निर्णय नं. १०५१४ - बैंकिङ कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।७।४
०७५-RB-०५७६
मुद्दाः- बैंकिङ कसुर
पुनरावेदक / प्रतिवादी : जिल्ला बझाङ, कोइरालकोट गाउँ विकास समिति वडा नं.८ थलारा घर भई हाल जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं.४ बसपार्क बस्ने काशीराम उपाध्यायको छोरा गोविन्द उपाध्याय
विरूद्ध
प्रत्यर्थी / वादी : नेपाल इन्भेष्टमेन्ट बैंक लि. धनगढी शाखाको पत्र जाहेरीले नेपाल सरकार
अनुसन्धानको सिलसिलामा कुनै एक कसुरमा तहकिकात आरम्भ भएको तर अनुसन्धान तहकिकात गर्दै जाँदा अर्को कसुर हो भन्ने देखिएको अवस्थामा सफाइको मौका दिई आवश्यकताअनुसार थप प्रमाण सङ्कलन गरी सुरूमा आरम्भ गरेको अनुसन्धान तहकिकातभन्दा फरक कसुरमा अभियोजन गर्न प्रचलित नेपाल कानूनले बन्देज लगाएको नदेखिएकोले चोरीको रोहबाट अनुसन्धान आरम्भ भई बैङ्किङ कसुरतर्फ थप अनुसन्धान गरी सोही विषयमा अभियोग लगाउने कार्यलाई अन्यथा भन्न नमिल्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादी : विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सुवेदी
प्रत्यर्थी / वादी :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४
सरकारी मुद्दासम्बन्धी ऐन, २०४९
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य
माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
यस शाखाले सञ्चालन गरेको ATM बाट मिति २०७३।१०।२९ गते ग्राहकले रूपैयाँ नआएको गुनासो गरेपछि ATM मा हेर्दा रू. १०००।– दरका नोट रू. २३,४४,०००।– चोरी भएको थाहा पाई आन्तरिक छानबिन हुँदा मिति २०७३।१०।२८ गते प्रतिवादी गोविन्द उपाध्याय बैंक बन्द भएपश्चात् झोला छुटेको बहानामा बैंकमा छिरेको, सो समयमा सि.सि.टि.भि. फुटेजसमेत बन्द गरेको पाइएको हुँदा निजले नै रूपैयाँ चोरी गरेको प्रस्ट हुन आएकोले कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको नेपाल इन्भेष्टमेन्ट बैंक लि. धनगढी शाखाको पत्र जाहेरी ।
जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित पूर्वमा यज्ञराज भण्डारीको पक्की घर, पश्चिममा दिनेश फर्निचर उद्योग, उत्तरमा धनगढी बजारको मूल सडकखण्ड, उत्तरमा खाली जमिन यति चार किल्लाभित्र रहेको नरेन्द्रबहादुर शाहको ३ तले घरको भुइँ तला भाडामा लिई नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखा सञ्चालनमा रही आएको, सो शाखाको पश्चिमपट्टि ग्राहकले रूपैयाँ झिक्ने भाग बाहिरपट्टि र लकरको भाग बैंकको भित्रपट्टि रहेको, सोही लकरको पासवर्ड प्रयोग गरी मिति २०७३।१०।२८ गते रू. २३,४४,०००।– चोरी भएको भनिएको स्थानको चार किल्लासहितको घटनास्थल मुचुल्का ।
म विगत ३ वर्षदेखि इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा काम गर्दै आएको छु, म बस्ने काउन्टर र ए.टि.एम. को लकर सामुन्य रहेको छ, ए.टि.एम.मा पैसा राख्दा मैले हेरिरहने भई सो रूपैयाँ चोरी गर्ने योजना पहिलेदेखि बनाई आएको थिए । सोही योजनाका साथ बैंक ए.टि.एम. को लक (पासवर्ड) राख्ने अधिकार पाएकाले पासवर्ड प्रयोग गरी पैसा राख्दा लक (पासवर्ड) याद गरी राखेको थिएँ, मिति २०७३।१०।२८ गते साँझ बैंकमा चोरी गर्ने मनसायका साथ बिहान झोला बोकी गएँ, साँझ बैंक बन्द हुँदाका समयमा जानी बुझी झोला बैंकभित्रै छोडेर रोडसम्म निस्किएँ र पुनः बैंकमा गई त्यस समयमा गार्ड रहेका केशव चन्दलाई मेरो झोला भित्र छुट्यो एकछिन निकाल्नु छ भनी पसे र त्यसै समयमा ए.टि.एम. लाई निगरानी गर्ने सि.सि.टि.भी. बन्द गरी मनमा याद गरी राखेको पासवर्डले लक खोली रूपैयाँ झिकी झोलामा हाली बाहिर निस्केको हुँ । ऐ. २९ गते ग्राहकले ए.टि.एम.बाट रूपैयाँ ननिस्केको भनी बैंकमा जानकारी गराउँदा के भएछ भनी बैंक कर्मचारीले ए.टि.एम. सिस्टम, सि.सि.टि.भी. निगरानी गरी गार्ड र कर्मचारीसमेतलाई सोधपुछको कार्य गर्दा मैले चोरी गरेको शंका पाएको हो, मैले चोरी गरेको रूपैयाँमध्ये रू. २२,७०,०००।– (बाइस लाख सत्तरी हजार) प्रहरीले खान तलासी गर्ने डरले जिल्ला कैलाली, अत्तरिया नगरपालिका वडा नं. १० बाँसखेडास्थित लिला जोशीको घरबाहिरको परालको टौवामा लुकाई छिपाई राखेको छु भने बाँकी रहेको रू. ७४,०००।– (चौहत्तर हजार) मेरो घरको म सुत्ने कोठाभित्र बिग्रेको हिटर तल लुकाई राखेको छु भन्नेसमेत बेहोराको गोविन्द उपाध्यायले गरेको घटना विवरण कागज ।
जिल्ला कैलाली, अत्तरिया नगरपालिका वडा नं. १० बाँसखेडास्थित पूर्वमा लक्ष्मी जोशीको पक्की घर, पश्चिममा मदनराज पन्तको पक्की घर, उत्तरमा भीमबहादुर चौधरीको कच्ची घर, दक्षिणमा बाँसखेडाको कच्ची भित्री सडक यति चार किल्लाभित्र रहेको लिला जोशीको घरको पश्चिमपट्टि परालको टौवाहरू रहेका सोही परालको टौवाभित्र प्रतिवादी गोविन्द उपाध्यायले चोरी गरेको रूपैयाँ लुकाएको छु भनी देखाएको स्थानमा हेर्दा डोरी सुर्किने झोलाभित्र रू.२२,७०,०००।– फेला पारी बरामद गरिएको भन्नेसमेत बेहोराको खानतलासी बरामदी मुचुल्का ।
जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं. ४ ओमशान्ति टोलस्थित पूर्वमा माधव उपाध्यायको पक्की घर, पश्चिममा खप्तड आलमोनियम उद्योग, उत्तरमा शिव भट्टको पक्की घर, दक्षिणमा अमर चन्दको पक्की घर यति चार किल्लाभित्र रहेको प्रतिवादी गोविन्द उपाध्यायको ३ तला भएको घर सो घरमा खान तलासी गर्दा तेस्रो तलाको पूर्वतर्फको प्रतिवादी गोविन्द उपाध्याय सुत्ने गरी आएको भनिएको कोठाभित्र टेबलुमाथि बिग्रिएको हिटर रहेको, सो हिटरमुनि च्यापी लुकाई राखेको अवस्थामा रू. ७४,०००।– फेला पारी बरामद गरिएको भन्नेसमेत बेहोराको खान तलासी बरामदी मुचुल्का ।
म इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा विगत डेढ वर्षदेखि सुरक्षा गार्डको काम गरी आएको छु, मिति २०७३।१०।२८ गते साँझ १७:३० देखि ऐ. २९ गते ०९:०० बजेसम्म मेरो बैंकमा गार्ड डिउटी पालोपहरा थियो, डिउटीमा म एक्लै थिएँ, मिति २०७३।१०।२८ गते शुक्रबार भएको हुँदा दिउसो १४:३० बजे बैंक बन्द भइसकेको थियो, म १७:३० बजे डिउटीमा पुगेको हुँ, सोही दिनको साँझ अन्दाजी १८:०० बजेको समयमा बैंकमा टेलर काम गर्ने कर्मचारी गोविन्द उपाध्याय बैंकमा आई मेरो झोला भित्र छुट्यो झोला लिनु छ भन्दा निज बैंककै कर्मचारी भएको हुँदा मैले विश्वासमा परी पछाडिको ढोका खोली दिएँ, निज गोविन्द उपाध्याय पछाडि ढोकाबाट भित्र पसी आफ्नो झोला लिई बाहिर निस्किई मोटरसाइकलमा गएका हुन्, गोविन्द उपाध्याय बैंक कर्मचारी भएको विश्वासले निजको झोला चेक जाँच गरिन, ऐ. २९ गते शनिवारका दिन बैंकको ए.टि.एम. मा ग्राहक रूपैयाँ झिक्न आउँदा रू. १००।– दरका नोट मात्र निस्किन थाले र ग्राहकले यस ए.टि.एम. मा रू. १०००।– दरका नोट रहेनछन् भनी गुनासो गरेका थिए, बैंककै कर्मचारी सिता चौधरीले समेत ए.टि.एम.बाट रूपैयाँ झिक्न खोज्दा रू. १००।– दरकै नोट आएपछि निज सिता चौधरीले बैंकको ए.टि.एम. सम्बन्धी जानकारी भएकालाई खबर गरिन्, निज ए.टि.एम. सम्बन्धी जानकारी भएको कर्मचारी आई रूपैयाँ झिक्न खोज्दासमेत रू. १००।– दरकै नोट आएपछि ए.टि.एम. लकको पासवर्ड भएका कर्मचारीलाई खबर गरी बैंकमा आई लक खोली हेर्दै थिए । मेरो २९ गतेको बिहानको पालो (डिउटी) सकिएको हुँदा म घर आई हालेँ, म घरमा पुगिसकेपछि बैंकबाट फोन आई बैंकमा आउन मलाई जानकारी हुँदा म बैंकमा आएपछि ए.टि.एम. लकबाट पासवर्ड चोरी गरी रू. २३,४४,०००।– चोरी गरेको थाहा हुन आयो, मलाई बैंक म्यानेजरसमेतले चोरीका सम्बन्धमा सोधपुछ गर्दा मैले माथि उल्लिखित बेहोराको जानकारी गराएको हुँ, सि.सि.टि.भी. फुटेज हेर्दासमेत गोविन्द उपाध्याय बैंकमा प्रवेश गरेको समयमा बन्द भएको पाइएकोले निजले चोरी गरेको विश्वास भएको हो, हाल आएर चोरी गरेको रकम प्रतिवादी गोविन्द उपाध्यायले लुकाई राखेको स्थानबाट प्रहरीले बरामद गरिसकेका छन् भन्नेसमेत बेहोराको केशबबहादुर चन्दले गरेको कागज ।
म धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंक शाखामा कार्य गरी आएकोमा म बस्ने कुर्सीको सामुन्ने बैंकको ए.टि.एम. लकर पर्ने भएको हुँदा लकर खोल्न आधिकारिक पासवर्ड भएका बैंक म्यानेजरसमेतले ए.टि.एम. लक खोली रूपैयाँ राख्दा हेर्ने गरी पिनकोड चोरी गर्ने मनसायका साथ याद गरेको थिएँ । मिति २०७३।१०।२८ गते बैंक बन्द भएपश्चात् अन्य कर्मचारी बाहिर निस्कँदा म बाहिर निस्किन, सि.सि.टि.भी. बन्द गरी मनमा याद राखेको पासवर्डले ए.टि.एम. लकर खोली रू.२३,४४,०००।– चोरी गरी झोलामा राखेँ, तत्काल चोरी गरेको रूपैयाँ बैंक बाहिर ल्याउन सकिनँ, घरमा गई पुनः बैंकमा गार्ड केशबबहादुर चन्दसँग झोला छुटेको बहाना गरी रूपैयाँ ल्याई बैंक बाहिर निस्केको हुँ, चोरी गरेको रूपैयाँ प्रहरीले खान तलासी गर्ने डरले अत्तरिया नगरपालिका वडा नं. १० बाँसखेडास्थित लिला जोशीको घरबाहिर रहेको परालको टौवाभित्र रू. २२,७०,०००।– राखेँ र बाँकी ७४,०००।– घरभित्रै राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्द उपाध्यायको बयान
कागज ।
म इन्भेष्टमेन्ट बैंकमा कार्यरत रहेको करिब ८ वर्ष भयो भने धनगढी शाखामा कार्य गरी आएको ४ वर्ष भयो, विगत ३ वर्षदेखि प्रतिवादी गोविन्द उपाध्याय सोही बैंकमा काम गर्दै आएका हुन्, ग्राहक सुविधाका लागि बैंकमा रहेको ए.टि.एम. खोल्न रूपैयाँ पैसा राख्नका लागि प्रयोग गर्नुपर्ने पासवर्ड प्रयोग गर्ने आधिकारिक ४ जनामध्ये म एक हो, ए.टि.एम. खोल्न सुरू ६ अङ्कको पासवर्ड प्रयोग गर्नु पर्ने र दोस्रो ६ अङ्कको पासवर्ड प्रयोग गर्नु पर्ने भई दोस्रो पासवर्ड ११२२३३ नं. मैले र शाखा म्यानेजरले प्रयोग गर्ने गरी आएका थियौं, मिति २०७३।१०।२८ गते अन्दाजी १५:४५ बजेको समयमा बैंकको त्यस दिनको काम सकी घर फर्किएको हुँ, ऐ. २९ गते प्रतिवादी गोविन्द उपाध्यायले नै मलाई फोन गरी ए.टि.एम. बाट रू. १०००।– दरको रूपैयाँ आइरहेको छैन भन्दा जानकारी पाएको करिब १० मिनेटमा म बैंक पुगे, कम्प्युटर रि-स्टार्ट गरे र आफैँले रू. १०००।– निकाल्दासमेत रू. १००।– दरका नोट मात्र आएपछि पासवर्ड प्रयोग गरी ए.टि.एम. खोली हेर्दा रू. १०००।– दरका नोट राखिएको क्यासेट पूरै खाली देखेपछि चोरी भएको थाहा पाएको हुँ र मैले चोरीको जानकारी सिलसिलेवार बैंकको माथिल्लो निकायमा गरेँ, सोधपुछका क्रममा मिति २०७३।१०।२८ गते बैंक बन्द भएपश्चात् साँझको समयमा प्रतिवादी गोविन्द उपाध्याय बाहिर ननिस्केको, बैंकभित्र लुकी बसेको सि.सि.टि.भि. फुटेजबाट देखिएको, पछि झोला छुटेको बाहानामा बैंकमा आई झोला लगी गएको गार्डबाट खुल्न आएको र प्रतिवादी बैंकमा आएको समयमा सि.सि. टि.भी. बन्द भएको पाइएपछि निजले चोरी गरेको यकिन भई बैंकले निजको नाममा किटानी जाहेरी दिएको हो, चोरी गरेको रूपैयाँ प्रतिवादीले लुकाएको स्थानबाट हाल प्रहरीले बरामद गरिसकेको जानकारी छ, प्रतिवादी गोविन्द उपाध्यायले ए.टि.एम. खोल्न मसमेतले पासवर्ड प्रयोग गर्दा गलत नियतले पासवर्ड पहिले नै चोरी गरी आफूसँग राखी मिति २०७३।१०।२८ गते ए.टि.एम. बाट रूपैयाँ चोरी गरेको हो, ए.टि.एम. खोल्ने स्थानको सामुन्ने निज बस्ने कुर्सी एवं काम गर्ने स्थान भएको हुँदा सोही मौका पारी पासवर्ड चोरी गरेको हो भन्नेसमेत बेहोराको निपूर्ण श्रेष्ठले गरेको कागज ।
म नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा काम गर्ने भई सो शाखाको ग्राहक सुविधाका लागि राखिएको पासवर्ड प्रयोग गर्ने आधिकारिक व्यक्ति हुँ, मिति २०७३।१०।२८ गते शुक्रबार परेको हुँदा चाँडै बैंक बन्द भएको हो, सोही साँझ गोविन्द उपाध्यायले फोन गरी बैंकको सि.सि.टि.भि. बन्द रहेको फोनमार्फत मलाई जानकारी गराएको हो, मैले अर्का कर्मचारी राजेन्द्र भट्टलाई सि.सि.टि.भी हेर्न पठाएको हुँ, निज बैंक गई गोविन्द उपाध्यायले ठिक बनाइसकेको भनी जानकारी दिएका हुन्, मिति २०७३।१०।२९ गते बैंकका कर्मचारी निपूर्ण श्रेष्ठले बैंकको ए.टि.एम. मा रू.१०००।– दरका नोट छैनन् भनी जानकारी गराएपछि म तत्काल बैंक गई हेर्दा रू.२३,४४,०००।– चोरी भएको पाइएको हो, बैंकको छानबिन हुँदा प्रतिवादी गोविन्द उपाध्याय मिति २०७३।१०।२८ गते बैंकबाट बाहिर ननिस्केको देखिएको, बैंकभित्रै लुकी बसेको पाइएको, पछि बैंकमा झोला छुटेको बहानाले प्रवेश गरेको पाइएपछि निजले रूपैयाँ चोरी गरेको यकिन भई किटानी जाहेरी दिई हाल आएर चोरी गरेको रूपैयाँ प्रतिवादीले लुकाई छिपाई राखेको स्थानबाट प्रहरीले बरामद गरी सकेको भन्ने जानकारी पाएको हुँ भन्नेसमेत बेहोराको लालबहादुर खड्काले गरिदिएको कागज ।
म नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा गार्डको काम गरी आएको छु, मिति २०७३।१०।२८ गते १६:०० बजे म बैंक बन्द भएपश्चात् कोठामा गएको हुँ, कोठामा पुग्दा बैंक कर्मचारी लालबहादुर खड्काले बैंकको सि.सि.टी.भि. बिग्रेको छ, हेरेर आउनु भन्दा म बैंकमा गई गार्ड केशव चन्दलाई सोध्दा कसले स्विच अफ गरेको रहेछ, अन गर्दा ठिक भइहाल्यो भनेपछि म कोठामा फर्किएको हुँ, भोलिपल्ट ए.टि.एम.बाट रूपैयाँ चोरी भएको थाहा पाएको हुँ भन्नेसमेत बेहोराको राजेन्द्र भट्टले गरिदिएको कागज ।
म इन्भेस्टमेन्ट बैंक धनगढी शाखामा ग्राहक सेवा कक्ष इन्चार्जको काम गरी आएकी छु, मिति २०७३।१०।२९ गते फिजियोथेरापी गरी बैंकमा आउँदा गार्ड केशबबहादुर चन्दले ग्राहकले हजार दरको नोट ए.टि.एम. बाट निस्केको छैन भन्दा सोही समयमा गोविन्द उपाध्यायसमेत नजिक आई एकपटक तपाइँसमेत विचार गर्नुहोस् भन्दा मैले रू. १०००।– झिक्न खोज्दा रू. १००।– को १० वटा नोट दिएपछि बैंक प्रबन्धकलाई सो कुराको जानकारी गराएकी हुँ, ऐ. भोलिपल्ट बैंकमा आकस्मिक मिटिङ छ भनी गोविन्द उपाध्यायले नै जानकारी गराउँदा म बैंकमा पुगेपछि चोरीको जानकारी पाएकी हुँ हाल आएर रूपैयाँ चोरी गर्ने निज गोविन्द उपाध्याय नै रहेको थाहा हुन आएको छ भन्नेसमेत बेहोराको सीताकुमारी चौधरीले गरिदिएको कागज ।
मेरो धनगढी उपमहानगरपालिका वडा नं. १ एल.एन. चोकमा फेन्सी पसल छ, सो पसलमा कपडा किन्न आउँदा जाँदा प्रतिवादी गोविन्दप्रसाद उपाध्यायसँग चिनजान भएको हो, निज गोविन्द उपाध्याय २।३ पटक पहिलेसमेत मेरो घरसम्म गएका थिए, मिति २०७३।११।०२ गते म धनगढीस्थित फेन्सी पसलमा नै भएको बेला प्रतिवादी गोविन्द उपाध्यायले नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाबाट चोरी गरेका रूपैयाँमध्ये रू. २२,७०,०००।– मेरो घरबाहिर परालको टौवामा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पार्यो भन्ने खबर पाई म घरमा गएको हुँ, बरामदी रूपैयाँ हेरे देखेकोसमेत हुँ, चोरी गरेको रूपैयाँ के कसो भई प्रतिवादीले मेरो घर बाहिरको परालको टौवामा लुकाएको रहेछ भनी बुझ्दा प्रतिवादी गोविन्द उपाध्यायले बैंकबाट रूपैयाँ चोरी गरेपश्चात् प्रहरीले खान तलासी गर्ने डरले मेरो घरको परालको टौवामा लुकाई छिपाई राखेको रहेछ र पछि प्रहरीले सोधपुछका क्रममा लुकाएको स्थानको बारेमा बताई सो स्थानबाट प्रहरीले बरामद गरेको रहेछ, मेरो घरमा गाई भैंसीका लागि ठुलो परालको खात लगाई राख्ने कुराको जानकारी प्रतिवादी गोविन्द उपाध्यायलाई भई तत्काल सो स्थानमा राख्दा सुरक्षित हुने देखी लुकाएको हुनुपर्छ भन्नेसमेत बेहोराको लिला जोशीले गरेको कागज ।
प्रतिवादी गोविन्दप्रसाद उपाध्यायसँग मेरो पूर्वचिनजान होइन, मिति २०७३।१०।२८ गते धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाको ए.टि.एम. भित्रैबाट रूपैयाँ चोरी भएको भन्ने सुनी थाहा पाएको हुँ, बैंकभित्रबाटै चोरी भएको हुँदा बैंकका कर्मचारीकै संलग्नता हुनु पर्छ भन्ने लागेको थियो, हाल आएर बैंकमा काम गर्ने प्रतिवादी गोविन्द उपाध्यायले बैंक ए.टि.एम. को पासवर्ड प्रयोगकर्ताबाट चोरी गरी बैंक बन्द भएको समयमा ए.टि.एम. खोली चोरी गरेको भन्ने थाहा पाएको छु, र हाल चोरी गरेको रूपैयाँ प्रतिवादी गोविन्द उपाध्यायले लुकाई छिपाई राखेको स्थानबाट बरामद भइसकेको छ भन्नेसमेत बेहोराको लगभग एकै मिलानको ललितकुमार शाहसमेतले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी गोविन्द उपाध्याय नेपाल इन्भेस्टमेन्ट शाखा धनगढी, कैलालीको ए.टि.एम. पासवर्ड प्रयोग गर्ने व्यक्ति नरहेको भन्नेसमेत बेहोराको नेपाल इन्भेस्टमेन्ट धनगढी कैलाली शाखाको पत्र ।
नेपाल इन्भेस्टमेन्ट बैंक शाखा धनगढीको ए.टि.एम. मेसिन विद्युतीय उपकरण भई सोको पासवर्ड अनधिकृत प्रयोग गरी रू.२३,४४,०००।– झिकेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गोबिन्द उपाध्यायले गरेको ततिम्बा बयान ।
म धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाको म्यानेजर रहिआएको करिब ५ वर्ष भयो, प्रतिवादी गोविन्द उपाध्याय सोही बैंकमा करिब ३ वर्षदेखि कार्यरत रही आउनु भएको हो, बैंकको ए.टि.एम. को पासवर्ड प्रयोग गर्ने प्रतिवादी गोविन्द उपाध्याय आधिकारिक व्यक्ति होइनन्, ए.टि.एम. लकर खोल्न १२ अङ्कको पासवर्ड आवश्यक पर्ने, ए.टि.एम. विद्युतीय माध्यमबाट सञ्चालन हुने भई रूपैयाँ राख्ने बाकस ए.टि.एम. भित्र राख्न लक खोल्न आधिकारिक पासवर्ड भएका म, बैंकका अन्य कर्मचारी निपुर्ण श्रेष्ठ दोस्रो ६ अङ्कको पासवर्ड प्रयोगकर्ता र बैंक कर्मचारी लालबहादुर खड्का र मिनाक्षी के.सी. पहिलो ६ अङ्कको पासवर्ड प्रयोगकर्ता हुन्, प्रतिवादी गोविन्द उपाध्याय काम गर्ने स्थान ए.टि.एम.लकरनजिक थियो, मिति २०७३।१०।२९ गते म कामको सिलसिलामा काठमाडौं रहेको अवस्थामा धनगढी शाखाको ए.टि.एम. (ग्राहक सेवाका लागि रहेको विद्युतीय मेसिन) बाट पासवर्ड प्रयोग गरी रूपैयाँ झिकिएको भन्ने जानकारी पाई केन्द्रीय बैंकिङ कार्यालयको सि.ओ. समेतलाई सो कुराको जानकारी गराई मसमेत धनगढी आई रूपैयाँका सम्बन्धमा छानबिन गर्दा सि.सि.टि.भी. फुटेजमा मिति २०७३।१०।२८ गते बैंक समयपश्चात् प्रतिवादी गोविन्द उपाध्याय बैंक बाहिर निस्केको नदेखिएको, सो दिनको गार्ड केशबबहादुर चन्दलाई बुझ्दा झोला छुटेको बहानामा गोविन्द उपाध्याय बैंकिङ समयपश्चात् पुनः बैंकमा प्रवेश गरेको पाएपछि निजले नै पासवर्ड दुरूपयोग गरी रूपैयाँ झिकेको यकिन भई किटानी उजुरी गरेका हौं, हाल आएर प्रतिवादी गोविन्द उपाध्यायले झिकेको रूपैयाँ लुकाई छिपाई गरेको स्थानबाट प्रहरीले बरामद गरिसकेको जानकारी छ, ए.टि.एम. को हिसाब किताब कम्प्युटर मनिटरिङ रहने, विद्युतीय साधन भई अनलाइनमार्फत कारोबार हुने हो, प्रतिवादीले हामी आधिकारिक पासवर्ड प्रयोगकर्ताले ए.टि.एम. लक खोल्दा गलत मनसायका साथ पासवर्ड आफूले याद (कण्ठ) गरी मिति २०७३।१०।२८ गते बैंक बन्द भएपश्चात् बैंकभित्र लुकिछिपी बसी आफूसँग राखेको पासवर्डले ए.टि.एम. लक खोली पासवर्डको अनधिकृत प्रयोग गरी रू.२३,४४,०००।– झिकी लगेको हुँदा कानूनबमोजिम हुनपर्छ भन्नेसमेत बेहोराको राजेन्द्रबहादुर सिंहले गरेको कागज ।
मिसिल संलग्न नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाको पत्र जाहेरी, घटनास्थल मुचुल्का, बरामदी मुचुल्का, प्रतिवादीको बयान कागज, बुझिएका मानिसहरू तथा वस्तुस्थिति मुचुल्कासमेतका आधार प्रमाणहरूबाट मिति २०७३।१०।२८ गते प्रतिवादी गोविन्द उपाध्यायले नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखाको ATM मेसिनको पासवर्ड अनधिकृत रूपमा प्रयोग गरी रूपैयाँ पैसा लिनेखाने मनसाय र नियतका साथ रू. २३,४४,०००।– झिकेर लगेको अवस्थामा अनुसन्धानको क्रममा उक्त रूपैयाँसमेत निजले निजको घर कोठा तथा निजले बताएको स्थानबाट बरामद भएको अवस्थासमेतलाई हेर्दा बैंकको ATM राख्ने मेसिन एक प्रकारको विद्युतीय साधन भएको, सो मेसिनमा रूपैयाँ राख्न र झिक्नका लागि विद्युतीय साधन पासवर्ड प्रयोग गर्नुपर्ने र सो पासवर्ड प्रयोग गरेपछि उक्त ATM मेसिन खुल्न सक्ने अवस्था देखिएबाट यी प्रतिवादी गोविन्द उपाध्याय उक्त बैंकको ATM मेसिनमा प्रयोग हुने पासवर्ड प्रयोग गर्ने आधिकारिक व्यक्तिसमेत नरहेको अवस्थामा बैंकको मेसिनमा ग्राहकका लागि राखेको रूपैयाँ लिनेखाने नियत र मनसायका साथ पासवर्ड प्रयोग कर्ताहरूले पासवर्ड प्रयोग गर्दा नै उक्त पासवर्ड आफूले हेरी थाहा पाइसकेपछि रूपैयाँ झिकेर लैजाने योजना बनाई उक्त वारदातका दिन बैंकमा आउँदा झोलासमेत लिएर आई बैंक समय समाप्त भएपश्चात् सबै कर्मचारीहरू घर गइसकेपछि सि.सि.टि.भि. बन्द गरी ए.टि.एम. मेसिनमा प्रयोग हुने पासवर्ड अनधिकृत रूपमा प्रयोग गरी रूपैयाँ लगी गएको देखिएबाट यी प्रतिवादीले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ ले परिभाषित कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा १५(२)(ख) बमोजिम सजाय हुन र प्रतिवादीबाट बरामद हुन आएको रू.२३,४४,०००।– समेत सोही ऐनको १५(२) नं. बमोजिम नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखालाई दिलाई भराई दिन मागदाबी लिई पक्राउ प्रतिवादी गोविन्द उपाध्यायलाई अभियोगपत्रसाथ अदालतसमक्ष पेस गरिएको छ । साथै प्रस्तुत बैंकिङ कसुरको वारदातमा पछि अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको खुल्न आएमा सोही बखत कानूनबमोजिम छुट्टै पूरक अभियोगपत्र पेस गरिने छ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मिति २०७३।१०।२९ गते बिहान १०/११ बजेदेखि बेलुकासम्म हामी सबै बैंकका कर्मचारी सँगै थियौं । उक्त दिन शनिबार भए पनि बैंकको रूपैयाँ मिति २०७३।१०।२८ गते नै रू.२३,४४,०००।- चोरी भएको कारणले मिति २०७३।१०।२९ गते साँझसम्म सबै कर्मचारीहरू बैंकमा थिए । पछि मैले मिति २०७३।१०।२९ गते साँझ अन्दाजी ६/७ बजे बैंकका मेनेजर र सम्पूर्ण कर्मचारीहरूको रोहबरमा मैले बैंकको चोरी भएको रू. २३,४४,०००।- चोरी गरेको कुरा स्वीकार गरेपछि बैंकको कुनै कर्मचारीले प्रहरी बोलाई मलाई नियन्त्रणमा लिएका थिए । नेपाल इन्भेस्टमेन्ट बैंकको पत्रमा भएको बेहोरामा मैले पासवर्ड प्रयोग गरेको एकदम गलत हो । मैले पासवर्ड नै प्रयोग नगरी रूपैयाँ निकालेको हुँ । उक्त रूपैयाँ ए.टि.एम. को कोठाको ढोका पछाडि मैले नै लुकाएर राखेको थिएँ । मैले उक्त रूपैयाँ ए.टि.एम. मा हालेकै थिएन । सो रूपैयाँ ए.टि.एम. भएकै कोठाको साइडमा (पछाडि) राखी मैले पूर्वयोजनाअनुसार आफ्नो झोला ४/५ दिनअगावै बैंकमा राखेको थिएँ । सोही झोलामा उक्त रूपैयाँ राखी बैंकबाट निस्केँ ढोका बन्द गर्नुपर्ने आवश्यकता नै थिएन किनकि त्यहाँ गार्ड पहिलेदेखि नै मौजुद थियो । सि.सि. क्यामराको समयबारे मलाई थाहा भएन तर उक्त सि.सि. क्यामरा मैले स्वयम् नै बन्द गरेको थिए, अरू पत्र बेहोरा ठिकै छ । घटनास्थल मुचुल्कामा लेखिएको सम्पूर्ण कुरा सही छ । तर लक खोली रूपैयाँ झिकेको भनेको गलत हो । किनकि मैले ए.टि.एम. मा पैसा नै नहाली ए.टि.एम. भएको कोठाको ढोकाको पछाडि मिति २०७३।१०।२८ गते दिउसो अन्दाजी ३ बजेतिर नै लुकाएर राखिसकेको थिएँ । मैले जानी-जानी त्यस्तो केही भएको होइन । अकस्मात मेरो मनमा लोभ लालच कहाँबाट आयो । विनासकाल विपरीत बुद्धिवाला काम भयो । त्यसको लागि म स्वयम् आत्मग्लानी र डिप्रेसनमा समेत भएकोले यो मेरो पहिलो गल्तीलाई मध्यनजर राखी मेरो भविष्य अन्धकारमय हुने भएकोले सोसमेत दृष्टिगत गरी हदसम्म कमसेकम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्द उपाध्यायले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा गरेको बयान ।
मुलुकी ऐन अ.बं. ११८(५) र (१०) बमोजिम यी प्रतिवादीले नगद रू. १,००,०००।- धरौट वा सो बराबरको बैंक ग्यारेन्टी अथवा जेथा जमानत दिए लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नु, दिन नसके नियमानुसार थुनामा राख्न कारगार पठाइदिनु भन्नेसमेत बेहोराको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।११।२४ को आदेश ।
मैले गरेको घटनाविवरण कागज बेहोरा ठिक छ । त्यसमा लागेको ल्याप्चे सहीछाप मेरो हो । मैलाई मिति २०७३।१०।२९ गते निपूर्ण श्रेष्ठले बोलाएपछि बैंक पुगी सो कुरा थाहा पाएको हुँ । उक्त रकममध्ये ७४०००।- निजको घरमा र अरू रकम लिला जोशीको परालमा लुकाएको बरामद भएको थियो भनी प्रहरीबाट थाहा पाएको हुँ । ए.टि.एम.मा रकम राख्ने कर्मचारी ग्रुप A को निपूर्ण श्रेष्ठ र ग्रुप B को बहादुर खड्का हुन् । पासवर्ड को कसको लापरवाही, हेलचक्र्याइँ र दुरूपयोगले खुल्न गएको मलाई थाहा भएन । ग्रुप A र B को समेत गरी चारजनालाई थाहा हुन्छ । पासवर्ड गोप्य राख्नुपर्छ भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी राजेन्द्र भट्टले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीलाई कुनै आधिकारिक रूपमा बैंकले पासवर्ड दिएको थिएन । मिति २०७३।१०।२८ गते यी प्रतिवादी बैंकबाट बाहिर गएको कुरा क्यामेराले नदेखाएकोले शंकाको घेरामा राखी अनुसन्धान गर्दाको क्रममा निजले नै उक्त रकम लिई गएको भन्ने कुरा स्वीकार गरेका थिए । ए.टि.एम. को लकरमा रूपैयाँ राख्दा A ग्रुपको एक जना र B ग्रुपको एक जना उपस्थित भई हामी दुवैले पासवर्ड राखी ए.टि.एम लकर खुल्छ र कैसेट बाहिर आएपछि त्यसमा रूपैयाँ लोड गरी पुन: कैसेटलाई भित्र राखी लक गर्छौं । लक गरेको छ कि छैन भनेर फेरी हामी दुइटै A र B ग्रुपका कर्मचारीहरूले चेक गर्छौ । लकर हेर्दा बन्द थियो । ए.टि.एम. लकरबाट फिन्गर प्रिन्ट लिएको थिएन भन्नेसमेत बेहोराको वादीका साक्षी लालबहादुर खड्काले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७३।११।२९ गतेका दिन ए.टि.एम. बाट रू. ५००।- झिक्दा रू.१०० का ५ थान नोट बाहिर आयो र मैले पाएँ । ए.टि.एम. बाट १०००।- दरको नोट निस्की नरहेको बेहोरा ग्राहकहरूले मसँग सोधपुछ गर्दैछन् मैले के भन्नु पर्यो ? सोही अवस्थामा यी प्रतिवादी स्वयं त्यस ठाउँमा आई १०००।- दरका नोट निकाल्नुस् दिदी अनि कन्फर्म हुन्छ भनी भन्दा मैले मेरो खातामा ८००।- मात्र छ । तपाइँ निकालेर कन्फर्म गर्नुहोस् भनेपछि मैले १०००।- निकाल्ने प्रयास गरे रू.१०००।- दरका नोट नआई रू.१००।- दरका नोट थान १० मात्र मैले ए.टि.एम. बाट पाएँ १०००।- दरका नोट ए.टि.एम. बाट नआएपछि म अचम्म भएँ अनि के भयो होला भनी मैले निज गोविन्दलाई सोध्दा खै दिदी ए.टि.एम. मेसिनमा समस्या भयो होला निपूर्ण श्रेष्ठलाई खबर गरी दिनुस् भन्दा मलाई अस्पताल पुग्न हतार छ तपाइँ आफैँ गरिदिनुस् भन्दा निजले मेरो मोबाइल घरमा छुटेको छ भन्यो । तपाइँको मोबाइलबाट फोन गरिदिनुहोस् भनेपछि मैले मलाई ए.टि.एम.को बारेमा केही थाहा छैन बरू मैले आफ्नो मोबाइलबाट निपूर्ण श्रेष्ठलाई फोन गरी दिन्छु भनेपछि मैले निज दुवैको कुरा गराई दिएँ । त्यसपछि मैले आफ्नो मोबाइल गोविन्दबाट लिई अस्पतालतिर लागेँ । चेक जाँच गराइसकेपछि म आफ्नो घरमा आएकी थिए । सोही दिन गोविन्दले मलाई फोन गरी दिदी अफिसमा इमरजेन्सी काम पर्यो बैंकमा आउनु भनेपछि म बैंकमा आएँ । अफिसमा आएपछि ए.टि.एम. को रूपैयाँ गायब भएको कुरा थाहा पाएँ । त्यसपछि त्यस्तो काम कसले गर्यो भनी एक आपसमा सरसल्लाह गर्दागर्दै हामी बैंकमै बस्यौं, त्यसपछि हेड अफिसबाट सरहरू आउनु भयो । सबैलाई सोधपुछ गर्दाको क्रममा राति ११ बजिसकेको थियो । सरहरूले लेडिज स्टाफको नाताले राति परेको हुँदा भोलि बिहान ७ बजे आउनु भनी निर्देशन दिई घर पठाई दिनु भएको थियो । त्यति बेलासम्म कुनै समस्या समाधान नभएपछि प्रहरी बोलाई अनुसन्धान सुरू भयो । गोविन्दले उक्त रकम चोरी गरी लिएका हुन् भनी सोमबार मात्र हामीले थाहा पायौं भन्नेसमेत बेहोराको वादी पक्षका साक्षी सीताकुमारी चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।
यी प्रतिवादीले उक्त रकम के कसरी चोरे मैले सुनेको मात्र हुँ देखेकी छैन । निजलाई मैले देखे जानेसम्म निजको चालचलन बानी बेहोरा ठीकै थियो एक्कासी यो घटना निजले के कसरी बुझी भ्रष्ट भई गरे गराए थाहा भएन निजले आफ्नो अपराध अदालतमा नै आई स्वीकार गरेकाले बेन्चले सकभर एकपटक सुध्रिने मौका दिएको अवस्थामा निजको कल्याण नै हुने छ र छविमा कुनै असर नपर्ने हुँदा बेन्चसमक्ष मेरो पनि अनुरोध स्वीकार होस् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी सरस्वती ओझाले सुरू अदालतमा गरेको बकपत्र ।
जाहेरवाला इन्भेस्टमेन्ट बैंक लिमिटेडको मिति २०७३।११।१ को पत्रबाट सो बैंकको रू.२३,४४,०००।- चोरी भएको भन्ने दखिन आयो । बरामदी मुचुल्काबाट समेत जम्मा रू.२३,४४,०००।- बरामद भएको भन्ने देखिन आएको । अभियोगपत्र हेर्दा उक्त बरामद रकम बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५(२) बमोजिम नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड धनगढी शाखालाई दिलाई भराई दिन दाबी रहेको । प्रतिवादी गोविन्द उपाध्यायले यस अदालतसमक्ष बयान गर्दासमेत बरामद रकम जाहेरवाला बैंकको भएको तथ्यमा साबित रहेको देखिन आएको हुँदा दसीको रूपमा पेस हुन आएको सो रकम सम्बन्धित बैंकलाई फिर्ता दिन बाधा पर्ने देखिएन । जाहेरवाला बैंकको आधिकारिक प्रतिनिधि उपस्थित भए रीतपूर्वक सो रकम फिर्ता दिई भरपाई गराई सोको निस्सा मिसिल सामेल राख्नु भन्ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७३।१२।९ को आदेश ।
२०७४।९।२४ मा प्रकाशित नेपाल राजपत्रको सूचनाबाट उल्लिखित मिति २०६५।९।१४ को सूचना खारेज गरी उच्च अदालत दिपायल तथा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको प्रादेशिक क्षेत्राधिकार रहने गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा वाणिज्य इजलास गठन गरिएको
देखियो । प्रस्तुत मुद्दा उक्त सूचनाले उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको प्रादेशिक क्षेत्राधिकारभित्र पर्ने देखिएकोले यस अदालतको यस इजलासबाट हेर्न नमिल्ने हुँदा तारेखमा रहेका प्रतिवादी गोविन्द उपाध्यायलाई तारेख तोकी प्रस्तुत मुद्दा सोही उच्च अदालत दिपायल, महेन्द्रनगर वाणिज्य इजलासमा पठाइदिने ठहर्छ भन्ने उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको मिति २०७४।११।२ को आदेश ।
यी प्रतिवादी गोविन्द उपाध्यायले अभियोग दाबीबमोजिमको कसुरमा साबित भई गरेको बयान सङ्कलित प्रमाणहरूबाट समेत समर्थन हुन आएकोले प्रतिवादी गोविन्द उपाध्यायले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ को कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा १५ को उपदफा २(ख) अनुसार हुन सक्ने तजबिजी कैदमध्ये न्यूनतम दुई वर्षको कैद तथा बिगो रू.२३,४४,०००।- (तेइस लाख चौवालिस हजार) बराबरको जरिवाना हुने साथै बरामद भएको नगदबाटै जाहेरवालाको बिगो असुलउपर भइसकेको देखिँदा बिगो भराई दिन नपर्ने ठहर गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट मिति २०७५।२।२ मा भएको फैसला ।
चोरी मुद्दामा अनुसन्धान तथा तहकिकात भई अन्तमा बैंकिङ कसुरतर्फ अभियोग दायर गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले मिति २०७५।२।२ मा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ को कसुर स्थापित गरी गरिएको फैसला उक्त ऐनको दफा ६ को परिभाषाविपरीत भएकोले प्रमाण ऐन, २०३१ को दफा ३, २५, ५४ बमोजिम सङ्कलित प्रमाणको उचित मूल्याङ्कन गरी चोरी मुद्दातर्फ अभियोग दाबी लिई कारबाही गर्नुपर्नेमा सोतर्फ कारबाही नगरी अभियोग दाबीको भरमा बैंकिङ कसुर स्थापित गरी गरिएको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी चोरीतर्फ कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी गोविन्द उपाध्यायको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन गरियो ।
पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित हुनु भएका विद्वान् वरिष्ठ अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद सुवेदीले चोरीको कसुरमा साबित हुनु र अभियोग दाबीको बैंकिङ कसुरमा साबित हुनु नितान्त फरक विषय र सन्दर्भ भएकोले चोरीको कसुरमा भएको साबिती र सो साबितीलाई समर्थन गर्ने सङ्कलित प्रमाणहरूको समेत समुचित मूल्याङ्कन गरी चोरीतर्फ कारबाही गरी फैसला हुनुपर्नेमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ ले परिभाषित गरेको कसुरअन्तर्गतको अभियोग दाबीमा साबित भएको भनी सोतर्फ कैद सजाय र जरिवाना गर्ने गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी चोरीको कसुरअन्तर्गत कारबाही गरिपाउँ भनी गर्नु भएको बहससमेत सुनियो ।
उपरोक्तानुसारको तथ्यगत विषय र बहस जिकिरसमेत भएको प्रस्तुत मुद्दामा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी गोविन्द उपाध्यायले ए.टि.एम. मेसिन खोल्न प्रयोग हुने पासवर्ड अनधिकृत रूपमा प्रयोग गरी रूपैयाँ झिकी लिई गएको कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ ले परिभाषित गरेको कसुर अपराध भएको पुष्टि हुन आएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा १५(२)(ख) बमोजिम सजाय हुन र प्रतिवादीबाट बरामद हुन आएको रू.२३,४४,०००।– समेत सोही ऐनको १५(२) नं. बमोजिम नेपाल इन्भेस्टमेन्ट बैंक धनगढी शाखालाई दिलाई भराई पाउँ भन्ने अभियोग मागदाबी भएकोमा प्रतिवादी गोविन्द उपाध्यायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ को कसुरमा सोही ऐनको दफा १५(२)(ख) बमोजिम दुई वर्ष कैद र बिगो रू.२३,४४,०००।- (तेइस लाख चौवालिस हजार) बमोजिमको जरिवाना हुने साथै बरामद भएको नगदबाटै जाहेरवालाको बिगो असुलउपर भइसकेको देखिँदा बिगो भराई दिन नपर्ने ठहर गरी उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासबाट मिति २०७५।२।२ मा भएको फैसलाउपर चित्त नबुझाई प्रतिवादी गोविन्द उपाध्यायको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. चोरीमा अनुसन्धान तथा तहकिकात भएको मुद्दामा सङ्कलित प्रमाणहरूको मूल्याङ्कन गरी चोरीतर्फ कारबाही भई फैसला हुनु पर्नेमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ ले परिभाषित गरेको कसुरअन्तर्गतको अभियोग दाबीमा कारबाही गरी कैद सजाय र जरिवाना गर्ने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी चोरीको कसुरअन्तर्गत कारबाही हुनुपर्ने भन्ने पुनरावेदन र बहस जिकिरतर्फ विचार गर्दा नेपाल इन्भेस्टमेन्ट बैंक लि., धनगढी शाखाको पत्र जाहेरीबाट अनुसन्धान तहकिकात सुरू भएकोमा अनुसन्धान तहकिकातको कार्यका बारेमा सरकारी वकिलसमक्ष अनुसन्धान अधिकारीले प्रतिवेदन गर्दा जिल्ला सरकारी वकिलको कार्यालयको मिति २०७३।११।१९ को पत्रबाट बैंकिङ कसुरजन्य क्रियाकलाप देखिएकोले तत्सम्बन्धी अभियोगको बारेमा पुनः सोधपुछ गराई थप अनुसन्धान गरी अभियोग पत्र तयार गर्न दिएको निर्देशानुसार बैंकिङ कसुरतर्फ अनुसन्धान तथा अभियोजन भएको देखियो ।
४. अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिति बयान, बरामदी मुचुल्का र मौकाको कागज बेहोराबाट बरामद भएको रकम अनधिकृत रूपमा ए.टि.एम.को पासवर्ड (लक नं.) प्रयोग गरी खोली रकम झिकेको भन्ने तथ्यलाई समर्थित हुने गरी यी प्रतिवादी गोविन्द उपाध्यायले नेपाल इन्भेस्टमेन्ट बैंक शाखा धनगढीको विद्युतीय माध्यमको ए.टि.एम. मेसिनको पासवर्ड दुरूपयोग गरी रू.२३,४४,०००।– झिकेको हुँ भन्नेसमेत बेहोरा लेखाई अदालतमा बकपत्र गरेको देखियो ।
५. अनुसन्धान अधिकारीले पेस गरेको प्रारम्भिक प्रतिवेदनमा देखिएको कारबाही वा त्रुटिका सम्बन्धमा सरकारी वकिलले निर्देशन दिनसक्ने र सो निर्देशानुसार अनुसन्धान अधिकारीले तहकिकात गर्नुपर्ने सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ६(२) ले गरेको व्यवस्थाबमोजिमकै कारबाही देखिँदा अनुसन्धान तहकिकात तथा अभियोजनको त्रुटिको कारणले मात्रै कुनै सरकारवादी मुद्दामा अनुसन्धानको सिलसिलामा कुनै एक कसुरमा तहकिकात आरम्भ भएको तर अनुसन्धान तहकिकात गर्दै जाँदा अर्को कसुर हो भन्ने देखिएको अवस्थामा सफाइको मौका दिई आवश्यकताअनुसार थप प्रमाण सङ्कलन गरी सुरूमा आरम्भ गरेको अनुसन्धान तहकिकातभन्दा फरक कसुरमा अभियोजन गर्न प्रचलित नेपाल कानूनले बन्देज लगाएको नदेखिएकोले प्रस्तुत मुद्दामा चोरीको रोहबाट अनुसन्धान आरम्भ भई बैंकिङ कसुरतर्फ थप अनुसन्धान गरी सोही विषयमा अभियोग लगाउने कार्यलाई अन्यथा भन्न मिल्ने देखिएन ।
६. बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ को विद्युतीय माध्यमको दुरूपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने शीर्षकअन्तर्गत “कसैले पनि क्रेडिट कार्ड, डेबिट कार्ड, अटोमेटेड टेलर मेसिन (ए.टि.एम.) कार्ड वा अन्य विद्युतीय माध्यमको दुरूपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन हुँदैन” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।
७. यी प्रतिवादी गोविन्द उपाध्याय नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाले राखेको ए.टि.एम. नजिकै बसेर दैनिक कार्य जिम्मेवारी वहन गर्ने कर्मचारी भई निजको तोकिएको जिम्मेवारीकै रोहमा सम्बन्धित ए.टि.एम.मा बैंकले दैनिक रूपमा रकम राख्दा बैंक म्यानेजर र लेखा प्रमुखसमेतका अधिकारीले ए.टि.एम. खोल्ने प्रयोजनको लागि राखेको लक नं. प्रविष्ट गरेको हेर्ने र सो याद गरी सोही लक नं. प्रयोग गरी ए.टि.एम. खोली त्यसमा भएको रकम झिकेको देखिएको अवस्थामा प्रतिवादीले बैंकको कुनै लकरमा रहेको रकम चोरी गरी लगेको नभई विद्युतीय माध्यमबाट चल्ने ए.टि.एम. (ATM) मेसिनको लक नं. दुरूपयोग गरी रकम झिकेको भन्ने नै देखिन आयो ।
८. अरू कसैको ए.टि.एम. प्रयोग गरी वा अन्य कुनै माध्यमले बैंक वा ए.टि.एम. (ATM) मा रहेको रकम लिने वा दिने कार्यमात्र बैंकिङ कसुर हुन सक्ने भन्ने विधायिकी मनसाय होइन । बैंकमा कार्यरत कर्मचारीले अनधिकृत रूपमा बैंकबाट रकम लिने दिने गरी गरेको कार्य र साथै कसैको मन्जुरीबेगर सक्कली ए.टि.एम. वा नक्कली ए.टि.एम. बनाई वा लक नं. दुरूपयोग गरी बैंकबाट रकम झिकेको कार्य बैंकिङ कसुरको दायराभित्र पर्ने देखिएबाट यी प्रतिवादी गोविन्द उपाध्यायले अनधिकृत रूपमा विद्युतीय माध्यमको ए.टि.एम. लक नं. को दुरूपयोग गरी ए.टि.एम. (ATM) मेसिन खोली रकम झिकेको कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ ले परिभाषित गरेको कसुरभित्रकै कार्य गरेको देखिन आएकोले चोरीमा अनुसन्धान तथा तहकिकात भएको मुद्दा चोरीतर्फ कारबाही भई फैसला हुनु पर्नेमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ बमोजिमको कसुरअन्तर्गतको अभियोग दाबीमा कारबाही गरी कैद र जरिवाना गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी चोरीको कसुरमा कारबाही हुनुपर्ने भन्ने पुनरावेदन र विद्वान् वरिष्ठ अधिवक्ता र अधिवक्ताको बहस जिकिरसँग सहमत हुन सकिएन ।
९. तसर्थ, माथि विवेचित आधार र कारणसमेतबाट यी प्रतिवादी गोविन्द उपाध्यायले अभियोग दाबीबमोजिम बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ को कसुरमा सोही ऐनको दफा १५(२)(ख) बमोजिम २(दुई) वर्ष कैद तथा बिगो रू.२३,४४,०००।- (तेइस लाख चौवालिस हजार) जरिवाना गरी बरामद भएको नगदबाटै जाहेरवालाको बिगो असुलउपर भइसकेकोले बिगो भराइदिन नपर्नेसमेत ठहर्याई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासबाट मिति २०७५।०२।०२ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृत : मिनबहादुर कुँवर र माधव भण्डारी
इति संवत् २०७६ साल कार्तिक ४ गते रोज २ शुभम् ।