निर्णय नं. १०६०७ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपककुमार कार्की
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७६।२।१०
०६७-CR-००८६
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / वादी : प्र.स.नि. तामबहादुर तामाङको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिराहा, कटारी पर्सा गा.वि.स. वडा नं.८ घर भई हाल सिन्धुली जिल्ला, टाँडी गा.वि.स. वडा नं.६ बस्ने सुकना साह तेली
फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुने हो भने न्यायको मर्म खण्डित हुने र अनुसन्धान प्रक्रियामा नै गम्भीर असर पर्न जाने ।
(प्रकरण नं.१०)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू फैसला गर्ने:
मा.जिल्ला न्या.श्री लिप्तबहादुर थापा क्षत्री
सिन्धुली जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री लोकेन्द्र मल्लिक
माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा
पुनरावेदन अदालत जनकपुर
फैसला
न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:
मिति २०५३।०५।०४ गते बिहान प्रहरी चौकीमा आई गुन्नु साह तेलीले मेरी श्रीमती सुरतीदेवी साह तेली मिति २०५३।५।४ गते बिहान ५ बजे घरदेखि पश्चिम पदमबहादुर जर्गा मगरको घरअगाडि कटहरको रूखमा आफ्नै नाइलनको साडीको पासो लगाई झुन्डिइरहेको अवस्थामा देखी, जीवितै छन् कि भनी घर ल्याई हेर्दा मरिसकेको हुँदा लास रूङ्न लगाई आएको छु भनी मौखिक उजुरी गर्न आएकोले कानूनबमोजिम लास जाँच तथा अन्य कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. तामबहादुर तामाङको जाहेरी प्रतिवेदन ।
मृतक सुरतीदेवी साहको लास रहेको घरबाट १०४ फिट पश्चिममा पदमबहादुर जर्गाको घर जग्गामा कटहरको रूख भएको, सोही कटहरको रूखको सानो हाँगामा मृतक झुन्डिएको, पूर्व कोमलबहादुर जर्गा मगरको घर, उत्तर दक्षिण मूल बाटो, उत्तर तुलसीप्रसाद काफ्लेको खेतबारी, दक्षिण कर्णबहादुर जर्गा मगरको घर भएको चार किल्लाभित्र मृतक सुरतीदेवीको लास रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा मृतकको दाहिनेपट्टिको आँखा बन्द भएको, मुख अर्ध खुल्ला भई अनुहारको बायाँ भाग र सिरानीमा रगतको दाग देखिएको, बायाँ आँखामा निलडाम भई बन्द भएको, नाकको प्वालबाट रगत बगेको, दुवै स्तनबिच भागमा १/२ इन्चि कोतरिएको घाउ देखिएको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का ।
मिति २०५३।५।४ गते बिहान गोठमा गई गोबर फाल्न लाग्दा मेरो गोठ नजिकैको कटहरको रूखमा एउटी महिला झुन्डिरहेको देखेपछि आत्तिँदै गा.वि.स. अध्यक्षलाई बोलाई ल्याउँदा उक्त कटहरको रूखमा लास थिएन । वरपर हेर्दा गुन्नु साह तेलीको पसलभित्र राखेको रहेछ । गुन्नु साह तेलीले कान्छी श्रीमती मृतक सुरतीदेवी साह तेलीलाई बेलाबेलामा कुटपिट गर्ने झै-झगडा गर्ने गर्दथे । कसले मार्यो वा आफैँ झुन्डिएको हो थाहा भएन भन्नेसमेत बेहोराको पदमबहादुर जर्गा मगर र कोमलबहादुर जर्गा मगरको कागज ।
मृतक सुरतीदेवी साहसँग कान्छी श्रीमतीको रूपमा ०४९ सालतिर विवाह भएको तर जायजन्म भने भएको छैन । मृतकले पहिला पनि पटक-पटक मर्नको लागि प्रयास गर्थिन् । मिति २०५३।५।३ मा सुरतीदेवी साह बाहिर दलानमा सुतेकी थिइन् । भोलिपल्ट मिति २०५३।५।४ गते मेरो छोरा सुकना साह तेली उठी आफ्नी आमासँग आफूले कान्छी आमालाई मारेको, नभागे प्रहरीले पक्राउ गर्छ भनेको र छोरालाई आमाले पैसा दिएपछि भागेको हो । दुई जनाबिच पैसा चोर लगाउने आरोप प्रत्यारोप गर्दथे । त्यसै रिसइवीले मारेको हुनुपर्छ । गाउँलेले खबर गरेपछि बाँच्छे कि भनी पासो फुकाएर घरमा एक्लैले ल्याएको हुँ । घरमा ल्याई बुझ्दा निज मृतक नबोलेपछि मृत्यु भइसकेछ । गाउँलेले प्रहरीमा खबर गर्नुपर्छ भनेपछि प्रहरीमा मौखिक खबर गरेको हुँ भन्नेसमेत बेहोराको प्रतिवादी गुन्नु साह तेलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
२०४९ सालमा श्रीमान्ले दोस्रो विवाह गरेपछि हाम्रो घरमा बेलाबखत झै-झगडा भइरहन्थ्यो । मिति २०५३।५।३ गते राति सुरतीदेवी घरभित्रै सुतेकी हुन् । मृतकले पहिले पनि आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । निजलाई मैले कर्तव्य गरी मारेको होइन । मेरो छोरा सुकना साह तेलीले आफूले मृतक सुरतीदेवीलाई घाँटी थिची भोलिपल्ट बिहान ४ गते नजिकैको कटहरको रूखमा झुन्ड्याइदिएको भनेपछि थाहा पाएको हुँ । पसलमा सामान बिक्रीबाट आउने पैसाको विषयलाई लिएर मृतक र सुकना साहबिच झगडा
परिरहन्थ्यो । सोही रिसइवी राखी निज छोराले सुरतीदेवीलाई कर्तव्य गरी मारी कटहरको रूखमा झुन्ड्याई दिएको हुनसक्छ भन्नेसमेत बेहोराको प्रतिवादी सुजना साह तेलीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
प्रतिवादीहरू सुकना साह तेली, गुन्नु साह तेली र सुजना साह तेली मिली मृतक सुरतीदेवी साहलाई कर्तव्य गरी घाँटी थिची मारेका हुनाले प्रतिवादीहरूले ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. बमोजिम कसुर अपराध गरेका हुँदा यी तीनैजना प्रतिवादीहरूलाई सोही महलको १३(३) नं. बमोजिम हदैसम्म सजाय गरी फरार रहेका प्रतिवादी सुकना साह तेलीलाई कानूनबमोजिम म्याद जारी गरिपाउँ भन्ने बेहोराको अभियोग पत्र ।
मृतक सुरतीदेवी साह कटहरको रूखमा पासो लगाई झुन्डिइरहेकी छन् भनी गाउँकै पदमबहादुर जर्गा मगर र कोमलबहादुर जर्गा मगर आई भनेबाट थाहा पाएको हुँ । निज आफैँ झुन्डिएर आत्महत्या गरेकी हुन् । मैले झुन्ड्याएको होइन । बाँच्छिन् कि भनी घरमा सम्म ल्याएको हुँ । मेरी श्रीमती मृतक सुरतीदेवी मानसिक सन्तुलनमा नभएकीले आफैँ झुन्डिएर मरेकी हुन् भन्नेसमेत बेहोराको गुन्नु साह तेलीले सुरू जिल्ला अदालतमा गरेको बयान ।
मिति २०५३।०५।०४ गते बिहान ५ बजेतिर मेरी सौता अर्थात् सुरतीदेवी साह कटहरको रूखमा पासो लगाई झुन्डिएको भनी पदमबहादुर जर्गा मगर र कोमलबहादुर जर्गा मगरले भनेकोले थाहा पाएको हुँ । २०५२ सालमा पनि निज झुन्डिएकीले पासो खोली श्रीमान्ले बचाउनु भएको हो । निजको मृत्युपश्चात् मेरो श्रीमान् र गाउँकै अन्य व्यक्तिसमेत गई प्रहरी चौकी दुधौलीमा जाहेर गर्नुभएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र सहीछाप जबरजस्ती गराइएको हो । मेरी सौताको मानसिक स्थिति ठिक नभएकोले आफैँ झुन्डिएर मरेको हो भन्नेसमेत बेहोराको सुजना साह तेलीले सुरू जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादीमध्येका सुकना साह तेलीको नाउँमा तामेल भएको ७० दिने म्यादी पुर्जीको म्यादभित्र हाजिर नभई म्यादै गुजारी बसेका रहेछन् ।
लास जाँच प्रकृति मुचुल्कामा म आफैँले सहीछाप गरेको हुँ । मृतक सुरतीदेवीको घाँटीमा पासो लागेको ठाउँमा खोस्स्रिएको ठाउँ देखिन्थ्यो । गाला, स्तन सुन्निएको जस्तो देखिन्थ्यो । कसैले कर्तव्य गरे जस्तो मलाई लाग्दैन भन्नेसमेत बेहोराको वेदप्रसाद पराजुलीले गरेको बकपत्र ।
सुरतीदेवी साह पासो लगाई झुन्डिइछन् भन्ने कुरा गुन्नु साहले भनेबाट थाहा पाएको हुँ । के-कसरी मरिन् मलाई थाहा छैन । मृतक सुरतीदेवी साह पहिला पनि झुन्डिएकी थिइन् । प्रतिवादीहरूले कर्तव्य गरी मारेको भन्ने मलाई लाग्दैन । सुरतीदेवीले आत्महत्या नै गरेकी हुन् भन्नेसमेत बेहोराको डिल्लीबहादुर कार्कीले गरेको बकपत्र ।
मृतक सुरतीदेवी खाली मर्छु मर्छु भन्थी । अलिक पागल खालकी थिई । धेरै धेरै बोल्थी । ऊ आफैँ मरेकी हो । पहिले पनि आत्महत्या गर्न खोजेकी हो । प्रतिवादीहरू निर्दोष छन् । प्रतिवादीहरूलाई झुट्टा आरोप मात्र लगाएका हुन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी माहिला कटुवालले गरेको बकपत्र ।
प्रतिवादीमध्येका सुकना साह तेली अदालतमा उपस्थित नभई फरार रहेको देखिँदा निजको सम्बन्धमा अ.बं.१९० नं. बमोजिम ६ वर्षसम्म मुद्दा मुल्तबीमा रहने र प्रतिवादीमध्येका गुन्नु साह तेली तथा सुजना साहले सफाइ पाउने ठहरी मिति २०५४।९।२८ मा सुरू सिन्धुली जिल्ला अदालतबाट भएको फैसला ।
फरार रहेका प्रतिवादी सुकना साह तेलीका हकमा मुल्तवी राखी प्रतिवादीहरू गुन्नु साह तेली र सुजना साह तेलीलाई सफाइ दिएको सिन्धुली जिल्ला अदालतको मिति २०५४।९।२८ को फैसला मिलेकै देखिँदा सदर हुने, वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने भन्ने बेहोराको पुनरावेदन अदालत जनकपुरबाट मिति २०५५।११।२४ मा भएको
फैसला ।
सिन्धुली जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०५५।११।२४ को फैसला मनासिब देखिँदा सदर हुने, पुनरावेदक वादी पक्षको पुनरावेदन जिकिर पुग्न नसक्ने भन्ने सम्मानित सर्वोच्च अदालतको मिति २०६२।१०।१२ गतेको फैसला ।
प्रतिवादी सुकना साह तेलीको हकमा मिति २०५४।९।२८ को फैसलाले मुल्तबी रहेकोमा निजको अंश मिति २०५५।१।१ गते रोक्का रहेको देखिँदा अंश रोक्का भएको २ वर्ष पूरा भइसकेकोले मुल्तवीबाट जगाउने भन्नेसमेत बेहोराको मिति २०६४।४।१७ गतेको सिन्धुली जिल्ला अदालतको आदेश ।
प्रतिवादी सुकना साह तेलीले ज्यानसम्बन्धी महलको १ र १३(३) अनुसार कर्तव्य ज्यानको कसुर गरेको देखिँदा निजलाई ऐजन ऐनको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने भन्ने बेहोराको मिति ०६४।५।१६ गतेको सिन्धुली जिल्ला अदालतको फैसला ।
सुरू सिन्धुली जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याई गरेको फैसलाउपर साधक सदरको लागि पुनरावेदन अदालत जनकपुरमा जाहेर हुन आएको ।
वस्तुनिष्ठ प्रमाणको अभावमा कसुरदार ठहर्याई गरेको सुरू सिन्धुली जिल्ला अदालतको मिति २०६४।५।१६ को फैसला उल्टी भई यी प्रतिवादी सुकना साह तेलीले आरोपित कसुरबाट सफाइ पाउने भन्ने बेहोराको उच्च अदालत जनकपुरबाट मिति २०६६।०१।२० मा भएको फैसला ।
सौतेनी छोरो सुकना साह तेली र यी मृतकबिच पैसाको विषयमा विवाद भएको, प्रतिवादी सुकना साह तेली घटना भएको दिनदेखि फरार रहेको, प्रतिवादीहरू गुन्नु साह तेली एवं सुजना साह तेलीले मौकामा बयान गर्दा वारदात भएको मिति २०५३।५।४ गते बिहान ५ बजे नै सुकना साहले सौतेनी आमालाई मारी कटहरको रूखमा झुन्ड्याइदिएको छु, भाग्नलाई पैसा दिनु भनेअनुसार पैसा लिई भागी गएका हुन् भनी बयान गरेको देखिन्छ । लास जाँच प्रकृति मुचुल्काबाट मृतकको बायाँ आँखामा निलडाम र छाती, अनुहारसमेतमा चोट लागी घाउहरू रहेको भन्ने देखिएको छ । The Cause Of Death Is Asphyxia As A Result Of Throttling भनी विशेषज्ञबाट राय प्राप्त भई मिसिल संलग्न रहेको छ । झुन्डिएको भने पनि मृतकको लास घरभित्र सुताइएको अवस्थामा रहेको, झुन्डिएको कारणबाट मृत्यु भएको भन्ने तथ्य Autopsy Report लगायतका कुनै पनि प्रमाणबाट पुष्टि नभएको र प्रतिवादीसमेत फरार रहेको अवस्थामा यी प्रतिवादी सुकना साह तेलीलाई अभियोग दाबीबाट सफाइ दिने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको गम्भीर त्रुटि रहेकोले उक्त फैसला बदर गरी प्रतिवादी सुकना साह तेलीलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अभियुक्त प्रतिवादी गुन्नु साह र सुजना साह दुवैले अनुसन्धानको सिलसिलामा छोरा प्रतिवादी सुकना साहले आफ्नी सौतेनी आमालाई घाँटी थिची मारेको भनेको तथ्यलाई लास जाँच प्रतिवेदनबाट घाँटी थिची मारेको भन्ने प्रमाण र प्रतिवादी सुकना तत्काल फरार रहनुबाट पुष्टि भएको अतिरिक्त सँगै बस्नेहरूबिच कुनै एकजना कर्तव्यबाट मरेकोमा अर्कोले आफूमध्येकालाई पोल्ने, पोलिने र फरार हुने तथा लास जाँचबाट पोलिएको तथ्यलाई पुष्टि हुने अवस्थामा पनि केवल फरार रहेको कारण देखाई अरू सम्बद्ध प्रमाणतर्फ नहेरी आरोपित प्रतिवादी सुकना साहलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत जनकपुरको मिति २०६६।१।२० को फैसला फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने बेहोराको यस अदालतबाट मिति २०७१।१२।२२ मा भएको आदेश ।
नियमबमोजिम आजको दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले प्रस्तुत मुद्दाका मुख्य अभियुक्त सुकना साह तेली हुन् । वारदात लगत्तै आफ्नी आमा सुजना साह तेलीसँग गएर आफूले कान्छी आमा सुरतीदेवी साहको हत्या गरेँ भनेको भन्ने कुरा सहप्रतिवादीहरूले मौकामा गरेको बयानबाट स्पष्ट भइरहेको र वारदातपश्चात् निज फरार रहेको अवस्थामा यी प्रतिवादीलाई समेत सफाइ दिने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला बदर हुनुपर्छ भनी बहस गर्नुभयो ।
उपर्युक्तबमोजिमको बहस जिकिरसमेत सुनी मिसिल संलग्न कागजातहरूसमेत अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला मिलेको छ वा छैन ? पुनरावेदन जिकिरबमोजिम प्रतिवादीमध्येका सुकना साह तेलीलाई सजाय हुनुपर्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू सुकना साह तेली, गुन्नु साह तेली र सुजना साह तेली मिली मृतक सुरतीदेवी साहलाई कर्तव्य गरी घाँटी थिची मारेको हुनाले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको देखियो । अभियोगउपरको सुनुवाइमा सुरू सिन्धुली जिल्ला अदालतले फरार प्रतिवादी सुकना साह तेलीको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुल्तबीमा रहने र प्रतिवादीमध्येका गुन्नु साह तेली तथा सुजना साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी फैसला गरेको देखियो । उक्त फैसला पुनरावेदन अदालत जनकपुरबाट तथा सर्वोच्च अदालतबाट पनि सदर भएको पाइयो भने फरार प्रतिवादी सुकना साह तेलीका हकमा रहेको मुल्तबी जगाई सुरू सिन्धुली जिल्ला अदालतले अभियोग दाबीबमोजिम नै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने ठहर गरी साधक जाहेरीका निम्ति पुनरावेदन अदालत जनकपुर पठाएकोमा पुनरावेदन अदालतले सुरू फैसला उल्टी गरी प्रतिवादी सुकना साह तेलीलाई पनि आरोपित कसुरबाट सफाइ दिएपछि प्रतिवादी सुकना साह तेलीको हकमा अभियोग दाबीबमोजिम सजाय हुन दाबी लिई वादी नेपाल सरकारका तर्फबाट प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
३. मुद्दाको तथ्यलाई हेर्दा मेरी श्रीमती घरनजिकैको कटहरको रूखमा झुन्डिरहेको अवस्थामा देखी जीवितै छन् कि भनी घर ल्याई हेर्दा मरिसकेकोले उजुरी दिन आएको भन्ने गुन्नु साह तेलीको मौखिक जाहेरीपश्चात् प्रहरी प्रतिवेदनका आधारमा प्रस्तुत मुद्दाको उठान भएको पाइयो । गुन्नु साहका दुईवटी श्रीमतीमध्ये जेठी सुजना साह तेली र कान्छी यिनै मृतक सुरतीदेवी साह रहेकामा जेठी श्रीमतीतर्फको छोरो सुकना साह तेलीसमेत सबैजना सँगै बस्दै आएकोमा वारदात हुनुभन्दा अघि सुकना साह तेली र मृतकबिच पसलको पैसाको विषयमा विवाद भएको भन्ने देखियो ।
४. प्रतिवादीहरू सुजना साह तेली र गुन्नु साह तेलीले आरोपित कसुरबाट सफाइ पाउने ठहरी निजहरूउपरको अभियोग अन्तिम किनारा लागिसकेकोले फरार प्रतिवादी सुकना साह तेलीबाट अभियोग दाबीबमोजिमको कसुर भए नभएको सम्बन्धमा हेर्नुपर्ने देखियो । यस सम्बन्धमा हेर्दा मिति २०५३।५।४ गते बिहानै सुरतीदेवी साह घरनजिकैको कटहरको रूखमा झुन्डिएको भनी गाउँलेले खबर गरेपछि थाहा पाएका हौँ । छोरो सुकना साह तेलीले आफूले कान्छी आमा सुरतीदेवी साहलाई घाँटी थिची कटहरको रूखमा झुन्ड्याएको, नभागे प्रहरीले पक्राउ गर्छ भनी पैसा मागी फरार भएको हो भनी गुन्नु साह तेली र सुजना साह तेलीले एकै बेहोराको बयान अनुसन्धान अधिकारीसमक्ष गरेको देखियो । अदालतमा आई बयान गर्दा सुजना साह तेलीले अनुसन्धानका क्रममा लेखाएको बेहोरा मेरो होइन, सुरतीदेवीको मानसिक सन्तुलन ठिक थिएन भनी तथा प्रतिवादी गुन्नु साह तेलीले पनि निज आफैँ मरेकी हुन् । घटना हत्या नभई आत्महत्या हो भनी प्रतिवादी सुकना साह तेलीको संलग्नता नरहेको भन्ने जिकिर लिएको पाइयो ।
५. वारदात मितिपश्चात् प्रतिवादी सुकना साह तेली फरार रही अदालतमा प्रतिवाद गर्न आएको देखिएन भने लास घरमै रहनु, झुन्डिएको डोरी काटिएको नहुनु र Autopsy Report बाट झुन्डिएको भन्ने पुष्टि नभएको अवस्थामा अन्य प्रतिवादीले सफाइ पाएकै आधारमा निजहरूसरह मुख्य अभियुक्तलाई पनि सफाइ दिनु न्यायोचित हुँदैन । वारदातमा यी प्रतिवादीको संलग्नता रहेकोले अभियोग दाबीबमोजिम सुकना साह तेलीलाई सजाय हुनुपर्छ भन्ने पुनरावेदन जिकिर रहेको पाइयो ।
६. मिसिल संलग्न कागजात एवं बुझिएका मानिसहरूसमेतको भनाइका आधारमा घटनालाई हेर्दा प्रतिवादी गुन्नु साह र मृतक सुरतीदेवी साहबिच २०४९ सालमा विवाह भएको देखियो भने सुरतीदेवीतर्फबाट कुनै सन्तानको जन्म भएको
देखिएन । प्रतिवादीहरूमध्येकी सुजना साह तेलीले सुरतीदेवी २०५२ सालमा पनि झुन्डिएकी थिइन्, पतिले पासो खोली बचाएका हुन्, सौताको मानसिक अवस्था ठिक थिएन भनी बयान गरेको देखियो भने प्रतिवादी गुन्नु साहले मृतकले पहिला पनि मर्नको लागि प्रयास गरेकी हुन् । यसपटक पनि निज आफैँ झुन्डिएर आत्महत्या गरेकी हुन् भनी बयान गरेको देखियो ।
७. प्रतिवादीहरूको उपर्युक्त बयानलाई अन्य स्वतन्त्र प्रमाणको रोहमा हेर्दा लास जाँच प्रकृति मुचुल्कामा सही गर्ने वेदप्रसाद पराजुलीले मृतक सुरतीदेवीको घाँटीमा पासो लागेको ठाउँमा खोस्सिएको देखिन्थ्यो, कसैले कर्तव्य गरे जस्तो लाग्दैन भन्ने बेहोरा उल्लेख गरी बकपत्र गरेको देखियो । यसैगरी माहिला कटुवालले आफ्नो बकपत्रमा सुरतीदेवी साह मर्छु मर्छु भन्थिन् । मानसिक सन्तुलन ठिक नभए जस्ती थिइन्, पहिले पनि आत्महत्या गर्न खोजेकी थिइन्, आफैँ मरेकी हुन् भनी उल्लेख गरेको देखियो ।
८. पुनरावेदकले यी मृतक पासो लगाई झुन्डिएको भन्ने कुरा शव परीक्षण प्रतिवेदनलगायतबाट पुष्टि हुँदैन, झुन्डिएको व्यक्तिलाई बचाउन खोजेको भए डोरी काटिएको हुनुपर्नेमा त्यसो भएको छैन भन्ने जिकिर लिए पनि शव परीक्षण प्रतिवेदनमा The Cause Of Death Is Asphyxia As A Result Of Throttling भनी उल्लेख भएबाट मानिस झुन्डिएको अवस्थामा पनि घाँटीमा दबाब पर्ने र श्वास प्रश्वासमा अवरोध आउन सक्ने हुँदा शव परीक्षण प्रतिवेदनलगायतबाट झुन्डिएको कुनै प्रमाण पुष्टि नभएको मान्न सक्ने अवस्था रहेन । लास जाँच प्रकृति मुचुल्कामा सही गर्ने वेदप्रसाद पराजुलीले घाँटीमा खोस्याएको डाम देखेको हुँ भनी बकपत्र गरेको तथा मृतक आफ्नै नाइलनको साडीको पासो लगाई झुन्डिएको भन्ने पनि सोही मुचुल्कामा उल्लेख भएबाट डोरी काटिएको हुनुपर्ने भन्ने पुनरावेदन जिकिर सान्दर्भिक देखिन
आएन । यसैगरी गाउँलेले झुन्डिएको भनी खबर गरेपछि जीवितै हो कि भनी घर लगेको हुँ भनी प्रतिवादी गुन्नु साह तेलीले बयान गरेको तथा त्यसलाई पुष्टि गर्ने गरी रूखमा महिला झुन्डिएको देखेर गा.वि.स. अध्यक्षलाई खबर गरी आउँदा लास गुन्नु साहको पसलमा थियो भनी पदमबहादुर जर्गा मगर र कोमलबहादुर जर्गा मगरले बेहोरा लेखाइरहेको अवस्थामा प्रतिवादी सुकना साह तेलीले घरैमा सुरतीदेवीको हत्या गरेको हो, झुन्डिएको होइन भनी पुनरावेदकले लिएको जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
९. फौजदारी कसुरमा आफूले लिएको जिकिर वादी पक्षले पुष्टि गर्नुपर्छ भन्ने कमन ल प्रणाली नेपालले धेरै हदसम्म अवलम्बन गरेको कानून प्रणाली हो । यस्तो कानून प्रणालीमा प्रतिवादीउपरको अभियोग दाबी पनि वादी पक्षले पुष्टि गर्नुपर्ने हुन्छ । यद्यपि प्रस्तुत मुद्दामा प्रतिवादी सुकना साह तेलीले सुरतीदेवीको हत्या गरेको भनी अन्य प्रतिवादीहरूले मौकामा पोल गरेको र यी प्रतिवादी फरार रहेको भन्नेबाहेकका विश्वसनीय तथ्य एवं प्रमाण वादी पक्षले पेस गर्न सकेको
देखिएन । स्वयं वादी पक्षकै साक्षीहरूले पनि मृतक सुरतीदेवी साहको हत्या नै भएको हो भनी किटान गर्न सकेको देखिँदैन । बरू यसविपरीत निजले आत्महत्या गरेकी हुन् भनी वादी पक्षकै साक्षीले समेत बेहोरा लेखाएको पाइयो ।
१०. फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन
सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुँदै जाने हो भने न्यायको मर्म खण्डित हुँदै जान्छ भने अनुसन्धान प्रक्रियामा नै गम्भीर असर पर्न जाने हुँदा प्रस्तुत मुद्दामा वस्तुनिष्ठ प्रमाणको अभावमा फरार प्रतिवादी सुकना साह तेलीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुन माग दाबी लिइएको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
११. अत: उपर्युक्त तथ्य एवं प्रमाणसमेतका आधारमा प्रतिवादी सुकना साह तेलीका हकमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय हुने भनी सुरू सिन्धुली जिल्ला अदालतले मिति २०६४।५।१६ मा गरेको फैसला उल्टी गरी निज प्रतिवादी सुकना साह तेलीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्याई पुनरावेदन अदालत जनकपुरबाट मिति २०६६।०१।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृत: सुभाषचन्द्र दाहाल
इति संवत् २०७६ साल जेठ १० गते रोज ६ शुभम् ।