निर्णय नं. १०५९८ - लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति: २०७७।३।२१
०७२-CR-०७७८
मुद्दाः लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)
पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक अरूणकुमार चौधरीको प्रतिवेदनले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं.१ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्वर जडीबुटी बस्ने श्रीप्रसाद राजभण्डारीको छोरा समिर राजभण्डारीसमेत
सेवनकर्ताले पनि कहीँ-न-कहीँबाट लागु औषध प्राप्त गर्ने हुन्छ । यसरी प्राप्त गर्ने र आफ्नो साथमा लिई हिँड्ने कार्य व्यापारिक प्रकृतिको अर्थात् अरू मानिसलाई बिक्री गरी नाफा वा लाभ प्राप्त गर्ने गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई खरिद-बिक्री, सञ्चय वा ओसारपसारको कसुर ठहर गर्नु न्यायोचित नहुने ।
अभियोजन पक्षले खरिद-बिक्री तथा ओसारपसारतर्फको कसुर प्रमाणद्वारा पुष्टि गर्न नसकेको, केबल केही मात्राको प्रतिबन्धित लागु औषध बरामद भएको भन्ने आधारमा नै शंका गरी अभियोग मागदाबीअनुसार खरिद-बिक्री, सञ्चय तथा ओसारपसारको कसुर गरेको भनी ठहर गर्नु मनासिब नहुने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाशकुमार मरासिनी
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
लागु औषध (नियन्त्रण) ऐन, २०३३
सुरू तहमा फैसला गर्नेः
मा. न्यायाधीश श्री श्यामसुन्दर अधिकारी
पर्सा जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री डा. कुलरत्न भुर्तेल
माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत हेटौंडा
फैसला
न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित उत्तर दक्षिण सडक, पूर्व गण्डक अस्पताल तथा पश्चिम गण्डक प्रहरी पोष्ट सो चारकिल्लाभित्र सडकमा समिर राजभण्डारी, प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापतीको कानूनबमोजिम शरीर खानतलासी गर्दा सुनिल प्रजापतिको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ४५ वटा, बसको टिकट थान १, निजको नाउँको सवारी चालक अनुमतिपत्र, प्रेम भन्ने प्रकाश महतको साथबाट लागु औषध इन्जेक्सन २ एम.एल.को डाइजेपाम ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसीक ५० पिस र समिर राजभण्डारीको साथबाट निजको नाउँको सवारी चालक अनुमतिपत्र थान १ फेला परेकोले बरामद गरेको भन्ने खानतलासी तथा बरामदी मुचुल्का ।
मिति २०७०।३।१२ गते मेरो कमान्डमा टोली खटी विभिन्न सवारी साधन तथा पैदल यात्रुहरूसमेतको चेकजाँच गरिरहेको अवस्थामा ३ जना पुरूष मानिसहरू दक्षिणतर्फबाट उत्तरतर्फ जाने उद्देश्यले पैदल हिँडी आई रहेको देखी रोकी नाम, थर, वतन सोधपुछ गर्दा समिर राजभण्डारी, प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापती भनी बताएकोले निजहरूको शरीर खानतलासी लिँदा निज सुनिल प्रजापतीको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ४५ वटा, बसको टिकट थान १, निजको नाउँको सवारी चालक अनुमतिपत्र, प्रेम भन्ने प्रकाश महतको साथबाट लागु औषध इन्जेक्सन २ एम.एल.को डाइजेपाम ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसीक ५० पिस र समिर राजभण्डारीको साथबाट निजको नाउँको सवारी चालक अनुमतीपत्र थान १ फेला पारी बरामद गरी निजहरूलाई समेत दाखिला गरेको छु भन्ने प्रहरी प्रतिवेदन ।
म लागु औषध सेवन गर्ने हुँदा काठमाडौं कोटेश्वरको सुकुम्बासी टोलतिर लागु औषध किनी खान आउँदा साथी सुनिल प्रजापतीसँग भेट भई चिनजान भएकोमा निजबाट प्रेम भन्ने प्रकाश महतसँग चिनजान भएको, प्रकाश महतले काठमाडौंमा रू. ८००।- देखि १,०००।- पर्ने इन्जेक्सन भारतको रक्सौलमा रू. १००।- मा पाउँछ जाउँ भनेकोले भारतको रक्सौल गई आफूहरू सेवन गर्ने र सेवनकर्ता साथीहरूलाई बिक्री गरी आफ्नो खर्च उठाउने भनी मिति २०७०।३।१२ गते भारतको रक्सौल गई रू. ५,०००।- मा डाइजेपाम ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसीक ५० पिस र रू. ५००।- मा नाइट्रोभेट ट्याबलेट ४५ वटा किनी सबै पैसा मैले तिरी साथी प्रेम भन्ने प्रकाश महतलाई डाइजेपाम, फेनारगन, लुप्रिजेसीक र सुनिल प्रजापतीलाई नाइट्रोभेट ट्याबलेट बोकाई काठमाडौंतर्फ जाँदै गर्दा वीरगन्ज गण्डक चोकमा पुग्दा प्रहरीले सो लागु औषध फेला पारी पक्राउ गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी समिर राजभण्डारीको अनुसन्धान अधिकारीसमक्षको बयान ।
मसँगै पक्राउ परेका समिर राजभण्डारी र प्रेम भन्ने प्रकाश महतसँग काठमाडौं कोटेश्वरको सुकुम्बासी टोलतिर लागु औषध किनी खान जाँदा चिनजान भएको, प्रेम भन्ने प्रकाश महतले भारतको रक्सौलमा लागु औषध सस्तोमा पाउँछ पैसा भए जाउ भनी भन्दा समिर राजभण्डारीले मसँग पैसा छ भनेकोले भारतको रक्सौल गई आफूहरू सेवन गर्ने र सेवनकर्ता साथीहरूलाई बिक्री गरी आफ्नो खर्च उठाउने भनी सल्लाह भई मिति २०७०।३।१२ गते भारतको रक्सौल गई रू. ५,०००।-मा डाइजेपामसमेतका इन्जेक्सनहरू १५० पिस र रू. ५००।- मा नाइट्रोभेट ट्याबलेट ४५ वटा खरिद गरेको हो । म र प्रेम भन्ने प्रकाश महतसँग पैसा नभएकोले सो पैसा समिर राजभण्डारीले दिएको हो । प्रेम भन्ने प्रकाश महतले डाइजेपामसमेतका इन्जेक्सनहरू १५० पिस र मैले नाइट्रोभेट ट्याबलेट ४५ वटा बोकी काठमाडौंतर्फ जाँदै गर्दा वीरगन्ज गण्डक चोकमा पुग्दा प्रहरीले फेला पारी पक्राउ गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी सुनिल प्रजापतीको अनुसन्धान अधिकारीसमक्षको बयान ।
लागु औषध किनी खान जाँदा सुनिल प्रजापती र समिर राजभण्डारीसँग भेट भई चिनजान भएको काठमाडौंमा लागु औषध खरिद गर्न नपाइने, पाइए पनि महँगो पर्ने भएकोले हामीहरूले सल्लाह गरी मिति २०७०।३।१२ गते भारतको रक्सौल गई रू. ५,०००।- मा डाइजेपामसमेतका इन्जेक्सनहरू १५० पिस र रू. ५००।- मा नाइट्रोभेट ट्याबलेट ४५ वटा खरिद गरेको हो । म र सुनिलसँग पैसा नभएकोले पैसा समिर राजभण्डारीले दिएको हो । मैले डाइजेपामसमेतका इन्जेक्सनहरू १५० पिस र सुनिलले नाइट्रोभेट ट्याबलेट ४५ वटा बोकी काठमाडौंतर्फ जाँदै गर्दा वीरगन्ज गण्डक चोकमा पुग्दा प्रहरीले फेला पारी पक्राउ गरी ल्याएको हो भन्नेसमेत बेहोराको प्रतिवादी प्रेम भन्ने प्रकाश महतको अनुसन्धान अधिकारीसमक्षको बयान ।
परीक्षणको लागि पठाएको भौतिक सबुदमा डाइजेपाम, व्युप्रिनोर्फिर र नाइट्राजेपाम पाइएको भन्नेसमेत बेहोराको परीक्षण प्रतिवेदन ।
मिति २०७०।३।१२ गते प्रतिवादीहरू समिर राजभण्डारी, सुनिल प्रजापती र प्रेम भन्ने प्रकाश महतलाई वीरगन्ज १७ स्थित प्रहरी टोलीले फेला पारी निजहरूको शरीर खानतलासी लिँदा सुनिल प्रजापतीको साथबाट नाइट्रोभेट ट्याबलेट ४५ वटा र प्रेम भन्ने प्रकाश महतको साथबाट २ एम.एल.को डाइजेपामसमेतका इन्जेक्सनहरू १५० पिस फेला परेकोले बरामद गरी निजहरूलाई पक्राउ गरी लगेको हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।
प्रतिवादीहरू समिर राजभण्डारी, सुनिल प्रजापती र प्रेम भन्ने प्रकाश महतले लागु औषध खरिद, पैठारी, ओसारपसार तथा सञ्चय गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (ङ) (च) र दफा १४(१)(झ) को कसुर गरेको देखिँदा प्रतिवादीहरू समिर राजभण्डारी, सुनिल प्रजापती र प्रेम भन्ने प्रकाश महतलाई सोही ऐनको दफा १४(१) को देहाय (झ) अनुसार सजाय हुन मागदाबी लिइएको अभियोगपत्र ।
मलाई प्रहरीले मिति २०७०।४।१० गते गण्डक चोकबाट पक्राउ गरेको हो, म वीरगन्ज घुम्न आएको बखत सामान्य चिनजानका प्रकाश महत र सुनिल प्रजापतीसँग पक्राउ परेको हो । मसँग लागु औषध बरामद भएको छैन । अन्य प्रतिवादीहरू मलाइ वीरगन्ज बसपार्कमा छाडी कहाँ गए थाहा भएन । पछि प्रहरीले पक्राउ गरेपछि मात्र लागु औषध किन्न गएको र निजहरू लागु औषधको दुर्व्यसनी हुन् भन्ने थाहा भयो । खानतलासी तथा बरामदी मुचुल्का बेहोरा सत्य हो, त्यसमा भएको सहीछाप मेरो हो । मैले कहिल्यै लागु औषध सेवन गरेको छैन । मैले सो लागु औषध खरिदका लागि पैसा दिएको पनि होइन । उक्त बेहोरा भएको कागजमा प्रहरीले जबरजस्ती सहीछाप गराएका हुन् । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान बारेमा मलाई थाहा छैन । प्रहरीको डरले त्यसो भनेको हुन सक्छ । वस्तुस्थिति मुचुल्काको बेहोरा ठिक हो । मसँग कुनै लागु औषध बरामद भएको छैन । अन्य प्रतिवादीहरू प्रकाश र सुनिलसँग बरामद भएको हो । म उक्त वारदातमा संलग्न नभएकोले अभियोग मागदाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी समिर राजभण्डारीले अदालतमा गरेको बयान ।
मलाई प्रहरीले गण्डक चोकबाट मिति २०७०।३।१० गते पक्राउ गरेको हो । खानतलासी तथा बरामदी मुचुल्का साँचो हो, त्यसमा परेको सहीछाप मेरो हो । सेवनको लागि काठमाडौं लिई जान लागेको थिएँ, काठमाडौंमा महङ्गो पर्ने भएकोले धेरै परिमाणमा लागु औषध बोकेको हुँ । अन्य प्रतिवादीसँग सामान्य चिनजान छ । समिरलाई बसपार्कमा राखी म र सुनिल उक्त लागु औषध खरिदको लागि रक्सौल गएका हौं । समिरको प्रस्तुत वारदातमा कुनै संलग्नता छैन । मौकाको मेरो बयान बेहोरा साँचो हो, त्यसमा भएको सहीछापसमेत मेरो हो । मैले सेवनको लागि उक्त लागु औषध खरिद गरी ल्याएको हुँ । वस्तुस्थिति मुचुल्का बेहोरा ठिक साँचो हो, त्यसमा भएको सहीछाप मेरो हो । अभियोग मागदाबीबमोजिम सजाय पाउनुपर्ने
होइन । सेवनको लागि भएकोले १ पटकलाई सजायबाट छुटकारा पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रेम भन्ने प्रकाश महतले अदालतमा गरेको बयान ।
मलाई प्रहरीले मिति २०७०।३।१० गते गण्डक चोकबाट पक्राउ गरेको हो । ४५ पिस लागु औषध बरामद भएको कुरा साँचो हो । अन्य कुरा मलाई थाहा छैन । म आफैँले खानको लागि लान लागेको
थिएँ । बिगत २-३ वर्षदेखि सेवन गर्दै आएको छु । दुवैजनासँग सामान्य चिनजान भएको २ वर्षजति भयो । समिरलाई वीरगन्ज बसपार्कमा राखी म र प्रकाश महत रक्सौलमा लागु औषध खरिद गर्न गएका थियौं । अरू बेहोरा ठिक छ । उक्त लागु औषध सेवनको लागि ल्याएको हो, बिक्री गर्नको लागि होइन । मौकाको बयानमा भएको सहीछाप मेरो हो । अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्ने होइन, मैले सेवनको लागि खरिद गरेकोले १ पटकलाई अभियोग दाबीबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी सुनिल प्रजापतीले अदालतमा गरेको बयान ।
प्रतिवेदक प्र.ना.नि. अरूणकुमार चौधरी, प्रतिवादीहरू सुनिल प्रजापतीको साक्षी सुमन प्रजापती, समिर राजभण्डारीको साक्षी रविराज भण्डारीसमेतले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीमध्येका प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापतीले आफूहरू लागु औषध सेवनकर्ता भएको हुँदा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने होइन भनी बयान गरेको तथा प्रतिवादी समिर राजभण्डारीबाट लागु औषध इन्जेक्सन बरामद नभएको हुँदा प्रतिवादीहरूको उमेरसमेतलाई दृष्टिगत गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) अनुसार कैद महिना २ (दुई) र रू.२,०००।- जरिवाना हुने ठहर्छ भन्ने सुरू पर्सा जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला ।
प्रतिवादीहरू लागु औषध सेवन गर्दाकै अवस्थामा पक्राउ परेको भन्ने नदेखिई काठमाडौंदेखि वीरगन्ज हुँदै भारतको रक्सौलमा पुगी बरामदी मुचुल्कामा उल्लिखित ठुलो मात्राको लागु औषध खरिद गरी सामूहिक रूममा ओसारपसार गरी हिँड्दाको अवस्थामा पक्राउ परेको देखिएको, निजहरूले मौकामा बयान गर्दा उक्त लागु औषध सेवनकर्ता साथीहरूलाई सम्पर्क गरी बिक्री गरी खर्च उठाउने उद्देश्यले लिई आएको हो भनी बयान गरेको, निजहरूको स्वास्थ्य परीक्षणबाट लागु औषध सेवन गरेको भन्ने नदेखिएको, निजहरू लागु औषध सेवनकर्ता रहेको भन्ने पुष्टि हुने कुनै कागजातहरू पेस गर्न नसकेको तथा निजहरूको साथबाट लागु औषध डापजेपामसमेतका १५० पिस इन्जेक्सन र नाइट्राभेट ट्रयाबलेट ४५ वटा बरामद भएको देखिँदा बरामद लागु औषधको मात्राले समेत बिक्री वितरणसमेतको प्रयोजनको लागि ल्याएको भन्ने पुष्टि भएको अवस्थामा प्रमाणको उचित मूल्याङ्कन नगरी प्रतिवादीहरू लागु औषधको सेवनकर्ता रहेको भनी सेवनतर्फ सजाय गर्ने गरी भएको फैसला कानूनसङ्गत नहुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूले बरामद भएको लागु औषध बरामद भएको बेहोरालाई स्वीकार गरी अनुसन्धान अधिकारी तथा अदालतमा बयान गर्दा आफूहरू लागु औषध सेवनकर्ता भएको र सेवनका लागि काठमाडौं लान हिँडिरहेको अवस्थामा पक्राउमा परी लागु औषध बरामद भएको हो भनी बयान गरेका, एकैसाथ काठमाडौंबाट आई एकै ठाउँमा तीनैजना पक्राउ परेका र निजहरूबाट बरामद भएको लागु औषधको मात्रा र परिमाणबाट अभियोग दाबीबमोजिमको खरिद बिक्री, ओसारपसार गरेको भन्न मिल्ने नदेखिएको अवस्था हुँदा प्रतिवादीहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम २ महिना कैद र २,०००।- जरिवाना हुने ठहर गरेको सुरूको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७१।८।१४ को फैसला ।
प्रतिवादीहरूले भारतको रक्सौलबाट लागु औषध खरिद गरी सामूहिक रूपमा लुकाई छिपाई हिँडिरहेको अवस्थामा निजहरूको साथबाट ठुलो परिमाणको लागु औषध बरामद भएको तथ्यलाई अदालत स्वयम्ले स्वीकार गरिसकेपछि दाबीअनुसारको दफा १४(१)(झ) बमोजिम नै सजाय गर्नुपर्नेमा बरामद लागु औषध सेवन गर्न ल्याएको भनी प्रतिवादीहरूले अदालतमा बयान गरेकै आधारमा सेवनतर्फ सजाय गर्ने गरी भएको सुरू अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला नमिलेकोले बदर गरी प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन ।
प्रतिवादी प्रकाश महतको साथबाट २ml. को डाइजेपाम ५० वटा, फेनारगन ५० वटा र लुप्रिजेसिक ५० वटा इन्जेक्सनहरू र प्रतिवादी सुनिल प्रजापतीको साथबाट नाइट्रोभेट ट्याबलेट ४५ वटा बरामद भएको देखिन्छ । प्रतिवादीहरूले अदालतसमक्षको बयानमा आरोपित कसुर गरेमा इन्कार रही बयान गरेको भए तापनि अनुसन्धानको क्रममा बयान गर्दा उल्लिखित परिमाणको लागु औषध अन्य साथीहरूलाई समेत बिक्री गर्न खरिद गरेर ल्याएको हो भनी कसुरमा साबित रही बयान गरेको देखियो । प्रतिवादीको मौकाको बयानलाई खानतलासी बरामदी मुचुल्का तथा मौकामा बुझिएका व्यक्तिहरूको भनाइसमेतबाट पुष्टि भइरहेको अवस्थामा लागु औषध सेवनमा मात्र सजाय गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलामा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(झ), प्रमाण ऐन, २०३१ को दफा ३, ५४ मुलुकी ऐन, अ.बं. १८४क. र १८५ नं. समेतको व्याख्यात्मक त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०७२।६।१४ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाशकुमार मरासिनीले रक्सौलबाट प्रतिवादीहरूले लागु औषध खरिद गरी काठमाडौं लैजाने क्रममा निजहरूको साथबाट ठुलो मात्रामा बरामद भएको छ, मौकामा प्रतिवादीहरूले आरोपित कसुरमा साबित रही बयान गरेका छन्, निजहरूबाट बरामद भएको वस्तु लागु औषध नै भएको भन्ने परीक्षण प्रतिवेदनबाट देखिएको र बरामद भएको लागु औषधको मात्रासमेतले ठुलो रहेको हुँदा सुरू अदालतबाट सेवनतर्फको मात्र कसुर ठहर गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला नमिलेको र प्रमाण मूल्याङ्कनमा त्रुटि रहेकोले सो फैसला उल्टी गरी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस सुनियो । प्रतिवादी तथा निजहरूको तर्फबाट कोही पनि उपस्थित हुन आएको पाइएन ।
अब यसमा प्रतिवादीहरूलाई सेवनतर्फको कसुरदार ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ वा सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित सडकमा पैदल हिँड्दै गरेको अवस्थामा सुनिल प्रजापतीको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ४५ वटा, बसको टिकट थान १, निजको नाउँको सवारी चालक अनुमतिपत्र, प्रेम भन्ने प्रकाश महतको साथबाट २ एम.एल.को डाइजेपाम इन्जेक्सन ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसिक ५० पिस र समिर राजभण्डारीको साथबाट निजको नाउँको सवारी चालक अनुमतिपत्र थान १ बरामद भएको देखियो । बरामद भएको पदार्थ लागु औषध हो भन्ने कुरा परीक्षण प्रतिवेदनबाट समेत प्रमाणित भएको पाइयो । उक्त लागु औषध सेवन गर्ने प्रयोजनको लागि काठमाडौंबाट भारतको रक्सौल गई खरिद गरी काठमाडौं फर्की आउन लाग्दा वीरगन्जमा प्रहरीले पक्राउ गरेका हुन् भनी सबै (तीनजना) प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रतिवादी समिर राजभण्डारी आरोपित कसुरमा इन्कार रहेको र अन्य प्रतिवादीहरू प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापतीले आफू सेवनकर्ता भएको कुरा स्वीकार गरी बयान गरेको पाइयो । प्रतिवादी समिर राजभण्डारीले आरोपित कसुरमा इन्कार रही अदालतसमक्ष बयान गरेको भएपनि अनुसन्धान अधिकारीसमक्ष सेवनतर्फको कसुरमा साबित भई बयान गरेको, अन्य दुईजना प्रतिवादीसँग काठमाडौंबाट वीरगञ्जसम्म साथसाथै गएको देखिएको र निजउपर सहअभियुक्तहरूले प्रहरीसमक्ष बयान गर्दा पोल गरेकोसमेत देखिँदा निजसमेत सेवनकर्ता हुन् भन्ने देखिएको छ । तसर्थ, प्रतिवादीहरूलाई लागु औषध सेवनकर्ता ठहर गरी सोहीबमोजिम सजाय हुने गरी भएको फैसला मनासिब नै देखियो ।
३. खरिद-बिक्री, ओसारपसारतर्फको अभियोग दाबी ठहर हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको दाबीतर्फ हेर्दा बरामद भएको लागु औषधको मात्रा खासै ठुलो परिमाणको देखिँदैन । तीनजना व्यक्तिबाट कूल रू.५,५००।- मा खरिद गरेको भनिएको नाइट्रोभेट ट्याब्लेट ४५ वटा, २ एम.एल.को डाइजेपाम इन्जेक्सन ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसिक ५० पिस बरामद भएको देखिन्छ । सेवनकर्ताले पनि कहीँ-न-कहीँबाट लागु औषध प्राप्त गर्ने हुन्छ । यसरी प्राप्त गर्ने र आफ्नो साथमा लिई हिँड्ने कार्य व्यापारिक प्रकृतिको अर्थात् अरू मानिसलाई बिक्री गरी नाफा वा लाभ प्राप्त गर्ने गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई खरिद-बिक्री, सञ्चय वा ओसारपसारको कसुर ठहर गर्नु न्यायोचित हुँदैन । अभियोजन पक्षले खरिद-बिक्री तथा ओसारपसारतर्फको कसुर प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिँदैन । केवल केही मात्राको प्रतिबन्धित लागु औषध बरामद भएको भन्ने आधारमा नै शंका गरी अभियोगपत्र मागदाबीअनुसार खरिद-बिक्री, सञ्चय तथा ओसारपसारको कसुर गरेको भनी ठहर गर्नु मनासिब हुँदैन ।
४. माथि विवेचित आधार, कारण र प्रमाणहरूबाट प्रतिवादीहरू समिर राजभण्डारी, प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापतीलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) बमोजिम सेवनतर्फको कसुरमा जनही २ महिना कैद र रू. २,०००।- जरिवाना हुने गरी भएको सुरू पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०७१/८/१४ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । फैसलाको प्रतिलिपिसहित जानकारीका लागि महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाई, फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी, मुद्दाको दायरीको लगत कट्टा गरी, मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कुमार रेग्मी
इजलास अधिकृत:- मुकुन्द निरौला
इति संवत् २०७७ साल असार २१ गते रोज १ शुभम् ।