निर्णय नं. १०६१४ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री कुमार रेग्मी
फैसला मिति : २०७७।३।३१
०७५-CR-०२१९
मुद्दा: कर्तव्य ज्यान
पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका-३ बस्ने हाल कारागार कार्यालय, डिल्लीबजारमा कैदमा रहेका पारस भनिने अभिषेक कोइराला
विरूद्ध
विपक्षी / वादी : कपिलमणि रेग्मीको जाहेरीले नेपाल सरकार
आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुनसकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने ।
(प्रकरण नं.७२)
मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घटना घटेको समयमा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि गरेको हुनुपर्दछ । डाक्टरको त्यस्तो रायलाई घटना घटाउनु अघिपछि र घटना घटाएको समयको प्रतिवादीको व्यवहार गतिविधिले समेत थप पुष्टि गरेमा मात्र कानूनन: defense of insanity लाई स्वीकार्य मान्नुपर्ने ।
(प्रकरण नं.७५)
मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता नमानिने र अपराधबाट उन्मुक्ति दिन नसकिने ।
(प्रकरण नं.७७)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री लभकुमार मैनाली तथा विद्वान् अधिवक्ताद्वय श्री ज्योती बानिया र श्री देवी रेग्मी
विपक्षी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७१, नि.नं.९१५८
ने.का.प.२०६५, नि.नं.८०२९
ने.का.प.२०६४, नि.नं.७८७१
ने.का.प.२०४६, नि.नं.३९३३
ने.का.प.२०४६, नि.नं.३८४८
ने.का.प.२०४५, नि.नं.३४०७
ने.का.प.२०४४, नि.नं.२९७८
सम्बद्ध कानून :
मुलुकी अपराध संहिता, २०७४
प्रमाण ऐन, २०३१
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री विदुर कोइराला
भक्तपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने
मा. न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी
उच्च अदालत पाटन
फैसला
न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ ।
संक्षिप्त तथ्य
जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित पूर्वमा विष्णु कुटुको जग्गा, पश्चिममा एकमणि श्रेष्ठको जग्गा, उत्तरमा पुरूषोत्तम नेपालको खाली जग्गा र दक्षिणमा सागबारी गठ्ठाघर जाने कच्ची सडक यति चारकिल्लाभित्र रहेको पूर्व मोहडा भएको चार तल्ले आनन्दसिंह भाटको पक्की घर रहेकोमा सो घरको पूर्वतर्फ रहेको काठको मुलढोकाबाट भित्र प्रवेश गरी सिँढी चढ्दा सिँढीमा रगत जस्तो रातो देखिने टाटा रहेको दोस्रो तलाको उत्तरपूर्वको कोठामा प्रवेश गर्दा उक्त कोठामा हरियो रंगको कार्पेट बिछाएको अवस्थामा रहेको, ढोकाबाट ९ फिटको दूरीमा उत्तरतर्फ बक्स पलङ्ग रहेको, ढोकाबाट ११ फिट ४ इन्चको दूरीमा मासु जस्तो पदार्थ रहेको, ढोकाबाट १५ फिट ८ इन्चको दूरीमा रगत जस्तो रातो पदार्थ आलो अवस्थामा रहेको, १५ फिट ४ इन्चको दूरीमा हड्डीको टुक्रा रहेको, ढोकाबाट पूर्वतर्फ १६ फिटको दूरीमा काठको दराज रहेको, बक्स पलङको दक्षिणतर्फ चौडाई ४ फिट लम्बाई ६ फिट रहेको रातो कार्पेट रहेको, सो कार्पेटको पूर्वतर्फमा रगत जस्तो रातो पदार्थ लागेको, ढोकाबाट ११ फिट ३ इन्च दक्षिणतर्फ टाउकोको छालासहित कपाल भएको मासुको टुक्रा रहेको, ढोकाबाट दक्षिणतर्फ ८ फिटको दूरीमा कालो हाते ब्रिकफेस रहेको बक्स पलङमाथि Samsung ट्याप्लेट रहेको, ढोकाबाट १० फिट १० इन्चको दूरीमा स्टिलको कचौरामा सेतो लिटो (पदार्थ) रहेको, कोठाको चौडाई ११ फिट २ इन्च, लम्बाई १५ फिट रहेको सो कोठाको भित्ताहरूमा रगत जस्तो रातो पदार्थ लागेको अवस्था रहेको, बक्स पलङमा विस्तारा बिछाएको रातोसेतो ब्लयाङ्केट गुटुमुटु अवस्थामा रहेको, सो कोठाको पश्चिमतर्फ ट्वाइलेट रहेको, कार्पेटमा लागेको रगत जस्तो पदार्थ कानूनबमोजिम प्रहरीले उकाई लिई गएको भन्नेसमेत बेहोराको मिति २०७४।१।२४ को घटनास्थल प्रकृति मुचुल्का ।
जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित पूर्वमा विष्णु कुटुको जग्गा, पश्चिममा एकमणि श्रेष्ठको जग्गा, उत्तरमा पुरूषोत्तम नेपालको खाली जग्गा र दक्षिणमा सागबारी जाने कच्ची सडक यति चारकिल्लाभित्र आनन्दसिंह भाटको चार तल्ले पूर्व मोहडा भएको पक्की घर रहेको सो घरको दक्षिण पश्चिम कुनामा पूर्वपश्चिम फैलिएको पाँच फिट आठ इन्च चौडाई दश फिट दश इन्च लम्बाई भएको आयातकार फुलक्यारी (फुलाबारी) मा टुप्पोको भाग जमिनमा गाडिएको अवस्थामा काठको बिँड भएको फलामे खुकुरी रगत जस्तो पदार्थ लागेको अवस्थामा रहेको, सो खुकुरीलाई सुरक्षितसाथ निकाली हेर्दा खुकुरीको टुप्पो ४ इन्च जमिनमा गाडिएको अवस्थामा रहेकोले माटो लागेको खुकुरीको काठको बिँड ५ इन्च रहेको र फलामको भाग १६ इन्च भएको रगत जस्तो रातो पदार्थ लागेको खुकुरी थान-१ बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७४।१।२४ को खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार पूर्वमा सन्तोष खतिवडाको पाँचतले पक्की घर, पश्चिममा कुमार बरालको चारतले पक्की घर, उत्तरमा खाली जग्गा दक्षिणमा कौशलटार चोक तथा बालकोटतर्फ जाने बाटो यति चारकिल्लाभित्र स्थित उमा कोइरालाको साँढे तीनतल्लो पक्की घर रहेको उक्त घरको तेस्रो तलाको उत्तर पश्चिमतर्फको कोठामा जिल्ला कास्की पोखरा ५ स्थायी वतन भएका पारस भन्ने अभिषेक कोइराला बस्ने कोठा रहेको सो कोठाभित्र प्रवेश गरी हेर्दा कोठाको पूर्व दक्षिणतर्फको कुनामा रहेको भित्र बक्स पलङको सिरानीतर्फको उत्तरी कुनाको भागमा १५ इन्च लम्बाई भएको कालो र कलेजी रङको दाप (खुकुरीको दाप) झुन्ड्याइएको अवस्थामा रहेको, उक्त कोठाको पश्चिम दक्षिण कुनामा काठको दराज रहेको, सो दराजको तल भुइँको भागमा पाइन्ट सर्टलगायतका सामान कपडा यत्रतत्र छरिएको सो बेडमा सिरक दुइवटा रहेको र सोही बक्सपलङको सिरानीतर्फको घर्रामा अभिषेक कोइरालाको राहदानी थान १, लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लास्टिकमा पोको पारेको अवस्थामा तौल गर्दा १३ ग्राम बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७४।१।२४ को खानतलासी तथा बरामदी
मुचुल्का ।
उपर्युक्त सम्बन्धमा यस कार्यालयको मौखिक आदेशानुसार मिति २०७४।१।२४ गते अन्दाजी बिहान ०७:०० बजेको समयमा जिल्ला झापा चागनडुवरा घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित आनन्दसिंह भाटको घरमा डेरा गरी बस्ने सौरभकुमार सुवेदीलाई डेरा कोठामा ऐ. कौशलटार डेरा गरी बस्ने वर्ष २४ को पारस भन्ने अभिषेक कोइरालाले धारिलो हतियार प्रहार गरी घाइते बनाई उपचार गर्ने क्रममा बि.एण्ड.बि. अस्पताल लैजाँदै गर्दा मृत्यु भएको, घटनाको अनुसन्धानको क्रममा वारदातपश्चात् फरार भएका जिल्ला कास्की पोखरा उपमहानगरपालिका वडा नं ५ पस्याङचोक घर भई जिल्ला भक्तपुर ठिमी नगरपालिका वडा नं.-३ कौशलटार बस्ने वर्ष २४ को पारस भन्ने अभिषेक कोइरालालाई पिछा गर्दै जाने क्रममा ऐ. मितिमा जिल्ला धादिङ, गजुरी स्थित राजमार्गमा फेला पारी निजको साथमा रहेका अपराधसँग प्रमाण लाग्ने सामानसहित तत्कालै पक्राउ गरी दाखिला गरेको छु । कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्र.नि. पुरूषोत्तम सिलवाल, महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको मिति २०७४।१।२४ को प्रहरी प्रतिवेदन ।
मिति २०७४।१।२४ गते जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-६ स्थित महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरको प्राङ्गणमा पारस भन्ने अभिषेक कोइराला चढेको बा. ६० प ४३१६ नं. को निलो सेतो रङको एन.एस. मोटरसाइकल थान-१, पारस भन्ने अभिषेक कोइरालाको साथमा रहेको झोला खानतलासी गर्दा रगत जस्तो रातो पदार्थ लागेको खरानी रङको ज्याकेट थान-१, रगत जस्तो रातो पदार्थ लागेको खैरो रङको हाफ पाइन्ट थान-१, अभिषेक कोइरालाको नाउँमा जारी भएको ०८–१४४६०४ नं.को सवारी चालक अनुमतिपत्र थान-१, अभिषेक कोइरालाका नाउँको ०८९३१७२५ नं.को राहदानी थान-१, बा ६० प ४३१६ नं. को मोटरसाइकलको ब्लु बुक थान-१, अभिषेक कोइरालाका नाउँको माछापुच्छ्रे बैंकको ए.टि.एम. कार्ड थान-१, CORGT-GT-18262 मोडेलको सेतो रङको सामसुङ मोबाइल थान-१, एच.पि.कम्पनीको ल्यापटप थान-१, रगत जस्तो रातो पदार्थ लागेको सेतो निलो रङको जुत्ता जोर-१, TISSOT लेखिएको घडी थान-१, अभिषेक कोइरालाको नागरिकता थान-१ बरामद भएको भन्नेसमेत बेहोराको मिति २०७४।०१।२४ को खानतलासी तथा बरामदी मुचुल्का ।
जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं.१७ स्थित बि.एण्ड.बि. अस्पतालको शव गृहभित्र पश्चिम टाउको पूर्व खुट्टा भई माथि कोरा कपडाले छोपिएको मृतक सौरभ सुवेदीको लास रहेको, सो लासमाथिको कोरा कपडा हटाई उल्टाई पल्टाई हेर्दा मृतकको टाउको पछाडि धारिलो हतियारले प्रहार गरी भित्रको गिदी जस्तो सेतो पदार्थ र पछाडिको मासुसहितको भाग झुन्डिएको अवस्थामा रहेको, सो मृतक लासको दाहिने हातको हत्केलाभन्दा मुनि पूरै छिनी पाँचवटै औँलासहितको हत्केला पेटमाथि रहेको, बायाँ हातको कुहिनादेखि ८ इन्चमुनिको भागमा समेत धारिलो हतियारले काटी चारओटा औँला एकातर्फ र बुढी औँला एकातर्फ झुन्डिएर रहेको भन्नेसमेत बेहोराको मिति २०७४।१।२४ गतेको लास जाँच मुचुल्का ।
मेरो सहोदर जेठान दाइको छोरा वर्ष ३४ को सौरभ सुवेदी जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघरमा डेरा गरी बस्दै आएका थिए । सौरभ सुवेदी बसेको घरडेरानजिकै पारस कोइराला पनि घर बनाई बस्दै आएका
थिए । मलाई जानकारी भएसम्म पारस कोइराला र सौरभ सुवेदी नजिकका नातेदार थिए । निजहरूको घरपरिवारमा कुनै रिसइवी वैरभाव भएको मलाई थाहा छैन । पारस कोइराला र सौरभ सुवेदीबिचमा व्यक्तिगत कटुता इवी भए मलाई थाहा जानकारी छैन । आज मिति २०७४।१।२४ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा सौरभ सुवेदी परिवारसहित बस्ने डेरा कोठामा पारस कोइराला प्रवेश गरी सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ भनी सौरभ सुवेदीकी श्रीमती प्रतिक्षा सुवेदीले फोनबाट जानकारी गराएकोले म तत्कालै घटनास्थलमा गई घाइतेलाई उपचारको लागि अस्पताल लैजाने व्यवस्था मिलाई बुझ्दा अन्यायी पारस कोइरालाले पूर्वतयारीका साथ हाल नम्बर नखुलेको मोटरसाइकलमा खुकुरीसाथ आई घाइतेको डेरा कोठामा प्रवेश गरी कोही कसैलाई केही नभनी साथमा ल्याएको खुकुरीले अन्धाधुन्द रूपमा सौरभ सुवेदीमाथि खुकुरीले प्रहार गरेको
रहेछन् । सो खुकुरी प्रहारबाट सौरभ सुवेदीको दाहिने हात पूरै छिनेको, बायाँ हात पनि ७५ प्रतिशत काटिएको, टाउकोको पछाडिको भागमा पटकपटक खुकुरी प्रहार गरी छियाछिया भएको अवस्थामा रहेको देखी बुझी घाइतेलाई बि.एण्ड.बि. अस्पतालमा ल्याई देखाउँदा निजको मृत्यु भइसकेको भन्ने जानकारी पाएकोले लास सोही अस्पतालमा सुरक्षित राखी यो जाहेरी गर्न आएको छु । सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मार्ने निज कर्तव्यवाला पारस कोइरालालाई पक्राउ गरी कानूनबमोजिम कडा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कपिलमणि रेग्मीको मिति २०७४।१।२४ गतेको जाहेरी दरखास्त ।
प्रतिवादी पारस कोइरालाले मैले केही समयअगाडि स्ट्रेसको औषधी सेवन गरेको थिएँ, हाल मेरो शारीरिक तथा मानसिक अवस्था ठिक छ, सोधिएको प्रश्नको जवाफ दिनसक्छु भनी आफ्नो र परिवारको पूरै विवरण खुलाई मृतक सौरभ सुवेदी मेरो मामाको छोरा दाइ नाता पर्ने हुन चिनजान थियो, निजसँग मेरो पटकपटक विवाद भएको थियो, विगत डेढ वर्षदेखि कौशलटार स्थित घर बनाई परिवारसहित बस्दै आएका थियौं । मेरो आमाको तीनजना दाजुभाइमध्ये मेरो जेठो मामाको छोरा मृतक सौरभकुमार सुवेदी जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ गठ्ठाघरमा डेरा लिई बस्दै आउनुभएको थियो । हामीहरूको आवतजावत र राम्रै सम्बन्ध थियो । निज मृतक सौरभकुमार सुवेदी मेरो घरमा गई मेरो सानो दिदी सुदिक्षा कोइरालासँग अश्लिल शब्द प्रयोग गरी दुवैजना कुरा गर्दथे । मलाई मनमनै रिस उठिरहेको हुन्थ्यो । घटना घटेको अन्दाजी एक महिनाअगाडि मेरो मामा दिलिप सुवेदीले मलाई बाटोमा भेटी तिमी र तिम्रो सानो दिदी सुदिक्षा कोइरालासँग शारीरिक सम्बन्ध गर्नको लागि सौरभकुमार सुवेदीले उत्प्रेरित गराई दिन्छ रे भनेपश्चात् मलाई सौरभकुमार सुवेदीसँग रिस उठी फ्रेस हुनका लागि मैले गाँजा सेवन गर्ने भएको हुँदा गाँजा सेवनगरी घरतर्फ फर्कें । सोही समयदेखि मैले सौरभलाई कसरी मार्ने भन्ने सोची समय समयमा निजको डेरा कोठामा समेत निगरानी गर्न थालेँ । मैले करिब एक वर्ष अगाडिदेखि नराम्रो सपना देख्न थालेको हुँदा कुनै हतियार सिरानीमुनि राखी सुत्यो भने राम्रो हुन्छ भन्ने सुनेको हुँदा म आफैँले काठमाडौं स्थित पसलबाट खुकुरी किनी ल्याई सिरानीमा राखेको
थिए । कान्छो मामा दिलीप सुवेदीले मलाई भनेको कुरा सम्झी मेरो सिरानीमा राखेको खुकुरीले सौरभलाई मार्ने योजना बनाई समय समयमा धार लगाउने काम गर्दथेँ । निजलाई मार्न मौका छोपिरहेको थिएँ । मिति २०७४।१।२३ गते साँझको समयमा निजको डेरा कोठामा गएकोमा सौरभकुमार सुवेदीलाई डेरा कोठामा नभेटेपछि म फर्केर आफ्नो घरमा गएँ । सुत्ने बेलामा रातभरि निजलाई मार्ने योजना बनाई मिति २०७४।१।२४ गते बिहान अन्दाजी ०६:३० बजेतिर निज सौरभकुमार सुवेदी डेरा कोठामा छ, छैन भनी हेर्न जाँदा निजको कार पार्किङ स्थलमा देखेकोले निज डेरा कोठामा नै छन् भन्ने पक्का भई म आफ्नो घरकोठामा गई कपडाहरू, पासपोर्ट, ल्यापटप तथा अन्य कागजातहरूसमेत झोलामा राखेँ । निजलाई मारिसकेपछि सोही ठाउँबाट भाग्नलाई सो सामानसमेत रहेको झोला बा. ६० प ४३१६ नं. को मोटरसाइकलमा राखी सिरानीमुनिको नाङ्गो खुकुरी झिकी साथमा लगी निजको डेरा कोठा अगाडि गई मोटरसाइकल र झोला बाहिरै राखी मैले लगेको खुकुरी ज्याकेटभित्र लुकाई लगी सौरभ कहाँ छ भनी खोज्दै जाँदा निजलाई निजकै कोठामा बच्चालाई लिटो खुवाइरहेको देख्नासाथ मैले लगेको खुकुरीले निजको टाउकोमा प्रहार गर्दा निजले दुवै हातले छेक्न खोज्दा निजको दुवै हात
काटियो । तैपनि मैले निजको टाउकोमा प्रहार गरिरहँदा ऊ भुइँमा ढलेपछि म खुकुरीसहित बाहिर निस्कँदै गर्दा निजको श्रीमती प्रतिक्षा शर्मा सुवेदी र सो घरमा काम गर्ने महिलालाई देखी निजहरूलाई खुकुरी देखाई कोही नबोल बोलेमा मारी दिन्छु भनी म हतार हतार बाहिर निस्की उक्त खुकुरी फुलबारीमा फाली गेटबाहिर निस्की मैले ल्याएको झोला बोकी मेरो बा. ६० प ४३१६ को मोटरसाइकल चढी त्यहाँबाट भागी सुन्धारा, काठमाडौं स्थित रहेको एउटा गेष्टहाउसमा गई रगत लागेको कपडा बदली, अर्को कपडा लगाई उक्त रगत लागेको कपडाहरू सोही झोलामा राखी त्यसपछि म लुकिछिपी बस्नको लागि इन्डियातर्फ जान उक्त मोटरसाइकलमा चढी थानकोट हुँदै जाने क्रममा धादिङ गजुरी स्थित प्रहरी टोलीले फेला पारी पक्राउ गरी ल्याएको हो । उक्त मेरो साथबाट बरामद भएको र घरकोठाबाट बरामद भई आएको लागु औषध गाँजा मैले आफैँ सेवन गर्ने भएको हुँदा धुलिखेलबाट ल्याएको हुँ । वारदात घटेको घरनजिकै रहेको फुलबारीबाट बरामद भई आएको रगत जस्तो रातो पदार्थ लागेको खुकुरी मैले सौरभकुमार सुवेदीलाई प्रहार गरेको खुकुरी हो, देखे चिनेँ । उक्त वारदातमा प्रयोग गरिएको उक्त खुकुरीको दाप मैले मेरो कोठाको बक्स पलङको छेउतर्फ झुन्ड्याई राखेकोमा बरामद भई आएको हो । बरामदी मुचुल्कामा उल्लिखित दशीको सामानहरू मेरै साथबाट बरामद भएका हुन् । उक्त सामानहरू देखाउँदा देखेँ, चिनेँ सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०७४।२।३ मा गरेको बयान ।
मैले सौरभ सुवेदीको कोठामा काम गर्न थालेको ५ महिनाजति भयो । मिति २०७४।१।२३ गते सौरभ सुवेदीको आमाले भान्जाबाबु आउनुभएको थियो केही नबोली जानुभयो भनी भन्नु भएको
थियो । निजले को लाई भन्नुभएको थियो मलाई थाहा भएन मैले सोधखोज पनि गरिन । मिति २०७४।१।२४ गते अन्दाजी ०६:३० बजे म काममा आउँदै गर्दा घरअगाडि बाटोमा सौरभ सुवेदीका बाबा र आमालाई भेटेको थिएँ । उहाँहरू अस्पताल जान भनी हिंड्नुभएको रहेछ । त्यसपछि म सौरभ सुवेदीको घरकोठामा पुगी आफ्नो काम गर्न थालें । म र सौरभ सुवेदीको श्रीमती प्रतिक्षा सुवेदी भई भान्साकोठामा खाना बनाउनेमा काम गर्न थाल्यौँ । सौरभ सुवेदी अर्को कोठामा छोरालाई लिटो खुवाउँदै हुनुहुन्थ्यो । यस्तैमा हामी खाना बनाउँदै गर्दा सौरभ सुवेदी बसेको कोठाको ढोकाको आवाज सुनी दुवैजना कोठाबाट बाहिर निस्केर निजहरू सुत्ने कोठाको ढोकाबाहिर आइपुग्दा पारस भन्ने अभिषेक कोइरालाको हातमा रगत लत्पतिएको नाङ्गो खुकुरी थियो । निज उक्त खुकुरी हातमा नै लिएर भागेपश्चात् प्रतिक्षा सुवेदी दौडिँदै कोठाभित्र गई रगताम्य अवस्थामा निजको छोरालाई बोकेर रूँदै कराउँदै बाहिर आएपछि हामी दुवैजनाले हारगुहार मागी आफन्तलाई सम्पर्क गरेपछि आफन्तहरू आई कपिलमणी रेग्मीसमेत भई धारिलो हतियारको प्रहारबाट शरीरको विभिन्न भागमा चोटपटक लागी सख्त घाइते भएका सौरभ सुवेदीलाई उपचारको लागि बि.एण्ड.बि. अस्पताल लगिएकोमा निजको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ । सौरभ सुवेदीलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मार्ने पारस भन्ने अभिषेक कोइराला नै हुन्, देखी चिनी सनाखत गरिदिएँ । निजले के कति कारणले गर्दा सौरभ सुवेदीलाई कर्तव्य गरी मारे मलाई थाहा
भएन । निज प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाउपर कानूनबमोजिम हदैसम्मको कारबाही होस् भन्नेसमेत बेहोराको भवानी उप्रेतीले मिति २०७४।२।७ मा मौकामा गरिदिएको कागज ।
प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा घटना घटेको अन्दाजी एक महिनाअगाडि मेरो कान्छो मामा दिलिप सुवेदीले मलाई बाटोमा भेटी तिमी र तिम्रो सानो दिदी सुदिक्षा कोइरालासँग शारीरिक सम्बन्ध गर्नको लागि सौरभकुमार सुवेदीले उत्प्रेरित गराइदिन्छ रे र सोही रिसइवीको कारणले सौरभकुमार सुवेदीलाई कर्तव्य गरी मारेको हुँ भनी बयानमा खुलाएका हुँदा के कसो भएको हो भनी सोधनी हुँदा मृतक सौरभकुमार सुवेदी दाइको छोरा हुन् । निजको चालचलन राम्रो र अनुशासित थियो । पारस भन्ने अभिषेक कोइराला माइली दिदीको छोरा हुन् । म झापामा नै बस्छु । कहिलेकाहीँ काम विषेशले मात्रै काठमाडौं जाने आउने क्रममा भक्तपुरमा आफन्तहरू बस्ने हुँदा कहिले मृतक सौरभकुमार सुवेदीको डेरा कोठामा कहिले माइली दिदी र कहिले बहिनीको घरमा बस्ने गर्दथेँ । करिब ३, ४ महिनाअगाडि निजको परिवार बुबा आमासँगै भएको समयमा पारस भन्ने अभिषेक कोइरालालाई खाली नबस काममा व्यस्त हुनुपर्छ, आफ्नै घरमा सटर खाली छ, कुनै व्यवसाय गर भनी सम्झाउँदा मलाई सबै थाहा छ, सम्झाउन पर्दैन भनी झर्केका थिए । भान्जा पारस भन्ने अभिषेक कोइरालाले के कति कारणले उक्त बयान दिएका हुन् थाहा भएन । निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको दिलीपकुमार सुवेदीले मिति २०७४।२।७ मा मौकामा गरेको कागज ।
मृतक सौरभ सुवेदीसँग मेरो विगत ४ वर्षअगाडि परम्परागत रूपमा मागी विवाह गरी परिवारसँग रहँदै बस्दै आएको थिएँ । हामीबाट एक छोराको जायजन्म भएको छ । हामीसँग सासू ससुरा सँगै
बस्नुहुन्थ्यो । पारस भन्ने अभिषेक कोइराला मेरो श्रीमान्को माइली फुपूको छोरा हुन् । पारस भन्ने अभिषेक कोइराला कहिलेकाहीँ हाम्रो डेरा कोठामा आउने जाने गरेको, म र मेरो श्रीमान् सौरभकुमार सुवेदी माइली फुपूको घरमा जाँदा निजसँग समेत भेटघाट हुन्थ्यो । हामीहरूबिच राम्रै सम्बन्ध थियो । मिति २०७४।१।२४ गते बिहान उठेँ । सासूले म बुबाको आँखा जँचाउन जान्छु तिमी खाना बनाऊ भनी दुवैजना डेराबाट निस्कनुभयो । म निस्किएर भान्साकोठामा गएँ । दाल
बसालेँ । श्रीमान्लाई चिया र छोरालाई लिटोसमेत बनाएर श्रीमान्लाई दिई श्रीमान्ले बच्चालाई लिटो खुवाउँदै हुनुहुन्थ्यो । म भान्साकोठातिर जाँदा मेरो डेरा कोठामा काम गर्नको लागि राखेको भवानी उप्रेती आइपुग्नुभयो । आएपछि म र भवानी उप्रेती मिलेर खाना बनाउँदै गर्दा श्रीमान् भएको कोठाको ढोकाको आवाज सुनेर हामी आउँदा हामीहरू सुत्ने कोठाको ढोकाको बाहिर पारस भन्ने अभिषेक कोइरालाको हातमा रगत लत्पतिएको नाङ्गो खुकुरी देखेपश्चात् निजले हामीलाई “ए कोही नबोल” भनी धम्काएर भाग्यो । दौडिँदै कोठाभित्र पस्दा श्रीमान् रक्ताम्य अवस्थामा देख्दा श्रीमान्को श्वास चलिरहेको र छोरासमेत रक्ताम्य अवस्थामा
थियो । छोरालाई बोकेर बाहिर निस्किई हार गुहार मागी कान्छी फुपू र मेरो बुबालाई फोन गरेर बोलाएपछि आफन्तहरू तत्कालै मेरो कोठामा आई कान्छी फुपूको श्रीमान् कपिलमणि रेग्मीसमेतले श्रीमानलाई बि.एण्ड.बि. अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको हो । उक्त समयमा म शोकाकुल अवस्थामा रहेको हुँदा मेरो कान्छी फुपूको श्रीमान कपिलमणी रेग्मीले जाहेरी दरखास्त दिनुभएको हो । मेरो श्रीमान्लाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी मार्ने पारस भन्ने अभिषेक कोइरालालाई देखाउँदा देखी चिनी सनाखत गरिदिएँ । निजउपर कानूनबमोजिम कडाभन्दा कडा कारबाही होस् भन्ने बेहोराको प्रतिक्षा सुवेदीले मिति २०७४।२।७ मा मौकामा गरेको कागज ।
प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराउँदा मृतक सौरभकुमार सुवेदी मेरो घरमा गई मेरो सानो दिदी सुदिक्षा कोइरालासँग अश्लील शब्द प्रयोग गरी दुवैजना कुरा गर्दथे भनी बयानमा खुलाएका हुँदा के कसो हो भनी सोधनी हुँदा मृतक सौरभकुमार सुवेदी जेठो मामाको छोरा हुन् । पारस भन्ने अभिषेक कोइराला मेरो सहोदर भाइ हो । मिति २०७४।१।२४ को अन्दाजी ०७:०० बजेको समयमा म घरमा नै सुतिरहेको
थिएँ । आमाले मलाई अचानक उठाई सौरभलाई पारसले काटेर रगताम्य बनाई अस्पतालतर्फ लगेको छ रे भनेपश्चात् थाहा पाएँ । मृतक सौरभकुमार सुवेदीको व्यवहार राम्रो तथा अनुशासित थियो । पारसले अपराध गरिसकेपछि आफूले गरेको अपराधबाट बच्नका लागि र आपराधिक मनोभावनालाई अन्यन्त्र मोड्नको लागि उक्त बयान दिएको हुन सक्छ । पारस भन्ने अभिषेक कोइरालाले के कति कारणले उक्त बयान दिएका हुन् थाहा भएन । निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको सुदिक्षा कोइरालाले मिति २०७४।२।७ मा मौकामा गरेको कागज ।
सौरभकुमार सुवेदी मेरो घरसँगै डेरा कोठा लिई बस्ने भन्ने घटना घटेपश्चात् मात्रै थाहा पाएको हुँ र पारस भन्ने अभिषेक कोइरालालाई देखेको तथा चिनेको पनि छैन । मिति २०७४।१।२४ गते अन्दाजी ०७:०० बजेको समयमा म घरमा सुतिरहेको
थिएँ । घरबाहिर हो–हल्ला सुनी बाहिर निस्किई बुझ्दा छिमेकमा डेरा कोठा लिई बस्ने सौरभकुमार सुवेदीलाई काटेको छ भन्ने सुनी निजको डेरा कोठामा जाँदा सौरभकुमार सुवेदी रगताम्य अवस्थामा निजको एउटा हात शरीरबाट छुटेको र टाउकोमा चोट देखिई मसमेत भई निज घाइते सौरभकुमार सुवेदीलाई निजकै कारमा राखी मैले कार चलाई बि.एण्ड.बि. अस्पताल लगेकोमा डाक्टरले घाइतेको मृत्यु भइसकेको छ भनी बताएका हुन् । निज पारस भन्ने अभिषेक कोइरालाउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको संजयकुमार तिमल्सिनाले मिति २०७४।२।७ मा मौकामा गरेको कागज ।
सौरभकुमार सुवेदीको मृत्युको कारण MULTIPLE CHOPPED INJURIES TO THE HEAD AND BOTH UPPER LIMB भन्ने बेहोराको मिति २०७४।०१।२४ को शव परीक्षण प्रतिवेदन ।
मैले विगत ३ महिनादेखि जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित उमा कोइरालाको घरमा पढ्दै घरको काम सघाउँदै आइरहेकोमा छु । पारस भन्ने अभिषेक कोइराला उमा कोइरालाका छोरा हुन् । निजलाई म चिन्दछु । मिति २०७४।१।२४ गते अन्दाजी ०६:४५ बजेको समयमा म घरको काम गरिरहेको अवस्थामा बाहिरबाट पारस भन्ने अभिषेक कोइराला हतारहतार आई आफ्नो कोठामा छिरी खरानी रंगको ज्याकेट र खैरो रंगको हाफ पाइन्ट लगाई पछाडिबाट झोला बोकी मोटरसाइकल चढी गएको देखेको हुँ । केही समयपश्चात् निजको मामाको छोरा सौरभकुमार सुवेदीलाई पारस भन्ने अभिषेक कोइरालाले खुकुरीले काटेछ रे भन्ने सुनी थाहा पाएकोले निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको सुदिक्षा कोइरालाको रोहबरमा लिलमण गणेशले मिति २०७४।२।१४ मा मौकामा गरेको कागज ।
यसै अभियोगपत्रमा विवेचित तथ्य एवं प्रमाणहरूको आधारमा प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले सौरभ सुवेदीलाई मार्ने मनसाय (Intention) राखी योजना बनाई मिति २०७४।१।२४ गते बिहान कोठामा रहे नरहेको पहिचान गरी खुकुरी बोकी गई सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी पहिले दुवै हात छिनाएपछि पुनः टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाई निजको मृत्यु भएको तथ्य प्रमाणद्वारा पुष्टि हुनआएको देखिएकोले प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(१) नं. बमोजिमको कसुर अपराध गरेकोले प्रतिवादीलाई सोही महलको १३(१) नं. बमोजिम सजाय हुन मागदाबी लिई सक्कल मिसिलसहित पक्राउ प्रतिवादी पारस भन्ने अभिषेक कोइरालालाई पेस गरेको भन्नेसमेतको मिति २०७४।२।१७ मा भक्तपुर जिल्ला अदालतसमक्ष दर्ता भएको अभियोगपत्र ।
प्रतिवादी पारस कोइरालाले मेरो स्वास्थ्य अवस्था ठिक छ तर ४/५ महिनाअघिदेखि मानसिक तनावको दबाई खाँदै आएको थिएँ । सोधिएको प्रश्नको जवाफ दिनसक्छु । मैले प्रतिरक्षाको लागि कानून व्यवसायी राखेको छु भनी आफ्नो र परिवारको विवरण खुलाई जाहेरवाला सानो बुबा नाताको व्यक्ति तथा मृतक सौरभ सुवेदी मेरो मामाको छोरा दाइ नाताको व्यक्ति हुन् भनी के कति कारणले सौरभ सुवेदीमाथि खुकुरी प्रहार गर्नुभयो भन्दा मैले मृतक सौरभ सुवेदीलाई उसैको घरमा गई खुकुरी प्रहार गरेको हो । मैले खुकुरी प्रहार गर्दा निजले हातले छेक्दा हात तथा टाउकोमा समेत खुकुरी प्रहार गरेको हो । तर मैले मार्ने योजना बनाई खुकुरी प्रहार गरेको होइन । निज सौरभ सुवेदीले मेरो घरमा आई मेरो कान्छी दिदी सुदिक्षा कोइरालालाई जथाभावी छाडा कुरा गर्ने र सोहीअनुरूपको व्यवहार गर्ने गरेकोले सोही काम कुराको आवेशमा आई मैले निजउपर खुकुरीले प्रहार गरेको हो । मलाई भाइ जस्तो व्यवहारसमेत गर्दैनथ्यो । मिसिल संलग्न बरामदीमा उल्लिखित खुकुरीले मैले निजउपर प्रहार गरेको ठिक हो । सो खुकुरी निज मृतककै डेरा कोठाको बगैंचामा मैले फालिदिएकोले सोही बगैंचाबाट प्रहरीले बरामद गरेको हो । सो खुकुरी मैले ठमेलबाट अगाडिबाटै किनेर ल्याई सिरानीमुनि राख्ने गरेको थिएँ । निजलाई पहिलेदेखि निजको डेरामा छ छैन भनी विचार गरी डेरामा नै छ भन्ने यकिन भएपछि खुकुरी लिई गई प्रहार गरेको हो । खुकुरी प्रहार गरी भाउजूलाई देखेपछि कोही नबोल भनी मोटरसाइकल चढी पक्राउ पर्छु भन्ने डरले धादिङ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । निज सौरभ सुवेदीसँग रहेको बच्चालाई जोगाएँ । मेरो अधिकारप्राप्त अधिकारीसमक्षको बयान बेहोरा मलाई पढिबाची सुनाउँदा सुनिपाएँ । सो बयान बेहोरा ठिक साँचो
हो । सहीछापसमेत मेरै हो । कानूनबमोजिम भएमा मेरो मन्जुरी छ । मेरो साक्षीहरू जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. ३ बस्ने शैलजा कोइराला र किष्ट तथा ओम अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डा.पुष्पप्रसाद शर्मा तथा मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचार गराएको भन्ने सिफारिसको फोटोकपी यसैसाथ पेस गरेको छु सोलाई नै प्रमाण लगाई पाउँ भन्ने बेहोराको प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अदालतसमक्ष गरेको बयान ।
प्रतिवादीले अदालतसमक्ष गरेको बयानमा उल्लिखित मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्र (मानसिक रोगी तथा लागु औषध दुर्व्यसनीहरूको लागि उपचार केन्द्र) को लेटरप्याडमा मिति २०७४।१।२४ को वारदातपछिको मिति २०७४।२।१६ मा TO WHOM IT MAY CONCERN लिखित Secretary Shyam Karki को नाममा हस्ताक्षरित फोटोकपी पत्रमा “This is to certify that Mr. Abhisek Koriral, age 24 years was admitted in this center from 2073.1.7 for treatment and was discharged on 2073.3.5. He went through the treatment for mental illness.” उल्लेख भएको ।
किटानी जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, लास जाँच प्रतिवेदन, प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको तथा आज यस अदालतसमक्षको साबिती बयान, मृतकउपर प्रहार भएको खुकुरी बरामद भएको अवस्था, मृतक सौरभ सुवेदीको दुवै हात छिनाएको र टाउकोमा पटकपटक खुकुरी प्रहार गरी विभत्स रूपमा हात र टाउको काटी घाउचोट बनाएको देखिने फोटोलगायतको तत्काल प्राप्त प्रमाणहरूबाट प्रतिवादी पारस भन्ने अभिषेक कोइराला अभियोग दाबीबमोजिमको कसुरका कसुरदार देखिन आएको हुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाको पुर्पक्षको निमित्त निज प्रतिवादीलाई अ.बं.११८ को देहाय (२) नं. बमोजिम थुनामा राख्ने गरी अ.ब.१२४ग नं. बमोजिम यो आदेश गरिदिएको छ । यस मुद्दामा अन्य प्रतिवादीहरू नरहेको हुँदा अब जाहेरवाला, मौकामा कागज गर्ने व्यक्तिहरू, घटनास्थल प्रकृति मुचुल्कामा सहीछाप गर्ने व्यक्तिहरूसमेतका सरकारी साक्षीहरूलाई जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमार्फत र प्रतिवादीका साक्षीलाई निजैमार्फत झिकाई बकपत्रको लागि पेस गर्नु भन्ने बेहोराको मिति २०७४।२।१८ को सुरू अदालतको थुनछेक आदेश ।
साक्षी उपस्थित गराएको बारे भन्ने प्रतिवादी अभिषेक कोइरालाले श्री भक्तपुर जिल्ला अदालतमा चढाएको निवेदन पत्रसाथ उपस्थित साक्षी शैलजा कोइरालाले जाहेरवाला सानोबुबा तथा प्रतिवादी भाइ नाताका मानिस हुन् । अरू झै-झगडा इवी केही छैन । प्रतिवादी अभिषेक कोइरालाको घटनामा संलग्नता भए पनि निजको मानसिक अवस्था ठिक थिएन । २०७२ सालमा पनि सुधार गृहमा राखेको हो सो समयमा समाजमा अप्ठेरो पर्ला भनी अभिषेक पोखरा गएको छ भनी ढाँटी सुधारगृहमा पठाएको हो । सो सुधार गृहबाट निस्केपछि पनि निज एकोहोरो हुने आफ्नै काल्पनिक दुनियाँमा हराउने गर्दथ्यो । उसले कल्पना गरेको कुरा सही भो भन्ने ठान्दथ्यो । उसको लक्षण नै यही थियो । के बोले सही के बोले बेठिक के गरे ठिक के गरे बेठिक र कामको परिणामको आभास नै अभिषेकमा थिएन । सो घटनामा अभिषेकको संलग्नता रहेको थियो । निज मानसिक रोगी भएको कुरा सुनेको मात्र होइन भोगेको पनि हो । निजले उपचार गराएको र औषधी खाएको कागज मानसिक अस्पतालमा राख्दाको सिफारिसपत्र र निजको बिरामीअनुसारको लक्षणहरू भएको गुगलको प्रिन्टको कागजसमेत छ । यसै बकपत्रसाथ पेस गरेको छु । मैले पेस गरेको गुगल प्रिन्टअनुसार निज सिजोफ्रेनियाको मानसिक रोगी
हो । निजले हालसम्म पनि नियमित रूपमा औषधी सेवन गरिरहेको छ । निजको नियमित जाँच तथा उपचार हुने गरी कानूनबमोजिम होस् भन्ने बेहोराको प्रतिवादीका साक्षी सैलजा कोइरालाले मिति २०७४।३।७ मा अदालतमा गरेको बकपत्र ।
२०७४।१।२४ गतेका दिन बिहान ७:०५ बजेको बेला मेरी श्रीमतीले रूँदै ज्वाईंलाई खुकुरी प्रहार गर्यो भनी छोरीले फोन गरिन् भनेकीले म तत्काल अस्पताल पुग्दा सौरभ सुवेदीको डेथ डिक्लेयर भइसकेको रहेछ । तत्कालै म छोरी प्रतिक्षा सुवेदीलाई सम्हाल्न निजको डेरामा पुग्दा ठुलो संख्यामा मानिसहरू जम्मा भएका र म भित्र प्रवेश गर्दा प्रहरीहरू घटनास्थलमा आइपुग्नु भएको रहेछ । प्रहरीद्वारा घटनास्थलमा चिह्न लगाई कचौरामा लिटो, रातो चिया राखिएको, कार्पेट सम्पूर्ण रगताम्य अवस्थामा रहेको, कोठाको भित्ता दलिनमा रगतका छिटाहरू यत्रतत्र छरिएका, कोठाको पूर्वपट्टि पर्याप्त आलो रगत जमेको, कोठाको अवस्था हेर्दा साह्रै दर्दनाक, हृदयविदारक तवरबाट अभियुक्त अभिषेक कोइराला भन्ने पारसले पूर्वमनसायका साथ योजनाबद्ध तरिकाबाट छोरी प्रतिक्षा भान्छा कोठामा रहेको अवस्थामा एघार महिनाको बालक काखमा रहेको, लिटो खुवाउँदै गर्दा सौरभ सुवेदीको टाउको र विभिन्न भागमा खुकुरी प्रहार गरी खुकुरीको प्रहारबाट बच्ने प्रयत्न गर्दा दुवै हात छिनाई टाउकोको पछाडिको भागको हड्डी फुटाई खुकुरी जस्तो जोखिमी हतियारले निर्मम तवरबाट हत्या गरेकोले निजलाई हदैसम्मको सजाय गरिपाउँ भन्ने घटनास्थल प्रकृति मुचुल्काका गोविन्द शर्मा पौडेलले मिति २०७४।३।७ मा अदालतसमक्ष गरेको बकपत्र ।
घटना भएको दिन बिहान ६ बजे म अस्पताल गएको थिएँ । अस्पतालको काम सकी करिब ९ बजेतिर घरमा आउँदा मानिसहरू भेला भएका रहेछन् । मैले के भयो भनी सोध्दा कसैले छोरा सौरभलाई काटेर मारेको सुनी थाहा पाएको हो । सो सुनेपश्चात् म अर्धचेत भई कोठामा गएकोसम्म थाहा छ । कोठामा रगताम्य भएको देखेको हुँ । प्रतिवादी अभिषेक कोइरालाले सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी काटेर मारेको भन्ने सुनी थाहा पाएको हुँ निजलाई कानूनबमोजिम कडा सजाय होस् भन्ने बेहोराको मिति २०७४।३।७ मा भगवती सुवेदीले अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीलाई चिन्दछु । मेरो लेनदेन झैझगडा इवी छैन । मिति २०७४।२।४ मा मैले गरेको मौकाको कागज पढीबाची सुनाउँदा सुनिपाएँ । सो मौकाको कागजको बेहोरा मैले नै लेखाई सहीछापसमेत गरेको हो भन्ने बेहोराको मिति २०७४।३।७ मा लिलमण गणेशले अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गराउँदा मेरो कान्छो मामा दिलिपकुमार सुवेदीले मलाई बाटोमा भेटी तिमी र तिम्रो सानो दिदी सुदिक्षा कोइरालासँग शारीरिक सम्बन्ध गर्नको लागि सौरभ सुवेदीलाई उत्प्रेरित गराई दिन्छे रे र सोही रिसइवीको कारण सौरभलाई कर्तव्य गरी मारेको हो भनी लेखाएको सम्बन्धमा मैले प्रतिवादीलाई उल्लिखित कुरा भनेको छैन । सबै मेरो परिवारभित्रको मानिसहरू हुन् मैले त्यस्तो कुरा गर्न मिल्ने पनि होइन र सौरभ पनि राम्रो चरित्रको एस.वि.आई. बैंकमा काम गर्ने मानिस हुन् । प्रतिवादीलाई कानूनबमोजिम सजाय होस् अरू भन्नु केही छैन भन्ने बेहोराको मिति २०७४।३।७ मा दिलिपकुमार सुवेदीले अदालतसमक्ष गरेको बकपत्र ।
घटना भएको दिन बिहान सवा ७ बजे म बाबुलाई लिटो बनाई श्रीमान्लाई चियासमेत दिएर बाबुलाई लिटो खुवाउन कोठामा पुर्याई किचनमा फर्केकी र उहाँ बाबुलाई लिटो खुवाउँदै हुनुहुन्थ्यो । म किचनमा छिरेको केही छिनमा केही आवाज आएको सुनी म कोठामा जाँदा प्रतिवादीले घटना घटाइसकेको रहेछ । म कोठामा पस्न लाग्दा प्रतिवादीले मलाई देखी केही भनिस् भने तँलाई पनि मारिदिन्छु भनी त्यहाँबाट हातमा खुकुरी बोकेर निस्कियो । म कोठामा पस्दा उहाँको सास चलिरहेको र बाबुको शरीरमा रगत लागेको थियो । मैले बाबुलाई लिएर छरछिमेकलाई हारगुहार गर्न बाहिर निस्कँदा प्रतिवादी मोटरसाइकलमा चढी गएको देखेको थिएँ । घटनाको बारेमा फोनमार्फत फुपाजु कपिलमणि रेग्मीलाई सुनाएपछि एकजना छिमेकी आएर बाबु लिई दिनुभयो, मैले मेरो बाबालाई
बोलाएँ । छरछिमेकीले प्रहरीलाई बोलाएका र प्रहरीहरूसमेत आई छरछिमेकीसमेत भई घाइतेलाई अस्पताल लगेको र प्रहिरीले प्रतिवादीको घर ठेगाना देखाई दिन भनेकाले मसमेत गाडीमा गई प्रतिवादीको घर देखाई दिएको हो । मेरो श्रीमान्लाई प्रतिवादीले ठुलो खुकुरीले प्रहार गरी कर्तव्य गरी मारेको हो । मैले प्रतिवादीले खुकुरी बोकेर बाहिर निस्कँदै गर्दा सो हतियार देखेको हो । प्रतिवादी हाम्रो घरमा रेगुलर आउने जाने गरेको थिएन । कहिलेकाहीँ चाडबाडमा मात्र आउने जाने गरेको थियो । बच्चाको शरीरमा चोटपटक लागेको थिएन, शरीरमा रगत मात्र लागेको थियो । प्रतिवादी र मेरो श्रीमान्बिच पहिलेदेखि नै झै झगडा रिसइवी
थिएन । प्रतिवादीको मानसिक अवस्थाको बारेमा मलाई केही थाहा थिएन । प्रतिवादीलाई कडाभन्दा कडा सजाय हुनुपर्यो भन्ने बेहोराको मिति २०७४।३।७ मा प्रतिक्षा सुवेदीले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी मेरो भाइ नाता पर्दछ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतक सौरभ सुवेदी मेरो घरमा आई मेरो सानो दिदी सुदिक्षा कोइरालासँग अश्लील शब्द प्रयोग गरी दुवैजना कुरा गर्ने गर्दथे भन्ने सम्बन्धमा दशैंभन्दा पछाडि सौरभ सुवेदी हाम्रो घरमा आउनु भएको पनि छैन । म चाहिँ सौरभ दादाको घरमा फेमेली गेट टुगेदरमा एकपटक गएको थिएँ । सो समयमा अभिषेक त्यहाँ भएको
थिएन । अभिषेकले लेखाएको झुठो हो । गलत हो । मृतक सौरभ सुवेदी चरित्रमा एकदमै राम्रो मानिस हो । निजको चरित्रमा कुनै दोष नलागोस् । प्रतिवादी मानसिक रूपमा अस्वस्थ छ । निजलाई डाक्टरको फलोअपमा राखी नियमित औषधी उपचार होस् । एउटा घटना
भइसक्यो । अर्को घटना नहोस् । प्रतिवादीलाई कानूनबमोजिम होस् भन्ने बेहोराको मिति २०७४।३।७ मा मौकामा कागज गर्ने सुदिक्षा कोइरालाले अदालतमा गरेको बकपत्र ।
घटना भएको हल्ला सुनी घटनास्थलमा पुग्दा घटना भएको देखी घटनास्थलबाट सौरभ सुवेदीलाई उठाई गाडीमा राखी मैले नै गाडी चलाई अस्पताल लगेको हो । मृतकलाई उपचारको लागि बि.एण्ड.बि. लैजाँदा मैले दाहिने हात छिनेको, बायाँ हात छालाले मात्र झुन्डिएको अवस्थामा रहेको र टाउकोमा धेरै चोट घाउ भएको सो रगतले पोतिएकोले गर्दा स्पष्ट देखिने थिएन । धारिलो हतियार खुकुरीबाट लागेको चोट
हो । अस्पताल पुर्याउनासाथ डाक्टरले निजको मृत्यु भइसकेको घोषणा गर्नुभयो । मैले घटना भइसकेपछि देखेको हो । यसमा कानूनअनुसार हुने सजाय हुनुपर्छ । पीडितले न्याय पाओस् । अपराधी अपराधबाट उन्मुक्ति नपाओस् सौरभको दाहिने हात छिनेको, बायाँ हात छालाले मात्र झुन्डिएको, टाउकोमा धारिलो हतियारको धेरै चोटहरू थियो भन्नेसमेत बेहोराको बुझिएका मानिस संजयकुमार तिम्सिनाले मिति २०७४।३।७ मा अदालतसमक्ष गरेको बकपत्र ।
मृतक सौरभ सुवेदीलाई पारस भन्ने अभिषेक कोइरालाले धारिलो हतियार खुकुरी प्रहार गरी मारेको हो । मृतकको दाहिने हात छिनेको, देब्रे हात छालाले मात्र झुन्डिएको तथा टाउकोमा धेरै चोटहरू थिए । उक्त घटना भएको समयमा म घरमा नै थिएँ । तुरून्त घटनास्थलमा पुगेँ । सो घटना घटाउन प्रयोग गरिएको खुकुरी फुलबारीमा भेटियो । घरभित्र कोठाको अवस्था गम्भीर प्रकृतिको थियो । यस घटनाका प्रतिवादीलाई कानूनले हदैसम्मको सजाय होस् अपराधीले उन्मुक्ति नपाओस् भन्ने बेहोराको बुझिएका नवराज रानाभाटले मिति २०७४।३।७ मा अदालतसमक्षमा गरेको
बकपत्र ।
जाहेरी मैले दिएको हुँ । सौरभ सुवेदीलाई प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले धारिलो हतियार खुकुरी प्रहार गरी मारेको भन्ने कुरा सौरभकी श्रीमती प्रतिक्षाले फोन गरी भनेकोले थाहा पाएको
हुँ । घटना थाहा पाएको १० मिनेटमा म घटनास्थलमा पुग्दा दुईचारजना छिमेकीहरू थिए । घटना भएको कोठाभित्र जाँदा सौरभ भुइँमा ढलेको अवस्थामा
थिए । निजको दाहिने हात छिनेको, देब्रे हात छालाले मात्र झुन्डिएको तथा टाउकोमा धेरै चोटहरू थिए । मैले नाडी छाम्दा चलेको जस्तो लागेकोले बि.एण्ड.बि. अस्पताल लगियो । अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गर्नुभयो भन्ने बेहोराको जाहेरवाला कपिलमणि रेग्मीले मिति २०७४।३।७ मा अदालतसमक्षमा गरेको बकपत्र ।
प्रतिवादीले प्रस्तुत वारदात घटाउँदाको अवस्थामा आफूले गरेको सो वारदातको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको भन्ने देखिँदैन । प्रतिवादी मानसिक रूपमा अस्वस्थ रहेको भए मृतकलाई लक्षित गरी छानी छानी (Selective) मृतकउपर मात्रै प्रहार गर्ने भन्ने हुँदैन । तर प्रतिवादीले मृतक सौरभ सुवेदीलाई मात्र लक्षित गरी छानेर प्रहार गरेको (Selective Attack) देखिन्छ । निजले प्रस्तुत वारदात पूर्ण होसहवासमा रही पूर्वतयारी गरी पटकपटक वारदात स्थलमा आई मृतकको अवस्थिति यकिन गरी मृतकउपर प्रहार गरेको देखिन आएको, वारदातपछि मृतककी पत्नीसमेतलाई आक्रमण गर्ने चेतावनी दिँदै मोटरसाइकल चढी फरार भएको, साथै वारदातमा रगत लागेको कपडा परिवर्तन गर्न गेष्ट हाउसमा पुगेको, सो गेष्टहाउसमा रगत लागेको कपडा फेरेको र त्यहाँबाट भागी भारत जान भनी मोटरसाइकलमा चढी धादिङ गजुरीमा पुग्दा पक्राउ परेको, वारदातमा मृतकको साथमा रहेको नाबालकलाई जोगाएको र सो कुरा सुझबुझका साथ गरेको हो भनी प्रतिवादीले आफ्नो बयानमै स्वीकार गरेकोसमेत देखिँदा प्रस्तुत वारदात घटाउँदा प्रतिवादी मानसिक रूपमा पूर्ण अस्वस्थ भई मगज बिग्रेको वा बौलाएको भन्ने कुरा पुष्टि नभएकोले प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले मृतकलाई मार्ने योजना बनाई योजनाबद्ध रूपमा खुकुरी जस्तो जोखिमी एवं धारिलो हतियार किनी साथमा राखी मृतकको अवस्थाको सम्बन्धमा पटकपटक निगरानी गरी हेरी सोही खुकुरीले मृतकलाई पटकपटक टाउको र हातमा प्रहार गरी, हात छिनाली, टाउकोको गिदीसमेत क्षतविक्षत बनाई हत्या गरेको देखिँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिमको कसुरमा सोही १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने
ठहर्छ । प्रतिवादी पारस भन्ने अभिषेक कोइरालालाई ठहरेको कैद सजायको हकमा उच्च अदालत पाटनमा साधक जाहेर गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।३।१५ मा भएको फैसला ।
म पुनरावेदक / प्रतिवादी मानसिक रोग सिजोफ्रेनियाले ग्रसित भएकोले आफूले गरेको कार्यको कुनै जानकारी पुनरावेदकलाई विगत ४ वर्षअघिदेखि रहेको छैन । पुनरावेदक Insanity (पागलपन) Schizophrenia (सिजोफ्रेनिया) भएको व्यक्ति भएको भन्ने स्वयम् अभियोगकर्ताले पनि अन्यथा भन्न सकेको अवस्था छैन । पागल व्यक्तिले गरेको कार्यको परिणाम कसुर हुन सक्दैन । कडा मानसिक रोग भएको व्यक्तिले गरेको परिणाम पागल बुझिन्छ र Unsoundness of Mind भित्र पर्ने भई उक्त वारदातमा मनसायको अभावमा रहेको छ । वारदातमा संलग्न देखिए पनि म मानसिक रोगी भएको कारणले घटना घटाउने मनसाय नरहेको, उल्लिखित घटनाको विषयमा ममा भएको पागलपन र सिजोफ्रेनिया रोगको कारणले केही थाहा जानकारी नभएको, मनसाय तत्त्वको अभावमा र सिजोफ्रेनिया रोगको कारणले भएको उल्लिखित घटना भएको पुष्टि भएको र वारदात हुनुभन्दा पहिले मैले गराएका उपचारको प्रेस्क्रिप्सन रिपोर्ट र उपचारमा संलग्न चिकित्सक विशेषज्ञहरूलाई बुझ्दै नबुझी मलाई सुरू अदालतबाट सर्वस्वसहित जन्मकैद गरेको फैसला अत्यन्त चर्को तथा अन्यायपूर्ण भएको साथै घटनाअघि र हालसम्म पनि मानसिक रोगको उपचार गराइरहेको हुँदा सोसमेतलाई विवेचना गरी सुरू अदालतबाट मिति २०७४।३।१५ मा भएको फैसला उल्टी गरी अभियोग दाबीबाट फुर्सद दिलाई न्याय इन्साफ पाउँ भन्ने पुनरावेदक प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाको मिति २०७४।९।३ मा उच्च अदालत पाटनमा दर्ता भएको पुनरावेदन पत्र ।
मृतक सौरभकुमार सुवेदीलाई यत्रतत्र खुकुरी प्रहार गरी ढलाई बाहिर निस्की मृतककी श्रीमती प्रतिक्षा शर्मा सुवेदीसमेतलाई केही बोलेमा मारिदिन्छु भनी खुकुरी फुलबारीमा फाली मोटरसाइकल चढी भागी सुन्धाराको गेष्ट हाउसमा गई रगत लागेको कपडा बदली सोही झोलामा राखी पूर्वयोजनाअनुसार भागेर जान थानकोट हुँदै जाने क्रममा धादिङको गजुरीमा प्रहरी टोलीले फेला पारी पक्राउ परेकोमा आफ्नो जो भएको घटनाको बेहोरा प्रतिवादीले खुलाएको अवस्था छ । अदालतमा बयान गर्दासमेत मेरो कान्छी दिदीलाई जथाभावी छाडा कुरा गर्ने र सोहीअनुरूपको व्यवहार गर्ने गरेकाले मृतकउपर खुकुरी प्रहार गरेको हो कानूनबमोजिम भएमा मेरो मन्जुरी छ भनी वारदात कसुरमा प्रतिवादी साबित नै देखिन्छन् । तबसम्म यी प्रतिवादी Insanity र Schizophrenia को रोगी भएको भन्ने कहीँकतैबाट खुलेको देखिँदैन । अदालतमा भएको बयानको सवाल १२ मा मनोरोगको उपचार गराएको थिएँ भनी जवाफ लेखाएकोसम्मको अवस्था छ । सोतर्फ हेर्दा यी प्रतिवादीले एक महिनाअगाडिदेखि नै मृतकलाई मार्ने योजना बनाएको, पसलबाट सोही प्रयोजनको लागि खुकुरी किनेर ल्याई सिरानीमा राखेको स्थिति छ । आफूले आपराधिक कार्य घटाउन पूर्वतयारी गरेको पटकपटक मृतकको डेरा कोठा निगरानी राखेको, पूर्वयोजनाअनुसार धारिलो हतियार खुकुरी प्रहार गरी विभत्स रूपमा घटना घटाई आफ्ना निजी प्रयोगका सामानहरू अगाडि नै तयार गरी झोलामा राखिएको र भागेर भारत गई बस्ने अठोटका साथ भाग्दै गरेको अवस्थामा बिच बाटोमै पक्राउ परेको देखिन्छ । पुनरावेदन जिकिरअनुसार प्रतिवादी Unsoundness Mind को Insanity को बिरामी थिए भने मृतकले बोले गरेको व्यवहारको कारणबाट लामो समयदेखि रिसइवी राख्ने, सो रिसइवी साँध्नको लागि आपराधिक योजना बनाई अपराध घटाउने र घटनापश्चात् हुन सक्ने कारबाही र सजायको भयले भागेर गई विदेश भारतमा बस्ने रहने जस्ता योजनापूर्ण कार्यको सोचाई हुन सक्तैन । आफूले मृतकलाई मार्ने कुराको मनसाय लामो समयदेखि राखेको र सो मनसायलाई कार्यगत रूपबाट पूरा गरेका प्रतिवादीले आफ्नो जो भएको कुरा सिलसिलाबद्ध रूपमा बयान गरेको र घटनाको जो भएको बेहोरा बुझिएका व्यक्तिहरूको बकपत्रबाट पुष्टि भएको अवस्थामा सचेत अवस्थामा हुन सक्ने परिणामको पूर्वआँकलन गरी गरेको अपराध कसुरलाई पुनरावेदन पत्रमा सिजोफ्रेनियाको बिरामी हुँ अभियोगबाट सफाइ पाउँ भन्ने जिकिर लिँदैमा त्यस्तो जिकिरले प्रतिवादीलाई भए ठहरेको सजायबाट अन्यथा हुन सक्तैन । मिसिल संलग्न प्रमाणबाट यी प्रतिवादीले आफ्नो दिदीसँग मृतकले गरे बोलेको व्यवहारको कारणबाट रिसइवी लिई सोही रिसइवीका कारण योजनाबद्ध रूपबाट मृतक सौरभकुमार सुवेदीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाई सो चोट पीरबाट मृतकको मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट पुष्टि भइरहेको देखिँदा अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को देहाय दफा १ बमोजिम प्रतिवादी पारस भनिने अभिषेक कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको सुरू जिल्ला अदालतको फैसला मिलेकै देखिन आयो । अतः सुरू भक्तपुर जिल्ला अदालतबाट भएको मिति २०७४।३।१५ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७४।११।२९ मा भएको फैसला ।
उच्च अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाको यस अदालतमा परेको पुनरावेदनमा पुनरावेदक मानसिक रोग सिजोफ्रेनियाबाट गम्भीर रूपमा ग्रसित भएको अवस्थामा उल्लिखित घटना घट्न गएको मिसिल संलग्न प्रमाणबाट स्पष्ट भएको छ, उल्लिखित रोगको उपचाररत: रहेको पनि कागजबाट देखिन्छ, पुनरावेदक २०७३।०१।०३ देखि मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको निगरानीमा उपचार गरेको र घटनापछि हालसम्म पनि डिल्लीबजार काराबारमा रहँदासमेत पटकपटक फलोअप गरी उपचाररत रहेको तथ्यतर्फ न्यायिक विवेचना नै नगरी केबल घटनाको मात्र उल्लेख गरी सो घटना घट्दा प्रतिवादीको अवस्था के कस्तो थियो सोतर्फ हेर्दै नहेरी विवेचना नगरी भएको फैसला अत्यन्तै त्रुटिपूर्ण छ । पुनरावेदक मानसिक रोग सिजोफ्रेनियाले ग्रसित भएकोले आफूले गरेको कार्यको कुनै जानकारी पुनरावेदकलाई विगतदेखि रहेको छैन । पागल व्यक्तिले गरेको कार्यको परिणाम कसुर हुन सक्दैन । प्रतिवादी पुनरावेदक Schizophrenia (सिजोफ्रेनिया) / वाइपोलर डिसअर्डर भएको व्यक्ति भएको भन्ने स्वयम् अभियोगकर्ताले पनि अन्यथा भन्न सकेको अवस्था छैन । यसरी म पुनरावेदक उल्लिखित कडा मानसिक रोग भएको व्यक्तिले गरेको परिणाम पागल बुझिन्छ त्यस्तो व्यक्तिले गरेको कार्यको परिणाम अपराधभित्र नपर्ने हुन्छ । उल्लिखित कर्म अपराध भित्र नपर्ने र Unsoundness of mind भित्र पर्ने भई उक्त वारदात प्रतिवादीले मनसायको अभावमा गरेको घटनाभित्र पर्ने भई प्रतिवादीले अभियोगबाट उन्मुक्ति पाउनुपर्ने प्रस्ट छ । म प्रतिवादी वारदातमा संलग्न भएको देखिए पनि म प्रतिवादी सिजोफ्रेनियाको मानसिक रोगी भएको कारणले उक्त घटना घटाउने मनसाय नरहेको र उल्लिखित घटनाको विषयमा ममा भएको पागलपन र सिजोफ्रेनिया रोगको कारणले केही थाहा जानकारी नभएको, मनसाय तत्त्वको अभाव र सिजोफ्रेनिया रोगको कारणले उल्लिखित घटना भएको र वारदात हुनुभन्दा पहिले म पुनरावेदकले गराएका उपचारको प्रेस्क्रिप्सन, रिपोर्ट र उपचारमा संलग्न चिकित्सक विशेषज्ञहरूलाई बुझ्दै नबुझी हतार हतारमा मलाई अदालतबाट सर्वस्वसहित जन्मकैद गरेको फैसला अन्यायपूर्ण भएको हुँदा घटनाअघि तथा हालसम्म पनि मानसिक रोगको उपचार गराइरहेको हुँदा सोसमेतलाई विवेचना नगरी मिति २०७४।०३।१५ मा सुरू भक्तपुर जिल्ला अदालतबाट भएको अन्यायपूर्ण, त्रुटिपूर्ण एवं गैरकानूनी फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला उल्टी गरी म पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबाट फुर्सद सफाइ दिलाई पूर्ण न्याय पाउँ भन्ने पुनरावेदन जिकिरसहित यस अदालतमा मिति २०७५।४।२३ मा दर्ता भएको पुनरावेदनपत्र ।
यस अदालतको निर्णय
नियमानुसार पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले सौरभ सुवेदीलाई मार्ने मनसाय (Intention) राखी योजना बनाई मिति २०७४।१।२४ गते बिहान कोठामा रहे नरहेको पहिचान गरी खुकुरी बोकी गई सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी पहिले दुवै हात छिनाएपछि पुनः टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाएको कारणबाट निजको मृत्यु भएकोले प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. बमोजिमको कसुर अपराधमा प्रतिवादीलाई सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत अभियोग दाबी भएकोमा प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले मृतकलाई मार्ने योजना बनाई योजनाबद्ध रूपमा खुकुरी जस्तो जोखिमी एवं धारिलो हतियार किनी साथमा राखी मृतकको अवस्थाको सम्बन्धमा पटकपटक निगरानी गरी हेरी सोही खुकुरीले मृतकलाई पटकपटक टाउको र हातमा प्रहार गरी, हात छिनाली, टाउकोको गिदीसमेत क्षतविक्षत बनाई हत्या गरेको देखिँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिमको कसुरमा सोही १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर गरी सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।३।१५ मा फैसला भएको रहेछ ।
उक्त फैसलामा चित्त नबुझी प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले उच्च अदालत पाटनमा पुनरावेदन दिएकोमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम प्रतिवादी पारस भनिने अभिषेक कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर गरेको सुरू भक्तपुर जिल्ला अदालतको मिति २०७४।०३।१५ को फैसला सदर हुने ठहर्याई उच्च अदालत पाटनबाट मिति २०७४।११।२९ मा फैसला भएको रहेछ ।
उच्च अदालत पाटनबाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले दिएको पुनरावेदनमा म प्रतिवादी वारदातमा संलग्न भएको देखिए पनि म प्रतिवादी सिजोफ्रेनियाको मानसिक रोगी भएको कारणले उक्त घटना घटाउने मनसाय नरहेको र उल्लिखित घटनाको विषयमा ममा भएको पागलपन र सिजोफ्रेनिया रोगको कारणले केही थाहा जानकारी नभएको, मनसाय तत्त्वको अभाव र सिजोफ्रेनिया रोगको कारणले उल्लिखित घटनाभएको र वारदात हुनुभन्दा पहिले म पुनरावेदकले गराएका उपचारको प्रेस्क्रिप्सन, रिपोर्ट र उपचारमा संलग्न चिकित्सक विशेषज्ञहरूलाई बुझ्दै नबुझी हतार हतारमा मलाई अदालतबाट सर्वस्वसहित जन्मकैद गरेको फैसला अन्यायपूर्ण भएको हुँदा घटना अघि तथा हालसम्म पनि मानसिक रोगको उपचार गराई रहेको हुँदा सोसमेतलाई विवेचना नगरी मिति २०७४।०३।१५ मा सुरू भक्तपुर जिल्ला अदालतबाट भएको अन्यायपूर्ण, त्रुटिपूर्ण एवं गैरकानूनी फैसलालाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट भएको फैसला उल्टी गरी म पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबाट फुर्सद सफाइ दिलाई पूर्ण न्याय पाउँ भन्ने पुनरावेदन जिकिर लिएको देखिन्छ ।
पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री लभकुमार मैनाली तथा विद्वान् अधिवक्ताद्वय श्री ज्योती बानिया र श्री देवी रेग्मीसमेतले प्रतिवादी वारदातमा संलग्न देखिए पनि निज मानसिक रोगी भएकोले घटना घटाउने मनसाय नरहेको, निजलाई पागलपन र सिजोफ्रेनिया रोगको कारणले कामको बारेमा केही थाहा जानकारी नभएको, मनसाय तत्त्वको अभाव र सिजोफ्रेनिया रोगको कारणले उक्त घटना घटेको देखिइरहेको अवस्थामा वारदात हुनुपूर्व गराएको उपचारको प्रेस्क्रिप्सन रिपोर्ट र उपचारमा संलग्न चिकित्सक र विशेषज्ञहरूलाई बुझ्दै नबुझी मुलुकी ऐन, दण्ड सजायको १ नं. विपरीत पुनरावेदक प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गरेको अन्यायपूर्ण भएकोले सुरू अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको उच्च अदालत पाटनको फैसला नमिलेकोले प्रत्यर्थी झिकाई पाउँ भनी गर्नुभएको बहससमेत
सुनियो ।
उपर्युक्तअनुसार विद्वान् वरिष्ठ अधिवक्ताद्वय तथा विद्वान् अधिवक्ताद्वयले गर्नुभएको बहस जिकिरलगायत मिसिल संलग्न कागजात अध्ययन गर्दा प्रस्तुत पुनरावेदनको सन्दर्भमा निम्नलिखित प्रश्नहरूको निरूपण गर्नुपर्ने देखिन आयोः
१. प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो, होइन ?
२. पुनरावेदनमा जिकिर लिए जस्तो Schizophrenia (सिजोफ्रेनिया), Insanity र Unsoundness of Mind (पागलपन) को मानसिक अवस्थामा प्रतिवादीले कर्तव्य गरेको हो, होइन ?
३. कानूनी रूपमा मानसिक अवस्था ठिक नभएको प्रतिरक्षा (defense of insanity) कस्तो अवस्थामा लिन सकिन्छ र यस्तोमा प्रमाणको भार कोसँग रहन्छ ?
४. पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन ? उच्च अदालतको फैसला मिलेको छ, छैन ?
२. पहिलो विचारणीय प्रश्नको सन्दर्भमा हेर्दा प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले मृतक सौरभकुमार सुवेदीलाई खकुरी प्रहार गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भनी जाहेरवाला कपिलमणी रेग्मीको किटानी जाहेरी परेको देखिन्छ भने मृतकको मृत्युको कारण Multiple chopped injuries to the head and both upper limb भन्ने शव परीक्षण प्रतिवेदन रहेको देखिन्छ । आफ्नी कान्छी दिदीलाई मृतकले जथाभावी छाडा कुरा गर्ने र सोहीअनुरूपको व्यवहार गर्ने गरेकाले सोही कुराको रिस आवेगमा आई खुकुरी लिई मृतक सौरभ सुवेदीलाई उसैको घर डेरामा नै गई टाउकोसमेतमा खुकुरी प्रहार गरेको हुँ भनी अधिकारप्राप्त अधिकारी तथा अदालतको बयानमा समेत कसुरमा प्रतिवादी साबित भई बयान गरेको देखिन्छ । प्रतिवादीको साबिती बयान र मृतकको शव परीक्षण प्रतिवेदन तथा किटानी जाहेरी तथा लास जाँच मुचुल्कासमेतका अन्य सङ्कलित प्रमाणबाट मृतक सौरभ सुवेदीको मृत्यु सामान्य कालगतिले नभई खुकुरी जस्तो घातक हतियारको प्रहारबाट भएको मिसिलको तथ्यबाट देखिएको छ ।
३. मिति २०७४।१।२४ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा सौरभ सुवेदीको डेरा कोठामा पारस कोइराला प्रवेश गरी सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ भनी सौरभ सुवेदीकी श्रीमती प्रतिक्षा सुवेदीले फोनबाट जानकारी गराएकोले म तत्कालै घटनास्थलमा गई घाइतेलाई उपचारको लागि अस्पताल लैजाने व्यवस्था मिलाई बुझ्दा पारस कोइरालाले पूर्वतयारीका साथ मोटरसाइकलमा आई घाइतेको डेरा कोठामा प्रवेश गरी कोही कसैलाई केही नभनी साथमा ल्याएको खुकुरीले अन्धाधुन्द रूपमा सौरभ सुवेदीलाई प्रहार गरेका र सो प्रहारबाट सौरभ सुवेदीको दाहिने हात पूरै छिनेको, बायाँ हात पनि काटिएको, टाउकोको पछाडिको भागमा छियाछिया भएको अवस्थामा देखी घाइतेलाई बि.एण्ड.बि. अस्पतालमा ल्याई देखाउँदा निजको मृत्यु भइसकेको भन्ने जानकारी पाएको हुँ । सौरभ सुवेदीलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मार्ने पारस कोइरालालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको कमलमणि रेग्मीको जाहेरी दरखास्त देखिन्छ भने सौरभ सुवेदीको दाहिने हात पूरै छिनेको, बायाँ हात पनि काटिएको, टाउकोको पछाडिको भागमा धेरै चोटहरू भएको अवस्थामा देखी घाइतेलाई बि.एण्ड.बि. अस्पतालमा ल्याई देखाउँदा निजको मृत्यु भइसकेको भन्ने डाक्टरबाट जानकारी पाएको हुँ भनी आफ्नो जाहेरी दर्खास्तलाई समर्थन गर्दै जाहेरवालाले अदालतमा बकपत्र गरेको देखिन्छ ।
४. मेरो जेठो मामाको छोरा मृतक सौरभकुमार सुवेदी मेरो घरमा गई मेरो दिदी सुदिक्षा कोइरालासँग अश्लील शब्द प्रयोग गरी दुवैजना कुरा गर्ने गरेकोले मलाई रिस उठिरहेको थियो । घटना घटेको अन्दाजी एक महिनाअगाडि मेरो मामा दिलिप सुवेदीले मलाई बाटोमा भेटी तिमी र तिम्रो दिदी सुदिक्षा कोइरालासँग शारीरिक सम्बन्ध गर्नको लागि सौरभकुमार सुवेदीले उत्प्रेरित गराई दिन्छ रे भनेपश्चात् सौरभलाई कसरी मार्ने भन्ने सोची समय समयमा निजको डेरा कोठामा समेत निगरानी गरी मामा दिलिप सुवेदीले मलाई भनेको कुरा सम्झी मेरो सिरानीमा राखेको खुकुरीले सौरभलाई मार्ने योजना बनाई समय समयमा धार लगाउने गर्दथेँ । निजलाई मार्न भनी मिति २०७४।१।२३ गते साँझको समयमा निजको डेरा कोठामा गएकोमा सौरभकुमार सुवेदीलाई डेरा कोठामा नभेटेपछि म फर्केर आफ्नो घर गएँ । सुत्ने बेलामा रातभरि निजलाई मार्ने योजना बनाई मिति २०७४।१।२४ गते बिहान अन्दाजी ०६:३० बजेतिर सौरभकुमार सुवेदी डेरा कोठामा छ, छैन भनी हेर्न जाँदा निजको कार पार्किङ स्थलमा देखेकोले निज डेरा कोठामा नै छन् भन्ने पक्का भई म आफ्नो घरकोठामा गई कपडाहरू, पासपोर्ट, ल्यापटप तथा अन्य कागजातहरूसमेत झोलामा राखी निजलाई मारिसकेपछि सोही ठाउँबाट भाग्नलाई सो सामानसमेत रहेको झोला बा. ६० प ४३१६नं. को मोटरसाइकलमा राखी सिरानीमुनिको नाङ्गो खुकुरी झिकी साथमा लगी निजको डेरा कोठा अगाडि गई मोटरसाइकल र झोला बाहिरै राखी मैले लगेको खुकुरी ज्याकेटभित्र लुकाई लगी सौरभ कहाँ छ भनी खोज्दै जाँदा निजलाई निजकै कोठामा बच्चालाई लिटो खुवाइरहेको देख्नासाथ मैले लगेको खुकुरीले निजको टाउकोमा प्रहार गर्दा निजले दुवै हातले छेक्न खोज्दा, निजको दुवै हात काटियो । तैपनि मैले निजको टाउकोमा प्रहार गरिरहँदा ऊ भुइँमा ढलेपछि म खुकुरीसहित बाहिर निस्कँदै गर्दा निजको श्रीमती प्रतिक्षा शर्मा सुवेदी र सो घरमा काम गर्ने महिलालाई देखी निजहरूलाई खुकुरी देखाई कोही नबोल, बोलेमा मारी दिन्छु, भनी बाहिर निस्की उक्त खुकुरी फुलबारीमा फाली मोटरसाइकल चढी त्यहाँबाट भागी सुन्धारा, काठमाडौं स्थित एउटा गेष्टहाउसमा गई रगत लागेको कपडा बदली, उक्त रगत लागेको कपडाहरू सोही झोलामा राखी लुकिछिपी बस्न इन्डियातर्फ जान उक्त मोटरसाइकलमा चढी थानकोट हुँदै जाने क्रममा धादिङ गजुरी स्थित प्रहरी टोलीले फेला पारी पक्राउ गरी ल्याएको हो । वारदात घटेको घरनजिकै फुलबारीबाट बरामद भई आएको रगत लागेको खुकुरी मैले सौरभकुमार सुवेदीलाई प्रहार गरेको खुकुरी हो, उक्त खुकुरीको दाप मैले मेरो कोठाको बक्सपलङको छेउतर्फ झुन्ड्याई राखेकोमा बरामद भई आएको हो । बरामदी मुचुल्कामा उल्लिखित दशीको सामानहरू मेरै साथबाट बरामद भएका हुन् । उक्त सामानहरू देखाउँदा देखेँ, चिनेँ सनाखत गरिदिएँ भन्नेसमेत बेहोराको प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा साबित भई बयान गरेको देखिन्छ ।
५. मैले मृतक सौरभ सुवेदीलाई उसैको घरमा गई खुकुरी प्रहार गरेको हो । मैले खुकुरी प्रहार गर्दा निजको हातले छेक्दा हात काटिएको र टाउकोमा समेत खुकुरी प्रहार गरेको हो । मैले मार्ने योजना बनाई खुकुरी प्रहार गरेको होइन । सौरभ सुवेदीले मेरो कान्छी दिदीलाई जथाभावी छाडा कुरा गर्ने र सोहीअनुरूपको व्यवहार गर्ने गरेकोले सोही कुराको आवेशमा आई खुकुरीले प्रहार गरेको हो । अनुसन्धानमा भएको बयान र सहीछापसमेत मेरै हो, कानूनबमोजिम भएमा मेरो मन्जुरी छ भन्ने बेहोराको प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले अदालतसमक्ष बयान गरेको देखिन्छ ।
६. मृतक सौरभकुमार सुवेदी दाइको छोरा हुन् । निजको चालचलन राम्रो र अनुशासित थियो । पारस भन्ने अभिषेक कोइराला माइली दिदीको छोरा हुन् । करिब ३/४ महिनाअगाडि निजको परिवार बुबा आमासँगै भएको समयमा पारस भन्ने अभिषेक कोइरालालाई खाली नबस काममा व्यस्त हुनुपर्छ, आफ्नै घरमा सटर खाली छ, कुनै व्यवसाय गर भनी सम्झाउँदा मलाई सबै थाहा छ, सम्झाउन पर्दैन भनी झर्केका थिए । निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको दिलीपकुमार सुवेदीले मौकामा गरेको कागजलाई समर्थन गर्दै मैले दिदी भाइको सम्बन्धबारे केही भनेको छैन । मृतक सौरभ राम्रो चरित्रको मानिस हुन् भनी दिलीपकुमार सुवेदीले अदालतमा बकपत्र गरेको देखिन्छ ।
७. पारस भन्ने अभिषेक कोइराला कहिलेकाहीँ हाम्रो डेरा कोठामा आउने जाने गरेकोमा म र मेरो श्रीमान् सौरभकुमार सुवेदी माइली फुपूको घरमा जाँदा निजसँग समेत भेटघाट हुन्थ्यो । हामीहरूबिच राम्रै सम्बन्ध थियो । मिति २०७४।१।२४ गते बिहान श्रीमान्ले बच्चालाई लिटो खुवाउँदै हुनुहुन्थ्यो । म र भवानी उप्रेती मिलेर खाना बनाउँदै गर्दा श्रीमान् भएको कोठाको ढोकाको आवाज सुनेर हामी आउँदा हामीहरू सुत्ने कोठाको ढोकाको बाहिर पारस भन्ने अभिषेक कोइरालाको हातमा रगत लत्पतिएको नाङ्गो खुकुरी देखेपश्चात् निजले हामीलाई “ए कोही नबोल” भनी धम्काएर भाग्यो । दौडिँदै कोठाभित्र पस्दा श्रीमान् रक्ताम्य अवस्थामा देख्दा श्रीमान्को श्वास चलिरहेको र छोरासमेत रक्ताम्य अवस्थामा थियो । छोरालाई बोकेर बाहिर निस्किई हार गुहार मागी कान्छी फुपू र मेरो बुबालाई फोन गरेर बोलाएपछि आफन्तहरू तत्कालै मेरो कोठामा आई कपिलमणि रेग्मीसमेतले श्रीमान्लाई बि.एण्ड.बि. अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको हो । मेरो श्रीमान्लाई धारिलो हतियार खुकुरी प्रहार गरी कर्तव्य गरी मार्ने पारस भन्ने अभिषेक कोइराला नै हुन्, देखी चिनी सनाखत गरिदिएँ । निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको प्रतिक्षा सुवेदीले मौकामा गरेको कागजलाई समर्थन गर्दै छोरालाई लिटो खुवाउँदै गरेको कोठाबाट ढोकाको आवाज आएपछि म कोठामा पस्न लाग्दा प्रतिवादीले मलाई देखी केही भनिस् भने तँलाई पनि मारिदिन्छु भनी त्यहाँबाट खुकुरी बोकेर निस्कियो भनी अदालतमा समेत बकपत्र गरेको देखियो ।
८. मृतक सौरभकुमार सुवेदी जेठो मामाको छोरा हुन् । पारस भन्ने अभिषेक कोइराला मेरो सहोदर भाइ हो । मिति २०७४।१।२४ को अन्दाजी ०७:०० बजेको समयमा म घरमा नै सुतिरहेको थिएँ । आमाले मलाई अचानक उठाई सौरभलाई पारसले काटेर रगताम्य बनाई अस्पतालतर्फ लगेको छ भनेपश्चात् थाहा पाएँ । मृतक सौरभकुमार सुवेदीको व्यवहार राम्रो तथा अनुशासित थियो । पारसले अपराध गरिसकेपछि आफूले गरेको अपराधबाट बच्नका लागि र आपराधिक मनोभावनालाई अन्यन्त्र मोड्नको लागि उक्त बयान दिएको हुन सक्छ । पारस भन्ने अभिषेक कोइरालाले के कति कारणले उक्त बयान दिएका हुन् थाहा भएन । निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको सुदिक्षा कोइरालाले मौकामा गरेको कागजलाई समर्थन गर्दै मृतक र मबिच अश्लील कुराकानी भएको होइन सो कुरा गलत हो । प्रतिवादीलाई कानूनबमोजिम होस् भनी अदालतमा बकपत्र गरेको देखियो ।
९. मिति २०७४।१।२४ गते अन्दाजी ०७:०० बजेको समयमा घर बाहिर हो–हल्ला सुनी बाहिर निस्किई बुझ्दा छिमेकमा डेरा कोठा लिई बस्ने सौरभकुमार सुवेदीलाई काटेको छ भन्ने सुनी निजको डेरा कोठामा जाँदा सौरभकुमार सुवेदी रगताम्य अवस्थामा निजको एउटा हात शरीरबाट छुटेको र टाउकोमा चोट देखी मसमेत भई सौरभकुमार सुवेदीलाई निजकै कारमा राखी बि.एण्ड.बि. अस्पताल लगेकोमा डाक्टरले घाइतेको मृत्यु भइसकेको छ भनी बताएका हुन् । निज पारस भन्ने अभिषेक कोइरालाउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको संजयकुमार तिमल्सिनाले मौकामा गरेको कागजलाई समर्थन गरी अदालतमा भएको आफ्नो बकपत्रमा पनि लेखाई दिएको देखिन्छ ।
१०. मैले विगत ३ महिनादेखि जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित उमा कोइरालाको घरमा पढ्दै घरको काम सघाउँदै आइरहेकोमा मिति २०७४।१।२४ गते अन्दाजी ०६:४५ बजेको समयमा म घरको काम गरिरहेको अवस्थामा बाहिरबाट पारस भन्ने अभिषेक कोइराला हतारहतार आई आफ्नो कोठामा छिरी खरानी रंगको ज्याकेट र खैरो रंगको हाफपाइन्ट लगाई पछाडिबाट झोला बोकी मोटरसाइकल चढी गएको देखेको हुँ । केही समयपश्चात् निजको मामाको छोरा सौरभकुमार सुवेदीलाई पारस भन्ने अभिषेक कोइरालाले खुकुरीले काटे रे भन्ने सुनी थाहा पाएकोले निजउपर कानूनबमोजिम कारबाही होस् भन्ने बेहोराको लिलमन गणेशले मौकामा गरेको कागजलाई अदालतमा आफ्नो सो बेहोरालाई समर्थन गर्दै बकपत्रमा लेखाइदिएको देखिन्छ ।
११. मिति २०७४।१।२४ गतेका दिन बिहान ७:०५ बजेको बेला मेरी श्रीमतीले रूँदै ज्वाइँलाई खुकुरी प्रहार गर्यो भनी छोरीले फोन गरिन् भनेकीले म तत्काल अस्पताल पुग्दा सौरभ सुवेदीको डेथ डिक्लेयर भइसकेको रहेछ । म छोरी प्रतिक्षा सुवेदीको डेरामा पुग्दा ठूलो संख्यामा मानिसहरू जम्मा भएका र म भित्र प्रवेश गर्दा प्रहरीहरू घटनास्थलमा आइपुग्नु भएको रहेछ । प्रहरीद्वारा घटनास्थलमा चिह्न लगाई कचौरामा लिटो, रातो चिया राखिएको, कार्पेट सम्पूर्ण रगताम्य अवस्थामा रहेको कोठाको भित्ता, दलिनमा रगतका छिटाहरू यत्रतत्र छरिएका, कोठाको पूर्वपट्टि पर्याप्त आलो रगत जमेको, कोठाको अवस्था हेर्दा साह्रै दर्दनाक, हृदयविदारक तवरबाट अभियुक्त अभिषेक कोइराला भन्ने पारसले पूर्वमनसायका साथ योजनाबद्ध तरिकाबाट छोरी प्रतिक्षा भान्छा कोठामा रहेको अवस्थामा एघार महिनाको बालक काखमा रहेको, लिटो खुवाउँदै गर्दा सौरभ सुवेदीको टाउको र विभिन्न भागमा खुकुरी प्रहार गरी खुकुरीको प्रहारबाट बच्ने प्रयत्न गर्दा दुवै हात छिनाई टाउकोको पछाडिको भागको हड्डी फुटाई खुकुरी जस्तो जोखिमी हतियारले निर्मम तवरबाट हत्या गरेकोले निजलाई हदैसम्मको सजाय गरिपाउँ भन्ने घटनास्थल प्रकृति मुचुल्काका गोविन्द शर्मा पौडेलले अदालतसमक्ष बकपत्र गरेको देखिन्छ ।
१२. सौरभकुमार सुवेदीको मृत्युको कारण MULTIPLE CHOPPED INJURIES TO THE HEAD AND BOTH UPPER LIMB भन्ने बेहोराको शव परीक्षण प्रतिवेदनमा देखियो ।
१३. यसरी उल्लिखित तथ्य प्रमाणहरूको आधारमा हेर्दा प्रस्तुत मुद्दामा प्रतिवादीको मौकाको बयान र सोलाई समर्थन गर्ने अदालतको बयानले अपराध घटाउनुपर्ने कारण, अपराध घटाउन प्रतिवादीले गरेको तयारी र अपराध घटाएको बेहोरा सिलसिलेवार रूपमा स्थापित भएको पाइन्छ । घटना घटाउने मनसाय सिर्जना गर्ने मूल कारणमा मृतक सौरभकुमार सुवेदीले प्रतिवादीको घरमा गई निजको सानो दिदी सुदिक्षा कोइरालासँग अश्लील शब्द प्रयोग गरी दुवैजना कुरा गर्ने गरेको, त्यसबाट प्रतिवादीलाई मनमनै रिस उठिरहेको, घटना घटेको अन्दाजी एक महिनाअगाडि प्रतिवादीको मामा दिलिप सुवेदीले प्रतिवादीलाई बाटोमा भेटी तिमी र तिम्रो सानो दिदी सुदिक्षा कोइरालासँग शारीरिक सम्बन्ध गर्नको लागि सौरभकुमार सुवेदीले उत्प्रेरित गराई दिन्छ रे भनेपश्चात् प्रतिवादीलाई मृतक सौरभकुमार सुवेदीसँग अत्यधिक रिस उठी फ्रेस हुनका लागि आफूले गाँजा सेवन गर्ने भएको हुँदा गाँजा सेवन गरी घरतर्फ फर्केको उल्लेख गरेको छन् । प्रतिवादीले मौकाको कागजमा आफ्नो र प्रतिवादीको बिचमा पटकपटक विवाद भएको उल्लेख गरेको छन् भने अदालतको बयानमा आफूलाई प्रतिवादीले भाइ जस्तो व्यवहारसमेत नगर्ने भनेका छन् । यी तथ्यहरूको आधारमा प्रतिवादीले लामै समयदेखि मृतकका विरूद्धमा मनभित्र गहिरो दुष्मनी पालेर राखेको देखिन्छ । मूलतः मृतकले आफ्नो कान्छी दिदी सुदिक्षा कोइरालासँग अश्लील शब्दमा गफगाफ गरेको कारण रिस उठी निजलाई खुकुरी प्रहार गरी नमारी नछाड्ने योजनाबमोजिम मृतकलाई टाउको जस्तो संवेदनशील अङ्गमा खुकुरीले घातक प्रहार गरी गिदी बाहिर निकाली दिएको र शरीरमा यत्रतत्र खुकुरी प्रहार गरी ढलाई निस्की मृतकको श्रीमती प्रतिक्षा सुवेदीसमेतलाई केही बोले मारिदिन्छु भनी खुकुरी फुलबारीमा फ्याली पूर्वयोजनाअनुसार घटना घटाएको कुरामा अनुसन्धान र अदालतमा साबित रही भागेर जाने क्रममा धादिङको गजुरीमा पक्राउ परेको भनी अनुसन्धान र अदालतसमेतमा बयान गरेको देखिन्छ । यसरी आफूले आपराधिक कार्य घटाउन पूर्वतयारी गरी पसलबाट खुकुरी किनेर ल्याई सिरानीमा राखेको र घटना घटाउन पटकपटक मृतकको डेरा कोठामा निगरानी गरेको, घटना घटेको दिन बिहान गई हेरी जाँची मृतक घरमै भएको यकिन गरी अपराध गरेपछि सोबाट उम्कनका लागि भारततर्फ जान आफ्ना सरसामानहरूको बन्दोबस्त गरी झोलामा राखी मृतकको घरमा गई घटना घटाएको देखिन्छ । यसरी आफूले मृतकलाई मार्ने कुराको कारणसहित मनसाय (Mens Rea) लामो समयदेखि राखेको र सो मनसायलाई कार्यगत रूपमा परिणत गरी (Actus Reus) घटना घटाइको कुरा पुनरावेदक प्रतिवादीले आफूले घटना घटाउनुअघि पछिका सबै कुरा सिलसिलाबद्ध रूपमा बयान गरेको देखियो ।
१४. फौजदारी मुद्दामा अभियुक्तले स्वतन्त्र रूपमा दिइएको साबिती बयानलाई सबैभन्दा महत्त्वपूर्ण र खम्बिर प्रमाणको रूपमा ग्रहण गरिन्छ । यसलाई फौजदारी न्यायको एउटा सर्वस्वीकार्य सिद्धान्त नै मानिन्छ । प्रमाण ऐन, २०३१ को दफा ९(१) ले मुद्दाको कुनै पक्षले व्यक्त गरेको कुरा निजको विरूद्ध प्रमाण लिन हुन्छ भनेको छ । सोही ऐनको दफा ९(२)(क) ले फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा केही निश्चित मापदण्ड पूरा गरेको अवस्थामा प्रमाणमा लिन हुन्छ भनिएकोमा प्रस्तुत मुद्दामा प्रतिवादी अधिकारप्राप्त अधिकारी तथा अदालतमा समेत निजमाथि लागेको हत्या अभियोगमा साबित रहेको देखिएको, दुवै ठाउँको बयान आफ्नो स्वइच्छाले होस हवासमा दिएको बताइएको कारण यस्तो प्रमाणलाई सबैभन्दा निर्णायक प्रमाण मान्नुपर्ने देखियो ।
१५. त्यसैगरी घटनामा मौकामा कागज गर्ने मृतकको श्रीमतीले अनुसन्धानमा भएको कागजलाई समर्थन गर्दै अदालतमा गरेको बकपत्र प्रतिवादीले अधिकारप्राप्त अधिकारी र अदालतमा गरेको बयानसँग निजको बकपत्र एकआपसमा मिलेको देखिन्छ । जाहेरवाला कपिलमणि रेग्मीले दिएको किटानी जाहेरी र सोलाई समर्थन गर्दै अदालतमा गरेको बकपत्रलगायत प्रहरीमा कागज गर्ने अन्य व्यक्तिहरूले प्रतिवादीले मृतकलाई मारेको कुरामा आफूहरूले गरेको मौकाको कागजलाई समर्थन गर्दै अदालतमा बकपत्र गरेको देखिन्छ । मृतकको लास जाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनले निजको हत्या धारिलो जोखिमपूर्ण हतियार प्रहारबाट निर्ममतापूर्वक भएको प्रस्ट देखाएको छ । मृत्युको कारण MULTIPLE CHOPPED INJURIES TO THE HEAD AND BOTH UPPER LIMB भन्ने बेहोराको शव परीक्षण प्रतिवेदनमा देखिन्छ । यसरी मृतकको टाउको र हत्केलामाथि काटिएका घातक चोटहरू प्रतिवादीले प्रहार गरेको घातक खुकुरी प्रहारबाट भएको तथ्य पुष्टि भइरहेको छ । प्रतिवादीले कसुर गरेको कुरामा अदालतमा समेत साबित रहेको र प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा हाल मेरो शारीरिक मानसिक अवस्था ठिक छ सोधिएको प्रश्नको जवाफ दिन सक्छु भनेर लेखाएको देखिन्छ भने अदालतमा बयान गर्दा मेरो स्वास्थ्य अवस्था ठिक छ सोधिएको प्रश्नको जवाफ दिन्छु भनेर लेखाएको देखिन्छ । मृतक सौरभलाई मार्न आफ्नो सिरानीमुनि राखेको खुकुरीमा बेला बेलामा धारसमेत लाउने गरेको, २०७४।०१।२३ गते बेलुका पनि मृतकलाई मार्न गएको थिएँ, डेरा कोठामा नभेटेपछि फर्किएको र सो रातभरि मृतकलाई कसरी मार्ने भनी योजना बनाएको हो भनी आफ्नो बयानमा लेखाएको र सोहीबमोजिम प्रतिवादी पारस भन्ने अभिषेक कोइरालाले मृतक सौरभ सुवेदीको घरकोठामा मिति २०७४।१।२४ बिहान ७ बजेको समयमा गई धारिलो खुकुरी प्रहार गरी सौरभ सुवेदीको कर्तव्य गरी हत्या गरेको तथ्य माथि उल्लिखित विभिन्न अकाट्य प्रमाणहरूबाट शंकारहित ढङ्गले पुष्टि भएको देखियो ।
१६. अब दोस्रो विचारणीय प्रश्नतर्फ विचार गरी हेर्दा प्रतिवादीले पुनरावेदनमा जिकिर लिए जस्तो प्रतिवादी पारस भन्ने अभिषेक कोइराला अपराध गर्दाको अवस्थामा Schizophrenia (सिजोफ्रेनिया) रोगका कारण Insanity र Unsoundness of mind (पागलपन) को गम्भीर मानसिक रोगबाट ग्रस्त भएका हुन् होइनन् ? भनी हेर्नुपर्ने देखियो । यसमा पनि प्रतिवादीले मूलतः आफू सिजोफ्रेनिया रोगबाट गम्भीर रूपमा ग्रस्त रहेको, सो रोगको उपचार गर्दै औषधीसमेत प्रयोग गरिरहेको हुँदा र यो रोग लागेको बिरामीलाई आफूले गरेको कामको परिणाम थाहा नहुनेसमेत भएको कारण आफूले सजायबाट उन्मुक्ति पाउनुपर्ने, उपचारमा संलग्न चिकित्सक र विशेषज्ञलाई बुझ्दै नबुझी हतार हतारमा निर्णय भएको हुँदा आफूले सफाइ हुनुपर्छ भन्ने पुनरावेदन जिकिर र पुनरावेदकका तर्फबाट बहस गर्नुहुने विद्वान् वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको बहस जिकिरको सन्दर्भमा निर्णय गर्दा सिजोफ्रेनिया के कस्तो रोग हो ? यसका लक्षणहरू के हुन् ? रोग पत्ता लगाउने परीक्षण विधि के हुन् ? भन्ने बारेमा संक्षिप्त चर्चा गर्नु सान्दर्भिक मात्र नभएर अनिवार्यसमेत देखियो ।
१७. मूलत: विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाको ब्राउन युनिभर्सिटीले प्रकाशित गरेको अलगअलग अध्ययन प्रतिवेदन, American psychiatric Association बाट प्रकाशित Diagnostic and Statistical Mental Disorders, Fifth edition (DSM-5), मोदीको मेडिकल जुरिस्प्रुडेन्सन तथा टेक्सिकोलोजी लगायतका आधिकारिक दस्ताबेज तथा सन्दर्भ सामग्रीहरूको आधारमा सिजोफ्रेनिया रोग र रोग पत्ता लगाउने विधिका सम्बन्धमा यहाँ उल्लेख गरिएको छ । जसअनुसार सिजोफ्रेनियालाई एउटा गम्भीर मानसिक रोग मानी यसले व्यक्तिको मानसिक अवस्थालाई अनियन्त्रित र अस्तव्यस्त बनाउँछ भनिएको छ । सामान्यतः यो रोग युवा अवस्था वा सोभन्दा केही अगाडिबाटै सुरू भई विस्तारै रोग झनै घातक बन्दै रोगीलाई मानसिक र शारीरिक रूपमा अपाहिज बनाउँछ भनिएको छ । बिरामीको परिवारमाथि यो रोगले ठुलो जिम्मेवारी थप्नुको अलावा बिरामी र उसका परिवार र नजिकको नातेदारहरू मानसिक रोगसँग जोडिएको लाञ्छनाबाट प्रायः लामो समयसम्म प्रताडित हुने भएकाले सिजोफ्रेनियालाई एउटा गम्भीर सार्वजनिक स्वास्थ्यको समस्या पनि भनिएको छ ।
१८. अठारौं शताब्दीको अन्तसम्म सबैखाले मानसिक रोगलाई बाहिरी चरित्र फरक देखिए पनि एउटै मनोरोग हो भनेर बुझ्ने गरेको पाइन्छ । जसलाई Unitary Psychosis (Einheitspsychose) भन्ने गरिएको देखिन्छ । विस्तारै स्वास्थ्य विज्ञानमा भएको प्रगतिसँगै मानसिक समस्यालाई त्यसको लक्षणहरूको आधारमा छुट्टाउने र समूहगत विभाजन गर्नुपर्छ भनी मानसिक रोगलाई dementia, idiocy, mania र melancholia मा विभाजन गरिएको पाइन्छ । भावनात्मक रूपमा एक्लोपन, अनौठो व्यवहार गर्दै आफ्नो बेवास्ता गर्ने र विस्तारै वौद्धिक क्षयीकरणमा जाने अवस्थालाई फ्रेन्च मानोचिकित्सक मोरेल (Morel) ले demence precoce नाम दिएको पाइन्छ । जर्मन मनोचिकित्सक इमिल क्रेप्पिलिन (Emil Kraepelin) ले सिजोफ्रेनिया रोगको आधुनिक अवधारणाको आधार तयार पारेको मानिएको छ । मानसिक अस्पतालमा भर्ना गरिएका बिरामीहरूको परीक्षण र उपचार गर्दै जाँदा क्रेप्पिलिनले केही निश्चित प्रकारको बिरामीमा देखिने पागलपन सुरू युवावस्थाबाटै देखिने र विस्तारै साङ्घातिक बन्दै गएको देखे । रोगीको मानसिक क्षमतामा आएको निरन्तरको गिरावट, भावनात्मक प्रतिक्रियाहरू र व्यक्तित्वमा देखिएको अस्तव्यस्तालाई उनले प्रमुख रूपमा देखेर सुरूमा यो रोगलाई dementia praecox भनेको पाइन्छ । केही समयपछि स्वीस मनोविज्ञानवेत्ता इउजिन ब्लीउलर (Eugen Bleuler) ले यो मानसिक समस्यामाथि थप खोज गरी १९०८ मा Schizophrenia (सिजोफ्रेनिया) नाम प्रस्ताव गरेको पाइन्छ । ब्लीउलरको अध्ययनले मूलतः गम्भीर रूपमा चिरा चिरा भएको व्यक्तिको मानसिक गतिविधिलाई सिजोफ्रेनिया भनेर बुझाउँछ भनेको देखिन्छ । उनले यो रोगको मुख्य लक्षणमा विचार समायोजन प्रक्रिया खलबलिनु, असामान्य भावनात्मक प्रतिक्रिया दिने, कुनै कुरा रोज्ने क्षमता वा निर्णय क्षमता खलबलिनु र निरन्तर कल्पनाको संसारमा रमाउनुलाई इङ्गित गरेको पाइन्छ ।
१९. ब्लीउलरपछि जर्मन मनोचिकित्सक कर्ट सिनिडर (Kurt Schneider) ले १९५९ मा अरू मानसिक रोगमा नदेखिने सिजोफ्रेनियाका केही अलग पाँच प्रमुख लक्षणहरूमा कसैको विचार ठुलो स्वरमा सुनिने, बाहिर हुँदै नभएका थरिथरिका आवाजहरू सुनिने र त्यसमा प्रतिक्रिया व्यक्त गर्ने, विचारभित्रै खिचेर राख्ने, आफ्नु मस्तिष्कभित्रका जस्तोसुकै विचार ठुलो स्वरमा व्यक्त गर्ने र बाहिरी तत्त्वले घटना घटाउन कुनै काम गर्न अह्राइरहेको छ भनी आवाज दिने कराउने भनेर उल्लेख गरेको पाइन्छ । यसमा पनि बिल्कुलै अलग लक्षणको रूपमा तेस्रो व्यक्तिसम्बन्धी भ्रम जसमा हुँदै नभएको कसैको आवाज सुनिरहेको, कोही बोलिरहेको, टि.भि. रेडियो बजिरहेको, होहल्ला भइरहेको महसुस हुनु हो भनी मुलर (Mullor) भन्ने मनोचिकित्सकले १९८२ मा उल्लेख गरेको
पाइन्छ । एउटा अर्को अध्ययनमा सिजोफ्रेनिया रोगको अस्पतालमा गरिने अनुसन्धान र परीक्षणबाट प्रत्येक रोगीका केही अलग अलग लक्षण देखिए पनि केही निश्चित लक्षणहरू निरन्तर रूपमा सिजोफ्रेनियाका रोगीमा देखिनेमा Hallucinations (हलुसिनेसन्स), delusions (डिलुसन्स), disorganized speech, catatonic र bizarre behavior पाइन्छन् भनिएको छ । रोगका लक्षणहरूको आधारमा सिजोफ्रेनिया एकै प्रकारको नभई विभिन्न प्रकारका हुन्छन् भनी यसको वर्गीकरण गरिएको पाइन्छ । जसमा सामान्यतया ६ प्रकार उल्लिखित छ, Paranoid, Catatonic, Hebephrenic (disorganized), Simple, Residual र माथिका पाँच वर्गमा नमिल्नेलाई Undifferentiated schizophrenia नाम दिइएको पाइन्छ ।
२०. Hallucinations (आवाज, स्वाद, स्पर्शमा र देखिने भ्रम, अथवा ती सबै भ्रमको झुण्ड) लाई सिजोफ्रेनियाको प्रायः सबै प्रकारका रोगीमा देखिने सामूहिक विशेषता भनिएको छ । यो विशेषतामा यथार्थमा असत्य तर रोगीका लागि सत्य लागेका यस्ता लक्षणहरू देखिन्छन् भनिएको छ, बिरामीले केही सुन्ने, प्रायः मानिसको आवाज सुन्ने, अथवा केही देख्ने गर्छन् र स्वादमा, केही छुँदा, सुँघ्दा भ्रम हुनसक्ने बताइएको छ । तर यी सबैमा आवाजहरू सुनिनुलाई प्रमुख लक्षण मानिएको छ । आवाज जहाँबाट पनि आउनसक्छ, हावाबाट, भगवान्बाट, भगवान्को सन्देशवाहकबाट, रेडियो वा टेलिभिजनबाट, कुनै उपकरण भित्ता वा फर्निचरमा जडिएकोबाट, आफैँले लगाएको लुगाबाट, शरीरको कुनै अङ्गबाट, आफ्नै भुँडी वा कलेजोबाट वा आफ्नै कान पछाडिबाट आउन सक्छ । आवाज पुरूष वा महिला जसको पनि हुनसक्छ । बिरामीले बोल्नेलाई चिन्न पनि सक्छ नचिन्न पनि सक्छ, बोल्ने आफ्नै परिवारभित्रको पनि हुनसक्छ मरेको पनि हुनसक्छ । प्रायःजसो आवाज चिनिँदैन, अजनबी अनजानबाट आवाज आउँछ, ती प्रस्ट बुझिने हुन्छन् र अरू सबै कामकुरा बन्द गराएर दिएको आवाज, आदेशअनुसार चल्नुपर्ने हुन्छ भनिएको छ । कहिलेकाहीँ आवाजहरू एकआपसमा बाझिएका हुन्छन् तर सँगसँगै आइरहेको हुन्छन् । आवाजले रोगीले गरिरहेको काममा प्रतिक्रिया दिइरहेका हुन्छन् । रोगीले सोचेको कुरालाई ती आवाजहरूले दोहोर्याइरहेका हुन्छन् । रोगीले सोचेको कुराहरू सबैले सुन्न सकिन्छ, सुनिने गरी रोगीले बोलिरहेको हुन्छन्, यी आवाजहरूबाट रोगीलाई यातना भइरहेका हुन्छ । यी आवाजहरू रोगीका लागि यथार्थ लाग्ने भएकाले रोगीले ठुलो स्वरमा सवालजवाफ गरिरहेका हुन्छन् जबकि अरूका लागि ती सबै पूर्णरूपेण भ्रम मात्र रहेको हुन्छन् । यसको अलावा केही बिरामीमा Visual Hallucinatitons (देखिने भ्रम) को लक्षण देखिन सक्छ । जसमा नचिनेका मानिस कोठामा हिँडिरहेको महसुस हुन्छ, भूतप्रेत राक्षस बिरामीको अगाडि उभिन सक्छ, टाउको हावामा उडिरहेको हुन्छ, गोही बाथरूमा बसिरहेको हुन्छ, खानेकुरामा केही घुसेको वा घुसाइएको हुन्छ, खतरनाक विच्छु ओच्छ्यानभित्र बसेको हुन्छ, बिरामीलाई मार्ने तयारी भइरहेको छ, कडा विद्युतीय तरङ्ग शरीरमा महसुस हुन्छ, बिरामीले भुँडी वा टाउको पड्कन लागेको महसुस गर्छ, यी सबै यातना अगाडि आइसकेको हुँदा ऊमाथि दया गर्ने आकाशगंगा परिहरूको झुण्डहरू आकाशमा देखापर्छन् आदि जस्ता बिरामीका लागि यथार्थ लाग्ने भ्रमबाट बिरामी गुज्रिएको हुन्छ भनिएको छ ।
२१. Delusions (झुठो, गलत विश्वास, यथार्थता नस्विकार्ने, आफैँसँगको भ्रम, धोका, चरम आत्मवञ्चना, झुठो प्रचार) लाई सिजोफ्रेनियाका बिरामीमा देखिने अर्को अनिवार्य विशेषता मानिन्छ । यो विशेषतामा यस्ता लक्षणहरू देखिन्छन् भनिएको छ, बिरामीहरूमा देखिने Delusions फरकफरक हुनसक्छ । बिरामीले आफूलाई Tormented (गम्भीर मानसिक र शारीरिक पीडा तथा असन्तुष्टि) भएको अथवा Followed (कसैले पिछा गरेको) अथवा sabotaged (योजनाबद्ध रूपमा समाप्त पारेको वा हानि पुर्याएको) अथवा tricked (धोकामा परेको) अथवा spied (जासुसी गरिएको) अथवा ridiculed (उपहास) गरिएको कडा अनुभव गर्दछ । यसरी हुँदै नभएको कुरा वा परिस्थिति हो भन्ने लाग्ने र झुठोलाई साँचो हो भन्ने लागि आफूलाई योजनाबद्ध ढङ्गले कुनै अपराधमा अभियुक्त बनाई अभियोजन गरिएको अवस्थामा पुर्याइएको; आफूसँग विशेष योजना वा विचारहरू रहेको; महत्त्वपूर्ण कुराहरू आफूबाटै नि:सृत भएको; मूल्यवान् विचार र धारणाहरू आफूले घोषणा गरेको, आफूबाट लिइएको वा आफूभित्र रोपिएको अनुभव बिरामीमा देखापर्दछ । कसैमा आफू बाह्यशक्तिको प्रभाव र नियन्त्रणमा रहेको महसुस हुने हुँदा अकल्पनीय व्यवहार गर्दै विस्तारै आफूले सम्पूर्ण ज्ञानप्राप्त गरी निर्वाण प्राप्त गरेको हुँदा सबै विषय र कुराहरू स्पष्ट भएको अनुभव गर्न थाल्दछन् । कहिलेकाहीँ बिरामीमा यस्तो सत्यको सम्बन्धमा लामो द्विविधा रहे पनि कतिपयमा विस्तारै त्यस्तो अवस्था हराई आफैँ सत्यको साक्षी भएको ठानी त्यसलाई दरो समातेर बसेका पाइन्छ भनिएको छ ।
२२. सिजोफ्रेनियाका बिरामीमा देखिने Delusions को लक्षणमा delusions of persecution (अभियोजन गरिँदैछ भन्ने भ्रम) लाई सबैभन्दा सर्वस्वीकार्य लक्षण मानिएको देखिन्छ । जासुसी अड्डाले स्थानीय प्रहरीसँगको सहकार्यमा आफू (बिरामी) विरूद्ध षड्यन्त्र गरिरहेको छ; सादा कपडा लगाएका प्रहरीहरूले बिरामीको पिछा गरिरहेका छन्; बिरामीमाथिको निगरानी गोप्यरूपमा भइरहेको छ; सेट्लाइटको सहायता लिइएको छ, भित्ताहरूमा सुन्ने संयन्त्रहरू जडान गरिएका छन्, मोबाइल रेकर्ड गरिएको छ, बिरामीलाई कारबाट पिछा गरिँदैछ, उसको गिरफ्तारी तत्कालै हुँदैछ, खानामा विष हालिएको छ, बिजुलीको करेन्ट राति सुतेको समयमा बिरामीको शरीरभित्र घुसाई शरीरका आन्तरिक अङ्गलाई उनीहरूको पक्षमा लगिसकिएको छ, अब कडा यातना अवश्यम्भावी छ भन्ने महसुस गरी बिरामीले कतिपय अवस्थामा सहेर बस्छ भने कतिपय अवस्थामा कडा प्रतिरोध गर्दछ । कतिपय अवस्थामा यस्तो यातना वा गिरफ्तारीबाट बच्न बिरामी आफ्नो ठाउँ छाडी अन्यत्र टाढा गएर बसेको पाइन्छ । केही समय नयाँ ठाउँमा सुरक्षित महसुस गरे पनि पुनः आफूलाई उनीहरूले भेटि कारबाही सुरू भएको महसुस गर्दछन् । यस्तो अवस्थाबाट बच्न कतिपयले आफू वा आफ्नो बासस्थानलाई हतियारले सुसज्जित गर्ने गर्दछन् । एकजना बिरामीले राति घरको सिलिङबाट विद्युतीय यन्त्र पठाउँदैछ भन्ने विश्वास गरी सिलिङभरि आल्मुनियम फोइल लगाएपछि सुरक्षित महसुस गरेको पाइएको उल्लेख गरिएको छ ।
२३. Disorganized speech (जथाभावी, अव्यवस्थित बोली) लाई सिजोफ्रेनियाको बिरामीको अर्को लक्षण मानिएको छ । यसमा के बोलिन्छ भन्ने कुरा माथि delusions मा चर्चा गरिसकेकोले कसरी बोलिन्छ भन्ने पक्षलाई यहाँ हेरिएको देखिन्छ । बोलीमा विचारको अव्यवस्था, छेउ टुप्पो नमिलेको, तर्कहीन, भनाइलाई जथाभावी मिसमास पारिएको हुँदा एउटा शब्दसँग अर्को शब्दको कुनै सम्बन्ध वा तालमेल नभएको पाइन्छ । परिवारका सदस्यले बिरामीको बोलीको कुनै अर्थ ननिस्कने भनेको पाइन्छ । शब्दहरूको मिश्रित सलाद बनेको हुन्छ । उदाहरणको लागि बिरामीलाई हिजो के भएको थियो भनेर सोधिएमा यस्तो जवाफ आउनसक्छ, “सूर्यले मुसाको डाक्टरलाई पछार्यो । बिहान तिमीले चाहेको भए । पच्चिस रूपैयाँ ठुलो रकम हो, ठुलो अनुहार र आँखा भयङ्कर गनायो । मुसा बक्समा छ । के अँध्यारो हुन्छ ? तिमीलाई थाहा भए ।” यसमा विभिन्न विचारहरूको भित्री सम्पर्क सूत्र टुटेको छ । विचारहरू जथाभावी निस्किएका छन् । विचारहरू जोडिएर एउटा लक्ष्य निर्देशित छैनन् । बिरामीलाई के भन्न खोजेको भनेर पुनः सोधिएमा सन्तोषजनक जवाफ नआएर पुनः पहिले जस्तै असम्बन्धित विचारहरू निस्किन्छन् । बिरामीलाई आफूले यसरी बोलिरहकोमा बिल्कुलै चिन्ता हुँदैन । कतिपय बिरामीले बोलेका शब्द सुन्नेले कहिल्यै नसुनेका हुन्छन् । बिरामीको वरिपरिको परिवेशमा कसैले नसुनेको शब्दहरूमा बिरामीले आफैँसँग आरामले गफ गरिरहेको पाइन्छ जुन बिरामीका निजी र कसैले प्रवेश पाउन नसक्ने शब्दहरू हुन्छन् भनिएको छ ।
२४. Catatonic लाई सिजोफ्रेनियाको बिरामीको अर्को लक्षण मानिएको छ । यसमा बिरामीमा नकारात्मकता आउने, अनौठो खलबलीपूर्ण शारीरिक गतिविधि देखाउने गर्दछन् । Catatonic का लक्षणहरूमा negativism, catalepsy, posturing, streotypies र echolalia अथवा echopraxia भनिएका छ । Negativism नकारात्मकताको लक्षण देखिएको बिरामीले जे सल्लाह दिइएको, माग गरिएको वा अपेक्षा गरिएको छ त्यसको ठिक उल्टो काम गरिरहेको हुन्छ । खाना खाऊ भन्दा नखाई बस्ने, लुगा लगाउ भन्दा नलगाउने, प्रश्न सोध्यो जवाफ नदिने, एउटा कोठामा जाउ भन्दा अर्कोमा जाने, मुख खोल भनिएमा मरीगए नखोल्ने, जलिरहेको कोठाबाट बाहिर निस्किनुभन्दा झन् भित्र पस्ने आदि । यस्तो सक्रिय नकारात्मकता, उल्टो काम, बिरामीले स्वतः भित्रैबाट गरिरहेको हुन्छ । कतिपय बिरामी यसको ठिक उल्टो जे भन्यो त्यही मान्ने (automatic obedience) खालका हुन्छन् । यिनीहरूले आफूले गर्नुपर्ने कामको परिणामसमेत नहेरी आज्ञाको पूर्ण पालना गरिरहेका हुन्छन् । १९ औं शताब्दीमा यस्तो रोगी हो होइन भनी परीक्षण गर्दा एउटा बिरामीलाई तिमी आफ्नो जिब्रो बाहिर निकाल र त्यसमा वारपार सुई नघोपुन्जेलभित्र नलानुभन्दा बिरामीले आज्ञाको पूर्णपालना गरी हलचलसम्म नगरेको लेखिएको
छ । बिरामीमा लगातार रहने गरी देखिने अस्वाभाविक मांसपेसीको अवस्था वा समस्यालाई Catalepsy को लक्षण भनिएको छ । यस्तोमा कसैले बिरामीको हात बङ्ग्याउन खोज्यो भने फलाम बाङ्गिन सक्ला तर हात बाङ्गिदैन । कसै गरी हात बङ्ग्याउन सकियो भने पनि त्यसबखतको बिरामीको खुट्टा र शरीर उही स्थिर अवस्थामा रहिरहेको हुन्छ । यस्तो कठिन अवस्थामा बिरामी कसैले आदेश दिएर वा नदिएरै घण्टौं रहिरहन सक्छ । यो रोगको सम्बन्धमा बिसौं शताब्दीको मध्यतिर भएको औषधी विज्ञानको विकासका कारण अहिलेको आधुनिक समयमा यस्तो लक्षण विरलै देखिए पनि पहिले यस्तो लक्षणलाई सामान्य मानिन्थ्यो । अस्पतालको पछाडिका वार्डहरूमा यस्ता बिरामी राखिन्थे जो दिनभरि नै एउटा शारीरिक अवस्थामा अररो भएर उभिइरहेको पाइन्थे । बिरामीले कुनै कारणबिना अत्यन्तै अस्वाभाविक र अचम्मको शारीरिक अवस्था बनाई त्यसमा अडिग रहेको अवस्था वा कसैले हातलाई पछाडि बटारेर राखेको वा कसैले उभिएर कम्मरसम्म अगाडि वा दायाँ वा बायाँ झुकेको अवस्थालाई posturing लक्षणमा भनिएको छ । कुनै बिरामीले अत्यन्तै अस्वाभाविक लाग्ने घण्टौंसम्म एउटै सिधा लाइनमा ओहोर दोहोर गरिरहने, कसैले लुगा लगाउने फुकाल्ने फेरि लगाउने फुकाल्ने गरिरहनेलाई Stereotypies लक्षणमा भनिएको छ । यस्तोमा कतिपय बिरामीले नजिक आएर पटकपटक एउटै प्रश्न सोधिरहने, एउटै कागजलाई पट्याउने फुकाउने, पट्याउने फुकाउने गरेर कागज धुजाधुजा नहुन्जेल उक्त कार्यलाई निरन्तरता दिइरहेका हुन्छन् । अधिकांश बिरामीलाई किन चेतनाशून्य काम गरेको भन्दा कारण बताउन सक्दैनन् । किन यसो गरेको भनी प्रश्न गर्दा कतिले यस्तै त हो नि भन्ने जवाफ दिन्छन् भनिएको
छ । जब कुनै बिरामीले अर्को व्यक्तिको नक्कल गर्छ भन्दा पनि कसैको आग्रहबिना स्वतः आफसे आफ नक्कल हुन्छ यस्तोलाई echolalia अथवा echopraxia को लक्षण मानिन्छ । Echolalia को बिरामीलाई कुनै प्रश्न सोधिएमा उसले आफैँलाई सोधिएको त्यही प्रश्न पटकपटक दोहोर्याई रहन्छ । Echopraxia को बिरामीले उसलाई प्रश्न सोध्ने वा अन्तर्वार्ता लिने व्यक्तिले गरेको हात मुखको हाउभाउ दोहोर्याई रहेको देखिन्छ । यसरी अन्तवार्ता लिने वा प्रश्न गर्ने व्यक्ति गइसकेपछि पनि echolalia अथवा echopraxia को लक्षण भएका बिरामीले त्यही प्रश्न र हाउभाउ कसैको दबाबमा परी रोक्न नसके जस्तो गरी दोहोर्याई रहेको पाइन्छ ।
२५. Bizarre behavior (अस्वाभाविक, अस्वीकार्य व्यवहार) लाई सिजोफ्रेनियाको बिरामीको अर्को लक्षण मानिएको छ जसमा Catatonic सँग मिल्दाजुल्दा र अझ बढी अस्वाभाविक र अचम्म लाग्ने गतिविधि बिरामीमा देखिनुको अलावा बिरामीको अवस्था झनै बढी बिग्रिएको अवस्थामा पुगेको
मानिन्छ । बिरामीले कतै नदेखिने अनौठो तरिकाले हात, मुख बटार्ने, हाउभाउका साथ बोल्ने, शारीरिक गतिविधि देखाउने गर्छन् । कसैले गाउँदै, कसैले टेलिफोनमा बोले जसरी, कसैले अनौठो जिब्रो बटारेर बोलिरहेको पाइन्छन् । कोही हिँड्दा खुट्टालाई अररो पारेर अनौठो गरी मार्चपास गरिरहेको पाइन्छन् । प्रायः नाटकमा प्रस्तुत हुँदा जस्तो वा काठ जस्तो कडा अनुहारमा बिरामी बसेको भेटिन्छ । बिरामीले आफू ठिक छु भने पनि उसको अनुहार पूरै कसिएको र तनावपूर्ण देखिन्छ । यसमा बिरामीको भनाइ र यथार्थमा कुनै मेल खाइराखेको हुन्न । अर्को बिना कुनै कारण बिरामी थामी नसक्ने गरी हाँसिरहेको
पाइन्छ । खुसी हुने वा हाँस्नुपर्ने कुनै कारण बिना एक्लै पनि बिरामी एकोहोरो लामो समय हाँसेको हाँस्यै हुन्छ । कतिपय बिरामीले हाँसो रोक्न खोज्दासमेत नरोकिएको हाँसो आफैँ आइरहेको बताएको भनिएको छ । यस्तो व्यवहारले सिजोफ्रेनियाको बिरामी उसको घरपरिवार वा सार्वजनिक स्थानमा अन्य व्यक्तिभन्दा अलग्गै व्यक्ति हो भन्ने स्वतः चिनिने देखिन्छ । बिरामी मैलो धैलो, ननुहाएको, मैला लुगा, लामा नङ, गर्मी मौसममा पनि धेरै पत्र लुगा लगाएको, मेकअप जथाभावी अस्वाभाविक देखिने, कतिपयले आफूले आफैँलाई हानि पुर्याउन थाल्छन् जसमा बिनाकारण टाउको मुडुल्याउनेबाट सुरू भई आँखी भौं उखेल्ने, खुट्टाको कुनै भागमा खाल्डो पार्ने आदि गर्ने गरेको पाइन्छन् । उपचार नपाई रोगको चरम अवस्थामा पुगेका बिरामीले आफ्नै आँखा कोपरेर झिक्ने, शरीरबाट मासुको टुक्रा काटेर झिक्ने आदि जस्ता भंयकर खालका क्रियाकलाप बिनाकारण गर्ने गरेकोसमेत पाइन्छ भनिएको छ । अर्को के गर्ने नगर्ने भन्नेमा लामो विरोधाभाष रहने अनौठो प्रश्न सिजोफ्रेनियाको बिरामीको यो लक्षणमा
देखिन्छ । जस्तो दारी काट्ने कि ब्रस गर्ने भन्नेमा निर्णय गर्न नसकेर घण्टौं बाथरूममा बसिरहने । त्यसैगरी एकैपटक दुर्इवटा संसारमा बस्ने । राजगद्दीमा बस्न तयारी गर्दै गर्ने र सँगै भान्सामा भात पकाउने काम गरिरहने । यी दुवै अवस्थालाई पूर्णरूपमा आफ्नो सत्य अवस्था हो भनी मान्ने व्यवहार गरेको पाइन्छ । माथि उल्लिखित यस्ता अनौठा लक्षण, गतिविधि र व्यवहारहरू अन्य मानसिक रोगीमा भन्दा सिजोफ्रेनियाको बिरामीमा प्रत्यक्ष देखिन्छन् भनी मनोचिकित्सकहरूले उल्लेख गरेको पाइन्छ ।
२६. सिजोफ्रेनिया रोगका माथि चर्चा गरिएका लक्षणहरूको आधारमा यो रोगलाई सामान्यतः ६ समूहमा बाँड्ने गरिएको पाइन्छ, paranoid schizophrenia, catatonic schizophrenia, hebephrenic (or organized) schizophrenia, simple schizophrenia, undifferentiated schizophrenia र Residual schizophrenia. Paranoid schizophrenia मा मूलतः hallucinations र delusions लक्षणहरू देखिन्छ भनिएको छ । त्यसको अलावा बिरामीलाई विभिन्न आवाजहरूले आफ्नो विरूद्ध विशेष गोप्य षड्यन्त्र भइरहेको जानकारी दिन्छन् । आफ्ना साथी, सहयोगी वा सहकर्मी आफूबारे कुरा गरेर हाँसिरहेको छन्, षड्यन्त्र गरिरहेका छन् आफूलाई हानि पुर्याउन लागेका छन् भन्ने कडा महसुस बिरामीमा भइरहन्छ । शंकैशंकाले बिरामीलाई घेरेर राखेको हुन्छ । हुँदै नभएको आफू विरूद्धको योजनाको रिर्पोट लेखाउन बिरामी प्रहरी कार्यालय पुग्नसक्छ भनिएको छ । Catatonic schizophrenia मा बिरामीमा नकारात्मकता आउने, अनौठो खलबलीपूर्ण शारीरिक गतिविधि देखा पर्ने गर्दछ । Catatonic का लक्षणहरूमा negativism, catalepsy, posturing, streotypies र echolalaia अथवा echopraxia पर्दछन् । जसको विस्तृत व्याख्या माथिका प्रकरणहरूमा गरिसकिएको छ । Hebephrenic (or disorganized) schizophrenia मा बिरामीमा bizarre behavior (अस्वाभाविक, अचम्म, अस्वीकार्य गतिविधि) देखापर्दछ । यसमा बिरामीले गलत विश्वास र गलत धारणालाई समातेर बस्ने हुँदा उसमा hallucinations र delusions का केही लक्षणहरू मिसिएको देखिन्छ । यी लक्षणहरूका बारेमा समेत चर्चा भइसकेको छ । Simple schizophrenia कतिपयमा सानै उमेरबाट नजाँनिदो गरी सुरू भएको हुन्छ र विस्तारै यसको असर बढ्दै जान्छ । Hallucinations र delusions को मात्रा कुनैकुनै सामान्य रूपमा देखापरे पनि धेरै समय अनुपस्थित रहन्छ । मूलतः इच्छाशक्ति विल्कुल नभएको, विचार शून्यताका कारण लक्ष्यरहित र आफ्ना नजिकका साथीहरूबाट समेत टाढा रहन थाल्दछ । व्यक्तित्वमा कडापन र धेरैले अल्छी भन्ने आरोप लगाउँछन् । एक्लै सुतिरहने, एकान्त वा अँध्यारो कोठामा दिनभर बस्न रूचाउने हुन्छन् । कुनैबेला कडा delusions ले आक्रमण गरेको देखिए पनि धेरैजसो समय यिनिहरूले कसैको ध्यानाकर्षण गर्दैनन् । कतिपय आफ्ना बुढा बुबाआमासँग बसेर वा कतिपय मागेर वा सडक गल्लीमा जीवन बिताउँछन् भनिएको छ । Residual schizophrenia नामको प्रयोग त्यस्ता बिरामीको सन्दर्भमा गरिएको छ जसको बिगत सिजोफ्रेनियाको सकारात्मक लक्षणबाट ग्रस्त रहेकोमा हाल केही नकारात्मक लक्षण बाँकी रहेको वा कुनै पनि लक्षण बाँकी नरहेको स्थिति रहेको
हुनुपर्दछ । केही नकारात्मक लक्षण बाँकी रहेकोमा सामान्य मानसिक अव्यवस्था रहेको, एक्लो बस्न रूचाउने वा ध्यानकेन्द्रित हुन नसकेको स्थिति विद्यमान रहेको हुनसक्ने भनिएको छ । Undifferentiated schizophrenia मा उल्लिखित पाँचवटा समूहमध्ये कुनै एउटामा मात्र समावेश गर्न नमिल्ने वा कुनै पनि समूहसँग नमिल्ने लक्षणको कुनै बिरामी देखापरेमा यो समूहमा राख्ने गरेको
पाइन्छ । यस्ता बिरामीले सकारात्मक र नकारात्मक दुवै खालका लक्षण देखाइरहेका हुन सक्छन् भनिएको छ । यसरी एकातिर लामो समयदेखि यो रोगको समूहगत वर्गीकरण गर्ने गरेको पाइएको छ भने, अर्कोतिर सन् २०१३ मा American Psychiatric Association बाट प्रकाशित Diagnostic and Statistical Mental Disorders, Fifth Edition (DSM-5), ले सिजोफ्रेनिया रोगको समूहगत वर्गीकरणलाई हटाई रोगका लक्षणहरूमा ध्यान दिई, रोगका लक्षणहरूको समयावधि र घनत्वको मात्राको निरन्तर जाँच गरी सिजोफ्रेनिया हो वा अरू नै मानसिक रोग हो भन्ने पत्ता लगाई बिरामीमा रहेको रोगको स्थिति पत्ता लगाउनुपर्ने र उपचार अघि बढाउनुपर्ने उल्लेख गरेको पाइन्छ ।
२७. सिजोफ्रेनिया रोगको लक्षण र प्रकारका बारेको चर्चापछि कुनै व्यक्तिमा यो रोग लागेको छ कि छैन ? सिजोफ्रेनिया रोग हो होइन, लागेको छ भने कुन प्रकारको सिजोफ्रेनिया लागेको छ ? भन्ने जानकारीको अभावमा उपचार र औषधी सेवन सम्भव नहुने हुँदा रोग पत्ता लाग्ने परीक्षण विधि पद्धति सबैभन्दा महत्त्वपूर्ण हुने भएकाले त्यसको बारेमा समेत थोरै चर्चा गरिनु आवश्यक देखिन आयो । लामो समयदेखिको स्वास्थ्य विज्ञानमा भएको उल्लेखनीय प्रगतिका कारण मानसिक रोगको उपचार पद्धति धेरै नै विकसित भएको देखिन्छ । दर्जनौं मानसिक रोगमध्ये कुन मानसिक रोग बिरामीमा लागेको छ भन्ने पत्ता नलगाई उपचार अनुमानमा मात्र आधारित हुने अवस्था आजको दिनमा नरहेको हुँदा रोगको अनुसन्धान भयो भएन ? रोगको अनुसन्धान र परीक्षणले के रोग भन्ने पत्ता लगायो ? रोगको असर कति समयसम्म रहन्छ ? पत्ता लागेको रोगको उपचार अघिको समयमा रोगीको अवस्था कस्तो रहन
सक्थ्यो ? उपचार सुरू भइसकेपछि बिरामीको अवस्था कस्तो रहेको छ, भविष्यमा कस्तो रहनसक्छ ? भन्ने आदि धेरै प्रश्नहरू रोगको अनुसन्धान र परीक्षणसँग सिधै सम्बन्धित रहन्छन् ।
२८. जर्मन मनोचिकित्सक Kurt Schineider (कुर्ट सिनिडर) ले १९५९ मा अरू मानसिक रोगमा नदेखिने सिजोफ्रेनियाका केही अलग प्रमुख लक्षणहरू भनी उल्लेख गरेकोलाई सबैले पहिलो तहको (मुख्य) लक्षणहरू (Frist-rank symptoms) नामकरण गरेको पाइन्छ । ती पाँच प्रमुख लक्षणहरूमा कसैको विचार ठुलो स्वरमा सुनिने, बाहिर हुँदै नभएका थरिथरिका आवाजहरू सुनिने र त्यसमा प्रतिक्रिया व्यक्त गर्ने, विचार आफूभित्रै वा खिचेर राख्ने, आफ्नु मस्तिष्कभित्रका जस्तोसुकै विचार ठुलो स्वरमा व्यक्त गर्ने र बाहिरी तत्त्वले घटना घटाउन कुनै काम गर्न अह्राइरहेको छ भनी आवाज दिने कराउने भनेर उल्लेख गरेको पाइन्छ । यी लक्षणहरूले पछिसम्म विकसित भएका रोग पत्ता लगाउने प्रविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ, र यी लक्षणहरूलाई International Stasticial Classification of Diseases and Related Health Problems, Tenth Revision (ICD-10), Diasnosis and statistical manual of Mental disorders, 3rd edition (DSM-III) मा समावेश गरेको पाइन्छ । यसरी विकास गरिएको मानसिक रोग पत्ता लगाउने वैज्ञानिक मेनुअलहरूमा ICD-10, DSM III को अलावा, Present state Examination (PSE), Deterninations of Outcome of severe Mental Disorders (DOSMED), Research Diagnostic Criteria (RDC), DSM III-R (Revised), DSM IV, DSM-5, Schedules for Clinical Assessment in Neuropsychiatry (SCAN), Composite International Diagnostic Interview (CIDI), Computerized tomofraphy (CT), Diagnostic Interview Schedule (DIS), Determinations of Outcome of severe Mental Disorders (DOSMED) आदि सँगै पछिल्लो (DSM-5) जस्ता केही महत्त्वपूर्ण मानसिक रोग पहिचान गर्ने प्रविधिहरूको विकास भएको पाइन्छ ।
२९. मानसिक रोगमाथि भइरहेका निरन्तरका अनुसन्धानले सिजोफ्रेनिया रोगका मुख्य लक्षणको गम्भीर अनुसन्धान गरी यसको सीमालाई साँघुरो पार्दै लगेको पाइन्छ । सिजोफ्रेनियामा देखिएको पहिलो तहका मुख्य लक्षणहरू अरू कतिपय मानसिक रोग, जस्तो Mania (Mental illness marked by periods of great excitement or euphoria, delusions and overactivity) मा पनि देखिने हुँदा पहिलो तहको लक्षणमा समेत अरू लक्षणसँगै तेस्रो व्यक्तिको हेलुसिनेसन (भ्रम) जसमा हुँदै नभएको अर्को व्यक्तिको आवाज वा धेरै आवाजसँग बिरामीले सवाल जवाफ गरिरहेको अवस्थालाई Mullor (मुलर) भन्ने मनोचिकित्सकले सिजोफ्रेनियामा अनिवार्य तत्त्वको रूपमा पत्ता लगाएको पक्षलाई धेरै सर्वस्वीकार्य मानिएको पाइन्छ । सिजोफ्रेनिया रोगको अलावा अन्य मानसिक रोगमा समेत delusions को अवस्था रहनसक्ने हुँदा वास्तवमा सिजोफ्रेनिया हो कि होइन भनी पत्ता नलगाई सिजोफ्रेनियाको उपचार सुरू गरेर औषधी दिने अवस्थासमेत नरहने भनिएको पाइन्छ । अमेरिकामा १९५० देखि १९७० सम्म सिजोफ्रेनियाको लक्षणको रूपमा मानिएका कुनै पनि प्रकारको हेलोसिनेसन, डिलुजन वा अन्य अनौठा व्यवहारका लक्षण देखिनासाथ त्यसलाई सिजोफ्रेनिया मानिने गरिन्थ्यो । जुन अवस्था सोभियत रूसमा पनि रहेकोमा सोबाहेकका युरोप र अन्य विकसित देशमा Mania or depressive psychosis or a neurosis मानिने रोगलाई समेत अमेरिका र सोभियत रूसमा सिजोफ्रेनिया मानेर उपचार सुरू गर्ने गरिएकोमा पछिल्ला विकसित RDC, DCM III, ICD-10 जस्ता चेकलिष्ट र अनुसन्धानहरूबाट त्यसमा व्यापक सुधार भएको मानिएको छ । बिरामी र उसको परिवारको पटकपटकको परीक्षणपछि विकसित चेकलिस्टहरूसमेतको प्रयोगबाट भएको रोग परीक्षणले वास्तविक सिजोफ्रेनियाको बिरामी र अरू मानसिक बिरामी छुट्याउन धेरै सहज भएको उल्लेख गरिएको छ । सही परीक्षणले सिजोफ्रेनिया भनिएका बिरामी अन्य मानसिक रोगी रहेको सम्बन्धमा अमेरिकाका मानसिक अस्पतालहरूमा पाँच वर्षको अवधिमा भएको अनुसन्धानमा ५१४३ मानसिक बिरामीहरूमा DSM-II era (1975-79) मा २५ प्रतिशतमा सिजोफ्रेनिया देखिएकोमा त्योभन्दा विकसित भएको DSM-III era (1981-85) मा ५७७१ मानसिक बिरामीमा १३ प्रतिशतमा मात्र सिजोफ्रेनिया भएको देखिएको पाएका भनिएको छ । यसरी परीक्षण विधि विकसित हुँदै गएपछि वास्तविक सिजोफ्रेनियाका रोगीको संख्या घट्दै गएको देखिन्छ । अहिले परीक्षण विधि झनै धेरै विकसित भई २०१३ मा DSM-5 समेत आइसकेको परिप्रेक्ष्यमा सिजोफ्रेनियालगायतका अन्य मानसिक रोगको परीक्षण र उपचार विधि धेरै नै आधुनिक भइसकेको देखिन्छ ।
३०. प्रत्येक परीक्षण विधिमा समय तत्त्वलाई मुख्य आधार मानिएको छ । ICD-10 परीक्षण विधिले सिजोफ्रेनिया रोग भन्नका लागि बिरामीमा कम्तीमा एक महिना होलोसिनेसन्स, डिलुजन्स वा अन्य कुनै सिजोफ्रेनियाको नौलो अनौठो लक्षणहरू बिरामीमा देखिनुपर्ने मानेको देखिन्छ । यस्तो लक्षण २, ४ दिन वा हप्ता दिन देखा परी हराएमा बिरामीलाई सिजोफ्रेनिया भएको भन्न मिल्दैन भनिएको छ । कतिपय कडा देखिने मानसिक रोगीहरू २, ३ हप्तामा दबाई खाई वा नखाई निको भएको पाइएको हुँदा कम्तीमा एक महिनाको समय बिरामीमा सिजोफ्रेनियाको अनौठो लक्षण लगातार देखिएमा मात्र सिजोफ्रेनिया मान्नुपर्ने भनिएकोबाट सिजोफ्रेनिया कडा र गम्भीर मानसिक रोग हो भन्ने प्रस्ट देखिन्छ । कतिपय देशहरूले ६ महिनाको समयसम्म लक्षण देखिनुपर्ने भनेकोमा ICD-10 परीक्षण विधिले यति लामो समयसम्म परीक्षण अवधि लम्ब्याइरहन नपर्ने मानेको छ । तर DSM-III-Review ले कम्तीमा एउटा वा सोभन्दा बढी रोगका लक्षण एकहप्तासम्म देखिएको बिरामीको परीक्षण सुरू गरी सिजोफ्रेनिया रोग भनी पूर्ण रूपले मान्न बिरामीको लगातारको परीक्षणमा गम्भीर सिजोफ्रेनियाको लक्षण ६ महिनासम्म देखिनुपर्ने मानेको छ । त्यसपछि विकसित भएको DSM-IV ले पुनः ICD-10 को परीक्षण अवधिलाई नै मान्यता दिई कम्तीमा एक महिनाको सिजोफ्रेनियाको पहिलो तहको प्रमुख लक्षण देखिरहेमा सिजोफ्रेनिया रोग मान्न सकिने भनेको छ । पछिल्लो DSM-5 ले कम्तीमा दुई लक्षणमध्ये delusions, hallucinations र disorganized speech मध्येबाट कुनै एक लक्षण अनिवार्य हुनुपर्ने र अन्यमा grossly disorganized or catatonic behavior र negative symptoms मध्येका लक्षण कम्तीमा एक महिना देखिएमा सिजोफ्रेनिया रोग मान्नुपर्ने ठहर्याएको देखिन्छ ।
३१. यसरी मानसिक रोगका बिरामीको रोग र अवस्था पत्ता लगाउनका लागि विगत लामो समयको अध्ययन, अनुसन्धानबाट तयार पारिएका उल्लिखित वैज्ञानिक प्रविधिहरूमा अधिकांशमा विषयविज्ञले मुख्यतः बिरामी र बिरामीको परिवारसँगको कुराकानी, बिरामीको अवस्थाको गहिरो निरीक्षणबाट चेकलिष्ट भर्ने, दैनिक अनुगमनबाट चेकलिष्टमा बिरामीमा भएको रोगको कुन लक्षणको कति घनत्व मात्रा रहेको छ भन्ने आधारलाई रोग पत्ता लगाउने प्रमुख आधार बनाई बिरामीको मस्तिष्कको कम्प्युटराइज प्राविधिक परीक्षणलाई समेत त्योसँगै जोडेर निष्कर्ष निकालिन्छ भनिएको पाइन्छ । अनुसन्धानहरूले बताएअनुसार रोग लाग्ने ठोस कारण यही हो भन्ने अझै पत्ता लागिसकेको देखिँदैन भने थाहा भएका केही कारणहरूमा वंशाणुगत, शारिरिक, सामाजिक र साँस्कृतिक प्रभाव रहेको बताइएको पाइन्छ । यसरी सिजोफ्रेनिया रोगका सम्बन्धमा आजसम्मको अध्ययनलाई हेर्दा यो रोग व्यक्तिलाई मानसिक रूपमा अस्तव्यस्त र विकलाङ्ग बनाउने गम्भीर घातक मानसिक रोग हो भन्ने प्रस्ट देखिन्छ । यो विषयको क्लिनिकल ज्ञान भएको विशेषज्ञले गर्ने परीक्षणबाट मात्र कुनै मानसिक बिरामीलाई सिजोफ्रेनिया रोग लागेको छ वा छैन भनी पत्ता लाग्न सक्ने देखिन्छ । सिजोफ्रेनिया रोग लागेको हो होइन पत्ता लागेपछि मात्र उपचार र औषधी के कस्तो दिने लिने, औषधी र थेरापीलाई कसरी लिएर जाने भन्ने पक्ष रोग विशेषज्ञबाट तय हुने अवस्थालाई अन्यथा मान्न सकिने देखिँदैन ।
३२. सिजोफ्रेनिया रोगको लक्षणहरू, प्रकारहरू र रोग पत्ता लगाउने परीक्षण विधि, प्रविधिहरूका सम्बन्धमा चर्चा गरिसकेपछि अब पुनरावेदक / प्रतिवादीले पुनरावेदनपत्रमा जिकिर लिएअनुसार निज अपराध गर्दाको अवस्थामा वा सोभन्दा अघिदेखि Schizophrenia (सिजोफ्रेनिया) रोगका कारण Insanity र Unsoundness of Mind (पागलपन) को गम्भीर अवस्थाबाट गुज्रिएको हुँदा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा पाउने अवस्थामा नरहेको हुँदा सजायबाट उन्मुक्ति पाउनुपर्छ भन्ने जिकिरको सम्बन्धमा विचार गर्नुपर्ने
देखियो । प्रतिवादीले आफूलाई सिजोफ्रेनिया वा अन्य कुनै होस गुम्ने वा पागलपनमा पुर्याउने प्रकारको मानसिक रोग लागेको थियो भन्ने सम्बन्धमा वारदातपछिको मौकाको बयान कागज तथा अदालतको बयानमा समेत कहीँकतै उल्लेखसम्म पनि गरेको देखिँदैन । मौकामा कागज गर्ने कसैबाट पनि प्रतिवादी सिजोफ्रेनिया वा अन्य कुनै मानसिक रोगबाट ग्रस्त थिए वा निजमा बेहोसीको वा पागलपन देखिने यी यस्ता लक्षण देखिएका थिए भन्ने उल्लेख गरेको देखिँदैन । एकैचोटी उच्च अदालतमा पुनरावेदन गर्दा पुनरावेदक / प्रतिवादीले आफूलाई मानसिक रोग सिजोफ्रेनियाले ग्रसित भएकोले आफूले गरेको कार्यको कुनै जानकारी पुनरावेदकलाई विगत ४ वर्षअघिदेखि रहेको नरहेको, पुनरावेदक Insanity (पागलपन) Schizophrenia (सिजोफ्रेनिया) भएको व्यक्ति भएको भन्ने स्वयम् अभियोगकर्ताले पनि अन्यथा भन्न सकेको अवस्था छैन, पागल व्यक्तिले गरेको कार्यको परिणाम कसुर हुन सक्दैन, कडा मानसिक रोग भएको व्यक्तिले गरेको परिणाम पागल बुझिन्छ र Unsoundness of Mind भित्र पर्ने भई उक्त वारदातमा मनसायको अभावमा रहेको छ, वारदातमा संलग्न देखिए पनि म मानसिक रोगी भएको कारणले घटना घटाउने मनसाय नरहेको, उल्लिखित घटनाको विषयमा ममा भएको पागलपन र सिजोफ्रेनिया रोगको कारणले केही थाहा जानकारी नभएको, मनसाय तत्त्वको अभावमा र सिजोफ्रेनिया रोगको कारणले भएको उल्लिखित घटना भएको पुष्टि भएको र वारदात हुनुभन्दा पहिले मैले गराएका उपचारको प्रेस्क्रिप्सन रिपोर्ट र उपचारमा संलग्न चिकित्सक विशेषज्ञहरूलाई बुझ्दै नबुझी मलाई सुरू अदालतबाट सर्वस्वसहित जन्मकैद गरेको फैसला अत्यन्त चर्को तथा अन्यायपूर्ण भएको बेहोरा उल्लेख गरेको देखिन्छ । त्यसैगरी यस अदालतमा दर्ता गरेको पुनरावेदनमा समेत आफू मानसिक रोग सिजोफ्रेनियाले ग्रसित भएकोले आफूले गरेको कार्यको कुनै जानकारी नभएको, पागल व्यक्तिले गरेको कार्यको परिणाम कसुर हुन सक्दैन, प्रतिवादी / पुनरावेदक Schizophrenia, वाइपोलर डिसअर्डर भएको व्यक्ति भएको हो भन्ने कुरालाई स्वयम् अभियोगकर्ताले पनि अन्यथा भन्न सकेको अवस्था छैन, अपराध शास्त्रमा पागलपनलाई, Schizophrenia लाई One of the group of severe emotional disorders, usually of psychotics proportions, characterized by misinterpretation and retreat from reality, delusions, hallucinations, ambivalence, in appropriate affect, and with deawn, bizarre or regressive behaviours भन्ने बुझिन्छ भन्नेसमेत उल्लेख गरिएको बेहोरा लेखिएको छ ।
३३. यसरी प्रतिवादीले पुनरावेदनमा जिकिर लिएबमोजिम निज मानसिक रोग सिजोफ्रेनियाबाट ग्रस्त रहेको भन्ने कुरालाई प्रमाणित गर्ने कुनै प्रमाण कागज मिसिल संलग्न कागजातमा कहीँकतै
देखिँदैन । प्रतिवादीले मौकाको बयानमा आफू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र सोधिएका प्रश्नको जवाफ दिनसक्छु भनी पूर्ण होसहवासमा रहेको स्वस्थ व्यक्तिले दिनेसरहको जवाफ दिएको
देखिन्छ । सुरू अदालतमा प्रतिवादीले मिति २०७४।२।१८ मा दिएको बयानमा समेत आफूलाई सिजोफ्रेनिया वा अन्य कुनै मानसिक रोग लागेको उल्लेख गरिएको छैन । निजको कर्तव्यबाट २०७४।१।२४ मा सौरभ सुवेदीको हत्या भएपछिको मिति २०७४।२।१६ को “मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्र (मानसिक रोगी तथा लागु औषध दुर्व्यसनीहरूको लागि उपचार केन्द्र)” को लेटरप्याडमा TO WHOM IT MAY CONCERN लिखित Secretary Shyam Karki को नाममा हस्ताक्षरित प्रतिलिपि पत्रमा निम्न बेहोरा उल्लिखित रहेको देखिन्छ, “This is certify that Mr. Abishek koirala, age 24 years was admitted in this center from 2073.01.07 for treatment and was discharged on 2073.03.05. He went through the treatment for mental illness.” भन्ने लेखिएको कागज सुरू अदालतमा पेस गरेको देखिन्छ । यो कागजमा Mental illness को उपचारमा प्रतिवादी १ महिना २८ दिन उक्त सुधार केन्द्रमा बसेको भनिएको स्थितिमा त्यति लामो समय मानसिक रोगको उपचार गराएको भए, केन्द्रमा बिरामी भएर बसेका भए त्यहाँ भएका परीक्षण प्रतिवेदन, रिपोर्टहरूले सिजोफ्रेनिया वा कुन र कस्तो मानसिक रोग प्रतिवादीलाई लागेको थियो भन्ने देखाएको हुनुपर्नेमा त्यस्तो कुनै जानकारीमूलक कागजपत्र कहीँकतै पेस भएको देखिँदैन । उपचारमा को कुन डाक्टर संलग्न
थिए ? उपचारमा भएका परीक्षणहरू र बिरामीको डिस्चार्ज हुँदाको अवस्थाको प्रतिवेदनसहित झण्डै २ महिनासम्म सुधार केन्द्रमा रहँदा दैनिक सेवन गरेका औषधी र उपचारको इतिहासको राम्रै फाइल बनेको हुनुपर्ने र सो विवरण मौकामा अनुसन्धान गर्ने अधिकारीसमक्ष वा अदालतसमक्ष पेस हुनुपर्नेमा सो केही प्रतिवादी वा निज असक्त भएको भए निजको तर्फबाट अरू कसैले पेस गरेको देखिँदैन । सुधार केन्द्रमा मानसिक रोगको उपचार गराएको भए त्यहाँ उपचारमा संलग्न कुनै नाम खुल्ने विशेषज्ञ/डाक्टरले समेत उक्त TO WHOM IT MAY CONCERN को पत्रमा हस्ताक्षर गरेको वा अन्य कुनै Diagnosis report तयार गरेकोसमेत देखिँदैन । TO WHOM IT MAY CONCERN भनी दुई लाइनको सिफारिस पत्रको आधारमा कुनै व्यक्तिलाई सिजोफ्रेनिया वा अन्य कुनै कामको प्रकृति र परिणामसमेत थाहा नपाउने अवस्थामा पुर्याउने मानसिक रोग लागेको थियो वा छ भनेर विश्वास गर्न सक्ने अवस्था विल्कुलै रहँदैन । मौकामा कागज गर्नेमा अधिकांश प्रतिवादीका घरपरिवार र नजिकका नाताभित्रका व्यक्तिहरू रहेको देखिँदा सिजोफ्रेनिया वा अन्य मानसिक रोग लागेको कुनै लक्षण वा गतिविधि प्रतिवादीमा भएको भए त्यसको विवरण स्वाभाविक रूपमा आउनुपर्नेमा सो केही आएको देखिँदैन । मौकाको कागजमा प्रतिवादीले आफूले केही समय अगाडि स्ट्रेसको औषधी सेवन गरेको थिएँ र हाल मेरो शारीरिक तथा मानसिक अवस्था ठिक छ, सोधिएको प्रश्नको जवाफ दिनसक्छु भनी एउटा पूर्णरूपमा स्वस्थ व्यक्तिले दिने जवाफ प्रत्येक सोधिएका प्रश्नमा दिएको देखिन्छ । सिजोफ्रेनिया रोगबाट ग्रस्त रहेको मानसिक रोगीले सोधेका प्रश्नका सिलसिलेवार जवाफ दिन सक्दैन । प्रतिवादीले मौकाको बयान आफैँले दिएको हो भनी मौकाको बयानलाई पूर्णरूपले स्वीकार गरी अदालतको बयानमा मेरो स्वास्थ्य अवस्था ठिक छ तर ४/५ महिनाअघिदेखि मानसिक तनावको दबाई खाँदै आएको थिए भन्दै सोधिएको प्रश्नको जवाफ दिनसक्छु भनेको देखिँदा मानसिक तनाव वा स्ट्रेसको दबाई खाएको दाबी गरेको व्यक्तिलाई आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने सिजोफ्रेनिया मानसिक रोगको अवस्थाको वा पागलपनको अवस्थामा रहेको भन्न मिल्ने देखिँदैन ।
३४. प्रतिवादीले मौकाको कागजमा केही अगाडिसम्म आफूले स्ट्रेसको औषधी सेवन गरेको उल्लेख गरेका छन् भने अदालतको बयानमा ४–५ महिनादेखि मानसिक तनावको दबाई खाँदै गरेको भने पनि ती दाबीसमेत पुष्टि हुने कागजातसमेत पेस गरेको देखिँदैन । दुवै बयानमा आफू स्वस्थ रहेको र सोधिएको प्रश्नको जवाफ दिनसक्छु भनी संरक्षकबिना वा कसैको सहारा सहयोगबिना सोधिएका प्रश्नहरूको प्रतिवादीले सिलसिलेवार जवाफ दिएको
देखिन्छ । यसबाट माथिका प्रकरणहरूमा उल्लेख गरिएका सिजोफ्रेनियाको रोगको कुनै पनि लक्षण प्रतिवादीमा कहीँकतै देखिँदैन । प्रतिवादीले मौका र अदालतको बयानमा उल्लेख गरेको स्ट्रेस र मानसिक तनावको कुरा गर्दा आजको प्रतिस्पर्धात्मक समयमा आइपर्ने विभिन्न प्रकारका समस्या समाधान गर्नुपर्दा वा असमर्थ भएमा समेत कतिपय व्यक्ति चिन्ताग्रस्त हुन पुगेको पाइन्छ । परिवार वा साथीसङ्गी वा सामाजिक सम्बन्धमा देखिने उतारचढाव, वैयक्तिक असफलता र यी सबै वा कुनै कारणको व्यवस्थापनमा समस्या आइपरेमा समेत व्यक्ति एक्लिन पुगी स्ट्रेस वा मानसिब तनावको सिकार हुनपुग्छ । सामाजिक समस्या वा वैयक्तिक सम्बन्धमा देखिएका समस्या समाधानको अभावमा चिन्ता र पीडा बढ्ने र त्यसको व्यवस्थापन हुन नसक्दा मानसिक तनाव बढ्ने हुन्छ । त्यसैले आज अधिकांश मानिस कुनै न कुनै रूपमा परिवार, समाज, जागिर, व्यापार व्यवसाय, पढाई लेखाई, अन्य सामाजिक वा वौद्धिक क्रियाकलाप आदिमा आइपर्ने कठिनाई वा व्यवधानका कारण मानसिक तनावमा रहेको हुन्छ भने त्यसलाई सम्बोधन व्यवस्थापन वा समाधान गर्दै अगाडिको बाटोमा हिँडिरहेको हुन्छ वा हिँड्नुपर्ने हुन्छ । प्रतिवादीले मौका र अदालतको बयानमा समेत पहिले स्ट्रेसको औषधी सेवन गरे पनि वा हाल मानसिक तनावको दबाई खाइरहेको भने पनि त्यो कारणले आफू मानसिक रूपमा कमजोर भएको वा त्यसको असर आफूमा रहेको हुँदा सोधिएको प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा रहेको भनेर त्यसलाई पुष्टि गर्ने कुनै आधिकारिक कागजात पेस गरेकोसमेत कहीँ उल्लेख नगरी आफू शारीरिक र मानसिक रूपमा ठिक रहेको र सोधिएको प्रश्नको जवाफ दिन सक्ने उल्लेख गरी घटनाअघि पछिको सम्पूर्ण बेहोरा सिलसिलेवार रूपमा उल्लेख गरेको देखिएबाट समेत प्रतिवादी मानसिक रूपमा स्वस्थ रहेको र आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न सक्ने अवस्थामा रहेको देखिन्छ ।
३५. प्रतिवादीले अदालतको बयानको सवाल जवाफ १२ मा आफ्नो साक्षीको रूपमा शैलजा कोइराला र मनोरोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्माको नाम उल्लेख गरेको पाइन्छ र सोहीबमोजिम सुरू अदालतको मिति २०७४।२।१८ को आदेश र प्रतिवादीको मिति २०७४।३।७ को निवेदनको आधारमा प्रतिवादीको साक्षीको रूपमा निजको दिदी शैलजा कोइरालाले अदालतमा बकपत्र गरेको देखिन्छ भने मनोरोग विशेषज्ञ भनिएका डा. पुष्पप्रसाद शर्मालाई प्रतिवादीले अदालतसमक्ष बकपत्रका लागि उपस्थित गराउन सकेको देखिँदैन । शैलजा कोइरालाले बकपत्र गर्दा प्रतिवादी अभिषेक कोइरालाको मानसिक अवस्था ठिक थिएन, २०७२ सालमा पनि सुधार गृहमा राखेको हो सो समयमा समाजमा अप्ठेरो पर्ला भनी अभिषेक पोखरा गएको छ भनी ढाँटी सुधारगृहमा पठाएको हो । सो सुधार गृहबाट निस्केपछि पनि निज एकोहोरो हुने आफ्नै काल्पनिक दुनियाँमा हराउने गर्दथ्यो । उसले कल्पना गरेको कुरा सही भो भन्ने ठान्दथ्यो । उसको लक्षण नै यही थियो । के बोले सही के बोले बेठिक के गरे ठिक के गरे बेठिक र कामको परिणामको आभास नै अभिषेकमा थिएन । सो घटनामा अभिषेकको संलग्नता रहेको थियो । निज मानसिक रोगी भएको कुरा सुनेको मात्र होइन भोगेको पनि हो । निजले उपचार गराएको र औषधी खाएको कागज मानसिक अस्पतालमा राख्दाको सिफारिसपत्र र निजको बिरामीअनुसारको लक्षणहरू भएको गुगलको प्रिन्टको कागजसमेत
छ । यसै बकपत्रसाथ पेस गरेको छु । मैले पेस गरेको गुगल प्रिन्टअनुसार निज सिजोफ्रेनियाको मानसिक रोगी हो । निजले हालसम्म पनि नियमित रूपमा औषधी सेवन गरिरहेको छ भन्ने बेहोरा उल्लेख गरको
देखिन्छ । शैलजा कोइरालाको बकपत्रमा उल्लेख गरिएका प्रतिवादीको भनिएका बिरामीका लक्षणलाई समर्थन गर्ने कुनै मेडिकल रिपोर्ट, कागजात, रोगको परीक्षण प्रतिवेदन मिसिल संलग्न रहेको देखिँदैन ।
३६. शैलजा कोइरालाले पेस गरेको date of discharge मा २०७३।३।५ लेखिएको “मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्र (मानसिक रोगी तथा लागु औषध दुर्व्यसनीहरूको लागि उपचार केन्द्र)” को कागजमा final diagnosis, lab investigation, case summary, counselor’s advice को महल खाली रहेको छ र डाक्टरको हस्ताक्षरको महलसमेत खाली रहेकोमा बिरामी Recovered लेखिएको छ । Final diagnosis, lab investigation, case summary, counselor’s advice का महल खाली राखिनुले प्रतिवादी बिरामी भएको नै
देखाउँदैन । बिरामी भएको भए ती महलहरू खाली रहने थिएनन् । रोगको परीक्षण, रोगको नाम, प्राविधिक छानबिन, रोगको सारांश र विशेषज्ञको सल्लाह सबै खाली रहेको अवस्थामा औषधीको महलमा केही औषधीको नाम लेखिएको आफैँमा झुठो र अविश्वसनीय देखिन्छ । दुई हप्तामा पुनः आउनु लेखिएको सो कागजमा कुन डाक्टर वा विशेषज्ञले त्यो लेखेको हो नाम र हस्ताक्षर केही छैन । डाक्टरको नाम वा नामको छाप र हस्ताक्षर नभएको कागजको आधारमा औषधी पसलले औषधी दिनसमेत अस्वीकार गर्छ भने यस्तो कागजलाई प्रमाणको रूपमा स्वीकार गर्नसक्ने अवस्था विल्कुलै देखिँदैन । सो कागजको अनुहारबाटै बनावटी लाग्ने कागजलाई स्वीकार्ने हो भने पनि प्रतिवादी २०७३।१।७ देखि २०७३।३।१५ सम्म उक्त पुनर्स्थापना केन्द्रमा रहेको भनिएको देखिएको र सो समय वारदात हुनुभन्दा झण्डै १० महिनाअगाडि रहेको र उक्त कागजले प्रतिवादीलाई सो समयमा कुनै अमूक रोग लागेको भए पनि Recovered (स्वस्थ) भइसकेको देखाएको छ । अर्का साक्षी भनिएको तर उपस्थिति नगराइएका मनोरोग विशेषज्ञबाट निजले परीक्षण गरेका कागजात, प्रतिवादी सिजोफ्रेनिया रोगका कारण बिरामी भएको भए निजको अवस्था वारदातअघि, वारदात गर्दाको अवस्थामा र पछिको अवस्था कस्तो रहेको थियो ? निजलाई कस्तो उपचारको प्रबन्ध गरिएको थियो र छ ? भन्ने जस्ता बेहोरा स्पष्ट हुने गरी बकपत्र भएको भए त्यसले पक्कै अर्थ राख्ने थियो । तर विशेषज्ञ भनिएका व्यक्ति बकपत्रका लागि अदालतसमक्ष उपस्थित भएको देखिएको छैन । विशेषज्ञ अदालतसमक्ष उपस्थित हुन नसकेको अवस्थामा पनि निजको रेखदेखमा प्रतिवादीको परीक्षण उपचार भएको भए सो कागजातहरूसमेत मौकाको बयानको क्रममा वा अदालतसमक्ष पेस गरिएको देखिँदैन । शैलजा कोइरालाले पेस गरेको एक पेजको माथि उल्लिखित कागजमा समेत निज विशेषज्ञ भनिएका व्यक्तिको नाम वा हस्ताक्षर छैन र प्रतिवादीले मिति २०७४।२।१८ मा अदालतमा दिएको बयानका क्रममा पेस गरेको मिति २०७४।२।१६ को TO WHOM IT MAY CONCERN लिखित कागजमा समेत कुनै विशेषज्ञ वा डाक्टरको नाम वा हस्ताक्षर छैन ।
३७. प्रतिवादीको पुनरावेदन र शैलजा कोइरालाको अदालतसमक्षको बकपत्रमा दाबी गरिएको जस्तो प्रतिवादी लामो समयदेखि हालसम्म सिजोफ्रेनियाको बिरामी भएको भए प्रतिवादी हाल कसरी कारागारमा बस्न सकेका छन् र निजलाई किन मानसिक अस्पतालमा भर्ना नगरिएको हो भन्ने जस्ता प्रश्नको जवाफ मिसिल संलग्न कागजातमा
भेटिँदैन । शैलजा कोइरालाले आफ्नो भाइ बिरामी छ भनेर बिरामीको लक्षण सिजोफ्रेनियासँग मिल्ने जानकारी गुगलबाट थाहा पाएको हुँदा सोको प्रिन्ट पेस गरेको छु भनी उल्लेख गरिएको जस्तो अविश्वसनीय र हास्यास्पद प्रतिरक्षाको दाबी फौजदारी मुद्दामा स्वीकार्य हुनसक्दैन । वारदात हुनुभन्दा झण्डै एक वर्षअगाडि झण्डै दुई महिना मानसिक रोगका कारण सुधार केन्द्रमा उपचार गराएको दाबी गरिएको बकपत्रमा सिजोफ्रेनियाको लक्षण अस्पतालको कागजात र आफूलाई उपचार गर्ने विशेषज्ञ डाक्टरको कागज वा बकपत्रबाट पुष्टि गर्नु अनिवार्य हुनेमा सो गरिएको छैन । पुनरावेदनपत्रमा शैलजा कोइरालाले अदालतको बकपत्रमा उल्लेख गरेको जस्तो प्रतिवादी सिजोफ्रेनियाको बिरामीको लक्षण भनिएको बेहोरा पुष्टि हुने स्वास्थ्य परीक्षणका कागजात मिसिल संलग्न नभएको मात्र होइन प्रतिवादीको मौकाको बयान, अदालतको बयान र प्रतिवादीको वारदातअघि र पछिको गतिविधि र मौकामा कागज गर्ने अन्य व्यक्तिहरूका भनाइबाट समेत बिलकुलै पुष्टि भएको देखिँदैन । प्रतिवादीमा सिजोफ्रेनिया रोगको कुनै एउटा लक्षणसमेत रहेको तथ्य घरपरिवारका सदस्य, वरिपरि छरछिमेकी नाता मित्र मण्डली कतैबाट मौकामा व्यक्त भएको छैन जबकि सिजोफ्रेनिया रोगबाट लामो समयदेखि ग्रस्त व्यक्तिको बेहोसी रहन सहन, बोलीवचन, क्रियाकलापलाई जो कोहीले चिन्न सक्ने र निजले यस्ता अनौठा व्यवहार गर्दथे भन्नेबारे कसै न कसैबाट जानकारी आउनुपर्नेमा मौकामा त्यो केही आएकोसमेत देखिँदैन । प्रतिवादीको गतिविधि र मौका तथा अदालतमा दिएको बयानबाट कसैले पनि निज सिजोफ्रेनिया जस्तो घातक मानसिक रोगबाट ग्रस्त भएको भनी कल्पनासमेत गर्नसक्ने अवस्था देखिँदैन । यसरी सिजोफ्रेनिया एउटा गम्भीर प्रकृतिको मानसिक रोग भएको र यो रोग लागेको व्यक्तिको मानसिक अवस्था गम्भीर रूपमा बिग्रिएको हुने, यसका लक्षणहरू भिन्न र अनौठो प्रकृतिको हुने भएकाले यो रोग लागेको व्यक्तिको नितान्त फरक मानसिक अवस्थालाई जो कोहीले स्पष्ट देख्न सक्ने, चिन्न सक्ने हुने, ऊ आफैँमा एक्लै बोलिरहने, नभएको तेस्रो व्यक्तिको आवाज वा आवाजहरूसँग निरन्तर संवादमा रहने र होसपूर्ण सवाल जवाफ गर्नसमेत नसक्ने स्थितिमा रहने, अस्तव्यस्त शारीरिक र मानसिक अवस्थामा रहने स्थितिमा सिजोफ्रेनियाको बिरामीको लक्षणसँग मिल्ने कुनै अवस्थाको विद्यमानता अपराध गर्दाको अवस्थामा वा अघिपछिसमेत प्रतिवादी अभिषेक कोइरालामा रहेको भन्ने मिसिल संलग्न कुनै कागजातले पुष्टि गरेको देखिँदैन । अतः प्रतिवादी मानसिक रूपमा स्वस्थ रहेको र आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न सक्ने अवस्थामा रहेको समयमा योजनावद्ध रूपमा सौरभ सुवेदीको हत्या गरी त्यसको परिणामबाट बच्नका लागि भाग्दै गर्दा पक्राउ परेको देखिएबाट प्रतिवादी सिजोफ्रेनिया रोग वा अन्य कुनै गम्भीर मानसिक रोगबाट ग्रस्त भएको अवस्थामा निजले मृतक सौरभ सुवेदीको कर्तव्य गरी हत्या गरेको नभई पूर्ण होस हवासमा आफ्नो कामको प्रकृति र परिणाममा बुझ्ने अवस्थामा कर्तव्य गरेको देखिँदा प्रतिवादीको सिजोफ्रेनिया नामको गम्भीर मानसिक रोग लागि पागलपनको अवस्थामा आफूबाट कर्तव्य भएकाले सजायबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।
३८. अब मानसिक अवस्था ठिक नभएकाले कानूनी रूपमा सजायबाट उन्मुक्ति पाउनुपर्छ भन्ने प्रतिरक्षा (defense of insanity) कस्तो अवस्थामा पाउन सक्ने र यस्तोमा प्रमाणको भार कोसँग रहन्छ ? भन्ने तेस्रो प्रश्न निरूपण गर्न नेपालको यससम्बन्धी कानूनी व्यवस्थाको विश्लेषण गर्दा Defense of insanity को अन्तर्राष्ट्रिय अभ्याससमेतलाई मध्यनजर राखी चर्चा गर्नुपर्ने देखियो । प्रतिवादीले आफूले गरेको कर्तव्य ज्यान अपराधबाट उन्मुक्तिका लागि साबिक मुलुकी ऐन, दण्ड सजायको महलको १ नं. को सहारा लिएको देखिन्छ । यो कानूनी व्यवस्थालगायत यस विषयमा भएको हाम्रो कानूनको विकास र अदालतको व्याख्याबारे विश्लेषण गर्नुभन्दा पहिले यससम्बन्धी मुलुक बाहिरको अभ्यासबारे चर्चा गर्नु सान्दर्भिक देखिएको छ ।
३९. फौजदारी अपराधमा मानसिक अस्वस्थताको प्रतिरक्षा (defense of insanity) को सम्बन्धमा बेलायती कमल ल मा भएको कानूनको विकास निकै महत्त्वपूर्ण रहेकाले विश्वका धेरै देशका लागि पथप्रदर्शक देखिएको छ । Gabriel Hallevy द्वारा लिखित The Matrix of Insanity in Modern Criminal Law (2015) मा बेलायतमा सन् १३१३ मा नै defense of insanity लाई "the good and evil” text भनी अङ्ग्रेजी कमन ल मा यसको उल्लेख भेटिन्छ भनेका छन । यसको अर्थ मानसिक रोगले ग्रस्त व्यक्तिले Good (राम्रो) र Evil (खराब) बिचको फरक छुट्याउन नसक्ने हुँदा उनीहरूले पाप गर्न सक्दैनन् (Unable to commit sins) भनिएको छ । त्यसैगरी मानसिक रोगीलाई कानूनी प्रक्रियाअन्तर्गतबाट सजाय गर्नु पर्दैन किनकि पागलपन नै उनीहरूका लागि पर्याप्त सजाय हो भन्ने मान्यता त्यस बखत राखिन्थ्यो भन्ने उल्लेख गरिएको छ । सोही पुस्तकमा सन् १६१६ तिर बेलायतका अदालतहरूले "Idiots” (मूर्ख) लाई फौजदारी सजायको भागी बनाइनु हुन्न भन्ने मान्यता राख्दथे भनिएको छ । "Idiot” त्यो मूर्ख व्यक्तिलाई भनिन्थ्यो जसले १ देखि २० सम्म गन्न सक्दैन, आफ्नो बुबा आमालाई चिन्न सक्दैन र कुन कुरा काम लाग्ने हो र कुन हानिकारक हो भनेर छुट्याउन
सक्दैन । अदालतले सन १७२४ मा "Idiot” Test लाई परिवर्तन गरी "Wild beast” Test (घातक जंगली जनावर) अपनाएको पाइन्छ । यसअन्तर्गत प्रतिवादीले फौजदारी दायित्व वहन गर्नु पर्दैन यदि उसले आफ्नो कार्यको परिणाम घातक जंगली जनावरले भन्दा बढी बुझ्न सक्दैन भन्ने मान्यता यसमा स्वीकारिएको पाइन्छ । The wild beast test ले कुनै प्रतिवादीमाथि पागलपन सवार छ कि छैन भनी मूल्याङ्कन गर्ने आधारलाई साँघुरो पारेको हुँदा अदालतमा Insanity defense दाबी गर्ने मुद्दाको संख्या घट्दै गएको उल्लेख गरिएको पाइन्छ ।
४०. बेलायतमा मानसिक अस्वस्थताको प्रतिरक्षा (Insanity defense) मा ठुलो परिवर्तन Daniel M’Naghten को मुद्दाले सन् १८४३ मा ल्याएको पाइन्छ । यो मुद्दाका कारण Legal insanity defense मा भएको House of Lords को धारणाले विश्वका धेरै फौजदारी कानूनमा स्थान पाएको
देखिन्छ । आजसम्म M’Naghten (मेग्नटन) Rule को नाममा यसलाई अनुशरण गर्ने देशहरू धेरै छन् । भारतको अपराध संहिता (Indian Penal Code) को दफा ८४ लाई पनि यसैको उपज मानिन्छ । यो मुद्दाका प्रतिवादी Daniel M’Nagthen ले तत्कालीन बेलायतका प्रधानमन्त्री Robert peele को हत्या गर्न गोली चलाउँदा दुर्घटना घटी उनको निजी सचिवको हत्या हुन पुग्दछ । मेग्नटन उक्त घटना घटाउँदा Delusions को शिकार भएकाले मानसिक रूपमा अस्वस्थ रहेको हुँदा उनलाई उनले गरेको कार्यको लागि सजाय गरिनु हुन्न, कमन ल ले यस्तो व्यक्तिलाई सजायभागी बनाउन नमिल्ने कानूनको विकास गरिसकेको हुँदा प्रतिवादीलाई रिहा गरिनु पर्दछ भन्ने मेग्नटनका कानून व्यवसायीहरूको तर्कलाई अदालतले स्वीकार गरी Not guilty by reason of Insanity भनी दोषी मान्न नसक्ने निर्णय सुनाएको पाइन्छ । (Queen v. M’ Naghten [1843] 8 Eng. Rep. 718 [HL]
४१. यो निर्णयपछि बेलायतका सर्वसाधारण जनता आक्रोशित भए र महारानी भिक्टोरियासमेत आश्चर्यमा परिन् भनिएको छ । यसरी खुल्लमखुल्ला व्यक्ति हत्या गर्ने व्यक्ति कसरी छुट्यो र कुन कानूनको आधारमा यसो हुन गयो, कसरी प्रतिवादी रिहा भए भनेर महारानीले House of Lords लाई सोधेको प्रश्नमा १५ सदस्यीय House of Lords ले दिएको पाँच बुँदे जवाफको दोस्रो बुँदाको निम्न लिखित जवाफले आजसम्म स्वीकारिएको defense of insanity कानूनको जन्मदिएको मानिन्छ, "To establish a defense on the ground of insanity, it must be clearly proved that, at the time of committing of the act, the party accused was laboring under such a defect of reason, from disease of the mind, as not to know the nature and quality of the act he was doing; or if he did know it, that he did not know he was doing what was wrong.”
४२. यसरी मेग्नटन नियमको आधारमा अपराध गर्ने दोषी व्यक्तिले छुटकारा पाउनका लागि defense of insanity को दाबी गरिरहँदा सो प्रमाणित गर्न आफू सो कार्य गरिरहँदाको अवस्थामा मानसिक रोगको कारण ठिक बेठिक छुट्याउन नसक्ने अवस्थाबाट गुज्रिएका कारण सो कार्यको प्रकृति र परिणाम के हो भन्ने बुझ्न सक्ने अवस्थामा नरहेको अथवा सो थाहा भए पनि आफूले जे कार्य गरिरहेको छु त्यो गलत थियो भन्ने थाहा पाउने अवस्थामा नरहेको कुरालाई प्रस्टसँग प्रमाणित गर्नुपर्दछ । यही मुद्दाबाट आजभन्दा झण्डै १७५ वर्षअघि आधुनिक कानूनमा मानसिक अस्वस्थताको प्रतिरक्षा (Modern legal defense of insanity) को जन्म भएको
मानिन्छ । बेलायतको House of lords ले तय गरेको यही कानूनको आधारमा फौजदारी अपराधको कसुरदारले defense of insanity को आधारमा कसुरबाट छुटकारा पाउन आफूले सो काम गर्दा आफूले के गर्दैछु थाहा नभएको वा कार्यको प्रकृति र परिणाम थाहा नभएको अथवा गरेको कार्य गलत थियो भन्ने थाहा नभएको भन्ने स्पष्ट रूपमा प्रमाणित गर्नुपर्दछ ।
४३. M’Naghten Rule or Test (मेग्नटन नियम अथवा परीक्षण/आधार) को नामले चिनिने यी नियमहरूको आलोचना गर्नेहरूले यसले प्रतिवादीको अपराध गर्दाको अवस्थाको मानसिक स्थितिमा राम्रो ध्यान नपुर्याई पुरानो भइसकेको मनोचिकित्सामा बढी भर परेको आरोप लगाइएको पाइन्छ र मानसिक रोगीले सधैँ आफ्नो कामको प्रकृति र परिणाम नबुझ्ने भन्ने हुँदैन, उसले बुझ्न पनि सक्छ, उसले गरेको गलत भन्ने थाहा पाउन पनि सक्छ । तर त्यसको बाबजुद मानसिक रोगका कारण कुनै घटना घटाउन बाध्यतावश पुग्ने अवस्थालाई मेग्नटन नियमले स्वीकार नगरेकोले कतिपय मानसिक रोगीहरू सजायभागी हुनपुगेको हुँदा त्यसमा थप्नुपर्ने सोचाइका साथ मेग्नटन नियममा थप सहयोगी मान्यताको रूपमा अमेरिकाका केही राज्यहरू र सङ्घीय अदालतहरू (federal courts) ले Irresistible impulse text (1875-1897) को विकास गरेको पाइन्छ ।
४४. यो मान्यताले प्रतिवादीले सही र गलत छुट्याउन सक्ने भए पनि मानसिक रोगका कारण अपराध गर्न रोक्नै नसक्ने (Irresistible impulse) का कारण अपराध घट्न गएको अवस्था रहेछ भने त्यसमा समेत निर्णयकर्ताले ध्यान दिनुपर्दछ भनिएको पाइन्छ । मेग्नटन नियमका अरू आधारहरूलाई स्वीकार्दै आफूले गरेको कार्य गलत भन्ने थाहा पाउने अवस्थामा पनि आफूले गर्ने कामलाई नियन्त्रण गर्ने मानसिक क्षमता नष्ट भएर आफ्नो नियन्त्रणमा नरहेको अवस्थामा प्रतिवादीले गर्ने कार्यको सम्बन्धमा विचार गरी त्यस्तो अवस्थालाई Insane मानिनुपर्ने भनिएको छ ।
४५. मेग्नटन नियममा थप गर्न विकास गरिएको Irresistible impulse text को गम्भीर आलोचना भएको पाइन्छ । यसले रोक्नै नसक्ने अनियन्त्रित मानसिक अवस्थामा अपराध हुन सक्ने कुरालाई स्थापित गर्न खोज्नु समाजका लागि घातक हुन्छ भन्ने पक्षबाट यसको बढी आलोचना भएको
छ । वास्तवमा धेरै अपराध मानसिक समस्याकै कारण हुन्छ किनकि एक दुई अपवादका कारण नभई लगातार मस्तिष्कमा पारेको दबाबका कारण व्यक्तिबाट अपराध घट्ने गरेको पाइन्छ । यसरी अपवादमा घटना घट्ने नभई लगातारको मानसिक दबाबका कारण मानसिक रोग उत्पन्न भई अपराध घट्ने अवस्थालाई यो Irresistible impulse Test ले नजरअन्दाज गरेको छ । गल्ती हो भन्ने थाहा हुँदाहुँदै रोक्न नसक्नु वा गल्ती वा ठिक वा बेठिक थाहा हुने अवस्थालाई नजरअन्दाज गरी मानसिक रोगका नाममा अचानक विष्फोट जसरी अपराध घटेको अवस्थालाई Irresistible impulse को नाममा कानूनले स्वीकारेमा जुनसुकै अवस्थाको अपराधीले defense of insanity को प्रतिरक्षालाई अपराधको सजायबाट जोगिने हतियारको रूपमा प्रयोग गर्न सक्ने भएकाले यसको आलोचना भई धेरै अमेरिकी राज्यहरूले यसलाई प्रतिरक्षाको रूपमा स्वीकार नगरी मेग्नटन नियमलाई नै मूल आधार मानी defense of insanity को कानूनको निर्माण र विकास गरेको पाइन्छ ।
४६. त्यसपछिको defense of insanity को कानूनको विकासमा अमेरिकाको District of Columbia ले महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ । अमेरिकाको राजधानी रहेको District of Columbia को अदालतहरूलाई अन्य राज्यका
अदालतहरूसरहको मानी महत्त्व दिइनुको अलावा अन्य राज्यमा भएसरह यसको आफ्नै Criminal Code (अपराध संहिता) ले Insanity का कारण निर्दोष ठहरिएका व्यक्तिहरूलाई मानसिक अस्पताल राख्नुपर्ने व्यवस्था रहेको पाइन्छ । Insanity defense का सम्बन्धमा Durham Test नामले चर्चित नियम स्थापित गर्न सफल Durham v. United states (214 F.2D 862 CD.C.cir.1954) मा भनिएको छ, "It is simply that an accused is not criminally responsible if his unlawful act was the product of mental disease or mental defect. We use disease in the sense of a condition which is considered capable of either improving or deteriorating. We use defect in the sense of a condition which is not considered capable of either improving or deteriorating and which may be either congenital, or the result of injury, or the residual effect of a physical or mental disease.”
४७. यो व्याख्याले मानसिक रोग वा मानसिक खराबीको उत्पादन / उत्पत्तिका कारण हुन गएको कुनै गैरकानूनी कामका लागि अभियुक्तलाई फौजदारी दायित्व वहन गराउन मिल्दैन भनिएको छ । यसमा रोग (disease) भन्नुको कारण त्यो सुधारिन वा बिग्रन पनि सक्ने अवस्थाको हुने मानिएको छ । खराबी (defect) शब्दको प्रयोग गर्नुको कारण त्यो अवस्थामा सुधार हुन सक्ने अवस्था नरहेको वा सोबाट अझ बिग्रन सक्ने अवस्थासमेत नरहेको र त्यो अवस्था मस्तिष्कभित्रको खराब स्थितिका कारण वा आघातको परिणाम वा शारीरिक वा मानसिक रोगको भित्री परिणामका कारण हुनसक्ने भनिएको देखिन्छ । Durham Rule मा ‘disease’, ‘defect’ र ‘Product’ जस्ता शब्दको प्रयोगका कारण यसको प्रशंसा र आलोचना उत्तिकै भएको र District of Columbia भन्दा बाहिर यो व्याख्याको अनुशरण गरिएको पाइएन भनिएको
छ । अपराधमा दोषी वा निर्दोष ठहर गर्दाको परिणाम व्यक्ति र समाजमा व्यापक हुने हुँदा यस्तो संवेदनशील विषयमा बहुअर्थ लाग्ने खालका खुल्ला शब्दहरूको प्रयोगले धेरै खतराजनक अपराधीहरू छुट्ने मार्ग प्रशस्त गर्ने भएकाले यसलाई अरूले अनुशरण नगरेको
मानिन्छ । यसमा Product शब्दको प्रयोगलाई सबैभन्दा समस्याग्रस्त मानिएको पाइन्छ । मेग्नटन नियममा कमी रहेको छ भनी आलोचना गरिए पनि Durham Rule त्यसको उपयुक्त substitute (बदला / विकल्प) भनी स्थापित हुन सक्दैन भन्नेमा मूलतः Product शब्दको अनिश्चित स्वरूपलाई मानिएको पाइन्छ ।
४८. त्यसपछि American law Institute ले १९६२ मा Durham test लाई अस्वीकार गरी नयाँ कानूनको प्रस्ताव गरेकामा त्यसलाई बढी स्वीकार्य मानिएको पाइन्छ । उक्त प्रस्तावमा भनिएको छ,
“A person is not responsible for criminal conduct if at the time of such conduct as a result of mental disease or defect he lacks substantial capacity either to appreciate the criminality of his conduct or to conform his conduct to the requirements of law.
The terms ‘mental disease or defect’ do not include an abnormality manifested only by repeated criminal or otherwise anti-social conduct.”
४९. यसले, कुनै व्यक्तिले गरेको आपराधिक कार्यमा उसलाई जवाफदेही बनाउन मिल्दैन, यदि त्यस्तो कार्य भएको समयमा मानसिक रोग वा खराबीका कारणबाट उक्त कार्यको आपराधिकता थाहा पाउन सक्ने अधिकतम क्षमताको अवस्थामा उक्त व्यक्ति रहेको कानूनी मापदण्ड वा उसको कार्य कानूनले तोकेको सर्तअनुसारको हुँदैन भनेको
देखिन्छ । मानसिक रोग वा खराबीभित्र पटकपटक भएका आपराधिक अथवा समाज विरोधी कार्यहरूबाट उत्पन्न भएको असामान्य अवस्थालाई समावेश गरिने छैन । अमेरिकन ल इन्स्टिच्युटले अघि सारेको यस प्रस्तावलाई Modal Penal Code का लागिसमेत प्रस्ताव गरिएको देखिन्छ । यसले पटकपटक अपराध गर्ने वा गैरसमाजिक गतिविधिका कारण मानसिक रूपमा विचलित भएका व्यक्तिलाई मानसिक रोग वा खराबी मान्ने अवस्थालाई प्रस्ट शब्दमा अस्वीकार गरेको छ । यसरी American law institute ले प्रस्ताव गरेको यस Modal Penal code लाई त्योभन्दा अगाडि प्रस्ताव गरिएका नियमहरूभन्दा बढी स्वीकार गरिएको पाइन्छ ।
५०. अमेरिकामा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनमाथि ३० मार्च १९८१ मा John W. Hinckley Jr. ले घातक रूपमा गोली चलाएर राष्ट्रपति रेगनलाई गम्भीर रूपमा घाइते बनाएकोमा Hinckley लाई Insanity defense का आधारमा निर्दोष ठहर गरिएपछि यसको कडा विरोध भएर यससम्बन्धी कानूनले कठोर बाटो अपनाएको देखिन्छ । Hinckley ले आफूले हलिउड अभिनेत्री Jody Foster को प्रेम र सम्मान प्राप्त गर्न राष्ट्रपतिमाथि गोली चलाएको बयान दिएका थिए भने उनको गतिविधि र अवस्थामा उनको जाँच गर्ने विशेषज्ञहरूले उनलाई Schizophrenic personality disorder भएको ठहर गरेका थिए । Hinckley लाई सिजोफ्रेनिया रोग लागेको परीक्षण American Psychiatric Association’s Diagnostic and statistical Manual, Third edition (DSM-III) को आधारमा गरिँदा उक्त रोग पत्ता लागेको बताइएको थियो । विशेषज्ञको रिपोर्ट र बकपत्रको आधारमा जुरीले Hinckley लाई Insanity को आधारमा निर्दोष ठहर गरे पनि उनी ३५ वर्ष मानसिक अस्पतालभित्र राखिएर August 5, 2016 मा मात्र रिहा भएका थिए । Hinckley को निर्दोषिताको फैसलाले अमेरिकी जनता आक्रोशितसँगै आतङ्कित पनि भए । राष्ट्रपतिको निर्ममतापूर्वक हत्याको उद्योग गर्ने व्यक्ति दोषी नहुनु सामान्य घटना थिएन । राजनीतिकर्मीहरूले छिटोभन्दा छिटो Legal insanity मा परिवर्तन गरी Hinckley जस्ताले निर्दोष ठहरिन नसकुन् भन्ने व्यवस्था गर्ने प्रयासका कारण राष्ट्रपति रेगनले केन्द्रीय संसद्ले पास गरेको Comprehensive Crime control Act मा १९८४ मा हस्ताक्षर गरे । यो कानूनले प्रमाणको भार पूरै प्रतिवादीमा स्थानान्तरण गरी १४० वर्ष पुरानो मेग्नटन (M’ Naghten) नियममा व्यापक परिवर्तन ल्याएको मानिएको पाइन्छ । यो केन्द्रीय कानूनसँगै दुई तिहाई राज्यहरूले Insanity defense रहेको फौजदारी मुद्दामा प्रमाणको भार प्रतिवादीमा रहने कानूनी व्यवस्था गरे भने ८ राज्यले निर्णयमा "Guilty but mentally ill” (दोषी तर मानसिक रोगी) भन्ने व्यवस्थालाई कानूनी मान्यता दिए भने Utah भन्ने राज्यले यसलाई पूरै उन्मूलन गरी Insanity defense को दाबी गर्नै नपाइने व्यवस्था गरेको बेहोरा Richard J. Bonnie सहितका लेखक रहेको A case study in the Insanity Defense: The trial of John W. Hinckley, JR (3rd ed. 2008) मा उल्लिखित छ ।
५१. उपर्युक्त उल्लेख भएअनुसार अमेरिकी कानूनी व्यवस्थामा पुनः परिवर्तन आएको देखिन्छ । अमेरिकामा प्रत्येक राज्यको आआफ्नै अपराध संहिता रहेको हुँदा पुनः Insanity Defense को कानूनमा परिवर्तन ल्याई झण्डै आधा राज्यहरूले M’Naghten Rule को आधारमा र २० राज्यले Modal Penal Code को Rule को आधारमा राज्यहरूको आवश्यकता हेरी कानून प्रचलनमा ल्याएको पाइन्छ भने Kensas राज्यले मनसाय नभएको हुँदा अपराध हुन नसक्ने वा गर्न नसक्ने दाबीबाट आफ्नो निर्दोषिता प्रमाणित गर्नुपर्ने व्यवस्था राखी Insanity defense लाई अस्वीकार गरेको पाइन्छ । आफ्नो राज्यको आवश्यकता र अनुभवको आधारमा यससम्बन्धी कानूनमा परिवर्तन आइरहेको देखिए तापनि सबै राज्यहरूको कानूनमा एउटा आधारभूत समानता के देखिन्छ भने अमेरिकी राष्ट्रपति रेगनको १९८१ मा भएको हत्या प्रयासको अभियोगमा संलग्न Hinckley लाई Insanity claim को आधारमा निर्दोष ठहरेपछि Insanity defense को प्रतिरक्षालाई कठोर बनाइएको पाइन्छ । प्रतिवादीले घटना घटेको समयमा कामको प्रकृति र परिणाम थाहा नपाउने गरी कुन रोगका कारण आफ्नो मानसिक अवस्था बिग्रिएको छ भन्ने बेहोरा आधुनिक मेडिकल रिपोर्ट, परीक्षण, विशेषज्ञको बकपत्र आदि प्रमाणसहित शंकारहित ढङ्गले प्रमाणित गर्नुपर्दछ भनिएको छ । त्यसको अलावा मानसिक अस्वस्थता / खराबीका कारण अपराधमा Not guilty (दोषी नरहेको) ठहर भएपछि व्यक्तिलाई उपचारमा पठाइन्छ, घर जान दिइँदैन । मानसिक रोग पूर्ण रूपले ठिक नभएसम्म प्रतिवादीले वर्षौं मानसिक अस्पतालमा बिताउनुपर्ने पनि हुनसक्छ । जसरी Hinckley, Insanity को आधारमा निर्दोष ठहरिए पनि उनले ३५ वर्ष मानसिक अस्पतालमा बिताएपछि मात्र उनी रिहा भए । यसरी कतिपय अवस्थामा आफूले गरेको अपराधमा कानूनबमोजिम हुन सक्ने जेल सजायभन्दा मानसिक अस्पतालको बसाई अधिक हुनसक्ने देखिन्छ ।
५२. इङ्ल्यान्डमा M’ Naghten Rule आजपनि defense of insanity को सम्बन्धमा अन्तिम कानूनको रूपमा रहेको छ भने गम्भीर मानसिक अवस्था (Insanity) भन्दा कम स्थितिको मानसिक समस्या भएको प्रतिवादीले हत्या कसुर गरेको हकमा अधिकतम सजाय वा मृत्युदण्डभन्दा कम सजाय दिन सकिने गरी Homicide Act, 1957 मा Defense of Diminished Responsibility को व्यवस्था गरिएको पाइन्छ । Diminished responsibility को सिद्धान्त सर्वप्रथम criminal law of Scotland मा लागु गरिएको पाइन्छ जुन M’ Naghten Rule भन्दा केही फरक रहेको छ । Diminished responsibility defense मा सजायबाट पूर्ण छुट्काराको दाबी नगरी सजाय कमको मात्र दाबी गर्न सकिन्छ । प्रतिवादीको abnormality of mind (मानसिक अस्वस्थता) को अवस्थाका कारण murder (मनसायसहितको हत्या) को सजाय नगरी manslaughter (मनसायरहितको हत्या) को सजाय वा सोभन्दा कम सजायको दाबी गर्न सकिने कानूनी अवस्थालाई Defense of diminished responsibility भनिएको छ र यसबाट त्यस्ता परिस्थितिका व्यक्तिले राहत पाएको मानिन्छ ।
५३. Defense of insanity का सम्बन्धमा भारतीय कानूनी प्रणाली हेर्दा बेलायतमा १७० वर्षअगाडि बनेको M’ Naghten Rule को सिधा प्रभाव परेको देखिन्छ । Indian penal code को दफा ८४ मा defense of insanity सम्बन्धी कानूनी व्यवस्था रहेको छ । तर उक्त कानूनी व्यवस्थामा Insanity शब्दको प्रयोग नगरी “Unsound mind” शब्दको प्रयोग गरिएको छ । दफा ८४ मा लेखिएको छ, "Act of a person of unsound mind:- Nothing is an offense which is done by a person who, at the time of doing it, by reason of unsoundness of mind, is incapable of knowing the nature of the act, or that he is doing what is either wrong or contrary of law.” Unsoundness of mind लाई अर्को शब्दमा Insanity पनि भनिन्छ । यसको स्वास्थ्य विज्ञानको भाषामा भनिने अर्थ मस्तिष्कको दुरावस्था, जसका कारण व्यक्तिको मानसिक तन्तु / तत्त्व वा सन्तुलन बिग्रिएको हुन्छ । Insanity लाई मानसिक असामान्य अवस्था पनि भनिन्छ जसलाई अन्य शब्दमा Madness, Lunancy आदि पनि भनिन्छ । IPC को दफा ८४ ले त्यस्तो कार्यलाई कसुर मान्दैन, जुन कार्य गर्दा व्यक्ति मानसिक दुरावस्थाका कारण आफूले गरेको कामको प्रकृति बुझ्न सक्ने अवस्थामा छैन अथवा आफूले जे गर्दैछु त्यो गलत छ वा कानूनविपरीत छ भन्ने थाहा पाउने अवस्थामा छैन । दफा ८४ ले दुई अवस्थाको विद्यमानतालाई मानसिक दुरावस्थाको रूपमा स्वीकारेको देखियो । पहिलो-उक्त कार्य गर्दाको समयमा कामको प्रकृति बुझ्न नसक्ने अवस्था र दोस्रो आफूले गरेको काम गलत भएको अथवा आफूले गरेको काम कानूनविपरीतको रहेको थाहा नपाउने
अवस्था । दोस्रोको सन्दर्भमा गहिरिएर हेर्दा, कुनै काम गलत छ भन्ने थाहा छैन तर कानूनविपरीत छ भन्ने थाहा भए पनि सजाय हुने देखिन्छ र कानूनविपरीत भन्ने थाहा छ तर गलत छ भन्ने थाहा नभए पनि सजाय हुने देखिन्छ ।
५४. IPC दफा ८४ प्रयोगको सम्बन्धमा भारतीय सर्वोच्च अदालतले महत्त्वपूर्ण व्याख्या गरेको पाइन्छ । Sheralli wali Mohammed v. the State of Maharashtra, (1973) 4 SCC 79 को मुद्दामा चार सदस्यीय इजलासबाट भनिएको छ, “Not only is there no evidence to show that the accused was insane at the time of the commission of the acts attributed to him, but there is nothing to indicate that he had not the necessary mens rea when he committed the offense. The law presums every person of the age of discretion to be sane unless the country is proved. It would be most dangerous to admit the defense of insanity upon arguments derived merely from the chareter of the crime. The mere fact that no motive has been proved why the accused murdered his wife and child or the fact that he made no attempt to run away when door was broke open, would not indicate that he was insane or, that he did not have the necessary mens rea for the commission of the offense.” यसमा कुनै अपराध गर्ने मनसाय नभएको, कसुरदार अपराधको स्थानबाट नभागेको भन्दैमा त्यसैलाई मानसिक दुरावस्था मान्न नसकिने, मानसिक दुरावस्थाको स्थिति प्रमाणित हुनुपर्ने भन्दै अन्यथा प्रमाणित नभएसम्म उमेर पुगेको प्रत्येक व्यक्तिलाई अदालतले स्वविवेक प्रयोग गर्न सक्ने स्वस्थ अवस्थाको मान्दछ भनिएको छ ।
५५. उल्लिखित Sheralli Wali Mohammed फैसलाको प्रकरण १३ मा घटना घटाउँदाको समयमा प्रतिवादीको मानसिक अवस्था कस्तो थियो भन्ने सम्बन्धमा सुरू अदालतमा भएको साक्षी परीक्षण र त्यसलाई तलका अदालतहरूले विश्वसनीय नमानेको सम्बन्धमा समेत चर्चा गरिएको
छ । जसअनुसार प्रतिवादी / अभियुक्तको एकजना भाइ (तेस्रो साक्षी भनिएका) ले अभियुक्त प्रायःजसो रोक्न नसकिने गरी उत्तेजित हुने, कुनै बेला पागलजस्तो व्यवहार गर्ने गरेकाले डा. देश पाण्डे र डा.मालभिलिले उपचार गरेको बताएका छन् । अर्का भाइ हैदरअलिले पनि अभियुक्त छोटो छोटो समयको पागलपनबाट प्रायः गुज्रिएकाले उल्लिखित डाक्टरहरूबाटै उपचार गराइएको थियो भनेका छन् । यी दुवै डाक्टरहरूको समेत बकपत्र गराइएकोमा प्रतिवादीको तर्फबाट डाक्टरहरूको जिरह भएको देखिँदैन भने अभियुक्तको मानसिक अवस्था बिग्रिएको भन्नेमा तलका अदालतहरू सन्तुष्ट भएको नदेखिएकोलाई अन्यथा मान्नुपर्ने देखिँदैन भन्ने सर्वोच्च अदालतको ठहर रहेको देखिन्छ । अर्का साक्षी रूस्तान मिर्जाले आफ्नो बकपत्रमा अभियुक्त विगत ८/१० वर्षदेखि सहायक ड्राइभरको रूपमा आफूसँगै सामान्य अवस्थामा काम गरिरहेको र घटना घटेको अघिल्लो दिनसमेत साँझ ४ बजेसम्म सँगै काम गरेको बताएको पाइन्छ । घटनापछि बिहान ७:२० मा अभियुक्तको जाँच गर्ने डाक्टर कालोरकरले समेत अभियुक्त सामान्य अवस्थामा रहेको बताएका छन् । यो प्रमाणलाई समेत जिरहमा चुनौती दिइएको छैन । त्यसैले अपराध घटाउँदाको समयमा अभियुक्तको स्वस्थ मानसिक अवस्था थिएन भन्ने कुनै प्रमाणबाट किटानी रूपमा देखिँदैन भनिएको छ । यसबाट घटना घट्दाको अवस्थामा प्रतिवादी / अभियुक्तको मानसिक अवस्था कस्तो थियो भन्नेबाहेक अघि वा पछिको मानसिक अवस्था कस्तो थियो भन्ने विषय defense of insanity को सन्दर्भमा सान्दर्भिक हुने देखिँदैन ।
५६. भारतीय सर्वोच्च अदालतको अर्को फैसलामा तीन सदस्यीय इजलासले अधिकारप्राप्त अदालतबाट मृत्युदण्डको सजाय दिई राष्ट्रपतिबाट समेत माफीको निवेदन अस्वीकार गरिसकेको स्थितिमा कसुरदार, अपराध घटाएपछि Schizophrenia नामको गम्भीर मानसिक रोगबाट ग्रस्त भएकाले मृत्युदण्ड दिन मिल्दैन सो रोकिपाउँ भन्ने पुनरावेदनलाई अस्वीकार गरेको पाइन्छ । Amrit Bhushan Gupta V. Union of India and others, (1977) I SCC 180 को मुद्दामा अदालतले घोषणा गरेको छ, “The courts have no power to prohibit the carrying out of a sentence of death legally passed upon an accused person on the ground either that there is some rule in the common law of England against the execution of an insane person sentenced to death or some theological, religious or moral objection to it.” भनिएको छ । यो मुद्दामा मानसिक अस्वस्थता भएको व्यक्तिलाई इङ्ल्यान्डको कमन ल को नियम, धार्मिक तथा नैतिक मूल्य मान्यताको आधारमा मृत्युदण्ड दिइनु हुन्न भन्ने तर्कलाई उच्च अदालतसँगै सर्वोच्च अदालतले समेत अस्वीकार गरेको देखिन्छ । यसरी अपराध घटाएपछिको अवस्थामा मानसिक रोगी भई defense of insanity को आधारमा सजायबाट पूरै छुटकाराको दाबी नभएर मृत्युदण्ड रोकिपाउँ भन्ने दाबी जिकिरसमेतलाई भारतीय सर्वोच्च अदालतले अस्वीकार गरेको देखिन्छ ।
५७. Defense of insanity को सन्दर्भमा भारतीय सर्वोच्च अदालतले गरेको व्याख्यासम्बन्धी अर्को महत्त्वपूर्ण मुद्दा Bapu Alias Gujraj singh V. State of Rajasthan (2007) 8 SCC 66 लाई लिन सकिन्छ । ढोका थुनेर प्रतिवादीले क्रूरतापूर्वक आफ्नो श्रीमतीलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको तथ्य रहेको यस मुद्दामा प्रतिवादीले IPC-84 को प्रतिरक्षाको दाबी गरेको सन्दर्भमा कस्तो अवस्थामा Unsoundness of mind (Insanity) को सुविधा प्राप्त हुने, यस्तो जिकिरमा प्रमाणको भार कसमा रहने, समय तत्त्वको महत्त्वलाई कसरी सम्बोधन गर्ने र Medical insanity र Legal insanity जस्ता महत्त्वपूर्ण प्रश्न सम्बोधन गरिएको छ ।
५८. कस्तो अवस्थामा दफा ८४ अन्तर्गत अपराध घटाउने व्यक्ति उन्मुक्ति पाउन सक्ने भन्ने सम्बन्धमा ठहर गर्दा भनिएको छ, “Under section 84 IPC, a person is exonerated from liability for doing an act on the ground of unsoundness of mind if he, at the time of doing the act, is either incapable of knowing (a) the nature of the act, or (b) that he is doing what is either wrong or contrary to Law. The accused is protected not only when, on account of insanity, he is incapable of knowing the nature of the act, but also when he did not know either that the act was wrong that it was contrary to law, although he might know the nature of the act itself. He is, however not protected if he knew that what he was doing was wrong, even if he did not knew that it was contrary to law, and also if he knew that what was doing was contrary to law even though he did not know that it was wrong.” यो व्याख्याले दुईवटामध्ये एउटा अवस्थाको विद्यमानता रहेमा अभियुक्तलाई अभियोगबाट उन्मुक्ति दिनुपर्दछ भनिएको छ । आफूले गरेको कामको प्रकृति थाहा नपाउने अवस्था रहेको अथवा गरिरहेको काम गलत अथवा कानूनविपरीत छ भन्ने थाहा नपाउने अवस्था रहेको अवस्थामा उन्मुक्ति दिइनु पर्दछ । कामको प्रकृति थाहा पाउने भए पनि उक्त काम गलत वा कानूनविपरीतको हो भन्ने थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको अभियुक्तले उन्मुक्ति पाउँछ । तर अभियुक्तलाई आफूले गरेको काम गलत भन्ने थाहा नभए पनि कानूनविपरीत भन्ने थाहा छ वा कानूनविपरीत छ भन्ने थाहा नभए पनि गलत छ भन्ने थाहा भएमा उन्मुक्ति प्राप्त हुँदैन भन्ने व्याख्या भएको पाइयो ।
५९. घटना घटाउँदाको अवस्थाको गम्भीर मानसिक अस्वस्थताका कारण भएको कामको परिणाम थाहा नपाउने स्थितिलाई उन्मुक्तिको आधार मान्न सकिने, अन्य सामान्य वा मध्यम स्थितिका मानसिक समस्यालाई वा अघिपछिका अवस्थालाई उन्मुक्तिको आधार मान्न नसकिने भन्नेमा यस मुद्दामा अदालतको निम्न व्याख्या रहेको छ, “Mere abnormality of mind or partial delusion, irresistible impulse, or compulsive behavior of a psychopath affords no protection under section 84 IPC. The mere fact that an accused is conceited, odd, irascible and his brain is not quite all right or that the physical and mental ailments from which we suffered had rendered his intellect weak and has affected his emotions and will or that he had committed certain unusual acts in the past, or that he was liable to recurring fits or insanity at short intervals, or that he was subject to getting epileptic fits but there was nothing abnormal in his behavior or that his behavior was queer, cannot be sufficient to attract the application of section 84 IPC. The standard to be applied is whether according the ordinary standard, adopted by reasonable men, the act was right to wrong. In the present case, the order of the trial court shows that because of abnormal behavior the appellant was under treatment. Mother of the appellant (PW8) stated that appellant had remained mentally fit for about four years after treatment. During trial also pursuant to the courts order he was sent for treatment and his conduct was normal thereafter. Hence, the present case is not one where the protection under section 84 IPC can be applied.” एकातिर प्रस्तुत मुद्दाको प्रतिवादी असामान्य व्यवहारका कारण उपचारमा रहेको देखिन्छ भने मानसिक रोगको उपचारपछि विगत ४ वर्षदेखि प्रतिवादी मानसिक रूपमा स्वस्थ रहेको भन्ने प्रतिवादीको आमाले बताएको र अदालतको आदेशबाट उपचारमा पठाउँदा उसको व्यवहार सामान्य रहेको बताइएको हुँदा दफा ८४ को संरक्षण दिनुपर्ने अवस्थामा प्रतिवादी नरहेको उल्लेख गरिएको छ ।
६०. यसै मुद्दामा defense of insanity मा अदालतले Medical insanity हेर्ने हो वा Legal insanity भन्ने सम्बन्धमा अदालतको चासो Legal insanity सँग रहन्छ भनी व्याख्या गर्दै प्रत्येक मानसिक रोगीलाई स्वत: फौजदारी जिम्मेदारीबाट उन्मुक्ति दिन सकिँदैन । स्वास्थ्य विज्ञानले चिन्ने मानसिक अस्वस्थता र कानूनले मान्ने मानसिक अस्वस्थताबिचको फरक छुट्टाइनुपर्दछ भन्दै अदालतले medical insanity भन्दा Legal insanity प्रति बढी चासो राख्दछ भनिएको छ, "Section 84 IPC lays down the legal test of responsibility in cases of alleged unsoundness of mind. There is no definition of “Unsoundness of mind” in the penal code. The courts have however mainly treated this expression as equivalent to insanity. But the term “insanity” itself has no precise definition. It is a term used to describe varying degrees of mental order. So, every person who is mentally diseased, is not ispo facto exempted from criminal responsibility. A distinction is to be made between legal insanity and medical insanity. A court is concerned with legal insanity and not with medical insanity.”
६१. Defense of insanity को जिकिर लिएको मुद्दामा प्रमाणको भारको माथि रहन्छ भन्ने सम्बन्धमा हेर्दा कानून तथा अदालती व्याख्याबाट समेत प्रमाणको भार प्रतिवादीमा रहने स्पष्ट रहेको
देखिन्छ । अपराध घटेको पुष्टि भइसकेपछि वा अभियोजन वा सुनुवाइको क्रममा प्रतिवादीले आफू मानसिक रूपमा अस्वस्थ रहेका कारण आफूले गरेको कामको प्रकृति बुझ्न सक्ने वा ठिक बेठिक छुट्याउन नसक्ने स्थितिमा रहेको जिकिर लिएको अवस्थामा सोको पुष्टि गर्ने भार दाबी लिने पक्ष प्रतिवादीले नै गुजार्नु पर्दछ भन्ने सम्बन्धमा उल्लिखित मुद्दाको व्याख्यामा भारतीय सर्वोच्च अदालतले यसरी गरेको छ, "The burden of proof rest on the accused to prove his insanity, which arises by virtue of section 105 of the Evidence Act, 1872 and is not so onerous as that upon the prosecution to prove that the accused committed the act with which he is charged. The burden on the accused is no higher than that resting upon a plaintiff or a defendant in a civil proceeding. The onus has to be discharged by producing evidence as to the conduct of the accused shortly prior to the offence and his conduct at the time or immediately afterwards, also by evidence of his mental condition and other relevant factors. Every person is presumed to know the natural consequences of his act. Similarly, every person is also presumed to know the law. The prosecution has not to establish these facts.” भनिएको छ ।
६२. अब defense of insanity को सम्बन्धमा हाम्रो कानूनको व्यवस्था, विकास र अदालतको व्याख्याबारे विश्लेषण गर्नुपर्ने देखियो । प्रतिवादीले साबिक मुलुकी ऐन, दण्ड सजायको १ नं. को कानूनी व्यवस्थाबमोजिम सजायबाट उन्मुक्तिको दाबी गरेको देखिन्छ, जुन निम्नबमोजिमको रहेको छ, "कानूनबमोजिम अपराध ठहरिने कुनै काम गर्ने व्यक्ति सो काम गर्दा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन । मगज बिग्रेको बौलाएको व्यक्तिलाई सिकाई कसैले कुनै अपराध गर्न लगाएको रहेछ भने सो सिकाउनेलाई निजले आफैँ अपराध गरेसरह कानूनबमोजिम पूरा सजाय हुन्छ ।" प्रस्तुत कानूनी व्यवस्थामा उल्लिखित शब्दहरूलाई छुट्याएर हेर्दा निम्न अवस्थाको विद्यमानतामा मानसिक अस्वस्थताका कारण सजायबाट उन्मुक्तिको प्रतिरक्षा (defense of insanity) को दाबी गर्न मिल्ने
देखिन्छ ।
१. कानूनबमोजिम अपराध ठहरिने कार्य भएको हुनुपर्ने,
२. त्यस्तो कार्य गर्ने व्यक्ति सो काम गर्दाको अवस्थामा वा समयमा,
३. आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी,
४. मगज बिग्रेको वा बोलाएको रहेछ भने,
५. त्यस्तो अवस्थामा भएको कार्यमा दोषी मानी सजाय गर्न नहुने ।
६३. विद्यमान मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ मा व्यवस्थित फौजदारी न्यायका सामान्य सिद्धान्तभित्र साबिक दण्ड सजायको १ को व्यवस्थालाई भाषागत परिमार्जनसहित दफा १४ मा "होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर नमानिने" अन्तर्गत "कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसुर मानिने छैन ।" भनिएको छ ।
६४. हाम्रो आफ्नै भर्खरकै कानूनी इतिहास हेर्दा मानसिक अस्वस्थता भएको व्यक्तिबाट भएको कसुरको सम्बन्धमा सजाय फरक पर्न सक्ने कानूनी व्यवस्था वि.सं. १९१० को मुलुकी ऐनमा समेत रहेको देखिन्छ । जातको आधारमा सजायको व्यवस्था गर्ने तत्कालीन सामाजिक व्यवस्था र मान्यताको आधारमा बनेको उक्त मुलुकी ऐनको "ज्यानमाराको" महलको ३६ नं. को व्यवस्थालाई हेर्दा कस्तोलाई मानसिक अस्वस्थता मान्ने भन्ने मूल पक्षमा तत्कालीन कानून निर्माताहरूसमेत प्रस्ट रहेको देखिन्छ । हाम्रो हालको कानूनको विकासको पक्षलाई समेत बुझ्न उक्त व्यवस्था हुबहु उल्लेख गरिएको छ, "कोही बौल्हायाका मानिसले मानिस मार्यो भन्या, त्यो बौल्हायाको मानिस गर्न्या नगर्न्या कुराको थाहा पनि पाउँदो रहेनछ, जात जान्या अभक्ष गैर पनि षादो रहेछ, निर्वाण मै हिड्दो पनि रहेछ भन्या, अैन बमोजिम अंश सर्वस्व गरी दामल गर्नु, गर्न्या नगर्न्या कुरा थाहा पनि पाउँदो रहेछ, अभक्ष गैर पनि षादो रहेनछ, निर्वाण मै हिड्दो पनि रहेनछ भन्या तेस्ता बौल्हाले मानिस मार्या, मुडिन्या जातलाई अैन बमोजिम अंश सर्वस्व गरी दामल गर्नु, काटिन्या जातलाई काटिमारिदिनु, अघि अभक्ष गैर षायाको रहेनछ, आफूले मानिस मार्न्या पछि अभक्ष गैह्र षायाको ठहर्यो भन्या, तेसले ज्यु बचाउनका लागि षायाको ठहर्छ, तेस्ता मुन्डिया जातलाई अैन बमोजिम अंश सर्वस्व गरी दामल गर्नु, काटिन्या जातलाई काटिमारिदिनु," भनिएको छ ।
६५. यसमा मानसिक अस्वस्थताको दाबी गर्ने ज्यान कसुर ठहरिएको तीन अवस्थामा कस्तो सजाय हुने भन्ने व्यवस्था रहेको देखिन्छ । पहिलो व्यवस्था सबै जातमा समान रूपमा लागु हुने देखिन्छ, जसमा साँच्चै मानसिक अस्वस्थता रहेको व्यक्तिले गर्न हुने नहुने काम गर्ने, जातै जान्छ भन्ने लाग्दा पनि जे पनि खाएर हिँड्ने र मरेको, निभेको वा मृतजस्तो भएर हिँडेको व्यक्तिले कसैलाई मारेमा उसको अंश सर्वस्व गरी दामल गरी (देखिने ठाउँमा डामेर) छाडिदिने भनिएको छ । यहाँ मृत्युदण्ड पाउन सक्ने (काटिने) जातको व्यक्ति भए वा नभए पनि काटिने सजाय नगरी सबैलाई एउटै सजाय अंश सर्वस्व गरी दामल गर्ने व्यवस्था गरी कसुरदार वास्तवमा मानसिक अस्वस्थता रहेकाको हकमा यो व्यवस्था लागु हुने देखिन्छ । दोस्रोको हकको व्यक्तिलाई पनि मानसिक अस्वस्थता रहेको ठानी "तेस्ता बौल्हा" भन्ने शब्द प्रयोग गरिएको भए पनि त्यस्ता व्यक्ति गर्ने नगर्ने कुरा पनि थाहा पाउने, खान नहुने कुरा नखाने, मरेको, निभेको वा मृतजस्तो भएर पनि नहिँडेको अवस्थाको व्यक्तिले अर्को व्यक्ति मारेको रहेछ भने मृत्युदण्ड दिन मिल्ने (काटिने जातको रहेछ) रहेछ भने काटिदिने अन्यथा अंश सर्वस्व गरी दामल गर्नु भनिएको छ । यसले मानसिक अवस्था बिग्रिएको दाबी गरेर मात्र पुग्दैन वास्तवमा दाबी गर्ने प्रतिवादीको व्यवहारबाट त्यो देखिनुपर्दछ, अन्यथा ज्यान मारेको सजायबाट अभियुक्तले उन्मुक्ति पाउन भन्ने कानूनी व्यवस्था यसमा रहेको देखिन्छ । तेस्रो अवस्थाको प्रतिवादीले मानिस मारिसकेपछि खान नहुने अभक्ष खाएर मानसिक अस्वस्थता वा बौलाएको देखाउन खोजेको ठहरिएमा आफ्नो ज्यान बचाउन गरेको झुठो व्यवहार मात्र रहेको मानी त्यस्तो स्थितिलाई अस्वीकार गरी सजाय गर्ने व्यवस्था रहेको देखिन्छ । त्यस बखतमा अहिलेको जस्तो स्वास्थ्य विज्ञानको विकास भएर रोग परीक्षणको आधुनिक प्रविधिको अभाव रहे पनि आजसमेत स्वीकारिएको मानसिक रोग भएको दाबी गर्नेका लक्षणहरूलाई मुलआधार मानि सजायको व्यवस्था गरेको देखिन्छ । यसरी आजभन्दा झण्डै १७० वर्षअगाडि हाम्रै आफ्नै कानूनी व्यवस्थाले मानसिक अस्वस्थताको दाबीका सम्बन्धमा स्थापित गरेको कसुर निर्धारणको विधिशास्त्रीय आधारलाई हेर्दा तत्काल अन्य विश्वमा रहेको व्यवस्थाभन्दा कमजोर देखिँदैन । एउटै कसुरमा जातका आधारमा फरक फरक सजायको व्यवस्था गर्ने भेदभावपूर्ण पक्षलाई पन्छाएर हेर्दा कसुर निर्धारणको सैद्धान्तिक आधार त्यसबखतसमेत कमजोर देखिँदैन ।
६६. सोही व्यवस्थामा रहेको जातको आधारमा सजाय हुने अमानवीय भेदभावपूर्ण पक्षलाई हटाएर सबै कसुरको हकमा लागु हुने गरी दण्ड सजायको १ नं. को व्यवस्था आएको देखिन्छ । शिक्षा र समयको विकासक्रमबाट विकसित भएको भाषा र शैलीमा परिवर्तन गरी कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको भनिए पनि मूल तत्त्व १९१० को मुलुकी ऐनको व्यवस्थाले कस्तो अवस्थालाई बौलाएको मान्ने भनेर गरे नगरेको थाहा नपाउने, के खाने के नखाने थाहा नपाउने के लाउने के नलाउने वा कसरी सद्दे मानिस हिँड्नु पर्दछ भन्ने थाहा नपाउने अवस्थामा रहेको व्यक्तिलाई "बौल्हायाको" मानिएको छ भने सोही बेहोरालाई दण्ड सजायको १ नं. मा आफ्नो कामको प्रकृति र परिणाम थाहा नपाउने भनिएको छ । त्यसैलाई अझ परिमार्जन गरी हालको व्यवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १४ मा मगज बिग्रेको वा बौलाएको शब्दको स्थानमा मानसिक अस्वस्थताको कारणले कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नभएको भनिएबाट हाम्रो देशभित्र कानूनको विकासक्रममा समयक्रममा देशभित्र र बाहिरसमेत आएको सम्बद्ध क्षेत्रको कानूनको आधुनिकीकरण, मानसिक अस्वस्थतालाई हेर्ने स्वास्थ्य विज्ञानमा आएको परिवर्तनबाट प्राप्त ज्ञानसमेतलाई समेट्ने गरी मानसिक अस्वस्थताको प्रतिरक्षाको विधिशास्त्रीय मान्यतालाई मुलुकी अपराध संहिताले समेटेको देखिन्छ ।
६७. सर्वोच्च अदालतले विभिन्न मुद्दाहरूमा दण्ड सजायको १ नं. को कानूनको व्याख्या गर्दै घटना घटाउँदाको समयको प्रतिवादीको गम्भीर मानसिक अस्वस्थता, त्यसैसँग सम्बन्धित डाक्टरको प्रतिवेदन, घटना घट्दाको समय वरिपरिका प्रतिवादीका गतिविधिलगायतका अन्य प्रमाणहरूसमेतको आधारमा प्रतिवादीको defense of insanity को दाबी स्वीकार तथा अस्वीकारसमेत गरेको पाइन्छ । श्री ५ को सरकार विरूद्ध देव गिरी, (ने.का.प. २०४४, नि.नं. २९७८) मा "यसमा मृतक १५ महिनाको बालक दिनेश गिरी अभियुक्त देव गिरीको छोरा भएको र अभियुक्त देव गिरीकै हँसियाको चोटबाट दिनेशको मृत्यु भएकोमा विवाद देखिएन । अभियुक्त देव गिरीको मानसिक सन्तुलन ठिक नभएको र कहिले कहिले विक्षिप्त भई नाङ्गै जथाभावी गर्ने अवस्थाको व्यक्ति भएकोमा निजको श्रीमती जसमाको भनाइ र वारदात गरी घटना घटेको दिन २०४१।०६।२० गते बिहानैदेखि नाङ्गै भई सेतीनदिको छालतिर गइरहेको र समाती घरमा ल्याइदिएको भन्ने सरजमिनका व्यक्ति र सोही रातमा प्रस्तुत जघन्य घटना घटी स्वास्नी जसमालाई घाइते पारी छोरा दिनेशलाई मारी घरमा आगोसमेत लगाएको आदि घटना निज अभियुक्तबाटै भएको निर्विवाद देखिन आयो । यस्तो स्थितिमा आफ्नो मानसिक सन्तुलन ठिक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरि जीवन सहारा आफ्नो श्रीमतीलाई मार्नसम्मकै व्यवहार गरी घाइते पार्नुका साथै बालक छोरामाथि आघातित क्षति गरी मार्नसक्नु र आफ्नो प्राणरक्षाको मुख्य साधनको लागि राखेको अन्नपात धन पैसा र बास बस्ने घरसमेतमा आगो लगाई नष्ट भ्रष्ट पार्नु इत्यालस दुर्भिक्ष प्रक्रिया होस भएको कुनै मानवजातिबाट घट्न सक्ने सम्भाव्य घटना हो भन्न र होस भएकै अवस्थामा यी घटना घटेका हुन् भनी ठहर्याउन मिल्ने स्थिति जाहेरीदेखि लिएर बुझिएको साक्षी सरजमिन तथा घाइते भई बचेकी अभियुक्तको श्रीमती जसमासमेतका घटना घटेको क्रमको बकाई लेखाईसमेत आधार प्रमाणबाट समेत मुलुकी ऐन, दण्ड सजायको १ नं. बमोजिम अभियुक्तलाई सजाय नगर्ने गरी गरेको इन्साफ मिल्ने देखिदा मनासिब ठहर्ने ।" व्याख्या भएको छ ।
६८. गौरी पुन मगर्नी विरूद्ध श्री ५ को सरकार (ने.का.प. २०४५, नि.नं. ३४०७) मा “प्रतिवादीलाई लागेको रोगको विषयमा सम्बन्धित विशेषज्ञसमक्ष जाँच गर्न पठाएकोमा निज प्रतिवादी गौरी पुनलाई Schiso Phrenia भन्ने रोगसम्म लागेको भन्ने सुर्खेत अस्पतालको मिति २०४२।११।३ को पत्रबाट
देखिन्छ । निज प्रतिवादीले रोगको कारणले मैले सासूलाई हिर्काएको हुँ भनी प्रहरी र अदालमा समेत भन्न लेखाउन सकेको पनि छैन । यसरी आफूले अपराध गरेको कुरा प्रहरी तथा अदालतमा स्वाभाविक एवं क्रमबद्ध रूपले वर्णन गरी रिसको आवेगमा आई बञ्चरोले हानेको कुरा स्वीकार गरी बयान कागज गरेको देखिन्छ । उक्त मिति २०४२।११।३ को अस्पतालको पत्रबाट रोग लागेपछि मानसिक असन्तुलन बराबर रहिरहने भन्ने देखिँदैन । कुनै बेला बिरामी पूर्णतया मानसिक रूपमा स्वस्थ पनि हुन सक्छ । आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक असन्तुलन बिग्रएको एवं सो स्थिति हमेसा रहिरहने भन्ने पनि देखिँदैन । मानसिक सन्तुलन ठिक रहेको अवस्थामा गरेको आपराधिक कार्यको लागि दण्ड सजायको १ नं. आकर्षित हुने होइन ।” भनी व्याख्या भएको छ ।
६९. सुनमाया लामासमेतको जाहेरीले श्री ५ को सरकार विरूद्द कुलध्वज लामा, (ने.का.प. २०४६ नि.नं. ३८४८) मा प्रतिवादीलाई दण्ड सजायको १ नं. बमोजिम निर्दोष मानी सजाय नगर्ने गरी भएको फैसलाको संक्षिप्त तथ्य खुल्ने गरी गरिएको व्याख्यामा भनिएको छ, "प्रतिवादी कुलध्वज लामाले २०४० साल श्रावणदेखि दिमाग बिग्री विरक्त लाग्ने बेलाबेलामा छोप्ने भइरहेको, २०४० साल आश्विन महिनादेखि कुनै कुरा मलाई थाहा भएन । दिमाग ठिक भई होस आउँदा आफू थुनामा रहेको थाहा पाई बुझ्दा दिदी मैयाले तिमी पागल भएको अवस्थामा तिम्री कान्छी श्रीमती टुकुनीमायालाई कुटपिट गरी मारेको भनेकोले थाहा पाएको हुँ । जानाजान हत्या गरेको होइन भनी प्रहरीमा बयान कागज गरेको पाइन्छ । अदालतमा बयान गर्दा मानसिक तथा शारीरिक स्थिति सो समयमा सन्तुलनमा नभई म बेहोस अवस्थामा रहे भएको हुँदा मैले आफ्नो श्रीमती टुकुनीमाया तामाङ्नीलाई कुटपिट गरी कोदालोले हानी कर्तव्य गरी ज्यान मारे नमारेको मलाई थाहा छैन भनेको देखिन्छ । अभियुक्त कुलध्वज लामालाई मानसिक अस्पताल ललितपुरबाट जाँच गराएकोमा यी बिरामीलाई जाँच्दा निजलाई मानसिक बिरामीले मानसिक असन्तुलन भएको बुझिन्छ भन्ने मिति २०४०।०६।२० को पत्र फाँट नं. १० मा चढेकोबाट बुझिन्छ । जाहेरवालाको जाहेरीमा कुलध्वज लामाको दिमाग बिग्री दिमाग बिग्रेको अवस्थामा बुहारीलाई मारेको भन्ने लेखिएको
पाइन्छ । निजै जाहेरवाला तथा सरजमिनका व्यक्तिहरू मधुकर सापकोटा, विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद पण्डितले अदालतमा बकपत्र गर्दा अभियुक्त कुलध्वज लामा पागल थियो भनी बकेको पाइन्छ । यसबाट वारदात गर्दाका अवस्थामा अभियुक्त कुलध्वज लामा पागल रहेछ भन्ने देखिन्छ । प्रतिवादीका साक्षी माया लामा र लालबहादुर लामाले बौलाएर पागल भएको हो भनी अदालतमा किटानीसाथ बकपत्र गरिदिएको पाइन्छ । यसबाट पनि निज अभियुक्त कुलध्वज लामा पागल भएको पुष्टि भएको देखिन्छ । अभियुक्त कुलध्वज लामाले जानी बुझी आफूले गरेको कामको परिणाम थाहा पाउन सक्ने अवस्थामा आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेको भन्न सकिने अवस्था उपयुक्त प्रमाणहरूबाट पुष्टि हुन सकेको छैन । मगज असन्तुलन भएको अवस्था आफ्नो कान्छी श्रीमती टुकुनीमायाको ज्यान मारेको देखिँदा दण्ड सजायको १ नं. अनुसार प्रतिवादी कुलध्वज लामा पागल देखिएकोले सजाय केही गर्नु नपर्ने ।" भनी व्याख्या भएको छ ।
७०. रामबहादुर गुरूङ विरूद्ध सुर्यबहादुर थकालीको जाहेरीले श्री ५ को सरकार, (ने.का.प. २०४६, नि.नं. ३९३३) मा दण्ड सजायको १ नं. अन्तर्गत उन्मुक्ति पाउँ भन्ने प्रश्नमा उन्मुक्ति इन्कार गरिएको छ । केही तथ्यसमेत खुल्ने गरी भएको व्याख्यासहितको ठहरमा भनिएको छ, “प्रतिवादी रामबहादुर गुरूङले उक्त दिन बिहानै उठी आफ्नो नाउँमा लाइसेन्स रहेको बन्दुक प्रहार गरी कर्णबहादुरसमेतका ४ जना व्यक्तिहरूलाई मारेको देख्ने चस्मदिद व्यक्ति सुर्यबहादुर थकालीसमेतले किटानी जाहेरी दिएको र सोही जाहेरीको बेहोरालाई समर्थन गर्दै अदालतमा समेत आई बकपत्र गरेको देखिन्छ । सरजमिनका समस्त व्यक्तिहरूले निज रामबहादुरले बन्दुक प्रहार गरी कर्ण बहादुर, रामचन्द्र देवकोटा, चन्द्रप्रकाश र कुलबहादुरलाई मारेको भनी लेखाइदिएको र सो बेहोरालाई पुष्टि गर्दै अदालतमा आई बकपत्र गरेको देखिन्छ । गण्डकी अञ्चल अस्पताल पोखराको पोष्टमार्टम रिपोर्टबाट पनि बन्दुक प्रहारको चोटले गर्दा मृत्यु भयो भन्ने जनिएको र प्रतिवादी रामबहादुरले प्रहरीसमक्ष बयान गर्दा आफूले बन्दुक प्रहार गरी मृतक चारैजनालाई मारेको भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । निजले अपराध गर्दा प्रयोग गरेको बन्दुक बरामद भएको र आफूले अपराध गर्दा सोही बन्दुक प्रयोग गरेको भनी सकार गरी सनाखत गरिदिएको देखिन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा विगत एक वर्षदेखि आफ्नो दिमाग सन्तुलित नभएको र सो अपराध गर्दा पनि होस नभएकोले आपराधिक दायित्वबाट छुट्कारा पाउँ भनी बयान गरेको देखिन्छ । तर निजको उक्त बयान सिवाय निजको होस ठेगानमा नभएको भनी प्रमाणित गर्ने अन्य कुनै ठोस सबुद प्रमाण पेस गर्न सकेको पनि
देखिँदैन । निजले आफ्नो कर्तव्यबाट मृतक चारै जनाको मृत्यु भएको भन्ने तथ्यलाई अदालतमा पनि सकार गरेको पाइन्छ । सङ्कलित सबुत प्रमाणबाट निजले अपराध गरेको भन्ने पुष्टि भइरहेको र प्रतिवादी स्वयंले अपराध गरेको भन्ने कुरा अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्थामा केवल दिमाग ठिक नभएको भन्ने जिकिर लिँदैमा वस्तुगत र ठोस सबुद प्रमाण बिना आपराधिक दायित्वबाट छुट्करा दिनु न्यायसङ्गत देखिँदैन । प्रचलित कानूनबमोजिम सजायमा कमी वा छुट हुने सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्याउने भार निजमा नै रहने हुन्छ । तर प्रस्तुत केशमा प्रतिवादी रामबहादुर गुरूङले होस ठेगानमा नभएको भन्ने जिकिर लिए तापनि त्यसलाई शंकारहित प्रमाणबाट प्रमाणित गर्न नसकेको हुँदा निजको बयानलाई मात्र भर गरी आपराधिक दायित्वबाट छुट्कारा दिन मिल्ने नदेखिएको ।" भनी अपराध गर्दा मानसिक अवस्था ठिक नभएको हुँदा सजायबाट उन्मुक्ति पाउँ भनी जिकिर लिने प्रतिवादीले सो कुराको प्रमाण पुर्याउनु पर्दछ भन्ने सर्वमान्य सिद्धान्तलाई यो व्याख्याले आत्मसात् गरेको पाइन्छ ।
७१. चेतन काफ्ले विरूद्ध भीमप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार (ने.का.प.२०६४, नि.नं. ७८७१) मा प्रतिवादीले आफूले कर्तव्य ज्यान कसुर घटाएको समयमा सिजोफ्रेनिया रोग लागेको कारण सजायबाट उन्मुक्ति पाउनु पर्दछ भनी लिएको प्रतिरक्षाको दाबीलाई निम्न व्याख्यासहित अस्वीकार गरिएको छ, “मुलुकी ऐन दण्ड सजायको १ नं. मा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खतबात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन; भन्ने कानूनी व्यवस्था रहेको दखिँदा उक्त कानूनी व्यवस्था आकर्षित हुनका लागि अभियुक्त आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने प्रकृतिको हुनुपर्ने ।” भन्दै “प्रतिवादीलाई सिजोफ्रेनिया रोग लागी यसको परिणाम यस्तै हुन्छ भन्ने सम्पूर्ण स्थिति थाहा पाउन नसक्ने स्थिति भएको नदेखिँदा आफूले होसियारीपूर्वक गरेको कामको प्रकृति थाहा नभएको भन्न
नसकिने ।” अपराधपछि अपराध लुकाउन छिपाउन खोजेको फरार रहेको कार्यबाट प्रतिवादीले होसपूर्वक नै वारदात घटाएको भन्ने सम्बन्धमा भनिएको छ, “मानसिक रोगबाट पीडित भए पनि वारदात हुनुपूर्व यी प्रतिवादी घरबाट जथाभावी हिँड्ने, खाना नखानेलगायतका अस्वभाविक क्रियाकलाप गरेको भन्ने खुल्दैन । वारदात घटाउनुभन्दा तत्काल अघि पनि यी प्रतिवादी पूर्ण सचेत अवस्थामा देखिन्छन् । वारदातपछि आफूले गरेको अपराध छुपाउन सक्छु कि, बच्न सक्छु कि भन्ने भावनाबाट प्रेरित भई फरार भएको अवस्था छ । अतः प्रतिवादीले वारदात अघि र पछि गरेको कार्यहरूबाट त्यस्तो कामको प्रकृति र परिणाम नै थाहा नपाउने गरी मगज बिग्रेको वा पागल भएको भन्ने नदेखिँदा मुलुकी ऐन, दण्ड सजायको १ नं. समेत प्रस्तुत वारदातमा आकर्षित हुन नसक्ने ।” भनी व्याख्या भएको छ ।
७२. माथि उल्लिखित व्याख्याहरूबाट कस्तो अवस्थामा आपराधिक दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिन सकिने भन्ने दण्ड सजायको १ नं. को कानूनी व्यवस्था र यस्तो प्रतिरक्षाको दाबीमा प्रमाणको भार प्रतिवादीमा रहनेसमेतको ठहर भएको देखिन्छ । अपराध घट्दाको अवस्थामा अभियुक्त / प्रतिवादीको मानसिक अवस्था, मानसिक अस्वस्थताका कारण आफूले गरिरहेको कार्यको प्रकृति र परिणाम थाहा नपाउने गरी बेहोसी अवस्थामा रहेको डाक्टरको कागजसँगै जाहेरवाला र सरजमिनका व्यक्तिहरूले गरेको कागज र बकपत्रले प्रमाणित गरेको अवस्थामा मात्र मानसिक अस्वस्थताको दाबीको आधारमा आपराधिक कसुरबाट उन्मुक्ति पाउन सकिने र आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुन सकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने र स्थापित कसुरबाट अभियुक्तले उन्मुक्ति पाउन सक्ने देखिन्छ ।
७३. त्यसैगरी सुदर्शन अर्याल विरूद्ध नेपाल सरकार (ने.का.प. २०६५, नि.नं. ८०२९) मा पुनरावेदक प्रतिवादीले आफू मानसिक रोगले ग्रस्त भएको अवस्थामा घटना घट्न गएको हो, आफू depression रोगले पीडित भएको भन्ने प्रहरीमा बुझिएका विभिन्न व्यक्तिको कागज, शिक्षण अस्पताल महाराजगन्जमा गठन भएको मानसिक चिकित्सकहरूको बोर्डले दिएको प्रतिवेदनबाट पुष्टि भएको, सो बोर्डको नेतृत्व गर्ने डा. विद्यादेव शर्माले अदालतमा उपस्थित भई बकपत्र गर्दा depression बाट severe depression हुँदै Insanity आएको अवस्थामा घटना घटेको भनी राय दिएको अवस्थामा आफूलाई मुलुकी ऐन, दण्ड सजायको १ नं. अनुसार कुनै सजाय हुनु नपर्नेमा सजाय भएकोलाई बदर गरिपाउँ भन्ने पुनरावेदन जिकिर अस्वीकार गर्दै अ.बं. १८८ प्रयोग गरी सजाय घटाउने जिल्ला अदालत र पुनरावेदन अदालतको रायसमेतलाई मनासिब नदेखिएको ठहर गर्दै निम्न व्याख्या भएको छ, दण्ड सजायको १ नं. को कानूनी व्यवस्था उल्लेख गरी, "उक्त कानूनी व्यवस्थाको आधारमा सजायबाट उन्मुक्ति पाउन जिकिर लिने यी प्रतिवादीले नै प्रमाण ऐन, २०३१ को दफा २७(१) बमोजिम सो कुरा प्रमाणित गर्नुपर्ने हुन्छ । सोबमोजिम वारदातको अवस्थामा आफूले गरेको कामको परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा मानसिक असन्तुलनको अवस्था र स्थिति रहेको भनी घटनाको तत्कालपछि अनुसन्धान अधिकारीसमक्ष मौकामा बयान गर्दा निजले सो कुरा व्यक्त गरेको पाइँदैन । अदालतमा बयान गर्दा मात्र यस्तो जिकिर लिएको छ । तर सजायबाट कमी, छुट वा पूर्ण उन्मुक्तिका लागि कुनै प्रकारको जिकिर लिनु मात्र पर्याप्त हुँदैन । सो जिकिरलाई निश्चित र आधारभूत प्रमाणबाट स्थापित पनि गर्नुपर्ने हुन्छ । काम गर्दाको समयमा मानसिक रूपमा असन्तुलित भई गरेको र कामको प्रकृति र परिणाम थाहा नपाउने अवस्थामा थियो भन्ने कुरा प्रमाणित गर्ने भार पनि प्रमाण ऐन, २०३१ को दफा २८ अनुसार सो कुराको जिकिर गर्ने पक्षमा नै
रहन्छ । साथै यस्तो जिकिरको आधारमा सजायबाट उन्मुक्ति पाउनको लागि घटना हुनुभन्दा अघिको अभियुक्तको मानसिक अवस्था, पूर्ण आचरण र व्यवहार, असामान्य क्रियाकलाप, रोगबारे निदान र उपचार गराएको भए सोको तथ्यपूर्ण आधार र प्रमाण तथा घटनापश्चात् निजको व्यवहार र आचरण, तत्सम्बन्धमा मानसिक रोग विशेषज्ञले निजको मानसिक अवस्थाबारे पर्याप्त जाँच र अनुसन्धान गरी दिएको तथ्यपूर्ण एवं वैज्ञानिक कारणसहितको प्रतिवेदनसमेतलाई विचार गर्नुपर्ने हुन्छ" भनिएको छ । "प्रतिवादी पुनरावेदकले आफू Depression को रोगी रहेको भने तापनि वारदात घटेपश्चात् अनुसन्धान अधिकारीसमक्ष जिकिर नलिएको र अदालतमा बयान गर्दा मात्र सो जिकिर लिए पनि उक्त रोगको कहाँ कहिले उपचार गराएको तथा सो उपचार गराएको डाक्टरको प्रेस्क्रिप्सन र औषधीसमेत सेवन गरेको देखिने कुनै आधारभूत एवं विश्वसनीय प्रमाण सो बयानसाथ पेस गर्न सकेको देखिँदैन । प्रतिवादीले जिकिर लिएको विशेषज्ञको प्रतिवेदनको सन्दर्भमा, विशेषज्ञ टोलिका डाक्टर विद्यादेव शर्माले काठमाडौं जिल्ला अदालतसमक्ष बकपत्र गर्दा प्रस्तुत घटना घट्दाको समयमा प्रतिवादी सुदर्शन अर्याल आफूले गरेको कार्यको प्रकृति र परिणाम छुट्याउन नसक्ने अवस्थाका थिए भनी यकिनसाथ भन्न सकेको पाइँदैन ।" भनी अदालतले प्रतिवादीको जिकिर डाक्टरको बकपत्रबाटै खण्डनीय भएको औंल्याएको पाइन्छ ।
७४. यो मुद्दामा भएको व्याख्याबाट घटना घटेको अवस्थामा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने गरी मानसिक अस्वस्थ रहेको पुष्टि हुने प्रमाणको अभावमा प्रतिवादीलाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने निष्कर्षमा पुग्नुको अलावा यस्तो जिकिर भएमा प्रमाण ऐन, २०३१ को दफा २७(१) र २८ को आधारमा जिकिर प्रमाणित गर्ने भार जिकिर लिने पक्ष प्रतिवादीमा रहने निष्कर्षमा पुगी Insanity defense सम्बन्धी हाम्रो कानूनी व्यवस्थालाई झनै स्पष्ट पारिएको देखिन्छ । यसैसँग मिल्ने व्याख्या खोमनाथ दाहाल विरूद्ध गणेशप्रसाद दाहालको जाहेरीले नेपाल सरकार (ने.का.प. २०७१, नि.नं. ९१५८) मा भएको पाइन्छ । यसमा भनिएको छ "अपराध गर्नुभन्दा धेरै पहिले अथवा अपराध गरिसकेपछि मानसिक रोग लागेको कारणले कसुरदारले कसुरबाट उन्मुक्ति वा छुट पाउन नसक्ने" भनी "स्वयं प्रतिवादीले, मौकामा बुझिएका व्यक्तिहरूले तथा सहप्रतिवादी एवं निजकै श्रीमतीसमेतले निज प्रतिवादीको मानसिक स्थिति ठिक नभएको भनी कहीँकतै भन्न नसकेको स्थितिमा केवल पुनरावेदन जिकिर लिएकै भरमा मात्र आफूले गरेको आपराधिक क्रियाको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठिक नभएको भन्न नमिल्ने ।" भनिएको छ । "दण्ड सजायको १ नं. को कानूनी व्यवस्थाबमोजिम घटना घटेको समयमा आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी प्रतिवादीको मानसिक स्थिति ठिक नभएको भन्ने कुराको प्रमाण पुर्याउने दायित्व निज प्रतिवादीमा नै रहने हुन्छ । तर निजले सो कुराको तथ्ययुक्त र विश्वसनीय प्रमाण पेस गर्न सकेको नदेखिँदा दण्ड सजायको महलको १ नं. बमोजिम सजायबाट छुट पाउने स्थिति र अवस्था नदेखिने ।" भन्ने व्याख्या भएको देखिन्छ । मानसिक रोग लागेपश्चात् डाक्टरको सिफारिसमा Tab risdone, Tab pactitane, Tab intalith CR जस्ता औषधी सेवन गरेको थिएँ भन्ने पुनरावेदक प्रतिवादीको जिकिर र जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमको मिति २०६६।०२।०४ को पत्रमा यी प्रतिवादीलाई "गम्भीर खालको सिजोफ्रेनिया र मेनिया टाइपको मानसिक असन्तुलन भएको" भन्ने बेहोरा उल्लेख भएको सन्दर्भमा, "तर पनि निजलाई सो रोग कहिलेदेखि लागेको हो, वारदात मितिमा निजलाई रोग लागेको थियो थिएन भन्ने कुरा उक्त पत्रमा उल्लेख भएको देखिँदैन । सो पत्रमा दस्तखत गर्ने डा. एकराज गौतम मानसिक रोग विशेषज्ञ हुन् भन्ने देखिँदैन भने प्रतिवादीको स्वास्थ्य परीक्षण के कुन विधि र प्रक्रियाबाट गरिएको भन्ने कुरा सो पत्रमा खुल्दैन ।" भन्दै "विशेषज्ञले मानसिक अवस्थाको सम्बन्धमा वैज्ञानिक परीक्षण गरी कारणसहित राय दिएको अवस्थामा मात्र त्यस्तो राय विश्वसनीय हुन्छ र प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुन्छ ।" भन्ने व्याख्या भई सिद्धान्त प्रतिपादन भइसकेको देखिन्छ ।
७५. माथि उल्लिखित पछिल्ला सुदर्शन अर्याल (नि.नं. ८०२९) र खोमनाथ दाहाल (नि.नं. ९१५८) का व्याख्याहरू हेर्दा हाम्रो सर्वोच्च अदालतले defense of insanity को सन्दर्भमा Medical Insanity र Legal Insanity को प्रश्नमा समेत प्रवेश गरी व्याख्या गरेको प्रस्ट हुन्छ । डाक्टरले प्रतिवादी मानसिक रोगी हो भन्दैमा वा प्रतिवादीले मानसिक रोगको औषधी खाएको थियो वा खाँदै छ भन्दैमा मात्र defense of insanity को सुविधा दाबी गरी सजायबाट उन्मुक्ति पाउन सक्दैन । मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घटना घटेको समयमा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि गरेको हुनुपर्दछ । डाक्टरको त्यस्तो रायलाई घटना घटाउनुअघि पछि र घटना घटाएको समयको प्रतिवादीको व्यवहार गतिविधिले समेत थप पुष्टि गरेमा मात्र कानूनन: defense of insanity लाई स्वीकार्य मान्नुपर्ने हुन्छ ।
७६. स्वास्थ्य विज्ञानले मानसिक रोगको औषधी खाइरहेका तर हाल सामान्य अवस्थामा रहेको व्यक्तिलाई समेत मानसिक रोगी (Medical Insanity) नामकरण गर्न सक्छ । तर कानूनी दायित्वको सन्दर्भमा यस्तो अवस्थाको व्यक्तिलाई कानूनी रूपमा मानसिक अस्वस्थता (Legal Insanity) मानिँदैन । किनकि यस्तो अवस्थाको व्यक्तिले आफूले गरेको कामको प्रकृति र परिणाम र ठिक बेठिक बुझ्नसक्छ । यदि कुनै अभियुक्त मानसिक रोगी नै रहेछ भने पनि आफूले गरेको काम गलत हो भन्ने थाहा पाउने अवस्थामा रहेको भए कुनै डाक्टर वा कुनै विशेषज्ञले मानसिक रोगी भनेकै आधारमा मात्र त्यस्तो अभियुक्तलाई फौजदारी कसुरबाट उन्मुक्ति दिन मिल्दैन । डाक्टर वा कुनै विशेषज्ञको रायले अभियुक्तले कुनै आपराधिक घटना घटाइरहेको अवस्थामा उसको मस्तिष्क सामान्य थियो वा थिएन र उसले गरेको कामको प्रकृति र परिणामबारेमा थाहा पाउने अवस्थामा ऊ थियो वा थिएन भन्ने मूल प्रश्नलाई ठोस आधार र प्रमाणसहित सम्बोधन गरेको हुनुपर्दछ तब मात्र त्यस्तो रिपोर्ट वा रायले कानूनी प्रतिरक्षा (Legal insanity defense) मा सहयोगीको भूमिका निर्वाह गर्नसक्छ ।
७७. त्यसैले कानूनी प्रतिरक्षामा कस्तो अवस्थालाई मानसिक अस्वस्थता मान्ने भन्नेमा स्वास्थ्य विज्ञान र कानूनमा भिन्नता रहेको छ । जस्तोसुकै मानसिक अस्वस्थता वा पागलपनलाई अपराधमा उन्मुक्तिको लागि पर्याप्त मानिँदैन । स्वास्थ्य विज्ञानले व्यक्तिमा कुनै न कुनै रूपको मानसिक अस्वस्थता छ भन्न सक्छ तर त्यति मै मस्तिष्क शून्यता वा मानसिक रोगका कारण बेहोसीको स्थिति हो भन्न सकिँदैन । यदि कुनै व्यक्तिले आफूले गरेको काम गलत हो भन्ने थाहा पाएमा वा पाउने अवस्था रहेकोमा सो हुँदाहुँदै घटना घटाएर मानसिक अस्वस्थता वा पागलपन छ भन्ने स्वास्थ्य परीक्षणले देखाए पनि defense of insanity को दाबी गर्न सकिँदैन । त्यसैले Medical Insanity ले रोगीको विगत र वर्तमानको क्रियाकलाप र व्यवहारसँग सम्बन्ध राख्दछ भने Legal Insanity ले घटना घटेको समयमा गल्ती गर्ने (अभियुक्त) मानसिक अस्वस्थता वा असमर्थतामा रहेको हुँदा गरिरहेको कार्यको प्रकृति र परिणाम वा असरबारे अनभिज्ञ रहेको छ वा छैन भन्नेसँग सम्बन्ध राख्दछ । स्वास्थ्यसम्बन्धी रिपोर्टले कुनै बिरामी मानसिक रोगी हो होइन र कुन प्रकृतिको मानसिक रोगी हो र बिरामीले कुन औषधी खानुपर्छ आदि देखाउँछ (Medical Insanity) तर कानूनले उक्त मानसिक रोगी आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने अवस्थामा थियो वा थिएन भनेर हेर्दछ (Legal Insanity) । अतः स्वास्थ्यसम्बन्धी प्रतिवेदन वा रिपोर्ट वा विशेषज्ञको राय मात्र defense of insanity मा निर्णायक नभई निर्णयमा पुग्नका लागि महत्त्वपूर्ण सहयोगी प्रमाणसम्म हुने देखियो । मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता मानिँदैन र अभियुक्त / प्रतिवादीलाई अपराधबाट उन्मुक्ति दिन सकिने देखिएन । त्यसैगरी अपराध घटेको पुष्टि भइसकेपछि वा अभियोजन वा सुरू सुनुवाइको क्रममा प्रतिवादीले आफू मानसिक रूपमा अस्वस्थ रहेका कारण आफूले गरेको कामको प्रकृति बुझ्न सक्ने वा ठिक बेठिक छुट्याउन सक्ने स्थितिमा नरहेको जिकिर लिएको अवस्थामा सोको पुष्टि गर्ने भार दाबी लिने पक्ष प्रतिवादीले नै गुजार्नुपर्नेमा समेत कानूनमा द्विविधा रहेको देखिएन ।
७८. अब पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्छ कि सक्दैन ? उच्च अदालतको फैसला मिलेको छ, छैन ? भन्ने चौथो प्रश्नतर्फ विचार गर्दा पुनरावेदन जिकिर पुग्नसक्ने कुनै आधार प्रमाण पुनरावेदनपत्र वा मिसिल संलग्न कुनै कागज प्रमाणमा देखिँदैन । पुनरावेदन / प्रतिवादी पारस नाम गरेका अभिषेक कोइरालाले आफूले कर्तव्य गरी मृतक सौरभ सुवेदीको हत्या गरेको कसुर मौकामा र अदालतको बयानमा स्वीकारेका छन् । निजले आपराधिक कार्य घटाउनुपूर्व तयारी गरी पसलबाट खुकुरी किनेर ल्याई सिरानीमा राखेको र घटना घटाउन पटकपटक मृतकको डेरा कोठामा निगरानी गरेको, घटना घटेको दिन बिहान गई हेरी जाँची मृतक घरमै भएको यकिन गरी अपराध गरेपछि सोबाट छुट्कारा पाउन भारततर्फ जान आफ्ना सरसामानहरूको बन्दोबस्त गरी झोलामा राखी मृतकको घरमा गई घटना घटाएको देखिन्छ भने मृतकले लिटो खुवाई रहेको काखमा रहेको शिशुलाई कुनै हानि नोक्सानी नपुर्याई सुझबुझका साथ कार्य सम्पन्न गर्दै मृतककी पत्नीलाई बोलेमा मार्नेसम्मको कुरा गरी खुकुरी त्यही फाली भागी गएको अवस्थामा धादिङको गजुरीमा पक्राउ परी निजको साथबाट बरामद भएको सामानहरू बयानको क्रममा सनाखतसमेत गरेको पाइन्छ । प्रतिवादीले सोधिएका प्रश्नको जवाफ दिन सक्छु, शारिरिक तथा मानसिक अवस्था ठिक छ भनी बयानमा लेखाई दिएको
देखिन्छ । प्रतिवादीकी एकाघरकी दिदीले अदालतमा समेत सो रोगको बारेमा कहीँकतै उल्लेख गरेको पाइँदैन । लत्ताकपडा, एटिएम कार्ड, ल्यापटप, पासपोर्ट सबै लिई हत्यास्थलमा मोटरसाइकलमा गई त्यहाँबाट भागी सुन्धाराको गेष्टहाउसमा गई रगत लागेको कपडा फेरी सो कपडा आफ्नै झोलामा राखी भारततर्फ जान भाग्दै धादिङको गजुरी पुगिसकेको अवस्थामा निजलाई प्रहरीले गिरफ्तार गरी ल्याएपछि सो सबै बेहोरा निजले जस्ताको त्यस्तै बयानमा उल्लेख गरेको अवस्थालाई हेर्दा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न सक्ने, ठिक बेठिक छुट्ट्याउन सक्ने पूरै होसमा रहेको अवस्थामा मनसायसहित योजनावद्ध तरिकाबाट निजले सौरभ सुवेदीको कर्तव्य गरी हत्या गरेको शंकारहित ढंगले पुष्टि भएको देखियो । प्रतिवादीले पुनरावेदनमा दाबी गरेजस्तो निज अपराध गर्दाको समयमा सिजोफ्रेनिया भन्ने मानसिक रोगबाट ग्रस्त रहेको भन्ने जिकिर कुनै पनि प्रमाणबाट पुष्टि भएको देखिएन । घटना घटाएको समयमा सिजोफ्रेनिया रोगको कुनै पनि लक्षण प्रतिवादीमा रहेको भन्ने स्वास्थ्यसम्बन्धी प्रतिवेदन, रिपोर्ट वा कुनै डाक्टर वा मानसिक रोगको विशेषज्ञको कागज वा बकपत्र मिसिल संलग्न रहेको देखिएन । प्रतिवादीमा सिजोफ्रेनिया नामको घातक मानसिक रोग भएको कुनै पनि कागज प्रमाण र निजको व्यवहार गतिविधिबाट पुष्टि नभएको मात्र होइन मानसिक अस्तव्यस्तता हुने अन्य कुनै पनि मानसिक रोग रहेको पुष्टि हुने कुनै प्रमाण मिसिल संलग्न देखिँदैन । आफूमा रहेको मानसिक रोग वा पागलपनका कारण आफूबाट बेहोसमा घट्न गएको अपराधको सजायबाट उन्मुक्ति पाउन पर्दछ भनी दण्ड सजायको १ नं. बमोजिमको दाबी गर्नेले सोको प्रमाण पुर्याउनुपर्नेमा सो कुनै काम प्रतिवादीबाट भएको देखिँदैन । प्रतिवादीबाट एकाएक पुनरावेदन तहमा आएपछि आफू गम्भीर रूपमा सिजोफ्रेनियाको बिरामी रहेको उल्लेख गरेको अवस्थालाई हेर्दा प्रतिवादीले जघन्य किसिमबाट गरेको हत्याको अपराधबापत हुने सजायबाट बच्नका लागि रचिएको मनगढन्ते कहानी शिवाय अर्को हो भन्नसक्ने अवस्था मिसिल संलग्न कुनै आधार कारण वा प्रमाण कागजबाट देखिँदैन ।
७९. तसर्थ, माथिका प्रकरणहरूमा उल्लिखित आधार, कारण तथा कानूनको आधारमा प्रतिवादी पारस भनिने अभिषेक कोइरालालाई अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(१) नं. को कसुरमा सोही ऐनको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई सुरू भक्तपुर जिल्ला अदालतबाट मिति २०७४।०३।१५ मा भएको फैसला सदर गरेको उच्च अदालत पाटनको मिति २०७४।११।२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठर्हछ । सर्वस्व हुने सजायको हकमा मिति २०७५।५।१ देखि लागु भएको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) बमोजिम यो ऐन प्रारम्भ भएपछि सर्वस्व हुने गरी सजाय गर्न मिल्ने नदेखिँदा प्रतिवादी पारस भनिने अभिषेक कोइरालालाई जन्मकैदको सजाय हुने ठहर्छ । अभियोग मागदाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
क. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम पुनरावेदक प्रतिवादी पारस भनिने अभिषेक कोइरालालाई जन्मकैदको सजाय हुने ठहरेकोले सुरू फैसलाबमोजिम राखेको सर्वस्वको लगत कट्टा गरी यस फैसलाबमोजिम जन्मकैदको लगत राखी असुलउपर गर्नु भनी सुरू भक्तपुर जिल्ला अदालत तहसिल शाखामा लेखी पठाउनू....................१
ख. प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू......२
उक्त रायमा सहमत छु ।
न्या.मीरा खडका
इजलास अधिकृत : जगदिश्वर भट्टराई
इति संवत् २०७७ साल आषाढ ३१ गते रोज ४ शुभम् ।