निर्णय नं. १०५९४ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास़
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।२।२९
०७५-CR-२३३५
मुद्दा:- जबरजस्ती करणी
पुनरावेदक / वादी : परिवर्तित नाम D-D1 को जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : धनबहादुरको छोरा ताप्लेजुङ जिल्ला आङखोप वडा नं २ घर भई हाल तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिका वडा नं. २ बस्ने दलबहादुर तामाङ
महिलाहरूउपर हुने कुनै प्रकारको हिंसा, बलात्कारजन्य कुकृत्यप्रति न्यायिक संवेदनशीलता देखाउन अत्यन्त आवश्यक हुन्छ । कानूनले समेत महिला विरूद्ध हुने हिंसा नियन्त्रण गर्ने अभिप्रायले विभिन्न संरक्षणात्मक प्रावधानहरू व्यवस्थित गरेको पाइन्छ । तथापि यी विषयहरूलाई न्यायको मूल अपेक्षा वा सम्भावित न्यायिक प्रक्रिया दुरूपयोगको अवस्थातर्फ दृष्टि नपुर्याई एक पक्षीय ढङ्गबाट मुद्दाको सुरूवातमा दिएको जाहेरी वा उजुरीलाई नै निश्चयात्मक प्रमाणको रूपमा मान्यता दिई कुनै व्यक्तिलाई दोषी ठहर गर्दा अन्यायपूर्ण अवस्था परिणामले प्रश्रय पाउन सक्छ । यस्तो अन्यायपूर्ण र विभेदकारी अवस्था पैदा नहोस् भन्ने मान्यतालाई आत्मसाथ गरेर फौजदारी न्यायका आधारभूत मान्यताहरूअनुकूल हुने गरी न्याय निरूपण गर्नु वाञ्छनीय देखिने ।
(प्रकरण नं.५)
वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री नारायणप्रसाद पराजुली
तेह्रथुम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित
माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम
उच्च अदालत विराटनगर, धनकुटा इजलास
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०७४/०८/२५ गते बिहानको अ.४:३० बजेको समयमा म आफ्नो श्रीमान् परिवर्तित नाम D-D2 सँग घरमा सुतिरहेको अवस्थामा प्रतिवादी दलबहादुर तामाङ रक्सी बोकी मेरो घरमा आई मेरो श्रीमान्लाई रक्सी दिई मलाई आज सोमबारको बसन्तपुर बजार लागेको छ मसँग हिँड् मासु खरिद गरिदिन्छु भनेकोले मेरो श्रीमान्को सल्लाहमा बिहानको अ.५:०० बजे म प्रतिवादी दलबहादुर तामाङसँग बसन्तपुर बजारतर्फ गइरहेको अवस्थामा जिल्ला तेह्रथुम लालीगुँरास न.पा.१ स्थित देवेन्द्र थापाको बारीको पश्चिमपट्टिको डिलको भित्तामा मलाई जबरजस्ती भुइँमा लडाई मैले लगाएको सुरूवाल तानी खोली आफ्नो पाइन्ट कट्टुसमेत खोली मेरो ईच्छाविपरीत मेरो योनिभित्र आफ्नो उत्तेजित लिङ्ग छिराईभित्र बाहिर गरी मलाई जबरजस्ती करणी गरी भागी फरार भएको हुँदा अन्यायी दलबहादुर तामाङलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित वर्ष ५० की परिवर्तित नाम D-D1 ले मिति २०७४।०८।२५ मा दिएको जाहेरी दरखास्त ।
जिल्ला तेह्रथुम लालिगुँरास न.पा. वडा नं.१ स्थित देवेन्द्र थापाको बारीदेखि पूर्वमा देवेन्द्र थापाको गोठ, पश्चिममा कल्पना अधिकारीको जग्गा, उत्तरमा दलबहादुर गुरूङको जग्गा र दक्षिणमा बुद्ध कुमारी लिम्बुको जग्गा यति चार किल्लाभित्रमा पर्ने देवेन्द्र थापाको बारीको पश्चिम पट्टिको डिलको भित्तामा असारेको स-सानो बिरूवा घाँस रहेको उक्त बिरूवा घाँस मडारिएको अवस्थामा रहेको, जमिनको घाँस मडारिएको, जुत्ताको पाइलाको डामजस्तो देखिएको स्थानमा दलबहादुर तामाङले परिवर्तित नाम D-D1 लाई जबरजस्ती करणी गरेको स्थान देखेबमोजिम लेखाई दिएको भन्नेसमेत बेहोराको मिति २०७४।०८।२५ को घटनास्थल मुचुल्का ।
मिति २०७४/०५/२५ गते बिहानको अ.०४:३० बजेको समयमा म मेरो श्रीमती परिवर्तित नाम D-D1 सँग घरमा सुतिरहेको अवस्थामा प्रतिवादी दलबहादुर तामाङ रक्सी बोकी मेरो घरमा आई मलाई दिई मेरो श्रीमती परिवर्तित नाम D-D1 लाई आज सोमबार बसन्तपुरमा बजार लागेको छ, मसँग हिँड मासु खरिद गरी दिन्छु भनेपछि मैले श्रीमतीलाई जाउ भनेकोले निज प्रतिवादी दलबहादुर तामाङसँग बसन्तपुर बजारतर्फ गएको केही समय पछाडि प्रतिवादी दलबहादुर तामाङले मलाई जबरजस्ती करणी गर्यो भन्दै मेरो श्रीमती परिवर्तित नाम D-D1 घरमा आएकोमा मैले श्रीमतीलाई के कसरी करणी गर्यो भनी सोध्दा मेरो श्रीमती परिवर्तित नाम D-D1 ले बसन्तपुर बजारतर्फ गइरहेको अवस्थामा जिल्ला तेह्रथुम लालीगुँरास न.पा. वडा नं. १ स्थित देवेन्द्र थापाको बारीको पश्चिम पट्टिको डिलको भित्तामा पुग्दा प्रतिवादी दलबहादुर तामाङले मलाई जबरजस्ती भुइँमा लडाई जबरजस्ती करणी गरेको हो भनी बताएको हुँदा निज प्रतिवादी दलबहादुर तामाङलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम D-D2 ले मिति २०७४।०८।२५ मा गरेको घटना विवरण कागज ।
In regard to injuries on the bodies; there was no any visible injury, no any abrasion, no cut marks and bite marks, no laceration and no old scar seen. In regard to genital injuries; no any edema, no injury seen, no any bite marks, no any laceration detected, the vagina and hymen was intact no any tear in hymen seen, also the vulva, perianal area and anal orifice and oral cavity was normal and no any injury, foreign materials seen. She is having slight mental retardation भन्नेसमेत बेहोराको तेह्रथुम जिल्ला अस्पतालका मेडिकल अधिकृत सञ्जयकुमार झाद्वारा जाँच गरिएको मिति २०७४।०८।२६ को पत्रसाथ संलग्न पीडित परिवर्तित नाम D-D1 को शारीरिक परीक्षण प्रतिवेदन ।
The accused was medically, emotionally fit and fine. In regard to injuries on the bodies; there was not any visible injury detected. Likewise, there was insignificant genital injuries, no any injury or swelling of penis, the perineum and scrotum looks normal. There is no any injury in perianal and anal orifice. No any matted, stained or foreign hair on pubic area. There is no any bite mark, visible cut or scratches marks seen. The genital organs are intact भन्नेसमेत बेहोराको तेह्रथुम जिल्ला अस्पतालका मेडिकल अधिकृत सञ्जयकुमार झाद्वारा जाँच गरिएको मिति २०७४।०८।२६ को पत्र साथ संलग्न प्रतिवादी दलबहादुर तामाङको शारीरिक परीक्षण प्रतिवेदन ।
मिति २०७४/०८/२५ गते म पीडित परिवर्तित नाम D-D1 को घरमा अन्दाजी बिहानको ०४:३० बजेको समयमा गई निजको श्रीमान् परिवर्तित नाम D-D2 लाई काका टुटे देउरालीमा २६ गते विवाह छ काकीलाई भाँडा माझ्न भोली पठाइदिनु भन्दा काका (पीडित को श्रीमान्) ले हुन्छ पठाइदिन्छु भने पछि म हिँडेकोमा काकाले मलाई काकी (पीडित) पनि त सँगै जान्छे, बजारमा गएर एक बोतल रक्सी र मासु किनेर पठाई देऊ भनेपछि म र काकी (पीडित) बजारतर्फ जाँदै गर्दा नयाँ बाटो खनेको स्थानमा पुगेपछि काकी (पीडित) बाटोको डिलबाट चिप्लिएर लड्नु भयो । त्यसपछि मैले निजको हात समातेर ताने मैले हात समातेर तान्दा माटोमा घिस्रिएर काकी (पीडित) को सुरूवाल फुस्कियो मैले काकी (पीडित) लाई बाटो माथि ल्याई काकी (पीडित) ले सुरूवाल माथि तान्दै हिँड्नु भयो त्यसपछि हामी दुवैजना मेरो डेरामा पुगेपछि रक्सी किनी दिएँ र मासु किनेर खानु भनी रू.३००/- दिई म विवाह भएको घरमा आए त्यसपछि मलाई काकी (पीडित) ले जबरजस्ती करणी गर्ने यही हो भनेपछि प्रहरीले मलाई पक्राउ गरेको हो मैले पीडित परिवर्तित नाम D-D1 लाई जबरजस्ती करणी गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी वर्ष ४० को दलबहादुर तामाङले अनुसन्धानको क्रममा मिति २०७४।०९।०३ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०७४/०८/२५ गतेका बिहान मलाई जबरजस्ती भुइँमा लडाई जबरजस्ती करणी गर्ने पक्राउमा परेका जिन्सको निलो पाइन्ट र ज्याकेट लगाएको वर्ण गहुँ गोरो, उचाई ५ फिट भएको दलबहादुर तामाङले नै हो देखी चिनी मुलुकी ऐन, अ.ब. १७३ नं. बमोजिम सनाखतको कागज लेखी लेखाई दिएको छु भन्नेसमेत बेहोराको परिवर्तित नाम D-D1 ले गरेको सनाखत कागज ।
मिति २०७४/०८/२५ गते बिहानको अ.५:०० बजेको समयमा म आफ्नो घरमा नै सुतिरहेको थिएँ । भोलिपल्ट बिहान परिवर्तित नाम D-D1 लाई प्रतिवादी दलबहादुर तामाङले जबरजस्ती करणी गरेको भन्ने कुरा सुनी थाहा पाई पीडित जाहेरवाली परिवर्तित नाम D-D1 लाई सोधपुछ गर्दा मिति २०७४/०८/२५ गते बिहानको राति अ.५:०० बजेको समयमा अन्यायी दलबहादुर तामाङ रक्सी बोकी मेरो घरमा आई मेरो श्रीमान्लाई दिई मलाई आज बसन्तपुरमा बजार लागेको छ मासु खरिद गरिदिन्छु, मसँग हिँडभन्दा निजसँग म बजारतर्फ गइरहेको अवस्थामा बाटोमा देवेन्द्र थापाको बारीको पश्चिमपट्टि डिलको भित्तामा मलाई भुइँमा लडाई जबरजस्ती करणी गरेको भनी बताएको हुँदा प्रतिवादी दलबहादुर तामाङलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हिकमाक तामाङ, टेकबहादुर गुरूङ र निरकुमार राईसमेतले मिति २०७४।०९।०७ मा गरिदिएको वस्तुस्थिति मुचुल्का ।
प्रस्तुत मुद्दामा प्रतिवादी दलबहादुर तामाङउपरको जाहेरी दरखास्त, घटनास्थलको चार किल्लासहितको घटनास्थल प्रकृति मुचुल्का, परिवर्तित नाम D-D2 ले गरेको घटना विवरण कागज, पीडित परिवर्तित नाम D-D1 र प्रतिवादी दलबहादुर तामाङको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादी दलबहादुर तामाङले अधिकारप्राप्त अधाकरीसमक्ष गरेको बयान कागज, पीडित परिवर्तित नाम D-D1 ले गरेको सनाखत कागज, हिकमक तामाङ, टंकबहादुर गुरूङ, निरकुमार राईसमेतले गरेको वस्तुस्थिति मुचुल्कासमेतका आधार प्रमाणबाट प्रतिवादी दलबहादुर तामाङले वारदात मितिमा बीस वर्षभन्दा माथि उमेर भएकी परिवर्तित नाम D-D1 लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी दलबहादुर तामाङलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर अपराधमा सोही महलको ३ नं. को देहाय ५ बमोजिम सजाय गरी पीडित परिवर्तित नाम D-D1 को स्वास्थ्य परीक्षण रिपोर्टमा slight mental retardation भनी उल्लेख भएको देखिँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजायसमेत गरी पाउन र निज प्रतिवादीबाट पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० तथा १०(ग) नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको मिति २०७४।०९।१७ को अभियोग पत्र ।
मिति २०७४/८/२५ का दिन विवाहमा भाँडा माझ्नका लागि मान्छे खोज्दै पीडित परिवर्तित नाम D-D1 को घरमा सगुन एक(१) माना रक्सी लिएर गई विवाहमा धन्दा गर्ने टुङ्गो गरी हिँडेपछि काकाले एकछिन पख काकीलाई सँगै लिएर गई एक किलो मासु र रक्सी किनी पठाइदिनु भनेपछि पीडित \ काकीसँग जाँदै गर्दा बसन्तपुर नजिकै गाडीको बाटो छेउमा काकी पछाडि धर्खरिदै लड्नुभयो । त्यसपछि मैले काकीलाई हातमा समाइ तानेर ल्याउन खोज्दा माटोमा अल्झिएर काकीको सुरूवाल घुँडासम्म सरेको थियो । मैले काकीलाई समाइ रोडसम्म निकाली पसल गई रक्सी किनी मासु किन्न पैसा दिएँ त्यसपछि काकी वसन्तपुर हटियातर्फ लाग्नुभयो । दिउँसो १ बजेतिर म बहिनीको विवाह घरबाट पक्राउ परेको हो । मैले जबरजस्ती करणी गरेको होइन । काकीको मानसिक अवस्था खासै ठीक छैन । भोलिपल्ट काकीले मलाई औंशी पूर्णिमामा खै केले छोप्छ । हिजो के भएर उजुरी गरेँ मलाई माफ गर भन्दै भन्नु भएको थियो । मलाई झुठ्ठा अभियोग लागेको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी दलबहादुर तामाङले मिति २०७४।०९।१७ गते तेह्रथुम जिल्ला अदालतसमक्ष गरेको बयान ।
मिसिल संलग्न प्रतिवादीउपरको किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने मानिसका भनाइ, प्रतिवादीले अनुसन्धान अधिकारी तथा यस अदालतमा गरेको इन्कारी बयान, पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, वस्तुस्थिति मुचुल्कामा बस्ने मानिसहरूको भनाइ, पीडितले गरेको सनाखत कागज तथा अभियोगपत्रसमेतका तत्काल प्राप्त प्रमाण कागजातहरूको आधारमा यी प्रतिवादी दलबहादुर तामाङले आरोपित कसुर गरेका रहेनछन् भनी निश्चयात्मक रूपले मान्न नसकिने देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल मुलुकी ऐन, अ.बं.११८ को देहाय २ का आधारमा पुर्पक्षका लागि कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न स्थानीय कारागार कार्यालयमा पठाउनु भन्नेसमेत बेहोराको मिति २०७४।०९।१७ को थुनछेक आदेश ।
मिति २०७४/८/२५ मा मेरो श्रीमती बजारबाट घरमा आई तपाईले प्रतिवादी दलबहादुर तामाङसँग किन पठाएको निजले मलाई आधा बाटोमा जाँदाजाँदै बाटो छेउमा रहेको गोठको भित्तामा लगी जबरजस्ती करणी गर्यो भनी सुनाएपछि मसमेत इलाका प्रहरी कार्यालय बसन्तपुर गई उजुरी दिएको
हो । पीडित जाहेरवाली बजार गई घर फर्किँदा प्रतिवादीसँग मलाई किन पठाएको भनी रूँदै गुनासो गरेको थिइन् भन्नेसमेत बेहोराको घटना विवरण कागज गर्ने D-D2 ले तेह्रथुम जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रस्तुत मुद्दाका सम्बन्धमा मैले सुनी थाहा पाएको मात्र हो । मैले यो घटना बारेमा नदेखेको हुँदा मलाई थाहा भएन । प्रतिवादीले जबरजस्ती करणी गरे जस्तो लाग्दैन । मिति २०७४/९/७ मा भएको कागजको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्कामा कागज गर्ने टेकबहादुर गुरूङले तेह्रथुम जिल्ला अदालतमा गरेको बकपत्र ।
घटना मैले आँखाले नदेखी सुनेको मात्र हो । यी प्रतिवादी मसँग काम गरी हिँड्ने मानिस भएकोले निजले जाहेरवाली पीडित परिवर्तित नाम D-D1 लाई जबरजस्ती करणी गरेजस्तो लाग्दैन । मैले अनुसन्धानको क्रममा गरेको कागजको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का गर्ने मानिस निरकुमार राइले तेह्रथुम जिल्ला अदालतमा गरेको बकपत्र ।
देवेन्द्रबहादुर थापाको गोठको पश्चिमपट्टि मङ्सिर महिनामा प्रतिवादी दलबहादुर तामाङले पीडित परिवर्तित नाम D-D1 लाई जबरजस्ती करणी गरे भन्ने सुनी थाहा पाएको हुँ । अनसन्धानको क्रममा गरेको कागजको बेहोरा र सहीछाप मेरै हो । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको जस्तो लाग्दैन भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का गर्ने मानिस हिकमक तामाङले सुरू तेह्रथुम जिल्ला अदालतमा गरेको बकपत्र ।
मङ्सिर महिनामा प्रतिवादी दलबहादुर तामाङ मेरो घरमा आइ मलाई विवाहमा जाउँ भनी बोलाई आउँदा आउँदै बसन्तपुर जाने बाटो मुनी बारीमा उसले सुताउन खोज्यो । मैले मान्छेले देख्छन् भनी मानिन भनी स.ज. ५ मा र आफ्नो लिङ्ग राम्रो छिराउन पाएन आधा मात्रै छिरायो मैले मानिन अनि छाडी गयो भनी स.ज.६ मा लेखाई मिति २०७४/८/२५ गतेको जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको पीडित जाहेरवाली परिवर्तित नाम D-D1 ले तेह्रथुम जिल्ला अदालतसमक्ष गरेको
बकपत्र ।
Slight mental retardation भनेको मान्छेको उमेरअनुसार पूर्णरूपले मानसिक विकास नभएको जसले गर्दा उसको नियमित क्रियाकलापमा अप्ठ्यारो हुन्छ र मान्छेको आई.क्यू. (I.Q) सामान्य मान्छेभन्दा कम हुन्छ । होस ठेगाना नभएको अवस्थाचाहीँ हुँदैन । त्यस्तो मान्छेले सामान्य मान्छेले जस्तो काम गर्छ । नेपाल सरकारको अपाङ्गतासम्बन्धी निर्देशिकाअनुसार slight mental retardation लाई दिमागी अपाङ्गतामा लिइँदैन भन्नेसमेत बेहोराको पीडितको शारीरिक परीक्षण गर्ने मेडिकल अधिकृत सञ्जयकुमार यादवले सुरू अदालतमा मिति २०७५।०१।१९ मा गरेको बकपत्र ।
प्रतिवादी दलबहादुर तामाङले अनुसन्धानको क्रममा बयान कागज गर्दा र अदालतमा बयान गर्दा पनि पीडित सँगसँगै बजार गएको र पीडित लड्दा तानी उठाएकोसम्म लेखाई घटना वारदातमा सँगै भएका स्वीकार गरी जबरजस्ती करणी गरेको तथ्यसम्म इन्कार रहे पनि उक्त इन्कारी बेहोरा स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिँदैन । यी प्रतिवादीले मलाई जबरजस्ती करणी गरेका हुन् भनी जाहेरवालीले किटानीसाथ जाहेरी दिएको, पीडितको पतिले बजार जाँदा बाटोमा प्रतिवादीले पीडित मेरी श्रीमतीलाई जबरजस्ती करणी गरेका हुन् भनी पोल गरी लेखाएको, घटनास्थलमा घाँस एवं जमिन मडारिएको भन्ने उल्लेख भएको, वस्तुस्थिति मुचुल्कामा बस्ने नीरकुमार राईसमेतले यी प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको सुनेको भनी पोल गरी लेखाएको पाइन्छ । त्यस्तै जाहेरवाली र निजको पतिले मौकाको बेहोरा समर्थन गरी प्रतिवादीले जबरजस्ती करणी गरेका हुन् भनी लेखाई बकपत्र गरेको देखिन्छ । जबरजस्ती करणी मुद्दामा पीडितको भनाइ महत्त्वपूर्ण प्रमाण हुने र मौकाको बेहोरा समर्थन गरी गरेको बकपत्रको भनाइ प्रमाण ऐन, २०३१ को दफा १० र १८ नं. समेतले प्रमाणयोग्य हुने भएकोले यी प्रतिवादीले अभियोग दाबीबमोजिम पीडितलाई जबरजस्ती करणी गरी आरोपित कसुर गरेको पुष्टि एवं प्रमाणित हुन आयो । त्यस्तै कसुरको प्रकृति एवं स्वरूपसमेतलाई विचार गरी निजलाई मुलुकी ऐन, जबरजस्ती करणीको महल ३ नं. को देहाय ५ अनुसार ५(पाँच) वर्ष कैदसमेत हुने ठहर्छ । प्रतिवादी एवं निजका परिवारका नाममा कुनै सम्पत्ति वादी पक्षले देखाउन सकेकोसमेत नहुँदा ऐ.१० ग नं. बमोजिम पीडितले सम्बन्धित महिला तथा बालबालिका कार्यालयबाट रू.३५,०००/- क्षतिपूर्तिसमेत भराई पाउने ठहर्छ । अभियोगपत्रमा पीडित slight mental retardation भएकोले जबरजस्ती करणीको महल ३(क) नं. बमोजिम थप सजाय प्रतिवादीलाई गरिपाउँ भनी माग गरेको देखिन्छ तर पीडित अपाङ्गता वा असक्त भएको वा होस ठेगाना नभएको भन्ने कुनै आधिकारिक परिचय-पत्र वा प्रमाण-पत्र वादी पक्षले पेस गरी दाबी लिन सकेको छैन । यसरी पीडित होस ठेगानामा नभएको भन्ने कुनै आधिकारिक प्रमाण-पत्र पेस हुन नसकेको र विशेषज्ञ डाक्टर सञ्जयकुमार यादवले बकपत्र गर्दा यो होस ठेगाना नभएको अवस्था होइन, सामान्य मानिस जस्तै काम गर्न सक्दछ र यसलाई दिमागी अपाङ्गता भन्न मिल्दैन भनी खुलाई बकपत्रसमेत गरेको हुँदा प्रतिवादीलाई अभियोग दाबीबमोजिम जबरजस्ती करणीको महल ३(क) नं. बमोजिम थप सजाय गरिपाउँ भन्नेसम्म अभियोग दाबी मनासिब नदेखिँदा सो हदसम्म वादी दाबी पुग्न सक्दैन भनी तेह्रथुम जिल्ला अदालतबाट मिति २०७५।०२।०९ मा भएको
फैसला ।
जाहेरीमा पीडित परिवर्तित नाम D-D1 ले जुन बेहोरा लेखेर प्रहरीसमक्ष दर्ता गरार्इ भनिएको छ सो बेहोराको खण्डन पीडित परिवर्तित नाम D-D1 ले नै अदालतमा भएको बकपत्रको क्रममा स.ज.१२ मा परिवर्तित नाम D-D2 ले झुठ्ठा बेहोरा लेखार्इ दिएछन् भनी उल्लेख गरेको हुँदा जाहेरी बेहोरा नै झुठ्ठा भएपछि अन्य सबुत, प्रमाण, तथ्यहरू सबै झुठ्ठा हुन् भन्ने पुष्टि भएको छ । वस्तुस्थिति मुचुल्कामा बस्ने निरबहादुर रार्इसमेतले मलार्इ निर्दोष देखार्इ बकपत्र गरेको अवस्था छ । प्रहरीसमक्ष भएको कागजलार्इ अदालतले निर्णयाधार बनाउन मिल्दैन । पीडितले बकपत्र गर्दा कतिपय स्थानमा करणी गरेको होइन भनेको छ भने कतिपय स्थानमा आधा मात्र छिरायो भनी बकपत्र गरेकी छिन् । यस्तो अवस्थामा करणी भयो वा भएन शंकाको अवस्था देखापर्छ । फौजदारी न्यायमा शंकाको सुविधा अभियुक्तले पाउने हुन्छ । पीडितको योनिको परीक्षण हुँदा र प्रयोगशालामा परीक्षण हुँदा निजको देहबाट वीर्यका सेलहरू नभेटिएको भन्ने देखिएको साथै जाहेरवालीले स.ज.९, १०, ११ र १४ मा स्पष्ट रूपमा गरेको बकपत्रसमेतबाट म निर्दोष रहेको तथ्य पुष्टि भइरहेको छ । प्रस्तुत मुद्दामा शंकारहित तवरले वादीले आफ्नो दाबी प्रमाणित गर्न नसकेको अवस्थामा मलार्इ अभियोग दाबीबाट सफार्इ दिनुपर्नेमा अभियोग दाबीबमोजिम जबरजस्ती करणी गरेको ठहर गरी सजाय गरेको सुरू तेह्रथुम जिल्ला अदालतको मिति २०७५/०२/०९ को फैसला मिलेको नहुँदा उल्टी (बदर) गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी दलबहादुर तामाङले उच्च अदालत विराटनगर, धनकुटा इजलाससमक्ष मिति २०७५।०४।२२ गते पेस गरेको पुनरावेदनपत्र ।
पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा she is having a slight mental retardation भनी खुलाएको बेहोराले पीडित सुस्त मनस्थितिकी महिला भएको तथ्य थप समर्थित भएको छ । प्रतिवादी दलबहादुर तामाङले अदालतसमक्ष बयान गर्दा पीडितको मानसिक अवस्था खासै ठिक छैन भनी लेखाएबाट पनि निज पीडित सुस्तमनस्थिति भएको देखिन्छ । साथै पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको जवाफमा पीडितको पूर्णरूपमा मानसिक विकास नभएको र I.Q. सामान्य मानिसको भन्दा कम रहेको भन्नुको अर्थ पीडित सुस्तमनस्थितिकी रहेको तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलार्इ जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजायसमेत गर्नुपर्नेमा सो नगरेको हदसम्मको सुरू फैसला मिलेको नहुँदा सो हदसम्मको सुरू फैसला बदर गरी निज प्रतिवादीलार्इ अभियोग दाबीबमोजिम जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत विराटनगर, धनकुटा इजलासमा मिति २०७५।०५।१३ गते पेस भएको पुनरावेदनपत्र ।
यसमा अभियोग दाबीबमोजिम जबरजस्ती करणीको कसुर सजाय ठहर भएउपर प्रतिवादीको र जबरजस्ती करणीको ३क नं. बमोजिम थप सजाय नभएउपर वादी नेपाल सरकारको दोहोरो पुनरावेदन परेको देखिँदा तत्काल प्रचलित अ.बं.२०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ प्रतिवादीको पुनरावेदन पत्र उच्च सरकारी वकिल कार्यालय, धनकुटालार्इ र वादीको पुनरावेदनपत्र कारागार कार्यालय, तेह्रथुममार्फत प्रतिवादीलार्इ जानकारी गरार्इ नियमानुसार पेस
गर्नू । साथै थुनामा रहेका प्रतिवादीको तर्फबाट कानून व्यवसायी मुकरर गरेको नदेखिँदा निजको तर्फबाट बहस पैरवी गर्नको लागि यसै अदालतका वैतनिक कानून व्यवसायीलार्इ पेसीको सूचना दिनू भन्ने यस अदालतको मिति २०७५/०८/११ गतेको आदेश ।
सम्पूर्ण घटना परिस्थितिको मूल्याङ्कन गर्दा प्रतिवादी पीडितको घरमा हटिया लाग्ने दिन एकाबिहानै विवाहको काम गर्न बोलाउन गएकोमा विवाद छैन । घटना लगत्तै भएको पीडित जाहेरवालीको शारीरिक परीक्षण गर्ने चिकित्सकको परीक्षण प्रतिवेदनमा उल्लेख गरेको विवरण (history) मा the victim denied that the accused had tried to attempt rape. The accused grabbed her hand but did not do sexual intercourse. यस सँगै It was normal, no any injury seen भन्ने उल्लेख भएको देखिँदा पीडितले आफूउपर जबरजस्ती करणी भएको तथ्यमा इन्कार भर्इ प्रतिवादीले हातसम्म समाएको बेहोरा उल्लेख गरेको देखिन्छ । जहाँसम्म वारदातस्थलमा घाँस एवं जमिन माडिएको भन्ने उल्लेख छ सो स्थानमा पीडित लडेको तथ्यमा विवाद छैन । प्रतिवादीले पनि पीडित लडेको र आफूले हात समाती तानेको बेहोरा उल्लेख गरेको देखिन्छ । घटनास्थलमा जुत्ताको डाम देखिएको भए पनि दुईवटा जुत्ता वा ४ वटा पाइला हुनुपर्ने त्यो छैन । पीडित लडेको कारण नै घाँस एवं जमिन माडिएको हुन सक्ने अवस्था देखिन्छ । सयजना कसुरदार छुटे पनि एकजना निरपराध व्यक्ति सजायको भागिदार बनाउन नहुने, शंकाको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने, अभियोग दाबी प्रमाणित गर्ने भार अभियोजन पक्षमा रहने, शंकाको सुविधा अभियुक्तले पाउने आदि फौजदारी न्यायका सिद्धान्तहरूको सापेक्षतामा विचार गर्दा बालिग भएकी पीडितसमेतले अदालतसमक्ष अभियुक्तको निर्दोषिताको पक्षमा गरेको बकपत्रलाई एकातर्फ पन्छाएर प्रतिवादीलाई दोषी ठहर गर्नु विवेकसङ्गत देखिँदैन । अतः पुनरावेदक प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष र अदालतमा गरेको इन्कारी बयान, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, पीडित जाहेरवालीलगायत वादी नेपाल सरकारका साक्षीहरूले अदालतमा गरेको बकपत्रसमेतका प्रमाणहरूबाट सुरू तेह्रथुम जिल्ला अदालतले प्रतिवादी दलबहादुर तामाङलार्इ तत्कालीन मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ बमोजिम ५ (पाँच) वर्ष कैद हुने ठहर गरी भएको मिति २०७५/०२/०९ को फैसला मिलेको नदेखिएकाले उक्त फैसला बदर (उल्टी) भर्इ पुनरावेदक प्रतिवादी दलबहादुर तामाङले जबरजस्ती करणीको आरोपित कसुरबाट सफार्इ पाउने ठहर्छ भन्ने उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट मिति २०७५।११।१४ मा भएको फैसला ।
जाहेरवालीबाट निजको पतिले मौकाको बेहोरा समर्थन गरी प्रतिवादी दलबहादुर तामाङले जबरजस्ती करणी गरेका हुन् भनी लेखाई सुरू अदालतमा बकपत्र गरेको अवस्था र जबरजस्ती करणी जस्तो अपराधको प्रमुख एवं महत्त्वपूर्ण चश्मदित साक्षी भनेकै स्वयम् पीडिता नै हुने भएकोले निज स्वयम्ले दिएको भनाइ जबरजस्ती करणी मुद्दामा महत्त्वपूर्ण प्रमाण हुने र मौकाको कागज समर्थन हुने गरी पीडितसमेतको बकपत्र प्रमाण ऐन, २०३१ को दफा १० र १८ समेतले प्रमाणयोग्य देखिने अवस्थामा दुईवटा जुत्ताका चारवटा पाईला हुनुपर्ने भन्ने जस्ता सानो तिनो खोट देखाई जबरजस्ती करणी जस्तो महिला अस्तित्वसँग जोडिएको प्रस्तुत वारदात घटाएका यी प्रतिवादीलाई न्यायोचित ढङ्गले सुरू अदालतले कैद सजाय तोकेको फैसलासमेतलाई बदर गरी अन्यायीलाई सफाइ दिएको उच्च अदालत विराटनगर, धनकुटा इजलासको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी प्रत्यार्थी / प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मिति २०७६।१।२२ मा दायर भएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले प्रतिवादी दलबहादुर तामाङले पीडितलाई जबरजस्ती करणी गरेका हुन् भन्नेसमेत बेहोराको जाहेरी दराखास्त र सो बेहोरालाई समर्थन गरी सुरू अदालतमा पीडितले बकपत्रसमेत गरेको मिसिल संलग्न प्रमाणहरूबाट स्पष्ट रूपमा देखिन्छ । जबरजस्ती करणीजस्तो गम्भीर अपराधको महत्त्वपूर्ण चश्मदित साक्षी भनेकै स्वयम् पीडिता नै हुने भएकोले निज स्वयम्ले दिएको भनाइ महत्त्वपूर्ण हुने र प्रमाण ऐन, २०३१ को दफा १० र १८ समेतले प्रमाणयोग्य देखिने अवस्थामा यी प्रतिवादी दलबहादुर तामाङलाई न्यायोचित ढङ्गले सुरू अदालतले कैद सजाय तोकेको फैसलासमेतलाई बदर गरी यी प्रतिवादीलाई सफाइ दिएको उच्च अदालत विराटनगर, धनकुटा इजलासको फैसला त्रुटिपूर्ण भएको हुँदा उक्त फैसला बदर गरी प्रत्यार्थी / प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस जिकरसमेत सुनियो ।
मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा प्रतिवादी दलबहादुर तामाङउपर तत्काल बहाल रहेको मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर अपराधमा सोही महलको ३ नं. को देहाय ५ नं. बमोजिम सजाय गरी पीडित परिवर्तित नाम D-D1 को स्वास्थ्य परीक्षण रिपोर्टमा slight mental retardation भनी उल्लेख भएको देखिँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजायसमेत गरी निज प्रतिवादीबाट पीडितलाई ऐ.ऐन ऐ. महलको १० नं. तथा १०(ग) नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउन श्री तेह्रथुम जिल्ला अदालतसमक्ष अभियोपत्र दायर गरिएकोमा उक्त अदालतबाट निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ बमोजिम ५ वर्ष कैद र निज प्रतिवादीबाट रू.३५,०००।– क्षतिपूर्ति पीडितलाई भराई पाउने तर दाबी लिइएको मध्येको सोही जबरजस्ती करणीको महलको ३(क) नं बमोजिम थप सजायतर्फको दाबी नपुग्ने गरी भएको फैसलामा थप दाबी नठहरेको हदसम्म चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट र कसुर ठहर भएका प्रतिवादीकोतर्फबाट समेत पुनरावेदन परेकोमा उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट निज प्रतिवादीले अभियोग मागदाबीबाट पूर्ण सफाइ पाउने ठहरी फैसला भएको अवस्था छ । उक्त फैसला कानूनी तथा सैद्धान्तिक दृष्कोणबाट बदरभागी भएकोले प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतसमक्ष पुरावेदनपत्र पेस भएको देखिन आयो ।
अब यसमा तेह्रथुम जिल्ला अदालतबाट भएको फैसलालाई उल्टी गरी उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
निर्णयतर्फ विचार गर्दा, मिति २०७४/०८/२५ गते मेरो पतिसमेतको सल्लाहबमोजिम बिहानको अ. ५:०० बजेको समयमा प्रतिवादी दलबहादुर तामाङसँग बसन्तपुर बजारतर्फ गइरहेको अवस्थामा जिल्ला तेह्रथुम लालीगुँरास न.पा. १ स्थित देवेन्द्र थापाको बारीको पश्चिम पट्टिको डिलको भित्तामा पुगेपछि प्रतिवादीले मलाई लडाई मैले लगाएको सुरूवाल खोली आफ्नो हाफपाइन्ट कट्टुसमेत खोली मलाई जबरजस्ती करणी गरी भागी फरार भएको हुँदा कारबाही गरिपाउँ भनी परिवर्तित नाम D-D1 ले किटानी साथ जाहेरी दरखास्त दिएको पाइन्छ भने अदालतसमक्ष निज पीडितले बकपत्र गर्दा कतिपय सवाल जवाफमा प्रतिवादीले करणी गरेको होइन भनी लेखाएको देखिन्छ, कितपय स्थानमा प्रतिवादीले जबरजस्ती करणी गर्न चाहीँ खोजेको हो तर गर्न पाएन मैले मानिने भनी उल्लेख गरेको छ भने कतै मेरो इच्छाविपरीत प्रतिवादीले आफ्नो आधा लिङ्ग पसाएको कुरा उल्लेख गरेको पाइन्छ ।
जाहेरवाली पछिको अर्को प्रमुख साक्षी पीडितको श्रीमान् अर्थात परिवर्तित नाम D-D2 ले मिति २०७४/०५/२५ गते बिहानको अं.०४:३० बजेको समयमा म मेरो श्रीमती परिवर्तित नाम D-D1 सँग घरमा सुतिरहेको अवस्थामा प्रतिवादी दलबहादुर तामाङ रक्सी बोकी मेरो घरमा आई मसँग हिँड मासु खरिद गरिदिन्छु भनेपछि मैले श्रीमतीलाई जाउ भनेकोले प्रतिवादी दलबहादुर तामाङसँग बसन्तपुर बजारतर्फ गएको केही समयपछाडि निज प्रतिवादीले मलाई जबरजस्ती करणी गरे भन्दै मेरो श्रीमती D-D1 घरमा आएकोमा मैले श्रीमती D-D1 लाई के कसरी करणी गरेको भनी सोध्दा मेरो श्रीमती / पीडितले बसन्तपुर बजारतर्फ गइरहेको अवस्थामा जिल्ला तेह्रथुम लालिगुँरास न.पा. वडा नं.१ स्थित देवेन्द्र थापाको बारीको पश्चिमपट्टिको डिलको भित्तामा पुग्द दलबहादुर तामाङले मलाई जबरजस्ती भुइँमा लडाई जबरजस्ती करणी गरेको हो भनी बताएको हो भन्नेसमेत बेहोराको परिवर्तित नाम D-D2 ले घटना विवरण कागज गरेको देखिन्छ । तर परिवर्तित नाम D-D2 ले अदालतमा बकपत्र गर्दा भने प्रतिवादी दलबहादुर तामाङ विवाहको निम्ता दिन आएको र सो दिन स्थानीय बजार भएको कारण मेरो श्रीमती पनि बिहान सबेरै बजारमा मासु पाइन्छ भनी निजसँग बजार गइन भन्ने बेहोरा खुलाएको देखिन्छ । यसरी पीडित परिवर्तितन नाम D-D1 ले दिएको जाहेरी दरखास्त र परिवर्तित नाम D-D2 (निज पीडितको श्रीमान्) ले गरेको घटना विवरण कागजसमेत यस मुद्दामा विवादास्पद देखिन्छ ।
२. अब पहिलो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी दलबहादुर तामाङ पीडित परिवर्तित नाम D-D1 को घरमा हटिया लाग्ने दिन एकाबिहानै विवाह घरमा भाँडा माझ्ने काम गर्न बोलाउन गएको विषयमा विवाद छैन । पीडित जाहेरवालीको श्रीमान् परिवर्तित नाम D-D2 स्वयंले पनि पीडितलाई बजार मासु किन्न लैजानु भनी प्रतिवादीसँग पठाएको देखिन्छ । घटना लगत्तै प्रतिवादीउपर उजुर परी पीडितको शारीरिक परीक्षण भएको अवस्था छ भने घटनामा पीडितले लगाएको लुगा नधोएको र निज पीडितले आफ्नो जिउ तथा जनन्द्रिय अङ्ग सफा गरेको वा नुहाएको पनि मिसिल संलग्न प्रमाणबाट देखिँदैन । यसैगरी घटना लगत्तै आफ्नो पत्नी पीडितलाई भेटेका परिवर्तित नाम D-D2 ले गरेको घटना विवरण कागजबाट र अदालतमा भएको निजको बकपत्र (स.ज.१४) मा आफ्नो पत्नी बजार जाँदा जस्तो अवस्थामा गएकी थिइन घर फर्किँदा निजको लुगा, कपडा र कपाल उही अवस्थामा रहेको भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । यस अर्थ जबरजस्ती करणी जस्तो जघन्य वारदातपछिको पीडितको जुन अवस्था हुनुपर्ने हो सो नभएको तथ्य निज पीडितको श्रिमान स्वयम् परिवर्तित नाम D-D2 ले स्वीकार गरेको देखिन्छ । घटना विवरण कागजमा परिवर्तित नाम D-D2 ले आफ्नो पत्नी बसन्तपुर बजारतर्फ गएको केही समय पछाडि नै फर्केको भनी उक्त विवरणसमेतमा उल्लेख गरेको र निज पीडित कति समयमा घर फर्केको भन्ने बेहोरा खुलेको अवस्था पाइँदैन । यसैगरी प्रतिवादीलाई फरार भनी देखाए तापनि मिसिल संलग्न कागजातबाट निज वारदात मिति २०७४/०८/२५ मा प्रहरीले विवाह भएको घरबाट पक्राउ गरेको तथ्य उक्त मितिको पक्राउ पुर्जीबाट अवगत हुन्छ । वस्तुस्थिति मुचुलका गर्ने टेकबहादुर गुरूङ, निरकुमार राई र हिकमाक तामाङले उक्त घटना आफैँ आँखाले नदेखि सुनी थाहा पाएको र पीडित परिवर्तित नाम D-D1 लाई प्रतिवादीले जबरस्ती करणी गरेको कुरामा विश्वास लाग्दैन भन्ने बेहोरासमेत उल्लेख गरी बकपत्र गरेको देखिन्छ ।
३. यसैगरी घटनाको लगत्तै भएको पीडित जाहेरवाली परिवर्तित नाम D-D1 को शारीरिक परीक्षण प्रतिवेदनमा in regard to injuries on the bodies; there was no any visible injury, no any abrasion, no cut marks and bite marks, no laceration and no old scar seen. In regard to genital injuries; no any edema, no injury seen, no any bite marks, no any laceration detected, the vagina and hymen was intact no any tear in hymen seen, also the vulva, perianal area and anal orifice and oral cavity was normal and no any injury, foreign materials seen. She is having slight mental retardation भन्नेसमेत बेहोरा उल्लेख भएको र प्रतिवादी दलबहादुर तामाङको शारीरिक परीक्षण प्रतिवेदनमा the accused was medically, emotionally fit and fine. In regard to injuries on the bodies; there was not any visible injury detected. Likewise, there was insignificant genital injuries, no any injury or swelling of penis, the perineum and scrotum looks normal. There is no any injury in perianal and anal orifice. No any matted, stained or foreign hair on pubic area. There is no any bite mark, visible cut or scratches marks seen. The genital organs are intact भन्नेसमेत बेहोरा उल्लेख भएको पाइन्छ । अत पीडित परिवर्तित नाम D-D1 को परीक्षण प्रतिवेदनमा उल्लेख गरेको विवरण (history) मा the victim denied that the accused had tried to attempt rape. The accused grabbed her hand but did not do sexual intercourse भन्नेसमेत उल्लेख भएको देखिँदा पीडितले आफूउपर करणी भएको तथ्यमा इन्कार भर्इ प्रतिवादीले हातसम्म समाएको बेहोरा उल्लेख गरेको हुँदा पीडितले व्यक्त गरेको उक्त बेहोरालाई नजरअन्दाज गर्न सक्ने अवस्था रहँदैन । जहाँसम्म वारदातस्थलमा घाँस मडारिएको भन्ने उल्लेख भएको छ सो स्थानमा पीडित लडेको तथ्यमा विवाद छैन । प्रतिवादीले पनि पीडित लडेको र आफूले हात समाती तानेको बेहोरा उल्लेख गरेको देखिन्छ । पीडित लडेको कारणनै घाँस मडारिएको हुन सक्ने अवस्था हुने एवं उक्त स्थान मनिस हिँड्ने बाटो भएकाले जुत्ताको डाम देखिनु वा घाँस मडारिएको अवस्थामा हुनु स्वभाविक मान्न सकिन अवस्था भएकोले माथि उल्लिखित प्रकरणहरूबाट प्रतिवादी दलबहादुर तामाङलाई जबरजस्ती करणीको आरोपित कसुरबाट सफाइ पाउने ठहर गरी उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट भएको फैसलालाई अन्यथा मान्न सक्ने अवस्था रहँदैन ।
४. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा, प्रतिवादी कसुरमा पूर्णरूपमा इन्कार रही अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गरेको देखिन्छ भने प्रतिवादीले गरेको सो बयानलाई पीडित परिवर्तित नाम D-D1 ले अदालतसमक्ष बकपत्रको स.ज ९ देखि १२ सम्म हेर्दा प्रतिवादी दलबहादुर तामाङले मलाई जबरजस्ती करणी गर्न पाएन, म बाटो खनेको स्थानमा खुट्टा घसरिएर लडेकीले प्रतिवादीले मेरो हातमा समातेर तानेको मात्र हो जबरजस्ती करणी गरेको होइन । मेरो श्रीमान् परिवर्तित नाम D-D2 ले झुठ्ठा बेहोरा लेखाई दिएछन् भन्ने बेहोरा उल्लेख गरेको पाइन्छ । अत: पीडितले बकपत्र गर्दा कतिपय स्थानमा करणी गरेको होइन भनेको छ, कतिपय स्थानमा प्रतिवादीले आफ्नो आधा लिङ्ग छिराएको हो भनी बकपत्र गरेकोमा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको हो वा होइन भनी यकिन साथ मान्न सकिने अवस्था देखिँदैन । प्रतिवादीले जबरजस्ती करणी गरेको भन्ने तथ्य शंकारहित ढङ्गबाट स्थापित हुन नआएकोले प्रतिवादीले जबरजस्ती करणी गरेका हुन् भनी जाहेरी दरखास्त र सोही बेहोरालाई समर्थन गर्ने गरी घटना विवरण कागज गरेको भरमा एवं अनुमान र शङ्काको आधारमा दोषी ठहर गर्नु मनासिब देखिँदैन ।
५. महिलाहरूउपर हुने कुनै प्रकारको हिंसा, बलात्कारजन्य कुकृत्यप्रति न्यायिक संवेदनशीलता देखाउन अत्यन्त आवश्यक हुन्छ । कानूनले समेत महिला विरूद्ध हुने हिंसा नियन्त्रण गर्ने अभिप्रायले विभिन्न संरक्षणात्मक प्रावधानहरू व्यवस्थित गरेको पाइन्छ । तथापि यी विषयहरूलाई न्यायको मूल अपेक्षा वा सम्भावित न्यायिक प्रक्रिया दुरूपयोगको अवस्थातर्फ दृष्टि नपुर्याई एक पक्षीय ढङ्गबाट मुद्दाको सुरूवातमा दिएको जाहेरी वा उजुरीलाई नै निश्चयात्मक प्रमाणको रूपमा मान्यता दिई कुनै व्यक्तलाई दोषी ठहर गर्दा अन्यायपूर्ण अवस्था परिणामले प्रश्रय पाउन सक्छ । यस्तो अन्यायपूर्ण र विभेदकारी अवस्था पैदा नहोस् भन्ने मान्यतालाई आत्मसाथ गरेर फौजदारी न्यायका आधारभूत मान्यताहरूअनुकूल हुनेगरी न्याय निरूपण गर्नु वाञ्छनीय देखिन्छ । English Jurist William Blackstone को “It is better that ten guilty persons escape than one innocent suffer” (दसजना कसुरदार छुटे पनि एकजना निरपराध व्यक्ति सजायको भागिदार बनाउन नहुने) भन्ने भनाइ, (presumption of innocence) शङ्काको भरमा कसैलाई दोषी ठहर गर्न नमिल्ने, अभियोजन पक्षले स्पष्ट र अकाट्य प्रमाणहरूको सङ्कल र प्रस्तुति गरी अदालतलाई आफ्नो दाबी पुष्टि गर्न सक्नुपर्दछ सो गर्ननसके शङ्काको सुविधा अभियुक्तले पाउने आदि फौजदारी न्यायका सर्वमान्य सिद्धान्तहरूको सापेक्षतामा विचार गर्दा आफ्नो जिवनको आधा उमेर व्यतित गरिसकेकी महिला पीडित परिवर्तित नाम D-D1 समेतले अदालतसमक्ष अभियुक्तको निर्दोषिताको पक्षमा गरेको बकपत्रलाई एकातर्फ पन्छाएर प्रतिवादीलाई दोषी ठहर गर्नु न्याय एवं विवेकसङ्गत देखिँदैन । यसका अतिरिक्त प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार फौजदारी मुद्दामा अभियोग दाबी प्रमाणित गर्ने भार वादी नेपाल सरकारमा रहने मा अभियोजन पक्षले अभियोग दाबी प्रमाणित हुने कुनै ठोस, स्वतन्त्र, वस्तुनिष्ठ र भरपर्दो प्रमाण वादी पक्षबाट पेस गर्न सकेको
देखिँदैन । यस्तो अवस्थामा पीडित जाहेरवालीले शङ्काजन्य परिस्थिति उल्लेख गरी दिएको जाहेरी बेहोरा र निजले अदालतसमक्ष गरेको विवादास्पद बकपत्रको आधारमा प्रतिवादीलाई दोषी ठहर गर्ने न्यायिक निष्कर्षमा पुग्न सकिएन ।
६. प्रस्तुत मुद्दामा प्रतिवादी दलबहादुर तामाङले अभियोग दाबीबमोजिमको कसुर गरेको बारे उल्लिखित प्रकरणहरूमा विवेचना भई मिसिल संलग्न सबुद प्रमाणबाट निज प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको पुष्टि नभई सफाइ पाउने ठहर भइसकेकोले निज प्रतिवादिले मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम थप सजाय पाउनुपर्ने र प्रतिवादी दलबहादुर तामाङबाट पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराई पाउने सम्बन्धमा थप विवेचना गर्नुपर्ने अवस्था देखिएन । वादी नेपाल सरकारको बहस जिकिरसँग सहमत हुने सकिएन ।
७. तसर्थ, माथि विवेचित आधार कारण, कानूनी व्यवस्था एवं फौजदारी कानूनका सिद्धान्तहरूसमेतका आधारमा प्रतिवादी दलबहादुर तामाङले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. कसुर गरेकोमा सोही महलको ३ नं. को देहाय ५ बमोजिम ५(पाँच) वर्ष कैद हुने ठहर गरी तेह्रथुम जिल्ला अदालतबाट मिति २०७५।०२।०९ मा भएको फैसलालाई उल्टी गरी प्रतिवादी दलबहादुर तामाङले जबरजस्ती करणीको आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ भनी उच्च अदालत विराटनगर, धनकुटा इजलासबाट मिति २०७५।११।१४ मा भएको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी फैसला विद्युतीय अपलोड गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत: सदिक्षा नेपाल
इति संवत् २०७७ साल जेष्ठ २९ गते रोज ५ शुभम् ।