निर्णय नं. १०४९७ - क्षतिपूर्ति
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
फैसला मिति : २०७६।७।१७
०७२-CI-२०११
मुद्दाः क्षतिपूर्ति
पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २ स्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट अख्तियारप्राप्त ऐ.ऐ. का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह
विरूद्ध
प्रत्यर्थी / वादी : सुशील पराजुलीको जाहेरीले नेपाल सरकार
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१) ले सवारी साधनको तेस्रो पक्ष बिमा गर्नु पर्ने अनिवार्य व्यवस्था गरेको र उक्त व्यवस्था बिमित सवारी साधनबाट सवारी दुर्घटना भई तेस्रो पक्षलाई क्षति भएकोमा क्षतिपूर्ति दिलाउने प्रयोजनको लागि गरिएको कल्याणकारी व्यवस्था रहेको हुँदा ऐनको उक्त फराकिलो उद्देश्य र मर्मको प्रतिकुल बिमालेखको सम्झौता वा सर्तमा उल्लेख गरेर वा त्यसको यान्त्रिक व्याख्या गरेर कानूनमा भएको व्यवस्थालाई संकुचन गर्न नमिल्ने ।
(प्रकरण नं.४)
सवारी धनीको जानकारी र सहमति बिना सवारी चालक अनुमतिपत्र नलिएको अन्य व्यक्तिले सवारी साधन लगी चलाउने क्रममा सवारी दुर्घटना हुन गएको अवस्थामा उक्त बिमालेखका सर्तहरूको यान्त्रिक व्याख्या गरी सो दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष बिमा दायित्वबाट बिमक मुक्त हुन मिल्ने नदेखिने ।
(प्रकरण नं.५)
तेस्रो पक्ष बिमा सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटनालाई नै ध्यानमा राखी गरिने र तेस्रो पक्ष बिमा नगरिएको अवस्थामा मात्र सवारी धनीले दुर्घटनामा भएको क्षतिको दायित्व आफैँले बेहोर्नु पर्ने
हुन्छ । चालकको हेलचेक्र्याइँ वा मृतकको गल्तीले दुर्घटना घटेको छ भने पनि त्यस्तो व्यक्तिलाई तेस्रो पक्षको बिमा दायित्वको दायराभित्रै रहेको मान्नु पर्ने ।
(प्रकरण नं.६)
तेस्रो पक्षको हानि नोक्सानी भएमा क्षतिपूर्ति बेहोर्ने उद्देश्यले तेस्रो पक्ष सवारी बिमा गरिएकोमा एउटै घटनाबाट सिर्जित बिमाबापतको आंशिक क्षतिपूर्ति मात्र बेहोर्ने र अन्य दायित्व वहन नगर्ने भन्न मिल्ने अवस्था हुँदैन । तेस्रो पक्षमा पर्न जाने क्षति बेहोर्ने प्रयोजनार्थ बिमा गरिएकोमा सो बिमाबमोजिमको समग्र दायित्व बिमकले बेहोर्नु पर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शेखरकुमार अर्याल
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी
अवलम्बित नजिर :
ने.का.प.२०४९, नि.नं.४४४७, अङ्क १
ने.का.प.२०६६, नि.नं.८२४५, अङ्क १०
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
सुरू तहमा फैसला गर्नेः
प्र. जिल्ला अधिकारी डा.मानबहादुर वि.के.
जिल्ला प्रशासन कार्यालय, बर्दिया
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री रामकृष्ण खनाल
मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा
पुनरावेदन अदालत नेपालगन्ज
फैसला
न्या.सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको र यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः
तथ्य खण्ड
बर्दिया जिल्ला, सोरहवा गा.वि.स., वडा नं. ७ सिमरा स्थित सडक खण्डमा मिमि २०६९।०७।०६ अन्दाजी २०:२५ बजे भे.३.प ११०८ नं. र भे.२.प ५३७९ नं.को मोटरसाइकल एकआपसमा जुधी दुर्घटना भएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
बायाँ आँखामाथि ३ इन्च लम्बाइ ३ इन्च चौडाइको गहिरो घाउ भन्नेसमेत बेहोराको मृतक जयहरी पराजुलीको लास जाँच मुचुल्का ।
टाउकोको दायाँ बायाँपट्टि काटिएको गहिरो घाउ रहेको भन्नेसमेत बेहोराको मृतक रामकुमार थारूको लास जाँच मुचुल्का ।
दायाँ आँखामाथि काटेको घाउ, टाउकोको दाहिनेपट्टि थिचिएको जस्तो रगत लागेको भन्नेसमेत बेहोराको मृतक विनय के.सी.को लास जाँच मुचुल्का ।
Cardio pulmonary arrest due to head injury from road traffic accident भन्नेसमेत बेहोराको मृतकहरू विनय के.सी., जयहरी पराजुली र रामकुमार थारूको शव परीक्षण प्रतिवेदन ।
प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापाले आफ्नो भे.२.प ५३७९ नं. को मोटरसाइकल सिकारू सामान्य प्रशिक्षणसमेत नलिएका विनय के.सी.लाई चलाउन दिएकोमा उक्त मोटरसाइकलले मिति २०६९।०७।०६ साँझ अन्दाजी ८:०० बजे मेरो बुबा जयहरी पराजुली र भाइ सुदिप पराजुली सवार भई नेपालगन्जतर्फबाट आउँदै गरेको भे.३.प ११०८ नं. को मोटरसाइकललाई ठक्कर दिई मेरो बुबा जयहरी पराजुली, विनय के.सी. र रामकुमार चौधरीको मृत्यु भएको र मेरो भाइ सुदिप पराजुली घाइते भएकोले उक्त मोटरसाइकल धनी शेरबहादुर थापालाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरी क्षतिपूर्ति दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको सुशील पराजुलीको जाहेरी दरखास्त ।
भे.२.प ५३७९ नं. को मोटरसाइकल धनी बुटवल फाइनान्स लिमिटेड र ऋणी शेरबहादुर थापा भएको भन्नेसमेत बेहोराको यातायात व्यवस्था कार्यालय, भेरीको पत्र ।
विनय के.सी. को सवारी चालक अनुमतिपत्रको अभिलेख यस कार्यालयमा नभेटिएको भन्नेसमेत बेहोराको यातायात व्यवस्था कार्यालय, भेरीको पत्र ।
अगाडिको हेड पूरै क्षति भएको भन्नेसमेत बेहोराको दुर्घटनाग्रस्त मोटरसाइकलहरूको मेकानिकल जाँच प्रतिवेदन ।
वारदात मिति २०६९।०७।०६ मा म आफ्नो पत्नीलाई उपचारको लागि आफ्नो भे.२.प ५३७९ नं. को मोटरसाइकलमा नेपालगन्ज गई साँझ अन्दाजी ७:०० बजे घरमा आई पुगी मोटरसाइकल आफ्नो घरको आँगनमा राखी मोटरसाइकलको चाबी घरभित्र कोठामा रहेको टेबुलमा राखी म आफू बस्ने घरभन्दा पछाडि रहेको पुरानो घरमा पत्नीलाई औषधी खुवाउने पानी तताउन गएको अवस्थामा उक्त दुर्घटनामा मृत्यु हुने मेरो भान्जा विनय के.सी.ले उक्त भे.२.प ५३७९ नं. को मोटरसाइकल चलाई लगेको कुरा मलाई तत्काल थाहा भएन । उक्त दुर्घटनापश्चात् फोनबाट खबर आएपछि थाहा पाई घर बाहिर आई हेर्दा राखेको ठाउँमा मेरो मोटरसाइकल नभएको देखी म तत्कालै घटनास्थलमा गई घाइते अवस्थामा रहेको मेरो भान्जा विनय के.सी.समेतलाई उपचार गराउन लगेको गाडीमा बसी नेपालगन्ज गएको हुँ । जाहेरी दरखास्तमा उल्लेख भएबमोजिम मैले आफ्नो भे.२.प ५३७९ नं. को मोटरसाइकल निज विनय के.सी.लाई चलाउन दिएको नभई निजले मलाई जानकारी नगराई सो मोटरसाइकल चलाई लगेको अवस्थामा उक्त दुर्घटना हुन गएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापाले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मृतकमध्येका विनय के.सी. मेरो छोरा
हुन् । उक्त वारदातको अवस्थामा म मलेसिया भएकोले वारदातपश्चात् म आई उक्त दुर्घटना बारेमा बुझ्दा मेरो छोरा विनय के.सी.ले उक्त वारदात मितिमा आफ्नो मामा तथा जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापाको भे.२.प ५३७९ नं. को मोटरसाइकल पछाडि रामकुमार थारूलाई बसाली मेरो छोराले मोटरसाइकल चलाई भोलागौडीबाट फर्की आउने क्रममा विपरीत दिशाबाट आएको जाहेरवालाको बाबु जयहरी पराजुलीले चलाएको भे.३.प ११०८ नं. को मोटरसाइकल एकआपसमा ठोक्किन गई सो दुर्घटना हुन गएको हो । मेरो छोरा विनय के.सी.ले आफ्नो मामा तथा जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादी शेरबहादुर थापालाई जानकारी नदिई उक्त भे.२.प ५३७९ नं. को मोटरसाइकल चलाई लगेको कुरासमेत पछि सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको सुर्यबहादुर के.सी.ले गरेको कागज तथा सोही बेहोरासँग करिब करिब एकै मिलान हुने गरी मृतक रामकुमार थारूको बाबु सुखराम थारूले गरेको कागज ।
वारदात मिति २०६९।०७।०६ को साँझ अन्दाजी ५:३० बजे चाबी पुर्याउन तथा घरायसी कामले नेपालगन्ज जानको लागि जाहेरवालाको बुबा तथा मेरो ठुलो बुबा जयहरी पराजुलीले भे.३.प ११०८ नं. को मोटरसाइकल चलाई म उक्त मोटरसाइकलमा बसी नेपालगन्ज गई फर्की आउने क्रममा ऐ.ऐ मितिको साँझ अन्दाजी ८:०० बजे जाहेरी दरखास्तमा उल्लिखित घटनास्थलमा आइपुगेको अवस्थामा विपरीत दिशाबाट धेरै उज्यालो प्रकाश आई केही नदेखिएको अवस्थामा अचानक मोटरसाइकल ठोक्कीन आएकोसम्म मलाई थाहा छ । सो दुर्घटनामा परी म बेहोस भएकोले सोपश्चात् के के भयो मलाई केही थाहा भएन । उपचारार्थ लग्ने क्रममा मेरो होस आएको हो । सो दुर्घटनामा परी मेरो हात, टाउको र ढाडमा चोट लागेकोले उपचारपश्चात् हाल मेरो स्वास्थ्य स्थिति पूर्ण रूपमा ठीक भए तापनि कहिलेकाहीँ टाउको दुख्ने
गर्दछ । उपचारमा लागेको खर्च हाम्रो घर परिवारले नै बेहोर्दै आएका छौं । सो वारदातको अवस्थामा म तथा मेरो ठुलो बुबा जयहरी पराजुली सवार भे.३.प ११०८ नं. को मोटरसाइकल आफ्नो साइडमा नै गुडिरहेको थियो भन्नेसमेत बेहोराको सुदिप पराजुलीले गरेको कागज ।
वारदात मिति २०६९।०७।०६ को साँझ अन्दाजी ८:०० बजे घटनास्थलभन्दा अन्दाजी १०० मिटर टाढा रहेको अवस्थामा दुईवटा मोटरसाइकलहरू एकआपसमा जुधेको देखी म घटनास्थलमा जाँदा भे.२.प ५३७९ नं. को मोटरसाइकल र भे.३.प ११०८ नं. को मोटरसाइकल जुधेको अवस्थामा पल्टिएका थिए । उक्त मोटरसाइकलको दायाँ बायाँ सो मोटरसाइकलमा सवार जयहरी पराजुलीसमेत सख्त घाइते अवस्थामा पल्टिएको, घाइतेहरूको शरीरबाट रगत बगिरहेको अवस्थामा देखी मसमेत त्यहाँ गएका मानिसहरूले प्रहरीमा खबर गरी एम्बुलेन्स बोलाई निज घाइतेहरूलाई उपचारार्थ नेपालगन्जतर्फ पठाएका हौँ । भे.२.प ५३७९ नं. को मोटरसाइकलमा सवार चालक विनय के.सी. र रामकुमार चौधरी भोलागौडीतर्फबाट आइरहेको अवस्थामा विपरीत दिशाबाट आएको जाहेरवालाको बाबु जयहरी पराजुलीले पछाडि आफ्नो छोरा सुदिप पराजुलीलाई बसाली चलाएको भे.३.प ११०८ नं. को मोटरसाइकल एकआपसमा जुधी उक्त दुर्घटना हुन गएको हो । उक्त दुर्घटनामा घाइते भएकामध्ये जाहेरवालाको बाबु जयहरी पराजुली, विनय के.सी. र रामकुमार चौधरीको मृत्यु भएको भन्ने कुरा सो वारदात मितिको भोलिपल्ट सुनी थाहा पाएको हो । साथै भे.२.प ५३७९ नं. को सवारी धनी जाहेरी दरखास्तमा उल्लिखित प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापा भएको र सो मोटरसाइकल चालक मृतक विनय के.सी.को सवारी चालक अनुमतिपत्र नभएको भन्ने कुरा पछि सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको गंगाप्रसाद बास्तोलाले गरेको कागज तथा सोही बेहोरासँग एकै मिलान हुने गरी मित्रलाल देवकोटा, राजकुमार बराइली र बाबुराम बरालले गरेको कागज ।
उक्त दुर्घटना हुँदाको अवस्थामा म सो दुर्घटनास्थलभन्दा अन्दाजी ५०० मिटर टाढा आफ्नो मोटरसाइकलमा सवार भई नेपालगन्जबाट आउँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको देखी दुर्घटनास्थलमा गई घाइतेहरूलाई मसमेतको सहयोगमा गाडीमा राखी उपचारार्थ नेपालगन्जतर्फ पठाएका हौँ । सो दुर्घटना हुँदाको अवस्थामा जाहेरवालाको बाबुसमेत सवार भे.३.प ११०८ नं. को मोटरसाइकल भोलागौडीतर्फबाट आफ्नै साइडमा आइरहेको थियो भने पछि नाम थाहा हुन आएका उक्त दुर्घटनामा मृत्यु हुने विनय के.सी.ले सिमरातर्फबाट भोलागौडीतर्फ चलाई लग्दै गरेको भे.२.प ५३७९ नं. को मोटरसाइकल गलत साइडमा लागेको कारण उक्त दुर्घटना हुन गएको हो भन्नेसमेत बेहोराको सुन्दरमान श्रेष्ठले गरेको कागज ।
मिति २०६९।०७।०६ बेलुका अन्दाजी ८:०० बजे बर्दिया जिल्ला, सौरहवा गा.वि.स., वडा नं. ७ स्थित सिमरा चोकमा पूर्व नेपालगन्जबाट कालिकातर्फ आउँदै गरेको भे.३.प ११०८ नं. को जयहरी पराजुलीले चलाइराखेको मोटरसाइकलमा पश्चिम सिमराबाट पूर्व भोलागौढीतर्फ जाँदै गरेको भे.२.प ५३७९ नं. को विनय के.सी.ले चलाइरहेको मोटरसाइकल एकआपसमा ठोक्किन गई दुर्घटना हुँदा चालक विनय के.सी., जयहरी पराजुली र रामकुमार चौधरीको मृत्यु भएको देखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(२) र (६) बमोजिम एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ ले निर्धारण गरेको तेस्रो पक्षको बिमाबापतको रकम क्षतिपूर्ति स्वरूप मृतकका हकवालालाई प्रतिवादीहरू एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौं र भे.२.प ५३७९ नं. का सवारी धनी सन्तोष भन्ने शेरबहादुर थापासमेतबाट दिलाई भराई पाउन मागदाबी लिएको अभियोगपत्र ।
मिति २०६९।०७।०६ मा बिहान म मेरो घरबाट भे.२.प ५३७९ नं. को मोटरसाइकल चलाई पत्नी बिरामी भएकोले नेपालगन्ज नर्सिङहोममा उपचार गराई फर्की आई आँगनमा मोटरसाइकल राखी घरभित्र भएको अवस्थामा मेरो भान्जा विनय के.सी.ले मसमेत कसैलाई नसोधी मेरो भित्र टेबुलमा राखेको मोटरसाइकलको चाबी लिई चलाई गएछन् । सडकमा भान्जा दुर्घटनामा परेको कुरा साथीले फोनबाट जानकारी गराएपछि थाहा पाई हेर्न जाँदा घाइतेहरूलाई गाडीमा राखिएको थियो । पछि घाइतेहरूको नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । मेरो गाडी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा तेस्रो पक्ष बिमा भएको हुँदा मृतकको क्षतिपूर्तिबापतको रकम तिर्ने दायित्व सोही कम्पनीको हो भनी प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापाले जिल्ला प्रशासन कार्यालय, बर्दियामा गरेको बयान ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौंको च.नं.६०५।०७०.०७१ मिति २०७०।०६।०९ को पत्रद्वारा चालक अनुमतिपत्र नभएका विनय के.सी.ले सन्तोष भन्ने शेरबहादुर थापाको भे.२.प ५३७९ नं. को मोटरसाइकल चलाई दुर्घटना हुँदा मृत्यु भएको हुँदा यस कम्पनीले मृतकहरूको तेस्रो पक्ष बिमा दायित्व भुक्तानी गर्नु नपर्ने भन्ने बेहोराको लिखितपत्र ।
मिसिलमा संलग्न प्रमाण, प्रतिवादी सन्तोष भन्ने शेरबहादुर थापासँगको बयान, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौंको प्रतिउत्तर र विद्यमान कानूनमा स्पष्ट व्यवस्था भएअनुसार भे.३.प ११०८ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने विनय के.सी. र रामकुमार चौधरी तथा भे.२.प ५३८९ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने जयहरी पराजुलीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१) र (२) बमोजिम दुवै मोटरसाइकलको तेस्रो पक्ष बिमा गरेको कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौंले जनही रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्ति रकम निजहरूका हकवालालाई दिनु पर्ने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट मिति २०७१।०१।०४ मा भएको निर्णय ।
बिमा लेख करार भएकोले करारको सर्तमा उल्लेख भएबमोजिम बिमकको दायित्व हुने नहुने निर्धारण हुन्छ । बिमा गरेपछि जुनसुकै अवस्थामा दाबी भुक्तानी गर्नु पर्ने हैन । दुवै सवारी साधनको तेस्रो पक्ष बिमा यस कम्पनीमा भएको तथा बिमालेख (करार) को सर्त, क्षेत्रको अधीनमा रही सवारी साधन चलाउँदाको अवस्थामा भएको दुर्घटनाको परिणाम स्वरूप हुन गएको हानि क्षति नोक्सानीको क्षतिपूर्तिको दायित्व बिमक कम्पनीले बेहोर्नु पर्नेमा कुनै विवाद छैन । भे.२.प ५३७९ नं. को मोटरसाइकलको हकमा बिमालेखको सर्त उल्लङ्घन गरी चालक अनुमतिपत्र नै नभएका विनय के.सी.ले बिमित शेरबहादुर थापाको अनुमतिबेगर सवारी साधन चलाएको अवस्थामा भएको दुर्घटनाबाट सिर्जित दायित्व बिमालेखको क्षेत्रभित्र नपर्ने भएकोले यस बिमकले उक्त दायित्व वहन गर्नुपर्ने होइन । त्यसैगरी, भे.३.प ११०८ नं. को मोटरसाइकलको हकमा, उक्त मोटरसाइकलको तेस्रो पक्ष बिमा मात्र गरिएको हुँदा अर्को पक्षको ठक्करबाट मृत्यु भएकोमा जुन पक्षले ठक्कर दिएको हो सोही पक्षको बिमालेखअन्तर्गत दाबी भुक्तान पाउने हो । यसर्थ, बिमा ऐन, २०४९, करार ऐन, २०५६ तथा बिमालेखअन्तर्गत किरिया खर्च रकमसम्म भुक्तानी गर्नुपर्ने दायित्व रहेकोमा सम्पूर्ण दायित्व बिमकको हुने भनी सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट भएको निर्णय बदर गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनीको तर्फबाट पुनरावेदन अदालत नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
यसमा एकआपसमा ठोक्किन गएको दुवै मोटरसाइकलको तेस्रो पक्षको बिमा यिनै पुनरावेदक एनएलजी इन्स्योरेन्स कम्पनी रहेको देखिन्छ । बिमा गर्दा मोटरसाइकलबाट हुने तेस्रो पक्षको हानि नोक्सानीबापत गरिने हो । पुनरावेदन जिकिरबमोजिम अमुक व्यक्तिले चलाएको अवस्थामा मात्र भएको दुर्घटनाको क्षतिपूर्ति तिर्ने, अन्यथा नतिर्ने जस्ता सर्त बिमासम्बन्धी कानूनमा उल्लेख भएको नपाइने हुँदा जुन मोटरसाइकलबाट दुर्घटना हुँदा तेस्रो पक्षको क्षतिपूर्ति तिर्न भनी बिमा गरिएको हो, सोही मोटरसाइकलबाट दुर्घटना भएको अवस्थामा बिमा रकम तिर्नु नपर्ने भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । अतः प्रतिवादी एनएलजी कम्पनीबाट क्षतिपूर्ति भराइदिने ठहर्याएको सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाको मिति २०७१।०१।०४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७१।०६।२६ मा भएको फैसला ।
बिमा ऐन, २०४९ तथा बिमा नियमावली, २०४९ अन्तर्गतमा रही जारी भएको बिमालेख बिमाको करार भएकोले करारको सर्तमा उल्लेख भएबमोजिम बिमकको दायित्व हुने नहुने निर्धारण हुन्छ । बिमा गरेपछि जुनसुकै अवस्थामा दाबी भुक्तानी गर्नुपर्ने
होइन । बिमालेखमा चालक भन्नाले (क) बिमित स्वयम् वा (ख) बिमितको साधारण जानकारी वा सहमतिले सवारी साधन चलाउने व्यक्ति, चालकसँग उक्त मोटरसाइकल चलाउने अनुमतिपत्र भएको र त्यस्तो अनुमतिपत्र राख्न वा प्राप्त गर्न अयोग्य नठहरिएको हुनुपर्ने छ भन्ने स्पष्ट उल्लेख छ । त्यसैगरी, बिमालेखको परिच्छेद ५ को १(ग) मा बिमालेखको तालिकामा तोकिएबमोजिमको चालकभन्दा फरक व्यक्तिले सवारी हाँकेको अवस्थामा भएको वा घटेको दुर्घटना, हानि नोक्सानी, क्षति वा दायित्वप्रति बिमकको दायित्व रहने छैन भन्ने सर्त छ । यसरी चालक अनुमतिपत्र नै नभएको व्यक्तिले सवारी धनीको सामान्य जानकारी सहमति नलिई सवारी साधन चलाएको अवस्थामा भएको दुर्घटनाको क्षतिपूर्ति बिमालेखको व्यवस्थाबमोजिम बिमकले दायित्व बेहोर्नु पर्ने होइन । त्यस्तो अवस्थामा क्षतिको जिम्मेवार पक्ष स्वयम् हुन्छ ।
बिमालेखको सर्तबमोजिम गल्ती भएको वा नभएको जुनसुकै अवस्थामा सवारी साधनको प्रत्यक्ष संलग्नता रहेको दुर्घटनाबाट कुनै तेस्रो पक्षको मृत्यु भएमा किरियाखर्चबापत प्रति मृतक पच्चिस हजार रूपैयाँ बिमकले तत्काल भुक्तानी गर्ने भन्ने व्यवस्था रहेको छ । यस सर्तबाट अन्य दाबीको क्षतिपूर्ति भुक्तानीका लागि सवारी साधनको गल्ती भएको हुनुपर्छ भन्ने प्रस्ट रहेको अवस्थामा कानूनविपरीत गरेको कार्यबाट भएको हानि नोक्सानी बिमकले तिर्नुपर्ने भनी गरिएको फैसला बदरभागी छ । तसर्थ, किरिया खर्च रकमसम्म भुक्तानी गर्नुपर्ने दायित्व रहेकोमा सम्पूर्ण दायित्व यस बिमकको हुने भनी जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट गरिएको निर्णयलाई सदर गरी पुनरावेदन अदालत नेपालगन्जबाट भएको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट यस अदालतमा परेको निवेदन पत्र ।
यसमा इन्स्योरेन्स गर्दाको अवस्थामा भएको करारमा सवारी चालक अनुमतिपत्र हुनुपर्ने भन्ने र तेस्रो व्यक्तिलाई सवारी साधन प्रयोग गर्न दिएकोमा सवारी धनीको सहमति हुनुपर्ने भन्ने सर्त रहेको देखिँदा त्यस्तो सर्तको विपरीत सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिद्वारा सवारी दुर्घटना गराएको अवस्थामा इन्स्योरेन्स कम्पनीलाई दायित्व वहन गराउने गरी पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७१।०६।२६ मा भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ तथा मुलुकी ऐन, अदालती बन्दोबस्तको १८४क, १८५ नं. समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) को आधारमा प्रस्तुत मुद्दामा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । सुरू रेकर्ड र भए प्रमाण मिसिल तथा विपक्षीसमेत झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७३।०२।१८ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री शेखरकुमार अर्यालले “बिमा गरेपछि जुनसुकै अवस्थामा दाबी भुक्तानी गर्नुपर्ने होइन । प्रस्तुत मुद्दामा चालक अनुमतिपत्र नै नभएको व्यक्तिले सवारी धनीको सामान्य जानकारी सहमति नलिई सवारी साधन चलाएको अवस्थामा दुर्घटना भएको हुँदा त्यस्तो अवस्थाबाट सिर्जित तेस्रो पक्ष बिमाबापतको क्षतिपूर्तिको दायित्व बिमालेखको क्षेत्रभित्र नपर्ने भएकोले बिमकले उक्त दायित्व बेहोर्नु पर्ने होइन । त्यस्तो अवस्थामा क्षतिको जिम्मेवार सम्बन्धित पक्ष वा सवारी धनी स्वयम् हुन्छ । तसर्थ, किरिया खर्च रकमसम्म भुक्तानी गर्नुपर्ने दायित्व बिमक एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा रहेकोमा सम्पूर्ण दायित्व वहन गर्नुपर्ने भनी जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट गरिएको निर्णयलाई सदर गरी पुनरावेदन अदालत नेपालगन्जबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर हुनुपर्छ” भनी गर्नुभएको बहस सुनियो ।
त्यसैगरी, वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारीले “तेस्रो पक्ष सवारी बिमा गर्दा सवारी साधनबाट घटना घटी तेस्रो पक्षलाई हुन सक्ने हानि नोक्सानीबापत गरिने हो । अमुक व्यक्तिले चलाएमा मात्र पाउने, अन्यथा नपाउने भन्ने होइन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले तेस्रो पक्ष बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको र उक्त व्यवस्था सवारी दुर्घटनाबाट तेस्रो पक्षलाई क्षति भएकोमा क्षतिपूर्ति दिलाउने प्रयोजनको लागि गरिएको हुँदा ऐनको उक्त उद्देश्यको प्रतिकूल भएको सम्झौताका सर्तले कानूनमा भएको व्यवस्थालाई सङ्कुचन गर्न सक्दैन । तसर्थ, प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट तेस्रो पक्षको बिमाबापतको क्षतिपूर्ति भराइदिने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत नेपालगन्जबाट भएको फैसला सदर हुनुपर्छ” भनी गर्नुभएको बहस सुनियो ।
प्रस्तुत मुद्दामा, मिति २०६९।०७।०६ मा भे.३प ११०८ नं. र भे.२प ५३७९ नं. को मोटरसाइकलहरू एकआपसमा ठोक्किन गई दुर्घटना हुँदा विनय के.सी., जयहरी पराजुली र रामकुमार चौधरीको मृत्यु भएको देखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(२) र (६) एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ५५ ले निर्धारण गरेको तेस्रो पक्षको बिमाबापतको रकम क्षतिपूर्ति स्वरूप मृतकका हकवालालाई प्रतिवादीहरू एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रधान कार्यालय लाजिम्पाट, काठमाडौं र भे.२प ५३७९ नं. का सवारी धनी सन्तोष भन्ने शेरबहादुर थापासमेतबाट दिलाई भराई पाउन मागदाबीका साथ अभियोगपत्र दायर भएको
देखिन्छ । यसमा भे.२प ११०८ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने विनय के.सी. र रामकुमार चौधरी तथा भे.२प ५३८९ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने जयहरी पराजुलीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१) र (२) बमोजिम दुवै मोटरसाइकलको तेस्रो पक्ष बिमा गरेको कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौंले जनही रू.५,००,०००।- (पाँच लाख) क्षतिपूर्ति रकम निजहरूका हकवालालाई दिनु पर्ने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट निर्णय भएको देखियो । उक्त फैसलाउपर प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनीको चित्त नबुझी पुनरावेदन अदालत नेपालगन्जमा पुनरावेदन गरेकोमा सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट भएको फैसलालाई सदर गर्ने गरी फैसला भएको देखिन्छ । सो फैसलाउपर प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनीको यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकोमा यस अदालतको मिति २०७३।०२।१८ को आदेशले मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।
उपर्युक्तबमोजिमको तथ्य र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत नेपालगन्जबाट भएको फैसला मिलेको छ वा छैन ? प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने देखिन आयो ।
निर्णयतर्फ विचार गर्दा, सर्वप्रथमतः यस मुद्दासँग सम्बन्धित केही प्राथमिक प्रश्नहरूको विवेचना गर्न आवश्यक देखिन्छ । मिति २०६९।०७।०६ मा विपरीत दिशाबाट आइरहेका भे.३प ११०८ नं. र भे.२ प ५३७९ नं. को मोटरसाइकलहरू नेपालगन्ज सडक खण्डमा एकआपसमा ठोक्किन गई दुर्घटना हुँदा भे.३प ११०८ नं. का चालक जयहरी पराजुली र सो मोटरसाइकल पछाडि सवार सुदिप पराजुली तथा भे.२प ५३७९ नं. का चालक विनय के.सी. र सो मोटरसाइकलपछाडि सवार रामकुमार चौधरी घाइते भएकोमा उपचारको क्रममा जयहरी पराजुली, विनय के.सी., र रामकुमार चौधरीको मृत्यु भएको तथ्य निर्विवाद रूपमा स्थापित रहेको छ । उल्लिखित दुवै मोटरसाइकलहरूको तेस्रो पक्ष सवारी दायित्व बिमा प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा भएको भनी सो कम्पनीको मिति २०७०।०६।०९ को पत्र तथा मिसिल संलग्न दुवै मोटरसाइकलहरूको बिमालेखबाट देखिन्छ ।
मृतक विनय के.सी. को चालक अनुमतिपत्र रहे नरहेको सम्बन्धमा हेर्दा, विनय के.सी. को सवारी चालक अनुमतिपत्रको अभिलेख यस कार्यालयमा नभेटिएको भन्ने बेहोराको यातायात व्यवस्था कार्यालय, भेरीको मिति २०६९।०८।२० को मिसिल संलग्न पत्रबाट देखिएको हुँदा निजको सवारी चालक अनुमतिपत्र नभएको तथ्य सप्रमाण पुष्टि हुन्छ । त्यसैगरी, वारदातको समयमा विनय के.सी. ले चलाएको भे.२प ५३७९ नं. को मोटरसाइकल निजको नाउँ दर्ताको नभई बुटवल फाइनान्स लिमिटेड, नेपालगन्जको नाममा दर्ता रही, ऋणी सन्तोष भन्ने शेरबहादुर थापा रहेको भन्ने तथ्य मिसिल संलग्न यातायात व्यवस्था कार्यालय, भेरीको मिति २०६९।०८।२० को पत्र र उक्त मोटरसाइकलको सवारी दर्ता प्रमाणपत्रबाट प्रस्ट देखिएको हुँदा सो तथ्यमा समेत कुनै विवाद देखिँदैन ।
वारदातको दिन विनय के.सीले भे.२प ५३७९ नं. को मोटरसाइकल चलाउँदा सवारी धनी सन्तोष भन्ने शेरबहादुर थापाको अनुमति नलिई चलाएको सम्बन्धमा हेर्दा, निज सन्तोष भन्ने शेरबहादुर थापाले अनुसन्धानको क्रममा तथा सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियामा बयान गर्दा वारदातको दिन निजको भान्जा नाताका विनय के.सी.ले निजको जानकारी तथा सहमति बिना नै मोटरसाइकल चलाई लगेको अवस्थामा दुर्घटनामा परेको भन्ने बेहोरा उल्लेख गरी बयान गरेको देखिन्छ । सोही बयान बेहोरालाई समर्थन हुने गरी सूर्यबहादुर के.सी र सुखराम थारूले कागज गरिदिएको देखिन्छ । यसबाट सन्तोष भन्ने शेरबहादुर थापा उक्त मोटरसाइकलको सवारी धनी भए तापनि वारदातको दिन सो मोटरसाइकल निजको सहमति र जानकारी विना नै सवारी चालक अनुमतिपत्र नभएका विनय के.सी.ले चलाएको देखिन्छ ।
२. अब, प्रस्तुत मुद्दासँग सम्बन्धित मुख्य विवादतर्फ विचार गर्दा, सर्वप्रथमतः चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी धनीको सहमति नलिई सवारी साधन चलाएको अवस्थामा भएको दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष दायित्व बिमक इन्स्योरेन्स कम्पनीले बेहोर्नु नपर्ने भन्ने पुनरावेदन जिकिरतर्फ विचार
गरौँ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१) मा “सवारीको दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भएमा सो नोक्सानीको क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी वा व्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्षको बिमा गराउनु पर्छ” भन्ने कानूनी व्यवस्था रहेको छ । उक्त कानूनी प्रावधानले सवारी दुर्घटनाबाट कुनै तेस्रो पक्षलाई हानि नोक्सानी भएमा क्षतिपूर्ति बेहोर्ने प्रयोजनार्थ सवारी धनी वा व्यवस्थापकले अनिवार्य तेस्रो पक्ष बिमा गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । सो व्यवस्था स्वेच्छिक नभई कानूनमा नै उल्लिखित अनिवार्य व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुरूप भे.३प ११०८ नं. र भे.२प ५३७९ नं. को मोटरसाइकलहरूको तेस्रो पक्ष सवारी बिमा प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा नै गरिएको देखिन्छ ।
३. पुनरावेदक इन्स्योरेन्स कम्पनीले यस मुद्दामा तेस्रो पक्षको दायित्व वहन गर्न नपर्ने भनी जिकिर लिँदा मोटरसाइकल बिमालेखको परिच्छेद ५ को १(ग) मा उल्लिखित बिमकको दायित्वका अपवादहरूका सर्तलाई मुख्य रूपमा प्रस्तुत गरेको पाइयो । बिमालेखको उक्त सर्तमा “...बिमालेखको तालिकामा तोकिएबमोजिमको चालकभन्दा फरक व्यक्तिले सवारी साधन हाँकेको अवस्थामा भएको वा घटेको दुर्घटना, हानि नोक्सानी, क्षति वा दायित्वप्रति बिमकको दायित्व रहने छैन” भनी उल्लेख गरिएको देखिन्छ । "चालक" शब्दलाई थप परिभाषित गर्दै बिमालेखको तालिकामा "चालक" भन्नाले "(क) बिमित स्वयम् वा (ख) बिमितको साधारण जानकारी वा सहमतिले सवारी साधन चलाउने व्यक्ति, चालकसँग उक्त मोटरसाइकल चलाउने अनुमतिपत्र भएको र त्यस्तो अनुमतिपत्र राख्न वा प्राप्त गर्न अयोग्य नठहरिएको हुनुपर्ने छ" भन्ने उल्लेख रहेको छ । बिमालेखका यी दुई प्रावधानहरू हेर्दा बिमाबापतको क्षतिपूर्ति प्राप्त गर्न योग्य हुनको लागि सवारी चालक अनुमतिपत्र प्राप्त गरेको बिमित स्वयम् वा बिमितको साधारण जानकारी वा सहमतिले सवारी साधन चलाएको व्यक्ति हुनुपर्ने भन्ने निर्धारण गरिएको देखिन्छ । उक्त सर्तहरूले तेस्रो पक्ष बिमाबापतको दाबी भुक्तानीको लागि विशेष गरी सवारी चालक र चालकको अवस्थालाई पूर्वसर्तको रूपमा औंल्याएको देखिन्छ । प्रस्तुत मुद्दामा वारदातका दिन सवारी हाक्ने चालक बिमित वा सवारी धनी सन्तोष भन्ने शेरबहादुर थापा स्वयम् नरहेको र उक्त दिन सवारी चलाउने विनय के.सी.सँग सवारी चालक अनुमतिपत्र नभएको तथ्यलाई आधार लिई तेस्रो पक्ष बिमाको दायित्व पुनरावेदक इन्स्योरेन्स कम्पनीले वहन गर्नु नपर्ने जिकिर लिएको अवस्था छ ।
४. यस सम्बन्धमा विचार गर्दा, तेस्रो पक्ष सवारी बिमा कानूनले नै व्यवस्था गरेको बाध्यात्मक व्यवस्था हो जसको मूल उद्देश्य दुर्घटना भएमा तेस्रो पक्षको दाबी विरूद्धको संरक्षणको लागि खरिद गर्ने बिमा हो । अर्थात् सवारी साधनको प्रयोगबाट भएको दुर्घटनाबाट कुनै तेस्रो पक्षको जीवन, स्वास्थ्य र सम्पत्तिमा हानि नोक्सानी भएबापत क्षतिपूर्ति प्रदान गरी राहत दिने प्रयोजनार्थ तेस्रो पक्ष सवारी बिमा गरिने हो । जसअन्तर्गत पहिलो पक्ष बिमित अर्थात् सवारी धनी रहेको हुन्छ, दोस्रो पक्ष बिमक अर्थात् इन्स्योरेन्स कम्पनी रहेको हुन्छ भने उक्त सम्झौतामा संलग्न दुई पक्षहरूबाहेकका अन्यलाई तेस्रो पक्ष
मानिन्छ । यो सवारी चालकलाई हुने हानि नोक्सानी बेहोर्ने प्रयोजनका लागि नभई नितान्त तेस्रो पक्षलाई लक्षित गरिएको हुन्छ । अर्थात् बिमित र बिमकबिच भएको करारमा संलग्न पक्षलाई प्रत्यक्ष कुनै फाइदा नरहे तापनि यसले तेस्रो पक्षको मृत्यु वा अपाङ्गता भएमा वा सम्पत्तिको क्षति भएमा बिमित व्यक्तिको तर्फबाट तेस्रो पक्षको दायित्व बेहोर्ने हुन्छ । यस्तो तेस्रो पक्षको दायराभित्र सडकमा हिँड्ने व्यक्ति वा अन्य व्यक्तिको सम्पत्ति पनि पर्न सक्दछ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी साधनको तेस्रो पक्ष बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको र उक्त व्यवस्था बिमित सवारी साधनबाट सवारी दुर्घटना भई तेस्रो पक्षलाई क्षति भएकोमा क्षतिपूर्ति दिलाउने प्रयोजनको लागि गरिएको कल्याणकारी व्यवस्था रहेको हुँदा ऐनको उक्त फराकिलो उद्देश्य र मर्मको प्रतिकूल बिमालेखको सम्झौता वा सर्तमा उल्लेख गरेर वा त्यसको यान्त्रिक व्याख्या गरेर कानूनमा भएको व्यवस्थालाई सङ्कुचन गर्न मिल्दैन ।
५. त्यसैगरी, बिमित अर्थात् सवारी धनीले बिमालेखको उल्लिखित सर्तहरूविपरीत जानाजानी सवारी चालक अनुमतिपत्र नभएका अन्य व्यक्तिलाई आफ्नो मोटरसाइकल चलाउन अनुमति दिएको अवस्थामा उल्लिखित बिमालेखको अपवादका सर्तहरू आकर्षित हुने देखिन्छ । तर सवारी धनीको जानकारी र सहमति बिना सवारी चालक अनुमतिपत्र नलिएको अन्य व्यक्तिले सवारी साधन लगी चलाउने क्रममा सवारी दुर्घटना हुन गएको अवस्थामा उक्त बिमालेखका सर्तहरूको यान्त्रिक व्याख्या गरी सो दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष बिमा दायित्वबाट बिमक इन्स्योरेन्स कम्पनी मुक्त हुन मिल्ने देखिँदैन । यसै सम्बन्धमा भारतको सर्वोच्च अदालतले Sohan Lal Passi vs. P. Sesh Reddy & Ors, 1996 SCC (5) 21, JT 1996 (6) 728, रहेको मुद्दामा "While interpreting the contract of insurance, the Tribunals and Courts have to be conscious of the fact that right to claim compensation by heirs and legal representatives of the victims of the accident is not defeated on technical grounds. Unless it is established on the materials on record that it was the insured who had willfully violated the condition of the policy by allowing a person not duly licensed to drive the vehicle when the accident took place, the insurer shall be deemed to be a judgment-debtor" भन्ने उल्लेख गरेको पाइन्छ । तसर्थ, प्रस्तुत मुद्दामा पुनरावेदक इन्स्योरेन्स कम्पनीको बिमालेखमा सवारी चालक वा चालकको अवस्थालाई आधार बनाई दायित्व वहन गर्न नपर्ने सर्त प्रस्तुत गरिएको भए तापनि दुर्घटनामा संलग्न दुवै भे.३.प ११०८ नं. र भे.२.प ५३७९ नं. को मोटरसाइकलहरूको तेस्रो पक्ष सवारी बिमा प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट भएको खण्डमा प्रतिवादी बिमक कम्पनीले सो दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष दायित्व बेहोर्न नपर्ने भन्न मिल्ने देखिन आएन ।
६. अब, सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी साधन चलाएको अवस्थामा भएको दुर्घटनाको क्षतिको जिम्मेवार पक्ष स्वयं हुन्छ भनी पुनरावेदकले लिएको जिकिरतर्फ विचार गर्दा, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१) ले तेस्रो पक्ष बिमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने ऐ. ऐनको दफा १५२(३) मा तेस्रो पक्ष बिमा नगरिएको अवस्थामा मात्र सवारी धनी वा व्यवस्थापकले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरिएको
छ । प्रस्तुत मुद्दामा दुर्घटनाग्रस्त दुवै मोटरसाइकलहरूको तेस्रो पक्ष बिमा पुनरावेदक एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको तथ्यमा कुनै विवाद छैन । बिमासम्बन्धी व्यवस्था आफैँमा जोखिमको सम्बोधनको लागि गरिएको हुन्छ । प्रस्तुत मुद्दामा Vicarious Liability को सिद्धान्तको आधारबाट पनि सवारी धनीको दायित्व सिर्जित भएकोमा सवारी धनीले आफ्नो सवारी साधनले तेस्रो पक्ष अथवा अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आई पर्ने आर्थिक जोखिम बिमकमा हस्तान्तरण गर्ने प्रयोजनका लागि तेस्रो पक्ष बिमा गरेको विद्यमानता रहेको हुँदा सवारी धनी स्वयंले आर्थिक भार लिनु पर्ने हुँदैन । तेस्रो पक्ष बिमा सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटनालाई नै ध्यानमा राखी गरिएको हुन्छ । तेस्रो पक्ष बिमा नगरिएको अवस्थामा मात्र सवारी धनीले दुर्घटनामा भएको क्षतिको दायित्व आफैँले बेहोर्नु पर्ने हुन्छ । अर्को मोटरसाइकल चालकको हेलचेक्रयाइँ वा मृतकको गल्तीले दुर्घटना घटेको छ भने पनि त्यस्तो व्यक्तिलाई तेस्रो पक्षको बिमा दायित्वको दायराभित्रै रहेको मान्नु पर्ने हुन्छ । तसर्थ, कानूनले स्पष्ट रूपमा अनिवार्य तेस्रो पक्ष बिमाको प्रावधान गरेको र सोबमोजिम बिमा गरिएको भन्ने आधारमा मात्र पक्ष स्वयंले क्षतिपूर्तिको दायित्व वहन गर्नुपर्छ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
७. जहाँसम्म पुनरावेदक इन्स्योरेन्स कम्पनीले मृतकहरूको हकमा किरियाखर्च रकमसम्म भुक्तान गर्न तयार रहेको भन्ने जिकिरतर्फ विचार गर्दा, उक्त मोटरसाइकल बिमालेखको परिच्छेद २ मा तेस्रो पक्षप्रतिको दायित्वअन्तर्गत राखिएका सर्ततर्फ ध्यानाकर्षण गर्नु पर्ने देखिन्छ । उक्त परिच्छेदको ७(घ) नं. मा "सवारी साधन दुर्घटनाबाट तेस्रो पक्षको मृत्यु भएको बेहोरा कानूनबमोजिम अधिकारप्राप्त निकाय वा अधिकारीबाट प्रमाणित भएको अवस्थामा किरिया खर्चसमेत प्रति मृतक जम्मा पाँच लाख रूपैयाँको दरले बिमकले भुक्तानी दिने छ" भन्ने उल्लेख गरिएको देखिन्छ । बिमालेख आफैँमा करार भएकोले करारको सर्तमा उल्लेख भएबमोजिम बिमकको दायित्व हुने नहुने निर्धारण गरिने कुरामा दुईमत रहेन । तर जुन प्रयोजनका लागि बिमा गरिएको हो सोको आंशिक कुरा स्वीकार गरी भुक्तानी गर्न तयार रहने र अरू कुरा स्वीकार नगर्ने भन्ने पुनरावेदकको जिकिर आपसमा विरोधाभासपूर्ण देखिन्छ । तेस्रो पक्षको हानि नोक्सानी भएमा क्षतिपूर्ति बेहोर्ने उद्देश्यले तेस्रो पक्ष सवारी बिमा गरिएकोमा एउटै घटनाबाट सिर्जित बिमाबापतको आंशिक क्षतिपूर्ति मात्र बेहोर्ने र अन्य दायित्व वहन नगर्ने भन्न मिल्ने अवस्था हुँदैन । तेस्रो पक्षमा पर्न जाने क्षति बेहोर्ने प्रयोजनार्थ बिमा गरिएकोमा सो बिमाबमोजिमको समग्र दायित्व बिमकले बेहोर्नु पर्ने हुन्छ । यसै सम्बन्धमा यस अदालतबाट ने.का.प. २०४९, निर्णय नं. ४४४७, अङ्क १, राजकुमारी राणा विरूद्ध विनोदशंकर श्रेष्ठ रहेको मुद्दामा "प्रचलित नेपाल कानून विरूद्ध नभएका करारीय दायित्व पूरा गर्न करारको प्रत्येक पक्षलाई बाध्य गराएको देखिन्छ अर्थात् करारबाट उत्पन्न दायित्वबाट करारको कुनै पनि पक्ष उम्कन नसक्ने" भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ । त्यसैगरी, "करारका शब्द र सर्तको प्रतिकूल आफ्नो सुविधाअनुसार व्याख्या वा अपव्याख्या गर्न पाइन्न" भनी ने.का.प २०६६, निर्णय नं. ८२४५, अङ्क १०, राष्ट्रिय बिमा संस्थान विरूद्ध श्रीराम शर्माको मुद्दामा व्याख्या गरिएको
पाइन्छ । यस अदालतबाट प्रतिपादित उक्त नजिर सिद्धान्तको परिप्रेक्ष्यमा बिमक र बिमितबिच तेस्रो पक्षमा पर्न जाने क्षतिको जिम्मेवारी वहन गर्ने गरी बिमा सम्झौता भएकोमा मृतकहरूको हकमा किरियाखर्च रकमसम्म भुक्तान गर्ने र तेस्रो पक्षको सम्पूर्ण दायित्व वहन गर्न नपर्ने भन्ने पुनरावेदक जिकिरसँग सहमत हुन सकिएन ।
८. अतः उल्लिखित आधार, कारण र विवेचनाबाट भे.३प ११०८ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने विनय के.सी. र रामकुमार चौधरी तथा भे.२प ५३८९ नं. को मोटरसाइकलको ठक्करबाट मृत्यु हुने जयहरी पराजुलीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ (१) र (२) बमोजिम दुवै मोटरसाइकलको तेस्रो पक्ष बिमा गरेको कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, काठमाडौंले जनही रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) क्षतिपूर्ति रकम निजहरूका हकवालालाई दिनु पर्ने ठहर्याई सुरू जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट मिति २०७१।०१।०४ मा भएको निर्णय सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७१।०६।२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । साथै, मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.दीपककुमार कार्की
इजलास अधिकृतः दीपिका थापा मगर
इति संवत् २०७६ साल कार्तिक १७ गते रोज १ शुभम् ।