शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४२२ - बकसपत्र बदर

भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११

निर्णय नं. ४४२२    ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४६ सालको दे.पु.नं. ४९९

फैसला भएको मिति: २०४८।८।८।१ मा

निवेदक/वादी: नुवाकोट जिल्ला झिल्टुङ गा.पं. वा.नं. ८ बस्ने केशवप्रसाद नेपालसमेत

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी: नुवाकोट झिल्टुड्ड पिपल गा.पं. वडा नं. ८ बस्ने निलकण्ठ नेपालसमेत

मुद्दा : बकसपत्र बदर

(१)    वादीहरुको उमेर १७ वर्ष ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन अंशबण्डको महलको १९(१) नं. अनुसार निजहरुको मन्जूरी लिनु पर्ने अवस्था देखिन आएन ।

(प्रकरण नं. १२)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री रविन्द्रजंग थापा (साविक पेज नं. ७८१)

फैसला

न्या.ओमभक्त श्रेष्ठ

१.     म.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    हामीहरु समेतको अंश हक लाग्ने नु.जि. झिल्टुड्ड गा.पं. वडा नं. ८ को कि.नं. ४४८ क्षेत्रफल ६१ को जग्गा हामीहरुलाई थाहै पत्तै नदिई एकाघरको पिता निलकण्ठ नेपालले मिति २०४१।१२।२८ मा एकबहादुर अधिकारीलाई हालैको बकसपत्र गरी दिएको भन्ने कुरा २०४३।१०।१६ मा उक्त जग्गामा भोग गर्न आएपछि मात्र मालपोत कार्यालयमा गई ०४३।१०।२५ मा नक्कल सारी हेर्दा थाहा पाएकोले म्याद भित्र फिराद गर्न आएको छु । हामीहरुको मन्जूरी नलिई गरिदिएको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने केशवप्रसाद नेपाल समेतको फिरादपत्र ।

३.    मैले लिएको जग्गा प्र. निलकण्ठ नेपालले आफू खुश गर्न पाउने जग्गा हो र निजको नाउँमा अरु पनि पचासौं रोपनी जग्गा दर्ता छ । त्यसकारण सिर्फ ६ रोपनी जग्गा बिक्री गर्नलाई वादीहरुको मन्जूरी लिनु पर्ने होइन । मैले लिखत पास भएको मिति देखि भोग चलन गरी आएको छु । २०४३।११।१६ मा जग्गा भोग गर्न आएको भन्ने वादी दावी झुठ्ठा हो । मेरो रु. ८,०००।भुस्याउने षडयन्त्र रची यो फिराद दिएको मात्र हो । मलाई लिखत गरी दिएको कुरामा वादीहरुलाई मौकैमा थाहा जानकारी थियो । त्यस कारण मलाई प्र. निलकण्ठले गरी दिएको हालैको बकसपत्र लिखत कायमै गरी झुठ्ठा वादीबाट फुर्सद पाउँ भन्ने एकबहादुरको प्रतिउत्तरपत्र ।

४.    प्र.निलकण्ठले २०४३।११।१६ मा म्यादै गुजारी बसेको रहेछ ।

५.    यी वादी र बकसपत्र गरिदिने प्रतिवादी लोग्ने स्वास्नी, बाबु छोरा हुनुका साथै एकासगोल बसी आएको कुरामा स्वीकारै गरेको देखिन आएकोले घरको मुख्यले गरेको बिक्री व्यवहारमा जानकारी नपाउने स्थिति रहँदैन । यी सबैका अतिरिक्त प्रतिवादी मध्येको निलकण्ठले प्रतिवादी मध्ये एकबहादुरलाई गरी दिएको लिखत कति खण्ड बदर हुन पर्ने हो फिरादमा उल्लेख गरेको पाइदैन । यस स्थितिमा सम्पूर्ण लिखत बदर गरिपाउँ भन्ने वादीलाई हक अधिकार समेत नभई निश्चित दावी लिई आउन सकेको समेत नहुँदा अदालतले वादी दावी बमोजिम सम्पूर्ण लिखत बदर गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने हुँदा झुट्टा ठहर्छ भन्ने समेत नु.जि.अ. को फैसला ।

६.    नु.जि.अ.को फैसलामा चित्त बुझेन । शुरु फिराद दावी बमोजिम गरिपाउँ भन्ने समेतको वादी तर्फबाट बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

७.    शुरुको फैसला विचारणीय हुँदा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थीहरुलाई झिकाउनु भन्ने समेत वा.अं.अ. को आदेश ।

८.    प्रस्तुत दावीको जग्गा र लिखत अंश बण्डाको १९(१) नं. अनुसार मुख्य व्यक्तिले खुस गर्न पाउने मध्येको देखिनुका साथै आधी भन्दा बढी जग्गा अध्यापि कायमै रहेको तथ्यलाई वादीहरुले प्रतिउत्तरपत्र वा पुनरावेदनमा इन्कार गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा आफूले दिन पाउने हकवालाले बकसपत्र गरिदिएको २०४१।१२।२८ को बकसपत्र बदर गरी रहनु पर्ने अवस्था देखिन आएन । तसर्थ वादी दावी नपुग्ने ठहराएको शुरु निर्णय मनासिब ठहर्छ भन्ने समेतको वा.अं.अ. को मिति २०४५।५।२८ को फैसला ।

९.    वा.अं.अ. को फैसला उपर वादीहरुको म.क्षे.अ. मा पुनरावेदनको अनुमतिको लागि निवेदन परेकोमा वा.अं.अ. को फैसलामा न्या.प्र.सु. (संशोधान सहित) ऐन, २०३१ को दफा १३(४) को खण्ड (ख) र (ग) अन्तर्गतको कानुनी त्रुटि विद्यमान भएको (साविक पेज नं. ७८२) नदेखिँदा पुनरावेदनको लागि अनुमति प्रदान गर्न मिलेन भन्ने समेतको म.क्षे.अ. को मिति २०४६।३।८ को आदेश ।

१०.    अनुमति नदिने गरी गरेको म.क्षे.अ. को आदेश उपर वादीहरुको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि निवेदन परेकोमा सगोलको सम्पत्ति व्यवहार चलाउनलाई राजिनामा बिक्री गरेको नदेखिई हालैको बकसपत्र गरिदिएको देखिन आएको र हाल बकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरेको नदेखिएको भनी ने.का.प. २०४४, अंक ४ मा संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादन भएको देखिँदा प्रस्तुत मुद्दामा न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) को अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको २०४६।७।१७ को आदेश ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्काले मुलुकी ऐन अंश बण्डाको महल बमोजिम चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मन्जूरी नभए पनि घरको मुख्यले आफूखुस गर्न पाउँछ भन्ने छ तर प्रस्तुत मुद्दामा उक्त जग्गा बिक्री गरेको नभई हालै देखिको बकपसत्र गरेको हुँदा यस्तो बकसपत्रलाई व्यवहार गरेको भन्न मिल्दैन भन्ने समेतको र विपक्षी प्रतिवादी एकबहादुरको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रविन्द्रजंग थापाले एकबहादुरले मेरो खेतीपातीमा रेखदेख हेरविचार गरेको हुँदा भनी निलकण्ठले गरी दिएको लिखतमा लेखिएको छ र उक्त हालैको बकसपत्रमा प्रत्येक कित्ताको मूल्य रु. २,०००।भनी लेखिएको छ भन्ने समेतको प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१२.   निर्णय तर्फ विचार गर्दा यसमा फिराद दावी गर्दा प्र. निलकण्ठले बकस गरी दिएको मध्ये के कति भाग बदर गर्न खोजिएको हो वादीहरुले फिरादपत्रमा खुलाउन सकेको नदेखिनुको अतिरिक्त वादीहरु मध्ये केशवप्रसाद नेपालको उमेर १७ वर्ष, कृष्णप्रसाद नेपालको उमेर ७ वर्ष र नारायणप्रसादको उमेर ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन अंश बण्डाको महलको १९(१) नं. अनुसार निजहरुको मन्जूरी लिनु पर्ने अवस्था देखिन आएन । साथै ने.का.प. २०४४, अंक ४, पृष्ठ ४७८ नं. को नजीर पनि प्रस्तुत मुद्दाको तथ्यसंग मिल्दो जुल्दो नभएकोबाट लाग्ने स्थिति पनि देखिएन । तसर्थ प्रस्तुत दावीको जग्गा र लिखत अंशबण्डाको १९(१) नं. अनुसार मुख्य व्यक्तिले खुस गर्न पाउने मध्येको देखिनुको साथै आधी भन्दा बढी जग्गा अद्यापि कायमै रहेको तथ्यलाई वादीहरुले इन्कार गर्नसकेको पनि देखिंदैन । अतः यस्तो अवस्थामा आफूले दिन पाउने हकवाला निलकण्ठले प्र.एकबहादुर अधिकारीलाई गरिदिएको उक्त मिति २०४१।१२।२८ को बकसपत्र बदर गरी रहुनु पर्ने अवस्था नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु नुवाकोट जिल्ला अदालतको फैसलालाई सदर गरेको वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगरेको म.क्षे.अ. को आदेशमा कानुनी त्रुटि भए गरेको नदेखिँदा उक्त आदेश मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. लक्ष्मणप्रसाद अर्याल

 

इति सम्वत् २०४८ साल मार्ग ८ गते रोज १ शुभम् ।

(साविक पेज नं. ७८३)

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु