निर्णय नं. १०५९६ - मानव बेचबिखन तथा ओसारपसार

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७७।३।१
०७६-CR-०६६४
मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार
पुनरावेदक / वादी : L उपनामसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं. ७ घर भई हाल परिवर्तन मेचीनगर नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल कारागार कार्यालय, झापामा कैदमा रहेको मुना मगर मेचे
फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केबल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन अतः कसुरअनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउने ।
(प्रकरण नं.७)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
सुरू तहमा फैसला गर्नेः-
मा. न्यायाधीश श्री पुर्णेश्वरप्रसाद उपाध्याय
झापा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः-
माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
माननीय न्यायाधीश श्री अच्युत विष्ट
उच्च अदालत विराटनगर, इलाम इजलास
फैसला
न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०७१।०५।१६ गते बिहान ०८:०० बजेको समयमा हाम्रा छोरीहरू नाबालक S उपनाम र M उपनाम घर डेराकोठाबाट स्कुलमा कोचिङ क्लास लिनको लागि भनी स्कुल ड्रेस लगाई झोला बोकी गएकामा स्कुल छुट्टी भएपश्चात् पनि घरमा नआएपछि छोरीहरूको खोजी गर्दै जाँदा विपक्षीमध्येका मुना मगर मेचेले आफ्नो डेराकोठामा बोलाई मासु कोकलगायतका खाने कुरा दिई लोभलालचमा पारी वेश्यावृत्तिमा लाउने उद्देश्यले विभिन्न केटा (पुरूष) मानिसहरूसँग सम्पर्क गराइदिनेसमेतको कार्य गरेको र विपक्षीमध्येका केदार चौलागाइँले सञ्चालन गरेको होटलमा लगी होटलमा आउने पुरूषहरूसँग चिनजान गराई सँगै बियर खान लगाई पैसा कमाई हुन्छ भनी पुरूषहरूसँग शारीरिक सम्पर्कसमेत गर्न लगाएको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त ।
मिति २०७१।०५।१६ गते बिहान अन्दाजी ८:३० बजेको समयमा म र M उपनाम भएकी साथीलाई मुना मगर मेचेको घर डेरामा बोलाएकाले गयौं निजले स्कुल ड्रेस चेन्ज गर्न लगाई बसपार्कमा मेरो घर छ हेर्न जाउँ भनी हामीलाई एउटा रिक्सामा पठाइन् । निज एक्लै अर्को रिक्सामा आइन् । बसपार्कमा पुगेपछि नाम थाहा नभएको होटलमा सरासर लगी तलामाथि गएपछि अर्का प्रतिवादी केदार चौलागाइँ आई हाम्रो छेउमा
बसे । निज केदार चौलागाइँले बियर मगाई जबरजस्ती हामीलाई खान लगाए र इन्कार गर्दा मुना मगर मेचेले समेत गाली गरिन् । सोही होटलमा आउने परपुरूषसँग साथी M उपनामलाई पैसा आउँछ भनी कोठामा जबरजस्ती छिराई बाहिरबाट केदार चौलागाइँले ढोका लगाई दिएका हुन् । यसरी निज मुना मगर मेचे र केदार चौलागाइँले हामीलाई विभिन्न होटलमा लगी यौन सम्पर्क गर्नलाई जबरजस्ती गर्ने र भारतको मोतीगाडा साइन सिटी घुम्न जाउँ भनेको हुँदा हामीलाई बेचबिखन गर्ने उद्देश्यले वेश्यावृत्तिमा लगाउन त्यसरी विभिन्न होटलमा लगी कस्टमरबाट पैसासमेत मुना मगर मेचे र केदार चौलागाइँले लिएको हुँदा निजहरूलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको वर्ष १५ की पीडिता S उपनामले संरक्षकको रोहबरमा गरेको बयान कागज ।
यी मुना मगर मेचे र केदार चौलागाइँले म र S उपनाम गरेकी साथीलाई डर त्रासमा पारी विभिन्न मितिमा खानेकुरा खान भनी बोलाई नचिनेका पुरूष मानिससँग राखी निजहरूले कस्टमरबाट रकम लिने गरेको र भारतसम्म लाने योजना बनाई हामीलाई समेत जाउँ भनी फकाउने कार्य गरेको हुँदा निजहरूले हामीलाई बेच्ने कुरा पक्का भएको हो । निज मुना मगर मेचेले केदार चौलागाइँको होटलमा लगी पुरूष मानिससँग बस पैसा कमाई हुन्छ भनेको हो निजहरूलाई कानूनबमोजिम हुनुपर्छ भन्नेसमेत बेहोराको वर्ष १५ की M उपनामले संरक्षकको रोहवरमा गरेको बयान कागज ।
मुना मगर मेचेले अन्य M र S उपनामका केटीहरू र अर्को पुरूष मानिससमेतसँग आई मेरो तमोर होटल लजमा बसी बियर, रेडबुल, स्प्राइट र पानी खाएका हुन् । काउन्टरमा अन्य मानिस नभएको हुँदा अर्डरअनुसारको सामान मैले लगी दिएको हुँ । निजहरूसँगै बसेर मैले बियर खाएको होइन । निजहरू लगभग १ घण्टा जति बसी गएका हुन् मैले बियर रेडबुल स्प्राइट पानी र कोठाको पैसा लिएको हुँ । मैले त निजहरूलाई सबै एकआपसमा चिनजान भएर आएको होला जस्तो लाग्यो । अन्य मलाई थाहा भएन भन्नेसमेत बेहोराको प्रतिवादी केदार चौलागाइँको अधिकारप्राप्त अधिकारीसमक्षको बयान ।
जाहेरवालाहरू L र B उपनाम भएका महिलाहरू र पीडिताहरू S उपनाम र M उपनाम गरेकालाई चिन्दछु । निज पीडिताहरू S उपनाम र M उपनामका बालिकाहरू घुम्न खान रमाइलो गर्न उत्साहित हुने भएकाले मसँग हिँडेका हुन् । त्यसरी कलिला उमेरका केटीहरूसँग केटाहरूसँगै बस्ने खाने र यौन सम्पर्क गर्न गराउन पाएमा हामीलाई मिठो खुवाउने र पैसासमेत दिने र त्यसरी दिएको पैसा मेरो खटनमा रहन्छ भन्ने आशाले मैले नाबालिका S उपनाम र M उपनामलाई लिई हिँडेको हो । गफ गर्दै जाँदा राम्रो पैसावाल केटा कोही भए भारत मोतीगाडा घुम्न जानुपर्छ भन्ने कुरा भएको हो । गएका
थिएनौं । मिति २०७१।०५।१६ गते S उपनाम र M लाई प्रलोभनमा पारी लिएर केदार चौलागाइँको होटलमा गई बियरलगायतका खानेकुरा खाएको हो । एउटा मंगोलियन नचिनेको केटा मानिससँग M उपनामकी बहिनी एकछिन कोठाभित्र बसेकी हुन् तर पैसा लिनुदिनु भएन भन्नेसमेत बेहोराको प्रतिवादी मुना मगर मेचेले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला झापा शनिअर्जुन नगरपालिका वडा नं. ९ स्थित पूर्वमा केशव भट्टराईको घर, पश्चिममा राजमार्गबाट बसपार्क जाने बाटो, उत्तरमा दुर्गा दुध डेरी पसल, दक्षिणमा वीरबहादुर कुरूङवाङ्गको घर यति चार किल्लाबिचमा रहेको दामोदर घिमिरेको घर सोही घरमा केदार चौलागाइँले तमोर गेष्ट हाउस सञ्चालन गरेको सोही गेष्ट हाउसको दोस्रो तलामा मिति २०७१।०५।१६ गते दिउँसो मुना मगर मेचेले पीडिताहरू S उपनाम र M उमनामलाई लिई पुरूष मानिससँग राखी मादक पदार्थ बियरलगायत स्प्राइट, रेडबुल, जुससमेत खुवाएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
प्रतिवादी केदारनाथ चौलागाइँलाई प्रहरीले पक्राउ गरेको सुनी बुझ्दा प्रतिवादीमध्येकी मुना मगर मेचेको साथमा मिति २०७१।०५।१६ गते दिउँसो S उपनाम र M उपनाम भएका महिला पनि आई केदारनाथ चौलागाइँको होटलमा बसी बियर खाई केही बेरपछि निजहरूसँगै आएको केटा मानिससँग गएको भन्ने सुनेको हो । पछि बुझ्दा उक्त राति ती पीडिताहरू घरमा नपुगेपछि अभिभावकले सोधीखोजी हुँदा मुना मगर मेचेले स्कुल ड्रेस चेन्ज गराई केदारनाथ चौलागाइँको होटलमा S उपनाम र M लाई लगेको रहेछ । प्रतिवादी मुना मगर मेचेले कोसँग के कसरी सम्पर्क गरी त्यसरी केदारनाथ चौलागाइँको होटलमा पुर्याए थाहा भएन । प्रतिवादीहरू मुना मगर मेचे र केदारनाथ चौलागाइँको मिलेमतोमा योजनासाथ S उपनाम र M लाई होटलमा ल्याई शारीरिक सम्पर्क गराई सोबाट आर्थिक लाभ लिने उद्देश्यले राखेको जस्तो लाग्दैन भन्नेसमेत बेहोराको श्याम शाह ठकुरीले गरेको कागज ।
मिति २०७१।०५।१७ गते प्रतिवादीहरू केदारनाथ चौलागाइँ र मुना मगर मेचे पक्राउ परेको भन्ने सुनी बुझ्दा प्रतिवादी मुना मगर मेचेले पीडिताहरू S उपनाम र M लाई प्रतिवादी केदारनाथ चौलागाइँले सञ्चालन गरेको होटलमा अर्को केटासहित लिई आई खाने कुरा खाई गएको भन्ने बुझेको हो । निज प्रतिवादी केदारनाथ चौलागाइँले होटलमा महिला राख्ने यौन व्यवसायमा लगाउने कार्य गरेको थाहा छैन । निज मुना मगर मेचेले के कुन उद्देश्यले जाहेरवालाहरूको छोरीहरू S उपनाम र M लाई त्यहाँसम्म ल्याइन् थाहा भएन । प्रतिवादीहरूले पीडिताहरूलाई बेच्ने नै उद्देश्यले ल्याई होटलमा राखेको जस्तो लाग्दैन । त्यसरी स्कुल जाने विद्यार्थी केटीहरूलाई मुना मगर मेचेले किन होटलमा पुर्याइन् थाहा भएन भन्नेसमेत बेहोराको भेषराज मिश्रले गरेको कागज ।
मिति २०७१।०५।१६ गते जाहेरवालीहरू L र B उपनामका महिलाहरूको छोरीहरू S उपनाम र M उपनाम गरेको महिलाहरू हराएकाले प्रहरीमा खबर गरी अभिभावकसमेत भई खोजी गर्ने क्रममा ऐ. १७ गते पीडिताहरूलाई फेला पारी सोधीखोजी गर्दा आफूहरूलाई मुना मगर मेचेले प्रतिवादी केदारनाथ चौलागाइँको होटलमा पुर्याई केटासँग गफ गरी बसेको भन्ने कुरा सुनाएका हुन् । अन्य कुरा थाहा भएन । प्रतिवादीहरूले के कुन प्रयोजनको लागि S उपनाम र M लाई होटलसम्म पुर्याए भन्न सक्दिन । वेश्यावृत्तिमा लगाउन लगेको होइन जस्तो लाग्छ भन्नेसमेत बेहोराको नारायण राजवंशीसमेतले एकै मिलान हुने गरी लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरूले पीडिताहरूलाई बेचबिखन गर्ने उद्देश्यले संरक्षकको मन्जुरीबेगर स्कुल जाने समयमा विभिन्न प्रलोभन देखाई मादक पदार्थसमेत खुवाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले उल्लिखित वारदात घटित गराएको देखिँदा प्रतिवादीहरू मुना मगर मेचे र केदारनाथ चौलागाइँको उल्लिखित कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) को कसुर अपराधमा ऐ. ऐनको दफा १५(१)(छ) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा २२ समेतको कसुर कायम हुनसमेतको मागदाबीसहितको अभियोगपत्र ।
मौकामा भएको बयान बेहोरा मेरो होइन । सहीछाप मात्र मेरो हो । मैले पीडिताहरूलाई वेश्यावृत्तिमा लगाउने, बेचबिखन गर्ने उद्देश्यले कुनै कसुर गरेको
छैन । मैले कसुर नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी मुना मगर मेचेले सुरू अदालतमा गरेको बयान ।
मौकामा भएको बयान बेहोरा र सहीछाप मेरै हो । मैले कुनै कसुर अपराध गरेको छैन । मउपरको आरोप झुठ्ठा हो । मैले कसुर अपराध नगरेको हुँदा मलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको सुरू अदालतमा प्रतिवादी केदार चौलागाइँले गरेको बयान ।
यी प्रतिवादीहरू निर्दोष रहेनछन् भन्नसक्ने अवस्था विद्यमान नदेखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल प्रस्तुत मुद्दाको घटनाको अवस्था र प्रकृतिसमेतका आधारमा मुलुकी ऐन, अदालती बन्दोबस्तको ११८ को देहाय ५×१० बमोजिम प्रतिवादी मुना मगर मेचेबाट रू.१,००,०००।- (एक लाख रूपैयाँ) र प्रतिवादी केदार चौलागाइँबाट रू.५०,०००।- (पचास हजार रूपैयाँ) नगद वा सो बराबरको जेथा जमानत दिए लिई मुद्दा पुर्पक्षका लागि तारेखमा राख्नू । माग भएको धरौट दिन नसके अदालती बन्दोबस्तको १२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, झापामा पठाइदिनु भन्नेसमेत बेहोराको झापा जिल्ला अदालतको मिति २०७१।६।६ को थुनछेक आदेश ।
घटना विवरण कागजको बेहोरा र सोमा भएको सहीछाप मेरै हो । प्रतिवादी केदारले कसैलाई मानव बेचबिखन तथा ओसारपसार गरेको छैन । यी प्रतिवादी र होटलसमेतको बदनाम गरी होटल व्यवसाय बन्द गर्न खेलिएको खेल मात्र भएकोले झुठ्ठा अभियोग माग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई घटना विवरण कागज गर्ने भेषराज मिश्रले गरेको बकपत्र ।
घटनास्थल मुचुल्काको बेहोरा र सोमा भएको सहीछाप मेरै हो । यस मुद्दामा प्रतिवादी केदारको संलग्नता छैन र उनलाई लगाइएको आरोप झुठ्ठा हो भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई घटनास्थल मुचुल्काका मानिस कृष्ण भट्टराईले गरेको बकपत्र ।
प्रतिवादी केदारले कसैलाई बेचबिखन तथा ओसारपसार गरेको छैन । उनी पूर्णरूपमा निर्दोष
छन् । प्रतिवादीले अभियोग माग दाबीबाट सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई प्रतिवादी केदार चौलागाइँका साक्षी अजय देवले गरेको बकपत्र ।
अनुसन्धानको क्रममा भएको बयान कागजको बेहोरा र सोमा भएको सहीछाप मेरै हो । प्रतिवादी मुना मेचेले ढाँट्दै सुरूदेखि लगेको हुँदा ढाँटेकोमा सजाय हुनुपर्छ र प्रतिवादी केदारलाई शंकाको भरमा उनको नाम लेखाएकोले उनी निर्दोष भएकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई पीडिता S उपनामले गरेको बकपत्र ।
जाहेरी दरखास्तको बेहोरा र सहीछाप मेरै हो । पीडिताहरूलाई यहाँसम्म पुर्याउने प्रतिवादी मुना मगर मेचेलाई सजाय हुनुपर्दछ । प्रतिवादी केदार चौलागाइँको यस अपराधमा कुनै संलग्नता नरहेको हुँदा सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई जाहेरवाली L उपनामले गरेको बकपत्र ।
जाहेरी दरखास्तको बेहोरा र सोमा भएको सहीछाप मेरै हो । बेचबिखन गरे नगरेको थाहा भएन । पीडिताहरूलाई हप्काएर पठाउनुपर्नेमा आफ्नो छोरीको कपडा लगाई त्यस्तो कार्य गरेकोमा सजाय हुनुपर्दछ । प्रतिवादी केदारको यस अपराधमा संलग्नता रहेको छैन भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई जाहेरवाली B उपनामले गरेको बकपत्र ।
अनुसन्धानको क्रममा भएको बयान कागजको बेहोरा र सहीछाप मेरै हो । प्रतिवादी मुनाले मलाई झुक्काई प्रतिवादी केदारको होटलमा पुर्याएको हो । यसमा प्रतिवादी केदारको कुनै संलग्नता छैन । उनले सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको सुरू अदालतमा उपस्थित भई पीडिता M उपनामले गरेको बकपत्र ।
प्रस्तुत मुद्दामा पीडिता र जाहेरवालासमेतको अदालतमा आई भएको बकपत्र र यी प्रतिवादीहरू प्रहरी र अदालतमा भएको बयानलाई समेत मिसिलसंलग्न अन्य सबुद प्रमाणलाई विवेचना गरी हेर्दा, यसमा प्रतिवादीमध्येका केदार चौलागाइँले वादी नेपाल सरकारले लिएको अभियोग दाबी पुष्टि हुने कुनै शंकारहित प्रमाण पेस हुनसकेको नपाइँदा निज प्रतिवादी केदार चौलागाइँले प्रस्तुत मुद्दाको अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । यी प्रतिवादी मुना मगर मेचेको हकमा वादी नेपाल सरकारले लिएको अभियोग दाबी पुष्टि भएको पाइँदा निजलाई वादी नेपाल सरकारले लिएको अभियोग दाबी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) को कसुरमा ऐ. ऐनको दफा १५(१)(छ) बमोजिम ८ (आठ) वर्ष कैद हुने ठहर्छ । निज मुना मगर मेचेले नाबालकहरूको हकमा प्रस्तुत कसुर गरेको स्थापित भएको पाइँदा ऐ. ऐनको दफा २२ बमोजिमको वादी नेपाल सरकारको अभियोग दाबीसमेत पुग्ने ठहर्छ भन्ने सुरू झापा जिल्ला अदालतबाट मिति २०७१।८।१० मा भएको फैसला ।
नौजना अपराधी छुटुन्, एकजना पनि निरअपराध व्यक्ति पर्नु हुँदैन भन्ने फौजदारी कानूनको स्थापित सिद्धान्त नै हो । म पुनरावेदकको निर्दोषिता स्थापित तथ्य र कानूनविपरीत प्रमाण ऐन, २०३१ को दफा ३,१८, ५४ तथा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को ३ दफा ४(२)(ख) र दफा १५(१)(छ) को व्याख्यात्मक एवं प्रयोगात्मक त्रुटि गरी म पुनरावेदक मुना मेचेलाई ८ वर्ष कैद हुने ठहर गरी मिति २०७१।०८।१० मा सुरू झापा जिल्ला अदालतले गरेको ठहर फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी म पुनरावेदकको पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी मुना मगर मेचेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादी मुना मगर मेचे अदालतसमक्षको बयानमा कसुरमा इन्कार रहेको, जाहेरवालीले बकपत्र गर्दा मानव बेचबिखनमा उजुरी दिएको होइन, बेचबिखन गरेको हो होइन थाहा छैन भनी बकपत्र गरेको देखिएको र पीडितहरूको बकपत्र बेहोरामा समेत प्रतिवादीले निजहरूलाई बेचबिखन गरेको भन्ने स्पष्ट उल्लेख भएको नदेखिँदा सुरू झापा जिल्ला अदालतबाट मिति २०७१।०८।१० मा पुनरावेदक प्रतिवादीलाई आरोपित कसुरमा सजाय हुने गरी भएको फैसला प्रमाण मूल्याङ्कनको आधारमा फरक पर्न सक्ने देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) र (४) बमोजिम उच्च सरकारी वकिल कार्यालय, इलामलाई आदेशको जानकारी दिई नियमानुसार गरी पेस गर्नु भन्ने उच्च अदालत विराटनगर, इलाम इजलासबाट मिति २०७६।०२।२९ मा भएको आदेश ।
जाहेरवालाहरूको बकपत्रसमेतबाट घरबाट स्कुल ड्रेस लगाई पठाइएका पीडितहरू प्रतिवादी मुना मगर मेचेको घरमा स्कुल ड्रेस चेन्ज गरी आउट ड्रेस लगाई निज पीडितहरूलाई बसपार्कमा रहेको घरमा लग्ने भनी प्रतिवादी केदार चौलागाइँको होटलमा लगी पीडितहरूमध्ये परिवर्तित नाम M लाई अर्को मानिस रहेको कोठाभित्र पठाई कोठाको चुकुल बाहिरबाट लगाइएको र कोठाभित्र माथि प्रकरण २ मा लेखिएबमोजिमको परिस्थितिमा पीडित M परेको देखिएबाट प्रतिवादी मुना मगर मेचेले पीडितहरूलाई शोषण गर्ने उद्देश्यले प्रतिवादीको होटलमा पुर्याई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा २ (ख) को कसुर गरेको देखिएकाले सुरू झापा जिल्ला अदालतको अभियोग दाबीबमोजिमको कसुरमा ऐ. को दफा १५ (१) (छ) बमोजिम निज प्रतिवादीलाई आठ वर्ष कैद गर्ने गरी भएको फैसला सो हदसम्म मिलेको देखिन आएन । पुनरावेदक प्रतिवादी मुना मगर मेचेको सफाइ पाउँ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । कसुरसँग सान्दर्भिक तथ्य सम्बद्ध प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा कोठाको चुकुल कसले खोली पीडित कोठाबाट बाहिर निस्केको भन्ने जस्ता असान्दर्भिक तथ्यमा एकरूपता नदेखिएको भन्ने कुरा प्रतिवादीको हकमा सफाइको आधार हुन सक्तैन । प्रतिवादी मुना मगर मेचेले पीडितहरू वर्ष १५ का परिवर्तित नाम S र M लाई शोषण गर्ने उद्देश्यले गेष्ट हाउससम्म लगी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (ख) को कसुर गरेको देखिएकोमा ऐ. को दफा १५(१)(च) बमोजिम सजाय हुनेमा ऐ. को दफा ३,४(२)(ख) को कसुरमा ऐ. को दफा १५(१)(छ) बमोजिम आठ वर्ष कैदको सजाय हुने गरी भएको सुरू झापा जिल्ला अदालतको मिति २०७१।०८।१० को फैसला सो हदसम्म मिलेको नदेखिँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी मुना मगर मेचेले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) को कसुर गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादीलाई ऐ. को दफा १५(१)(च) बमोजिम एक वर्ष कैद हुने र निज प्रतिवादीले ऐ. को दफा २२ बमोजिम नैतिक पतन हुने कसुर गरेकोसमेत ठहर्छ भन्ने मिति २०७६।०३।२२ मा उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसला ।
प्रतिवादी मुना मगर मेचेले नाबालिका पीडिताहरूलाई ललाई फकाई गरी होटलसम्म लगी केटाहरूसँग कोठाभित्र राख्ने काम गरेको र भारतसम्म जानुपर्छ भनी भनेकोसमेत भनी यी पीडिताहरूले अदालतमा समेत आई बकपत्र गरिदिएकोसमेतका मिसिल संलग्न प्रमाणबाट पीडिताहरूलाई बेचबिखन गर्ने उद्देश्यले संरक्षकको मन्जुरीबेगर स्कुल गएको समयमा विभिन्न प्रलोभन देखाई मादक पदार्थसमेत खुवाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले उल्लिखित वारदात घटाएको पुष्टि भएको तथ्यलाई सुरू फैसलामा नै स्वीकार गरिसकेको अवस्थामा उच्च अदालत विराटनगर, इलाम इजलासबाट शोषण गर्ने उद्देश्यले प्रतिवादीले पीडितलाई होटलमा लिएर गएको भन्ने आत्मनिष्ठ आधार ग्रहण गरी भएको फैसला कानूनीरूपमा त्रुटिपूर्ण छ । पीडित बालिकाहरूलाई प्रतिवादीमध्येकी मुना मगर मेचेले मिति २०७१।०५।०२, २०७१।०५।०९ र ऐ. २०७१।०५।१६ गते गरी विभिन्न मितिमा आफूकहाँ बोलाई स्कुल ड्रेससमेत चेन्ज गर्न लगाई विभिन्न होटलमा लगी नचिनेका पुरूष सँगसँगै बसाई मादक पदार्थ खुवाउने र हिँड्ने बेलामा रकमसमेत दिई लोभ लालचमा पारी ललाई फकाई, प्रलोभनमा पारी विभिन्न प्रपञ्च मिलाई प्रतिवादी केदार चौलागाइँको तमोर गेष्टहाउसमा लगी जबरजस्ती बियर खान लगाई अन्य मानिसहरू आउँछन् भनी कोठामा गएर बस भनी पीडिताहरूलाई अपरिचित पुरूष मानिससँग कोठाभित्र बस्न लगाई कोठा बाहिरबाट चुकुलसमेत लगाई रूपैयाँ पैसा कमाई हुन्छ भनी वेश्यावृत्तिमा लगाउन उत्प्रेरित गरेको र धनी केटाहरू फेला परेमा भारत मोतीगाढा साइन्स सिटीसमेत घुम्न जानुपर्छ भनी पीडितहरूलाई बेचबिखन गर्ने उद्देश्यले स्कुल गएका समयमा विभिन्न प्रलोभन देखाई मादक पदार्थसमेत खुवाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले उल्लिखित वारदात घटित गराएको तथ्य जाहेरी दरखास्त, पीडिताहरूको प्रमाणित बयान, पीडिताहरूले अदालतमा गरिदिएको बकपत्र जाहेरवालाको बकपत्रलगायतको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेको अवस्थामा यी प्रतिवादी मुना मगर मेचेलाई अभियोग मागदाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी दाबी परिवर्तन गरी कम सजाय गरिएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला प्रमाण मूल्याङ्कनको रोहमा त्रुटिपूर्ण छ ।
प्रतिवादी मुना मगर मेचेले कसुरजन्य कुरामा अनुसन्धान अधिकारीसमक्ष साबित भई अदालतसमक्ष इन्कारी बयान गरे तापनि निज मुना मगर मेचेले के कति कारणले नाबालिका पीडिताहरूलाई विभिन्न होटलमा विभिन्न समयमा लगी परपुरूष मान्छेसँग भेटाई मादक पदार्थ खुवाई पटकपटक पैसा दिनुको कारण, तिमीहरू केटाहरूसँग बस्नुपर्छ पैसा कमाई हुन्छ भन्नुको कारण र जबरजस्ती पीडितलाई अपरिचित पुरूष मानिससँग तमोर गेष्ट हाउसको कोठाभित्र बस्न लगाई बाहिरबाट चुकुल लगाउनुको कारणबारे कुनै वस्तुनिष्ठ र विश्वसनीय प्रमाण पेस गर्न सकेकी छैनन् । यसै सन्दर्भमा “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीउपर रहने गरी विशेष व्यवस्था गरेको पाइन्छ । सो दफामा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई यस ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेकोमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण निजले नै पुर्याउनुपर्ने छ भन्ने कानूनी व्यवस्था रहेको छ । अत: उल्लिखित आधार प्रमाणबाट प्रत्यर्थी / प्रतिवादी उपरको अभियोग दाबी पुष्टि भइरहेको अवस्थामा प्रस्तुत मुद्दाको तथ्यसँग मेल नखाने गरी अभियोग दाबीभन्दा फरक कसुर कायम गरी अभियोग दाबी परिवर्तन गरी प्रतिवादीलाई कम सजाय गरिएको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला त्रुटिपूर्ण हुँदा सो फैसलालाई बदर गरी प्रतिवादीलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्यायले प्रस्तुत मुद्दामा प्रतिवादी मुना मगर मेचेले १५ वर्षका नाबालिका उपनाम M र S दुईजना पीडिताहरूलाई आर्थिक प्रलोभनमा पारी तिमीहरू केटाहरूसँग बस्नुपर्छ पैसा राम्रो कमाई हुन्छ भनी जबरजस्ती अपरिचित पुरूष मानिससँग तमोर गेष्ट हाउसको कोठाभित्र बस्न लगाई बाहिरबाट चुकुल लगाई राखेको अवस्था छ । यी प्रतिवादीले आफू निर्दोष भएको कुनै वस्तुनिष्ठ र विश्वसनीय प्रमाण पेस गर्नसकेको अवस्था छैन । यसरी प्रतिवादीउपरको अभियोग दाबी पुष्टि भइरहेको अवस्थामा प्रस्तुत मुद्दाको तथ्यसँग मेल नखाने गरी अभियोग दाबीभन्दा फरक कसुर कायम गरी अभियोग दाबी परिवर्तन गरी प्रतिवादीलाई कम सजाय गरेको उच्च अदालत विराटनगर, इलाम इजलासको फैसला त्रुटिपूर्ण भएकाले सो फैसलालाई बदर गरी निजलाई सुरू अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगर, इलाम इजलासबाट मिति २०७६।०३।२२ मा भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
प्रस्तुत मुद्दामा प्रतिवादी मुना मगर मेचेले पीडिताहरूलाई बेचबिखन गर्ने उद्देश्यले संरक्षकको मन्जुरीबेगर स्कुल जाने समयमा विभिन्न प्रलोभन देखाई मादक पदार्थसमेत खुवाई वेश्यावृत्तिमा लगाउने उद्देश्यले उल्लिखित वारदात घटित गराएको देखिँदा प्रतिवादीहरू मुना मगर मेचेको उल्लिखित कार्य मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४(२)(ख) को कसुर अपराधमा ऐ. ऐनको दफा १५(१)(छ) बमोजिम सजाय हुन र ऐ. ऐनको दफा २२ समेतको कसुर कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको मुख्य अभियोग दाबी रहेको पाइन्छ ।
निर्णयतर्फ विचार गर्दा, सुरू झापा जिल्ला अदालतबाट यी प्रतिवादी मुना मगर मेचेलाई ८ वर्ष कैद सजाय हुने ठहर भएकोमा उच्च अदालत विराटनगर, इलाम इजलासले सो फैसलालाई केही उल्टी गरी यी प्रतिवादीलाई सुरू अभियोग मागदाबीभन्दा कम सजाय हुने गरी १ वर्ष मात्र कैद सजाय हुने ठहर गरेकोमा सो फैसलाउपर चित्त नबुझाई प्रस्तुत पुनरावेदन पर्न आएको पाइन्छ ।
२. अब, उल्लिखित पुनरावेदन जिकिर रहेतर्फ हेर्दा, प्रतिवादी मुना मगर मेचेले अदालतमा गरेको बयानमा मौकाको बयान नसुनाई सही गराएको हुँदा उक्त बयान बेहोरा मेरो होइन भनी लेखाएको देखिन्छ । निज प्रतिवादी मुना मगर मेचेले अदालतसमक्ष गरेको सो बयानबाट पीडितहरू परिवर्तित नाम S र M सँग अर्का प्रतिवादी केदार चौलागाइँको होटलमा गएको भन्ने देखिन्छ । पीडितहरूले अदालतमा गरेको बकपत्रबाट प्रतिवादी मुना मगर मेचेले निजहरूलाई बिर्तामोड बसपार्कमा आफ्नो घर छ भनी भने पनि उनीहरूलाई त्यहाँ नलगी प्रतिवादी केदार चौलागाइँको होटलमा लगेको भन्ने तथ्य मिसिलसंलग्न कागजातहरूबाट देखिन्छ । प्रतिवादी केदार चौलागाइँको अदालतको बयानमा पनि प्रतिवादी मुना मगर मेचेसहित पीडितहरू केदार चौलागाइँको होटलमा बस्न गएको भन्ने उल्लेख भएको देखिन्छ ।
३. प्रस्तुत मुद्दाका अर्का प्रतिवादी केदार चौलागाइँको होटलमा पीडितहरूमध्ये परिवर्तित नाम M लाई प्रतिवादी मुना मगर मेचेले कोठामा अङ्कलसँग गफ गर्न जाउ भनी पठाएको र कोठाभित्र पसेपछि बाहिरबाट निज प्रतिवादीले चुकुल लगाई कोठाभित्रको मानिसले पीडित M को हात समाई एकछिन बसाएको भन्ने निजको बकपत्रबाट समेत देखिन्छ । घटना भएको दिन मिति २०७१।०५।१६ मा वर्ष १५ का नाबालिका दुवै पीडितहरू उक्त दिन बिहान प्रतिवादी मुना मगर मेचेको घरमा स्कुल ड्रेसमै आएको र सोही स्थानमा निजहरूले आउट ड्रेस चेन्ज गरेको भन्ने बेहोरा निज प्रतिवादी मुना मगर मेचेको अदालतको बयानमा लेखाएको पाइन्छ ।
४. त्यसैगरी पीडितहरूको अनुसन्धानको क्रममा भएको बयान कागज र निजहरूले अदालतमा गरेको बकपत्र र जाहेरवालाहरूको बकपत्रसमेतबाट पनि यी पीडितहरूलाई प्रतिवादी मुना मगर मेचेले उनीहरूलाई ललाई फकाई गरी बियर तथा रेडबुल जस्ता कुराहरू खान दिई राम्रो कमाई हुन्छ भनी आर्थिक प्रलोभनमा पारी अर्का प्रतिवादी केदार चौलागाइँको होटलको कोठामा केटाहरूसँग राखी बाहिरबाट यी प्रतिवादी मुना मेचेले चुकुलसमेत लगाई दिएको भन्ने तथ्य मिसिल संलग्न कागजातहरूबाट देखिन आएको छ ।
५. प्रस्तुत मुद्दामा जाहेरवालाहरू L र B ले आफ्नो जाहेरी बेहोरा तथा निजहरूले अदालतमा बकपत्र गर्दा घरबाट स्कुल ड्रेस लगाई पठाइएका पीडितहरूलाई प्रतिवादी मुना मगर मेचेले ललाई फकाई गरी आफ्नो घरमा लगी स्कुल ड्रेस चेन्ज गरी आउट ड्रेस लगाई पीडितहरूलाई बसपार्कमा रहेको घरमा लग्ने भनी प्रतिवादी केदार चौलागाइँको होटलमा लगी पीडितहरूमध्ये परिवर्तित नाम M लाई अर्को मानिस रहेको कोठाभित्र पठाई कोठाको चुकुल बाहिरबाट लगाई दिएको र कोठाभित्र पीडित M परेको देखिएबाट प्रतिवादी मुना मगर मेचेले पीडितहरूलाई शोषण गर्ने उद्देश्यले प्रतिवादीको होटलमा पुर्याइएको देखिन्छ ।
६. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२)(ख) मा “वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने” जस्ता कुनै कार्य कसैले गरेमा मानव ओसारपसारको कसुर गरेको मानिने छ भन्ने व्यवस्था र सोही ऐनको दफा १५(१)(च) मा “शोषण गर्ने उद्देश्यले दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिम नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद” हुने भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । तर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (ख) अनुसार वेश्यावृत्तिमा लगाउने कार्यसमेत गरेको नभई जबरजस्तीसमेत नगरिएको र त्यस्तै प्रकारले अपहरण गरेको वा शरीर बन्धक राखी नाजुक स्थितिको फाइदा लिई बेहोस पारी बल शक्तिको समेत दुरूपयोग गरी डर, धाक, धम्कीसमेत प्रयोग गरी कर कापमा पारी अपहरण गरेको अवस्थासमेत नदेखिँदा अभियोग दाबीबमोजिमको कसुर भएको अवस्था देखिँदैन । प्रतिवादीले शोषण गर्ने उद्देश्यबाट एकाठाउँबाट अर्को ठाउँमा लिएको अवस्थासम्म देखिन आएबाट प्रतिवादी मुना मगरको उक्त कार्य मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) को खण्ड (ख) बमोजिम नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा (शोषण गर्ने उद्देश्यले) लिएकोसम्म देखिँदा सोही ऐनको दफा १५ (१) (च) अनुसार सजाय गर्नुपर्ने अवस्था देखिन आयो ।
७. फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोही कसुरअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केवल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन अतः कसुरअनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउँछ ।
८. प्रस्तुत मुद्दामा प्रतिवादीमध्येकी मुना मगर मेचेले जाहेरवालाहरू र पीडितहरूले उल्लेख गरेको बेहोराबाट पनि यी प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर नगरी मानव बेचबिखन तथा ओसारपसार ऐनको उल्लिखित कसुरसम्म गरेको देखिन आउँछ । यसरी प्रतिवादी मुना मेचेले उक्त ऐनको दफा २(ख) को कसुर गरेको देखिएकाले सुरू झापा जिल्ला अदालतको अभियोग दाबीबमोजिमको कसुरमा ऐ. को दफा १५ (१) (छ) बमोजिम निज प्रतिवादीलाई आठ वर्ष कैद सजाय गर्ने गरी मिति २०७१।०८।१० मा भएको फैसला सो हदसम्म मिलेको नदेखिएकोले उक्त फैसला केही उल्टी भई निज प्रतिवादी मुना मगर मेचेलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१) (च) अनुसार १ वर्ष कैद सजाय हुने ठहर गरी उच्च अदालत विराटनगर, इलाम इजलासबाट भएको फैसलालाई अन्यथा गर्नुपर्ने देखिन आएन ।
९. अतः उल्लिखित कानूनी व्यवस्था, मिसिल संलग्न प्रमाण, कागजहरूसमेतका आधार र कारणहरूसमेतबाट प्रतिवादी मुना मगर मेचेलाई निजउपर लगाइएको सुरू अभियोग दाबीबमोजिम मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (ख) अनुसारको कसुर गरेको ठहर्याई सोही ऐनको दफा १५(१) (छ) बमोजिम ८ वर्ष कैद सजाय हुने ठहर्याएको सुरू झापा जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी निज प्रतिवादी मुना मगर मेचेले मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(२) (ख) अनुसारको कसुर गरेको ठहर्याई सोही ऐनको दफा १५(१) (च) अनुसार १ वर्ष मात्र कैद सजाय हुने ठहर्याएको उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७६।३।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.तेजबहादुर के.सी.
इजलास अधिकृत : मिनबहादुर कुँवर / गोविन्द आचार्य
इति संवत् २०७७ साल असार १ गते रोज २ शुभम् ।