शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५३२ - जबरजस्ती करणी

भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७६।८।८

०७५-CR-१२०३

 

मुद्दाः- जबरजस्ती करणी

 

पुनरावेदक / प्रतिवादी : जिल्ला ताप्लेजुङ साबिक थुम्वेदिन गा.वि.स.वडा नं. २ हाल याङवरक गाउँपालिका वडा नं. ६ घर भई हाल कारागार कार्यालय ताप्लेजुङमा थुनामा रहेका कुलमानको छोरा ठुल्पी भन्ने विकास विश्वकर्मा

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम ताप्लेजुङ-४ को जाहेरीले नेपाल सरकार

 

जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट पीडितलाई शारीरिक, मानसिक तथा सामाजिक क्षति पुग्दछ । पीडितलाई हुने त्यस्तो क्षतिको पूर्णरूपले निराकरण गर्न सम्भव नभए पनि क्षतिपूर्ति (compensation) रकम उपलब्ध गराई आर्थिक राहत दिलाउनु राज्यको दायित्वअन्तर्गत पर्ने ।

प्रतिवादीको कुनै सम्पत्ति नभएको कारणले मात्र जबरजस्ती करणीको कसूरबाट पीडित व्यक्तिले क्षतिपूर्ति नपाउने भन्ने हुँदैन । यस्तो अवस्थामा पीडितलाई सम्बन्धित महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति स्वरूप उचित रकम उपलब्ध गराउन आदेश गर्न सक्ने गरी जबरजस्ती करणीको १०ग नं. मा कानूनी व्यवस्था गरिएको देखिन्छ । त्यसैगरी, पीडितको अविभावकको न्यून आयस्रोत रहेको देखिएको अवस्थामा राज्य वा कुनै सामाजिक संघसंस्थाबाट उपलब्ध हुन सक्ने सामाजिक सुरक्षाको प्रत्याभूति गरी पीडितलाई राहत दिन उपयुक्त हुने । 

(प्रकरण नं.१३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१

 

सुरू फैसला गर्ने:-

माननीय न्यायाधीश श्री अशोककुमार बस्नेत

ताप्लेजुङ जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने:-

माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना

माननीय न्यायाधीश श्री तेजनारायण सिंह राई

उच्च अदालत विराटनगर, इलाम इजलास

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः

तथ्य खण्ड

जिल्ला ताप्लेजुङ, थुम्बेदिन गा.वि.स. वडा नं. २ स्थित पूर्वमा नामहाङमा थेबेको बाँसघारी, पश्चिममा लेखनाथ नेपालको खेत, उत्तरमा उपेन्द्र भण्डारीको खेत र दक्षिणमा भिममाया थेबेको बाँसघारी यति ४ किल्लाभित्र डिल्लीराम खतिवडाको खेतमा परिवर्तित नाम ०१(C)  स्कुलबाट घरतर्फ जाँदै गर्दा प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.ले जङ्गलमा अमला टिपी दिन्छु र बिस्कुट किन्न पैसा दिन्छु भनी प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का ।

म शारदा मा.वि. थुम्बेदिनमा कार्यालय सहयोगी काम गर्दै आएकोमा मिति २०७३।११।१५ गते घरायसी काम भएकोले १६:१५ बजेतिर घरमा आइपुग्दा छोरी रोइरहेकी रहिछन् । छोरीको स्कुल १३:०० बजे छुट्टी हुने भएकोले म घर पुग्नु अगावै छोरी घरमा पुगी रोइरहेकी देखी के भयो भनी सोध्दा छोरीले स्कुल छुट्टी भइसकेपछि म घरतर्फ फर्कंदै गर्दा ठुल्पी भन्ने विकास वि.क.ले मलाई बाटोमा ढुकी बसेका रहेछन् । म जिल्ला ताप्लेजुङ थुम्वेदिन-२ स्थित वरडाडा भन्ने स्थानको बाँसझाङ नजिक खेतमा आइपुग्दा विकास वि.क.ले मलाई बाँसझाङ नजिकैको जङ्गलमा अमला टिपीदिन्छु, बिस्कुट किन्ने पैसा दिन्छु, मसँग हिँड् भनी डोर्‍याउँदै लगी विभिन्न प्रलोभनमा पारी ललाई फकाई नजिकै रहेको खेतमा पुर्‍याई सोही खेतमा लडाई निजले मैले लगाएको सुरूवाल पेन्टी खोली निजले आफूले लगाएको कपडा खोली निजको पिसाब फेर्ने खेलाउँदै ठाडो पारी मेरो पिसाब फेर्नेमा निजको पिसाब फेर्ने जोडी जबरजस्ती मेरो पिसाब फेर्नेमा घुसारेपछि मलाई दुखेकोले म रून थाल्दा निज विकास वि.क. गाउँतर्फ भागे । सो पीडाले म बिस्तारै सो स्थानबाट उठी घरमा आई बसेकीमा मेरो पिसाब फेर्नेबाट रगत बगिरहेकोले अहिलेसम्म दुखिरहेको छ भनी छोरीले बताई देखाएपछि छोरीलाई हेर्दा योनिबाट रगत बगिरहेको र छोरी हिँड्डुल गर्न नसकी घाइते अवस्थामा देखेको हुँदा निज ठुल्पी भन्ने विकास वि.क.लाई पक्राउ गरी जबरजस्ती करणी महलबमोजिम हदैसम्म कारबाही गरिपाऊँ भन्नेसमेत व्यहोराको ताप्लेजुङ-४ को जाहेरी दरखास्त । 

Abrasion on anterior aspect of right knee measuring 3cm×2cm. Blood stain seen on left thigh, posterior aspect of left leg, left shin and left foot. Perineum: Injury to perineum seen with grade 2 tear (including skin and muscles) extending from fourchette towards the left side of anus measuring 3cm×2cm muscle deep, with active bleeding on examination. Vulva: Injury on lower aspect of left labia minor continuous with the perinea injury. Vagina: tear of posterior vaginal wall 1cm deep into vaginal canal continuous with the perinea injury. Hymen: is torn with active bleeding on examination. भन्ने र रायमा The injuries on genital organs are consistent with recent forceful vaginal penetration भन्‍नेसमेत व्यहोराको पीडित परिवर्तित नाम ०१(C) को शारीरिक परीक्षण प्रतिवेदन ।

जाहेरवाला परिवर्तित नाम ताप्लेजुङ-४ मेरो सहोदर बुबा हुन् । म हाल १० वर्षकी भएकी छु ।  हाल म कक्षा १ मा अध्ययन गर्दैछु । मिति २०७३।११।१५ गते घरबाट स्कुल गई छुट्टी भएपछि आफ्नो घरतर्फ फर्कंदै गर्दा जाहेरी दरखास्तमा उल्लिखित स्थानमा पुग्दा गाउँकै ठुल्पी भन्ने विकास बि.क.ले सो स्थानमा बाटो ढुकी मलाई देख्नासाथ अमला टिपिदिन्छु र बिस्कुट किन्ने पैसा दिन्छु, मसँग हिँड् भनी मलाई डोर्‍याउँदै बाँसघारी नजिकै रहेको खेतमा लगी लडाई मैले लगाएको सुरूवाल (फ्रक) र पेन्टी खोलिदिई निजले आफ्नो कपडा पेन्ट, कट्टु खोली आफ्नो पिसाब फेर्ने खेलाउँदै ठाडो पारी मेरो पिसाब फेर्नेमा जबरजस्ती घुसाई दल्न थालेपछि मलाई साह्रै दुखेकोले रोई कराउँदा निजले मलाई त्यही छाडी भागी गए, म बिस्तारै उठी घरमा गई बस्दा मेरो पिसाब फेर्नेबाट रगत बगिरहेकोले मैले घटनाको बारेमा बुबालाई बृतान्त सुनाएकी हुँ । निजले जबरजस्ती करणी गरेकाले मेरो पिसाब फेर्ने साह्रै दुखिरहेको छ, मेरो बुबाको साथमा ताप्लेजुङ जिल्ला अस्पतालमा आई उपचार गराउँदै आएकी छु भन्नेसमेत व्यहोराको पीडित पविर्तित नाम ०१(C) को घटना विवरण कागज । 

मिति २०७३।११।१५ गते १४:०० बजेतिर म जिल्ला ताप्लेजुङ थुम्बेदिन गा.वि.स. वडा नं. २ स्थित बरडाँडा भन्ने स्थानको बाँसझ्याङ नजिक खेतमा थिए । उल्लिखित स्थानमा म आफ्नो काम विशेषले घुम्दै गर्दा पीडित परिवर्तित नाम ०१(C) स्कुलबाट आफ्नो घरतर्फ फर्किंदै गरेको मैले देखेपछि मलाई करणी गर्न मन लागेकोले निजलाई मैले बोलाई तिमी स्कुलदेखि आएकी ? म यहाँ अमला खान आएको हुँ , केही मास्तिर जङ्गलमा जाउँ तिमीलाई पनि अमला टिपिदिन्छु र त्यहाँ बिस्कुट किनी खाने पैसा दिन्छु, म सँगसँगै हिँड् भनी पीडितलाई ललाई फकाई बाटोदेखि डोर्‍याउँदै जङ्गल बाँसझ्याङ नजिक खेतमा लगेर समाई भुईँमा सुताई निजले लगाएको कपडा खोली हतार हतार आफ्नो कपडासमेत खोली मेरो उत्तेजित लिङ्ग पीडितको योनिमा छिराउने प्रयास गर्दा नछिरेपछि पीडितले ऐया, दुख्यो नगर्नु के गर्नु भएको भनी रूँदै गर्दा मैले निजको दुवै खुट्टा फटाउन लगाई समाई जबरजस्ती मेरो उत्तेजित लिङ्ग पीडितको योनिभित्र छिराउने प्रयास गर्दा पीडित झन चर्को स्वरमा रोएपछि मैले अन्य मानिसहरूले थाहा पाउँछन भनी पीडितलाई सोही स्थानमा छाडी भागी गएको हुँ । मैले जबरजस्ती करणी गर्दा मेरो उत्तेजित लिङ्ग योनिभित्र पूरै छिराउन सकिन, केही भाग मात्र छिरेको हुनुपर्छ । पीडितले आफ्नो घरमा गई घटनाको बारेमा निजको बुवा जाहेरवाला परिवर्तित नाम ताप्लेजुङ-४ लाई सुनाएपछि म पक्राउमा परी आएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी ठुल्पी भन्ने विकास विश्वकर्माले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

परिवर्तित नाम ताप्लेजुङ-४ को छोरी परिवर्तित नाम ०१(C) को मिति २०६४।११।०५ गते जन्म भएको हो भन्नेसमेत व्यहोराको मिति २०६८।१०।१५ गतेको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

मिति २०७३।११।१५ गते १४:०० बजेतिर जाहेरवाला परिवर्तित नाम ताप्लेजुङ-४ को नाबालिक छोरी पीडित परिवर्तित नाम ०१(C) स्कुलदेखि घरतर्फ फर्कंदै गर्दा जिल्ला ताप्लेजुङ थुम्बेदिन गा.वि.स. वडा नं. २ स्थित बाटोमा प्रतिवादी विकास विश्वकर्माले बाटो ढुकी पीडितलाई ललाई फकाई प्रलोभनमा पारी एकान्त स्थान बाँसझ्याङ नजिक खेतमा लगी पीडितको सुरूवाल पेन्टी खोली दिई जबरजस्ती करणी गरेको कारण पीडितको योनिबाट रगत बगी घाइते भई तत्काल उपचारको लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याएको मसमेतलाई थाहा छ । यसरी नाबालिकलाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.लाई कानूनबमोजिम कारबाही गरी पीडितलाई न्याय दिलाई क्षतिपूर्तिसमेत दिलाई भराई दिनुपर्छ भन्नेसमेत व्यहोराको मञ्जिता तामाङले गरेको घटना विवरण कागज ।

मिति २०७३।११।१५ गते हाल पीडित परिवर्तित नाम ०१(C) स्कुलदेखि एक्लै आफ्नो घरतर्फ फर्कने क्रममा प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.ले बाटोमा ढुकी ललाई फकाई एकान्तस्थान खेतमा लगी जबरजस्ती करणी गरेका रहेछन, सो कुरा पीडितले जाहेरवालालाई सुनाई गाउँमा हो-हल्ला हुँदा सुनी थाहा पाई तत्काल घटनास्थमा गई हेर्दा प्रतिवादीले जबरजस्ती करणी गरेको स्थानमा केही माटो धसारिएको, झारहरू माडिएको अवस्थामा देखिएको र पीडितलाई जबरजस्ती करणी गरेको पीडाले पीडित घाइते भई तत्काल ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारार्थ ल्याएकोसमेत मलाई थाहा छ । यसरी ललाई फकाई नाबालिग एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्ने प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको सजाय गरी पीडितलाई न्याय दिलाई क्षतिपूर्तिसमेत दिलाई भराई दिनुपर्छ भन्नेसमेत व्यहोराको शर्नकुमार तामाङले गरेको घटना विवरण कागज ।

मिति २०७३।११।१५ गते १४:०० बजेतिर जाहेरवालाको नाबालिग छोरी परिवर्तित नाम ०१(C) स्कुलबाट घरतर्फ आउँदै गर्दा बाटोमा प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.ले पीडितलाई ललाई फकाई प्रलोभनमा पारी थुम्बेदिन-२ बरडाँडा भन्ने स्थानको बासझाङ नजिक खेतमा लगी जबरजस्ती करणी गरेको पीडाले पीडित हिड्न नसक्ने गरी घाइते भई उपचार गराउन जिल्ला अस्पताल ताप्लेजुङ ल्याएको र वारदातमा संलग्न ठुल्पी भन्ने विकास विश्वकर्मालाई समेत प्रहरीले पक्राउ गरी ल्याएको हामीहरूलाई थाहा छ । यसरी पीडित नाबालिका एक्लै स्कुलदेखि घरतर्फ फर्कने क्रममा बाटोमा ढुकी अमला टिपी दिने, पैसा दिने, जस्ता कुरा गरी एकान्त स्थान खेतमा लगी जबरजस्ती करणी गर्ने प्रतिवादी ठुल्पी भन्ने विकास विश्वकर्मालाई कानूनबमोजिम हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिलाई क्षतिपूर्तिसमेत दिलाई भराई दिनु पर्छ भन्नेसमेत व्यहोराको चन्द्रप्रसाद थेबे, यदुवीर विश्वकर्मा र मनकुमारी तामाङले एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।

मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणबाट यी प्रतिवादीले वर्ष ९ की पीडित ०१(C) लाई विद्यालयबाट फर्कंदै गरेको समयमा मिति २०७३।११।१५ गते जबरजस्ती करणी गरेको तथ्य मौकाको पीडितको शारीरिक परीक्षण एवं पीडित र जाहेरवालासमेतका बुझिएका व्यक्तिको भनाइबाट पुष्टि भएकोले प्रतिवादीलाई जबरजस्ती करणीको १ र ३(१) को कसूरमा ऐ. ३(१) नं. बमोजिम सजाय गरी १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०७३।१२।९ गतेको अभियोगपत्र । 

मिति २०७३।११।१५ गते दिउसो १५:३० बजेतिर यी परिवर्तित नाम ०१(C) स्कुलबाट घर फर्कंदै थिई । मैले निजलाई थुम्बेदिन गा.वि.स. वडा नं. २ वरडाँडा भन्ने ठाउँमा भेटी करणी गर्न मन लागी मैले निजलाई अमला टिपी दिन्छु, बिस्कुट किनिदिन्छु भनी फकाई करणी गर्न देउ भनी बाटोदेखि केही माथि लगी खेतमा भुईँमा लडाई निजको कपडा फ्रक र पेन्टी खोली हतार हतार मेरो आफ्नो पेन्टी कपडासमेत खोली मेरो उत्तेजित लिङ्ग पीडितको योनिमा छिराउन प्रयास गर्दा मेरो लिङ्ग पीडितको योनिमा नछिरेपछि ऐया, दुख्यो के गर्नु भएको भनी रूँदै चिच्याउन थाल्दा मैले जबरजस्ती पीडितको योनिमा मेरो लिङ्ग छिराएको हुँ । त्यसपछि मैले पीडितलाई त्यही घट्नास्थलमा छोडी म आफ्नो घरतर्फ गएको थिए । यी पीडित आफ्नो घरमा गई सो कुरा निजको बाबु जाहेरवालालाई सुनाएको रहेछ । मलाई सोही दिन बेलुका करिब ६ बजेतिर प्रहरीले पक्राउ गरेको हो । मैले पीडित ०१(C) लाई फकाएर करणी गरेको हुँ । त्यसैले मलाई कानूनबमोजिम सजाय हुनुपर्ने हो र पीडितलाई मबाट क्षतिपूर्ति पनि दिलाई भराई दिनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्माले मिति २०७३।१२।९ गते अदालतमा गरेको बयान ।

मैले घट्ना घटेको भोलिपल्ट मात्र गाउँमा होहल्ला भएर सुनी थाहा पाएको हुँ । पीडित परिवर्तित नाम ०१(C) अप्ठ्यारो गरी हिँडिरहेकी छिन् भनेर पनि सुनेकी हुँ । पीडित परिवर्तित नाम ०१(C) विद्यालयबाट फर्किंदै गर्दा प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्माले जबरजस्ती करणी गरेको भन्ने सुनेको हुँ । मिति २०७३।११।१६ गतेको घट्नास्थल मुचुल्का र मिति २०७३।११।२९ गतेको वस्तुस्थिति मुचुल्कामा भएको व्यहोरा र सहीछाप मेरो नै हो भन्नेसमेत व्यहोराको घट्नास्थल मुचुल्का तथा वस्तुस्थिति मुचुल्कामा बस्ने चन्द्रप्रसाद थेवे र युद्धविर विश्वकर्माले मिति २०७३।१२।१४ गते अदालतमा गरेको बकपत्र । 

मिति २०७३।११।२६ गतेको घट्ना विवरण कागजमा भएको सहीछाप र व्यहोरा मेरो नै हो भन्नेसमेत व्यहोराको घट्ना विवरण कागज गर्ने मन्जिता तामाङले मिति २०७३।१२।१४ गते अदालतमा गरेको बकपत्र ।

मिति २०७३।११।१६ गतेको घट्नास्थल मुचुल्का र मिति २०७३।११।२९ गतेको वस्तुस्थिति मुचुल्काको व्यहोरा र सहीछाप मेरै हो, ठीक छ । प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्मालाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने हो भन्नेसमेत व्यहोराको घट्नास्थल मुचुल्का तथा वस्तुस्थिति मुचुल्कामा बस्ने मनकुमारी तामाङले मिति २०७३।१२।१४ गते अदालतमा गरेको बकपत्र ।

प्रतिवादी ठूल्पी भन्ने विकास वि.क.ले मेरी छोरी पीडित परिवर्तित नाम ०१(C) लाई स्कुलबाट फर्कंदै गर्दा बिस्कुट किनी दिन्छु, पैसा दिन्छु, अमला टिपी दिन्छु भनी फकाई बाँसघारी नजिकै खेतमा लगी लगाएको लुगासमेत खोली मलाई फटाहा गर्यो भनी छोरी रूँदै घरमा आई भन्दा सुनेको हुँ । छोरीलाई हेर्दा कम्मर मुनी सबै रगत नै रगत थियो । पिसाब फेर्ने ठाउँबाट रगत बगिरहेको थियो । छोरीको यस्तो हालत देखेपछि मैले प्रहरीलाई खबर गरेको हो । मेरी छोरीलाई प्रतिवादीले आर्थिक प्रलोभन देखाई मिति २०७३।११।१५ गते स्कुलबाट फर्कंदै गर्दा जबरजस्ती करणी गरेको हुँदा अभियोग माग दाबीबमोजिम सजाय हुनु पर्दछ भन्नेसमेत व्यहोराको परिवर्तित नाम ताप्लेजुङ ४ ले मिति २०७३।१२।१४ गते अदालतमा गरेको बकपत्र ।

मलाई ठूल्पीले अमला टिपी दिन्छु, बिस्कुट किनी दिन्छु र पैसा पनि दिन्छु भनी फकाई नराम्रो काम गर्‍यो र मेरो सुसु गर्ने ठाउँबाट रगत बग्यो । मिति २०७३।११।१७ गतेको घट्ना विवरण कागजको व्यहोरा सुनाउँदा सुने । यसमा लेखिएको व्यहोरा र ल्याप्चे सही मेरै हो भन्नेसमेत व्यहोराको पीडित परिवर्तित नाम ०१(C) ले मिति २०७३।१२।१४ गते अदालतमा गरेको बकपत्र । 

मिति २०७३।११।१६ गतेको घटनास्थल मुचुल्काको व्यहोरा र सहीछाप मेरो नै हो । प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्मालाई हदैसम्म सजाय हुनुपर्ने हो भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्कामा बस्ने शरन तामाङले मिति २०७३।१२।१५ गते अदालतमा गरेको बकपत्र ।

पीडितले लगाएको भित्री कपडामा "Human semen was detected” भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको मिति २०७३।१२।१५ को परीक्षण प्रतिवेदन ।

प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा गरेको बयान, पीडित बालिकाले गरेको बकपत्र, जाहेरवालाले गरेको बकपत्र, बुझिएका मनकुमारी तामाङसमेतका व्यक्तिले गरेको बकपत्र, पीडितको मौकाको शारीरिक परीक्षण प्रतिवेदन, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न वस्तुनिष्ठ प्रमाणबाट वर्ष ९ की अवोध बालिका पीडित ०१(C) लाई प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्माले जबरजस्ती करणी गरेको पुष्टि हुन आएकोले प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्मालाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. अनुसार १४ (चौध) वर्ष कैद सजाय हुने ठहर्छ । प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराई दिन सकिने नदेखिएकोले क्षतिपूर्तिको रकम रू.७५,०००।– (पचहत्तर हजार) नेपाल सरकार महिला तथा बालबालिका कार्यालय ताप्लेजुङबाट पीडितलाई उपलब्ध गराई दिन र पीडितलाई शिक्षादीक्षाको उचित प्रबन्ध गर्न गराउन जिल्ला बाल कल्याण समिति ताप्लेजुङमा लेखी पठाइदिनेसमेत ठहर्छ भन्ने सुरू ताप्लेजुङ जिल्ला अदालतबाट मिति २०७३।१२।१८ मा भएको 

फैसला ।

जाहेरी दरखास्तमा घटना भएको भनी खुलाएको समय भनेको उज्यालो नै हुन्छ, त्यस्तो समयमा खेतमा लगी  जबरजस्ती करणी  गर्यो भनी मलाई आरोप लगाई कसूरमा फसाउने काम गरेको 

हो । म पुनरावेदकले पीडितलाई साथीहरूसाथ घर जाँदै गरेको बाटोमा भेटी हातमा समाई दोकानसम्म लानु नै मेरो अपराध भयो भने मैले पीडितलाई दोकानसम्म लादा मलाई कति सजाय हुने सो सजाय मात्र भोग्न तयार छु । जबरजस्ती करणी गरेको पीडितमा प्रमाण भेटिए भनी प्रहरीमा गरेको बयान नै अदालतमा गर्नुपर्छ भनी मलाई गाउँकै ठुला बडा मुखियाहरूले भनेको आधारमा नै अरू कसैले गरेको अपराधको सजाय मैले भोग्नु पर्ने स्थिति अहिलेको फैसलाले गरेकोले उक्त फैसला उल्टी गरी सफाइ पाऊँ भन्ने प्रतिवादीको तर्फबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा परेको पुनरावेदन-पत्र ।

प्रतिवादी ठुल्पी भन्ने विकास विश्वकर्माले पीडित वर्ष ९ की अवोध बालिका परिवर्तित नाम ०१(c) लाई रगतपक्ष हुने गरी अत्यन्त पासविक तरवले जबरजस्ती करणी गरेको कुरा जाहेरवालाले प्रतिवादी उपर गरेको किटानी जाहेरी र सोअनुरूपको निजको बकपत्र, पीडितको मौकाको कागज तथा अदालतको बकपत्र, मौकामा बुझिएका मानिसहरूको बकपत्र, प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतमा गरेको साबिती बयान, पीडितको स्वास्थ्य जाँच प्रतिवेदन, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागजात तथा अकाट्य प्रमाणहरूबाट मालाकार रूपमा पुष्टि भइरहेको देखियो । पीडित वर्ष ९ की अवोध बालिकाउपर प्रतिवादीबाट जबरजस्ती करणी जस्तो समाज र मानवता विरूद्ध नृशंस अपराध भएको देखिँदा सुरू ताप्लेजुङ जिल्ला अदालतबाट प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. अनुसार १४ वर्ष कैद सजाय, प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराई दिन सकिने नदेखिएकोले क्षतिपूर्तिको रकम रू.७५०००।- (पचहत्तर हजार) नेपाल सरकार, महिला तथा बालबालिका कार्यालय, ताप्लेजुङबाट पीडितलाई उपलब्ध गराइ दिने र पीडितलाई शिक्षा दीक्षाको उचित प्रबन्ध गर्न, गराउन जिल्ला बाल कल्याण समिति ताप्लेजुङमा लेखी पठाइ दिनेसमेत ठहर्‍याइ भएको फैसला न्यायोचित नै देखियो । तसर्थ, सुरू ताप्लेजुङ जिल्ला अदालतबाट मिति २०७३।१२।१८ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत उच्च अदालत विराटनगर, इलाम इजलासबाट मिति २०७४।११।१६ मा भएको फैसला ।

म पुनरावेदकले पीडितलाई जबरजस्ती करणी गरेको होइन । जाहेरी दरखास्तमा घटना भएको भनी खुलाएको समय भनेको उज्यालो नै हुन्छ । मैले पीडितलाई साथीहरूसँग घर जाँदै गरेको बाटोमा भेटी हातमा समाई दोकानसम्म लगेको हो । मलाई गाउँकै ठुलाबडाले अपराध स्वीकार गर्न लगाएको हुँदा सोसमेतलाई विचार नगरी भएको फैसला मिलेको छैन । वादीले शङ्कारहित तवरले कसूर अपराध पुष्टि गर्न सकेको अवस्था नभएकाले शङ्काको भरमा मलाई कसूरदार ठहर गरेको फैसला बदर गरिपाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी विकास विश्‍वकर्माको यस अदालतमा परेको पुनरावेदन पत्र । 

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरूको अध्ययन 

गरियो । मिसिल अध्ययन गरी हेर्दा उच्च अदालत विराटनगर, इलाम इजलासबाट मिति २०७४।११।१६ मा भएको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी ठुल्पी भन्ने विकास विश्‍वकर्माले वर्ष ९ की पीडित ०१(C) लाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको १ र ३(१) नं. बमोजिमको कसूरमा ऐ. ३(१) नं. बमोजिम सजाय गरी प्रतिवादीबाट पीडितलाई सोही महलको १० नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउन अभियोग मागदाबी लिइएको देखिन्छ । प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको ३(१) नं. अनुसार १४ (चौध) वर्ष कैद सजाय गर्ने गरी ताप्लेजुङ जिल्ला अदालतबाट फैसला भएको देखियो । साथै, पीडितलाई क्षतिपूर्ति भराई दिन प्रतिवादीको सम्पत्ति नभएको अवस्था हुँदा महिला तथा बालबालिका कार्यालय, ताप्लेजुङबाट रू.७५०००।- क्षतिपूर्ति उपलब्ध गराइ दिने र पीडितलाई शिक्षादीक्षाको उचित प्रबन्ध गर्न, गराउन जिल्ला बाल कल्याण समिति, ताप्लेजुङमा लेखी पठाउनेसमेत गरी ताप्लेजुङ जिल्ला अदालतबाट उक्त फैसला भएको देखियो । सो सुरू फैसलालाई सदर गरी उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता हुन आएको पाइयो । 

३. पुनरावेदक प्रतिवादीउपर आरोपित कसूर शङ्कारहित तवरले पुष्टि हुन नसकेको अवस्थामा आफूलाई सजाय गर्नेगरी भएको फैसला नमिलेको हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाऊँ भन्ने नै प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेको 

देखियो । सो पुनरावेदन जिकिरका सम्बन्धमा विचार गर्दा, मिति २०७३।११।१५ गते अन्दाजी १५.३० बजेको समयमा प्रतिवादी ठुल्पी भन्ने विकास वि.क.ले अमला टिपी दिने, बिस्कुट किन्ने पैसा दिने भनी ललाई फकाई वर्ष नौ की परिवर्तित नाम ०१(C‍) लाई बाँसझाङ नजिकैको खेतमा लगी जबरजस्ती करणी गरी छोडी भागेको हुँदा कारबाही गरिपाऊँ भन्ने किटानी जाहेरी परेको देखिन्छ । जाहेरवाला अदालतमा उपस्थित भई प्रतिवादीले  पीडित  छोरीलाई विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको, छोरीको कम्मरमुनि रगत नै रगत थियो, पिसाब फेर्ने ठाउँबाट रगत बगिरहेको थियो भनी सो जाहेरी व्यहोरालाई समर्थन हुनेगरी अदालतमा उपस्थित भई बकपत्रसमेत गरिदिएको देखिन्छ ।

४. पीडित परिवर्तित नाम ०१(C‍) ले मिति २०७३।११।१५ गते स्कुलबाट घरतर्फ फर्कंदै गर्दा गाउँकै ठुल्पी भन्ने विकास वि.क.ले मलाई देख्नासाथ अमला टिपी दिन्छुसमेत भनी मलाई डोर्‍याउँदै बाँसघारी नजिकै रहेको खेतमा लगे । मैले लगाएको कपडा खोली निजले आफ्नो पिसाब फेर्नेलाई मेरो पिसाब फेर्नेमा जबरजस्ती घुसाई दल्न थालेपछि मलाई साह्रै दुखेकोले रोई कराई गर्दा निजले मलाई छाडी भागी गए । म बिस्तारै उठी घरमा गई बस्दा मेरो पिसाब फेर्नेबाट रगत बगिरहेको थियो । त्यसपछि मैले घटनाको बारेमा बुबालाई वृतान्त सुनाएकी हुँ भनी मौकामा कागज गरिदिएको देखिन्छ । उक्त मौकाको भनाई समर्थन गरी निज पीडित अदालतमा उपस्थित भई बकपत्रसमेत गरिदिएको पाइन्छ । 

५. पीडित परिवर्तित नाम ०१(C) को शारीरिक परीक्षण प्रतिवेदन हेर्दा, Injuries on the bodies: An abrasion on anterior aspect of right knee measuring 3cm×2cm. Blood stain seen on left thigh, posterior aspect of left leg, left shin and left foot भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी, Genital injuries अन्तर्गत (a) Perineum: Injury to perineum seen with grade 2 tear (including skin and muscles) extending from fourchette towards the left side of anus measuring 3cm×2cm. muscle deep, with active bleeding on examination; (b) Vulva: Injury on lower aspect of left labia minor continuous with the perinea injury; (c) Vagina: tear of posterior vaginal wall 1cm deep into vaginal canal continuous with the perineal injury; (d) Hymen: is torn with active bleeding on examination भन्ने उल्लेख गरिएको पाइन्छ । साथै, Condition of genital organs का सम्बन्धमा The injuries on genital organs are consistent with recent forceful vaginal penetration भन्ने व्यहोरासमेत उल्लेख भएको देखिन्छ ।

६. पीडितको उक्त शारीरिक परीक्षण प्रतिवेदनको अध्ययन गर्दा, घट्ना वारदातपछि आफ्नो यौनाङ्गबाट रगत बगेको भन्ने पीडितको भनाई Active bleeding on examination भन्ने उक्त प्रतिवेदनको व्यहोराबाट समर्थित हुन आएको 

छ । पीडितको घुँडाको भित्री भागमा कोतरिएको घाउ रहेको, यौनाङ्ग वरिपरिको छाला तथा मांशपेसी च्यातिएको भन्नेसमेत व्यहोरा उल्लेख भई यौनाङ्गमा हालै जबरजस्ती रूपले Penetration बाट भएको घाउ चोट देखिएको भन्ने राय उल्लेख भएकाले उक्त प्रतिवेदनबाट पीडित नाबालिकाउपर जबरजस्ती करणीको वारदात भएको भन्ने वस्तुगत रूपमै पुष्टि हुन आएको छ । उक्त तथ्यलाई पीडितको पेन्टीमा मानिसको वीर्य र रगत भेटिएको भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट शङ्कारहित तवरले थप पुष्टि गरेको पाइन्छ ।

७. उक्त वारदातमा प्रतिवादीको संलग्नता रहे नरहेको सम्बन्धमा हेर्दा, प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पीडितलाई देखी करणी गर्न मन लागेकोले अमला टिपी दिन्छु, बिस्कुट किन्ने पैसा दिन्छु भनी फकाइ बाँसघारी नजिक खेतमा लगी लडाइ हतार हतार लुगा खोली योनिमा लिङ्ग छिराउने प्रयास गर्दा छिरेन, पीडित रोइ कराइ गर्न थालेकोले खुट्टा फार्न लगाइ जबरजस्ती छिराउन खोज्दा चर्को स्वरले रोएकीले अरूले थाहा पाउछन भनी भागेको हुँ भनी कसूरमा साबिती भई बयान गरेको देखिन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दासमेत अधिकारप्राप्त अधिकारीसमक्ष गरेको उल्लिखित बयानलाई समर्थन गर्दै जबरजस्ती पीडितको योनिमा मेरो लिङ्ग छिराएको हुँ भनी कसूर गरेको कुरालाई स्वीकार गरी अदालतमा बयान गरेको देखिन्छ ।

८. मौकामा बुझिएका मञ्जिता तामाङ तथा वस्तुस्थिति मुचुल्काका मनकुमारी तामाङले प्रतिवादीले कसूर गरेको हो भनी गरेको आ-आफ्नो मौकाको व्यहोरा सनाखत गरी सो व्यहोरालाइ समर्थीत हुने गरी अदालतमा बकपत्र गरिदिएको 

पाइन्छ । त्यसैगरी, घट्नास्थल मुचुल्का र वस्तुस्थिति मुचुल्काका चन्द्रप्रसाद थेवे र युद्धविर विश्वकर्माले प्रतिवादीलाई आरोपित कसूरमा सजाय हुनुपर्ने हो भनी अदालतमा आई बकपत्र गरिदिएको देखिन्छ ।

९. उल्लिखित मिसिल संलग्न प्रमाणहरूको विश्‍लेषण गरी हेर्दा, प्रथमत: पीडितको भनाइलाई नै जबरजस्ती करणीको वारदातको प्रत्यक्ष प्रमाण मानिने कुरामा कुनै विवाद छैन । पीडिताले प्रतिवादीको नाम नै किटान गरी आफूउपर जबरजस्ती करणी गर्ने व्यक्ति प्रतिवादी ठुल्पी भन्ने विकास विश्‍वकर्मा नै हो भनी मौकामा कागज गरी अदालतमा बकपत्र गर्दासमेत सोही कुरा खुलाएको छ । एक अबोध नाबालिकाले आफू माथि जबरजस्ती करणी नभएको अवस्थामा कुनै व्यक्तिलाई किटान गरी दोषी देखाउनु पर्ने कारण नै रहँदैन । कसैले पीडितलाई सिकाइ अह्राइ गरेर प्रतिवादीलाई कसूरको दोष लगाएको हो कि भन्नलाई पनि निजउपर जबरजस्ती करणी भएको तथ्य निजको शारीरिक परीक्षण प्रतिवेदनबाटै देखिन आएको छ । साथै, निज पीडिताको मौकाको भनाइ र अदालतमा गरेको बयान व्यहोरामा प्रतिवादीले नै आफूउपर कसूर गरेको भन्ने कुरा मिल्न भिड्न आएको छ । यसरी अनुसन्धानको समयदेखि अदालत समक्षसमेत निरन्तरता पाएको पीडितको भनाइलाई अन्यथा भनी शङ्का गर्नुपर्ने स्थिति छैन । 

१०. त्यसैगरी, पीडित परिवर्तित नाम ०१(C) वारदातको समयमा ९ वर्षकी नाबालिका रहेको भन्ने निजको जन्मदर्ता प्रमाणपत्रबाट देखिन आएको हुँदा निजलाई करणी गरेको कार्य नै मुलुकी ऐन, जबरजस्ती करणीको १ नं. अनुसार जबरजस्ती करणी ठहर्नेमा विवाद छैन । पीडित नाबालिकाको बुबाले प्रतिवादीउपर किटानी जाहेरी दिनुपर्ने कुनै अन्यथा कारण रहेको भन्ने मिसिलबाट खुल्न आएको छैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत कसूर गरेकोमा साबिती भई गरेको बयान कसैको दबाब वा प्रभावमा परेर गरेको हो भन्न मिल्ने कुनै आधार देखिँदैन । प्रतिवादीले आरोपित कसूर नगरेको भए जबरजस्ती करणी जस्तो जघन्य अपराधमा साबिती भई कसूर स्वीकार गर्नुपर्ने अवस्था पनि 

रहँदैन ।

११. प्रमाण ऐन, २०३१ को दफा ९ मा "मुद्दाका कुनै पक्षले व्यक्त गरेको कुनै कुरा निजका विरूद्ध प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष व्यक्त गरेको निजको भनाइलाई विश्‍वासिलो प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने नै देखिन्छ । यसर्थ, प्रतिवादीउपर परेको किटानी जाहेरी, सो जाहेरी व्यहोरा पुष्ट्याइँ हुने गरी जाहेरवालाले अदालतसमक्ष गरेको बकपत्र, पीडितको मौकाको कागज तथा अदालतमा गरेको बकपत्र, प्रतिवादीले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष गरेको साबिती बयान एवम् पीडितको शारीरिक परीक्षण प्रतिवेदन र केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न कागज प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको कुरा शङ्कारहित तवरले पुष्टि हुन आएको देखियो ।

१२. अब, निज प्रतिवादीलाई उक्त कसूर गरेकोमा हुन सक्ने सजायतर्फ विचार गर्दा, मुलुकी ऐन, जबरजस्ती करणीको ३ नं. मा “जबरजस्ती करणी गर्नेलाई देहायबमोजिम कैद सजाय हुनेछ” भन्ने उल्लेख भई  सो ३ नं. को देहाय नं. १ मा “दश वर्षभन्दा मुनिकी बालिका भए दशदेखि पन्ध्र वर्षसम्म” भन्ने कानूनी व्यवस्था रहेको 

पाइन्छ । उक्त कानूनी व्यवस्थाबमोजिम दश वर्षभन्दा मुनिकी नाबालिकालाई जबरजस्ती करणी गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुनसक्ने देखिन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी ठूल्पी भन्ने विकास विश्वकर्माले पीडित वर्ष ९ की परिवर्तित नाम ०१(C) लाई कम उमेरको अबोध बालापनको फाइदा उठाई अमला टिपी दिन्छु, बिस्कुट किन्ने पैसा दिन्छु भनी प्रलोभनमा पारी ललाई फकाई गरी जबरजस्ती करणी गरेको पुष्टि हुन आएको छ । तसर्थ, निज प्रतिवादीले योजनाबद्ध तवरले मनसायपूर्वक गरेको उक्त कसूरको गाम्भीर्यसमेतलाई मध्यनजर गर्दा निज प्रतिवादीलाई जबरजस्ती करणीको ३(१) नं. बमोजिम १४ (चौध) वर्षकैद सजाय हुने गरी उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसला मनासिब नै 

देखियो ।

१३. साथै, पीडितलाई भराई दिने क्षतिपूर्तिका सम्बन्धमा हेर्दा, प्रतिवादीको नाउँमा कुनै सम्पत्ति नभेटिएकाले निज प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराई दिने स्थिति नरहेको हुँदा नेपाल सरकार, महिला तथा बालबालिका कार्यालय ताप्लेजुङबाट रू.७५०००।- क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउने गरी उच्च अदालत विराटनगर, इलाम इजलाससमेतबाट फैसला भएको देखियो । जबरजस्ती करणी जस्तो गम्भीर प्रकृतिको अपराधबाट पीडितलाई शारीरिक, मानसिक तथा सामाजिक क्षति पुग्दछ । पीडितलाई हुने त्यस्तो क्षतिको पूर्णरूपले निराकरण गर्न सम्भव नभए पनि क्षतिपूर्ति (Compensation) रकम उपलब्ध गराई आर्थिक राहत दिलाउनु राज्यको दायित्वअन्तर्गत नै पर्दछ । जबरजस्ती करणीको कसूर गर्ने कसूरदारबाट नै पीडितलाई क्षतिपूर्ति भराइदिने मुलुकी ऐन, जबरजस्ती करणीको १० नं. मा कानूनी व्यवस्था रहेपनि यसरी प्रतिवादीबाट क्षतिपूर्ति भराई दिन सँधै सम्भव नहुन पनि सक्दछ । खासगरी प्रतिवादीको कुनै सम्पत्ति नभएको अवस्थामा प्रतिवादीबाट पीडितलाई यस्तो क्षतिपूर्ति भराई दिने व्यवस्थाको कार्यान्वयन नै सम्भव हुँदैन । प्रतिवादीको कुनै सम्पत्ति नभएको कारणले मात्र जबरजस्ती करणीको कसूरबाट पीडित व्यक्तिले क्षतिपूर्ति नपाउने भन्ने पनि हुँदैन । यस्तो अवस्थामा पीडितलाई सम्बन्धित महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति स्वरूप उचित रकम उपलब्ध गराउन आदेश गर्न सक्ने गरी जबरजस्ती करणीको १०ग. नं. मा कानूनी व्यवस्था गरिएको देखिन्छ । त्यसैगरी, पीडितको अविभावकको न्यून आयस्रोत रहेको देखिएको अवस्थामा राज्य वा कुनै सामाजिक संघसंस्थाबाट उपलब्ध हुन सक्ने सामाजिक सुरक्षाको प्रत्याभूति गरी पीडितलाई राहत दिन उपयुक्त नै हुन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराइदिने सम्पत्ति नपाइनुका साथै पीडितको अविभावकको न्यून आयस्रोत रहेको भन्नेसमेत देखिएको अवस्था हुँदा नेपाल सरकार, महिला तथा बालबालिका कार्यालय ताप्लेजुङबाट पीडितलाई रू.७५०००।- क्षतिपूर्ति उपलब्ध गराइ दिने र पीडितको शिक्षा दिक्षाको उचित प्रबन्ध गर्न, गराउन जिल्ला बालकल्याण समिति ताप्लेजुङमा लेखी पठाउने गरी उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको इन्साफसमेत अन्यथा देखिएन ।

१४. अत: माथि विवेचित् आधार कारणसमेतबाट प्रतिवादी ठुल्पी भन्ने विकास विश्‍वकर्मालाई जबरजस्ती करणीको ३ (१) नं. बमोजिम १४ (चौध) वर्षकैद सजाय हुनेसमेत ठहर गरी ताप्लेजुङ जिल्ला अदालतबाट भएको फैसला सदर गरी उच्च अदालत विराटनगर, इलाम इजलासबाट मिति २०७४।११।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको प्रतिलिपि साथैराखी कारागार कार्यालय, ताप्लेजुङमार्फत पुनरावेदक प्रतिवादी ठुल्पी भन्ने विकास विश्‍वकर्मालाई फैसलाको जानकारी दिनू । यस फैसलाको विद्युतीय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.पुरूषोत्तम भण्डारी 

 

इजलास अधिकृतः- दिपेन्द्र थापा मगर

इति संवत् २०७६ साल मङ्सिर ८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु