निर्णय नं. १०६१६ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।४।२१
०७६-CR-०९०६
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक / वादी : हर्कबहादुर ऐरको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला कैलाली, सुगरखाल गा.वि.स. वडा नं.२ ताम्चा बस्ने विशाल घर्तीमगर
अभियुक्तलाई चुप लाग्ने तथा आफूउपरको अभियोगउपर आधार र कारणसहित प्रतिवाद गर्ने दुवै अधिकार रहने भएको हुँदा न्यायिक प्रक्रियामा सहयोग नगरेको आधारमा मात्र अभियोग दाबीअनुसार कसुरदार ठहर गर्दा न्यायको मर्म तथा प्रचलित कानून प्रणाली प्रतिकूल निर्णय हुन जाने ।
(प्रकरण नं.३)
मौकामै दिएको जाहेरीमा किटानी रूपमा नाम उल्लेख नभई त्यसपछिको जाहेरीमा थप प्रतिवादीको नाम उल्लेख भएकोमा त्यसलाई सावधानीका साथ हेर्नुपर्छ । प्रतिवादी मौकामा फरारी रहेको कारणले मात्र उसलाई आरोपित कसुरमा दोषी करार गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तअनुकूल नहुने ।
(प्रकरण नं.८)
पुनरावेदक / वादीका तर्फबाट : उपन्यायाधिवक्ता गोविन्द न्यौपाने
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७६, नि.नं.१०२७४
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
मा. जिल्ला न्यायाधीश श्री परशुराम भट्टराई
कैलाली जिल्ला अदालत
उच्च तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री राजकुमार वन
माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी
उच्च अदालत दिपायल
फैसला
न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
तथ्य खण्ड
मिति २०६६।८।१९ गते मसमेतको प्रहरी टोली जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी घर टहरा बनाई बसेका हुँदा निजहरूलाई सो स्थानबाट हटाई जङ्गल खाली गर्नको लागि सो स्थानमा गई वन अतिक्रमणकारीहरूलाई हटाउने क्रममा डिउटीमा रहेको प्र.ज.पदम सिंह ऐरलाई चारैतिरबाट घेरा हाली लगी निजको टाउको तथा शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाई मृत्यु भएको र प्र.ना.नि. कल्याण सिंह महरालगायतका मानिसहरू सख्त घाइते भएको हुँदा सो स्थानबाट बञ्चरो हातमा बोकी भाग्न लागेका महेशप्रसाद जैशीलाई घटनास्थलबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको मिति २०६६।८।२० को प्रहरी प्रतिवेदन ।
मेरो भाइ पदम सिंह ऐर मिति २०६६।८।१९ गते अञ्चल सशस्त्र प्रहरी गुल्म धनगढीबाट जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं.८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा डिउटीमा रहेको अवस्थामा महेशप्रसाद जैशीसमेतले टाउकोमा धारिलो हतियार प्रहार गरी मारेको हुँदा निज अन्यायीहरूलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मृतकका भाइ हर्कबहादुर ऐरको तर्फबाट पेस भएको जाहेरी दरखास्त ।
जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ र ९ को सिमानामा पर्ने डुडेझाडी वनस्थित पूर्वमा वन जङ्गल, पश्चिममा वन जङ्गलका रूख विरूवा, उत्तर-पूर्व पश्चिम महेन्द्रराजमार्ग सडक यति चार किल्लाभित्र वन अतिक्रमणकारीहरूले टहरा घर बनाई बसेकोमा निजहरूका घर टहराहरू हटाउन मिति २०६६।८।१९ गते प्रहरी टोलीले सो स्थानमा रहेका मानिसहरूलाई हट्न अनुरोध गर्दा प्रतिकार गर्नको लागि महेशप्रसाद जैशीले हातमा बोकेको बञ्चरोले प्र.ज.पदम सिंह ऐरको टाउकोमा प्रहार गरी घाइते भई मृत्यु भएको र प्र.ना.नि. कल्याण सिंह महरासमेत अन्य व्यक्तिहरू घाइते भएको भनी देखाइएको घटनास्थल मुचुल्का ।
जिल्ला कैलाली ध.न.पा. वडा नं.१ स्थित पूर्वमा धनगढी बजारदेखि हसनपुर जाने पक्की सडक, पश्चिममा सेती अञ्चल अस्पताल विकास समितिको भवन, उत्तरमा सु.प.क्षेत्रीय मेडिकल स्टोर र दक्षिणमा कुष्ठरोग निवारण क्लिनिक भवन यति चार किल्लाभित्र ईट्टा र सिमेन्टले बनेको जस्ता पाताले छाएको सेती अञ्चल अस्पताल धनगढीको पूर्व-पश्चिम लम्बाई भएको दक्षिण मोहडा भएको एकतले पक्की लास घर उक्त लास घरको दक्षिणपट्टिको मूल ढोकाबाट भित्र पसी हेर्दा कोठामा दुईवटा सिमेन्टका खटिया रहेका उक्त खटियामध्येको दक्षिणपट्टिको खटिया नजिक भुइँमा पूर्व टाउको, पश्चिम खुट्टा पारी उत्तानो अवस्थामा सुताएको मृतक प्र.ज. पदम सिंह ऐरको मृत लास रहेको लास प्रकृति मुचुल्का ठिक छ भन्ने बेहोराको लास जाँच प्रकृति मुचुल्का ।
निज मृतक प्र.ज.पदम सिंह ऐरको मृत्यु The case of death is due to head injury and damage to the brain भनी सेती अञ्चल अस्पताल धनगढीले पठाएको शव परीक्षण प्रतिवेदन पत्र ।
जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ डुडेझाडीस्थित जङ्गलमा सुकुम्बासीहरूलाई जग्गा दिइरहेका छन् भन्ने कुरा सुनी म मिति २०६६।८।१७ गते आफ्नो घरबाट हिँडी सो स्थानमा मिति २०६६।८।१८ मा पुगी सुकुम्बासीहरूको नेतृत्व गरी राखेको रक्तिम भन्ने व्यक्तिले भोलि मिति २०६६।८।१९ मा प्रहरी प्रशासन हामीहरूलाई उठाउन आइरहेका छन् र तिनीहरूसँग प्रतिकार गर्नुपर्छ र हामीहरूले हँसिया, भाला, बञ्चरोलगायतका हतियार बोकी तयारी हालतमा बस्नुपर्छ भनेको हुँदा सोहीअनुसार ऐ.१९ गते प्रहरीसँग प्रतिकार गरी मृतकलाई चारैतिरबाट घेरा हाली मैलेसमेत बञ्चरोले मृतकको टाउकोमा प्रहार गरेको थिएँ भनी प्रतिवादी महेशप्रसाद जैशीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
मिति २०६६।८।१९ का दिन जिल्ला कैलाली, बलिया गा.वि.स. वडा नं. ८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी बसेका मानिसहरूको घर टहराहरू सो स्थानबाट हटाउनको लागि सो दिन मेरो डिउटी रहेको हुँदा उक्त स्थानमा गई निज अतिक्रमणकारीलाई सो स्थानबाट हटाउन बल प्रयोग गर्ने क्रममा निज वन अतिक्रमणकारीहरूले अन्धाधुन्ध ढुङ्गा, मुढा, हँसिया, भाला, बञ्चारो प्रहार गर्दा हामीहरू पछाडि हट्ने क्रममा निजहरूले प्र.ज. पदम सिंह ऐरलाई घेराबन्दी गरी हामीबिचबाट लगी निजको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका र सोही चोट पिरले निजको मृत्यु भएको हो । सो स्थानमा मृतकमाथि आक्रमण गर्दै गरेको प्र.ना.नि. कल्याण सिंह महराले देखी जोगाउन खोज्दा निजको टाउकोलगायत शरीरका विभिन्न भागहरूमा समेत हतियार प्रहार गरेका हुन् सोही घटनामा मेरो आँखामा समेत चोटपटक लागेको थियो भनी प्र.ज. राजेन्द्र सिंह धामीले मौकामा गरेको कागज ।
मिति २०६६।८।१९ मा जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं. ८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी बसेका मानिसहरूको घर टहराहरू सो स्थानबाट हटाउनको लागि सो दिन मेरो कमान्डमा डिउटी रहेको हुँदा उक्त स्थानमा गई सो कार्य गर्ने क्रममा निज वन अतिक्रमणकारीहरूले अन्धाधुन्ध ढुङ्गा, मुढा, हँसिया, भाला, बञ्चरो प्रहार गर्दा हामीहरू पछाडि हट्ने क्रममा निजहरूले प्र.ज. पदम सिंह ऐरलाई घेराबन्दी गरी लगी निजको टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको हुँदा सो स्थानमा प्र.ना.नि. कल्याण सिंह महराले देखी जोगाउन खोज्दा निजको टाउकोलगायत शरीरका विभिन्न भागहरूमा हतियार प्रहार गरेका हुन् । सोही घटनामा मलाईसमेत घाउ चोट लागेको थियो भनी प्र.ना.उ. टेकबहादुर गुरूङले मौकामा गरेको कागज ।
मिति २०६६।८।१९ गते बिहान म आफ्नो कार्यरत रहेको नं.२ गुल्मको ब्यारेकमै थिएँ । उक्त दिन डुडेझाडी जङ्गलमा अतिक्रमण गरी टहरा बनाई बसेका अतिक्रमणकारीहरूलाई हटाउन जाने टोलीमा मेरोसमेत डिउटी रहेको प्र.ना.उ. टेकबहादुर गुरूङको कमान्डमा सो स्थानमा डिउटी खटी गएकोमा निजहरूका टहरा घरहरू हटाउने क्रममा वन अतिक्रमणकारीहरूले लाठी, भाला, ढुङ्गा हाम्रो टोलीलाई हान्दा टोली केही कदम पछाडि हट्दा टहरानजिक पुग्ने क्रममा वन अतिक्रमणकारीहरूको जत्थाले प्र.ज. पदम सिंह ऐरलाई घेराबन्दी गरी तानी घरेलु हतियार बञ्चरो, भालाले हानेकोमा प्र.ना.नि. कल्याण सिंह महरालाई समेत ढुङ्गाले हानी गम्भीर घाइते बनाएका हुन् भनी प्र.ज. कृष्ण रोकायले मौकामा गरेको कागज ।
मिति २०६६।८।१९ गते दिउँसो डिउटीकै सिलसिलामा खटिई डुडेझाडी जङ्गलमा गएको
थिएँ । हाम्रो टोलीको कमान्डर प्र.ना.उ. टेकबहादुर गुरूङ खटिनु भएको थियो । ऐ. दिउँसो अन्दाजी१३:०० बजेको समयमा डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी टहरा बनाई बसेकाहरूको घर टहराहरू हटाउँदा निजहरूले एक्कासी घरेलु हतियार लाठी, बञ्चरो, भाला, ढुङ्गा, मुढाले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रहरी टोली केही कदम पछाडि हट्ने क्रममा छेउमा रहेका प्र.ज.पदम सिंह ऐरलाई अतिक्रमणकारीहरूले तानी आफ्नो नियन्त्रणमा लिई घेराबन्दी गरी निजको टाउकोलगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी मार्नुका साथै सोही स्थानमा रहेका प्र.ना.नि. कल्याण सिंह महराको टाउकोमा ढुङ्गा प्रहार गरेका हुन् । निजहरूको आक्रमणबाट मलगायत अन्य प्रहरी कर्मचारीहरू घाइते भएका हुन् भनी प्र.ज. देव सिंह विष्टले मौकामा गरेको कागज ।
म मिति २०६६।८।१९ मा जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं. ८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी मानिसहरू बसेका हुँदा निजहरूलाई सो स्थानबाट खाली गर्ने डिउटीमा मेरो पनि सोही दिन डिउटी भएको हुँदा प्र.ना.उ. टेकबहादुर गुरूङको कमान्डमा डिउटी खटी गएकोमा ऐ. दिउँसो अन्दाजी१३:०० बजेको समयमा डुडेझाडी जङ्गलमा वन अतिक्रमण गरी टहरा बनाई बसेकाहरूको घर टहराहरू हटाउँदा निजहरूले एक्कासी घरेलु हतियार लाठी, बञ्चरो, भाला, ढुङ्गा, मुढा प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रहरी टोली केही कदम पछाडि हट्ने क्रममा छेउमा रहेका प्र.ज. पदम सिंह ऐरलाई अतिक्रमणकारीहरूले तानी आफ्नो नियन्त्रणमा लिई घेराबन्दी गरी निजको टाउकोलगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी रहेको अवस्थामा मैले देखी निजलाई जोगाउन जाँदा सोही स्थानमा रहेका वन अतिक्रमणकारीहरूले मेरो टाउकोमा ढुङ्गा प्रहार गरी म बेहोस भई लखनऊ अस्पतालमा होस आएको र उक्त घटनास्थलबाट हाल प्रहरी हिरासतमा रहेको महेशप्रसाद जैशीलाई पक्राउ गरी ल्याएको भन्ने कुरा पछि थाहा पाएको हुँ । आक्रमणकारीलाई कानूनबमोजिम हदैसम्मको सजाय हुनुपर्छ भनी प्र.ना.नि. कल्याण सिंह महराले मौकामा गरेको कागज ।
मिति २०६६।८।१९ गते बिहान लम्की बजारमा आफ्नो काम विशेषले गएको अवस्थामा जिल्ला कैलाली, वलिया गा.वि.स. वडा नं.८ र ९ मा पर्ने डुडेझाडी जङ्गलमा बसेका मानिसहरूलाई सो स्थानबाट हटाउनको लागि धनगढीबाट प्रहरीको टोली आई ऐ. दिउँसोतिर वन अतिक्रमणकारीहरूलाई हटाउन लाग्दा दुवै पक्षबिच झडप भएको र सोही क्रममा डिउटीमा रहेका प्रहरी जवान पदम सिंह ऐरलाई निर्ममतापूर्वक टाउकोलगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी मारेको भन्ने कुरा सुनी थाहा पाएकोमा सो घटना गर्नेमा हाल प्रहरी हिरासतमा रहेको महेशप्रसाद जैशीसमेत हो भन्ने कुरा बुझी थाहा पाएको हो भन्नेसमेत बेहोराको नन्दराम धमलासमेतका व्यक्तिहरूले गरेको वस्तुस्थिति मुचुल्का ।
मिति २०६६।८।१९ गते बिहान १४ जनाको प्रहरी कर्मचारीहरूको टोली उक्त स्थानमा खटी गएको हो सो टोलीमा म पनि खटी गएको
थिएँ । दिउँसो अ.१३:०० बजेको समयमा इलाका प्रहरी कार्यालय, टिकापुरबाट खटी गएको टोली तथा अन्य स्थानसमेतबाट खटी गएको टोली सो स्थानमा पुगी निज वन अतिक्रमणकारीहरूलाई हटाउने क्रममा डिउटीमा रहेको प्र.ज. पदम सिंह ऐरलाई चारैतिरबाट घेरा हाली निजको टाउकोलगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरी घाइते बनाई निज बेहोस भई भुइँमा लडिरहेका थिए । प्र.ना.नि. कल्याण सिंह महराले निजलाई जोगाउन जाँदा निजको टाउकोमा समेत ढुङ्गा प्रहार गरी घाइते बनाएका
हुन् । सो दिन प्र.ज.पदम सिंह ऐरलाई बञ्चरो प्रहार गर्ने महेशप्रसाद जैशी र बञ्चरो घटनास्थलबाटै पक्राउ गरी ल्याइएको हो भनी प्र.ज. रामबहादुर शाहीले मौकामा गरेको कागज ।
प्रतिवादी रक्तिम भन्ने नरेन्द्र शाही, महेशप्रसाद जैशी र विशाल घर्तीमगरले बञ्चरोसमतेका हतियार प्रहार तथा साङ्घातिक कुटपिटबाट मृतक प्र.ज. पदम सिंह ऐरको मृत्यु भएको देखिनाले निज प्रतिवादी महेशप्रसाद जैशी, विशाल घर्तीमगर र रक्तिम भन्ने नरेन्द्र शाहीलाई ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं. को कसुरमा सोही १३(१) नं. बमोजिमको सजायको अभियोग दाबी लिई तथा अन्य संलग्न व्यक्तिहरूको नाम, थर वतन खुली आएका बखत निर्णय गरिने नै हुँदा सोतर्फ हाल कुनै दाबी लिइएको छैन । फरार रहेका प्रतिवादी विशाल घर्तीमगर र नरेन्द्र शाहीलाई त्यहाँ सम्मानित अदालतबाटै वारेन्ट जारी गरिपाउँ भन्नेसमेत बेहोराको जिल्ला सरकारी वकिल कार्यालय, कैलालीबाट कैलाली जिल्ला अदालतमा पेस भएको अभियोग–पत्र ।
यसअघि नै यसै मुद्दामा कसुरदार ठहर भएका अर्का प्रतिवादी महेशप्रसाद जैसीले सबै गाउँलेहरूले जग्गा पाइन्छ जाउँ भनी भनेकाले म पनि उनीहरूकै साथमा लागी घटनास्थलमा गएको हुँ । अरू व्यक्ति पहिले नै उक्त स्थानमा आई घर छाप्रा बनाइसकेका थिए । मेरो उक्त स्थानमा घर छाप्रा छैन । सो स्थानतर्फ जान लाग्दा घटनास्थलतर्फ नपुग्दै बिच बाटोमै मलाई प्रहरीले समातेका हुन् । मैले मृतकलाई बञ्चरो प्रहार गरी मारेको हानेको होइन भन्ने भनी सुरू कैलाली जिल्ला अदालतमा गरेको बयान मिसिल सामेल
रहेको ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा प्रतिवादी महेशप्रसाद जैसीलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ पुर्पक्षको लागि थुनामा राख्ने गरी मिति २०६६/९/१७ मा जिल्ला अदालतबाट भएको थुनछेक आदेश ।
उक्त मितिमा म डुडेझारीको अतिक्रमण हटाउन बिहान ८:०० बजे मेरो नेतृत्वमा अधिकृत तथा जवानहरूको ३६५ जनाको टोली डुडेझारीतर्फ गएका थियौं । डुडेझारीतर्फ जाने क्रममा लम्कीदेखि पूर्व विभिन्न स्थानमा सडकमा ढुङ्गा, काठ तेर्साई सडक अवरूद्धसमेत गरेका थिए । उनिहरूलाई सम्झाई बुझाई सडकमा भएको अवरोध हटाई डुडेझारीतर्फ लागि सुरक्षा टोलीलाई निर्देशन दिइरहेको अवस्थामा सोही स्थानको पूर्वतर्फ अन्दाजी १५ हजार जना जति मानिसहरू सडकमा भेला जम्मा भई बसेका देख्यौं र उनीहरूको हातमा विभिन्न घरेलु हतियारहरू जस्तै भाला, हँसिया, बञ्चरो आदि लिएका थिए । हामीले तपाइँहरू गैरकानूनी रूपमा वन अतिक्रमण गरी बस्नु भएको छ भनी जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयले हटाउन भनी निर्देशन दिएकोले तपाइँहरू उक्त स्थानबाट हट्नुहोस् केही समय दिन्छौं भनी माइकद्वारा सूचना गर्यौं ।
सूचनापश्चात् पनि निजहरू त्यहाँबाट हट्ने कुनै लक्षण नदेखाएको हुँदा ४/५ वटा घर टहरा भत्काइसकेपछि ती वन अतिक्रमणकारीहरूले सडकमा ढुङ्गा थुपारी राखेको र सोही ढुङ्गा टिपी प्रहरीतर्फ प्रहार गर्न थाले । सो भिडको संख्या एकजुट भई घरेलु हतियारसमेत प्रयोग गर्ने तयारीसाथ अघि बढेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी लाठी चार्ज गरी भिडलाई तितर बितर गरेकोमा भिड आक्रोशित भई प्रहरीलाई आक्रमण गर्दै अघि बढे । सो समयमा प्रहरी पछि हट्ने क्रममा प्रहरी जवान पदम सिंह ऐर र प्र.ना.नि. कल्याण महरालाई भिडले नियन्त्रणमा लिई हातहतियार प्रयोग गरी कुटपिट गरी सख्त घाइते बनाई सडकमा छाडी दिएका रहेछन् । भिडको नियन्त्रणबाट निजहरूलाई निकाली अस्पताल पठाएकोमा प्रहरी जवान पदम सिंह ऐरको मृत्यु भएको र प्र.ना.नि. कल्याण महरालाई उपचारार्थ भारततर्फ लगेको भनी जानकारी हुन आएको हो । भिडबाट घाइतेलाई छुट्याउन जाने क्रममा महेशप्रसाद जैशी तथा उक्त अतिक्रमणकारीको नेतृत्व गर्ने रक्तिमसमेतले २ जनालाई ढुङ्गा र बञ्चरो प्रहार गरी घाइते तुल्याएको देखेँ अन्य प्रहरी जवानहरूसमेत आक्रोशित भई हवाई फायरसमेत भयो त्यसपछि उक्त भिड नियन्त्रण भई सामान्य अवस्था हुँदै गएपछि अन्दाजी १७:३० बजेको समयमा प्रहरी टोली घटनास्थलबाट कार्यालयतर्फ फर्किएको हो । सो घटनामा ढुङ्गा प्रहार भई अन्य ३१ जना प्रहरीसमेत सामान्य घाइते भएका थिए भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने प्र.ना.उ. टेकबहादुर गुरूङले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
उक्त घटनामा पदम सिंह ऐरलाई तानेर लगिसकेपछि उनलाई बचाउन जाँदा मलाईसमेत टाउको, निधार, ओठलगायतका ठाउँमा महेशप्रसाद जैसीसमेतले प्रहार गरेका थिए । निजहरूले मेरो दायाँ गोडा र हातमा कम्मरमा समेत प्रहार गरेका थिए । हाल मेरो कम्मर सधैँ दुखी राखेको हुन्छ, मैले लखनउ, सेती अञ्चल अस्पताललगायतका ठाउँमा उपचार गराएको हुँ भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने कल्याण सिंह महराले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६६।८।१८ मा डुडेझारी जङ्गलमा हाम्रो गाडी गइसकेपछि बाटोमा थुपारिएको ढुङ्गाको थुप्रोनजिक पुग्दा एक्कासी महेशप्रसाद जैशीसमेतका आक्रमणकारीले बञ्चरो प्रहार गरी अन्धाधुन्ध हान्न सुरू गरेपछि हामीहरू ब्याक भएर आयौँ । सोही समयमा आक्रमणकारीले हामीतर्फका दुईजनालाई तानी लगी आँसी, बञ्चरोलगायतका घरेलु हतियार प्रयोग गरी घाइते बनाएकामा उपचारको क्रममा एकजनाको मृत्यु भएको हो । आक्रमणमा महेशप्रसाद जैसीलाई संलग्न भएको देखेको र अन्य को को थिए, भिडमा हामीहरूले चिन्न सकेनौँ । डुडेझारी जङ्गलस्थित बिच सडकमा आक्रमण गरी हत्या गरेका हुन् भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने कृष्ण रोकायाले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६६।८।१९ गते बाटोको अवरोध पन्छाउँदै अगाडि बढ्ने क्रममा गाडीबाट ओर्लने बित्तिकै घरेलु हतियार ढुङ्गा, मुढा प्रहार गर्न थालेपछि हाम्रो प्रहरी टोली पछाडि हट्न थाल्यो । पछाडि हट्ने क्रममा कल्याण सिंह महरा र पदम सिंह ऐर छुट्न गई खोज्दा ती दुईजना नआएको थाहा भई पुनः प्रहरी टोली दुईजनाको खोजी गर्ने क्रममा कल्याण सिंह महरा घाइते अवस्थामा फेला परेका र पदम सिंह ऐरलाई केही पर रोडदेखि दक्षिणतिर लगी हत्या गरिसकेको र हत्या गर्दा मैले आँखाले नदेखेको र पछि बञ्चरो समाती महेशप्रसाद जैशी भाग्दै गरेको मैले देखेको हुँ, सो घटना भएको बलिया ८ र ९ नं. वडाको बिचमा पर्ने डुडेझारी जङ्गलमा भएको थियो भन्नेसमेत बेहोराको अपराधसम्बन्धी प्रतिवेदन पेस गर्ने प्रहरी निरीक्षक वेदप्रकाश जोशीले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
मिति २०६६।८।९ गते डुडेझारीको जङ्गलमा सुकुम्बासीले वन अतिक्रमण गरेको र सो अतिक्रमण हटाउन मसमेतको टोली गएकोमा हामी त्यहाँ पुग्ने बित्तिकै अतिक्रमणकारीको टोलीले ढुङ्गा, मुढा प्रहार गर्न थाले । त्यसपछि हाम्रो टोली पछाडि हट्न सुरू गरेकोमा मृतकलाई कहाँबाट तानी लगे मलाई थाहा भएन । हामीसमेत घाइते भई पछाडि हटी हाल्यौं, मृतकलाई मार्ने बेला मैले देखिन । मानिसहरूको ठुलो हुल भएकाले कस्ले मार्यो मलाई थाहा छैन, डुडेझारीको जङ्गलमा घरेलु हतियार प्रयोग गरी मृतक पदम सिं ऐरलाई मारेका हुन् भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस खेमराज जोशीले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
घटनाको अन्दाजी १३:०० बजेको समयमा अतिक्रमणकारीको आक्रमणमा परी म आफैँसमेत घाइते भएकाले अन्य कुराहरू केही थाहा पाइन । मेरो आँखामा चोट लागेकाले म एम्बुलेन्समा बसी धनगढीतर्फ आएकाले अन्य थप कुराहरू मलाई केही थाहा छैन । वन अतिक्रमणकारीहरूलाई हटाउन मसमेतको टोली डुडेझारीमा गएको र अन्दाजी १३:०० बजे चोट लागेपश्चात् म धनगढीतर्फ आएको हो भन्नेसमेत बेहोराको मौकामा कागज गर्ने देवसिंह विष्टले सुरू कैलाली जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू रक्तिम भन्ने नरेन्द्र शाही, महेशप्रसाद जैशी र विशाल घर्तीमगरले बञ्चरोसमेतका घरेलु हतियारले प्रहार गरी मृतक पदम सिंह ऐरको मृत्यु भएको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. अनुसार सजाय होस् भन्ने अभियोग दाबीमा यी प्रतिवादीउपर किटानी जाहेरी परे तापनि घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, बुझिएका व्यक्तिहरूको भनाइबाट कैलाली जिल्ला बलियास्थित डुडेझारी जङ्गलमा वन अतिक्रमण गरी घर टहरा बनाई बसेको हुँदा निजहरूलाई सो स्थानबाट हटाइ जङ्गल खाली गर्न गएको प्रहरी टोलीलाई चारैतिरबाट अतिक्रमणकारीहरूले घेरी बञ्चरो जस्तो धारिलो हतियार प्रयोग गरी प्र.ज. पदम सिंह ऐरलाई मारेको देखिन्छ । सो घटनामा बञ्चरो प्रहार मैले गरेको हुँ भनी महेशप्रसाद जैसीले कसुर साबित गरी बयान गरी प्रमाणबाट पुष्टि भई सम्मानित सर्वोच्च अदालतबाट समेत कसुरदार ठहरी सजाय भुक्तान गरिरहेको अवस्था छ तर यी प्रतिवादीको हकमा मुख्य अभियुक्त महेशप्रसाद जैसीसमेतले यस अदालतसमक्ष गरेको आफ्नो बयानमा नामसम्म उल्लेख गर्न नसकेका र अन्य वादी पक्षका देख्ने सुन्नेसमेतका साक्षीले यी प्रतिवादीको नामसम्म लिन नसकेको र वन अतिक्रमण गरी बसेको समूहको हुलले आक्रमण गर्दा प्र.ज.को मुत्यु भएको अवस्था देखिँदा शंकाको भरमा प्रमाणबेगर यी प्रतिवादी विशाल घर्तीमगरलाई कर्तव्य ज्यान जस्तो गम्भीर कसुरमा कसुरदार ठहराउन मिलेन तसर्थ वादी नेपाल सरकारको अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू कैलाली जिल्ला अदालतको मिति २०७४।८।१३ को फैसला ।
घटनास्थलमा मृतकलाई घेराबन्दी गरी प्रहार गर्नेमा प्रतिवादी विशाल घर्तीमगरलाई समेत पोल गरी अर्का प्रतिवादीले बयान गरेको देखिएकोमा त्यसरी बयान गर्ने प्रतिवादी महेश जैशीउपरको कसुर अपराध निजको मौकाको साबिती बयानसमेतका आधार प्रमाणहरूबाट पुष्टि भई निज प्रतिवादीलाई अभियोग माग दाबीबमोजिमको सजायसमेत ठहर भइसकेको अवस्था छ । कसुर ठहर भएका निज प्रतिवादीले मौकामा गरेको स्वेच्छिक बयान प्रमाणमा ग्राह्य हुने कानूनी व्यवस्थासमेत रहेकोले आफू कसुर अपराधमा साबित रही अन्य सहअभियुक्तलाई समेत पोल गरेका मुख्य प्रतिवादीको मौकाको बयानलाई प्रमाण ग्राह्य नगरी फैसला गरिएको छ । उक्त घटनामा प्रयोग भएको बञ्चरोसमेत प्रतिवादी विशाल घर्तीमगरले नै ल्याएको थियो भनी देखिएको तथ्यलाई समेत नजर अन्दाज गरी कर्तव्य पालनाको सिलसिलामा राष्ट्र सेवक प्रहरी कर्मचारीउपर गरिएको कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्न यी प्रतिवादी विशाल घर्तीमगरलाई सफाइ दिने गरी भएको प्रस्तुत फैसला प्रमाण मूल्याङ्कनको रोहबाट समेत बदरभागी
छ । सुरू अदालतबाट प्रतिवादी विशाल घर्तीमगरलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको प्रस्तुत फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी निज प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत दिपायलमा परेको पुनरावेदन पत्र ।
यसमा प्रमाण मूल्याङ्कनको रोहमा सुरू कैलाली जिल्ला अदालतबाट मिति २०७४/८/१३ मा भएको फैसला विचारणीय देखिँदा मुलुकी फौजदारी कार्यविधि (संहिता), २०७४ को दफा १४० को उपदफा (३) तथा उच्च अदालत नियमावली, २०७३ (संशोधित) को नियम ६४(४) र ११२ को प्रयोजनार्थ प्रत्यर्थीलाई पुनरावेदनपत्र र आदेशको प्रतिलिपि साथै राखी म्याद जारी गरी झिकाई उपस्थित भए वा उपस्थित हुने अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने उच्च अदालत दिपायलबाट भएको मिति २०७५/९/२७ को आदेश ।
मिति २०६६/८/२० मा प्र.नी. बेद प्रकाश जोशीले दिएको प्रतिवेदनमा प्रतिवादी विशाल घर्ती मगरको नाम उल्लेख छैन । मिति २०६८/८/२० मा दिएको जाहेरी दरखास्तमा प्रतिवादी विशाल घर्तीमगरको विरूद्ध खण्डमा नाम उल्लेख भई निजले घननास्थलमा हातमा खुकुरी बोकेको भनी बेहोरा खुलाए पनि सोको पुष्टि कतैबाट भएको देखिँदैन । मृतकको Postmortem Report मा Cause of the Death is due to head injury भन्ने उल्लेख छ । प्रतिवादी महेशप्रसाद जैशीले घटनास्थलमा भिडमा एकजना मानिसको हातबाट बञ्चरो खोसी मृतकलाई प्रहार गरेको भन्नेसम्म उल्लेख छ । प्रतिवादी विशाल घर्तीमगरको घटनास्थलमा के भूमिका थियो सो उल्लेख छैन । मुख्य कारणी (First offender) भनिएका महेश प्रसादले जैसीले प्रतिवादी विशाल घर्तीमगरलाई पोलसम्म पनि गरेको छैन । अनुसन्धान तहकिकातको सिलसिलामा कागज गर्ने राजेन्द्र सिंह धामी, टेकबहादुर गुरूङ, कृष्ण रोकाया, देवसिंह विष्ट, कल्याण सिंह महरालगायतका व्यक्ति एवं वस्तुस्थिति मुचुल्कामा उल्लिखित नन्दराम धमला, महादेव बजगाईसमेतका मानिसहरूले घटनास्थलमा विशाल घर्तीमगर उपस्थित छन् निजको समेत मृतकलाई मार्नमा सहयोगी भूमिका (Secondary Offender) खेलेका छन् भन्न सकेका छैनन् । यी प्रतिवादीले के कसुर गरेका हुन् भनी सो सम्बन्धमा Offence identify हुन नसकेको स्थितिमा आरोपित कसुरमा प्रतिवादी विशाल घर्तीमगरलाई दोषी करार गर्न न्यायोचित हुने अवस्था नदेखिँदा अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई अन्यथा गर्न मिल्ने अवस्था नहुँदा प्रतिवादी विशाल घर्तीमगरलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको कैलाली जिल्ला अदालतको मिति २०७४/८/१३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत दिपायलको मिति २०७६।१।११ को फैसला ।
यी प्रतिवादी निर्दोष भए अनुसन्धानको क्रममा तथा अदालतमा उपस्थित भई आफैँ निर्दोषिता पुष्टि गर्नुपर्नेमा सोसमेत भए गरेको देखिँदैन । जाहेरवाला हर्कबहादुर ऐरले मिति २०६६।८।१९ गते डुडेझारी जङ्गलमा वन अतिक्रमणकारीलाई हटाउने क्रममा ड्युटीमा खटिएका मेरा दाजु प्रहरी जवान पदम सिंह ऐरलाई रक्तिम भन्ने नरेन्द्र शाहीको नेतृत्वमा आएका महेशप्रसाद जैसी, विशाल घर्तीमगरसमेतका हुलले हातमा धारिलो हतियार खुकुरीसमेत बोकी आई दाजुलाई कुटपिट गरेकोमा निजलाई उपचार गर्न लैजाने क्रममा मृत्यु भएको भनी किटानी जाहेरी दिएको अवस्था छ । (नेपाल सरकार विरूद्ध डविन गुरूङसमेत ने.का.प. २०६७, अङ्क ३, नि.नं. ८३३०) मा “वारदात हुँदाका बखत चश्मदिद गवाहका रूपमा रहेका व्यक्तिले मौकामा र अदालतमा उपस्थित भई बकपत्र गर्दा आफूले प्रत्यक्षरूपमा घटना देखी घटनाको यथार्थ बेहोरा खुलाई रहेको स्थितिमा अदालतले त्यस्ता चश्मदिद व्यक्तिको मौकाको कागज र अदालतसमक्ष गरेको बकपत्रको बेहोराको सत्यताउपर शंका गर्न नपर्ने । फौजदारी मुद्दामा चश्मदिद व्यक्तिहरूको भनाइ कसुर कायम गर्ने एउटा निर्णायक प्रमाण भएकाले यस्तो व्यक्तिको भनाइ वारदातको प्रकृति र अन्य प्रमाणबाट समर्थित भएको छ भने अदालतले त्यस्तो प्रत्यक्ष साक्षीको कथनलाई अनदेखा गरी न्यायिक निष्कर्ष निकाल्नु न्यायसङ्गत नहुने” भनी सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त स्थापित भएको र प्रस्तुत मुद्दामा घटनाका प्रत्यक्षदर्शीहरूले अदालतमा उपस्थित भई मौकाको कागज बेहोरालाई पुष्ट्याईं गर्दै बकपत्र गरेकोसमेत देखिँदा प्रस्तुत वारदातमा यी प्रतिवादीसमेतको प्रत्यक्ष संलग्नता रहेको प्रस्ट भइरहेको छ ।
प्रतिवादी महेशप्रसाद जैसीले अनुसन्धानको क्रममा बयान गर्दा डुडेझारी वन क्षेत्रमा बसेका सुकुम्बासीलाई प्रशासनले हटाएमा त्यसको प्रतिकार गर्ने भनी रक्तिम भन्ने नरेन्द्र शाहीको नेतृत्वमा ढुङ्गा, लाठी, बञ्चरो, आँसीसमेतका घरेलु हतियारहरू बोकी प्रहरीसँग प्रतिकार गर्ने क्रममा भिडले पदम सिंह ऐरलाई तानी घेराबन्दी गरी लाठी, ढुङ्गा प्रहार गरी घाइते बनाएको र भिडमा एकजना मानिसको बञ्चरो खोसी मृतकको टाउकोमा एक पटक प्रहार गरेको हो भनी आफू साबित हुँदै घटनास्थलमा मृतकलाई घेराबन्दी गरी कुटपिट गर्ने कार्यमा यी प्रतिवादी विशाल घर्तीमगरको समेत संलग्नता रहेको भनी पोल गरेको देखिएको छ । यसरी कसुर ठहर भएका मुख्य अभियुक्तले अन्य सहअभियुक्तहरूलाई समेत पोल गरेको उक्त बयान बेहोरालाई प्रमाणमा ग्रहण नगरी भएको फैसला सम्मानित सर्वोच्च अदालतबाट "सहअभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि गराउन सक्नु ज्यादै राम्रो कुरा हो तर त्यो छैन भन्दैमा सहअभियुक्तको पोललाई विचारै नगर्ने भन्ने होइन यो कुरा मुद्दाको तथ्यमा भर पर्छ"(ने.का.प. २०४४, अङ्क ४, नि.नं. ३०६०) प्रतिपादित सिद्धान्तविपरीत भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।
प्रस्तुत मुद्दाका मुख्य अभियुक्त महेशप्रसाद जैशीलाई सर्वोच्च अदालतबाट मिति २०७३।२।२० मा सजाय अन्तिम भइसकेको अवस्था छ । यी मुख्य अभियुक्तले यी प्रतिवादीलाई अनुसन्धानको बयानको क्रममा कैलाली जिल्ला सुगुरखाल गा.वि.स. २ नाम्चा बस्ने वर्ष २१ को विशाल घर्तीमगर पनि उक्त स्थानमा भई घेराबन्दी गरी मृतक प्रहरी जवानलाई हानेका हुन् भनी खुलाई दिएको र अदालतको बयानमा समेत निजलाई चिन्दछु भनी उल्लेख गरेको देखिँदादेखिँदै मुख्य कारणी (First offender) भनिएका महेशप्रसाद जैशीले निज प्रतिवादी विशाल घर्तीमगरलाई पोलसम्म पनि नगरेको भनी सफाइ दिएको फैसला त्रुटिपूर्ण
छ । प्रतिवादी महेशप्रसाद जैसी अनुसन्धानमा साबित छन् । तर अदालतमा कसुर गरेको कुरामा इन्कार छन् । उनको इन्कारीमा सहमत नभई यिनलाई अदालतबाट मागदाबीबमोजिम सजाय भएकै अवस्था छ । उनको अनुसन्धानको बयान उनको हकमा ग्रहणयोग्य मान्ने तर विशाल घर्तीमगरको हकमा ग्रहणयोग्य नमानी भएको फैसला प्रमाण मूल्याङ्कनका दृष्टिकोणले समेत त्रुटिपूर्ण हुँदा उक्त फैसला बदरभागी हुँदा प्रतिवादी विशाल घर्तीमगरलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७६।१।११ को फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी यी प्रतिवादीलाई समेत अभियोग माग दाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पेस हुन आएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो ।
पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता गोभिन्द न्यौपानेले यी प्रतिवादी अनुसन्धानको क्रममा फरार रही अदालतमा समेत उपस्थित नभई न्यायिक प्रक्रियालाई छली आपराधिक दायित्व वहन गर्नबाट भागी हिँडेका छन् । जाहेरवालाले यी प्रतिवादीउपर समेत किटानी जाहेरी दिएको अवस्था छ । घटनाका घाइते प्र.ना.नि. कल्याण सिं महरासमेतले यी प्रतिवादीसमेत भई घेराबन्दीमा पारी कुटपिट गरेका भनी अनुसन्धान र अदालतमा बकपत्र गरिदिएको अवस्था छ । आरोपित कसुरमा सजाय भएका अर्का प्रतिवादी महेशप्रसाद जैसीले यी प्रतिवादीसमेत उपर पोल गरी बयान गरेको अवस्थामा सहअभियुक्तको तथ्यमा आधारित पोल प्रमाणमा लिनुपर्ने हुँदा लिनु अनिवार्य हुन्छ । प्रमाण कानूनको सिद्धान्तविपरीत सहअभियुक्तको पोललाई अनदेखा गरी यी प्रतिवादीलाई सफाइ दिन मिल्ने अवस्था
छैन । मुख्य प्रतिवादी अदालतमा इन्कार भएको अवस्थामा समेत निजलाई अभियोग दाबीबमोजिम सजाय गरिएको अवस्था हुँदा समान अवस्थाका यी प्रतिवादीलाई बिना आधार सफाइ दिने गरी फैसला गर्न मिल्ने अवस्था नहुँदा विपक्षी झिकाउने आदेश गरी उच्च अदालत दिपायलको फैसला उल्टी गरिपाउँ इन्साफ गरी भनी गर्नुभएको बहस सुनियो ।
विद्वान् उपन्यायाधिवक्ता गोविन्द न्यौपानेको सारगर्भित बहस सुनी सुरू फैसला सदर गर्ने गरी उच्च अदालत दिपायलबाट भएको फैसला मिले नमिलेको सम्बन्धमा देहायका प्रश्नहरूको निरूपण गरी निर्णय गर्नुपर्ने देखिन आयो ।
क) अभियोग दाबीका सम्बन्धमा न्यायिक प्रक्रियालाई सहयोग नगरेको आधारमा प्रतिवादीलाई सजाय गर्न मिल्छ वा
मिल्दैन ? सहअभियुक्तको पोल जुनसुकै अवस्थामा प्रमाणमा ग्रहण गर्न मिल्ने हो वा होइन ?
ख) प्रस्तुत अभियोगमा शंकाको सुविधा प्रतिवादी विशाल घर्तीमगरलाई प्राप्त हुने हो वा होइन ?
ग) उच्च अदालत दिपायलबाट यी प्रतिवादीलाई सफाइ दिने गरी भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदकको जिकिरबमोजिम हुने हो वा होइन ?
२. यसमा प्रहरी प्रतिवेदन र मृतकका भाइको जाहेरी दरखास्त बेहोरासमेतबाट मुद्दाको कारबाही अगाडि बढेकोमा सुरूमै पक्राउ परेका मुख्य अभियुक्त प्रतिवादी महेशप्रसाद जैसीउपरको अभियोग दाबी पुष्टि हुने गरी भएको सुरू फैसला तहतह हुँदै यस अदालतबाट समेत उक्त फैसला सदर भई अन्तिम भएर बसेको देखिन्छ । अर्का प्रतिवादीउपरको न्यायिक कारबाहीको क्रममा फरार रहेका यी प्रतिवादी विशाल घर्तीमगर सुरू अदालतमा उपस्थित नभएको हुँदा निजको हकमा मुल्तबीबाट जागी प्रस्तुत मुद्दाको उठान भएको र सुरू तथा उच्च अदालतबाट यी प्रतिवादी विशाल घर्तीमगरले अभियोग दाबीबाट सफाइ पाउने गरी फैसला भएकोमा सो फैसलाउपर चित्त नबुझाई वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको देखियो ।
३. उल्लिखित अवस्था रहेको प्रस्तुत मुद्दाको पहिलो प्रश्नतर्फ विचार गर्दा हामीले अवलम्बन गरिआएको कानून प्रणालीमा अभियुक्तलाई चुप लाग्ने अधिकारलाई न्यायिक प्रक्रियामा स्वीकार गरी आएको अवस्था रहेको छ । नेपालको वर्तमान संविधानले न्यायसम्बन्धी हकमा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन भन्ने अधिकारका साथै कुनै कसुरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरूद्ध साक्षी हुन बाध्य पारिने छैन भनी अभियोग लागी न्यायिक प्रक्रियामा रहेका अभियुक्तको अधिकार संवैधानिक रूपमा नै संरक्षित गरेको देखिन्छ । आफूले लगाएको अभियोगबाट प्रतिवादीउपरको कसुर प्रमाणित गर्ने भार विशेष अवस्थामा बाहेक अभियोजन गर्ने वादी पक्षको हुने हुँदा अभियुक्त उपस्थित नभए पनि निजउपरको अभियोग शंकारहित तवरबाट सम्पुष्टि गर्नुपर्ने दायित्व वादी अर्थात् नेपाल सरकारको रहने देखिन्छ । अभियुक्त उपस्थित नभएकै आधारमा कसुर गरी आपराधिक दायित्वबाट उम्कन भागी हिँडेको भनी निष्कर्ष निकाल्न न्यायोचित हुने देखिँदैन । अभियुक्तलाई चुप लाग्ने तथा आफूउपरको अभियोगउपर आधार र कारणसहित प्रतिवाद गर्दै त्यसबाट सफाइ लिन प्रयास गर्ने दुवै अधिकार रहने भएको हुँदा न्यायिक प्रक्रियामा सहयोग नगरेको आधारमा मात्र अभियोग दाबीअनुसार कसुरदार ठहर गर्दा न्यायको मर्म तथा प्रचलित कानून प्रणाली प्रतिकूल निर्णय हुन जाने अवस्था हुन्छ ।
४. प्रतिवादी अदालतमा उपस्थित नभएको कुरालाई स्वयम् निर्णायक प्रमाण मानी अभियोग दाबी ठहर गर्नु अभियोजनात्मक प्रणालीमा न्यायको मान्य सिद्धान्त प्रतिकूल हुन जान्छ । अभियुक्त अदालतमा उपस्थित नभएको आधारमा मात्र वादीले आफ्नो दायित्व पूरा नगरेको अवस्थामा वादीले गरेको माग दाबीकै भरमा कसुरदार ठहर गर्नु अन्यायपूर्ण हुने भई न्यायिक दुरूपयोगको अवस्था हुन जाने भनी यसै अदालतबाट ने.का.प.२०७६, नि.नं. १०२७४ नेपाल सरकार वादी प्रतिवादी शोभा वादीसमेत भएको मुद्दामा कानूनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी विशाल घर्तीमगर अनुसन्धानकै चरणदेखि फरार रहेका र अदालतबाट जारी भएको वारेन्टको समयावधिमा समेत अनुपस्थित भई न्यायिक प्रक्रियामा समावेश भएको देखिँदैन । यसरी न्यायिक कारबाहीलाई छलेको हुँदा यी प्रतिवादी कसुरमा संलग्न नै भएको आशंकायुक्त निष्कर्ष निकाली अभियोग दाबीबमोजिम सजाय गर्दा शंकारहित सबुद प्रमाणको रोहबाट सम्पुष्टि हुन आएको कसुरमा मात्र सजाय गरिने न्यायिक पद्दति नै बिथोलिन जान्छ । अदालतको काम न्यायिक पद्दतिलाई बिथोल्ने नभई अझ परिस्कृत गर्दै अगाडि बढाउने हो । कसैप्रति पूर्वाग्रह नराखी सबुद प्रमाणको रोहमा न्यायिक निरूपण गर्नु अदालतको दायित्व रहेको हुँदा प्रमाणबाट पुष्टि नभएका तथ्यमा बलपूर्वक निष्कर्ष निकाल्नु उपयुक्त हुने देखिँदैन । प्रतिवादीउपरको अभियोग प्रमाणको रोहमा पुष्टि भएको अवस्थामा मात्र सजाय गरिने हुँदा अभियोग लागेको र सो अभियोगबाट बच्नको लागि फरार रहेको भन्ने तर्क गरी कुनै पनि अभियुक्तलाई कसुरदार ठहर गर्न मिल्ने देखिँदैन ।
५. सहअभियुक्तको पोल आफैँमा सारभूत प्रमाण होइन । यो मुद्दाको प्रमाणित तथ्यलाई पुन: पुष्टि गर्ने वा अझ बल प्रदान गर्ने थप आधार मात्र हो । सहअभियुक्तको पोलको प्रामाणिक महत्त्वका सम्बन्धमा प्रस्तुत कसुर हुँदाका बखत स्पष्ट कानूनी व्यवस्था नभए पनि अदालतबाट व्याख्या भई केही अवलम्बनयोग्य आधार तयार भएको देखिन्छ । मुद्दामा रहेको तथ्य र बेहोरालाई कुनै न कुनै रूपमा ग्रहण गर्ने वा स्वीकार गर्ने गरी सहअभियुक्तको भनाइ आएको परिप्रेक्ष्यमा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न सकिने हुन्छ । सहअभियुक्तले पोलेको आधारमा मात्र अन्य प्रमाणबाट समर्थित नभएको पोललाई अभियोग सम्पुष्टि गर्ने आधार बनाउनु न्यायोचित हुन सक्दैन । प्रस्तुत मुद्दामा सुरूमा पेस गरिएको प्रहरी प्रतिवेदनमा यी प्रतिवादीको नाम उल्लेख भएको देखिँदैन । बुझिएका मानिसको कागजमा समेत यी प्रतिवादीलाई घटनामा संलग्न रहेको भनी गढाउ गर्न सकेको पाइँदैन । अनुसन्धानको सिलसिलामा अर्का प्रतिवादी महेशप्रसाद जैसीले यी प्रतिवादीलाई पोल गरे पनि अदालतसमक्ष निजले गरेको बयानमा स्वयंले आरोप अस्वीकार गरेको अवस्था हुँदा त्यस्ता आरोपितले अर्का प्रतिवादीउपर गरेको पोल बयानलाई विश्वसनीय मान्न सकिँदैन । अभियुक्तले आफूले अनुसन्धान तथा अदालतमा आरोप स्वीकार गरी सहअभियुक्तलाई पोलेको र मिसिल संलग्न कागजबाट त्यस्तो पोल समर्थित भएको अवस्थामा मात्र सहअभियुक्तको पोल प्रमाणमा लिइने हुँदा सहअभियुक्तले पोलेको आधारमा मात्र त्यस्तो पोललाई अर्को अभियुक्तको विरूद्धमा प्रमाणमा लिन मिल्ने देखिएन ।
६. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा फौजदारी मुद्दामा अभियोग पुष्टि गर्ने भार सामान्यतया वादीउपर रहने हुन्छ । कानूनले तोकेको विशेष अवस्थामा मात्र प्रमाणको भार प्रतिवादीउपर रहने हुन्छ । अभियोजकलाई कानूनले तोकेको दायित्व पूरा गर्नु नपर्ने छुट कानूनले दिएको देखिँदैन । शंकारहित तवरले आफूले पेस गरेको अभियोग पुष्टि गर्न नसक्दा त्यसको सुविधा सिधै प्रतिवादीका पक्षमा जाने हुन्छ । त्यसैले कसैउपर फौजदारी कसुर जस्तो गम्भीर आरोप तय गर्नुअगाडि अभियोजकले हचुवा रूपमा नभई तथ्य र प्रमाणबाट खम्बिर हुने अभियोग मात्र अदालतसमक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । मिसिल संलग्न कागजातबाट आरोपित व्यक्ति निर्दोष हो कि भन्ने शंकासम्म देखिएको अवस्थामा त्यसको सुविधा पाउनबाट पक्षलाई रोक्न सकिँदैन । नेपालको संविधानको धारा २० (५) मा कुनै कसुरको अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन भनी संवैधानिक सुरक्षा प्रदान भएको अवस्थामा अभियोग लगाउनेसम्मको कामले कसुर प्रमाणित भएको मान्न मिल्ने देखिँदैन । यी प्रतिवादी विशाल घर्तीमगरको विरूद्धमा कसुरदार ठहर भएका अर्का प्रतिवादी पदमप्रसाद जैसीको अनुसन्धानमा भएको पोलबाहेक अन्य स्वतन्त्र र सार्थक प्रमाणहरूको विद्यमानता नदेखिँदा यी प्रतिवादी फरार रहेकै आधारमा शंकाको सुविधा यिनको विपक्षमा जाने अवस्था रहन्न । न्यायिक कारबाहीमा अभियोजक पक्षले शंकारहित प्रमाणबाट आफूले लगाएको अभियोजन पुष्टि गर्न नसकेको अवस्थामा शंकाको सुविधा निर्विवाद रूपमा प्रतिवादीमा जाने अवस्था रहने हुँदा यी प्रतिवादी विशाल घर्तीमगरले प्रस्तुत मुद्दामा शंकाको सुविधासमेत पाउने देखियो ।
७. तेस्रो तथा निर्णायक प्रश्नतर्फ विचार गर्दा प्रहरी निरीक्षक वेदप्रकाश जोशीले मिति २०६६।८।२० मा पेस गरेको प्रहरी प्रतिवेदनमा प्रतिवादी महेशप्रसाद जैसीले हातमा बञ्चरो लिई प्रहरी जवान पदम सिं ऐरको टाउकोमा प्रहार गरेको भन्ने बेहोरा उल्लेख भएको देखिन्छ । सोही मितिमा हर्कबहादुर ऐरले दिएको जाहेरी दरखास्तमा यी प्रतिवादीको समेत नाम उल्लेख भएको देखिन्छ । उल्लिखित मितिको घटनास्थल मुचुल्कामा प्रतिवादी महेशप्रसाद जैसी र अरू नचिनेका प्रतिवादीको प्रहारबाट प्रहरी जवानको मृत्यु भएको बेहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादी महेशप्रसाद जैसीले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा यी प्रतिवादीसमेत वारदातमा सामेल भएको भनी पोल गरेको देखिन्छ । स्थानीय नन्दराम धमला, महादेव बजगाइँ, दिपक रावल र घटनास्थलमा रहेका प्रहरी जवान खेमराज जोशीले लेखाएको वस्तुस्थिति मुचुल्काको बेहोरामा प्रतिवादी महेशप्रसाद जैसीको नाम किटान गरी अन्य प्रतिवादीहरूसमेत भनी उल्लेख गरेको देखिन्छ । प्रतिवादी महेशप्रसाद जैसीले सुरू अदालतसमक्ष बयान गर्दा यी विशाल घर्तीमगरलाई चिनेको कुरा उल्लेख गरी आफू कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । अदालतसमक्ष बुझिएका मानिसले समेत बेहोरा लेखाउँदा पदमप्रसाद जैसीको नाम वारदातमा संलग्न भएको भनी लेखाए पनि प्रतिवादी विशाल घर्तीमगरको संलग्नता सम्बन्धमा पदमप्रसाद जैसीको बयानबाट सुनी थाहा पाएको भनी बेहोरा लेखाएको देखिन्छ । यस आधारमा हेर्दा घटनास्थलमा रहेका प्रहरीको प्रहरी प्रतिवेदनमा नपरेको तर मृतकका आफन्तको जाहेरीमा प्रतिवादी विशाल घर्तीमगरको नाम अपराधमा संलग्न व्यक्तिको रूपमा लेखाएको र प्रतिवादी पदमप्रसाद जैसीले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा विशाल घर्तीलाई पोलसम्म गरेको भन्ने तथ्य प्रमाणको रूपमा रहेको देखियो । यस आधारमा हेर्दा शंकारहित प्रमाणबाट यी प्रतिवादीउपरको अभियोग समर्थित भएको अवस्था देखिन आएन ।
८. मौकामै दिएको जाहेरीमा किटानी रूपमा नाम उल्लेख नभई त्यसपछिको जाहेरीमा थप प्रतिवादीको नाम उल्लेख भएकोमा त्यसलाई बहुत सावधानीका साथ सूक्ष्म रूपले केलाएर हेर्नुपर्छ । प्रतिवादी मौकामा फरारी रहेको कारणले मात्र उसलाई आरोपित कसुरमा दोषी करार गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तअनुकूल हुन जाँदैन । आरोपित एवं शंकास्पद व्यक्ति फरार रहेपछि उसका विरूद्धको कसुर र आरोप स्वतन्त्र रूपले प्रमाणहरूबाट नै पुष्टि
हुनुपर्दछ । सहअभियुक्तले मौकामा फरारी अभियुक्तलाई कसुरको संलग्नता देखाई पोल गरे पनि अदालतको बयानमा सहअभियुक्त आफैँ र फरारी अभियुक्त पनि अदालतमा उपस्थित भएर बयानमा कसुरप्रति इन्कार रहेको र ऊ विरूद्धका कसुर स्वतन्त्र एवं निर्विवाद रूपले पुष्टि हुने प्रमाणहरू वादी पक्षले पेस गर्न नसकेको अवस्थामा केवल सहअभियुक्तको पोलको आधारमा र साथै फरारी रहेको कारणले मात्र कुनै पनि व्यक्तिलाई कसुर कायम गरी सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तअनुकूल हुन जाँदैन ।
९. यी प्रतिवादीको घटनास्थलमा के कस्तो भूमिका थियो भन्ने कुरा उल्लेख नहुनुका साथै मुख्य कारणी भनिएका अर्का प्रतिवादी महेशप्रसाद जैसीले अदालतसमक्ष गरेको बयानमा पोलसम्म गरेको अवस्था नहुँदा यी प्रतिवादीको वारदातमा भएको सहयोगी भूमिका संदेहात्मक देखिन आयो । यसरी के कस्तो कसुर प्रतिवादीबाट भएको भन्ने तथ्य नै अभियोजकले स्थापित गर्न नसकेको अवस्थामा यी प्रतिवादीलाई आरोपित कसुरबाट सफाइ दिने गरी भएको सुरू फैसला सदर गर्ने उच्च अदालत दिपायलको फैसला मिलेकै देखिँदा यसमा विपक्षी झिकाउनुपर्ने अवस्थासमेत विद्यमान देखिन आएन ।
१०. तसर्थ, माथि विभिन्न प्रकरणहरूमा विवेचित आधार र कारणबाट प्रतिवादी विशाल घर्तीमगरलाई अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू कैलाली जिल्ला अदालतको फैसला सदर गर्ने गरी उच्च अदालत दिपायलबाट मिति २०७६।१।११ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । उक्त फैसला उल्टी गरी अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.हरिप्रसाद फुयाल
इजलास अधिकृत : अनु यकामी
इति संवत् २०७७ साल साउन २१ गते रोज ४ शुभम् ।