निर्णय नं. १०५६५ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।३।११
०७४-CR-०६४२
मुद्दाः- जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम १०-D-१४-४५-Z जेडको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सुनसरी, धरान उपमहानगरपालिका, वडा नं. १४ घर भई हाल कारागार कार्यालय, झुम्कामा थुनामा रहेका वर्ष १९ का केशव गिरी
हाडनाता गर्नेको महलमा प्रस्टरूपमा मामाको छोरी र फुपूको छोरा हाडनाता हो भनी नभनेको अवस्थामा जबरजस्ती करणीको अभियोग लागी कसुर ठहर भई सजायसमेत भएका प्रतिवादीलाई प्रयोग हुनै नसक्ने कानूनको दफा लगाएर पेस भएको अभियोगको आधारमा कुनै कानूनले यही भनेको होला भनी अनुमानको भरमा हाडनाता जस्तो फौजदारी मुद्दामा दोषी ठहर गरी सजाय गर्न प्रचलित कानून एवं न्याय र फौजदारी कानूनका सामान्य सिद्धान्तसमेतले नमिल्ने ।
(प्रकरण नं.४)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विकास दाहाल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
न्याय प्रशासन ऐन, २०७३
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री अर्जुनप्रसाद कोइराला
सुनसरी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती
माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी
उच्च अदालत विराटनगर
फैसला
न्या. हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १४ स्थित पूर्वमा धनबहादुर दर्जीको घर, पश्चिममा राम बरालको पक्की घर, उत्तरमा जितबहादुर तामाङको घर र दक्षिणमा विरबहादुर तामाङको घर यति चार किल्लाभित्रमा पर्ने वरिपरि पक्की वाल, टिनको छाना भई दक्षिणतर्फ फर्केको केशव गिरीको एक तले घर, सो घरमा चारवटा कोठाहरूमध्ये दक्षिणबाट दोस्रो कोठाको ढोका खुल्ला रहेको ढोकाभित्र प्रवेश गरी हेर्दा पश्चिम साइडमा विस्तारासहितको खाट, सो खाटमा केशव गिरीले परिवर्तित नाम १०-D-१४-७-A लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मेरो छोरी नाबालिग वर्ष ७ कि परिवर्तित नाम १०-D-१४-७-A ले केही दिनदेखि पेट दुख्ने पोल्ने गरेकोले रूने, कराउने, टोलाउनेसमेत गर्ने गरेकीले निजलाई के भयो भनी सोधी खोजी गर्दा मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा केशव गिरीले मलाई आफ्नै घरमा बोलाई लगी पैसा दिई कुरकुरे किन्न पसलमा पठाई कुरकुरे किनी ल्याएपछि मलाई ललाई फकाई गरी यो कुरा कसैलाई भनिस् भने तेरो हात काटिदिन्छु र चुप्पी रोपी मारी भिरबाट फाली दिन्छु भन्दै घरको कोठाको खाटमा लडाई मैले लगाएको पेन्टी र सुरूवाल खोली निजले पनि लगाएको पेन्ट र काछी खोली आफ्नो लिङ्ग निकाली मेरो योनिमा लिङ्ग छिराई केहिछिन तलमाथि गरी निजको लिङ्गबाट सिँगानजस्तो सेतो पदार्थ निकाली फाली करणी गरेको भनी बताएकीले निज नाबालिगको अभिभावक आमाको हैसियतले यो सूचना सम्प्रेषण गर्न आएको छु । यी प्रतिवादीले मेरो नाबालिग छोरीलाई विभिन्न किसिमका डर, त्रास देखाई जोरजुलुम करकापका साथ जाल परिपञ्च रची आफ्नै घरमा जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत कसुर गरेको हुँदा निज केशव गिरीलाई पक्राउ गरी सोही ऐनबमोजिम कारबाही गरी मेरो छोरीको स्वास्थ्य परीक्षणसमेत गरी गराई प्रतिवादीलाई हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको १०-D-१४-४५-Z को जाहेरी दरखास्त ।
मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा केशव गिरीले मलाई आफ्नै घरमा बोलाई लगी पैसा दिई कुरकुरे किन्न पसलमा पठाई कुरकुरे किनी ल्याएपछि मलाई जबरजस्ती आफ्नो कोठामा लगी ढोकाको चुक्कुल लगाई खाटमा सुताइ मैले लगाएको पेन्टी र सुरूवाल खोली निजले पनि लगाएको पेन्ट र काछी खोली आफ्नो लिङ्ग निकाली मेरो योनिमा जबरजस्ती छिराउँदा मेले रून कराउन लाग्दा रून कराउन नदिई आफ्नो लिङ्ग मेरो योनिमा छिराई केहिबेर तलमाथि गरी निजको लिङ्गबाट सिँगानजस्तो सेतो पदार्थ झारिदिएको र मलाई यो कुरा कसैलाई भनिस् भने तेरो हात काटी दिन्छु र चुप्पी रोपी मारी भिरबाट फाली दिन्छु भन्दै मेरो योनिमा लागेको सेतो पदार्थ पुछी घर पठाएको र मैले डरले यो कुरा कसैलाई नभनी बसेकोमा मेरो पेट दुख्ने पोल्ने गर्दा सहन नसकी आमालाई सबैकुरा बताएको हो भन्नेसमेत बेहोराको पीडिताले मौकामा गरेको घटना विवरण कागज ।
मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा म घरमा थिएँ । मैले जाहेरवालीको छोरी परिवर्तित नाम १०-D-१४-७-A लाई कहिलेकाहीँ चकलेट, पैसा दिने गर्दथे । मेरै आफ्नै सहोदर माइला मामाको छोरी भएकोले मामाको छोरी सो दिन पनि मेरो घरमा आएकीले निजलाई मैले कुरकुरे किन्ने पैसा दिई पसल पठाएकोमा निजले कुरकुरे किनी घरमा आएपछि मलाई यौनसम्पर्क गर्ने इच्छा लागेकाले निजलाई मैले आफ्नै घरको कोठामा लगी खाटमा लडाई निजले लगाएको सुरूवाल र काछी खोली मैले पनि लगाएको पेन्ट र काछी खोली निज बालिकाको योनिमा मेरो लिङ्ग छिराई केही छिन तलमाथी गरी लिङ्गबाट सिँगान जस्तो पदार्थ निकाली मैले यौन इच्छा पूरा गरी निजलाई यो कुरा भनिस् भने तेरो हात काटी दिन्छु र चुप्पी रोपी मारी भिरबाट फाली दिन्छु भनी डर, त्रास देखाएको हुँ । मैले निज बालिकालाई सो कार्य नगर्नु पर्दथ्यो । सो कार्य गर्नु मेरो गल्ती भयो भन्नेसमेत बेहोराको प्रतिवादी वर्ष १९ का केशव गिरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पीडिता सांकेतिक नाम १०-D-१४-७-A स्वास्थ्य परीक्षण गर्दाको अवस्था hymen not intact भन्ने वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मिति २०७२।४।२० गतेको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
प्रतिवादी केशव गिरीले जाहेरी दरखास्तमा उल्लिखित समयमा जाहेरवालीको छोरी परिवर्तित नाम १०-D-१४-७-A लाई आफ्नै घरमा बोलाई लगी पैसा दिई कुरकुरे किन्न पसलमा पठाई कुरकुरे किनेर ल्याएपछि पीडितालाई ललाई फकाई यो कुरा भनिस् भने तेरो हात काटी दिन्छु र चुप्पी रोपी भिरबाट फाली दिन्छु भन्दै घरको कोठाको खाटमा लडाई पीडिताले लगाएको पेन्टी र सुरूवाल खोली निजले पनि लगाएको पेन्ट र काछी खोली आफ्नो लिङ्ग निकाली पीडिताको योनिमा लिङ्ग छिराई केहिछिन तलमाथि गरी निजको लिङ्गबाट सिँगानजस्तो पदार्थ निकाली फाली करणी गरेका भनी पीडिता परिवर्तित नाम १०-D-१४-७-A ले जाहेरवालीलाई जानकारी गराएपछि जाहेरवालीले के-कसो गर्ने भनी हामीलाई सोधनी गरी बताएकी र पीडिताले समेत सोही बेहोरा बताएकीले प्रतिवादीलाई पक्राउ गरी बुझ्दासमेत सो कुरा स्वीकारेको हुँदा प्रतिवादीलाई हदैसम्म कारबाही होस् भन्नेसमेत बेहोराको रीता लामिछानेसमेतका मानिसहरूले गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादी केशव गिरीले मिति २०७२।४।४ गते आफ्नै घर कोठामा लगी डर त्रासमा पारी परिवर्तित नाम १०-D-१४-७-A लाई जबरजस्ती करणीको वारदात घटाएको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. को कसुर अपराधमा ऐ.ऐ. ३(१) नं. बमोजिम सजाय गरी निज पीडिता प्रतिवादीको बयानबाट आफ्नै मामाकी छोरी बहिनी नाताकी पर्ने देखिएको हुँदा ऐ. हाडनाता करणीको महलको २(१) नं. का आधारमा ऐ. जबरजस्ती करणीको २ नं.बमोजिम थप सजाय हुन तथा पीडितालाई ऐ. ऐनको १० नं.बमोजिम उचित र मनासिब क्षतिपूर्ति प्रतिवादीबाट दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको अभियोगपत्र ।
मैले पीडितालाई जबरजस्ती करणी नगरेकोले अभियोग दाबी झुट्टा हो । म महेन्द्र क्याम्पसमा वि.वि.एस. प्रथम वर्षमा अध्ययन गर्दछु । मिति २०७२।४।४ गते म क्याम्पस गई उतै क्याम्पसबाट ट्युसन पढ्न गई साँझमा मात्र घर आएको हुँ । निज मेरो बहिनी नाता मामाकी छोरी हुँदा यस्तो कसुर गर्ने कुरै आउँदैन । जबरजस्ती करणी गरेको छैन । कसुर नगरेकोले झुट्टा अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी केशव गिरीले अदालतसमक्ष गरेको बयान ।
मिति २०७२।४।४ गते प्रतिवादी केशव गिरीले मेरी छोरीलाई जबरजस्ती करणी गरेका हुन् । नानीलाई पेट दुख्यो भनेपश्चात् सोधखोज गर्दा पिसाब पोल्ने, पेट दुख्ने हुन थाल्यो । फकाएर सोध्दा छोरीले मलाई प्रतिवादी केशव गिरीले कुरकुरे किन्न पठाएर कुरकुरे लिएर प्रतिवादीको घरमा आउँदा ढोका लगाई जबरजस्ती करणी गरेको कुरा पीडिताले सुनाएको हो भन्नेसमेत बेहोराको परिवर्तित नाम १०-D-१४-४५-Z कुमारीले गरेको बकपत्र ।
प्रतिवादीले पीडितालाई जबरजस्ती करणी गरेको कुरा थाहा पाएँ । बच्ची पीडिताको योनि सुन्निएको प्वाल बढेको अवस्था हामीले देखेको हो । पीडिताले पनि प्रतिवादीले मलाई जबरजस्ती करणी गरे भनेर हामीलाई बताएकी थिइन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काकी रीता लामिछानेले गरेको बकपत्र ।
पीडितालाई प्रतिवादीले जबरजस्ती करणी गरेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काकी गिता खड्काले गरेको बकपत्र ।
प्रतिवादीलाई प्रहरीले पक्रिएपश्चात् सोधी खोजी गर्दा पीडितालाई रेप गरेको भन्ने सुनेपछि थाहा पाएका हो । प्रतिवादीले रेप गरेको कुरा पीडिताले पनि बताएकी थिइन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काकी रन्जिता कटुवालले गरेको बकपत्र ।
प्रतिवादीले जबरजस्ती करणी गरेको होइन । वारदात भनिएको मिति २०७२।४।४ गते म र प्रतिवादीसँगै क्याम्पसमा अध्ययन गरिरहेका
थियौं । क्लास सकेर ट्युसन सँगै गयौं । यी प्रतिवादीले जबरजस्ती करणी गरेको छैनन् । अभियोग दाबी झुट्टा हो भन्नेसमेत बेहोराको प्रतिवादी केशव गिरीको साक्षी रजिना राईले गरेको बकपत्र ।
प्रतिवादीउपर किटानी जाहेरी परेको, जाहेरवालीले अदालतमा जाहेरी बेहोरा स्वीकार गरेको medical report बाट पीडिताको hymen not intact देखिएको र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कसुरमा स्वीकार गरी बयान गरेकोलगायतका मिसिल संलग्न कागज प्रमाणहरूबाट प्रतिवादी केशव गिरीले अभियोग दाबीबमोजिम कसुर गरेको देखिँदा निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने, जाहेरवालीले अदालतमा आई बकपत्र गर्दा प्रतिवादी मेरो भान्जा नाताका हुन भनी बकपत्र गरेको तथा प्रतिवादीले अदालतमा बयान गर्दा पीडिता मेरो मामाकी छोरी हुन् भनी भनेको हुँदा यी प्रतिवादी र पीडिता हाडनाताभित्रको नै देखिँदा मुलुकी ऐन, जबरजस्ती करणीको २ नं. बमोजिम थप सजाय हुने हुँदा हाडनातामा करणी गर्नेको महलको २ नं. बमोजिम यी प्रतिवादीलाई थप तीन वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहर्छ भन्नेसमेत बेहोराको सुनसरी जिल्ला अदालतबाट मिति २०७३।२।२४ मा भएको फैसला ।
वस्तुस्थिति मुचुल्काका मानिसले पीडिताबाट जाहेरवाली र जाहेरवालीबाट मात्र थाहा पाएको भन्ने भनाइबाट जबरजस्ती करणी भएको भन्ने कुरालाई शंकारहित तबरले पुष्टि हुन नसक्ने, जाहेरवाली पीडिताकी आमा परिवर्तित नाम १०-D-१४-४५-Z ले अदालतमा आई सुनेको हो भनी गरेको बकपत्रले hear say evidence को प्रतिनिधित्व गर्ने हुँदा फौजदारी न्याय सिद्धान्तमा hear say evidence is no evidence मानिने, पीडिताको मौकाको कागजलाई अदालतमा परीक्षण नगरिएको, ७ वर्षको बालिका पीडिताको कुनै पनि यौनाङ्ग परिष्कृत भइसकेको अवस्था नहुँदा सो अवस्थामा यौनक्रिया सम्पन्न हुने कुरा नरहे नभएको र मुलुकी ऐन, हाडनाता करणीको महलको परिभाषाभित्र मामाको छोरीलाई करणी गरेमा हाडनाता करणी हुने भन्ने उल्लेख नभएको अवस्थामा जबरजस्ती करणीको महलको २ नं.बमोजिम मलाई हाडनातामा थप सजायसमेत हुने गरी सुनसरी जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा सो फैसला बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी केशव गिरीले उच्च अदालत विराटनगरमा मिति २०७३।६।१२ मा गरेको पुनरावेदनपत्र ।
प्रतिवादीले पीडिता मामाकी छोरी बहिनी नाताकी हुन् भनेको र जाहेरवालीले अदालतमा बकपत्र गर्दा प्रतिवादी मेरो भान्जा नाताको हुन् भन्ने बेहोरा लेखाएकोसमेत आधारमा प्रतिवादीलाई हाडनाता करणीको महलको २ नं.बमोजिम थप सजायसमेत हुने भनी गरेको फैसला मुलुकी ऐन, हाडनातामा करणी गर्नेको २ नं. को व्याख्याको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनको लागि उच्च सरकारी वकिल कार्यालय, विराटनगरलाई जनाउ दिई नियामानुसार पेस गर्नु भन्ने बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७३।१२।१६ मा भएको आदेश ।
जाहेरवाली, मौकामा बुझिएकी रीता लामिछाने, रन्जिता कटुवालको बकपत्रसमेतबाट पीडिताको मौकाको भनाइ तथा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान पुष्टि भएको देखिँदा ७ वर्षकी नाबालिकलाई प्रतिवादीले करणी गरेको देखिई जबरजस्ती करणीको महलको १ नं. अनुसारको जबरजस्ती करणीको कसुर गरेको देखिएकोमा प्रतिवादीले आफ्नो मामाकी छोरीलाई करणी गरेको देखिए पनि तत्काल प्रचलनमा रहेको हाडनाता करणी गर्नेको महलको २ नं. मा मामाकी छोरी बहिनी नाता पर्नेलाई करणी गरेकोमा सजाय हुने कानूनी व्यवस्था रहेको नपाइएकोले हाडनातातर्फ ३ वर्ष कैदसमेत गर्ने गरेको फैसला केही उल्टी हुने भई जबरजस्ती करणीको महलको ३ नं. को देहाय (१) अनुसार दश वर्ष कैद गरी क्षतिपूर्ति भराइदिने गरेको हदसम्म सुनसरी जिल्ला अदालतको मिति २०७३।२।२४ को फैसला सदर हुने ठहर्छ । अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ पाउनुपर्ने भन्ने हदसम्म प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगरबाट मिति २०७४।२।१० मा भएको फैसला ।
प्रस्तुत वारदातमा प्रतिवादीको संलग्नता दुवै तहको अदालतको फैसलाले स्वीकार गरेको, मुलुकी ऐन, हाडनाता करणीको महलको ३ नं. मा माथि दफा १ र २ मा लेखिएदेखि बाहेक सात पुस्ताभित्रका अन्य नाताका बिचमा करणी लिनेदिनेलाई हाँगो, नाता र पुस्तासमेत विचार गरी १ देखि ३ वर्षसम्म कैद हुने किटानी व्यवस्था भएको, जाहेरवाली अदालतमा आई बकपत्र गर्दा प्रतिवादी मेरो मामा नाताका हुन् भनेकी, प्रतिवादीले अदालतमा बयान गर्दा पीडिता मेरो मामाकी छोरी बहिनी हुन् भनेको देखिएको सन्दर्भमा मुलुकी ऐन, हाडनाता करणीको महलमा मामाकी छोरीलाई करणी गर्दा के हुने भन्ने प्रस्ट व्यवस्था नगरिए तापनि माथि लेखिएदेखि बाहेक सात पुस्ताभित्रका अन्य नाताका बिचमा करणी लिनेदिनेलाई हाँगो, नाता र पुस्तासमेत विचार गरी सजाय गर्न सकिने भनी मार्ग प्रशस्त गरेको अवस्थामा मुलुकी ऐन, हाडनाता करणीको महलको सङ्कीर्ण व्याख्या गरी, सुरू फैसला नै उल्टयाई निज प्रतिवादीलाई हाडनातातर्फ सजायमा छुट दिने गरी प्रतिवादीलाई वादी दाबीभन्दा कम सजाय गर्ने गरी उच्च अदालत विराटनगरबाट भएको फैसला त्रुटिपूर्ण देखिँदा सो बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा मुलुकी ऐन, हाडनाता करणी गर्नेको महलको २ नं. को देहाय (४) मा रहेको कानूनी व्यवस्थाका सन्दर्भमा उच्च अदालत विराटनगरबाट मिति २०७४।२।१० मा भएको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) बमोजिम प्रतिवादी केशव गिरीलाई म्याद जारी गरी झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको मिति २०७६।३।१५ मा यस अदालतबाट भएको आदेश ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक एवं आजको दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको पुनरावेदनपत्रसहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्टले प्रतिवादीले पीडितालाई जबरजस्ती करणी गरेकोमा सुरू तथा उच्च अदालतबाट कसुर ठहर भएको र सोउपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको नदेखिँदा प्रतिवादीले पीडितालाई जबरजस्ती करणी गरेको तथ्य पुष्टि भएको र हाडनाता करणीको महलको ३ नं. मा माथि दफा १ र २ मा लेखिएदेखि बाहेक सात पुस्ताभित्रका अन्य नाताका बिचमा करणी लिनेदिनेलाई हाँगो, नाता र पुस्तासमेत विचार गरी १ देखि ३ वर्षसम्म कैद हुने किटानी व्यवस्था भएको, जाहेरवाली अदालतमा आई बकपत्र गर्दा प्रतिवादी मेरो मामा नाताका हुन् भनेकी र प्रतिवादीले अदालतमा बयान गर्दा पीडिता मेरो मामाकी छोरी बहिनी हुन् भनेको देखिएको अवस्थामा हाडनातातर्फ सुरूले थप ३ वर्ष कैदको सजाय गरेको मिलेन भनी सुरू फैसला केही उल्टी गरी जबरजस्ती करणीतर्फ मात्र सजाय गर्ने गरी उच्च अदालत विराटनगरबाट भएको फैसला सो हदसम्म नमिलेको हुँदा उक्त फैसला उल्टी बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी र प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री विकास दाहालले हाडनाता करणीको महलमा मामाको छोरी हाडनातामा पर्ने स्पष्ट व्यवस्था नभएको हुँदा सोही कानूनी आधारमा प्रतिवादीलाई हाडनातातर्फ थप ३ वर्ष कैद गर्ने गरी भएको सुरू फैसला केही उल्टी गरी जबरजस्ती करणीतर्फ मात्र सजाय गर्ने गरी भएको उच्च अदालत विराटनगरको फैसला मिलेको हुँदा सदर कायम गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीले परिवर्तित नाम १०-D-१४-७-A लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. र ३(१) नं. को कसुर अपराधमा ऐ.ऐ. ३(१) नं.बमोजिम र निज पीडिता प्रतिवादीको मामाकी छोरी बहिनी नाताकी पर्ने देखिएको हुँदा हाडनाता करणीको महलको २(१) नं. का आधारमा ऐ. जबरजस्ती करणीको २ नं.बमोजिम थप सजाय हुन तथा पीडितालाई ऐ. ऐनको १० नं.बमोजिम क्षतिपूर्ति दिलाई भराइ पाउँ भन्नेसमेत बेहोराको अभियोग दाबी र प्रतिवादीले कसुरमा इन्कार रही अदालतमा बयान गरेकोमा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने, यी प्रतिवादी र पीडिता हाडनाताभित्रको नै देखिँदा मुलुकी ऐन, हाडनातामा करणीको महलको २ नं.बमोजिम यी प्रतिवादीलाई थप तीन वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहर्याइ भएको सुरू फैसलामा चित्त नबुझाई सो फैसलाउपर प्रतिवादीको उच्च अदालत विराटनगरमा पुनरावेदन परी उच्च अदालत विराटनगरबाट सुरू फैसला केही उल्टी भई जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने हदसम्मको फैसला सदर हुने र प्रतिवादीलाई हाडनाता करणीको महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजाय नहुने गरी भएको उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझाई प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन परी यस अदालतबाट विपक्षी झिकाउने आदेश भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।
अब यसमा मिसिलको अध्ययन, उल्लिखित तथ्यको विश्लेषण, विद्वान् उपन्यायाधिवक्ता तथा विद्वान् अधिवक्ताले गर्नुभएको बहस जिकिरको मनन र यस सम्बन्धमा भएका कानूनी व्यवस्था एवं न्याय र कानूनका मान्य सिद्धान्तलाई दृष्टिगत गरी मिसिल संलग्न प्रमाणको विश्लेषण र मूल्याङ्कन गरी हेर्दा वादी नेपाल सरकारको पुनरावेदन जिकिरबमोजिम हाडनाता करणीतर्फ प्रतिवादीलाई सफाइ दिने गरी भएको उच्च अदालत विराटनगरको फैसला मिलेको छ, छैन ? र वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, मेरो छोरी नाबालिग वर्ष ७ की परिवर्तित नाम १०-D-१४-७-A लाई मिति २०७२।४।४ गते दिनको १३:०० बजेको समयमा केशव गिरीले आफ्नै घरमा लगी पैसा दिई कुरकुरे किन्न पसलमा पठाई कुरकुरे किनी ल्याएपछि डर त्रास देखाई आफ्नै घरमा जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत कसुर गरेको हुँदा निज केशव गिरीलाई पक्राउ गरी सोही ऐनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको १०-D-१४-४५-Z को जाहेरी दरखास्तका आधारमा मुद्दाको उठान भई अनुसन्धान भएको प्रस्तुत मुद्दामा प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद र मुलुकी ऐन, हाडनाताकरणी महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजाय हुने तथा प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहरी सुनसरी जिल्ला अदालतबाट भएको फैसलामा हाडनाताकरणी महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजाय हुने ठहर गरेको हदसम्मको सुरू फैसला नमिली उक्त फैसला केही उल्टी भई प्रतिवादीलाई जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने र प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहरी भएको हदसम्मको फैसला सदर हुने गरी उच्च अदालत विराटनगरबाट फैसला भएकोमा जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने र प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहरी भएको फैसला सदर भएउपर प्रतिवादीको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन लाग्नेमा प्रतिवादीको पुनरावेदन परेको नदेखिँदा निजलाई जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद भएको सन्दर्भमा थप विवेचना गरिरहनु परेन ।
३. अब प्रतिवादीले आफ्नै मामाको छोरी बहिनीलाई जबरजस्ती करणी गरेको अवस्थामा सुरू अदालतबाट निज प्रतिवादीलाई हाडनातामा करणीको महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजायसमेत हुने गरी भएको फैसला सदर गर्नुपर्नेमा सो हदसम्म केही उल्टी गरी प्रतिवादीलाई हाडनाता करणीको महलको २ नं.बमोजिम थप कैद नहुने गरी गरेको हदसम्मको उच्च अदालत विराटनगरको फैसला उल्टी बदर गरी अभियोग दाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, अभियोगपत्रमा वादी नेपाल सरकारले यी प्रतिवादीउपर हाडनाता करणीको महलको २(१) को आधारमा जबरजस्ती करणी महलको २ नं.बमोजिम थप सजायको दाबी लिएको देखिन्छ । वारदात भएको भनिएको मिति २०७२।४।४ मा प्रचलनमा रहेको हाडनाता करणी गर्नेको महलको २ नं. मा “देहायमा लेखिएको नाताकी स्वास्नीमानिसको करणी गर्नेलाई तीन वर्षदेखि छ वर्षसम्म कैद हुन्छ” भन्ने र सोही नं.को देहाय १ मा “आफ्नो हाडको नातामा आफ्नी सौतेनी आमा, हाँगा नफाटेकोमा जतिसुकै पुस्ता भए पनि हाँगा फाटेकोमा तीन पुस्तासम्मका बज्यु, आफ्ना छोराकी स्वास्नी छोरा बुहारी, आफ्ना हाँगामा जतिसुकै पुस्ताको छोरा सन्तान भए पनि त्यस्ता छोरा सन्तानकी स्वास्नी वा छोरी, आफ्ना एकै बाबुबाट जन्मेका भाइकी स्वास्नी भाइ बुहारी, आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाइकी छोरी वा छोरा बुहारी, आफ्नो एकै बाबुबाट जन्मेका दाजु भाइका छोराकी छोरी वा छोरा बुहारी, आफ्ना एकै बाजेबाट जन्मेकी दिदी वा बहिनी वा आफ्ना एकै बाजेबाट जन्मेका दाजु वा भाइकी छोरी वा त्यस्तो भाइकी स्वास्नी” भन्ने र वारदातपछि मिति २०७२।६।१४ मा संशोधित हाडनाता करणी गर्नेको २ नं. मा “देहायका नाताबिच करणी लिने दिनेलाई देहायबमोजिम सजाय हुन्छ” भन्ने तथा सोही नं.को देहाय १ नं. मा “सौतेनी आमा-छोरा, एकै हाँगाको ससुरा-बुहारी, बाजे-नातिनी वा पनातिनी, जेठाजु-भाइबुहारी वा देवर भाउजूबिच करणी लिने दिनेलाई चार वर्षदेखि छ वर्षसम्म कैद हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ भने हाडनाता करणी गर्नेको महलको अन्य नम्बरमा समेत मामाकी छोरी र फुपूको छोराबिच करणी लिनु दिनु गरेकोमा यति नै सजाय हुन्छ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको पाइँदैन ।
४. यसरी हाडनाता सम्बन्धमा सजाय गर्न बनेको तत्काल प्रचलित मुलुकी ऐन, हाडनाता गर्नेको महलमा प्रस्टरूपमा मामाको छोरी र फुपूको छोरा हाडनाता हो भनी नभनेको अवस्थामा जबरजस्ती करणीको अभियोग लागी कसुर ठहर भई सजायसमेत भएका यी प्रतिवादीलाई प्रयोग हुनै नसक्ने कानूनको दफा लगाएर पेस भएको अभियोगको आधारमा कुनै कानूनले यही भनेको होला भनी अनुमानको भरमा हाडनाता जस्तो फौजदारी मुद्दामा दोषी ठहर गरी सजाय गर्न प्रचलित कानून एवं न्याय र फौजदारी कानूनका सामान्य सिद्धान्तसमेतले मिल्ने देखिँदैन ।
५. जहाँसम्म यस अदालतबाट प्रत्यर्थी झिकाउँदा मुलुकी ऐन, हाडनाता करणीको महलको २ नं.को देहाय (४) मा रहेको कानूनी व्यवस्थाको सन्दर्भमा उच्च अदालतको फैसला फरक पर्न सक्ने भनी लिइएको आधार छ सो आधारका सन्दर्भमा हेर्दा उल्लिखित हाडनाता करणीको महलको २ नं. को देहाय (४) मा “माथि दफा १, २, र ३ मा लेखिएदेखि बाहेक अन्य नाताका बिच करणी लिने दिनेलाई नाता विचार गरी तीन महिनादेखि एक वर्षसम्म कैद हुन्छ” भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रतिवादीलाई उल्लिखत कानूनबमोजिम सजाय हुनुपर्ने भन्ने वादी नेपाल सरकारको अभियोग दाबी एवं पुनरावेदन जिकिरसमेत रहेको देखिँदैन । यस्तै उल्लिखित हाडनाता करणीको महलको २ नं. को देहाय (४) को कानूनी व्यवस्था प्रस्तुत मुद्दामा भएको वारदात मिति २०७२।४।४ भन्दा पछि मिति २०७२।६।१४ मा संशोधित कानूनले थप गरेको देखिन्छ । तसर्थ, अभियोग दाबी नै नलिएको विषयमा र वारदात मितिभन्दा पछि भएको संशोधनले थप गरेको कानूनी व्यवस्थाका आधारमा अघि भएको वारदातमा सजाय गर्न फौजदारी न्यायका सिद्धान्त एवं कानूनतः मिल्ने देखिँदैन । यसैगरी उक्त कानूनमा संशोधन भई त्यस्तो व्यवस्थामा विधायिकाले नै थप व्यवस्था गरिसकेको परिप्रेक्षमा सो सम्बन्धमा थप विश्लेषण गरिरहनु परेन ।
६. यसप्रकार अभियोग दाबीमा उल्लेखै नभएको, वारदात भएको समयमा प्रचलनमा नरहेको र मामाको छोरी र फुपूको छोरा करणी लिन दिन हुँदैन भनी स्पष्टरूपमा उल्लेख नभएको मुलुकी ऐन, हाडनाता करणीको महलको २ नं. को देहाय (४) मा रहेको कानूनी व्यवस्थाको सन्दर्भमा उच्च अदालतको फैसला फरक पर्न सक्ने भनी यस अदालतबाट प्रत्यर्थी झिकाउँदा लिइएको आधारसँग यो इजलास सहमत हुन सकेन ।
७. तसर्थ माथि उल्लिखित विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादी केशव गिरीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं.को कसुरमा सोही महलको ३(१) बमोजिम दश वर्ष कैद हुने, सोही ऐन, हाडनाता करणीको महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजाय हुने र प्रतिवादीबाट पीडिताले रू.५०,०००।- क्षतिपूर्ति पाउने ठहर्याइ भएको सुरू फैसलामा प्रतिवादीलाई हाडनाता करणीको महलको २ नं.बमोजिम थप तीन वर्ष कैद सजाय हुने ठहर गरेको हदसम्मको सुरू फैसला केही उल्टी गरी हाडनाता करणीको महलको २ नं.बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग दाबी नपुग्ने गरी उच्च अदालत विराटनगरबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.प्रकाशमान सिंह राउत
इजलास अधिकृतः केदारप्रसाद गौतम
इति संवत् २०७७ साल असार ११ गते रोज ५ शुभम् ।