शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६१८ - कर्तव्य ज्यान

भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना 

माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल

फैसला मिति : २०७७।८।५

०७६-RC-०१२३

 

मुद्दा:- कर्तव्य ज्यान

 

वादी : प्रमिला मगरको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : उदयपुर जिल्ला, त्रियुगा नगरपालिका वडा नं. १३ असारी घर भई हाल कारागार कार्यालय उदयपुरमा कैदमा रहेका मोहन घले गुरूङ

 

मृतकको शव परीक्षण गर्ने डाक्टरले कुनै आधार कारण नखुलाई मृत्युको कारण Opinion on Cause of Death Hanging भनी उल्लेख गरेको शव परीक्षण प्रतिवेदनलाई मात्र आधार मानी मृतकले झुन्डिएर आत्महत्या गरेको भनी निर्ष्कषमा पुग्न नसकिने । विशेषज्ञको राय, आधार र कारण अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएमा मात्र त्यस्तो रायलाई प्रमाणमा लिन मिल्ने ।

(प्रकरण नं.८)

 

वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुर कार्की

प्रतिवादीका तर्फबाट : वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल

अवलम्बित नजिर :

ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२

ने.का.प.२०७६, अङ्क ७, नि.नं.१०३०२

सम्बद्ध कानून :

केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

प्रमाण ऐन, २०३१

 

सुरू तहमा फैसला गर्नेः-

मा. जिल्ला न्यायाधीश श्री तीर्थराज के.सी.

उदयपुर जिल्ला अदालत, गाईघाट

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री विदुर विक्रम थापा

माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल

उ.अ.विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा

 

फैसला

न्या.हरिप्रसाद फुयाल : यसमा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम साधक जाँचका लागि पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-

तथ्य खण्ड

जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं.१३ असारी स्थित मोहन घले गुरूङको घरको टाडमाथि सीता गुरूङको पश्चिम टाउको पूर्व खुट्टा भई उत्तानो अवस्थाको लास रहेको, लासदेखि ११ इन्च दूरीमा सनपाटको डोरी सुर्कानो अवस्थामा रहेको, मृतकको दायाँ बायाँ चुरा फुटी यत्रतत्र छरिएको, मृतक सुतेको सुकुलमाथि रगतजस्तो पदार्थ लागी सुकेको, मृतकको दायाँ हातको नाडीमा सानो चोट निलो रातो डाम र रगत जस्तो पदार्थ लागी सुकेको, मृतकको घाँटीको दाहिनेपट्टि गर्धनमा ९ इन्च लामो घुमेको डाम रहेको भन्नेसमेत बेहोराको घटनास्थल लास जाँच मुचुल्का ।

आमा सीता गुरूङको पहिलो श्रीमान् ज्ञानबहादुर राईतर्फ हामी दुई सन्तान म जाहेरवाली र भाइ सन्तोष राईको जायजन्म भएपछि आमा सीताले हाम्रो बुबालाई छाडी हामीसमेतलाई साथमा लिई मोहन घलेसँग दोस्रो विवाह गरी घर व्यवहार गरी आउने क्रममा म जाहेरवालीको मोहन घलेकै घरबाट विवाह भई म आफ्नै घर व्यवहार गरी आएकी र मोहन घलेसँग आमा सीता र भाइ सन्तोष राई बस्दै आएका थिए । सौतेनी बाबु मोहन घले प्रायः मादक पदार्थ सेवन गरी घरमा आई आमालाई कुटपिट गरी मानसिक र शारीरिक यातना दिँदै आउने गरेको आमाले आफूलाई बताउँदै आउनु भएको थियो । यस्तैमा मिति २०७४/०१/०९ गते बेलुकी ८ बजेको समयमा निज सौतेनी बाबु मोहन घले के कहाँबाट मादक पदार्थ सेवन गरी घरमा आई आमा सीतासँग वादविवाद गरी कुटपिट गरेको र आमाको सोही घरमा अचानक मृत्यु भएको भन्ने थाहा पाई असारी स्थित घरमा आई बुझ्दा निज सौतेनी बाबुले आमालाई कुटपिट गरेको भाइ सन्तोषसमेतले बताएको र आमाको लास हेर्दा दाहिने हातमा चोट, घाँटीमा डोरीले बाँधेको डाम देखी आमालाई सौतेनी बाबुले नै कुटपिट गरी घाँटीमा डोरीले बाँधी कसी थिची कर्तव्य गरी मारेकोमा शंका लागेको हुँदा यो अपराधको सूचना दिन आएकी छु । प्रतिवादी सौतेनी बाबु मोहन घलेलाई पक्राउ गरी कानूनबमोजिम कारबाही र सजाय गरिपाउँ भन्ने बेहोराको प्रमिला मगरको किटानी जाहेरी दरखास्त ।

शव परीक्षण प्रतिवेदनमा Opinion on Cause of Death Hanging भन्नेसमेत बेहोरा उल्लेख भएको ।

मिति २०७४/०१/०९ गते बेलुका अन्दाजी ७ बजेतिर ज्याला मजदुरी काम गरी मादक पदार्थ सेवन गरी घर आउँदा मेरी श्रीमती सीता गुरूङले खाना खाउ भन्दा मैले खाना खान्न सुत्छु भनेकाले हामीबिच वादविवाद भई रिसको आवेशमा सीता गुरूङलाई हातले गालामा र ढाडमा कुटपिट गरी म आफ्नो कोठामा गई सुती केही समयपछि बिउँझिदा सुत्ने कोठाको धुरीमा सीता गुरूङले घाँटीमा डोरीको पासो लगाई झुन्डिई हातखुट्टा छट्पटाई रहेको देखी तत्काल मैले डोरीको पासो खोली सीता गुरूङलाई भुइँमा सुताउँदा ढुकढुकी भएकोले धुरीको बलोमा बाँधेको डोरी खोली कुनामा फ्याली छिमेकीलाई हारगुहार गरी आउँदा श्रीमती सीता गुरूङको मृत्यु भइसकेको थियो, मैले सीता गुरूङलाई कर्तव्य गरी मारेको होइन भन्ने प्रतिवादी मोहन घलेको बयान ।

मेरो बुबा प्रतिवादी मोहन घले सधैँ मादक पदार्थ सेवन गरी आमा सीता गुरूङलाई गाली गलौज कुटपिट गर्दै आउनु भएकोमा मिति २०७४/०१/०९ गते बेलुका छिमेकीको घरमा जाग्राममा गएकोमा आमाको मृत्यु भयो भन्ने खबर सुनी आत्तिँदै घरमा आउँदा घरको बुइँगल तलाको भुइँमा उत्तानो अवस्थामा मेरी आमा सीता गुरूङको लास देखेको हुँ । आमाले लगाउनु भएको सारी लुङ्गी, घुँडासम्म पुगेको, हातमा लगाएको चुराहरू फुटेको, हातमा चोट लागी रगत आएको, पोते चुँडिएको, घाँटीमा डोरीले बाँधेको जस्तो डाम भएको, सनपाटको डोरी टाउकोनजिक भएको हुँदा निज प्रतिवादी मोहन घलेले आमा सीता गुरूङलाई घाँटीमा डोरीले कसी कुटपिट गरी कर्तव्य गरी मारेको हुनुपर्छ प्रतिवादीउपर कानूनबमोजिम कारबाही सजाय होस भन्ने सन्तोष राईको घटना विवरण कागज ।

प्रतिवादी मोहन घलेले सधैँ मादक पदार्थ सेवन गरी निजको श्रीमती सीता गुरूङसँग निहुँ खोजी गाली गलौज गरी झै-झगडा गर्ने गरेको देखेका हौँ । मिति २०७४/०१/०९ गते बेलुका अन्दाजी ७ बजेतिर प्रतिवादी मोहन घले र निजको श्रीमती झै-झगडा गर्दै गरेको सुनेका हौँ । राति ९ बजेतिर सीता गुरूङको मृत्यु भयो भन्ने सुनी थाहा पाई निजको घरमा पुग्दा घरको बुइँगलमा उत्तानो अवस्थामा सीता गुरूङको लास देखेका हौं । निजले लगाएको साडी घुँडासम्म पुगेको, हातमा लगाएको चुराहरू फुटेको, यत्रतत्र छरिएको, हातमा चोट लागी रगत आएको, घाँटीमा डोरीले बाँधेको जस्तो डाम भएको, सनपाटको डोरी टाउकोनजिक भएको हुँदा निज प्रतिवादी मोहन घलेले सीता गुरूङलाई कर्तव्य गरी मारेको हुनुपर्छ प्रतिवादीउपर कानूनबमोजिम कारबाही सजाय होस् भन्ने वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी मोहन घले गुरूङले आफ्नै श्रीमती सीता गुरूङलाई कर्तव्य गरी मारेकोले निज प्रतिवादी मोहन घले गुरूङद्वारा घटित कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. अन्तर्गतको कसुरजन्य कार्य देखिँदा निज प्रतिवादी मोहन घलेलाई सोही ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी । 

मेरो झड्केली छोरी जाहेरवाली प्रमिला मगरले दिएको जाहेरी दरखास्त सुनी पाएँ, २०७२ सालको फागुन महिनामा दिउँसोको समयमा पनि मृतकले झुण्डी मर्न खोज्दा मैले डोरी फुकाली पानी खुवाई गाउँले बोलाएको हो । जाहेरवालीको जाहेरी बेहोरा आधा सत्य हो घाँटीमा डोरीले बाँधी कसी मारेको भन्ने बेहोरा झुठा हो । त्यो दिन मभन्दा बढी मृतक नै मातेर बसेको थियो । आफ्नो जन्म दिने आमा मरेको पीडामा आई झुठा जाहेरी दिएको हो । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानको बेहोरा र सहीछाप मेरो हो । म घर बनाउने मजदुरी गर्ने साहुले दिएको थोरै रक्सी खाएर बेलुकी घर गए, बुढी माती बसेकी रहेछ । मलाई खान खान बोलाइन् म खान्न सुत्छु भनी ओछयानमा गएँ । मृतक बुढीले खाना खान आउँ भनी कराएको करायै थिई अनी मैले ढाडमा दुई झापड हानेपछि बसिरहेकी थिई । म सुतेँ एकआधा घण्टापछि आवाज सुनी आँखा खोली हेर्दा झुन्डिएको देखी हतपत डोरी खोली भुइँमा सुताई गाउँलेहरूलाई गुहार मागेको हो । मैले मारी झुन्ड्याएको होइन । मउपरको अभियोग झुठ्ठा हुँदा मलाई सजाय हुनुपर्ने होइन, सफाइ पाउँ भनी प्रतिवादी मोहन घले गुरूङले सुरू अदालतमा गरेको बयान । 

मृतक सीता गुरूङको मृत्यु प्रतिवादी मोहन घले गुरूङको कारणबाट भएको हो, प्रतिवादी सधैँ रक्सी खाएर आई घरमा झगडा गर्दथ्यो । घटना विवरण कागजको बेहोरा सहीछाप मेरो हो । मृत्यु भइसकेपश्चात् उक्त घटनास्थलमा म पुगेको थिएँ । म प्रत्यक्षदर्शी होइन भनी घटना विवरण कागज गर्ने सन्तोष राईले सुरू अदालतमा गरेको बकपत्र ।

सीता गुरूङको मृत्यु आफ्नै कालगतिले भएको हो भनौं भने घाँटीमा डोरीको डाम थियो । प्रतिवादी मोहन घले गुरूङको कारणबाट हो भनौं भने देखेको छैन । मृतक सीता गुरूङको झड्केलोपट्टिको छोरासहित निज प्रतिवादीले सीता गुरूङलाई विवाह गरी ल्याएको थियो । त्यही छोराको कारणले यी मृतक र प्रतिवादीबिच झगडा भइरहन्थ्यो । घटनास्थल मुचुल्काको बेहोरा सहीछाप मेरो हो भनी घटनास्थल मुचुल्कामा बस्ने राजकुमार कार्कीले सुरू अदालतमा गरेको बकपत्र । 

प्रतिवादी मोहन घले गुरूङ सधैँ जाँड रक्सी सेवन गरी घरमा आई ममी मृतक सीता गुरूङसँग झगडा गर्ने गर्दथ्यो । मृतक सीता गुरूङको मृत्यु प्रतिवादी मोहन घले गुरूङको कारणबाट भएको हो । मेरो ममी मृतकले मृत्यु हुनुपूर्व मलाई घरमा मोहन घले गुरूङले सधैँ झगडा गरिरहन्छ । खान पनि राम्रो पाउँदिन भनेर मलाई भनेको थिइन् । मैले मृतकको लास अस्पतालमा हेर्दा मृतकको घाँटीमा निलडाम, हातमा चोट थियो । जाहेरीको बेहोरा र सहीछाप मेरो हो भनी जाहेरवाला प्रमिला मगरले सुरू अदालतमा गरेको बकपत्र । 

झड्केलो छोराको कारणबाट सीता गुरूङ र प्रतिवादीबिच झगडा भइरहन्थ्यो । निज सीताको मृत्यु आफ्नै कालगतिले भएको होइन, प्रतिावादीको कारणबाट भएको हो । वस्तुस्थिति मुचुल्काको बेहोरा सहीछाप मेरो हो । घटना भएपश्चात् हामी गएर निज प्रतिवादीलाई सोध्दा मृतकको हातमा चोट छ, घाँटीमा निलडाम छ के भएर मृत्यु भएको हो भनी सोध्दा निज प्रतिवादी केही नबोली बसेको अवस्थामा हामीलाई शंका लागेर उक्त कुरा लेखाएको हो । साथै घटना हुनुभन्दा अगाडि यी मृतक र प्रतिवादी बाझ्दै गरेको सुनेको थिएँ भनी वस्तुस्थिति मुचुल्कामा बस्ने लिलादेवी कटुवालले सुरू अदालतमा गरेको बकपत्र । 

मृतक र प्रतिवादीबिच बारम्बार झगडा हुने गरेको, प्रतिवादीकै कारणबाट मृतकको मृत्यु हुन गएको हो भनी बुझिएका घटनास्थल मुचुल्काका व्यक्तिहरूले बकपत्र गरिदिएको, मृतकको मृत्यु के कारणले भएको हो भनी प्रतिवादीलाई सोध्दा चुप लागी बसेको घटनास्थल मुचुल्का, किटानी जाहेरी दरखास्त, लास जाँच मुचुल्कासमेत मिसिल संलग्न कागजातहरूबाट प्रतिवादीले मृतक श्रीमती सीता गुरूङलाई कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर अपराधमा सोही महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई सुरू उदयपुर जिल्ला अदालतबाट मिति २०७५/०४/२७ मा भएको फैसला ।

मृतकको मृत्युको कारण hanging भन्ने उल्लेख भएको लास जाँच प्रतिवेदन रहेको छ । मारेर झुन्डाएको र झुन्डिएको प्रकृति नै फरक हो । मृतक झुन्डी मरेको प्रस्ट हुँदाहुँदै सो कुरालाई विश्लेषण नै गरिएको छैन । अनुसन्धान तथा अदालतमा भएको इन्कारी बयानलाई समर्थन गर्दै गरेको बकपत्रलगायत मिसिल संग्लन अन्य कागजातहरूलाई मूल्याङ्कन नै नगरी अभियोग माग दाबीबमोजिम म प्रतिवादीलाई सजाय हुने गरी भएको फैसला त्रुटिपूर्ण रहेको हुँदा सो फैसला बदर गरी अभियोग दाबी खारेज गरी सफाइ हुने ठहर गरिपाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी मोहन घले गुरूङको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा परेको पुनरावेदन पत्र ।

यसमा सुरू उदयपुर जिल्ला अदालतको मिति २०७५/०४/२७/०१ को फैसला प्रमाण मूल्याङ्कनको रोहमा विचारणीय देखिँदा साबिक मुलुकी ऐन, अ.बं.२०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७५ को दफा १४०(३) बमोजिम प्रत्यर्थीलाई झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट मिति २०७५/१२/२५ गते भएको आदेश ।

प्रतिवादीले निजकी श्रीमती मृतक सीता गुरूङलाई कर्तव्य गरी मारेको पुष्टि भइरहेको देखिँदा अभियोग दाबीबमोजिम प्रतिवादीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेको ठहर गरी सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने गरी ठहर गरेको सुरू जिल्ला अदालतको फैसलालाई अन्यथा मान्न मिल्ने देखिएन । सुरू अदालतले फैसला गर्दा प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसमेत गरेको देखियो । तर मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसै गरी केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उफदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखिँदा सुरू अदालतले सजाय स्वरूप गरेको सर्वस्व कायम रहिरहन सक्ने देखिएन । सुरू उदयपुर जिल्ला अदालतको मिति २०७५/०४/२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ मा भएको फैसला ।

उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ मा भएको फैसलाउपर प्रतिवादी मोहन घले गुरूङको पुनरावेदन नपरी उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।१०।२ को चलानी नम्बर १०६६ को पत्रसाथ प्राप्त भई साधकको रोहमा मिति २०७६।१०।२८ मा यस अदालतमा दर्ता हुन आएको पाइयो ।

यसमा शव परीक्षण प्रतिवेदन हेर्दा मृत्युको कारणमा hanging भन्‍ने उल्लेख भएको, मृत्युको अन्य कारण नदेखिएको, प्रतिवादी अनुसन्धानको क्रममा र अदालतमा समेत इन्कारी रहेको अवस्थामा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३, ५४ बमोजिम प्रमाणको समुचित मूल्याङ्कन भएको नदेखिएको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४०(३) को प्रयोजनार्थ विपक्षी वादी नेपाल सरकारलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत सूचना दिई नियमानुसार पेस गर्नू । साथै यस अदालतका वैतनिक कानून व्यवसायीलाई समेत प्रतिवादीको तर्फबाट बहस पैरवीको लागि जानकारी दिनु भन्‍ने मिति २०७६।११।२९ मा यस अदालतबाट भएको आदेश ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री विदुर कार्कीले प्रतिवादीले आफ्नी श्रीमती मृतक सीता गुरूङलाई कुटपिट गर्ने गरेको र वारदातको दिन पनि श्रीमतीलाई कुटपिट गरेको भनी अदालतसमक्षको बयानमा समेत स्वीकार गरेको र मृतकको शरीरमा रहेको घाउ निलडामबाट पनि सो कुरा पुष्टि भएको देखिएको, प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी किटानीका साथ जाहेरी दिएको र जाहेरवालीले उक्त कुरा अदालतमा उपस्थित भई बकपत्र गरी पुष्टि गरिदिएकोले मृतक सिता गुरूङलाई प्रतिवादीले कर्तव्य गरी मारेको पुष्टि भइरहेको देखिँदा अभियोग दाबीबमोजिम प्रतिवादीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेको ठहर गरी सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने गरी ठहर गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरी सर्वस्वको लगत कट्टा हुने र जन्मकैदको सजाय हुने गरी भएको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसला सदर हुनुपर्दछ भनी तथा प्रतिवादी मोहन घले गुरूङको तर्फबाट उपस्थित हुनुभएका वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवालले मृतकको मृत्युको कारण hanging भन्ने उल्लेख भएको लास जाँच प्रतिवेदन रहेको छ । मारेर झुन्डाएको र झुन्डिएको प्रकृति नै फरक हो । मृतक झुन्डी मरेको प्रस्ट हुँदाहुँदै सो कुरालाई विश्लेषण नै गरिएको छैन । अनुसन्धान तथा अदालतसमक्ष कसुरमा इन्कारी रही गरेको प्रतिवादीको बयानलगायत मिसिल संलग्न अन्य कागजातहरूलाई मूल्याङ्कन नै नगरी अभियोग माग दाबीबमोजिम यी  प्रतिवादीलाई सजाय हुने गरी भएको सुरू फैसलालाई सदर गरेको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको फैसला त्रुटिपूर्ण रहेको हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई सफाइ हुनुपर्दछ भनी गर्नुभएको बहससमेत सुनियो ।

प्रस्तुत मुद्दामा उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट भएको फैसला मिलेको छ, छैन ? साधक सदर हुने हो, होइन ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन्छ ।

२. निर्णयतर्फ विचार गर्दा, मिति २०७४/०१/०९ गते बेलुकी ८ बजेको समयमा सौतेनी बाबु मोहन घले के कहाँबाट मादक पदार्थ सेवन गरी घरमा आई आमा सीतासँग वादविवाद गरी कुटपिट गरेको आमाको सोही घरमा अचानक मृत्यु भएको भन्ने थाहा पाई असारी स्थित घरमा आई बुझ्दा निज सौतेनी बाबुले आमालाई कुटपिट गरेको भाइ सन्तोषसमेतले बताएको र आमाको लास हेर्दा दाहिने हातमा चोट, घाँटीमा डोरीले बाँधेको डाम देखी आमालाई सौतेनी बाबुले नै कुटपिट गरी घाँटीमा डोरीले बाँधी, कसी, थिची कर्तव्य गरी मारेकोमा शंका लागेको हुँदा कानूनबमोजिम कारबाही र सजाय गरिपाउँ भन्ने बेहोराको प्रमिला मगरको किटानी जाहेरी परेको र प्रतिवादी मोहन घले गुरूङले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३ (३) नं. अन्तर्गतको कसुरजन्य कार्य गरेको देखिँदा निज प्रतिवादी मोहन घलेलाई सोही ज्यानसम्बन्धी महलको १३ (३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा सुरू उदयपुर जिल्ला अदालतबाट अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर अपराधमा सोही महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याई मिति २०७५/०४/२७ मा फैसला भएकोमा सो फैसलाउपर चित्त नबुझाई प्रतिवादी मोहन घले गुरूङको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गामा पुनरावेदन परेकोमा उक्त अदालतबाट उदयपुर जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएकोमा सो फैसलाउपर यी प्रतिवादीको पुनरावेदन नपरी साधकको रोहमा दर्ता भई पेस हुन आएको पाइयो ।

३. प्रतिवादी सौतेनी बाबु मोहन घलेले प्रायः मादक पदार्थ सेवन गरी मृतक आमा सीता गुरूङलाई कुटपिट गरी मानसिक र शारीरिक यातना दिने कुरा आमा र भाइ सन्तोष राईले भनेको थियो । यस्तैमा मिति २०७४/०१/०९ गते बेलुकी ८ बजेको समयमा निज सौतेनी बाबु मोहन घलेले मादक पदार्थ सेवन गरी आमा सीतासँग वादविवाद गरी कुटपिट गरेको कुरा आमासँगै रहेका भाइ सन्तोषसमेतले बताएको र आमाको लास हेर्दा दाहिने हातमा चोट, घाँटीमा डोरीले बाँधेको डाम देखी आमालाई सौतेनी बाबुले नै कुटपिट गरी घाँटीमा डोरीले बाँधी कसी थिची कर्तव्य गरी मारेकोमा शंका लागेको हुँदा निज प्रतिवादी मोहन घलेलाई पक्राउ गरी कानूनबमोजिम कारबाही र सजाय गरिपाउँ भन्नेसमेत बेहोराको प्रमिला मगरको किटानी जाहेरी देखिन्छ । सो किटानी जाहेरी बेहोरालाई पुष्टि हुने गरी अदालतमा उपस्थित भई प्रतिवादी मोहन घले गुरूङको कुटाइका कारणबाट मेरो आमाको मृत्यु भएको हो । मृतकको घाँटीमा निलडाम, हातमा समेत चोट लागेको थियो भनी निज जाहेरवालीले बयान गरेको पाइयो ।

४. प्रतिवादी मोहन घले गुरूङ सधैँ मादक पदार्थ सेवन गरी मृतक सीता गुरूङलाई गाली गलौज गरी कुटपिट गर्ने गरेको, वारदातस्थलमा आमा सीता गुरूङको लास हेर्दा आमाले लगाउनु भएको साडी लुङ्गी, घुँडासम्म पुगेको, हातमा लगाएको चुराहरू फुटेको, हातमा चोट लागी रगत आएको, पोते चुँडिएको, घाँटीमा डोरीले बाँधेको जस्तो डाम भएको, सनपाटको डोरी टाउकोनजिक भएको हुँदा प्रतिवादीले मृतक आमा सीता गुरूङलाई घाँटीमा डोरीले कसी कुटपिट गरी कर्तव्य गरी मारेको हुनुपर्छ भनी घटना विवरण कागज गर्ने सन्तोष राईले मौकामा गरेको बयानलाई निजले अदालतसमक्ष उपस्थित भई मृतक सिता गुरूङको मृत्यु प्रतिवादी मोहन घले गुरूङको कारणबाट भएको हो, घटना विवरणको बेहोरा र सहीछाप मेरो हो भनी मौकाको बयान बेहोरालाई स्पष्ट रूपमा समर्थन गरी बकपत्र गरिदिएको देखिन्छ ।

५. मृतकलाई प्रतिवादीले सधैँ मादक पदार्थ सेवन गरी गाली गलौज गरी झै-झगडा गर्ने गरेको, वारदातको दिन बेलुका अन्दाजी ७ बजेको समयमा मृतक र प्रतिवादीबिच झगडा गर्दै गरेको सुनेका हौं । सोही दिन रातको ९ बजेको समयमा सीता गुरूङको मृत्यु भयो भनेको सुनी हेर्न जाँदा बुइगलमा उत्तानो अवस्थामा मृतकको लास देखेको हो । मृतकको साडी घुँडासम्म पुगेको, हातमा लगाएको चुराहरू फुटेर यत्रतत्र छरिएको, हातमा चोट लागी रगत आएको, मृतकको घाँटीमा डोरीले बाँधेको जस्तो डाम भएको, लासको छेउमा सनपाटको डोरी रहेको हुँदा प्रतिवादीले सीता गुरूङलाई कर्तव्य गरी मारेको हुनुपर्छ भन्ने वस्तुस्थिति मुचुल्का देखिन्छ । मृतक र प्रतिवादीबिचमा झड्केलो छोराका कारण झगडा भइरहन्थ्यो, मृतक सीता गुरूङको मृत्यु आफ्नै कालगतिले भएको होइन, प्रतिवादीको कारणबाट भएको हो भनी मौकाको कागजलाई समर्थन हुने गरी वस्तुस्थिति मुचुल्काका लिलादेवी कटुवालले अदालतसमक्ष उपस्थित बकपत्र गरिदिएको पाइयो । 

६. प्रमाण ऐन, २०३१ को दफा २७(१) मा "प्रचलित नेपाल कानूनबमोजिम सजायमा कमी वा छुट हुने वा सजायबाट रिहाई पाउने कुनै कुराको जिकिर प्रतिवादीले लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार निजको हुने छ" भनी कानूनमा व्यवस्था रहेको पाइन्छ । प्रतिवादीले मृतक श्रीमती सीता गुरूङलाई खाना खाने विषयमा वादविवाद भई रिसको आवेशमा आई हातले गालामा र ढाडमा कुटपिट गरी म आफ्नो कोठामा गई केहीबेर सुतेर ब्युझिँदा श्रीमती कोठाको धुरीमा डोरीको पासो लगाई झुन्डिई छटपटाई रहेको देखी मैले तत्काल नै पासो खोली भुइँमा सुताउँदा ढुकढुकी थियो । मैले श्रीमती सीता गुरूङलाई कर्तव्य गरी मारेको होइन भनी अनुसन्धानको क्रममा तथा अदालतमा समेत सोही बेहोरा उल्लेख गरी बयान गरेको भए तापनि निज प्रतिवादी मोहन घले गुरूङले स्वतन्त्र प्रमाणबाट आफ्नो निर्दोषितालाई आफ्नो साक्षी अदालतमा उपस्थित गराई पुष्टि गराउन सकेको पाइँदैन । ने.का.प.२०७०, अङ्क ६, नि.नं. ९०२२ को बमबहादुर बस्नेत विरूद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा “अपराधका सम्बन्धमा खडा भएका मुचुल्काहरूमा प्रामाणिक शक्ति हुन्छ । तिनमा व्यक्त तथ्यले अपराधको वस्तुस्थिति बताउँछन् । व्यक्तिले झुठो बोल्न सक्दछ तर वस्तुस्थितियुक्त तथ्यले कहिल्यै झुठो बोल्दैन” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । 

७. मृतकको शव परीक्षण प्रतिवेदनमा "Opinion on Cause of Death Hanging" भनी उल्लेख भए तापनि सो कुरा मिसिल संलग्न प्रमाण कागजहरूबाट पुष्टि भएको पाइएन । शव परीक्षण प्रतिवेदन हेर्दा पनि मृतकका शरीरमा चोट पटक निलडाम रहेको देखिन्छ । झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको शरीरमा निलडाम रहेको हुँदैन । मृतकको घाँटीको दाहिनेपट्टि गर्धनमा ९ इन्च लामो घुमेको डाम रहेको देखिएकोले झुन्डिएर मरेको व्यक्तिको घाँटीमा त्यस प्रकारको घुमेको डाम रहेको हुँदैन । वादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी किटानीका साथ जाहेरवालाले दिएको जाहेरीलाई निजले अदालतमा उपस्थित भई बकपत्र गरी पुष्टि गरिदिएको पाइन्छ । बुझिएका वस्तुस्थिति मुचुल्काका लिलादेवी कटुवालले प्रतिवादी र निजकी श्रीमती मृतकबिच झगडा भइरहन्थो, घटना हुनुभन्दा अगाडि मृतक र प्रतिवादी बाझ्दै गरेको सुनेको थिएँ भनी बकपत्र गरिदिएको 

पाइयो । मृतक सिता गुरूङको मृत्यु प्रतिवादीको कारणबाट भएको हो भनी घटना विवरण कागज गर्ने सन्तोष राईले गरेको बकपत्रसमेतका आधार कारणबाट मृतक सिता गुरूङको मृत्यु झुन्डिएर नभई कर्तव्यबाट भएको देखिन आयो ।  

८. लास रहेको ११ इन्च दूरीमा सनपाटको पातलो डोरी सुर्कानो अवस्थामा रहेको देखिँदा मृतकलाई झुन्डिएको अवस्थामा देखी पासो खोली भुइँमा सुताएको भन्ने प्रतिवादीको भनाइ विश्वासयोग्य देखिँदैन । प्रतिवादी एक्लैले मृतकको घाँटीमा बाँधिएको डोरी नकाटी खोल्न सक्ने अवस्था रहँदैन । डोरी काटिएको नभई सुर्कानो अवस्थामा नै रहेको देखिँदा डोरी पनि नकाटी सुर्कानो डोरी पनि नखोली मृतकलाई भुइँमा सुताउन सक्ने कल्पना नै गर्न सकिँदैन र त्यो असम्भव रहेको देखिन्छ । मृतकले लगाएको हातको चुरा फुटी यत्रतत्र छरिएको, हातमा चोट लागी मृतक सुतेको सुकुलमा रगत जस्तो पदार्थ लागेको भन्ने लास जाँच मुचुल्काबाट समेत देखिएको अवस्थामा मृतकले झुन्डिएर आत्महत्या गरेको भन्ने देखिँदैन । मृतकको शव परीक्षण गर्ने डाक्टरले कुनै आधार कारण नखुलाई मृत्युको कारण Opinion on Cause of Death Hanging भनी उल्लेख गरेको शव परीक्षण प्रतिवेदनलाई मात्र आधार मानी मृतकले झुन्डिएर आत्महत्या गरेको भनी निर्ष्कषमा पुग्न सक्ने अवस्था देखिएन । विशेषज्ञको राय निश्चित एवम् कारणमा आधारित हुनुपर्दछ । विशेषज्ञले निश्चित आधार तथा कारणहरूबाट दिएको रायलाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि भएमा मात्र त्यो रायलाई प्रमाणमा लिन मिल्ने हुन्छ । अन्यथा त्यस्तो रायको कुनै महत्त्व रहने हुँदैन ।

९. “hanging र strangulation मा के कस्ता लक्षणहरू हुन्छन् र सो लक्षणहरूको आधारमा मृतकको मृत्यु केको कारणले भएको हो भनी निष्कर्षमा पुग्नुपर्ने अवस्था देखियो । यसै सन्दर्भमा hanging र strangulation का बिचमा के कस्तो अन्तर देखिन्छ भन्‍ने विषयमा “ने.का.प.२०७६, कार्तिक, अङ्क ७, नि.नं. १०३०२ को पुनरावेदक प्रतिवादी रमेश मण्डल गनगाई र प्रत्यर्थी वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा “शरीरको आफ्नै वजनले आफ्नो घाँटीमा लगाएको पासोको कसाईले गर्दा हुने मृत्युलाई hanging भनिन्छ । झुन्डिएर (hanging) मरेको लासहरूमा थोरै मात्र झुन्डिएको लक्षणहरू देखिने हुन्छन् । बाहिरी जाँचको क्रममा एउटा पासोको डामबाहेक अन्य लक्षणहरू बहुसंख्यक लासहरूमा देखिँदैन । घाँटीभित्रका अङ्गहरूमा कुनै चोटपटक पनि बहुसंख्यक लासहरूमा देखिँदैन । केवल Spiral Cord भाँचिएको वा खुम्चेको अवस्था मात्र 

देखिन्छ । झुन्डिएर (hanging) मरेको अवस्थामा लासको घाँटीभित्र रगत जमेको हुँदैन । तर यदि कसैले कुनै पासोले व्यक्तिले घाँटी कसेमा घाँटीभित्रका अङ्गहरूमा चोटहरू देखिन्छ । त्यसलाई hanging नभनेर ligature strangulation (अरूले घाँटी कसेको) भनी उल्लेख गरिन्छ । सामान्यतया hanging मा नाक तथा कानबाट रगत बगेको पाइँदैन । तर strangulation मा घाँटीभित्र रगत जमेको र नाक तथा कानबाट रगत बगेको अवस्था विद्यमान हुन्छ । प्रस्तुत वारदातको लास जाँच प्रकृति मुचुल्का हेर्दा मृतकको नाक तथा कानबाट रगत निस्केको भन्‍ने देखिएको र शव परीक्षण प्रतिवेदनबाट मृतकको घाँटीमा रगत जमेको भन्‍ने देखिएबाट मृतकको लासमा hanging को कुनै पनि लक्षण नदेखिएको हुँदा मृतकको मृत्यु hanging को कारणले नभई strangulation कै कारणबाट भएको हो भनी मान्‍नुपर्ने हुन्छ” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । 

१०. प्रस्तुत मुद्दामा मृतक सीता गुरूङको लासदेखि ११ इन्च दूरीमा सनपाटको डोरी सुर्कानो अवस्थामा भेटिनु, मृतकले लगाएको चुरा फुटी यत्रतत्र छरिएको सुतेको सुकुलमाथि रगत जस्तो पदार्थ लागी सुकेको, मृतकको दाया हातको नाडीमा सानो चोट निलो रातो डाम हुनु, मृतकको घाँटीको दाहिनेपट्टि गर्दनमा ९ इन्च लामो घुमेको डाम रहेको बेहोराको घटनास्थल मुचुल्काले मृतकको झुन्डिई आत्महत्याको कारणबाट मृत्यु भएको नभई कर्तव्यबाट मृत्यु भएको कुरा देखिन आउँछ । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा श्रीमती सीता गुरूङ र आफूबिच खाना खाने विषयमा विवाद भई रिसको आवेशमा सीता गुरूङलाई हातले गालामा र ढाडमा कुटपिट गरेको भनी स्वीकार गरेको पाइनु, मृतकले लगाएको साडी घुँडासम्म पुगेको सनपाटको डोरी टाउकोनजिक रहेको भन्‍ने वस्तुस्थिति मुचुल्कासमेतका मिसिल संलग्न रहेका प्रमाण कागजातहरूबाट माथि विवेचित नजिर सिद्धान्तमा उल्लेख भएजस्तो hanging को अवस्था नरही strangulation मा विद्यमान रहने तत्त्वहरू घाँटीमा गोलो ९ इन्च घुमेको डाम रहनु, मृतकको हातको नाडीमा चोट, मृतकको हातमा लगाएका चुराहरू फुटी यत्रतत्र छरिनु, मृतक सुतेको सुकुलमाथि रगत जस्तो पदार्थ लागी सुकेको देखिएकोसमेत परिस्थितिजन्य प्रमाणबाट माथि विवेचना गरिएको नजिरमा उल्लिखित झुन्डिएर मरेको लासहरूमा थोरै मात्र झुन्डिएको लक्षणहरू देखिने हुन्छन् । बाहिरी जाँचको क्रममा एउटा पासोको डामबाहेक अन्य लक्षणहरू देखिँदैनन् भन्‍ने सिद्धान्तसमेतको विपरीत देखिई मृतक सीता गुरूङको मृत्यु यी प्रतिवादीको कर्तव्यबाट घाँटी कसी ligature strangulation कारणबाट भएको देखिन आयो । 

११. अतः प्रतिवादीले आफ्नी श्रीमती मृतक सीता गुरूङलाई कुटपिट गर्ने गरेको र वारदातको दिन पनि श्रीमतीलाई कुटपिट गरेको भनी अदालतसमक्षको बयानमा समेत स्वीकार गरेको र मृतकको शरीरमा रहेको घाउचोट निलडामबाट पनि सो कुरा पुष्टि भएको देखिएको, प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी किटानीका साथ जाहेरवालाले दिएको जाहेरीलाई अदालतमा उपस्थित भई बकपत्र गरी पुष्टि गरिदिएको, बुझिएका वस्तुस्थिति मुचुल्काका लिलादेवी कटुवालले प्रतिवादी र निजकी श्रीमती मृतकबिच झगडा भइरहन्थ्यो, घटना हुनुभन्दा अगाडि मृतक र प्रतिवादी बाझ्दै गरेको सुनेको थिएँ भनी बकपत्र गरिदिएको, मृतक सिता गुरूङको मृत्यु प्रतिवादीको कारणबाट भएको हो भनी घटना विवरण कागज गर्ने सन्तोष राईले गरेको बकपत्र, मिसिल संलग्न रहेका मृतक सीता गुरूङको फोटोहरू, बरामद भएको सनपाटको सुर्कानो डोरी, मृतकको शरीरको घाँटीको दाहिनेपट्टि गर्दनमा देखिएको ९ इन्च लामो घुमेको डाम, मृतको दायाँ हातको नाडीमा भएको सानो चोट, निलो रातो डामसमेतका आधार कारणबाट मृतक सिता गुरूङको मृत्यु झुन्डिई आत्महत्या गरी भएको नभई प्रतिवादी मोहन घले गुरूङले आफ्नी श्रीमती मृतक सीता गुरूङलाई कर्तव्य गरी मारेको पुष्टि भइरहेको देखिँदा अभियोग दाबीबमोजिम प्रतिवादीलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेको ठहर गरी सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद सजाय हुने गरी ठहर गरेको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ को फैसला मिलेकै देखियो । तर हाल प्रचलन रहेको मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा कानूनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । त्यसैगरी केही नेपाल कानूनलाई संशोधन एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ को दफा ३९ को उफदफा २ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै फौजदारी कसुरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुने छ भन्ने कानूनी व्यवस्था रहेको देखिँदा सुरू अदालतले सजाय स्वरूप गरेको सर्वस्वको लगत कायम रहिरहन सक्ने देखिएन ।

१२. अत: माथि विवेचित तथ्य आधार र कारणहरूबाट सुरू उदयपुर जिल्ला अदालतको मिति २०७५/०४/२७ को फैसलालाई सदर गरी प्रतिवादी मोहन घले गुरूङलाई जन्मकैदको सजाय हुने ठहर्‍याई भएको उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाको मिति २०७६।०१।१६ को फैसला मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । प्रस्तुत  फैसलाको जानकारी थुनामा रहेका प्रतिवादीलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.प्रकाशकुमार ढुङ्गाना

 

इजलास अधिकृत :- मुकुन्द आचार्य

इति संवत् २०७७ साल मङ्सिर ५ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु