निर्णय नं. १०५५३ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७६।५।३१
०७५-CR-००४३
मुद्दाः- कर्तव्य ज्यान
पुनरावेदक / वादी : पूर्णबहादुर रावतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : धनवीर कंवरको नाति, बलबहादुर कंवरको छोरा, जिल्ला रोल्पा साबिकको नुवागाउँ गा.वि.स., वडा नं. १ बस्ने कविराम कंवर
आवेश प्रेरित हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना तथा रिस तत्काल नै जागृत भएको हुन्छ । तत्कालको रिस थाम्न नसकी उत्पन्न आवेश वा उत्तेजनामा गरिने कार्यबाट सम्भावित परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा सोचविचारसमेत नगर्ने हुँदा तत्कालको अवस्थालाई तत्कालीन आवेश वा उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराएको हुने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री कैलासप्रसाद सुवेदी
सुर्खेत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी
माननीय न्यायाधीश श्री धीरबहादुर चन्द
उच्च अदालत सुर्खेत
फैसला
न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
जिल्ला सुर्खेत, कल्याण गा.वि.स., वडा नं.१ फलाँटे स्थित पूर्वमा टेकबहादुर वि.क.को जग्गा, पश्चिममा खडगबहादुर रानाको पाखो बारी, उत्तरमा माथिल्लो फलाँटेदेखि रानागाउँ जाने पैदल कच्ची बाटो, दक्षिणमा खडगबहादुर रानाको पाखो जग्गा, यति चार किल्लाभित्र पर्ने खडगबहादुर रानाकै पुरानो गोठतर्फ जाने बाटोमा जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने वर्ष ४९ को कविराम कंवरले ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३४ को श्यामकुमार रावतसँग बिनाकारण झै-झगडा गरी श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले प्रहार गरी श्यामकुमार रावत गम्भीर घाइते भएको भनी देखाइएको भन्नेसमेत बेहोराको घटनास्थल चार किल्ला मुचुल्का ।
जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे स्थित पूर्वमा हर्कबहादुर घर्ती मगरको पाखो बारी, पश्चिममा रणबहादुर पुनको पाखो बारी, उत्तरमा रणबहादुर पुनको पाखो बारी, दक्षिणमा हर्कबहादुर घर्तीको पाखो बारी यति चार किल्लाभित्र पूर्व पश्चिम मोहडा भएको १४ हात लम्बाइ ९ हात चौडाइ भएको ढुङ्गा माटोले काठले बनाएको जस्ता पाताले छाएको जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ बस्ने वर्ष ८२ का मानबहादुर चौहान मगरको दुई तले चार कोठे कच्ची घरको पश्चिमतर्फदेखि १ मिटरको दुरीमा सोही घरको खाना पकाउनको लागि बनाइएको २ तले २ कोठे ढुङ्गा माटोले बनाएको खरले छाएको पूर्व पश्चिम मोहडा भएको भान्सा घर, उक्त घरको दक्षिणतर्फ रहेको तल्लो तलाको ढोकाबाट भित्र पसी हेर्दा कोदो मकै पिस्ने जाँतोदेखि माथिल्लो तलामा जाने काठको लिस्नो (भर्याङ्ग) भन्दा मुनि उत्तर सिरान दक्षिण गोड्यान गरी उत्तानो अवस्थामा जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने वर्ष ३४ को श्यामकुमार रावतको मृतक लास रहेको, उक्त लासलाई ओल्टाई पल्टाई हेर्दा टाउको पछाडिको दायाँ भागमा थिचिएको टुटुल्को उठेको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।
म जाहेरवालाको सहोदर भाइ श्यामकुमार रावत र मेरो गाउँका छिमेकी कविराम कंवर मिति २०७२ साल चैत्र महिनाको ११ गते माउन्ट रोजिन एन्ड टर्पिनटाइन इन्डष्ट्रिज प्रा.लि.मा कामको जिम्मा लिएका जिल्ला रोल्पा जवलीपोखरी गा.वि.स. वडा नं. ८ उमा बस्ने वर्ष ३१ का मानबहादुर पुनको साथमा आई जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटेमा सल्लाको खोटो निकाल्ने काम गरिरहेका थिए । यसै क्रममा निज श्यामकुमार रावत र कविराम कंवर जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे स्थित मानबहादुर चौहान मगरको घरमा कोठा लिई भाडामा बस्दै आई एकै भान्सामा खानपिनसमेत सँगै गर्दै आएकोमा मिति २०७३।०२।२० गते बिहान अन्दाजी ०६.०० बजेको समयमा दुवैजना उठी खाना पकाई पकाएको खानासमेत नखाई उक्त दिन पानी परेको हुँदा काममा नगई गाउँघरतर्फ घुमफिर गर्न गएको र अन्दाजी ११:०० बजेको समयमा कोठामा आई खाना खाई पुनः दुवैजना सोही दिन अन्दाजी १४:०० बजेको समयमा पुनः गाउँघरतर्फ गई कोठामा फर्की आउने क्रममा ऐ.२०:०० बजेको समयमा निज दुवैजना कोठा भाडा गरी बस्ने घरदेखि अन्दाजी १० मिटरको दूरीमा पर्ने बाटोमा आई पुगेको अवस्थामा के कुन कुरामा दुवैजनाबिच वादविवाद भई झै-झगडा हुँदा कविराम कंवरले श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले प्रहार गरी घाइते बनाई उक्त स्थानमा नै घाइते अवस्थामा श्यामकुमार रावतलाई छाडी आफू वारदातस्थलबाटै भागी फरार रहेको र मेरो घाइते अवस्थाको भाइ श्यामकुमार रावत ऐ.अं.२०:३० बजेको समयमा आफैँ भान्सा कोठामा आई आफूलाई कविराम कंवरले मसँग बिनाकारण झै-झगडा गरी ढुङ्गाले टाउकोमा प्रहार गर्दा मलाई चोट लागेको छ भनी सोही घरका घरधनी मानबहादुर चौहान मगर र निजको श्रीमतीसमेतलाई बताई सोही समयमा भान्सा घरको कोठाभित्र लडी छटपटाइरहेकै अवस्थामा मृत्यु भएकोले निज अन्यायी कविराम कंवरलाई पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारबाही र सजाय होस भन्नेसमेत बेहोराको पूर्णबहादुर रावतको जाहेरी दरखास्त ।
मेरो घर र मृतक श्यामकुमार रावतको घर एकै गाउँको छिमेकी भएकाले हामी दुवै मिति २०७२ साल चैत्र महिनाको ११ गते माउन्ट रोजिन एन्ड टर्पिनटाइन इन्डष्ट्रिज प्रा.लि.मा काम गर्नको लागि जिल्ला रोल्पा जवलीपोखरी गा.वि.स. वडा नं. ८ मा बस्ने वर्ष ३१ को मनबहादुर पुनको साथमा जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटेमा सल्लाको खोटो निकाल्ने कामको लागि आई कामका लागि जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ बस्ने मानबहादुर चौहान मगरको घरमा डेरा कोठा लिई एकै भान्सा गरी दुवैजना एकै ठाउँमा बस्दै आएका
थियौं । मिति २०७३।०२।२० गते पानी परेको कारण काम गर्न नजाउँ बरू गाउँघर तिर घुम्न जाउँ भनी बिहानै उठी खाना बनाई खाना नखाई गाउँतिर घुम्न गई दिनको अन्दाजी ११ बजे डेराकोठामा आई खाना खाई दुवैजना पुनः गाउँतिर जाउँ मासु लिएर साँझ खाउँला भनी गयौं । मासु कतै नभेटिएपछि दुवैजनाले गाउँमा लोकल ५ बोतल रक्सी खायौं । रक्सी खाई फर्किने क्रममा साँझ भई राति परिसकेको थियो । फर्की आउने क्रममा ऐ. गतेको अन्दाजी २०:०० बजेको समयमा जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ स्थित फलाँटे भन्ने स्थानको हाम्रो डेरा कोठा भन्दा अन्दाजी १० मिटरनजिक सार्वजनिक बाटोमा आइपुग्दा मेरो र मृतक श्यामकुमार रावतबिच रक्सीको नशाको तालमा मासुसम्बन्धी विवाद भई हामी दुवैजनाबिच वादविवाद भई झगडा हुँदा श्यामकुमार रावतले मेरो बायाँ आँखामा हातले हानेपछि सोही रिसको आवेशमा म पनि आई नजिकै बाटोमा रहेको ढुङ्गाले निजको टाउकोको पछाडिपट्टिको भागमा दुई पटक मैले प्रहार गरी हात मुक्काले समेत हान्दा निज अचेत जस्तो भएका थिए । मैले निजलाई त्यहीँ छाडी भागिसकेको
थिएँ । निज श्यामकुमार रावत तत्काल सो ठाउँबाट उठी हामी बस्ने गरेको डेरा कोठामा गई भान्सा कोठामा पुगी मैले हानेको चोटको कारण निजको मृत्यु भएको हो । वारदातमा मैले प्रयोग गरेको उक्त ढुङ्गा मलाई देखाउँदा हेरी देखी चिनी सनाखत गरिदिएँ । श्यामकुमार रावतको टाउकोमा प्रहार गरेको ढुङ्गा यही नै हो । निजलाई मैले नै ढुङ्गा प्रहार गरी कर्तव्य गरी मारेको हो भन्नेसमेत बेहोराको प्रतिवादी कविराम कंवरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज ।
जाहेरवाला मेरो जेठाजु हुन् भने मृतक मेरो श्रीमान् (पति) हुन् । प्रतिवादी कविराम कंवर मेरो गाउँघरका चिनजानकै छिमेकी हुन् । मृतक मेरो श्रीमान् श्यामकुमार रावत र प्रतिवादी कविराम कंवर मिति २०७२ साल चैत्र महिनाको ११ गते माउन्ट रोजिन एन्ड टर्पिनटाइन इन्डष्ट्रिज प्रा.लि.मा कामको जिम्मा लिएका जिल्ला रोल्पा जवलीपोखरी गा.वि.स. वडा नं.८ उमा बस्ने वर्ष ३१ का मनबहादुर पुनको साथमा आई जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटेमा सल्लाको खोटो निकाल्ने काम गरी रहेको र ऐ.कल्याण गा.वि.स. वडा नं.१ स्थित मानबहादुर चौहान मगरको घरमा कोठा भाडा गरी दुवैजना सँगै बसी खानपिनसमेत सँगै खाने गरेको कुरा मेरो श्रीमान्ले मलाई फोनमार्फत बताउनु भएको
थियो । उल्लिखित वारदात मिति र समयमा म आफ्नै घर रोल्पामा थिएँ । निज प्रतिवादी र मेरो श्रीमान्समेतको पूर्वरिसइवी लेनदेन झै-झगडासमेत केही थिएन । मिति २०७३।०२।२० गते बिहान अन्दाजी ०६:०० बजेको समयमा दुवैजना उठी खाना पकाई पकाएको खानासमेत नखाई उक्त दिन पानी परेको हुँदा काममा नगई दुवैजना मिली गाउँघरतर्फ घुमफिर गर्न गएको र निज दुवैजना सोही दिन अन्दाजी ११:०० बजेको समयमा कोठामा आई पकाएको खाना खाई पुनः दुवैजना मिली सोही दिन अन्दाजी १४:०० बजेको समयमा पुनः गाउँघरतर्फ गई कोठामा फर्की आउने क्रममा ऐ.२०:०० बजेको समयमा निज दुवैजना कोठा भाडा गरी बस्ने घरदेखि अन्दाजी १० मिटरको दूरीमा पर्ने बाटोमा आइपुगेको अवस्थामा के कुन कुरामा दुवैजनाबिच वादविवाद भई झै-झगडा हुँदा निज कविराम कंवरले मेरो श्रीमान् श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले प्रहार गरी घाइते बनाई उक्त स्थानमा नै घाइते अवस्थामा श्यामकुमार रावतलाई छाडी निज प्रतिवादी भागी फरार भएको र मेरो घाइते अवस्थाको श्रीमान् श्यामकुमार रावत ऐ.अं.२०.३० बजेको समयमा आफैँ भान्सा कोठामा आई निज प्रतिवादीले प्रहार गरेको ढुङ्गाको चोट पीडा सहन नसकी छटपटाई मृत्यु भएको भन्ने कुरा मेरो जेठाजु पूर्णबहादुर रावतलाई जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ बस्ने मानबहादुर गाहाले फोनमार्फत सम्पूर्ण कुरा जानकारी गराएपश्चात् मलाई वारदातबारे मेरो जेठाजुले भनेपछि घटनाको बारेमा मिति २०७३।०२।२० गते राति थाहा पाई मिति २०७३।०२।२१ गते मध्यपश्चिम क्षेत्रीय अस्पताल, कालागाउँ, सुर्खेतमा आई शव गृहमा राखिएको मृत अवस्थाको मेरो श्रीमान्को शवसमेत देखेकी थिएँ । निज मृतक मेरो श्रीमान्को टाउकोको पछाडिको भागमा घाउ चोटसमेत लागेको थियो भन्नेसमेत बेहोराको पार्वती रावतको अनुसन्धान अधिकारीसमक्ष गरेको घटना विवरण कागज ।
मिति २०७३।०२।२० गते बेलुका म आफ्नो घरमा खाना खाई सुत्ने तयारी गरिरहेको अवस्थामा एक्कासी जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे निवासी वर्ष ८२ का मानबहादुर चौहानले मलाई ऐ. २०:०० बजेको समयमा घटनाको बारेमा जानकारी गराई मेरो घरमा डेरा भाडा गरी बस्ने कविराम कंवरले निजको साथमा कामकाज गर्ने श्यामकुमार रावतलाई ढुङ्गा प्रहार गरी मारेको छ भनी फोनमार्फत जानकारी गराएपछि मलगायत छरछिमेकीहरू हतार हतार गरी उक्त घटनास्थलमा गई हेर्दा श्यामकुमार रावत मुखबाट सेतो पदार्थ छाडेको, टाउकोमा चोट लागी टुटुल्कोजस्तो उठेको भान्सा घरको कोठाको भुइँ जमिनमा पल्टिइरहेको अवस्थामा देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थियौं । प्रहरी घटनास्थलमा आई सिल जाँचलगायतको अनुसन्धान कार्य सम्पन्न गरेपछि मृतकलाई पोस्टमार्टमको लागि सुर्खेततर्फ पठाएको थियो । मैले निज मृतक श्यामकुमार रावतलाई र प्रतिवादी कविराम कंवरलाई राम्रोसँग चिन्दछु । निज दुवैजनाले विगत केही समयदेखि जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे वन जंगलमा खोटो निकाल्ने काम गर्ने र मानबहादुर चौहान मगरको घरमा कोठा भाडा गरी बस्ने गर्थे । निज प्रतिवादी कविराम कंवर र मृतक श्यामकुमार रावतबिच रिसइवी लेनदेन भएको नभएको मलाई थाहा भएन । जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ स्थित फलाँटे भन्ने स्थानको बाटोमा प्रतिवादी कविराम कंवरले श्यामकुमार रावतलाई ढुङ्गाले टाउकोमा प्रहार गरेपछि निज प्रतिवादी घटनास्थलबाटै फरार भएका हुँदा मिति २०७३।०२।२१ गते बेलुका अन्दाजी ६ बजेको समयमा प्रहरीले जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ रामघाटतर्फ जाने सार्वजनिक बाटोमा पक्राउ गरेको हो भन्नेसमेत बेहोराको मनबहादुर गाहाले अनुसन्धान अधिकारीसमक्ष गरी दिएको घटना विवरण कागज र सोही कागजसँग एकै मिलान हुने गरी दुर्गाबहादुर रानाको घटना विवरण कागज ।
मिति २०७३।०२।२० गते बेलुकाको समयमा म र मेरो श्रीमान् आफ्नै घरमा खाना पकाई खाई बसेका थियौं । प्रतिवादी जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने कविराम कंवर र मृतक ऐ.ऐ.बस्ने श्यामकुमार रावत मिति २०७३ साल चैत्र महिनादेखि मेरो घरमा डेरा भाडा गरी बसी एकै भान्सामा खाना पकाई खाने गर्थे । मैले जाहेरवाला पूर्णबहादुर रावतलाई चिनेको छैन । माउन्ट रोजिन एन्ड टर्पिनटाइन इन्डष्ट्रिज प्रा.लि.मा ज्याला मजदुरी गरी खोटो निकाल्ने कामकाज गर्ने गर्थे । यसै क्रममा मिति २०७३।०२।२० गते बिहान उठी निज मृतक र प्रतिवादी दुवैजनाले खाना पकाई घर कोठाबाट निस्की गएका र ऐ. दिनको अन्दाजी ११:०० बजेको समयमा घर कोठामा आई बसेका थिए । म र मेरो श्रीमान् मात्र घरमा भई आफ्नो कामकाजमा भएकोले निजहरू दुवैजना कति बेला घर कोठाबाट गए थाहा भएन । सोही दिन बेलुका अन्दाजी ८ बजेको समयमा एक्कासी श्यामकुमार रावत रूँदै कराउँदै आई मलाई कविराम कंवरले जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे भन्ने स्थानको बाटोमा बिनाकारण टाउकोमा ढुङ्गाले प्रहार गरी सख्त घाइते बनाएकोले मलाई धेरै चोट लागेको छ भनेका थिए । आफूलाई घाइते बनाएको कुरा मलाई बताएपछि निज श्यामकुमार रावत आफूहरूले खाना पकाउने गरेको भान्सा घरको कोठामा गई लडी छटपटाइरहेकै अवस्थामा देखेपछि मैले मेरो श्रीमान्समेतलाई जानकारी गराई छरछिमेकीसमेतलाई खबर गरी बोलाएकी थिएँ । निज श्यामकुमार रावतको मृत्यु एकछिनपछि भान्सा कोठाभित्रै भएको हो । उक्त समयमा प्रतिवादी कविराम कंवर भागी फरार रहेका थिए पछि प्रहरीले पक्राउ गरेको हो । निजहरू मेरो घरमा कोठा भाडा गरी बस्ने बेलासम्म निज दुवैजनाको बिचमा रिसइवी भएको मलाई थाहा छैन भन्नेसमेत बेहोराको धनमाया चौहान मगरले अनुसन्धान अधिकारीसमक्ष गरी दिएको घटना विवरण कागज र सोही बेहोरासँग एकै मिलान हुने गरी निज धनमाया चौहानको पति मानबहादुर चौहान मगरको घटना विवरण कागज ।
मिति २०७३।०२।२० गते बेलुका म आफ्नो घरमा खाना खाई सुत्ने तयारी गरिरहेको अवस्थामा एक्कासी जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे निवासी वर्ष ८२ का मानबहादुर चौहानले मलाई ऐ. २०:०० बजेको समयमा घटनाको बारेमा जानकारी गराई मेरो घरमा डेरा भाडा गरी बस्ने कविराम कंवरले निजको साथमा कामकाज गर्ने श्यामकुमार रावतलाई ढुङ्गा प्रहार गरी मारेको छ भनी फोनमार्फत जानकारी गराएपछि मलगायत छरछिमेकीहरू हतारहतार गरी उक्त घटनास्थलमा गई हेर्दा श्यामकुमार रावत मुखबाट सेतो पदार्थ छाडेको टाउकोमा चोट लागी टुटुल्कोजस्तो उठेको, भान्सा घरको कोठको भुइँ जमिनमा पल्टिइरहेको अवस्थामा देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थियौं । जानकारी गराएपछि प्रहरी घटनास्थलमा आई लास जाँचलगायतको अनुसन्धान कार्य सम्पन्न गरेपछि मृतकको लासलाई पोस्टमार्टमको लागि सुर्खेततर्फ पठाएको थियो । मैले निज मृतक श्यामकुमार रावतलाई र प्रतिवादी कविराम कंवरलाई राम्रोसँग चिन्दछु । निज दुवैजनाले विगत केही समयदेखि जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे वन जंगलमा खोटो निकाल्ने काम गर्ने र मानबहादुर चौहान मगरको घरमा कोठा भाडा गरी बस्ने गर्थे । निज प्रतिवादी कविराम कंवर र मृतक श्यामकुमार रावतबिच रिसइवी लेनदेन नभएको मलाई थाहा
भएन । जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ स्थित फलाँटे भन्ने स्थानको बाटोमा प्रतिवादी कविराम कंवरले श्यामकुमार रावतलाई ढुङ्गाले टाउकोमा प्रहार गरेपछि निज प्रतिवादी घटनास्थलबाटै फरार भएका हुँदा मिति २०७३।०२।२१ गते बेलुका अन्दाजी ६ बजेको समयमा प्रहरीले जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ रामघाटतर्फ जाने सार्वजनिक बाटोमा पक्राउ गरेको हो । अतः निज प्रतिवादी कविराम कंवरले जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ घर भई जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटेको वन जंगलमा खोटो निकाल्ने काम गर्ने वर्ष ३४ को श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले मिति २०७३।०२।२० गते बेलुका अन्दाजी २०:०० बजेको समयमा प्रहार गरी घाइते बनाई कर्तव्य गरी मारेको हुँदा प्रतिवादी कविराम कंवरलाई कानूनबमोजिम हदैसम्मको कारबाही र सजाय हुनै पर्दछ भन्नेसमेत बहोराको दुर्गाबहादुर रानाले अनुसन्धान अधिकारीसमक्ष गरी दिएको घटना विवरण कागज ।
मिति २०७३।०२।२० गते बेलुकाको समयमा म र मेरो श्रीमती आफ्नै घरमा खाना पकाई खाई बसेका थियौं । प्रतिवादी जिल्ला रोल्पा नुवागाउँ गा.वि.स. वडा नं.१ बस्ने कविराम कंवर र मृतक ऐ.ऐ.बस्ने श्यामकुमार रावत मिति २०७३ साल चैत्र महिनादेखि मेरो घरमा डेरा भाडा गरी बसी एकै भान्सामा खाना पकाई खाने गर्थे । मैले जाहेरवाला पूर्णबहादुर रावतलाई चिनेको छैन । प्रतिवादी कविराम कंवर र मृतक श्यामकुमार रावतलाई मैले राम्रोसँग चिन्दछु । माउन्ट रोजिन एन्ड टर्पिनटाइन इन्डष्ट्रिज प्रा.लि.मा ज्याला मजदुरी गरी खोटो निकाल्ने कामकाज गर्ने गर्थे । यसै क्रममा मिति २०७३।०२।२० गते बिहान उठी निज मृतक र प्रतिवादी दुवैजनाले खाना पकाई घर कोठाबाट निस्की गएका र ऐ.दिनको अन्दाजी ११.०० बजेको समयमा घर कोठमा आई बसेका थिए । म र मेरो श्रीमती मात्र घरमा भई आफ्नो कामकाजमा भएकोले निजहरू दुवैजना कति बेला घर कोठाबाट गए थाहा भएन । सोही दिन बेलुका अन्दाजी ८ बजेको समयमा एक्कासी श्यामकुमार रावत रूँदै कराउँदै आई मलाई कविराम कंवरले जिल्ला सुर्खेत कल्याण गा.वि.स. वडा नं.१ फलाँटे भन्ने स्थानको बाटोमा बिनाकारण टाउकोमा ढुङ्गाले प्रहार गरी सख्त घाइते बनाएकोले मलाई धेरै चोट लागेको छ भनेका थिए । आफूलाई घाइते बनाएको कुरा मलाई बताएपछि निज श्यामकुमार रावत आफूहरूले खाना पकाउने गरेको भान्सा घरको कोठामा गई लडी छटपटाइरहेकै अवस्थामा निज श्यामकुमार रावतको मृत्यु भएको हो । श्यामकुमार रावतको मृत्यु भएपछि गाउँका छरछिमेकीहरूलाई खबर गरी घटनाबारे जानकारी गराएका थियौं । निजहरू मेरो घरमा कोठा भाडा गरी बस्ने बेलासम्म निज दुवैजनाको बिचमा रिसइवी भए नभएको मलाई थाहा छैन । निज प्रतिवादी कविराम कंवरले बिनाकारण निज मृतक श्यामकुमार रावतको टाउकोमा ढुङ्गाले प्रहार गरी गम्भीर घाइते बनाएकै कारणबाट निज श्यामकुमार रावतको मृत्यु हुन गएको मलाई विश्वास लाग्छ । यसरी टाउकोमा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाई कर्तव्य गरी श्यामकुमार रावतलाई मार्ने प्रतिवादी कविराम कंवरलाई कानूनबमोजिम हदैसम्मको कारबाही र सजाय हुनै पर्दछ भन्नेसमेत बहोराको मानबहादुर चौहान मगरले अनुसन्धान अधिकारीसमक्ष गरी दिएको घटना विवरण कागज ।
Cause of death- head injury due to blunt trauma भन्नेसमेत बहोराको मृतक श्यामकुमार रावतको शव परीक्षण प्रतिवेदन ।
प्रतिवादी कविराम कंवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३ नं.को देहाय (३) को कसुर अपराधमा ऐ. १३ नं. को देहाय (३) बमोजिम सजाय हुन अभियोग मागदाबी ।
म र श्यामकुमार रावतसँगै रक्सी खाई फर्कने क्रममा विवाद भई निज र मेरोबिचमा हानाहानसमेत भएको हो । हामीले हानाहान के-के ले गर्यौँ मलाई याद भएन । हामी दुवैजना रक्सीले मातेका थियौं । उक्त हानाहानमा मलाई आँखामा खुट्टामा टाउकोमा समेत चोट लागेको थियो । निजको कहाँ-कहाँ चोट लागेको थियो, मलाई थाहा भएन । मैले निजलाई मार्ने नियतले हानेको होइन । मैले निजलाई हानेर कहीँकतै भागेको होइन । म मृतकसँगै थिएँ । मलाई त्यहीँबाट प्रहरीले पक्राउ गरी ल्याएको हो । जाहेरीका अन्य कुरा ठिक हो भन्नेसमेत बेहोराको प्रतिवादी कविराम कंवरले अदालतमा गरेको बयान ।
मृतक श्यामबहादुर रावत र प्रतिवादी कविराम कंवर खोटोसम्बन्धी काम गर्ने हुँदा मेरै घर कोठामा बस्दै आएका थिए । मिति २०७३।०२।२० गते बिहान उठी खाना खाई दिनभर कहाँ गए थाहा भएन । साँझ घरमा आई मलाई कविराम कंवरले ढुङ्गाले मेरो टाउकोमा हान्यो भनी मृतकले भनेका थिए । केही छिनपछि प्रतिवादी कविराम कंवर हातका ढुङ्गा लिई मृतकलाई हान्न तयार भए हामीले निजको हातबाट खोसी फाली दियौं । केही समयपछि मृतक भान्सा कोठामा कुरा गर्दा गर्दै बङ्लङ्गै ढले र सोही ठाउँमा मृत्यु भयो । हामीले तत्कालै प्रहरीलाई खबर गरेपछि प्रहरीले पक्राउ गरी लगेका हुन् । प्रतिवादीले हानेको कारणबाट मृत्यु भएको विश्वास लाग्छ भन्नेसमेत बहोराको बुझिएका मानिस मानबहादुर चौहानले अदालतमा गरेको बकपत्र ।
मृतक श्यामकुमार रावतको मृत्यु मिति २०७३।०२।२० गते सुर्खेत कल्याण गा.वि.स.मा प्रतिवादी कविराम कंवरले ढुङ्गाले हानी मार्यौ भन्ने कुरा मृतक र प्रतिवादी बस्ने घरको घरबेटीले मलाई टेलिफोनबाट जानकारी गराएको हुँदा मलाई जानकारी भएको हो । मैले ऐ. २२ गते क्षेत्रीय अस्पताल सुर्खेतमा मेरो श्रीमान्को लास देखेकी हुँ । मृतक लासलाई हेर्दा ढुङ्गाले टाउकोमा हानेको जस्तो ठुलो घाउ थियो भन्नेसमेत बहोराको बुझिएकी पार्वती रावतले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी मृतकसँगसँगै आएकोमा मासुको बारेमा विवाद भई रिस थाम्न नसकी प्रहार गरेको देखिन आयो । पूर्वनियोजित रूपमा मार्ने मनसायले काम गरेको देखिएन । तसर्थ १३ (३) को दाबी पुग्न
सक्दैन । प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. को कसुर गरेको ठहर्छ । सजायको हकमा निजलाई १० वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुर्खेत जिल्ला अदालतको मिति २०७३।९।२० को फैसला ।
मृतक श्यामकुमार रावत मिति २०७३।२।२० गते कम्पनीको काम नभएकोले बिहान गाउँतिर घुम्न गएको दिनको ११:०० बजे डेरामा आई खाना खाएपछि पुन: गाउँतिर घुम्न गएको मासु लिन गाउँतिर गएकोमा मासु नपाइएकोले गाउँमा ५ बोतल रक्सी दुवैजनाले खाई कोठातर्फ आउँदा फलाँटे भन्ने ठाउँमा पुग्दा श्यामकुमारले मेरो बायाँ आँखामा हातले हानी दिएकोले सोही रिसइवीले नजिकै बाटोमा रहेको ढुंगाले निजको टाउकोपछाडि २ पटक ढुंगाले हानेको हुँ सोही चोटको कारण निजको मृत्यु भएको हो भनी लेखाएबाट आफूलाई प्रहार गरेको रिसइवीले मार्ने उद्देश्यले टाउकोमा २ पटक ढुंगा तथा हात मुक्कासमेतले प्रहार गरी अचेत अवस्थामा छोडी भागेको हुँ भनी लेखाएको निजको उक्त भनाइ घरधनी धनमाया चौहान मगर र मानबहादुर चौहान मगरले घटना विवरण सम्बन्धमा गरेको कागज, मृतकको मृत्युको कारण Head Injury Due to Blunt Trauma भन्ने परीक्षण प्रतिवेदनसमेतका मिसिल प्रमाणबाट अभियोग दाबी पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीभन्दा घटी सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बहोराको वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत सुर्खेतमा दायर गरेको पुनरावेदनपत्र ।
यसमा सुर्खेत जिल्ला अदालतबाट मिति २०७३।९।२० मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली, २०७३ को नियम ११२ बमोजिम प्रत्यर्थी झिकाई हाजिर भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बहोराको उच्च अदालत सुर्खेतको मिति २०७४।७।२० को आदेश ।
प्रतिवादी कविराम कंवरले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. को कसुर गरेको ठहर्याई १० वर्ष कैदको सजाय गर्ने गरी सुरू सुर्खेत जिल्ला अदालतबाट मिति २०७३।९।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भनी उच्च अदालत सुर्खेतबाट मिति २०७४।१२।२५ मा भएको फैसला ।
प्रतिवादी कविराम कंवरले मृतक श्यामकुमार रावतलाई मार्ने योजना बनाई गाउँ घरतिर घुम्न भनी साथमा लगी, मादक पदार्थ रक्सी सेवन गराई, विवाद गरी ढुङ्गाजस्तो गह्रौं जोखिम वस्तुले टाउकोजस्तो संवेदनशील अङ्गमा प्रहार गरी मरोस् भन्ने मनसायले यत्तिकै छोडी, वारदातस्थलबाट तत्काल फरार भएको र सोही कारणबाट श्यामकुमार रावतको मृत्यु भएको तथ्य पुष्टि भइरहेको छ । यी तथ्य प्रमाणका बाबजुद तत्कालको रिसका कारण ढुङ्गा प्रहार गरेको भनी अभियोग दाबीभन्दा घटी सजाय हुने गरी भएको उच्च अदालत सुर्खेतको फैसलामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १४ नं. को गम्भीर व्याख्यात्मक त्रुटि भएको छ ।
प्रतिवादी कविराम कंवरले अनुसन्धान गरेको बयानमा आफू र श्यामकुमार रावत वारदात मिति २०७३।२।२० गते गाउँतिर घुम्न गएको दिउँसो ११:०० बजेतिर कोठामा आई, खाना खाई पुनः गाउँघरतिर घुम्न गएकोमा ५ बोतल रक्सीसमेत दुवैजनाले सेवन गरी कोठातर्फ फर्कने क्रममा श्यामकुमार रावतले मेरो बायाँ आँखामा हातले हानेपछि सोही रिसले बाटोमा रहेको ढुङ्गाले निजको टाउकोमा २ पटक हानेको र हात मुक्काले समेत हानेकोमा सोही चोटका कारणबाट निजको मृत्यु भएको भनी लेखाएबाट आफूलाई श्यामकुमार रावतले बायाँ आँखामा हानेको रिसइवीका कारण मार्ने मनसायले टाउकोजस्तो संवेदनशील अङ्गमा जोखिम वस्तु ढुङ्गाले २ पटक तथा हात मुक्कासमेतले प्रहार गरी अचेत अवस्थामा भएका मृतकलाई उपचार गराउन लैजानुको साटो भागी फरार भएको मृतकले घरधनी मानबहादुर चौहानसमेतलाई वारदातका बारेका बताएकामा निज मानबहादुर चौहानले मौकामा कागज गर्दा तथा बकपत्रमा समेत सोही कुरा उल्लेख गरी पुष्टि गराइदिएका छन् । मृतकको मृत्युको कारणमा Head Injury due to Blunt Trauma, ढुङ्गामा लागेका रगत परीक्षणका लागि पठाइएकोमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा K-M Test Positive, Takayama Test Positive, Origin Human उल्लेख भई आएसमेतका मिसल संलग्न प्रमाणबाट अभियोग दाबी स्थापित भइरहेका अवस्थामा प्रतिवीदीलाइ अभियोग दाबीभन्दा घटी सजाय हुने गरी उच्च अदालत सुर्खेतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट मिति २०७५।४।७ मा यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले प्रतिवादी कविराम कंवरले श्यामकुमार रावतलाई मार्ने मनसायले मादक पदार्थ सेवन गराई विवाद गरी ढुंगाले टाउकोजस्तो संवेदनशील अङ्गमा प्रहार गरेको र सोही चोटका कारण मृत्यु भएको पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीभन्दा कम सजाय गर्ने गरी उच्च अदालत सुर्खेतबाट भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
२. उल्लिखित विद्वान् उपन्यायाधिवक्ताको बहस जिकिर सुनी मिसिलसमेत अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा उच्च अदालत सुर्खेतबाट मिति २०७४।१२।२५ मा भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्ने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने
देखियो । कविराम कंवरले मेरो भाइ श्यामकुमार रावतलाई मार्ने योजना बनाई टाउकोमा ढुंगा प्रहार गरेको, सोही चोटका कारण निजको मृत्यु भएको हुँदा निज कविराम कंवरलाई पक्राउ गरी कारबाही र सजाय होस् भनी पूर्णबहादुर रावतको किटानी जाहेरी परेको देखिन्छ भने मृतकको लास जाँच प्रकृति मुचुल्कामा टाउकोपछाडिको दायाँ भागमा थिचिएको टुटुल्को उठेको भन्ने उल्लेख भएको पाइन्छ । साथै मृत्युको कारण Head injury due to blunt trauma भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिन्छ । निज प्रतिवादी र मेरो पति मृतक श्यामकुमार रावतबिच पूर्वरिसइवी, झै-झगडा केही पनि थिएन, मिति २०७३।२।२० गते कुन कुरामा विवाद भई प्रतिवादीले टाउकामा ढुंगाले हानी मेरो पतिको मृत्यु भएको भन्ने कुराको जानकारी मानबहादुर चौहानले गराएकोले मृत अवस्थाका पतिको लास देखेको हुँ भन्ने मृतकका पत्नी पार्वती रावतको मौकामा गरेको कागजबाट देखिन्छ भने मिति २०७३।२।२० गते बेलुका श्यामकुमार रावत रूँदै आई मलाई कविराम कंवरले ढुंगाले हानी चोट पारेको छ भनी भन्दै गर्दा केही क्षणमै निजको मृत्यु भएको
हो । निजहरूबिच रिसइवी रहेको थाहा छैन भनी घटना विवरणमा कागज गर्ने व्यक्तिहरू मानबहादुर चौहान मगरसमेतको भनाइ रहेको पाइन्छ ।
३. प्रतिवादी कविराम कंवरले अधिकारप्राप्त अधिकारी एवं सुरू अदालतसमक्ष बयान गर्दा हामी २ जना रक्सी खाई फर्कने क्रममा विवाद भई हानाहान भएको हो । हामी दुवैजना रक्सीले मातेका थियौँ मैले ढुंगा उठाई टाउकोमा हानेको हो, निजलाई मार्ने नियतले हानेको होइन भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । घटना विवरणमा कागज गर्ने व्यक्तिहरू पार्वती रावत, दुर्गाबहादुर रावतसमेतले कागज गर्दा प्रतिवादीले मृतकलाई टाउकोमा ढुंगाले प्रहार गरी फरार भएको र सोही चोटका कारण निजको मृत्यु भएको हो भनी कागज गरी दिएका पाइन्छ ।
४. यसरी प्रतिवादी र मृतक दुवैले मादक पदार्थ सेवन गरी विवाद गरी निज प्रतिवादीले आवेशमा मृतकलाई ढुंगाले टाउकोमा प्रहार गरी पर्न गएको चोटबाट श्यामकुमार रावतको मृत्यु भएको
देखिन्छ । तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. मा "ज्यान मार्नाको मनसाय रहेन छ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा ढुङ्गा लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ ।" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । आवेशप्रेरित हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना तथा रिस तत्काल नै जागृत भएको हुन्छ । तत्कालको रिस थाम्न नसकी उत्पन्न आवेश वा उत्तेजनामा गरिने कार्यबाट सम्भावित परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा सोचविचारसमेत नगर्ने हुँदा तत्कालको अवस्थालाई तत्कालीन आवेश वा उत्तेजनाको रूपमा लिनुपर्ने हुन्छ । यस्तो आवेश वा उत्तेजना मृतकको क्रियाकलापबाट वा निजसँग अन्योन्याश्रित क्रियाकलापबाट प्रतिवादीको मानसिकतामा तत्काल सिर्जित गराएको हुन्छ ।
५. प्रस्तुत मुद्दामा ज्यान मार्नको मनसाय, ज्यान लिनुपर्नेसम्मको इवी, लुकी चोरीकन हानेको भन्ने मिसिल प्रमाणबाट देखिँदैन । प्रस्तुत वारदात पूर्वनियोजित हत्या भन्ने नदेखिई प्रतिवादी र मृतकले मादक पदार्थ सेवन गरी विवाद गर्दा सोही विवादबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादी आवेशमा आई ढुंगाले हान्दा मृतकको टाउकोमा चोट लाग्न गई निज श्यामकुमार रावतको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिन्छ । मृतकले बायाँ आँखामा हातले हानेपछि सोही रिसको आवेशमा आई निजलाई ढुंगाले हानी टाउकोमा चोट लागी मृत्यु भएको हो भनी निज प्रतिवादीले वारदात भएको तथ्यलाई स्वीकारेको देखिन्छ । जुन कुरा घटनास्थल मुचुल्का, पोस्टमार्टम रिपोर्ट तथा मौकामा कागज गर्ने व्यक्तिहरूको कागज बेहोराबाट समर्थित भएको देखिन्छ । प्रतिवादीको मृतकसँग पहिले कुनै रिसइवी नरहेको, मृतकको शरीरमा कुटपिट गरेको घाउ, चोट, निलडाम नभई टाउकोपछाडिको दायाँ भागमा थिचिएको टुटुल्को उठेको तथा मृतकलाई मार्नुपर्नेसम्मको कारण पनि देखिँदैन । यी प्रतिवादी र मृतकले मादक पदार्थ सेवन गरी विवाद भई तत्काल रिस थाम्न नसकी मृतकको टाउकोमा प्रतिवादीले ढुंगा प्रहार गरी चोट लागेको कारण मृतकको मृत्यु भएको देखिँदा प्रतिवादीले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १४ नं. को कसुर गरेको देखिएको सन्दर्भमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
६. अतः माथि विवेचित आधार प्रमाणबाट प्रतिवादी कविराम कंवरलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय हुने ठहर्याएको उच्च अदालत सुर्खेतको मिति २०७४।१२।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारले पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृतः नवराज कार्की
इति संवत् २०७६ साल भाद्र ३१ गते रोज ३ शुभम् ।