शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६१९ - शेषपछिको बकसपत्र बदर

भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.

माननीय न्यायाधीश श्री डा.मनोजकुमार शर्मा

फैसला मिति : २०७७।८।९

 

मुद्दा:- शेषपछिको बकसपत्र बदर

 

०७०-CI-१२७४

पुनरावेदक / प्रतिवादी : नगेन्द्रकुमार भण्डारीको श्रीमती काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने प्रमिला भण्डारीसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने ध्रुवबहादुर भण्डारी

 

०७१-CI-००१०

पुनरावेदक / वादी : खड्‌गबहादुर भण्डारीको छोरा काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने ध्रुवबहादुर भण्डारी

विरूद्ध

प्रत्यर्थी / प्रतिवादी : नगेन्द्रबहादुर भण्डारीको श्रीमती काठमाडौं जिल्ला, मनमैजु गा.वि.स. वडा नं.१ बस्ने प्रमिला भण्डारीसमेत

 

कुनै अंशियारले अंश वा कुनै मुद्दा चलेको नभए पनि वा अंश मुद्दा चल्दै गरेको अवस्थामा आफ्नो अंश भाग अष्टलोह आदि जे भएको आफ्नो जीवित कालमा नै अंशियारभित्रको वा बाहिरको अन्य व्यक्तिलाई कुनै पनि बेहोराले हक छाडिदिएमा त्यस्तो कार्य हक भएको व्यक्तिले गर्न पाउने । 

कुनै पनि व्यक्तिको सम्पत्तिमाथिको हक जीवित कालसम्म निर्वाध रूपले उसलाई प्रयोग गर्न दान दातव्य वा जुन सुकै बेहोराले हक हस्तान्तरण गर्न ऊ स्वतन्त्र हुन्छ । उसको यस्तो स्वतन्त्र अधिकारमा कुनै पनि अवस्थामा नियन्त्रण गर्न र अङ्कुश लगाउन नमिल्ने ।

(प्रकरण नं.७)

 

प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने

वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री विश्व सिग्देल र श्री धिरेन्द्र रावल

अवलम्बित नजिर :

ने.का.प.२०६६, अङ्क ३, नि.नं.८११०

सम्बद्ध कानून :

 

सुरू तहमा फैसला गर्नेः

मा.अतिरिक्त जि.न्या.श्री शम्भुबहादुर कार्की

काठमाडौं जिल्ला अदालत

पुनरावेदन तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री दीपककुमार कार्की

माननीय न्यायाधीश श्री नारायणप्रसाद शाह

पुनरावेदन अदालत पाटन

 

फैसला

न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- 

तथ्य खण्ड

म पिता खड्‍गबहादुर भण्डारीका दुई श्रीमतीहरू जेठीआमा निमकुमारी भण्डारीबाट दाइ महेन्द्रबहादुर भण्डारीको जन्म भएको र कान्छी तथा मेरी आमा पदमकुमारी भण्डारीबाट म ध्रुवबहादुर, भाइ नगेन्द्रबहादुर र बहिनी शोभाको जन्म भएको 

हो । पिता खड्‍गबहादुरको २०५०।४।१० मा र जेठी आमा निमकुमारी अघि नै परलोक भइसक्नु भएको थियो । हामी अंशियारहरू एकासगोलमा बसेका 

थियौं । अंश छुट्याई नदिँदा दाजु महेन्द्रबहादुर भण्डारीका विरूद्ध २०५२ सालमा अंश मुद्दा दायर गरेको थिए । आमा पदमकुमारी, भाइ नगेन्द्र र बहिनी शोभाहरूका साथमा नै म बसेको थिएँ । मैले दिएको अंश मुद्दामा आमा पदमकुमारी र भाइ नगेन्द्रलाई अ.बं. १३९ नं. बमोजिम बुझ्ने आदेश भएको र फिराद परेको दिनलाई मानो छुट्टिएको मिति मानी तायदाती माग्ने आदेश भएको, आमाको नामसमेत राखी आफैँ वारेस भई भाइले मसमेतका विरूद्धमा अंश मुद्दा यस अदालतमा दायर गरेको सो मुद्दासमेत विचाराधीन हुन पुग्यो । भाइ नगेन्द्रले ८२ वर्षकी अति नै वृद्ध र होस ठेगानामा नभएकी आमा पदमकुमारीलाई आफ्नो अनुचित प्रभावमा पारी अन्य कुनै छोराहरूलाई जानकारी तथा सुइँकोसम्म केही नदिई मिति २०५७।३।७ गते नै मालपोत कार्यालयबाट डोर लिई गई ८२ वर्षकी आमाको संरक्षक स्वयम् आफूलाई देखाई संरक्षक भई तथा किनारामा समेत पनि आफैँ साक्षी बसी आमाको शेषपछि आमाको नाउँको गैर चल अचल श्रीसम्पत्ति अष्टलोह दा.खा. गरी एकलौटी खानु भनी बदनियतपूर्वक आफ्नी श्रीमतीको नाउँमा शेषपछिको बकसपत्र गराई रजिस्ट्रेसन पारित गराई लिनु भएको कुरा विपक्षी प्रमिलाले आमाको हकमा भनी यस अदालतमा बकसपत्रको लिखत संलग्न गरी मुद्दा सकार गरेकी हुँदा थाहा पाए । शेषपछिको बकसपत्रको लिखित अ.बं.२४ नं., दानबकसको १ नं. र स्त्री अंशधनको २ नं. विपरीतको हुँदा मिति २०५७।३।७ को बकसपत्रको लिखत बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादी ध्रुवबहादुर भण्डारीले मिति २०५९।७।१४ मा दायर गरेको फिराद पत्र । 

वृद्ध आमालाई मैले पालन पोषण गरी म नै संरक्षक बस्नु अ.बं.२४ नं. को त्रुटि हुन सक्दैन । म प्रमिलालाई पदमकुमारीले गरी दिएको सम्पत्ति विपक्षीको बन्डा लाग्ने सम्पत्ति भई आफ्ना अंश मुद्दाबाट आउने आफ्नो हक पुग्ने सम्पत्ति हो । आफ्नो खुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति आफूखुस गर्न पाउने अंशबन्डाको १९(४), दानबकसको १ नं. मा उल्लेख हुँदाहुँदै शेषपछिको बकसपत्र दिन नपाउने भन्ने विपक्षीको फिराद कानूनसङ्गत नहुँदा खारेज 

गरिपाऊँ । पदमकुमारीको अंश भागको सम्पत्ति पाउने ठहरी मिति २०५९।१।९ मा अदालतबाट फैसला भएको छ । उक्त फैसलामा २०५२।११।४ लाई मानो छुट्टिएको मिति कायम भएको छ । आफ्नो अंश हकको सम्पत्ति दिन पाउने अर्थात् शेषपछिको बकसपत्र क्रियाशील हुने भनी स.अ. बुलेटिन, २०५८ अङ्क १२ पृष्ठ ४ का कानूनी सिद्धान्त प्रतिपादन भएबाट विपक्षीको झुट्टा फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी प्रमिला भण्डारीसमेतको संयुक्त प्रतिउत्तरपत्र ।

विवादको शेषपछिको लिखतमा अष्टलोहसमेत शेषपछि खानु भनी दिएको र सोही लिखत पेस गरी पदमकुमारी भण्डारीको मुद्दा प्रमिला भण्डारीले सकार गरी पदमकुमारीको मृत्युपश्चात् अंशियार घटी कायम नगरी पदमकुमारीको अंश हक शे.व.बाट पाउनेको हुने गरी चार अंश भाग कायम गरी मिति २०५९।१।९ मा फैसला भएकोमा सोही भाग हिस्सा कायम गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६०।३।५ मा फैसला भई पदमकुमारीको मु.स.गर्ने प्रमिला भण्डारीसमेतलाई पक्ष कायम गरी एक अंश मु.स.गर्ने प्रमिलाले पाउने ठहर भइरहेको र पदमकुमारीले दानबकसको १ नं. बमोजिम अष्टलोहसमेत आफूखुस दिन नपाउने भन्न मिल्दैन । शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।७।२० मा भएको फैसला । 

विवादित शेषपछिको बकस बदनियतपूर्वक संरक्षक र साक्षी आफैँ बसी म एकै आमाबाट जन्मेका छोरासमेतलाई जानकारी नदिई अ.बं.२४ नं. विपरीत भएको सम्बन्धमा केही नबोली निर्णय भएको छ । स्त्री अंशधनको २ नं.ले पनि आमा पदमकुमारीले आफ्नो अंश हकको आधीसम्म मात्र आफूखुस गर्न पाउने र आधाभन्दा बढीमा छोराहरूको मन्जुरी लिनुपर्ने भनी कानूनी व्यवस्था गरेको अवस्थामा सोतर्फ विचारै नगरी भएको सुरू जिल्ला अदालतको फैसला प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर गरी वादी दाबीबमोजिम न्याय पाउँ भन्ने पुनरावेदन जिकिर । 

यसमा स्त्री अंशधनको २ नं.मा विधवाले उमेर पुगेमा छोराहरूको मन्जुरी लिई मात्र अचल आफूखुस गर्न पाउने कानूनी प्रावधान भएकोमा पुनरावेदक छोराको मन्जुरी नलिई गरिदिएको बकसपत्रको लिखत बदर नगर्ने गरेको सुरूको फैसला नमिली फरक पर्न सक्ने हुँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६३।३।१ मा भएको आदेश । 

यसमा पुनरावेदक वादीले अंश मुद्दा पुनरावलोकनको निस्सा पाई सर्वोच्च अदालतमा विचाराधीन रहेकोले उक्त मुद्दामा अंशियार कायम सम्बन्धमा निर्णय भइसकेपछि प्रस्तुत मुद्दामा निर्णय हुने भएकोले मुल्तबी राखिपाउँ भन्ने निवेदन दिएको र अंशियार यकिन नभई प्रस्तुत मुद्दामा निर्णय गर्न नमिल्ने भएबाट सर्वोच्च अदालतबाट मुद्दा किनारा लागेपछि जगाई कारबाही गर्ने गरी मुलुकी ऐन, अ.बं.१२ नं. बमोजिम प्रस्तुत मुद्दा मुल्तबी राखी दिएको छ भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०६७।९।११ मा भएको आदेश । 

स्त्री अंशधनको २ नं. अनुसार अचलमा आधासम्म आफूखुस गर्न पाउने हुँदा सोबाहेक बाँकी आधामा वादीको हकको आधा शेषपछिको लिखत बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६०।७।२० को फैसला सो हदसम्म उल्टी हुने ठहर्छ भन्‍ने पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७०।११।११ को फैसला ।

सासू पदमकुमारीको जीवनकालमा विपक्षीसमेतबाट पालन पोषण नभएको कुरा पदमकुमारीले दिएको अंश मुद्दाबाट प्रस्ट हुन्छ । त्यस अवस्थामा विवादित शेषपछिको बकसपत्र लिखत गरी दिने पदमकुमारीको वृद्धावस्थाको भावना अभिव्यक्त भइरहेको र निजको यस अभिप्रायलाई न्यायको रोहमा नजर अन्दाज गर्न मिल्ने होइन । आफ्नो हक प्राप्तिको लागि अदालतमा मुद्दा चलिरहेका व्यक्ति जो झगडिया छ, उसको मन्जुरी नभएको अर्थ गर्नु स्त्री अंशधनको २ नं. को मनसाय होइन । 

सासू पदमकुमारीले यिनै विपक्षी ध्रुवबहादुर भण्डारीसमेत उपर दायर गरेको अंश मुद्दा विचाराधीन अवस्थामा पदमकुमारीको मिति २०५७।१२।२८ मा मृत्युपश्चात् मिति २०५७१३।७ को शेषपछिको बकसपत्रअनुरूप म प्रमिला भण्डारीले विपक्षीले समेत दायर गरेको अंश मुद्दामा पदमकुमारीको मृत्यु भई शेषपछिको बकसपत्रबाट मुद्दा सकार गरी तारेखमा बसी निर्णय हुँदा पदमकुमारीको अंश भागको सम्पत्ति पाउने ठहरी मिति २०५९।१।९ मा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर विपक्षी ध्रुवबहादुरले जीवित तीन अंशियार मात्र हुँदा ३ भाग लगाई पाउँ भनी तहतह हुँदै सम्मानित सर्वोच्च अदालतबाट मिति २०६४।११।८ मा फैसला हुँदा आफ्नो अंश भागमा पर्ने सम्पत्ति पदमकुमारीले आफूखुस गर्न पाउने 

हुन्छ । त्यसैले पदमकुमारीको मृत्युपछि निजको सम्पत्ति शेषपछिको बकसपत्र प्राप्त बुहारी प्रमिला भण्डारीमा सर्ने हुँदा चार अंशियार कायम गरेको फैसलालाई सदर गरी यसै सम्मानित अदालतको पूर्ण इजलासबाट मिति २०६९।८।१४ मा फैसला भई उक्त फैसलाअनुरूप ४ भागको १ भाग म प्रमिला भण्डारीको नाममा ना.सा. दा.खा. समेत भइसकेको अवस्थामा सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलाको विपरीतमा भएको पुनरावदेन अदालत पाटनको फैसला अ.बं. ७३ नं. समेतको आधारमा त्रुटिपूर्ण छ ।

सासू पदमकुमारीलाई पालन पोषण गरेपश्चात् काजक्रियालगायत सम्पूर्ण खर्च म पुनरावेदकले बेहोरी पदमकुमारीको अंश हकमा रहेको र सासू पदमकुमारी र यिनै विपक्षीबिच चलेको अंश मुद्दाबाट सासूको अंश भागमा आउने सम्पूर्ण अष्टलोह शेषपछिको बकसपत्र पारित गरी म प्रमिला भण्डारीलाई दिएको सम्पत्ति यी विपक्षीलाई बन्डा लाग्ने सम्पत्ति नभई पदमकुमारीको अंश मुद्दाबाट आउने आफ्नो हक पुग्ने सम्पत्ति हो । आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति आफूखुस गर्न पाउने अंशबन्डाको १९(४), दान बकसको १ नं. मा उल्लेख छ । विपक्षीले दायर गरेको अंश मुद्दामा फैसला हुँदा मिति २०५२।११।४ लाई मानो छुट्टिएको मिति कायम भएको छ । यस स्थितिमा पदमकुमारीले शेषपछिको बकसपत्र दिन नपाउने भन्ने कानूनले रोक लगाएको छैन । आफ्नो अंश हकको सम्पत्ति दिन पाउने अर्थात् शेषपछिको बकसपत्र क्रियाशील हुने भनी स.अ. बुलेटिन, २०५८, अङ्क १२, पृष्ठ ४ मा कानूनी सिद्धान्त प्रतिपादन भएबाट सो कानूनी सिद्धान्तको विपरीतमा भएको पु.वे.अ. पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू जिल्ला अदातलको फैसला सदर हुनुपर्दछ भन्नेसमेत बेहोराको पुनरावेदक / प्रतिवादी प्रमिला भण्डारीसमेतको यस अदालतमा परेको पुनरावेदनपत्र । 

आधा लिखत बदर हुने गरी भएको फैसलाको हदसम्म मेरो चित्त बुझेको छ । कथित डोरबाट शेषपछिको बकसपत्र लिखत पारित गरेको वर्षमै माताको देहान्त भएको छ । श्रीमतीको नाममा सम्पत्ति लाने नियतबाट पारित भएको लिखतमा विपक्षी संरक्षक रहनै सक्तैनन् । कालान्तरमा सम्पत्ति बढी आफूले खान सकुँ भन्ने दूषित मनोभावना राखी पारित भएको लिखत अ.बं.२४ नं. प्रतिकूलको समेत भएकाले स्त्री अंशधनको २ नं.ले आधा आफूखुस गर्न पाउने अर्थ गर्न नमिल्ने हुँदा सम्पूर्ण बदर हुनु पर्दछ ।

मैले महेन्द्रबहादुर भण्डारीलाई मात्र विपक्षी बनाई अंश मुद्दाको फिराद गरेकोमा का.जि.अ. बाट माता तथा विपक्षी नगेन्द्रबहादुर भण्डारीलाई अ.बं.१३९ नं. बमोजिम बुझ्ने आदेश भएकोमा माता स्वास्थ्यको कारणबाटै उपस्थित हुन नसक्नु भएको 

हो । नगेन्द्रले चलाखी गरी असक्त बिरामी वृद्धा माताको वारेसनामा लिई ०५७।९।२८ मा अंश मुद्दाको फिराद गर्दासमेत मातासँग मेरो कुनै बेमेल भएको भन्न सकेका छैनन् । 

आमा पदमकुमारीसमेत अंशियार कायम भई मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विपक्षी नगेन्द्रले बदनियतपूर्वक ढङ्गबाट मुद्दा चल्दाचल्दै दूषित रूपले असक्त बिरामी वृद्ध माताबाट डोर लगी आफ्नो श्रीमती विपक्षी प्रमिला भण्डारीका नाउँमा मिति २०५७।३।७ गते आफू संरक्षक साक्षी बसी शेषपछिको बकसपत्र लिखत पारित गरी बदनियत चिताई म छोरा अंशियारको जानकारी तथा मन्जुरीबेगर पारित भएको लिखत कानूनविपरीत भएकोले उक्त लिखत सम्पूर्ण बदर हुनुपर्नेमा पु.वे.अ.पाटनबाट आधा लिखत मात्र बदर हुने भनी भएको फैसलामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको त्रुटि हुँदा पुनरावेदन अदालत पाटनबाट आधा मात्र बदर हुने गरी भएको फैसला नमिलेको हुँदा बाँकी आधा सदर राखेको फैसला सोहदसम्म बदर गरी सम्पूर्ण शेषपछिको बकसपत्र लिखत बदर हुनुपर्दछ भन्नेसमेत बेहोराको पुनरावेदक वादी ध्रुवबहादुर भण्डारीको यस अदालतमा परेको पुनरावेदनपत्र ।  

यसमा वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनको लागि दुवै पक्षको पुनरावेदन एक अर्कालाई परस्पर सुनाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति ०७४।१२।१८ मा भएको आदेश । 

यसमा यिनै वादी प्रतिवादीबिच चली मिति २०६९।८।१४ मा फैसला भएको अंश मुद्दा (०६५-NF-००५५) तथा वादी शंकरप्रसाद आचार्य प्रतिवादी शुशिलकुमार आचार्य भई मिति २०७३।९।३ मा फैसला भएको लिखत बदर मुद्दाहरू (०६६-CI-०७०० र ०६६- CI-०८१३) को मिसिल अवलोकनार्थ साथै राखी नियमानुसार गरी पेस गर्नु भन्‍ने यस अदालतको मिति २०७६।६।२९ गतेको आदेश । 

ठहर खण्ड

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल कागजात अध्ययन 

गरियो ।

पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपानेले आफ्नो हक प्राप्तिको लागि अदालतमा मुद्दा चलिरहेका व्यक्ति जो झगडिया छ, उसको मन्जुरी नभएको अर्थ गर्नु स्त्री अंशधनको २ नं. को मनसाय होइन । सासू पदमकुमारीले यिनै विपक्षी ध्रुवबहादुर भण्डारीसमेत उपर दायर गरेको अंश मुद्दा विचाराधीन अवस्थामा पदमकुमारीको मिति २०५७।१२।२८ मा मृत्युपश्चात् मिति २०५७।३।७ को शेषपछिको बकसपत्रअनुरूप मेरो पक्ष र विपक्षीले समेत दायर गरेको अंश मुद्दामा यसै अदालतबाट मिति २०६४।११।८ मा आफ्नो अंश भागमा पर्ने सम्पत्ति पदमकुमारीले आफूखुस गर्न पाउने गरी भएको फैसलालाई पूर्ण इजलासको मिति २०६९।८।१४ को फैसलाअनुरूप ४ भागको १ भाग मेरो पक्ष प्रमिला भण्डारीको नाममा ना.सा. दा.खा. समेत भइसकेको अवस्थामा पुनरावदेन अदालत पाटनको फैसला अ.बं. ७३ नं. समेतको आधारमा त्रुटिपूर्ण छ । सासू पदमकुमारी र यिनै विपक्षीबिच चलेको अंश मुद्दाबाट सासूको अंश भागमा आउने सम्पूर्ण अष्टलोह शेषपछिको बकसपत्र पारित गरी मेरो पक्ष प्रमिला भण्डारीलाई दिएको सम्पत्ति यी विपक्षीलाई बन्डा लाग्ने सम्पत्ति नभई पदमकुमारीको अंश मुद्दाबाट आउने आफ्नो हक पुग्ने सम्पत्ति 

हो । आफूखुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति आफूखुस गर्न पाउने अंशबन्डाको १९(४), दान बकसको १ नं. ले व्यवस्था गरेको छ । विपक्षीले दायर गरेको अंश मुद्दामा फैसला हुँदा मिति २०५२।११।४ लाई मानो छुट्टिएको मितिसमेत कायम भएको छ । यसरी पदमकुमारीले शेषपछिको बकसपत्र दिन नपाउने भन्ने कानूनले रोक नलगाएको अवस्थामा आफ्नो अंश हकको सम्पत्ति दिन पाउने अर्थात् शेषपछिको बकसपत्र क्रियाशील हुने भन्ने प्रतिपादित सिद्धान्तसमेतको आधारमा पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू जिल्ला अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । 

पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताहरू श्री विश्व सिग्देल र श्री धिरेन्द्र रावलले श्रीमतीको नाममा सम्पत्ति लाने नियतबाट पारित भएको लिखतमा विपक्षी संरक्षक रहनै 

सक्तैनन् । कालान्तरमा सम्पत्ति बढी आफूले खान सकुँ भन्ने दूषित मनोभावना राखी पारित भएको लिखत अ.बं.२४ नं. प्रतिकूलको समेत भएकाले स्त्री अंशधनको २ नं. ले आधा आफूखुस गर्न पाउने अर्थ गर्न 

मिल्दैन । आमा पदमकुमारीसमेत अंशियार कायम भई मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विपक्षी नगेन्द्रले बदनियतपूर्वक ढङ्गबाट मुद्दा चल्दाचल्दै दूषित रूपले असक्त बिरामी वृद्ध माताबाट डोर लगी आफ्नो श्रीमती विपक्षी प्रमिला भण्डारीका नाउँमा मिति २०५७।३।७ गते आफू संरक्षक साक्षी बसी शेषपछिको बकसपत्र लिखत पारित गरी बदनियत चिताई मेरो पक्ष अंशियारको जानकारी तथा मन्जुरीबेगर पारित भएको लिखत कानूनविपरीत भएकोले उक्त लिखत सम्पूर्ण बदर हुनुपर्नेमा आधा लिखत मात्र बदर हुने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा आधा सदर राखेको फैसला सो हदसम्म बदर गरी सम्पूर्ण शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उपर्युक्तबमोजिमको तथ्यगत विषय, पुनरावेदन र दुवै पक्षको बहस जिकिर भएको प्रस्तुत मुद्दामा वादीको हकको आधा शेषपछिको लिखत बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, 

छैन ? पुनरावेदक वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. निर्णयतर्फ विचार गर्दा, भाइ नगेन्द्र भण्डारीले ८२ वर्षकी वृद्ध आमा पदमकुमारीलाई अनुचित प्रभावमा पारी अन्य कुनै छोराहरूलाई जानकारी तथा सुइँकोसम्म नदिई मिति २०५७।३।७ गते नै मालपोत कार्यालयबाट डोर लिई गई आमाको संरक्षक भई आफैँ साक्षी बसी आमाको शेषपछि आमाको नाउँको गैर चल अचल श्रीसम्पत्ति अष्टलोह दाखिल खारेज गरी एकलौटी खानु भनी बदनियतपूर्वक आफ्नी श्रीमतीको नाउँमा शेषपछिको बकसपत्र गराई रजिस्ट्रेसन पारित गराई लिनुभएको उक्त शेषपछिको बकसपत्रको लिखित अ.बं.२४ नं., दानबकसको १ नं. र स्त्री अंशधनको २ नं. विपरीतको हुँदा मिति २०५७।३।७ को बकसपत्रको लिखत बदर गरिपाउँ भन्ने वादी ध्रुवबहादुर भण्डारीको फिराद दाबी रहेकोमा वृद्ध आमालाई मैले पालन पोषण गरी म नै संरक्षक बस्नु अ.बं.२४ नं. को त्रुटि हुन सक्दैन । म प्रमिलालाई पदमकुमारीले गरी दिएको सम्पत्ति विपक्षीको बन्डा लाग्ने सम्पत्ति भई आफ्ना अंश मुद्दाबाट आउने आफ्नो हक पुग्ने सम्पत्ति हो । आफ्नो खुस गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंश जति आफूखुस गर्न पाउने अंशबन्डाको १९(४), दानबकसको १ नं. मा उल्लेख हुँदाहुँदै शेषपछिको बकसपत्र दिन नपाउने भन्ने विपक्षीको फिराद नै कानूनसम्मत छैन । पदमकुमारीको अंश भागको सम्पत्ति पाउने ठहरी मिति २०५९।१।९ मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएको 

छ । उक्त फैसलामा २०५२।११।४ लाई मानो छुट्टिएको मिति कायम भएको छ । आफ्नो अंश हकको सम्पत्ति दिन पाउने अर्थात् शेषपछिको बकसपत्र क्रियाशील हुने भन्ने प्रतिपादित सिद्धान्तसमेतबाट विपक्षीको झुट्टा फिराद खारेज गरिपाउँ भन्ने प्रतिवादी प्रमिला भण्डारीसमेतको संयुक्त प्रतिउत्तरपत्र परेकोमा बकसपत्र लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर गरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसलामा स्त्री अंशधनको २ नं. अनुसार अचलमा आधासम्म आफूखुस गर्न पाउने हुँदा सोबाहेक बाँकी आधामा वादीको हकको आधा शेषपछिको लिखत बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहराएको सुरू अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट मिति २०७०।११।११ मा भएको फैसलाउपर चित्त नबुझाई सुरू अदालतको फैसला सदर हुनुपर्दछ भनी पुनरावेदक प्रतिवादीको र पुनरावेदन अदालतको फैसला बदर गरी शेषपछिको बकसपत्र नै बदर हुनुपर्दछ भनी पुनरावेदक वादीको तर्फबाट यस अदालतमा दोहोरो पुनरावेदन दायर हुन आएको देखियो ।

३. अब अन्य अंशियारको मन्जुरी आवश्यक नपर्ने आफ्नो अंश भागको सम्पूर्ण अष्टलोह शेषपछिको बकसपत्र पारित गरी दिएको लिखत कानूनसङ्गत नै भएको हुँदा वादी दाबी नपुग्ने ठहर गरी सुरू अदालतबाट भएको फैसला मिलेकै हुँदा आधा बदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला बदर गरी सुरू सदर गरिपाउँ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिरतर्फ विचार गर्दा, प्रस्तुत मुद्दामा विवादको शेषपछिको लिखतमा अष्टलोहसमेत शेषपछि खानु भनी दिएको र सोही लिखत पेसगरी पदमकुमारी भण्डारीको मुद्दा प्रमिला भण्डारीले सकार गरी पदमकुमारीको मृत्युपश्चात् अंशियार घटि कायम नगरी पदमकुमारीको अंश हक शेषपछिको बकसपत्रवाट पाउनेको हुनेगरी चार अंश भाग कायम गरी मिति २०५९।१।९ मा काठमाडौं जिल्ला अदालतबाट फैसला भएकोमा सोही भाग हिस्सा कायम गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०६०।३।५ मा फैसला भई पदमकुमारीको मु.स. गर्ने प्रमिला भण्डारीसमेतलाई पक्ष कायम गरी एक अंश मुद्दा सकार गर्ने प्रमिला भण्डारीले पाउने ठहर भई मिति २०५२।११।४ लाई मानो छुट्टिएको मिति कायम भएको अवस्था देखियो ।

४. मुलुकी ऐन, दान बकसको १ नं. मा "आफ्नो हक पुग्ने सम्पत्ति दान वा बकस गरी दिन हुन्छ ।" त्यसैगरी स्त्री अंश धनको २ नं. मा "भिन्न भएको कन्या, सधवा वा विधवाले आफ्नो अंश हकको चल अचल सम्पत्ति आफूखुसी गर्न 

पाउँछन् ।" तथा अंश बन्डाको १९(४) नं. मा "... आफूखुसी गर्न नपाउने अवस्थामा पनि आफ्नो हकको अंशजति भने आफूखुसी गर्न पाउँछ" भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । 

५. यसै सन्दर्भमा पुनरावेदक वादी अशोककुमार शाह प्रत्यर्थी प्रतिवादी लालबाबु प्रसाद साह तेलीसमेत भएको शेषपछिको बकसपत्र बदर मुद्दामा यस अदालतबाट ने.का.प. २०६६,  अङ्क ३, निर्णय नं.८११० मा "अंश मुद्दा दायर गरिसकेपछि फैसला नहुँदै आफ्नो अंश भागमा पर्न आउने सम्पत्ति शेषपछिको बकसपत्र गरिदिन नपाउने गरी दाता कृतरामलाई कानूनले रोक नलगाएको अवस्थामा दानबकसको १ नं. तथा अंशबन्डाको १९(४) नं. अनुसार आफ्नो अंश भागमा पर्ने सम्पत्ति निजले नातिहरूलाई शेषपछिको लिखत गरिदिन पाउने ।" भन्ने प्रतिपादित सिद्धान्तका साथै सपठित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी प्रमिला भण्डारीको सासू पदमकुमारी भण्डारीले यिनै पुनरावेदक वादी ध्रुवबहादुर भण्डारीसमेत उपर दायर गरेको अंश मुद्दा विचाराधीन रहेकै अवस्थामा पदमकुमारी भण्डारीको मिति २०५७।१२।२८ मा मृत्युपश्चात् मिति २०५७।३।७ को शेषपछिको बकसपत्रानुसार प्रमिला भण्डारीले यिनै विपक्षीले समेत दायर गरेको अंश मुद्दामा पदमकुमारी भण्डारीको मृत्यु भई शेषपछिको बकसपत्रबाट सकार गरेको मुद्दामा फैसला हुँदा पदमकुमारीको अंश भागको सम्पत्ति पाउने ठहरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५९।१।९ मा भएको फैसलाउपर यिनै विपक्षी ध्रुवबहादुर भण्डारीले जीवित तीन अंशियार मात्र हुँदा ३ भाग लगाई पाउँ भनी तहगत रूपमा दायर गरेको मुद्दामा यसै अदालतबाट मिति २०६४।११।८ मा आफ्नो अंश भागमा पर्ने सम्पत्ति पदमकुमारी भण्डारीले आफूखुस गर्न पाउने गरी फैसला भएको देखिन्छ । 

६. पदमकुमारी भण्डारीको मृत्युपछि निजको सम्पत्ति शेषपछिको बकसपत्र प्राप्त गर्ने बुहारी प्रमिला भण्डारीमा सर्ने नै हुँदा चार अंशियार कायम गर्ने गरी भएको फैसलालाई सदर गरी यसै अदालतको पूर्ण इजलासबाट मिति २०६९।८।१४ मा भएको फैसलाबमोजिम ४ भागको १ भाग यी पुनरावेदक प्रतिवादी प्रमिला भण्डारीको नाममा नामसारी दाखिल खारेजसमेत भएको देखियो ।

७. कुनै अंशियारले अंश वा कुनै मुद्दा चलेको नभए पनि वा अंश मुद्दा चल्दै गरेको अवस्थामा आफ्नो अंश भाग अष्टलोह आदि जे भएको आफ्नो जीवित कालमा नै अंशियारभित्रको वा बाहिरको अन्य व्यक्तिलाई कुनै पनि बेहोराले हकछाडी दिएमा त्यस्तो कार्य हक भएको व्यक्तिले गर्न पाउने होइन भन्न मिल्दैन । कुनै पनि व्यक्तिको सम्पत्तिमाथिको हक जीवित कालसम्म निर्वाध रूपले उसलाई प्रयोग गर्न दान दातव्य वा जुनसुकै बेहोराले हक हस्तान्तरण गर्न ऊ स्वतन्त्र हुन्छ । उसको यस्तो स्वतन्त्र अधिकारमा कुनै पनि अवस्थामा नियन्त्रण गर्न र अङ्कुश लगाउन मिल्दैन । वृद्ध अवस्थाको, छोराछोरी नभएको वा छोरी मात्र भएको व्यक्तिको लागि सम्पत्ति नै मुख्य सहारा र संरक्षक बनेको हुन्छ । छोराछोरी नभएको छोरी मात्र भई निजहरूको विवाह भइसकेको अवस्थाको व्यक्तिलाई यदि यस्तो अधिकार नहुने हो भने उसको सन्तान नभएको वा छोरी मात्र भएको कारणले सगोलमा रहेको अवस्थामा उसको मृत्यु भएमा सबै सम्पत्ति आफूलाई प्राप्त हुन जान्छ भन्ने ध्येयले अन्य अंशियार बन्डा गरी अलग हुन चाहेका हुँदैनन । यस कारणले कुनै पनि व्यक्ति वा अंशियारलाई आफ्नो जीवन कालमा आफ्नो हक भएको र आफूखुस गर्न पाउने सम्पत्ति जुनसुकै समयकालमा पनि जुनसुकै बेहोराले हक हस्तान्तरण गर्न पाउनेमा कानूनले कुनै छेकबार लगाएको देखिँदैन ।

८. सासू पदमकुमारी भण्डारीको विपक्षी छोरा ध्रुवबहादुर भण्डारीसँग अंश मुद्दा चल्दा चल्दैको अवस्थामा देहावसान भएको र निजको देहावसान हुनुअगावै पदमकुमारीले आफ्नो अंश भागको अष्टलोह बुहारी प्रमिला भण्डारीलाई दिएको देखिन्छ । निजको देहावसान भएपश्चात् पनि यसै अदालतको मिति २०६९।८।१४ को फैसलाबाट निजले एक भाग अंश पाउने गरी भएको फैसला अन्तिम भएर बसेको छ । अंश मुद्दाबाट नै पदमकुमारीले आफ्नो देहावसानपछि पनि एक भाग अंश पाउने भनी फैसला भएकोमा जीवित कालमा अंश मुद्दा चल्दा चल्दैको अवस्थामा निजले आफ्नो सोही अंश भाग र अष्टलोहसमेत प्रतिवादी प्रमिला भण्डारीलाई शेषपछिको बकसपत्र गरिदिएको देखिन आउँछ । सासू पदमकुमारी भण्डारी र यिनै विपक्षी भई चलेको अंश मुद्दाबाट सासू पदमकुमारी भण्डारीको अंश भागमा आउने सम्पूर्ण अष्टलोह शेषपछिको बकसपत्र लिखत पारित गरी यी प्रतिवादी प्रमिला भण्डारीलाई दिएको सम्पत्ति विपक्षीलाई बन्डा लाग्ने सम्पत्ति नभई पदमकुमारीको अंश मुद्दाबाट आउने आफ्नो हक पुग्ने सम्पत्ति नै देखिन 

आयो । यसरी सासू पदमकुमारी भण्डारीले शेषपछिको बकसपत्र दिन नपाउने भनी सपठित कानूनी व्यवस्था र सिद्धान्तसमेतबाट कुनै रोक नलगाएको अवस्थामा आफ्नो अंश हकको सम्पत्ति शेषपछिको बकसपत्र लिखतबाट यी पुनरावेदक प्रतिवादी प्रमिला भण्डारीलाई दिदाँ अन्य अंशियारहरूको मन्जुरी लिइरहनुपर्नेसमेत देखिन नआएबाट आधा शेषपछिको लिखत बदर हुने ठहर्‍याई पुनरावेदन अदालत पाटनबाट भएको फैसला सो हदसम्म उल्टी भई शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको फैसला मनासिब नै देखिँदा अष्टलोह शेषपछिको बकसपत्र कानूनविपरीत भएकोले उक्त लिखत सम्पूर्ण बदर हुनुपर्नेमा आधा लिखत मात्र बदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा सम्पूर्ण शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदन र बहस जिकिरसँग सहमत हुन सकिएन ।

९. तसर्थ, माथि विवेचित तथ्यगत आधार र कारणसमेतबाट वादीको हकको आधा शेषपछिको लिखत बदर गर्नुपर्नेमा वादी दाबी नपुग्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सो हदसम्म उल्टी हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७०।११।११ मा भएको फैसला उल्टी भई शेषपछिको बकसपत्र लिखत बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्‍याई सुरू काठमाडौं जिल्ला अदालतबाट मिति २०६०।७।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी ध्रुवबहादुर भण्डारीको पुनरावेदन जिकिर पुग्न 

सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.डा.मनोजकुमार शर्मा

 

इजलास अधिकृत : माधव भण्डारी

इति संवत् २०७७ साल मङ्सिर ९ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु