शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४२४ - बिक्री बदर

भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११

निर्णय नं. ४४२४    ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४६ सालको दे.पु.नं. ५५९

आदेश भएको मिति: २०४८।११।११।१ मा

पुनरावेदक/प्रतिवादी: जिल्ला रोल्पा शखी गा.पं. वा.नं. २ (साविक पेज नं. ७८६) बस्ने दीर्घबहादुर खड्का क्षेत्रीसमेत

विरुद्ध

विपक्षी/वादी: ऐ.ऐ.सेनाम गा.पं. वडा नं. ५ बस्ने प्रेमबहादुर खत्री क्षेत्रीसमेत

मुद्दा : बिक्री बदर

(१)    खेलो व्यापार गर्न गरेको विक्रीलाई घर व्यवहार चलाउन लिएको मान्न नमिल्ने ।

(प्रकरण नं. २१)

पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा

फैसला

न्या.केशवप्रसाद उपाध्याय

१.     श्री म.प.क्षे.अ.को मिति २०४०।९।१० को फैसला उपर पुनरावेदन गर्न अनुमति प्राप्त भर्ई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    प्रेमबहादुर भूपबहादुरको आमा म मनमतिको लोग्ने अन्यायवाला यमबहादुर र निजकी कान्छी स्वास्नी समेत ५ अंशियार भई २०३५।७।१७ गते अन्यायवाला र रामचनी एकतर्फ हामी एकातर्फ भई मानोसम्म छुट्टिई बसेपछि हामीलाई थाहा नदिई १९९६ सालको दर्तावाला इन्द्रवीरबाट सगोलकै धनले अन्यायवालाको नाममा हदमुनिको राजीनामा भएको तिरो रु.।६९ मध्ये विक्रमबहादुरको तेर्सो बाटो र जसपुर जाने बाटो सो पूर्व समेत ४ किल्ला भित्रको तिरो रु. ।४६ लागेको कोदाले भन्ने घरवारी पाखा रु. ९,०००।मा दीर्घबहादुर खड्का क्षेत्रीलाई ऐ.को मोठमा अन्यायको बाबु नन्दुको नाममा दर्ता भएको तिरो रु. ।१२ मध्ये वेलमतिको तेर्से ढिक देखि पूर्व समेत ४ किल्ला भित्रको तिरो रु.।५ लागेको कुसुण्डे भन्ने कुटे चउर पाखो मित्रबहादुर डागीलाई रु.२०००।मा २०३५।५।१५ मा राजीनामा गरी दिई ऐ.१६ गते रजिष्ट्रेशन गरेको कुरा ऐ.१९ गते नक्कल सारी लिई थाहा पाएको हुँदा हाम्रो मन्जूरी बेगर गरी दिएको राजीनामाको ५ खण्डको ३ खण्ड बदर गरी हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    कोदाले भन्ने घरवारी खेत मैले नै आर्जेको हुँदा लेनदेन व्यवहारको १० नं. ले आफूखुशी गर्न पाउने हुँदा विक्री गरेको हो । कुटेचवर पाखो फिरादी मध्येका २ छोरालाई पढाउँदा लागेको ऋण कर्जा बुझाउँदा विक्री गर्नु पर्ने हुनाले फिरादीहरु र मेरो कान्छी श्रीमतीबाट २ बहिनी छोरी समेतको अंश र विवाह खर्च लाग्ने हुँदा उक्त जग्गा विक्री गरेको हुँ नालेशबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी यमबहादुरका उपर मात्र नालेश गरेको देखिन आएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत रोल्पा जिल्ला अदालतको फैसला ।

५.    शुरुले खारेज गर्ने गरेको निर्णय मनासिब हुँदा सदर हुने ठहर्छ भन्नेसमेत राप्ती अञ्चल अदालतको फैसला ।

६.    खरिदी लिनेलाई नबुझी अ.बं. १३९ नं. को विपरीत हुँदा अञ्चल अदालतको फैसला बदर हुन्छ कानुन बमोजिम निर्णय गर्नु भनी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत म.क्षे.अ. को फैसला ।

७.    तिरो रु. ।१२ मध्ये ।५ कुटेचवर पाखो जग्गा मैले रु. २०००।मा २०३५ सालमा लिएको हुँ । यामबहादुरको बण्डाको जग्गा लिएकोमा विक्री बदर हुने होइन भन्ने समेत पेटबोलीबाट बुझिएका प्रतिवादी मित्रबहादुर (साविक पेज नं. ७८७) डाँगीको बयान ।

८.    फिरादीहरु २०२६ सालमा प्र.यामबहादुर संग छुट्टी भिन्न गरी बसेका छोराहरुलाई पढाउँदा र छोरीहरुको विवाह खर्चको लागि जग्गा बेच्नु पर्‍यो भन्नु भएकोले कोदाले घरवारी भन्ने जग्गा रु. ९०००।मा रजिष्ट्रेशन पास गरी लिएको हुँ । मैले लिएको जग्गा विक्री बदर हुने होइन भन्ने समेत पेटबोलीका प्रतिवादी दीर्घबहादुर खड्का क्षेत्रीको बयान ।

९.    अरु अंशियारको भाग लाग्ने विक्री भएको जग्गाको ५ खण्ड ३ खण्ड जग्गा विक्री बदर हुने ठहर्छ भन्ने समेत रोल्पा जिल्ला अदालतको २०४०।७।१६ को फैसला ।

१०.    मुलुकी ऐन अ.बं. ७२ नं. बमोजिम बेग्ला बेग्लै नालेश गर्न पर्ने व्यवस्था छ त्यसो नगरी दुवै लिखत बदर गर्न एकै फिराद दर्ता गरिएको हुँदा अ.बं.७२ नं.बमोजिम मित्रबहादुर डांगीको हकमा प्रस्तुत फिरादबाट इन्साफ गर्न नमिली प्र.मित्रबहादुरको राजीनामाको हकमा शुरु जिल्ला अदालतले गरेको फैसला बदर हुन्छ । प्र.यामबहादुरको मात्र निजी आर्जनको भन्नलाई ठोस प्रमाण नभएकोले प्र.यामबहादुरले आफूखुसी गर्न पाउने भन्न सकिएन । राजीनामा पनि खेलो व्यापार गर्नको बापत भनिएको हुँदा घर व्यवहार चलाउन राजीनामा गरी दिएको भन्न नमिली दीर्घबहादर खड्का क्षेत्रीले गराई लिएको राजीनामाको ५ खण्ड मध्ये ३ खण्ड बदर हुने ठहराएको शुरुको फैसला मिलेको हुँदा शुरु फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत राप्ती अञ्चल अदालतको २०४२।३।९ को फैसला ।

११.    पितापुर्खाको पालाको सम्पत्तिमा चलमा सबै अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा, विधुवा बुहारीको मन्जूरी नभए पनि आफूखुश गर्न पाउँछ भन्ने अंशबण्डाको १९ नं.ले व्यवस्था गरेको अवस्थामा विपक्षीहरुको बाबु पति दीर्घबहादुरलाई विक्री गरेको सम्पत्तिको ५ खण्डको ३ खण्ड विक्री बदर ठहराएको रा.अं.अ.को फैसलामा कानुनी त्रुटि देखिँदा पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने म.प.क्षे.अ. को आदेश ।

१२.   फिरादीहरुको वारेश पूर्ण सिंह वलीले पुनरावेदन गर्ने अनुमति प्रदान गरी इन्साफ जाँच गरी दिनु भन्ने श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र चढाएको रहेछ ।

१३.   यस्मा लेखिएको मुद्दाको प्रतिवादीको निवेदनमा पुनरावेदन गर्ने अनुमति दिइएको रहेछ भन्ने लिफा बापत रु. १।को टिकट दिए लिई टाँसी विन्तिपत्रवालाका हकमा पनि एकैसाथ राखी इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमांगी जनाउ विन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र. बक्स भएको रहेछ ।

१४.   प्र.यामबहादुरले प्र.दीर्घबहादुरलाई विक्री गरेको जग्गा पैत्रिक नभई इन्द्रवीरबाट राजीनामा गरी लिएको स्वआर्जनको देखिनाले अंशबण्डाको १९(२) नं. बमोजिम आफूखुश गर्न पाउने हुनाले सदर हुन्छ । प्र.मित्रबहादुरलाई विक्री गरेको जग्गा पैत्रिक भन्ने तथ्यलाई दुवै पक्षले स्वीकार गरेको हुँदा दावी बमोजिम ५ खण्डको ३ खण्ड विक्री बदर हुन्छ भन्ने समेत म.प.क्षे.अ. को फैसला ।

१५.   ने.का.प. २०४१, पृष्ठ ९२० मा प्रकाशित सिद्धान्त विपरीत पक्का सबूद बिना नै निजी आर्जनको मानी गरेको म.प.क्षे.अ.को फैसला मिलेको नदेखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालतबाट मिति २०४४।१।९ मा भएको आदेश ।

१६.    अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाएर मात्र निर्णय गर्नु पर्नेमा सो गरेको नदेखी कानुनी रीत नपुगेको प्र.दीर्घबहादुरको हक भएको फैसाल मिले पनि दुवैको हकमा एउटै ठहर फैसला भएको हुँदा म.प.क्षे.अ. को फैसला बदर हुन्छ । कानुनको रीत पुर्‍याई कानुन बमोजिम गर्नु भनी मिसिल म.प.क्षे.अ. मा पठाई दिनु (साविक पेज नं. ७८८) भनी सर्वोच्च अदालतबाट मिति २०४५।१२।२९ मा भएको फैसला ।

१७.   विवादीत जग्गा पैत्रिक सम्पत्ति भन्ने तथ्यलाई अन्यथा भनी प्र.ले प्रमाणित गर्न नसकेको प्र.यामबहादुर र फिरादीहरु छुट्टी भिन्न भई बसेको नदेखिई सगोलमै रहेको देखिन्छ । लेनदेन व्यवहारको १० नं. को प्रकृया प्र.यामबहादुरले पूरा गरेको देखिंदैन । तसर्थ प्र.यामबहादुरले प्र.दीर्घबहादुरलाई र प्र.मित्रबहादुर डाँगीलाई दिएको राजीनामाको जग्गा दावी बमोजिम ५ खण्डको ३ खण्ड विक्री बदर हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला मनासिब ठहर्छ । रा.अं.अ. को फैसला केही उल्टी हुन्छ भन्ने समेत म.प.क्षे.अ. अदालतको मिति २०४६।९।१० को फैसला ।

१८.   म.प.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने दिर्घबहादुर खड्का क्षेत्री समेत यस अदालतमा दिएको निवेदनपत्र ।

१९.    यस्मा प्र.दीर्घबहादुरलाई राजीनामा गरी दिएको जग्गा यामबहादुरकै पालामा आर्जेको देखिन्छ भने मित्रबहादुरलाई राजीनामा गरी दिएको तिरो रु. ।१२ मध्ये रु. ।५ तिरोको मात्र जग्गा यामबहादुरले विक्री गरेको पाइन्छ । विवादित जग्गा पैत्रिक सम्पत्ति हो भने प्रमाण वादी पक्षबाट दाखिल गर्नसकेको पाइएन । यामबहादुर घरको मुख्य व्यक्ति देखिन आएको, घर व्यवहार चलाउन नै विवादित जग्गाहरु राजीनामा गरी दिएको भन्ने प्रतिवादी जिकिर रहेको आफ्नो पालामा आर्जेको जग्गा पैत्रिक सम्पत्ति हो भन्ने कुरा अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा आफूखुश गर्न पाउने अधिकार अंश बण्डाको १९(१) र १९(२) नं. ले घरको मुख्य व्यक्तिलाई प्रदान गरेको देखिँदा, राजीनामा लिखतको ५ खण्डको ३ खण्ड विक्री बदर हुने ठहराएको म.प.क्षे.अ. को फैसलामा अंशबण्डाको १९(१) र १९(२) नं. प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि विद्यमान देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासबाट २०४६।१२।९ मा भएको आदेश ।

२०.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले प्र.यमबहादुर खड्का वादीहरुको पिता लोग्ने भई घरको मुख्य व्यक्ति हुन् । घरको मुख्यले गरेको व्यवहार सदर हुने लेनदेन व्यवहारको ८ नं. मा व्यवस्था छ । प्रस्तुत मुद्दामा मेरो पक्षहरुलाई विपक्षी बनाएको छैन । यामबहादुरलाई मात्र विपक्षी बनाएको हुँदा वादीले प्रतिवादी नै नबनाइएको व्यक्ति उपरको विक्री बदर गर्ने गरेको फैसलामा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरुको समेत विपरीत हुँदा म.प.क्षे.अ. को फैसला बदर गरी लिखत कायम होस भनी गर्नु भएको बहस समेत सुनियो ।

२१.   यसमा निर्णयतर्फ विचार गर्दा दीर्घबहादुर खड्का क्षेत्रीलाई कोदाले भन्ने घरवारी जग्गा राजीनामा गरी दिएको जग्गा यामबहादुरले इन्द्रवीर दर्ताको जग्गा निजबाट १९९६ सालमा घरसारमा खरिद गरी लिएको हुँदा आफ्नो पालामा आर्जेको देखिन्छ । ने.का.प. २०४६, अंक १२, पृष्ठ ११९६ निर्णय नं. ४०१४ मा फुलबेञ्चबाट प्रतिपादित सिद्धान्तले उक्त विक्री बदर हुन सक्दैन । दावी बमोजिम विक्री बदर हुने ठहर्‍याएको म.प.क्षे.अ. को फैसला मिलेको नदेखी उल्टी हुन्छ । यामबहादुरले मित्रबहादरलाई २०३५।५।१६ मा कुसुण्डे भन्ने कुटेचवर पाखो विक्री गरेको जग्गा यामबहादुरको पालाको आर्जन नदेखी पैत्रिक सम्पत्ति देखियो । पैत्रिक सम्पत्ति भए पनि घर व्यवहार चलाउनलाई अंशबण्डाको १९(१) ले आधीसम्म अचल सम्पत्ति आफूखुस गर्न पाउने भए पनि उक्त राजीनामाको पारित लिखत हेर्दा विक्री गर्न पर्ने कारणमा बापत खेलो व्यापारभन्ने उल्लेखित देखिँदा खेलो व्यापार (साविक पेज नं. ७८९) गर्ने गरेको विक्रीलाई घर व्यवहार चलाउन लिएको मान्न नमिल्ने हुँदा उक्त जग्गाको विक्री मध्ये ५ भागको ३ भाग विक्री बदर हुने ठहराएको म.प.क्षे.अ. को इन्साफ सो हदसम्म सदर हुन्छ । मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत् फाल्गुण ११ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु