शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६११ - ठगी तथा सरकारी छाप दस्तखत किर्ते

भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री सुष्मालता माथेमा

फैसला मिति : २०७७।२।१९

०७५-CR-१८५५

 

मुद्दा : ठगी तथा सरकारी छाप दस्तखत किर्ते

 

पुनरावेदक / वादी : मुक्तिनारायण चौधरीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : देवचन्द्र साह तेलीको छोरा, जिल्ला बारा, कलैया नगरपालिका, वडा नं. ५ (हाल कलैया उपमहानगरपालिका वडा नं.४) बस्‍ने उपेन्द्रप्रसाद साह तेलीसमेत

 

लिखत किर्ते गरेको मुद्दामा लिखत कसले तयार पार्‍यो वा किर्ते गर्‍यो भन्ने तथ्यको खोजी गर्न जरूरी हुने । लिखतसम्बन्धी अपराध गर्ने व्यक्ति प्रत्यक्ष रूपमा नदेखिएको वा अपराध गर्दा गर्दै पक्राउ नपरेको अवस्थामा अनुमानको आधारमा फलानाले नै तयार गरेको हो वा दिएको हो भन्न मिल्ने अवस्था हुँदैन । कसैले पोल गरी फलानाले लेखेको वा दिएको भन्दैमा विश्वास गर्नुपर्ने अवस्थासमेत नहुने ।

(प्रकरण नं.१७)

 

पुनरावेदक / वादीका तर्फबाट : 

प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

ने.का.प.२०५६, अङ्क ७, नि.नं.६७५८

सम्बद्ध कानून :

मुलुकी अपराध संहिता, २०७४

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्ने :

मा.न्या.श्री केशवप्रसाद अधिकारी

बारा जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री अब्दुल अजिज मुसलमान

मा.न्या.श्री भोजराज अधिकारी

उ.अ.जनकपुर, अस्थायी इजलास वीरगन्ज

 

फैसला

न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-    

तथ्य खण्ड

मेरो छोरी भगवती चौधरी, छोरी ज्वाइँ जितेन्द्र चौधरी र भतिजी उर्मिला चौधरीलाई जिल्ला बारा, गा.वि.स. अमाव वडा नं. ३ बस्ने देवनारायण चौधरीले राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी विश्‍वास दिलाई नगद रू.९०,०००।– लिई मिति २०७२।११।१५ गते जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित सडकमा बोलाई मेरो ज्वाइँ जितेन्द्र चौधरी र छोरी भगवती चौधरीको नामको नियुक्ति पत्र थान-२ र अभिलेख कायम गरिएको पत्र थान-२ मलाई दिन लागेको र उक्त पत्रहरू हेर्दा निजले जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप र जिल्ला शिक्षा अधिकारीको दस्तखतसमेत किर्ते गरी बनाई ल्याएको हुँदा निजलाई खोज तलास तथा पक्राउ गरी कानूनबमोजिम अनुसन्धान गरी कारबाही गरिपाउँ भन्‍ने बेहोराको मुक्तिनारायण चौधरीको निवेदन । 

मिति २०७२।११।१५ गते जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित ऐ. गा.वि.स. अमाव वडा नं. ३ बस्ने वर्ष ४६ को देवनारायण चौधरीको शरीर खानतलासी गर्दा निजको साथबाट जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याडमा लेखिएको जितेन्द्र चौधरीको नामको मिति २०७२।१०।१६ गतेको नियुक्ति पत्र-१ र अभिलेख कायम गरिएको मिति २०७२।१०।२५ को पत्र थान-१, जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याडमा मिति २०७२।१०।२३ मा लेखिएको भगवती चौधरीको नामको नियुक्ति पत्र-१ र मिति २०७२।१०।२९ गतेको अभिलेख कायम गरिएको पत्र थान-१ फेला पारी बरामद गरिएको भन्‍ने खानतलासी तथा बरामदी मुचुल्का । 

जिल्ला बारा, गा.वि.स. बछनपूर्वा वडा नं. १ बस्ने मुक्तिनारायण चौधरीको छोरी भगवती चौधरीसमेतलाई शिक्षकमा जागिर लगाइदिन्छु भनी देवनारायण चौधरीले जिल्ला शिक्षा कार्यालय, बाराको छाप दस्तखतसमेत किर्ते गरी नियुक्ति पत्रसमेत तयार गरी रकम ठगी गरेको सूचनाको आधारमा जिल्ला बारा, कोल्हवी नगरपालिका वडा नं. ३ स्थित सडकमा देवनारायण चौधरीलाई फेला पारी नियन्त्रणमा लिई खानतलासी गर्दा जितेन्द्र चौधरी र भगवती चौधरीको नामको किर्ते नियुक्ति पत्र थान-२ र अभिलेख कायम गराएको भन्‍ने पत्र थान-२ फेला परी तत्काल देवनारायण चौधरीसँग सोधपुछ गर्दा जिल्ला बारा, गा.वि.स. करैया वडा नं. २ घर भई हाल ऐ. कलैया नगरपालिका वडा नं. ५ बस्ने उपेन्द्रप्रसाद साह तेलीसमेतको संलग्नतामा सो कार्य गरेको भन्‍ने खुल्न आएको हुँदा उपेन्द्रप्रसाद साहको खोज तलास कार्य जारी राखी बरामदी किर्ते नियुक्ति पत्र थान-२ र अभिलेख कायम गरिएको भन्‍ने पत्र थान-२ र बरामदी मुचुल्कासहित निज देवनारायण चौधरीलाई पेस गरेको भन्ने बेहोराको प्र.ना.नि. रामहरि राजभण्डारीसमेतको प्रहरी प्रतिवेदन । 

मेरी छोरी भगवती चौधरी, छोरी ज्वाइँ जितेन्द्र चौधरी र भतिजी उर्मिला चौधरीलाई उपेन्द्र साहको मिलोमतो र संलग्नतामा देवनारायण चौधरीले राहत कोटाको शिक्षकमा नोकरी लगाइदिन्छु भनी मसँग नगद रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप र जिल्ला शिक्षा अधिकारीको दस्तखतसमेत किर्ते गरी जितेन्द्र चौधरी र छोरी भगवती चौधरीको नामको नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र तयार गरी मिति २०७२।११।१५ गते मलाई जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित सडकमा बोलाई दिन लागेको हुँदा तत्कालै ईलाका प्रहरी कार्यालय कोल्हबीमा जानकारी गराएपछि तत्काल प्रहरी गई निज देवनारायण चौधरीको साथबाट उक्त किर्ते गरी तयार गरिएको पत्रहरू बरामद गरी निजलाई नियन्त्रणमा लिएको हुँदा देवनारायण चौधरीसमेतलाई कारबाही गरी मेरो ठगी गरी लिएको नगद रूपैयाँ दिलाई भराइपाउँ भन्‍ने बेहोराको मुक्तिनारायण चौधरीको जाहेरी दरखास्त । 

मुक्तिनारायण चौधरीले मेरो ज्वाइँ जितेन्द्र चौधरी र छोरी भगवती चौधरीलाई नोकरी लगाइदिनुपर्‍यो भनेको हुँदा मैले उपेन्द्रप्रसाद साहसँग भेट गरी सोही कुरा गर्दा उपेन्द्रप्रसाद साह तेलीले जितेन्द्र चौधरीलाई निम्न माध्यमिक विद्यालयको राहतको शिक्षकको लागि रू.५०,०००।– र भगवती चौधरीलाई प्राथमिक विद्यालयको शिक्षकको लागि रू. ४०,०००।– चाहिन्छ भनेकोमा मैले मुक्तिनारायण चौधरीलाई भेटी सो कुरा गरी निजसँग रू. ४०,०००।– लिई कलैयाको जानकी हल छेउमा उपेन्द्रप्रसाद साह तेलीलाई भेटी रकम दिएको र केही दिनपछि मैले मुक्तिनारायण चौधरीबाट रू. ५०,०००।– लिई लौतन बजारमा उपेन्द्र सरलाई भेटी रकम दिएपछि उपेन्द्र सरले मलाई भगवती चौधरी र जितेन्द्र चौधरीको नामको नियुक्ति पत्र र अभिलेख कायम गरिएको भन्‍ने पत्र दिएको हुँदा उक्त पत्रहरू मैले साथमा लिई मिति २०७२।११।१५ गते मुक्तिनारायण चौधरीलाई दिन भनी जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित सडकमा गई निजलाई भेटी नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र दिन लागेको अवस्थामा निज मुक्तिनारायण चौधरीले नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र किर्ते हो भनी प्रहरीलाई खबर गरी प्रहरीले मलाई पक्राउ गरेका हुन् । जितेन्द्र चौधरी, भगवती चौधरीको नामको नियुक्ति पत्र-२ र अभिलेख कायम गरिएको पत्र-२ मेरै साथबाट बरामद भएको 

हो । २०६६ सालमा जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. २ घर भई श्री जनता माध्यमिक विद्यालय ककडी, प्रसौनाका शिक्षक दिनानाथ महतोमार्फत उपेन्द्रप्रसाद साह तेलीसँग चिनजान भई मलाई राहत कोटामा शिक्षकको जागिर लगाई दिन्छु भनी मसँग रू.३५,०००।– लिई मलाई श्री जनता प्रा.वि. कोल्हबीको शिक्षकमा नोकरी लगाई दिएको र मैले २ महिना पढाई तलब खाइसकेपछि मलाई विद्यालयले निकाली दिएको हो । सोही समयदेखि निज उपेन्द्रप्रसाद साह तेलीसँग राम्रो चिनजान र सम्पर्क भई राहत कोटाको शिक्षकमा नोकरी गर्ने मानिसहरू भए सम्पर्क गराउनु, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालयको शिक्षकको लागि २५ हजारदेखि २ लाखसम्म सङ्कलन गर्नू । केही रकम तपाइँलाई पनि दिन्छु भनेको हुँदा मैले राहत कोटामा शिक्षकको जागिर लगाई दिन्छु भनी राजवीर चौधरीसँग रू.८०,०००।-, रामप्रवेश चौधरीसँग रू.९०,०००।-, उपेन्द्र चौधरीसँग रू.८०,०००।-, अजय चौधरीसँग रू.२,२०,०००।- राजनारायण चौधरीसँग रू.१,००,०००।-, प्रदिप चौधरीसँग रू.२५,०००।-, रामप्रसाद भट्टराईसँग रू.४५,०००।-, उपेन्द्र चौधरीसँग रू.४०,०००।-, सूर्यनारायण चौधरीसँग रू.८०,०००।-, उमाशंकर चौधरीसँग रू.९०,०००।-, ईन्द्रजित चौधरीसँग रू.८५,०००।-, विनोद चौधरीसँग रू.८०,०००।– लिई सो रकम मैले उपेन्द्रप्रसाद साह तेलीलाई दिएकोमा निजले मलाई प्रतिव्यक्ति २/३ हजारको दरले हालसम्म रू.३४,०००।– मात्र दिएका छन् । उपेन्द्रप्रसाद साह तेलीले मलाई दिएको नियुक्ति पत्र सक्‍कली हो भनी विश्‍वास लागेको थियो तर मलाई २ महिनापछि विद्यालयले निकाली दिएपछि सो नियुक्ति पत्र किर्ते भन्‍ने कुरा थाहा पाएको हुँ । मैले पनि २/३ हजार रूपैयाँ पाउँदै आएको हुँदा मैले उपेन्द्रप्रसाद साहसँग मिली किर्ते र ठगी गर्ने कार्य गर्दै आएको 

हुँ । नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्रहरू उपेन्द्रप्रसाद साहले नै दिनुभएकोले निजले के कहाँबाट के कसरी जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याड, छाप, जिल्ला शिक्षा अधिकारीको छापसमेत किर्ते गरी पत्रहरू बनाई ल्याएका हुन् मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी देवनारायण चौधरीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज । 

भगवती चौधरी र जितेन्द्र चौधरीको नामको नियुक्ति पत्र यस कार्यालयको अभिलेखमा नरहेको, चलानी नं. हरू सबै गलत भएको र मिति २०७२।१०।१६ गते र २३ गते शनिबार परेको, २५ र २९ गते जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल अनुगमनमा गएको, लेटर प्याडमा लगाइएको कार्यालयको छाप तथा जिल्ला शिक्षा अधिकारीको छाप, दस्तखत सबै नक्‍कली र किर्ते भएको भन्‍ने मिति २०७२।११।२१ गतेको जिल्ला शिक्षा कार्यालय बाराको पत्र । 

प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी उपेन्द्रप्रसाद साह तेली भएको हातहतियार खरखजाना मुद्दामा यस कार्यालयको हिरासतमा रहेका उपेन्द्रप्रसाद साह तेलीले २०६६ सालमा मलाई राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी रू.३५,०००।– लिने र मैले भगवती चौधरी, जितेन्द्र चौधरीलाई राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छु भनी मुक्तिनारायण चौधरीसँग रू.९०,०००।-, राजविर चौधरीसँग रू.८०,०००।-, रामप्रवेश चौधरीसँग रू.९०,०००।-, उपेन्द्र चौधरीसँग रू.८०,०००।-, अजय चौधरीसँग रू.२,२०,०००।- राजनारायण चौधरीसँग रू.१,००,०००।-, प्रदिप चौधरीसँग रू.२५,०००।-, रामप्रसाद भट्टराईसँग रू.४५,०००।-, उपेन्द्र चौधरीसँग रू.४०,०००।-, सूर्यनारायण चौधरीसँग रू.८०,०००।-, उमाशंकर चौधरीसँग रू.९०,०००।-, ईन्द्रजित चौधरीसँग रू.८५,०००।-, विनोद चौधरीसँग रू.८०,०००।–लिई उक्त रकम लिने व्यक्ति जिल्ला बारा, गा.वि.स. करैया वडा नं. २ हाल ऐ. कलैया उपमहानगरपालिका वडा नं. ५ घर भई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय करैयाको प्रधानाध्यापक यिनै उपेन्द्रप्रसाद साह तेली हुन् भन्‍ने बेहोराको प्रतिवादी देवनारायण चौधरीको सनाखत कागज । 

प्रतिवादी देवनारायण चौधरीले तपाइँको भाइबुहारी दिपिका चौधरीलाई राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी बताएको हुँदा मैले आफ्नो भाइबुहारीलाई राहत कोटाको शिक्षकमा नोकरीको लागि मिति २०७१।१०।१० गते देवनारायण चौधरीलाई नगद रू. १,००,०००।– दिएकोमा मिति २०७१।१०।१४ गते देवनारायण चौधरीले मेरो बुहारी दिपिका चौधरीलाई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अमावमा नियुक्ति गरिएको भन्‍ने नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र दिएको हुँदा मेरो बुहारी विद्यालयमा गई पढाउन जाँदा उक्त पत्रहरू शिक्षा कार्यालयको छाप, दस्तखतसमेत किर्ते गरी तयार गरेको कुरा यकिन 

भयो । देवनारायण चौधरीलाई भेटी नियुक्ति पत्र नक्‍कली रहेछ मैले दिएको नगद रूपैयाँ फिर्ता गर्नुभन्दा फिर्ता नगरेको र देवनारायण चौधरीले मुक्तिनारायण चौधरीको छोरी, ज्वाइँ र भतिजीलाई नोकरी लगाई दिन्छु भनी नगद रू.९०,०००।– लिई ठगी गरी किर्ते नियुक्ति पत्रसमेत दिएको मुद्दामा पक्राउ परी यस कार्यालयमा रहेको जानकारी पाई उपस्थित भई हिरासतमा रहेका देवनारायण चौधरीलाई हेरी चिनी सनाखतसमेत गरिदिएँ । उक्त किर्ते र ठगी गर्ने कार्यमा उपेन्द्रप्रसाद साह तेलीसमेतको संलग्नता रहेको भनी हाल थाहा पाएँ भन्‍ने बेहोराको उमाशंकर चौधरीले गरेको घटना विवरण कागज । 

प्रतिवादीमध्येका देवनारायण चौधरी छिमेकी गाउँका ट्युसन पढाउने व्यक्ति भएकोले मैले निजलाई राम्रोसँग चिन्छु । २०७१ सालको पौष माघ महिनातिर देवनारायण चौधरीले तपाइँको छोरी सुनिला चौधरीलाई जिल्ला शिक्षा कार्यालय बारामा राहत कोटामा शिक्षकमा नोकरी लगाई दिन्छु भनी मसँग रू.१,००,०००।– लिएकोमा हालसम्म मेरो छोरीलाई शिक्षकको नोकरी लगाएको छैन । हाल आएर बुझ्दा उपेन्द्रप्रसाद साह र देवनारायण चौधरीको मिलोमतोमा मलाई झुक्याई गलफतमा पारी ठगी गरेको रहेछन् भन्‍ने बेहोराको सूर्यप्रसाद चौधरीले गरेको घटना विवरण कागज । 

म निवेदकको भान्जा नाता पर्ने विपक्षी उपेन्द्रप्रसाद साह तेलीले घरायसी विवादमा फस्ने डर देखाई मलाई पछि फिर्ता गरी दिने भनी मसँग भएको सम्पत्ति आफ्नो नाममा पारित गराई लिएको हुँदा उक्त पारित गराएको सम्पत्ति फिर्ता माग्न जाँदा उल्टै मलाई ज्यान मार्ने धम्की दिई जबरजस्ती कपाली तमसुकमा सहीछाप गराई मलाई निजकै घरमा थुनी राखेको अवस्थामा निज बाहिर गएको मौका पारी उम्कन सफल भएको हुँदा मसँग गराई लिएको जग्गा जमिन तथा कपाली तमसुक फिर्ता दिलाई पाउँ भन्‍ने बेहोराको बाबुलाल साह तेलीको निवेदन । 

म र विपक्षी उपेन्द्रप्रसाद साह तेलीबिचमा जग्गासम्बन्धी विवाद भएको हुँदा निज विपक्षीले मेरो ज्यान मार्ने धाक धम्कीसमेत दिएकाले मेरो जिउ धनको लागि शान्ति सुरक्षाको व्यवस्था गरिपाउँ भन्‍ने बेहोराको राजेन्द्रप्रसाद साहको निवेदन । 

मिति २०६६।१।५ गते म निवेदिकाको बुहारीलाई शिक्षकको जागिर लगाई दिन्छु भनी विपक्षी उपेन्द्रप्रसाद साह तेलीले रू. ६०,०००।– लिएको हुँदा निजले हालसम्म शिक्षकको जागिर नलगाई दिएकोले मैले निजसँग उक्त रूपैयाँ फिर्ता माग्दा उल्टै डर त्रास धाक धम्कीसमेत दिएको हुँदा निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने जोखनी साह तेलीको निवेदन । 

विपक्षी उपेन्द्रप्रसाद साह तेलीले म निवेदकको जग्गा जमिन, चाँदी बलजबरजस्ती लिएको हुँदा निज विपक्षीबाट मेरो जग्गा जमिन चाँदी फिर्ता दिलाई पाउँ भन्‍ने बेहोराको मालादेवी तेलीनको निवेदन । 

मैले प्रतिवादी देवनारायण चौधरीलाई चिनेको छैन । राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी देवनारायण चौधरीले जाहेरवाला मुक्तिनारायण चौधरीसँग रू.९०,०००।-, राजविर चौधरीसँग रू.८०,०००।-, रामप्रवेश चौधरीसँग रू.९०,०००।-, उपेन्द्र चौधरीसँग रू.८०,०००।-, अजय चौधरीसँग रू.२,२०,०००।-, राजनारायण चौधरीसँग रू.१,००,०००।-, प्रदिप चौधरीसँग रू.२५,०००।- रामप्रसाद भट्टराईसँग रू.४५,०००।-, उपेन्द्र चौधरीसँग रू.४०,०००।-, सूर्यनारायण चौधरीसँग रू.८०,०००।-, उमाशंकर चौधरीसँग रू.९०,०००।-, ईन्द्रजित चौधरीसँग रू.८५,०००।-, विनोद चौधरीसँग रू.८०,०००।–लिई मलाई दिएको छैन र मैले किर्ते नियुक्ति पत्र तयार गरी ठगी गरेको होइन । देवनारायण चौधरीको साथबाट बरामद भई आएको जाहेरवालाको छोरी भगवती चौधरी र ज्वाइँ जितेन्द्र चौधरीको नामको किर्ते नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र मैले देवनारायण चौधरीलाई दिएको होइन । मैले देवनारायण चौधरी र दिनाप्रसाद महतोलाई चिन्दिन भन्‍नेसमेत बेहोराको उपेन्द्रप्रसाद साह तेलीको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज । 

प्रतिवादीमध्ये देवनारायण चौधरीले प्रमोदप्रसाद चौधरीको भाउजूलाई जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकमा नोकरी लगाई दिन्छु भनी प्रमोदप्रसाद चौधरीको दाजु ईन्द्रजित चौधरीसँग २०७१ सालमा रू.९५,०००।-, २०६७ सालमा सोहरलाल साहलाई राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी सोहरलाल साहसँग रू. ३९,०००।-, भोखली थरूनीको छोरालाई राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी भोखली थरूनीको छोरासँग रू. १,००,०००।– लिई हालसम्म शिक्षकको नोकरी नलगाई आलटाल गर्दै आइरहेका थिए । हाल आएर देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेलीको मिलोमतोमा जाहेरवालाको छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीलाई समेत जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेतका किर्ते गरी नियुक्ति पत्र तथा अभिलेख कायम गरिएको कागजातहरू बनाई निजहरूलाई दिनु भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट उक्त किर्ते कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने एकै मिलान बेहोराको प्रमोदप्रसाद चौधरीसमेतको घटना विवरण कागज । 

म बच्चैदेखि देवनारायण चौधरीलाई चिन्छु । म निजी स्रोतमा २०५८ सालदेखि जनता माध्यमिक विद्यालय ककडी, प्रसौना, बारामा पढाउने क्रममा उपेन्द्रप्रसाद साह तेली सरसँग चिनजान भएको थियो । २०६५/०६६ सालतिर जिल्ला बारा, कोल्हबी स्थित सडकमा मलाई उपेन्द्रप्रसाद साह तेलीले भेटी देवनारायण चौधरीको घर कहाँ 

हो ? भनी सोधेकोमा मैले उपेन्द्रप्रसाद साह तेलीलाई देवनारायण चौधरीको घरसम्म पुर्‍याई निजहरूबिच भेट गराई दिएको हुँ । हाल आएर देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेली मिली जाहेरवालाको छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीलाई समेत जिल्ला शिक्षा कार्यालय, बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेतका किर्ते गरी नियुक्तिपत्र तथा अभिलेख कायम गरिएको कागजातहरू बनाई निजहरूलाई दिन भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट किर्ते कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने बेहोराको दिनाप्रसाद महतोको घटना विवरण कागज । 

२०६७ सालमा प्रतिवादीमध्ये देवनारायण चौधरीले विनोदप्रसाद चौधरीलाई जिल्ला शिक्षा कार्यालय, बाराको राहत कोटामा शिक्षकमा नोकरी लगाई दिन्छु भनी निजसँग रू.१,००,०००।-, राजवीरप्रसाद चौधरीलाई राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी निजसँग रू. ८०,०००।– लिई हालसम्म शिक्षकमा नोकरी नलगाई आलटाल गर्दै आइरहेको छन् । हाल आएर देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेलीको मिलोमतोमा जाहेरवालाको छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीलाई समेत जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेत किर्ते गरी नियुक्ति पत्र अभिलेख फाराम कायम गरिएको कागजातहरू बनाई निजहरूलाई दिन भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने एकै मिलान बेहोराको विनोदप्रसाद चौधरी र राजवीरप्रसाद चौधरीको घटना विवरण कागज । 

जिल्ला बारा, गा.वि.स. अमाव वडा नं. ४ स्थित पूर्व मोहडा भएको भुइँतल्लासहित दुई तल्ले माटो र बाँसले बारेको दिपाई चौधरीको घरकोठामा बस्दै आएका प्रतिवादी देवनारायण चौधरीको कोठामा खानतलासी गर्दा देवनारायण चौधरी सुत्‍ने कोठाको सिरानीमुनि देवनारायण चौधरीको नामको अस्थायी र स्थायी अध्यपान अनुमति पत्र थान-२ र नागरिकताको प्रतिलिपि फेला परी बरामद गरिएको भन्‍ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । 

२०७२ साल असार महिनामा देवनारायण चौधरीले राहत कोटामा शिक्षकमा नोकरी लगाइदिने व्यक्ति उपेन्द्रप्रसाद साह तेलीलाई चिनेको छु तपाइँलाई नोकरी लगाइदिन रू.१,००,०००।– चाहिन्छ भनी बताएको हुँदा मैले तत्कालै रू. ५०,०००।– दिएको थिएँ । फागुन महिनामा मैले देवनारायण चौधरीलाई खोई त नोकरी लगाएको ? भन्दा बाँकी रहेको रू.५०,०००।– लिई आउनु अनि नोकरी लगाई दिन्छौं भनेकोमा उक्त रकम नभएकोले मैले दिन सकिन मलाई नोकरी पनि लगाई दिएको छैन । हाल आएर देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेली यिनै दुवैजना मिली जाहेरवालाको छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीसमेतलाई जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेत किर्ते गरी नियुक्ति पत्र तथा अभिलेख कायम गरिएको कागजातहरू बनाई निजहरूलाई दिन भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने बेहोराको प्रदिपप्रसाद चौधरीको घटना विवरण कागज । 

२०६९ सालमा देवनारायण चौधरीले जिल्ला शिक्षा कार्यालय, बारामा राहत कोटामा शिक्षकको दरबन्दीमा नोकरी लगाइदिने व्यक्ति उपेन्द्रप्रसाद साह तेलीलाई चिनेको छु भनी बताएको हुँदा मेरो छोरा र मेरो काकाको छोरीलाई नोकरी लगाई दिनको लागि मैले देवनारायण चौधरीलाई पहिला रू.२०,०००।– र पछि रू. २५,०००।– दिएकोमा हालसम्म नोकरी नलगाई पैसा पनि फिर्ता गरेका छैनन् । हाल आएर देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेली यिनै दुवैजना मिली जाहेरवालाकी छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीलाई समेत जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू.९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेतका किर्ते गरी नियुक्ति पत्र तथा अभिलेख कायम गरिएको कागजातहरू बनाई निजहरूलाई दिन भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट किर्ते गरिएका कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने बेहोराको रामप्रसाद भट्टराईको घटना विवरण कागज । 

पोलिग्राफ विशेषज्ञद्वारा विभिन्‍न मितिमा राहत कोटाको शिक्षक नियुक्ति दिलाउँछु भनी कसैबाट रकम लिनु भएको छ ? भनी प्रतिवादी उपेन्द्रप्रसाद साहलाई सोध्दा छैन भनी दिइएको जवाफ झुट्ठो रहेको वा निजको भनाइबाट deception indicated  भएको भन्‍ने पोलिग्राम परीक्षण प्रतिवेदन । 

२०६६ सालतिर देवनारायण चौधरीले जिल्ला शिक्षा कार्यालय बारामा राहत कोटामा शिक्षकको दरबन्दीमा नोकरी लगाई दिन्छु भनी मसँग रू.१,८१,०००।– लिई गएको हुँदा मैले निज देवनारायण चौधरीलाई पटक पटक भेटी खोई त नोकरी लगाई दिएको ? भन्दा तपाइँले दिएको पैसा उपेन्द्रप्रसाद साह तेलीलाई दिइसकेको छु निजले नै नोकरी लगाइदिने भनेका हुन् भनी आलटाल गर्दै आई हालसम्म मसँग लगेको रकम पनि फिर्ता गरेका 

छैनन् । हाल आएर बुझ्दा देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेली यिनै दुवैजना मिली जाहेरवालाको छोरी भगवती चौधरी र निजको ज्वाइँ जितेन्द्र चौधरीलाई समेत जिल्ला शिक्षा कार्यालय बाराको राहत कोटामा शिक्षकको नोकरी लगाई दिन्छौं भनी रू. ९०,०००।– लिई जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याड, जिल्ला शिक्षा अधिकारीको दस्तखत, छापसमेत किर्ते गरी नियुक्ति पत्र तथा अभिलेख फाराम गरिएको कागजातहरू बनाई निजहरूलाई दिन भनी लिई गइरहेको अवस्थामा प्रहरीले देवनारायण चौधरीको साथबाट किर्ते गरिएका कागजातहरू बरामद गरेको कुरा थाहा पाएको हुँ भन्‍ने बेहोराको रामप्रवेश चौधरीको घटना विवरण कागज । 

प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीको मिलोमतो र संलग्नतामा अर्का प्रतिवादी देवनारायण चौधरीले जाहेरवाला मुक्तिनारायण चौधरीलगायत अन्य बुझिएका उमाशङ्कर प्रसाद चौधरी, सूर्यप्रसाद चौधरी, भोखली थरूनी, सोहरलाल साह, प्रमोदप्रसाद चौधरी, राजवीर प्रसाद चौधरी, विनोद चौधरी, प्रदिप चौधरी, रामप्रसाद भट्टराई, रामप्रवेश चौधरीसमेतका व्यक्ति तथा निजहरूको आफन्तहरूलाई राहत कोटाको शिक्षक पदमा नोकरी लगाई दिन्छु भनी फकाई प्रलोभनमा पारी विश्‍वास दिलाई प्रतिवादी देवनारायण चौधरीले राजवीरप्रसाद चौधरीसँग रू. ८०,०००।-, रामप्रवेश चौधरीसँग रू.१,८१,०००।-, राजनारायण चौधरीसँग रू. १,००,०००।-, प्रदिप चौधरीसँग रू. ५०,०००।-, रामप्रसाद भट्टराईसँग रू.४५,०००।-, सूर्यनारायण चौधरीसँग रू.१,००,०००।-, उमाशङ्कर चौधरीसँग रू.१,००,०००।-, ईन्द्रजित चौधरीसँग रू.९५,०००।-, विनोद चौधरीसँग रू. १,००,०००।- मुक्तिनारायण चौधरीसँग रू. ९०,०००।-, जोखनी देवीसँग रू.६०,०००।-, सोहरलाल साहसँग रू.३९,०००।-समेत गरी जम्मा रू.१०,४०,०००।– लिई सोबमोजिम निज पीडितहरूलाई शिक्षक पदमा नोकरी नलगाएको र प्राप्त रकम पनि माग्दा फिर्ता नदिई धोका दिई ठगी गरेको प्रमाणित भएको देखिँदा सो कार्यमा संलग्न भएका निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेली र देवनारायण चौधरीले गरेको उक्त कार्य मुलुकी ऐन, ठगीको महलको १ र २ नं. बमोजिमको कसुर भएको देखिँदा उक्त कसुरमा निजहरूलाई सोही महलको ४ नं. बमोजिम सजाय गरी ठगी गरेको उक्त रकम सम्बन्धित जाहेरवाला तथा बुझिएका उल्लिखित व्यक्तिहरूलाई दिलाई भराई पाउन मागदाबी लिइएको छ । साथै सोही वारदातकै क्रममा निज प्रतिवादीहरूले जाहेरवाला मुक्तिनारायण चौधरीको छोरी भगवती चौधरी र ज्वाइँ जितेन्द्र चौधरी तथा दिपिका चौधरीलाई दिएको नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्रको बेहोरा झुट्ठा भई उक्त पत्रमा प्रयोग गरिएको लेटर प्याड, छाप तथा दस्तखतसमेत किर्ते भएको पुष्टि भएको हुँदा निज प्रतिवादीहरू उपेन्द्रप्रसाद साह तेली र देवनारायण चौधरीले गरेको कार्य मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. ले परिभाषित ऐ. महलको ७ र १२ नं. को कसुर भएको देखिँदा उक्त कसुरमा पनि निज प्रतिवादीहरूलाई सोही ७ नं. बमोजिम सजाय गरी उक्त सजायमा सोही महलको १२ नं. ले हुने सजायसमेत थप गरी सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको अभियोग पत्र । 

जाहेरी दरखास्त देखी पढी बाची सुनाउँदा सुनिपाएँ, म आफैँले त्यसमा केही गरेको होइन । म आफ्नो पैसा निकाल्नको लागि भाडाको व्यक्ति बनेर प्रतिवादी उपेन्द्र साहले दिएको कागजात भनेको व्यक्ति र ठाउँमा पुर्‍याइदिने काम गर्छु । लेटरप्याड, छाप प्रतिवादी उपेन्द्र साहले कहाँबाट कसरी ल्याउँछन् मलाई थाहा हुँदैन थियो । अभियोग दाबीअनुसारको ठगी र किर्ते काम मैले नगरेको हुँदा मलाई दाबीअनुसारको सजाय हुनुपर्ने होइन । अभियोग दाबीबाट सफाइ पाउँ भन्‍नेसमेत बेहोराको प्रतिवादी देवनारायण चौधरीले सुरू अदालतमा गरेको बयान । 

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा यी प्रतिवादी देवनारायण चौधरीलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ११८ को देहाय २ नं. बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु भन्‍ने सुरू अदालतको मिति २०७२।१२।११ को आदेश ।

अभियोग बेहोरा पढी बाची सुनाउँदा 

सुनिपाएँ । अभियोग दाबीमा उल्लेख भएअनुसार कुनै काम कारबाही मबाट भएको छैन । अभियोगको पेट बोलीमा लेखिएको व्यक्तिहरूसमेतलाई म चिन्दिन । अभियोग दाबी झुट्ठा हो । म दोषी नभएको हुँदा मलाई सजाय हुनुपर्ने होइन छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले सुरू अदालतमा गरेको 

बयान । 

पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा यी प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीबाट नगद रू.११,००,०००।– (एघार लाख रूपैयाँ) वा सो बराबरको जेथा वा बैंक ग्यारेन्टी जमानत दिए लिई तारेखमा राख्‍नू । दिन नसके रीतपूर्वकको थुनुवा पुर्जी दिई मुद्दा पुपर्क्ष गर्नु भन्‍ने सुरू अदालतको मिति २०७३।१।२१ को आदेश ।

प्रतिवादी देवनारायण चौधरीले मेरो जिल्ला शिक्षा कार्यालय बारामा कामकाज गराउने व्यक्ति उपेन्द्रप्रसाद साह तेलीद्वारा सरकारी राहत कोटा शिक्षक नि.मा.वि, प्रा.वि. कोटामा नियुक्ति गराई दिन्छु भनी मलाई विश्‍वास दिलाएका थिए । मसँग देवनारायण र उपेन्द्रप्रसाद साह तेलीको मिलोमतोमा प्रतिवादी देवनारायण चौधरीले रू.४०,०००।– र रू.५०,०००।– गरी जम्मा रू.९०,०००।– लिएका थिए । प्रतिवादी देवनारायण चौधरीले नक्‍कली नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र कलैयाबाट ल्याई मलाई देखाउँदा उक्त नियुक्ति पत्र नक्‍कली हो भन्ने मलाई शङ्का लाग्दा इलाका प्रहरी कार्यालयमा खबर गरेको थिएँ । त्यहाँबाट प्रहरी खटी प्रतिवादी देवनारायण चौधरी र नक्‍कली नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र प्रहरीले बरामद गरेका हुन् भन्‍नेसमेत बेहोराको जाहेरवाला मुक्तिनारायण चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

देवनारायण चौधरीले अभियोग दाबीअनुसारको ठगी तथा किर्ते जस्ता काम गरेको होइन, छैन भन्‍नेसमेत बेहोराको प्रतिवादी देवनारायण चौधरीको साक्षी झगरू चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

उपेन्द्रप्रसाद साह ठगी गर्ने व्यक्ति 

होइन । निजले त्यस्तो कुनै काम गरेको होइन, 

छैन । निज राम्रो व्यक्ति हुन् । धनको लागि मान्छे अपराध गर्छन् तर उनी आफैँसँग धेरै सम्पत्ति छ । त्यस्तो ठगी किर्ते काम गर्न निजलाई आवश्‍यक छैन भन्‍नेसमेत बेहोराको उपेन्द्रप्रसाद साह तेलीको साक्षी रामबाबु यादवले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०७२।११।१५ गतेको दुवै कागजमा भएको सही, छाप र बेहोरा मेरो हो । निवेदन बेहोराअनुसारको हामीले कागज तयार पारेका हौं भन्‍नेसमेत बेहोराको प्रहरी हवल्दार राजेन्द्र कुँवरले सुरू अदालतमा गरेको बकपत्र ।  

मेरो छोरा रमेश भट्टराईले बहिनी सरस्वती तिमिल्सिनालाई शिक्षक पदमा जागिर लगाई दिनका लागि प्रतिवादीमध्येका देवनारायण चौधरीलाई रू.४५,०००।– दिएका हुन् भन्‍नेसमेत बेहोराको बुझिएका व्यक्ति रामप्रसाद भट्टराईले सुरू अदालतमा गरेको बकपत्र ।

जाहेरवाला मुक्तिनारायण चौधरीको छोरी भगवती चौधरी र ज्वाइँ राजेन्द्र चौधरीलाई यी प्रतिवादी देवनारायण चौधरीले शिक्षकमा जागिर लगाई दिन्छु भनी रू. ९०,०००।– लिई नक्‍कली र किर्ते नियुक्ति पत्र अभिलेख जनाइदिनु हुन भनी लेखिएको पत्र नक्‍कली दिएको भनी जाहेरवालाले सूचना दिएका थिए । सो सूचनाको आधारमा प्रतिवादी देवनारायण चौधरीलाई तत्कालै फेला पारी पक्राउ गरी निजको शरीर खानतलासी गर्दा उक्त नियुक्ति पत्र र अभिलेख पत्र भेटिएको हो । अनुसन्धान गर्दै जाँदा प्रतिवादी देवनारायण चौधरीले निजलाई उक्त नियुक्ति पत्रसमेत जिल्ला बारा, करैया वडा नं. २ हाल कलैया नगरपालिका वडा नं. ५ बस्ने उपेन्द्र साहले मलाई दिएको भनी बताएकाले जाहेरी बेहोरालाई समर्थन हुने गरी मैले प्रतिवेदन तयार पारेको हुँ भन्‍नेसमेत बेहोराको प्रतिवेदन प्र.ना.नि. रामहरि राजभण्डारीले सुरू अदालतमा गरेको बकपत्र । 

मेरो छोरीलाई जागिर लगाई दिन्छु भनी प्रतिवादी देवनारायण चौधरीले मसँग रू.१,००,०००।– ठगी गरेको हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति सूर्यप्रसाद चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

मेरो छोरा राजनारायण चौधरीलाई जागिर लगाई दिन्छु भनी प्रतिवादी देवनारायण चौधरीले मसँग रू.१,००,०००।– ठगी गरेको हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति भुखनीदेवी थरूनीले सुरू अदालतमा गरेको बकपत्र । 

मेरो भाइबुहारीलाई राहत कोटामा जागिर लगाई दिन्छु भनी प्रतिवादी देवनारायण चौधरीले मसँग रू.१,००,०००।– ठगी गरेका हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति उमाशङ्कर प्रसाद चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी देवनारायण चौधरीले शिक्षक पेसामा म तिमीलाई काम लगाई दिन्छु भनी रू. १,८१,०००।– ठगी गरेको हो भन्‍नेसमेत बेहोराको घटना विवरण कागजको व्यक्ति श्री रामप्रवेश चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी देवनारायण चौधरीले हाम्रो साथी जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ राहत कोटामा नियुक्ति दिलाई दिन्छु भनी रू. ८०,०००।– ठगी गरेका हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति श्री राजवीरप्रसाद चौधरीले सुरू अदालतमा गरेको बकपत्र । 

मिति २०६७ सालमा प्रतिवादी देवनारायण चौधरीले शिक्षक पेसामा लगाई दिन्छु भनेर मसँग रू.१,००,०००।– लिएको त्यसपश्‍चात रू.१०,०००।– फिर्ता गरेको र बाँकी रू.९०,०००।– शिक्षक पेसामा जागिर लगाई दिन्छु भनी ठगी गरेका हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति विनोदप्रसाद चौधरीले सुरू अदालतमा गरेको बकपत्र ।

मिति २०६७ सालमा प्रतिवादी देवनारायण चौधरीले शिक्षक पेसामा लगाई दिन्छु भनेर मसँग रू. ३९,०००।– ठगी गरेका हुन् भन्‍नेसमेत बेहोराको घटना विवरण कागजका व्यक्ति सोहरलाल साहले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादीहरू देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेली मिली जाहेरवालालगायतका अन्य व्यक्तिहरूबाट जम्मा रू.८,२५,०००।– रकम लिई खाएको देखिँदा प्रतिवादीहरूले अभियोग दाबीबमोजिम मुलुकी ऐन, ठगीको महलको १ नं. विपरीत कसुर गरेको ठहर्छ । प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले जिल्ला शिक्षा कार्यालय बारा (सरकारी अड्डा) को लेटर प्याड, छाप, दस्तखत किर्ते गरेको देखिन आएकोले प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीत कसुर गरेको ठहर्छ । अर्का प्रतिवादी देवनारायण चौधरीले प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले तयार पारी दिएको कागजपत्र लिई बुझाउन हिँडेको अवस्थामा निज पक्राउ परेको र निजको उक्त कागजात तयार पार्ने कार्यमा कुनै संलग्नता नदेखिएकोले निजउपरको किर्ते कागजको महलअनुसारको अभियोग माग दाबी पुग्न नसक्ने 

ठहर्छ । अब प्रतिवादीहरूलाई हुने सजायतर्फ विचार गर्दा प्रतिवादीहरूले रू.८,२५,०००।– बराबरको रकम ठगी गरेको देखिएको छ तापनि प्रतिवादीहरू क-कसले कति रकम लिए खाएको छ भन्‍नेतर्फ हेर्दा प्रतिवादी देवनारायण चौधरीले आफूले उठाएको रकम सबै अर्का प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई बुझाउने गरेको र सोबाट निजले प्रतिव्यक्ति २/३ हजारका दरले दिएको र आफूले अहिलेसम्म रू.३४,०००।– मात्र पाएको भनी बयान गरेकोले मुलुकी ऐन, ठगीको महलको ७ नं. बमोजिम प्रतिवादी देवनारायण चौधरीबाट रू. ३४,०००।– र अर्का प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीबाट बाँकी रकम रू.७,९१,०००।– बिगो असुल गरी पीडितलाई भराइदिने र ऐ. महलको ४ नं. बमोजिम प्रतिवादीहरूलाई बिगो रू.८,२५,०००।– बमोजिम जनही रू. ८,२५,०००।–(आठ लाख पच्चिस हजार रूपैयाँ) जरिवाना हुने र प्रतिवादीहरू प्रत्येकलाई २/२ (दुई दुई) वर्षका दरले कैद सजाय हुनेसमेत ठहर्छ । किर्ते गरी तयार गरेको कागजमा रकमको उल्लेख नभएको र सोबापत लिएको रकम ठगीतर्फसमेत दाबी रहेको हुँदा दोहोरो बिगो कायम गर्न मिलेन । प्रतिवादी उपेन्द्रप्रसाद साह तेली जिल्ला शिक्षा कार्यालय, बारा मातहतको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय करैया, बाराका स्थायी शिक्षक रहेकोसमेत देखिँदा ऐ. ऐन, किर्ते कागजको महलको १२ नं. को कानूनी प्रावधानबमोजिम निज प्रतिवादी उसै अड्डाको कर्मचारी रहेकोले निजबाट भएको कसुरमा ऐ. १२ नं. बमोजिम २ (दुई) वर्ष थप कैद हुने ठहर्छ भन्नेसमेत बेहोराको सुरू बारा जिल्ला अदालतको मिति २०७४।९।२३ को फैसला ।

प्रतिवादीहरू उपेन्द्रप्रसाद साह तेली र देवनारायण चौधरीले मिलोमतो संलग्नता गरी जाहेरवालाको छोरी ज्वाईं र अन्य व्यक्तिहरूसमेत सँग राहत कोटामा शिक्षक पदमा नियुक्ति गरिदिन्छु भनी १२ जना व्यक्तिहरूबाट बिगो रू.१०,४०,०००।- लिई किर्ते नियुक्त पत्रसमेत बनाई झुक्यान गफलतमा पारी ठगी गरेको तथ्य मिसिल संलग्न कागजातहरूबाट देखिएको अवस्था छ । सुरू अदालतबाट ९ जनाको बिगो रू.८,२५,०००।– मात्र ठगी गरेको भनी भएको फैसलाबाट आंशिक मात्र न्याय भएको छ । बाँकी ३ जनाको हकमा समेत ठगी गरेको बिगो रू.२,१५,०००।- ठहर हुनुपर्ने अवस्था छ । पीडितमध्ये प्रदिप चौधरीको रू.५०,०००।-, ईन्द्रजित चौधरीको रू.९५,०००।- र जोखन देवीको रू.६०,०००।- निज प्रतिवादीहरूले लिई ठगी गरेको भन्ने अनुसन्धानमा किटान कागज गरी गरेको कागजलाई प्रतिवादी देवनारायण चौधरीले अन्यथा हो भन्न सकेका छैनन् । पीडितहरूको ठगी गरी खाएको बिगो २,१५,०००।- समेत ठहर हुनुपर्नेमा यी पीडित जना ३ को हकमा बिगो ठहर नगरी भएको सुरू अदालतको उक्त फैसला प्रमाणको रोहमा त्रुटिपूर्ण भई बदरभागी छ । प्रतिवादी देवनारायण चौधरीले उल्लिखित पीडितहरूसँग रकम उठाई प्रतिवादीमध्येको उपेन्द्रप्रसाद साह तेलीलाई दिइएको कुरा निजले अनुसन्धानको क्रममा बयान गर्दा तथा अदालतमा बयान गर्दासमेत उल्लेख गरेको 

छन् । यसरी रकम उठाई प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई दिएबापत आफूले समेत ३५/४० हजार लिई खाएको कुरासमेत स्वीकार गरेको अवस्था छ । प्रतिवादीले अदालतमा समेत स्वीकार गरेको कुरालाई अन्यथा अर्थ लगाई किर्ते गर्ने कार्यमा निज प्रतिवादी देवनारायण चौधरीको संलग्नता नरहेको भनी किर्तेको कसुरमा निजलाई सफाइ दिई भएको सुरू अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । अतः सुरू बारा जिल्ला अदालतको सो हदसम्मको त्रुटिपूर्ण फैसला बदर गरी सुरू अभियोग मागदाबीबमोजिम नै प्रतिवादीहरूलाई सजाय गरी पीडितलाई दाबीको बिगो भराइपाउँ भन्नेसमेत बेहोराको मिति २०७५।१।१० को वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

निवेदकको निवेदन र सोमा उल्लेख भएको बेहोरा प्रमाणित हुन सकेको छैन । घटना विवरण कागज गर्ने कुनै व्यक्तिले नोकरी लगाई दिनेबारेमा मसँग कुराकानी गरेका थिए भनी भन्न सकेको 

छैन । म शिक्षकमा जागिर लगाइदिनेसम्मको हैसियतको व्यक्ति हुँ भनी मौकामा कागज गर्न कसैले भन्न सकेको छैन । मेरो देवनारायणसँग चिनजान नभएको र मैले पहिलो पटक देवनारायणलाई थुनामा मात्र देखेको हुँ । शिक्षक नियुक्ति र पत्र अभिलेखसँग मेरो कुनै सरोकार छैन । देवनारायणबाट बरामद भएको र उमाशंकर प्रसाद चौधरीले अदालतमा बकपत्र गर्दा नियुक्ति पत्र र अभिलेख कायम पत्र देवनारायणले तयार गरेका हुन् भनी उल्लेख गर्नुभएको छ । त्यस्तै विनोदप्रसाद चौधरीको अदालतको बकपत्रमा देवनारायणले नै कागज नक्कली बनाई दिई रू.९० हजार ठगेको भनी भन्नुभएको 

छ । सो अवस्थामा निज देवनारायणलाई सफाइ दिने र मलाई कसुरदार कायम गर्ने गरी भएको फैसला पूर्णरूपबाट नै त्रुटिपूर्ण रहेको छ । कुनै पनि प्रमाणले म कसुरदार नदेखिएको अवस्थामा प्रमाणको मूल्याङ्कन नै नगरी अनुमानको भरमा तर्क प्रस्तुत गरी सरकारी कागज किर्ते गरेको भनी मलाई सजाय र जरिवाना गर्ने गरी र मबाट बिगो भराउने गरी भएको सुरूको फैसला त्रुटिपूर्ण रहेकोले उल्टी गरी मलाई सफाइ दिने गरी न्याय इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीको पुनरावेदन पत्र ।

म आफैँले त्यस्तो केही गरेको होइन । म आफ्नो पैसा निकाल्नको लागि भाडाको व्यक्ति बनेर अर्का प्रतिवादीको कागजात पुर्‍याउनु भनेको व्यक्ति र ठाउँमा पुर्‍याइदिने काम गर्छु । लेटर प्याड, छाप अर्का प्रतिवादीले कहाँबाट ल्याउँछन् मलाई थाहा हुँदैन 

थियो । अभियोग दाबीअनुसारको किर्ते काम मैले नगरेको हुँदा मलाई दाबीअनुसारको सजाय हुनुपर्ने होइन । अभियोग दाबीबाट सफाइ पाउँ भनी विस्तृत र सत्य साँचो बयान मैले सुरू बारा जिल्ला अदालतमा नै दिएको थिएँ । जुन अन्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भएको रहेछ । म स्वयंलाई दिएको नियुक्ति पत्र आदिलाई पनि यकिन गर्न नसकी सोअनुसार मैले २ महिनाजति शिक्षण पेसामा अध्यापन गराएको थिएँ र पछि गएर सो मेरो नियुक्ति पत्र पनि अर्का प्रतिवादीले झुक्याई गफलतमा पारिदिएको देखिन गएकोमा मलाई अध्यापनबाट हटाइएको थियो । ठगीको महलको ४ नं. ले ठगी गर्नेलाई ठगी गरेको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा पाँच हजार रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने छ भनी व्यवस्था रहेको 

छ । मैले ठगी गर्ने मनसायले कसैलाई ठगी नगरेको भए पनि सुरू फैसलाअनुसार मलाई रू.३४,०००।- को हकमा ठगी गरेको ठहर्‍याएकोले मलाई सोहीबमोजिम रू.३४,०००।- मात्र जरिवाना गर्नुपर्नेमा अर्का प्रतिवादीसरह रू.८,२५,०००।- जरिवाना गरिएको फैसला स्वतः त्रुटिपूर्ण रहेको छ । मैले ठगी गरेको कसुर कायम गरी मलाई कानूनविपरीत रू.८,२५,०००।- जरिवाना हुने गरी भएको सुरू बारा जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले बदर गरी मलाई अभियोग दाबीबाट पूर्णरूपमा सफाइ दिलाई इन्साफ गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी देवनारायण चौधरीको पुनरावेदन पत्र । 

वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिएको र वारदात भएको कुरा स्वीकार गरी फैसला भएकोमा केही जाहेरवालाको हकमा बिगो ठहर गरेको र केहीमा बिगो कायमसमेत नगरेको, सहअभियुक्तको पोलका आधारमा प्रतिवादीलाई कसुरदार ठहर गरिएको पोलिग्राफलाई पनि प्रमाणको रूपमा ग्रहण गरी कसुरदार ठहर गरिएको, प्रतिवादीलाई ठहर कायम गरिएको बिगोभन्दा बढी जरिवाना गरिएकोसमेत देखिएको यस अवस्थामा सुरू बारा जिल्ला अदालतको मिति २०७४।०९।२३ को फैसलामा फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनको लागि उच्च सरकारी वकिल कार्यालय वीरगन्जलाई र प्रतिवादीहरूलाई जानकारी गराई नियमानुसार गरी पेस गर्नुहोला भन्ने बेहोराको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।३।२८ को आदेश ।

सुरू बारा जिल्ला अदालतबाट मिति २०७४।०९।२३ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई मिसिल संलग्न प्रमाणहरूको आधारमा प्रतिवादीमध्येका देवनारायण चौधरीलाई तत्कालीन किर्ते कागजको १ नं. को कसुरमा ऐ. को १२ नं. बमोजिम १ वर्ष कैद सजाय हुने र प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीको किर्ते कागज तयार पार्ने कार्यमा कुनै संलग्नता नदेखिँदा प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले किर्तेतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । ठगीतर्फको दाबीमा प्रतिवादी देवनारायण प्रसाद चौधरी र उपेन्द्रप्रसाद साह तेलीले ठगीको १ नं. को कसुरमा ऐ. को ४ नं. बमोजिम दुवैजनालाई तजबिजी ६/६ महिना कैद सजाय हुने ठहर्छ । बिगोको हकमा सुरू फैसलामा कायमबमोजिमको बिगो रू.८,२५,०००।- (आठ लाख पच्चिस हजार) बिगो कायम भई दुवैजना प्रतिवादीहरूबाट दामासाहीले भराइदिनुपर्ने ठहर्छ । ठगीतर्फ जरिवानाको हकमा तत्कालीन ठगीको ४ नं. मा बिगोबमोजिम जरिवाना हुने उल्लेख भई प्रतिवादी दुवैलाई दामासाहीले जरिवाना हुने ठहर्छ । अरू वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।७।१३ को फैसला ।

प्रतिवादीहरूले राहत कोटामा शिक्षक जागिर लगाइदिने भनेर जाहेरवालाको छोरी, ज्वाइँ र अन्य व्यक्तिहरूसमेत १२ जनाबाट बिगो रू.१०,४०,०००/- लिई किर्ते नियुक्ति पत्र बनाई झुक्यान, गफलतमा पारी ठगी गरेको तथ्य मिसिल संलग्न कागज, प्रमाणहरूबाट पुष्टि भएको छ । पीडितहरूमध्ये प्रदीप चौधरीको रू.५०,०००/-, इन्द्रजित चौधरीको रू.९५,०००/- र जोखनी देवीको रू.६०,०००/- लिई निज प्रतिवादीहरूले ठगी गरेको भनी निज पीडितहरूले मौकामा किटानीसाथ गरेको कागजलाई प्रतिवादी देवनारायण चौधरीले समेत अन्यथा भन्न सकेको देखिँदैन । पीडितहरूको कागजसमेतलाई आधार मानी निजहरूबाट ठगी गरी लिएको बिगो रू.२,१५,०००/- समेत ठहर हुनुपर्नेमा १२ जना पीडितमध्ये ९ जनाको हकमा मात्र बिगो कायम गरी गरेको फैसला मिलेको छैन । प्रतिवादी देवनारायण चौधरीको साबिती पोलसमेतबाट किर्तेतर्फको कसुरमा दुवै प्रतिवादीहरूको संलग्नता देखिएकोमा निज प्रतिवादी देवनारायण चौधरीलाई किर्ते  कागजको १२ नं. बमोजिम १ वर्ष कैद भएको 

छ । किर्तेमा सजाय गर्दा मूल सजाय नगरी ऐ. १२ नं. को थप सजाय मात्र गरिएको अवस्था छ । किर्तेको कसुर ठहर भइसकेपछि मूल सजाय नै नगरी थप सजाय मात्र गरिएको फैसला मिलेको छैन । मिसिल संलग्न सबै तथ्य र प्रमाणको जाँचबुझ गरेर नै सुरू अदालतले प्रतिवादी उपेन्द्र साह तेलीलाई किर्तेतर्फ कसुरदार ठहर गरेको अवस्था छ । प्रतिवादी देवनारायण चौधरीले मौकामा बरामद भएका पत्रहरू प्रतिवादी उपेन्द्र साह तेलीले आफूलाई दिएको हो । उपेन्द्र साह तेलीले मागेको रकम आफूले जाहेरवालाहरूसँग मागेर निज उपेन्द्र साह तेलीलाई दिएको हो । त्यसपछि निजले नियुक्तिसमेतका कागजात आफूलाई दिएको र निजले भनेबमोजिम बुझाउन जाँदा आफू पक्राउ परेको भनी सिलसिलाबद्ध रूपले घटनामाथि प्रकाश पारेको अवस्था छ । पोलिग्राफ परीक्षणमा समेत निज प्रतिवादी उपेन्द्रले मौकामा असत्य कुरा बोलेको कुरा स्पष्ट भएको छ । जाहेरवाला मुक्तिनारायण चौधरीले अदालतमा आई बकपत्र गर्दासमेत किर्ते प्रकरणमा दुवैजना प्रतिवादीको संलग्नता रहेको खुलाई दिएका छन् । यी सबै तथ्य र कारणबाट सुरू फैसला उल्टी गरी निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई किर्तेतर्फ सफाइ दिएको फैसलासमेत मिलेको छैन । उल्लिखित आधार र प्रमाणहरूबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।७।१३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा सो फैसला उल्टी गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरी दाबीबमोजिमको बिगोसमेत भराई पाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

ठहर खण्ड

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन पत्रसहितका मिसिल संलग्न प्रमाण कागजहरूको अध्ययन गरियो ।

सुरू जिल्ला अदालतको फैसलालाई केही उल्टी गरेको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेको प्रस्तुत मुद्दामा उक्त अदालतबाट मिति २०७५।७।१३ मा भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्‍ने हो, होइन ? भन्‍ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादीहरू उपेन्द्रप्रसाद साह तेली र देवनारायण चौधरीले जाहेरवाला मुक्तिनारायण चौधरी र राजवीरप्रसाद चौधरीसमेत १२ जनाबाट जम्मा रू.१०,४०,०००।– लिई भनेबमोजिम पीडितहरूलाई शिक्षक पदमा नोकरी नलाएको र प्राप्त रकम पनि फिर्ता नदिई ठगी गरेको प्रमाणित भएकोले निज प्रतिवादीहरू उपेन्द्रप्रसाद साह तेली र देवनारायण चौधरीले गरेको उक्त कार्य मुलुकी ऐन, ठगीको महलको १ र २ नं. बमोजिमको कसुर भएको देखिँदा उक्त कसुरमा निजहरूलाई सोही महलको ४ नं. बमोजिम सजाय गरी ठगी गरेको उक्त रकम सम्बन्धित जाहेरवालालगायतका अन्य व्यक्तिहरूलाई दिलाई भराइपाऊँ । साथै सोही वारदातकै क्रममा निज प्रतिवादीहरूले जाहेरवाला मुक्तिनारायण चौधरीको छोरी भगवती चौधरी र ज्वाइँ जितेन्द्र चौधरी तथा दिपिका चौधरीलाई दिएको नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र बेहोरा झुट्टा भई उक्त पत्रमा प्रयोग गरिएको लेटर प्याड, छाप तथा दस्तखतसमेत किर्ते भएको पुष्टि भएको हुँदा निज प्रतिवादीहरूले किर्ते कागजको महलको १ नं. ले परिभाषित ऐ. महलको ७ र १२ नं. को कसुर गरेको देखिँदा उक्त कसुरमा पनि निज प्रतिवादीहरूलाई सोही ७ नं. बमोजिम सजायमा सोही महलको १२ नं. ले हुने सजायसमेत थप गरी सजाय गरिपाउँ भन्ने मुख्य अभियोग माग दाबी ।

३. प्रतिवादीहरू देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेलीले जाहेरवालालगायतका अन्य व्यक्तिहरूबाट जम्मा रू.८,२५,०००।– रकम लिई खाएको देखिँदा निज प्रतिवादीहरूले अभियोग दाबीबमोजिम मुलुकी ऐन, ठगीको महलको १ नं. विपरीत कसुर गरेको ठहर्छ । प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. विपरीत कसुर गरेको ठहर्छ । अर्का प्रतिवादी देवनारायण चौधरीउपरको किर्ते कागजको महलअनुसारको अभियोग माग दाबी पुग्न नसक्ने 

ठहर्छ । प्रतिवादीहरूले रू.८,२५,०००।– बराबरको रकम ठगी गरेको देखिएकोले मुलुकी ऐन, ठगीको महलको ७ नं. बमोजिम प्रतिवादी देवनारायण चौधरीबाट रू.३४,०००।– र अर्का प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीबाट बाँकी रकम रू.७,९१,०००।– बिगो असुल गरी पीडितलाई भराइदिने र ऐ. महलको ४ नं. बमोजिम प्रतिवादीहरूलाई बिगो रू.८,२५,०००।– बमोजिम जनही रू. ८,२५,०००।–(आठ लाख पच्चिस हजार रूपियाँ) जरिवाना हुने र प्रतिवादीहरू प्रत्येकलाई २/२ (दुई दुई) वर्षका दरले कैद सजाय हुनेसमेत ठहर्छ । किर्ते गरी तयार गरेको कागजमा रकमको उल्लेख नभएको र सोबापत लिएको रकम ठगीतर्फ समेत दाबी रहेको हुँदा दोहोरो बिगो कायम गर्न मिलेन । प्रतिवादी उपेन्द्रप्रसाद साह तेली स्थायी शिक्षक रहेकोसमेत देखिँदा निजलाई मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. बमोजिम २ (दुई) वर्ष थप कैद हुने ठहर्छ भन्ने सुरू बारा जिल्ला अदालतको मिति २०७४।०९।२३ को फैसला ।

४. सुरू बारा जिल्ला अदालतबाट मिति २०७४।०९।२३ मा भएको फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादीमध्येका देवनारायण चौधरीलाई तत्कालीन किर्ते कागजको १ नं. को कसुरमा ऐ. को १२ नं. बमोजिम १ वर्ष कैद सजाय हुने र प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीको किर्ते कागज तयार पार्ने कार्यमा कुनै संलग्नता नदेखिँदा प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले किर्तेतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । ठगीतर्फको दाबीमा प्रतिवादी देवनारायण प्रसाद चौधरी र उपेन्द्रप्रसाद साह तेलीले ठगीको १ नं. को कसुरमा ऐ. को ४ नं. बमोजिम दुवैजनालाई तजबिजी ६/६ महिना कैद सजाय हुने ठहर्छ । बिगोको हकमा सुरू फैसलामा कायमबमोजिमको बिगो रू.८,२५,०००।- (आठ लाख पच्चिस हजार) बिगो कायम भई दुवैजना प्रतिवादीहरूबाट दामासाहीले भराइदिनुपर्ने ठहर्छ । ठगीतर्फ जरिवानाको हकमा तत्कालीन ठगीको ४ नं. मा बिगोबमोजिम जरिवाना हुने उल्लेख भई प्रतिवादी दुवैलाई दामासाहीले जरिवाना हुने ठहर्छ । अरू वादी, प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।७।१३ को 

फैसला । सो फैसलामा चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको देखिन्छ । प्रतिवादीहरूको पुनरावेदन परेको देखिन आउँदैन । 

५. प्रतिवादीहरूले राहत कोटामा शिक्षक जागिर लगाइदिने भनेर जाहेरवालाको छोरी, ज्वाइँ र अन्य व्यक्तिहरूसमेत १२ जनाबाट बिगो रू.१०,४०,०००/- लिई किर्ते नियुक्ति पत्र बनाई झुक्यान, गफलतमा पारी ठगी गरेको पुष्टि भएको 

छ । पीडितहरूमध्ये प्रदीप चौधरीको रू.५०,०००/-, इन्द्रजित चौधरीको रू.९५,०००/- र जोखनीदेवीको रू.६०,०००/- लिई निज प्रतिवादीहरूले ठगी गरेको भनी निज पीडितहरूले मौकामा किटानीसाथ कागज गरेको अवस्था छ । निज पीडितहरूबाट ठगी गरी लिएको बिगो रू.२,१५,०००/- समेत ठहर हुनुपर्नेमा १२ जना पीडितमध्ये ९ जनाको हकमा मात्र बिगो कायम गरी गरेको फैसला मिलेको छैन । त्यसैगरी प्रतिवादी देवनारायण चौधरीको साबिती पोलसमेतबाट किर्तेतर्फको कसुरमा दुवै प्रतिवादीहरूको संलग्नता देखिएकोमा निज प्रतिवादी देवनारायण चौधरीलाई किर्ते  कागजको १२ नं. बमोजिम १ वर्ष कैद भएको छ । किर्तेको कसुर ठहर भइसकेपछि मूल सजाय नै नगरी ऐ. १२ नं. को थप सजाय मात्र गरिएको फैसला मिलेको छैन । प्रतिवादी देवनारायण चौधरीले मौकामा बरामद भएका पत्रहरू प्रतिवादी उपेन्द्र साह तेलीले आफूलाई दिएको हो । उपेन्द्र साह तेलीले मागेको रकम आफूले जाहेरवालाहरूसँग मागेर निज उपेन्द्र साह तेलीलाई दिएको हो । त्यसपछि निजले नियुक्तिसमेतका कागजात आफूलाई दिएको र निजले भनेबमोजिम बुझाउन जाँदा आफू पक्राउ परेको भनी सिलसिलाबद्धरूपले घटनामाथि प्रकाश पारेको अवस्था छ । पोलिग्राफ परीक्षणमा समेत निज प्रतिवादी उपेन्द्रले मौकामा असत्य कुरा बोलेको कुरा स्पष्ट भएको छ । जाहेरवाला मुक्तिनारायण चौधरीले अदालतमा आई बकपत्र गर्दासमेत किर्ते  प्रकरणमा दुवैजना प्रतिवादीको संलग्नता रहेको खुलाई दिएका छन् । यी सबै तथ्य र कारणबाट सुरू फैसला उल्टी गरी निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई किर्तेतर्फ सफाइ दिएको फैसलासमेत मिलेको छैन । उल्लिखित आधार र प्रमाणहरूबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।७।१३ को फैसला सो हदसम्म मिलेको नदेखिँदा सो फैसला बदर गरी निज प्रतिवादीहरूलाई सुरू अभियोग दाबीबमोजिम नै सजाय गरी दाबीबमोजिमको बिगोसमेत भराइपाउँ भन्ने वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखियो ।

६. मेरो छोरी भगवती चौधरी, छोरी ज्वाइँ जितेन्द्र चौधरी र भतिजी उर्मिला चौधरीलाई देवनारायण चौधरीले राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी विश्वास दिलाई नगद रू.९०,०००।– लिएका थिए । निजले मिति २०७२।११।१५ गते मलाई सडकमा बोलाई मेरो ज्वाइँ जितेन्द्र चौधरी र छोरी भगवती चौधरीको नामको नियुक्ति पत्र थान २ र अभिलेख कायम गरिएको पत्र थान २ दिन लागेको र उक्त पत्रहरू हेर्दा निजले जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप र जिल्ला शिक्षा अधिकारीको दस्तखतसमेत किर्ते गरी बनाई ल्याएको भन्ने शङ्‍का लागेको हुँदा निजलाई खोज तलास गरी पक्राउ गरी कानूनबमोजिम अनुसन्धान गरी कारबाही गरिपाउँ भन्ने मुक्तिनारायण चौधरीले निवेदन दिएको देखियो । 

७. मिति २०७२।११।१५ गते देवनारायण चौधरीलाई पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजको साथबाट जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याडमा लेखिएको जितेन्द्र चौधरीको नामको मिति २०७२।१०।१६ गतेको नियुक्ति पत्र-१ र अभिलेख कायम गरिएको मिति २०७२।१०।२५ को पत्र थान-१, जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याडमा मिति २०७२।१०।२३ मा लेखिएको भगवती चौधरीको नामको नियुक्तिपत्र-१ र मिति २०७२।१०।२९ गतेको अभिलेख कायम गरिएको पत्र थान-१ फेला पारी बरामद गरिएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । उल्लिखित बरामदी मुचुल्कासहित देवनारायण चौधरीलाई पेस गरेको भन्ने प्र.ना.नि.रामहरि राजभण्डारीसमेतको प्रहरी प्रतिवेदन रहेको देखियो ।

८. मेरो छोरी भगवती चौधरी, छोरी ज्वाइँ जितेन्द्र चौधरी र भतिजी उर्मिला चौधरीलाई उपेन्द्र साहको मिलोमतो र संलग्नतामा देवनारायण चौधरीले राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी मसँग नगद रू.९०,०००।– लिएका थिए । निजले जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप र जिल्ला शिक्षा अधिकारीको दस्तखतसमेत किर्ते गरी जितेन्द्र चौधरी र छोरी भगवती चौधरीको नामको नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र तयार गरी मिति २०७२।११।१५ गते मलाई सडकमा बोलाई दिन लागेका थिए । मलाई उक्त पत्र किर्ते हो भन्ने शङ्‍का लागी मैले तत्कालै इलाका प्रहरी कार्यालय कोल्हबीमा जानकारी गराएको थिए । सोपश्चात् तत्काल प्रहरी गई निज देवनारायण चौधरीलाई पक्राउ गरी निजको साथबाट उक्त किर्ते गरी तयार गरिएको पत्रहरू बरामद गरेको हुँदा देवनारायण चौधरीसमेतलाई कारबाही गरी मेरोबाट ठगी गरी लिएको नगद रूपैयाँ दिलाई भराइपाउँ भन्ने मुक्तिनारायण चौधरीको जाहेरी दरखास्त रहेको देखियो ।

९. भगवती चौधरी र जितेन्द्र चौधरीको नामको नियुक्ति पत्र यस कार्यालयको अभिलेखमा नरहेको, चलानी नम्बरहरू सबै गलत रहेको छ । मिति २०७२।१०।१६ र २३ गते शनिबार परेको 

छ । २५ र २९ गते जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल अनुगमनमा गएको र लेटर प्याडमा लगाइएको कार्यालयको छाप तथा जिल्ला शिक्षा अधिकारीको छाप, दस्तखत सबै नक्कली र किर्ते हो भन्ने जिल्ला शिक्षा कार्यालय बाराको मिति २०७२।११।२१ गतेको पत्रबाट देखिन्छ ।

१०. प्रत्यर्थी प्रतिवादी देवनारायण चौधरीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा, उपेन्द्रप्रसाद साह तेलीले मुक्तिनारायण चौधरीको ज्वाइँ जितेन्द्र चौधरीलाई निम्न माध्यमिक विद्यालयको राहत शिक्षकको लागि रू.५०,०००।– र छोरी भगवती चौधरीलाई प्राथमिक विद्यालयको राहत शिक्षकको लागि रू.४०,०००।– चाहिन्छ भनेपछि मैले मुक्तिनारायण चौधरीबाट २ पटकमा जम्मा रू.९०,०००।– लिई सो रकम उपेन्द्र सरलाई दिएको हो । त्यसपछि उपेन्द्र सरले मलाई भगवती चौधरी र जितेन्द्र चौधरीको नामको नियुक्ति पत्र र अभिलेख कायम गरिएको भन्‍ने पत्र दिएको हुँदा उक्त पत्रहरू मैले साथमा लिई मिति २०७२।११।१५ गते मुक्तिनारायण चौधरीलाई दिन गएको थिएँ । निजलाई बाटोमा भेटी नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र दिन लागेको अवस्थामा निज मुक्तिनारायण चौधरीले नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र किर्ते हो भनी प्रहरीलाई खबर गरी प्रहरीले मलाई पक्राउ गरेको हो । जितेन्द्र चौधरी, भगवती चौधरीको नामको नियुक्ति पत्र-२ र अभिलेख कायम गरिएको पत्र-२ मेरै साथबाट बरामद भएको 

हो । २०६६ सालमा उपेन्द्रप्रसाद साह तेलीले मलाई राहत कोटामा शिक्षकको जागिर लगाई दिन्छु भनी मसँग रू.३५,०००।– लिई मलाई श्री जनता प्रा.वि. कोल्हबीको शिक्षकमा नोकरी लगाई दिएको र मैले २ महिना पढाई तलब खाइसकेपछि मलाई विद्यालयले निकाली दिएकोले म आफू ठगीएको थाहा पाएको हो । सोही समयदेखि निज उपेन्द्रप्रसाद साह तेलीसँग राम्रो चिनजान र सम्पर्क भई राहत कोटाको शिक्षकमा नोकरी गर्ने मानिसहरू भए सम्पर्क गराउनु निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालयको शिक्षकको लागि २५ हजारदेखि २ लाखसम्म सङ्कलन गर्नू । केही रकम तपाइँलाई पनि दिन्छु भनेको हुँदा मैले राहत कोटामा शिक्षकको जागिर लगाई दिन्छु भनी राजवीर चौधरीसँग रू.८०,०००।-, रामप्रवेश चौधरीसँग रू.९०,०००।- उपेन्द्र चौधरीसँग रू.८०,०००।-, अजय चौधरीसँग रू.२,२०,०००।-, राजनारायण चौधरीसँग रू.१,००,०००।-, प्रदिप चौधरीसँग रू.२५,०००।- रामप्रसाद भट्टराईसँग रू.४५,०००।-, उपेन्द्र चौधरीसँग रू.४०,०००।-, सूर्यनारायण चौधरीसँग रू.८०,०००।, उमाशंकर चौधरीसँग रू.९०,०००।-, ईन्द्रजित चौधरीसँग रू.८५,०००।-, विनोद चौधरीसँग रू. ८०,०००।– लिई सो रकम मैले उपेन्द्रप्रसाद साह तेलीलाई दिएको हो । निजले मलाई प्रतिव्यक्ति २/३ हजारको दरले गरी हालसम्म रू.३४,०००।– मात्र दिएका छन् । मैले पनि २/३ हजार रूपैयाँ पाउँदै आएको हुँदा मैले उपेन्द्रप्रसाद साहसँग मिली किर्ते र ठगी गर्ने कार्य गर्दै आएको हुँ । नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्रहरू उपेन्द्रप्रसाद साहले नै दिनु भएकोले निजले के कहाँबाट के कसरी जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप, जिल्ला शिक्षा अधिकारीको छापसमेत किर्ते गरी पत्रहरू बनाई ल्याएका हुन् मलाई थाहा छैन भनी उल्लेख गरेको पाइन्छ । निजले सुरू अदालतमा बयान गर्दा, मबाट प्रतिवादी उपेन्द्र साहले २०६६ सालमा रू.३५,०००।– लिई मलाई श्री जनता ने.रा.वि.कोल्हवीको प्राथमिक शिक्षकमा नियुक्ति दिलाएको थियो । मैले सो विद्यालयमा २ महिना पढाएपछि एकमुष्ट तलब रू.१२,४००।– दिएर मलाई जागिरबाट निकालेको हो । त्यसपछि आफू पनि ठगिएको थाहा भयो । मैले उपेन्द्र सरलाई कुरा गर्दा पिर नगर जागिर खाने मान्छे खोज उनीहरूबाट आउने रकमबाट तिमीबाट लिएको रकम मिनाहा गरिदिन्छु भनी भनेकोले मैले मेरो चिनजानका मानिससँग कुरा गरी उनीहरूलाई उपेन्द्र सरसँग भेटघाट गराइदिन्थे । मैले पनि जागिर खान खोज्ने मानिसबाट लिएको रकम उपेन्द्र सरलाई दिन्थे । उपेन्द्र साहले खामबन्दी कागज पत्र फलानो व्यक्तिलाई दिनु भनी मलाई अह्राउने गरेकोले मैले सो व्यक्तिलाई कागज पत्र दिन्थे । यसरी पटकपटक गरी प्रतिवादी उपेन्द्र साह तेलीले मलाई रू.३४०००।– दिई मिन्हा गरेका हुन् । म आफैँले केही गरेको छोइन । मैले आफ्नो फसेको पैसा निकाल्नको लागि भाडाको व्यक्ति बनेर निज प्रतिवादी उपेन्द्र साहले दिएको कागजात भनेको व्यक्ति र ठाउँमा पुर्‍याइदिने कार्य गरेको हो । प्रतिवादी उपेन्द्र साहले के कस्तो कागज बनाउँदथे मलाई थाहा हुँदैन थियो । लेटरप्याड, छाप प्रतिवादी उपेन्द्र साहले कहाँबाट कसरी ल्याउँछन् मलाई थाहा हुँदैन थियो । मैले जाहेरवाला मुक्तिनारायणबाट उठाएको रू.९०,०००।–  उपेन्द्रलाई दिएको र निजले दिएको कागज मुक्तिनारायणलाई बुझाउने क्रममा म पक्राउ परेको हुँ । मैले अभियोग दाबीअनुसारको ठगी र किर्ते काम नगरेको हुँदा मलाई दाबीअनुसारको सजाय हुनुपर्ने होइन । अभियोग दाबीबाट सफाइ पाउँ भनी उल्लेख गरेको देखियो । निज प्रतिवादीको बयान बेहोरालाई समर्थन हुने गरी निजको साक्षी झगरू चौधरीले सुरू अदालतमा बकपत्र गरेको देखिन्छ ।

११. प्रत्यर्थी प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा, मैले प्रतिवादी देवनारायण चौधरीलाई चिनेको छैन । राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी देवनारायण चौधरीले जाहेरवाला मुक्तिनारायण चौधरीलगायतबाट लिएको रकम मलाई दिएको 

छैन । मैले किर्ते नियुक्ति पत्र तयार गरी ठगी गरेको 

होइन । देवनारायण चौधरीको साथबाट बरामद भई आएको जाहेरवालाको छोरी भगवती चौधरी र ज्वाइँ जितेन्द्र चौधरीको नामको किर्ते नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र मैले देवनारायण चौधरीलाई दिएको होइन भनी कसुरमा इन्कार गरेकोमा निजले सुरू अदालतमा बयान गर्दासमेत अभियोग दाबीमा उल्लेख भएअनुसारको कुनै पनि काम कारबाही मबाट भएको छैन । जाहेरवालालगायतका पीडित भनिएका कुनै पनि व्यक्तिहरूलाई म चिन्दिन । म दोषी नभएको हुँदा मलाई सजाय हुनुपर्ने होइन भनी कसुरमा इन्कार गरेको देखियो । निज प्रतिवादीको बयान बेहोरालाई समर्थन हुनेगरी निजको साक्षी रामबाबु यादवले सुरू अदालतमा बकपत्र गरेको देखिन्छ ।

१२. प्रतिवादी देवनारायण चौधरीले मेरो जिल्ला शिक्षा कार्यालय बारामा कामकाज गराउने व्यक्ति उपेन्द्रप्रसाद साह तेलीद्वारा सरकारी राहत कोटा शिक्षक नि.मा.वि, प्रा.वि. कोटामा नियुक्ति गराई दिन्छु भनी मलाई विश्‍वास दिलाई जम्मा रू.९०,०००।– लिएका थिए । निज प्रतिवादी देवनारायण चौधरीले नक्‍कली नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र कलैयाबाट ल्याई मलाई देखाउँदा उक्त नियुक्ति पत्र नक्‍कली हो भन्ने मलाई शङ्का लाग्दा इलाका प्रहरी कार्यालयमा खबर गरेको थिए । त्यहाँबाट प्रहरी खटी प्रतिवादी देवनारायण चौधरी र नक्‍कली नियुक्ति पत्र र अभिलेख कायम गरिएको पत्र प्रहरीले बरामद गरेका हुन् भनी जाहेरवाला मुक्तिनारायण चौधरीले सुरू अदालतमा बकपत्र गरेको देखियो ।

१३. त्यसैगरी अनुसन्धानमा बुझिएका व्यक्तिहरू रामप्रसाद भट्टराईले रू.४५,०००।-, सूर्यप्रसाद चौधरीले रू.१,००,०००।–, राजनारायण चौधरीको आमा भुखलीदेवी थरूनीले रू.१,००,०००।– उमाशङ्कर प्रसाद चौधरीले रू.१,००,०००।–, रामप्रवेश चौधरीले रू.१,८१,०००।–, राजवीरप्रसाद चौधरीले रू.८०,०००।–, विनोदप्रसाद चौधरीले रू.१,००,०००।– लिएकोमा रू.१०,०००।– फिर्ता गरी बाँकी रहेको रू.९०,०००।– र सोहरलाल साहले रू.३९,०००।– आफूबाट प्रतिवादी देवनारायण चौधरीले सरकारी राहत कोटा शिक्षक नियुक्ति गराई दिन्छु भनी विश्‍वास दिलाई रकम लिएकोमा जागिर पनि नलगाएको र पैसा फिर्तासमेत नगरी ठगी गरेको हो भनी सुरू अदालतमा निजहरूले छुट्टाछुट्टै बकपत्र गरेको देखियो ।

१४. अनुसन्धानमा बुझिएका पीडित व्यक्तिहरूमध्येका प्रदिपप्रसाद चौधरी, इन्द्रजित चौधरी र जोखनीदेवी बकपत्र गर्नको लागि अदालतमा उपस्थित भएको भन्ने देखिँदैन । अनुसन्धानमा काजग तयार गर्ने प्रहरी हवल्दार राजेन्द्र कुँवर र प्रतिवेदक प्र.ना.नि. रामहरि राजभण्डारीले सुरू अदालतमा बकपत्र गरेको देखियो ।

१५. किर्तेतर्फ प्रतिवादी देवनारायण चौधरीलाई १ वर्ष कैद सजाय हुने, ठगीतर्फ प्रतिवादीहरू देवनारायण प्रसाद चौधरी  र उपेन्द्रप्रसाद साह तेलीलाई ६/६ महिना कैद सजाय गरी सुरू फैसलामा कायम भएको बिगो रू.८,२५,०००।– लाई नै बिगो कायम गरी दुवैजना प्रतिवादीहरूबाट दामासाहीले पीडितहरूलाई भराइदिने र ठगीतर्फ दुवै प्रतिवादीलाई बिगोको दामासाहीले जरिवाना हुने ठहर्‍याएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलाउपर प्रतिवादीहरूको पुनरावेदन परेको देखिन नआएकोले सो सम्बन्धमा यसमा विवेचना गरिरहनु परेन । 

१६. सर्वप्रथम पीडितहरूमध्येका प्रदीप चौधरीको रू.५०,०००/-, इन्द्रजित चौधरीको रू.९५,०००/- र जोखनीदेवीको रू.६०,०००/- बिगो ठगी भएकोले सोसमेत ठहर हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर सन्दर्भमा विचार गर्दा, पीडितहरू  प्रदीप चौधरी, इन्द्रजित चौधरीको र जोखनीदेवीले मौकामा प्रतिवादीहरूको विरूद्धमा कागज गरेको देखिए पनि निजहरूले मौकामा गरेको कागजलाई पुष्टि गर्न अदालतमा आई बकपत्र गर्नुपर्ने हुन्छ । मौकामा भएको कागज नै स्वयम्‌मा प्रमाण 

होइन । सो कागजलाई अदालतमा उपस्थित भई सनाखत नगरेसम्म प्रमाणको रूपमा ग्रहण गर्न मिल्दैन भन्ने प्रमाण कानूनको सिद्धान्त रहेको पाइन्छ । त्यसकारण पीडितमध्येका उक्त ३ जना व्यक्तिहरूले अदालतमा आई आफ्नो भनाइ तथा प्रतिवादीहरूले गरेको पोल बयानलाई समर्थन गराउन सकेको देखिँदैन । त्यसैगरी प्रमाण ऐन, २०३१ को दफा १८ मा "कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ" भन्ने कानूनी व्यवस्थासमेत रहेको देखिन्छ । तर उक्त ३ जना पीडितहरू बकपत्र गर्नको लागि अदालतमा उपस्थित भएको देखिँदैन । निजहरूले मौकामा व्यक्त गरेको कुरा साक्षीको रूपमा अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गर्न नसकेको अवस्थामा निजहरूले मौकाको व्यक्त गरेको भनाइलाई प्रमाणमा लिन सकिने अवस्था रहँदैन । अदालतमा उपस्थित नै नभएका उक्त ३ जना पीडितहरूको बिगो पुष्टि हुने अन्य स्वतन्त्र प्रमाण मिसिल संलग्न प्रमाणहरूबाट समेत देखिन 

आउँदैन । त्यसैले निजहरूको बिगो ठहर नभएकोलाई अन्यथा भएको हो भनी मान्न मिल्ने देखिन आएन ।

१७. त्यसैगरी किर्ते प्रकरणमा प्रतिवादीहरू देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेलीसमेत दुवैजना प्रतिवादीको संलग्नता रहेकोमा निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई किर्तेतर्फ सफाइ दिएको र प्रतिवादी देवनारायण चौधरीलाई किर्तेको कसुर ठहर भइसकेपछि मूल सजाय नै नगरी तत्कालीन मुलुकी ऐन, किर्ते कागजको १२ नं. को थप सजाय १ वर्ष कैद मात्र गरेको मिलेन भन्ने वादी नेपाल सरकारको अर्को पुनरावेदन जिकिर सन्दर्भमा विचार गर्दा, मिसिल संलग्न रहेको मिति २०७२।११।१५ को बरामदी मुचुल्कामा मिति २०७२।११।१५ गते प्रतिवादी देवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजको साथबाट जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याडमा लेखिएको जितेन्द्र चौधरीको नामको मिति २०७२।१०।१६ गतेको नियुक्ति पत्र-१ र अभिलेख कायम गरिएको मिति २०७२।१०।२५ को पत्र थान-१, जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याडमा मिति २०७२।१०।२३ मा लेखिएको भगवती चौधरीको नामको नियुक्तिपत्र-१ र मिति २०७२।१०।२९ गतेको अभिलेख कायम गरिएको पत्र थान-१ फेला पारी बरामद गरिएको भन्ने खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ । प्रस्तुत मुद्दामा सरकारी लिखत किर्ते र ठगी गरी दुई किसिमका फौजदारी कसुर कायम गरी अभियोग दाबी प्रस्तुत भएको देखिन्छ । सरकारी लिखत किर्ते गरेको मुद्दामा लिखत कसले किर्ते गर्‍यो सो निर्क्यौल हुन आवश्यक हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी देवनारायण चौधरीले आफूले लिखत किर्ते गरी उपेन्द्रप्रसाद साहले विवादित लिखतहरू दिएको हुँदा पीडितहरूलाई देखाउन र दिन लगेको भन्ने बयान गरे तापनि प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले उक्त पत्रबारे आफूलाई थाहा नभएको भनी इन्कार गरी बयान गरेको देखिन्छ । उक्त लिखत कसले तयार पार्‍यो वा किर्ते गर्‍यो भन्ने तथ्यको खोजी गर्न जरूरी हुन्छ । लिखत किर्ते भन्ने मुद्दा लिखतसम्बन्धी फौजदारी कसुर हो । लिखतसम्बन्धी अपराध गर्ने व्यक्ति प्रत्यक्ष रूपमा नदेखिएको वा अपराध गर्दागर्दै पक्राउ नपरेको अवस्थामा अनुमानको आधारमा फलानाले नै तयार गरेको हो वा दिएको हो भन्न मिल्ने अवस्था हुँदैन । कसैले पोल गरी फलानाले लेखेको वा दिएको भन्दैमा विश्वास गर्नुपर्ने अवस्थासमेत हुँदैन ।  

१८. तत्कालीन मुलुकी ऐन, किर्ते कागजको महलको १ नं. मा "हस्ताक्षर वा औंलाको ल्याप्चे सही निसाना र छाप इत्यादि झुठ्ठा बनाई गरी वा ऐनबमोजिम रीतपूर्वकको सहीछाप भइरहेको अर्कै विषयको सच्चा लिखतमा लेखिएको बेहोरा कुनै तरकीवसँग उडाई अर्कै मतलब निस्कने बेहोरा पारी मिलाई लेख्ने र एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्कै बेहोराको लिखतमा लगाई वा अर्कै बेहोराको लिखत लेख्ने इत्यादि काम गरेकोबाट अर्काको जिउ धन वा हक जाने नोक्सान हुने वा सो केही नभए पनि झुठ्ठा काम गर्ने मानिस आफैँलाई वा अरू कसैलाई फाइदा प्रमाण हुने गरी काम गरेको रहेछ भने त्यस्ता झुठ्ठा कागजबाट काम गरी भइसकेको हवस् वा नहवस् किर्ते गरेको 

ठहर्छ । त्यस्तो किर्ते गर्ने गराउनेलाई र जानी बुझी किर्ते कागजमा बस्ने साक्षी मतियारसमेतलाई बात लाग्छ ।" सोही महलको ७ नं.मा "सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ । काम भइसकेको रहेनछ भने बिगोको आधी जरिवाना हुन्छ ।" त्यसैगरी सोही महलको १२ नं. मा "सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको अरू नम्बरले हुने सजायमा एक वर्ष र उसै अड्डाको कर्मचारीले किर्ते गरेमा दुई वर्ष थप कैद हुन्छ ।" भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ ।

१९. पुरावेदक नेपाल सरकार विरूद्ध प्रत्यर्थी ज्ञानमाया घर्तीसमेत भएको नागरिकता किर्ते मुद्दामा यस अदालतबाट ने.का.प. २०५६,  अङ्क ७,  नि.नं. ६७५८ मा "किर्ते कागजको १ नं. को व्यवस्था हेर्दा कस्तो अवस्था पर्दा किर्ते गरेको ठहर्ने हो भनी स्पष्ट व्यवस्था भएको पाइन्छ । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निसाना र छाप इत्यादि झुठा गरी बनाइसकेको भन्ने तथ्य स्थापित हुनु पर्दछ । जसको सही किर्ते भएको भनिएको हो निज व्यक्तिको सनाखत गराइएको छैन । अड्डाको छाप किर्ते गरेको भन्नेतर्फ त्यस्तो झुठा छाप बरामद भएका छैन । के कुन आधारबाट किर्ते गरेको भन्ने हो सोतर्फ अनुसन्धान अवस्थामै तहकिकात गरी स्पष्ट आधार प्रमाण पुर्‍याउन सक्नुपर्छ......." भन्ने सिद्धान्त प्रतिपादन भई व्याख्यासमेत भएको देखिन्छ ।

२०. उल्लिखित कानूनी व्यवस्था र नजिरसमेतको आधारमा प्रस्तुत वारदातमा हस्ताक्षर वा सही, निसाना र छाप इत्यादि झुठा गरी बनाइसकेको भन्ने तथ्य स्थापित भएको छ । अड्डाको छाप किर्ते गरेको भन्नेतर्फ त्यस्तो झुठा छाप बरामद भएका 

छैन । के कुन आधारबाट के कसले किर्ते गरेको भन्ने हो सोतर्फ अनुसन्धान अवस्थामै तहकिकात गरी स्पष्ट आधार प्रमाण पुर्‍याउन सक्नु पर्दछ । प्रस्तुत मुद्दामा बरामद भएको भनिएका उक्त नियुक्ति पत्रसमेतका सरकारी कागज पत्रहरू प्रतिवादी देवनारायण चौधरीको सँग साथबाट बरामद गरिएको अवस्था छ । प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीको साथबाट उल्लिखित नियुक्ति पत्रसमेतका सरकारी कागज पत्रहरू बरामद गरिएको भन्ने देखिन आउँदैन र सो कागजपत्रहरू तयार गर्दा प्रयोग हुने छापलगायतका सामानहरूसमेत निजको साथबाट बरामद हुन सकेकोसमेत देखिन 

आउँदैन । उक्त पत्रहरू किर्ते गरी तयार गर्ने कार्यमा आफ्नो संलग्नता नरहेको भनी निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले इन्कारी बयान रहेकोसमेत देखिन्छ । उक्त पत्रहरूको वैज्ञानिक परीक्षण गर्दासमेत निजले लेखेको वा पत्रमा भएको दस्तखत यकिन नभएको भन्ने उल्लेख छ । उल्लिखित किर्ते नियुक्ति पत्रसमेतका सरकारी कागजहरू प्रतिवादी देवनारायण चौधरीको सँग साथबाट बरामद भएको स्थितिमा निजले पोल गरेकै भरमा मात्र अन्य स्वतन्त्र प्रमाणबिना प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले नै उक्त पत्रहरू किर्ते गरेका हुन् भनी किर्तेमा कसुर कायम गरी निज प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीलाई समेत सजाय गर्न मनासिव हुने देखिँदैन ।

२१. प्रस्तुत मुद्दामा जाहेरवाला मुक्तिनारायण चौधरीको सूचनाको आधारमा मिति २०७२।११।१५ गते प्रतिवादी देवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजको सँग साथबाट बरामद गरिएका उक्त नियुक्ति पत्रलगायतका सरकारी कागज पत्रहरू निज प्रतिवादी देवनारायण चौधरीले आफ्नो सँग साथमा लिई राखेको अवस्थामा निजको सँग साथबाट बरामद भएको देखिएको हुँदा निज प्रतिवादी देवनारायण चौधरीले नै उक्त पत्रहरू तयार गरेको हो भन्ने तथ्यगत रूपमा स्थापित भएको देखिन्छ । तर प्रस्तुत वारदातमा किर्ते गरी तयार गरेको कागजमा रकमको उल्लेख नभएको र सोबापत लिएको रकम ठगीतर्फ समेत अभियोग दाबी रहेको देखिन्छ । ठगीको कसुरमा सुरू फैसलामा कायम भएको पीडित व्यक्तिहरू मुक्तिनारायण चौधरीको रू.९०,०००।- रामप्रसाद भट्टराईको रू.४५,०००।-, सूर्यप्रसाद चौधरीको रू.१,००,०००।–, राजनारायण चौधरीको आमा भुखलीदेवी थरूनीको रू.१,००,०००।–, उमाशङ्कर प्रसाद चौधरीको रू.१,००,०००।–, रामप्रवेश चौधरीको रू.१,८१,०००।–, राजवीरप्रसाद चौधरीको रू.८०,०००।–, विनोदप्रसाद चौधरीको रू.९०,०००।– र सोहरलाल साहको रू. ३९,०००।– समेत गरी जम्मा बिगो रू.८,२५,०००।– लाई नै बिगो कायम गरी प्रतिवादीहरू देवनारायण चौधरी र उपेन्द्रप्रसाद साह तेलीसमेत दुवैजनाबाट दामासाहीले पीडितहरूलाई भराइदिने र ठगीतर्फ दुवै प्रतिवादीलाई बिगोको दामासाहीले जरिवाना हुने ठहरसमेत भइसकेको अवस्थामा तत्कालीन मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. बमोजिम निज प्रतिवादी देवनारायण चौधरीलाई दोहोरो बिगो कायम गरी सजाय गर्न मिल्ने अवस्थासमेत देखिन आउँदैन ।

२२. अतः विवेचित आधार कारणसमेतबाट सुरू बारा जिल्ला अदालतबाट मिति २०७४।०९।२३ मा भएको फैसलालाई केही उल्टी गरी प्रतिवादीमध्येका देवनारायण चौधरीलाई तत्कालीन मुलुकी ऐन, किर्ते कागजको १ नं. को कसुरमा ऐ. को १२ नं. बमोजिम १ वर्ष कैद सजाय हुने र प्रतिवादी उपेन्द्रप्रसाद साह तेलीले किर्तेतर्फको अभियोग दाबीबाट सफाइ पाउने ठहर्‍याएको, ठगीतर्फको दाबीमा प्रतिवादी देवनारायण प्रसाद चौधरी र उपेन्द्रप्रसाद साह तेलीले ठगीको १ नं. को कसुरमा ऐ. को ४ नं. बमोजिम दुवैजनालाई तजबिजी ६।६ महिना कैद सजाय हुने ठहर्‍याई बिगोको हकमा सुरू बारा जिल्ला अदालतले फैसलामा कायम गरिको बिगो रू. ८,२५,०००।- (आठ लाख पच्चिस हजार) लाई नै बिगो कायम गरी दुवैजना प्रतिवादीहरूबाट दामासाहीले पीडितहरूलाई भराइदिने ठहर्‍याएको र ठगीतर्फ जरिवानाको हकमा तत्कालीन मुलुकी ऐन, ठगीको महलको ४ नं. मा बिगोबमोजिम जरिवाना हुने उल्लेख भई प्रतिवादीहरू दुवैलाई दामासाहीले जरिवाना हुने ठहर्‍याएको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलालाई अन्यथा भएको भनी मान्‍न मिल्ने अवस्था देखिन नआएकोले वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । 

२३. तसर्थ, उल्लिखित आधार र कारणहरूसमेतबाट उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।०७।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । 

२४. तर तत्कालीन मुलुकी ऐन, ठगीको महलको ४ नं. मा "ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा पाँच हजार रूपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने छ" भन्ने कानूनी व्यवस्था रहेको थियो । तत्कालीन मुलुकी ऐनलाई विस्थापन गरी हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) मा "कसैले ठगी गर्न वा गराउन हुँदैन" भन्ने र सोही दफाको उपदफा (३) मा "उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई देहायबमोजिमको सजाय हुने छः- (क) भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना, (ख) आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना, (ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिवाना" भन्ने कानूनी व्यवस्था रहेको छ । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९(२)(ख) मा "कुनै कानूनअन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसुरका मुद्दामा सजाय गर्नुपर्दा सोही कानूनबमोजिम नै गर्नुपर्ने छ । तर कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ" र सोही दफा ३९(२)(ग) मा "कुनै कानूनअन्तर्गत कुनै अदालतबाट भइसकेको सजाय सोही कानूनबमोजिम नै कार्यान्वयन हुने छ । तर त्यस्तो सजाय मुलुकी अपराध संहितामा सोही कसुरमा लेखिएको सजायभन्दा बढी हुने रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय कार्यान्वयन हुने छ" भन्ने कानूनी व्यवस्था रहेको छ ।

२५. उल्लिखित कानूनी व्यवस्थाअनुसार प्रस्तुत मुद्दामा यी प्रतिवादीहरू देवनारायण प्रसाद चौधरी र उपेन्द्र प्रसादसाह तेलीलाई ठगीको कसुरमा कैदको हकमा तत्कालीन मुलुकी ऐन, ठगीको महलको ४ नं. मा भएको कानूनी व्यवस्थाअनुसार अधिकतम पाँच वर्षसम्म कैद र जरिवानको हकमा हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (३) (ग) मा भएको कानूनी व्यवस्थाअनुसार अधिकतम रू.७०,०००।–(सत्तरी हजार रूपैयाँ) सम्म जरिवाना हुने देखिन्छ । निज प्रतिवादीहरू देवनारायण प्रसाद चौधरी र उपेन्द्रप्रसाद साह तेलीको फैसला कार्यान्वयन गर्दा निजहरूको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको मिति २०७५।०७।१३ को फैसलाबमोजिम राखेको कैद जनही ६।६ महिनाको लगत यथावत् कायम गरी जरिवानको लगतसम्म संशोधन गरी जरिवाना जनही रू.७०,०००।– (सत्तरी हजार रूपैयाँ) कायम गर्नु र निज प्रतिवादीहरूमध्येको उपेन्द्रप्रसाद साह तेलीलाई ठगीको कसुरमा भएको कैद ६ (छ) महिना एवं जरिवान रू.७०,०००।–(सत्तरी हजार रूपैयाँ) तथा प्रतिवादी देवनारायण प्रसाद चौधरीलाई तत्कालीन मुलुकी ऐन, किर्ते कागजको महलको १२ नं. बमोजिम भएको कैद वर्ष १ (एक) र ठगीको कसुरमा भएको कैद ६ (छ) महिना एवं जरिवाना रू.७०,०००।–(सत्तरी हजार रूपैयाँ) असुलउपर गर्नु भनी सुरू बारा जिल्ला अदालतमा लेखी पठाइदिनू । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा सहमत छु ।

न्या.सुष्मालता माथेमा

 

इजलास अधिकृत :- नारदप्रसाद भट्टराई 

इति संवत् २०७७ साल जेठ १९ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु