निर्णय नं. १०४८७ - वैदेशिक रोजगार कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
फैसला मिति : २०७५।९।१६
०७५-CR-०४५६
मुद्दाः वैदेशिक रोजगार कसुर
पुनरावेदक / वादी : मिनबहादुर घलेको छोरा जिल्ला धादिङ गुम्दी गा.वि.स वडा नं. ५ बस्ने ठाकुर घलेसमेत
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : किर्तिमान गुरूङको छोरी जिल्ला गोरखा,थालाजुङ बर्दिबास गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला काठमाडौं, धापासी गा.वि.स. वडा नं.१ डेरा गरी बस्ने ललितपुर बागडोलस्थित कार्यालय रहेको Worldwide Asian Manpower Service Pvt. Ltd. तत्कालीन सेयरधनी लक्ष्मी गुरूङ
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम इजाजतपत्रवालाले विभागबाट स्वीकृति लिई वैदेशिक रोजगारीमा नपठाएको भन्ने कसुर ठहर भइसकेको अवस्थामा प्रतिवादीको नाममा रहेको इजाजतपत्रको वैधता कायम रहिरहने कुरा ऐनको अनुकूल हुन नसक्ने ।
वैधानिक अस्तित्व नै समाप्त भइसकेको इजाजतपत्र अरू व्यक्तिको नाममा नामसारी भएकोमा त्यसले वैधता प्राप्त गर्न नसक्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
वैदेशिक रोजगार ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः
माननीय अध्यक्ष श्री सत्यराज गुरूङ
सदस्य श्री देवेन्द्रराज ढकाल
वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
हामी जाहेरवालाहरूलाई प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगारका लागि तान्जानिया मुलुकमा पठाइ दिन्छु भनी निजको अफिसमा Worldwide Asian Manpower Service private Limited (इजाजत नं. ७५०) बसुन्धारामा बसी मिति २०६९।०६।३० का दिन हामीहरू ठाकुर घलेबाट रू.३,२५,०००।- चन्द्रबहादुर पाण्डेबाट रू.८७,०००।– कृष्णबहादुर तामाङबाट रू.२,५२,०००।–, फूलबहादुर तामाङबाट रू.२,३९,०००।–, रामचन्द्र पोखरेलबाट रू.२,०९,०००।-, राजु घिमिरेबाट रू.२,३५,०००।- नारायणकाजी मगरबाट रू.९०,०००।-, मानबहादुर थापाबाट रू.२,३५,०००।-, मंगलबहादुर गुरूङबाट रू.२,१८,०००।-, सुरेश वाईबाबाट मिति २०६८।०९।०५ मा रू.३,००,०००।- र गणेशकुमार पाण्डेबाट २०६९।०५।२९ मा आफैँलाई भुक्तानी हुने गरी दिएको चेकबाट रू.४,५०,०००।- लिई रसिद कागजसमेत बनाई दिई वैदेशिक रोजगारीको लागि तान्जानिया नपठाई लिएको रकमसमेत फिर्ता नदिई भागी हिँडेकोले Worldwide Asian Manpower Service Private Limited (इजाजत नं. ७५०) का तत्कालीन सञ्चालक लक्ष्मी गुरूङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरी बिगो तथा हर्जानासमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको जाहेरवालाहरू ठाकुर घलेसमेत जना ११ को संयुक्त जाहेरी दरखास्त ।
निजहरू जाहेरवालाहरूलाई तान्जानिया भने पनि दुबईको सेक्युरिटी गार्डमा पठाउने भनी लिएको रू.२६,००,०००।- रकममध्येका जाहेरवालाहरू ठाकुर घलेको रू.२,७०,०००।- सुरेश वाईबाको रू.१,६०,०००।- गणेशकुमार पाण्डेको रू. ३,००,०००।- रकम मात्र बाँकी छ । निजहरूको अरू रकम तुम्लिङटार प्रहरी चौकीमा बुझाएको हो । अन्य उजुरीकर्ताहरूले पेस गरेको रकम सही हो र म तिर्ने छु भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगार विभागमा गरेको बयान ।
प्रतिवादी लक्ष्मी गुरूङले जाहेरवालाहरू ठाकुर घलेबाट रू.३,२५,०००।–, कृष्णबहादुर तामाङबाट रू.२,५२,०००।–, फुलकुमार तामाङबाट रू.२,३९,०००।-, चन्द्रबहादुर पाण्डेबाट रू.८७,०००।-, रामचन्द्र पोखरेलबाट रू.२,०९,०००।-, राजु घिमिरेबाट रू.२,३५,०००।- नारायणकाजी मगरबाट रू.९०,०००।-, मानबहादुर थापाबाट रू.२,३५,०००।–, मंगलबहादुर गुरूङबाट रू.२,१८,०००।–, सुरेश वाईबाबाट मिति २०६८।०९।५ मा रू.३,००,०००।- र गणेशकुमार पाण्डेबाट मिति २०६९।५।२९ आफैँलाई भुक्तानी हुने गरी दिएको चेकबाट रू.४,५०,०००।- लिई Worldwide Asian Manpower Service Private Limited को नामको सक्कल रसिद संलग्न रहेको ।
प्रतिवादी लक्ष्मी गुरूङ Worldwide Asian Manpower Service Pvt. Ltd. (इजाजत नं. ७५०) को सञ्चालक देखिएका, निजले आफ्नो उक्त मेनपावर कम्पनी बिक्री गरिसकेको भने तापनि वैदेशिक रोजगार विभागको मिति २०६९।१०।१७ मा मात्र उक्त कम्पनी कानूनीरूपमा बखतबहादुर राईको नाममा हस्तान्तरण भई गएको देखिएको छ । यी प्रतिवादीले Worldwide Asian Manpower Service Pvt. Ltd. को रसिद प्रयोग गरी रकम बुझिलिएको, मिति २०६९।०६।३० सम्म प्रतिवादी लक्ष्मी गुरूङ नै उक्त मेनपावरको कानूनी रूपमा सञ्चालक देखिन आएको, रकम लिएको कुरामा प्रतिवादी लक्ष्मी गुरूङले स्वीकार गरेको र जाहेरवालाहरूको रकम फिर्ता गरिसकेको हो भनी जिकिर लिए तापनि उक्त रकमको कुनै भरपाइ कागज पेस गर्न सकेको नदेखिएकोसमेतका आधार प्रमाणहरूबाट प्रतिवादी लक्ष्मी गुरूङले जाहेरवालाहरूलाई वैदेशिक रोजगारको लागि तान्जानिया मुलुकमा पठाइदिन्छु भनी झुठ्ठा आश्वासन प्रलोभनमा पारी जाहेरवालाहरूलाई भनेबमोजिमको मुलुकमा नपठाई बुझिलिएको रकमसमेत फिर्ता नगरेको हुँदा निज प्रतिवादी लक्ष्मी गुरूङको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ विपरीतको कसुर अपराध भए गरेको देखिँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ४४ बमोजिमको बिगो रकम र सोको ५०% ले हुन आउने हर्जानासमेत गरी जम्मा रू.३९,६०,०००।- (उनन्चालिस लाख साठी हजार रूपैयाँ) प्रतिवादी लक्ष्मी गुरूङबाट तपसिलका जाहेरवालाहरूलाई दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
तपसिल
क्र.सं. जाहेरवालाको नाम, थर बिगो (रू.) ५०% हर्जाना (रू.) जम्मा (रू.)
१. ठाकुर घले ३,२५,०००।- १,६२,५००।- ४,८७,५००।-
२. कृष्णबहादुर तामाङ २,५२,०००।- १,२६,०००।- ३,८७,०००।-
३. फुलबहादुर तामाङ २,३९,०००।- १,१९,५००।- ३,५८,५००।-
४. चन्द्रबहादुर पाण्डे ८७,०००।- ४३,५००।- १,३०,०००।-
५. रामचन्द्र पोखरेल २,०९,०००।- १,४०,५००।- ३,१३,५००।-
६. राजु घिमिरे २,३५,०००।- १,१७,५००।- ३,५२,५००।-
७. नारायण काजी मगर ९०,०००।- ४५,०००।- १,३५,०००।-
८. मानबहादुर थापा २,३५,०००।- १,१७,५००।- ३,५२,५००।-
९. मङ्गलबहादुर गुरूङ २,१८,०००।- १,०९,०००।- ३,२७,०००।-
१०. सुरेश वाईबा ३,००,०००।- १,५०,०००।- ४,५०,०००।-
११. गणेशकुमार पाण्डे ४,५०,०००।- २,२५,०००।- ६,७५,०००।-
जम्मा २६,४०,०००।- १३,२०,०००।- ३९,६०००।-
जाहेरवालाहरूबाट लिएको रकममध्ये केही बुझाइसकेको छु भनी प्रतिवादीले जिकिर लिएको भए पनि सो तथ्य पुष्टि हुने प्रमाण प्रतिवादीले दिन सकेको देखिँदैन र भनेबमोजिमको मुलुकमा जाहेरवालाहरूलाई नपठाएको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको हुँदा उल्लिखित तथ्य प्रमाणहरूले प्रतिवादीले वैदेशिक रोजगार ऐन, २०६४ दफा ४४ बमोजिमको कसुर गरेको पुष्टि भएकोले अभियोग दाबीबमोजिम निज प्रतिवादीलाई ऐ. ऐनको दफा ४४ ले ३ वर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना भई जाहेरवालाहरूले दाबीबमोजिम बिगो र हर्जानासमेत भरी पाउने ठहर्छ भन्ने वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंबाट मिति २०७५।०१।१० मा भएको फैसला ।
प्रतिवादी लक्ष्मी गुरूङलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को कसुर ठहर गरी सोही ऐनको दफा ४४ बमोजिमको सजाय ३ वर्ष कैद र रू.३ लाख रूपैयाँ जरिवाना तथा अभियोग दाबीबमोजिम बिगो र सोको पचास प्रतिशत हर्जाना रकम जाहेरवालाले भरी पाउने ठहर गरी भएको हदसम्मको फैसला मिलेको देखिए तापनि ऐजन दफा ४४ को कसुर ठहर गरी सो दफाबमोजिम इजाजतपत्र प्राप्त बाहक प्रतिवादीको इजाजतपत्र रद्द नभएको हदसम्मको फैसलाउपर पुनरावेदन गरिएको छ ।
प्रस्तुत मुद्दामा प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगार व्यवसाय गर्न Worldwide Asian Manpower Service Pvt. Ltd. नामको संस्था दर्ता गरी सो संस्थामार्फत जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा पठाउँछु भनी झुट्टा आश्वासन र प्रलोभन दिई देखाई रकम लिई नपठाएकोमा जाहेरी परेकोमा वैदेशिक रोजगार विभागले अनुसन्धान गरी दायर गरेको अभियोग मागदाबीबमोजिम वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसुर गरेको वैदेशिक रोजगार न्यायाधिकरणबाट ठहर भई निज प्रतिवादीलाई सोही ऐनको दफा ४४ बमोजिम ३ वर्ष कैद र रू.३ लाख रूपैयाँ जरिवाना हुने तथा अभियोग दाबीबमोजिमको बिगो र सोको ५० प्रतिशत हर्जाना रकमसमेत निज प्रतिवादीबाट जाहेरवालाले भराई पाउने गरी फैसला भएको अवस्था छ । ऐ.ऐनको दफा ४४ बमोजिमको कसुर ठहर भइसकेपछि ऐ.दफामा त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द हुने छ भन्ने कानूनी व्यवस्था भएकोमा वैदेशिक रोजगार न्यायाधिकरणबाट निज प्रतिवादीको नाउँमा दर्ता भएको उक्त संस्था Worldwide Asian Manpower Service Pvt. Ltd. को इजाजतपत्रसमेत रद्द हुनुपर्ने तर्फ केही नबोलिएकोले सो हदसम्मको उक्त फैसला मिलेको नदेखिँदा सो हदसम्म उक्त फैसला त्रुटिपूर्ण छ बदर गरी इजाजतपत्रवाला प्रतिवादी लक्ष्मी गुरूङको नाम दर्ता भएको Worldwide Asian Manpower Service Pvt. Ltd.को इजाजतपत्रसमेत रद्द गरिपाउँ भन्ने बेहोराको पुनरावेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्टले यी प्रतिवादीउपर वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसुर गरेको ठहर गरी निज प्रतिवादीलाई सोही ऐनको दफा ४४ बमोजिम ३ वर्ष कैद र रू.३ लाख रूपैयाँ जरिवाना हुने र अभियोग दाबीबमोजिमको बिगो र सोको ५० प्रतिशत हर्जाना रकमसमेत निज प्रतिवादीबाट जाहेरवालाले भराई पाउने गरी गरेको फैसला मिलेको देखिए तापनि ऐजन दफामा इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द गर्नु व्यवस्था रहेकोमा सोसम्बन्धमा फैसलामा केही नबोलिएको हुँदा इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द गरिपाउँ भनी बहस गर्नु भयो ।
अब प्रस्तुत मुद्दामा पुनरावेदक नेपाल सरकारको मागबमोजिम Worldwide Asian Manpower Service Pvt. Ltd. को इजाजतपत्र रद्द हुनुपर्ने हो वा होइन ?
प्रतिवादी लक्ष्मी गुरूङलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को कसुर ठहर गरी सो दफाबमोजिम कैद, जरिवाना, बिगो र हर्जानासमेत हुने गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट फैसला भएकोमा ऐ.दफाबमोजिम इजाजतपत्र रद्दसमेत हुनुपर्नेमा सो सम्बन्धमा फैसलामा नबोलिएकोले इजाजतपत्रसमेत रद्द गरिपाउँ भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन परेको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष उपस्थित नभई फरार रहेको भए तापनि अनुसन्धानको क्रममा बयान गर्दा निजहरू जाहेरवालाहरूलाई तान्जानिया भने पनि दुबईको सेक्युरिटी गार्डमा पठाउन भनी लिएको रू.२६,४०,०००।- रकममध्येमा ठाकुर घलेको रू २,७०,०००।-, सुरेश वाईबाको रू.१,६०,०००।– र गणेशकुमार पाण्डेको रू.३,००,०००।– मात्र दिन बाँकी छ । निजहरूको अरू रकम तुम्लिङटार प्रहरीमा बुझाएको हो । बाँकी जाहेरवालाहरूले पेस गरेको रकम सही हो र म तिर्ने छु भन्नेसमेत बयानमा उल्लेख गरेको देखिन्छ ।
३. निजको सो साबिती बयानलाई निजको नाममा रहेको वैदेशिक रोजगार गर्ने इजाजत प्राप्त Worldwide Asian Manpower Service Pvt. Ltd. दर्ता रहेको तथ्य, जाहेरवालाहरू ठाकुर घले, कृष्ण तामाङ, फुलबहादुर तामाङ, चन्द्रबहादुर पाण्डे, हरिश्च न्यौपान, राजु घिमिरे, मनमाया वाइवा, नारायणकाजी मगर, मानबहादुर थापा, मगल गुरूङ र गणेशकुमार पाण्डेसमेत जना ११ ले मेनपावर सञ्चालक लक्ष्मी गुरूङले हामीलाई वैदेशिक रोजगारमा तान्जानिया पठाइदिन्छु भनी रू.२६,४०,०००।– लिई भागी हिँडी हाम्रो रकमसमेत फिर्ता नगरेकाले कारबाही गरिपाउँ भनी दिएको किटानी जाहेरी तथा Worldwide Asian Manpower Service Pvt. Ltd. का सञ्चालक लक्ष्मी गुरूङले जाहेरवालाहरू गणेशकुमार पाण्डेबाट चेकमार्फत मिति २०६९।०५।२९ मा रू.४,५०,०००।– र सुरेश वाइवा तामाङबाट मिति २०६८।०९।०५ मा रू.३,००,०००।-, मिति सन् २०१२ अक्टोबर १६ तदनुसार वि.सं.२०६९।६।३० मा राजु घिमिरेबाट रू.२,३५,०००।-, रामचन्द्र पोखरेलबाट रू.२,०९,०००।-, मंगलबहादुर गुरूङबाट रू.२,१८,०००।-, मानबहादुर थापाबाट रू.२,३५,०००।–, नारायण काजी मगरबाट रू.९०,०००।-, चन्द्रबहादुर पाण्डेबाट रू.८७,०००।–, फुलबहादुर तामाङबाट रू.२,३९,०००।-, कृष्णबहादुर तामाङबाट रू.२,५२,०००।-, ठाकुर घलेबाट रू.३,२५,०००।- रकम लिएको जाहेरवालाहरूले पेस गरेको Worldwide Asian Manpower Service Pvt. Ltd. को रसिदमार्फत देखियो ।
४. यहाँ कम्पनी रजिस्ट्रारको कार्यालयमा Worldwide Asian Manpower Service Pvt. Ltd. मिति २०६४।१०।१४ मा जिल्ला गोरखा थालाजुङ गा.वि.स. वडा नं. ७ का लक्ष्मी गुरूङको नाममा दर्ता भएकोमा उक्त प्रा.लि.को सेयर Worldwide Asian Manpower Service Pvt. Ltd. को सञ्चालक समितिको मिति २०६९।१०।१७ निर्णयानुसार कम्पनी रजिस्ट्रार कार्यालयमा मिति २०६९।१०।१७ मा जिल्ला सोलुखुम्बु काबु गा.वि.स. वडा नं.१ का बखतबहादुर राईको नाममा नामसारी भई गएको देखिन्छ ।
५. वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ मा कुनै इजाजतपत्रवालाले विभागबाट स्वीकृति नलिई कामदार विदेश पठाएमा वा कुनै इजाजतपत्रवालाले कसैलाई वैदेशिक रोजगारमा लगाइदिनेछु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेश नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम भराई त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँ जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ र त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्रसमेत रद्द हुनेछ भन्ने व्यवस्था रहेको पाइन्छ ।
६. यसरी जाहेरवालाहरूबाट प्रतिवादी लक्ष्मी गुरूङले उल्लिखित रकम लिएको रसिद र चेकबाट देखिनुको साथै निज प्रतिवादीले बयानको क्रममा समेत पठाउने देश तान्जानिया भने पनि दुबईको सेक्युरिटी गार्डमा पठाउन रकम लिएको भनी स्वीकार गरेको देखिँदा प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को कसुर गरेको देखिन आयो ।
७. वैदेशिक रोजगार न्यायाधिकरणको फैसलामा Worldwide Asian Manpower Service Pvt. Ltd. को इजाजतपत्र रद्द गर्ने सम्बन्धमा केही नबोलिएकोमा इजाजतपत्र रद्द गरिपाउँ भनी पर्न आएको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, निज प्रतिवादी लक्ष्मी गुरूङले जाहेरवालाहरूसँग मिति २०६९।६।३० सम्ममा उल्लिखित सम्पूर्ण रकम लिइसकेको पाइन्छ । त्यसैगरी Worldwide Asian Manpower Service Pvt. Ltd. को सेयर मिति २०६९।१०।१७ मा मात्र बखतबहादुर राईको नाममा कानूनीरूपमा नामसारी भएको अवस्था देखिन्छ । Worldwide Asian Manpower Service Pvt. Ltd. ले जाहेरवालाहरूलाई विदेश पठाउने भनी मिति २०६९।६।३० मा सम्पूर्ण रकम लिई विदेश पठाउन नसकेको समयमा सो कम्पनी प्रतिवादी लक्ष्मी गुरूङकै नाममा दर्ता रहेको र सोही समयमा नै कसुरदार भएको र त्यसपछि मात्र मिति २०६९।१०।१७ मा मात्र उक्त कम्पनीको सेयर बखतबहादुर राईको नाउँमा हस्तान्तरण भएको देखिन्छ । मिति २०६९।१०।१७ मा गएर उक्त कम्पनीको सेयर हस्तान्तरण भएको भनी उक्त कम्पनीको तर्फबाट मिति २०६९।६।३० मा भएको गैरकानूनी कार्य र सोको अस्तित्वले कानूनी मान्यता पाउन सक्ने अवस्था हुँदैन । प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगारसम्बन्धी कसुर गर्दाको अवस्थामा उक्त प्रा.लि.को सेयर स्वामित्व स्वयम् प्रतिवादी लक्ष्मी गुरूङको नै नाममा रहेको देखिँदा प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसुर गरेको भनी पुष्टि भएर कसुरदार ठहर भइसकेको अवस्थामा निजको नाममा रहेको Worldwide Asian Manpower Service Pvt. Ltd. को इजाजतपत्र भने वैधता कायम रहिरहने कुरा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को अनुकूल हुन सक्दैन । यसरी वैधानिक अस्तित्व नै समाप्त भइसकेको समयमा इजाजतपत्र अरू व्यक्तिको नाममा नामसारी भएपनि त्यसले वैधता प्राप्त गर्न सक्दैन ।
८. अतः प्रतिवादी लक्ष्मी गुरूङले उल्लिखित तथ्यबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ विपरीत कसुर गरेको पुष्टि भएकोले निज प्रतिवादी लक्ष्मी गुरूङलाई ऐ. ऐनको दफा ४४ बमोजिम ३(तीन) वर्ष कैद र रू.३,००,०००।– (तीन लाख रूपैयाँ) जरिवाना तथा जाहेरवालाहरूको दाबीबमोजिमको बिगो र हर्जानासमेत भरी पाउने ठहर्याउने गरी वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला सदर हुने ठहर्छ । साथै वैदेशिक रोजगार पठाउन पाउने गरी इजाजतपत्र प्राप्त इजाजतपत्रवालालाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ अनुसार सजाय भएमा स्वत: निजको इजाजतसमेत रद्द हुने कानूनी व्यवस्थाबमोजिम तत्कालीन अवस्थामा निज प्रतिवादी लक्ष्मी गुरूङको नाममा रहेको देखिँदा, उक्त Worldwide Asian Manpower Service Pvt. Ltd. को इजाजत पत्र नं. ७५०।०६४।६५ को इजाजतपत्रसमेत रद्द हुने ठहर्छ । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः- मिलनचन्द्र महत
इति संवत् २०७५ साल पौष १६ गते रोज ४ शुभम् ।