निर्णय नं. ४४१७ - उत्प्रेषण
निर्णय नं. ४४१७ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
सम्वत् २०४६ सालको रिट नं. ८३२
आदेश भएको मिति : २०४८।९।१।२ मा
निवेदक : का.न.पं. वा.नं.३२ डिल्लीबजार डेरा गरी बस्ने श्रीमती लता काफ्ले
विरुद्ध
विपक्षी : नेपाल टुथ प्रोडक्ट्सन प्रा.लि. पाटन औद्योगिक क्षेत्रसमेत
विषय : उत्प्रेषण
(१) विनियम जस्तो कुरा साधारण मजदुरको जानकारीमा हुन्छ नै भन्न पनि सकिन्न त्यसमा पनि विपक्षी प्रा.लि.बाट निवेदकले विनियम माग गरेकोमा सो विनियम दिलाइएको वा सो को व्यवस्थाको जानकारी निवेदकलाई गराइएको भन्ने फाइलबाट कतै देखिन आएन । यस स्थितिमा निवेदकले विकल्पको बाटो अपनाएन भनी निजलाई (साविक पेज नं. ७६२) दोषारोपण गर्न नपाइने ।
(प्रकरण नं. ११)
(२) निवेदकलाई दिइएको बर्खासी पत्रमा पुनरावलोकनको लागि संचालक समिति समक्ष निवेदन गर्न जानु भनी उल्लेख गरी सूचित गरिएको नभएमा निवेदकलाई सो बाटोको जानकारी हुनु पर्ने पूर्वावस्था हुन आवश्यक छ । तसर्थ उक्त विनियमको ९(४०), र ९(४१) बमोजिम गर्नु भनी रिटनिवेदकलाई सूचना दिनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी हुने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठ
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली
आदेश
न्या.हरगोविन्द सिंह प्रधान
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. म निवेदिका नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. पा.औ.क्षे. मा काम गरी आफ्नो जीविको पार्जन गर्ने एक महिला अदक्ष मजदुर हुँ । उक्त टुथ प्रोडक्ट्स प्रा.लि. मा २०३८।८।१ देखि कारखानामा रही मजदुरको रुपमा काम गर्दै आइरहेको २०३९।२।१ देखि उक्त टुथ प्रोडक्ट्स प्रा.लि.को प्याकर्स पदमा स्थायी नियुक्ति पाई काम गर्दै आइरहेकी थिएँ । उक्त बमोजिम अदक्ष मजदुरको रुपमा प्याकर्सको पदमा काम गर्दै कम्पनीको उन्नतीको सन्दर्भमा विहान ९ बजे देखि बेलुकी ५ बजेसम्म र त्यसको अलावा प्रायजसो समयहरुमा ओभर टायम कामहरु बढी गरिरहनु परेकोले पहिले देखि नै शारीरिक कमजोरी भई विरामी पर्दै आइरहेकी थिएँ । त्यसकारण २०४६।१।१३ गते देखि मैले पटक पटक गरी मागेको विदामा ०४६।१।१३ गते देखि ०४६।२।३२ सम्म बेलतली विदा स्वीकृति गरिएको थियो र यसरी विदा स्वीकृति हुनु पूर्व नै कम्पनी र मजदूरहरुको सम्बन्ध आवश्यक जानकारी लिनको लागि मैले कम्पनी ऐन, २०२१ को दफा १९ बमोजिम उक्त प्रा.लि. को विनियम पाउनको लागि निवेदन समेत गरेकी सो माथि कुनै कारवाही नगरी कुन प्रयोजनको लागि आवश्यक परेको हो भन्ने सहितको उपस्थित हुने बारेको मिति २०४६।२।२३ को पत्र मलाई प्राप्त भएपछि मलाई बालाजु औद्योगिक क्षेत्रको व्लोमोत्डर्स कारखानामा काज पठाएको व्यहोरा अवगत भयो । उक्तानुसार बालाजु व्लोमोत्डर्समा काजमा जानु भनी पठाएको पत्र तत्समयमा मैले बुझ्नु नसकेपछिको समयमा मेरा श्रीमानलाई उक्त पत्र बुझ्नु मिति २०४६।४।१२ मा मन्जूरनामा दिई पठाएकोमा केन्द्रीय कार्यालयले उक्त मन्जूरनामा सोही दिनमा बुझी पत्र भने मेरो श्रीमानलाई बुझ्न नदिएको र उक्त बमोजिम विदा स्वीकृति गरिए पश्चात पनि प्रशुति सम्बन्धी रोगको साथै व्रान्काइटिश रोग लागेको विभिन्न डाक्टरहरुको सिफारिश साथ पटक पटक गरी ३ पटक सम्म गरी ०४६।५।९ सम्मको विदा माग गरी निवेदन रजिष्ट्री गरी २०४६।३।१, २०४६।३।२१, २०४६।४।२३ मा पठाएकोमा उक्त प्रा.लि.ले २०४६।४।३२ को पत्रद्वारा मैले माग गरे बमोजिमको विदा अस्वीकृत गरिएको जानकारी प्राप्त भयो । त्यसरी विदा अश्विकृत गरिएपछि कारवाहीको अन्तिम किनारा नलागेसम्म २०४६।३।२३ को पत्रानुसार बालाजु नगई साविक ठाउँमा गै काम गर्ने आदेश कम्पनीको नाउँमा गरिपाउँ भनी मिति २०४६।५।९ मा श्रम कार्यालय डिल्लीबजारमा निवेदन दिएको त्यसरी निवेदन (साविक पेज नं. ७६३) दिए पश्चात मिति २०४६।५।१२ मा टुथ प्रोडक्ट्स प्रा.लि. पाटनबाट मलाई स्पष्टीकरण मागिएकोमा मिति २०४५।५।२४ मा कम्पनीलाई नै समुचा रुपमा लिखितजवाफ दिई नेपाल मजदूर संगठन र यस्का इकाईहरु, श्रम कार्यालय, श्रम विभागमा समेत त्यसै बमोजिमको स्पष्टीकरणको जानकारी कार्यार्थ गराएकोमा कुनै पनि संवैधानिक निकाय र अधिकार प्राप्त अधिकारीले आवश्यक कारवाही नगर्दा नगर्दैको अवस्थामा मिति २०४६।६।१३ को पत्रबाट मलाई उक्त प्रा.लि. बाट अवकाश गराइएको जानकारी दिइयो । यसरी गैरकानुनी रुपमा अवकाश गर्दा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी नियमहरु, २०१९ को नियम २६(क)(२) लगाई मलाई पदबाट हटाइएको छ । जबकी त्यस बमोजिम मलाई हटाउन मैले विदा सम्बन्धी सूचना नै नगरेको अवस्थामा मात्र हटाउन मिल्ने हो भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै र त्यस बमोजिम म विमारी भएकोले डाक्टरको सिफारिश पत्र संलग्न गरी विदाको लागि पटक पटक रजिष्ट्री पत्र पठाएकोमा उक्त नियम २६(क) (२) लाई जबरजस्ती बंग्याई अनर्थ गरी मेरो विरुद्ध प्रयोग गर्न मिल्ने होइन । म निवेदिकालाई टुथ प्रोडक्ट्स प्रा.लि. को प्याकर्स पदमा नियुक्ति दिए पछि विपक्षीहरुले मलाई असुविधा पर्ने गरी म माथि शोषण गर्ने कलुषित नियत राखी प्लाष्टिक कन्टेरको स्तर निरीक्षण पदमा जुन पद मैले नियुक्ति पाएको पद भन्दा छैठौं तह माथिको पदमा र साथै अर्कै कारखानामा काजमा पठाउन मिल्ने होइन । तर त्यसै कम्पनीको त्यसै कामको प्रयोजनको लागि मात्र समान स्तरमा काजमा पठाउन मिल्नेमा विपक्षी टुथ प्रोडक्ट्स प्रा.लि. र यसका पदाधिकारीहरुले मलाई सम्हाल्नै नसक्ने स्तरको पदमा त्यस्मा पनि अर्कै प्रयोजनको कारखानामा काजमा पठाउने जानकारी दिएको त्यसै पनि कानुन न्यायसंगत छैन भने नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन, २०१६ को दफा ४३ (३)(क) अनुसार ५ किलोमिटर भन्दा टाढा कुनै पनि मजदूरलाई काम गर्न पठाउन नसक्ने प्रावधान स्पष्ट हुँदा हुँदै त्यसको बर्खिलाप मलाई पाटन औ.क्षे.बाट ८।९ कि.मि.टाढा पर्ने बालाजु औ.क्षे. मा काजमा खटाउने निर्णय विपक्षी टुथ प्रोडक्ट्स प्रा.लि. र यस्का पदाधिकारीहरुबाट भएको छ । उक्त बमोजिम गैरकानुनी काजमा पठाउने निर्णय र त्यस पश्चात विरामी परी डाक्टरको सिफारिश साथ पटक पटक विदा मागी पठाउँदा समेत त्यसलाई वास्ता नगरी काजमा उपस्थित नभई उद्योगको काममा बाधा गरी राख्नु भएकोले भन्दै मलाई सेवाबाट हटाइएको जानकारी पत्रले नेपालको संविधानको भाग ३ को धारा १०, ११ र १३ ले प्रदान गरेको संवैधानिक हकाधिकार हनन् भएको र त्यस कुराको उल्लेख गरी अवकाशको सम्बन्धमा नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. लाई मिति २०४६।६।१९ गते जानकारी दिई त्यस्को कार्यार्थ सोही मितिमा श्री नेपाल मजदूर संगठन कार्यसमिति वानेश्वर, श्री ने.म.सं. अञ्चल कार्यसमिति बागबजार, श्री ने.म.सं. जिल्ला कार्यसमिति ललितपुर, श्री श्रम विभाग, डिल्ली बजार, श्री श्रम कार्यालय डिल्लीबजारमा निवेदनहरु दिइएकोमा केही कारवाही नभएको र उक्त गैरकानुनी कारवाहीको विरुद्ध उपचारमा जान अन्य कुनै उपाय नभएकोले सम्मानीत यस सर्वोच्च अदालतको शरणमा आएकी छु । उक्त बमोजिम मलाई काजमा पठाउने सम्बन्धमा भएको निर्णय र विदा माग्दा माग्दैको अवस्थामा मलाई सेवाबाट हटाइएको विपक्षी टुथ प्रोडक्ट्स प्रा.लि. को निर्णय उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
३. यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. यसमा सर्वप्रथम कुनै पनि व्यक्ति सम्मानीत अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आउँदा प्रत्यर्थीले कुन कानुन छाडी निवेदकको हक हनन् हुन (साविक पेज नं. ७६४) गएको हो सो देखाउन पर्दछ र सफा हात लिएर अदालत प्रवेश गरेको हुनुपर्दछ । जबसम्म प्रस्तुत रिटनिवेदनमा माथि उल्लेखित कुराहरु रिट निवेदिकाले देखाउन सक्नु हुन्न र अवस्था पनि नहुँदा निवेदिकाको उपरोक्त रिटनिवेदन खारेजभागी छ भनी सम्मानीत अदालत समक्ष सादर अनुरोध गर्दछु । विपक्षीको निवेदन अनुरुप नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. ले विपक्षीलाई बालाजुमा काजमा पठाएको र कम्पनीले पठाएको पद ठाउँमा विपक्षी उपस्थित नभएको स्वीकार गर्नु भएको छ । विपक्षीले विनियम ३.७ (२) को उल्लंघन गरी गैरहाजिर भएकोले काममा बाधा पर्नुका साथै उत्पादनमा समेत असर पर्न गएकोले अधिकार प्राप्त अधिकारीले विपक्षीलाई हटाउन बाध्य हुनु परेको हो । कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी नियमावली, २०१९ को नियम २६(क)(२) अनुसार गयल भएको कर्मचारीलाई गयल कट्टी गरी कारखानाबाट हटाउन सकिने छ भनी स्पष्ट व्यवस्था भएको र विपक्षीलाई सोही आधारमा हटाएको हुँदा सो कुरालाई के कति कारणबाट त्रुटिपूर्ण हुन गएको हो निवेदनमा लेख्न सकेको पाइन्न । विपक्षी ३० दिन भन्दा बढी गयल भएको हुँदा र काजमा पठाएको पत्र समेत बुझ्न इन्कार गरी कारखानाको उत्पादनमा बाधा पर्न गएकोले त्यस्तो अनुशासनहीन मजदुरलाई कारखानामा राखी राख्न समुचित नहुने हुँदा यस कम्पनीको विनियम ५.२५ को उल्लंघन भएकोले विनियम ९.४३ को व्यवस्था बमोजिम कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी विनियम २६(क) को आधारमा हटाएको हुँदा विपक्षीको कुनै पनि हकमा मैले असर पारेको छैन र निवेदनमा लेख्न सकेको पनि नहुँदा रिट निवेदन खारेज गरी पाउँ । विपक्षीको हकमा मैले के कसरी असर पारेको हो रिटनिवेदनबाट खुल्दैन । जहाँसम्म विपक्षी नेपाल टुथ प्रोडक्ट्सको मजदुर भएको भन्ने दावी छ त्यस सम्बन्धमा विपक्षीलाई यस कम्पनीबाट हटाउँदा कुन कानुनको बर्खिलाप भएको छ रिटबाट खुल्दैन । बिदा नदिएको भन्न खोजिएको हो कि भन्नको लागि पनि रिटनिवेदनमा सो लेख्न सकेको छैन । यदि विदाको सम्बन्धमा भन्न खोजिएको हो भने पनि विदा अधिकारको कुरा होइन । सुविधाको हो भनी नियम २६(ख) मा उल्लेख भएको हुँदा विपक्षीको पाकेको विदा बाँकी नभएको र काममा हाजिर नभएबाट सेवाबाट हटाउँदा विपक्षीको कुनै पनि हकमा असर परेको छैन । कुनै पनि व्यक्ति अदालत प्रवेश गर्दा सफा र शुद्ध हात लिई आउनु पर्दछ तर विपक्षी शुद्ध हात लिई प्रवेश गरेको छैन । साथै यस कम्पनीको विनियम ९(४०) मा पुनरावलोकन गर्ने व्यवस्था समेत भएको हुँदा विपक्षीलाई यदि साँच्चै अन्याय नै परेको भए संचालक समितिमा निवेदन दिएको भए विचार हुने नै थियो । तर त्यसो पनि गर्नु भएन तर अन्य विभिन्न निकायमा निवेदन दिएको हुँदा त्यसबाट कम्पनीले विपक्षीलाई हटाएको सम्बन्धमा मैले केही गर्न सक्ने, गर्नु पर्ने अवस्था समेत नभएको हुँदा विपक्षी दूषित हात लिई अदालत प्रवेश गरेको स्पष्ट छ । यसरी विपक्षीले आफ्नो निवेदनमा कुनै संवैधानिक हक वा कुन कानुनी हकमा असर पर्न गएको हो भन्न सकेको छैन र प्राइभेट फर्म वा कम्पनीमा कार्यरत कर्मचारीको नियुक्त र अवकाशबाट कुनै कर्मचारीको कानुनी वा संवैधानिक हकको प्राप्ति र समाप्ती हुन सक्दैन भनी सम्मानीत अदालतबाट सिद्धान्त कायम भएको छ । विपक्षीले काजमा पठाउने निर्णय, बिदा माग गर्दा गर्दै सेवाबाट हटाएको पत्रले संविधानको धारा १०, ११ र १३ ले प्रत्याभूत गरेको हकमा असर पारेकाले उत्प्रेषणको आदेशले बदर गरिपाउँ भन्ने रहेछ जबकी निवेदनको लेखाई अनुसार काजमा पठाउँदा हक हनन् भएको हो वा सेवाबाट हटाउँदा निवेदक आफैं अस्पष्ट भएको र काजमा पठाएको ठाउँमा नगई कम्पनीको आदेश निर्देशनलाई पालन नगरी अनुशासनहीन काम गरी उद्योगको काममा बाधा गरी राख्नु भएको प्राकृतिक न्याय सिद्धान्तको आधारमा एकै पटक स्पष्टीकरण मागी सो सन्तोषजनक नदेखिएकोले विपक्षीलाई सेवाबाट हटाउनु बाहेक अन्य कुनै विकल्प नभएको हुँदा बाध्य भई हटाएकोले (साविक पेज नं. ७६५) विपक्षीको हकमा कुनै असर परेको छैन । तसर्थ विपक्षीको निवेदन स्पष्ट शुद्ध र सफा हात लिई अदालत प्रवेश गरेको नहुँदा एवं विपक्षीको कुनै पनि हकमा आघात परेको नहुँदा विपक्षीलाई हटाएको नियम अनुकूल नै हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी डाइरेक्टर कमलमणी पन्थीको लिखितजवाफ ।
५. विपक्षीले आफ्नो रिटनिवेदनमा नागरिक अधिकारको हनन् भएको कुरा उल्लेख गर्नु भएको छ तर यस विभागको कुन निर्णय वा कारवाहीले निजको नागरिक अधिकार हनन् भयो उल्लेख गर्न सक्नु भएको छैन । काजमा पठाएको वा गयल खारेज गरेकोमा मुद्दा हेरी पूर्पक्ष गर्ने अधिकार क्षेत्र यस विभागलाई ऐन नियमले नदिएको अवस्थामा निवेदन नै नदिई विभागले सुनुवाई नै गरेन भनी विपक्षीले दिएको दावी निराधार छ । साथै यस विभागबाट हटाएको भनी मिति ०४६।६।१७ गते पत्र दिएको भनी विपक्षीले उल्लेख गर्नु भएको सम्बन्धमा यस विभागले कुनै प्रकारको पत्र विपक्षीलाई नलेखेको व्यहोरा अनुरोध गर्दै विपक्षीले दिनु भएको रिटनिवेदन सम्मानीत सर्वोच्च अदालतलाई भ्रममा राख्ने प्रयास मात्र गरेको स्वतः स्पष्ट हुने हुँदा रिटनिवेदनको दावी पुग्ने होइन रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी महानिर्देशक हरिप्रसादको लिखितजवाफ ।
६. विपक्षी यस कम्पनीको मजदूर हुन । तर विपक्षी काजमा पठाएको पद र ठाउँमा नगई गैर हाजीर भएकोले पदबाट हटाउनु परेको हो भने विपक्षी हाजीर हुन नगएको पद र ठाउँमा विष्णुमायालाई २०३६।३।६ को पत्रले २०४६।३।११ देखि काजमा पठाई लगभग एक महिना पछि काज फिर्ता गरिएको थियो । विपक्षीलाई बालाजु औद्योगिक क्षेत्र भित्रको कम्पनीमा काजमा ०४६।१।१३ देखि जानु होला भनी २०४६।१।१२ मा पत्र बुझाउँदा उक्त पत्र बुझ्न इन्कार गरी ०४६।१।१३ गते गैर हाजीर भई ०४६।१।१४ मा बिदा १५ दिनको माग गर्नु भई ०४६।१।२० मा नेपाल टुथ प्रोडक्ट्सका मेनेजिङ डाइरेक्टरलाई अनेक किसिमको आरोप प्रत्यारोप लगाई पत्र पठाउनु भएको भए तापनि कुनै पूर्वाग्रह नराखी पुनः थप बिदाको माग ०४६।१।२९ देखि १५ दिनको र ०४६।२।१३ देखि १५ दिनको समेत गर्नु भएकोले मानवीयताको आधारमा स्वीकृत गरिएको थियो । तर बिदा दिनु कानुनले बाध्यता गरेको छैन । यसै बीच विपक्षी ०४६।२।२७ मा यस कम्पनीको विनियम माग गर्दै अनावश्यक रुपमा यस कम्पनीका मेनेजिङ डाइरेक्टरलाई आरोप लगाइएको देखिन्छ र विपक्षीले त्यस पछि पनि बिदा माग गर्दै आएकोमा विपक्षीको कुनै बिदा बाँकी नभएको भए तापनि मानवीयताको आधारमा बिरामी भनी चिकित्सकको प्रमाणपत्र पेश गरेको हुँदा ०४६।२।३२ सम्म बेतलबी बिदा स्वीकृत भएकोमा काजमा पठाएको ठाउँमा नजाने कहिले के माग्ने कहिले के साथै मेनेजिङ डाइरेक्टरलाई अनेक लान्छनायुक्त पत्र पठाएको हुँदा यस्तो मजदुरलाई कारखानामा राख्नु कारखानाको हितको लागि समुचित नहुने भएबाट एवं ०४६।२।२३ मा उपस्थित हुन आउनु होला भनी पत्र पठाउँदा पठाउँदै पनि हाजिर नभएकोले कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी नियमावली, २०१९ को नियम २६ (ख) बमोजिम ०४६।२।३२ देखि बिदा अस्वीकृत गरी पदबाट अवकाश २६(क) बमोजिम दिएको हो । उपरोक्त व्यहोराबाट विपक्षी साच्चिकै बिरामी भएको भन्न मिल्दैन र त्यसपछि पनि विपक्षीले बिदा माग गरी कारखानामा हाजीर नभएकोले बाध्य भई पदबाट हटाएकोमा विपक्षीका हकमा यस कम्पनीले कुनै असर नपारेको कुरा सम्मानीत अदालत समक्ष सादर अनुरोध गराइन्छ । साथै विपक्षीले रिटनिवेदनको प्रकरण २ मा आफ्नो पतिलाई पत्र बुझ्न पठाएकोमा पत्र नबुझाएको भनिएको रहेछ जबकी विपक्षीले ०४६।१।१२ मा पत्र बुझ्न इन्कार गरेको फिर्ता पठाएको छ र केन्द्रीय कार्यालयमा हाजीर हुन जानु होला भनिएकोछ भन्ने प्रतिवेदन छ भने ०४६।२।३२ मा बिदा समाप्त भएपछि आफू उपस्थित हुनु पर्नेमा ०४६।४।१२ मा पत्र बुझ्न पठाएको कारणबाट (साविक पेज नं. ७६६) विपक्षीको नियत कारखाना प्रति र आफू भन्दा माथिका कर्मचारी प्रति कस्तो रहेछ स्पष्ट हुन्छ । विपक्षीको निवेदनको प्रकरण ४ मा उल्लेखित श्रम कार्यालयमा दिएको निवेदनबाट यस कम्पनीले आफ्नो निर्णय परिवर्तन गर्नु पर्ने कुनै कानुनी विद्यमानता थिएन छैन पनि । २०४६।२।१ देखि विपक्षी गैरकानुनी तरिकाबाट अनुपस्थित भएको आफै स्वीकार गरेको छ भने विपक्षीले आफू बालाजुमा जान नसक्ने कुनै कारण भई कम्पनीलाई शिष्ट भाषामा निवेदन दिएको छु भन्न र लेख्न सक्नु भएको छैन र अवस्था पनि भएन भने पदबाट हटाउनु अघि पनि कुनै प्रमाण भए स्पष्टीकरण दिनुहोस् भनी मागिएको स्पष्टीकरणमा निजले त्यस्तै आरोप बाहेक कुनै सन्तोषजनकको जवाफ नदिएको हुँदा कानुनको परिधिमा रही अवकाश दिन बाध्य हुनु परेको हो । त्यस्तै प्रकरण ६ मा कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐनको दफा ४३(३)(क) को विपरीत भएको भन्नु भएको रहेछ जबकी उक्त ऐनको व्यवस्था कारखाना संचालन नभएको अवस्थामा कर्मचारी जगेडामा राख्नु पर्दाको अवस्थाको हो । तर प्रस्तुत विवादमा विपक्षीलाई काजमा पठाएको हो र त्यसरी काजमा पठाउन नपाउने भनी कहीं कतै भन्न र लेख्न सकेको अवस्था नहुँदा र कम्पनीको विनियमले काजमा पठाउन पाउने नै हुँदा विपक्षीको रिटनिवेदन दुषित भएबाट खोरजभागी छ । विपक्षीको हक काजमा पठाएको कारणबाट हनन् भएको हो वा अवकाश दिएको कारणबाट हो निवेदन नै अस्पष्ट छ । जबकी काजमा पठाउँदा कसैको हकमा असर पर्दैन तर पदबाट हटाएको कारणबाट भन्न खोजिएको हो भने पनि यस कम्पनीले कुन मितिमा के कस्तो निर्णय गरेर विपक्षीलाई हटाएको छ जुन निर्णय कुन कानुनको विपरीत छ निवेदनमा लेख्न सकेको पाइन्न । विपक्षीलाई कुन कानुन के को परिधिमा रही नियुक्त गरिएको थियो र विपक्षीको हक कुन कानुनले स्थापित भएको थियो निवेदनमा उल्लेख छैन । त्यसो हुँदा प्राइभेट फर्म वा कम्पनीको सम्बन्धमा सम्मानीत अदालतबाट रिट जारी गरी परमादेश जारी गरी आएको नहुँदा प्रस्तुत रिटनिवेदन खारेज भागी छ भन्ने समेत विपक्षी रामप्रसाद अर्यालको लिखितजवाफ ।
७. श्रीमती लता काफ्लेले सुरक्षाको ग्यारेण्टी दिलाई दिने सम्बन्धमा यस कार्यालय समेतलाई २०३६।३।४ मा दिएको बोर्धाथ तथा कार्यार्थ निवेदनको सम्बन्धमा नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. पाटन औद्योगिक क्षेत्रको हेडअफिस बागबजारबाट मिति ०४६।६।१३ को पत्रद्वारा श्रीमती लता काफ्लेलाई नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी नियम, २०१९ को नियम २६(क) को उपनियम २ अनुसार मिति २०४६।६।१३ देखि लागू हुने गरी गयल खारिज गरी कारखानाको सेवाबाट हटाएको देखिएकोले गयल खारेज भएकोमा यस कार्यालयबाट कुनै निर्णय दिनु पर्ने कानुनी व्यवस्था नभएको हुँदा निजको निवेदन जिकिर निराधार देखिएको हुँदा खारिज गरिपाउँ भन्ने समेत विपक्षी कारखाना निरीक्षकको लिखितजवाफ ।
८. विपक्षीलाई बालाजु औद्योगिक क्षेत्रमा काजमा पठाएकोमा कम्पनीको आदेश निर्देशलाई नमानी कम्पनीलाई नोक्सानी पार्न बराबर विदा माग गरेको हुँदा अवकाश दिइएको हो । काजमा पठाउने अधिकार छैन भन्न सक्नु भएको पनि छैन । बिदा पनि माग गर्ने र विभिन्न प्रकारको टिका टिप्पणी पनि गर्ने अनि बिदा अस्वीकृत भएको जानकारी पाएपछि पनि काममा नआएको हुँदा कम्पनीको विनियम ५.३५ को उल्लंघन भएबाट विनियम ९.४३ को व्यवस्था एवं कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी नियमको आधारमा विपक्षीलाई पदबाट हटाइएको हो । विपक्षीको कुन संवैधानिक हकमा आघात पार्यो भन्न सकेको पाइदैन यसरी नियम र विनियम कै आधारमा निजलाई अवकाश दिइएको हुँदा रिटनिवेदन खारेज होस भन्ने समेत विपक्षी डाइरेक्टर किशोर खनालको लिखितजवाफ ।
९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश (साविक पेज नं. ७६७) हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री धु्रबलाल श्रेष्ठले निवेदकलाई आफू बिरामी भएको कारण जनाई बिदा माग गरेको सम्म हो उत्पादनमा असर पर्ने सम्मको कुनै काम भएको छैन । निवेदक माथि कलुषित भावना राखी नियुक्ति पाएको पद भन्दा छैठौं तह माथिको पदमा त्यो पनि अर्कै कारखाना र अर्कै ठाउँमा मेरो हैसियतले नभ्याउने गरी काजमा पठाइएको नियमले पनि मिल्दैन । म नियुक्ति पाएकै कारखानामा काम गर्न मन्जुर नै छु । मलाई कारखानाको विनियम पनि दिइएन । अवकाश र स्पष्टीकरणमा बिदाको कारणबाट बर्खास्त गरेको पनि देखिँदैन । अतः रिटनिवेदन जारी होस भन्ने र विपक्षीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले कम्पनीको कामका लागी कुनै पनि ठाउँमा पठाउन सकिन्छ भन्ने कुरा नियुक्तिको शर्तमा नै छ । खटाएको ठाउँमा पनि नजाने र ३० दिन भन्दा बढी सूचना नदिई गयल खारेज भएबाट निवेदकलाई अवकाश दिइएको नियम बमोजिम नै छ । अन्याय परेको भए निवेदक संचालक समिति समक्ष जानु पथ्र्यो । सो पनि नगरेबाट रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेतको बहस जिकिर प्रस्तुत गर्नु भयो ।
१०. अब यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन सो को निर्णय दिनु परेको छ ।
११. निर्णयतर्फ विचार गर्दा यसमा नेपाल टुथ प्रोडक्ट्सन प्रा.लि. को कर्मचारी एवं मजदुर सम्बन्धी प्रशासन विनियमको विनियम ९(४०) र ९(४१) मा पुनरावलोकनको व्यवस्था भएको पाइन्छ । निवेदकले आफूलाई बर्खास्त गरे उपर उक्त उपचारको बाटोको अवलम्बन गर्न सकेको पाइएन । यसको कारण विनियम जस्तो कुरा साधारण मजदुरको जानकारीमा हुन्छ नै भन्न पनि सकिन्न । त्यसमा पनि विपक्षी प्रा.लि. बाट निवेदकले विनियम माग गरेकोमा सो विनियम दिलाइएको वा सो को व्यवस्थाको जानकारी निवेदकलाई गराइएको भन्ने फाइलबाट कतै देखिन आएन । यस स्थितिमा निवेदकले विकल्पको बाटो अपनाएन भनी निजलाई दोषारोपण गर्न पाइन्न । निवेदकलाई दिइएको मिति २०४६।६।१३ को बर्खासी पत्रमा पुनरावलोकनको लागि संचालक समिति समक्ष निवेदन गर्न जानु भनी उल्लेख गरी सूचीत गरिएको नभएमा निवेदकलाई सो बाटोको जानकारी हुनु पर्ने पूर्वावस्था हुन आवश्यक छ । तसर्थ उक्त विनियमको विनियम ९(४०) र ९(४१) बमोजिम गर्नु भनी रिट निवेदकलाई सूचना दिनु भनी विपक्षी नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. का नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.केदारनाथ उपाध्याय
इति सम्वत् २०४८ साल पौष १ गते रोज २ शुभम् ।