शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२६९ - लागु औष‍ध चरेश

भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११

निर्णय नं. ८२६९     फागुन, २०६६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०५८ सालको फौ.पु.नं.२८७८, २८७९

फैसला मितिः २०६६।६।२७।३

 

मुद्दा :लागू औषध चरेश ।

 

पुनरावेदक प्रतिवादीः जिल्ला झापा, पांचगाछी गा.वि.स. वडा नं. १ घर भई हाल काठमाडौँ      जिल्ला              का.म.न.पा. वडा नं. ७ वस्ने धनकुमारी सिटौला

विरुद्ध

प्रत्यर्थी वादीः प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार

     

पुनरावेदक प्रतिवादीः जिल्ला सिन्धुली सिन्द्धेश्वर गा.वि.स. वडा नं. ६ घर भई हाल      काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. ७ वस्ने लक्ष्मण बराल

विरुद्ध

प्रत्यर्थी वादीः प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार    

                               

शुरु फैसला गर्नेः

मा.जि.न्या. श्री मोहनकृष्ण खनाल

पुनरावेदन फेसला गर्नेः

मा.मु.न्या. श्री खिलराज रेग्मी

मा.न्या श्री दामोदर प्रसाद प्रजापती

 

§  बयानका क्रममा राजीखुशीविना शारीरिक यातना दिइएको अवस्थामा प्रहरीसमक्ष गरिएको पूर्ण वा आंशिक सावित बयान स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यस्ता बयानलाई बिवादरहित प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ।

(प्रकरण नं.४)

§  एउटै बरामदी मुचुल्कामा सहिछाप गर्ने कुनै व्यक्तिलाई मुद्दा नै नचलाइनु र कसैलाई चलाइने पर्याप्त आधार के हो सो अभियोगमा केही उल्लेख नै छैन । लागू औषध चरेससम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा छ भन्दैमा हर अवस्थामा हरेक मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय होइन । सबै प्रमाणबाट प्रतिवादीहरू निर्दोष देखिने स्थिति छ भने सोको विरुद्ध आफुले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनु पर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई इन्कार गर्न मिल्दैन । यस्तो फितलो, मनोगत र अनुमानका आधारमा लिएको दावीबाट मात्र यी प्रतिवादीहरूले कसूर गरेको ठहर गर्न कानून र न्यायसंगत नहुने ।

(प्रकरण नं.९)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ताहरू श्री डिल्ली मैनाली, डा.श्री रंजित प्रधानाङ्ग

प्रत्यर्थी वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई

अवलम्वित नजीरः नेकाप २०६१ अङ्क १ नि.नं.७३२२ पृ.१११

सम्बद्ध कानूनः

§  लागू औषध ऐन, २०३३ को दफा ४(क),   १४(१) घ (५)१६ अ.बं.१९० नं.

§  प्रमाण ऐन, २०३१ को दफा ९(२)(क)(२)

 

फैसला

      न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः-

      काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ३४ नयां वानेश्वर स्थित कर्म बुढाको डेरा कोठामा चरेश लुकाई राखी खरीद विक्री गर्न लागिरहेका छन् भन्ने सुराकीको आधारमा घर धनी तथा निज कर्म बुढालाई जानकारी दिई घर भित्र प्रवेश गरी हेर्दा उक्त कोठामा कर्मा वुढा, धनकुमारी सिटौला, लक्ष्मण राज बराल र दीपक वुढा समेत वसी रहेको अवस्थामा खानतलासी गर्दा पांच वटा कार्टुनमा चरेशको लप्साहरू भएको उक्त चरेशलाई एकै ठाउमा राखी तत्कालै तौल गर्दा ९९ के.जी. भएकोले वरामद गरी निजहरू चारै जनालाई पक्राउ समेत गरिएको भन्ने मिति २०५३।१।१४ को बरामदी मुचुल्का ।

      बरामद भएको लागू औषध चरेश ९९ के.जि. तथा लागू औषध चरेशको कारोवार गर्ने कर्मा बुढा लगायत धनकुमारी सिटौला, दीपक वुढा र लक्ष्मणराज बराल समेतलाई प्रतिवेदन साथ दाखिल गरेका छौं । कानूनबमोजिम कारवाही गरिपाऊँ  भन्ने समेत व्यहोराको मिति ०५३।१।१४ को प्रहरी प्रतिवेदन ।

      बरामद भएको ९९ किलो चरेश मेरो डेरा कोठाबाट बरामद भएको हो । बरामदी मुचुल्कामा भएको दस्तखत मैले गरेको मेरो नै  हो । आज भन्दा केहि वर्ष अगाडि लागू औषध चरेश मुद्दामा जि.प्र.का. काठमाडौँको प्रहरी हिरासतमा वस्दा चिनजान भएकी सीता वुढाथोकी मार्फत् धनकुमारी सिटौला र लक्ष्मण राज बरालसँग चिनजान भएको हो । मिति ०५३।१।१४ मा काका नाता पर्ने छिरिङले लागू औषध चरेश लिई मेरो कोठामा राखी गए । त्यसपछि धनकुमारी सिटौला र लक्ष्मण वराल मेरो कोठामा आए । त्यसै बखत लागू औषध खरीद गर्ने भनी ५।६ जना मानिस आए । तिनीहरू प्रहरी रहेको कुरा पछि तिनीहरूलाई ५ कार्टुन ९९ के.जी. चरेश वरामद गरी पक्राउ गर्दा थाहा भयो । भाई नाताको दीपक पासपोर्ट बनाई अरब जान भनी सहयोग माग्न म कहां आएको हो, निजलाई लागू औषध चरेशको वारेमा केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी कर्मा भन्ने करमपुरा बुढा मगरले मिति २०५३।१।२७ मा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      बरामद भएको लागू औषध चरेश म समेत बसिरहेको बखत दिदी कर्मा बुढा मगरको कोठाबाट बरामद भएको हो । म विदेश अरब जान भनी काठमाडौँ आएको हुं । विदेश जाने विषयमा कुराकानी गर्न र सहयोग माग्न म त्यहां पुगेको थिए । मलाई लागू औषध चरेश  बारे केही थाहा छैन । धनकुमारी सिटौला, लक्ष्मण वराललाई पक्राउ परेकै दिनमा दिदिको कोठामा देखे चिनेको हो । काका छिरिङ भन्नेलाई पनि म चिन्दिन । दिदीको कोठाबाट हिड्न लाग्दा दिदिले एक छिन बस गाडीमा माल लोड गरिदिनु भनेकोले बसेको हुं । माल भनेको चरेश भनी दिदीले पनि नभनेको र मलाई पनि उक्त लोड गर्नुपर्ने माल चरेश हो भन्ने पनि थाहा थिएन भन्ने समेत व्यहोराको दीपक बुढा मगरले अधिकार प्राप्त अधिकारीसमक्ष मिति २०५३।१।२७ मा गरेको वयान।

      बरामद भएको लागू औषध चरेश म समेत बसिरहेको अवस्थामा कर्मा वुढा मगरको कोठाबाट वरामद भएको हो । वरामदी मुचुल्कामा भएको दस्तखत मेरै हो । सीता बुढाथोकी मार्फत् मेरो चिनजान कर्मा बुढा मगर सँग भएको हो । लक्ष्मण वराललाई पनि निज सीता बुढाथोकीले नै चिनाई दिएकी हुन् । मानिस बाहिर पठाउने क्रममा कर्मा बुढाको जेठाजु समेतलाई विदेश पठाउन मद्दत गरेपछि निज कर्मा वुढाको कोठामा आवतजावत गर्ने गरेकी हुं । सोही क्रममा  एक दिन लक्ष्मण राज वरालसँग भेट हुँदा चरेश खरीद गर्ने मानिस पाए खोजी गर्नुहोस् फाइदा भए बाँडौला भनेकोले आर्थिक फाईदा हुने ठानी खरीद गर्ने मानिस खोज्ने क्रममा सुन्धारामा एक जना महिलासँग भेट भई निजले भने मुताविक लक्ष्मण राज वराललाई खवर गरेकी हुं । साझा भेट हुने सल्लाहअनुसार कर्मा बुढाको कोठामा जांदा लागू औषध खरीद गर्ने भनी ५।६ जना मानिस आई सोध्दा भान्सा कोठामा छ भनी देखाएपछि निजहरूले हामी प्रहरी हौ भनी लागू औषध चरेश वरामद गरि म समेतलाई पक्राउ गरेको हो भन्ने समेत व्यहोराको धनकुमारी सिटौलाले अधिकार प्राप्त अधिकारीसमक्ष मिति २०५३।१।२७ मा गरेको बयान ।

      वरामद भएको लागू औषध चरेश म समेत बसिरहेको बखत कर्मा बुढा मगरको कोठाबाट वरामद भएको हो । गाउकी साथी सीता बुढाथोकी मार्फत् कर्मा बुढामगर तथा निजको श्रीमान प्रकाश बुढामगर सँग चिनजान भएको  हो । सुकदेव संञ्याल र होमबहादुर के.सी. ले कुमार शर्मा भन्ने एक जना साथीले चरेश विदेश लाने जर्मनी मानिस छ सामान खोज तिमीलाई पनि फाइदा हुन्छ भनेकाले कर्मा बुढा तथा निजको श्रीमान मार्फत् चरेश फेला पार्नसक्ने सम्भावना देखि निजकोमा जाने आउने गरेको हुं । निजहरू मार्फत् छिरिङ लामा भन्ने व्यक्तिसँग भेट भई चरेश उपलव्ध गराउने र किन्ने सहमति भएको थियो । पछि जर्मन लागे भन्ने मानिस फेला नपरेको कारण म समेतले धनकुमारी सिटौलालाई खरीद गर्ने मानिस खोजी गर्न भनेको हो । खरीद गर्ने मानिस फेला परेपछि कर्मा वुढा मगरको कोठामा भेला भएको बखत खरीद गर्ने मानिस भनी आएका ५।६ जना प्रहरीले लागू  औषध सहित मलाई पनि पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणराज वरालले अधिकार प्राप्त अधिकारीसमक्ष मिति २०५३।१।२७ मा गरेको बयान ।

      आजभन्दा करिव २ वर्ष अगाडिदेखि जग्गा खरीद विक्री गर्ने क्रममा कुमार शर्मासँग चिनजान भएको हो । सुकदेव सञ्ज्यालसँग बास खरीद गर्न गाउँ जादा चिनजान भएको हो । मैले चिनेको कुमार शर्माले चरेश खोज विदेश जर्मन लाने मानिस चिनेको छु फाइदा हुन्छ भनेको छ भनी भनेको हो त्यसपछि निज सुकदेव मार्फत् लक्ष्मणराज वरालसँग चिनजान भयो । चरेश फेला परेको कुरा सुकदेवले भने पश्चात् मैले कुमार शर्मालाई भने । सुकदेवले लक्ष्मण राज वराललाई रु.६५,०००।एडभान्स दिई पठाएपछि ९९ के.जी. चरेश दिने निश्चय भयो । पछि कुमार शर्मा भेट नभएको कुरा सुकदेव र लक्ष्मण वराललाई भनेपछि चरेश खरीद गर्ने अर्कै मानिस खोज्नु पर्दछ तिमीले पनि खोज भन्दा चरेश खरीद गर्ने मानिस खोज्न लागेको हुं । यस्तैमा खरीद गर्ने मानिस फेला परेको कुरा थाहा पाई सुकदेवसँग सुन्धारा जाँदा धनकुमारी सिटौला भन्ने आईमाईले १ जना महिला र ४।५ जना लोग्ने मानिसहरूलाई देखाई खरीद गर्ने मानिसहरू हुन भनी चिनाई दिएपछि चरेश कर्मा वुढाकोमा ल्याउने र सवै त्यहां भेला  भई मोल गरी वेच्ने सल्लाह भए मुताविक त्यहां जाँदा म समेत पक्राउ परेको हुं भन्ने समेत व्यहोराको प्रतिवादी होमबहादुर के.सी. ले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

      दीपक वुढा मगर मेरो ज्वाई नाता पर्ने हुन । निजको आर्थिक स्थिति कमजोर भएका कारण सहयोग गरी अरव पठाईदिने विचारले काठमाडौँ वोलाएको हुं । ०५३।१।१४ मा निज दिपकले दिदी करमपुरा वुढाको डेरामा पुर्‍याईदिन भनेकोले मैले नै विरमान वुढालाई अह्याई पुर्‍याई दिन भनेको हुं । निज पछि मेरो घर फर्की  आएनन् । पछि प्रहरीले पक्राउ गरे भन्ने कुरा सुनेको हुं भन्ने समेत व्यहोराको वुझिएका वलमान पुनले मिति ०५३।२।१५ मा गरी दिएको कागज ।   

      वलमान पुनले मलाई तिमीले दीपकलाई उसको दिदीकोमा पुर्‍याई देउ भनेकोले पुर्‍याई दिएको हुं । निज पुग्ने वित्तिकै त्यस्तो कारोवारमा संलग्न भए भन्ने शंका सम्म पनि लाग्दैन । धनकुमारी सिटौला समेतलाई चिन्दिन प्रहरीले निजहरूलाई चरेश कारोवारमा पक्राउ गरेको भन्ने कुरा सुनेको हो भन्ने समेत व्यहोराको वुझिएका मानिस बीरमान वुढाले मिति ०५३।२।१५ मा गरि दिएको कागज ।

      प्रतिवादी करमपुरा बुढामगर, धनकुमारी सिटौला, लक्ष्मण राज वराल, होमबहादुर के.सी., सुकदेव सन्ज्याल, कुमार शर्मा, प्रकाश वुढामगर, छिरिङ लामा, छिरिङ लामाको साथी र नाम थाहा नभएको जर्मन नागरिकले लागू औषध नियन्त्रण ऐन २०३३ (संशोधन सहितको) को दफा ४ (क) अनुसारको कसूर अपराध गरेकोले प्रतिवादी कुमार शर्मा, सुकदेव सञ्ज्याल, प्रकाश वुढा मगर, धनकुमारी सिटौला, लक्ष्मण राज बराल, होमबहादुर के.सि. लाई ऐ. ऐनको दफा १४ (१) को (घ) को (५) अनुसार हदैसम्म कारवाही भै सजाय हुन र प्रतिवादी कर्मा भन्ने करमपुरा बुढा मगरले पहिला पटक १ वर्ष कैद र रु. ५०००। जरीवानाको सजाय पाएको देखिएकाले यस मुद्दामा दोश्रा पटक कायम गरी ऐ. ऐनको दफा १४(१) को (घ) को (५) र दफा १६ अनुसार थप सजाय समेत हुन माग दावी लिइएको छ । पक्राउ परेका मध्ये प्रतिवादी दीपक बुढा मगरलाई पछि बुझ्दै जादा चलाउनु पर्ने देखिएमा छुट्टै दावी लिने गरी हाल मुद्दा नचलाई हाजिर जमानिमा छाड्ने निर्णय गरिएको साथै पक्राउ हुन नसकेका प्रतिवादीहरू प्रकाश बुढा मगर, सुकदेव सञ्ज्याल, कुमार शर्माको नाउमा कानूनबमोजिम हुन र स्पष्ट नाम, थर, वतन नखुलेका प्रतिवादी छिरिङ लामा, छिरिङको साथी र जर्मनि नागरिकको हकमा पछि पक्राउ परी नाम थर वतन खुलेको बखत छुट्टै अभियोग पेश गरिने व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

      प्रहरीले कुटपीट र डरत्रासबाट इच्छा विना, पढी वाची समेत नसुनाई सहिछाप गराएको हुँदा उक्त मुचुल्कामा उल्लेख भएको ९९ के.जी. चरेश तथा उक्त वयानमा लेखिएअनुसारको कसूर अपराध मैले गरेको छैन । अन्य अभियुक्तहरूलाई म चिन्दिन । निजले किन मेरो नाम लेखाई वयान गरे थाहा छैन । वरामद भएको चरेश कहांबाट आएको थाहा छैन । सुकदेवलाई मैले रु.१५००। नदिएकोले मिति २०५३।१।१४ मा निज सुकदेवले मलाई प्रहरी ल्याई पक्राउ गरेका हुन् । कसूर अपराध नगरेकाले सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी होमबहादुर के.सी.ले मिति ०५३।३।१७ मा अदालतमा गरेको बयान ।

      वरामदी मुचुल्का सम्बन्धमा मलाई केही थाहा छैन । मलाई ववरमहलबाट पक्राउ गरिएको हो । प्रहरीमा भएको बयान मेरो इच्छाविरुद्धको  हो । अन्य अभियुक्तहरूलाई म चिन्दिन, निजहरूले मेरो नाम किन उल्लेख गरे थाहा छैन । मैले कसूर नगरेकोले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको धनकुमारी सिटौलाले मिति २०५५।३।१७ मा अदालतमा गरेको वयान ।

      वरामदी मुचुल्कामा उल्लेख भएअनुसारको चरेश मेरो काका छिरीङ लामाले कागजको कार्टुन जस्तो सामान ल्याई एकै छिन पछि लागिहाल्छु भनेकाले दुई वटा कोठा हुँदा सानो कोठामा राख भनेको सम्म हो निज गएको १५ मिनेट पछि प्रहरीहरू आई मलाई पक्राउ गरी लगेको हो । पक्राउ पर्नुअघि सो कागजको कार्टुन भित्र चरेश छ भन्ने मलाई थाहा थिएन । प्रहरीमा भएको वयान मेरो इच्छा विरुद्ध डर त्रास देखाई सहिछाप गराएको हुँदा उक्त  वयान तथा अभियोगपत्रमा उल्लेख भएअनुसार मबाट लागू औषधसम्बन्धी कुनै कसूर अपराध समेत भए गरेको छैन । अन्य अभियुक्तहरूलाई मैले चिनेको छैन ।  अभियोग पत्र अनुसार कुनै अपराध मैले गरेको छैन । तसर्थ मलाई सजाय हुनुपर्ने होइन । यसअघि लागू औषध मुद्दामा १ वर्ष कैद तथा ५०००। जरीवाना हुने गरी फैसला भई सजाय पाएको छु भन्ने समेत व्यहोरा उल्लेख गरी प्रतिवादी कर्मा भन्ने करमपुरा वुढामगरले मिति २०५३।३।१७ मा अदालतमा गरेको वयान ।

      मेरो रोहवरमा चरेश वरामद भएको होइन । प्रहरीले कहांबाट ल्याए थाहा छैन । प्रहरीमा भएको वयान मेरो इच्छा विरुद्ध गराई मेरो सहिछाप सम्म गराएकोले वयानमा उल्लेख भएअनुसार मैले कुनै अपराध गरेको होइन । अन्य अभियुक्तहरूसँग मेरो चिनजान नहुनुको साथै रिसइवी समेत नहुंदा किन नभएको कुरा उल्लेख गरी वयान गरे थाहा छैनवयान गर्ने नै जानुन । मैले कसूर अपराध नगरेकोले सफाइ पाउनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणराज वरालले अदालतसमक्ष गरेको बयान ।

      मैले लागू औषध चरेशको कारोवार गरेको छैन । मलाई किन अभियोग लगाईएकोल हो, थाहा भएन । मैले अन्य प्रतिवादीहरू कसैलाई पनि चिन्दिन । उनीहरूले किन मेरो नाम उल्लेख गरे मलाई थाहा छैन । अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको म्यादी पूर्जिमा हाजिर भएका प्रतिवादी सुकदेव सन्ज्यालले मिति २०५३।१२।७ मा अदालतसमक्ष गरेको  वयान ।

      मेरी २ वटा श्रीमति छन् । कर्मा भन्ने करमपुरा वुढा मगर मेरी जेठी श्रीमती हुन् । म कान्छी श्रीमती सँग दाङमा नै वस्छु । कर्मा होजियारीमा काम गर्थिन् । मेले उनलाई लागू औषधको कारोवार गर्न लगाएको पनि छैन । मैले लागू औषध भनेको के हो ? चिनेको पनि छैन । अन्य अभियुक्तहरू कसैलाई पनि चिन्दिन । म ०५३।१।१४ गते वम्वईमा एकजना दाईलाई साउदी अरब पठाउन गएको थिए । अभियोग मागबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रकाश वुढामगरले गरेको बयान ।

      सुकदेव सन्ज्याल सरल मान्छे हुनुहुन्छ । चालचलन राम्रो छ । खेती किसानी गर्ने मानिस हो । लागू औषध कारोवार गर्ने मान्छे होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुकदेव सन्ज्यालका साक्षीहरू राधेश्याम खड्का र देवीप्रसाद  पुडासैनीले गरेको बकपत्र ।

      होम ब. के.सी. सुकदेव सन्ज्यालसँग हिडेको मलाई थाहा छैन । होमबहादुरलाई पक्रेको दिन वेलुका निज मसँग थिए । वेलुका खाना खाएपछि निजलाई पक्रेको हो । सुकदेवलाई निजले रु.१,५००। तिर्नुछ भनेर भन्थे । लागू औषधको कारोवार गर्ने मानिस होइन । निजको चाल चलन राम्रो छ भन्ने समेत व्यहोराको प्रतिवादी होमबहादुर के.सी. को साक्षी दीपबहादुर थापाले गरेको वकपत्र ।

      कर्मा वुढामगरको कोठामा छिरिङ लामाले उक्त सामान राखेको हो । उक्त सामान निजको होइन । छिरिङले सामान छोडेर गएपछि प्रहरीहरू आएर उक्त सामान निकाले । कर्मा निर्दोष छिन् भन्ने समेत व्यहोराको प्रतिवादी कर्मा भन्ने करमपुरा वुढामगरका साक्षी बलमान पुन र रामदास खाम मगरले गरेको बकपत्र ।

      लक्ष्मण वरालको आर्थिक अवस्थामा आफ्नो व्यवहार चलाउन पुग्ने छ । लागू औषधको कारोवार गर्नुपर्ने खालको छैन । चाल चलन समेत राम्रो छ । निजले लागू औषध खरीद विक्री गर्ने काम गरेको जस्तो लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणराज वरालको साक्षी वावुराम भटृराई र चक्रमान श्रेष्ठले गरेको  वकपत्र ।

      ०५३।१।१४ गते पदमकन्या क्याम्पस अगाडि वेलुका ४,५ वजेतिर धनकुमारी सिटौलासँग भेट भएको थियो । त्यहांबाट छुटृी उनी ववरमहल गइन । म डेरातिर लागेको हु । निजले लागू औषधको काम गरेकोमा मलाई विश्वास छैन भन्ने समेत व्यहोराको प्रतिवादी धनकुमारी सिटौटाको साक्षी छविलाल वलीले गरेको वकपत्र ।

      प्रकाशको श्रीमती कर्मापुरा वुढामगरलाई चिन्दछु । निज पनि लागू औषधको कारोवार गर्ने खालका मानिस होइनन । निज प्रकाश ०५३।१।१४ गते स्वयं मसँग वसेकाले निज निर्दोष छन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रकाश वुढामगरका साक्षी ओम प्रकाश वुढामगरले गरेको वकपत्र।

      म्यादी पूर्जिको म्याद गुजारी वस्ने कुमार शर्माको हकमा पछि हाजिर भएमा वा अवस्था नाघेपछि कानूनबमोजिम हुने गरी हाललाई अ.वं. १९० नं. बमोजिम मुल्तवी रहने ठहर्छ । प्रतिवादी करम पुरा वुढामगरको हकमा निजले अभियोग दावीअनुसारको कसूर गरेको ठहर्छ । निजलाई लागू औषध नियन्त्रण ऐन२०३३ को दफा १४(१)(घ) को (५) अनुसार दुई (२) वर्ष कैद र रु. २५०००। जरीवाना हुने ठहर्छ । निजले यसभन्दा अगाडि पनि लागू औषधमा सजाय पाई सकेको भन्ने देखिदा ऐ. ऐनको दफा १६ अनुसार कैद महिना ६ र जरीवाना रु. ५०००। समेत थप हुने ठहर्छ । अन्य प्रतिवादीहरू प्रकाश वुढामगर, लक्ष्मणराज वराल, धनकुमारी सिटौला, होमबहादुर के.सी., सुकदेव सन्ज्यालको हकमा निजहरूले कसूर गरेको हुन् भन्ने कुरा शंकारहित तवरले प्रमाणित गर्न सकेको समेत नदेखिएको हुँदा निजहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०५४।६।१५ को फैसला ।

      बरामदी मुचुल्का हुँदा कर्मा वुढा, धनकुमारी सिटौला र लक्ष्मण राज वराल समेत रोहवरमा वसेकोमा सो वरामदी मुचुल्काकै आधारमा प्रतिवादी कर्मा वुढामगरलाई दावीबमोजिम सजाय गरिएको र समान प्रकृतिका प्रत्यर्थी प्रतिवादीहरूलाई सफाइ दिएको  का.जिअ.को फैसलामा गम्भीर त्रुटि छ । प्रत्यर्थी प्रतिवादीहरू मौकामा पक्राउ परेका र अधिकार प्राप्त अधिकारीसमक्ष वयान गर्दा लागू औषध विक्री वितरण गरी नाफा भएको रकम बाँडी खाने भनी पूर्व सल्लाहबमोजिम निजहरू प्रतिवादी कर्मा वुढाको घरमा गएको अवस्थामा लागू औषध सहित वरामद गरी पक्राउ परेको भनी साविती भएको अवस्था एकातिर छ भने प्रतिवादीहरूको अधिकार प्राप्त अधिकारीसमक्ष भएको सावितीलाई वरामदी मुचुल्काले समर्थन गरिरहेको अर्कोतर्फ देखिन्छ । यस्तो अवस्थामा पनि प्रतिवादीहरू प्रकाश वुढामगर, लक्ष्मणराज बराल, धनकुमारी सिटौला, होमबहादुर के.सी, सुकेदव सन्ज्याल समेतलाई सफाइ दिने गरी भएको शुरु फैसला उल्टी गरी शुरु अभियोग पत्र माग दावीबमोजिम प्रत्यर्थी प्रतिवादीहरूलाई सजाय गरिपाऊँ  भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फवााट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन ।

      यसमा लागू औषध चरेश वरामद भएको अवस्था सोही ठाउंमा पक्राउ परेका र अधिकार प्राप्त अधिकारीसमक्ष वयान गर्दासमेत कसूरमा सावित भएका अवस्थाका प्रतिवादीलाई सफाइ दिने गरी भएको शुरुको फैसला फरक पर्न सक्ने देखिदा छलफलको लागि अ.वं.२०२ नं. बमोजिम विपक्षीहरूको स्थायी वतनमा सूचना तामेल गरि झिकाई आए वा अवस्था पूरा भएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०५७।१।१२ को आदेश

      प्रतिवादीहरू लक्ष्मण वराल र धनकुमारी सिटौला ०५३।१।१४ को ९९ किलो चरेश प्रतिवादी कर्मा वुढामगरको डेराबाट वरामद भएको वरामदी मुचुल्कामा समेत रोहवरमा वसेको र उक्त कुरा अधिकार प्राप्त अधिकारीसमक्ष समेत स्वीकार गरेको त्यस्तै गरी अदालतमा इन्कार रही वयान गरे तापनि लागू औषध ऐनको दफा १२ बमोजिम इन्कारीको प्रमाणको भार ती प्रतिवादीहरूले पुरा गर्न सकेको नदेखिएको र वरामदी मुचुल्का रीतपूर्वककै देखिदा प्र. लक्ष्मण वराल र प्र. धनकुमारी समेत दावी बमोजिम लागू औषध कारोवारमा संलग्न रहे भएकै देखिन आयो । तसर्थ शुरुले प्र. लक्ष्मण वराल र प्र. धनकुमारी सिटौलालाई सफाइ दिने ठहर्‍याएको इन्साफ उल्टी भै निजहरू समेतले दावीबमोजिम कसूर गरेको ठहर्छ । निजहरूलाई लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ) को ५ बमोजिम दुई वर्ष कैद र रु. १५,०००। पन्ध्र हजार जरीवाना समेत हुने ठहर्छ । अन्य प्रतिवादीहरू मध्ये प्र. प्रकाश वुढा मगर, होमबहादुर के.सी र सुकदेव सन्ज्यालको हकमा निजहरूबाट लागू औषध वरामद भएको नदेखिनु, वारदातस्थलमा पक्राउ परेको नदेखिनुका साथै निजहरूको इन्कारी वयान समेतको आधारबाट निहरूको संलग्नता पुष्टि नभइरहेको देखिदा सफाइ दिने ठहर्‍याएको मिलेकै देखिदा सो हदसम्म पुनरावेदक वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । शुरुको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५८।५।४ को फैसला ।

      अनुसन्धान अधिकारीसमक्षको बयान कुटपीट गरी गराएको हुँदा सो बयानलाई मात्र आधार बनाउन मिल्दैन । वादी पक्षले म समेतबाट लागू औषध बरामद भएको र वारदात स्थलमा पक्राउ गरेको भन्ने ठोस् सबूद प्रमाण गुजार्न सकेको छैन । वादी पक्षका मुख्य गवाहहरू लागू औषध वरामद भएको भनिएको स्थानको घरधनी अमरबहादुर सुनुवार तथा मौकामा कागज गर्नेहरूलाई अदालतमा बकपत्र  गर्न उपस्थित गराउन सकेको छैन । त्यस्तैगरी बलमान पुन, वीरमान बुढा समेतले मौकामा कागज गर्दा धनकुमारी सिटौलालाई चिन्दिन भनी कागज गरिदिएका छन् । वरामदी मुचुल्काका मानिसहरू अदालतमा आई बकपत्र नगर्दासम्म म समेतको विरुद्ध प्रमाण लाग्न सक्दैन । पुनरावेदन अदालतबाट अरुलाई सफाइ दिदा निजहरूबाट लागू औषध वरामद समेत नभएको, वारदात स्थलमा पक्राउ नपरेको हुँदा सफाइ पाउने ठहर्छ भनी निर्णयाधार बनाएको पाइन्छ यस्तो अवस्थामा म वारदात स्थलमा पक्राउ नपरेको र मेरो साथबाट लागू औषध वरामद नभएको अवस्थामा कसूरदार कायम गर्ने गरेको फैसला आफैमा विरोधाभाष छ । लागू औषधको कारोवारमा संलग्न रहेको कहि कतै पुष्टि नै नभएको अवस्थामा समेत म विरुद्ध कसूर कायम गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भै बदरभागी छ । अतः पुनरावेदन अदालतको उक्त फैसला उल्टी गरी शुरु काठमाडौँ जिल्ला अदालतको फैसला सदर कायम गर्ने गरी न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी धनकुमारी सिटौलाको यस अदालतमा परेको पुनरावेदन ।

      मेरो साथबाट लागू औषध वरामद नभएको र मलाई वारदातस्थलमा पक्राउ गरेको पनि होइन । बरामदी मुचुल्कामा प्रहरीले कुटपीट गरी जवरजस्ती सहिछाप गर्न लगाएको व्यहोरा मैले अदालतमा वयान गर्दा उल्लेख गर्दै घां जाच गरिपाऊँ भनी निवेदन दिएको मिसिल संलग्न नै छ । बरामदी मुचुल्का कानूनको रीत नपुगेको प्रमाणमा लिन नमिल्ने छ । बरामदी मुचुल्काका मानिसहरूको बकपत्र समेत नभएको अवस्थामा सोलाई मेरो विरुद्ध अकाट्य प्रमाणको रुपमा लिई कसूरदार ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । जुन निर्णयाधार लिई अरु प्रतिवादीहरूलाई सफाइ दिइएको छ उक्त अवस्था मेरो हकमा समेत रहेको मिसिल संलग्न सबूद प्रमाणबाट प्रष्ट देखिदादेखिदै पनि मलाई कसूरदार ठहर गरेको फैसला प्रत्यक्ष त्रुटिपूर्ण छ । प्र.कर्मा बुढाद्वारा खुलेको एक जना छिरिङ भन्ने मानिसलाई अनुसन्धानकै क्रममा छोडेको अवस्था छ भने वरामद हुँदा पक्राउ परेको भनिएका दीपक वुढामगरलाई मुद्दा नै नचलाई छाडेको अवस्था  छ । तसर्थ विना आधार प्रमाण मलाई दोषी ठहर गरी सजाय समेत गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी शुरु काठमाडौँ जिल्ला अदालतको फैसला सदर कायम गर्ने गरी न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मणराज वरालको यस अदालतमा परेको पुनरावेदन ।

      यसमा पुनरावेदक प्रतिवादीहरू अदालतसमक्षको वयानमा कसूरमा इन्कार रही वयान गरेको तथा प्रहरीमा गरेको बयान स्वेच्छाको होइन भनी घाउ जांच परीक्षण समेतको जिकीरलिएको देखिन्छ । प्रतिवादी करमा भन्ने करमपुरा बुढामगरले यी पुनरावेदक प्रतिवादीहरू समेतको संलग्नतामा लागू औषध कारोवार गर्न लागेको अवस्थामा बरामद भएको नभनी म एक्लै कोठामा पक्राउ परेपछि वाहिर मलाई ल्याउदा बाटोमा निजहरूलाई पक्राउ गरेको हो भन्ने जिकीर लिई अदालतमा बयान गरेको देखिएको अवस्थामा सबूद प्रमाणको मूल्याङ्कनको रोहमा पुनरावेदन अदालत पाटनबाट यी पुनरावेदकहरूको हकमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ) को (५) अनुसार सजाय गर्ने गरेको फैसला फरक पर्नसक्ने देखिँदा अ.वं. २०२ नं.बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०६४।१०।१३ मा भएको आदेश ।

नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी लक्ष्मणराज बरालका तर्फबाट विद्वान अधिवक्ता श्री डिल्ली मैनाली, डा.श्री रंजित प्रधानाङ्ग र विद्वान वरिष्ठ अधिवक्ता तथा प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राईले प्रस्तुत गर्नुभयो ।

पुनरावेदकतर्फबाट विद्वान अधिवक्ताहरू तथा वरिष्ठ अधिवक्ताले अधिकार प्राप्त अधिकारीसमक्षको बयानलाई आधार मान्ने हो भने सफाइ पाएका प्रतिवादीहरू सावित छन । बरामदी मुचुल्कामा रोहवरमा बसेको कर्मा बुढामगर आफै मात्र संलग्न छु भनी सावित भई अन्यलाई पोलेका छैनन् । लागू औषध चरेस वरामद भएको अवस्थामा रोहवरमा रहेको आधार लिइएको छ । त्यो त्रुटिपूर्ण छ । रोहवरमा हाम्रो पक्ष उपस्थित छैन तर पछिबाट सही गराइएको सो बरामदी मुचुल्का लागू औषध ऐन, २०३३ को दफा १२ बमोजिम पुनरावेदकको विरुद्धमा आकर्षित हुन सक्दैन । कर्मा बुढालाई ठहर गर्दा मेरो पक्षलाई एउटै बास्केटमा हालिएको छ त्यो गलत छ । कुटपीट गरी बयान कागज गराइएको र घाउ जाँच गरिपाऊँ भनी अदालतमा म्याद थप गर्दा निवेदन गरी बीर अस्पतालबाट घाउ जाँच भएको र सो जाँचमा घाउ चोट देखिएको छ । कुटपीटबाट गराइएको बयान प्रमाणमा लिन नमिल्नेमा प्रमाणमा लिइएको र बरामदी मुचुल्काका मानिसलाई झिकाई बकपत्र गरी दावी प्रमाणित गर्न नसकेको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी दावीबाट सफाइ पाउनु पर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

प्रत्यर्थी नेपाल सरकारको तर्फबाट विद्वान उपन्यायाधिवक्ताले ९९ के.जीं लागू औषध चरेसको परिमाणलाई सामान्य मान्नु हुँदैन । यो व्यावसायिक किसिमबाट गरिएको कार्य हो । अरु अपराध जस्तो एउटै व्यक्तिबाट हुने होइन । यो सांगठित अपराध भएको र यसको प्रकृति बाटो नेटवर्किङबाट सञ्चालन हुन्छ । धनकुमारी सिटौलालाई मानिस सम्पर्क गर्न पठाउँदा प्रहरीले पत्ता लगाई कर्मा बुढा मगरको घर खान तलासी गर्दा चरेश वरामद भएको र उक्त वारदातमा यी प्रतिवादीहरूको संलग्नता देखिएको प्रष्ट छ । मौकामा नै वरामद भएको छ । सुराकीको आधारमा थाहा पाई खरीद गछौं भनी प्रहरीहरू गई वरामद गरेको र मौकैमा यी प्रतिवादीहरू पक्राउ परेका हुँदा प्रतिवादीहरू कसूर होइनन् भन्न नमिल्ने हुँदा पुनरावेदन अदालत,को फैसला सदर हुनु पर्दछ भन्ने समेत बहस प्रस्तुत  गर्नुभयो ।

विद्वान कानून व्यवसायीहरू तथा उपन्यायाधिवक्ताहरूको बहस जिकीर सुनी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटको फैसला मिलेको छ छैन ? त्यस विषयमा निर्णय दिनुपर्ने देखियो ।

निर्णयतर्फ विचार गर्दा, प्रतिवादी कुमार शर्मा, सुकदेव सन्ज्याल, प्रकाश बुढामगर, धनकुमारी सिटौला, लक्ष्मणराज बराल र होमबहादुर के.सी.लाई लागू औषध ऐन, २०३३ को दफा ४(क) को कसूरमा ऐ.ऐनको दफा १४(१) घ (५) बमोजिम र प्रतिवादी कर्मा बुढा मगर भन्ने करम बुढा मगरलाई १४(१) घ) (५) र १६ अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग माग दावी भएकोमा, कुमार शर्माको हकमा अ.बं.१९० नं.बमोजिम मुल्तवी, र कर्मा बुढा मगरलाई उक्त ऐनको दफा १४(१)(घ), (५) र १६ बमोजिम सजाय र अन्य प्रतिवादीहरू प्रकाश बुढा मगर, लक्ष्मणराज बराल, धनकुमारी सिटौला, होमबहादुर के.सी., सुकदेव सन्ज्यालको हकमा आरोपित कसूरबाट सफाइ पाउने ठहर गरेको शुरुको इन्साफ केही उल्टी गरी प्रतिवादीमध्ये लक्ष्मणराज वराल र धनकुमारी सिटौलालाई दावीबमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसलाउपर प्रतिवादी धनकुमारी सिटौला र लक्ष्मणराज बरालको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न बिषयमा निर्णय दिनुपर्ने देखियोः

 

(क)   अभियोग माग दावी बमोजिम प्रतिवादीहरूले कसूर गरेका हुन होइनन् र दावीबमोजिम निजहरूलाई सजाय हुनुपर्ने हो, होइन ?

(ख)   पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ छैन ?

 

२.    पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी कर्मा भन्ने करम बुढा मगरलाई अभियोग माग दावी बमोजिम कसूर गरेको ठहराएको शुरुको इन्साफ सदर गरेको हकमा कर्मा भन्ने करम बुढा मगरको र दावीबाट सफाइ पाउने ठहर भएका प्रतिवादीमध्ये प्रकाश बुढामगर, होमबहादुर के.सी., सुकदेव न्ज्यालका हकमा पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको नदेखिंदा निजहरूको हकमा प्रस्तुत मुद्दाबाट केही बोलिरहन परेन ।

३.    अव लक्ष्मणराज बराल र धनकुमारी सिटौला समेतलाई लागू औषध ऐन, २०३३ को दफा १४(१)(घ) ५ बमोजिम सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, पाटनको फैसलाउपर कर्मा बुढाले कसूर आफूले मात्र गरेको भनी स्वीकार गरी हामीलाई पोलसम्म नगरेको र वेरीतको बरामदी मुचुल्का लागू औषध ऐन, २०३३ को दफा १२ बमोजिम हाम्रो विरुद्धमा आकर्षित हुन नसक्ने र प्रहरीमा भएको बयान राजिखुशीले गरेको नभई कुटपीटबाट गराएको र अदालतको आदेशबमोजिम घाँ जाँच समेत भएको हुँदा उक्त बयान हाम्रो विरुद्ध लाग्न सक्दैन भन्ने नै प्रतिवादीहरूको पुनरावेदन जिकीर रहेको छ ।

४.    कर्मा भन्ने करम बुढा मगरको घर कोठाबाट लागू औषध चरेस ९९ के.जी. वरामद भएको तथ्यमा बिवाद छैन अव उक्त वारदातमा यी प्रतिवादीहरूको संलग्नता छ छैन भन्नेतर्फ विचार गर्दा अनुसन्धान अधिकारीसमक्ष कसूरमा सावित भई बयान गरेको देखिएपनि अदालतमा बयान गर्दा बरामदी मुचुल्का सम्बन्धमा केही थाहा छैन । कसूर नगरेको र प्रहरीमा भएको बयान राजीखुशी विना कुटपीट गरी बयान गराएको हो भनी कसूर गरेमा इन्कार रही बयान गरेको देखिन्छ । कुटपीट गरी बयान गराएको हुँदा घाउ जाँच गराई पाऊँ भनी अदालतमा म्याद थप हुँदा प्रतिवादी धनकुमारी सिटौला र लक्ष्मणराज बरालले निवेदन दिई अदालतको आदेशबमोजिम निजहरूको बीर अस्पतालमा जाँच भएको भन्ने तथ्य बीर अस्पतालको मिति २०५३।१।२३ को जाँच प्रतिवेदनबाट देखिन्छ । बयानको क्रममा निजहरू माथि शारीरिक यातना दिइएको भन्ने तथ्य उक्त जाँच प्रतिवेदनले समेत पुष्टि गर्दछ । बयानका क्रममा निज प्रतिवादीहरूको राजीखुशीविना शारीरिक यातना दिइएको देखिएको अवस्थामा प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक सावित बयान स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यस्ता बयानलाई बिवादरहित प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन ।

५.    प्रमाण ऐन, २०३१ को दफा   ९(२)(क)(२) बमोजिम निजलाई वाध्य गरी वा निज वा अरु कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरुद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन भन्ने सो अवस्थामा मात्र कुनै अभियुक्तले निजलाई लगाइएको अभियेग सम्बन्धमा अदालत वाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ । सो देखि वाहेक अभियोग लागेको व्यक्तिलाई शारीरिक तथा मानसिक यातना, डरत्रास, धम्की दिई आफ्नो इच्छा विरुद्ध व्यक्त गर्ने स्थिति पारेको देखिएमा त्यस्तो बयानलाई अदालतले प्रमणामा नलिन सक्छ ।

६.    प्रहरीमा भएको साविती बयान अन्य स्वतन्त्र प्रमाणबाट पुपिट नभएसम्म त्यस्तो सावितिलाई आधार मानी कसूरदार ठहराउन नमिल्ने भनी यस अदालतबाट यसअघि धेरै नै मुद्दामा सिद्धान्तहरू प्रतिपादन भइसकेका र स्थापित मान्यता तथा फौजदारी न्यायको मान्य सिद्धान्त पनि त्यही नै हो ।

७.    प्रतिवादी कर्मा भन्ने करम बुढा मगरले अदालतमा बयान गर्दा सवाल जवाफ ४ मा म एक्लै कोठामा चरेश सहित पक्राउ परेको हुँ पक्राउ गरी बाहिर मलाई ल्याउँदा बाटोमा यी पुनरावेदक प्रतिवादीहरूलाई पक्राउ गरेको हो । निजहरूसँग मेरो कुनै सम्बन्ध नरहेको, चिनजान समेत छैन । बरामदी मुचुल्कामा निजहरूको सही कसरी भयो र नगरेको कसूरमा प्रहरी सावित हुनु नपर्ने कसरी साविति भए सो कुरामा आफू अन्जान रहेको भनी अदालतमा बयान गरेको पाइन्छ । उक्त बयानमा यी प्रतिवादी धनकुमारी सिटौला र लक्ष्मणराज बराललाई पोलसम्म गरेको अवस्था छैन । प्रतिवादी धनकुमारी सिटौलाका साक्षी छविलाल ओली लक्ष्मणराज बरालको साक्षी बाबुराम भट्टराई र चक्रमान श्रेष्ठले यी प्रतिवादीहरूले कसूर गरेका होइनन भनी बकपत्र गरेका छन् भने वादी पक्षले बरामदी मुचुल्का तयार गर्ने प्रतिवेदकहरूलाई पनि उपस्थित गराई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम सो बरामदी मुचुल्काको आधिकारिकता पुष्टि हुने गरी बकपत्र गराउन सकेको समेत पाइदैन ।

८.    यी दुबै जना प्रतिवादीहरूको सँगसाथबाट लागू औषध चरेस वरामद भएको देखिदैन । प्रतिवादी कर्मा भन्ने करम बुढामगरको घर डेराबाट उक्त लागू औषध चरेस वरामद भएको र उक्त वरामदी लागू औषध चरेस काका कर्मा छिरिङले ल्याई आफ्नो कोठामा राखेको र यी प्रतिवादीहरूको उक्त कार्यमा कुनै संलग्नता छैन भनी सहअभियुक्त कर्मा भन्ने करम बुढामगरले अनुसन्धान अधिकारी र अदालतमा बयान गरेको र आफैले मात्र कसूर गरेको भनी स्वीकार गरेको देखिँदा बरामदी मुचुल्कामा सही गराई उपस्थित देखिएकै कारण आरोपित कसूरमा यी प्रतिवादीहरूको पनि संलग्नता छ भनी शंका गरी कसूरदार कायम गर्न मिल्दैन ।

९.    दीपक बुढा मगर समेत बरामदी मुचुल्कामा रहेकोमा निजउपर र कर्मा भन्ने करम बुढा मगरले लागू औषध चरेस कर्मा छिरिङको हो भनी बयान गरेकोमा ती व्यक्ति माथि अभियोजन पक्षले दावी नै लिएको पाइदैन । एउटै बरामदी मुचुल्कामा सहिछाप गर्ने कुनै व्यक्तिलाई मुद्दा नै नचलाइनु र कसैलाई चलाइने प्रयाप्त आधार के हो सो अभियोगमा केही उल्लेख नै छैन । लागू औषध चरेससम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा छ भन्दैमा हर अवस्थामा हरेक मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय होइन । सबै प्रमाणबाट प्रतिवादीहरू निर्दोष देखिने स्थिति छ भने सोको विरुद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउन पर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई इन्कार गर्न मिल्दैन । यस्तो फितलो, मनोगत र अनुमानका आधारमा लिएको दावीबाट मात्र यी प्रतिवादीहरूले कसूर गरेको ठहर गर्न कानून र न्यायसंगत हुदैन । मुख्य अभियुक्त कर्मा भन्ने करम बुढा मगरले पनि पोल नगरेको र बरामदी मुचुल्कामा उपस्थित देखिनु नै Circumstantial evidence हो भनी वादी लिइएको छ । तर प्रतिवादीहरूबाट दशी वरामद भएको छैन । निजहरू विरुद्ध कुनै साक्षी प्रमाण छैन । यस्तो अवस्थामा यी पुनरावेदकहरू उपर लगाइएको अभियोगको आधार र सबूद प्रमाणको अभावमा लागू औषध चरेस जस्तो गम्भीर अपराधमा सजाय गर्न मिल्दैन ।

१०.    लागू औषध चरेस वरामद हुँदाका अवस्थामा एउटै घरमा उपस्थिति देखिनु एक मात्र प्रमाण होइन । त्यसको लागि अन्य सबूद प्रमाणले समर्थित हुनुपर्दछ । यसै सन्दर्भमा प्रहरीले गाडी सर्च गरेपछि मात्र लागू औषध चरेस रहेको थाहा पाउने पुनरावेदक प्रतिवादीहरू एउटै गाडीमासँगै गएको कारणले मात्र कसूरदार नदेखिने, प्रतिवादीहरूलाई आफू सवार रहेको कारमा लागू औषध चरेस रहेको भन्ने पूर्ण जानकारी रहेको भन्ने कुराको प्रमाण नदेखिएको र अपराधमा संलग्न रहेको भन्ने ठोस र खम्बीर प्रमाणको अभावमा कसूर गरेको ठहर्‍याउन नमिल्नेभनी नेकाप २०६१ अङ्क १ नि.नं.७३२२ पृ.१११ पुनरावेदक सूर्यबहादुर स्याङताङ विरुद्ध नेपाल सरकार भएको फौ.पु.नं.२९५१ को लागू औषध चरेस मुद्दामा यस अदालतबाट सिद्धान्त प्रतिपादन भइसकेको छ । उक्त सिद्धान्तका आधारमा समेत प्रतिवादी कर्मा भन्ने करम बुढामगरको डेरा कोठामा लागू औषध चरेस छ भन्ने कुरा यी प्रतिवादीहरूलाई पूर्वानुमान नभएको र खानतलासी भई वरामद हुँदा लागू औषध चरेस भन्ने जानकारी भएको अवस्थामा सो घरमा उपस्थित देखिएि पनि सोही आधारमा यी प्रतिवादीहरू उपर कसूर कायम हुन सक्दैन ।

११.    अतः लागू औषध चरेस खरीद बिक्री ओसारपसार, सञ्चय गर्ने लगायतका कुनै पनि आपराधिक कार्य प्रतिवादीहरू धनकुमारी सिटौला र लक्ष्मणराज बरालबाट भएको नदेखिंदा दावीबमोजिम कसूर गरेको देखिन नआएकोले शुरुको फैसला केही उल्टी गरी दावीबमोजिम कसूर गरेको ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०५८।५।४ को फैसला मिलेको नदेखिँदा उक्त फैसला यी पुनरावेदकहरूको हकमा उल्टी भई प्रतिवादीहरू धनकुमारी सिटौला र लक्ष्मणराज बरालले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नु ।

 

तपसील

 

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०५८।५।४ को फैसला उल्टी भई प्रतिवादीहरू धनकुमारी सिटौला र लक्ष्मणराज बरालले अभियोग दावीबाट सफाइ पाउने ठहरी फैसला भएकोले पुनरावेदन अदालत, पाटनको फैसलाको तपसील खण्डको प्रकरण १ मा राखेको लगत कायम नहरने हुँदा उक्त लगत कट्टा गर्नु भनी पुनरावेदन अदालत, पाटनमा लेखी पठाई दिनू–––

प्रतिवादी धनकुमारी सिटौलाले अभियोग दावीबाट सफाइ पाउने ठहर भए तापनि निजले यस अदालतबाट तोकी पाएको मिति २०६२।१।१४ गतेदेखिको तारेख गुजारी बसेको देखिँदा निजले जरीवाना रु.१५,०००। र.नं.१०६५४ बाट र कैदको हकमा रु.१४,०००। र.नं.६८६१ बाट मिति २०५८।९।१९ मा यस अदालतमा धरौटी राखेको मुलुकी ऐन, अ.वं. १२४ न.. बमोजिम जफत हुन्छ । जरीवाना र धरौटिवापतको रकम रु.२९,०००। सदरस्याहा गर्नु भनी यस अदालतको लेखा शाखामा लेखी पठाई दिनु––

प्रतिवादी लक्ष्मणराज बरालले पुनरावेदन गर्दा निजले जरीवाना रु.१५,०००। र.नं.१०६५५ बाट र कैदको हकमा रु.१४,०००। र.नं.६८६२ बाट मिति २०५८।९।१९ मा यस अदालतमा धरौटी राखेृको देखिंदा जरीवाना र धरौटी बापतको रकम रु.२९,०००। निजले फिर्ता पाउने हुँदा दण्ड सजायको ५१ नं.को म्याद भित्रमानिवेदन दिएमा फिर्ता दिनु भनी यस अदालतको लेखा शाखामा लेखी पठाई दिनु––

 

प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनु––––

 

उक्त रायमा म सहमत छु ।

 

न्या.ताहिर अली अन्सारी

 

इति संवत् २०६६ साल असोज २७ गते रोज ३ शुभम्

 

इजलास अधिकृतदीपक ढकाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु