शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५८३ - लागु औषध बिक्री वितरण

भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई 

माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत

माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी

फैसला मिति : २०७६।१०।१६

मुद्दा : लागु औषध बिक्री वितरण

 

०६७-CF-०००९

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन र रोयल क्यानाडा माउन्टेड पुलिस नयाँ दिल्लीको टेलिफ्याक्स मेसेजसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २ बस्ने राजेन्द्र गोपाल राजभण्डारीसमेत

 

०७१-CR-१५५६

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन र रोयल क्यानाडा माउन्टेड पुलिस नयाँ दिल्लीको टेलिफ्याक्स मेसेजसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : मकवानपुर जिल्ला, साबिक आग्रा गा.वि.स. वडा नं. ३ स्थायी वतन भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ४ धोबिघाट बस्ने प्रेमबहादुर अर्जेल

 

अपराधको गम्भीरता र सजायको मात्राबिच सामञ्जस्यता र तादात्म्यता न्यायोचित र अपेक्षित हुन्छ । कसुर गर्दाको अवस्था र अपराधमा आरोपितको संलग्नता र भूमिकासमेतलाई दृष्टिगत गरी सजायको मात्रा निर्धारण गर्दा नै न्यायको मकसद पूरा हुन जान्छ । यो मान्यतालाई नजर अन्दाज गरी कसुर स्थापित हुँदैमा कानूनबमोजिमको अधिकतम हदको सजाय गर्दा न्यायको मकसद मर्न गई अन्यायपूर्ण अवस्थाको सिर्जना हुने खतरा रहने ।

(प्रकरण नं.१५)

 

वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता हरिप्रसाद जोशी

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल, विद्वान्‌ अधिवक्ता श्री नरबहादुर योगी

अवलम्बित नजिर : 

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः

मा.जिल्ला न्या.श्री कुमारप्रसाद पोखरेल

मा.जिल्ला न्या.श्री शेखरप्रसाद पौडेल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः 

माननीय न्यायाधीश श्री केशरमान पति

मा.न्यायाधीश श्री दामोदरप्रसाद प्रजापती

माननीय न्यायाधीश डा. श्री कुलरत्‍न भुर्तेल

मा.न्यायाधीश श्री भरतप्रसाद अधिकारी

पुनरावेदन अदालत पाटन

यस अदालतमा फैसला गर्नेः

मा.न्यायाधीश श्री मोहनप्रकाश सिटौला

माननीय न्यायाधीश श्री सुशिला कार्की

 

फैसला

न्या.डा.आनन्दमोहन भट्टराई : पुनरावेदन अदालत पाटनको मिति २०६०।१।९ र मिति २०६९।१२।११ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्‍ने छुट्टाछुट्टै निवेदनमा न्याय प्रशाशन ऐन, २०४८ को दफा १२(१)(ख) अनुसार यस अदालतबाट निस्सा प्रदान भई पेस हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ:-

तथ्य खण्ड

नेपालबाट उलन ज्याकेटमा लुकाई छिपाई एयर कार्गो गरी क्यानाडा पठाएको तथा क्यानाडा टोरन्टो अन्टरियोमा १७ जनवरी १९९८ मा बरामद भएको ५७६ के.जी लागु औषध चरेस नेपालबाट को कसले निकासी गरी क्यानाडा टोरेन्टोमा पठाएको हो सो पत्ता लगाई फेला पारेमा पक्राउ गरी दाखिला गर्नु भनी हामीलाई खटाई पठाएअनुसार सुराक पत्ता लगाई खोज तलास गर्दै जाँदा उक्त ५७६ के.जी. लागु औषध चरेस उलन ज्याकेटमा लुकाई एल्सा ट्रेड लिङ्कमार्फत कागजात तयारी गरी भन्सार क्लियर गर्ने व्यक्ति जिल्ला नुवाकोट मदानपुर गा.वि.स. वडा नं. २ बस्ने सिताराम कँडेल हो भन्ने बुझिन आएकोले निजको खोजतलास गर्दै जाँदा निजलाई मिति २०५४।१२।१६ गतेका दिन ठमेलमा घुमफिर गरिरहेको अवस्थामा फेला पारेकोले यस प्रतिवेदनसाथ दाखिल गर्न ल्याएका छौं, निजले को को भई, के कति जनाको संलग्नताबाट सो लागु औषध चरेस निकासी गरे निजबाटै खुलाई कारबाही गरिपाउँ भन्ने प्र.ना.उ. गोपालप्रसाद भण्डारीसमेतको प्रतिवेदन ।

बरामद भएको ५७६ के.जी. लागु औषध चरेस पठाउनको लागि पूर्णलाल श्रेष्ठले मलाई यही मिति २०५४ साल पौष १९/२० गतेतिर होला, लागु औषध चरेस क्यानाडा पठाउनु छ, एउटा घर भाडामा खोज भनेकोले मैले बालाजु वनस्थलीनेर एउटा खाली घर पूरै भाडामा लिएर सो घरको साँचो पूर्णलाल श्रेष्ठलाई दिएको हो । ३/४ दिनपछि पूर्णलाल श्रेष्ठले विदेश पठाउने लागु औषध चरेस आइसक्यो, सामान प्याकिङ गर्नु पर्‍यो भनी मलाई भाडामा लिएको सो घरमा लगे । सो ठाउँमा जाँदा इँटा आकारमा बनाइएको लागु औषध चरेस र कागजको बाक्साहरू पूर्णलाल श्रेष्ठले ल्याई राखेका रहेछन् । लागु औषध चरेस पूर्णले ल्याएकोले पूर्णलाल श्रेष्ठलाई नै थाहा होला । मैले ल्याएको 

होइन । पूर्णलाल श्रेष्ठ र भन्सारका कर्मचारी राजेन्द्रगोपाल र ध्वँजु भन्ने खरदारसमेतको संलग्नताबाट पूर्णलाल श्रेष्ठले भनेबमोजिम क्यानाडाको लागि चरेस निकासी गरेको हो भन्नेसमेत बेहोराको सिताराम कँडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

निकासी गोदाममा कार्यरत खरिदार राजेन्द्र गोपाल राजभण्डारी र श्याम ध्वँजुसमेतको संलग्नतामा नेपालबाट उलन ज्याकेट निकासी गर्ने बहानामा उलन ज्याकेटभित्र लागु औषध चरेस राखी क्यानाडा टोरेन्टोमा निकासी गरेको लागु औषध चरेसको फोटोहरू देखेँ, चिनेँ । पहिचान गरी सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको सिताराम कँडेलको ततिम्बा बयान । 

२०५४ साल पुस महिनाको तेस्रो हप्‍तातिर पूर्णलाल श्रेष्ठले लागु औषध चरेस Air Cargo गरी विदेश पठाउन लागेको छु, भन्सारबाट क्लियर गर्नमा तपाइँले सहयोग गरिदिनु पर्‍यो, म तपाइँलाई रू.५०,०००।- दिन्छु भनेकाले मैले सोचविचार गरी म भन्सारमा गर्नुपर्ने क्लियरको काम गरी दिन्छु भनेँ । त्यसको केही दिनपछि के कसरी पठाउने ? कसरी निकासी प्रज्ञापनपत्र भर्ने ? भन्ने सम्बन्धमा सरसल्लाह गर्न पूर्णलाल श्रेष्ठ लगातार तीन पटकसम्म मेरो घरमा आए । प्रज्ञापनपत्र दुई प्रति भर्नुपर्छ, दुई प्रति ल्याउनु भनेँ । मिति २०५४।९।२७ का दिन पूर्णलाल श्रेष्ठ र सिताराम कँडेल मेरो घरमा आई नेपाली उलन ज्याकेटहरू निर्यात गर्ने डकुमेन्ट तयार गरी ल्याएका छौं भनी अरू कागजातसहित २ प्रति नभरेको खाली निर्यात प्रज्ञापनपत्र ल्याई देखाएकोले सो कागजातहरू हेरी दुवै प्रज्ञापनपत्रमा माल धनीले भर्नुपर्ने महलमा मैले भनेबमोजिम सिताराम कँडेललाई भर्न लगाएँ । त्यसपछि भन्सार कार्यालयमा पेस गर्नका लागि सामानसहित ल्याउनु भनी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई दिएँ । अर्को प्रति प्रज्ञापनपत्रमा भन्सार कार्यालयले भर्नुपर्ने सबै विवरण म आफैँले भरी भन्सार अधिकृतले दस्तखत गर्नुपर्ने ठाउँमा समेत किर्ते दस्तखत गरी सो किर्ते निर्यात प्रज्ञापनपत्र मैले आफैँले राखेँ । सिताराम कँडेल र पूर्णलाललाई दिएको प्रति चाहीँ सामानसहित लिएर गोदाममा आउनु, त्यहाँ आएपछि डकुमेन्ट कागजात पेस गर्नु मैले खरिदार श्यामलाल ध्वँजुलाई सबै कुरा गरेको छु, सामान चेकजाँच गर्न जसको नाममा तोक लागे पनि सो कागजात श्यामलाललाई नै दिनु, सो तोक लागेको डकुमेन्टसहितको प्रज्ञापनपत्र श्यामलाल आफैँले राख्छन, त्यसपछि मसँग भएको किर्ते गरिएको प्रज्ञापनपत्रबाट श्यामलाल र मैले तिमीहरूले ल्याएको सामान हेर्ने काम गर्छौं, चरेस नभएको बाकस अगाडि राख्नु र चरेस भएको बाकसचाहीँ पछाडि राख्‍नु, यसरी सामान चेकजाँच गर्ने काम पूरा भइसकेपछि भन्सार अधिकृतबाट तोक लागेकै सक्‍कल निर्यात प्रज्ञापनपत्रमा भर्नुपर्ने सबै विवरण भरी हाकिमकोमा श्यामलालले पेस गर्छन्, भन्सार अधिकृतको दस्तखत भएपछि सो  सक्‍कल प्रति तुरून्तै हामीले खिच्ने र हामीले बनाएको नक्‍कली प्रति चाहीँ कार्यालयमा राख्ने र पारवहनमा पठाउने भन्ने सल्लाह भएबमोजिम २०५४।९।२८ का दिन म कार्यालयमै थिएँ । पूर्वसल्लाहबमोजिम सितारामले लागु औषध चरेस भएको २३ बाकस पछाडि र जाकेट मात्र भएको ८ बाकस अगाडि राखे । डकुमेन्ट लिएर श्यामलाल भन्सार अधिकृतको कोठामा आएपछि म पनि गएँ । भन्सार अधिकृतले सामान चेक गर्न श्यामलालको नाममा तोक लगाई दिनुभयो । मैले श्यामलालसँग सामान चेकजाँच सम्बन्धमा पहिले नै कुरा मिलाई सकेको थिएँ । मैले र खरिदार श्यामलाल ध्वँजु भई भन्सार अधिकृतले दस्तखत गरेका सक्‍कल प्रज्ञापनपत्र मैले खिची सो ठाउँमा किर्ते गरी घरैमा भरेको किर्ते प्रज्ञापनपत्रको प्रति मध्येबाट कार्बनबाट लेखिएको १ प्रति कार्यालयमा राखी अर्को १ प्रति किर्ते प्रज्ञापनपत्र पारवहन पठाउनेमा राखिदिएँ । भन्सार अधिकृतको सहीछाप भएको सक्कल प्रतिबाट एकप्रति सिताराम कँडेललाई दिएँ । यसरी पूर्णलाल श्रेष्ठ र सिताराम कँडेलले अमेरिका पठाउने भनी क्यानाडा पठाउन ल्याएको ५७६ किलो लागु औषध चरेस प्याक गरिएको कागजको बाक्साहरू भन्सार क्लियर गरिदिएको हुँ । यसरी लागु औषध चरेस राखेको बाकसहरू निर्यातको लागि पास गर्न मलाई पूर्णलाल श्रेष्ठले दिएको रू. ५०,०००।- मध्ये रू. २५,०००।- मैले खरिदार श्यामलाल ध्वँजुलाई दिएँ र बाँकी रू. २५,०००।- मैले लिएँ भन्नेसमेत बेहोराको राजेन्द्र गोपाल राजभण्डारीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ३ नं. निकासी गोदाममा कार्यरत खरिदार राजेन्द्रगोपाल राजभण्डारीले मसँग भेट गरी मैले एकजना पूर्णलाल श्रेष्ठ भन्ने व्यक्तिको लागु औषध चरेस बाहिर पठाइदिने जिम्मा लिएको छु, मलाई तपाइँको पनि मद्दत चाहियो, तपाइँले मद्दत गरेबापत तपाइँलाई पनि केही फाइदा हुन्छ भनेकाले मैले पनि राजेन्द्र खरदारलाई हुन्छ भनी राखेको 

थिएँ । मिति २०५४।९।२५ गते निज राजेन्द्रले मलाई ३ नं. निकासी गोदाममै भेटी पर्सी मिति २०५४।९।२८ गतेका दिन उलन जाकेट राखिएको बाकसभित्र अबैध लागु औषध चरेस राखी बाहिर पठाउने काम हुँदै छ, सो सामान लिएर सिताराम भन्‍ने मानिस सामान क्लियर गराउनका लागि आवश्यक कागजातसहित आउँछन् भनी सितारामसँग निजले सल्लाह गरेबमोजिम कसरी सामान पास गराउने भनी सबै कुरा मलाई भने । सोही सल्लाहअनुसार सिताराम कँडेलले लागु औषध चरेस राखिएको बाकस ल्याई डकुमेन्टसहित भन्सार हाकिमकोमा पेस गरे । सितारामले ल्याएको कागजमा हाकिमले मेरो नामको तोक लगाइदिए । त्यसपछि मैले राजेन्द्रसँग भेट गरी निजसँग भएको सल्लाहअनुसार लागु औषध भएको २३ वटा बाकस पछाडिपट्टि राखी चरेस नराखिएका ८ वटा बाकसहरू अगाडिपट्टि राख्‍न लगाएँ । लागु औषध नभएको १/२ वटा बाकस हेरे जस्तो गर्नु भने । राजेन्द्रगोपाल र म भएर उलन जाकेट मात्र भएको केही बाकस हेरी प्याक गर्न लगायौं । राजेन्द्रगोपाल राजभण्डारीले मिलाएको योजनाअनुसार मसमेत संलग्न भई सम्बन्धित पार्टीले ल्याएको प्रज्ञापनपत्रमा भरिएको ठेगानाअनुसार उलन जाकेटको नाममा सोभित्र लागु औषध चरेस राखी निकासी गरिएको हो । राजेन्द्रले भनेअनुसार मसमेत संलग्न भई यस्तो कायम गरेको हुँ । राजेन्द्र खरिदारले प्रलोभन देखाएकोले यसो गरेको हुँ भन्नेसमेत बेहोराको श्यामलाल ध्वँजुले अनुसन्धानको क्रममा गरेको 

बयान ।

५७६ के.जी. लागु औषध चरेस निकासी गर्नका लागि प्याक गर्न प्रयोग गरी बाँकी रहेका कागजका बाक्सा र कपडासमेत बालाजुमा शंखनारायण महर्जनको घरमा कोठाभाडामा लिई राखेको छ भनी सिताराम कँडेलले बताएअनुसार निज सिताराम कँडेलसमेतलाई साथै लिई निजले देखाएअनुसार निज सिताराम कँडेलसमेतले भाडामा लिएको कोठामा गई खानतलासी गर्दा कागजका बाक्सा र प्याक गर्न प्रयोग भई बाँकी रहेका कपडासमेत बरामद भएको ठिक साँचो हो भन्ने मिति २०५५।१।२ गतेको बरामदी मुचुल्का । 

राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुले मलाई भेटी तपाइँसँग भएको प्रज्ञापन पत्रको प्रतिलिपि हामीलाई दिनुहोस्, प्रहरीले र हाम्रो कार्यालयले मागेमा नदिनु भनेका थिए । उक्त कागज छैन भनी हामीले निजहरूलाई दिएका थिएनौं । २०५४।९।२८ गते भन्सार अधिकृतको दस्तखतसमेत भएको भन्सार प्रज्ञापनपत्रको कार्बन प्रति ल्याई सिताराम कँडेलले मलाई दिएका हुन् । सो प्रज्ञापनपत्रको साथमा क्यानाडामा पाउने व्यक्तिको नाम ठेगाना दिएर एयर क्यानाडाबाट Air Way Bill समेत बनाउनु भनेकोले सोहीअनुसार मैले Air Way Bill बनाएर क्यानाडा एयरलाइन्सको अफिस कान्तिपथमा बुझाई मिति २०५४।९।२९ गते नेपालबाट जापानको ओसाका जाने रोयल नेपाल एयरलाइन्सको उडानद्वारा पठाएको हुँ । ओसाकाबाट एयर क्यानाडाको उडानद्वारा टोरन्टोसम्म गएको हो । निज सिताराम कँडेलले ३१ बाकस नेपाली ऊनी ज्याकेट क्यानाडा पठाउन Air Way Bill बनाउन पेस गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तर्गत ३ नं. निर्यात गोदामबाट भन्सार क्लियर गरिएको दर्ता नं. ९७०२ मिति २०५४।९।२८ गतेको कार्बनबाट लेखिएको निर्यात प्रज्ञापनपत्र यसै कागज साथ सक्कलै दाखिला गरेको छु भन्नेसमेत बेहोराको Shangrila Freight Private Limited नामक कम्पनीका साझेदार कुमार दाहालले गरेको कागज । 

हाल पक्राउ परेका सिताराम कँडेल भन्ने व्यक्ति नै मलाई आफ्नो नाम रामकृष्ण पाण्डे हो भनी घर भाडामा खोज्न आएका थिए । निजको खास नाउँ के हो मलाई थाहा भएन । घरभाडा लिने व्यक्ति यिनै हुन् । निजले मेरो घरमा लागु औषध चरेसको गोदाम गरी चरेसको कारोबार गर्दछन् भन्ने कुरा थाहा थिएन भन्नेसमेत बेहोराको शरदमान शाक्यको कागज । 

फोटो देखाउँदा देखेँ, सो फोटो पूर्णलाल श्रेष्ठको हो । सिताराम कँडेलसमेतका दुई जनाले मेरो घरमा कोठा भाडामा लिएका हुन् । पछि एउटा कोठा तीन महिनापछि छाडे भन्नेसमेत बेहोराको शंखनारायण महर्जनले पूर्णलाल श्रेष्ठको फोटो सनाखत गरिदिएको कागज । 

को कसले मेरो नाममा किर्ते प्रज्ञापनपत्र बनाई मैले समान जाँच गरेको भनी प्रज्ञापन पत्र र दर्ता रजिस्टरमा नाम उल्लेख गरे गराए मलाई थाहा छैन भन्नेसमेत बेहोराको त्रि.अ.वि. भन्सार कार्यालयमा खरिदार पदमा काम गर्ने श्रीमती शान्ता खड्काको कागज ।

प्रज्ञापनपत्र नं. ९७०२ मा उल्लिखित जाँचकीको नाम तोकेको आदेश, प्रज्ञापनपत्र स्वीकृत गरेको भन्सार अधिकृतको दस्तखत । अभियुक्तले आफ्नो कुकर्म छल्न जाँचकीको नाउँ लुकाउन प्रज्ञापनपत्रको किर्ते प्रति बनाई फाइलमा हुनुपर्ने सक्कली प्रति गायब गरी सोको बदलामा किर्ते प्रज्ञापनपत्र राखिदिएको प्रमाण प्रज्ञापनपत्र दर्ता रजिस्टरमा उल्लिखित जाँचकीको नाम श्री श्याम ध्वँजुलाई केरी सोको माथि शान्ता लेखिएको कुराबाट पनि स्पष्ट हुन्छ । सो प्रज्ञापनपत्र नं. ९७०२ मा श्याम ध्वँजुको नाममा तोक आदेश भई निजबाट जाँच पास भएको हो । मिति २०५४।९।२८ को प्रज्ञापनपत्र दर्ता गर्ने काम शुकनाथ खरेलले गरेको हो । उक्त मितिमा प्रज्ञापनपत्र नं. ९७०२ दर्ता रजिस्टरमा जाँचकीको नाम श्री श्याम ध्वँजु भनी प्रज्ञापनपत्र दर्ता कर्ता शुकनाथ खरेलको हस्ताक्षर छ । उक्त मुद्दाको अनुसन्धानको क्रममा थुनामा परेका अभियुक्तहरूमध्येबाट नै किर्ते प्रज्ञापनपत्रको कार्बन प्रति बनाएको हुनुपर्छ भन्नेसमेत बेहोराको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत भाइकाजी तण्डुकारले अनुसन्धानको क्रममा गरिदिएको कागज ।

प्रज्ञापनपत्र दर्ता नं. ९७०२ मा मैले जाँचकीको नाम श्री श्यामलाल ध्वँजु लेखेको थिएँ । अहिले पछि हेर्दा सो ठाउँमा अर्काको नाम पर्न गएको र सो अर्काको नाम लेखेको अक्षर मैले लेखेको हैन भन्नेसमेत बेहोराको त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत Internee कर्मचारी शुकनाथ खरेलको लिखित स्पष्टीकरण ।

यस प्रज्ञापनपत्रमा उल्लिखित कार्यालयबाट भर्नुपर्ने महलमा भर्ने काम भिडको कारण मौखिक रूपमा कार्यालयबाट मलाई जिम्मा लगाई राखेबमोजिम खरिदार श्यामलाल ध्वँजुबाट सामान जाँचपास भइसकेपछि मैले लेखेको हो भन्ने बेहोराको त्रि.अ.वि. भन्सार कार्यालयमा कार्यरत टा.ख. रामकृष्ण श्रेष्ठको लिखित स्पष्टीकरण ।

मैले सो दिन श्यामलाल ध्वँजुको नाममा तोक लगाएको प्रज्ञापनपत्र श्यामलालले सामान जाँचपास गरी हाकिमले पनि सहीछाप गरेको प्रज्ञापनपत्र मैले दर्ता गरेको हो । दर्ता रजिस्टरमा सामान जाँच गर्ने भनी मैले श्यामलाल ध्वँजुको नाम उल्लेख गरी लेखिदिएको थिएँ । पछि सो नाम काटी माथिबाट शान्ता भन्ने नाम लेखेको रहेछ । सो कसले लेख्यो मलाई थाहा 

भएन । मैले श्यामलाल ध्वँजुको नाम काटी जाँचकीको नाम शान्ता लेखेको होइन । सो दिन भन्सार प्रज्ञापनपत्र दर्ता गर्ने काम मात्र मैले गरेको हो भन्नेसमेत बेहोराको त्रि.अ.वि. भन्सार कार्यालयमा कार्यरत Internee कर्मचारी शुकनाथ खरेलले अनुसन्धानको क्रममा गरिदिएको कागज ।

सन् १९९८ जनवरी १७ मा क्यानाडाको टोरन्टोमा बरामद भएको ५७६ के.जी. लागु औषध चरेसको पूरा सेट फोटोहरू अनुसन्धानको लागि पठाएको छ भन्ने Royal Canadian Mounted Police, Liaison Office, New Delhi बाट सन् १९९८ अप्रिल २३ गतेको पत्रसाथ पठाइएको ४६ थान फोटोहरू मिसिल सामेल रहेको ।

प्रतिवादी प्रेमबहादुर अर्जेल र पूर्णलाल श्रेष्ठको मिलेमतोबाट एल्सा ट्रेड लिङ्क नामक निकासी फर्म दर्ता गरी सोही फर्मको माध्यमबाट चरेस निकासी गर्ने पूर्व तयारी र सल्लाहबमोजिम प्रतिवादी सिताराम कँडेलको मद्दतबाट ३१ बाक्सा उलन ज्याकेटमध्ये २३ बाकसमा ५७६ के.जी. चरेससमेत प्याक गरी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारीसँग सम्पर्क गरी निजले दुई प्रति प्रज्ञापनपत्र भरी प्रतिवादी श्यामलाल ध्वँजुसँग मिलेमतो गरी मिति २०५४।९।२८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको ३ नं. गोदाममा पुर्‍याई भन्सार अधिकृतबाट प्रतिवादी श्यामलाल ध्वँजुको नाउँमा उक्त ३१ बाकस जाँच गर्ने तोक लागेपछि ८ बाक्सा उलन ज्याकेट मात्र जाँच गरी सक्‍कली प्रज्ञापनपत्र AIR WAY BILL बनाउन सितारामलाई दिई नक्‍कली प्रज्ञापन पत्र भन्सार कार्यालयको फाइलमा राखी शान्ता खड्काको तोक आदेश लगाएको नक्‍कली तोक आदेश बनाई दर्ता किताबमा समेत श्यामलाल ध्वँजुको सट्टा शान्ता खड्का बनाई प्रतिवादीहरूले ५७६ के.जी. लागु औषध चरेस Shangri-La Freight को AIR WAY BILL बनाई शाही नेपाल वायुसेवा निगमको जहाजमार्फत जापानको ओसाका हुँदै क्यानाडाको टोरन्टोमा पुर्‍याई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिमको कसुर अपराध गरेको सप्रमाण पुष्टि हुन आएकोले प्रतिवादी पूर्णलाल श्रेष्ठ, सिताराम कँडेल, प्रेमबहादुर अर्जेल, राजन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई सोही ऐनको दफा १४(१)(घ)(५) बमोजिम सजाय गरी चरेस ओसारपसार गर्ने काममा प्रयोग भएको ना.अ.च. ५७०९ को टोयोटा म्यारीनो कार ऐ. ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने मागदाबी लिई दायर भएको अभियोग पत्र । 

प्रहरीमा गरेको बयानमा लागेको सहीछाप मेरै हो । मिति २०५४।९।२८ को प्रज्ञापनपत्रमा मेरो हस्ताक्षर छ, मैले नै भरेको हुँ । मैले Invoice अनुसार ६८२ थान उनीका जाकेट अमेरिका पठाएको 

हो । एल्सा ट्रेड लिङ्कमार्फत अमेरिकाको माइकल अरूणको नाममा प्रज्ञापनपत्र भरेर ६८२ थान ऊनी ज्याकेट पठाएको हो भनी सिताराम कँडेलले सुरू अदालतमा गरेको बयान । 

घटना भएको दिन म कार्यालयमा थिएँ । नक्‍कली प्रज्ञापनपत्र कहाँबाट आयो मलाई केही थाहा छैन र उक्त लागु औषध कताबाट क्यानाडा गयो सो पनि थाहा छैन, जबरजस्ती प्रहरीले कागज गराएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारीले सुरू अदालतमा गरेको बयान । 

प्रहरीले गराएको बयान झुठ्ठा हो । त्यसमा लागेको सहीछाप मात्र मेरो हो । मैले लागु औषध चरेस निकासी गर्ने कुनै कार्य गरेको छैन । इन्भ्वाइसमा जुन सामान उल्लेख गरिएको थियो मैले त्यही सामान मात्र चेक जाँच गरी जाँच पास गरेको हुँ । इन्भ्वाइसअनुसारको अमेरिका पठाउने सामान चेक जाँच गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी श्यामलाल ध्वँजुले सुरू अदालतमा गरेको बयान । 

तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीहरू कसुरदार हुन् भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिब आधार देखिँदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दा पुर्पक्षका लागि प्रतिवादी सिताराम कँडेल, प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी तथा प्रतिवादी श्यामलाल ध्वँजुसमेतलाई अ.बं. ११८ नं. को देहाय २ बमोजिम थुनामा राख्‍नु र फरारी प्रतिवादी पूर्णलाल श्रेष्ठ तथा प्रेमबहादुर अर्जेलका नाउँमा कानूनबमोजिम वारेन्ट तथा म्यादी पुर्जी जारी गरिरहनु भन्नेसमेत बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०५५।३।२४ को आदेश । 

सिताराम कँडेलले अपराधमा संलग्न भएको भन्न पनि नसकेको परिप्रेक्ष्यमा निजहरूलाई थुनामा राख्नुपर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेशमा तत्काल प्राप्त प्रमाणको वस्तुपरक विवेचना भएको नदेखिँदा उक्त मिति २०५५।३।२४ को आदेश बदर गरिदिएको छ । अब अपराधको संलग्नतासमेत विचार गर्दा निज निवेदकहरू राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई हालसम्मको अवस्थाबाट अ.बं. ११८ को देहाय ५/१० अनुसार जनही एक लाख रूपैयाँ नगद वा सो बराबरको जेथा जमानी दिए लिई तारेखमा राखी पुर्पक्ष गराउनु भन्ने श्री पुनरावेदन अदालत पाटन, ललितपुरको मिति २०५५।४।२८ गतेको आदेश । 

राजेन्द्र गोपाल राजभण्डारीलाई अभियोग पत्रअनुसार सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको राजेन्द्र गोपाल राजभण्डारीका साक्षी राजन राजवन्त श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र । 

अभियोग पत्रअनुसार श्यामलालले मिलोमतो गरी लागु औषध पठाएको कुरा झुठ्ठा हो । निजलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी श्यामलाल ध्वँजुको साक्षी वेदबहादुर के.सी. को बकपत्र र यसै मिलानको निज श्यामलालकै साक्षी जीवन पौडेलले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी सिताराम कँडेललाई अभियोग पत्रअनुसार सजाय हुनुपर्ने होइन । निजले लागु औषधको कारोबार गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी सिताराम कँडेलका साक्षी ताराप्रसाद पाण्डे र गोपाल खड्काले सुरू अदालतमा गरेको एकै मिलानको छुट्टाछुट्टै बकपत्र । 

यस मुद्दामा प्रतिवादी बनाएका कुनै पनि प्रतिवादीसँग मेरो चिनजान छैन । सिताराम कँडेल र प्रेमबहादुर अर्जेलसमेतसँग चिनजान नभएको हुँदा मिलोमतोमा लागु औषध क्यानाडा निकासी गरेको भन्ने झुठ्ठा हो । लागु औषध मैले पठाएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी पूर्णलाल श्रेष्ठले सुरू अदालतमा हाजिर भई गरेको बयान । 

हालसम्म सङ्कलित कुनै स्वतन्त्र प्रमाणबाट प्रतिवादी पूर्णलाल श्रेष्ठका विरूद्ध मुलुकी ऐन, अ.बं. ११८ देहाय (२) को अवस्था विद्यमान देखिन नआएकोले पछि ठहरेबमोजिम हुने गरी हाललाई प्रतिवादी पूर्णलाल श्रेष्ठलाई मुलुकी ऐन अ.बं. ४७ नं. बमोजिम साधारण तारेखमा राख्नु भन्ने सुरू अदालतको मिति २०५६।८।१६ को आदेश । 

प्रतिवादी पूर्णलाल श्रेष्ठ कसुरदार हुन् भनी विश्वास गर्ने पर्याप्त र मनासिब आधार प्रमाण भई अ.बं. ११८(२) को अवस्था विद्यमान हुँदा पूर्णलाल श्रेष्ठका विरूद्ध अ.बं. ११८(२) को व्यवस्था विद्यमान देखिन नआएको भन्दै तारेखमा राख्नु भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०५६।८।१६ मा भएको आदेश त्रुटिपूर्ण हुँदा बदर हुन्छ । मुलुकी ऐन, अ.बं. ११८(२) को अवस्था विद्यमान हुँदा पछि मुद्दामा ठहरेबमोजिम हुने गरी अ.बं. ११८(२) बमोजिम प्रतिवादी पूर्णलाल श्रेष्ठलाई थुनामा राखी मुद्दाको कारबाही किनारा गर्नु भन्नेसमेत बेहोराको मिति २०५६।११।५ को पुनरावेदन अदालत पाटन ललितपुरको आदेश । 

लागु औषध नियन्त्रण कानून कार्यान्वयन एकाइको अफिसमा मिति २०५५।३।२ मा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको बुझिएका भन्सार अधिकृत भाइकाजी तण्डुकारले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०५४।१२।२६ मा दिएको प्रतिवेदनमा भएको बेहोरा र सहीछाप मेरै हो भन्नेसमेत बेहोराको प्र.स.नि. वीरबहादुर गिरीले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०५४।१२।१६ मा दिएको प्रतिवेदनमा लेखिएको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको प्र.ना.नि. कृष्ण गोपाल श्रेष्ठले सुरू अदालतमा गरेको बकपत्र । 

मैले श्यामलाल ध्वँजुको नाममा प्रज्ञापनपत्र दर्ता गरेको हो । सो बेहोरा काटी शान्ता खड्काको नाम कसले लेख्यो मलाई थाहा छैन भन्नेसमेत बेहोराको शुकनाथ खरेलले सुरू अदालतमा गरेको बकपत्र । 

अनुसन्धान अधिकारीसमक्ष गरेको कागज मेरो हो । मैले गरेको हुँ भन्नेसमेत बेहोराको शंखनारायण महर्जनले सुरू अदालतमा गरेको बकपत्र । 

एल्सा ट्रेड लिङ्कको नाममा निकासी गरिएका भन्ने ३१ वटा बाकस मैले चेकजाँच गरिन भन्नेसमेत बेहोराको शान्ता खड्काले सुरू अदालतमा गरेको बकपत्र । 

मैले २०५४ साल पौष महिनादेखि उक्त घर रामकृष्ण पाण्डे भन्ने व्यक्तिलाई महिनाको बिस हजार भाडामा दिएको थिएँ भन्नेसमेत बेहोराको शरदमान शाक्यले सुरू अदालतमा गरेको बकपत्र । 

फरारी प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा मुद्दा मुलतबी राखिदिनू । प्रतिवादी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठले हाम्रो घर भाडामा लिएका हुन् भनी घर धनीहरू शंखनारायण महर्जन र शरदमान शाक्यले प्रतिवादी सिताराम कँडेललाई र फरार प्रतिवादी पूर्णलालको फोटो सनाखत गरिदिएको र क्यानाडाको टोरेन्टोमा पठाइएको बाकससँग मिल्दो जुल्दो कागजका बाकस भाडामा लिइएका घर कोठाको खान तलासी गर्दा फेला परेकोसमेतका आधार कारण प्रमाणबाट प्रतिवादीद्वय सिताराम कँडेल र पूर्णलाल श्रेष्ठले अभियोग दाबीबमोजिम लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसुर गरेको प्रमाणित भएकोले निजहरूलाई ऐ. ऐनको दफा १४(१)घ)(५) बमोजिम जनही कैद वर्ष ५ (पाँच) र जरिवाना रू.५०,०००।– (पचास हजार) हुने ठहर्छ । प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट  मिति २०५७।१०।५ मा भएको फैसला । 

काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझेन । क्यानाडामा खिचिएको फोटो र बालाजुमा भएको कागजको बाकस मिल्दो जुल्दो छ भनी भन्नु हास्यास्पद छ । म पुनरावेदकले ६८२ थान उलन ज्याकेट माइकल अरूण (संयुक्त राज्य अमेरिका) का नाउँमा पठाउन आवश्यक कागजात तयार गरेको हो । म पुनरावेदकले उपर्युक्तानुसार गरी भन्सार कार्यालय एयरपोर्टमा बुझाइसकेपछि के कसको संलग्नतामा के कसरी अवैध लागु औषध क्यानाडा पठाइयो मलाई थाहा हुने कुरा होइन । लागु औषध मबाट बरामद भएको अवस्था छैन । लागु औषध नियन्त्रण ऐन, २०३३ को प्रमाणको भारसम्बन्धी व्यवस्था मेरो हकमा आकर्षित हुन सक्दैन । अतः मलाई दोषी करार गरी गरिएको सुरू फैसला उपर्युक्त आधार कारणबाट त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सिताराम कँडेलको तर्फबाट पुनरावेदन अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र ।

प्रत्यर्थी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको साबिती बयान र सुरू अदालतको फैसलाबाट समेत कसुरदार ठहर भएका सिताराम कँडेलको साबिती बयान पोलसमेतबाट विमानस्थलको कर्मचारी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको समेत प्रतिवादी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठसँग मिलोमतो गरी लागु औषध निकासीसमेतको कारोबार गर्नमा प्रत्यक्ष संलग्नता रहेको देखिँदादेखिँदै सोको न्यायोचित मूल्याङ्कन नगरी निजहरूलाई आरोपित कसुरबाट सफाइ दिएको तथा ठुलो परिमाणको (५७६ के.जी) चरेस जस्तो कडा लागु औषध अवैध रूपमा निकासी गरेको तथ्यलाई मध्यनजर गरी कसुरदार ठहर भएका प्रतिवादी पूर्णलाल श्रेष्ठ र सिताराम कँडेललाई अधिकतम सजाय निर्धारण गर्नुपर्नेमा घटी सजाय गरी तथा बरामदी सवारी साधनसमेत जफत नगरी गरिएको सुरू फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी गरी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई समेत अभियोग दाबीबमोजिम सजाय गरी पाउन, कसुरदार ठहर भएको प्रत्यर्थी पूर्णलाल श्रेष्ठ र सिताराम कँडेललाई अपराधको मात्राअनुसार अधिकतम सजाय गरी बरामद सवारी साधनसमेत अभियोग दाबीबमोजिम जफत गरी पाउन सादर अनुरोध गरिन्छ भन्नेसमेत बेहोराको तत्कालीन श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा दायर भएको पुनरावेदनपत्र । 

यसमा नेपालबाट निकासी भएको अत्यधिक मात्राको चरेस क्यानाडाको टोरेन्टोमा फेला परेको, सो चरेस पठाउँदा आफूले एयरपोर्टमा सामान जाँच गरेको र सो कसुरमा संलग्न रहेको भनी प्रतिवादीमध्येका राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुसमेत साबित रही अनुसन्धान अधिकृतसमक्ष बयान गरेको र कसुरदार ठहरिएका अन्य प्रतिवादीहरूले पनि निजहरूलाई पोल गरी बयान गरेको र उक्त चरेस अनेक बाकसमा पठाइएकोमा सो बाकसहरू ड्युटीमा रहेको निजहरूबाट जाँच गर्दा नियतपूर्वक फेला नपारिएको भनी स्थापित भएको मानी कसुरदार ठहर्‍याउनुपर्नेमा नठहर्‍याई सफाइ दिएको फैसला त्रुटिपूर्ण देखिएको, त्यस्तै उक्त चरेस पठाउने पूर्णलाल श्रेष्ठ र सिताराम कँडेलसमेतलाई लागु औषधको मात्रा, गिरोह, विदेश निकासीमा सरकारी कर्मचारीको प्रयोगसमेतको अपराधको मात्राको आधारमा निजहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ)(५) बमोजिम अधिकतम सजाय गर्नुपर्नेमा घटी सजाय गरेकोसमेत काठमाडौं जिल्ला अदालतको फैसला त्रुटिपूर्ण देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावलीको नियम ४७ बमोजिम विपक्षी पूर्णलाल श्रेष्ठलाई झिकाई लगाउको मुद्दा साथै राखी नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनको मिति २०५८।९।१० को आदेश । 

यसमा यसै लगाउको स.फौ. १२९।१९२६ मा झ.झी भएको र पुनरावेदक सिताराम कँडेल भएको स.फौ. १५९।१०५१ मा पुनरावेदन सरकारी वकिल कार्यालयलाई पेसीको सूचना दिएको मिसिलबाट नदेखिएकोले स.फौ. १५९।१०५१ मा समेत अ.बं. २०२ नं. को प्रयोजनको लागि पेसीको जानकारी पुनरावेदन सरकारी वकिल कार्यालयलाई दिई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०५९।७।२६ को पुनरावेदन अदालत पाटनको आदेश । 

फरार प्रतिवादीमध्ये प्रेमबहादुर अर्जेल हालसम्म हाजिर भएको नदेखिँदा सुरूले निजको हकमा मुल्तबी राखेकोले हाल केही गरिरहनु परेन । अन्य प्रतिवादीहरूको हकमा विचार गर्दा, १७ जनवरी १९९८ मा क्यानाडा टोरेन्टो अन्टारियोमा लागु औषध चरेस ५७६ कि.ग्रा. बरामद भएको तथ्यमा विवाद 

छैन । नेपालबाट पठाएको १२ जनवरी १९९८ को प्रज्ञापन नं. ९७०२ नं. को उलन ज्याकेटको कार्गोमा सो चरेस ५७६ कि.ग्रा. फेला परेको पाइन्छ । प्रज्ञापन नं. ९७०२ मा गएको उक्त सामान उनीको ज्याकेट भनी निर्यात गरेको, तर सो ऊनीको जाकेट नभई चरेस भएको तथ्यमा पनि विवाद देखिँदैन । प्रतिवादीमध्येका सिताराम कँडेलले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा कसुरमा आफू साबित भई अन्य प्रतिवादीसमेतको मिलोमतोमा उक्त आपराधिक कार्य गरेको भनी पोल गरेको पाइन्छ भने निजै प्रतिवादीले अदालतसमक्ष आई बयान गर्दा प्रज्ञापन नं. ९७०२ मा ऊनी ज्याकेट मैले नै पठाएको हो, तर क्यानाडा नभई सो सामान अमेरिका पठाइएको भन्नेसम्म स्वीकार गरेका छन् । यसैगरी प्रतिवादी सिताराम कँडेलको अनुसन्धान अधिकारीसमक्षको साबिती बयानलाई घर भाडामा दिने शंखनारायण महर्जन र शरदमान शाक्यले प्रहरी र अदालतसमक्ष गरेको कागजातले समर्थन गरिरहेको छ भने अर्कोतर्फ क्यानाडामा चरेस बरामद गर्दा खिचिएको Royal Canadian Mounted Police, International Liaison Office, New Delhi मार्फत प्राप्त भएका मिसिल संलग्न फोटोहरूमा देखिने कागजका कार्टुन र प्रतिवादीले भाडामा लिएको घर खानतलासी गर्दा नेपाल प्रहरीले बरामद गरेका कागजका कार्टुन एकआपसमा उस्तै जस्तो देखिने खालका पाइएकोले पनि प्रतिवादी उपरको अभियोग दाबी समर्थित भएको पाइन्छ । घरधनी शरदमान शाक्यले प्रतिवादी सिताराम कँडेललाई र घरधनी शंखनारायणले प्रतिवादी पूर्णलाल श्रेष्ठको फोटो हेरी सनाखत गरिदिएकोमा सो सनाखतलाई समर्थन गर्दै अदालतसमक्ष बकपत्र गरेकोबाट प्रज्ञापन नं. ९७०२ मा ऊनी ज्याकेट भनी चरेस सञ्चय, ओसार पसार, कारोबार गरी निर्यात गरेको प्रस्ट भएकोले प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठको अदालतसमक्षको इन्कारी बयानको आधारमा मात्र कसुरदार होइनन् भनी मान्न नमिल्ने हुँदा निज प्रतिवादीहरूले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टी हुन आयो । सुरूले सफाइ दिएको प्रतिवादीहरू राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको हकमा समेत वादी पक्षको पुनरावेदन परेकोले सोतर्फ विचार गर्दा निज प्रतिवादीहरूको अपराधमा संलग्नता भएको पाइएन । वादी श्री ५ को सरकारले जफत हुन माग गरेको ना.अ.च. ५७०९ को टोयटा कार पूर्णलाल श्रेष्ठको नाममा दर्ता नभई अन्य व्यक्ति वाग्ले इन्टरप्राइजेजको नामको रहेको देखिँदा सवारी जफत गरिपाउँ भन्नेतर्फको अभियोग दाबी मनासिब देखिएन ।

तसर्थ, पुनरावेदक प्रतिवादी सिताराम कँडेललाई र पुनरावेदन नगर्ने प्रतिवादी पूर्णलाल श्रेष्ठलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसुरमा ऐ. ऐनको दफा १४(१)(घ)(५) बमोजिम जनही ५(पाँच) वर्ष कैद र जनही रू. ५०,०००।- (पचास हजार) जरिवाना गर्ने गरी र प्रतिवादीहरू राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई अभियोग दाबीबाट सफाइ दिने ठहराई एवं सवारी जफत गरिपाउँ भन्नेतर्फको अभियोग माग दाबी पुग्न नसक्ने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०५७।१०।५ मा भएको फैसला मिलेको हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकार तथा पुनरावेदक प्रतिवादी सिताराम कँडेलको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।९ मा भएको फैसला ।

मिसिल संलग्न प्रमाणबाट प्रत्यर्थी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुले समेत अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर गरी कसुर ठहर भएको प्रतिवादीहरूलाई समेत अपराधको मात्राअनुसार अधिकतम सजाय गर्नुपर्ने अवस्थाको र बरामद ना.अ.च. ५७०९ नं. को कारसमेत जफत गर्नुपर्ने अवस्थाको विद्यमानता हुँदाहुँदै सोको न्यायोचित मूल्याङ्कन नगरी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई आरोपित कसुरबाट सफाइ दिने, कसुर ठहर भएका प्रतिवादीहरूलाई पनि अपराधको मात्राभन्दा कम सजाय निर्धारण गर्ने र बरामद सवारी साधन जफत नगर्ने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको त्रुटिपूर्ण फैसला सो हदसम्म बदर गरी निज प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई पनि अभियोग दाबीबमोजिम सजाय गरी पाउन र कसुर ठहर भएका पूर्णलाल श्रेष्ठ र सीताराम कँडेललाई पनि अपराधको मात्राअनुसार अधिकतम सजाय गरी बरामद सवारी साधनसमेत अभियोग दाबीबमोजिम जफत गर्ने प्रयोजनार्थ प्रस्तुत मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादी नेपाल सरकारका तर्फबाट मिति २०६०।५।२५ मा यस अदालतमा दायर हुन आएको निवेदन । 

राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई समेत मिलाई कसुर गरेको भनी कसुरदार ठहर भएका प्रतिवादीहरू पूर्णलाल श्रेष्ठ र सिताराम कँडेलले पोल गरेको, निज श्यामलाल र राजेन्द्र गोपालले आरोपित कसुर गरेको भनी अधिकारप्राप्त अधिकारीसमक्ष साबित भई बयान गरेको, उक्त लागु औषध चरेस भन्सार प्रज्ञापन नं. ९७०२ बाट उलन ज्याकेटभित्र लुकाई पठाएकोमा सो प्रज्ञापनपत्रबमोजिमको सामान जाँचपास गर्ने श्यामलाल ध्वँजुको नाममा तोक आदेश भई निजबाट जाँचपास भई गएको भन्ने भाइकाजी तण्डुकारको बकपत्रसमेतबाट देखिँदा प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ९ र दफा ५४ को त्रुटि भएको देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०६१।३।२ को आदेश ।

प्रतिवादी पूर्णलाल श्रेष्ठले यस अदालतमा दिएको निवेदनमा आफ्नो वतन चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. २ मा घर देखाएको, यस अदालतबाट म्याद तामेल गर्दा निजका नामको म्याद काठमाडौं महानगरपालिका वडा नं. १४ मा तामेल भएको देखिएको, त्यसैगरी अन्य प्रतिवादीहरू सिताराम कँडेलका नाममा मिति २०६१।५।१२ मा र श्यामलाल ध्वँजुको नाममा मिति २०६१।४।२१ मा तामेल भएका म्यादहरू वडा कार्यालयमा टाँस भएको, टाँस भएका म्यादहरूको बेहोरा अवस्था हेर्दा अस्वाभाविक देखिँदा उक्त म्याद टाँस बदर गरिदिएको छ । प्रतिवादी पूर्णलाल श्रेष्ठको म्याद चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. २ को वतनमा र प्रतिवादी सिताराम कँडेलको नामको म्याद निजको अदालतमा बयान गर्दा लेखाएको वतन नुवाकोट जिल्ला, मदानपुर गा.वि.स. वडा नं. २ मा र प्रतिवादी श्यामलाल ध्वँजुको नामको म्याद निजको अदालतमा बयान गर्दा लेखाएको काठमाडौं महानगरपालिका वडा नं. ९ मा यस अदालतको मिति २०६१।३।२ को आदेशबमोजिम म्याद तामेल गराई नियमबमोजिम पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०६४।७।१२ को आदेश । 

प्रतिवादीमध्ये सिताराम कँडेलका नाउँमा यस अदालतबाट जारी भएको तारेख मुकरर म्याद मिति २०६४।८।१६ मा तामेल हुँदा निज फेला नपरेको, उमेर पुगेका व्यक्तिले बुझ्न नमानेका भनी घर दैलोमा टाँस भएको देखिन्छ । सो तामेली म्यादको साक्षीमा स्थानीय मदानपुर गा.वि.स. को कार्यालयका रामकृष्ण फुँयालले सहीसम्म गरेको तर के कुन दर्जाका व्यक्तिले सही गरेका हुन् भन्ने खुल्न नसकेको र गा.वि.स. मा टाँस गर्ने म्याद गा.वि.स. का प्रतिनिधिले बुझे नबुझेकोसमेत केही खुल्न नसकेको देखिँदा उक्त बेरितको म्याद बदर गरिदिएको छ । प्रतिवादी सिताराम कँडेलका नाउँमा मिति २०६४।७।१२ को पूर्वआदेशअनुसार पुनः म्याद जारी गरी अ.बं. ११० को रीत पुर्‍याई तामेल भई आएपछि पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतको मिति २०६५।११।५ को आदेश । 

प्रतिवादीहरू सिताराम कँडेललाई र पूर्णलाल श्रेष्ठलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसुरमा ऐ. ऐनको दफा १४(१)(घ)(५) बमोजिम जनही ५ वर्ष कैद र रू. ५०,०००।- जरिवाना गर्ने गरी, प्रतिवादीहरू राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई अभियोग दाबीबाट सफाइ दिने गरी एवं सवारी साधन जफत गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६०।११।९ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । सुरू अदालत एवं पुनरावेदन अदालतले आरोपित कसुरबाट सफाइ दिने ठहर गरेका प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई समेत कसुर ठहर भएका अन्य २ जना प्रतिवादीहरूसरह लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसुरमा ऐ. ऐनको दफा १४(१)(घ)(५) बमोजिम जनही पाँच वर्ष कैद र जनही रू. ५०,०००।- (पचास हजार) जरिवाना गर्ने गरी माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको रायसँग मतैक्य हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतका संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौलाबाट व्यक्त भएको राय ।

प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र प्रतिवादी श्यामलाल ध्वँजुको हकमा दुवै प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष साबिती भई प्रतिवादी सिताराम कँडेलले समेत अधिकारप्राप्त अधिकारीसमक्ष पोल गरी के कसरी लागु औषध माल सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निज प्रतिवादीद्वयको संलग्नतामा ओसार पसार भई क्यानाडा पुगेको थियो भन्ने कुराको बयान गरेको साथै यिनै प्रतिवादीहरूको मिलेमतोमा ठुलो परिणामको चरेस ओसारपसार भई क्यानाडामा बरामद भएको अवस्था हुनको साथै त्यसपछि पठाउने हवाई मार्ग त्रिभुवन विमानस्थल मात्र एउटै बाटो भएको तथ्यबाट पुष्टि भएको साथै प्रतिवादीहरू पूर्णलाल श्रेष्ठ र सिताराम कँडेललाई सजाय भएको अवस्थामा प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको संलग्नताबेगर ती सामान ओसार पसार हुन नसक्ने प्रस्ट देखिएकोले तथा प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनमा मिति २०६१।३।२ मा दिएको निस्साको आधारसमेतबाट पुनरावेदन अदालत पाटनबाट भएको मिति २०६०।१।९ को फैसलामा प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको हकमा केही उल्टी भई निजहरूसमेतलाई जनही ५ वर्ष कैद र रू. ५०,०००।- जरिवाना हुने ठहर्छ । तसर्थ उपर्युक्त आधार र कारणबाट प्रतिवादीहरू राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई अभियोग दाबीबाट सफाइ दिएको पुनरावेदन अदालत पाटनको मिति २०६०।१।९ गतेको फैसला आंशिक उल्टी हुने ठहर्छ । सबै प्रतिवादीलाई दाबी ठहर हुनुपर्नेमा २ जना प्रतिवादीको हकमा मात्र सजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब ठहराएको माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौलाको रायसँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेस गर्नु भन्ने यस अदालतका माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको राय ।

यसमा पूर्वआदेशानुसारको मिसिल प्राप्त हुन आएको नदेखिँदा प्रतिवादीमध्येका प्रेमबहादुर अर्जेलको हकमा काठमाडौं जिल्ला अदालतको मिति २०५७।१०।५ को आदेशानुसार मुद्दा मुलतबी रहेकोमा मिति २०६५।१२।११ को आदेशबाट मुलतबीबाट जगाई उक्त अदालतको मिति २०६५/०६६ सालको स.फौ.नं. २०३४ निर्णय नं. ८८ बाट निज प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याई मिति २०६६।८।२९ मा भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी फैसला भएको छ, छैन बुझी पुनरावेदन परी फैसला भइसकेको भए सो मिसिल साथै राखी र फैसला नभएको भए पेसीको दिन इजलासको अवलोकनार्थ मगाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।१२।२६ को आदेश ।

उपर्युक्त सम्बन्धमा म निवेदक पुनरावेदक भई यस सम्मानित अदालतमा विचाराधीन रहेको प्रस्तुत मुद्दा पुर्पक्षको लागि सम्मानित इजलाससमक्ष पेस हुँदा सम्मानित इजलासबाट आदेश भएअनुसार उक्त आदेश कार्यान्वयन गर्ने क्रममा सम्मानित अदालतको च.नं. ५७६२ मिति २०७२।१।६ को पुनरावेदन अदालत पाटनमा प्रेषित गरिएको पत्रमा प्रतिवादीमध्येका प्रेमबहादुर अर्जेलको हकमा काठमाडौं जिल्ला अदालतको मिति २०५७।१०।५ को आदेशानुसार मुद्दा मुल्तबी रहेकोमा मिति २०६५।१२।११ को आदेशानुसार मुल्तबीबाट जगाई उक्त अदालतको ०६५/०६६ सालको स.फौ.नं. २०३४ नि.नं. ८८ बाट निज प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग दाबीबाट सफाइ दिने ठहर्‍याई मिति २०६६।८।२९ मा फैसला भएको देखिँदा उक्ति मिति २०६६।८।२९ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परी फैसला भएको छ छैन बुझी फैसला भइसकेको भए सो मिसिल साथै राखी र फैसला नभएको भए पेसीको दिन इजलासको अवलोकनार्थ मगाई पेस गर्न हेतु सो मिसिलमा वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परे नपरेको जानकारीसहित उक्त आदेशबमोजिमको जवाफ पठाई दिनुहुन भनी भएको पत्रको जवाफमा सम्मानित पुनरावेदन अदालत पाटनबाट मिति २०७२।१।६ च.नं. १००५ को पत्रमा वादी नेपाल सरकार प्रतिवादी प्रेमबहादुर अर्जेल भएको लागु औषध मुद्दामा यस अदालतमा मिति २०६७।५।१८ मा पुनरावेदन परी यस अदालतबाट मिति २०६९।१२।११ मा भएको फैसलासहितको सक्कल मिसिल यस अदालतको च.नं. १४११ मिति २०७१।३।२ को पत्रसाथ सम्मानित अदालतको च.नं. ७१२४-१०५१७१ मुद्दा नं. ०७०-RI-०१५६ मिति २०७१।२।२७ निवेदन प्रतिवेदन शाखा (क) निवेदन ४ को पत्र मागबमोजिम पठाएको भनी सम्मानित पुनरावेदन अदालत पाटनबाट प्रेषित भएको पत्रानुसारको प्रस्तुत मुद्दाको अर्का प्रतिवादी प्रेमबहादुर अर्जेल विरूद्ध यस सम्मानित अदालतमा नेपाल सरकारको पुनरावेदन परेकोले र म पुनरावेदक भएको प्रस्तुत मुद्दा अङ्ग पुगिसकेकोले र मुद्दाको किनारा छिटो छरितो रूपमा हुनुपर्ने सम्मानित अदालतको मान्यताअनुरूप प्रस्तुत मुद्दा साथै निवेदन प्रतिवेदन शाखा क निवेदन ४ मा रहेको मुद्दा नं. ०७०-RI-०१५६ नं. को मुद्दासमेत यस मुद्दासँग अन्तरप्रभावी रहेकोले प्रस्तुत मुद्दा र उक्त निवेदन ४ को मुद्दालाई समेत एकैसाथ लगाउमा राखी पुर्पक्ष गरी पाउन सादर निवेदन गर्दछु भन्ने बेहोराको राजेन्द्रगोपाल राजभण्डारीको निवेदन ।

यसमा निवेदकसहितका प्रतिवादीहरूको हकमा नेपाल सरकारको दोहोर्‍याई पाउँ निवेदन परी निस्सा प्राप्त भई मुद्दा विचाराधीन रहेको र अर्का प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा नेपाल सरकारको तर्फबाट दोहोर्‍याई पाउँ निवेदन परेको देखिएकोले उक्त निवेदनसमेत प्रस्तुत मुद्दासँग लगाउ राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालतका मुद्दा महाशाखाका महाशाखा प्रमुखबाट मिति २०७२।२।५ मा भएको आदेश ।

यसमा प्रस्तुत मुद्दाका फरार प्रतिवादी प्रेमबहादुर अर्जेलका हकमा मुद्दा मुल्तबी रहने गरी काठमाडौं जिल्ला अदालतको मिति २०५७।१०।५ को फैसला रहेकोमा यिनै प्रतिवादी प्रेमबहादुर अर्जेलउपर चलेको २०६५ सालको स.फौ.नं. १५८६ को लागु औषध चरेस मुद्दामा यस अदालतको मिति २०६५।७।२२ को आदेशले पुर्पक्षका लागि थुनामा पठाई निज हाल कारागार कार्यालय नख्खु ललितपुरमा रहेको उक्त स.वा.फौ.नं. १५८६ को लागु औषध चरेस मुद्दाबाट देखिएकोले प्रस्तुत मुद्दा आजै मुल्तबीबाट जगाई सरकारवादी फौजदारी दायरीमा दर्ता गरी निज प्रेमबहादुर अर्जेललाई कारागारबाट झिकाई बयानका लागि इजलाससमक्ष पेस गर्नु भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।११ को आदेश ।

मैले पूर्णलाल श्रेष्ठ र सिताराम कँडेलसमेतलाई चिन्दिन, बलदेव खड्काले किर्ते गरी मेरो नामबाट संस्था दर्ता गराई मलाई फसाएका हुन सक्छन् । मैले अभियोग पत्रमा उल्लिखित कसुर गरेकै छैन । तसर्थ मैले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भन्नेसमेत बेहोरो प्रेमबहादुर अर्जेलले सुरू अदालतमा गरेको बयान ।

यसमा प्रतिवादी प्रेमबहादुर अर्जेल यसै लगाउको स.वा.फौ.नं. १५८६ को लागु औषध मुद्दाबाट थुनामा रहेका देखिँदा उक्त मुद्दाबाट छुटी जाने भए प्रस्तुत मुद्दाबाट निजलाई थुनछेकका लागि पेस गर्नु भन्नेसमेत बेहोराको मिति २०६५।१२।१४ को काठमाडौं जिल्ला अदालतको आदेश ।

यी प्रतिवादी प्रेमबहादुर अर्जेलको उक्त कार्यमा कतै संलग्नता नदेखिएको र पोल गर्ने प्रतिवादी सिताराम कँडेलले अनुसन्धानमा बयान गर्दा यिनै प्रतिवादीको नाउँमा दर्ता रहेको एल्सा ट्रेड लिङ्कमार्फत बरामद लागु औषध चरेस निकासी गरेको भनी उल्लेख गरेका भए पनि यी प्रतिवादी प्रेमबहादुरको पनि संलग्नता थियो भन्न सकेको देखिँदैन । यी प्रतिवादीले यस अदालतमा उपस्थित भई बयान गर्दा मेरो नाउँमा कुनै त्यस्तो संस्था मैले दर्ता गरेको छैन, बलदेव खड्का भन्ने व्यक्तिले २०५३ सालतिर जागिर खान र व्यापार गर्न सजिलो हुन्छ तिम्रो नागरिकता लेउ भनेकोले दिएको थिएँ, उसैले बदनियतपूर्वक मलाई फसाउन यस्तो फर्म दर्ता गराएको हुनुपर्छ, सो सम्बन्धमा मलाई केही थाहा छैन, त्यसैले मैले अभियोग दाबीबाट सफाइ पाउनु पर्छ भनी बयान गरेको तथा उक्त संस्था निज प्रतिवादी प्रेमबहादुर अर्जेलले नै दर्ता गरेका हुन् भन्न सक्ने अवस्था विद्यमान नहुँदा र निज प्रतिवादी प्रेमबहादुर अर्जेल लागु औषध चरेसको ओसार पसार तथा सङ्कलन गर्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न रही कारोबार गरी अभियोग दाबीबमोजिमको कसुर गरेका मिसिल संलग्न प्रमाणबाट शंकारहित तवरबाट पुष्टि हुन आएको नदेखिँदा प्रतिवादी प्रेमबहादुर अर्जेलले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी सुरू काठमाडौं जिल्ला अदालतले निज प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा मिति २०६६।८।२९ मा गरेको फैसला ।

तत्काल सजाय भएका प्रतिवादीहरूले मौकामा बयान गर्दा उक्त ५७६ के.जी. चरेस हामीहरूले एल्सा ट्रेड लिङ्कमार्फत कागजात तयार पारी भन्सार क्लियर गरी क्यानडा पठाएको हो भनी बयान गरेको, उक्त एल्सा ट्रेड लिङ्क नामको फर्म प्रतिवादी प्रेमबहादुर अर्जेलको नाममा दर्ता भएको भन्ने कुरा खुल्न आएको, यी प्रतिवादीले पक्राउ परी बयान गर्दा उक्त फर्म आफ्नो होइन भनी जिकिर लिन नसकेको अवस्थामा पछि केवल सजायबाट बच्न सकिन्छ कि भनी २०५३ सालतिर मैले बलदेवलाई नागरिकता र फोटो दिएको भनी बयान गरेको 

देखिन्छ । त्यसरी सामान्य चिनजान भएको मानिसलाई बिना आधार, कारण र प्रयोजन आफ्नो नागरिकता र फोटो दिनुपर्ने अवस्था नै हुँदैन । यी प्रतिवादी लागु औषध कारोबारको पेसेवर अपराधी हुन् भन्ने कुरा निजको हकमा २०६५ सालको स.फौ.नं. १५८६ नं. को लागु औषध चरेस मुद्दामा कसुर ठहर भई निज प्रतिवादीको समेत सम्मानित अदालतसमक्ष पुनरावेदन पत्र पेस भई हाल विचाराधीन अवस्थामा रहेको देखिँदा निज प्रतिवादीले प्रस्तुत मुद्दामा अपराधबाट बच्नको लागि मात्र इन्कारी बयान गरेको भन्ने कुरा पुष्टि हुन आएको र निज प्रतिवादीको नाममा फर्म दर्ता भई उक्त फर्ममार्फत कार्गो गरी लागु औषध चरेस निकासी गर्ने गरेको भन्ने तथ्य मिसिल प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिसिल संलग्न प्रमाणविपरीत एवं न्यायको रोहमा समेत त्रुटिपूर्ण हुँदा बदर गरी यी प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग मागदाबीबमोजिम सजाय गरी पाउन सम्मानित अदालतसमक्ष सादर अनुरोध छ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

सन् १९९८ जनवरी १२ मा प्रज्ञापन पत्र नं. ९७०२ को नेपालबाट पठाइएको उलन ज्याकेटको कार्गो सामानको बाकसबाट ५७६ किलोग्राम लागु औषध चरेस क्यानडा टोरेन्टो विमानस्थलमा बरामद भएपश्चात् प्रस्तुत मुद्दाको उठान भएको पाइन्छ । प्रतिवादीहरूमध्ये सिताराम कँडेलले अनुसन्धानमा बयान गर्दा यी प्रतिवादी प्रेमबहादुर अर्जेलको नाउँमा दर्ता रहेको एल्सा ट्रेड लिङ्कमार्फत बरामद भएको लागु औषध चरेस निकासी गरेको भनी उल्लेख गरेको देखिए पनि यी प्रतिवादी प्रेमबहादुरको पनि संलग्नता थियो भन्न सकेको छैन । यी प्रतिवादीले सुरू अदालतसमक्ष बयान गर्दा आफूले उक्त नामको कुनै फर्म दर्ता गरेको र कारोबार गरेको पनि छैन भनी उल्लेख गरेको देखिन्छ । उक्त लागु औषध चरेस क्यानडा निकासी गर्ने कार्यमा यी प्रतिवादीको पनि संलग्नता थियो भन्ने कुरालाई समर्थन गर्ने अन्य कुनै स्वतन्त्र प्रमाण वादी पक्षले पेस गर्न सकेको छैन । प्रस्तुत लागु औषध कारोबारमा निज प्रतिवादी प्रेमबहादुर अर्जेलको संलग्नता पुष्टि गर्ने स्वतन्त्र एवं वस्तुनिष्ट प्रमाणको अभावमा निज प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६६।८।२९ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको पुनरावेदन अदालत पाटनबाट प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा मिति २०६९।१२।११ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा सहप्रतिवादी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई दाबीबमोजिम कसुर ठहर भएको देखिएको, कसुर ठहर भएका प्रतिवादीले प्रेमबहादुर अर्जेलको नाउँमा दर्ता रहेको एल्सा ट्रेड लिङ्कमार्फत कार्गो गरी लागु औषध क्यानाडा पठाएको भनी मौकामा बयान गरेका, आफ्नो नाउँमा दर्ता रहेको एल्सा ट्रेड लिङ्क नामक संस्था अन्यथा हो भन्न नसकी आफूलाई थाहै छैन भनी प्रतिवादीले गरेको बयान पत्यारलायक नदेखिएको तथा एल्सा ट्रेड लिङ्कमार्फत कार्गो गरी पठाएको प्याकेटमा टोरन्टो विमानस्थलमा लागु औषध चरेस बरामद भएको देखिँदादेखिँदै प्रतिवादीको इन्कारीलाई मात्र आधार लिई मिसिल प्रमाणको यथोचित मूल्याङ्कन नगरी प्रतिवादी प्रेमबहादुर अर्जेललाई सफाइ दिने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।११ मा भएको फैसलामा कानून एवं नजिरको समेत त्रुटि भएको हुँदा सो फैसला बदर गरी प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग मागदाबीबमोजिम सजाय गर्ने प्रयोजनार्थ प्रस्तुत मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट मिति २०७०।४।२० मा यस अदालतमा दर्ता हुन आएको दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन ।

यसमा यल्सा ट्रेड लिङ्क भन्ने फर्मको प्रतिवादी प्रेमबहादुर अर्जेल प्रोपाइटर रहेको भन्ने कुरा वाणिज्य विभागबाट जारी भएको प्राइभेट फर्म दर्ताको प्रमाणपत्रबाट देखिनुका अतिरिक्त निज प्रतिवादीको नामको आयकर दर्ता प्रमाणपत्रबाट पनि एल्सा ट्रेड लिङ्कको प्रोपाइटर यिनै प्रतिवादी भएको देखिन आएकोले निज प्रोपाइटर रहेको फर्मबाट लागु औषध चरेस निकासी भई क्यानडाको टोरेन्टोमा बरामद भएको देखिएकोले उक्त लागु औषधको निकासीमा निजको संलग्नता छैन भनी अनुमानको आधारमा निजलाई सफाइ दिने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६९।१२।११ को फैसलामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क), दफा १४(१)(घ)५ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको 

छ । नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको पूर्ण इजलासको मिति २०७२।२।२८ को आदेश ।

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ सहन्यायाधिवक्ता हरिप्रसाद जोशीले प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठले प्रतिवादी प्रेमबहादुर अर्जेलको नाममा रहेको एल्सा ट्रेड लिङ्क नामक फर्मबाट एलसी खोली एयर कार्गो गरेर काठमाडौंबाट क्यानाडाको टोरन्टो पठाइएको ऊनीका ज्याकेट राखेको कार्टुन बाकसभित्र ५७६ किलो लागु औषध चरेस सन् १७ जनवरी १९९८ मा क्यानडाको टोरन्टो अन्टारियोबाट बरामद भएको, प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठले लागु औषध चरेस भण्डारण तथा प्याकिङलगायतका बन्दोबस्तीका सम्पूर्ण काम गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ३ नं. निकासी गेटमा उक्त दिन खटिएका कर्मचारीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको सहयोगमा प्रज्ञापनपत्रसमेतका कागजात भरी जाँच पास गरेर उक्त सामान क्यानाडा पुर्‍याइएको भन्ने तथ्य सप्रमाण पुष्टि भएको, बरामद भएको चरेस राखिएको कार्टुनकै नाप साइजको कार्टुन थान ८ प्रतिवादी पूर्णलालले घर भाडामा लिई लागु औषध भण्डारण कारोबारसमेतको कार्य गरी आएको घरको कोठाबाट बरामद भएको, सो लागु औषध ओसार पसारको लागि सेतो रङ्गको ना.अ.च. ५७०९ को टोयटा कार प्रयोग गरिएको तथ्य स्थापित भएको, प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजु मिति २०५४।९।२८ का दिन भन्सारको ३ नं. निकासी गोदाममा कार्यरत रहेको, सहप्रतिवादी सिताराम कँडेलले निजहरूलाई पोलेको र निजहरूले भन्सार चेक जाँच गरी पास गरेको कार्टुन बाक्साबाट लागु औषध बरामद भएको तथ्यसमेतबाट बिक्री वितरणसमेतका प्रयोजनका लागि बरामद लागु औषध ओसारपसारसमेतको कार्यमा निजहरूको प्रत्यक्ष संलग्नता र मिलेमतो देखिइरहेको अवस्थामा निज प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको फैसला मिलेको छैन । त्यसैगरी, कसुर कायम भएका प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई बरामद लागु औषधको मात्रा तथा अपराधको प्रकृति र निजहरूको संलग्नतासमेतलाई मध्यनजर गरी सजाय गर्नुपर्नेमा तुलनात्मक रूपमा घटी सजाय गरेको मिलेको छैन । साथै लागु औषध ओसारपसारमा प्रयोग भएको ना.अ.च. ५७०९ को टोयटा कार जफत गर्नुपर्नेमा नगरेकोसमेतको आधारबाट पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी बदर गरी बरामद लागु औषधको मात्राको आधारसमेत विचार गरी सबै प्रतिवादीहरूलाई अधिकतम सजाय गरी दाबीको सवारी साधनसमेत जफत हुने गरी इन्साफ गरिपाउँ भनी बहस गर्नुभयो ।

त्यसैगरी, प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेलले प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारी मिति २०५४।९।२८ गते त्रि.अ.वि. भन्सार कार्यालय ३ नं. गोदाम शाखामा उपस्थित भए पनि विवादित कार्गो बाकस निजसमेत भई चेकजाँच गरेको होइन । उक्त सामानको प्रज्ञापनपत्रमा लागेको तोकमा श्यामलालको नाम काटेर शान्ता लेखिएको छ । उक्त प्रज्ञापनपत्र नं. ९७०२ को सामान USA का लागि जाँचपास गरी पठाइएकोमा क्यानाडाको टोरन्टोमा बरामद भएको छ । भन्सार कार्यालयले एयरपोर्टबाट अन्य मुलुकमा सामान निकासी गर्दा कर्मचारी र अन्य प्रहरीसमेतको सहयोगबाट कर्मचारीले जाँचपास गर्ने भनी लेखेको पत्रले समेत सुरक्षा निकायको संलग्नता देखिएको अवस्थामा प्रतिवादीले मात्र आरोपित कसुर गरे भन्न सकिने अवस्था छैन । केवल प्रहरीमा भएको साबिती बयानको आधारमा कसुरदार ठहराई शंकाको भरमा सजाय गर्न मिल्दैन । सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गरेको छैन । उल्लिखित अवस्थासमेतका आधारमा प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीलाई आरोपित कसुरबाट सफाइ दिने गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर गरी यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौलाबाट व्यक्त भएको राय सदर कायम गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी प्रेमबहादुर अर्जेलको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री नरबहादुर योगीले अभियोग दाबीबमोजिमको लागु औषध ओसार पसार तथा बिक्री वितरणको कार्यमा मेरो पक्ष प्रतिवादी प्रेमबहादुर अर्जेलको संलग्नता र सहभागिता पुष्टि हुने कुनै सबुद प्रमाण वादी पक्षबाट पेस हुन नसकेको, एल्सा ट्रेड लिङ्क नामको फर्म प्रेमबहादुर आफूले दर्ता नगरेको भनी सुरू अदालतमा बयान गरेको, सहप्रतिवादी सिताराम कँडेलले अनुसन्धानको क्रममा बयान गर्दा प्रेमबहादुर अर्जेलको नामको एल्सा ट्रेड लिङ्कको नाममा एल.सी. खोली लागु औषध चरेस निकासी गरेको भनी बेहोरा लेखाए पनि उक्त कार्यमा प्रेमबहादुरको संलग्नता थियो भनी भन्न नसकेकोसमेतका आधार प्रमाणबाट अभियोग दाबीको कसुरमा प्रेमबहादुर अर्जेलको संलग्नता नरहेको तथ्य स्थापित भएको अवस्थामा अभियोग दाबीबाट प्रेमबहादुर अर्जेललाई सफाइ दिने गरी भएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिब देखिँदा सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

उल्लिखित बेहोराको बहस जिकिर सुनी मिसिल संलग्न कागज प्रमाणहरूको अध्ययन गरी हेर्दा प्रतिवादी प्रेमबहादुर अर्जेल र पूर्णलाल श्रेष्ठको मिलेमतोबाट एल्सा ट्रेड लिङ्क नामक निकासी फर्म दर्ता गरी सोही फर्मको माध्यमबाट चरेस निकासी गर्ने पूर्वतयारी र सल्लाहबमोजिम प्रतिवादी सिताराम कँडेलको मद्दतबाट ३१ बाकस उलन ज्याकेटमध्ये २३ बाकसमा ५७६ के.जी. चरेससमेत प्याक गरी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारीसँग सम्पर्क गरी निजले दुई प्रति प्रज्ञापनपत्र भरी प्रतिवादी श्यामलाल ध्वँजुसँग मिलेमतो गरी मिति २०५४।९।२८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ३ नं. गोदाममा पुर्‍याई भन्सार अधिकृतबाट प्रतिवादी श्यामलाल ध्वँजुको नाउँमा उक्त ३१ बाकस जाँच गर्ने तोक लागेपछि ८ बाकस उलन ज्याकेट मात्र जाँच गरी सक्‍कली प्रज्ञापनपत्र AIR WAY BILL बनाउन सिताराम ध्वँजुलाई दिई नक्‍कली प्रज्ञापन पत्र भन्सार कार्यालयको फाइलमा राखी शान्ता खड्काको तोक आदेश लगाएको नक्‍कली तोक आदेश बनाई दर्ता किताबमा समेत श्यामलाल ध्वँजुको सट्टा शान्ता खड्का बनाई प्रतिवादीहरूले ५७६ के.जी. लागु औषध चरेस Shangri-La Freight को AIR WAY BILL बनाई शाही नेपाल वायुसेवा निगमको जहाजमार्फत जापानको ओसाका हुँदै क्यानाडाको टोरन्टोमा पुर्‍याई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) बमोजिमको कसुर अपराध गरेको सप्रमाण पुष्टि हुन आएकोले प्रतिवादी पूर्णलाल श्रेष्ठ, सिताराम कँडेल, प्रेमबहादुर अर्जेल, राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई सोही ऐनको दफा १४(१)(घ)(५) बमोजिम सजाय गरी चरेस ओसारपसार गर्ने काममा प्रयोग भएको ना.अ.च. ५७०९ को टोयोटा म्यारीनो कार ऐ. ऐनको दफा १८ बमोजिम जफत गरिपाउँ भन्ने मागदाबी लिई अभियोग पत्र दायर भएकोमा फरार प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा मुद्दा मुल्तबीमा राख्‍ने तथा प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ)(५) बमोजिम जनही कैद वर्ष ५(पाँच) र जरिवाना जनही रू. ५०,०००।– (पचास हजार) हुने र प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०५७।१०।५ मा फैसला भएको देखिन्छ । उक्त फैसलाउपर प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई अभियोग मागदाबीभन्दा कम सजाय गरेको हदसम्म तथा प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई आरोपित कसुरबाट सफाइ दिएको हदसम्म वादी नेपाल सरकारको तर्फबाट तथा लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(घ)(५) बमोजिम ५ (पाँच) वर्ष कैद र रू. ५०,०००।– (पचास हजार) जरिवाना भएउपर प्रतिवादी सिताराम कँडेलको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेकोमा सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर गरी मिति २०६०।१।९ गते फैसला भएको पाइयो । सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भई संयुक्त इजलासमा पेस हुँदा माननीय न्यायाधीशहरूबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेस हुन आएको देखियो ।

प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा मुद्दा मुल्तबीमा रहने गरी २०५७।१०।५ मा फैसला भएकोमा काठमाडौं जिल्ला अदालतको मिति २०६५।१२।११ को आदेशले निजको हकमा मुद्दा मुल्तबीबाट जागी प्रतिवादी प्रेमबहादुर अर्जेलले अभियोग दाबीबाट सफाइ पाउने ठहरी मिति २०६६।८।२९ मा फैसला भएको पाइयो । सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा पुनरावेदन परी सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहरी मिति २०६९।१२।११ मा फैसला भएको पाइयो । पुनरावेदन अदालत पाटनबाट निज प्रतिवादी प्रेमबहादुर अर्जेलको हकमा भएको उक्त फैसला दोहोर्‍याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको निवेदनमा पूर्ण इजलासबाट निस्सा प्रदान भई उक्त निवेदनसमेत लगाउको रूपमा पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दामा मूलतः देहायका प्रश्‍नहरूको निरूपण हुनुपर्ने देखियोः

१. सुरू अदालत एवं पुनरावेदन अदालत पाटनको फैसलाबमोजिम अभियोग दाबीबाट सफाइ पाएका प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीको अभियोग मागदाबीको कसुर अपराधमा संलग्नता छ, छैन ? निज प्रतिवादीहरूलाई अभियोग मागदाबीबाट सफाइ दिने गरी तथा लागु औषध ओसारपसारमा प्रयोग भएको भनिएको ना.अ.च. ५७०९ को गाडी जफत गरिपाउँ भन्‍ने अभियोग दाबी पुग्न नसक्ने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ?

२. कसुर ठहर भएका प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(क) को कसुरमा ऐ.ऐनको दफा १४(१)(घ)(५) बमोजिम ५ वर्ष कैद र जनही रू.५०,०००।– जरिवाना गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ?

३. प्रतिवादी प्रेमबहादुर अर्जेललाई आरोपित कसुरबाट सफाइ दिने गरी सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ?

 

निर्णयतर्फ विचार गर्दा, सन् १९९८ जनवरी १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हवाई मार्ग हुँदै क्यानाडाको टोरन्टो पुर्‍याइएको ५७६ के.जी. लागु औषध चरेस बरामद भएको भन्नेसमेत बेहोराको Royal Canadian Mounted Police, Liaison office, New Delhi को टेलिफ्याक्स मेसेज एवं सो मेसेजको प्राप्तिपश्‍चात् नेपालबाट एयर कार्गो गरी क्यानाडा पठाइएको उलन ज्याकेटमा लुकाई छिपाई लगेको ५७६ के.जी. लागु औषध चरेस क्यानाडाको टोरेन्टो ओन्टारियोमा १७ जनवरी, १९९८ मा बरामद भएकोले उक्त लागु औषध चरेस नेपालबाट को कसले निकासी गरी क्यानाडा पठाएको हो ? सो पत्ता लगाई फेला पारेमा पक्राउ गरी दाखिला गर्नु भनी हामीलाई पठाएअनुसार सुराक पत्ता लगाई खोज तलास गर्दै जाँदा उक्त ५७६ के.जी. लागु औषध चरेस उलन ज्याकेटमा लुकाई एल्सा ट्रेड लिङ्कमार्फत कागजात तयार गरी भन्सार क्लियर गर्ने व्यक्ति जिल्ला नुवाकोट मदानपुर गा.वि.स. वडा नं. २ बस्ने सिताराम कँडेल हो भन्ने बुझिन आएकोले खोजतलास गर्दै जाँदा निजलाई मिति २०५४।१२।२६ गतेका दिन ठमेलमा घुमफिर गरिरहेको अवस्थामा फेला पारेकोले यस प्रतिवेदनसाथ दाखिला गर्न ल्याएका छौं । निजले के, कसरी को कसको संलग्नताबाट लागु औषध चरेस निकासी गरे निजबाटै खुलाई कारबाही गरिपाउँ भनी प्र.ना.उ. गोपालप्रसाद भण्डारीसमेतको प्रतिवेदन परी प्रस्तुत मुद्दाको अनुसन्धान तहकिकात प्रारम्भ भई प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ ।

प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।९ र २०६९।१२।११ मा भएका फैसलाहरू दोहोर्‍याई हेरिपाउँ भन्ने पुनरावेदक / वादी नेपाल सरकारले मूलतः (क) आरोपित कसुरबाट सफाइ पाएका प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीलाई पनि अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्दछ । (ख) कसुर ठहर भएका प्रतिवादीहरू पूर्णलाल श्रेष्ठ र सिताराम कँडेललाई भएको सजाय कम भएकोले कसुरको मात्राअनुसार कानूनमा व्यवस्था भएबमोजिम अधिकतम सजाय हुनुपर्दछ । (ग) आरोपित कसुरबाट सफाइ दिइएका प्रतिवादी प्रेमबहादुर अर्जेललाई पनि अभियोग माग दाबीबमोजिम सजाय हुनुपर्दछ । (घ) बरामद भएको ना.अ.च. ५७०९ नं. को कारसमेत जफत हुनुपर्दछ भन्ने जिकिर लिएको देखिन्छ । 

२. निर्णयार्थ प्रस्तुत पहिलो प्रश्‍नतर्फ दृष्टिगत गरी अवैध लागु औषध लुकाई छिपाई क्यानाडा निकासी गर्ने कार्यमा प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको के कस्तो संलग्नता रहेछ त भनी विचार गर्दा, नेपालस्थित ELSA TRADE LINK नामक निकासी फर्मले ६८२ पिस उलन ज्याकेट अमेरिका निकासी गर्ने प्रयोजनका लागि आवश्यक कागजी प्रक्रिया अगाडि बढाएको देखिन्छ । सोही क्रममा सन् १९९८ जनवरी ९ मा खडा भएको Invoice नं. ०२/९८ मा सामान निकासी गर्ने निकासीकर्ताको नाम ELSA TRADE LINK, Kathmandu, Nepal भनी उल्लेख भएको देखिन्छ भने सामान प्राप्त गर्नेको नाम MIchael Aaron, M. Gonya Designs, 253 NiAgara, USA भनी उल्लेख भएको 

देखिन्छ । सो Invoice को Description of Goods महलमा Woolen Goods of Nepal, Woolen Jackets तथा परिणाम (Quantity) महलमा ६८२ पिस र महसुल ३४१०.०० US Dollar भनी उल्लेख भएको देखिन्छ । सामान विदेश निर्यातको सिलसिलामा तयार गरिएका अन्य कागजातहरू Federation of Nepalese Chamber of Commerce (FNCCI) ले दिने Certificate of Origin, नेपाल राष्ट्र बैंकमा बुझाइएको निर्यात प्रज्ञापनपत्रको प्रति, Himalayan Bank को निर्यातको अग्रिम भुक्तानी प्राप्त भएको प्रमाणपत्रसमेतका कागजपत्रमा आयातकर्ता, निर्यातकर्ता, सामानको विवरण एकनासको उल्लेख हुँदै आएको देखिन्छ । आवश्यक सबै प्रक्रिया पूरा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भन्सार Clearing को लागि पेस भएको भन्सार प्रज्ञापनपत्रमा समेत Invoice नं. ०२/९८ बमोजिमका सामान भनी उल्लेख भई अन्य विवरणहरूसमेत एउटै उल्लेख भएको देखिन्छ ।

३. कसुर ठहर भएका प्रतिवादी सिताराम कँडेलले अदालतसमक्षको बयानमा एडभान्स पेमेन्ट गरी Invoice मा उल्लेख गरेअनुसारको ६८२ पिस उलन ज्याकेटहरू अमेरिका पठाएको हो (स.ज. ९,१०), मिति २०५४।९।२८ को द.नं. ९७०२ को प्रज्ञापनमा मेरो हस्ताक्षर छ, मैले नै भरेको हुँ (स.ज. १५), अमेरिकाको माइकल अरूणको नाममा प्रज्ञापनपत्र भरेर ६८२ थान ऊनी ज्याकेट पठाएको हो, पठाउने व्यक्ति मै हुँ (स.ज. २०) भनी बेहोरा लेखाएको देखिन्छ । यसैगरी अर्का प्रतिवादी त्रिभुवन विमानस्थल भन्सार कार्यालय ३ नं. गेटमा कार्यरत कर्मचारी श्यामलाल ध्वँजुले अदालतसमक्षको बयानमा उक्त दिन म कार्यालयमा हाजिर छु (स.ज. १२), Invoice मा जुन सामान उल्लेख गरिएको थियो, मैले त्यही सामान मात्र चेक जाँच गरी पास गरेको हुँ (स.ज. ९) भनी बेहोरा लेखाएको देखिन्छ । 

४. Shangri-La Freight का सञ्चालक कुमार दाहालले मौकामा कागज गर्दा सिताराम कँडेलले भन्सार अधिकृतको सहीछापसमेत भएको प्रज्ञापनपत्र ल्याई आफूलाई दिएको र त्यसको साथमा क्यानडामा सामान पाउने सम्बन्धित व्यक्तिको नाम ठेगानासमेत दिई एयर क्यानाडाबाट Air Way Bill बनाउनु भनेकोले सोहीअनुसार मैले Air Way Bill भरी Air Canada को कान्तिपथ स्थित अफिसमा बुझाई २०५४।९।२९ (13 January, 1998) का दिन नेपालबाट जापानको ‌ओसाका जाने Royal Nepal Airlines को उडानद्वारा पठाएको हुँ । ओसाकाबाट एयर क्यानाडाको उडानद्वारा क्यानाडाको टोरन्टोमा गएको हो भनी सिलसिलेवार विवरणसहित बेहोरा लेखाई सोही बेहोरालाई समर्थन गर्दै अदालतमा आई बकपत्रसमेत गरिदिएको देखिन्छ ।

५. Royal Canadian Mounted Police, Liaison Office, New Delhi ले लागु औषध नियन्त्रण कानून कार्यान्वयन इकाइ, काठमाडौंलाई 23 April 1998 मा 97 DEL-DR-121 को पत्रमार्फत पठाएको 17 January, 1998 मा Toronto, Canada मा बरामद भएको ५७६ के.जी. चरेससमेत प्याक गरिएका ३१ थान बाकसहरू, बाकसभित्र रहेका ईंट आकारका चरेसका ब्लकहरू, बाकस बेरिएका प्लाष्टिक एवं कपडासमेत स्पष्ट देखिने ४६ थान फोटोहरू मिसिल सामेल रहेको देखिन्छ । उक्त बाकसहरू बाहिर टाँसिएको स्टिकरमा स्पष्ट देखिने गरी Shangri-La Freight (P) LTD, Origin  Kathmandu र Pieces 31 भनी उल्लेख भएको देखिन्छ भने प्रापकमा M. Gonya Designs, 253, NiAgara, TORONTO, ONTARIO, CANADA भनी उल्लेख भएको देखिन्छ । उक्त फोटोहरू हेर्दा कोही बाकसमा कपडाहरू मात्र रहेको, कोही बाकसमा वरिपरि कपडा राखी बिचमा कागजले बेरिएको अवस्थामा चरेसका इँट आकारका ब्लकहरू राखिएको देखिन्छ भने कोही बाकसमा चरेसका ब्लकहरू मात्रै प्याक गरिएको देखिन्छ ।

६. मिसिल सामेल रहेको Elsa Trade Link ले Shangri-La Freight मार्फत हवाई मार्गबाट सामान क्यानाडा पठाउने प्रयोजनका लागि आवश्यक शुल्क बुझाएको AIR WAY BILL हेर्दा Consignee’s Name and Address मा M. Gonya Designs, 253, NiAgara, TORONTO, ONTARIO, CANADA भन्ने उल्लेख भएको देखिन्छ भने Shipper’s Name and Address मा Elsa Trade Link, Kathmandu भनी उल्लेख भएको देखिन्छ । त्यसैगरी निर्यात हुने सामानको विवरणमा PP NO.9702 (प्रज्ञापनपत्र नं.९७०२), SN NO 9429/31 र Quantity of Goods मा ३१ Pieces भनी उल्लेख भएको देखिन्छ । मिसिल सामेल रहेको भन्सार प्रज्ञापनपत्र नं. ९७०२ मा उल्लेख भएको विवरण हेर्दा INVOICE NO.02/98, माल चलान गर्ने एजेन्सी SHANGRILA, निर्यातकर्ता फर्म Elsa Trade Link र निकासी मूल्य ३४१० US Dollar भनी उल्लेख भएको देखिन्छ ।

७. अब, मिसिल संलग्न उल्लिखित कागज प्रमाणहरूको अध्ययन विश्‍लेषण गर्दा नेपालस्थित निकासी फर्म Elsa Trade Link को INVOICE NO. ०२/९८ बमोजिमकै सामान प्रज्ञापनपत्र नं. ९७०२ मा उल्लेख भएको र INVOICE NO. 02/98 तथा प्रज्ञापनपत्र नं. (PP NO.9702) कै सामान Shangri-La Freight ले AIR WAY बाट Canada पठाउन स्वीकार गरी सामान सम्बन्धित गन्तव्यसम्म पुर्‍याएको कुरा मिसिल संलग्न AIR WAY BILL र Shangri-La Freight का सञ्चालक कुमार दाहालले मौकामा तथा अदालतमा गरेको बकपत्रबाट प्रस्ट देखियो । यस अतिरिक्त Toronto Canada बाट बरामद भएको सामान Shangri-La Freight ले नै M. GONYA DESIGNS, TORONTO, CANADA का नाममा काठमाडौंबाट पठाएको भन्ने तथ्य क्यानाडामा बरामद भएका बाकसमा टाँसिएका स्टिकरमा उल्लिखित विवरणबाट पुष्टि हुन आयो । यसप्रकार भन्सार चेक जाँचसमेत भइसकेको उक्त सामान हवाई मार्गमार्फत ढुवानी गर्ने क्रममा खडा भएको Air Way Bill को विवरणमा प्रज्ञापन पत्र नं. (PP. No) 9702, Serial Number (S.N.) ९४२९/३१ कै सामान भनी उल्लेख भएको देखिँदा Air Way Bill बन्‍नुभन्दा अघिका हरेक चरणमा खडा भएका कागजमा प्रापकको नाम Michael Aaron, M. Gonya Designs, 253 NiAgara, USA लेखिँदै आएकोमा Air Way Bill बनाउने क्रममा बिचको अन्य सबै विवरण एउटै राखी अगाडिको Michael Aaron भन्ने छुटाएर तथा सामान निर्यात हुने देश अर्थात् Consignee’s Address मा USA को सट्टा Toronto Canada लेखेर ऊनीका जाकेट USA निर्यात गर्ने बहानामा सुनियोजित रूपमा लागु औषध चरेस क्यानाडा पठाएको देखिन आयो । घटनाको प्रकृति र स्वरूपलाई हेर्दा यसलाई संयोगवश हुन गएको वा भूलवश एउटा देशमा पठाउनुपर्ने सामान अर्को देशमा गएको भनेर विश्‍वास गर्न सकिने अवस्थासमेत नदेखिँदा प्रतिवादीहरूले नियतवश सुनियोजित र सङ्गठित रूपमा नै घटाएको देखिन्छ । अपराध लुकाउने वा छिपाउने अभिप्रायबाट भविष्यमा केही गरी आपराधिक कृत्य उजागर भएको अवस्थामा आपराधिक दायित्वबाट छुट्कारा पाइन्छ या बच्न सकिन्छ कि भनी योजनाबद्ध रूपमै सबै कागजात USA मा Woolen Jacket पठाउने भनी तयार गरी Woolen Jacket को साथमा लागु औषध चरेस जानाजानी क्यानाडा निकासी गरेको तथ्यमा सन्देह रहेन ।

८. मिति २०५४।९।२८ गते प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारी कार्यालयमा रूजु हाजिर रहेको तथ्यमा विवाद 

रहेन । उक्त दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय निकासी शाखाको ३ नं. गेटमा कार्यरत भन्सार अधिकृत श्री भाइकाजी तण्डुकारले मौकामा कागज गर्दा ९७०२ नं. को प्रज्ञापनपत्रमा श्याम ध्वँजुको नाममा तोक आदेश भई निजबाट जाँचपास भएको र अन्य जाँचकीको नाममा किर्ते प्रज्ञापन पत्र बनाई सक्कली प्रज्ञापनपत्र  गायब गरेको हुनुपर्छ भनी लेखाएको बेहोरालाई सनाखत एवं समर्थन गर्दै अदालतमा आई बकपत्रसमेत गरिदिएको 

देखिन्छ । त्यसैगरी सोही मितिमा प्रज्ञापनपत्र दर्ता किताबमा दर्ता गर्ने काममा खटिएका कर्मचारी शुकनाथ खरेलले प्रज्ञापनपत्र दर्ता नं. ९७०२ को दर्ता किताबमा जाँचकीको नाम श्यामलाल ध्वँजु लेखेको थिएँ । तर पछि काटेर शान्ता लेखिएको रहेछ भनी लेखाएको बेहोरा समर्थन र सनाखत गर्दै अदालतमा आई बकपत्रसमेत गरिदिएको देखिन्छ ।

९. कसुर ठहर भएका प्रतिवादी सिताराम कँडेलले मौकामा अनुसन्धानको क्रममा बयान गर्दा पूर्णलाल श्रेष्ठले मलाई त्रि.अ.वि. भन्सार कार्यालयअन्तर्गत सामान निकासी गोदाममा कार्यरत खरिदार राजेन्द्र गोपाल राजभण्डारीलाई भेट्नुपर्छ जाउँ भनी तीनचोटि जति भन्सारका खरिदार राजेन्द्रगोपाल राजभण्डारीको काठमाडौं गैरीधारामा रहेको घरमा लिएर गए । पूर्णलाल श्रेष्ठले मलाई राजेन्द्र खरदारको घरमा लगी राजेन्द्रसँग भेट गराई भोली सामान निकासी गर्नुपर्छ, भोलि खरदार सापलाई निकासी गोदाममै सामान लगी भेट्नु, कुराकानी भइसकेको छ भनी कुरा गराए । म र श्यामलाल ध्वँजु भई लागु औषध चरेस राखिएका बाकसहरू भन्सार क्लियर गराई दिन्छु भनी राजेन्द्रले भने । मैले र पूर्णलाल श्रेष्ठले लागु औषध चरेस पास गर्नेसम्बन्धी राजेन्द्रसँग कुरा मिलायौँ । राजेन्द्र खरदार र ध्वँजु भई नक्‍कली प्रज्ञापनपत्रको आधारमा सामान हेरी पूर्वयोजनाको आधारमा सामान क्लियर भइसकेपछि फेरी नक्‍कली प्रज्ञापनपत्र आफूले राखी हाकिमले तोक लगाएको सक्‍कली प्रज्ञापनपत्र भन्सारमा राखेको हो भन्दै भन्सारका कर्मचारी राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुसमेतको संलग्नतामा क्यानाडामा चरेस निकासी गरेको हो भनी बयान गरेको देखिन्छ भने निजले अदालतमा आई बयान गर्दासमेत Invoice मा उल्लेख गरेअनुसारको ६८२ पिस उलन ज्याकेटहरू अमेरिका पठाएको हो, (स.ज.९, १०) मिति २०५४।९।२८ को द.नं. ९७०२ को प्रज्ञापनमा मेरो हस्ताक्षार छ, मैले नै भरेको हुँ (स.ज.१५) अमेरिकाको माइकल अरूणको नाममा प्रज्ञापनपत्र भरेर ६८२ थान ऊनी ज्याकेट पठाएको हो, पठाउने व्यक्ति मै हुँ (स.ज. २०) भनी बेहोरा लेखाएको देखिन्छ ।

१०. प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीले मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा उक्त लागु औषध निकासी गर्दाको घटना विवरणसमेत श्रृङ्खलाबद्ध रूपमा उल्लेख गरी सो लागु औषध निकासी गर्नुभन्दा ८/१० दिन अघिदेखि नै प्रतिवादी पूर्णलाल श्रेष्ठले निजलाई भेटी लागु औषध क्यानाडामा निकासी गर्ने सम्बन्धमा सरसल्लाहसमेत गरेको, सोही सिलसिलामा प्रतिवादी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठ भई पटकपटक निज राजेन्द्रगोपाल राजभण्डारीको गौरीधारास्थित घरमा समेत गई सरसल्लाह गरेको, सरसल्लाह हुँदा निज राजेन्द्रगोपालले आफूले भन्सार कार्यालयकै कर्मचारी प्रतिवादी श्यामलाल ध्वँजुसँग समेत कुरा मिलाएको र प्रज्ञापनपत्र भर्दा आफ्नै घरमा बसी २ प्रति प्रज्ञापनपत्र भर्न लगाई एक प्रति आफूले लिई भन्सार कार्यालयका प्रमुख भाइकाजी तण्डुकारको दस्तखतसमेत किर्ते गरी लिई राखेको र अर्का प्रतिवादी सिताराम कँडेललाई दिई सिताराम कँडेलले उलन ज्याकेट झिकी लागु औषध फिट गरिएका बाकसहरूसहित लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा गई राजेन्द्रगोपाल राजभण्डारीसँगको पूर्वसल्लाहअनुसार प्रतिवादी श्यामलाल ध्वँजुलाई भेटी पूर्व नियोजित योजनाअनुरूप उक्त बाकसहरू जाँचपास गराएको र लागु औषध फेला परेमा पनि आफूहरू नपरियोस् भन्ने उद्देश्यले भन्सार कार्यालयमा रहने प्रज्ञापनपत्रमा ३ नं. निकासी गोदाममा नै कार्यरत खरिदार शान्ता खड्काको नाउँमा तोक लगाई दर्ता रजिस्ट्ररमा समेत श्यामलाल ध्वँजुको नाउँ काटी शान्ता खड्काको नाउँ सिताराम कँडेलबाट लेख्‍न लगाएको र सो लागु औषध निकासी गरिदिएबापत प्रतिवादी पूर्णलाल श्रेष्ठबाट निज राजेन्द्र गोपालले रू. ५०,०००।– लिई सोमध्ये रू. २५,०००।– प्रतिवादी श्यामलाल ध्वँजुलाई समेत दिएको भन्नेसमेतको बेहोरा खुलाई उक्त लागु औषधको निकासीसमेतको कारोबारमा प्रत्यक्ष संलग्न रहेमा पूर्णरूपमा साबित भई बयान गरेको 

देखिन्छ । निजको उक्त साबिती बयान कसुर ठहर भएका प्रतिवादी सिताराम कँडेल र पूर्णलाल श्रेष्ठको एवं सहप्रतिवादी श्यामलाल ध्वँजुको एकै मिलानको मौकाको साबिती पोलसमेतबाट तथ्यगत आधारमा समर्थित भएको स्थिति छ । निजको मौकाको साबिती एवं सहप्रतिवादीहरूको साबिती पोललाई मिसिल संलग्न निर्यात प्रज्ञापनपत्रहरूले पनि समर्थन गरेको देखिन्छ । निज प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीले २ प्रति प्रज्ञापनपत्र भर्न लगाएको र लागु औषध चरेस चेकजाँच गर्दा एउटा प्रज्ञापनपत्र प्रयोग गरी कार्यालयमा अर्कै प्रज्ञापनपत्र राखेको भन्ने खुल्न आएकोमा मिसिल संलग्न प्रज्ञापनपत्रहरूबाट सोको वस्तुगत रूपमा पुष्टिसमेत भएको देखिन्छ । यस स्थितिमा प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीको हकमा निजको मौकाको तथ्ययुक्त साबिती र सहप्रतिवादीको साबिती पोललाई प्रमाणमा लिन मिल्ने नै देखियो । निज प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीले अदालतमा बयान गर्दा अभियोग दाबीबमोजिमको कसुर आफूले गरेकोमा इन्कारसम्म देखिए पनि क्यानाडाको टोरन्टो ओन्टारियो विमानस्थलमा बरामद भएको ५७६ के.जी. अवैध लागु औषध चरेस नेपालबाट निकासी गर्दा भन्सार चेकजाँच भएको मिति २०५४।९।२८ गतेका दिन आफू त्रिभुवन विमानस्थल भन्सार कार्यालयको ३ नं. निकासी गोदाममा कार्यरत रहेको कुरालाई स्वीकार गरेको देखिन्छ । यो कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू भाइकाजी तण्डुकार र शुकनाथ खरेलको बकपत्रसमेतबाट पुष्टि भएको अवस्था छ । यसप्रकार निजको अदालतसमक्षको इन्कारी बयान कहीँकतैबाट वस्तुगत रूपमा पुष्टि पनि नभएको र मौकाको साबिती तथ्यगत आधारमा कहीँकतैबाट खण्डित नभई अन्य स्वतन्त्र र तथ्यगत आधार प्रमाणहरूबाट मालाकार कडीमा समर्थितसमेत भएको अवस्था छ । त्यति ठुलो मात्रामा अवैध लागु औषध निकासी गर्न भन्सारका कर्मचारीको मिलेमतोविना सम्भव पनि नदेखिने र मिसिल कागज एवं बुझिएका भन्सारका अन्य कर्मचारीको कागजबाट भन्सारका कर्मचारीहरू यी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुको संलग्नता रहेको तथ्य पुष्टि हुन आयो ।

११. प्रतिवादी श्यामलाल ध्वँजु अदालतसमक्षको बयानमा कसुरमा इन्कारसम्म रहे पनि मौकाको बयानमा प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीको बयानसँगै मेल खाने गरी आफूसमेत उक्त ५७६ के.जी. लागु औषध चरेसको निकासीसमेतको कारोबारमा प्रत्यक्ष संलग्न रही सोबापत प्रतिवादी राजेन्द्रगोपाल राजभण्डारीसँग रू.२५,०००।– लिए खाएकोमा समेत पूर्ण साबित रहेको 

देखिन्छ । सहप्रतिवादी सिताराम कँडेल र राजेन्द्रगोपाल राजभण्डारीको मौकाको साबिती पोलबाट समेत निजको मौकाको साबिती तथ्यगत रूपमा पुष्टि भएको अवस्था छ । निजको अदालतसमक्षको इन्कारी कहीँकतैबाट तथ्यगत रूपमा समर्थित भएको देखिँदैन । प्रज्ञापनपत्रमा उल्लिखित बाकसहरू आफूले चेकजाँच गरेको कुरा अदालतको बयानमा समेत स्वीकार गरेकै देखिएको तथा सोही बाकसहरूबाट ५७६ के.जी. लागु औषध चरेस निकासी भई टोरन्टोमा बरामद भएकोसमेतबाट सो चरेस निकासी गर्नमा निजको संलग्नता रहेको कुरा स्वतः पुष्टि भएको देखिन्छ । निकासी प्रज्ञापनपत्र दर्ता रजिस्ट्ररमा ९७०२ नं. को प्रज्ञापनपत्रबमोजिमको सामान चेक जाँच गर्ने जाँचकीको नाममा श्यामलाल ध्वँजुको नाम काटी शान्ता खड्काको नाम उल्लेख भएको तथा कार्यालयमा रहने प्रज्ञापनपत्रको प्रतिमा शान्ता खड्काको नाउँमा तोक लागेकोमा जाँचपास भएको मिति २०५४।९।२८ का दिन प्रज्ञापन दर्ता गर्ने त्रि.अ.वि. भन्सार कार्यालयकै कर्मचारी शुकनाथ खरेलको कागज र अदालतसमक्षको बकपत्रसमेतबाट निजले दर्ता गर्दा श्यामलाल ध्वँजुको नाउँमा तोक लागेको प्रज्ञापन पत्र दर्ता गरेको देखिँदा निज श्यामलालको मौकाको बयानमा उल्लिखित बेहोरा तथ्यगत रूपमा पुष्टि भएको देखिन्छ । यसैगरी त्रि.अ.वि. भन्सार कार्यालय ३ नं. गोदाममा कार्यरत भन्सार अधिकृत भाइकाजी तण्डुकार र भन्सार कार्यालयकै खरिदार शान्ता खड्कासमेतको कागज र त्रि.अ.वि. भन्सार कार्यालयको मिसिल संलग्न मिति २०५५।१।१३ को पत्रबाट समेत उक्त लागु औषध निकासी गर्नमा प्रतिवादी श्यामलाल ध्वँजुको संलग्नता रहेको तथ्य थप पुष्टि भएको देखिँदा निज विरूद्धको आरोप स्थापित हुन आयो ।

१२. यसरी, माथि नै विवेचना गरिएअनुसार ELSA TRADE LINK ले अमेरिका पठाउने भनी कागजात तयार गरेको Invoice Number 02।98 तथा प्रज्ञापनपत्र नं.९७०२ बमोजिमको मालसामान Toronto Canada पुगी बरामद हुँदा लागु औषध चरेस भनेर पुष्टि भइसकेको, प्रतिवादीहरू सिताराम कँडेल, श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीले मौकामा गरेको साबिती बयान अन्य परिस्थितिजन्य प्रमाणहरूबाट समेत समर्थित भएको देखिँदा प्रतिवादीहरू पूर्णलाल श्रेष्ठ र सिताराम कँडेलले लागु औषध चरेस बिक्री वितरण गरी लाभ लिनेसमेतको मनसायले विदेश निकासी गर्ने सरसल्लाह र योजना बनाई ऊनी जाकेट विदेश निकासी गर्ने भनी सम्पूर्ण कागजात सोहीबमोजिम तयार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको ३ नं. निकासी गोदाममा विदेश निकासी गर्ने सामान चेकजाँच गर्ने काममा खटिएका कर्मचारीहरू यी प्रतिवादी राजेन्द्र गोपाल राजभण्डारी र श्यामलाल ध्वँजुसँग भन्सारबाट लागु औषध चरेस विदेश पास गराउने विषयमा भएको सल्लाह र योजनाबमोजिम नै कागजका बाकसमा प्याक गरेर Woolen Jacket भनी लुकाइछिपाई कपडा निकासी गर्ने बहानामा लागु औषध चरेस विदेश क्यानाडा निकासी गरेको तथ्य सप्रमाण सिद्ध हुन आयो ।

१३. अब, प्रतिवादी प्रेमबहादुर अर्जेललाई पनि अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको जिकिरतर्फ हेर्दा, यी प्रतिवादी प्रेमबहादुर अर्जेलको नाममा ELSA TRADE LINK नामको फर्म दर्ता रहेको तथ्यमा विवाद छैन । यी प्रतिवादीले सुरू अदालतमा उपस्थित भई बयान गर्दा मेरो नाउँमा कुनै त्यस्तो संस्था दर्ता गरेको छैन, बलदेव खड्का भन्ने व्यक्तिले २०५३ सालतिर जागिर खान र व्यापार गर्न सजिलो हुन्छ तिम्रो नागरिकता लेउ भनेकोले दिएको थिएँ, बदनियतपूर्वक मलाई फसाउन यस्तो फर्म दर्ता गराएको हुनुपर्छ, सो सम्बन्धमा मलाई केही थाहा छैन, त्यसैले मैले अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भनी बयान गरेको देखिन्छ । यी प्रतिवादी प्रेमबहादुर अर्जेललाई पोल गर्ने अर्का प्रतिवादी सिताराम कँडेलले अनुसन्धानको क्रममा बयान गर्दा यिनै प्रतिवादीको नाउँमा दर्ता रहेको एल्सा ट्रेड लिङ्कमार्फत बरामद भएको लागु औषध चरेस निकासी गरेको भनी उल्लेख गरेको भए पनि आरोपित लागु औषध चरेस निकासीसम्बन्धी कसुरमा यी प्रतिवादीको पनि संलग्नता थियो भनी भन्न सकेको अवस्था 

छैन । यस अतिरिक्त अभियोग दाबीबमोजिमको कसुरमा यी प्रतिवादीको पनि सहभागिता एवं संलग्नता पुष्टि हुने कुनै सबुद प्रमाण वादी पक्षले दाखिल गर्न सकेको अवस्थासमेत छैन । निज प्रतिवादीको नाममा दर्ता भएको फर्मको नामबाट कागजात तयार भएको देखिए तापनि ती कागजात निज प्रतिवादी प्रेमबहादुर अर्जेल आफैँले तयार गरेको भन्ने नदेखिई कसुर कायम भएका अर्का प्रतिवादी सिताराम कँडेलले म आफैँले कागजात तयार गरेको हुँ भनी अदालतकै बयानमा स्वीकारी सकेको अवस्था छ । प्रतिवादीको प्रेमबहादुर अर्जेलको नाममा दर्ता रहेको फर्मको नाम प्रयोग गरी अवैध लागु औषध निकासीको प्रक्रिया अगाडि बढाइएको देखिए तापनि उल्लिखित प्रक्रियामा यी प्रतिवादीको उपस्थिति, संलग्नता र सहभागिता रहेको भनी मिसिल संलग्न कुनै पनि प्रमाणबाट पुष्टि हुन सकेको छैन । यसरी मिसिल संलग्न प्रमाणबाट आरोपित कसुरमा प्रतिवादीको संलग्नता एवं सहभागिता पुष्टि हुन नसकेको अवस्थामा निजको नाममा फर्म दर्ता भएकै कारणले अर्थात् निजको नाममा दर्ता रहेको फर्मको नाम प्रयोग भएकै आधारमा निजलाई कसुरदार ठहर गरी सजाय गर्नु न्यायसङ्गत हुने देखिएन । अतः यस अवस्थामा यी प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग मागदाबीबमोजिमको कसुरबाट सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । सो हदसम्म वादी नेपाल सरकारको जिकिर पुग्न सक्दैन ।

१४. कसुर ठहर भएका प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई ठहर भएको सजाय कम भएकोले निजहरूलाई कसुरको मात्राअनुसार अधिकतम सजाय गरिपाउँ भन्ने पनि वादी नेपाल सरकारको अर्को जिकिर रहेको देखिन्छ । सो सम्बन्धमा हेर्दा, सबै प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) को कसुरमा ऐ. को दफा १४(१)(घ)(५) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी रहेको देखिन्छ । उल्लिखित ऐनको दफा १४(१)(घ)(५) मा दश किलोदेखि माथि जतिसुकै भए पनि दुई वर्षदेखि १० वर्षसम्म कैद र पन्ध्र हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने भनी उल्लेख भएको देखिन्छ ।

१५. अपराधको गाम्भीर्य र सजायको मात्राबिच सामञ्जस्यता र तादात्म्यता न्यायोचित र अपेक्षितसमेत हुन्छ । कसुर गर्दाको अवस्था र अपराधमा आरोपितको संलग्नता र भूमिकासमेतलाई दृष्टिगत गरी सजायको मात्रा निर्धारण गर्दा नै न्यायको मकसद पूरा हुन जान्छ । यो मान्यतालाई नजर अन्दाज गरी कसुर स्थापित हुँदैमा कानूनबमोजिमको अधिकतम हदको सजाय गर्दा न्यायको मकसद मर्न गई अन्यायपूर्ण अवस्थाको सिर्जना हुने खतरासमेत 

रहन्छ । यही वास्तविकतालाई हृदयङ्गम गरी न्यायकर्तालाई कानूनले स्वविवेकीय अधिकार (Discretionary Power) समेत दिएको हुन्छ जसलाई सबै स्थापित न्याय प्रणालीले अवलम्बन गरेको पाइन्छ भने हाम्रो प्रचलित कानून र न्यायिक अभ्यासले पनि आत्मसात् गरेको छ । यस सैद्धान्तिक दृष्टिकोणबाट प्रस्तुत मुद्दाको विषयवस्तुलाई नियाल्दा सम्बद्ध कानूनले अधिकतम १० वर्ष कैद र १ लाखसम्म जरिवाना हुने भन्ने व्यवस्था गरेकोमा न्यायकर्ताले स्वविवेकीय अधिकार प्रयोग गरी ५ वर्ष कैद र रू. ५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर गरेकोलाई अन्यथा भन्न मिलेन ।

१६. वादी नेपाल सरकारले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १८ बमोजिम जफत गर्न माग गरेको ना.अ च. ५७०९ को टोयोटा कारको सम्बन्धमा विचार गर्दा, उक्त गाडी प्रतिवादी पूर्णलाल श्रेष्ठको नाममा नभई अन्य व्यक्तिका नाममा दर्ता रहेको भन्ने मिसिलबाट देखिएको छ । साथै उल्लिखित कार उक्त लागु औषध ओसारपसारमा प्रयोग भएको भन्ने देखिने निश्चयात्मक प्रमाणसमेत वादी नेपाल सरकारबाट प्रस्तुत हुन सकेको नदेखिँदा उक्त सवारी साधन जफत हुन नसक्ने ठहर गरी भएको सुरू फैसला सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सो हदसम्म मिलेकै देखियो । 

१७. अतः माथि विवेचित आधार कारणहरूबाट प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुले घटनाको विस्तृत विवरण उजागर गरी कसुरमा साबित भई मौकामा गरेको बयान अन्य परिस्थितिजन्य प्रमाणबाट समर्थित भएको अवस्था देखियो । कसुर ठहर भएका प्रतिवादी सिताराम कँडेलले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई पोल गरी के कसरी लागु औषध मालसामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निजहरूसमेतको संलग्नतामा ओसारपसार भई क्यानडा निकासी गरेको भनी घटनाको मालाकार कडी नटुटाई गरेको बयान अन्य सबुद प्रमाणबाट समेत समर्थित भएको पाइयो । Invoice No. ०२/९८ तथा प्रज्ञापन पत्र नं. ९७०२ बमोजिमकै सामान क्यानाडाको टोरन्टोबाट बरामद हुँदा त्यसमा ५७६ के.जी. लागु औषध चरेस रहेको तथ्य स्थापित भएको, Invoice No. 02/98 तथा प्रज्ञापन पत्र नं. ९७०२ को सामान चेकजाँच गरेको हुँ भनी प्रतिवादी श्यामलाल ध्वँजुले अदालतको बयानमा समेत स्वीकार गरेको पाइएको छ । मिति २०५४।९।२८ का दिन प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारी त्रि.अ.वि. भन्सार कार्यालय ३ नं. गेटमा भन्सार चेकजाँचमा खटिएको तथा श्यामलाल ध्वँजुलाई प्रज्ञापन पत्र नं. ९७०२ को सामान चेकजाँचका लागि खटाएको हुँ भनी वारदातका दिन त्रि.अ.वि. भन्सार कार्यालय निकासी शाखाको ३ नं. गेटमा कार्यरत भन्सार अधिकृतले कागज गरिदिएको समेतका आधार प्रमाणबाट उक्त दिन भन्सार चेक जाँचमा खटिएका कर्मचारीहरू प्रतिवादी श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीको संलग्नताबेगर ती सामान ओसारपसार हुन नसक्ने प्रस्ट देखिई निजहरूको संलग्नता र सहभागितामा नै उक्त लागु औषध चरेस विदेश क्यानाडा निकासी भएको तथ्य स्थापित भएको अवस्था देखियो । तर सुरू र पुनरावेदन अदालतले यी प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीलाई सफाइ दिँदा मिसिलमा भएका तथ्यहरू, सहअभियुक्तका बयान र भन्सारमा कार्यरत अन्य कर्मचारीका बयानहरूलाई गहिरिएर हेरेको देखिएन । यति ठुलो परिमाणको लागु औषध विदेश पठाउने कार्य भन्सारका कर्मचारीहरूको मिलेमतोबेगर सम्भव नहुने भएबाट निजहरूले आफ्नो पदीय हैसियत बिर्सेर आर्थिक प्रलोभनमा परी यस्तो आपराधिक कार्यमा संलग्न भएको पाइएको र यस्ता व्यक्तिहरूको हकमा स-साना छिद्रहरू समाती निजहरूलाई निर्दोष ठहर गरी आरोपित कसुरबाट उन्मुक्ति दिँदा न्याय नै निस्तेज हुन जाने, सम्भावित अपराधीहरू उत्साहित हुने र नेपालको अन्तर्राष्ट्रिय छविसमेतमा प्रतिकूल असर पर्ने भएबाट समेत निज प्रतिवादीहरू श्यामलाल ध्वँजु र राजेन्द्रगोपाल राजभण्डारीलाई समेत लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ)(५) बमोजिम ५ (पाँच) वर्ष कैद र जनही रू. ५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर गरी संयुक्त इजलासका माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त भएको राय मनासिब देखियो । प्रतिवादी प्रेमबहादुर अर्जेललाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने, ना.अ च. ५७०९ को टोयोटा कार जफत हुनुपर्ने तथा कसुर ठहर भएका प्रतिवादीहरू सिताराम कँडेल र पूर्णलाल श्रेष्ठलाई पनि कानूनमा व्यवस्था भएबमोजिमको अधिकतम सजाय हुनुपर्ने भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । तसर्थ प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई आरोपित कसुरबाट सफाइ दिएको हदसम्म पुनरावेदन अदालत पाटनको मिति २०६०।१।९ को फैसला केही उल्टी भई यी प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई समेत लागु औषध (नियण्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ) (५) बमोजिम जनही ५(पाँच) वर्ष कैद र जनही रू.५०,०००।– (पचास हजार) जरिवाना हुने ठहर्छ । अरू तपसिलबमोजिम 

गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लिखिएबमोजिम प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला सो हदसम्म केही उल्टी भई प्रतिवादीहरू राजेन्द्रगोपाल राजभण्डारी र श्यामलाल ध्वँजुलाई लागु औषध (नियण्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ) (५) बमोजिम जनही ५(पाँच) वर्ष कैद र जनही रू.५०,०००।- (पचास हजार) जरिवाना हुने ठहरी फैसला भएकोले निज प्रतिवादीहरूको हकमा यस फैसलाबमोजिमको लगत राखी असुलउपर गर्नु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखी 

पठाउनू.........................................................१ 

फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई दिनू...........................................२ 

प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गरेर मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू.............................३ 

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.प्रकाशमान सिंह राउत

न्या.पुरूषोत्तम भण्डारी

 

इजलास अधिकृत:- विष्णुप्रसाद आचार्य

इति संवत् २०७६ साल माघ १६ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु