडौं जिल्ला, काभ्रेस्थली वडा नं. ७ हाल तारकेश्‍वर न.पा. वडा नं. २ बस्ने वर्ष ५९ की भवानी फुयाल

विरूद्ध

प्रत्यर्थी / वादी : भिमराज वन्तको नाति डिल्लीराज वन्तको छोरा गोरखा जिल्ला वगुवा गा.वि.स. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने वर्ष ५६ को दिलिपराज वन्तसमेत

 

एक पुस्ताबाट अर्को पुस्तामा मोहियानी हक हस्तान्तरण हुने गरी व्याख्या भइसकेको परिप्रेक्ष्यमा समान पुस्ताको सौता दिदीको मोहियानी हक सौता बहिनीमा नामसारी गर्न नमिल्ने भनी व्याख्या गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को  व्याख्यात्मक सङ्कुचन हुने ।

एकासगोलमा रही जग्गावालाको जग्गामा परिश्रम गर्ने, उत्पादकत्व बढाउने, जीवनभर त्यसैमा आश्रित रहने तर दर्तावाला मोही मरेपछि त्यसमा मोही हक प्राप्त गर्न नसक्ने भनी उक्त ऐनको दफा २६(१) को सङ्कुचित व्याख्या गर्नु न्यायपूर्ण हुन नसक्ने ।

(प्रकरण नं.१२)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान्‌ अधिवक्ताद्वय श्री गोविन्द शर्मा बन्दी र श्री राजुप्रसाद चापागाई

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजु फुयाल

अवलम्बित नजिर :

ने.का.प.२०५६, अङ्क ७, नि.नं.६७४७

सम्बद्ध कानून :

भूमिसम्बन्धी ऐन, २०२१

 

सुरू तहमा फैसला गर्नेः

श्री विक्रमप्रसाद पाण्डेय

भूमि सुधार कार्यालय, काठमाडौं

पुनरावेदन तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर

मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी

उच्च अदालत पाटन

 

फैसला

न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-

तथ्य खण्ड

हाम्रा नाममा संयुक्त दर्ता रहेको काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गाको मोही मिश्रीदेवी फुयाल भएकोमा निज मिति २०६०।८।०३ मा आफ्नो कालगतिले परलोक भई मृतक मोहीको शेषपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिमका मोही हक नामसारी हुने कानूनी हकदार कोही नभई सो जग्गा हामी जग्गाधनीहरूकै जोतभोगमा रही आएको हुँदा उक्त जग्गाको बेहकदार मोही लगत कट्टा गरिपाउँ भन्‍नेसमेत बेहोराको दिलिपराज वन्त र विष्णुप्रसाद ढकालको भूमि सुधार कार्यालय, काठमाडौंमा परेको निवेदनपत्र ।

वादी दाबीको उक्त कित्ता जग्गाको मोही मेरी सौतेनी दिदी मिश्रीदेवी फुयाल भएको, निजको हक खाने हकदार म सौता बहिनी भवानी फुयाल मात्र भएको हुँदा बेहकदार मोहीको लगत कट्टा हुने 

होइन । मैले मोही हक नामसारी माग गरेको हुँदा मेरा नाममा मोही नामसारी हुने नै छ । जग्गा धनीहरूको माग दाबी खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको भवानी फुयालको लिखित जवाफ । 

भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही हक नामसारी हुने हकदारहरूको नाताभित्र सौताको नामको मोही हक सौताका नाममा नामसारी हुने कानूनी व्यवस्था भएको नदेखिँदा वादी दाबीबमोजिम काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गाको बेहकदार मोही हक मिश्रीदेवी फुयालको नामको लगत कट्टा हुने ठहर्छ भन्‍नेसमेत बेहोराको भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०७३।०८।२ मा भएको फैसला । 

सौता (दिदी) मिश्रीदेवी फुयालको नाउँमा मोही कायम भएको काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गा एक मात्र हकदार सौता (बहिनी) म पुनरावेदकले मोही नामसारी गरिपाउँ भनी मिति २०६३।९।१९ मा निवेदन गरी भूमि सुधार कार्यालय, काठमाडौंबाट सर्जमिनसमेत गर्दा उल्लिखित जग्गा अविच्छिन्‍न रूपमा म पुनरावेदकले जोत कमोद गर्दै आएको भनी स्पष्ट भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा सौता भन्‍ने शब्द उल्लेख नभएको भनी एक मात्र आधार लिई मोही लगत कट्टा गर्ने गरी भएको फैसला बदरभागी छ । कानूनको व्याख्या गर्ने अधिकार भूमि सुधार कार्यालयलाई नभई अदालतको हुँदा आफ्नो क्षेत्राधिकार नाघी गरिएको फैसला त्रुटिपूर्ण छ । मुलुकी ऐन, अंशबन्डाको महलको १९ र ४ नं. बमोजिमसमेत एक सौताको हकमा अर्को सौताको समेत हक लाग्छ भनी कानूनी व्यवस्था रहेको छ । म पुनरावेदकको श्रीमान् स्व. हरिप्रसाद शर्मा फुयाल सर्भे नापी समयमा जागिर खाई काठमाडौं जिल्लाबाहिर रहेको स्थितिमा दिदी स्व. मिश्रीदेवी फुयालका नाममा मोही नापी नक्सा भएको हो । संविधानअनुसार समान अंशियार समान उत्तराधिकारीको हैसियतबाट म पुनरावेदकका नाममा मोही नामसारी हुने स्वतः सिद्ध छ । साथै सौता सौती भन्‍ने शब्द नेपाली भाषामा थेगोको रूपमा रहेको र वास्तवमा सौता सौती एकै समान अंशियारका दिदी बहिनी भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(३), ४, ४(ख) तथा २६(१) बमोजिम दाजुभाइ वा दिदी बहिनीहरू भन्‍ने वाक्यांशबाट समेत म एक मात्र हकदारका नाममा मोही नामसारी हुने प्रस्ट हुँदा मिति २०७३।८।२ को भूमि सुधार कार्यालय, काठमाडौंको मोही लगत कट्टा हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी मेरो नाउँमा मोही नामसारी हुने ठहर इन्साफ गरी न्याय पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी भवानी फुयालको उच्च अदालत पाटनमा परेको   पुनरावेदनपत्र ।

यसै लगाउको मुद्दा नं. ०७३-DP-१२९० को मोही नामसारी भन्‍ने मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दासमेत सोही मुद्दासँग अन्तरप्रभावी रहेको देखिँदा यस मुद्दामा समेत छलफलको लागि अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ६४ बमोजिम प्रत्यर्थीको नाउँमा सूचना म्याद जारी गरी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्‍ने उच्च अदालत पाटनबाट मिति २०७४।३।१५ मा भएको आदेश ।

दर्तावाल मोही मिश्रीदेवी फुयालको मिति २०६०।८।३ मा आफ्नै कालगतिले परलोक भएको र निजको शेषपछि मोहियानी हक नामसारी हुने दर्तावाल मोहीका हकदार कानूनबमोजिम कोही छैनन् । उक्त जग्गा हामी जग्गाधनीले नै जोत कमोद गर्दै आएकोमा सौताको नाममा नामसारी गर्न मिल्ने कुनै व्यवस्था नभएकाले उल्लिखित मोही लगत कट्टा हुने भनी भूमि सुधार कार्यालय, काठमाडौंबाट भएको फैसला कानूनबमोजिम मिलेकै हुँदा सदर गरी विपक्षीको पुनरावेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी विष्णुप्रसाद ढकालको लिखित प्रतिवाद ।

सौताका नाममा नामसारी गर्न मिल्ने कुनै कानूनी व्यवस्था नभएकाले हामी जग्गाधनीको निवेदनअनुसार उल्लिखित जग्गाको मोहीको लगत कट्टा हुने भनी भूमिसुधार कार्यालय, काठमाडौंबाट भएको फैसला कानूनबमोजिम मिलेकै हुँदा सदर गरी विपक्षीको पुनरावेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको दिलिपराज वन्तको लिखित प्रतिवाद ।

निवेदन दाबीबमोजिम काठमाडौं  जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गाको मोही मिश्रीदेवी फुयाल भएकोमा निजको मृत्युपश्चात् भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसारका नाताका हकवाला कोही नभएको कुरा मिसिल संलग्न तथ्यहरूबाट पुष्‍टि भइरहेको अवस्थामा वादी दाबीबमोजिम काठमाडौं  जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को १-३-२-० जग्गाको बेहकदार मोही हक मिश्रीदेवी फुयालको नामको लगत कट्टा हुने ठहर गरी सुरू भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०७३।८।२ मा भएको फैसला मिलेकै देखियो । उक्त फैसला बदर गरी मेरो नाउँमा मोही नामसारी गरिपाउँ भन्‍ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । तसर्थ, सुरू भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०७३।८।२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍नेसमेत बेहोराको मिति २०७४।९।९ मा उच्च अदालत पाटनबाट भएको फैसला ।

काठमाडौं  जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० जग्गाको मोहीमा मिश्रीदेवी फुयाल भएकोमा निजको मृत्यु मिति २०६०।८।३ तथा हाम्रा पति हरिप्रसाद शर्माको मिति २०५७।१०।२ मा आ-आफ्नो कालगतिले मृत्यु भएको हुँदा स्व. दिदी सौता मिश्रीदेवी फुयाल र स्व. पति हरिप्रसाद शर्मा फुयालको म एक मात्र हक खाने हकदार भवानी फुयालका नाममा मोही नामसारी गरी मिति २०६३।९।१९ मा दर्ता नं. ८१४३/९/१९ मा मोही नामसारी गरिपाउँ भन्ने  निवेदन श्री भूमि सुधार कार्यालय, डिल्लीबजारले मौखिक जानकारी दिएकोले उक्त जग्गाको मोही नामसारी हुन बाँकी रहेको अवस्था थियो । पुनः मिति २०७३।२।१२ मा स्व. दिदी मिश्रीदेवी फुयालको म एक मात्र हकदार भवानी फुयाल भएकोमा उक्त जग्गा मेरो नाउँमा मोही नामसारी गरिपाउँ भनी दर्ता नं. ५५३० ऐ. मितिको निवेदन दर्ता गराएकोमा कारबाहीरत अवस्थामा रहेको मिसिलमा निर्णय गर्दै श्री भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०७३।८।२ मा वादीको  जग्गाको मोही मिश्रीदेवी फुयाल भएकोमा मोहीको शेषपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही मिश्रीदेवी फुयाल कालगतिले मृत्यु भएको हुँदा मोही हक हुने हकदारको नाताभित्र सौताका नाममा नामसारी हुने व्यवस्था भएको नदेखिँदा वादी दाबीबमोजिम काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० जग्गाको बेहकदार मोही मिश्रीदेवी फुयालको नामको लगत कट्टा हुने ठहर गरी भूमि सुधार कार्यालयबाट भएको फैसला सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला नेपालको संविधान, लैङ्गिक समानतासम्बन्धी ऐन, सामाजिक सुरक्षा ऐन तथा भूमिसम्बन्धी ऐन, २०२१ को प्रस्तावनाको बर्खिलाप हुँदा त्रुटिपूर्ण र बदरभागी फैसला उल्टी गरी हक इन्साफ पाउन मुद्दा दोहोर्‍याई हेरी पाउन निवेदन गर्दछु । पति हरिप्रसाद शर्मा र मेरी दिदी तथा सौता मिश्रीदेवी फुयालको नाउँमा मोही कायम भएको जग्गा काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० जग्गा पति र सौतेनी दिदीको शेषपछि मेरो नाउँमा स्वतः नामसारी हुने जग्गा भएकोले श्री भूमि सुधार कार्यालय, काठमाडौंले आफ्नो निर्णयाधारमा समेत मात्र सौता शब्द नपरेको आधारमा मात्र मोही लगत कट्टा गर्ने गरी भएको दाबीको जग्गाको मोही हक पाउने नपाउने भन्ने कानूनको व्याख्या गर्ने अधिकार भूमि सुधार कार्यालयलाई नभएको हुँदा सोबमोजिमको निर्णय गरेको हो भन्‍ने सहजै अनुमान गर्न सकिन्छ । कृषिमा आश्रित जनताको हित गर्न बनेको भूमि सुधारसम्बन्धी कानूनहरू सबै नै मोहीको हक विशेष रूपले संरक्षण गर्नेतर्फ उन्मुख भएको विद्यमान अवस्थामा शब्दको स्वर्णीय व्याख्या नगरी मोही लगत कट्टा हुने ठहर्छ भनी ठहर्‍याएको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को प्रस्तावना २०५३।९।२७ को भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधनको प्रतिकूल रहेको छ । 

एकासगोलमा स्व. हरिप्रसाद शर्माको मृत्युपश्चात् हामी स्व. मिश्रीदेवी फुयाल र भवानी फुयाल एकासगोलको हकदार र नाताकायम भनी स्थानीय निकायले समेत एकासगोलको कानूनी हकदार भनी उल्लेख गरेको छ । धर्मपुत्र अर्थात् कागजी रूपमा स्थापित भएको व्यक्तिले मोहियानी हक पाउँछ भने सौतासँगको सम्बन्ध भनेको पारिवारिक र प्राकृतिक सम्बन्ध गाँसिएको सौतालाई सौतेनी छोरा र धर्मपुत्रले पाउने अधिकारबमोजिम समान पुस्ताको एकासगोलको समान अंशियार व्यक्तिलाई सौता भएकै आधारमा मोहियानी हक पाउँदैन र मोही नामसारी हुँदैन भनी फैसला गर्न न्यायोचित र विवेकशील फैसला मान्‍न सकिने अवस्था हुँदैन । 

भूमि सुधार कार्यालय, काठमाडौं २ नं. अनुसूचीमा लगत शाखा पाना नं. ११५ कि.पा. सि.नं. २१/३७ क्षे.नं. मा काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा न. ७ (क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० मा मोहीमा मिश्रीदेवी फुयाल र फिल्डबुकमा मोहीको नाम थरमा समेत मिश्रीदेवी फुयाल भएको अवस्था 

छ । यसरी फिल्डबुक स्रेस्ता २ नं. अनुसूचीमा स्थापित भइसकेको मोहीको हक अधिकार भनेको जग्गा धनी र मोहीको आधा-आधा हक अधिकार भएको स्वामित्वलाई २०५३।९।२७ चौथो संशोधनपश्‍चात् कायम भइसकेको अवस्थामा कानूनको अपव्याख्या गरी स्वामित्व कायम भइसकेको मोहीलाई सोही विषयमा पुनः मोही लगत कट्टा हुन्छ भन्‍नु कानूनसम्मत् हुने देखिँदैन । 

स्व. पति हरिप्रसाद फुयालको हक खाने हकदारहरूमा दुई श्रीमतीमा जेठी मिश्रीदेवी फुयाल कान्छी म पुनरावेदक भवानी फुयाल भएकोमा जेठी श्रीमतीबाट कुनै सन्तानको जायजन्म नभएको र म कान्छी श्रीमतीको तर्फबाट एक छोरी गिता फुयालको जायजन्म भई निज छोरीको विवाहसमेत भइसकेको अवस्था छ । अंशियारहरूमा पति, सौता (दिदी) र म पुनरावेदकसमेत ३ मात्र भई एकासगोलमा बसी आएको हो । उहाँहरूको हक खाने हकदार कान्छी श्रीमती सौता (बहिनी) म पुनरावेदक एक मात्र भएको अन्य कानून हकदार कोही नभएको हुँदा उहाँहरूको नाउँमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति हालसम्म निरन्तर रूपमा भोग चलन जोतकमोद गरी आएको कुरा तत्कालीन काभ्रेस्थली गा.वि.स.बाट लिएको सिफारिस नाता मृत्यु दर्ता, भूमि सुधार कार्यालय, काठमाडौंबाट भएको फिल्ड सर्जमिनसमेतबाट प्रस्ट छ । यसरी एउटै परिवारका सदस्य रहेका सौता दिदी नामको मोही जीवित अंशियार सौता बहिनीको नाउँमा मोही नामसारी हुने भन्ने उद्देश्य व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को परिकल्पना हो । जसमा मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्‍‍नी, दाजुभाइ, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्‍ने व्यवस्था भएकोमा उक्त ऐनले गरिएको व्यवस्थाअनुसार एकासगोलमा रहेको पति पत्‍‍नीदेखि नातिनी बुहारी, दाजुभाइ वा दिदी बहिनीसम्मको नाताभित्रको अंशियारको नाउँको मोही नामसारी हुने व्यवस्था भएअनुरूप पतिको दुई श्रीमतीमध्ये जेठी श्रीमती सौता अर्थात् दिदीको नाउँमा मोही कायम भएको जग्गा कान्छी श्रीमती सौता बहिनीको नाउँमा मोही नामसारी नहुने होइन । उक्त ऐनमा सौता भन्‍ने शब्द उल्लेख नहुनुको मूल कारण बहुविवाहलाई प्रश्रय नदिएको कारणले हो । सोही ऐनअनुसार नातिनी बुहारीको नाता सम्बन्ध भन्दा सौता (दिदी) र सौता (बहिनी) को नाता सम्बन्ध अझ नजिक समान अंशियार भई समान अंशियारका एकासगोलका अंशियारको नाउँमा मोही नामसारी नहुने भन्‍ने प्रश्‍न नै उठ्दैन । ऐनमा सौता सौता भनी शब्दसम्म उल्लेख नहुँदैमा समान अंशियार सौता सौता वास्तवमा दिदी बहिनीकै रूपमा रहने नाता सम्बन्ध भएकोले दिदीको नाममा रहेको मोही बहिनीको नाममा मोही नामसारी नहुने भन्‍ने प्रश्‍न नै उठ्दैन । 

अतः भूमिसम्बन्धी ऐनको प्रस्तावना मोही र जग्गाधनी अर्थात् धनी अर्थात् द्वैध स्वामित्वको अन्त्य भइसकेको एकासगोलको समान पुस्ताको अंशियारलाई अपुताली खाने जस्तो गरी कानूनी व्याख्याको सिद्धान्तविपरीत सौताको नामको मोही सौताले पाउँदैन भन्‍नु कानूनसङ्गत नहुने हुँदा ने.का.प. २०५६, नि.नं. ६७४७ पृ. ४८९ ले सौतेनी छोराले मोहियानी हक प्राप्त गरिसकेको अवस्था छ । ने.का.प. ०४८ नि.नं. ४६५० समेतले धर्मपुत्रलाई समेत मोही कायम गरेको अवस्थामा समान पुस्ता समान अंशियार भएको व्यक्तिलाई पारिवारिक र प्राकृतिक सम्बन्ध गाँसिएको व्यक्तिलाई सौतिनी छोरा र धर्मपुत्र साथै नातिनी बुहारीभन्दा नजिकको एकासगोलको हकदारलाई मोही हकबाट वञ्‍चित गर्नु कानून र न्यायसम्मत नहुने हुँदा मिति २०७४।९।९ को उच्च अदालत पाटनबाट सुरू भूमि सुधार कार्यालय, काठमाडौंको २०७३।८।२ को निर्णयलाई सदर गर्ने गरी भएको फैसलामा कानूनी व्याख्याको गम्भीर त्रुटि भएको हुँदा उक्त फैसला उल्टी गरी मेरो नाउँमा नामसारी हुने ठहर फैसला गरिपाउँ भन्‍नेसमेत बेहोराको पुनरावेदक भवानी फुयालले यस अदालतमा दायर गरेको मुद्दा दोहोर्‍याई पाउँ भन्ने बेहोराको निवेदनपत्र ।

यसमा साबिक मोही मिश्रीदेवी फुयालको हकवाला सौता यी निवेदक वादी हुन् भन्‍नेमा विवाद देखिँदैन । मिश्रीदेवीको देहावसानपछि निजको हक खाने अर्को व्यक्ति नभएको अवस्थामा निज मिश्रीदेवीको बहिनी नाताकी यी निवेदक भवानी फुयाललाई अंशको हकदार जस्तै जग्गा नै बाँडफाँट गरेर लिन पाउने भूमिसम्बन्धी (संशोधनसहित) ऐन, २०२१ को दफा २६घ समेतको कानूनी व्यवस्थालाई समेत हेर्नुपर्नेमा हकवालाले मोही नामसारी गर्न नपाउने गरी भएको उच्च अदालत पाटनको फैसलामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ग र २६घ समेतको व्याख्यात्मक त्रुटि हुन गई मुख नमिलेको प्रश्नमा अ.बं.१८४क तथा १८५ र प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र यस अदालतबाट ने.का.प. २०५६, अङ्क ७, नि.नं. ६७४७ मा प्रतिपादित कानूनी सिद्धान्तसमेतको प्रतिकूल भएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिदिएको छ । दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गरिएऐन तथा १८५ र प्रमाण ऐन अदालत पाटनको फैसला नियमानुसार गरी पेस गर्नु भन्‍ने बेहोराको यस अदालतबाट भएको आदेश ।

सर्वप्रथम भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ग) तथा २६(घ) को व्याख्यात्मक त्रुटि भई फरक पर्न सक्ने भएको भनी मिति २०७४।१०।१९ मा भएको आदेश नै मिलेको छैन । निज पुनरावेदककै भनाइअनुसार उक्त काठमाडौं जिल्ला काभ्रेस्थली ७(क) कि.नं. ५४ को क्षेत्रफल १-३-२-० जग्गाको नाप नक्सा हुँदाका दर्तावाल मोही यी पुनरावेदक नभई मिश्रीदेवी फुयाल हुन् र निजको २०६०।८।३ मा आफ्नै कालगतिले मृत्युपश्चात् निजका हकदार कुनै सन्तान नभएको भन्‍ने कुरामा विवाद छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) को मोही तथा दफा २६(१) को मोहीको परिभाषाभित्र सौताले मोहियानी हकमा दाबी गर्न पाउने भन्‍ने कहिँकतै उल्लेख नभएकोले सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०५३, नि.नं. ६१८७, पृष्‍ठ ३७० निवेदक कान्छी खत्री के.सी. विरूद्ध भू.सु.का. ललितपुरसमेतको उत्प्रेषण मुद्दामा "मोही भई कमाई आएको जग्गा सौता वा सौतेनी छोरामा मोहियानी सर्न सक्ने कानूनी व्यवस्था भएको नपाइने । मोहियानी लागेको जग्गाको मोहीको मृत्युपश्चात् कानूनतः मोहीको नामसारी गराउनेतर्फ व्यक्ति नरहेको अवस्थामा जग्गाधनीले मोही लगत कट्टा गराउन पाउने” भन्‍ने नजिर प्रतिपादित भएकाले दर्तावाल मोही मिश्रीदेवी फुयाल निसन्तान भएकोले सौताका नाममा मोही नामसारी गर्ने व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) नं. मा उल्लेख भएबमोजिम बाहेकका अन्य हकदारमा मोहियानी हक नसर्ने भएकाले भूमि सुधार कार्यालय, काठमाडौंबाट निर्णयलाई सदर गर्ने उच्च्च अदालत पाटनबाट भएको फैसला सदर गरी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) को मोही तथा दफा २६(१) को मोहीको परिभाषाभित्र सौतालाई परिभाषाभित्र रहेको मान्नु पर्ने भन्‍ने विपक्षीको मागदाबी खारेज गरिपाऊँ । 

भूमि सुधार कार्यालय, काठमाडौंको मोही लगत कट्टा हुने भन्‍ने मिति २०७३।८।२ मा भएको कानूनबमोजिम निर्णय मिलेकै हुँदा सो सदर गर्ने गरी मिति २०७४।९।९ मा भएको उच्च अदालत पाटनको फैसला सदर गरी विपक्षीको झुट्टा दाबी खारेज गरी म ज्येष्ठ नागरिक भएकाले मुद्दालाई प्राथमिकतासाथ अग्राधिकार प्रदान गरी न्याय इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको प्रत्यर्थीहरूले यस अदालतमा पेस गरेको लिखित प्रतिवाद ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान्‌ अधिवक्ताद्वय श्री गोविन्द शर्मा बन्दी र श्री राजुप्रसाद चापागाईले काठमाडौं जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० जग्गाको मोही हक मिश्रीदेवी फुयालको नामको लगत कट्टा हुने गरी भूमि सुधार कार्यालय, काठमाडौंबाट भएको निर्णय सदर गर्ने गरी भएको उच्च अदालत पाटनको फैसला भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को व्याख्या गर्ने गरी सर्वोच्च अदालत पूर्ण इजलासबाट नेपाल कानून पत्रिका, २०५६ अङ्क ७ नि.नं. ६७४७ मा जोत कट्टाको मुद्दामा सौतेनी छोरामा समेत मोही नामसारी हुने गरी नजिर सिद्धान्त प्रतिपादन भएको छ । सौताको छोरालाई मोहियानी हक प्राप्त हुने तर सौतालाई मोहियानी हक प्राप्त नहुने भनी सङ्कुचित अर्थ आउने गरी फैसला गर्दा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने हुँदा उच्च अदालत पाटनबाट भएको फैसला उल्टी गरी पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरबमोजिम दाबीको जग्गामा निर्विवाद हक कायम गरिपाउने प्रयोजनको लागि मोहीको लगत कट्टा नहुने ठहर गरिपाउँ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री राजु फुयालले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को कानूनी व्यवस्थामा सौता शब्द उल्लेख नभएकोले साबिक मोहियानी हक प्राप्त गरेको मिश्रीदेवी फुयालको सौता नाता पर्ने पुनरावेदक प्रतिवादी भवानी फुयाललाई मोहियानी हक प्राप्त हुने अवस्था नरहेको भनी भएको भूमि सुधार कार्यालय, काठमाडौंको निर्णयलाई सदर गरेको उच्च अदालत पाटनको फैसला मिलेकै देखिँदा सो फैसला सदर गरिपाउँ भन्ने बेहोराको बहस प्रस्तुत गर्नुभयो ।

काठमाडौं  जिल्ला काभ्रेस्थली गा.वि.स. वडा नं. ७(क) कि.नं. ५४ को क्षे.फ. १-३-२-० जग्गाको मोही हक मिश्रीदेवी फुयालको मृत्युपश्चात् भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही हक नामसारी हुने कानूनी हकदार कोही नभएकोले बेहकदार मोहीको लगत कट्टा गरिपाउँ भन्ने बेहोराको प्रत्यर्थी वादीहरूको निवेदनउपर कारबाही हुँदा मोही हक नामसारी हुने हकदारहरूको नाताभित्र एक सौताको नामको मोही हक अर्को सौताको नाममा नामसारी हुने कानूनी व्यवस्था भएको नदेखिँदा बेहकदार मोही हक मिश्रीदेवी फुयालको नामको लगत कट्टा हुने ठहर गरी भएको भूमि सुधार कार्यालय, काठमाडौंको मिति २०६८।८।२ को निर्णयउपर चित्त नबुझी भूमि सुधार कार्यालयको निर्णय बदर गरी हक कायम गरिपाउँ भन्ने बेहोराको प्रतिवादी भवानी फुयालको उच्च अदालत पाटनमा परेको पुनरावदेनउपर सुनुवाइ हुँदा भूमि सुधार कार्यालय, काठमाडौंको मिति २०६८।८।२ को निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी भएको उच्च अदालत पाटनको फैसलाउपर चित्त नबुझी सो फैसला उल्टी गरी दाबीको जग्गाको मोही लगत कट्टा नहुने गरी फैसला गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादीको यस अदालतमा दायर भएको मुद्दा दोहोर्‍याई पाउँको निवेदनमा मुद्दा दोहोर्‍याई पाउने अनुमति प्राप्त भई प्रस्तुत मुद्दा पुनरावेदनको रोहमा दायर भएको देखियो ।

मिसिल संलग्न कागजातहरूसहित उल्लिखित संक्षिप्त तथ्य बेहोरा र विद्वान्‌ कानून व्यवसायीहरूको उपर्युक्तबमोजिमको बहस जिकिर सुनी भूमि सूधार कार्यालय, काठमाडौंको निर्णय सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा उच्च अदालत पाटनले फैसला गर्दा वादी पक्षले दाबी गरेको मोही हक हस्तान्तरणसम्बन्धी रहेको कानूनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा “यस परिच्छेदको अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा, बुहारी, नाति, नातिनी, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ” भन्ने व्यवस्था रहेको देखिन्छ । सोही कानूनी व्यवस्थाको आधारमा भूमि सुधार कार्यालयले मोही मिश्रीदेवी फुयालको मृत्युपश्चात् भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही हक नामसारी हुने कानूनी हकदार व्यक्ति कोही नभएकोले बेहकदार मोहीको लगत कट्टा हुने भनी भएको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको देखियो ।

३. पुनरावेदक प्रतिवादी भवानी फुयालले यस अदालतमा दायर गरेको पुनरावेदन बेहोरामा सौता दिदी मिश्रीदेवी फुयालको मृत्युपश्चात् मोहियानी नामसारी हुने कानूनी हकदार आफू रहेको भनी दाबी गरेको र सो दाबीलाई थप पुष्टि गर्नका लागि पुनरावेदक प्रतिवादी श्यामबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी वादी उपेन्द्र विक्रम शाह भएको जोतकट्टा मुद्दामा नेपाल कानून पत्रिका २०५६, अङ्क ७, नि.नं. ६७४७ मा सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट “भूमिसम्बन्धी ऐनको प्रयोजनको लागि सौतेनी छोरालाई पनि छोरा नै मान्नुपर्ने भई आफूले जन्माएको छोरा नभएको अवस्थामा सौतेनी आमाले मोही हक प्राप्त गरी कमाई गर्दै आएको जग्गामा भूमिसम्बन्धी ऐनको अरू प्रक्रियाहरू पूरा गरेको स्थितिमा सौतेनी छोरामा पनि सौतेनी आमाको मोहियानी हक सर्न सक्ने अवस्था देखिन्छ” भनी प्रतिपादित सिद्धान्तको प्रतिकूल हुने गरी उच्च अदालत पाटनबाट भएको फैसलामा व्याख्यात्मक त्रुटि हुँदा सो फैसला बदर गरी न्याय इन्साफ पाउँ भन्ने पुनरावेदन जिकिर रहेको हुँदा वादी दाबीको कि.नं. ५४ को जग्गाको मोही लगत कट्टा हुन सक्ने वा नसक्ने सम्बन्धमा विचार गर्नुपर्ने देखियो ।

४. प्रस्तुत मुद्दामा मिसिल संलग्न काभ्रेस्थली गा.वि.स. कार्यालयले च.नं. ११९ मिति २०६०।९।२ मा गरिदिएको नाता प्रमाणित प्रमाणपत्रसमेतबाट हरिप्रसाद फुयालको जेठी श्रीमती मिश्रीदेवी फुयाल (वादी दाबीको जग्गाको मोही) र कान्छी श्रीमती भवानी फुयाल (पुनरावेदक / प्रतिवादी) नाता सम्बन्धमा सौता दिदीबहिनी रहेको कुरा पुष्टि भइरहेको र निजहरू एकासगोलका परिवारका सदस्य रहेको देखिन्छ । प्रत्यर्थी वादीहरूको दाबीको कि.नं. ५४ को जग्गामा पुनरावेदक प्रतिवादी भवानी फुयालको सौता दिदी मिश्रीदेवी फुयालको मोहियानी हक भएको, निजको हकवाला कोही सन्तान नरहेको र एकासगोलमा बस्दै आएकी पुनरावेदक प्रतिवादी भवानी फुयाल मात्र सो परिवारको जीवित सदस्य रहेको तथ्यमा कुनै विवाद देखिँदैन । सो कुरालाई वादी पक्षले अन्यथा भन्न र प्रमाणित गर्न सकेको पनि देखिँदैन ।

५. वादी दाबीको जग्गाको मोही मिश्रीदेवी फुयालको मृत्युपश्‍चात् सो जग्गामा यी पुनरावेदक प्रतिवादी भवानी फुयालको भोग चलन रहेको, सोही जग्गामा पुनरावेदक प्रतिवादीले बाँसको टहरा बनाई बसेको र सो जग्गामा अरू कुनै व्यक्तिको भोग चलन नरहेको भन्‍ने तथ्य मिति २०७४।७।१२ को नक्सा सर्जमिन मुचुल्कामा उल्लिखित बेहोराबाट पुष्टि भएको देखिन्छ । यी उल्लिखित तथ्यहरूलाई प्रत्यर्थी वादीहरूले सप्रमाण चुनौती दिई अन्यथा हो भनी भन्‍न सकेको पनि देखिँदैन । 

६. भूमिसम्बन्धी ऐन, २०२१ को प्रस्तावना हेर्दा “मुलुकको आर्थिक विकासमा द्रुततर गति ल्याउन भूमिबाट निष्क्रिय पुँजी र जनसंख्याको भार झिकी अर्थ व्यवस्थाको अन्य क्षेत्रमा लगाउन र कृषि योग्य भूमिको न्यायोचित वितरण र कृषिसम्बन्धी आवश्यक ज्ञान र साधन सुलभ गराई भूमिमा आश्रित वास्तविक किसानहरूको जीवनस्तरमा सुधार ल्याउन र कृषि उत्पादनमा अधिकतम वृद्धि गर्न प्रोत्साहन प्रदान गरी सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्ने” उद्देश्यले भूमिसम्बन्धी ऐन, २०२१ आएको देखिन्छ ।

७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा "मोही" भन्‍नाले “अरू जग्गावालाको जग्गा कुनै सर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भन्ने उल्लेख भएको देखिन्छ । 

८. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा “यस परिच्छेदको (मोहीसम्बन्धी व्यवस्था) अन्य दफाहरूको अधीनमा रही मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बुबा, धर्मपुत्र, धर्मपुत्री, छोरा बुहारी, नाति, नातिनी, नातिनी बुहारी दाजुभाइ दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ" भन्‍ने कानूनी व्यवस्था रहेको देखिन्छ । 

९. प्रस्तुत मुद्दामा मोही हक प्राप्त गरेकी मिश्रीदेवी फुयालको मिति २०६०।८।३ मा मृत्यु हुनुपूर्व निज मिश्रीदेवी फुयालको मोही हक प्रारम्भ भएको समयमा तत्काल प्रचलित कानूनमा उल्लेख भएका विभिन्‍न अवस्थाहरूको विद्यमानता रहेको पाइएमा कान्छी श्रीमती ल्याउन सकिने भनी उल्लेख भएको पाइन्छ । मुलुकी ऐन, विहावारीको महलले एक श्रीमती हुँदाहुँदै पनि अर्को श्रीमती विवाह गरेर ल्याउन सक्ने व्यवस्था गरेको छ भने अंशबन्डाको १९(२)  नं. ले एकदेखि बढ्ता स्वास्नी भन्ने शब्दावलीको प्रयोग गरी र ऐ. महलको ४ नं. मा प्रयोग गरिएको सौता शब्दावलीले एकदेखि बढ्ता स्वास्नी हुन सक्ने परिकल्पना गरी कानूनी व्याख्या गरेको पाइन्छ । एक पतिका एकदेखि बढ्ता स्वास्नी भएमा सौता-सौता भन्ने प्रचलन रहेको छ । सौता-सौता दिदीबहिनीबाट सम्बोधित हुने गरेको देखिन्छ । पुनरावेदक प्रतिवादी भवानी फुयाल र जग्गाको हकवाला मोही मिश्रीदेवी फुयालको नाता सम्बन्धमा निजहरू सौता दिदीबहिनी रहेको भन्ने तथ्य निर्विवाद रूपमा स्थापित भएको छ ।

१०. मोही मिश्रीदेवी फुयालकी यी सौता बहिनी पुनरावेदक प्रतिवादी भवानी फुयाल एकासगोलमा बसी आएकी, परिवारका अन्य सदस्यहरूसँगै निजहरूले हकभोग गरेको जग्गामा खेती किसानी गरी आएकी र मोही हकवाला सौता दिदीको मृत्युपश्चात् पनि सो जग्गामा भोग चलनसमेत गरी घर टहरा बनाई बसी आएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा उल्लेख भएको एकासगोलका नाता सम्बन्धका व्यक्तिहरूभित्र “सौता” भन्ने शब्द उल्लेख नभएको कारण मात्रको आधारमा यी पुनरावेदक वादी भवानी फुयाललाई मोही हकवाला मिश्रीदेवी फुयालको एकासगोलको परिवारको सदस्य मान्नु नपर्ने अन्य कुनै कारण देखिँदैन ।

११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोहीसम्बन्धी निजको हक निजपछि निजको एकासगोलका पति, पत्नी, छोरा, छोरी, आमा, बुबा, धर्मपुत्र, धर्मपुत्री, छोरा बुहारी, नाति, नातिनी, नातिनी बुहारी दाजुभाइ दिदीबहिनीहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने कानूनी व्यवस्थाभित्र सौताले मोहियानी हक प्राप्त गर्न सक्ने वा नसक्ने भन्नेतर्फ हेर्दा यस दफालाई ऐ.ऐनको दफा २(ख) सँग एकसाथ राखेर समग्रतामा व्याख्या गर्नु पर्ने देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोहीको परिभाषामा मोही भन्नाले “अरू जग्गावालाको जग्गा कुनै सर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्दछ” भनी परिवारको श्रमले खेती गर्ने कुरालाई जोड दिएको पाइन्छ भने ऐ.ऐनको दफा २६(१) मा एकासगोलको भनी परिवारको श्रमले खेती गर्ने कुरासँग जोड दिएको पाइन्छ । ऐ.ऐनको दफा ८(१) मा कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले कमाउन पाउने जग्गाको हद तोकेकोबाट पनि भूमिसम्बन्धी ऐनले परिवारको श्रमलाई महत्त्वपूर्ण स्थान दिएको पाइन्छ ।

१२. पुनरावेदक प्रतिवादी श्यामबहादुर बस्नेत विरूद्ध प्रत्यर्थी वादी उपेन्द्र विक्रम शाह भएको जोतकट्टा मुद्दामा नेपाल कानून पत्रिका २०५६, अङ्क ७, नि.नं. ६७४७ मा पूर्ण इजलासबाट "भूमिसम्बन्धी ऐनको प्रयोजनको लागि सौतेनी छोरालाई पनि छोरा नै मान्नु पर्ने भई आफूले जन्माएको छोरा नभएको अवस्थामा सौतेनी आमाले मोही हक प्राप्त गरी कमाई गर्दै आएको जग्गामा भूमिसम्बन्धी ऐनको अरू प्रक्रियाहरू पूरा गरेको स्थितिमा सौतेनी छोरामा पनि सौतेनी आमाको मोहियानी हक सार्न सक्ने अवस्था देखिन्छ" भनी सिद्धान्त प्रतिपादन भएको छ । सो सिद्धान्तमा एक पुस्ताको मोहियानी हक अर्को पुस्तामा हस्तान्तरण भएको देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा “सौता छोरा” उल्लेख नभएको अवस्थामा समेत सौता छोरामा मोहियानी हक सार्न सक्ने भनी व्याख्या भएको देखिन्छ । उल्लिखित सिद्धान्तका आधारमा हेर्दा प्रस्तुत मुद्दामा सौता दिदीबहिनी (मोही हकवाला मिश्रीदेवी फुयाल र पुनरावेदक प्रतिवादी भवानी फुयाल) एकासगोलका परिवारका सदस्यहरू रहेको भन्‍ने कुरामा विवाद देखिँदैन । यसरी एक पुस्ताबाट अर्को पुस्तामा मोहियानी हक हस्तान्तरण हुने गरी व्याख्या भइसकेको परिप्रेक्ष्यमा समान पुस्ताको सौता दिदीको मोहियानी हक सौता बहिनीमा नामसारी गर्न नमिल्ने भनी व्याख्या गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को  व्याख्यात्मक सङ्कुचन हुने देखिन्छ । मोही हकवालाको मृत्युपश्चात् निजकै एकासगोलकी सौता बहिनी सोही जग्गामा आश्रित रही जोत भोग गरी गुजारा गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । एकासगोलमा रही जग्गावालाको जग्गामा परिश्रम गर्ने उत्पादकत्व बढाउने जीवनभर त्यसैमा आश्रित रहने तर दर्तावाला मोही मरेपछि त्यसमा मोही हक प्राप्त गर्न नसक्ने भनी उक्त ऐनको दफा २६(१) को सङ्कुचित व्याख्या गर्नु न्यायपूर्ण हुन सक्तैन । साथै जीवन निर्वाहका लागि सोही जग्गामा आश्रित रहेकी यी पुनरावेदक प्रतिवादीलाई सोबाट बिमुख हुने गरी फैसला गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को उद्देश्य नै पराजित हुन जाने देखिन्छ । 

१३. तसर्थ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा सौताले मोहियानी हक पाउने भन्‍ने उल्लेख नभएकोले पुनरावेदक प्रतिवादी भवानी फुयालले मोही हक नामसारी गर्न नपाउने र मोही हकवाला मिश्रीदेवी फुयालको मोहीको लगत कट्टा हुने भनी भएको भूमि सुधार कार्यालय, काठमाडौंको निर्णय सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला सो हदसम्म मिलेको देखिएन । उच्च अदालत पाटनको फैसला सदर गरिपाउँ भन्ने प्रत्यर्थी वादीहरूका तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीको बहस जिकिर र सोही बेहोरा उल्लेख गरी प्रस्तुत मुद्दामा पेस भएको प्रत्यर्थी वादीहरूको लिखित प्रतिवाद बेहोरासँग समेत सहमत हुन सकिएन ।

१४. अतः माथि विवेचित आधार, कारण, प्रमाण, प्रतिपादित सिद्धान्त र कानूनी व्यवस्थासमेतका आधारमा भूमि सुधार कार्यालय, काठमाडौंले मिति २०७३।८।२ मा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही हक नामसारी हुने हकदारहरूको नाताभित्र सौताको नामको मोही हक सौतामा नामसारी हुने कानूनी व्यवस्था भएको नदेखिँदा कि.नं. ५४ को १-३-२-० को जग्गाको बेहकदार मोही मिश्रीदेवी फुयालको नामको मोही लगत कट्टा हुने ठहर गरी भएको निर्णय सदर गर्ने गरी भएको उच्च अदालत पाटनको मिति २०७४।९।९ को फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई मोही मिश्रीदेवी फुयालको नामको मोही लगत कट्टा हुन नसक्ने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल खण्ड

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम भूमि सुधार कार्यालय, काठमाडौंबाट मिति २०७३।८।२ मा कि.नं. ५४ को १-३-२-० को जग्गाको बेहकदार मोही मिश्रीदेवी फुयालको नामको मोही लगत कट्टा हुने ठहर गरी भएको निर्णय सदर गर्ने गरी भएको उच्च अदालत पाटनको मिति २०७४।९।९ को फैसला उल्टी भई मोही मिश्रीदेवी फुयालको नामको मोही लगत कट्टा नहुने ठहर गरी फैसला भएको हुँदा प्रस्तुत फैसलाबमोजिम मोही मिश्रीदेवी फुयालको नामको मोही लगत कट्टा नगर्नु भनी भूमि सुधार कार्यालय, काठमाडौंमा लेखी पठाउनू ।

सरोकारवालाले नक्कल माग्न आए नियमानुसार गरी नक्कल दिनू ।

प्रस्तुत फैसलाको विद्युतीय प्रति सफ्टवेयरमा अपलोड गरी मुद्दाको दायरी लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.बमकुमार श्रेष्ठ

 

इजलास अधिकृत: प्रकाशदत्त भट्ट

इति संवत् २०७६ साल फागुन २० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु