निर्णय नं. १०४८३ - टिप्पणी आदेश बदर दर्ता बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई
माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
फैसला मिति : २०७६।९।२५
०७०-CI-०३४८
मुद्दाः टिप्पणी आदेश बदर दर्ता बदर
पुनरावेदक / प्रतिवादी : स्व. शिवजनक महतोको श्रीमती ऐ. ऐ. बस्ने सोनामती देवीको मु.स. गर्ने ऐ. को छोरी जिल्ला पर्सा गा.वि.स. घोडदौर पिप्रा वडा नं. ९ बस्ने पासपती देवी चाइनसमेत
विरूद्ध
प्रत्यर्थी / वादी : रामाज्ञाप्रसाद चाईको छोरा जिल्ला पर्सा गा.वि.स. बहुअर्वा भाठा वडा नं. २ बस्ने नरेशप्रसाद चौहान
जग्गाको खण्डीकरण भएको अवस्थामा स-साना टुक्रामा परिणत हुँदा जग्गा भोगचलन तथा आवाद गर्न समस्या पर्ने भई सबै जग्गा कित्ताकाट नगरी कुनै जग्गा कसैले र कुनै जग्गा कसैले ससीमै कित्ता लिने पनि हुनसक्छ । त्यसैले कुल क्षेत्रफलमा भागसान्ती नै भएको छ भने कित्ता-कित्ता बन्डा भएन भन्ने कुरा गरी वर्षौंपछि आई सहमति खलबल्याउनु न्यायपूर्ण नहुने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री भीम ढकाल र श्री विनोद श्रीवास्तव
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने:-
मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:
तथ्य खण्ड
दे.नं. २३८४ को अंश मुद्दाका वादी प्रतिवादीसमेतका अंशियारले अदालतको फैसला तथा बन्डा मुचुल्काबमोजिमको बन्डा नछुट्ट्याई आपसी सहमति गरी असमान रूपले घटिबढी अंश भाग लगाई सोअनुसार जग्गा आफ्नो नाउँमा गराउन दिएको निवेदनअनुसार जग्गा दर्ता गर्ने गरी मालपोत कार्यालय, पर्साबाट मिति २०५४।१०।२ मा भएको टिप्पणी आदेश र सो टिप्पणी आदेशको आधारमा विपक्षीहरू रामेश्वर महतो, रामाज्ञा महतो, जोनादेवी, पासपती देवी, श्रीनारायण प्रसाद, गम्भीरा प्रसाद, छोटेलाल प्रसाद र अवधकिसोर प्रसादसमेतको पति पिता शंकर महतो र विपक्षी पासपति देवीको आमा सोनामती देवी चाइनसमेतको नाउँमा छुट्टाछुट्टै भएको जग्गाको दर्तासमेत बदर गरी मुद्दा गर्दा लागेको कोर्टफीसमेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नरेशप्रसाद चौहानको मिति २०६७।१।८ को फिरादपत्र ।
वादीका पिता रामाज्ञा महतो चाईसमेतसँग मेरो आमा सोनामती देवीको अंशदर्ता तथा अंश दपोट मुद्दा चली अन्तिम फैसला भई आमा सोनामती जीवित छँदा वादीले कुनै मुद्दा दायर नगरी हाल आमाको मृत्युपश्चात् दिएको फिराद खारेज गरिपाऊँ । वादी दाबीबमोजिम टिप्पणी आदेश बदर हुनुपर्ने होइन । अंशबन्डाको ३२ नं. पक्री फिराद दिने वादीको कुनै हक अधिकार नभएको र प्रस्तुत मुद्दामा अंशबन्डा हुँदा सो अंशबन्डामा सामेल रही सहीछाप गरेका व्यक्तिले अंशबन्डामा चित्त नबुझेको अवस्थामा अंशबन्डा भएको मितिले ३ महिनाभित्र नालेस गर्न सक्छ तर वादी त्यस प्रकारका आधिकारिक व्यक्ति होइनन् । यसरी गैरकानूनी रूपले पर्न आएको वादीको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पासपति देवी चाइनको मिति २०६७।३।९ को प्रतिउत्तरपत्र ।
विपक्षीको दाबीबमोजिमको मालपोत कार्यालय, पर्साको मिति २०५४।१०।२ को टिप्पणी आदेश बदर हुनु पर्ने होइन । विपक्षी वादी हाम्रो अंशियारसमेत नभएको र अ.बं. ८२ नं. को आधारमा विपक्षी वादीलाई प्रस्तुत मुद्दा दिने हकदैया नभएको प्रस्ट छ । दे.नं. २३८४ को अंशदर्ता मुद्दाका वादी सोनामती देवी चाइन र विपक्षी वादीको पिता रामाज्ञा महतो चाईसमेत प्रतिवादी भएको मुद्दामा वादी दाबी पुग्ने गरी वादीले प्रतिवादीहरूबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहरी मिति २०४४।८।२० मा फैसला भई सो फैसलाउपर पुनरावेदन परी श्री नारायणी अञ्चल अदालतबाट मिति २०४५।९।२० मा अन्तिम फैसला भई मिति २०४७।९।२० मा अदालतबाट बन्डासमेत छुट्याइसकेको हुँदा विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीहरू बासमती देवी चाइन, श्रीनारायण प्रसाद चौहान, गम्भीरा भन्ने मिश्री प्रसाद चौहान, छोटेलाल प्रसाद चौहान र अवधकिसोर प्रसाद चौहानसमेतको मिति २०६७।३।१३ को संयुक्त प्रतिउत्तरपत्र ।
विपक्षीका पिता रामाज्ञा महतो, काका रामेश्वर महतो तथा सोनामती देवीसमेतका बिच सुरू पर्सा जिल्ला अदालतमा मुद्दा चल्दा विपक्षी वादी कैयौंपटक म प्रतिवादीसमेतसँग अदालतमा उपस्थित भएका थिए र गाउँघरमा परपञ्चायती हुँदासमेत उपस्थित भई आफ्ना भनाइ राखेका थिए । हामीहरूबिचको मुद्दा अन्तिम फैसला भई अदालतबाट बन्डासमेत छुट्ट्याइसकेपछि दा.खा. गराउने क्रममा स-साना कित्तामा कित्ताकाट गर्दा भोगचलनका दृष्टिले समस्या पर्ने भएकोले सबै अंशियारले आपसी सहमतिमा दा.खा.को लागि निवेदन दिई मालपोत कार्यालय, पर्साको मिति २०५४।१०।२ मा टिप्पणी आदेशबमोजिम दा.खा. भएको हो । यसमा चित्त नबुझेको भए स्वयम् वादीका पिता काकाले उजुरी गर्नुपर्नेमा सो नगरी यसलाई स्वीकार गरी बसेको देखिन्छ । विपक्षी वादीले हाल केही थाहा नपाएजस्तो गरी जबरजस्ती हदम्याद सिर्जना गर्न बासमती देवीले दिएको मुद्दाको इतलायनामा म्याद तामेल भएपछि मात्र थाहा पाएको भन्नु झुट्टा हो । नालेस गर्ने हक अधिकार नै नभएका विपक्षीले जबरजस्ती हदम्यादभित्र पार्न काल्पनिक बेहोरा उल्लेख गरी दायर गरेको फिराद खारेज गरी झुट्टा दाबीबाट अलग फुर्सद गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी जोनादेवी चाइन भन्ने जोनियादेवी चाइनको मु.स. गर्ने रिमादेवी चौहानको मिति २०६७।३।१६ को प्रतिउत्तरपत्र ।
यस अदालतबाट जारी भई मिति २०६७।१।१९ मा तामेल भएको इतलायनामा म्याद प्रतिवाद नगरी प्रतिवादीहरू रामेश्वरप्रसाद चाई र रामाज्ञा महतो चाईले सुरू म्यादै गुजारी बसेको मिसिल संलग्न तामेलीबाट देखिएको ।
यसमा यसै लगाउको दे.नं. ९४९ को फैसला बदर मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहरी आज यसै इजलासबाट फैसला भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधार प्रमाणबाट वादी दाबी पुग्न सक्दैन भन्नेसमेत बेहोराको सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७।१२।१७ मा भएको फैसला ।
दे.नं. २३८४ को अंशदर्ता मुद्दाको फैसला र बन्डा मुचुल्कासमेतलाई निष्क्रिय र शून्य गरी वादी प्रतिवादीहरूले घरसारमा बसी पुनः अंश भाग लगाई आ-आफ्ना नाउँमा जग्गा दर्ता गराएकाले घरसारमा अंश भाग लगाउँदा बहुमूल्य जग्गाबाट पिताको अंश भाग नदिएकाले त्यस्तो असमान रूपले अंश भाग लगाई गराएको दर्ताबाट मेरो हक हितमा असर परेकोले अंशदर्ता गराउन दिएको संयुक्त निवेदनअनुसार मालपोत कार्यालयबाट भएको टिप्पणी आदेश र सो टिप्पणी आदेशानुसार भएको दर्ता बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसला गैरकानूनी एवं त्रुटिपूर्ण भएकोले बदर गरी फिराद दाबीअनुसार मालपोत कार्यालयबाट भएको दर्तासमेत बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी नरेशप्रसाद चौहानको मिति २०६८।२।१७ मा पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा पुनरावेदकको सहमतिबेगरै घरसारको सहमतिपत्रबाट जग्गा भागबन्डा लगाई गरेको कार्यलाई मालपोत कार्यालयले समेत टप्पणी आदेशबाट कायम गरेको पूर्व अंश मुद्दाको फैसलासमेतको विपरीत हुने गरी सुरूले गरेको फैसला फरक पर्नेसमेत देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६८।८।२५ मा भएको आदेश ।
यसमा अड्डाले गरिदिएको बन्डा मुचुल्काअनुसार नगरी संयुक्त निवेदनको आधारमा दा.खा. नामसारी गर्ने निर्णय भएको कारणबाट विवादको सिर्जना भएको भन्ने देखिँदा हाल दा. खा. नामसारी भएको कारणले के कस्तो अवरोध जग्गामा उत्पन्न हुन गएको रहेछ ? सो सम्बन्धमा अ.बं. १३३ नं. बमोजिम दुवै पक्षको कागज गराई लगाउको अन्य मिसिल साथै राखी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।३।१८ गते भएको आदेश ।
वादी सोनामती देवी र प्रतिवादी हामीसमेत भएको दे.नं. २३८४ को अंशदर्ता मुद्दामा पर्सा जिल्ला अदालतबाट ४ खण्डको १ खण्ड वादीले अंश पाउने ठहरी फैसला भएको, सो फैसलाउपर प्रतिवादीको पुनरावेदन परी तारेख छोडी दिएको कारण नारायणी अञ्चल अदालतबाट मिति २०४५।६।३० मा डिसमिस फैसला भएको र वादीले अंश छुट्याई पाउन दिएको दरखास्तअनुसार मिति २०४७।९।२० मा बन्डा मुचुल्का भएको र सो मुचुल्काउपर कसैको पनि उजुर नपरी सोअनुसार दा.खा.को लागि वादी सोनामतीले मालपोत कार्यालयमा निवेदन दिँदा ट्रायल चेकबाट केही जग्गा घटबढ भएको कारण नापी शाखाबाट कित्ता नछुट्याउँदै वादी प्रतिवादी राय सल्लाह गरी घटीबढीमा दामासाहीले बेहोर्ने गरी दुवैथरी मिली संयुक्त निवेदन दिई बन्डा मुचुल्काविपरीत जग्गा दा.खा. गराई दिएको हो । जग्गामा अवरोध उत्पन्न गराएको होइन भन्नेसमेत बेहोराको प्रत्यर्थी वारेस सुनिता भुजेलले मिति २०६९।४।८ गते अ.बं. १३३ नं. बमोजिम गरेको कागज ।
बन्डा मुचुल्काअनुसार दा.खा. नगरी एकापसमा मिलेमतो गरी गरेको, बन्डाबाट मेरो अंश हकमा असर पर्न गएको हुँदा उक्त बन्डा बदर हुनुपर्छ भन्नेसमेत बेहोराको वादी नरेशप्रसाद चौहानले अ.बं. १३३ नं. बमोजिम मिति २०६९।४।८ गतेको कागज ।
१५ वर्षअघि नै मूल अंशियारहरूबिच एकापसमा बन्डापत्र भई आ-आफ्नो भागमा परेको जग्गामा घर निर्माणको कार्यसमेत भई केही जग्गाहरू बिक्री वितरणसमेत भइसकेको अवस्था हुँदा दाबीबमोजिम टिप्पणी आदेश तथा दर्ता बदर भएमा सम्पूर्ण जग्गाहरूमा नै असर पर्ने भएकोले आफ्नो पिता पतिले कानूनबमोजिम पाउने अंश भाग बुझी लिइसकेको अवस्थामा प्रस्तुत मुद्दा दिएको हुँदा वादीको झुट्टा फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रत्यर्थी प्रतिवादीहरू पासपति देवी, बासमती देवी, गम्भीरा भन्ने मिश्री प्रसाद, छोटेलाल प्रसाद, अवधकिसोर प्रसाद र रीमा देवीसमेतले मिति २०६९।४।२६ गते अ.बं. १३३ नं. बमोजिम गरेको कागज ।
यसमा मिति २०४७।९।२० मा बन्डा मुचुल्का भएकोमा मालपोत कार्यालयबाट भएको मिति २०५४।१०।२ को टिप्पणी आदेशअनुसार छुट्याई लिएका जग्गाहरू हाल के कस्तो स्थितिमा रहेका
छन् ? हक हस्तान्तरण भई आएका छन् वा छैनन् ? को कसको दर्ता स्रेस्तामा रहेका छन् ? वादी प्रतिवादीबाट मुलुकी ऐन, अ.बं. १३३ नं. बमोजिम कागज गराई जग्गाको स्थिति खुलाई लगाउका मुद्दाहरू साथै राखी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।८।२५ गते भएको आदेश ।
मालपोत कार्यालयको मिति २०५४।१०।२ को टिप्पणी आदेशबमोजिम दा.खा. दर्ता भएका जग्गाहरू विभिन्न अंशियारहरूले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई हक हस्तान्तरण गरेका छन् र केही जग्गाहरू हालसम्म ती अंशियारहरूको नाउँमा दर्ता कायम रहेको छ । केही जग्गा बिक्री गरेका र अंशियारमध्येका रामाज्ञाले बिक्री गरेकोउपर लिखत बदर मुद्दा परी हक दाबी छाडी मिति २०५८।१०।२५ मा मिलापत्रसमेत भएको छ । दा.खा. दर्ता कायम रहेका जग्गाको जग्गाधनी प्रमाण पुर्जा, बिक्री भएका लिखतहरू र अदालतबाट भएको मिलापत्र तथा जग्गा दा.खा. दर्ताको फेहरिस्तसमेतका प्रमाण कागजातहरूको फोटोकपी पेस गरेका छौं भन्नेसमेत बेहोराको प्रत्यर्थी वारेसहरू जिउत महतो चाई, ठाकुरप्रसाद चौहान र अवधकिसोर प्रसाद चौहानले अ.बं. १३३ नं.बमोजिम मिति २०६९।९।४ गते गरेको कागज ।
मालपोत कार्यालयको टिप्पणी आदेशानुसार शंकर महतो चाई, जोनादेवी चाइन, रामेश्वर प्रसाद, रामाज्ञा महतो चाई र सोनामती देवीको नाउँमा छुट्टाछुट्टै दर्ता भएको छ । सोमध्ये शंकर महतोको नाउँमा दर्ता भएको कि.नं. ९५८, ४८३ कि.का. भई कायम ५३४, ४९८ र ७४७ समेतका जग्गा निजको पत्नी बासमती देवीले हक हस्तान्तरण गरी रम्भादेवीसमेतलाई दिएको र बाँकी जग्गा बासमती देवीकै नाउँमा
रहेको । जोनिया देवीको नाउँमा रहेको जग्गामध्ये कि.नं. ९९१, ९५७, ११५३, ३१६ र ४८१ कि.का. भई कायम ५३० र ४९५ को जग्गासमेत शिवनारायण साह कलवारसमेतलाई दिएको र बाँकी जग्गा निजकै नाउँमा रहेको । सोनामती देवीको नाउँको कि.नं. ९५६, ९७९, ९५४, ९४७, ९७४, ७४३ र ६१८ को जग्गासमेत निजले रामजिवन कलवारसमेतलाई हस्तान्तरण गरी बाँकी निजकै नाउँ कायम रहेको, रामेश्वरप्रसादको नाउँको जग्गामध्ये कि.नं. ९८९, ९६०, ११६१, ४८४ र ४६६ को जग्गा किशोरप्रसादसमेतलाई हस्तान्तरण गरी बाँकी जग्गा निजकै नाउँमा कायम रहेको र रामाज्ञा महतो चाईको नाउँको जग्गामध्ये कि.नं. ९९०, ९५९, ११५७, ३१५, ४८५ र ४९८ को जग्गासमेत मैनुनेसासमेतलाई हस्तान्तरण गरी बाँकी जग्गा निजकै नाउँमा कायम रहेको भन्नेसमेत एकै मिलान बेहोराको पुनरावेदक वादी नरेशप्रसाद चौहानको मिति २०६९।९।१२ र प्रत्यर्थी रामाज्ञा महतोसमेतले मिति २०६९।९।१६ मा मुलुकी ऐन, अ.बं. १३३ नं. बमोजिम गरेको छुट्टाछुट्टै कागज ।
अदालतबाट भएको निश्चित कार्यविधि र प्रक्रिया अपनाई बन्डा मुचुल्का भएको र सोको जानकारी हुँदाहुँदै अड्डाबाट भएको बन्डा मुचुल्कालाई बेवास्ता गरी निष्क्रिय बनाई विपक्षीको अर्को निवेदन लिई वादीलाई कुनै जानकारी नगराई त्यसको आधारमा दा.खा. दर्ता गर्ने गरी मालपोत कार्यालयबाट भएको टिप्पणी आदेश र त्यसको आधारमा भएको दर्तासमेत बदर गर्नुपर्नेमा सो नगरी वादी दाबी पुग्न नसक्ने ठहर्याई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७।१२।१७ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।११।६ को फैसला ।
शिवजनकको श्रीमती सोनामती देवी चाइन वादी, प्रतिवादी रामेश्वर महतो चाई-१, रामाज्ञा महतो-१, जोनादेवी चाइन-१, पृथ्वीचन्द्र प्रसाद-१, ठाकुरप्रसाद चौहान-१, शंकर महतो चाई-१, समेत जना ६ प्रतिवादी भई आ.व. २०४२/०४३ सालको दे.नं. २३८४ को अंशदर्ता मुद्दाको फिराद मिति २०४३।३।१३ गते पर्सा जिल्ला अदालतमा दायर भई ४ खण्डको १ खण्ड अंश पाउने ठहरी पर्सा जिल्ला अदालतबाट मिति २०४४।८।२० मा भएको फैसलाउपर वादी पक्षको तत्कालीन नारायणी अञ्चल अदालतमा पुनरोवदन परी पुनरावेदकहरूले तारेख गुजारी मिति २०४५।१।३० मा डिसमिस फैसला भई अन्तिम भएको रहेछ । उल्लिखित दे.नं. २३८४ को अंश मुद्दाको अन्तिम फैसलापश्चात् फैसलाबमोजिम बन्डा छुट्टयाई पाउँ भनी वादीको र प्रतिवादी जोनादेवी चाइनसमेतको अंश छुट्ट्याउन दर्खास्त परी सबै अंशियारको सहमतिबाट नै ४ खण्डको १ खण्ड अंशबन्डा छुट्टयाउने गरी मिति २०४७।९।२० मा भएको बन्डा मुचुल्काबमोजिम जग्गा दा.खा. गर्दा जग्गा टुक्रा-टुक्रा भई खेतीयोग्य नरहने र घरबास भएका जग्गाहरूमा बासअनुकूल नमिल्ने हुँदा प्रतिव्यक्तिको भागमा बराबरीको हिसाबले लिने-दिने कायम गर्ने गरी आपसी समझदारी कायम भई दा.खा.गर्ने क्रममा केही कित्ता जग्गाहरू नरबढी-नरघटी भएकोले नरबढी-नरघटी भएमा सोहीबमोजिम लिने-दिने मन्जुर गरी निजहरूको रोहबरमा कित्ताकाट गरिसकेपछि कित्ताकाट फाइल नापी शाखाबाट मालपोत कार्यालयमा फिर्ता आइसकेपछि मा.पो.का २०५४।१०।२ मा टिप्पणी आदेश भई छुट्टाछुट्टै अंशियारको नाउँमा दा.खा. दर्ताबमोजिम सबै अंशियारहरूले भोग तथा हक-हस्तान्तरण गरी आउनु भएको छ । उक्त अंश मुद्दा चल्दै जाँदाको अवस्थामा तायदाती दाखेल गर्नेमध्येका रामेश्वर महतो चाई र रामाज्ञा महतो चाइले आफ्नो कि.नं. ५०, ५१ र २०१ को जग्गा तायदातीमा नदेखाई दपोट गर्नु भएकोले रामाज्ञा महतो चाईसमेतका ६ जना व्यक्तिलाई प्रतिवादी कायम गरी दे.नं. २३०५ को अंश दपोट मुद्दा दायर भएकोमा मिति २०५८।०५।१७ मा दपोटमा ठहर गरी भएको फैसलाउपर रामाज्ञा र रामेश्वर महतोसमेतले पुनः पुनरावेदन गर्दा पुनरावेदन अदालत हेटौंडाबाट २ भाग सोनामतीले र २ भागमा सुरूज महतो र शंकर महतोको १/१ भाग हुने गरी मिति २०६०।३।२४ मा पुनरावेदन फैसला भएको । पुनरावेदन अदालत हेटौंडाको उक्त फैसलामा चित्त नबुझी वादीको सर्वोच्च अदालतमा पुनरावेदन परी कार्यवाही हुँदै जाँदा सम्मानित सर्वोच्च अदालतले पुनरावेदन अदालत हेटौंडाको फैसला सदर हुने भनी मिति २०६४।५।२६ मा फैसला भई अन्तिम भएको अवस्था छ ।
२०४२/०४३ सालको सुरू दे.नं. २३८४ को अंश मुद्दाको मिति २०४४।८।२० को पर्सा जिल्ला अदालत र मिति २०४५।१।३० को फैसलाअनुसार मिति २०४७।९।२० को बन्डा मुचुल्का, मिति २०५४।१०।२ को मालपोत कार्यालय, पर्साको टिप्पणी आदेश हुँदा वादीको पिता रामाज्ञा महतो र निजको दाई रामेश्वर महतो र अन्य अंशियारहरूसमेतको उपस्थितिमा सो कार्य भएको हो । वादीको पिता सुरू मुद्दाको कार्यबाहीदेखि नै सरिक भई हालसम्म जीवित हुनुहुन्छ । निज वादीको पिताले नै अंश घटी-बढी वा नरम-गरम वा असल-कमसल भयो भन्ने सम्बन्धमा निज रामाज्ञाले नै तत्कालीन अवस्थामा अंशबन्डाको ३२ नं. बमोजिम उजुर गर्नुपर्ने थियो । बन्डा मुचल्कालाई पन्छाई दा.खा. टिप्पणी भएको होइन । अधिकांश जग्गा बन्डा मचुल्काबमोजिम नै र केही कित्ता जग्गा कित्ताकाट गर्दा टुक्रा-टुक्रा भई जग्गा प्रयोगमा नआउने भएकोले वादीको पिताको सहमति, उपस्थिति एवम् रोहवरमा नै सम्पूर्ण प्रक्रियागत कार्य पूरा गरी मिति २०५४।१०।२ मा मालपोत कार्यालय, पर्साबाट टिप्पणी आदेश भएको हो । पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।११।६ मा भएको फैसला कानूनी त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी वादी दाबी हकदैया र हद म्यादको अभावमा खारेज गर्नुपर्नेमा नगरी टिप्पणी आदेश बदर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरिपाउँ भन्नेसमेत बेहोराको छोटेलालप्रसाद चौहानसमेतले यस अदालतमा मिति २०७०।४।१३ मा गरेको पुनरावेदन ।
यसमा पर्सा जिल्ला अदालतबाट मिति २०४७।९।१० मा भएको बन्डा मुचुल्काअनुसार दा.खा. दर्ताको लागि उक्त अदालतबाट मालपोत कार्यालय पर्सामा पठाएकोमा बन्डा मुचुल्काअनुसार बन्डा छुट्याउन ट्रायल चेकबाट जग्गा घटबढ भई तपसिलअनुसार सो घटबढ भएको जग्गामा आ-आफ्नो अंश भाग मिलाई दा.खा. गरिपाउँ भनी अंश मुद्दाका वादी सोनामती देवी र प्रतिवादीहरू रामेश्वर महतो चाई, रामाज्ञा महतो चाई, जोनादेवी चाइन र शंकर महतो चाईसमेतले संयुक्त निवेदन दिई सो निवेदन सनाखत गरी सोहीअनुसार आ-आफ्नो अंश भाग दा.खा. दर्ता गरेको भन्ने मालपोत कार्यालयको मिति २०५४।१०।२ को टिप्पणी आदेशबाट देखिन्छ । यी वादीहरू नरेशप्रसाद चौहान, सुरेशप्रसाद चौहान तथा प्रभावति देवी चाइन उल्लिखित संयुक्त दरखास्त दिने प्रतिवादी रामाज्ञा महतो चाईको श्रीमती छोराहरू रहेको देखिन्छ । मूल अंशियार पति तथा पिताले जग्गा दर्ताको लागि मन्जुर गरी आफ्नो अंशभागमा पर्ने जग्गा छुट्याई लिएको विषयमा निजका छोरा र श्रीमतीले दायर गरेको फिराद दाबीका आधारमा उक्त मिति २०५४।१०।२ मा भएको दा.खा. को सम्बन्धी टिप्पणी आदेश बदर गर्ने गरेको पुनरावदेन अदालत हेटौंडाको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्ने हुँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७४।८।११ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी छोटेलालप्रसाद चौहानसमेतका तर्फबाट उपस्थित हुनुभएका विद्वान् अधिवक्ताद्वय श्री भीम ढकाल र श्री विनोद श्रीवास्तवले यी वादीका पिता र पुनरावेदक प्रतिवादीहरूका बिच विभिन्न समयमा विभिन्न मुद्दा चली ती मुद्दाहरू तह-तह हुँदै अन्तिम भई बन्डा मुचुल्काबमोजिम दा.खा. गर्दा स-साना कित्तामा जग्गाहरू टुक्रा गर्दा उपभोग गर्न अनुपयुक्त हुने हुँदा मालपोत कार्यालय, पर्सामा निजहरूको संयुक्त निवेदन परी सोहीबमोजिम दा.खा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा लिइसकेको अवस्था छ । आफ्नो पिताको अंशभागबाट मात्रै यी वादीले अंश पाउने हो । दा.खा.मा चित्त नबुझेको भए वादीका पिता स्वयम्ले उजुर गर्नुपर्ने हो । वादीलाई यसमा कानूनी हकदैया छैन र हदम्यादसमेत गुज्रिसकेको हुँदा वादी दाबी नपुग्ने ठहर गरी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भनी आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादी नरेशप्रसाद चौहानको तर्फबाट उपस्थित हुनुभएका विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार खड्काले माथिल्लो पुस्ताले अंशबन्डा गर्दा तल्लो पुस्ताको अंशमा असर पर्ने गरी कुनै किसिमको लिखत वा अंश बुझ्नु हुँदैन । अदालतबाट भएको फैसला र बन्डा मुचुल्कालाई पाखा लगाई मालपोत कार्यालयमा आपसी सहमतिमा दा.खा गरी मेरो पक्षको अंशहकमा प्रतिकूल असर पर्न गएकोले उक्त मालपोत कार्यालय, पर्साबाट भएको टिप्पणी आदेश र सोको आधारमा भएको दा.खा. दर्तासमेत बदर गरी पुनरावेदन अदालत हेटौंडाको फैसला सदर गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
विद्वान् कानून व्यवसायीहरूको उल्लिखित बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरू अध्ययन गरी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको छ वा छैन, पुनरावेदक प्रतिवादी छोटेलालप्रसाद चौहानसमेतको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन भन्ने विषयमा निर्णय गर्नुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, दे.नं. २३८४ को अंश मुद्दाका वादी प्रतिवादीसमेतका अंशियारले अदालतको फैसला तथा बन्डा मुचुल्काअनुसार बन्डा नगरी असमान रूपले आफूखुसी घटिबढी अंश भाग लगाई सोअनुसार जग्गा आफ्नो नाउँमा गराउन दिएको निवेदनअनुसार जग्गा दर्ता गर्ने गरी मालपोत कार्यालय, पर्साबाट मिति २०५४।१०।२ मा भएको टिप्पणी आदेश र सोको आधारमा विपक्षीहरूको नाउँमा छुट्टाछुट्टै भएको जग्गाको दर्तासमेत बदर गरिपाउँ भन्ने फिराद दाबी र मिति २०४७।९।२० को बन्डा मुचुल्काबमोजिम जग्गा छुट्याउँदा जग्गा स-साना टुक्रामा परिणत हुने भई आवादलायक नहुने भएकोले मालपोत कार्यालयमा आपसी सहमतिमा नरम-गरम मिलाई जग्गा दा.खा. गरिएको हो । वादीलाई उक्त सहमतिका विरूद्धमा नालेस दिन हकदैया नहुने र हदम्यादसमेत नघाई दिएको फिराद खारेज गरिपाउँ भनी प्रतिउत्तर पेस भएकोमा समान अंशियारहरूका बिचमा भएको फैसलालाई यी वादीका बाबु रामाज्ञाको हकमा अन्तिम भएर रहेको अवस्थामा निजको हकसम्म खाने हक राख्ने यी वादीले नालेस गर्न नमिल्ने देखिई वादी दाबी पुग्न नसक्ने ठहर्याएको पर्सा जिल्ला अदालतको फैसलाउपर वादीको चित्त नबुझी पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन दायर भई अदालतबाट भएको निश्चित कार्यविधि र प्रक्रिया अपनाई बन्डा मुचुल्का भएको र सोको जानकारी हुँदाहुँदै अड्डाबाट भएको बन्डा मुचुल्कालाई बेवास्ता गरी निष्क्रिय बनाई विपक्षीको अर्को निवेदन लिई वादीलाई कुनै जानकारी नगराई त्यसको आधारमा दा.खा. दर्ता गर्ने गरी मालपोत कार्यालयबाट भएको टिप्पणी आदेश र त्यसको आधारमा भएको दर्तासमेत बदर गर्नुपर्नेमा सो नगरी वादी दाबी पुग्न नसक्ने ठहर्याई सुरू पर्सा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ भनी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको रहेछ ।
३. पुनरावेदन अदालत हेटौंडाको सो फैसलामा प्रतिवादी छोटेलालप्रसाद चौहानसमेतले चित्त नबुझाई सोनामति देवीले वादीका पितासमेतलाई प्रतिवादी बनाई दायर गरेको अंश तथा अंश दपोटसमेत मुद्दामा सर्वोच्च अदालतबाट समेत अन्तिम फैसला भई मिति २०४७।९।२० मा बन्डा मुचुल्का भएको र सोबमोजिम जग्गा छुट्ट्याउँदा जग्गा स-साना टुक्रामा परिणत हुने भई आवादलायक नहुने भएकोले मालपोत कार्यालयमा आपसी सहमतिमा नरम-गरम मिलाई जग्गा दा.खा. गरिएको हो । उक्त सहमतिमा चित्त नबुझेको भए वादीका पिताले सोही समयमा उजुर गर्नुपर्नेमा सो नगरी बसेबाट वादीलाई उक्त सहमतिका विरूद्धमा नालेस दिन हकदैया नहुने र हदम्यादसमेत नघाई दिएको फिराद खारेज गरी पर्सा जिल्ला अदालतबाट भएको फैसला सदर गरिपाउँ भनी यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
४. पुनरावेदक प्रतिवादी छोटेलालप्रसाद चौहानसमेतको निवेदनमा मालपोत कार्यालय, पर्साबाट मिति २०५४।१०।२ मा भएको टिप्पणी आदेश र सोको आधारमा भएको जग्गाको दर्तासमेत बदर हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी पर्सा जिल्ला अदालतबाट वादी दाबी नपुग्ने भनी भएको फैसला सदर गरिपाउँ भन्ने मुख्य जिकिर रहेको सन्दर्भमा मूल पुरूष दुर्बल महतो चाई र निजको श्रीमती रामरतीको ४ छोराहरू सत्यनारायण महतो चाई, सुरूज महतो चाई, शिवजनक महतो चाई र शंकर महतो चाई भएको; सत्यनारायण महतोको हाँगामा २ छोराहरू रामेश्वर महतो र रामाज्ञा महतो; रामेश्वर महतोको हाँगामा २ छोरा ठग महतो र उमेश महतो; रामाज्ञा महतो र निजको श्रीमती प्रभावती देवीको २ छोरा नरेश महतो र सुरेश महतो भएको; सुरूज महतोको श्रीमती जोनादेवीबाट २ छोरा पृथ्वीचन्द्र प्रसाद महतो र ठाकुरप्रसाद चौहान भएको; ठाकुरप्रसाद चौहानको श्रीमती रिमादेवी; शिवजनक महतोको श्रीमती सोनामती देवी चाइनबाट एक मात्र छोरी पासपती देवी; शंकर महतोको श्रीमती बासमती देवीको हाँगामा ४ छोराहरू श्रीनारायण प्रसाद, गम्भीरा प्रसाद भन्ने मिश्री प्रसाद, छोटेलाल प्रसाद र अवधकिशोर प्रसाद भई वादी तथा प्रतिवादीहरू अंशियार तथा अंशियारका सन्तान भएको निजहरूको पुस्तावारीबाट देखिन्छ । वादी सोनामती देवी चाइन र प्रस्तुत मुद्दाका वादीका पिता रामाज्ञा महतो चाईसमेत प्रतिवादी भएको २०४३ सालको दे.नं. २३८४ को अंश दर्ता तथा यिनै वादी प्रतिवादी भएको २०५७ सालको दे.नं. २३०५ को अंश दपोट मुद्दासमेतबाट यी वादीका बाबुले अंशबन्डाबापत ४ खण्डको १ खण्ड अंश पाउनेमा विवाद नभई यसबाट उक्त कुरो टुङ्गो लागिसकेको देखिन्छ ।
५. बन्डा मुचुल्काबमोजिम मालपोतमा जाँदा जग्गाको क्षेत्रफल सानो भएको हुँदा कित्ताकाट गरी बन्डा गर्दा आवाद गर्न लायक नहुने अवस्था सिर्जना हुने तथा कुनै जग्गाको केही खण्ड नहरमा परेको आदि कारणले दा.खा.मा समस्या आई परेपछि वादीका बाबु प्रतिवादी रामाज्ञा महतो चाई, प्रतिवादी रामेश्वर महतो चाई, प्रतिवादी जोनादेवी महतो, प्रतिवादी शंकर महतोसमेतले पटक-पटक मालपोत कार्यालय, पर्सामा निवेदन दिई सनाखत र मन्जुरीसमेत गरी सहमतिबमोजिम नै दा.खा. भएको मिसिल सामेल मालपोत कार्यालय, पर्साको रेकर्ड मिसिलबाट
देखिन्छ । यसलाई तत्कालका वादी तथा प्रतिवादीहरूले व्यवहारमा मिलापत्र वा पूर्ण सहमति गरी जग्गा छुट्याउने दा. खा. गर्ने आदि कार्य गरेका रहेछन् भन्नुपर्ने हुन आयो । प्रतिवादीहरूले पुनरावेदनमा क्षेत्रफलको कुरा गरेको भए तापनि भागसान्ती ४ खण्डको १ खण्ड वादीका बाबु तथा काकाको नाममा दा.खा. भएको भन्ने विषयमा वादीको इन्कारी
देखिएन । जग्गाको खण्डीकरण भएको अवस्थामा स-साना टुक्रामा परिणत हुँदा जग्गा भोगचलन तथा आवाद गर्न समस्या पर्ने भई सबै जग्गा कित्ताकाट नगरी कुनै जग्गा कसैले र कुनै जग्गा कसैले ससीमै कित्ता लिने पनि हुनसक्छ । त्यसैले कूल क्षेत्रफलमा भागसान्ती नै भएको छ भने कित्ता-कित्ता बन्डा भएन भन्ने कुरा गरी वर्षौपछि आई सहमति खलबल्याउनु न्यायपूर्ण हुँदैन ।
६. जहाँसम्म अघिल्लो पुस्ताले पछिल्लो पुस्ताको अंश हकमा असर पर्ने कार्य गर्यो कि भन्ने प्रश्न छ, मालपोत कार्यालय, पर्साको मिसिलबाट सो कार्य गरेको देखिँदैन । अंशदर्ता मुद्दामा तहगत भएको अदालतको फैसलाले उक्त मुद्दाका वादी तथा प्रतिवादीहरूले जति खण्ड अंश पाउने भनेको छ, व्यवहारमा त्यति नै क्षेत्रफल अर्थात् जम्मा श्रीसम्पत्ति बिगाहा १३-१४-२ को ४ खण्डको १ खण्ड बिगाहा ३-८-१०-८ क्षेत्रफल वादी तथा प्रतिवादीहरूले आफ्नो अंशभाग पाउने देखिएकोमा मिसिल संलग्न मालपोत कार्यालय पर्साको दा.खा. फाइलबाट प्रस्तुत मुद्दाका वादीका पिता रामाज्ञाप्रसाद महतो चाईको अंशभागमा बिगाहा १-१३-१३-१४ क्षेत्रफल तथा काका रामेश्वर महतो चाईको अंशभागमा बिगाहा १-१४-८-६ क्षेत्रफल परेको जोड्दा जम्मा बिगाहा ३-८-२-४ क्षेत्रफल हुने देखिएबाट वादी तथा प्रतिवादीहरूको स-साना क्षेत्रफलको धेरै कित्ता जग्गा भएको हुँदा सापोनापो / नरम-गरम मिलाई जग्गा बन्डा गरेको पाइँदा यी वादीको अंश हक मर्न गयो भन्न मिल्ने अवस्था देखिएन । समान अंशियारहरूका बिचको अंश मुद्दामा भएको फैसलालाई यी वादी नरेशप्रसाद चौहानका पिता रामाज्ञाको हकमा अन्तिम भएर रहेको अवस्थामा निजको हकसम्म खाने हक राख्ने यी वादीले नालेस गर्न कानूनतः मिल्दैन । यसरी सन्तान दर सन्तानले नालेस गर्दै जाने हो र अदालतले बदर गर्दै जाने हो भने एउटै मुद्दा अनन्तकालसम्म चलिरहन्छ; मुद्दा कहिल्यै टुङ्गिँदैन । यस्तो कुरा न्याय र कानूनको मकसद प्रतिकूल हुन जान्छ । तसर्थ वादी दाबी पुग्न सक्दैन भनी सुरू पर्सा जिल्ला अदालतबाट भएको फैसलालाई बदर गरी वादी दाबीबमोजिम मालपोत कार्यालय, पर्साको मिति २०५४।१०।२ मा भएको टिप्पणी आदेश र सोको आधारमा भएको दा.खा. दर्ता बदर हुने भनी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेको देखिन आएन ।
७. अतः माथि विवेचित आधार र कारणबाट अदालतबाट भएको निश्चित कार्यविधि र प्रक्रिया अपनाई बन्डा मुचुल्का भएको र सोको जानकारी हुँदाहुँदै अड्डाबाट भएको बन्डा मुचुल्कालाई बेवास्ता गरी निष्क्रिय बनाई विपक्षीहरूको अर्को निवेदन लिई वादीलाई कुनै जानकारी नगराई त्यसको आधारमा दा.खा. दर्ता गर्ने गरी मालपोत कार्यालयबाट भएको टिप्पणी आदेश र त्यसको आधारमा भएको दर्तासमेत बदर हुने भनी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।११।६ को फैसला मिलेको नदेखिँदा उल्टी भई मालपोत कार्यालय, पर्साको मिति २०५४।१०।२ को टिप्पणी आदेश र त्यसको आधारमा भएको दर्तासमेत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्याएको पर्सा जिल्ला अदालतको मिति २०६७।१२।१७ को फैसला मिलेकै देखिँदा मालपोत कार्यालय, पर्साको मिति २०५४।१०।२ को टिप्पणी आदेश र सोको आधारमा भएको दर्तासमेत कायम हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।११।६ मा भएको फैसला उल्टी भई सुरू पर्सा जिल्ला अदालतबाट मिति २०६७।१२।१७ मा भएको फैसला सदर हुने ठहरेकाले मालपोत कार्यालय पर्साको मिति २०५४।१०।२ को टिप्पणी आदेश र सोको आधारमा भएको दा.खा. दर्तासम्बन्धी कार्य यथावत् कार्यान्वयन गर्न गराउन सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ।
पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।११।६ मा फैसला हुँदा सुरू अदालतको फैसला उल्टी भई मालपोत कार्यालय पर्साको टिप्पणी आदेशसमेत बदर हुने ठहरेकाले फैसलाबमोजिम गर्नु भनी उक्त फैसलामा लेखिएकोमा सो फैसला उल्टी भएकाले सोअनुसार केही गर्नु परेन भनी सुरू जिल्ला अदालतमा लेखी पठाइदिनू ।
सरोकारवालाले नक्कल माग्न आए नियमानुसार दस्तुर लिई नक्कल दिनू ।
सुरू तथा प्रमाण मिसिल सम्बन्धित अदालतमा फिर्ता पठाइदिनू ।
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशकुमार ढुंगाना
इजलास अधिकृत: करूणा श्रेष्ठ
इति संवत् २०७६ साल पुष २५ गते रोज ६ शुभम् ।