निर्णय नं. ९१९५ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।३।३०।२
०६६-CI-०३५०
मुद्दा : लेनदेन
पुनरावेदक/वादी : भारत, विहार जिल्ला पूर्वीचम्पारण, तेलहारा टोल अमवा घर भै हाल चौधरी इन्टरप्राइजेज गौरका प्रोप्राइटर जिल्ला रौतहट, गौर नगरपालिका वडा नं.२ स्थित दिनानाथ चौधरीको घरमा डेरा गरी बस्ने कपीलदेव चौधरी कलवार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला रौतहट, गा.वि.स. सवगढा वडा नं.५ हाल गौर नगरपालिका वडा नं. १० बस्ने महमद सगीर
§ सद्दे कीर्ते के हो भनी सहीछापको जाँच गर्दा भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएका रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय रहेको देखिन आयो । बन्दसवालद्वारा विशेषज्ञको बकपत्र गराइएकोमा निजले सोही राय ठीक रहेको भनी बकपत्रसमेत गरेको देखिन्छ । वादीसँग प्रतिवादीले लिएको रकमको सावाँ व्याज बुझाइसकेको भरपाई पेस गरेको र उक्त भरपाई वादीले नै गरिदिएको भन्ने देखिएको अवस्थामा वादीले दावीबमोजिमको रकम प्रतिवादीबाट भराई पाउने देखिन नआउने ।
(प्रकरण नं. ४)
§ प्रतिवादीले वादी दावीबमोजिमको लिखत अनुसारको रकम बुझाइसकेको भन्ने कुराको विवादरहित तवरले पुष्टि गर्ने भरपाई मौकामा पेस गर्न नसकी पुनरावेदन अदालतमा पेस गरेकोमा मात्र प्राविधिक कारण देखाई त्यस्तो भरपाई लिखतलाई प्रमाणमा ग्रहण नगरी निर्णयमा पुग्दा त्यसले न्यायको मर्म नै मर्न जाने हुँदा पक्षले तत्काल प्राप्त गर्न नसकेको भरपाईलाई पछि पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पेस गरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्नु कानूनी दृष्टिबाट समेत न्यायसङ्गत नहुने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता सतिशकुमार झा
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेव यादव
अबलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ७७ नं.
प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५०
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री भोलानाथ चौलागाईं
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मुख्य न्या.श्री केशरीराज पण्डित
मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी
फैसला
न्या.देवेन्द्रगोपाल श्रेष्ठ : प्रतिवादीले म फिरादवालासँग निजको सहभागितामा सञ्चालन भइरहेको श्री सागर इँटाभट्टा उद्योग झुनखुनवामा अवस्थित भई सो उद्योग हेतु रू.१,५०,०००।– कर्जा लिई मिति २०५६।१।६ मा कपाली तमसुक गरी दिनुभएकोमा सावाँ व्याज माग्दा नदिएकोले सावाँ रू.१,५०,०००।– को लिखत मितिदेखि आजसम्म ६ वर्ष ३ महिना ११ दिनको सयकडा १० ले हुने व्याज रू.९४,२०९।– समेत जम्मा रू.२,४४,२०९।– तथा अरू हुने व्याजसमेत निज प्रतिवादीबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।
वादीसँग म प्रतिवादीले एकमुष्ट रू.१,५०,०००।– लिएको छैन र कपाली तमसुकको कागज गरेको होइन छैन । मेरो सहभागितामा श्री सागर इँटाभट्टा उद्योग सञ्चालन भएकोमा सो इँटाभट्टा उद्योग सञ्चालनका लागि इँटा पकाउन कोइलाको आवश्यकता परेको थियो । यी वादीले कोइला सप्लाई गर्ने गरेकोमा सोही कोइला सप्लाई गर्दाको क्रममा यी वादीसँग रू.५०,०००।– को कोइला खरिद गर्दा सो बखत रूपैयाँको अभाव रहेको कारण रू.५०,०००।– को कोइला उधारो लिएकोमा सोही उधारो कोइलाको सर्तनामास्वरूप वादीको नाउँमा कागज गरेको थिएँ । मेरो इँटाभट्टाबाट इँटा उत्पादन सुरू भएपछि इँटा बिक्री गरी विभिन्न मितिमा पटकपटक गरी रू.४६,०००।– बुझाईसकेको र बाँकी रहेको रकम विश्वासको भरमा सो बखत भरपाई नभएको रसिद नभए पनि वादीलाई रू.१,५०,०००।– तिरी बुझाई सकेकोले बुझाउन बाँकी छैन वादी र निजको प्रतिनिधिलाई बुझाएको रकम र निजहरूबाट प्राप्त भएको रसिद खोजतलास गर्दा फेला नपरेकामा परेको बखत पेस गर्ने नै छु । वादीसँग सक्कल लिखत दाखिल गराई अ.बं. ७८ नं. बमोजिम देखाई सुनाई बयान गराई झुट्ठा दावीबाट फुर्सद गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।
मिति २०६२।७।७ मा भएको आदेशानुसार वादी दावीको सक्कल लिखत वादीले निवेदनसाथ दाखेल गरेको प्रस्तुत मिसिल सामेल रहेको छ ।
लिखतमा परेको सहीछाप मेरो हुँदा सहीछाप सद्दे हो । लिखतमा लेखिएको थैली रू.१,५०,०००।– मैले मिति २०५६।१।६ मा धनीसँग कर्जा लिई प्रस्तुत लिखत गरेकाले लिखत सद्दे हो तर वादीले पाउने सावाँव्याज २०५८।७।६ मा नगद रू.१,८७,५००।– वादीलाई बुझाई भरपाई लिएको छु । अदालतबाट आदेश भएका बखत पेस गर्ने छु भन्नेसमेत व्यहोराको महमद सगीरको सनाखत बयान ।
आफूले रकम लिई सोअनुसारको लिखत गरी दिएको र सो रकमसमेत वादीलाई तिरी बुझाइसकेको भरपाईसमेत लिएको छु भन्ने तर रकम तिरे बुझाएको भरपाई पेस नगरी अदालतबाट आदेश भएका बखत पेस गर्ने छु भन्ने जस्ता बेतुकका कुरा गरेर लिखत अनुसारको दायित्व वहन गर्नबाट पन्छिने वा अलग हुने खालका भनाई रहे भएको पाइँदा प्रतिवादीको यस प्रकारको आलटाल भनाइको आधारमा लिखत अनुसारको दायित्व यी प्रतिवादीले पूरा गर्न नपर्ने भन्न नमिल्ने हुँदा फिराद मागदावी अनुसार वादीले प्रतिवादीबाट सावाँव्याज भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू रौतहट जिल्ला अदालतबाट मिति २०६२।११।१८ मा भएको फैसला ।
उपरोक्त अनुसारको सुरू फैसलामा मेरो चित्त बुझेन । सुरू अदालतको आदेशानुसार विपक्षी वादीबाट सक्कल लिखत दाखिल गराई अ.बं.७८ नं. अनुसार म पुनरावेदकलाई देखाई सुनाई सनाखत बयान गर्दाका अवस्थामा सक्कल भरपाई बुझी लिन सम्बन्धित कर्मचारीलाई भन्दा आदेश बेगर सक्कल कागज बुझ्न मिल्दैन भनी लिनु भएन । यसरी फिराद दावीको लिखतबमोजिमको सावाँ व्याज मैले तिरी बुझाई भरपाईसमेत लिए पाएको अवस्था हुँदाहुँदै पनि सोतर्फ न्यायिक मूल्याङ्कन नै नगरी मैले पुनः दोहोरा सावाँ व्याज विपक्षी वादीलाई तिर्न बुझाउन पर्ने ठहर्याई भएको सुरू फैसला अन्यायपूर्ण भएकोले उक्त फैसला बदर गरी निज प्रत्यर्थी वादीलाई तिर्न बुझाउन नपर्ने गरी हकइन्साफ गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा प्रत्यर्थी वादीले सावाँव्याजसमेत बुझी छुट्टै गरी दिएको भनिएको भरपाईको नक्कल पुनरावेदक प्रतिवादीले पुनरावेदनपत्र साथ पेस गरेको देखिँदा सोको सक्कल पुनरावेदकबाट दाखिला गराई सद्दे कीर्तेमा सुनाई निर्णयमा पुग्नुपर्ने अवस्थामा सुरूको इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
मिति २०५८।७।६ मा भएको भनिएको सक्कल भरपाईको शिर पुछारमा लागेको ल्याप्चे सहीछाप र हस्ताक्षरसमेत मेरो होइन । मबाट भरपाई गराई नलिएको हुँदा उक्त भरपाई सरासर जालसाजीपूर्ण हो । उक्त लिखतमा भएको सहीछाप कस्को हो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको वादी कपिलदेव चौधरी कलवारले पुनरावेदन अदालत, हेटौंडामा अ.बं.७८ नं. बमोजिम गरेको सनाखत बयान ।
प्रत्यर्थी वादीको बयान व्यहोरा झुट्ठा हो । प्रत्यर्थी वादीले २०५८।७।६ मा सावाँव्याजसमेत जम्मा रू.१,८७,५००।– प्रमाणका साक्षीहरूको रोहबरमा एकमुष्ट गन्ती गरी बुझी लिएका हुन् । एक पटक सावाँव्याज बुझाई सकेपछि दोहोरो सावाँव्याज बुझाउनुपर्ने होइन भरपाई सद्दे साँचो हो भन्नेसमेत व्यहोराको प्रतिवादी महमद सगीरले पुनरावेदन अदालत, हेटौंडामा गरेको बयान ।
यसमा प्रतिवादीले पेस गरेको मिति २०५८।७।६ को भरपाईलाई वादीले अ.बं. ७८ नं. बमोजिम बयान गर्दा कीर्ते नामकरण गरेको देखिँदा प्रत्यर्थी वादीको नमूना ल्याप्चे लिई सो नमूना ल्याप्चे भरपाईमा लागेको वादीको ल्याप्चेसँग भिडाई जाँच गराउन लाग्ने दस्तुर वादीसँग लिई लिखत जाँचगरी पठाई दिन रेखा तथा लेखा शाखा सर्वोच्च अदालतमा लेखी जाँच भई आएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
भरपाईलाई वादीले कीर्ते भनेकाले सो भरपाईको साक्षी र लिखत साक्षी प्रतिवादी सरह देखिएकोले निजहरूलाई झिकाई बयान गर्न पेस गर्नु, साथै भरपाई जाँच गर्ने रेखा तथा लेखा विशेषज्ञलाई प्रमाण ऐन, २०३१ को दफा २३(७) र ५२ बमोजिम बन्दसवालद्वारा काठमाडौं जिल्ला अदालतमार्फत बकपत्र गराई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको आदेश ।
भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेकोले सोहीबमोजिम राय दिइएको हो । यसमा राय बाझिने भन्ने प्रश्नै आउँदैन भन्नेसमेत व्यहोराको रेखा तथा लेखा विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीले पुनरावेदन अदालत, हेटौंडाबाट जारी भएको बन्दसवालमा काठमाडौं जिल्ला अदालतमार्फत दिएको बकपत्र ।
प्रतिवादीले पेस गरेको भरपाई लिखत सद्दे साँचो व्यहोराको देखिन आएकोले सोबमोजिमको सावाँव्याजको रकम वादीले प्रतिवादीबाट बुझिलिएको साँचो देखिन आयो । वादीले प्रतिवादीबाट सावाँव्याजको रकम प्राप्त गरिसकेको यस स्थितिमा वादी दावी झुट्ठा भई सो दावी पुग्न नसक्ने ठहराउनुपर्नेमा वादी दावीबमोजिम सावाँव्याज प्रतिवादीबाट भराई पाउने ठहराई सुरू रौतहट जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।१२।२६ को फैसला ।
प्रतिवादीले प्रतिवाद गर्दा रकम बुझाएको भनेको भरपाई पेस नगरी पछि पेस गरेको सो भरपाई विभिन्न परिस्थितिमा रचना हुन सक्ने लिखतलाई मान्यता दिनु नपर्नेमा अ.बं. ७७ नं. को मनसायको प्रतिकूल सो भरपाईलाई प्रमाणस्वरूप ग्राह्य गरी प्रमाण ऐन, २०३१ को दफा ५४ को मनसायविपरीत भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला बदर गरी मेरो दावीबमोजिमको सावाँव्याज प्रतिवादीबाट भराई पाउने गरी भएको सुरू रौतहट जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा विवादित भरपाई लिखत रेखा तथा लेखा विशेषज्ञबाट परीक्षण भएकोमा उक्त लिखत परीक्षण गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र नगराई सोलाई प्रमाणमा लिई भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।१२।२६ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५० को त्रुटि देखिएकोले अ.बं.२०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने मिति २०६८।१०।१९ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री सतिशकुमार झाले मेरो पक्षले प्रतिवादीबाट लिखतबमोजिमको रकम प्राप्त नगरेको अबस्थामा प्रमाण नै नलाग्ने भरपाईको आधारमा मेरो पक्षको दावीलाई झुट्ठा ठहर्याई गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला नमिलेको हुँदा सो फैसला उल्टी गरी वादी दावी पुग्ने गरी भएको रौतहट जिल्ला अदालतको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादवले मेरो पक्षले वादीलाई रकम बुझाइसकेको वादीले गरी दिएको भरपाई लिखतसमेतबाट स्पष्ट देखिरहेको हुँदा पुनरावेदन अदालत, हेटौंडाबाट वादी दावी नपुग्ने गरी भएको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
दुबैतर्फका कानून व्यवसायीहरूको बहस जिकिर सुनी मिसिल अध्ययन गरी हेर्दा वादीको पुनरावेदन जिकिरबमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ छैन सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचारगर्दा प्रतिवादीले मसँग इँटाभट्टा उद्योगको लागि रू.१,५०,०००।– कर्जा लिई मिति २०५६।१।६ मा कपाली तमसुक गरी दिनु भएकोमा सावाँव्याज माग्दा नदिएकोले लिखतको मितिदेखि आजसम्मको व्याजसमेत जम्मा रू.२,४४,२०९।– तथा अरू हुने व्याजसमेत निज प्रतिवादीबाट दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद दावी रहेको र वादीलाई रू.१,५०,०००।– तिरी बुझाई सकेकाले वुझाउन बाँकी छैन । वादी र निजको प्रतिनिधिलाई बुझाएको रकम र निजहरूबाट प्राप्त भएको रसिद खोज तलास गर्दा फेला नपरेकामा परेको बखत पेस गर्ने नै छु । वादीलाई मैले लिएको रकम तिरी बुझाईसकेको हुँदा झुट्ठा दावीबाट फुर्सद गरी पाउँ भन्नेसमेत प्रतिउत्तर जिकिर भएकोमा लिखत अनुसारको दायित्व यी प्रतिवादीले पूरा गर्नुपर्ने हुँदा फिराद दावी अनुसार वादीले प्रतिवादीबाट सावाँव्याज भरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू रौतहट जिल्ला अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालतमा पुनरावेदन परी सुरू रौतहट जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी हुने ठहर्याई वादी दावी पुग्न नसक्ने गरी पुनरावेदन अदालत, हेटौंडाले गरेको फैसलाउपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएको देखियो ।
३. अब वादीको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा वादीको पुनरावेदनमा यस अदालतबाट मिति २०६८।१०।१९ मा “विवादित भरपाई लिखत रेखा तथा लेखा विशेषज्ञबाट परीक्षण भएकोमा उक्त लिखत परीक्षण गर्ने विशेषज्ञलाई अदालतमा बकपत्र नगराई सोलाई प्रमाणमा लिई भएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।१२।२६ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) र दफा ५० को त्रुटि देखिएको” भन्ने आधारमा प्रत्यर्थी झिकाउने आदेश भएको पाइयो । प्रमाणमा आएको पुनरावेदन अदालत, हेटौंडाको २०६३ सालको दे.पु.नं. १०८३ को प्रस्तुत मुद्दाको मिसिल हेर्दा त्यस अदालतको मिति २०६५।०५।१८ को आदेशानुसार भरपाईको लिखत जाँच गर्ने विशेषज्ञ केशवबहादुर थापा क्षेत्रीले विवादको लिखतको सम्बन्धमा बकपत्र गरिसकेको देखिँदा विशेषज्ञको बकपत्र नभएको भन्ने आधारमा यस अदालतबाट मिति २०६८।१०।१९ मा भएको आदेशसँग प्रथम दृष्टिमा नै सहमत हुन सकिएन ।
४. वादी दावीबमोजिमको रकम रू.१,५०,०००।– प्रतिवादीले ऋण लिएको तर उक्त ऋणको सावाँव्याज सहितको रकम वादीलाई बुझाई भरपाई गरी लिएको भनी प्रतिवादीले जिकिर लिएको देखिन्छ । प्रतिवादीले वादीलाई सावाँव्याज बुझाएको भरपाई सुरू रौतहट जिल्ला अदालतसमक्ष पेस गर्न नसकेकोमा पुनरावेदन अदालत, हेटौंडासमक्ष पुनरावेदन गर्दाको बखतमा पेस गरेको र उक्त भरपाईको सम्बन्धमा अ.बं.७८ नं. बमोजिम वादीले गरेको बयानमा सक्कल भरपाईको शिर पुछारमा लागेको ल्याप्चे सहीछाप मेरो होइन । उक्त भरपाई जालसाजीपूर्ण भएको भनी बयान गरेको अबस्थामा सो सहीछाप सद्दे कीर्ते के हो भनी जाँच गरी पठाई दिन रेखा तथा लेखा विशेषज्ञलाई लेखी पठाएको र उक्त सहीछापको जाँच गर्दा भरपाईमा लागेको ल्याप्चे छापको जात र पर्याप्त भेटिएका रेखाका गुणहरूसँग नमूनाको बायाँ ल्याप्चे छापको जात र पर्याप्त भेटिएको रेखाका गुणहरूसमेत आपसमा भिडी मिलेको भन्ने रेखा तथा लेखा विशेषज्ञको राय रहेको देखिन आयो । बन्दसवालद्वारा विशेषज्ञको बकपत्र गराइएकोमा निजले सोही राय ठीक रहेको भनी बकपत्रसमेत गरेको देखिन्छ । वादीसँग प्रतिवादीले लिएको रकमको सावाँव्याज बुझाइसकेको भरपाई पेस गरेको र उक्त भरपाई वादीले नै गरिदिएको भन्ने देखिएको अवस्थामा वादीले दावीबमोजिमको रकम प्रतिवादीबाट भराई पाउने देखिन आएन ।
५. अब जहाँसम्म प्रतिवादीले पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदनपत्र साथ पेस गरेको भरपाईको सम्बन्धमा अदालती बन्दोवस्तको महलको ७७ नं. बमोजिम प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने भनी यस अदालतमा
पुनरावेदनपत्रसाथ वादीले लिएको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा उक्त ७७ नं. को देहाय ५ लाईसमेत हेर्नुपर्ने हुन्छ जसमा “कुनै नयाँ र महत्त्वपूर्ण लिखत प्रमाण फिरादपत्र वा प्रतिउत्तरपत्र दिँदाको बखत आफूले भरमग्दूर कोसिस गर्दा पनि थाहा नपाएको वा प्राप्त गर्न नसकेकोले सो प्रमाणपत्र पेस गर्न अनुमति पाउँ भनी झगडियाले निवेदन दिएमा व्यहोरा मनासिब देखिए अड्डाले सो कुराको पर्चा खडा गरी सो प्रमाण बुझ्न हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । सो हुँदा प्रस्तुत विवादको सन्दर्भमा प्रतिवादीले प्रतिउत्तर फिराउँदा नै सावाँव्याज बुझाएको भरपाई तत्काल फेला नपरेकोले फेला परेका बखत अदालतको आदेश भएमा बुझाउने छु भनेकै देखिन्छ । प्रतिवादीले वादी दावीबमोजिमको लिखत अनुसारको रकम बुझाइसकेको भन्ने कुराको विवादरहित तवरले पुष्टि गर्ने भरपाई मौकामा पेस गर्न नसकी पुनरावेदन अदालतमा पेस गरेकोमा मात्र प्राविधिक कारण देखाई त्यस्तो भरपाई लिखतलाई प्रमाणमा ग्रहण नगरी निर्णयमा पुग्दा त्यसले न्यायको मर्म नै मर्न जाने हुँदा पक्षले तत्काल प्राप्त गर्न नसकेको भरपाईलाई पछि पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पेस गरेको आधारमा मात्र प्रमाणमा लिन नमिल्ने भन्नु कानूनी दृष्टीबाट समेत न्यायसङ्गत नहुने हुँदा पुनरावेदक वादीले लिएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अतः प्रतिवादीले पेस गरेको भरपाई लिखतबाट वादीले सावाँ व्याज बुझिसकेको देखिँदा वादी दावीबमोजिम सावाँव्याज प्रतिवादीबाट भराई पाउने ठहराई सुरू रौतहट जिल्ला अदालतबाट मिति २०६२।११।१८ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी गरी वादी दावी नपुग्ने ठहर्याई भएको पुनरावेदन अदालत, होटौंडाको मिति २०६५।१२।२६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.जगदीश शर्मा पौडेल
इति संवत् २०७१ साल असार ३० गते रोज २ शुभम् ।
इजलास अधिकृत : गेहेन्द्रराज रेग्मी