शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४४२६ - कर्तव्य ज्यान

भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११

निर्णय नं. ४४२६    ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४७ सालको फौ.पु.नं. ३८५

फैसला भएको मिति: २०४८।१०।१९।१ मा

पुनरावेदक/प्रतिवादी: जि.प्र.का.कारागार शाखा पाल्पामा बन्दी भई बस्ने हस्तीमा रोका मगर्नी

विरुद्ध

विपक्षी/वादी: टिकाप्रसादको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    प्रतिवादीको उमेर २१ वर्षको युवा महिलालाई सामाजिक लान्छनाबाट बच्नु पर्ने बाध्यताले गर्दा अवान्छित कार्यमा संलग्न हुन वा कुनै प्रलोभनबाट बाध्य हुन पर्ने अवस्था समेत हुँदा निजलाई कानुन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं. बमोजिम आजसम्मको अर्थात ५ वर्ष २१ दिन मात्र कैदको सजायँ गर्नु पर्याप्त हुने ।

(प्रकरण नं. १७)

पुनरावेदिकातर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना (साविक पेज नं. ७९३)

फैसला

न्या.कृष्णजंग रायमाझी

१.     प.क्षे.अ. को फैसला उपर चित्त नबुझी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    मेरो बहिनी हस्तीमा रोक्का मगर्नीले दरवाङ गा.पं. वडा नं. २ ढाडीखर्क बस्ने खिमबहादुर गुरुङको गर्भ बोकेकी रहिछन् । यहि २०४३।९।२२ गते बेथा लागी मरेको जातक बच्चा जन्मेको भनी मैले २०४३।९।२५ गते थाहा पाई जाँदा बहिनी हस्तीमालाई सोधपुछ गर्दा मरेको बच्चा बारीमा जन्मेको हो बच्चालाई त्यही छोडी म सुत्केरी अवस्थामा कमजोरी भएकोले घरमा आई सुतेकी हुँ भनेकीले उक्त बच्चाको खोजतलास गर्दा तोलावाङको पहिरोमा बच्चाको लास फेला परेकोले जाहेर गर्न आएको छु । मृत्यु भवितत्व, कर्तव्य, कालगति के भई मरको हो लास जाँच गरी सदगत गर्ने पूर्जी पाउँ भन्ने टिकाप्रसाद रोक्का मगरको जाहेरी ।

३.    पूर्व अन्दाजी २५ मि. टाढा ठुलो पहिरो दक्षिण अं. ५० गज टाढा तल म्याग्दी खोलाको किनारमा मूल बाटो, यति चार किल्ला भित्रको कांशखरको जंगल भएको पहिरोको भिरमा जातक मृतक बच्चा पूर्व मुख गरी कोल्टो परेको र नाइटो माथि १ वित्ताको निलो टालो रहेको लास केही फुलेको र दुर्गन्ध चलेको, मुखबाट रगत बगेको खुट्टा छाला खुइलिएको अन्य शरीरमा कुनै घाखत नदेखिएको भन्ने २०४३।९।२८ को घटनास्थल विवरण तथा लास जाँच प्रकृति मुचुल्का ।

४.    २०४३।९।२२ गते बेलुका घाम अस्ताउने बेलामा घरदेखि अलिपर खेतमा दिसा गर्न गएको बेला सुत्केरी हुने व्यथा लागेकोले त्यही खेतमा नै बच्चा जन्माएको हो । तुरुन्तै बच्चालाई हेर्दा बच्चा मरिसकेको थियो । मैले जन्माएको बच्चा दरवाङ गा.पं. वडा नं.२ ढाडखर्क बस्ने खिमबहादुर गुरुङको गर्भ हो । मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको हस्तीमा रोक्का मगर्नीले प्रहरीमा गरेको बयान कागज ।

५.    लास पोष्टमार्टम हुँदा मृत्युको कारण टाउकोमा चोट लाग्नुको साथै घाँटी अठिई भएको हो भन्ने मेडिकल अधिकृतको राय ।

६.    २०४३।९।२६ गते तालवाङको पहिरोमा मरेको बच्चाको लास देखेका हौं उक्त मृतक बच्चा हस्तिमा रोक्का मगर्नीले पाएको बच्चा हो भन्ने सुनेका हौं । तर हस्तिमाले मरेको बच्चा पाएको हो वा के हो सो हामीलाई थाहा छैन भन्ने समेतको मिति २०४३।१०।१२ को सरजमीन मुचुल्का ।

७.    सबूद प्रमाण तथा लास पोष्ट मार्टम रिपोर्टको आधारमा प्र.हस्तीमा रोक्का मगर्नीले जीउँदो बच्चा जन्माएको र सो बच्चाको घाँटी अठ्याई कर्तव्य गरी मारी पहिरोमा लगी फालेको प्रष्ट हुन आएकोले निजलाई ज्यानसम्बन्धीको दफा १३ को देहाय ३ अनुसार सजायँ गरिपाउँ भन्ने माग दावी भएको संयुक्त प्रहरी प्रतिवेदन ।

८.    एक वर्ष जति भयो । ढाडखर्क बस्ने खिमबहादुर गुरुङसंग मेरो गीत गाउने, हास ख्याल गर्ने गर्दा निजसंग करणी लिनु दिनु भई २०४३ साल बैशाख देखि मलाई गर्भ रहन गएछ । सो कुरा मैले कसैसंग पनि गरेकी थिइन । ऐ.पौष २२ गते मेरो माइती घरमै डाँडा बारी भन्ने खेतमा बाख्रा बटोर्न भनी घाम डुब्ने बेलामा गएकी अवस्था सुत्केरी हुने व्यथा लागी बच्चा जन्मियो । बच्चा जन्मिदा सास फेरे जस्तो लागेन । रुन पनि रोएन । त्यस बच्चा र सालनाल समेत सोही ठाउँमा छाडी म घरमा आई सुते । त्यही बेला दाजु र बाबु लाम्बेला भन्ने ठाउँमा जग्गा गोठ भएकोले उही बस्ने र आमा बहिनी दरवाङ जाने बाटोमा होटल गर्ने गरी बस्ने हुँदा म मात्र घरमा एक्लै भएकीले कसैसंग कुरा गरिन । प्रहरीमा गरिदिएका बयान कागज मेरो खुशीले गरिदिएको हो, बच्चाको हकमा मैले डाँडाबारी भन्ने ठाउँमा जन्माएकी हुँ पछि हेर्न जाँदा पहिरोमा थियो । कसले किन ठाउँ सारी (साविक पेज नं. ७९४) फ्याँक्यो मलाई थाहा छैन । मैले जन्माएको बच्चा पहिरोमा लगी फालेको होइन मैले मरेको बच्चा जन्माएकोले कर्तव्य गरेको होइन मैले सजायँ पाउनु पर्ने होइन । मेरो कुनै सबूद प्रमाण छैन कानुनले जो ठहर्छ भोग्न तयार छु भन्ने समेत व्यहोराको प्र.हस्तीमा रोक्का मगर्नीले अदालतमा गरेको बयान ।

९.    संलग्न प्रमाणबाट कर्तव्य गरी आफूले जन्माएको बच्चा मारेको ठहरेकाले निज हस्तीमा रोक्का मगर्नीलाई मु.ऐन ज्यानसम्बन्धीको १३(३) नं. ले सर्वश्वसहित जन्मकैद हुने ठहराई अ.बं. १८८ नं. बमोजिम घटी सजायँ हुने राय व्यक्त गरिएको म्याग्दी जिल्ला अदालतको मिति २०४३।१०।२१ को जाहेरी फैसला ।

१०.    विशेषज्ञको रायलाई प्रमाणको आधार बनाई गरेको शुरुको गल्ती फैसला बदर गरी कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.हस्तीमा रोक्का मगर्नीको धवलागिरी अञ्चल अदालतमा परेको पुनरावेदन ।

११.    टाउकोमा चोट लाग्नुको साथै घाँटी अठिई मृत्यु भएको भन्ने मेडिकल अधिकृतको राय भएको र शुरुले लिएको बूँदा प्रमाण समेतबाट शुरुको इन्साफ सदर हुने ठहर्छ सो ठहरे तापनि शुरुले अ.बं. १८८ नं. को राय सम्म गरी बढाएको देखियो । अ.बं. १८८ नं. बमोजिम उक्त अवस्था विचार गर्दा निज प्रतिवादीलाई ऐन बमोजिम सजायँ दिंदा चर्को हुने देखिँदा १० वर्ष कैद गर्ने गरी राय लेखी जाहेर गरी निर्णय गरिदिएको छ भन्ने २०४५।१२।२२।३ को धवलागिरी अं.अ. को फैसला ।

१२.   विशेषज्ञको रायलाई प्रमाणको आधार बनाई गरेको शुरु जि.अ. र ध.अं.अ. को गल्ती फैसला बदर गरी कसूरबाट रिहाई तथा सजायँ घटाई पाउँ भन्ने समेत व्यहोराको हस्तीमा रोक्का मगर्नीको प.क्षे.अ. मा परेको पुनरावेदन ।

१३.   जीउँदो जन्मेको जातकलाई कर्तव्य गरी मारेको भनी जाहेरवाला लगायत कसैले पनि लेखाई दिएको नपाइएको र वादी पक्षबाट निर्विवाद प्रमाणबाट सो कुरा प्रमाणित हुन नआएको तथा मृतक जातक मृतक वा जीउँदो कुन अवस्थामा जन्मेको हो भन्ने प्रष्ट खुल्न नआएको शंकास्पद अवस्थामा प्र.लाई वादी दावी बमोजिम सजायँ गरेको शुरुको सदर गरेको ध.अं.अ. को फैसला फरक पर्ने देखिएकोले अ.बं. २०२ नं. तथा क्षेत्रीय अदालत नियमावली, २०३१ बमोजिम छलफलको लागि पश्चिमाञ्चल क्षेत्रीय सरकारी वकिल कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने प.क्षे.अ. संयुक्त इजलासको आदेश ।

१४.   प्रतिवादीले जन्मेको बच्चालाई छाडी हिंडेकोमा गरेको साविति बयान, पोष्टमार्टम रिपोर्ट लास जाँच मुचुल्काबाट बच्चाको मुखबाट रगत आएको भन्ने देखिन्छ । जन्मेको बच्चालाई पैरोमा लगी निज आफैंले फालेको भन्ने कुरामा शंका लिन पर्ने अवस्था नभएबाट निर्दोष भन्न सकिन्न भन्ने समेत आधारबाट शुरु म्या.जि.अ. ले अ.बं. १८८ नं. को राय साथ ठहर गरेको फैसलालाई सदर राखी गरेको ध.अं.अ. को फैसला मिलेकै देखिन्छ भन्ने समेत व्यहोराको प.क्षे.अ. को फैसला ।

१५.   उक्त प.क्षे.अ. को फैसलामा अपराध प्रमाणित हुन सक्ने किटानी कँहि कतैबाट नभएको लासजाँच प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्ट स्पष्ट बाझिएको विशेषज्ञलाई अनिवार्य रुपमा अदालत समक्ष उपस्थित नगराएको मार्नु पर्ने कारण बारे फैसला पूर्णत मौन रहेको र खिमबहादुर गुरुङलाई अ.बं. ११५ नं. अनुसार बुझ्न पर्नेमा नबुझिएको कारण समेतले मलाई अपराधी प्रमाणित गर्नु पूर्णत अन्यायपूर्ण भएको हुँदा सो प.क्षे.अ. को फैसला बदर गरी मलाई सफाई पाउँ भन्ने समेत व्यहोराको हस्तीमा रोक्का मगर्नीको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिका (साविक पेज नं. ७९५) तर्फबाट उपस्थित हुनुभएका विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले प.क्षे.अ. को फैसला प्रमाणको त्रुटि गरी भएको हुँदा सो फैसला बदर गरी मेरो पक्षले सफाई पाउनु पर्दछ भन्ने समेत गर्नु भएको बहस समेत सुनी प.क्षे.अ.को फैसला मिले नमिलेको के हो सो विषयमा निर्णय दिनु परेको छ ।

१७.   यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी हस्तीमा रोक्का मगर्नीले अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान कागज र अदालतमा भएको बयानमा पनि आफूले बच्चा जन्माएको र सो बच्चालाई जन्मेको ठाउँमा छाडी हिंडेकोमा सावित भई बयान गरेको देखिन्छ । जन्मेको बच्चा मैले हेर्दा मरी सकेको थियो, मैले कर्तव्य गरी मारेको होइन भन्ने अधिकार प्राप्त अधिकारी समक्ष र मरी सकेको बच्चा जन्मेको हो, कर्तव्य गरी मारेको होइन भन्ने समेत अदालतमा प्रतिवादीले जिकिर लिएको देखिन्छ । बच्चा मरेकोे वा जीउँदो थियो भन्ने कुरामा मिसिल संलग्न प्रमाणबाट विचार गर्दा लाश प्रकृति मुचुल्कामा मरेको बच्चाको दुवै ओठको कुनातिरबाट रगत बगेको भन्ने उल्लेख भएको र पोष्ट मार्टम रिपोर्टमा मृत्युको कारण टाउकोमा चोट लाग्नुको साथै घाँटी अठिई भएको भन्ने देखिनुका अतिरिक्त मृतक लासको घाँटीको वरीपरी औंशा परेको (Magget around the neck) भन्ने उल्लेख भएकोबाट मरेको बच्चा जन्मिएको भन्न मिल्ने अवस्था देखिएन । साथै सो बच्चा ९ महीना पूरा भै जन्मिएको भन्ने निज प्रतिवादीकै बयानबाट देखिन आउँछ । जहाँसम्म बच्चा खेतमा जन्मेको भन्ने निज प्रतिवादीको भनाई रहेको छ, त्यसमा बच्चाको लास खर र काँसमात्र भएको पहिरामा बरामद भएको पाइन्छ । मरेको बच्चालाई अरु मानिसले खेतबाट पैरोमा लगी फाल्ने अवस्था पनि रहँदैन र जंगली पशुले लग्यो कि भन्नलाई बच्चाको लास सग्लै भएबाट पनि अनुमान गर्न सकिन्न । लोक लाजबाट बच्न जीउँदो नवजात शिशुलाई निज हस्तीमा रोक्का मगर्नीले कर्तव्य गरी मारी आफैंले खर र काँस भएको पहिरोमा लगी फालेको होइन भन्न सकिने अवस्था देखिएन । यस स्थितिमा प्रतिवादीलाई कसूरदार ठहराई सजायँ गर्ने गरेको शुरु जिल्ला अदालत र धवलागिरी अञ्चल अदालतको फैसलाई सदर गरेको प.क्षे.अ. को फैसला मनासिब ठहर्छ । सजायँको हकमा निज प्रतिवादीको उमेर २१ वर्षको युवा महिलालाई सामाजिक लान्छनाबाट बच्नु पर्ने बाध्यताले गर्दा अवान्छीत कार्यमा संलग्न हुन वा कुनै प्रलोभनबाट बाध्य हुन पर्ने अवस्था समेत हुँदा निजलाई कानुन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं. १८८ नं. बमोजिम आजसम्मको अर्थात ५ वर्ष २१ दिन मात्र कैदको सजायँ गर्नु पर्याप्त हुन्छ । अरु कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

प्र.हस्तीमा रोक्का मगर्नी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ५ वर्ष २१ दिन मात्र कैदको सजायँ हुने ठहरेकोले निज प्र.मिति २०४३।९।२९ देखि प्रहरी हिरासतमा रही आजका मितिसम्म जम्मा ५ वर्ष २१ दिन कैदमा बसी कैद भुक्तान भइसकेको देखिएकोले अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए अविलम्ब थुनाबाट छाडी दिनु भनी लेली पठाउनु शुरु जिल्ला अदालतले राख्ने गरेको सर्वश्वसहित जन्मकैदको लगत कट्टा गरी कैद वर्ष ५ दिन २१ को लगत राख्नु भनी शुरु म्याग्दी जिल्ला अदालतमा लगत दिनु भनी का.जि.अ. मा लेखी पठाउनु....१, पुनरावेदन रोहबाट नै प्रस्तुत मुद्दा किनारा भएकोले प्रस्तुत मुद्दाको साधकको लगत कट्टा गरी दिनु......२, प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु.....३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

इति सम्वत् २०४८ साल माघ १९ गते रोज १ शुभम् ।

 

(साविक पेज नं. ७९६)

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु