निर्णय नं. १०५७९ - लागु औषध (हेरोइन)

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।३।१९
०७४-CR-०५९१
मुद्दा: लागु औषध (हेरोइन)
पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : नुवाकोट जिल्ला, समुन्द्रदेवी गा.वि.स. वडा नं.२ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं.६) घर भई हाल काठमाडौं जिल्ला, गोंगबु गा.वि.स. वडा नं.३ (हाल टोखा नगरपालिका वडा नं. ८) बस्ने सुभद्रा भन्ने सानुमाया तामाङसमेत
कुनै व्यक्तिले लागु औषधको कारोबार गर्ने व्यक्तिलाई चिन्दैमा लागु औषधको कारोबार गर्ने व्यक्तिसँग आवतजावत, उठबस तथा सम्पर्क हुँदैमा ठोस प्रमाणको अभावमा त्यस्तो व्यक्ति पनि दोषी हुन्छ भन्न नमिल्ने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुसाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१००११
सम्बद्ध कानून :
लागु औषध (नियन्त्रण) ऐन, २०३३
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :-
माननीय न्यायाधीश श्री कुलप्रसाद शर्मा
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:-
माननीय न्यायाधीश श्री टेकराज नेपाल
माननीय न्यायाधीश श्री प्रेमराज कार्की
पुनरावेदन अदालत पाटन
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ ।
मिति २०७१।०१।२६ गते बिहान अन्दाजी ११:०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं.१६ बालाजु माछापोखरी स्थित रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा ठुलो परिमाणमा लागु औषध (हेरोइन) को कारोबार भइरहेको छ भन्ने गोप्य सुराकीमार्फत जानकारी प्राप्त भई उक्त गेष्ट हाउसको उक्त कोठामा जाँदा शंकास्पद तवरमा रहेका मानबहादुर तामाङ, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामासमेतको शरीर तथा कोठा खानतलासी लिँदा निजहरूमध्येका मानबहादुर तामाङले पछाडि भिरेको बेचबिखन कारोबार गर्न बोकेको POWER लेखिएको कालो झोलामा पत्रिकाले बेरेर लुकाई छिपाई राखेको लागु औषध (हेरोइन) जस्तो देखिने पदार्थ प्याक गरेको २ वटा पाकेट फेला पारी दुवै पाकेट प्लाष्टिकसहित तौल गर्दा ५२२ ग्राम र दुवै पाकेटको प्लाष्टिक हटाई तौल गर्दा ५०२ ग्राम र पुरानो फुटेको मोबाइल थान–१ र राजबहादुर तामाङको साथमा निजकै नामको नागरिकताको प्रमाणपत्र, निजकै नामको नेपाली राहदानी, उक्त POWER लेखिएको कालो झोलासमेत प्रहरीले नियमानुसार बरामद गरी लगेको स्थानको चारकिल्लासहितको विवरण ठीक छ भन्नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०७१।०१।२६ गते बिहान अन्दाजी ११:०० बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका वडा नं.१६ बालाजु माछापोखरी स्थित रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा ठुलो परिमाणमा लागु औषध (हेरोइन) को कारोबार भइरहेको छ भन्ने गोप्य सुराकीमार्फत जानकारी प्राप्त भई उक्त गेष्ट हाउसको उक्त कोठामा जाँदा शंकास्पद तवरमा रहेका मानबहादुर तामाङ, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामासमेतको शरीर तथा कोठा खानतलासी लिँदा निजहरूमध्येका मानबहादुर तामाङले पछाडि भिरेको बेचबिखन कारोबार गर्न बोकेको POWER लेखिएको कालो झोलामा पत्रिकाले बेरेर लुकाई छिपाई राखेको लागु औषध (हेरोइन) जस्तो देखिने पदार्थ प्याक गरेको २ वटा पाकेट फेला पारी दुवै पाकेट प्लाष्टिकसहित तौल गर्दा ५२२ ग्राम र दुवै पाकेटको प्लाष्टिक हटाई तौल गर्दा ५०२ ग्राम भई उक्त लागु औषधको स्रोतको बारेमा निजलाई सोधपुछ गर्दा मैले नवलपरासीबाट नाम, थर, वतन थाहा नभएको मानिसबाट बेचबिखन कारोबार गर्न काठमाडौं लिएर आई एक जना नाम, थर, वतन थाहा नभएकी महिलाले मेरो मोबाइल नं.९८४३७१०७५७ मा ल्यान्ड लाइनको नं.०१-४३७५९२१ बाट फोन गरी काठमाडौं जिल्ला, नारायणथानमा लिएर आउनु भनेकी छन् भनी बताई निज मानबहादुर तामाङलाई साथैमा लगी काठमाडौं जिल्ला, नारायणथान मन्दिरनजिक पुग्दा उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) खरिद गर्न आएकी सुभद्रा भन्ने सानुमाया तामाङलाई फेला पारी निजलाई सोही स्थानबाट पक्राउ गरी तथा लागु औषध मानबहादुर तामाङको साथबाट बरामद गरी यसै प्रतिवेदनसाथ दाखिला गरेका छौं । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
निज प्रतिवादी मानबहादुर तामाङको साथबाट बरामद भई आएको लागु औषध (हेरोइन) जस्तो देखिने ५०२ ग्रामबाट परीक्षण प्रयोजनसमेतको लागि ३/३ ग्रामका दरले जम्मा ९ ग्राम नमुना निकाली बाँकी रहेको ४९३ ग्रामसमेत अलग–अलग प्याक गरेको ठीक साँचो छ भन्नेसमेत बेहोराको नमुना मुचुल्का ।
खानतलासी तथा बरामदी मुचुल्कामा उल्लिखित ५०२ ग्राम लागु औषध (हेरोइन) बाट परीक्षण प्रयोजनसमेतको लागि जम्मा ९ ग्राम नमुना निकाली बाँकी रहेको ४९३ ग्राम हाल मलाई देखाउँदा देखेँ, मेरै साथबाट बरामद भई आएको
हो । हेरी चिनी सनाखत गरिदिएँ । मलाई बिगत ६/७ दिनअगाडिबाट मलाई एकजना सुनबहादुर तामाङ नाम गरेको व्यक्तिले मेरो मोबाइलमा फोन गरी चिनजान परिचय गरी नवलपरासीबाट एउटा सामान ल्याउनुपर्ने छ । तिमी गएर ल्याइदेउ म २/३ लाख रकम दिन्छु भनेका थिए, मैले के सामान हो भन्दा लागु औषध धुलो हो भनेका थिए र मैले हुन्छ ल्याउँछु भनी सहमति जनाई मिति २०७१।०१।२४ गते म चितवनबाट नवलपरासी गई २ जना तराइवासी जस्ता देखिने नम्बर याद नभएको मोटरसाइकलमा आएका मानिसहरूले उक्त लागु औषध (हेरोइन) रहेको २ वटा पाकेट मलाई दिई काठमाडौं लिएर आई निज सुनबहादुर तामाङ नाम गरेको व्यक्तिले ऐ.२५ गते उक्त लागु औषध लिन एकजना मानिस आउँछ दिएर पठाइदिनु भनी फोन गरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बालाजु माछापोखरीमा रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको १२२ नं. कोठामा बसेकोमा सोही दिन माछापोखरी चोकमा राजबहादुर तामाङसँग भेट भई हामी सँगै बसौं भनी सोही गेष्ट हाउसको कोठामा बसी ऐ.२६ गते बिहान मेरो एकै गाउँका साथीहरू फुपूको घ्यावा खानको लागि आई सँगै जाउँ भनी कोठामा बसेको अवस्थामा मलाई हाल नाम, थर थाहा भएकी सानुमाया तामाङले मेरो मोबाइल नं.९८४३७१०७५७ मा ल्यान्ड लाइनको नं.०१-४३७५९२१ बाट फोन गरी एकजना मानिसलाई लागु औषध ल्याउन लगाएको थियो तिमीलाई फोन गर्यो भनिन् र मैले गरेको छैन भन्दा उसो भए उक्त लागु औषध काठमाडौं जिल्ला, नारायणथानमा लिएर आउनु भनेकी थिइन् । सोही समयमा हामीले लागु औषधको कारोबार गर्ने गरेको प्रहरीले थाहा पाई गेष्ट हाउसमा आई हामीलाई पक्राउ गरी मेरो साथबाट उक्त ५०२ ग्राम लागु औषध फेला पारी मलाई सानुमाया तामाङले नवलपरासीबाट ल्याउन लगाएको र निजले काठमाडौं जिल्ला, नारायणथानमा लिएर आउनु भनेकी छन् भनी प्रहरीलाई बताई मलाई प्रहरीले साथैमा लिई काठमाडौं जिल्ला, नारायणथानमा लगी सानुमाया तामाङले मसँग लागु औषध खरिद गर्न आएका बखत सोही स्थानबाट निजलाई पनि पक्राउ गरी उक्त गेष्ट हाउसमा ल्याई मेरो साथबाट लागु औषध बरामद तथा हामी सबैजनालाई पक्राउ गरी ल्याएको हो । मलाई लागु औषध ल्याइदिनेलाई म राम्रोसँग चिन्दिन भन्नेसमेत बेहोराको प्रतिवादी मानबहादुर तामाङको साबिती बयान कागज ।
मेरा श्रीमान् विगत ४ वर्षअगाडिबाट लागु औषधको कारोबारमा पक्राउ परी हालसम्म कारागार थुनामा रहेका छन् । श्रीमान्लाई भेटघाट गर्न जाँदा मेरा श्रीमान्को साथी दार्खाली साइला भन्ने व्यक्तिलाई भेटी तिम्रा श्रीमान्लाई छुटाउन धेरै पैसाको आवश्यकता पर्छ पैसा कमाउनु पर्छ भनी चिनजान परिचय भई मेरो घर बानियाँटारमा आवतजावत गर्दै आएका
थिए । मिति २०७१।०१।२६ गते बिहान ०९:०० बजेको समयमा निज दार्खाली साइला भन्ने मानिस मेरो घरमा आई तिमीलाई आज एउटा सामान लिन पठाउँछु गएर ल्याउ त्यो मानिसको मोबाइल नं.९८४३७१०७५७ हो फोन गरेर सम्पर्क गरी ल्याउनु भनेपछि मैले निजलाई ०१-४३७५९२१ बाट फोन गरी लागु औषध लिएर काठमाडौं जिल्ला, नारायणथानको मन्दिरमा आउनु भनेपछि निज मानबहादुर तामाङले लागु औषध लिएर काठमाडौं जिल्ला, नारायणथानको मन्दिर नआउँदै प्रहरीले सुराकी पाई पक्राउ गरी मलाई पक्राउ गर्ने बहानामा सादा पोसाकमा प्रहरी लिएर आई नारायणथानको मन्दिर नजिकमा मानबहादुर तामाङले लागु औषध ल्याउँदा मलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध कारोबार गर्ने, लिने दिने गर्ने भनी फोनमा सरसल्लाह भएको थियो । निज दार्खाली साइलाले उक्त लागु औषध ल्याइदिएबापत मलाई १ थान ल्याप्टप ल्याइदिन्छु भनेका
थिए । पैसा कमाउने प्रलोभनमा परी उल्लिखित कार्य गरियो । कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको सुभद्रा भन्ने सानुमाया तामाङको बयान कागज ।
सानुमाया तामाङबाहेक अन्य सबै साथीहरू मेरो एकै गाउँका पूर्वचिनजानका साथीहरू हुन् । निजहरूलाई म राम्ररी चिन्दछु मिति २०७१।०१।२२ गते म वैदेशिक रोजगारमा जानको लागि भनी आफ्नो घर धादिङबाट काठमाडौं आई मनमैजुमा बसोबास गर्दै आएको थिएँ । ऐ.२४ गते बेलुका मानबहादुर तामाङसँग माछापोखरी चोकमा जाँदा भेट भई निज बसेको गेष्ट हाउसमा सँगै बसी ऐ.२६ गते बिहान माछापोखरी चोकमा जाँदा फुर्वा लामा र गोविन घलेसँग भेट भई उक्त दिन मानबहादुर तामाङको फुपूको घ्यावा भएकोले हामी सबैजना घ्यावा खान जानुपर्छ भनी लुम्बिनी लालिगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा हामी सबैजना गई बसेको अवस्थामा प्रहरी कर्मचारीहरू उक्त कोठामा आई मानबहादुर तामाङको साथबाट उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) बरामद तथा पक्राउ गरी ल्याएको
हो । उक्त लागु औषध कारोबार सञ्चय, सेवनजस्ता कुनै कारोबारमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी राजबहादुर तामाङको बयान कागज ।
सानुमाया तामाङबाहेक अन्य सबै साथीहरू मेरो एकै गाउँका पूर्वचिनजानका साथीहरू हुन् । निजहरूलाई म राम्ररी चिन्दछु । मिति २०७१।०१।२६ गते बिहान माछापोखरी चोकमा जाँदा फुर्वा लामा र गोविन घले, मानबहादुर तामाङसँग भेट भई उक्त दिन मानबहादुर तामाङको फुपूको घ्यावा भएकोले हामी सबैजना घ्यावा खान जानुपर्छ भनी लुम्बिनी लालिगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा हामी सबैजना गई बसेको अवस्थामा प्रहरी कर्मचारीहरू उक्त कोठामा आई मानबहादुर तामाङको साथबाट उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) बरामद तथा पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध कारोबार, सञ्चय, सेवनजस्ता कुनै कारोबारमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक तामाङको बयान कागज ।
सानुमाया तामाङबाहेक अन्य सबै साथीहरू मेरो एकै गाउँका पूर्वचिनजानका साथीहरू हुन् । मिति २०७१।०१।२६ गते बिहान माछापोखरी चोकमा जाँदा फुर्वा लामा र दिपक तामाङ र मानबहादुर तामाङसँग भेट भई उक्त दिन मानबहादुर तामाङको फुपूको घ्यावा भएकोले हामी सबैजना घ्यावा खान जानुपर्छ भनी लुम्बिनी लालिगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा हामी सबैजना गई बसेको अवस्थामा प्रहरी कर्मचारीहरू उक्त कोठामा आई मानबहादुर तामाङको साथबाट उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) बरामद तथा पक्राउ गरी ल्याएको हो उक्त लागु औषध कारोबार, सञ्चय, सेवन जस्ता कुनै कारोबारमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी गोविन घलेको बयान कागज ।
सानुमाया तामाङबाहेक अन्य सबै साथीहरू मेरो एकै गाउँका पूर्वचिनजानका साथीहरू हुन् । मिति २०७१।१।२६ गते बिहान माछापोखरी चोकमा जाँदा गोविन घले, दिपक तामाङ र मानबहादुर तामाङसँग भेट भई उक्त दिन मानबहादुर तामाङको फुपूको घ्यावा भएकोले हामी सबैजना घ्यावा खान जानुपर्छ भनी लुम्बिनी लालिगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा हामी सबैजना गई बसेको अवस्थामा प्रहरी कर्मचारीहरू उक्त कोठामा आई मानबहादुर तामाङको साथबाट उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) बरामद तथा पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध कारोबार, सञ्चय, सेवन जस्ता कुनै कारोबारमा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी फुर्वा लामाको बयान कागज ।
प्रतिवादी मानबहादुर तामाङको साथबाट बरामद भई आएको लागु औषधमध्ये परीक्षण प्रयोजनसमेतको लागि ९ ग्राम नमुना निकाली बाँकी रहेको ४९३ ग्राम आगो लगाई नष्ट गरियो भन्नेसमेत बेहोराको लागु औषध नमुना नष्ट मुचुल्का ।
प्रतिवादी मानबहादुर तामाङको साथबाट बरामद भई आएको लागु औषधमध्ये परीक्षण प्रयोजनको लागि निकालिएको ३ ग्राम नमुना परीक्षणको लागि पठाइएको भन्नेसमेत बेहोराको परीक्षणको लागि लेखेको पत्र ।
मिति २०७१।०१।२४ गते निज प्रतिवादी मानबहादुर तामाङले ठुलो परिमाणमा लागु औषध लिएर काठमाडौं आई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरीमा रहेको लुम्बिनी लालीगुराँस गेष्ट हाउसको कोठा नं. १२२ मा कारोबार गर्न बसेका छन् भन्ने जानकारी गोप्य सुराकी व्यक्तिमार्फत मैले थाहा पाई सो कुरा प्रहरी कर्मचारीहरूलाई जानकारी गराई सादा पोसाकमा प्रहरी कर्मचारीहरू मेरो साथमा राखी निज मानबहादुर तामाङसँग संलग्न अन्य को को छन् । निजहरूलाई समेत पक्राउ गर्नुपर्छ भन्ने सरसल्लाह प्रहरीसँग गरी मिति २०७१।०१।२६ गते ११:०० बजेको समयमा म निज लागु औषधको कारोबार गर्ने व्यक्तिहरूको निगरानी राखी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरीमा बसेको थिएँ । सोही समयमा उक्त गेष्ट हाउसको कोठा नं.१२२ मा लागु औषधको कारोबार गर्न आएका पछि नाम थाहा भएका राजबहादुर तामाङ, गोविन घले, फुर्वा लामा, दिपक तामाङसमेत आएको देखी उक्त कोठा प्रहरीले छापा मार्दा निज मानबहादुर तामाङले कारोबार गर्न ल्याएको उक्त ५०२ ग्राम लागु औषध (हेरोइन) निजकै साथमा फेला पारी को कसलाई बिक्री गर्न ल्याएको भनी सोधपुछ गर्दा पछि नाम खुल्न आएकी सानुमाया तामाङलाई बिक्री गर्न ल्याएको हो । निजले मलाई लागु औषध लिएर काठमाडौं जिल्ला, नारायणथानको मन्दिरमा मेरो मोबाइलमा फोन गरी बोलाएकी छन् भनी निजलाई साथैमा लगी निज सानुमाया तामाङ सो लागु औषध खरिद गर्न काठमाडौं जिल्ला, नारायणथानमा आएका बखत निजलाई समेत सोही स्थानबाट नियन्त्रणमा लिई उक्त गेष्ट हाउसमा ल्याई खानतलासी तथा बरामदी मुचुल्का गरी निजहरू सबै जनालाई पक्राउ गरी ल्याएको हो । उक्त लागु औषध बरामद तथा पक्राउ गर्न प्रहरीलाई गोप्य सूचना दिने व्यक्ति म नै हुँ निजहरू लागु औषधको कारोबार गर्ने व्यक्तिहरू हुन् भन्नेमा मलाई पूर्णरूपमा विश्वास लाग्छ । मलाई लागु औषध लिएर आएको भनी गोप्य सूचना दिने व्यक्तिको बारेमा सुरक्षाका कारण को हुन् भनी बताउन सक्दिन भन्नेसमेत बेहोराको श्यामकुमार कार्कीको कागज ।
मैले विगत ७ वर्षअगाडिबाट काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ माछापोखरीमा लुम्बिनी लालीगुराँस गेष्ट हाउस सञ्चालन गरी आएको छु । निज प्रतिवादीहरूसँग मेरो चिनजान रिसइवी केही छैन । मिति २०७१।०१।२४ गते बेलुका २०:०० बजेको समयमा मेरो गेष्ट हाउसमा हाल नाम थाहा भएका मानबहादुर तामाङ र राजबहादुर तामाङ कोठा भाडामा चाहियो, हामी वैदेशिक रोजगारमा जान आएको भनी आई १२२ नं. कोठा बुक गरी बसेका थिए । गेष्ट हाउसमा धेरै ग्राहकहरू आउने जाने हुँदा को कस्तो किसिमको मानिस आउँछन् सो थाहा हुँदैन । निजहरू बस्ने गरेको कोठामा बाहिरबाट धेरैजना मानिसहरू आवतजावत गर्ने गरेका थिए । के कुन कामको लागि आउँथे थाहा भएको थिएन । ऐ.२६ गते मेरो गेष्ट हाउसमा प्रहरी कर्मचारीहरू आई निजहरू बस्ने गरेको कोठामा गई निज मानबहादुर तामाङसमेतलाई नियन्त्रणमा लिई निजको साथबाट ५०२ ग्राम लागु औषध (हेरोइन) फेला पारी प्रहरीले कहाँबाट ल्याएको भन्दा नवलपरासीबाट खरिद गरी काठमाडौं ल्याई सानुमाया तामाङलाई बेचबिखन गर्न ल्याएको हो भनी बताई सानुमाया तामाङलाई फोन गर्न लगाई कहाँ लिएर आउँ भन्न लगाई काठमाडौं जिल्ला, नारायणथानको मन्दिरमा लिएर आउ भनी बोलाएपछि निजहरूलाई साथैमा लगी निज लागु औषध खरिद गर्न आएकी सानुमाया तामाङसमेतलाई पक्राउ तथा बरामद गरी ल्याएको हो । निज सबैजना प्रतिवादीहरू लागु औषधको खरिद बिक्री ओसारपसार जस्ता कारोबार गर्ने व्यक्तिहरू रहेछन् । निजहरू लागु औषधको कारोबारी गर्ने व्यक्ति हुन् भन्नेमा मलाई पूर्ण विश्वास लाग्छ मेरो लागु औषधको कुनै कारोबारमा संलग्नता छैन भन्नेसमेत बेहोराको बुझिएका मानिस गंगा श्रेष्ठको कागज ।
परीक्षणको लागि पठाइएको नमुनामा लागु औषध (हेरोइन) पाइएको छ भन्नेसमेत बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदन ।
निज प्रतिवादी मानबहादुर तामाङले पक्राउ पर्नुभन्दा अन्तिम १ हप्तादेखिको मात्र राजबहादुर तामाङलाई १ पटक, गोविन घलेलाई ३ पटक, सानुमाया तामाङले साइला भन्नेलाई ९ पटक, दिपक तामाङले राजबहादुर तामाङलाई २ पटक, फुर्वा लामाले गोविन घलेलाई ५ पटक, राजकुमार तामाङले मानबहादुर तामाङलाई १ पटक, दिपक तामाङलाई २ पटक र साइला भन्नेले सानुमाया तामाङलाई ९ पटक मोबाइलमा कुराकानी गरेको कल डिटेल्सबाट देखिन आयो भन्नेसमेत बेहोराको कल डिटेल्स प्रतिवेदन ।
फरार रहेका यकिन नाम, थर, वतन खुल्न नआएका तराइबासी जस्ता देखिने पुरूष व्यक्ति दुईजना, सुनबहादुर तामाङ र दार्खाली साइला भन्ने पुरूष व्यक्तिसमेतको खोजतलास गर्दा फेला नपरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
यसमा मिसिल संलग्न रहेको खानतलासी तथा बरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको बयान, श्यामकुमार कार्कीसमेतको घटना विवरण कागज, परीक्षण प्रतिवेदन, कल डिटेल्स विवरणलगायतका आधार प्रमाणहरूबाट प्रतिवादीहरू मानबहादुर तामाङ, सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ मिली पूर्ण नियोजित ढङ्गबाट नेपाल सरकारबाट प्रतिबन्धित तथा प्रचलित कानूनविपरीत लागु औषध (हिरोइन) को कारोबार गरेको तथ्य खम्बिर रूपमा पुष्टि हुन आएकोले निज प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ), (च) नं. अनुरूपको कसुर अपराधमा निज प्रतिवादीहरू मानबहादुर तामाङ, सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङलाई सोही ऐनको दफा १४(१)(छ) को देहाय (३) बमोजिम सजाय हुन मागदाबी लिइएको छ भन्नेसमेत बेहोराको अभियोग पत्र ।
अनुसन्धानमा भएको बयान मेरो हो । मेरो साथबाट ५ ग्राम लागु औषध (हेरोइन) बरामद भएको हो । मलाई लुम्बिनी लालीगुराँस गेष्ट हाउसको गल्लीबाट पक्राउ गरेको हो । मलाई पक्राउ गर्नुअगाडि फुपूको घ्यावामा जनाका लागि अन्य साथीहरूलाई पनि बोलाएको थिएँ । उनीहरू पनि आएका थिए । तिनीहरूलाई पनि गेष्ट हाउसको छेउबाटै पक्राउ गरेको हो । सहप्रतिवादी सानुमायासँग चिनजान
छैन । सानुमाया तामाङलाई कहाँबाट पक्राउ गरे थाहा भएन । मलाई प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी मानबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।
मसमेत उपरको अभियोग झुट्टा हो । मिति २०७१।१।२६ गते सहप्रतिवादी राजबहादुर तामाङले मानबहादुर तामाङको फुपूको घ्यावामा जाउ भनेकाले निजसँगै घ्यावा खान जाने भनी जाँदै गर्दा मानबहादुरको फोन आई माछापोखरी रिङरोड आई बस्दै गर भनेकाले सोही स्थानमा हामी जाँदा मानबहादुरलाई प्रहरीले समातिसकेको रहेछ । सोदेखि तामाङ भाषाबाट के भयो भनी सोध्दा शंकाको भरमा मलाई समेत पक्राउ गरी लगेको हो । मबाट कुनै शंकास्पद वस्तुसमेत बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी दिपक तामाङले सुरू अदालतमा गरेको बयान ।
मसमेत उपरको अभियोग झुट्टा हो । मिति २०७१।१।२६ गते सहप्रतिवादी राजबहादुर तामाङले मानबहादुर तामाङको फुपूको घ्यावामा जाउँ भनेकाले निज सँगै घ्यावा खान जाने भनी जाँदै गर्दा मानबहादुरको फोन आई माछापोखरी रिङरोड आई बस्दै गर भनेकाले सोही स्थानमा हामी जाँदा मानबहादुरलाई प्रहरीले समाती सकेको रहेछ । सो देखी तामाङ भाषाबाट के भयो भनी सोध्दा शंकाको भरमा मलाई समेत पक्राउ गरी लगेको हो । मबाट कुनै शंकास्पद वस्तुसमेत बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी गोविन घलेले सुरू अदालतमा गरेको बयान ।
मसमेत उपरको अभियोग झुट्टा हो । मिति २०७१।१।२६ गते सहप्रतिवादी राजबहादुर तामाङले मानबहादुर तामाङको फुपूको घ्यावामा जाउँ भनेकाले निज निजसँगै घ्यावा खान जाने भनी जाँदै गर्दा मानबहादुरको फोन आई माछापोखरी रिङरोड आई बस्दै गर भनेकाले सोही स्थानमा हामी जाँदा मानबहादुरलाई प्रहरीले समाती सकेको
रहेछ । सो देखी तामाङ भाषाबाट के भयो ? भनी सोध्दा शंकाको भरमा मलाई समेत पक्राउ गरी लगेको हो । मबाट कुनै शंकास्पद वस्तुसमेत बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी राजबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।
मसमेत उपरको अभियोग झुट्टा हो । मिति २०७१।१।२६ गते सहप्रतिवादी राजबहादुर तामाङले मानबहादुर तामाङको फुपूको घ्यावामा जाउँ भनेकाले निजसँगै घ्यावा खान जाने भनी जाँदै गर्दा मानबहादुरको फोन आई माछापोखरी रिङरोड आई बस्दै गर भनेकाले सोही स्थानमा हामी जाँदा मानबहादुरलाई प्रहरीले समाती सकेको रहेछ । सो देखी तामाङ भाषाबाट के भयो ? भनी सोध्दा शंकाको भरमा मलाई समेत पक्राउ गरी लगेको हो । मबाट कुनै शंकास्पद वस्तुसमेत बरामद भएको होइन भन्नेसमेत बेहोराको फुर्वा लामाले सुरू अदालतमा गरेको बयान ।
म किराना पसल र सिलाईसम्बन्धी काम गरी बस्दै आएको हो । मलाई प्रहरीले मेरो डेरा कोठाबाट नगद रू.५,०००।- र नागरिकतासमेत बरामद गरी लगेको हो । मलाई लागु औषध (हेरोइन) बारेमा केही थाहा छैन । सहप्रतिवादीहरूलाई मैले चिनेकोसमेत छैन । मैले लागु औषध (हेरोइन) सञ्चय, ओसारपसार, बिक्री, कारोबारसमेत गरेको छैन । प्रहरी प्रतिवेदन बेहोरा झुट्टा हो । अधिकारप्राप्त अधिकारीसमक्षको बयान मैले भनेबमोजिम लेखेको होइन । आफैँ निजले सही गराएको हो । सहप्रतिवादीको मउपरको पोल गरी अनुसन्धानमा गरेको बयान मेरा हकमा झुट्टा
हो । मैले अभियोगबमोजिम कुनै कसुर अपराधसमेत गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी सानुमाया तामाङले सुरू अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू निर्दोष छन् भन्न सकिने अवस्था नहुँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादीहरू मानबहादुर तामाङ, सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङलाई विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) को अवस्था विद्यमान हुँदा निजहरूलाई मुलुकी ऐन, अ.बं.१२१ बमोजिम थुनुवा पुर्जी दिई स्थानीय कारागारमा पठाइदिनु भन्नेसमेत बेहोराको सुरू अदालतको थुनछेक आदेश ।
लुम्बिनी लालिगुराँस गेष्ट हाउसको कोठा नं.१२२ मा रहेका प्रतिवादी मानबहादुर तामाङले बोकेको झोलाबाट लागु औषध (हेरोइन) ५२२ ग्राम बरामद गरी अन्य प्रतिवादीहरूलाई समेत पक्राउ गरेको हो । उक्त बरामदी मुचुल्का तथा प्रहरी प्रतिवेदन ठीक
हो । प्रतिवादी सानुमाया तामाङले लागु औषध (हेरोइन) को कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको होइन । यी प्रतिवादी तथा अन्यबाट हेरोइन बरामद भएको छैन भन्नेसमेत बेहोराको प्रतिवेदक हरिबोल के.सी.ले गरेको बकपत्र ।
लुम्बिनी लालिगुराँसको कोठा नं.१२२ मा रहेका प्रतिवादी मानबहादुर तामाङले बोकेको झोलाबाट लागु औषध (हेरोइन) ५२२ ग्राम बरामद गरी अन्य प्रतिवादीहरूलाई समेत पक्राउ गरेको
हो । उक्त बरामदी मुचुल्का तथा प्रहरी प्रतिवेदन ठीक
हो । प्रतिवादी सानुमाया तामाङले लागु औषध (हेरोइन) को कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको होइन । प्रतिवादी तथा अन्यबाट खैरो हेरोइन बरामद भएको छैन भन्नेसमेत बेहोराको प्रतिवेदक गौतम मिश्रले गरेको बकपत्र ।
बुझिएका कागज गर्ने मानिस श्याम कार्की प्रतिवादी दिपक तामाङका साक्षी सुपा तामाङले प्रतिवादी सानुमाया तामाङका साक्षी निरबहादुर मोक्तान र सुमन लामा, प्रतिवादी राजबहादुरका साक्षी पेमा डोल्मा तामाङ, प्रतिवादी गोविन घलेका साक्षी सम्झना घले र प्रतिवादी फुर्वा लामाका साक्षी वेलबहादुर तामाङसमेतले गरेको बकपत्र मिसिल सामेल रहेको ।
मिति २०७१।१।२६ गतेको बरामदी मुचुल्कामा भएको सहीछापसम्म मेरो हो । लेखिएको बेहोरा मलाई पढेर नसुनाई सहीछाप गराएको हो । मेरो गेष्ट हाउसको कोठा नं.१२२ बुक गरी बसेका मानबहादुर तामाङबाट लागु औषध (हेरोइन) बरामद भएको भन्ने कुरा प्रहरी आई निजलाई पक्राउ गरेपछि थाहा पाएको हो । अन्य प्रतिवादी सानुमाया तामाङ फुर्वा लामा, गोविन घले, दिपक तामाङसमेत लागु औषध बरामद हुँदा सो कोठामा थिएनन् । कोठा नं.१२२ मा लागु औषध (हेरोइन) सहित प्रतिवादी मानबहादुर तामाङ मात्र पक्राउमा परेको हुन् । उक्त लुम्बिनी लालीगुँरास गेष्ट हाउस मैले र मेरो श्रीमानले सञ्चालन गरेको गेष्ट हाउस हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्कामा उल्लिखित देखेबमोजिम सही गर्ने मानिस सुनकुमारी श्रेष्ठले गरेको बकपत्र ।
ठुलो मात्राको लागु औषध प्रतिवादी मानबहादुर तामाङसँग सञ्चित रहेबाट निजले सुनबहादुर भन्ने व्यक्तिको सहयोगमा नवलपरासीबाट खरिद गरी ल्याई बिक्री वितरणको उद्देश्यले आफूसँग लुकाई राखेको भन्ने देखिँदा यी प्रतिवादी मानबहादुर तामाङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ), (ङ) र (च) को कसुर अपराधमा सोही दफा १४(१)(छ)(३) बमोजिम प्रतिवादीको उमेर, निजको कमजोर आर्थिक अवस्था, चेतना स्तर र निजको असल चालचलन भएको जीवन र यस अगाडि कुनै समयमा लागु औषध जस्ता गम्भीर अन्य अपराधमा संलग्न नरहेको पूर्व पृष्ठभूमिसमेतलाई विचार गरी प्रतिवादी मानबहादुर तामाङलाई न्यूनतम् १५ वर्ष कैद र रू.५०,०००।- जरिवाना हुने ठहर्छ । प्रतिवादी सानुमाया तामाङको उक्त आपराधिक कार्यमा संलग्नता रहेको भन्ने वस्तुनिष्ठ आधार एवं प्रमाणको अभावमा शंकाकै भरमा दाबीको कसुर गरेको भन्ने वैज्ञानिक एवं न्यायोचित नहुँदा प्रतिवादी सानुमाया तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । प्रतिवादी गोविन घले, फुर्वा लामा, दिपक तामाङ र प्रतिवादी राजबहादुर तामाङसमेत मानबहादुर तामाङका चिनजानका मानिस भए तापनि लागु औषध सञ्चित गरी राख्ने प्रतिवादीसँग उठबस गर्दैमा प्रतिवादी मानबहादुरलाई चिन्दैमा त्यस्तो व्यक्ति दोषी हुन्छ भन्न मिल्दैन । “कुनै पनि व्यक्ति दोषी हुनका लागि ठोस प्रमाण चाहिन्छ । चिनजान परिचय हेलमेल हुँदैमा दोषी भन्न नमिल्ने (ने.का.प.२०६६, अङ्क १०, माघ नि.नं.८२४३)” भनी सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको परिप्रेक्ष्यमा हेर्दा यी प्रतिवादीहरू गोविन घले, फुर्वा लामा, दिपक तामाङ र प्रतिवादी राजबहादुरसमेत प्रस्तुत वारदातमा संलग्न नदेखिँदा निजहरूका उपरमा लगाएको नेपाल सरकारको दाबी पुग्न नसक्ने ठहर्छ । तसर्थ, प्रतिवादीहरू गोविन घले, फुर्वा लामा, दिपक तामाङ र प्रतिवादी राजबहादुर तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भन्ने सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।६।५ को
फैसला ।
लागु औषधको कारोबार हुँदै छ भन्ने विशेष सुराकीका आधारमा प्रहरीद्वारा खोजतलास गर्दा प्रतिवादी मानबहादुर तामाङसँगै बरामद लागु औषधसहित यी प्रतिवादीहरू फुर्वा लामा, गोबिन घले, दिपक तामाङ र राजबहादुर तामाङलाई पनि पक्राउ गरिएको हो । यी प्रतिवादीहरूको पक्राउ हुनुभन्दा अगाडिको फोनकल डिटेलसमेतबाट निजहरूको आपसी मिलेमतोमा ५२२ ग्राम लागु औषध (हेरोइन) को सञ्चय तथा कारोबार गर्न लागेको बेलामा पक्राउ गरेको देखिइरहेको छ । प्रतिवादी मानबहादुर तामाङको मौकाको बयानमा पोल गरिएकी सानुमाया तामाङसमेत पक्राउ परेको अवस्था छ । अतः प्रतिवादीहरू सुभद्रा भन्ने सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ र राजबहादुर तामाङलाई सफाइ दिई भएको सुरू फैसला सो हदसम्म बदर गरी प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारले पुनरावेदन अदालत पाटनमा चढाएको पुनरावेदनपत्र ।
यदि मैले प्रतिवादी सानुमाया तामाङलाई उक्त लागु औषध बेच्न हिँडेको हो भन्ने तथ्य वादी नेपाल सरकारबाट पुष्टि गर्न खोजेको हो भने प्रस्तुत मुद्दामा प्रतिवादी सानुमाया तामाङको कुनै संलग्नता नभएको भनी सफाइ दिएको अवस्थामा मैले कारोबारमा सजाय पाउनुपर्ने होइन । लागु औषध बिक्री वितरण, ओसारपसार पुष्टि हुनको लागि उक्त लागु औषध कहाँबाट ल्याइएको हो ? कसलाई बिक्री वितरण गर्ने हो ? भन्ने कुराको स्पष्ट रूपमा पुष्टि हुनुपर्नेमा सो कुरा प्रस्ट नखुलाईकन मलाई सजाय हुने गरी गरेको फैसला त्रुटिपूर्ण छ । यदि मैले उक्त आपराधिक कार्य गर्न खोजेको हो भने गाउँका साथीभाइलाई म बस्ने कोठामा बोलाउनु आवश्यक थिएन । गोप्य रूपमा एक्लै गर्थे । मैले आफैँ सेवन गर्नका लागि थोरै मात्रामा लागु औषध बोकी राखेकोलाई धेरै परिमाण देखाई मलाई सजाय तथा जरिवाना हुने गरी गरेको सुरूको फैसला मिलेको नहुँदा बदर गरिपाउँ भन्ने प्रतिवादी मानबहादुर तामाङले पुनरावेदन अदालत पाटनमा चढाएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी मानबहादुर तामाङसँगै एउटै कोठाबाट पक्राउ परेका र बरामदी मुचुल्कामा समेत सहीछाप गर्ने प्रतिवादीमध्येका गोविन्द घले, दिपक तामाङ, सानुमाया तामाङ र फुर्वा लामासमेतलाई सफाइ दिने गरी भएको सुरूको फैसला प्रमाण मूल्याङ्कनका रोहमा फरक पर्न सक्ने हुँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम म्याद दिई झिकाई प्रतिवादी मानबहादुर तामाङको समेत पुनरावेदन परेको देखिएकोले सोको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनसमेतलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०७२।०९।२० को आदेश ।
प्रतिवादीहरू सानुमाया तामाङ, गोविन घले, फुर्वा लामा, दिपक तामाङ र राजबहादुर तामाङले आरोपित कसुरबाट सफाइ पाउने र प्रतिवादी मानबहादुर तामाङलाई १५ वर्ष कैद र रू.५,००,०००।- (पाँच लाख रूपैयाँ) जरिवाना हुने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।६।५ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेतको पुनरावेदन अदालत पाटनको मिति २०७३।३।२१ को फैसला ।
प्रतिवादीहरूसमेत भई लागु औषध (हेरोइन) को कारोबार गर्ने गरेको विशेष सुराकीका आधारमा प्रहरीद्वारा खोजी गर्ने क्रममा मिति २०७१।०१।२६ गते बिहान करिब ११:०० समयतिर काठमाडौं १६ बालाजु स्थित लुम्बिनी लालीगुँरास गेष्ट हाउसको कोठा नं. १२२ बाट कसुरदार ठहरिएका प्रतिवादी मानबहादुर तामाङसँगै रहेका प्रतिवादी फुर्वा तामाङसमेत प्रहरीद्वारा एकैसाथ पक्राउ परेको देखिन्छ । उक्त स्थानबाट आफूहरू पक्राउ परी लागु औषध बरामद भएको तथ्य निज प्रतिवादीहरूले स्वीकार गरेको अवस्था मिसिलबाट देखिएको छ । मुद्दा अनुसन्धानको क्रममा कागज गर्ने गंगा श्रेष्ठको गरिदिएको मौकाको कागजबाट समेत उक्त तथ्य समर्थित रहेको छ । साथै मिसिल संलग्न फोन सम्पर्क कल डिटेल्स विवरण हेर्दा प्रतिवादी मानबहादुर तामाङले पक्राउ पर्नुभन्दा अघि यी प्रतिवादीहरूसँग मोबाइलमा सम्पर्क भएको देखिएको छ । निज प्रतिवादी मानबहादुर तामाङले दिएको बयानका आधारमा प्रतिवादी सानुमाया तामाङसमेत पक्राउ परेको तथ्य मिसिलबाट स्पष्ट देखिन आएको र प्रतिवादी सानुमाया तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मानबहादुर तामाङले नारायणस्थानमा आफूलाई लागु औषध (हेरोइन) लिएर आउँदा प्रहरीले पहिले नै निजलाई पक्राउ गरी मलाई समेत पक्राउ गरेको भनी उल्लेख गरेको देखिन्छ ।
“सहअभियुक्तले आफू कसुरमा साबित भई सोही कसुरमा अरूलाई पोल गरेकोमा तथा अन्य प्रमाणबाट वारदात पुष्टि भएमा प्रमाणमा लिन मिल्ने” भनी ने.का.प.२०६३, अङ्क ८, नि.नं. ७७४९, पृ. १०३४ मा नजिरसमेत प्रतिपादन भएको छ । प्रतिवादीहरू एकै समूहमा रही गेष्ट हाउसमा रहेबसेको अवस्थामा पक्राउ परेको देखिन्छ । “लागु औषधको कारोबार सङ्गठित रूपमा गरिने भएको हुँदा अपराधमा संलग्न प्रत्येक व्यक्तिको सँगसाथबाट व्यक्तिगत रूपमा दसी बरामद नहुन सक्ने पनि हुँदा सोही आधारमा प्रतिवादीलाई सफाइ दिँदै जाने हो भने फौजदारी न्यायको अभिष्टसमेत पराजित भई कानूनको मनसाय पूरा हुन नसक्ने अवस्था हुन्छ” भनी ने.का.प. २०७२, अङ्क ८, नि.नं. ९४५६, पृ. १४७२ मा नजिर प्रतिपादित भएको छ । साथै “लागु औषध कारोबार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट मात्र लागु औषध बरामद हुन र अन्य सँगसाथका व्यक्तिबाट बरामद नहुनुले खास असर नपर्ने । लागु औषध छ भन्ने थाहा पाई लागु औषध बोक्ने वा निजको समूहमा सोको कारोबार गर्न सँगै हिँडेको अवस्थामा कसैबाट लागु औषध बरामद नभएकै आधारमा सिर्जित दायित्वबाट उन्मुक्ति पाउने वा लागु औषध बरामद नभएको भन्ने आधारमा दायित्व भिन्नता नहुने” भनी ने.का.प २०६८, अङ्क १२, पृ. १९८१ मा समेत नजिर प्रतिपादन भएको अवस्थामा प्रतिवादीहरू सुभद्रा भन्ने सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ र राजबहादुर तामाङलाई सफाइ दिने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला बदर गरी प्रत्यर्थी / प्रतिवादीहरूलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको यस अदालतमा परेको
पुनरावेदनपत्र ।
यस अदालतको ठहर
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुसालले यी प्रतिवादीहरू र कसुर ठहर भएका प्रतिवादी मानबहादुर तामाङसँगै पक्राउ परेका र निजहरूसमेतको संलग्नतामा कसुर भएको देखिएको अवस्थामा यी प्रतिवादीहरूबाट लागु औषध बरामद नभएको भन्ने आधारमा मात्र उन्मुक्ति पाउने गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ), (ङ), (च) नं. को कसुर अपराधमा सोही ऐनको दफा १४(१)(छ) को देहाय (३) बमोजिम सजाय मागदाबी भएकोमा प्रतिवादी मानबहादुर तामाङलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(३) बमोजिम न्यूनतम् १५ वर्ष कैद र रू.५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना हुने र अन्य प्रतिवादीहरू सानुमाया तामाङ, गोविन घले, फुर्वा लामा, दिपक तामाङ र राजबहादुर तामाङले आरोपित कसुरबाट सफाइ पाउने भनी सुरू अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलाउपर चित्त नबुझाई सफाइ पाएका प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको देखिन्छ ।
प्रतिवादी मानबहादुर तामाङलाई सजाय गर्ने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर प्रतिवादी मानबहादुर तामाङको यस अदालतमा पुनरावेदन परेकोमा निजको हकमा उक्त फैसला सदर हुने ठहरी यस अदालतबाट फैसला अन्तिम भएको देखिन्छ ।
प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट यी प्रतिवादीहरूका हकमा सफाइ पाउने गरी भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा
होइन ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सानुमाया तामाङको वारदातमा के कति संलग्नता रहेछ भन्ने सम्बन्धमा मानबहादुर तामाङसँग बरामद भएको लागु औषध ५०२ ग्रामको बारे सोधपुछ गर्दा एकजना महिलाले फोन गरी नारायणस्थानमा लिएर आउनु भनेकोले प्रतिवादी मानबहादुरलाई साथै लगी नारायणस्थान पुग्दा सानुमाया तामाङलाई फेला पारी दाखिला गरेको भन्ने प्रहरीको प्रतिवेदनबाट देखिन्छ । निज प्रतिवादीलाई अन्य प्रतिवादीहरूसँग साथमा पक्राउ गरेको अवस्था देखिँदैन । बरामदित लागु औषध कारोबार तथा ओसारपसार कार्यमा यी प्रतिवादीको यो यति संलग्नता रहेको थियो भनी वादी पक्षबाट उल्लिखित बयानबाहेक अन्य कुनै सबुद प्रमाण पेस भएको पाइँदैन । प्रतिवादी मानबहादुर तामाङले अनुसन्धान अधिकारीसमक्ष “नाम, थर थाहा नभएको महिलाले काठमाडौं जिल्ला, नारायणथानमा लागु औषध लिएर आउनु भनेको छ” भनी गरिदिएको बयानको आधारमा यी प्रतिवादीलाई पक्राउ गरेको भनी अभियोग लगाइएकोमा प्रतिवादी सानुमाया तामाङले अदालतसमक्ष बयान गर्दा अनुसन्धान अधिकारीसमक्षको बयान बेहोरालाई इन्कार गरी त्यसमा लेखिएको बेहोरा पढ्न सुन्न नदिई जबरजस्ती सहीछाप गर्न लगाएको हो भनी बयान गरेको र निजको अनुसन्धानको क्रममा गरेको बयान अन्य कुनै स्वतन्त्र प्रमाणबाट समर्थित हुन सकेकोसमेत देखिँदैन । प्रतिवेदक प्रहरीहरू हरिबोल के.सी. र गौतम मिश्रले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादी सानुमाया तामाङले लागु औषध (हेरोइन) को कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको होइन भनी बेहोरा खुलाई लेखाएको स्थिति छ । जहाँसम्म सानुमाया तामाङले साइला भन्नेलाई टेलिफोन गरेको भन्ने छ, निज साइला भन्ने व्यक्तिको अनुसन्धानबाट पहिचान हुन नसकेको साथै निजसँग लागुऔषध कारोबारको लागि नै टेलिफोन भएको भन्नेसमेत वादी पक्षले पुष्टि गर्न सकेको पाइँदैन । प्रतिवादी सानुमाया तामाङलाई लागु औषधको बिक्री एवं कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको भन्नेसमेत नदेखिएको तथा मिसिल संग्लग्न अन्य प्रमाणबाट समेत प्रतिवादीले आपराधिक कार्य गरेको भन्ने निजउपरको अभियोग पुष्टि हुन नसकेको हुँदा शंकाको आधारमा प्रतिवादी सानुमाया तामाङलाई कसुरदार ठहर गरी सजाय गर्न न्यायोचित हुने देखिँदैन ।
३. प्रतिवादीहरू गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामाको हकमा विचार गर्दा यी प्रतिवादीहरूको मौकाको बयान र अदालतसमक्षको बयान बेहोरा हेर्दा आरोपित कसुरमा इन्कार रहेका
छन् । प्रतिवादी मानबहादुर तामाङको फुपूकोमा घ्यावा खान जानका लागि प्रतिवादी मानबहादुर तामाङको कोठामा जम्मा भएको भन्ने निजहरूको बयानबाट देखिएको र प्रतिवादी मानबहादुर तामाङको मौकाको र अदालतसमक्षको बयानबाट समेत यी ४ जना प्रतिवादीहरू मानबहादुर तामाङको फुपूकोमा घ्यावा खान जान निजको कोठामा जम्मा भएको भन्ने देखिएको छ । वारदात हुनुभन्दा अगाडिको कल डिटेल्सलाई हेर्दा आफन्तको घरमा घ्यावा खान जानका लागि एक अर्कालाई फोन गरी भेटेको भन्ने देखिएको र निजहरूका बिच लागु औषधको कारोबारको सम्बन्धमा कुनै सरसल्लाह तथा पूर्वयोजना भएको र सो आधारमा भेटेको भन्नेसमेत मिसिल संलग्न कागजातबाट देखिँदैन । प्रतिवादी मानबहादुर तामाङले बोकेको झोलाबाट ५०२ ग्राम लागु औषध बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र प्रहरी प्रतिवेदकहरूले अदालतमा बकपत्र गर्दासमेत प्रतिवादी मानबहादुर तामाङले बोकेको झोलाबाट लागु औषध बरामद भएको हो । अन्य प्रतिवादीहरूबाट लागु औषध बरामद भएको होइन भनी बेहोरा खुलाई दिएको देखिन्छ ।
४. नवलपरासीबाट उक्त लागु औषध खरिद गरी ल्याएको र किन्ने मान्छे फेला नपरेको भन्ने प्रतिवादी मानबहादुरले बयानमा लेखाएकोमा यी प्रतिवादीहरूसँग सल्लाह भई लागु औषध कारोबारको लागि ल्याएको भए यी प्रतिवादीहरूको नाम उल्लेख नगरी किन्ने मान्छे फेला नपरेको भन्नुपर्ने कारणसमेत देखिँदैन । गेष्ट हाउसका सञ्चालक तथा घटना विवरण कागजका मानिस सुनकुमारी श्रेष्ठको बकपत्रसमेतबाट उक्त लागु औषध प्रतिवादी मानबहादुर तामाङसँग मात्र बरामद भएको भन्ने देखिएको छ ।
५. लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा कुनै व्यक्तिको साथमा कुनै लागु औषध भएको फेला परेमा .....त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेस गर्नुपर्ने छ । त्यस्तो प्रमाण पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने छ भन्ने कानूनी व्यवस्था रहेको छ ।
६. उक्त कानूनी व्यवस्थाअनुसार कसैबाट कुनै लागु औषध फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा राखेको देखिन्छ । सो कानूनी व्यवस्थाले कुनै प्रतिबन्धित लागु औषध आफ्नो साथबाट फेला परेको अवस्थामा सोको वैधता प्रमाणित गर्न नसकेको अवस्थामा सो व्यक्तिको उक्त कार्यलाई अपराधको रूपमा परिभाषित गरेको पाइन्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूको साथबाट लागु औषध बरामद भएको भन्ने बरामदी मुचुल्कालगायतका मिसिल संलग्न कागजातबाट नदेखिएको हुँदा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १२ बमोजिम प्रमाणको भार प्रतिवादीहरूमा सरेको भन्न मिल्ने अवस्थाको विद्यमानता नदेखिँदा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम कसुर प्रमाणित गर्ने भार वादी पक्षमा रहने हुन्छ । प्रस्तुत मुद्दामा वादी पक्षबाट यी प्रतिवादीहरू गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङ र फुर्वा लामाले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि हुने ठोस प्रमाण प्रस्तुत हुन सकेको पाइँदैन ।
७. यस सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट शोभित गौतम विरूद्ध नेपाल सरकार भएको लागु औषध मुद्दामा “कुनै आपराधिक काम गर्ने व्यक्तिले त्यस्तो कार्य गरेको वा गरिरहेको अवस्थामा अन्य सो अपराधमा संलग्नता नै नभएका व्यक्ति विभिन्न कारण, प्रयोजन वा संयोगको कारणबाट त्यस्तो आपराधिक कार्य गर्ने व्यक्तिसमक्ष पुग्न सक्ने वा रहन सक्ने सम्भावना रहन्छ । यसबाट कुनै आपराधिक क्रिया भएको समयमा त्यस्तो कार्य गर्ने व्यक्तिसमक्ष पुगेकै वा रहेकै आधारमा निजको समेत त्यस्तो अपराधमा निरपेक्ष रूपमा सो आपराधिक कार्य गर्ने व्यक्तिसरह आपराधिक दायित्व हुन्छ भन्नु फौजदारी अपराधमा व्यक्तिगत दायित्व हुन्छ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तसमेतको विपरीत हुन जान्छ” (ने.का.प. २०७५, अङ्क ५, नि.नं.१००११) भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामासमेत यी प्रतिवादीहरू अभियोग दाबीमा इन्कार रहेको, निजहरूबाट लागु औषध बरामद नभएको र वादी पक्षले निजहरूले आरोपित कसुर गरेको पुष्टि गर्ने अन्य प्रमाण गुजार्न सकेको अवस्था नहुँदा प्रतिवादीहरूले आरोपित कसुर गरेको स्थापित हुन आएन ।
८. कुनै व्यक्तिले लागु औषधको कारोबार गर्ने व्यक्तिलाई चिन्दैमा लागु औषधको कारोबार गर्ने व्यक्तिसँग आवतजावत, उठबस तथा सम्पर्क हुँदैमा ठोस प्रमाणको अभावमा त्यस्तो व्यक्ति पनि दोषी हुन्छ भन्न मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने र दाबी प्रमाणित गर्ने भार वादीमा रहने फौजदारी न्यायका मान्य सिद्धान्तसमेत विचार गर्दा प्रतिवादी मानबहादुर तामाङसँग लागु औषध बरामद भएको र यी प्रतिवादीहरू सानुमाया तामाङ, फुर्वा लामा, गोविन घले, दिपक तामाङ, राजबहादुर तामाङबाट लागु औषध बरामद नभएको र यी प्रतिवादीहरूले लागु औषध कारोबार गर्ने र आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध रूपमा कसुर गरेको भन्ने वादी पक्षले शंकारहित, वस्तुनिष्ठ ठोस प्रमाणबाट अभियोग पुष्टि गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
९. तसर्थ उल्लिखित कानूनी व्यवस्था, प्रतिपादित सिद्धान्तलगायत मिसिल संलग्न विवेचित आधार, कारणसमेतबाट प्रतिवादीहरू सानुमाया तामाङ, गोविन घले, फुर्वा लामा, दिपक तामाङ र राजबहादुर तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०७१।६।५ को फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७३।३।२१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : लक्ष्मी राना
इति संवत् २०७७ साल असार १९ गते रोज ६ शुभम् ।