निर्णय नं. १०५३१ - अंशबन्डा
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७६।८।३
०७१-CI-०२६४
मुद्दाः- अंशबन्डा
पुनरावेदक / वादी : नारायणदत्त भन्ने हरिप्रसाद जैसीको छोरा, पर्वत जिल्ला, शंकर पोखरी गा.वि.स. वडा नं. ४ घर भई हाल चितवन जिल्ला, र.न.पा. वडा नं. ३ हाजिपुर बस्ने लिलाधर रिजाल (जैसी)
विरूद्ध
विपक्षी / प्रतिवादी : नारायणदत्त भन्ने हरिप्रसाद जैसीको छोरा, पर्वत जिल्ला, शंकर पोखरी गा.वि.स. वडा नं. ४ घर भई हाल चितवन जिल्ला, र.न.पा. वडा नं. ३ हाजिपुर बस्ने बेलप्रसाद रिजाल (जैसी) समेत
प्रमाण ऐन, २०३१ को दफा ६(क) मा भएको कानूनी व्यवस्थाले विवाद नरहेको सामान्य अवस्थामा मात्र जुनसुकै अंशियारको नामको सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ तर कुनै अंशियारले कुनै सम्पत्ति आफ्नो निजी हो भनी प्रमाण पेस गर्दछ र सो प्रमाणलाई अन्य अंशियारले सप्रमाण खण्डन गर्न सक्दैनन् भने यस अवस्थामा अंशबन्डा महलको १८ नं. बमोजिम त्यस्तो सम्पत्ति निजी आर्जनको मान्नुपर्ने देखिने ।
(प्रकरण नं.२)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री रामप्रसाद गौडेल र श्री श्यामप्रसाद खरेल
विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र अधिवक्ता श्री विशेश्वर ढकाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री लेखनाथ ढकाल
चितवन जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
माननीय न्यायाधीश श्री विनोद प्रसाद शर्मा
पुनरावेदन अदालत, हेटौंडा
फैसला
न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः-
तथ्य खण्ड
पिता नारायणदत्त भन्ने हरिप्रसाद र आमा रिडी कुमारीबाट विपक्षीहरू जेठो दाजु बेलप्रसाद र माइलो दाजु गंगाधर तथा कान्छो म फिरादी लिलाधरको जन्म भएको हो । पिताको २०४२ सालमा र आमाको म सानै हुँदा मृत्यु भएको हो । हामी भाइहरू हालसम्म छुट्टी भिन्न भएका छैनौँ । म भारतमा नोकरी गरी बस्ने र विपक्षी दाजुहरू नेपालमा बस्ने हुँदा निजहरूले पर्वत तथा चितवनको सम्पत्ति तिम्रो होइन भनी मलाई नदिई एकलौटी खान खोजेको हुँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पेस भएको तायदाती फाँटवारीबाट हामी वादी प्रतिवादी ३ अंशियारको ३ भाग लगाई मेरो १ भाग दिलाई चलनसमेत चलाई पाऊँ भन्नेसमेत व्यहोराको वादीको फिरादपत्र ।
मैले विपक्षीलाई खान लाउन नदिई घरबाट निकाला गरेको छैन । अंश पनि दिन्न भनेको छैन । हामीसँग भएको सबै सम्पत्ति बन्डा लाग्ने हो । सगोलको सम्पत्ति बन्डा भएमा मेरो पनि मन्जुरी नै छ भन्नेसमेत व्यहोराको प्रतिवादी बेलप्रसाद रिजाल जैसीको प्रतिउत्तरपत्र ।
वादीको दाबी झुट्टा हो । पिता हरिप्रसादको २ श्रीमतीमध्ये कान्छी आमा देवीमाया पनि
हुनुहुन्छ । निज आमातर्फबाट छोरा तुलसीप्रसाद र छोरीको जन्म भई छोरीको विवाह भइसकेको छ । छोरा तुलसीप्रसाद बेखबर छन् । मैले असाम आयल इन्डियामा नोकरी गरी कमाएको पैसाले चितवन रत्ननगरमा ०-९-० जग्गा किनेको छु । सो सम्पत्ति मेरो निजी हो, बन्डा लाग्ने होइन । वादीले कान्छी आमा देवीमाया र तुलसीप्रसादलाई अंशहकबाट वञ्चित गर्न निजहरूलाई अंशियार नदेखाई नालेस गरेकोले फिराद खारेज गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी गंगाधर रिजाल (जैसी) को प्रतिउत्तरपत्र ।
नारायणदत्त भन्ने हरिप्रसादका २ श्रीमतीमध्ये म कान्छी श्रीमती हुँ । मबाट छोरा तुलसीप्रसाद र छोरीको जन्म भएकोमा छोरीको विवाह भइसकेको छ । चितवनको जग्गा गंगाधरको निजी कमाइको
हो । पर्वतको सम्पत्तिलाई ५ भाग लगाई त्यसबाट म र छोरा तुलसीप्रसादले पनि १/१ भाग अंश पाउनु पर्छ भन्नेसमेत व्यहोराको अ.ब. १३९ नं. बुझिएकी देवीमाया जैसीले गरेको बयान ।
अदालतको आदेशानुसार वादी प्रतिवादीका साक्षीहरूको बकपत्र, तायदाती फाँटवारी र जग्गाको स्रेस्ता उतार सम्बन्धित मालपोत कार्यालयबाट प्राप्त भई मिसिल सामेल रहेको ।
ऋणको हकमा साहुको दाबी उजुर परेको अवस्थामा पछि ठहरेबमोजिम हुने गरी दर्ता स्रेस्ता मिले भिडेको तायदाती फाँटवारीमा उल्लिखित सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई त्यसको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने भन्ने सुरू चितवन जिल्ला अदालतबाट भएको फैसला ।
मेरो नाउँ दर्ताको चितवन हाजिपुर ५क कि.नं. २७३ को जग्गामा वादीसमेतको कमाई परेको र पैतृक सम्पत्ति बेची जोडेको देखाउने केही प्रमाण छैनन् । सो जग्गा मैले २०४२ सालदेखि नै ड्राइभर पेसा गरी र पछि सन् १९९०/०६/०६ (वि.सं. २०४७/०२/१३) देखि हालसम्म म असाम आयल इन्डियामा नोकरी गर्दै आएको तलब जम्मा गरी कमाएको पैसाले मिति २०४९/०३/०८ मा प्रेमकुमारी उप्रेतीबाट रू.२०,५००/- मा राजीनामा पारित गरी लिएको हुँ । मैले आयल इन्डियामा नोकरी गरेको प्रमाणहरू एवं अंशियार आमा देवीमाया जैसीले गरेको बयान तथा मेरा साक्षीहरूको बकपत्रसमेतबाट उक्त जग्गा मेरो निजी आर्जनको हो भन्ने कुरा मूल्याङ्कन नै नगरी उल्लिखित मेरो निजी आर्जनको सम्पत्ति बन्डा गर्ने गरी सुरू जिल्ला अदालतले गरेको त्रुटिपूर्ण फैसला उल्टी गरी सो जग्गा मेरो निजी ठहर्याई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी गंगाधर रिजाल (जैसी) को तत्कालीन पुनरावेदन अदालत हेटौंडामा दिएको पुनरावेदनपत्र ।
यसमा अंशियारमध्येकी देवीमाया जैसीले बयान गर्दा चितवनमा भएको सम्पत्ति गंगाधर जैसीको निजी आर्जनको हो भनी बयान गरिरहेको सन्दर्भमा सुरू फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि प्रत्यर्थीलाई झिकाई आएपछि वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०७०/०५/२१ को आदेश ।
मैले मिति २०४७ सालदेखि आयल इन्डिया लिमिटेडमा काम गरी कमाएको रकमबाट कि.नं. २७३ को क्षे.फ. ०-९-० जग्गा मेरो निजी आर्जनको सम्पत्ति हो भन्ने प्रमाण पेस गरेको पुनरावेदक गंगाधर जैसीको निवेदनपत्र ।
कि.नं. २७३ को जग्गा प्रतिवादीमध्येकी देवी मायाले सो जग्गा गंगाधर जैसीको निजी आर्जनको भनी स्पष्ट उल्लेख गरेको अवस्थामा निजी आर्जन नठहर्याई अंशबन्डा हुने गरी गरेको सुरू चितवन जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी भई कि.नं. २७३ को जग्गामा प्रतिवादी गंगाधर जैसीको निजी आर्जन कायम भई चितवन जिल्ला अदालतको इन्साफ केही उल्टी गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०/०९/२८ मा भएको फैसला ।
पर्वत शंकर पोखरीमा हरिप्रसाद जैसीका नाममा रहेको पैतृक जग्गा हरिप्रसादको मृत्युपश्चात् प्रतिवादी बेलप्रसाद जैसी र गंगाधर जैसीका नाममा संयुक्त नामसारी भएको छ । प्रतिवादी बेलप्रसाद र म लिलाधरको पनि मेहनत पारिश्रमिकको रकम ल्याई सगोलमै रहेको अवस्थामा गंगाधरका नाममा चितवन जिल्ला साबिक हाजिपुर गा.वि.स. वडा नं. ५/क कि.नं. २७३ को क्षे.फ. ०-९-० जग्गा खरिद गरिएको थियो । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति प्रतिवादीले स्वीकार गरेका र वादी प्रतिवादीले सगोलमा धन कमाएको र बढे बढाएको कुरामा समेत प्रतिवादी गंगाधरले अन्यथा भन्न सकेको अवस्था छैन । उक्त जग्गालाई मेरो निजी आर्जनको भनी आयल इन्डिया लि.को नोकरीको नियुक्तिपत्र र निजले बुझेको तलब तालिकाले मात्र निजको एकलौटी खरिद गरेको मान्न सक्ने अवस्था हुँदैन । पहाड पर्वत शंकरपोखरीको सबै कित्ता जग्गाहरू प्रतिवादी वेलप्रसाद र गंगाधरको नाउँमा संयुक्त नामसारी गरी हालसम्म बन्डा नगरी प्रतिवादी गंगाधरले एकलौटी भोगचलन गरी कि.नं. २७३ को जग्गा खरिद गर्दा शंकरपोखरीको पैतृक सम्पत्तिले बढेबढाएको आम्दानी र म वादीसमेतको कमाई मिसाई गंगाधरको नाममा खरिद गरिएको वास्तविक तथ्यलाई मूल्याङ्कन नगरी उक्त जग्गा गंगाधरको निजी कायम गरी पुनरावेदन अदालत हेटौंडाले चितवन जिल्ला अदालतबाट कि.नं. २७३ को जग्गा सगोलमा बन्डा लाग्ने गरी गरेको फैसला उल्टी गरी सो जग्गालाई गंगाधरको निजी आर्जनको कायम गरी अन्य अंशियारको अंश वञ्चित गरी पुनरावेदन अदालत हेटौंडाबाट मिति २०७०।०९।२८ मा भएको फैसला अंशबन्डाको १८ नं., प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी आधारमा बदर भागी भएकाले उल्टी गरी चितवन जिल्ला अदालतबाट भएको फैसलाबमोजिम गरिपाऊँ भन्नेसमेत व्यहोराको यस अदालतमा दायर गरेको लिलाधर रिजाल (जैसी)को पुनरावेदनपत्र ।
यसमा अंशबन्डाको १८ नं ले मानो नछुट्टिदै एकासगोलमा आर्जन भएको सम्पत्ति बन्डा गर्नुपर्ने कानूनी व्यवस्था र निजी भन्नेले नै त्यसको प्रमाण गुजार्नु पर्नेमा त्यस्तो अवस्थामा निजी भन्ने वस्तुनिष्ठ प्रमाणको अभावमा विपक्षी गंगाधर जैसीका नामको कि.नं. २७३ को जग्गा बन्डा नगर्ने गरी गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७०।०९।२८ को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नू भन्ने यस अदालतको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी लिलाधर जैसीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री रामप्रसाद गौडेल र श्री श्यामप्रसाद खरेलले चितवन जिल्ला साबिक हाजिपुर गा.वि.स. वडा नं. ५/क कि.नं. २७३ को क्षे.फ. ०-९-० जग्गा २०४९ सालमा सगोलमै भएको अवस्थामा खरिद गरेकोमा विवाद
छैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) ले एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदातलले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था छ । वादी प्रतिवादीहरू सबै भारतमा बसेको भन्ने फिराद तथा प्रतिउत्तरबाट देखिन्छ । गंगाधर जैसीले मात्र विशेष शिप र ज्ञानले सो जग्गा खरिद नगरी सबै प्रतिवादीहरू सगोलमै भएको अवस्थामा सो जग्गा खरिद गरेको हुँदा पुनरावेदन अदालत हेटौंडाले कि.नं. २७३ को जग्गा गंगाधरको निजी आर्जन भनी गरेको फैसला उल्टी गरी सो जग्गासमेत बन्डा गरीपाउँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी गंगाधर जैसीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र अधिवक्ता श्री विशेश्वर ढकालले वादी प्रतिवादीहरू सगोलमै रहेकोमा विवाद छैन । यिनीहरूका पिता तथा पतिको मृत्युपछि दाजु बेलप्रसाद र हाम्रो पक्षको नाममा पर्वत जिल्लाको पैतृक सम्पत्तिको रूपमा रहेको जग्गा नामसारी गरिएको छ । उक्त जग्गाहरूबाट पुनरावेदक वादी लिलाधर जैसीले अंश पाउने हो । प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्यवस्था अन्यथा प्रमाणित भएमा बाहेक एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनि अदातलले अनुमान गर्ने विषय हो तर प्रस्तुत मुद्दामा हाम्रो पक्षले मु.ऐन, अंशबन्डा महलको १८ नं. बमोजिम आफ्नो निजी हुने प्रमाण पेस गरकाले कि.नं. २७३ मेरो पक्षको निजी ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलालाई सदर गरिपाऊँ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी पेस भएको तायदाती फाँटवारीबाट वादी / प्रतिवादी ३ अंशियारको ३ भाग लगाई मेरो १ भाग दिलाई चलनसमेत चलाई पाऊँ भन्ने लिलाधर रिजाल जैसीको फिरादपत्र भएकोमा सगोलको सम्पत्ति बन्डा भएमा मेरो पनि मन्जुरी नै छ भन्नेसमेत व्यहोराको प्रतिवादी बेलप्रसाद जैसीको र पिता हरिप्रसादको २ श्रीमतीमध्ये कान्छी आमा देवीमाया र निज आमातर्फका छोरा तुलसीप्रसाद पनि अंशियार छन् । चितवनको कि.नं.२७३ जग्गा मेरो निजी आर्जनको भई अन्य अंशियारको अंश लाग्ने होइन । वादीले कान्छी आमा देवीमाया र तुलसीप्रसादलाई अंशहकबाट वञ्चित गर्न अंशियार नदेखाई नालेस गरेकोले फिराद खारेज गरिपाऊँ भन्ने प्रतिवादी गंगाधर रिजाल (जैसी) को प्रतिउत्तरपत्र रहेकोमा तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ५ भाग लगाई त्यसको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने सुरू चितवन जिल्ला अदालतबाट फैसला भएको
देखिन्छ । जिल्ला अदालतको फैसलाउपर चित्त नबुझाई प्रतिवादी गंगाधर जैसीले चितवन हाजिपुर ५क कि.नं. २७३ क्षे.फ. ०-९-० को जग्गा मेरो निजी आर्जनको भएकाले सो जग्गालाई बन्डा गर्ने गरी चितवन जिल्ला अदालतबाट भएको फैसला उल्टी गरिपाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदनपत्र रहेकोमा कि.नं. २७३ को जग्गा गंगाधरको निजी आर्जन कायम गरी तत्कालीन पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको
देखिन्छ । सो फैसलामा चित्त नबुझाई वादी लिलाधर जैसीको चितवन जिल्ला अदालतबाट भएको फैसलाबमोजिम गरिपाऊँ भनी यस अदालतमा पुनरावेदनपत्र दर्ता भएको प्रस्तुत मुद्दामा सुरू चितवन जिल्ला अदालतले वादी दाबीबमोजिम सम्पूर्ण सम्पत्ति बन्डा लाग्ने गरी गरेको फैसलालाई पुनरावेदन अदालत हेटौंडाले केही उल्टी गरी कि.नं. २७३ को जग्गा प्रतिवादी गंगाधर जैसीको निजी कायम हुने गरी गरेको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादीको पुनरावेदन जिकिरबमोजिम विवादित जग्गामा निजको अंश हक पुग्ने हो, होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, नारायणदत्त भन्ने हरिप्रसाद जैसीका २ वटा श्रीमतीमा जेठी रिडीकुमारी र कान्छी देवीमाया रहेकोमा जेठीबाट बेलप्रसाद, गंगाधर तथा लिलाधर गरी ३ जना र कान्छीबाट छोरा तुलसीप्रसाद तथा १ छोरीसमेत भएकोमा पिता हरिप्रसाद र आमा रिडीकुमारीको परलोक भइसकेको तथा कान्छी आमाबाट जन्मिएकी छोरीको विवाह भई हाल वादी लिलाधर, कान्छी आमा देवीमाया, भाइ तुलसीप्रसाद, प्रतिवादीद्वय बेलप्रसाद र गंगाधर गरी ५ जना अंशियार रहेको र निजहरूबिचमा अंशबन्डा नभएको भन्नेमा विवाद नभई सुरू चितवन जिल्ला अदालतले तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिलाई ५ भाग लगाई त्यसको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने भनी फैसला गरेको देखिन्छ । सो फैसलामा बन्डा भएको अन्य सम्पत्तिमा वादी प्रतिवादीको असहमति नभई केवल प्रतिवादी गंगाधर जैसीले सुरूदेखि नै चितवन जिल्ला साबिक हाजिपुर गा.वि.स. वडा नं. ५क कि.नं. २७३ को जग्गा मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. बमोजिम मेरो निजी आर्जनको भन्ने प्रतिवाद जिकिर लिइआएको देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा “मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सोबाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वा बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धनको महलको ५ नं. बमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियाराको निजी ठहरी आफूखुसी गर्न पाउँछ । बन्डा गर्न कर लाग्दैन । अंश नभएपनि मानो छुट्टिई भिन्न बसेका वा रजिस्ट्रेसन नगरी खति उपति आफ्नो-आफ्नो गरी आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाँउमा भएपनि मानो छुट्टिई भिन्न भएको
ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । अब प्रस्तुत कानूनी व्यवस्थानुकूल यी प्रतिवादी गंगाधर जैसीको उल्लिखित कि.नं. २७३ मिति २०४९/३/९ मा खरिद गरेको जग्गा निजको निजी आर्जन हो,
होइन ? भन्नेतर्फ विचार गर्दा, प्रत्यर्थी प्रतिवादी गंगाधर जैसीले कि.नं. २७३ जग्गा आफूले मिति २०४७ सालदेखि आयल इन्डिया लि. भारतमा नोकरी गरी खरिद गरेको भनी निजले आफ्नो नियुक्तिपत्र र तलबी भरपाइसमेतका प्रमाण पेस गरेको हुँदा सो सम्पत्ति निजको आफ्नो ज्ञान, सीप र प्रयासबाट निजी आर्जन गरेको देखिन्छ । यसरी कुनै अंशियारले आफ्नो ज्ञान, सीप र प्रयासबाट निजी आर्जन गरेको सम्पत्ति आफूखुसी गर्न पाउँने व्यवस्थाको सुनिश्चितता सोही १८ नं. ले गरिदिएको छ । मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम बुझिएकी वादी सरहकी अंशियार देवीमायाले सो सम्पत्ति गंगाधर जैसीको निजी आर्जन हो भनी स्पष्ट रूपमा बयान गरको देखिन्छ । निज देवीमाया वादी सरहकी अंशियार भएकोले निजको भनाइलाई अन्यथा मान्नुपर्ने देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) मा “अन्यथा प्रमाणित नभएसम्म एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदातलले अनुमान गर्नेछ” भन्ने कानूनी व्यवस्था रहेको
देखिन्छ । यस कानूनी व्यवस्थाले विवाद नरहेको सामान्य अवस्थामा मात्र जुनसुकै अंशियारको नामको सम्पत्ति सगोलको मान्नु पर्ने हुन्छ तर कुनै अंशियारले कुनै सम्पत्ति आफ्नो निजी हो भनी प्रमाण पेस गर्दछ र सो प्रमाणलाई अन्य अंशियारले सप्रमाण खण्डन गर्न सक्दैनन् भने यस अवस्थामा अंशबन्डा महलको १८ नं. बमोजिम त्यस्तो सम्पत्ति निजी आर्जनको मान्नुपर्ने देखिन्छ । उल्लिखित कि.नं. २७३ को जग्गा खरिद गर्दा सगोलको कुन सम्पत्ति बेचबिखन गरी प्राप्त भएको आयबाट खरिद गरेको भन्ने पुनरावेदक वादीले देखाउन सकेको पाइँदैन भने प्रत्यर्थी प्रतिवादी गंगाधर जैसीले सो जग्गा आयल इन्डिया लि. भारतमा नोकरी गरी खरिद गरेको भनी निजले आफ्नो नियुक्तिपत्र र तलबी भरपाइसमेतका प्रमाण पेस गरेको अवस्थामा निजले लिएको निजी आर्जनतर्फको दाबीलाई अन्यथा मान्न मिल्ने देखिएन । निजको नोकरीको आय विवरणबाट सो जग्गा खरिद गर्न सक्ने नै देखियो । यस्तो तथ्यलाई अदालतले ग्रहण गर्न सक्ने नै देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदक वादीले कि.नं. २७३ को जग्गा गंगाधरको एकलौटी निजी आर्जन भनी गरेको फैसला उल्टी गरी सो जग्गासमेत बन्डा गरिपाऊँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादीको पुनरावेदन तथा निजका कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिएन ।
३. तसर्थ उपरोक्त विवेचित आधार कारणहरूबाट सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई त्यसको १ भाग अंश वादीले प्रतिवादीबाट पाउने भन्ने सुरू चितवन जिल्ला अदालतबाट भएको फैसला केही उल्टी गरी कि.नं. २७३ को जग्गा प्रतिवादी गंगाधरको निजी आर्जन कायम गरी सोबाहेकका अन्य तायदातीमा उल्लिखित जग्गाहरूमा यी पुनरावेदक वादीले ५ भागको १ भाग पाउने गरी पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी लिलाधर जैसीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृतः- नवराज जोशी
इति संवत् २०७६ साल मार्ग ३ गते रोज ३ शुभम् ।