शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५५० - बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको ।

भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान

फैसला मिति : २०७६।१।१०

०७३-CR-००२७

 

मुद्दाः बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको ।

 

पुनरावेदक / प्रतिवादी : मोतिलाल साहको नाति सरयुगप्रसाद गुप्ताको छोरा जिल्ला बारा कलैया न.पा. वडा नं. ६ घर भई  राष्ट्रिय वाणिज्य बैंक, बारा, कलैयामा स.ख. चौथो तहमा कार्यरत राधेश्याम गुप्ता (मोबाइल नं. ९८४५१२८४०७)

विरूद्ध

प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयको छानबिन टोलीले मिति २०६३।२।२५ मा  पेस  गरेको छानबिन प्रतिवेदनउपर आयोगको तर्फबाट अनुसन्धान अधिकृत केदारनाथ भट्टराईको प्रतिवेदनले नेपाल सरकार 

 

पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यक नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय रहेको स्पष्ट देखिने । नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य (Actus  Rea) र आपराधिक मन वा उद्देश्य (Means Rea) समेतको दुवै तत्त्वहरूको क्रियाशीलता समावेश भएको हुन्छ । प्रमाणपत्रबाट फाइदा नलिएकोबाट कसुर नहुने भन्ने न्यायोचित र कानूनसङ्गत नहुने ।

(प्रकरण नं.७)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री हरिशंकर कर्ण

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री मोहनसागर बस्याल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

भ्रष्टाचार निवारण ऐन, २०१७ / २०५९

 

सुरू तहमा फैसला गर्नेः

माननीय न्यायाधीश श्री पवनकुमार शर्मा

मा. न्यायाधीश श्री नरेन्द्रकुमार शिवाकोटी

माननीय न्यायाधीश श्री महेशप्रसाद पुडासैनी

विशेष अदालत काठमाडौं

 

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।

बारा जिल्ला कलैया नगरपालिका वडा नं.६ बस्ने राधेश्याम गुप्ताले मिति २०३५।३।२२ मा स.ग. तेस्रो तहमा अस्थायी पदमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाई मिति २०४८।७।१३ मा राष्ट्रिय वाणिज्य बैंकको स.ख.चौथो तह / पदमा बढुवा हुन सन् १९९२, इन्टर मिडियट इन आर्टस्, रोलकोड नं.३६१, अनुक्रमाङ्क ३०६६८, रजिस्ट्रेसन नं. के ३३१०।८३, कुल प्राप्ताङ्क ३५८, श्रेणी तृतीय इन्टरमिडियट एजुकेसन काउन्सिल कर्पुरी ठाकुर महाविद्यालय मोतिहारीबाट प्राप्त गरेको प्रमाणपत्र हाल राष्ट्रिय वाणिज्य बैंक, बारा, कलैयामा कार्यरत हुँदा बढुवामा पेस भएका शैक्षिक योग्यताका प्रमाणपत्र शंकास्पद देखिन गई राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको छानबिन टोलिले मिति २०६३।२।२५ मा पेस गरेको प्रतिवेदनउपर आयोगबाट विस्तृत छानबिन भएको । 

आयोगको च.नं.७।८१२, मिति २०७१।०३।०२ को पत्रबाट राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा पत्राचार गरी राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको च.न. १३५ मिति २०७१।३।९ को पत्रबाट आयोगमा प्राप्त राधेश्याम गुप्ताले बढुवा प्रयोजनमा प्रयोग गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सन् १९९२, इन्टर मिडियट इन आर्टस्, रोलकोड नं. ३६१, अनुक्रमाङ्क ३०६६८, रजिस्ट्रेसन नं. के ३३१०/८३, कुल प्राप्ताङ्क ३५८, श्रेणी तृतीय, इन्टर मिडियट एजुकेसन काउन्सिल कर्पुरी ठाकुर महाविद्यालय मोतिहारी र निजले बढुवा प्रयोजनमा प्रयोग गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा मूल प्रमाणपत्र, लब्धाङ्क पत्र, माइग्रेसनको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, मार्कसिटमा राष्ट्र भाषा हिन्दी, राष्ट्र भाषा नन हिन्दीमा ३८, नेपालीमा ८१, Optional  अंग्रेजीमा ८६, Optionnal  II Eco मा ६४, Optional III P.S मा ८९, Additional Soc मा१०९, Total ३५८, III Division भनी सर्टिफिकेटमा देखिएको तर शंकास्पद देखिएका शैक्षिक योग्यताका प्रमाणपत्रहरू उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपुरमार्फत सम्बन्धित परिषद्‌मा प्रमाणीकरणको लागि गएको संयुक्त टोलीलाई विहार विद्यालय परीक्षा समिति (उ.मा.) को दिनाङ्क ०३–०३–२०१४ को कम्प्युटर अभिलेख हेर्ने अनुमति दिई टोलीबाट कम्प्युटर अभिलेख हेरी प्राप्त विवरणको सि.नं.३१ मा परीक्षार्थीको नाम राधेश्याम गुप्ता, पिताको नाम सरयोगप्रसाद गुप्ता परीक्षा I.A. वर्ष १९९२, रोल नं.३६१ नं.३०६६८, सूचीकरण नं.k3310/83, योग ३५८ श्रेणी III कर्पुरी ठाकुर महाविद्यालय मोतिहारी र कैफियत महलमा प्राप्ताङ्क ३३८\ fail Nrb र Nepali विषयमा ९.९  मात्र प्राप्त गरी अनुत्तीर्ण रहेको देखियो भनी उल्लेख भई उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपूरको च.नं. १६० मिति २०७१।०१।१४ को पत्रसाथ आयोगमा प्राप्त हुन आएको । 

निज आरोपित व्यक्तिले मिति २०३५।०३।२२ मा स.ग.३ अस्थायी पदमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाई मिति २०४८।०७।१३ मा स.ख. ४ तहको पदमा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय कर्मचारी प्रशासन विभागको क.प्र.वि.ग. २२३/३९२/२७ मिति २०४८।०७।१४ को पत्रमा मिति २०४८।०७।१३ को निर्णयबाट पदोन्नति भएको व्यक्तिगत फाइलबाट 

पाइन्छ । साथै उक्त बढुवा नियुक्ति पाउनको लागि BIHAR INTERMEDIATE EDUCATION COUNCIL PATNA, वर्ष 1992 April Roll 361 No.30668 Enlistment No. K3310 योग ३५८ III डिभिजन RADHE SHYAM GUPTA I.A. Certificate कर्पुरी ठाकुर विश्वविद्यालय मोतीहारीबाट कलेज १०-०२-९८ परित्याग प्रमाणपत्र मिति १०-०२-९८ बाट राधेश्याम गुप्ताले Character Certificate, BIHAR INTERMEDIATE EDUCATION COUNCIL PATNA बाट, Migration Certificate BIHAR INTERMEDIATE EDUCATION COUNCIL  PATNA  बाट मिति २८-०१-९८ मा राधेश्याम गुप्तालाई दिएको Provisional Certificate समेत जम्मा ५ थान निज आफैँले बढुवाको लागि शैक्षिक योग्यताका प्रमाणपत्र कागजातहरू प्रतिलिपि पेस भएको प्रमाण निजको व्यक्तिगत फाइलबाट पुष्टि हुन आएको । 

मैले S.L.C. नेपालमा बोर्डबाट २०३५ सालमा श्री ३ चन्द्र मा.वि. कलैयाबाट, I.A. नं. ३०९९७ विहार इन्टरमिडियट काउन्सिल पटनामा प्रवेश पत्र लिई राधेश्याम गुप्ता सै रोल नं.३०९९७ विहार इन्टरमिडियट काउन्सिल पटनामा प्रवेशपत्र लिई राधेश्याम गुप्ता सै रोल नं.३६१ नं.३०६६८ इन्लिटमेन्ट नं.K3310 Ex April 1992 को प्रमाणपत्रमा NRB / Nepali, English, Economics, Nepali, Political Science, Sociology प्राइभेट परीक्षा दिई जम्मा ३५८ अङ्क ल्याई तेस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेको हो । मैले बिहारको मोतिहारी जिल्ला कर्पुरी कलेजमा गई फर्म भरेको, परीक्षा परेको बेला बिदा लिई परीक्षा दिन गएको, मेरो घरबाट उक्त कलेज पुग्न डेढ घण्टा 

लाग्थ्यो । रेगुलर परीक्षा परेको दिन त्यहीँ बस्थेँ । म नेपालको पर्सा जिल्ला वीरगन्ज हुँदै भारत भएर त्यहाँ गएको हुँ । परीक्षा सञ्चालन भएको मिति यकिन नभएको, परीक्षाफल प्रकाशित भई आफू पास भएको थाहा पाई साथीहरू त्यहाँ गएको बेला आफ्नो पनि सर्टिफिकेट मगाइएको, मेरो जागिरको व्यक्तिगत फाइलमा रहेको I.A. का शैक्षिक योग्यताको प्रमाणपत्रहरू मेरै हुन् र मैले बढुवा प्रयोजनको लागि आफूले पेस गरेको हुँ भनी निजले उक्त शैक्षिक योग्यताका प्रमाणपत्रमा सही सनाखत दस्तखतसमेत गरेको हुँ भन्ने आरोपित व्यक्तिले बयानमा प्रस्तुत गरेकोले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०७१।०३।१८ को आदेशअनुसार २३,२५०।- (तेइस हजार दुई सय पचास) धरौटी राखी निज तारेखमा बसेको । 

निजले अनुसन्धानको सिलसिलामा रा.वा.बैंक केन्द्रीय कार्यालय कर्मचारी प्रशासन विभाग क.प्र.वि.ग. २२३/३९२/२७ सहायक ग श्री राधेश्याम गुप्ता (३४१३) रा.वा. बैंक शाखा कार्यालय, बारा, कलैया मिति २०४३।०७।१३ गतेदेखि तह ४ को सहायक ख भनी बढुवा भएको पत्र थान १ (एक), I.A. परीक्षा उत्तीर्ण गरेको भनिएको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना राधेश्याम गुप्ताको Enlistment No. K3310/83 Roll Code 361 No. 30668 लेखिएको प्रवेशपत्र BIHAR INTERMEDIATE EDUCATION COUNCIL PATNA राधेश्याम गुप्ताको सि.नं ५९५४१ Provisional Certificate सक्कल थान-१(एक), I.A राधेश्याम गुप्ता वर्ष Roll No.361 No. 30668  Enlistment No. K3310 April 1992 Total 358 III Division मार्कसिट सक्कल थान -१ BIHAR INTERMEDIATE EDUCATION COUNCIL PATNA राधेश्याम गुप्ता लेखिएको Migration Certificate थान १(एक), कर्पुरी ठाकुर महाविद्यालय मोतिहारी सिधिया हीवन पुर्वी चम्पारणबाट राधेश्याम गुप्ताले कलेज परित्याग प्रमाणपत्र सक्कल थान १(एक), karpuri Thakur Mahavidhyalaya Motihari  East Champran S.L.No.775  मिति 10-02-98 को Character Certificate सक्कल थान-१ (एक), BIHAR INTERMEDIATE EDUCATION COUNCIL  PATNA S.L.No. BIEC 003051 मा राजेन्द्र गुप्ताको प्रमाणपत्र सक्कल थान १ (एक) समेत पेस गरेको ।

हाल राष्ट्रिय वाणिज्य बैंक, बारा, कलैयामा कार्यरत रहेका स.ख.चौथो तहका राधेश्याम गुप्ताको वर्ष १९९२ रोलकोड ३६१, अनुक्रमाङ्क ३०६६८, रजिस्ट्रेसन नं.के. ३३१०।८३, योग ३५८, श्रेणी तृतीय, कलेज विहार इन्टरमिडियट एजुकेसन काउन्सिल कर्पुरी ठाकुर महाविद्यालय मोतिहारीबाट प्राप्त सर्टिफिकेट निजले बढुवा प्रयोजनमा प्रयोग गरेको उल्लिखित मार्कसिट अध्ययन गरी सत्यापन र प्रमाणीकरणको लागि उच्च माध्यमिक शिक्षा परिषद्‌मार्फत विहार विद्यालय परीक्षा समितिमा पेस भएकोमा सो प्रमाणपत्र कुल प्राप्ताङ्क ३५८ श्रेणी तृतीय भनिएको सोही सर्टिफिकेटको कैफियत महलमा प्राप्ताङ्क 338/fail Nrb र Nepali विषयमा ९.९ मात्र प्राप्त गरी अनुत्तीर्ण रहेको देखिएको भनी उच्च माध्यमिक शिक्षा परिषद् पाठ्यक्रम  तथा प्रशिक्षण महाशाखाको च.नं. १६० मिति २०७१।०१।१४ को पत्रबाट आयोगमा सि.नं. ३१ मा उल्लेख भई आएकोले निजका उक्त प्रमाणपत्रहरू गलत देखिन आएकोले निजले २०७१।०३।१८ गते आयोगमा बयान दिँदा रा.वा. बैंक लिमिटेड केन्द्रीय कार्यालयको च.न.१३५ मिति २०७१।०३।०९ को पत्रसाथ प्राप्त तिनै गलत शैक्षिक योग्यताको प्रमाणपत्रको सन्दर्भमा मेरो व्यक्तिगत फाइलमा रहेको आई.ए.का सर्टिफिकेट शैक्षिक योग्यताका प्रमाणपत्रहरू मेरै हुन् र मैले बढुवा प्रयोजनका लागि कार्यालयमा पेस गरेको हुँ । म सही सनाखत गर्न तयार छु । यी आई.ए.का शैक्षिक योग्यताका सर्टिफिकेट म आफैँले पेस गरेको हुँ फरक छैन भनी आरोपित व्यक्तिले बयानमा व्यक्त गरेको । यिनै गलत शैक्षिक योग्यताका प्रमाणपत्रको आधारमा आरोपित व्यक्तिले रा.वा.बैंक बारा कलैयामा चौथो तहमा बढुवा भई जागीर खाएको देखिँदा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कसुर देखिन आएकोले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन सादर अनुरोध छ भन्ने बेहोराको आरोपपत्र । 

मैले आई.ए. सम्म अध्ययन गरेको छु । २०३५ सालमा वाणिज्य बैंकमा अस्थायी सहायक तेस्रो तहमा जागिर सुरू गरी २०४४ सालमा त्यसै तहमा स्थाई नियुक्ति लिएको, २०४४ सालमा चौथो तहमा बढुवा  र २०६४।९।३० को निर्णयबाट २०६४।९।५ गतेदेखि लागु हुने गरी पाँचौं तहमा बढुवा भएको हुँ । आई.ए. पास गरी पेस गरेको प्रमाणपत्रको आधारमा बढुवा नभएकोले मउपर लगाएको आरोप झुठ्ठा हो । झुठ्ठा आरोपअनुसार मलाई सजाय हुनुपर्ने होइन भनी निज प्रतिवादीले विशेष अदालत काठमाडौंमा गरेको बयान ।

बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) र (च) बमोजिम रू.२३,२५०।- लिई यसै अदालतमा तारिखमा रही मुद्दा पुर्पक्ष गर्न धरौट कायम गरिदिएको 

छ । उक्त धरौटी यस अदालतमा झिकाई धरौटी खातामा आम्दानी बाँध्नु भनी अ.बं. १२४(ग) नं.बमोजिम यो आदेश पर्चा गरिदिएको छ भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंको आदेश र सो आदेशबमोजिम निज प्रतिवादी तारिखमा रहेको ।

निज प्रतिवादीले अध्ययन गरेको आधिकारिक निकाय कर्पुरी ठाकुर महाविद्यालय मोतिहारीबाट निजको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा कैफियत महलमा प्राप्ताङ्क अङ्क 338/fail Nrb र Nepali विषयमा ९.९ मात्र प्राप्त गरी अनुत्तीर्ण रहेको देखिएको भनी उल्लेख भई आएको मिसिल संलग्न कागजातबाट देखिन आएकोले निज प्रतिवादीले आई.ए. पास गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आयो । अतः निज प्रतिवादी राधेश्याम गुप्ताले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को कसुर गरेकोले निज प्रतिवादीलाई सोही भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) बमोजिम रू.५००।- (पाँच सय) जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको विशेष अदालत काठमाडौंले मिति २०७२।११।१३ मा गरेको फैसला ।

मैले बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाअर्न्तगतको कर्पुरी ठाकुर महाविद्यालय मोतिहारीबाट प्राइभेट परीक्षार्थीको रूपमा फर्म भरी परीक्षा दिई सन् १९९२ अर्थात् २०४८ सालको चैत्र महिनामा आई.ए. को परीक्षा पास गरेको हुँ । मैले परीक्षा पास गर्दाको अवस्थामा कम्प्युटर प्रविधिमा अभिलेखीकरण गर्ने प्रणाली रहेको थिएन । सन् २००७ बाट मात्र उक्त काउन्सिलले आफ्नो अभिलेखहरूलाई कम्प्युटर प्रणालीमा रूपान्तरित गर्न सुरू गरेको हो । पुराना अभिलेखहरूलाई रूपान्तरित गर्दा के कस्तो बेहोरा लेखिन गयो सो कुरा मलाई जानकारी हुने विषय होइन । वादीले मनोगत रूपमा पेस गरेको विवरणलाई मात्र आधार बनाएर प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.ब.१८४ (क) नं.को कानूनी प्रावधानको त्रुटि हुन गएको छ । मुद्दा हदम्यादभित्र दायर भएको छैन । हदम्याद सम्बन्धमा समेत व्याख्या गर्नुपर्नेमा सोतर्फ समेत केही नबोली गरेको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी राधेश्याम गुप्ताको यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा यी पुनरावेदक प्रतिवादीको विवादित भनिएको प्रमाणपत्र पेस गरी पदोन्नति भएको नभई सो प्रमाणपत्र पेस गर्नुभन्दा पूर्व नै निजको पदोन्नति भइसकेको र विवादित प्रमाणपत्र सक्कली वा नक्कली के हो भन्ने सम्बन्धमा पुन: परीक्षण नै नगरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुने ठहर गरेको विशेष अदालत काठमाडौंको मिति २०७२।११।१३ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०७३।१२।०७ गतेको यस अदालतको आदेश । 

यसमा प्रतिवादीले विशेष अदालत काठमाडौंमा बयान गर्दा स.ज.११ मा I.A. तहको प्रमाणपत्र सम्बन्धित विद्यालयबाट झिकाई पुन: प्रमाणीकरणको लागि पठाई पाउँ भनी बयान गरेको हुँदा आरोपपत्रसाथ पेस भएको प्रतिवादीको सन् १९९२ मा विहार विद्यालय परीक्षा समितिअन्तर्गत रहेको कर्पुरी ठाकुर विश्वविद्यालय मोतिहारीबाट इन्टर मिडियट आर्टस्, रोलकोड नं.३६१, अनुक्रमाङ्क नं.३०६६८, रजिस्ट्रेसन नं.k३३१०/८३ योग ३५८ आई.ए. परीक्षा उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरमार्फत पुन: प्रमाणीकरणको लागि सम्बन्धित बोर्डमा पठाई प्रमाणीकरण भई आएपश्चात् नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०७४।०९।११ को यस अदालतको आदेश । 

यस अदालतको मिति २०७४।०९।११ गतेको आदेशानुसार नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको च.नं.०११ मिति २०७५।०९।३० को पत्रसाथ प्राप्त विवरण हेर्दा Bihar School Examination Board (ss), Patana,Student’s Name Radheshyam Gupta, Father’s Name Sharyug Prasad Gupta, Year 1992, Level Intermediate, Rool code roll:361, No.30668 Enlistment no. K3310 Total 358 Division 3rd र Remarks मा not verified भनी उल्लेख भई आएको ।

नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी प्रतिवादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ अधिवक्ता श्री हरिशंकर कर्णले पुनरावेदक मेरो पक्ष राधेश्याम गुप्ताले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र बढुवा प्रयोजनको लागि नभई केवल फाइलमा सम्म राखेको हो । सो प्रमाणपत्रको आधारमा बढुवा नभई मेरो पक्ष स्वत: बढुवा भएको र राज्यलाई कुनै हानि नोक्सानी नभएकोले आरोप पत्रबमोजिम सजाय हुनुपर्ने होइन । मेरो पक्षले सफाइ पाउनु पर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

त्यस्तै वादी नेपाल सरकारको तर्फबाट उपस्थित हुनु भएका विद्वान्‌ उपन्यायाधिवक्ता श्री मोहनसागर बस्यालले प्रतिवादीले पेस गरेको प्रमाणपत्र जाँच गर्न पठाउँदा कैफियत महलमा प्राप्ताङ्क ३३८/fail, Nrb र Nepali विषयमा ९.९ अनुत्तीर्ण रहेको भनी लेखी आएकोमा निजले आई.ए. पास गरेको नक्कली प्रमाणपत्र बनाई बढुवा प्रयोजनको लागि पेस गरेको पुष्टि भएको हुनाले विशेष अदालत काठमाडौंले गरेको सुरू फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

अब निर्णयतर्फ विचार गर्दा निज प्रतिवादी राधेश्याम गुप्ताले आरोप दाबीअनुसारको कसुर गरेको भनी विशेष अदालत काठमाडौंले मिति २०७३।०६।०४ मा गरेको फैसला मिलेको छ छैन ? र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखिन आयो ।

२. यसमा, प्रतिवादीले गलत शैक्षिक योग्यताका प्रमाण-पत्र पेस गरी सो आधारमा रा.वा. बैंक, बारा, कलैयामा चौथो तहमा बढुवा भई जागिर खाएको देखिँदा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) अनुसार कसुर गरेको देखिन आएकोले निजलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको प्रतिवादी राधेश्याम गुप्ता विरूद्ध आरोपपत्र दायर भएको देखिन्छ ।

३. मिति २०३५ सालमा वाणिज्य बैंकमा अस्थाई सहायक तेस्रो तहमा जागिर सुरू गरी २०४४ सालमा त्यसै तहमा स्थाई नियुक्ति भएको, २०४४ सालमा चौथो तहमा बढुवा र २०६४।९।३० मा भएको निर्णयबाट २०६४।९।५ गतेदेखि लागु हुने गरी पाँचौं तहमा बढुवा भएको हो । सो आइ.ए. पास गरी पेस गरेको प्रमाणपत्रको  आधारमा बढुवा नभएकोले झुठ्ठा आरोपअनुसार सजाय हुनुपर्ने होइन भनी प्रतिवादीले विशेष अदालत काठमाडौंमा बयान गरेको पाइयो । 

४. निज प्रतिवादीले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरमार्फत सम्बन्धित निकायमा प्रमाणीकरणको लागि पठाएकोमा विहार विद्यालय परीक्षा समिति (उ.मा.) को दिनाङ्क ०३-०३-२०१४ को कम्प्युटर अभिलेख हेर्ने अनुमति दिई सो टोलीबाट कम्प्युटर अभिलेख हेरी प्राप्त विवरणको सि.नं. ३१ मा परीक्षार्थीको नाम राधेश्याम गुप्ता, पिताको नाम सरयोगप्रसाद गुप्ता, परीक्षा I.A., वर्ष १९९२, रोल नं.३६१ न ३०६६८, सूचीकरण नं.K ३३१०/८३ योग ३५८ श्रेणी III कर्पुरी ठाकुर विश्वविद्यालय मोतीहारी, कैफियत महलमा प्राप्ताङ्क अङ्क ३३८ / fail, Nrb र Nepali विषयमा ९.९ मात्र प्राप्त गरी अनुत्तीर्ण रहेको देखियो भनी उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरबाट आयोगलाई लेखेको च.न.१६० मिति २०७१।०१।१४ को पत्रसमेतबाट प्रस्ट देखिन्छ । 

५. अनुसन्धानको क्रममा निज प्रतिवादीले आयोगमा बयान दिँदा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालयको च.नं.१३५ मिति २०७१।०३।०९ को पत्रसाथ प्राप्त शैक्षिक योग्यताको प्रमाण-पत्रको सन्दर्भमा निजको व्यक्तिगत फाइलमा रहेका आई.ए. का सर्टिफिकेट तथा शैक्षिक योग्यताका प्रमाण-पत्रहरू आफ्नै भएको र बढुवा प्रयोजनको लागि कार्यालयमा पेस गरेको भनी निज प्रतिवादीले बयान गरेको अवस्था रहेको छ ।

६. यस अदालतको मिति २०७४।०९।११ गतेको आदेशानुसार नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डको च.न.०११ मिति २०७५।०९।३० को पत्रसाथ प्राप्त विवरण हेर्दा Bihar School Examination Board (ss), Patana, Student’s Name Radheshyam Gupta, Father’s Name Sharyug Prasad Gupta, Year 1992, Level Intermediate, Roll No. 361, No. 30668 Enlistment No. K 3310, Total 358 Division 3rd र Remarks मा not verified भनी उल्लेख भई आएकोमा प्रतिवादीले आफ्नो प्रमाणपत्रहरू सक्कल हो भनी लिएको जिकिर मनासिब देखिन आएन । यसरी निज प्रतिवादीले अध्ययन गरेको आधिकारिक निकाय कर्पुरी ठाकुर महाविद्यालय मोतीहारीबाट निजको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा कैफियत महलमा प्राप्ताङ्क अङ्क ३३८ / fail, Nrb र Nepali विषयमा ९.९ मात्र प्राप्त गरी अनुत्तीर्ण रहेको देखियो भनी उल्लेख भई आएको मिसिल संलग्न कागजातबाट देखिन आएकोले निज प्रतिवादीले आई.ए.पास गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र सद्धे तथा सक्कल प्रमाणपत्र हुन् भन्न सकिने अवस्था देखिँदैन ।

७. निज प्रतिवादीले सो शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा बढुवा नभई स्वतः बढुवा भएकोले आरोप पत्रबमोजिम सजाय हुनुपर्ने होइन भनी लिएको जिकिर सम्बन्धमा हेर्दा पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यक नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय रहेको स्पष्ट देखिन आउँछ । नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य (Actus Rea) र आपराधिक मन वा उद्देश्य (Means Rea) समेतको दुवै तत्त्वहरूको क्रियाशीलता समावेश भएको हुन्छ । प्रमाणपत्रबाट फाइदा नलिएकोबाट कसुर नहुने भन्ने पुनरावेदकको जिकिर न्यायोचित र कानूनसङ्गत नभएको हुँदा प्रतिवादीको इन्कारी बयान तथा निजको तर्फबाट रहनु भएका विद्वान्‌ कानून व्यवसायीको बहस जिकिरसँग सहमत हुन सकिने अवस्था देखिएन ।

८. प्रस्तुत मुद्दामा यी प्रतिवादी राधेश्याम गुप्ताउपर साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) समेतको सजायको माग दाबी लिएको देखिएकोमा कुन कानूनअनुसार सजाय हुने भन्ने सन्दर्भमा विचार गर्दा कसुर भएका बखत प्रचलनमा रहेको कानूनबमोजिम सजाय हुने भन्ने कानूनी सिद्धान्त रहेको र निज प्रतिवादी राधेश्याम गुप्ताले उक्त प्रमाणपत्र सन् १९९२ मा प्राप्त गरी वि.सं.२०४८।०७।१३ मा राष्ट्रिय वाणिज्य बैंक बारा कलैयामा स.ख.चौथो तहमा बढुवा हुन पेस गरेको मिसिल संलग्न कागजातबाट देखिन आएको छ । साथै सो समयमा साबिकको भ्रष्‍टाचार निवारण ऐन, २०१७ प्रचलनमा रहेको र ऐ. ऐनको दफा १२ मा कुनै व्यक्तिले राष्ट्रसेवकको ‌ओहदा पाउने वा सो ‌ओहदामा बहाल रहने उद्देश्यले शिक्षासम्बन्धी कुनै योग्यता, नाम, तीन पुस्ते, उमेर, जात, थर, वतन, नागरिकता वा अयोग्यता ढाँटेमा निजलाई कसुरको मात्राअनुसार २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने छ भन्ने व्यवस्था भएको र ऐ.ऐनको दफा २९(२) मा परिच्छेद २ अन्तर्गत सजाय हुने कसुरको सम्बन्धमा जरिवाना तोक्दा जरिवानाको माथिल्लो हद रू. ५,०००।– हुने छ भन्ने कानूनी व्यवस्था रहेको र प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को दाबी लिएको देखिएकोले सोही कानूनी व्यवस्था आकर्षित हुने हुँदा यी प्रतिवादी राधेश्याम गुप्ताले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ बमोजिमकै कसुर गरेको देखिन आयो । 

९. अतः निज प्रतिवादी राधेश्याम गुप्ताले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ को कसुर गरेको ठहर्छ । सो कसुर गरेको ठहरेकोले निज प्रतिवादीलाई सोही भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ (२) बमोजिम रू.५००।- (पाँच सय) जरिवाना हुने ठहर्छ भनी विशेष अदालत काठमाडौंले मिति २०७२।११।१३ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.टंकबहादुर मोक्तान

 

इजलास अधिकृत:- जनकसिंह बोहरा

इति संवत् २०७६ साल वैशाख १० गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु