शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०५९५ - लागु औषध (खैरो हेरोइन)

भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।३।१

०७१-CR-०९६८

 

मुद्दाः- लागु औषध (खैरो हेरोइन)

 

पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्‍तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १३ ताहाचल बस्ने मुकेशकुमार दाससमेत

 

समूहमा मिली लागु औषधको कारोबार तथा ओसारपसारको कसुरमा संलग्न रहेको पुष्टि हुन्छ भने समूहका प्रत्येक व्यक्तिबाट लागु औषध बरामद हुन आवश्यक हुँदैन । त्यो अवस्थामा समूहका सबैले आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । तर समूहमा मिली कसुरमा संलग्न रहेको प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्थामा लागु औषध बरामद नभएका प्रतिवादीहरूलाई समेत सँगै रहेको वा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको भन्ने आधारमा मात्र कसुरदार ठहर गरी आपराधिक दायित्व वहन गराउनु न्यायसङ्गत नहुने ।

सामूहिक रूपमा लागु औषधको कसुरमा संलग्न भएका व्यक्तिहरूले कुनै न कुनै रूपमा कसुर गर्नमा भूमिका निभाएको वा कुनै न कुनै रूपमा कसुरमा संलग्न रहेको तथा प्राप्त हुने लाभमा हिस्सेदार भएको अवस्था देखिनुपर्ने ।

(प्रकरण नं.९)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७२८

सम्बद्ध कानून :

लागु औषध (नियन्त्रण) ऐन, २०३३

 

सुरू तहमा फैसला गर्नेः

मा. जि. न्यायाधीश श्री शेखरप्रसाद पौडेल

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः

मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला

मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल

पुनरावेदन अदालत पाटन 

 

फैसला

न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र (ग) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य एवं पुनरावेदन अदालत पाटनको फैसलाको बेहोरा सो अदालतको फैसलाबाट देखिने हुँदा यसमा पुनरावृत्ति गरिएको छैन । पुनरावेदक वादीको पुनरावेदन जिकिर तथा यस अदालतको निर्णय यसप्रकार छः 

 

पुनरावेदक वादीको पुनरावेदन

प्रस्तुत मुद्दामा प्रतिवादी मुकेशकुमार दासले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफूसमेतको संलग्नता र मिलेमतोमा भारतीय नागरिक बब्बन सिंहले दिएको हातहतियारसमेत ल्याएको र आफ्नो साथबाट हतियार बरामद भएको, गणेशप्रसाद सिंह र अनिल बानियाँको साथबाट हातहतियार र लागु औषध हिरोइनसमेत बरामद भएको कुरा स्वीकार गरेका र अर्का प्रतिवादी ओमप्रकाश साहले आफू ना. २ ख ५२८२ नं. गाडीको कन्डक्टर भएको र सो गाडीमा लागु औषधसमेत राखी राजविराजबाट काठमाडौंसम्म ल्याइदिएबापत रू. २१ हजार लिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष साबिती रहेको देखिन्छ । लागु औषधको कारोबार सङ्गठित रूपमा गरिने भएको हुँदा अपराधमा संलग्न प्रत्येक व्यक्तिको सँगसाथबाट व्यक्तिगत रूपमा दशी बरामद नहुन पनि सक्छ । सङ्गठित रूपमा गरिने लागु औषधको कारोबारमा अलगअलग प्रतिवादीहरूले अलगअलग भूमिका वा कार्यको जिम्मेवारी लिई आपसी समन्वय र सञ्चारबाट अपराधलाई पूर्णता दिइन्छ । अत: लागु औषध जस्तो संवेदनशील र गम्भीर मुद्दामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई मात्र महत्त्व दिई अन्य भौतिक र लिखत प्रमाणको उपेक्षा हुने गरी सुरू तथा पुनरावेदन तहको अदालतबाट फैसला भएको छ । प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादीहरूले मैकामा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन हुन्छ । लागु औषधको कसुरमा strict liability सहित प्रमाणको भार प्रतिवादीमा रहने हुन्छ । जुन कुरा फैसलाले अनदेखा गरेको छ । 

प्रस्तुत सन्दर्भमा लागु औषधसम्बन्धी अपराध निरक्षेप दायित्वअन्तर्गत पर्ने अपराध भएको र समूहमा रहेका अवस्थामा कसैबाट लागु औषध बरामद भएमा बरामद नहुने व्यक्ति लागु औषधको कारोबारका लागि समूहमा हिँडेका होइन भन्ने पुष्टि नभएमा सबै व्यक्तिहरूमा  कसुरको दायित्व रहने हुन्छ (ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७२८, पृष्ठ १९८२) भनी सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुने गरी फैसला भएको छ । यसरी लागु औषध ओसार पसार गर्न सहयोग तथा मिलेमतो गर्ने यी प्रतिवादीहरू ओमप्रकाश साह र मुकेशकुमार दासलाई सफाइ दिने गरी भएको फैसलामा मिसिल संलग्न प्रमाणहरूको उचित मूल्याङ्कन नभई प्रमाण ऐन, २०३१ को दफा १० र ५४ को गम्भीर कानूनी त्रुटि भएको छ । अतः यी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा सुरू फैसला केही उल्टी गरी बरामद मोटरसाइकल जफत गर्ने र यी प्रतिवादीहरूको हकमा सुरू सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला कानून एवं प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको पुनरावेदक वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन ।

यस अदालतको निर्णय

नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेलले प्रतिवादी मुकेशकुमार दास, सहप्रतिवादीहरू अनिल बानिया र गणेशप्रसाद सिंहसहित वारदातस्थलबाट पक्राउ परेका छन् । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष भारतबाट तीनैजना मिली हातहतियार ल्याएको भनी बयान गरेका छन् । अन्य प्रतिवादीहरूले समेत मुकेशकुमारको कोठामा जाँदै गर्दा पक्राउ परेको भनी बयान गरेको हुँदा यी प्रतिवादीसमेत बरामद लागु औषधको कारोबारमा संलग्न रहेको देखिन्छ । अर्का प्रतिवादी ओमप्रकाश साहको हकमा अनुसन्धानको क्रममा निज प्रतिवादीले आफूले काम गर्ने गाडीमा लुकाएर सहप्रतिवादीहरूको लागु औषध काठमाडौं ल्याइदिएको हो भनी कसुरमा साबित रहेका तथा सहप्रतिवादीहरू अनिल बानिया र गणेशप्रसाद सिंहले समेत सोही मिलानमा यी प्रतिवादीलाई पोल गरी बयान गरिदिएको हुँदा यी प्रतिवादीहरूसमेत उक्त लागु औषधको खरिद बिक्री तथा ओसार पसारमा संलग्न रहेको हुँदा यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

यसमा प्रतिवादीहरू बिक्की भन्ने अनिल बानिया, टिङ्कु भन्ने गणेशप्रसाद सिंह, मुकेशकुमार दास र ओमप्रकाश साहको संलग्नतामा लागु औषधको ओसार पसार भइरहेको अवस्थामा मिति ०६५।१२।४ गतेका दिन काठमाडौं जिल्ला का.म.न.पा. ८ सिफलबाट लागु औषधसहित प्रतिवादीहरू अनिल बानिया, गणेशप्रसाद सिंह र मुकेशकुमार दास पक्राउ परेको हुँदा निज प्रतिवादीहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ)(ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा १४(१)(छ)(२) बमोजिम सजाय हुन तथा बरामद मोटरसाइकल सोही ऐनको दफा १८ बमोजिम जफत हुनसमेतको मागदाबीसहित सुरू काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र पेस भएको देखिन्छ । काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीहरू गणेशप्रसाद सिंह र अनिल बानियालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(२) बमोजिम जनही १० वर्ष कैद र रू. १ लाख जरिवाना हुने र प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहले आरोपित कसुरमा सफाइ पाउने गरी फैसला भएको र सो फैसलाउपर वादी नेपाल सरकारको र प्रतिवादीहरू गणेशप्रसाद सिंह र अनिल बानियाँको छुट्टाछुट्टै पुनरावेदन अदालत पाटनमा पुनरावेदन परेको र उक्त अदालतबाट सुरू फैसला केही उल्टी गरी बरामद मोटर साइकल अभियोग दाबीबमोजिम जफत हुने र अरूमा सुरू फैसला सदर हुने गरी फैसला भएको हुँदा सो फैसलाउपर वादी नेपाल सरकारको यस अदालतसमक्ष पुनरावेदन परी इजलाससमक्ष पेस हुन आएको देखियो । 

प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहले अनुसन्धानको क्रममा आफूहरूसमेतको संलग्नतामा उक्त लागु औषध खैरो हिरोइनको ओसारपसार भएको कुरामा स्वीकार रही बयान गरेका छन् । लागु औषध जस्तो संवेदनशील र गम्भीर मुद्दामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयानलाई मात्र आधार लिन सकिँदैन । यी प्रतिवादीहरू समूहमा रहेर कार्य गरेको हुँदा चारैजनाको साथबाट लागु औषध बरामद हुनुपर्ने अनिवार्यता रहँदैन । लागु औषधको कारोबारको कसुरमा प्रमाणको भार प्रतिवादीमा हुने हुँदासमेत प्रतिवादीले आफ्नो निर्दोषिता पुष्टि गर्न सकेका छैनन् । अतः अदालतको इन्कारी बयानलाई मात्र आधार लिई प्रतिवादीलाई आरोपित कसुरमा सफाइ दिनु त्रुटिपूर्ण भएकोले प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखिन्छ । 

यसमा सुरू फैसला केही उल्टी गरी भएको पुनरावेदन अदालत पाटनको फैसला, वादी नेपाल सरकारको पुनरावेदन जिकिर, उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ताको बहस जिकिर तथा मिसिल संलग्न कागज प्रमाणको अध्ययन विश्लेषणसमेतको आधारमा हेर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ? र पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ८ सिफलबाट स.१ प. ९७९० नं. को रातो रङको कालो पल्सर मोटरसाइकल चढी आएका टिङ्कु भन्ने गणेशप्रसाद सिंह, बिक्‍की भन्ने अनिल बानिया, मुकेशकुमार दासलाई नियन्त्रणमा लिई निजहरूको साथ तथा झोला खानतलासी लिँदा प्रतिवादीहरू गणेशप्रसाद सिंहबाट ३५ ग्राम र बिक्की भन्ने अनिल बानियाको साथबाट ३१ ग्राम लागु औषध खैरो हिरोइन अवैध हातहतियार तथा खरखजानासहित बरामद भएको बरामदी मुचुल्का र प्रहरी प्रतिवेदनबाट देखिन्छ । प्रतिवादीहरू गणेशप्रसाद सिंह र बिक्की भन्ने अनिल बानियाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हामी दुवैजनाको मिलोमतो र संलग्नतामा बरामदी मुचुल्कामा उल्लिखित अवैध हातहतियार खरखजाना तथा लागु औषध खैरो हिरोइन ना.२ख ५२८२ को शिवबाबा ट्राभल्सको गाडीको कन्डक्टर ओमप्रकाश साहमार्फत उक्त गाडीमा राखी काठमाडौं ल्याई पुर्‍याउन कन्डक्टर ओम प्रकाश साहलाई रू. २१,०००।- दिएको हो भने १४ हजार दिन बाँकी थियो । उक्त लागु औषध खैरो हिरोइन अवैध हातहतियारसमेत बोकी ताहाचलस्थित मुकेशकुमार दासको कोठामा जार्दै गर्दा प्रहरीले पक्राउ गरी हामीहरूको साथबाट बरामदी मुचुल्कामा भए मुताबिकको लागु औषध बरामद गरेको हो । उक्त लागु औषध बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले भारतमा गई बबन सिंहबाट खरिद गरी ल्याएको हो भनी बयान गरेको देखिन्छ ।

३. प्रतिवादीहरू गणेशप्रसाद सिंह र अनिल बानियाको साथबाट लागु औषध खैरो हिरोइन बरामद भएको तथ्यमा कुनै विवाद रहेको छैन । सुरू काठमाडौं जिल्ला अदालतबाट प्रतिवादीहरू गणेशप्रसाद सिंह र बिक्की भन्ने अनिल बानियालाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(२) बमोजिम जनही १० वर्ष कैद र रू. १ लाख जरिवाना हुने र प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहले आरोपित कसुरमा सफाइ पाउने गरी फैसला भएको र पुनरावेदन अदालत पाटनबाट सवारी साधन जफतको हकमा केही उल्टी भए तापनि प्रतिवादीहरूको हकमा सुरू फैसला सदर हुने गरी फैसला भएको देखिन्छ भने त्यसउपर कसुर ठहर भएका प्रतिवादीहरू गणेशप्रसाद सिंह र बिक्की भन्ने अनिल बानियाको यस अदालतमा पुनरावेदन परेको देखिँदैन । 

४. उक्त वारदातमा प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहको कसुरमा संलग्नता रहेको हुँदा निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखिन्छ । यस सम्बन्धमा निज प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको छ, छैन ? र निजहरूलाई सजाय हुनुपर्ने हो, होइन ? भन्ने सम्बन्धमा हेर्दा प्रतिवादी मुकेशकुमार दासले अनुसन्धानको क्रममा बयान गर्दा सहप्रतिवादीहरू बिक्‍की भन्ने अनिल बानिया र टिङ्कु भन्ने गणेशप्रसाद सिंहसँग मिलोमतो गरी भारतीय नागरिक बबन सिंहले डेलिभरीको लागि दिएको ठुलो परिमाणको अवैध हातहतियारसमेत राजविराजबाट काठमाडौं भित्र्याई ल्याएको र आफ्नो साथबाट अवैध हातहतियार खरखजाना बरामद भएको र अन्य प्रतिवादीहरूबाट लागु औषध खैरो हेरोइन र हातहतियार खरखजानासमेत बरामद भएको हो । सहप्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषध खैरो हिरोइन खरिद बिक्री, ओसार पसारमा मेरो कुनै संलग्नता छैन । सहप्रतिवादीहरूबाट लागु औषध बरामद भएपछि मात्र उनीहरूको साथमा लागु औषध रहेको भन्ने थाहा पाएको हुँ भनी बयान गरेको देखिन्छ । निज प्रतिवादीले आफूबाट हातहतियार बरामद भएको भए तापनि लागु औषध बरामद भएको होइन भनी जिकिर लिएका छन् । निजले अदालतमा बयान गर्दा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान र बरामदी मुचुल्कामा भएको बेहोरा झुट्ठा हो । अभियोगबमोजिम कसुर गरेको छैन भनी बयान गरेका छन् । सहप्रतिवादीहरू बिक्‍की भन्ने अनिल बानिया र टिङ्कु भन्ने गणेश सिंहले समेत बरामद भएको लागु औषधको ओसार पसार तथा कारोबारमा यी प्रतिवादी मुकेशको संलग्नता नरहेको, निजलाई आफूहरूले ल्याएको लागु औषधको बारेमा थाहा नभएको र आफूहरूबाट बरामद भएपश्चात् मात्र निजले थाहा पाएका हुन् भनी अनुसन्धानको क्रममा लेखाएका 

छन् । अदालतमा बयान गर्दा लागु औषध ओसार पसारको कसुर गरेको होइन भनी कसुरमा पूर्णरूपमा इन्कार रहेका छन् भने यी प्रतिवादीलाई पोलसमेत गरेका छैनन् । अदालतमा आई बकपत्र गर्ने प्रतिवेदकहरूले मौकाको प्रतिवेदनलाई सनाखत गरेका छन् । तथापि मौकाको प्रतिवेदन तथा बरामदी मुचुल्काबाट यी प्रतिवादीबाट लागु औषध बरामद भएको भन्ने देखिन आउँदैन । 

५. यसरी यी प्रतिवादी मुकेशकुमार दास सहप्रतिवादीहरूबाट लागु औषध बरामद हुँदा निजहरूसँग सँगै रहेको देखिए तापनि निजबाट लागु औषध बरामद नभएको, सहप्रतिवादीहरूले निजलाई पोल नगरी लागु औषधको सम्बन्धमा निजलाई जानकारी नभएको भनी अनुसन्धानको क्रममा बयान गरेको, निज प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा हातहतियार ल्याउने कार्यमा सहप्रतिवादीहरूसँग कसुरमा संलग्न रहेको भए तापनि लागु औषधको ओसार पसारमा संलग्न नरहेको भनी गरेको बयानसमेतबाट यी प्रतिवादीउपरको आरोपित कसुर शंकारहित तवरबाट पुष्टि भएको देखिन आएन ।

६. अर्का प्रतिवादी ओमप्रकाश साहको हकमा हेर्दा निजले अनुसन्धानको क्रममा टिङ्कु भन्ने गणेश सिंह र बिक्‍की भन्ने अनिल बानिया गाडीमा आएर लागु औषध खैरो हेरोइनसमेत राखिएको झोला काठमाडौं पुर्‍याइदिनु सोबापत धेरै पैसा दिन्छौं भनी भनेकोले मैले निजहरूले मलाई दिएको लागु औषध खैरो हेरोइन र हातहतियार खरखजानासमेत राखिएको झोला म कन्डक्टर काम गर्ने गरेको ना. २ ख. ५२८२ नं. को गाडीमा राखी काठमाडौंसम्म ल्याइदिएको हुँ भनेका छन् । यसरी निज प्रतिवादीले बरामद लागु औषध खरिद बिक्री नगरेको तर ओसार पसारसम्म गरिदिएको कुरा स्वीकार गरी बयान गरेको भए तापनि अदालतमा बयान गर्दा कसुरमा पूर्ण इन्कार रही अन्य प्रतिवादीहरूलाई चिनेको छैन, लागु औषध ओसार पसार गरेको होइन र अनुसन्धानको बयान मैले भनेबमोजिम लेखिएको होइन भनी बेहोरा लेखाएको देखिन्छ । सहप्रतिवादीहरू टिङ्कु भन्ने गणेशप्रसाद सिंह र बिक्‍की भन्ने अनिल बानियाँले अनुसन्धानको क्रममा बयान गर्दा यी प्रतिवादीलाई पैसा दिएर निजले कन्डक्टर काम गर्ने गाडीमा राखी यिनैमार्फत लागु औषध काठमाडौंमा ल्याएको भनी बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आफूले कुनै लागु औषधको ओसारपसार गरेको छैन भनी कसुरमा पूर्ण इन्कार रहेका छन् भने यी प्रतिवादीलाई समेत पोल गरेको देखिँदैन । मौकाको प्रतिवेदनलाई अदालतमा बकपत्र गर्दा प्रतिवेदकहरूले सनाखत गरे तापनि उक्त प्रतिवेदनमा यी प्रतिवादीबाट लागु औषध बरामद भएकोसमेत देखिँदैन ।

७. यी प्रतिवादी ओमप्रकाश साहलाई सहप्रतिवादीहरूले लागु औषध खरिद बिक्रीमा संलग्न रहेका होइनन् पैसा लिएर आफूले काम गर्ने गाडीबाट लागु औषध ल्याइदिएका हुन् भनी अनुसन्धानको क्रममा बयान गरेको देखिए तापनि अदालतमा कसुरमा इन्कारी रहेका र यी प्रतिवादीलाई पोल गरेको अवस्था छैन । यी प्रतिवादी अन्य तिनजना प्रतिवादीसँगै वारदातस्थलबाट पक्राउ परेका छैनन् भने निजबाट लागु औषध बरामद भएकोसमेत देखिँदैन । निज प्रतिवादीले अनुसन्धानको क्रममा कसुर स्वीकार गरेको भए तापनि अदालतमा बयान गर्दा कसुरमा पूर्ण इन्कार रहेका छन् । यी प्रतिवादीबाट लागु औषध बरामद नभएको, सहप्रतिवादीहरूसँगै पक्राउ परेको नदेखिएको र अदालतको बयानमा कसुरमा पूर्ण इन्कार रही सहप्रतिवादीहरूको पोलसमेत रहेको नदेखिएको हुँदा मौकाको साबिती बयानलाई मात्र आधार बनाएर कसुर कायम हुन सक्ने नदेखिँदा यी प्रतिवादीउपरको कसुर पुष्टि हुन सकेको देखिँदैन । 

८. यी प्रतिवादीहरूउपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ (घ)(ङ) र (च) बमोजिमको कसुर गरेको भन्ने अभियोग दाबी रहेको छ । ऐ. दफा ४ (घ)(ङ) र (च) ले लागु औषधको बिक्री वितरण गर्न, लागु औषधको निकासी वा पैठारी गर्न र लागु औषध खरिद गर्ने, सञ्चय गर्ने, राख्ने वा ओसारपसार गर्ने कार्यलाई निषेध गरी कसुर कायम गरेको छ । सहप्रतिवादीहरूबाट अनिलकुमार बानियाँ र गणेशप्रसाद सिंहको साथबाट लागु औषध बरामद भएको भए तापनि उक्त लागु औषधको ओसार पसार तथा कारोबारमा यी प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहको संलग्नता पुष्टि हुन सकेको 

देखिँदैन । प्रतिवादी अनिलकुमार बानियाँको साथबाट ३१ ग्राम लागु औषध खैरो हेरोइन र हातहतियार र गणेशप्रसाद सिंहको साथबाट ३५ ग्राम लागु औषध र हतियार बरामद भएको हो भनी मौकाको प्रतिवेदनलाई समर्थन गर्दै प्रतिवेदकहरू प्र.ना.नि. सन्जय तिमल्सिना, प्रहरी निरीक्षक रविन्द्रबहादुर सिंह र प्र.स.नि. चन्दाकुमार सिंहसमेतले अदालतमा बकपत्र गरिदिएको र बरामदी मुचुल्कामा भएको सहीछाप, बेहोरा मेरो हो, प्रतिवादी गणेशप्रसाद सिंहको साथबाट ३५ ग्राम र अनिल बानियाको साथबाट ३१ ग्राम लागु औषध बरामद भएको हो भन्ने बरामदी मुचुल्काका मानिस प्र.स.नि. दिपेश कौसिकले अदालतमा बकपत्र गरेको देखिन्छ । यसरी बकपत्र गर्ने प्रतिवेदकलगायतका साक्षीहरूले प्रतिवादीहरू अनिलकुमार बानियाँ र गणेशप्रसाद सिंहबाट लागु औषध बरामद भएको भनी बेहोरा लेखाएको भए तापनि उक्त कसुरमा यी प्रतिवादीहरूको समेत संलग्नतालाई किटान गर्न सकेका छैनन् । भने यी प्रतिवादीहरूबाट लागु औषध बरामद भएको हो भनी लेखाउनसमेत सकेका छैनन् । यी प्रतिवादीहरूबाट लागु औषध बरामद नभएको तथा अदालतमा बयान गर्दा कसुरमा पूर्णरूपमा इन्कार रही बेहोरा लेखाएको, सहप्रतिवादीहरूले अदालतमा बयान गर्दा यिनीहरूलाई किटान पोल गरेको नदेखिएको तथा प्रतिवेदकलगायतका साक्षीहरूको बकपत्र बेहोराबाट समेत यी प्रतिवादीहरू लागु औषध खरिद बिक्री तथा ओसार पसार कार्यमा संलग्न रहेका थिए भनी पुष्टि हुन सकेको देखिँदैन । मिसिल संलग्न कागज प्रमाणले यी प्रतिवादीहरूको हकमा आरोपित कसुर शंकारहित तवरबाट पुष्टि हुन नसकेको हुँदा यी प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला अन्यथा देखिन आएन । 

९. प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साह लागु औषध बरामद भएका प्रतिवादीहरू बिक्की भन्ने अनिल बानिया, टिङ्कु भन्ने गणेशप्रसाद सिंहसँग समूहमा मिली लागु औषधको कारोबार तथा ओसार पसार गरेको हुँदा यी प्रतिवादीहरूबाट लागु औषध बरामद नभए तापनि यिनीहरूले आपराधिक दायित्वबाट उन्मुक्ति प्राप्त गर्न सक्दैनन् भन्नेसमेत वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको 

छ । यदी समूहमा मिली लागु औषधको कारोबार तथा ओसारपसारको कसुरमा संलग्न रहेको पुष्टि हुन्छ भने त्यो अवस्थामा समूहका प्रत्येक व्यक्तिबाट लागु औषध बरामद हुन आवश्यक हुँदैन । त्यो अवस्थामा समूहका सबैले आपराधिक दायित्व वहन गर्नुपर्ने हुन्छ । तर समूहमा मिली कसुरमा संलग्न रहेको प्रमाणहरूबाट पुष्टि हुन नसकेको अवस्थामा लागु औषध बरामद नभएका प्रतिवादीहरूलाई समेत सँगै रहेको वा अन्य प्रतिवादीहरूसँग सम्पर्कमा रहेको भन्ने आधारमा मात्र कसुरदार ठहर गरी आपराधिक दायित्व वहन गराउनु न्यायसङ्गत हुँदैन । सामूहिक रूपमा लागु औषधको कसुरमा संलग्न भएका व्यक्तिहरूले कुनै न कुनै रूपमा कसुर गर्नमा भूमिका निभाएको वा कुनै न कुनै रूपमा कसुरमा संलग्न रहेको तथा प्राप्त हुने लाभमा हिस्सेदार भएको अवस्था देखिनु पर्छ अन्यथा केबल शंकाको भरमा समूहमा रहेको भन्ने आधारमा मात्र कसुर कायम हुन पुग्छ । प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साह अन्य प्रतिवादीहरूसँग समूहमा आबद्ध भई कसुर गरेको पुष्टि हुन नसकेको हुँदा पुनरावेदन अदालत पाटनको फैसला ने.का.प. २०६८, अङ्क १२, नि.नं. ८७२८ को नजिर सिद्धान्तसमेतको प्रतिकूल रहेको भन्ने वादी नेपाल सरकारको जिकिरसमेत स्थापित हुन सक्दैन । 

१०. अतः प्रतिवादीहरू मुकेशकुमार दास र ओमप्रकाश साहउपरको आरोपित कसुर शंकारहित तवरबाट पुष्टि हुन नसकेको हुँदा यी प्रतिवादीहरूलाई आरोपित कसुरमा सफाइ दिने गरी भएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला बरामद मोटरसाइकल जफत गर्ने हदसम्म केही उल्टी भई यी प्रतिवादीहरूको हकमा सुरू फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०७१।१।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत : महेन्द्रप्रसाद पौड्याल

इति सवंत् २०७७ साल असार १ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु