निर्णय नं. १०५२५ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।४।२१
०७५-CR-०८४७
मुद्दा:- कर्तव्य ज्यान
पुनरावेदक / वादी : भोलादास तात्मको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : यदुनन्दन ठाकुरको छोरा विदेश भारत, विहार राज्य मधुवनी जिल्ला थाना जयनगर ग्रामपोष्ट कमलवारी ग्राम घर भई हाल जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं.१७ स्थित रामजानकी मन्दिरमा पुजारी भई बस्ने परिक्षण भन्ने रामपरिक्षण ठाकुर
मृत्यकालीन घोषणाको सम्बन्धमा मृतकले आफ्नो मृत्युको बारेमा मृत्यु हुनुभन्दा अगाडि आधिकारिक रूपमा आफ्ना भनाइहरू राखेको हुनुपर्ने ।
कुनै आधिकारिक व्यक्तिको रोहवरमा मृतकको भनाइ व्यक्त नभएको र त्यसलाई प्रामाणिक मान्यता दिनुपर्ने आवश्यक रोह रीत नपुगेकोमा मृतकले मृत्यु हुनुपूर्व व्यक्त गरेको भनाइले प्रामाणिक मूल्य र मान्यता राख्न नसक्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रिद्धिनाथ निरौला
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने अदालत :
मा.न्या.श्री विनोदकुमार पोखरेल
सिराहा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने अदालत :
मा.न्या.श्री गोपाल भट्टराई
मा.न्या.श्री नसरूल्लाह अन्सारी
उच्च अदालत जनकपुर, राजविराज इजलास
फैसला
न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन,२०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:-
तथ्य खण्ड
जिल्ला स्वास्थ्य कार्यालय, सिराहाको शव गृहमा राखिएको मृतक सुबोधकुमार दासको दायाँ कानको माथिको भागमा २ इन्च काटिएको, माथिपट्टिको एउटा दाँत भाँचिएको, दायाँ गालामा ३ से.मी. गोलो पिल्सिएको घाउ रहेको, दायाँपट्टि निधारदेखि टाउकोसम्म २ इन्च काटी १० वटा टाँका लगाएको, दायाँ कानमाथि टाउकोमा डेढ इन्च काटी ५ वटा टाँका लगाएको र दायाँ आखीभौंमा आधा इन्च काटी एउटा टाँका लगाएको देखिएको भन्ने बेहोराको घटनास्थल लास मुचुल्का ।
मिति २०७१।९।१५ गते मेरो दाजु सुबोधकुमार दास काम विशेषले भारतको जयनगर गई सोही दिन फर्की आई जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ माडर स्थित रामजानकी मन्दिरमा बास बस्दा रातको समयमा को-कसले सोही स्थानमा मेरो दाजुलाई धारिलो हतियारले काटी गम्भीर घाइते बनाई उपचारको क्रममा मिति २०७१।९।१६ गते सिराहा जिल्ला अस्पतालमा मृत्यु भएको हुँदा उक्त लास दाह संस्कारको लागि जिम्मा बुझी पाउँ भन्ने बेहोराको प्रमोदकुमार दासको निवेदन ।
जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ स्थित रामजानकी मन्दिरमा रहेको पिलरको पूर्व लाइनमा रगत लागी सुकेको देखिएको, सोही मन्दिरको उत्तरपट्टिको कोठामा रहेको कालो झोलाभित्र निलो रङ्गको जिन्स पाइन्ट थान-१, हरियो रङ्गको टिसर्ट थान-१, रातो खैरो रङ्गको तौलिया थान-१, सोही झोलाको अर्कोपट्टि गोजीमा भारतीय नगद रू.६५०।- फेला पारी उक्त कपडा, रकम र झोलासमेत प्रहरीले बरामद गरी लगेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
सुबोधकुमार दासको टाउकोमा चोट लागी मृत्यु भएको भन्ने बेहोराको पोष्टमार्टम रिपोर्ट ।
मेरो छोरा सुबोधकुमार दास मिति २०७१।९।१५ गते बहिनीको घर भारत जयनगर गई सोही दिन फर्कंदा रात पर्न गएकोले जिल्ला सिराहा, नगरपालिका वडा नं. १७ स्थित रामजानकी मन्दिरमा बास मागी सुतिरहेको अवस्थामा के-कुन रिसइवीको कारण सोही मन्दिरका पुजारी परिक्षण ठाकुरले मेरो छोराको टाउकोमा बन्चरोले प्रहार गर्दा मेरो छोरा छट्पटाई चिच्याएकोले सो आवाज सुनी नजिकका मानिसहरू आएकाले पुजारी सो स्थानबाट भागी गएका हुन्, सोपश्चात् उक्त स्थानबाट मसमेतलाई घटनाको जानकारी गराएकोले म घटनास्थलमा आई मेरो छोरालाई उपचारको लागि लाने क्रममा “कसले यस्तो घटना घटायो ?” भनी सोध्दा मेरो छोराले “सोही मन्दिरका बाबाजीले बन्चरोले हानेको ।’’ भनी जानकारी गराएपश्चात् मेरो छोरालाई सिराहा अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको हो । मेरो छोरालाई के कुन रिसइवीको कारण अन्यायी पुजारीले बन्चरोले प्रहार गरी हत्या गरेको हुँदा निज अन्यायीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको भोला दास तत्माको जाहरी दरखास्त ।
वारदातपश्चात् फरार रहेका प्रतिवादी रामपरिक्षण ठाकुरलाई फेला पारी पक्राउ गरी दाखिला गरेको भन्ने बेहोराको प्रहरी प्रतिवेदन ।
मिति २०७१।९।१५ गते राति २१:३० बजेको समयमा म पुजारी भएको रामजानकी मन्दिरमा म आगो ताप्दै बसिरहेको अवस्थामा हाल नाम थाहा भएका सुबोधकुमार दास तत्मा झोला बोकी सोही स्थानमा आई बास पाइन्छ कि पाइँदैन भनी सोधेकोले मैले हुन्छ भनी सोही मन्दिरको उत्तरपट्टि रहेको कोठा देखाई २ वटा कम्मल दिई फर्की आई आगो ताप्दै गाँजा बनाइरहेको अवस्थामा निज सुबोधकुमार दास तत्मा उठी पिसाब फेरी म भएको स्थानमा आई म पनि गाँजा खान्छु भनेकोले मैले अलिकति तानी निजलाई पनि दिएँ, सोपश्चात् हामी दुवैजना गफ गर्दै बसिरहेको अवस्थामा निजले अघि खाएको गाँजा चित्तै बुझेन, फेरी खानुपर्छ भनेकोले राति अन्दाजी ०१:१५ बजेको समयमा मैले पुन: गाँजा बनाई चिलिममा हाली सल्काउन लाग्दा निज सुबोधकुमार दास तत्माले उक्त चिलिम खोसी आफैँले सल्काई गाँजा खाँदै हो-हल्ला गर्न लाग्दा मैले निजलाई तिमी माती सकेका छौं, अब नखाउ भन्दा निजले अरू दिन ४/४ चक्की नाइट्रोसन खाँदा त केही हुँदैन थियो, आज २ चक्की मात्र खाएको छु, के मात्नु भन्दै अपशब्द बोल्न थालेकोले मैले निजको हातबाट उक्त चिलिम खोस्न लाग्दा निजले सोही चिलिमले मेरो अनुहारमा एक्कासी हिर्काउँदा मैले सोही स्थानमा आगो बाल्न ल्याएको बाँसको भाटा हातमा उठाउँदा निजले मलाई गाली गर्दै बरण्डातिर गएकोले मैले मेरो हातमा भएको उक्त भाटाले निजको टाउकोमा ४/५ पटक हिर्काएपछि निज रगताम्य भई सोही मन्दिरको बरण्डामा लडेकोले म सो स्थानबाट भागी मेरो हातमा भएको बाँसको भाटा खेतमा फाली भारततर्फ गई बसेको थिएँ, पछि निज सुबोधकुमार दास तत्माको उपचारको क्रममा मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ, म २१/२२ दिन भारतमा बस्दा मेरो खोज खबर नभएकोले फर्की आई सोही मन्दिरतिर हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो, मैले यसभन्दा अगाडि पनि आफ्नै श्रीमती र भाइलाई कर्तव्य गरी मारी भारतबाट फरार भई नेपालमा आई लुकिछिपी बसेको थिएँ भन्ने बेहोराको प्रतिवादी रामपरिक्षण ठाकुरले साबित भई अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ स्थित रामजानकी मन्दिरको परिसरभित्र बाँसको भाटा ३ थान र माटाको चिलिम १ थान फेला पारी बरामद गरेको भन्ने बेहोराको बरामदी मुचुल्का ।
वारदात मिति, समयमा म आफ्नै घरमा सुतिरहेको थिएँ, सोही समयमा जाहेरवाला मेरो घरमा आई मेरो छोरा सुबोधकुमार दास माडरमा रहेको रामजानकी मन्दिरमा घाइते अवस्थामा छ, उपचारको लागि लानुपर्यो, सहयोग गरिदिनु भनेकोले म पनि सो स्थानमा जाँदा जाहेरवालाको छोरालाई घाइते अवस्थामा देखी मसमेत भई निजलाई उपचारको लागि सिराहा अस्पतालमा ल्याउने क्रममा तिमीलाई को, कस्ले कुटपिट गर्यो भनी सोध्दा निजले मन्दिरको पुजारी बाबाले मलाई कुटपिट गरेको हो भन्दा मैले सुनी थाहा पाएको हुँ, निज घाइतेको उपचारको क्रममा मृत्यु भएको हो, निज पुजारी रामपरिक्षण ठाकुरलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको राजेश्वर दास तत्माले गरिदिएको घटना विवरण कागज ।
मिति २०७१।९।१५ गतेको दिन अन्दाजी १५:०० बजेको समयमा मेरो भाइ सुबोधकुमार दास मेरो घरमा आई म जयनगर बजारमा सामान किन्न आएको हुँ अलिकति पैसा दिनुहोस् भनेकोले मैले भारतीय रू.१,०००।- दिएपश्चात् मेरो भाइ जयनगर बजारतर्फ गएको थियो, सोको भोलिपल्ट बिहान फोनमार्फत् मेरो भाइ घाइते छ भन्ने जानकारी प्राप्त भएपश्चात म माइतीघर आइपुग्दा मेरो भाइको मृत्यु भइसकेको थियो, पछि बुझ्दा मेरो भाइ जयनगरबाट घर फर्किने क्रममा रात परेकोले सिराहाको माडरमा रहेको रामजानकी मन्दिरमा बास बसेको अवस्थामा सोही मन्दिरमा पुजारी रामपरिक्षण ठाकुरले मेरो भाइलाई कुटपिट गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ, निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने बेहोराको सुधादेवी दास तत्माले गरिदिएको घटना विवरण कागज ।
वारदात मिति, समयमा म आफ्नै घरमा सुतिरहेको अवस्थामा रामजानकी मन्दिरतर्फ हो-हल्ला भएको आवाज सुनी उक्त स्थानमा गई हेर्दा सो मन्दिरको बरण्डामा जाहेरवालाको छोरा सुबोधकुमार दासको टाउकोमा चोट लागी घाइते अवस्थामा लडिरहेको देखी मैले फोनमार्फत जाहेरवालालाई घटनाको जानकारी गराएपश्चात् जाहेरवालासमेतका मानिसहरू आई निज घाइतेलाई उपचारको लागि लगी उपचार गराउने क्रममा निजको मृत्यु भएको हो, पछि बुझ्दा सोही मन्दिरका पुजारी रामपरिक्षण ठाकुरले बाँसको भाटाले निज सुबोधकुमार दासलाई कुटपिट गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको महेन्द्र साहले गरिदिएको घटना विवरण कागज ।
वारदात मिति, समयमा हामी सुतिरहेको अवस्थामा जाहेरवाला हाम्रो घरमा आई मेरो छोरा सुबोधकुमार दास सिराहाको माडरमा रहेको रामजानकी मन्दिरमा घाइते अवस्थामा छ, भनी मलाई फोन आएको थियो, सहयोग गरिदिनु पर्यो भनेकोले हामी उक्त स्थानमा जाँदा जाहेरवालाको छोरा सुबोधकुमार दासको टाउको ३/४ ठाउँमा काटी चोट लागी रगताम्य भई सोही मन्दिरको बरण्डामा लडेको देखी हामीसमेत भई उपचारको लागि सिराहा अस्पताल ल्याउने क्रममा को-कसले कुटपिट गर्यो भनी सोध्दा निजले मन्दिरको पुजारी बाबाले कुटपिट गरेको हो भनी बताएका हुन्, निज सुबोधकुमार दासको उपचारको क्रममा मृत्यु भएको हो, पछि बुझ्दा निज सुबोधकुमार दास भारतको जयनगर गई फर्कंदा रात परेकोले सोही मन्दिरमा बास बस्दा सोही मन्दिरका पुजारी र निज सुबोधकुमार दासले राति गाँजा बनाई खाने क्रममा निजहरूबिच वादविवाद हुँदा आगो बाल्न ल्याएको बाँसको भाटाले पुजारी रामपरिक्षण ठाकुरले सुबोधकुमार दासको टाउकोमा प्रहार गरी घाइते बनाई फरार भएको भनी सुनी बुझी थाहा पाएको हुँदा निज राम परिक्षण ठाकुरलाई कानूनबमोजिम सजाय होस् भन्ने बेहोराको रंजनकुमार दास र सेवकलाल दासले एकै मिलान हुने गरी गरिदिएको घटना विवरण कागज ।
वारदात मिति, समय, स्थानमा हो-हल्ला भएको सुनी के भएछ भनी उक्त स्थानमा गई हेर्दा जाहेरवालाको छोरा सुबोधकुमार दासको टाउकोमा चोट लागी रगताम्य भई सोही रामजानकी मन्दिरको बरण्डामा लडिरहेको अवस्थामा देखी सो स्थानमा जम्मा भएका मानिसहरूले को-कसले कुटपिट गरेको भनी बताएपश्चात् निज घाइतेका आफन्तहरू आई निजलाई उपचारको लागि सिराहातर्फ लगी उपचार गराउने क्रममा निजको मृत्यु भएको भनी सुनी थाहा पाएका हौं, पछि के कसरी उक्त घटना घट्यो भनी बुझ्दा सोही मन्दिरका पुजारी र निज सुबोधकुमार दासले राति गाँजा बनाई खाने क्रममा निजहरूबिच वादविवाद हुँदा आगो बाल्न ल्याएको बाँसको भाटाले पुजारी रामपरिक्षण ठाकुरले सुबोधकुमार दासको टाउकोमा प्रहार गरी घाइते बनाई फरार भएको भनी सुनी बुझी थाहा पाएका हौं, निज प्रतिवादी रामपरिक्षण ठाकुरलाई कानूनबमोजिम सजाय होस् भन्ने बेहोराको नारायण सिंह, अजयकुमार साह र रामकुमार पासवानसमेतले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
विदेश भारतमा प्रतिवादी रामपरिक्षण ठाकुरउपर कर्तव्य ज्यान मुद्दा दायर भएको कागजातहरू मिसिल संलग्न रहेको ।
संकलित कागजात आधार प्रमाणहरूबाट मिति २०७१।९।१६ गते बिहानको राति अन्दाजी ०१:१५ बजेको समयमा जिल्ला सिराहा, सिराहा नगरपालिका वडा नं. १७ माडर स्थित रामजानकी मन्दिरमा बास बसेको अवस्थामा प्रतिवादी रामपरिक्षण ठाकुरले जोखिमी बाँसको धारिलो भाटाले मृतक सुबोधकुमार दासको टाउकोजस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा घाइते भई निज सुबोधकुमार दासको उपचारको क्रममा मृत्यु भएको पुष्टि हुन आई प्रतिवादी रामपरिक्षण ठाकुरले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. विपरीतको कसुर अपराध गरेको पुष्टि हुन आएकोले निज भारतीय नागरिक प्रतिवादी रामपरिक्षण ठाकुरलाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग-पत्र ।
म माडरस्थित रामजानकी मन्दिरमा ४ वर्षदेखि पुजारी भई काम गर्दै आएको छु । त्यसभन्दा पहिला जनकपुरको विसरा भन्ने ठाउँमा थिएँ । मिति २०७१।९।१५ गते म मन्दिरमा नै थिए । राति ८:३० बजेको समयमा मृतक सुबोध दाससँग भेट भएको थियो र मैले चिनेकोसमेत थियो । मलाई प्रहरीले मिति २०७१।१०।१२ गतेमा रामजानकी मन्दिरबाट पक्राउ गरी ल्याएको हो । मैले सुबोध दासलाई काटी कर्तव्य गरी मारेको छैन, होइन । विनोद साह तेली, सुरेश साह तेली, श्री किशोर साह सुडीले मलाई कुटेर भागेका हुन् भनी मृतकले मर्नुभन्दा पहिला मलाई भनेको हो । निजलाई उपचारको लागि सिराहा ल्याउँदै गर्दा मृत्यु भएको भन्ने मैले थाहा पाएको छु । अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मैले निज विनोद साह तेलीसमेतको नाम भनेको थिए । यहाँ अहिले बयान सुनाउँदा सो नाम उल्लेख नगरी बयान कागज लेखिएको रहेछ, किन मैले भनेको कुरा नलेखेका हुन्, निज नै जानुन् । मैले सुबोधकुमार दासलाई कुटपिट गरी मारेको छैन, होइन । मलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी परिक्षण भन्ने रामपरिक्षण ठाकुरले मिति २०७१।११।१० गते अदालतमा गरेको बयान ।
मेरो छोरालाई प्रतिवादी रामपरिक्षण ठाकुरले कर्तव्य गरी ज्यान मारेको हो । जाहेरी बेहोरा र सहीछाप मेरै हो भन्ने बेहोराको जाहेरवाला भोला दास तत्माले मिति २०७२।१।१७ गतेमा अदालतसमक्ष गरेको बकपत्रको संक्षिप्त बेहोरा ।
बेहोरा र सहीछाप मेरै हो । जाहेरवालाको छोरा सुबोध दासलाई प्रतिवादी रामपरिक्षण ठाकुरले बन्चरोले टाउकोमा प्रहार गरी घाइते बनाई उपचारको क्रममा सिराहा अस्पतालमा मृत्यु भएको हो भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्काको मानिस राजेस्वर दासले मिति २०७२।१।१७ गतेमा अदालतसमक्ष गरेको बकपत्रको संक्षिप्त बेहोरा ।
घाउ चोटको अवस्था विवादको सुरूवात एवं प्रहार गर्दाको परिस्थिति र साधनसमेतलाई विचार गर्दा, प्रस्तुत वारदात आवेशप्रेरितको कसुर रहेकोमा विवाद देखिन आएन । तसर्थ, प्रतिवादी परिक्षण भन्ने रामपरिक्षण ठाकुरले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसुर अपराध गरेको देखिन आएकोले प्रतिवादीलाई १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ भनी सुरू सिराहा जिल्ला अदालतको मिति २०७२।२।४ को फैसला ।
घाउचोटको प्रकृति हेर्दा एक ठाउँमा मात्र निज प्रतिवादीले मृतकलाई प्रहार गरेको नदेखिई धेरै पटक र संवेदनशील अङ्गहरूमा चोट प्रहार गरेको देखिन्छ । यस्ता क्रूर र अमानवीय हत्याको वारदातमा आपराधिक कार्यबाट नै मनसाय नि:सृत हुने हुँदा मनसाय तत्त्वको निरपेक्ष खोजी गर्न आवश्यक
देखिँदैन । अत: प्रतिवादीको कर्तव्यबाट मृतक सुवोधकुमार दासको मृत्यु भएको पुष्टि हुँदाहुँदै सुरू जिल्ला अदालतबाट प्रतिवादीलाई आवेशप्रेरित हत्याको कसुर ठहराई भएको उक्त फैसला मौजुदा वस्तुगत प्रमाणको मूल्याङ्कन एवं कानूनको प्रयोग एवं व्याख्या र प्रतिपादित नजिर सिद्धान्तको प्रतिकूलसमेत रही त्रुटिपूर्ण हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुन सम्मानित अदालतसमक्ष सादर अनुरोध गरिन्छ भन्ने बेहोराको वादी नेपाल सरकारको उच्च अदालत राजविराजमा परेको पुनरावेदन ।
पूर्वइवी परिचय र मार्नुपर्ने कारणसमेत नरहेका मृतकलाई गाँजा खाने निहुँमा पटकपटक विवाद भई पहिले नशा लागेका मृतकले नै प्रतिवादीलाई चिलिमले प्रहार गर्दा आवेशमा बाँसको चिरपट प्रहार भएको भन्ने प्रतिवादीको मौकाको कथन अन्यथा देखिँदैन । तसर्थ सुरू सिराहा जिल्ला अदालतबाट विवादको सुरूवात, घाउचोटको अवस्था, प्रहार गर्दाको परिस्थिति र प्रयुक्त साधनसमेतलाई मध्यनजर गरी प्रस्तुत वारदातलाई आवेशप्रेरित ठहराएको अन्यथा देखिएन । अत: प्रतिवादी परिक्षण भन्ने रामपरिक्षण ठाकुरले मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. अनुसारको कसुर गरेको ठहराई निजलाई कैद वर्ष १०(दश) हुने ठहराएको सुरू सिराहा जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने बेहोराको उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७४।१।८ को फैसला ।
प्रतिवादी र मृतकबिच गाँजा खाने विषयमा उठेको विवादका कारण प्रतिवादीले पटकपटक टाउकोजस्तो संवेदनशील भागमा भाटाजस्तो जोखमी हतियारले प्रहार गर्नुले नै तत्काल उठेको रिस थाम्न नसकी लाठी, लात, ढुङ्गा, मुक्का इत्यादिले एकपटक मात्र हानेको अवस्था नदेखिई प्रतिवादी मात्रैले एकोहोरो पटकपटक प्रहार गर्नुले नै आवेशको स्तर र अवस्था नियन्त्रणबाहिर थियो भन्न नसकिने हुँदा मनसाय स्थापित भइरहेको अवस्था छ । यसर्थ उच्च अदालत जनकपुर राजविराज इजलासले तथ्य र प्रमाणको गलत मूल्याङ्कन गरी प्रतिवादीलाई अभियोग मागदाबीभन्दा फरक दफा प्रयोग गरी सुरू अदालतको फैसलाको सदर गरी कम सजाय गर्ने गरी गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी उल्लिखित प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
अदालतको ठहर
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट बहसमा उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रिद्धिनाथ निरौलाले पुनरावेदन जिकिरलाई समर्थन गर्दै आफ्नो बहसको प्रस्तुतिमा भाटाजस्तो वस्तुले मृतकलाई प्रतिवादीले मानव शरीरको टाउकोजस्तो संवेदनशील अङ्गमा पटकपटक प्रहार गरिएको अवस्थामा दाबीबमोजिम नगरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. लगाएको उच्च अदालत जनकपुर, राजविराज इजलासको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर भई अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय होस् भनी भन्नुभयो ।
उपर्युक्तानुसारको तथ्य रहेको प्रस्तुत मिसिलमा विद्वान् उपन्यायाधिवक्ताले राख्नु भएको बहस जिकिरलाई समेत सुनी निर्णयतर्फ विचार गर्दा मूलत घटित वारदात मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको हो वा होइन ? अभियोग मागअनुसार ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्छ, सक्तैन ? र उच्च अदालत जनकपुर, राजविराज इजलासबाट प्रतिवादीले ज्यानसम्बन्धी महलको १४ नं. को कसुर गरेको ठहराई भएको फैसला मिलेको छ छैन ? भनी यसै विषयको निरूपण गरी निर्णय दिनुपर्ने देखिन आयो ।
२. अब निर्णयतर्फ विचार गरी हेर्दा मिसिल संलग्न प्रमाण कागजात, बकपत्र गर्ने व्यक्तिको बकपत्र बेहोरा, अनुसन्धान अधिकारीसमक्ष प्रतिवादी स्वयंले गरेको बयान बेहोरासमेतबाट मृतक सो रात प्रतिवादी रहेबसेको मन्दिरमा बास बस्न आएको र गाँजा खाने क्रममा एक्कासी विवाद भई सोही क्रममा बिना तयारी एकाएक आवेगमा आई प्रतिवादीले मृतकलाई बाँसको भाटाले हानेको र उपचारको क्रममा मृतकको मृत्यु भएको भन्ने देखिएको छ ।
३. अभियोग दाबीबाट प्रतिवादीले जोखमी बाँसको धारिलो भाटाले मृतक सुबोधकुमार दासको टाउकोजस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा घाइते भई निजको उपचारको क्रममा मृत्यु भएको प्रमाणद्वारा पुष्टि भएकोले ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय होस् भन्ने दाबी लिएकोमा सुरू जिल्ला अदालतबाट घटित वारदातलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिमको कसुर ठहर गरी फैसला भएको र सोउपर पुनरावेदन परी पुनरावेदन अदालतबाट समेत सुरू जिल्ला अदालतको सोही फैसला सदर हुने ठहर्याएको देखिन्छ ।
४. प्रतिवादी र मृतकबिच गाँजा खाने विषयमा सामान्य विवाद भई सोही कारणबाट प्रतिवादीले पटकपटक टाउकोजस्तो संवेदनशील अङ्गमा बाँसको भाटाले प्रहार गर्नुबाट नै प्रतिवादी विरूद्धको आरोप प्रमाणित भइरहेको छ । त्यसैले आवेशमा आई एक्कासी गरेको प्रहारबाट मृतकको मृत्यु भएको भन्ने अवस्था छैन भनी नेपाल सरकारको तर्फबाट लिइएको पुनरावेदन जिकिरको सन्दर्भमा हेर्दा; प्रथमत: पूर्ण अपराध हुनको लागि आवश्यक पर्ने तत्त्वहरूकै बारेमा हेर्नुपर्ने देखियो । सो सम्बन्धमा फौजदारी न्यायका सिद्धान्तअनुसार पूर्ण अपराधको लागि निम्न तत्त्वहरू आवश्यक हुन्छन् :
(क) मनसाय (Mens Rea)
(ख) सोअनुसारको पूर्वतयारी (Premediation)
(ग) तैयारी मुताबिकको कार्य (Actus rea)
(घ) कानूनले निषेध गरेको कार्य (Illegal Act)
५. उल्लखित यी चार चरण वा चार तत्त्व एउटा पूर्ण अपराधको लागि आवश्यक हुने देखिन्छ । हत्याजस्तो अपराधमा समेत यी चरणको पूर्णता: को अवस्था वा अभावको आधारमा त्यसको गम्भीरता निर्धारण गरिन्छ । मनसायप्रेरित अपराध (Premediated Crime) र आवेशप्रेरित अपराध (Prevocational Crime) का बिचको मुख्य फरक भनेकै आवेशप्रेरित अपराधमा मनसाय, पूर्वतयारी बिना नै काम भएको हुन्छ । अर्थात् आवेशप्रेरित हत्या (Prevocational Murder) र आपराधिक हत्या (Premediated Murder) मा मूलत हुने भिन्नता वा फरक यसैलाई मानिन्छ । आपराधिक हत्यामा मनसायपूर्वक तयारीका साथ काम सम्पन्न गरिन्छ भने आवेश प्रेरित हत्यामा मनसाय र पूर्वतयारीको अभावमा तत्काल उठेको रिसको कारणले घटना घटाइएको हुन्छ । त्यसैगरी भवितव्य हत्या (Accidental Murder) मा मनसाय वा आवेश तत्वको विद्यमानता नरही केही गर्दागर्दै अचानक घटना घट्न गई कसैको मृत्यु भएको हुनुपर्दछ ।
६. प्रस्तुत मिसिलको सन्दर्भमा घटित वारदातको अवस्था र प्रकृतिलाई हेर्ने हो भने घटनामा मृतक र प्रतिवादीको मात्र उपस्थिति रहेको देखिन्छ । मृतकको जिउ (शरीर) मा एउटा / दुइटा २” काटिएको घाउ रहेको भन्ने लास जाँच मुचुल्कामा उल्लेख भई आएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको मृत्यु टाउकोमा चोट लागी भएको भन्ने देखिन्छ । निधारदेखि टाउकोसम्मको चोटको नाप ८” भनी लास प्रकृति मुचुल्कामा उल्लेख भएको पाइन्छ ।
७. मौकामा परेको जाहेरी दरखास्तको बेहोराबाट मृतक चिच्याएको आवाज सुनी नजिकको मानिसहरू घटनास्थलमा पुग्दा प्रतिवादी (पुजारी) भागी गएका र घटनाबारेमा तत्काल मलाई जानकारी भई घटनास्थलमा म पुग्दा छोराले मन्दिरको पुजारी बाबाजीले बन्चरोले हाने भनी जानकारी गराएका
थिए । मृतक छोरालाई सिराहा अस्पतालमा लगी उपचार गराउने क्रममा निजको मृत्यु भएको हो । अन्यायीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने उल्लेख भएको पाइन्छ ।
८. जाहेरवालाले घटनाबाट पीडित मृतकले आफू घाइते भएपछि उपचारको लागि लाने क्रममा आफूलाई रामजानकी मन्दिरको पुजारीले बन्चरोले हानी यो अवस्थामा पुर्याए भनी भनेका थिए भन्दै मृतकले मौकामा भनेको कुरा लेखाए पनि त्यस कुराको प्रामाणिक मूल्यको सन्दर्भमा विचार गर्दा मृतकको सो भनाइले मृत्युकालीन घोषणा (Dying Declaration) को मान्यता पाउने अवस्था छ छैन भन्नेमा विचार गर्नुपर्ने देखियो । प्रमाण ऐन, २०३१ को दफा ११ मा मृत्युकालीन घोषणाबारे “कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ” भनी उल्लेख भएको पाइन्छ । मृत्यकालीन घोषणाको सम्बन्धमा मृतकले आफ्नो मृत्युको बारेमा मृत्यु हुनुभन्दा अगाडि आधिकारिक रूपमा आफ्ना भनाइहरू राखेको हुनुपर्दछ । तर प्रस्तुत मिसिलमा कुनै आधिकारिक व्यक्तिको रोहवरमा मृतकको सो भनाइ व्यक्त नभएको र त्यसलाई प्रामाणिक मान्यता दिनुपर्ने आवश्यक रोह रीत पुर्याएको भन्ने नदेखिएबाट जाहेरीमा उल्लेख भएको मृतकले मृत्यु हुनुपूर्व व्यक्त गरेको भनिएको भनाइले प्रामाणिक मूल्य र मान्यता राख्न सक्ने अवस्था देखिँदैन । यसका साथै मिसिलमा उल्लेख भएअनुसार मृतक र प्रतिवादीबिच गाँजा खाने क्रममा विवाद भएको भन्ने कुराबाट पनि मृतक मातेको (Intoxicated) अवस्थामा रहेको भन्ने कुरा सहजै आँकलन गर्न सकिन्छ । त्यस अवस्थामा मृतकको भनाइअनुसार प्रतिवादीले बन्चरोले प्रहार गरेको भन्ने कुरा विश्वसनीय देखिँदैन । यसै सन्दर्भमा Smt. Laxmi v. Om Prakash and others को मुद्दामा मृत्युकालीन घोषणाको विश्वसनीयताको बारेमा भारतको सर्वोच्च अदालतबाट “If the court finds that the capacity of the maker of the statement to narrate the facts was impaired or the court entertains grave doubts whether the deceased was in a fit physical and mental state to make the statement, the court may in the absence of corroborative evidence lending assurance to the contents of the declaration refuse to act on it.”
भन्ने विचार व्यक्त भएको पाइन्छ । यस्तो अभ्यास प्रचलनमा रहे भएको अवस्थामा उचित प्रमाणको अभावमा केवल मृतकले मर्नुअगाडि गरेको घोषणाको भरमा मात्र त्यस घोषणालाई मृत्युकालीन घोषणा भन्न मिल्दैन । त्यस घोषणालाई प्रमाणित गर्ने उचित प्रमाण र परिस्थितिसमेत मिसिलबाट देखिनुपर्छ । मृतकलाई बन्चरो प्रहार भएको थियो भन्ने घटनाको सन्दर्भमा घटनामा प्रयोग भएको बन्चरो बरामद भएको भन्ने नदेखिएपछि स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको व्यक्तिको त्यस्तो भनाइ प्रमाणको लागि ग्रहणयोग्यसमेत देखिँदैन ।
९. प्रतिवादीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०७१।९।१५ गते राति २१:३० बजेको समयमा म पुजारी भएको रामजानकी मन्दिरमा आगो ताप्दै बसिरहेको अवस्थामा हाल नाम थाहा भएका सुबोधकुमार दास तत्मा झोला बोकी सोही स्थानमा आई बास पाइन्छ कि पाइँदैन भनी सोधेकोले मैले हुन्छ भनी सोही मन्दिरको उत्तरपट्टि रहेको कोठा देखाई २ वटा कम्मल दिई फर्की आई आगो ताप्दै गाँजा बनाइरहेको अवस्थामा निज सुबोधकुमार दास तत्मा उठी पिसाब फेरी म भएको स्थानमा आई म पनि गाँजा खान्छु भनेकोले मैले अलिकति तानी निजलाई पनि दिएँ, सोपश्चात् हामी दुवैजना गफ गर्दै बसिरहेको अवस्थामा निजले अघि खाएको गाँजा चित्तै बुझेन, फेरी खानुपर्छ भनेकोले राति अन्दाजी ०१:१५ बजेको समयमा मैले पुन: गाँजा बनाई चिलिममा हाली सल्काउन लाग्दा निज सुबोधकुमार दास तत्माले उक्त चिलिम खोसी आफैँले सल्काई गाँजा खाँदै हो-हल्ला गर्न लाग्दा मैले निजलाई तिमी माती सकेका छौं, अब नखाउ भन्दा निजले अरू दिन ४/४ चक्की नाइट्रोसन खाँदा त केही हुँदैन थियो, आज २ चक्की मात्र खाएको छु, के मात्नु भन्दै अपशब्द बोल्न थालेकोले मैले निजको हातबाट उक्त चिलिम खोस्न लाग्दा निजले सोही चिलिमले मेरो अनुहारमा एक्कासी हिर्काउँदा मैले सोही स्थानमा आगो बाल्न ल्याएको बाँसको भाटा हातमा उठाउँदा निजले मलाई गाली गर्दै बरन्डातिर गएकोले मैले मेरो हातमा भएको उक्त भाटाले निजको टाउकोमा ४/५ पटक हिर्काएपछि निज रगताम्य भई सोही मन्दिरको बरन्डामा लडेकोले म सो स्थानबाट भागी मेरो हातमा भएको बाँसको भाटा खेतमा फाली भारततर्फ गई बसेको थिएँ, पछि निज सुबोधकुमार दास तत्माको उपचारको क्रममा मृत्यु भएको भनी सुनी थाहा पाएको हुँ, म २१/२२ दिन भारतमा बस्दा मेरो खोज खबर नभएकोले फर्की आई सोही मन्दिरतिर हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो भन्ने बेहोरा लेखाएको पाइन्छ भने अदालतमा बयान गर्दा आरोपित कसुरलाई इन्कार गरी बयान गरे पनि मौकाको आफ्नो बयान स्वेच्छाबेगरको हो भनी सो कुरा प्रमाणित गराउन सकेको पाइँदैन ।
१०. अब घटनाक्रमको सन्दर्भमा हेर्दा प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष मौकामा “निज सुबोधकुमार दास तत्माले उक्त चिलिम खोसी आफैँले सल्काई गाँजा खाँदै हो-हल्ला गर्न लाग्दा मैले निजलाई तिमी माती सकेका छौ, अब नखाउ भन्दा निजले अरू दिन ४/४ चक्की नाइट्रोसन खाँदा त केही हुँदैन थियो, आज २ चक्की मात्र खाएको छु, के मात्नु भन्दै अपशब्द बोल्न थालेकोले मैले निजको हातबाट चिलिम खोस्न लाग्दा निजले सोही चिलिमले मेरो अनुहारमा एक्कासी हिर्काउँदा मैले सोही स्थानमा आगो बाल्न ल्याएको बाँसको भाटा हातमा उठाउँदा निजले मलाई गाली गर्दै बरन्डातिर गएकोले मैले मेरो हातमा भएको उक्त भाटाले निजको टाउकोमा ४/५ पटक हिर्काएपछि निज रगताम्य भई सोही मन्दिरको बरन्डामा लडेको” भनी बयान गरेको पाइन्छ । सो बयान बेहोरामा बन्चरोले हानेको भन्ने उल्लेख नभई सँगै बसी गाँजा खाने क्रममा मृतकले अपशब्द बोल्न थालेका र तिमी माती सक्यौ अब गाँजा नखाउ भनी चिलिम खोस्न लाग्दा सो चिलिमले नै मृतकले मेरो अनुहारमा एक्कासी हिर्काउँदा मैले पनि आगो बाल्न भनी ल्याएको बाँसको भाटाले निजको टाउकोमा हिर्काएपछि निज रगताम्य भई मन्दिरको बरन्डामा लडेपछि बाँसको भाटा खेतमा फाली गएको हुँ भनी लेखाएको देखिन्छ । सामान्यत: आगो बाल्नको लागि ल्याइएको बाँसको भाटा घातक किसिमको नभई सामान्य नै हुने कुरा सहजै अनुमान गर्नुपर्ने अवस्था भएकोले अन्यथा प्रमाणित नभएको अवस्थामा बाहेक बाँसको भाटा घातक थियो भनी भन्न मिल्ने देखिँदैन । यसै सन्दर्भमा नेपाल सरकार विरूद्ध दिपक खत्रीको मुद्दामा सर्वोच्च अदालतद्वारा आवेश प्रेरित हत्याको विषयमा “आवेश प्रेरित हत्यामा तत्कालै उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहन्छ । आवेशमा उत्तेजित अवस्था कुन हदसम्म थियो भनी गणितीय हिसाबले यकिन गर्न नसकिने भए पनि प्रतिवादी र मृतकबिचको सम्बन्ध व्यवहार, मानवीय संवेदनशीलता, कुनै खास घटना वा परिस्थिति जस्ता कुरालाई आँकलन गर्न सकिन्छ......आवेशप्रेरित हत्यामा पीडितको कुनै कार्यबाट प्रतिवादी उत्तेजित भई आवेशमा आई आत्मनियन्त्रण गुमाई पीडितको कार्यको प्रतिक्रियाको रूपमा तत्कालीन अवस्थामा नै पीडितउपर हमला गरेको र सोही कारणबाट पीडितको मृत्यु भएको हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले आंशिक प्रतिरक्षाको जिकिर लिन र प्रमाणित भएमा सो सुविधा प्राप्त हुन सक्ने”
भनी सिद्धान्त कायम भएको पाइन्छ । प्रस्तुत मिसिलमा मृतक माती सकेकोले अब गाँजा नखाउ भनी प्रतिवादीले सम्झाउने क्रममा उल्टै चिलिमले प्रतिवादीको अनुहारमा हिर्काएको कारणले तत्काल उठेको रिसको आवेगमा बाँसको सामान्य भाटाले प्रतिवादीले मृतकलाई प्रहार गरेको र ८” को काटेको घाउ मृतकको निधारदेखि टाउकोसम्म परेको भन्ने देखिए पनि घटनाको सम्बन्धमा प्रतिवादीको पूर्वयोजना र मनसाय रहेको भन्ने कुरा बास बस्न आएको पाहुना भएको कारण एवं प्रहार गरेको भाटाजस्तो वस्तु प्रयोग भएको अवस्था र तत्काल उठेको रिसको कारणबाट घटना घटेको भन्ने देखिँदा घटना आवेशप्रेरित नभई मनसायप्रेरित थियो भन्ने पुनरावेदकको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
११. यस सन्दर्भमा तत्काल प्रचलनमा रहेको मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को व्यवस्था हेर्दा, “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरिकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने रहेको
पाइन्छ । त्यसैले माथि विवेचना भई विश्लेषण गरिएको आधार प्रमाण एवं कानूनी व्यवस्थासमेतबाट प्रतिवादीबाट भएको कार्य मनसायपूर्वक तयारीका साथ भएको नभई सामान्य विवादको कारण सिर्जित आवेगको कारणबाट सामान्य चोट प्रहार गरेको कारणले घटित हुन गएको भन्ने देखिएकोले उच्च अदालत जनकपुर, राजविराज इजलासबाट भएको प्रतिवादी परिक्षण भन्ने रामपरिक्षण ठाकुरले मुलुकी ऐन, ज्यानसम्बन्धीको १४ नं. अनुसारको कसुर गरेको ठहराई निजलाई कैद वर्ष १०(दश) हुने ठहराएको फैसला अन्यथा देखिएन ।
१२. अत: माथि उल्लेख भई विवेचना र विश्लेषण भएको आधार कारण एवं प्रमाणसमेतबाट प्रतिवादीले ज्यानसम्बन्धी महलको १४ नं. अनुसारको कसुर गरेको ठहर्याई भएको सुरूको फैसला सदर गरी उच्च अदालत जनकपुर, राजविराज इजलासबाट मिति २०७४।१।८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत : मञ्जु शर्मा, मेजुमी गुरूङ
इति संवत् २०७७ साल साउन २१ गते रोज ४ शुभम् ।