निर्णय नं. १०५४३ - कर्तव्य ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।३।१६
०७५-CR-२२४८
मुद्दा: कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.१० घर भई हाल कारागार कार्यालय जुम्लामा थुनामा रहेका रवि खनाल
विरूद्ध
विपक्षी / वादी : सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं.१० बस्ने शंकर खनालको जाहेरीले नेपाल सरकार
आवेश प्रेरित हत्या हुनको लागि अभियुक्तमा ज्यान मार्ने रिसइबी, मनसाय र ज्यान जान सक्छ भन्ने ज्ञान (knowledge) समेत रहे भएको देखिनु हुदैन । अर्थात् रिसइबी, मनसाय वा मर्न सक्ने ज्ञानपूर्वक गरिएको हत्यालाई आवेश प्रेरित हत्याको परिभाषाभित्र पर्ने गरी व्याख्या गर्न
नमिल्ने ।
(प्रकरण नं.१५)
नियन्त्रण गुमाउन सक्ने गरी (loss of control) उत्तेजित बनाउने अवस्था नदेखिएको र स्पष्ट नियत र योजनाका साथ अपराधिक क्रियाकलाप गरी सोको परिणामसमेत विचार गरी गरिने कुनै पनि अपराधिक कार्य आवेशप्रेरित र भवितव्य मान्न नसकिने ।
(प्रकरण नं.२२)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुवनप्रसाद निरौला र वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ता श्री इन्दिरा सिलवाल
विपक्षी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०३२, नि.नं.९४८, पृ.३०१
ने.का.प.२०४६, नि.नं.४०२४, पृ.१२२८
ने.का.प.२०६७, नि.नं.८४१५, पृ.११५९
ने.का.प.२०६९, अङ्क ५, नि.नं.८८३६
ने.का.प.२०७५, नि.नं.१००५८, अङ्क ७
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री मेदिनीप्रसाद पौडेल
सुर्खेत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने
माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट
उच्च अदालत सुर्खेत
फैसला
न्या.हरिप्रसाद फुयाल : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ ।
सुरूको जाहेरी दरखास्त, लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष गरेको बयान, अभियोग मागदाबी, साक्षीहरूको बकपत्र, सुर्खेत जिल्ला अदालतको फैसला, वादी र प्रतिवादीले उच्च अदालत सुर्खेतसमक्ष पेस गरेको पुनरावेदनको व्यहोरा र उच्च अदालत सुर्खेतको फैसलाको व्यहोरासमेत उच्च अदालत सुर्खेतबाट भएको मिति २०७५।०८।१० को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन ।
यस अदालतको निर्णय
नियमबमोजिम पेसी सूचीमा चढी इजलास समक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रवि खनालको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भुवनप्रसाद निरौला र वैतनिक कानून व्यवसायी विद्वान् अधिवक्ता श्री इन्दिरा सिलवालले प्रतिवादी रवि खनाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय ठहर गरी उच्च अदालत सुर्खेतबाट मिति २०७५।०८।१० मा भएको फैसला प्रमाण, २०३१ को दफा २५ तथा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०४७ भाग ३२ नि.नं. ४२३६ अङ्क १२ मा "फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दाबी प्रमाणित गर्ने भार वादीको हो तर वादी श्री ५ को सरकारले प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा कुनै ठोस प्रमाण पेस गर्न सकेको छैन, प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा तथ्ययुक्त प्रमाणको अभाव देखिन्छ यस्तो अवस्थामा प्रतिवादीलाई प्रहरी प्रतिवेदन दाबीबमोजिम सजाय होस् भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने" भन्ने प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबाट सफाइ दिलाई पाऊँ भनी गर्नुभएको बहस सुनियो ।
उपर्युक्त बहस सुनी पुनरावेदनसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा, प्रतिवादीले आफूलाई जन्मदिने आमा प्रति गरेको दुर्व्यवहारलाई सामान्य विवेक र समझ भएका मानिसले विवेकसम्मत मान्न सकिँदैन । यद्यपि आमालाई ज्यानैसम्म लिनु पर्ने मारिहाल्नु पर्नेसम्मको पूर्वरिसइबी र मनसाय प्रतिवादीमा रहे भएको
पाइँदैन । मृतक आमा टिकावतीको बेसी किचकिच गर्ने र छोरालाई गाली गरिरहने बानीबाट उसै मौकामा उठेको रिस थाम्न नसकी सामान्य हात मुक्काले हान्दा सोही चोटबाट मृतक टिकावती खनालको मृत्यु भएको तथ्यगत र प्रमाणगत रूपबाट पुष्टि भएकाले प्रतिवादी रवि खनाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू सुर्खेत जिल्ला अदालतले मिति २०७५।१।२४ मा फैसला गरेको देखिन्छ ।
उक्त फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट सुरू सुर्खेत जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग मागदाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाऊँ भनी र प्रतिवादी रवि खनालको तर्फबाट प्रत्यक्ष प्रमाणको अभाव तथा घटना विवरण कागज गर्ने मानिसहरूसमेतको घटनाको सम्बन्धमा प्रतिकूल बकपत्र गरेको अवस्थामा सुरू जिल्ला अदालतको फैसला त्रुटिपूर्ण र अन्यायपूर्ण हुँदा उक्त फैसला बदर गरी झुट्टा अभियोग दाबीबाट सफाइ दिलाई पाऊँ भनी दोहोरो पुनरावेदन परेकोमा यी प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम १०(दश) वर्ष कैद सजाय गरेको सुरू सुर्खेत जिल्ला अदालतबाट मिति २०७५।०१।२४ मा भएको फैसला मिलेको नदेखिँदा उच्च अदालत सुर्खेतबाट मिति २०७५।०८।१० मा केही उल्टी भई प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरेको देखिन्छ ।
उक्त फैसलामा समेत चित्त नबुझाई प्रतिवादी रवि खनालको तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको रहेछ । पुनरावेदनपत्रमा पोस्टमार्टम गर्ने विशेषज्ञ डा. अनिता दाहालले मृत्युको कारण blunt head injury to head भए तापनि मानिस हिँडडुल गर्दा वा भुईँमा वा भित्तामा ठोकिएर पनि त्यस किसिमको चोट लाग्न सक्छ र सो कारणले मानिसको मृत्युसमेत हुन सक्छ भनी अदालतसमक्ष गरेको बकपत्र, जाहेरवाला र घटना विवरण कागज गर्ने व्यक्तिहरूको प्रतिकूल बकपत्र, प्रतिवादीको अदालतसमक्ष इन्कारी बयान रहेको तथा वारदात देख्ने सुन्ने कोही प्रत्यक्ष साक्षीसमेत नभएको अवस्थामा केवल शङ्काको भरमा निज प्रतिवादीलाई आरोपित कसूरमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय ठहर गरेको उच्च अदालत सुर्खेतको मिति २०७५।०८।१० को फैसला प्रमाण, २०३१ को दफा २५ तथा सम्मानित सर्वोच्च अदालतबाट ने.का.प. २०४७ भाग ३२ नि.नं. ४२३६ अङ्क १२ मा "फौजदारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दाबी प्रमाणित गर्ने भार वादीको हो तर वादी श्री ५ को सरकारले प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा कुनै ठोस प्रमाण पेस गर्न सकेको छैन, प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा तथ्ययुक्त प्रमाणको अभाव देखिन्छ यस्तो अवस्थामा प्रतिवादीलाई प्रहरी प्रतिवेदन दाबीबमोजिम सजाय होस् भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने" भन्ने प्रतिपादित सिद्धान्तको प्रतिकूल रहेको उक्त फैसला त्रुटिपूर्ण भएकोले बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबाट सफाइ दिलाई पाऊँ भन्ने पुनरावेदन जिकिर लिएको देखिन्छ ।
यसमा उच्च अदालत सुर्खेतले गरेको फैसला मिलेको छ, छैन ? तथा पुनरावेदक प्रतिवादी रवि खनालको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, यी प्रतिवादीले आफ्नी ७१ वर्षीय वृद्ध आमा टिकावती खनाललाई मिति २०७४।०५।०६ गते राति अ. ११.०० बजेको समयमा आफ्नै घरमा प्रतिवादी रवि खनाल र आमाबिच वादविवाद हुँदा आमाको कञ्चटमा के कुन चिजवस्तुले हानी कर्तव्य गरी मारेको हुँदा निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाऊँ भन्ने शंकर खनालको किटानी जाहेरी दरखास्त, मृतकको लास रहेको खाटदेखि २ फिट जमिनमा रगत जस्तो पदार्थ माटोले पोतेको जस्तो देखिएको, मृतकको दायाँ कान माथि पानीको फोका जस्तो देखिएको, अनुहारमा कटिनो पानी बगी सुकेको, दायाँ कान माथि कटिनो पानी लागेको, दायाँ आँखाको भाग कालो भएको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन Autopsy report को External Examination मा mouth- no abnormality injury and discharge. Eyes- Right eye swollen with ecchymosis around (raccoon eye) left eye normal. Nose- blood stain present over the bilateral nose. Injuries- there is presence of multiple contusion over an area of 8 cm x 4 cm area of lateral aspect of right arm भन्ने उल्लेख हुन गई मुखमा चोट नभएको, दाहिने पाखुरामा 8x4 cm को निलडाम (contusion) रहेको, अगाडि पुर्पुरो (skull) सुन्निएको, cut section presence of hematoma (in form of clot and liquid form). There is also linear fracture of skull bone भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी internal examination गर्दा 5x8 cm clot over temporal region र रक्तश्राव भइरहेको अवस्थाको विद्यमानता, घाँटीमा - Neck - There is collection of blood over subcutaneous (migratory from scalp blood collection), the hyoid bone is free from fracture. Ribs –fracture ribs over right side (3, 4, 5, 7) भन्ने भई तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौं करङसमेत फ्रयाक्चर भएको भन्ने देखिई मृतक टिकावती खनालको मृत्युको कारण blunt head injury to head भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन समेतको मिसिल संलग्न कागजातहरूबाट मृतक टिकावती खनालको मृत्यु सामान्य कालगतिले नभई कर्तव्यबाट भएको तथ्य स्पष्ट देखिन्छ ।
३. अब, मृतक टिकावती खनालको मृत्युमा प्रतिवादी रवि खनालको संलग्नता छ, छैन ? भन्ने सम्बन्धमा विचार गर्दा यी प्रतिवादीले अदालतमा उपस्थित भई बयान गर्दा मैले जन्म दिने आमालाई कुनै चिज वस्तुले कर्तव्य गरी हत्या गरेको
होइन । म निर्दोष छु मउपरको अभियोग पूर्णत झुट्टो हो भनी अभियोग दाबीबाट सफाइ पाऊँ भनी बयान गरे तापनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा, २०७४।०४।०२ गते आमा टिकावती खनालसँग वादविवाद हुँदा मैले आमालाई कुटपिट गरेका कारण आमा दिदीकोमा बस्दै गरेकोमा पछि आमा पुनः म सँगै बस्दै आउनुभएको थियो । यसै क्रममा मिति २०७४।०५।०६ गते घरमा आमा टिकावती खनाल र म मात्रै एक्लै हुँदा आमासँग वादविवाद भई झगडा भएको र आमाले मलाई गाली गरिरहनु भएको अवस्थामा मैले कञ्चटमा हान्दा आमा भुईँमा लडी अचेत हुनुभएको र खाटमा सुताई भोलिपल्ट हेर्दा आमाको मृत्यु भइसकेको रहेछ । भुईँमा रगत जस्तो पदार्थ थियो मैले उक्त रगत माटो पानीले पोतेको हुँ । मैले कुटपिट गरेका कारण आमा टिकावती खनालको मृत्यु भएको भनी बयान गरेको देखिन्छ ।
४. जाहेरवाला शंकर खनालले अदालतसमक्ष उपस्थित भई बकपत्र गर्दा जाहेरी दरखास्तमा पूर्ण इन्कारी गर्दै रवि खनालको कर्तव्यबाट मृतकको मृत्यु भएको होइन भनी बकपत्र गरे तापनि जाहेरवालाले पेस गरेको मिति २०७४।०५।०७ को जाहेरी दरखास्तमा यी प्रतिवादीले आमा टिकावती खनालसँग वादविवाद हुँदा आमाको कञ्चटमा के कुन चिज वस्तुले हानी कर्तव्य गरी मारेको हुँदा निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाऊँ भन्ने जाहेरी दिएको देखिन्छ ।
५. अदालतमा आई आफूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानलाई इन्कारी गरेपनि सो अधिकारप्राप्त अधिकारीसमक्षको बयान दबाब, धम्की वा प्रलोभनमा परेर गरेको भन्न नसकेकोबाट सो बयानलाई अन्यथा भन्न नसकिने देखिन्छ । अन्य स्वतन्त्र प्रमाण तथा विश्वसनीय प्रमाणहरूबाट अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान पुष्टि भइरहेको देखिँदा उक्त साबिती बयानलाई प्रमाणमा लिन मिल्ने नै देखिन्छ ।
६. प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा आफूले आमाको कञ्चट तथा ढाडसमेतमा कुटपिट गर्दा लडी आमाको नाकबाट रगत बगेको, उक्त रगत रहेको स्थानमा मैले पोतेको हुँ, मैले कुटपिट गरेका कारण आमाको मृत्यु भएको हो भनी साबिती बयान गरेको पाइन्छ । मृतकको लास रहेको खाटदेखि २ फिट जमिनमा रगत जस्तो पदार्थ माटोले पोतेको जस्तो देखिएको, मृतकको दायाँ कान माथि पानीको फोका जस्तो देखिएको, अनुहारमा कटिनो पानी बगी सुकेको, दायाँ कान माथि कटिनो पानी लागेको, दायाँ आँखाको भाग कालो भएको भन्ने घटनास्थल लासजाँच प्रकृति मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन Autopsy report को External Examination मा Mouth - no abnormality injury and discharge. Eyes - Right eye swollen with ecchymosis around (raccoon eye) left eye normal. Nose - blood stain present over the bilateral nose. Injuries - there is presence of multiple contusion over an area of 8 cm x 4 cm area of lateral aspect of right arm भन्ने उल्लेख हुन गई मुखमा चोट नभएको, दाहिने पाखुरामा 8x4 cm को निलडाम (contusion) रहेको, अगाडि पुर्पुरो (skull) सुन्निएको, cut section presence of hematoma (in form of clot and liquid form). There is also linear fracture of skull bone भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी internal examination गर्दा 5x8 cm clot over temporal region र रक्तश्राव भइरहेको अवस्थाको विद्यमानता, घाँटीमा – Neck - There is collection of blood over subcutaneous (migratory from scalp blood collection), the hyoid bone is free from fracture. Ribs – fracture ribs over right sides (3, 4, 5, 7) भन्ने भई तेस्रो, चौथो, पाँचौ, छैटौं र सातौं करङसमेत फ्रयाक्चर भएको भन्ने देखिई मृतक टिकावती खनालको मृत्युको कारण blunt head injury to head भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदनसमेतले यी प्रतिवादीले गरेको साबिती बयानलाई समर्थन गरेको देखिन आयो ।
७. प्रस्तुत मुद्दामा मौकामा गरेको साबिती बयानलाई अन्य प्रमाणबाट समर्थित भएको तथ्यगत अवस्था, मिसिल संलग्न प्रमाणहरूबाट स्पष्ट रूपमा पुष्टि भएको अवस्था तथा निज प्रतिवादीले अदालतको बयानमा वारदात मितिमा प्रतिवादी घटनास्थलमा भएको तथ्य स्वीकार गरेको अवस्थामा अदालतको इन्कारी बयानको आधारमा मात्र प्रतिवादी बेकसूर रहेको मान्न नसकिने देखिन्छ । प्रतिवादी रवि खनालले आफ्नो आमाको हत्यामा आफ्नो संलग्नता नरहेको तथा मार्ने मनसाय नरहेको भनी कुनै प्रमाण पेस गर्न सकेको देखिँदैन ।
८. प्रतिवादी रवि खनालले अदालतसमक्ष आरोपित कसूरमा इन्कार रहेको अवस्थामा इन्कारी जिकिर लिने यी प्रतिवादीले नै सो जिकिर प्रमाणित गर्न सक्नुपर्दछ । प्रमाण ऐन, २०३१ दफा २७ बमोजिम सजाय कमी वा छुट हुने वा रिहाइ पाउने कुराको जिकिर प्रतिवादीले पुर्याउनु पर्छ भनी रिहाइको आधार प्रमाणित गर्ने प्रमाणको भार प्रतिवादीलाई सुम्पेको छ ।
९. यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट नुनुलालसमेतको जाहेरीले श्री ५ को सरकार विरूद्ध जिम शेखमिया भएको कर्तव्यज्यान मुद्दामा ‘’प्रमाण रहित इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह गर्दैन, जबसम्म अन्य सङ्कलित प्रमाणबाट इन्कार अभियुक्तउपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन ‘’ (ने.का.प. २०४६, नि.नं.४०२४, अं. १२, पृष्ठ १२२८) भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
१०. प्रस्तुत मुद्दामा यी प्रतिवादी रवि खनालले अभियोग मागदाबीबमोजिमको कसूर गरेको छैन भनी आरोपित कसूरमा इन्कार रही बयान गरे तापनि उक्त दफा २७ अनुसार ठोस प्रमाणहरू पेस गरी आफ्नो निर्दोषिता प्रमाणित गर्न सकेको पाइँदैन । यसरी प्रतिवादीले आफ्नो निर्दोषिता प्रमाणित गर्न नसकेको र मिसिल संलग्न सबुत प्रमाणहरूबाट निजउपरको अभियोग प्रमाणित भइरहेको अवस्थामा मौकामा कागज गर्ने व्यक्तिहरूले आफ्नो भनाइ प्रतिकूल हुने गरी अदालतमा गरेको बकपत्रको आधारमा मात्र निज प्रतिवादी निर्दोष रहेछन भनी मान्न र सफाइ दिन फौजदारी न्यायको सिद्धान्तसमेतले मिल्दैन ।
११. अब, प्रस्तुत मुद्दामा प्रतिवादी रवि खनाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजाय हुने हो ? वा ऐ. ऐनको ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्ने हो भन्ने विषयमा निष्कर्षमा पुग्नु पर्ने देखिन्छ ।
१२. मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.अनुसार आवेश प्रेरित हत्या हुन आठ तत्त्व विद्यमान हुनु पर्दछ, जस्तो- १. ज्यान मार्ने मनसाय नभएको, २.ज्यान लिनुपर्नेसम्मको इवी पनि नरहेको, ३. लुकी चोरीकन पनि नहानेको, ४.साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादिले हानेको, ५. विष नखाएको, ६.जोखिमी हतियारले नहानेको, ७. उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी हानेको ८. सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेको हुनुपर्छ भन्ने कानूनी व्यवस्था रहेको छ ।
१३. आवेशप्रेरित हत्याको सम्बन्धमा न्यायाधीश डेब्लिन जे. (Devlin J.) को परिभाषा यस प्रकार छः "Provocation is some act, or series of act, done by accused, which would cause in any reasonable person, and actually caused in the accused sudden and temporary loss of self-control, rendering the accused so subject to passion as to make him or her for the moment not master of his mind.’’ यसै सम्बन्धमा Section 3 of the Homicide Act, 1957 states: ‘’Where on a charge of murder there is evidence on which the jury can find that the person charged was provoked (whether by things done or by things said or by both together) to lose his self-control, the question whether the provocation was enough to make a reasonable man do as he did shall be left to be determined by the jury; and in determining that question the jury shall take into account everything both done and said according to the effect which, in their opinion, it would have had on a reasonable man.’’ उल्लिखित वाक्यांशले अभियुक्तको मृतकउपरको बदलाव भावलाई वर्जित गरेको र मृतकको स्वस्फूर्त क्रियाकलापको कारण अभियुक्त तत्कालै आवेशमा आएको अवस्थालाई लक्षित गरेको देखिन आउँछ ।
१४. यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट आन सिंह ठगुन्ना वि. नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दामा "आवेशप्रेरित हत्याको कुरामा तत्काल उठेको रिसको आवेगमा कुनै प्रतिक्रियात्मक कार्य गर्दा मानिसको मृत्यु भएको अवस्था हुन्छ । मृतकले गरेको कुनै कार्यको परिणाम स्वरूप अभियुक्त तत्काल आवेगमा आई कसूरजन्य कार्य गर्न पुगेको अवस्था देखिनु आवेशप्रेरित हत्या ठहर हुनको लागि आवश्यक हुन्छ" (ने.का.प.२०७५, नि.नं.१००५८, अङ्क ७, भाग ३०) भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
१५. उपर्युक्त सबै आधार तत्त्वहरू विद्यमान भएको अवस्थामा भएको हत्यालाई आवेशप्रेरित हत्या मानिन्छ, तर उपर्युक्तमध्ये कुनै पनि एक आधार वा तत्त्वको अभाव रहेको स्थितिमा आवेशप्रेरित हत्या मानिँदैन र अभियुक्तले यस्तो प्रकारको हत्याको सुविधा उपभोग गर्न पाउँदैन । ज्यानसम्बन्धी महलको उपरोक्त व्यवस्थालाई विचार गर्दा, आवेश प्रेरित हत्या हुनको लागि अभियुक्तमा ज्यान मार्ने रिसइबी, मनसाय र ज्यान जान सक्छ भन्ने ज्ञान (knowledge) समेत रहे भएको देखिनु हुँदैन । अर्थात् रिसइबी, मनसाय वा मर्न सक्ने ज्ञानपूर्वक गरिएको हत्यालाई आवेश प्रेरित हत्याको परिभाषाभित्र पर्ने गरी व्याख्या गर्न मिल्नेसमेत देखिँदैन ।
१६. यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट श्री ५ को सरकार विरूद्ध पूर्ण कुमार रहेको कर्तव्य ज्यान मुद्दामा ‘’कुनै अभियुक्तका विरूद्धमा आरोपित तथ्यहरू प्रमाणित हुन्छन् भने ती प्रमाणित तथ्यहरूको प्रकृति अनुसार तिनमा साधारणतः निहित रहने मनसाय वा उद्देश्य पनि प्रमाणित भएको सम्झिनुपर्ने हुन्छ । यस्तो स्थितिमा ती तथ्यहरू त्यस्तो मनसाय वा उद्देश्यले गरिएको होइन भनी प्रमाणित गर्ने अभिभारा सो भन्ने पक्षउपर नै रहन्छ’’ (ने.का.प.२०३२, नि.नं.९४८, पृष्ठ ३०१) भनी सिद्धान्त प्रतिपादन भएको छ ।
१७. अब, मिसिल संलग्न प्रमाण र उक्त कानूनी व्यवस्थालाई हेर्दा, यी प्रतिवादी रवि खनालले आफ्नो आमासँग पहिले पनि विवाद झगडा गर्ने गरेको र सोही कारण आमा घर छोडी अन्यन्त्र गई बस्ने पनि गरेको विषय मिसिलमा उल्लेख भएबाट प्रतिवादीले वृद्ध आमाप्रति निर्वाह गर्नुपर्ने छोराको कर्तव्य पूरा गरेको नदेखिई रिसइबी राख्ने गरेको देखिन्छ । वारदात मिति २०७४।०५।०६ गते प्रतिवादी रवि खनालले आफूसँगै आफ्नै घरमा रहेकी वृद्ध आमासँग विवाद झगडा गरी घरमा अरू कोही नभएको अवस्थामा त्यस प्रकारले प्रहार गर्दा आमा मर्न पनि सक्छिन भन्ने ज्ञान (knowledge) हुँदाँहुदै छोराले आमा प्रति गर्ने व्यवहार नगरी विवेकशील (reasonable) व्यक्तिमा हुनुपर्ने संयमताभन्दा अघि बढी आफ्नो आमालाई कञ्चट तथा ढाडमा निर्घात कुटपिट गरी भुईँमा लडी अचेत भएको अवस्थामा चोट लागेपछि तत्काल उपचार गर्न आफन्तलाई खबर पनि नगरी बरू घटनाको प्रमाण लोप गर्नतर्फ प्रयासरत रहेको देखिन्छ । मृतक आमाको रगत रहेको भुईँ पोत्ने जस्ता कार्यले यी प्रतिवादी घटना भइसकेपश्चात् प्रमाण लोप गर्न प्रयत्नशील रहेको अवस्था देखिँदा प्रतिवादीले मृतक आमा नमर्ने गरी आवेश वा उत्तेजनामा आई एकपटक मात्र प्रहार गरेको थिए भन्न सक्ने अवस्था देखिएन । अर्को शब्दमा प्रतिवादीले आफ्नी वृद्ध आमालाई आमा मर्न सक्ने ज्ञानसहित कर्तव्य गरी मारेको पुष्टि हुन्छ ।
१८. यसै सन्दर्भमा Girouard v. State, 583 A.2d. 718 (Md 1991) मा the rule of provocation मा चारवटा तत्त्व पर्छ भनी व्याख्या गरेको देखिन्छः (1) There must have been adequate provocation (2) The killing must have been in the heat of passion (3) the killing must have been a sudden heat of passion, that is killing must have followed the provocation before there has been a reasonable opportunity for the passion to cool (4) there must have been casual connection between the provocation, passion and the fatal act. अर्थात् पर्याप्त उत्तेजना दिएको हुनुपर्ने, आवेगमा आई प्रहार गरेको हुनुपर्ने, उत्तेजना शान्त हुने उचित अवसर प्राप्त गर्नुपूर्व नै आवेशका साथ अचानक प्रहार गरेको हुनुपर्ने तथा उत्तेजना, आवेग र घातक कार्यबिच सम्बन्ध स्थापित भएको अवस्थामा मात्रै आवेशप्रेरित हत्या स्थापित हुने देखिन्छ । तसर्थ उल्लिखित अवस्था यस मुद्दामा विद्यमान देखिँदैन र ज्यानसम्बन्धी महलको १४ नं. आकर्षित हुने देखिँदैन ।
१९. त्यसैगरी सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकार विरूद्ध पूर्णबहादुर तिम्लसिना भएको कर्तव्य ज्यान मुद्दामा "उत्तेजनामा ल्याउने गरी भएको पीडितको कार्य प्रतिवादीले आफ्नो मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गर्न सक्ने गरी उत्तेजक हुनु पर्दछ । पीडितको सामान्य कार्य वा भनाइको प्रतिक्रिया स्वरूप प्रतिवादी आफैँ अत्याधिक उत्तेजनामा आएमा उसलाई प्रतिरक्षा प्राप्त हुन नसक्ने । प्रतिवादीकै परिवेश वा समान अवस्था र हैसियतका अन्य सामान्य समझ भएको व्यक्ति उक्त अवस्थामा प्रतिवादीसरह उत्तेजित हुन्थ्यो भन्ने कुरा वस्तुगत रूपमा गर्न सकिने हुनु पर्दछ । यसबाट पीडितको उत्तेजक कार्य र प्रतिवादीको उत्तेजनाको बिचमा अनुपातिक सम्बन्ध (proportional relationship) स्थापित भएको देखिनु पर्ने ‘’(ने.का.प. २०६९, अङ्क ५, नि.नं. ८८३६) भन्ने सिद्धान्त प्रतिपादन भएको छ । प्रस्तुत मुद्दामा मृतकले प्रतिवादीलाई मानसिक नियन्त्रण गुमाउने स्थिति उत्पन्न गरी (loss of self-control) उत्तेजित बनाउने कुनै पनि कार्य गरेको मिसिल संलग्न कागजबाट देखिँदैन । मृतक टिकावतीले किचकिच गरेको भन्ने सामान्य भनाइको प्रतिक्रिया स्वरूप प्रतिवादी रवि खनाल आफैँ अत्याधिक उत्तेजना वा आवेशमा आई वृद्ध आमालाई पाँचवटा करङ भाचिने गरी कञ्चट र ढाडमा निर्घात कुटपिट गरेको देखिन्छ । यसर्थ, प्रतिवादीको कार्य आवेशप्रेरित हत्याको रूपमा स्थापित नभई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुरूप मर्न सक्नेसम्मको ज्ञान र मनसाय प्रेरित हत्याकै कोटीमा पर्ने देखिन्छ ।
२०. मलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) मा "लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा त्यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिने ठहर्न आएमा सोही मानिस मुख्य जिम्मेवार ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ । सोबाहेक अरूलाई र यसैले मारेको वा यसैका चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसैउपर कुनै प्रमाणबाट देखिन ठहर्न नआएमा सबैलाई जन्मकैद गर्नुपर्छ" भन्ने व्यवस्था गरिएको पाइन्छ ।
२१. यस सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकार विरूद्ध विकास महतोसमेत भएको मुद्दाः कर्तव्य ज्यान, ने.का.प.२०६७, नि.नं.८४१५, पृष्ठ ११५९ मा "मृतकको असह्य क्रियाउपर अभियुक्तले तत्कालै भावावेशको अवस्थामा प्रतिक्रियात्मक रूपमा मृतकउपर आक्रमण गरेको छैन र मृतकउपर आक्रमण गर्न मद्दतगार बोलाउने वा उपयुक्त अनुकूल वातावरणको खोजी गरी मृतकउपर आक्रमण गरेको अवस्था छ भने त्यस अवस्थालाई आवेशको अवस्था समाप्त भएको मानिने हुँदा त्यस्तो हत्यालाई आवेशप्रेरित हत्याको संज्ञा नदिई मनसाय प्रेरित हत्या नै मानिन्छ" भन्ने सिद्धान्त प्रतिपादित भएको देखिन्छ ।
२२. प्रस्तुत मुद्दामा प्रतिवादीले, आफ्नो संरक्षकत्वमा रहेकी, आफूले सदैव स्याहार गर्नुपर्ने, आफूलाई जन्म दिने आमाप्रति निर्वाह गर्नुपर्ने छोराको कर्तव्य पूरा गरेको नदेखिई रिसइबी राख्ने गरेको मिसिलबाट देखिन्छ । वारदात मिति २०७४।०५।०६ गते मार्ने मनसाय राखी घरमा आफू र मृतक मात्र रहेको अनुकूल वातावरणको खोजी गरी सामान्य वादविवादको प्रतिक्रिया स्वरूप मृतकलाई मरणासन्न हुने गरी कञ्चट र ढाँडमा कुटपिट गरेको सो चोटका कारण भुईँमा लडी अचेत भएकी आमालाई तत्काल उपचार गर्न आफन्तलाई खवर गर्न पनि निजले कुनै प्रयास गरेको देखिँदैन । मिसिल संलग्न कागजातबाट मृतकको रगत रहेको भुईँमा पोत्ने जस्ता कार्यले अपराध दबाउन प्रयत्न गरेको देखिन्छ । स्पष्ट नियत र योजनाका साथ आपराधिक क्रियाकलाप गरी सोको परिणामसमेत विचार गरी गरिने कुनै पनि आपराधिक कार्य आवेशप्रेरित र भवितव्य मान्न सकिने हुँदैन । यसरी आवेशको अवस्था विद्यमान नरहेको र त्यस रूपले पटकपटक प्रहार गर्दा आमा मर्न सक्छिन् भन्ने ज्ञान हुँदाहुँदै मनसायपूर्ण तरिकाबाट प्रतिवादी रवि खनालले आफूलाई जन्म दिने आमालाई मरणासन्न हुने गरी निर्घात कुटपिट गरी कर्तव्य गरी मारेको देखियो ।
२३. अतः माथि उल्लिखित आधार, कारण र प्रमाणबाट प्रतिवादीले आफ्नी जन्म दिने आमा टिकावती खनाललाई मर्न सक्ने ज्ञानसहित मनसायपूर्ण तरिकाबाट मरणासन्न हुने गरी शरीरको विभिन्न संवदेनशील अङ्ग कञ्चट र ढाँडमा पाँचवटा करङहरू भाँच्चिने गरी पटकपटक प्रहार गरी निर्घात कुटपिट गरेको कारणबाट मृतक टिकावती खनालको मृत्यु भएको पुष्टि भएकाले प्रतिवादी रवि खनाललाई अभियोग दाबीअनुसार ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय हुने ठहर्याएको उच्च अदालत सुर्खेतको मिति २०७५।०८।१० को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : लक्ष्मी राना
इति संवत् २०७७ साल आषाढ १६ गते रोज ३ शुभम् ।