निर्णय नं. १०५७६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
फैसला मिति : २०७६।१०।२९
०७२-CR-०५६०
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक / वादी : फुर्दिकी शेर्पाको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला भोजपुर, साङपाङ गाउँ विकास समिति वडा नं.६ बस्ने लाक्पा शेर्पाको श्रीमती दाछिकी शेर्पा
अपराध हुनलाई अभियुक्तले मृतकलाई मार्ने मनसाय राखेको र मर्नेसम्मको कार्य गरेको स्थापित हुनुपर्छ । मनसायअर्न्तगत मृतक मर्न सक्ने परिणामको पूर्वानुमान र अनुमान गरेअनुसार नै मरोस् भन्ने परिणामको इच्छा अभियुक्तले राखेको थियो भन्ने कुरा निर्विवाद तथ्यबाट पुष्टि हुनुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नरबहादुर पराजुली
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भुपाल बस्नेत
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री कृपासुर कार्की
भोजपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय मुख्य न्यायाधीश श्री बलराम विष्ट
माननीय न्यायाधीश श्री राजकुमार वन
पुनरावेदन अदालत धनकुटा
फैसला
न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत धनकुटाको मिति २०७२।३।७ को फैसलाउपर पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:-
तथ्य खण्ड
भोजपुर जिल्ला साङपाङ गाउँ विकास समिति वडा नं.६ तीनतले स्थित पूर्वमा दानुरी शेर्पाको आवादी बारी, पश्चिममा भोजपुर सदरमुकामबाट दिङ्गला बजार आवतजावत गर्ने कच्ची मोटर बाटो, उत्तरमा शेर्पा सङ्घको नाममा रहेको खाली जग्गा, दक्षिणमा रूद्राक्ष तारे भिर सामुदायिक वन यति चार किल्लाभित्र रहेको मृतक फुर्वा शेर्पाको ढुङ्गा र माटोले बनेको दुई तले कच्ची घरभित्र मृतक फुर्वा शेर्पा पूर्व टाउको पश्चिमतर्फ खुट्टा पारी उत्तानो परी मृत अवस्थामा रहेको र निजको छातीमा उपचारको क्रममा चिरिएको पुरानो घाउको खत रहेको भन्नेसमेत बेहोराको चार किल्लासहितको मिति २०७१।८।७ को घटनास्थल लासजाँच मुचुल्का ।
मिति २०७१।८।५ गते १७:०० बजेको समयमा अभियुक्तको भाइ दावा शेर्पालाई अभियुक्त दाछिकी शेर्पा घरमा श्रीमान् नभएको अवस्थामा अन्य परपुरूषसँग हिँड्डुल गर्ने गरेकी हुँदा दिदीलाई सम्झाई बुझाई गर्नु भनी मेरो श्रीमान्ले भनेकाले निजले आफ्नै दिदी दाछिकी शेर्पालाई गाली गरेछन्, सोही कारणबाट निज अभियुक्तले २०७१।८।६ गते बेलुका १८:०० बजेको समयमा फोनबाट हाल घटनास्थल भनिएको घरमा म जाहेरवालीको श्रीमान्लाई बोलाई भाग्न, उम्कन नदिई, छातीमा समाई, हातपात, लछारपछार पारी मेरो बेइज्जत गर्ने तँलाई आज नमारी छाड्दिन भनी लात्ता, मुक्का र आगो फुक्ने प्लाष्टिकको पोलिथिनको पाइपको ढुङ्ग्रीले शरीरको यत्र-तत्र भाग तथा छातीसमेतमा प्रहार गरी सख्त घाइते बनाएको र सोही चोटपीरका कारण मेरो श्रीमान् फुर्वा शेर्पाको मिति २०७१।८।७ गते बिहान १०:०० बजेको समयमा घरमा नै मृत्यु भएको हुँदा निज प्रतिवादी दाछिकी शेर्पालाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७१।८।८ मा फुर्दिकी शेर्पाले जिल्ला प्रहरी कार्यालय भोजपुरमा दिएको जाहेरी दरखास्त ।
Most probable cause of death could be Endo-myocardial Pathology भन्नेसमेत बेहोरा उल्लेख गरिएको भोजपुर जिल्ला अस्पतालबाट मिति २०७१।८।८ मा भएको मृतक फुर्वा शेर्पाको शव परीक्षण प्रतिवेदन ।
प्रतिवादी दाछिकी शेर्पा, फुर्वा शेर्पा र मसमेत छिमेकी हौं । घर पनि एकै ठाउँमा जोडिएको छ, वारदात भएको मिति २०७१।८।६ गते साँझ १८:०० बजेको समयमा दाछिकी शेर्पाको घरछेउमा पानीको धारा रहेको हुँदा खानेपानी लिन भनी निजको घर हुँदै जाँदा दाछिकी शेर्पाको घरभित्र फुर्वा शेर्पा र दाछिकी शेर्पाबिच वादविवाद झगडा गरेको सुनी के भएछ भनी घरभित्र पसी हेर्दा दाछिकी शेर्पाले हातमा नालाको आगो फुक्ने ढुङ्ग्री लिई तँलाई नमारी छाड्दिन भनी फुर्वा शेर्पालाई घोची लछारपछार गरी मेरो बेइज्जत गर्ने भनी तान्दै गाली गर्दै तँलाई खुकुरीले नकाटी छाड्दिन भनी कराउँदै गरेको देखी अब मार्छिन् होला भन्ने लागी निम्दिकी शेर्पाले ढुङ्ग्री खोसी फुर्वा शेर्पालाई घर जानु भनी दाछिकी शेर्पालाई गालीगलौज नगर भनी सम्झाउँदा दाछिकी शेर्पाले नमानी भुइँमा ढुङ्ग्री प्रहार गरी नमारी छाड्दिन भन्दै धम्की दिएकी र फुर्वा शेर्पा आफ्नो घरतर्फ जाँदै गर्दा हातमा ढुंग्री लिई फुर्वा शेर्पालाई खेद्दै जाँदा दाछिकी शेर्पा धारामा चिप्लेर लडेकी मैले देखेकी हुँ । फुर्वा शेर्पाको शारीरिक अवस्था कमजोर भएको र निज बिरामी भई अप्रेसनसमेत गरेकोले ढुङ्ग्रीले घोची लछारपछार गर्दा अप्रेसन गरेको छातीमा पीडा भई सोही कारणबाट फुर्वा शेर्पाको मृत्यु भएको हो, जाहेरवाली तथा प्रतिवादीबिच पहिलेदेखि नै पूर्वरिसइवी भई वादविवाद भइरहन्थ्यो भन्नेसमेत बेहोराको मिति २०७१।८।१२ मा शारदा रायमाझीले मौकामा गरेको घटना विवरण कागज ।
फुर्वा शेर्पा नातामा मेरो मामा पर्नुहुन्छ । मिति २०७१।८।६ गते १८:०० बजेको समयमा म धारामा खुट्टा धोइरहेको अवस्थामा प्रतिवादीको घरमा मामा र दाछिकी शेर्पाको बिचमा वादविवाद भएको सुनी प्रतिवादीको घरमा गई मामाले तिमी आफूखुसी घर छाडेर परपुरूषसँग किन हिँडेकी भनी भन्दै गर्दा प्रतिवादीले के-कोसँग म हाटबजार गएँ, टुङ्गो लगा, नत्र ठीक हुँदैन भनी दाछिकी शेर्पाले हातमा नालाको आगो फुक्ने ढुङ्ग्रीले छाती र जिउ, शरीरमा घोची लछारपछार गर्दैगर्दा मैले मामा बिरामी छन् यसरी हातपात लछारपछार नगर, ढुङ्ग्रीले नघोच मर्न सक्छन् भनी ढुङ्ग्री खोसेर घरभित्र फाली दिएँ, त्यसपछि दाछिकी शेर्पाले मग लिएर आफ्नो भाइलाई पनि मेरो बेइज्जत गर्ने भनी कुटपिट गरिन्, दुवैजनाको वादविवाद हुँदै गर्दा तँलाई नमारी छाड्दिन भनी फुर्वा शेर्पालाई गालीगलौज गरी लछारपछार गरी ठेलाठेल गर्दै रहिन् र मैले तिमीहरू दुवैजना आ-आफ्नो घरमा जाउ भनी कराउँदा मामा घरतर्फ जाँदा निज दाछिकी शेर्पाले मामालाई लखेट्दै जाँदा धारामा लडेकी
हुन् । मामा बिरामी भई मुटुको अप्रेसन गरी सामान्य हिँड्डुल गर्ने गर्थे, मामाको छाती, जिउ, शरीरमा दाछिकी शेर्पाले नालाको आगो फुक्ने ढुङ्ग्रीले घोची लछारपछार गर्दा अप्रेसन गरेको छातीमा पीडा परेको र सोही कारणबाट मामाको मृत्यु भएको हो, मृतक र प्रतिवादी पहिलेदेखि नै झै-झगडा गर्ने गर्थे भन्नेसमेत बेहोराको मिति २०७१।८।१२ मा निम्दिकी शेर्पाले मौकामा गरेको घटना विवरण कागज ।
वारदात भएको मिति र समयमा म आफ्नै घरमा थिएँ, दाछिकी शेर्पाले गालीगलौज गरी कराउँदै चिच्याउँदै गरेको आवाज सुनी के-कोसँग विवाद भएछ भनी निज प्रतिवादीको घरमा गई हेर्दा दाछिकी शेर्पाले फुर्वा शेर्पालाई विभिन्न प्रकारको गालीगलौज गरी मेरो बेइज्जत गर्ने, टुङ्गो लगाउनुपर्छ भनी हातमा नालाको आगो फुक्ने ढुङ्ग्री लिई फुर्वा शेर्पाको छाती, जिउ र शरीरमा घोची लछारपछार गर्दै गरेको मैले देखेकी हुँ, निज प्रतिवादीले हातमा लिएको ढुङ्ग्री निम्दिकी शेर्पाले खोसी फाली दिएकी हुन् । निजले आफ्नै भाइ दाँते शेर्पालाई तैंले र फुर्वा शेर्पाले मेरो बेइज्जत गर्ने, टुङ्गो लगाउनुपर्छ भनी पानी खाने मगले हान्दै कराउँदै नमारी छाड्दिन भन्दै फुर्वा शेर्पालाई लछारपछार गर्दै छातीमा ठेलाठेल गरेकी
हुन् । फुर्वा शेर्पा आफ्नो घरतर्फ जाँदा पनि प्रतिवादीले फुर्वा शेर्पालाई हातमा ढुङ्ग्री लिई लखेट्दै जाँदा निज दाछिकी शेर्पा चिप्लेर लडेकी हुन्, फुर्वा शेर्पा बिरामी भई मुटुको अप्रेसन गरी सामान्य हिँड्डुल गर्ने गरेको हुँदा दाछिकी शेर्पाले ढुङ्ग्रीले फुर्वा शेर्पाको छाती, जिउ, शरीरमा घोची लछारपछार गर्दा असर पर्न गई निजको मृत्यु भएको हो भन्नेसमेत बेहोराको मिति २०७१।८।१२ मा मन्जिता राई (शेर्पा) ले मौकामा गरेको घटना विवरण कागज ।
वारदात भएको मिति र समयमा म आफ्नै घरमा खाना पकाउँदै थिएँ, बाहिर झगडा भइरहेको थियो, घरको कामले गर्दा म बाहिर निस्किन भ्याइनँ, केही छिनपछि ठुलो स्वरले निम्दिकी शेर्पा कराएको सुनी के-कोसँग विवाद भएको रहेछ भनी घर बाहिर निस्की हेर्दा दाछिकी शेर्पाले फुर्वा शेर्पालाई विभिन्न प्रकारको गालीगलौज गरी खरेटो / कुचो हातमा बोकी मलाई टुङ्गो लगाई जिम्मा लगा भनी खरेटोले प्रहार गर्न लागेको देखी सो खरेटो / कुचो मैले खोसी फाली दिएकी हुँ । प्रतिवादीले आगो फुक्ने ढुङ्ग्रीले घोची लछारपछार गरी ठेलाठेलसमेत गरेकाले बिरामी मान्छेको शरीरमा अप्रेसन गरेको घाउमा पीडा पर्न गई सोही कारणबाट मृत्यु भएको हुँदा प्रतिवादीउपर कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको मिति २०७१।८।१२ मा रन्जिता तामाङले मौकामा गरेको घटना विवरण कागज ।
२०७१।८।६ गते १७:३० बजेको समयमा म आफ्नै घरमा थिएँ, सोही बेला मेरो सहोदर भाइ दावा शेर्पा मेरो घरमा आई मलाई भेटी तँ मुख छोपेर खड्ग पौडेलको मोटरसाइकलको पछाडि चढी दिङ्लाबजार गई राति नै फर्किएर आएको मामा फुर्वा शेर्पाले देखेको अरे, तँ किन रातिको समयमा परपुरूषसँग बजार गएकी भनी भाइले मलाई गाली गरेकाले म कहिले कोसँग बजार गएँ, कसले देख्यो भनी भाइसँग विवाद गरी टुङ्गो लगाउ भनी भाइलाई भन्दै गर्दा मामा नाताका फुर्वा शेर्पा सोही बेला मेरो घरमा आइपुगी के भयो भनी मलाई सोधे, तपाइँले खड्ग पौडेलको मोटरसाइकलमा चढी दिङ्लाबजार गई राति नै घर फर्किएको भन्ने आरोप लगाउनु भएछ टुङ्गो लगाउनुहोस् भनी मामा ससुरा फुर्वा शेर्पालाई भन्दा आइमाईको काम छैन भनी फुर्वा शेर्पाले मलाई भनेकोले तपाइँले टुङ्गो लगाउनुपर्छ, तपाइँ यहाँबाट घर जान पाउनुहुन्न भन्दा निजले राति गएर राति नै आएको कसले देख्छ भनी विवाद गर्न थाले, तपाइँको मैले दिनु लिनु छ भने भन्नुहोस् नत्र मेरो बेइज्जत गर्न पाउनुहुन्न भनी म चिच्याएर कराउँदै मेरो घरमा भएको मगले भुइँमा पछार्न थालेँ र भाइलाई नभएको कुरा किन गर्छस् भनी सोही मगले कुटपिट गरेँ र सोही अवस्थामा मेरो पतिलाई फोन गरी फोनमा बोल भनी फुर्वा शेर्पालाई बोल्न दिँदा म बोल्दिन भनी फुर्वा शेर्पा घरतिर जान लागेकोले नजानु भनी निजको ज्याकेटमा तानी बस्न लगाएकी हुँ । मैले आगो फुक्ने ढुङ्ग्री हातमा बोकेकोसम्म
हो । मैले ढुङ्ग्रीले घोची फुर्वा शेर्पालाई कुटपिट गरेको
होइन । मैले बोकेको ढुङ्ग्री मेरो हातबाट निम्दिकी शेर्पाले खोसी फाली दिएकी हुन् । फुर्वा शेर्पा आफ्नो घरतर्फ जान लाग्दा मैले टुङ्गो लगाएर मात्र जानुभन्दा समेत निज नबोली आफ्नो घरतर्फ गएकाले निजलाई टुङ्गो नलगाई जान पाउनुहुन्न भनी निजको पछाडि जाँदै गर्दा म आफैँ चिप्लेर लडेकी हुँ । मैले फुर्वा शेर्पालाई कुटपिट, लछारपछार गरी आगो फुक्ने ढुङ्ग्रीले घोची कर्तव्य गरी मारेको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दाछिकी शेर्पाले मिति २०७१।८।१६ मा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मृतक फुर्वा शेर्पा मेरो सहोदर बाबु हुन्, बाबु आजभन्दा ५/७ वर्षअगाडिदेखि मुटुको रोगी भएकाले अप्रेसनसमेत गरेको थियो, मिति २०७१।८।६ गते साँझ १८:०० बजेको समयमा म आफ्नो घरमा
थिएँ । मन्जिता राई (शेर्पा) ले मलाई फोन गरी दाछिकी शेर्पाले बाबुलाई गालीगलौज गरी घरमा आउन दिएकी छैनन्, छिटो लिन आउ भनी फोनबाट बोलाएकाले म प्रतिवादी दाछिकी शेर्पाको घरमा बाबुलाई लिन जाँदा दाछिकी शेर्पाले विभिन्न प्रकारका अश्लील शब्दले गालीगलौज गर्दै मेरो बदनाम भयो भने तँलाई पनि मान्छे लगाई मार्छु भनी आगो फुक्ने ढुङ्ग्रीले मेरो बाबुको छातीमा घोची लछारपछार गरी ठेलाठेल गरी हुत्याएको देखेँ । बाबु झन्डै लड्नुभयो । बाबु घरमा आउँदै गर्दासमेत दाछिकी शेर्पाले लौरो हातमा बोकी बाबुलाई लखेट्दै आउँदा आफैँ लडेकी हुन् । प्रतिवादीले मेरो अप्रेसन गरेको बाबुलाई छातीमा घोची लडाई कुटपिट गरेको कारण बाबुको मृत्यु भएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही होस् भन्नेसमेत बेहोराको मिति २०७१।८।१६ मा पेमा शेर्पाले मौकामा गरेको घटना विवरण कागज ।
मिति २०७१।८।७ को दिन म गाडीमा यात्रु लिई भोजपुरबाट दिङ्लाबजार जाँदै गर्दा बाटोमा जाहेरवालाको घर पर्ने भएकोले गाडी रोकी जाहेरवाली फुर्दिकी शेर्पा र निजकै पति फुर्वा शेर्पालाई खाजा नास्ता बनाउन लगाई गाडीमा चढेका यात्रुहरू सबैजनाले खाजा नास्ता खाई गाडी लिई जाँदै गर्दा बैदार भञ्ज्याङ्गमा पुगेपछि फुर्वा शेर्पा सिकिस्त बिरामी भएकाले छोरी पेमा शेर्पालाई ल्याइदिनु भनी फोनबाट भनेकोले गाडीमा रहेका यात्रुहरूलाई सोही ठाउँमा ओराली गाडी फर्काई पेमा शेर्पालाई फुर्वा शेर्पाको घरमा लिई आई फुर्वा शेर्पालाई हेर्दा निजको मृत्यु भइसकेको देखी निजको मृत्युको सम्बन्धमा बुझ्दा प्रतिवादी दाछिकी शेर्पाले मिति २०७१।८।६ गते बेलुकी १८:०० बजेको समयमा आगो फुक्ने ढुङ्ग्रीले घोची लछारपछार गरी, मुढाबाट लडाई घाइते बनाई दिएकाले सोही चोटबाट निज फुर्वा शेर्पाको मृत्यु भएको भन्ने जाहेरवाली र सारदा रायमाझी (शेर्पा) समेतले भनेकोले सुनी थाहा पाएको हुँदा प्रतिवादीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको आङदावा शेर्पा, फुर्वा शेर्पा (पिनास), प्रेमदोर्जी शेर्पा, दादोर्ची शेर्पा र निम्दिकी शेर्पा (नन्द) समेतले गरेको मिति २०७१।८।१८ को वस्तुस्थिति मुचुल्का कागज ।
मृतक मेरो फुपाजु तथा प्रतिवादी मेरी जेठी दिदी हुन् । मिति २०७१।८।५ मा म दिङ्लाबजारमा मेला जानको लागि घरबाट गाडी चढ्न फुर्वा शेर्पाको घर छेउमा गएको बेला निज फुर्वा शेर्पाले तिम्रो दिदी दाछिकी शेर्पा मुख छोपेर खड्ग पौडेलको मोटरसाइकलमा चढी बजार गई राति नै फर्की आएकी भनी मसँग भनेकाले भोलिपल्ट दिदी दाछिकी शेर्पाको घरमा गई दिदीलाई खड्ग पौडेलसँग बजार गएको बारेमा सोध्दा दिदी मसँग रिसाउँदै कसले भन्यो टुङ्गो लगाउ भन्दै कराउँदै गर्दा निज फुर्वा शेर्पा पनि सो स्थानमा आई किन कराएको भनी सोधपुछ गरेकाले दिदी र फुपाजुको बिचमा वादविवाद भएको हो । दिदीले आगो फुक्ने ढुङ्ग्रीले भुइँमा हिर्काएकी हुन् । दिदीले निज फुर्वा शेर्पाले लगाएको ज्याकेटमा तानेकीसम्म
हुन् । फुर्वा शेर्पालाई दिदीले आगो फुक्ने नालाको ढुङ्ग्रीले घोची लछारपछार पारी कुटपिट गरेको होइन भन्नेसमेत बेहोराको दावा भन्ने दाँते शेर्पाले मिति २०७१।८।२१ मा मौकामा गरेको घटना विवरण कागज ।
२०७१ साल आषाढ महिना, गते, बार थाहा भएन, मेरो निज दाछिकी शेर्पाको फुपू सासू मिङ्गमा शेर्पासँग भोजपुर बजारमा भेट भएको र निजले मेरी बुहारी भोजपुरमा पैसा निकाल्न आएकी छन्, बुहारीलाई घरसम्म लगी दिनु भनेकीले मैले निज दाछिकी शेर्पालाई मेरो मोटरसाइकलमा राखी घरसम्म पुर्याई दिएको हुँ, निज दाछिकी शेर्पा र फुर्वा शेर्पाबिच विवाद भएको भन्ने कुरा मैले रन्जिता तामाङसमेतबाट सुनी थाहा पाएको हुँ । मैले फुर्वा शेर्पालाई कुटपिट गरेको देखिन । मृतक फुर्वा शेर्पा मुटुको रोगी भएको हुँदा मैले तुम्लिङटारबाट औषधिसमेत ल्याइदिने गरेको थिएँ भन्नेसमेत बेहोराको खड्ग पौडेलले मिति २०७१।८।२४ मा मौकामा गरेको घटना विवरण कागज ।
प्रतिवादी दाछिकी शेर्पाले मिति २०७१।८।६ गते बेलुका १८:०० बजेको समयमा जिल्ला भोजपुर साङपाङ गाउँ विकास समिति वडा नं.६ स्थित आफ्नै घरआँगनमा मृतक फुर्वा शेर्पालाई बोलाई मृतकले निजलाई घरमा श्रीमान् नभएको अवस्थामा परपुरूषसँग हिँड्डुल गर्नु हुँदैन भनी अभिभावकको हैसियतले सम्झाई बुझाई गरेको विषयलाई लिएर विवाद गरी पूर्वरिसइवीसमेतका कारण निज प्रतिवादी दाछिकी शेर्पाले आफ्नो मामा नाता पर्ने जाहेरवालाको पति फुर्वा शेर्पालाई छातीमा समाई हातपात, लछारपछार गरी भाग्न उम्कनसमेत नदिई लात्ती, मुक्का तथा आगो फुक्ने प्लाष्टिकको पोलेथिन पाइपको ढुङ्ग्रीले शरीरको विभिन्न भाग तथा छातीसमेतमा प्रहार गरी रोपी, घोची घाइते बनाएको र सोही चोट पीडाबाट निज फुर्वा शेर्पाको मिति २०७१।८।७ गते बिहान मृत्यु भएको हुँदा प्रतिवादी दाछिकी शेर्पालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३ नं.को देहाय (३) नं.को कसुर अपराधमा सोही ऐनको सोही महलको १३ नं.को देहाय (३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको मिति २०७१।८।२५ को अभियोगपत्र मागदाबी ।
मिति २०७१।८।६ को दिन बेलुका ६:०० बजेको समयमा म सुँगुरलाई चारो पकाउँदै थिएँ । त्यही बेला मेरो भाइ मेरो घरमा आयो र मलाई आज तँ बजार गइस्, गइनस् भनी सोध्यो । मैले बजार गएकी छैन भनी हामी दिदीभाइबिच कुरा भइरहेको समयमा मृतक फुर्वा शेर्पा पनि मेरो घरमा आइपुगे निजले हामीहरूलाई के भयो भनी सोध्यो । मैले तपाइँले म बजार गएकी भनेर भाइलाई सुनाइदिनु भएछ किन यस्तो कुरा भनेको भन्दा निज फुर्वा शेर्पाले तीनतलेका आइमाइको काम छैन भनेकाले निजसँग सामान्य विवाद भएको हो । हामीहरूबिचमा विवाद भएको सुनी गाउँका मानिसहरू पनि आएका हुन् । विवाद हुँदाको समयमा रिसले मैले स्टिलको मग (जग) भुइँमा बजारेकी हुँ । मृतक फुर्वा शेर्पालाई मैले कुटपिट गरेकी हैन । मिति २०७१।८।७ को दिन मृतक फुर्वा शेर्पा ढोकामा लडेर मरेको भन्ने कुरा सुनेकी हुँ । मृतकको मृत्यु के-कसरी भयो मलाई थाहा भएन, निजसँग पहिला पनि सामान्य विवाद भएको थियो । आजकाल कुनै विवाद भएको थिएन । मृत्यु हुनुभन्दा अघिल्लो दिन मृतक फुर्वा शेर्पा र मेरोबिच सामान्य झगडा भएको कारण मलाई झुट्टा जाहेरी दिएको हो । मैले कुटपिट गरेर मृतकको मृत्यु भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दाछिकी शेर्पाले मिति २०७१।८।२६ मा सुरू जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीउपरको किटानी जाहेरी बेहोरा र सो जाहेरी बेहोरा समर्थन हुने गरी मौकामा भएको कागज र वस्तुस्थिति मुचुल्काका कागजसमेतका तत्काल प्राप्त मिसिल संलग्न तथ्य र प्रमाणबाट यी प्रतिवादी निर्दोष रहेको नदेखिई कसुरदार नै देखिएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा अ.बं.११८ नं.को देहाय २ बमोजिम निज प्रतिवादी दाछिकी शेर्पालाई पुर्पक्षको लागि थुनामा राखी प्रस्तुत मुद्दाको कारबाही अघि बढाउनु उचित देखिएकाले कानूनबमोजिमको सिधा खान पाउने गरी अ.बं.१२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय भोजपुरमा पठाइदिनु र अभियोग पत्रसाथ पेस भएको आगो फुक्ने प्लास्टिक पाइपको ढुङ्ग्री जिन्सीमा आम्दानी बाँध्नू । अभियोगपत्रको प्रमाण खण्डमा उल्लिखित जाहेरवालालगायत मौकामा बुझिएका र वस्तुस्थिति मुचुल्काका मानिसहरूलाई बकपत्र गराउनका लागि जिल्ला सरकारी वकिल कार्यालय, भोजपुरमार्फत उपस्थित गराइदिनु भनी मिति किटान गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा लेखी पठाउनु र प्रतिवादीले बयानमा लेखाएका साक्षीहरूलाई सोही मिति मिलान हुने गरी प्रतिवादीमार्फत उपस्थित गराई वादी प्रतिवादी दुवै पक्षका साक्षीहरूको बकपत्र गराउनु भनी सुरू जिल्ला अदालतबाट मिति २०७१।८।२८ मा भएको आदेश ।
प्रतिवादी दाछिकी शेर्पाले मृतक फुर्वा शेर्पालाई विभिन्न गालीगलौज गरी मेरो बेइज्जत गर्ने, टुङ्गो लगाउनु पर्छ भन्दै हातमा नालाको आगो फुक्ने ढुङ्ग्री लिई फुर्वा शेर्पाको छाती, जिउ, शरीरमा घोची लछारपछार पार्दै गरेको देखेकी हुँ, अनुसन्धान अधिकारीसमक्ष मौकामा भएको कागजको बेहोरा र सहीछाप मेरो हो भनी मौकामा कागज गर्ने मञ्जिता राई (शेर्पा) ले मिति २०७१।१०।५ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पाले हातपात गरेको कारणबाट मृतक फुर्वा शेर्पाको मृत्यु भएको हो, मौकामा गरेको वस्तुस्थिति मुचुल्का कागजको बेहोरा र सहीछाप मेरो हो भनी वस्तुस्थिति मुचुल्काका कागज गर्ने दादोर्ची शेर्पाले मिति २०७१।१०।५ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा वादविवाद भएको सुनी झगडा भएको ठाउँमा फुर्वा शेर्पाले मासु काट्ने अचानो बोकेको र प्रतिवादी दाछिकी शेर्पाले खरेटो बोकेको देखेकी हुँ । प्रतिवादी दाछिकी शेर्पाको हातबाट खरेटो मैले खोसेर फालिदिएकी हुँ । अनुसन्धान अधिकारीसमक्ष मौकामा भएको कागजको बेहोरा र सहीछाप मेरो हो भनी मौकामा कागज गर्ने रञ्जिता तामाङले मिति २०७१।१०।५ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाबिच वादविवाद, लछारपछार ठेलाठेल भएको देखेकी हुँ । प्रतिवादी दाछिकी शेर्पाको हातबाट मैले ढुङ्ग्री खोसेर फलिदिएकी हुँ । अनुसन्धान अधिकारीसमक्ष मौकामा भएको कागजको बेहोरा र सहीछाप मेरो हो भनी मौकामा कागज गर्ने निम्दिकी शेर्पाले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पासँग झगडा, वादविवाद, ठेलाठेल भएको र सोही चोटपीरका कारण मृतक फुर्वाको मृत्यु भएको भन्ने गाउँघरमा सुनेर थाहा पाएको हुँ । वस्तुस्थिति मुचुल्काको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो भनी वस्तुस्थिति मुचुल्कामा कागज गर्ने फुर्वा शेर्पाले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पाले मृतक फुर्वा शेर्पालाई आगो फुक्ने पाइपको ढुङ्ग्रीले घोची, कुटपिट गरी लछारपछार गरेको भन्ने गाउँघरका मानिसले भनेर सुनेको हुँ । वस्तुस्थिति मुचुल्काको कागजमा भएको बेहोरा र सहीछाप मेरो हो भनी वस्तुस्थिति मुचुल्काको कागज गर्ने आङदावा शेर्पाले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
वारदातको समयमा म आफ्नै घरमा थिएँ । प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा वादविवाद झगडा भएको होइन, मिति २०७१।८।१८ मा भएको वस्तुस्थिति मुचुल्का कागजमा भएको बेहोरा मेरो होइन, उक्त कागजको बेहोरा पढेर नसुनाई मलाई सहीछाप गराएको हो भनी वस्तुस्थिति मुचुल्काको कागज गर्ने प्रेम दोर्ची शेर्पाले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा वादविवाद भई झगडा हुँदा प्रतिवादी दाछिकी शेर्पाले पाइपको आगो फुक्ने ढुङ्ग्रीले फुर्वा शेर्पाको छातीमा घोचेको कारण मुटुको अप्रेसन गरेको मानिस भएकाले सोही पीडाले निज फुर्वा शेर्पाको मृत्यु भएको भन्ने सुनेकी हुँ । मौकामा भएको वस्तुस्थिति मुचुल्का कागजमा भएको बेहोरा र सहीछाप मेरो हो भनी वस्तुस्थिति मुचुल्काका कागज गर्ने निम्दिकी शेर्पाले मिति २०७१।१०।६ मा गरेको बकपत्र ।
मेरो पति फुर्वा शेर्पा र प्रतिवादी दाछिकी शेर्पाको बिचमा मिति २०७१।८।७ का दिन बेलुकी ६:३० बजेको समयमा वादविवाद भएको कुरा मेरो श्रीमान्ले सोही दिन बेलुकी मसँग भन्नुभएको हो, मैले कुटाकुट पनि भयो कि भनेर मेरो श्रीमान्लाई सोध्दा कुटाकुट भएन भनाभन मात्र भयो भन्नुभएको थियो । भोलिपल्ट बिहान मेरो श्रीमान्को मृत्यु भएपछि मेरो श्रीमान्लाई दाछिकी शेर्पाले पाइपको आगो फुक्ने ढुङ्ग्रीले कुटपिट गरी सोही ढुङ्ग्रीले छातीसमेतमा घोची दिएकी थिइन् भनी शारदा रायमाझीले भन्दा थाहा पाएकी हुँ । मेरो श्रीमान्लाई प्रतिवादी दाछिकी शेर्पाले अघिल्लो दिन पाइपको आगो फुक्ने ढुङ्ग्रीले कुटपिट गरी घोची घाइते बनाएको हुँदा सोही चोटको कारण मेरो श्रीमान्को मृत्यु भएको हो । मिति २०७१।८।८ मा दिएको जाहेरी दरखास्त बेहोरा र सहीछाप मेरो हो भनी जाहेरवाली फुर्दिकी शेर्पाले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मेरो बाबु फुर्वा शेर्पालाई प्रतिवादी दाछिकी शेर्पाले मिति २०७१।८।६ गते बेलुकी पाइपको आगो फुक्ने ढुङ्ग्रीले छातीमा घोच्दै कुटपिट गरेको मैले देखेकी हुँ । अघिल्लो दिन दाछिकी शेर्पाले पाइपको आगो फुक्ने ढुङ्ग्रीले छातीभित्र दख्खल पर्ने गरी घोची कुटपिट गरेका कारण भोलिपल्ट मेरो बाबुको मृत्यु भएको हो । अनुसन्धान अधिकारीसमक्ष मौकामा भएको कागजको बेहोरा र सहीछाप मेरो हो भनी मौकामा कागज गर्ने पेमा शेर्पाले आमा फुर्दिकी शेर्पाको रोहवरमा मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा मिति २०७१।८।६ गते बेलुकी सामान्य वादविवाद भएको हो, कुटपिट भएको
होइन । अनुसन्धान अधिकारीसमक्ष भएको कागजको बेहोरा पढी सुनाउँदा सुनेँ, उक्त कागजमा लेखिएको बेहोरामध्ये प्रतिवादी दाछिकी शेर्पाले खुकुरी बोकी तँलाई नमारी छाड्दिन भनी मृतक फुर्वा शेर्पालाई भनेकी भन्ने कुरा मैले भनेकी थिइनँ, उक्त मैले नभनेको कुरा लेखिएको रहेछ अन्य बेहोरा मेरो हो भनी मौकामा कागज गर्ने शारदा रायमाझी (शेर्पा) ले मिति २०७१।१०।६ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतक फुर्वा शेर्पालाई प्रतिवादी दाछिकी शेर्पाले कुटपिट गरेको होइन, फुर्वा शेर्पा र दाछिकी शेर्पाको बिचमा सामान्य विवादसम्म भएको हो । फुर्वा शेर्पा मुटुको रोगी भएका र निजको मुटुको अप्रेसनसमेत भएको र निजले डाक्टरको सल्लाहअनुसार नियमित औषधी सेवन नगरेको र मुख नबारी अत्यधिक मात्रामा रक्सी सेवन गर्ने गरेको कारण मुटुको रोगबाटै निज फुर्वा शेर्पाको आफ्नै कालगतिले मृत्यु भएको
हो । अनुसन्धान अधिकारीसमक्ष मिति २०७१।८।२४ मा गरेको कागजको बेहोरामा दाछिकी शेर्पाले फोन गरेको भनी भनेकी थिइन् । प्रतिवादी दाछिकी शेर्पाले फोन गरेको भनी लेखिएको बाहेक अन्य बेहोरा मेरो हो भनी मौकामा कागज गर्ने खड्गबहादुर पौडेलले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा कुटपिट भएको होइन । निजहरूको बिचमा सामान्य वादविवाद भएको भन्ने कुरा छिमेकीबाट सुनेको हुँ । मृतक फुर्वा शेर्पा मुटुको रोगी भएको हुँदा निजको मृत्यु निजलाई लागेको रोगको कारण आफ्नै कालगतिले भएको हो भनी प्रतिवादी दाछिकी शेर्पाका साक्षी निम्छिरी शेर्पाले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा वादविवाद भएको मिति र समयमा म प्रतिवादी दाछिकी शेर्पाको छिमेकी रञ्जिता तामाङको घरमा थिएँ । प्रतिवादी दाछिकी शेर्पाले मृतक फुर्वा शेर्पालाई कुटपिट गरेको होइन, निजहरूको बिचमा सामान्य भनाभनसम्म भएको हो । फुर्वा शेर्पा मुटुको रोगी भएका र अं.१० वर्षअगाडितिर निजको मुटुको अप्रेसनसमेत गरेको थियो, मृतक फुर्वा शेर्पाको मृत्यु मुटु रोगकै कारण आफ्नै कालगतिबाट भएको हो । प्रतिवादी दाछिकी शेर्पाले कुटपिट गरेर निजको मृत्यु भएको होइन भनी प्रतिवादी दाछिकी शेर्पाका साक्षी निम्दिकी शेर्पाले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा वादविवाद भएको भन्ने छरछिमेकबाट सुनी थाहा पाएकी हुँ । प्रतिवादी दाछिकी शेर्पाले मृतक फुर्वा शेर्पालाई कुटपिट गरेको होइन । मृतक फुर्वा शेर्पा पहिलादेखि नै मुटुको रोगी भएको हुँदा निजको मृत्यु सोही रोगको कारणबाट आफ्नै कालगतिले भएको हो । प्रतिवादी दाछिकी शेर्पासँग वादविवाद भएको कारणबाट निजको मृत्यु भएको होइन भनी प्रतिवादी दाछिकी शेर्पाका साक्षी पासाङदिकी शेर्पाले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पाले कुटपिट गरेको कारण मृतक फुर्वा शेर्पाको मृत्यु भएको होइन । मृतक फुर्वा शेर्पाको मृत्यु आफ्नै कालगतिबाट भएको हो भनी प्रतिवादी दाछिकी शेर्पाका साक्षी ङिमा शेर्पाले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा अघिल्लो दिन वादविवाद झगडा भएको भन्ने मलाई थाहा भएन । मृतक फुर्वा शेर्पाको मृत्यु अघिल्लो दिन कोही कसैसँग झगडा वादविवाद भएको कारणबाट भएको होइन । निजको मृत्यु आफ्नै कालगतिबाट भएको जस्तो लाग्छ भनी प्रतिवादी दाछिकी शेर्पाका साक्षी निमा शेर्पाले मिति २०७१।१०।८ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मौकामा कागज गर्ने प्रत्यक्षदर्शीका रूपमा रहेका मौकामा कागज गर्ने दावा भन्ने दाँते शेर्पाको बकपत्र भएको नदेखिएको हुँदा निजलगायत शव परीक्षण गर्ने डाक्टरहरू दिपेश परियार र दीक्षा खनाललाई नबुझी नहुने देखिएकाले निजहरूलाई अ.बं.११५ नं.बमोजिम बुझ्नु भन्ने सुरू जिल्ला अदालतबाट मिति २०७१।११।११ मा भएको आदेश ।
मेरी दिदी दाछिकी शेर्पा र मृतक फुर्वा शेर्पाको बिचमा सामान्य वादविवाद भएको हो । मृतक फुर्वा शेर्पा मुटुको रोगी भएको हुँदा निजले अत्यधिक मात्रामा रक्सी सेवन गरेको कारण निजको मृत्यु भएको हो । मेरो दिदीसँग वादविवाद भएको कारणबाट निजको मृत्यु भएको होइन, मौकामा भएको कागजमा लेखिएको बेहोरामध्ये दिदीले फुर्वा शेर्पाको ज्याकेटमा तानेर लछारपछार गरेको भन्ने बेहोरा मेरो होइन, अन्य बेहोरा मेरै हो भनी अ.बं.११५ नं.बमोजिम बुझिएका मौकामा कागज गर्ने दावा भन्ने दाँते शेर्पाले मिति २०७१।११।१४ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
मृतकको शरीरमा रक्तसञ्चार बन्द भई मृतकको मृत्यु भएको हो । पहिले रक्तसञ्चार बन्द भयो, त्यसपछि श्वासप्रश्वास बन्द भएको हुँदा मृतकको मृत्यु भएको हो । तत्काल आएको आवेग, उत्तेजना जस्ता कारणले पनि मुटुको रोगी भएका व्यक्तिहरूको रक्तसञ्चार बन्द भई मृत्यु हुन सक्दछ । शव परीक्षण प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरो हो भनी अ.बं.११५ नं.बमोजिम बुझिएका शव परीक्षण गर्ने डा. दिपेश परियारले मिति २०७१।११।१४ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
रक्तसञ्चार प्रवाह राम्रो नहुँदा र मांशपेसीले राम्रो काम नगर्दा मुटुमा दबाब पर्न गएको कारण र धेरै तनाव भएको कारणबाट पनि मुटुको रोग भएका व्यक्तिहरूको मृत्यु हुन सक्दछ । मृतक फुर्वा शेर्पाको हकमा यही कारणले नै निजको मृत्यु भएको हो भनी यकिनसाथ भन्न सक्ने अवस्था थिएन । शव परीक्षण प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरो हो भनी अ.बं.११५ नं.बमोजिम बुझिएका शव परीक्षण गर्ने डा. दीक्षा खनालले मिति २०७१।११।१४ मा सुरू जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादी अदालतमा आई इन्कारीपूर्ण बयान दिए तापनि निजउपर किटानी जाहेरी परेको
छ । मृतकले प्रतिवादीलाई निजको चरित्रसम्बन्धी प्रश्न उठाएकोले आवेगमा आई यी प्रतिवादीले आगो फुक्ने नालाको ढुङग्रीले प्रहार गरी सोको भोलिपल्ट मृतकको मृत्यु भएको अवस्था देखिन्छ । प्रतिवादी र मृतकबिच पूर्वरिसइवी रहेको देखिँदैन । ढुङग्रीबाहेकका अन्य हतियारहरू प्रयोग भएको भन्ने पनि देखिँदैन । मृतक एक मुटु रोगी भई शल्यक्रिया गरी मुटुको भल्भ फेरेको व्यक्ति भन्ने देखिन्छ । यस्तो अवस्थामा प्रतिवादीको प्रहारबाट नै मृतकको मृत्यु भए तापनि अभियोग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुरदार ठहर गर्न नमिल्ने हुँदा ऐ. महलको १४ नं. बमोजिमको कसुर अपराधमा १० वर्ष कैद सजाय हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू भोजपुर जिल्ला अदालतको मिति २०७१।११।२० को फैसला ।
पुनरावेदक प्रतिवादीले मृतकलाई प्लाष्टिकको पाइपले छातीमा घोचेको, कुटपिट लछारपछार गरेको होइन, मृतकको मृत्यु हुनुमा पुनरावेदकको कुनै हात छैन, कुटपिटको वारदात नै स्थापित हुने कुनै आधार प्रमाण छैन । पुनरावेदकको कसुर प्रमाणित हुने कुनै ठोस वस्तुनिष्ठ प्रमाण नहुँदानहुँदै पनि एक निर्दोष व्यक्तिलाई मौकामा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने वादीका साक्षीको विरोधाभाषपूर्ण भनाइ लेखाइलाई प्रमाणमा लिई प्रतिवादीका साक्षीहरूको कुटपिट गरेको होइन, आगो फुक्ने प्लाष्टिकको पाइपले कुटेको होइन भन्ने भनाइ, बकाई र विशेषज्ञको राय तथा लासजाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनजस्ता वस्तुनिष्ठ प्रमाणलाई ग्रहण नै नगरी पुनरावेदक प्रतिवादीलाई कसुरदार ठहर गरी भएको सुरू फैसला प्रमाण ऐन, २०३१ को गम्भीर त्रुटिपूर्ण, फौजदारी न्यायको सिद्धान्तविपरीत र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत विपरीत गलत तर्क पेस गरी पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १० वर्ष कैद सजाय हुने भनी गरेको फैसलामा न्यायिक मनको अभाव रहेकोले उक्त फैसला उल्टी / बदर गरी पुनरावेदकको मृतकको मृत्यु हुनमा कुनै प्रकारको संलग्नता नरहेको हुँदा सफाइ दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दाछिकी शेर्पाको तर्फबाट पुनरावेदन अदालत धनकुटासमक्ष मिति २०७१।९।२ मा दर्ता भएको पुनरावेदन पत्र ।
प्रतिवादीउपर किटानी जाहेरी परेको, घटनामा प्रत्यक्षदर्शीहरूले किटानीसाथ कागज गरेको, वारदातमा प्रयोग भएको ढुङ्ग्रीसमेत बरामद भई प्रतिवादीले सनाखत गरेको, मृतकसँग विवाद गरी ज्याकेट तानी भुइँमा बसाएको भन्ने तथ्यसम्ममा प्रतिवादी साबित नै रहेको, जाहेरवाला तथा बुझिएका मानिसहरूले अदालतमा उपस्थित भई मौकाको आफ्नो भनाइलाई पुष्ट्याइँ गर्दै बकपत्र गरेको एवं शव परीक्षण गर्ने डाक्टरहरूको बकपत्रसमेतको आधार प्रमाणहरूबाट यिनै प्रतिवादीले पोलिथिन पाइपको ढुङग्रीसमेतले छातीमा घोची-घोची कुटपिट गरी निजको कर्तव्यबाट फुर्वा शेर्पाको मृत्यु भएको प्रमाणित भइरहेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणहरूको उचित मूल्याङ्कन नै नगरी ज्यानसम्बन्धीको महलको १४ नं.को परिभाषा आकृष्ट हुन नसक्ने कानूनी व्यवस्थालाई त्रुटिपूर्ण व्याख्या गरी फैसला गरिएको हुँदा सो फैसला बदर गरी सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत धनकुटासमक्ष मिति २०७२।१।१७ मा दर्ता भएको पुनरावेदन पत्र ।
यसमा वादी नेपाल सरकार र प्रतिवादी दाछिकी शेर्पाको दोहोरो पुनरावेदन परेको देखिँदा अ.बं.२०२ नं. प्रयोजनको लागि पुनरावेदनको बेहोरा दुवै पक्षलाई परस्पर जानकारी गराई पेसी चढाई पुनरावेदन सरकारी वकिल कार्यालय, धनकुटालाई पेसीको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भनी पुनरावेदन अदालत धनकुटाबाट मिति २०७२।१।२८ मा भएको आदेश ।
प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी भोजपुर जिल्ला अदालतबाट मिति २०७१।११।२० मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी दाछिकी शेर्पाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी पुनरावेदन अदालत धनकुटाबाट मिति २०७२।३।७ मा भएको फैसला ।
प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको पुष्टि हुँदाहुँदै सुरू जिल्ला अदालतबाट भएको फैसलासमेत उल्टी गरी सफाइ दिने गरी भएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष मिति २०७२।७।१६ मा दर्ता भएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी दाछिकी शेर्पाले मृतक फुर्वा शेर्पालाई विभिन्न गालीगलौज गरी हातमा नालाको आगो फुक्ने ढुङ्ग्री लिई प्रहार गरी लछारपछार गरेको देखेकी हुँ भनी मञ्जिता राईले बकपत्र गरेको देखिएबाट प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी पुनरावेदन अदालत धनकुटाबाट मिति २०७२।३।७ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं.को प्रयोजनार्थ प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०७४।१०।२ मा यस अदालतबाट भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान् उपन्यायाधिवक्ता श्री नरबहादुर पराजुलीले प्रतिवादी दाछिकी शेर्पाले मृतकलाई लछारपछार पारी पोलिथिन पाइपको आगो फुक्ने ढुङ्ग्रीले छातीलगायत शरीरको विभिन्न भागमा भित्रसमेत दख्खल पर्ने गरी घोची कुटपिट गरेको हो । मृतकको मुटुको अप्रेसन गरेको हुँदा अवस्था कमजोर थियो, ढुङ्ग्रीले घोची लछारपछार पार्दा अप्रेसन गरेको छातीमा पीडा भई निज फुर्वा शेर्पाको मृत्यु भएको अवस्थामा प्रतिवादीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत धनकुटाको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी अभियोग मागदाबीबमोजिमको सजाय हुनुपर्छ भनी र प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भुपाल बस्नेतले फुर्वा शेर्पाको मृत्यु प्रतिवादीको कुटपिटको कारणबाट नभई निज मृतक मुटुको रोगी भएको हुँदा निजको मृत्यु आफ्नै कालगतिबाट भएको हो । डाक्टरले मृत्युको कारण Could be Endo Myocardial Pathology भन्ने रिपोर्ट दिएकोमा मृतक मृटुको बिरामी भएकोले स्वाभाविक मृत्यु भएको स्पष्ट देखिएको हुँदा पुनरावेदन अदालत धनकुटाबाट प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिलेकोले सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
उपरोक्तानुसारको सुरू अदालतहरूको फैसला, पुनरावेदन जिकिर र बहस जिकिर रहेको प्रस्तुत मुद्दामा सुरू भोजपुर जिल्ला अदालतबाट भएको फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग मागदाबीबाट सफाइ दिएको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी लिएको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन
आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी दाछिकी शेर्पाले जाहेरवालाको पति फुर्वा शेर्पालाई छातीमा समाई लछारपछार गरी भाग्न उम्कनसमेत नदिई लात्ती, मुक्का तथा आगो फुक्ने प्लाष्टिकको पोलिथिन पाइपको ढुङ्ग्रीले शरीरको विभिन्न भाग तथा छातीमा प्रहार गरी रोपी घोची घाइते बनाएको हुँदा प्रतिवादी दाछिकी शेर्पालाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको पाइन्छ ।
३. प्रतिवादीको प्रहारबाट नै मृतकको मृत्यु भएको भए तापनि प्रतिवादीलाई अभियोग दाबीबमोजिमको ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसुरदार ठहर गर्न नमिल्ने हुँदा ऐ. महलको १४ नं. बमोजिमको कसुर अपराधमा १० वर्ष कैद सजाय हुने भनी सुरू भोजपुर जिल्ला अदालतबाट फैसला भएको र उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट प्रतिवादीले पोलिथिन पाइपको ढुङ्ग्रीसमेतले मृतकको छातीमा घोची-घोची कुटपिट गरी कर्तव्य गरी मारेको अवस्थामा ज्यानसम्बन्धीको महलको १४ नं.को परिभाषाभित्र आकृष्ट हुन नसक्ने कानूनी व्यवस्थालाई त्रुटिपूर्ण व्याख्या गरी फैसला गरिएको हुँदा सो फैसला बदर गरी निज प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिमको नै सजाय हुनुपर्ने भनी र प्रतिवादीका तर्फबाट आफूले अभियोग दाबीबमोजिमको कुनै कसुर नगरेको, मृतकको मृत्यु मुटुको भल्भको कारण कालगतिले भएको हुँदा अभियोग दाबीबाट सफाइ पाउनुपर्छ भनी पुनरावेदन अदालत धनकुटासमक्ष दुवैतर्फबाट छुट्टाछुट्टै पुनरावेदन परेकोमा प्रतिवादी दाछिकी शेर्पाले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी भएको पुनरावेदन अदालत धनकुटाको फैसलाउपर वादी नेपाल सकारको तर्फबाट प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेकोले निजलाई सुरू अभियोग दाबीबमोजिमकै सजाय हुनुपर्छ भन्ने जिकिर लिई यस अदालतमा पुनरावेदन गरेको देखिन्छ ।
४. प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरेको सुरू भोजपुर जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको फैसला नमिलेको हुँदा उक्त फैसला त्रुटिपूर्ण रहेको भनी लिएको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिरतर्फ हेर्दा, मृतकको मृत्यु भएको कुरामा कुनै विवाद देखिएन । मृतकको मृत्यु प्रतिवादीकै कर्तव्यबाट भएको हो वा सामान्य वादविवादबाट उत्तेजित भएको कारण वा स्वाभाविक रूपमा भएको हो भन्ने सम्बन्धमा मनन गर्दा “भाइले मेरो चरित्रको विषयमा कुरा उठाई विवाद गरिरहेको अवस्थामा फुर्वा शेर्पा मेरो घरमा आइपुगे, मैले निजलाई घोची कुटपिट गरिनँ, आगो फुक्ने ढुङ्ग्री निम्दीकीले खोसी फाली दिइन्, फुर्वा शेर्पा आफ्नो घरतर्फ जाँदा मैले टुङ्गो लगाएर जाउ भन्दा नबोली घरतर्फ जाँदा निजलाई जान पाउनुहुन्न भनी निजको पछाडि जाँदै गर्दा म लडेको हो, मैले फुर्वा शेर्पालाई कुटपिट लछारपछार गरी आगो फुक्ने ढुङ्ग्रीले कुटपिट गरेको होइन, निज मुटुको बिमार भई अप्रेसनसमेत गरको हुँदा सोही कारणबाट आफैँ मृत्यु भएको हो” भनी अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी दाछिकी शेर्पाले बयान गरेकी छन् भने निजले अदालतमा बयान गर्दासमेत आफूले मृतकलाई कुटपिट नगरेको मृतकको मृत्यु आफ्नै कालगतिले भएको हो भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ ।
५. जाहेरवाली फुर्दिकी शेर्पाले अदालतमा आई बकपत्र गर्दा कुटपिटको घटना शारदा रायमाझी शेर्पाले सुनाउँदा मैले थाहा पाएको हो । मृतक पतिले मलाई दाछिकी शेर्पासँग भनाभन भयो, मलाई टुङ्गो लगा भनिन्, मैले कुटाकुट पनि पर्यो भनी सोध्दा कुटाकुट चाहिँ भएन भनेर मेरो श्रीमान्ले मसँग भनेका हुन्, प्रतिवादी दाछिकी शेर्पासँग विवाद भएपछि मेरो पति घरमा आई दालमु शेर्पाको घरमा निम्तो भएकोले हामी सपरिवार खान गयौं, भोलिपल्ट श्रीमान् सदाझैं पसलमा बसेर काम गर्नु भएको थियो भनी उल्लेख गरेको पाइन्छ । घटना प्रत्यक्ष देख्ने वादी पक्षको साक्षी शारदा रायमाझीले अदालतमा बकपत्र गर्दा प्रतिवादीले मृतकलाई कुटपिट गरेको होइन, मैले अदालतमा भनेको भनाइ सत्य साँचो हो भनी लेखाएको
देखिन्छ । घटना प्रत्यक्ष रूपमा देख्ने अर्का साक्षी निम्दीकी शेर्पाले अदालतमा बकपत्र गर्दा प्रतिवादीले मृतकलाई ढुङ्ग्रीले घोचेको देखिन, कुटपिट गरेको पनि देखिन भनेकी छिन् भने मौकामा कागज गर्ने रन्जीता तामाङले अदालतमा बकपत्र गर्दा प्रतिवादीले मृतकलाई घोचेको देखिन भनेकी छिन् । घटना विवरण कागजमा बस्ने मन्जीता राईले मृतकको मृत्यु के-कसरी भयो थाहा छैन भनी बकपत्र गरेकोसमेत पाइयो ।
६. प्रमाण ऐन, २०३१ को दफा १८ मा “कुनै काम घटना वा अवस्थाको सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेकोमा प्रमाणमा लिन हुन्छ” भन्ने उल्लेख भएको हुँदा घटना विवरण कागज गर्ने व्यक्तिहरू शारदा रायमाझी, निम्दीकी शेर्पा, रन्जीता तामाङ, मन्जीता राईले अधिकारप्राप्त अधिकारीसमक्ष जे बेहोरा लेखाएको भएपनि अदालतमा प्रतिवादीले मृतकलाई कुटपिट गरेको होइन भनी लेखाई दिएको देखिन्छ ।
७. लास प्रकृति मुचुल्कामा मृतकको शरीरमा घाउचोट छैन । Autopsy Report मा “No other visible external injury” लेखिएको छ । यदि अभियोगपत्रमा आरोप लगाइएअनुरूप ढुङ्ग्रोले मानिस मर्नेसम्मको चोट पुर्याएको भए शरीरमा अन्य कुनै बाह्य चोट देखिनुपर्नेमा सो देखिएको छैन । मृतकको शरीरमा आँखाले देख्ने प्रकृतिको कुनै चोट, निसान देखिँदैन । मर्ने व्यक्तिले विवादको तत्काल पछि आफ्नो पत्नी जाहेरवालीलाई कुटपिट भएन भनाभन मात्र भयो भनी जानकारी दिएको भन्ने तथ्य जाहेरवालीको अदालतसमक्षको बकपत्रबाट खुल्न आएको छ । यो तथ्य वारदातस्थलमा उपस्थित रही प्रतिवादीबाट ढुङ्ग्रो खोस्ने भनिएकी शारदा रायमाझीले समेतबाट समर्थित रहेको छ । मृतकको मृत्युको कारण Most possible cause of death could be Edo-myocardial Pathology भएको भन्ने मृतकको Autopsy Report बाट देखिन्छ । शव परीक्षण गर्ने विशेषज्ञको बकपत्रमा पनि कसैको कर्तव्यबाट मृतकको मृत्यु भएको भन्न सकेको देखिँदैन, निजहरूले मृतक पुरानो मुटुको रोगी भएको कारण उत्तेजनाको सम्भावित कारणबाट रक्तसञ्चार बन्द भई श्वासप्रश्वास बन्द हुन गएको हुन सक्ने सम्भावना निजहरूले बकपत्रमा खुलाएको
पाइन्छ । वस्तुस्थिति मुचुल्काका प्रेम दोर्जे शेर्पा, निम्दीकी शेर्पालगायतका मानिसहरूको भनाइबाट मृतक मुटुको रोगी भएको, मृतकको मुटुको अप्रेसनसमेत गरेको र अधिकांश समय मृतक रक्सी सेवन गर्ने मानिस भई आफ्नै घरको भान्साको ढोकामा मृतक लडेकोले अप्रेसन गरेको ठाउँमा दख्खल भई लडी ठोकिएको कारण निजको मृत्यु भएको भन्ने कुरा वादी पक्षकै साक्षी प्रेमदोर्जे शेर्पाको भनाइसमेतबाट खुल्न आएको देखिन्छ ।
८. वारदात हुँदाका अवस्थामा प्रचलनमा रहेको साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं.मा भएको व्यवस्था हेर्दा,”लाठी, ढुङ्गा र साधारण सानातिना हतियारले कुटी, हानी, रोपी, घोची वा अरू ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मारेमा एकैजनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरै जनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको
पाइन्छ । यसरी ज्यानसम्बन्धी महलको १३(३) नं.को अपराध हुनलाई अभियुक्तले मृतकलाई मार्ने मनसाय राखेको र मर्नेसम्मको कार्य गरेको स्थापित हुनुपर्छ । मनसायअन्तर्गत मृतक मर्न सक्ने परिणामको पूर्वानुमान र अनुमान गरेअनुसार नै मरोस् भन्ने परिणामको इच्छा अभियुक्तले राखेको थियो भन्ने कुरा निर्विवाद तथ्यबाट पुष्टि हुनुपर्छ ।
९. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १० नं. मा “सम्धी कुठाउँमा हातले हान्दा त्यसै पीरले उठ्न नसकी थला परी ७ दिनभित्र मर्यो वा पीडा पर्ने गरी बाँधछाँद गर्दा त्यसै पीडाले उठ्न नसकी थला परी ५ दिनभित्र मर्यो वा जेसुकै गर्दा सोही चोट पीरको घाउ, डाम पाकी त्यसै पीरले उठ्न नसकी थला परी २१ दिनभित्र मर्यो भने त्यसैको कर्तव्यले ज्यान मरेको ठहर्छ” भन्ने व्यवस्था रहेको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थालाई हेर्दा मृतकको मृत्यु तत्काल नभई भोलिपल्ट मात्र भएको र मृतकले भोलिपल्ट पनि आफ्नो नियमित काम गरेको
देखिन्छ । कुटपिटको पीरले उठ्न नसकी थला परी मरेको भन्ने जाहेरवालीले अदालतमा गरेको बकपत्रबाट समेत देखिँदैन । साबिकमा मुटुको भल्भ फेर्ने शल्यक्रिया भएका यी मृतकको विवाद भएको भोलिपल्ट, सदाझैँ सामान्य काम गरेको, देखिएको अवस्था हुँदा मृतकको मृत्यु मुटुको अपरेसनको कारणले तथा उत्तेजनाको कारण सिर्जना भएका समस्याका कारण भएको भन्ने पुष्टि हुन आएको देखिएको हुँदा प्रस्तुत मुद्दामा यी प्रतिवादीले कुटपिटको वारदात गरेको भन्ने आरोप स्थापित हुने देखिँदैन । यसरी अभियोगपत्रमा उल्लेख भएअनुरूपको वारदात नै स्थापित हुन नसकेको स्थितिमा प्रतिवादीको कुटपिटको चोट प्रहारबाट जाहेरवालाको पति फुर्वा शेर्पाको मृत्यु भएको हो भनी मान्न सकिने अवस्था देखिँदैन ।
१०. त्यस्तै ज्यानसम्बन्धी महलको १४ नं. मा “ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोटपीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ” भन्ने कानूनी व्यवस्था रहेको
पाइन्छ । उक्त उल्लिखित कानूनी व्यवस्थाअनुसार तत्काल उठेको रिसबाट अभियुक्त आवेशमा आई आफूलाई नियन्त्रण गर्न नसकी अचानक अनियन्त्रित अवस्थामा कसैको हत्या गर्दछ भने त्यस्तो हत्यालाई आवेशप्रेरित हत्या भनिन्छ । यस्तो अवस्थामा मार्ने मनसाय नभई एक्कासी मृतकलाई देखी उसैबेला उठेको रिस थाम्न नसकी लाठा, ढुङ्गा, लात्ती, मुक्का इत्यादिले हान्दा सोही चोटको प्रहारबाट मृतकको मृत्यु भएको
हुनुपर्छ । सामान्यतया आवेशप्रेरित हत्यामा “मृतक स्वयम्को कर्तुतले प्रतिवादीलाई रिस उठाएको, रिस तत्काल उसै मौकामा उठी रिस थाम्न नसकेको, लाठी, ढुङ्गा, लात्ती, मुक्काले हानेको, ऐनको म्यादभित्र मृतक मरेको, ज्यान लिनेसम्मको इवी नभएको, लुकी चोरीकन नहानेको आदि अवस्थाहरूको विद्यमानता आवश्यक हुन्छ । प्रस्तुत वारदातमा भनाभन, गालीगलौज, वादविवाद भए पनि प्रतिवादी र मृतकबिच कुटपिट भएको र कुटपिटको चोटबाट नै मृतकको मृत्यु हुन गएको आरोप स्थापित हुन सकेको देखिँदैन ।
११. यसरी माथि विवेचित आधारमा प्रस्तुत मुद्दामा खड्ग पौडेलसँग प्रतिवादीले हिमचिम बढाएको भनी मृतकले प्रतिवादीको भाइ दावा शेर्पालाई सुनाएको र प्रतिवादीको भाइले सो सम्बन्धमा प्रतिवादीसँग स्पष्टीकरण लिई राखेको अवस्थामा मृतक घटनास्थलमा आइपुगेको र चरित्रको विषयमा टुङ्गो लगाउ भनी प्रतिवादीले मृतकसँग कडासँग प्रतिवाद गरेको भन्ने कुरा प्रतिवादीले प्रहरी र अदालतमा गरेको बयान तथा घटना विवरणका मानिसहरूको बकपत्रबाट समेत पुष्टि भएको
पाइन्छ । यस अवस्थामा प्रतिवादीलाई तत्काल रिस उठेको नभई केही समयअघि प्रतिवादीको चरित्रको विषयमा मृतकले प्रतिवादीको भाइसँग कुरा गरेको र पछि भाइले प्रतिवादीलाई सो कुराको जिकिर गरिरहेको अवस्थामा मृतक घटनास्थलमा आइपुग्दा प्रतिवादीले मृतकलाई सो सम्बन्धमा आवेशमा आई सोध खोज र गालीगलौज मात्र गरेको मुद्दाको तथ्यबाट देखिएबाट प्रतिवादीले मृतकलाई कुटपिट गरेको तथ्यबाट देखिँदैन । यसरी प्रतिवादीले मृतकलाई कुटपिट गरेको वारदात नै कायम हुन नसकेको अवस्थामा प्रतिवादीले अभियोग माग दाबीबमोजिमको कसुर गरेको भनी मान्न मिलेन । प्रतिवादीलाई अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ दिएको हदसम्मको पुनरावेदन अदालत धनकुटाको फैसला मनासिब नै देखिन आयो ।
१२. अत: माथि विवेचित आधार र कारणबाट प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी भोजपुर जिल्ला अदालतबाट मिति २०७१।११।२० मा भएको फैसलालाई उल्टी गरी प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याएको पुनरावेदन अदालत धनकुटाको मिति २०७२।३।७ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिमको सजाय हुनुपर्छ भनी लिएको वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृतः सीता अधिकारी
इति संवत् २०७६ साल माघ २९ गते रोज ४ शुभम् ।