शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०४९२ - डाँका

भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीरा खडका

माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही

फैसला मिति : २०७५।५।३१

०७१-CR-१६६०

 

मुद्दा : डाँका

 

पुनरावेदक / वादी : देवेन्द्रबहादुर कार्कीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : इन्द्रबहादुर तामाङको छोरा जिल्ला उदयपुर, चौदण्डी गा.वि.स. वडा नं. ३ पाल्पाली टोल बस्ने हिरालाल तामाङसमेत

 

एकै जाहेरवालाको घर र पसलमा एउटै मिति र केही समयको अन्तरालमा एउटै योजनाअनुसार एकै प्रतिवादीहरूको समूहबाट वारदात भएको र सो सम्बन्धमा एउटै जाहेरी परी सोही आधारमा अनुसन्धानसमेत भई प्रस्तुत मुद्दा दायर भएको देखिनाले प्रस्तुत मुद्दामा मुलुकी ऐन चोरीको महलको ११ नं. बमोजिम प्रतिवादीहरूको त्यस्तो कार्यलाई पटके अपराध कायम गर्न नमिल्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०६७, अङ्क २, पृष्ठ २४७, नि.नं. ८३१४

सम्बद्ध कानून :

 

सुरू फैसला गर्ने :

मा. न्या. श्री नारायणप्रसाद धिताल

उदयपुर जिल्ला अदालत

पुनरावेदन फैसला गर्ने : 

मा.न्या. श्री यज्ञप्रसाद बस्याल

मा.न्या. श्री राजेश्‍वर तिवारी

पुनरावेदन अदालत राजविराज

 

फैसला

न्या.डम्बरबहादुर शाही : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ ।

सुरू जाहेरी, प्रतिवादीको बयान, साक्षीको बकपत्र, अभियोग पत्रलगायतका मुद्दाको सम्पूर्ण तथ्य, सुरू जिल्ला अदालतको फैसला एवं पुनरावेदन अदालत राजविराजको फैसलाको बेहोरासमेत सोही अदालतबाट भएको मिति २०७१।०६।२९ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन ।

 

यस अदालतको निर्णय

प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीहरू हिरालाल तामाङ, टेकबहादुर तामाङ, सुजन भन्‍ने भोजबहादुर मगर, छवि विष्‍टलाई मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ६ नं. को कसुर अपराधमा ऐ. महलको १४(४) नं.बमोजिम सजाय गरी बरामद भई आएको रू.५५,५००।- पर्ने सुनको सिक्री ऐ. महलको २१ नं. बमोजिम जाहेरवालालाई फिर्ता दिलाई डाँका भएको बाँकी बिगो रू.५५,०००।- ऐ. महलको १० नं. बमोजिम यिनै प्रतिवादीहरूबाट जाहेरवालालाई भराई, देवेन्द्रबहादुर कार्कीको जाहेरीले नेपाल सरकार वादी भई यिनैउपर चलेको डाँका मुद्दा सम्मानित अदालतमा मिति २०६७।०७।११ मा पेस गरिसकेकोले प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले दोस्रो पटक डाँका गरेको देखिँदा दोस्रो पटकको पटके कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा यिनै जाहेरवालाको पसल र घरको दूरी ५ मिनेटको रहेको देखिएकोले दोस्रो पटकको डाँका गरेको भन्ने अभियोग दाबी पुग्न नसक्ने र प्रतिवादी छवि विष्टको हकमा तामेलीमा र अर्का प्रतिवादी टेकबहादुर तामाङको हकमा मुल्तबी रहने भनी डाँका मुद्दामा फैसला भएकाले यसमा प्रतिवादीहरूले चोरी गरेको सुनको गहनाको बिगो रू.१,११,०००।- चोरी गरेको पुष्टि हुँदा प्रतिवादीहरूलाई चोरीको बिगोको डेढी रू. १,६६,५००।- दामासाहीले जरिवाना हुने, प्रतिवादी छवि विष्‍टको हकमा तामेली र अर्का प्रतिवादी टेकबहादुर तामाङ फरार रहेकोले निजको हकमा मुल्तबी रहने ठहर्‍याई सुरू उदयपुर जिल्ला अदालतले मिति २०६९।०६।०८ मा फैसला भएको देखियो ।

उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत राजविराजमा पुनरावेदन परेकोमा पुनरावेदन अदालत राजविराजबाट सुरू फैसला केही उल्टी गरी प्रस्तुत वारदातलाई डाँकाको दोस्रो पटकको वारदात कायम गर्न नमिल्ने तर जरिवानाको हकमा बिगो रू.१,११,०००।– को डेढीले हुने रू. १,६६,५००।– प्रतिवादीहरूलाई जनही जरिवानासम्म हुने ठहर्‍याई भएको फैसलाउपर वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।

 वादी नेपाल सरकारको प्रस्तुत पुनरावेदनपत्रमा प्रतिवादीहरूले जाहेरवालाको पसलमा डाँका गरी ५ मिनेटको दूरीमा भएको निज जाहेरवालाको मूलघरमा दोस्रो पटक डाँका गरेको अवस्थामा वारदात मुलुकी ऐन, चोरीको महलको १४(४) नं. को कानूनी व्यवस्थाको मर्मबमोजिम नै पटके अपराध कायम गर्नुपर्ने वारदात भएकोमा दोस्रो पटकको डाँका चोरीको वारदातलाई पटके कायम नगरेको हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदन जिकिर लिएको देखिन्छ । 

पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले प्रतिवादीहरू स्वयम्‌ले नै जाहेरवालाको पसलमा चोरी गरिसकेपछि पुनः निजको घरमा गई गहनाहरूसमेत चोरी लुटी भागेको भनी कसुरमा साबित भई बयान गरेकोबाट प्रतिवादीहरूले फरक समयमा फरक स्थानमा चोरी गरेको पुष्टि हुन्छ । तसर्थ प्रस्तुत वारदातलाई मुलुकी ऐन, चोरीको महलको १४(४) नं. को कानूनी व्यवस्थाको मर्मबमोजिम नै पटके अपराध कायम गरी दोस्रो पटकको डाँका चोरीको वारदातलाई पटके कायम गरी सजाय गर्नुपर्नेमा सो नगरेको हुँदा सो हदसम्मको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

विद्वान्‌ सहन्यायाधिवक्ताको बहसलगायत सुरू, रेकर्ड मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।०६।२९ मा भएको फैसला मिलेको छ वा छैन र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, हिरा तामाङ, टेकबहादुर तामाङ, सुजन मगर, छवि विष्ट र अन्य नचिनेका ४ जना गरी ८ जनाको समूह आई जाहेरवाला देवेन्द्रबहादुर कार्कीको पसलमा धाकधम्की दिई डाँका गरी त्यसको आधा घण्टापछि श्रीमती, आमाहरू सुत्‍ने गरेको अर्को घरमा गई डेढ तोलाको, कानमा लगाएको सुनको रिङसमेत जम्मा ३ तोला सुनको गहनासमेत जम्मा रू.२,२०,१५०।- मूल्य बराबरको धनमालहरू डाँका गरी लगेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने जाहेरी दरखास्त परेकोमा जाहेरवाला देवेन्द्रबहादुर कार्कीले अदालतसमक्ष उपस्थित भई गरेको बकपत्रमा प्रतिवादीहरू हिरालाल तामाङसमेत भई मेरो पसलमा पसी बन्दुक तेर्स्याएर पसलमा रहेको हाफपाइन्टको गोजीमा रहेको नगद रू.८५,०००।– टेबल र्‍याकमा रहेको रू. ६,०००।-, मोबाइल सेट, घरमा आमाको १ थान सिक्री, २ थान रिङ र पत्नीको २ थान रिङ डाँका गरी लगेको भन्ने बेहोरा उल्लेख गरेको देखियो ।

३. जाहेरवालाको श्रीमती रूक्मा कार्कीले निजको श्रीमान्‌को पसल मूलघरदेखि ५/६ मिनेट पर रहेका र हामी मूलघरमा नै सासू मदनकुमारी कार्की र मसहित सुतिरहेको बेला प्रतिवादीहरू हिरालाल तामाङसहित चिनेका ४ जना र अपरिचित ७/८ जनासमेत आई पेस्तोल, छुरीसमेत देखाई बोल्न चल्नसमेत नदिई सासूको गलामा लगाइरहेको डेढ तोला सुनको सिक्री, १ तोला सुनको कानमा लगाउने रिङ, १ जोर मेरो कानमा लगाइरहेको आधा तोला सुनको रिङसमेत जबरजस्ती लुटी डाँका गरी लगेका हुन्‌ र निजहरूले मेरो पति देवेन्द्रबहादुर कार्की बस्ने पसलबाट समेत जाहेरीमा लेखिएका नगद तथा अन्य धनमालहरू डाँका गरी लगेका हुन् भन्ने बेहोराको कागज गरेको देखियो । त्यस्तै जाहेरवालाको आमा मदनकुमारी कार्कीले प्रतिवादीहरू हिरालाल तामाङ, टेकबहादुर तामाङ, सुजन भन्‍ने भोजबहादुर मगर, छवि विष्‍टसहित अन्य ४/५ जना मानिसहरू आई छोरा बसेको पसलमा पेस्तोल, छुरी, लठ्ठीसमेतका हतियार देखाई पसल तथा घरमा भएको धनमालहरू डाँका गरी लगी त्यहाँबाट ५/६ मिनेट पर रहेको हामी बस्ने गरेको घरमा आई यिनै प्रतिवादीहरूले पेस्तोल, छुरी, लाठी देखाई बोले कराएमा मारी दिने धम्की दिई मेरो साथबाट डेढ तोला सुनको सिक्री थान-१, एक तोला सुनको कानमा लगाउने रिङसमेत डाँका गरी लगेका हुन् भन्ने बेहोराको कागज गरेको देखियो ।

४. प्रतिवादी सुजन भन्ने भोजबहादुर मगर र हिरालाल तामाङले अनुसन्धान अधिकारी र अदालतसमक्ष उपस्थित भई जाहेरवालाको पसलमा गई नगद र अन्य सामानहरू डाँका गरी निजको घरमा लगतै गई बुढी आमा र बुहारीले लगाएको सुनको गहनाहरू लगेका हौं भनी एकै मिलानको बयान गरेको देखियो ।

५. माथि उल्लिखित जाहेरी, प्रतिवादीहरूको बयान, जाहेरवालाको श्रीमती र आमाले गरेको कागजसमेतबाट मिति २०६७।०६।०४ गते रातको अन्दाजी ११:३० बजेको समयमा जाहेरवालाको पसलमा प्रतिवादीहरू जबरजस्ती पसी पसलभित्रको नगद र सामग्रीहरू जबरजस्ती लुटी तोडफोड गरी लिई गई त्यसको आधा घण्टापछि निजको श्रीमती, आमाहरू सुत्‍ने गरेको अर्को घरमा गई सुनको गहनासमेतका धनमालहरू डाँका गरी लगेको देखियो । 

६. अब प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले दोस्रो पटक डाँका गरेको देखिँदा दोस्रो पटक कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकोमा सो अभियोग दाबीअनुसार प्रतिवादीहरूको उक्त अपराध पटके हो वा होइन भन्ने सन्दर्भमा मात्र सीमित रही प्रस्तुत पुनरावेदन सम्बन्धमा विचार गर्नुपर्ने 

देखियो । प्रतिवादीहरूले अनुसन्धानको क्रममा र अदालतमा समेत उपस्थित भई गरेको बयान, जाहेरवालाको जाहेरीलगायतका मिसिल संलग्न अन्य प्रमाणहरूबाट एउटै समूहका प्रतिवादीहरूबाट एकै जाहेरवालाको पसलमा र केही समयको अन्तरालपछि निजको घरमा एउटै मितिमा वारदात भएको र सो सम्बन्धमा एउटै जाहेरी परी सोही आधारमा अनुसन्धानसमेत भई प्रस्तुत मुद्दा दायर भएको देखियो । यसमा प्रतिवादीहरूले सो अपराध गर्नको लागि अलग-अलग समयमा अलग-अलग योजनासमेत बनाएको कुरा मिसिल संलग्न कागजातहरूबाट देखिएन । यसरी प्रस्तुत मुद्दामा चोरीको महलको १४(४) नं. बमोजिम प्रतिवादीहरू उक्त डाँकाको वारदातलाई दोस्रो पटकको वारदात मान्न मिल्ने देखिएन । यसमा चोरीको अपराधको पटक गणना गर्ने सम्बन्धमा यस अदालतबाट खगेन्द्र चौहानसमेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सनम भन्ने पुष्पराज राईसमेत भएको डाँका मुद्दामा (ने.का.प. २०६७ अङ्क. २ पृष्ठ २४७ नि.नं. ८३१४) प्रतिपादन भएको सिद्धान्तसमेत सान्दर्भिक देखिन आयो । उक्त नजिरमा “चोरीको अपराधको पटक गणना गर्दा एकै चोटी योजना बनाई एउटै मितिमा एकै समयको अन्तरालमा एउटै अपराधीहरूको समूहबाट भएको वारदातलाई पटक–पटक अपराध गरेको भन्न सो कानूनको मनसाय हुन नसक्ने ।” भनी उल्लेख गरेको देखिन्छ । यसरी  माथि उल्लिखित प्रतिवादीहरूको बयान, जाहेरवालाको बकपत्रलगायत नजिरसमेतको आधारमा हेर्दा, प्रस्तुत मुद्दामा एकै जाहेरवालाको घर र पसलमा एउटै मिति र केही समयको अन्तरालमा एउटै योजनाअनुसार एकै प्रतिवादीहरूको समूहबाट वारदात भएको र सो सम्बन्धमा एउटै जाहेरी परी सोही आधारमा अनुसन्धानसमेत भई प्रस्तुत मुद्दा दायर भएको देखिनाले प्रस्तुत मुद्दामा मुलुकी ऐन, चोरीको महलको ११ नं. बमोजिम प्रतिवादीहरूको सो कार्यलाई पटके अपराध कायम गर्न मिल्ने देखिएन । यसर्थ प्रस्तुत वारदातलाई पटके अपराध कायम नगरी जरिवानाको हकमा मात्र बिगो रू. १,११,०००।– को डेढीले हुने रू. १,६६,५००।– प्रतिवादीहरूलाई जनही जरिवाना ठहर गरेको पुनरावेदन अदालत राजविराजको फैसलालाई अन्यथा भनी मान्न मिल्ने देखिएन । वादी नेपाल सरकारले प्रतिवादीहरूबाट भएको अपराधलाई पटके कायम गर्नुपर्ने भनी लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

७. अतः माथि विवेचित तथ्य‚ आधार र कारणबाट प्रतिवादीहरू हिरालाल तामाङ, टेकबहादुर तामाङ, सुजन भन्ने भोजबहादुर मगर, छवि विष्टले चोरी गरेको सुनको गहनाको बिगो रू.१,११,०००।- भएको, यिनै वादी र प्रतिवादीहरू भएको डाँका मुद्दामा प्रतिवादी हिरालाल तामाङ र सुजन भन्ने भोजबहादुर मगरको हकमा निजहरूलाई कैदको सजाय, छवि विष्टको हकमा तामेलीमा र अर्का प्रतिवादी टेकबहादुर तामाङको हकमा मुल्तबी रहने गरी फैसला भएकाले यसमा जरिवानासम्म बिगो रू.१,११,०००।– को डेढी रू. १,६६,५००।- प्रतिवादीहरूलाई दामासाहीले हुने ठहर्‍याई सुरू उदयपुर जिल्ला अदालतबाट मिति २०६९।०६।०८ मा भएको फैसला केही उल्टी भई जरिवानाको हकमा प्रतिवादीहरूलाई बिगो रू.१,११,०००।– को डेढीले हुने रू. १,६६,५००।– सम्म जनही जरिवाना हुने ठहर्‍याई पुनरावेदन अदालत राजविराजबाट मिति २०७१।०६।२९ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.मीरा खडका

 

इजलास अधिकृत : सुभद्रा जी.सी., लक्ष्मी राना

इति संवत् २०७५ साल भाद्र ३१ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु