निर्णय नं. १०६३६ - अपहरण तथा शरीर बन्धक

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीरा खडका
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७७।१०।२२
०७४-CR-०८८८
मुद्दा: अपहरण तथा शरीर बन्धक
पुनरावेदक / प्रतिवादी : म्याग्दी जिल्ला, साबिक हिस्तान गा.वि.स. वडा नं. ९ परिवर्तित ऐ. अन्नपूर्ण गाउँपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, म्याग्दीमा थुनामा रहेको एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजासमेत
विरूद्ध
प्रत्यर्थी / वादी : निलप्रसाद पुनको जाहेरीले नेपाल सरकार
बल प्रयोग गरी डर, त्रास देखाई वा हतियार देखाई कुनै यातायातको साधनमा वा कुनै ठाउँमा नियन्त्रणमा लिई राखेको वा थुनेको तथ्य प्रमाणित नभएसम्म शरीर बन्धकको कसुरको वारदात स्थापित भएको मान्न नमिल्ने ।
(प्रकरण नं.२१)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोपालप्रसाद शर्मा
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम
अवलम्बित नजिर :
ने.का.प.२०३६, अङ्क १, नि.नं.१३१२
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री रामप्रसाद शर्मा
म्याग्दी जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री रत्नकुमार बागचन्द
माननीय न्यायाधीश श्री अजयराज उपाध्याय
उच्च अदालत पोखरा, बागलुङ इजलास
फैसला
न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा जिल्ला म्याग्दी, बेगखोला गा.वि.स. वडा नं. ९ तिप्ल्याङस्थित सिता पुर्जाको होटल हुँदै कालीगण्डकी नदीसम्मको स्थानमा मलेसियाबाट पठाएको पार्सल-नासो बुझाउने उद्देश्य लिएर सँगसँगै निस्केका माइला छोरा रविन पुन र कान्छा छोरा मनकुमार पुनले तिप्ल्याङ बजारमा केही समय साथीहरूसँग भलिबल पनि खेलेका रहेछन् । भलिबल समाप्त भएपछि सिता पुर्जाको होटलमा खाजा खाने क्रममा घर घेरा हाली जोगेन्द्र भन्ने जयन गर्बुजाले मेरो छोराका साथीहरू दिनेश गर्बुजासमेतलाई बाहिरतिर बोलाएर बाहिर निस्किन पाउँदा नपाउँदै धर्मेन्द्र सिंजालीले आफैँले लुकाई ल्याएको खुकुरीले मनकुमार पुनलाई टाउकोमा प्रहार गर्ने, सुजन गर्बुजाले चिरूवा दाउराले माइला छोरा रविन पुन, मनकुमार पुनलाई हिर्काउँदै गर्दा होटलको पछाडिको ढोकाबाट मनकुमार पुन र रविन पुन भाग्दै गर्दा पछाडि लुकेर बसेका अन्य व्यक्तिहरूले आक्रमण गरी अपहरण गरी साथमा रहेको धनमाल, सुनसमेत लुटी डाँका, चोरी (खुन डाँका), कर्तव्य गरी मारी लास कालीगण्डकीमा फाली निज रविन पुनलाई बेपत्ता पारेका र टिका पुर्जासमेतले मिति २०७२।०२।१० गते बेलुका १८:३० बजेको समयमा कालीगण्डकी नदिको बाढीमा बगाएको लास देखेका हुँदा आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको निलप्रसाद पुनको जाहेरी दरखास्त ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा धर्मेन्द्र सिंजालीले सिता पुर्जाको होटलमा नास्ता खुवाउँछु भनेकाले जाँदै गर्दा सिता पुर्जाको होटलमा रविन पुन र मनकुमार पुन रक्सी खाँदै थिए । मनकुमार पुनले धर्मेन्द्रलाई तँ यहाँ आइज भनी बोलाएपछि विवाद हुँदा म, यामबहादुर के.सी., सुजन गर्बुजा र टेकबहादुर पुर्जा भित्र गयौं । भित्र जाँदा दुवै पक्षबिच हानाहान भएको थियो । मैले बोत्तलले रविन पुनको टाउकोमा प्रहार गर्न खोज्दा निजले छलेकोले धर्मेन्द्रको बायाँ हातमा लाग्न गएको हो । भित्र अँध्यारो भएकोले को कसले के-के ले हाने देखिन । दुवै पक्षबिच हानाहान हुँदा पछाडिबाट रविन पुन र मनकुमार पुन भागेका हुन्, पछि यिनीहरूलाई छोड्न हुन्न भनी हामीहरू खोज्न जाँदा भेटेका
होइनौं । घाइते मनकुमार पुनको हकमा ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएको भनिएका रविन पुनलाई अपहरण, डाँका चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौं र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको जोगेन्द्र भन्ने जयन गर्बुजाको बयान कागज ।
वारदातपश्चात् हराई बेपत्ता भएका रविन पुनको खोजतलासको लागि हुलिया परिपत्र गरेको सञ्चार ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा सिता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई देखी ओ धर्मेन्द्र तँ यता आइजा भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदाहुँदै हानाहान भएको र हानाहान हुँदा मनकुमार सोही ठाउँमा ढलेका, ढलेपछि मेरो साथी सुजन गर्बुजाले दाउराले निधारमा प्रहार गरेको अवस्थामा देखेको हुँ, त्यसपछि होटेल साहुनी सिता पुर्जाले धर्मेन्द्र सिंजाली र सुजनलाई समातेकी थिइन्, समात्नुभन्दा पहिला रविन पुन नालीको बाटो हुँदै दौडिँदै होटलको पछाडितर्फ गएको, केही समयपछि मनकुमार पुन पनि सोही बाटो हुँदै भागी गएको देखेको हुँ, त्यसपछि निजहरू गएतर्फ धर्मेन्द्र, जयन म खोज्दै गएका थियौँ, कहीँकतै फेला नपरेपछि म आफ्नो घरतर्फ गएको हुँ । घाइते मनकुमार पुनको हकमा ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएका रविन पुनलाई अपहरण, डाँका, चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौ र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको सन्देश गर्बुजाको बयान कागज ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा सिता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई देखी ओ धर्मेन्द्र तँ यता आइजा भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदाहुँदै हानाहान भएको, हानाहान हुने क्रममा सिता पुर्जाले धर्मेन्द्र र सुजनलाई समातेकाले सोही समयमा रविन पुन अगाडि मनकुमार पुन पछाडि सिता पुनको होटलको पछाडितर्फबाट भागेका हुन् । केही समयपछि धर्मेन्द्र, सन्देश र सुजन भागेको ठाउँतर्फ खोज्न गएकोमा फेला नपरेकाले फर्की आएपछि सबैजना आ-आफ्नो घरतर्फ गएका हौँ । वारदातमा मनकुमार पुन घाइते भएकाले ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएका रविन पुनलाई अपहरण, डाँका, चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौँ र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको यामबहादुर के.सी. को बयान कागज ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा सिता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई देखी ओ धर्मेन्द्र तँ यता आइजा भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदाहुँदै हानाहान भएको हानाहान हुँदा मनकुमार सोही ठाउँमा ढलेको, ढलेको अवस्थामा मैले दाउराले निधारमा प्रहार गरेको हुँ, त्यसपछि होटेल साहुनी सिता पुर्जाले धर्मेन्द्र सिंजाली र मलाई समातेकी थिइन् । त्यसपछि निजहरू भागेका हुन् । त्यसपछि निजहरू भागेको स्थानतिर धर्मेन्द्र, जयन, सन्देश खोज्न गएका हुन्, कहीँकतै फेला नपरेपछि म आफ्नो घरतर्फ गएको हुँ । घाइते मनकुमार पुनको हकमा ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएका रविन पुनलाई अपहरण, डाँका, चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौं र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको सुजन भन्ने घनश्याम गर्बुजाको बयान कागज ।
मिति २०७२।०२।०९ गतेका दिन तिप्ल्याङ स्थित ग्राउन्डमा भलिबल खेल खेली समाप्त भएपछि म घरतर्फ लागेँ, अन्य साथीहरू जयन, एकेन्द्र, याम के.सी., सुजन, टेक, रमेश वि.क. मेरो पछाडि पछाडि आएका थिए । हातखुट्टा धोई बाहिर निस्केर दोसल्लेका केटा रविन पुन, मनकुमार पुन, कुमार पुन, सन्दिप, दिनेशसहितका व्यक्तिहरू र मसमेतका ७ जना प्रतिवादीहरूसमेत अगाडि पछाडि हुँदै चौतारोमा गएर बस्यौँ । जयनको घरमा रक्सी खान जाने भनी जाँदै गर्दा म आफ्नो घरमा गई खुकुरी लुकाई लिई सिता पुर्जाको होटल अगाडि हुँदै जाँदा मनकुमार पुनले यहाँ आइज भनेकाले म गएँ, त्यहाँ रविन पुन र मनकुमार पुनसमेतका केटाहरू बसेका थिए । मलाई मनकुमार पुनले खुकुरी देखायो, मैले निजको हात समाती खुकुरी तान्न खोज्दा मैले काखीमा लुकाएको खुकुरी भुइँमा खस्यो । मनकुमार पुनलाई सुजनले डोलेठो, दाउराले निधारमा हान्यो, मैले मनकुमार पुनको हात समाती खुकुरी तान्न खोज्दा पल्टेका निज मनकुमार पुनलाई मैले लात्ता, मुक्कासमेतले हिर्काउँदै, हान्दै गर्दा मनकुमार पुन ट्वाइलेटको बाटो हुँदै कालीगण्डकी नदीको खेततर्फ भागी गए, नजिकै रहेको रविन पुनले मलाई बोत्तलले हानेपछि मैले घाँटी समातेँ, जयनले रविनलाई बोत्तलले हान्दा मेरो बायाँ हातको कुइनामा बोत्तल परी लाग्न पाएन, त्यसपछि सिताको ट्वाइलेटको पछाडि रविन भाग्यो, म पछि छोप्न खोज्न जाँदा होटल साहुनी सिता पुर्जाले मलाई समातिन् र केहीछिनपछि मेरो आमा र श्रीमती आई समातेपछि सिताले छाडी सुजनलाई समातिन्, केहीछिनपछि मसमेतका ७ जना प्रतिवादीहरू खोज्न पुल वरसम्म खोज्दै गयौं, ७ जनामध्ये चारजना बाटोमा नै बसे, मसमेतले खोज्दा नभेटिएपछि सबैजना फर्की आयौं र बाटोमा बसेका सबैजना भेट भई मनकुमारबाट खोसी लिएको खुकुरीले सिता पुर्जाको छाप्रोको टिनमा हानेको हुँ । खुकुरी खोस्ने क्रममा मनकुमारको टाउकोमा लागेको हुन सक्छ, रविन पुनलाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फाली बेपत्ता पारेको तथा निजको सामान लुटेको होइन, बरामद भएको कालो बिँडमा पित्तलको काँजो भएको खुकुरी थान-१ मेरै वारदातमा लगेको खुकुरी हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, दायाँ जुत्ता र सेतो टिसर्ट रविन पुनको हेरी देखी चिनेँ भन्नेसमेत बेहोराको धर्मेन्द्र सिंजालीको बयान कागज ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा सिता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई देखी ओ धर्मेन्द्र तँ यता आइजा भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदाहुँदै हानाहान भएको, हानाहान हुँदा होटेल साहुनी सिता पुर्जाले धर्मेन्द्र सिंजाली र सुजन गर्बुजालाई समातेकी थिइन् । सोही बखत रविन पुन होटलपछाडितर्फ भागे, मनकुमार पुन पनि सोही बाटो हुँदै होटल पछाडितर्फ भागेका हुन्, केही समयपछि भागेको स्थानतिर धर्मेन्द्र, योगेन्द्र र एकेन्द्र खोज्न गएकोमा फेला नपारी फर्की आएकोले सबैजना आ-आफ्नो घरतर्फ सुत्न गएका हौं, घाइते मनकुमार पुनको हकमा ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएका रविन पुनलाई अपहरण, डाँका, चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौं र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको टेकबहादुर पुर्जाको बयान कागज ।
मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा सिता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई देखी ओ धर्मेन्द्र तँ यता आइजा भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदा खुकुरी हानाहान भएको
थियो । सुजन गर्बुजाले हातमा डोलेढो दाउरा लिएका थिए । हानाहान हुँदा होटेल साहुनी सिता पुर्जाले धर्मेन्द्र सिंजाली र सुजन गर्बुजालाई समातेकी थिइन् । सोही बखत रविन पुन होटलपछाडितर्फ भागे, मनकुमार पुन पनि सोही बाटो हुँदै होटल पछाडितर्फ भागेका हुन्, केही समयपछि भागेको स्थानतिर धर्मेन्द्र, योगेन्द्र र एकेन्द्र खोज्न गएकोमा फेला नपारी फर्की आएकोले सबैजना आ-आफ्नो घरतर्फ सुत्न गएका हौं, घाइते मनकुमार पुनको हकमा ज्यान मार्ने उद्योग मुद्दामा जनही रू.५४,०००।- धरौटी माग भएको हो । बेपत्ता भएका रविन पुनलाई अपहरण, डाँका, चोरी (खुन डाँका) कर्तव्य गरी मारी मोबाइल, सुनका गरगहना र नगद मसमेतले लिएका होइनौ र बरामद खुकुरी थान-१, दाब थान-१ धर्मेन्द्र सिंजालीको हो, सेतो बिँड भएको खुकुरी मनकुमार पुनको हो, सेतो टिसर्ट र दायाँ जुत्ता रविन पुनको हो भन्नेसमेत बेहोराको रमेश विश्वकर्माको बयान कागज ।
जिल्ला म्याग्दी, बेगखोला गा.वि.स. वडा नं.९ तिप्ल्याङ स्थित सिता पुर्जाको होटल उक्त होटलअगाडि हावा महलमा टेबुल, कुर्सी राखी खाजा खाने, बस्ने ठाउँ रहेको, होटल दक्षिणपट्टि ढोकादेखि ५ फिटको दुरीमा नाली रहेको, उक्त होटल तथा हावा महलदेखि कालीगण्डकी नदी किनारसम्म करिब ६० मिटर दुरी रहेको, उक्त होटल घर तथा कालीगण्डकी नदीसम्म प्रतिवादी धर्मेन्द्र सिंजालीसमेतले जाहेरवालाको छोरा रविन पुनलाई धारिलो हतियार खुकुरीसमेत प्रहार गरी अपहरण तथा कब्जामा लिई बन्धक बनाई नदी किनारतर्फ बगरमा पुर्याई डाँका, चोरी कर्तव्यसमेत गरी मारेको भनिएको स्थानको घटनास्थल मुचुल्का ।
मिति २०७२।०२।०९ गतेको साँझ करिब १९:३० बजेको समयमा मासु लिन भनी सिता पुर्जाको होटल पसलमा आई आधा किलो मासु किनी भित्रपट्टि जोख्दै गर्दा बाहिर हावा महलमा बसेका व्यक्तिहरू झै-झगडा गर्दा मैले पछाडि फर्की हेर्दा हानाहान भएको थियो, को को हानाहान गरेको, कसले कसलाई हिर्काए, अध्यारो भएकोले यकिन छुट्टाउन सकिनँ, भोलिपल्ट उक्त घटनापश्चात् रविन पुन हराएको भन्ने थाहा पाएकी हुँ भन्नेसमेत बेहोराको राममाया बुढाथोकीको कागज, त्यस्तै सिता पुर्जाको होटलमा चर्को चर्को स्वरमा चिच्चाएको आवाज सुनेको र भोलिपल्ट रविन पुन हराएको भन्ने थाहा पाएको हुँ, अन्य केही थाहा भएन भन्नेसमेत बेहोराको चक्रलाल थकाली भट्टचन र जगबहादुर पुर्जासमेतको वस्तुस्थिति मुचुल्का ।
सिता पुर्जाको घरको पुर्वपट्टि ट्वाइलेटभन्दा तल रहेको गरा (बारी) मा एउटा खाली खुट्टा भएको पाइला र अरू पछाडिबाट लखेटे जस्तो देखिने ३/४ जनाको जुत्ताचप्पल लगाएको खुट्टाको पाइला भएको र बारीको सबैभन्दा तलको गरा (बारी) मा जुत्ताचप्पल लगाएको खुट्टाको पाइला दाहिनेतर्फ गएको र खाली खुट्टा भएको पाइला बारीबाट तल भिरालो जग्गा घाँसबारी हुँदै बायाँतर्फ गएको, गण्डकी खोलाभन्दा अन्दाजी २० मिटर वरै बालुवामा खाली खुट्टाको कुर्कुच्चा भागको पाइला देखिएको भन्ने बेहोराको सि.नं. १९ को सि.प्र.चौ., भुरूङ, तातोपानीको प्रहरी सञ्चार ।
मिति २०७२।०३।१० गते थुनिएको कालीगण्डकी बग्ने क्रममा हेर्दा ५/६ सय मिटर टाढा कालीगण्डकी नदीको पारिपट्टि साइडमा रातो मान्छे जस्तो बगाएको देखी मान्छे बगायो भनी म भुरूङ, तातोपानीका गा.वि.स. सचिव र सुनिताले हेरेको
हो । पानी धमिलो थियो, मान्छे हो होइन यकिन भएन भन्नेसमेत बेहोराको भुपेन्द्र पुनको कागज ।
मिति २०७२।०२।०९ गतेको साँझ करिब १९:३० बजेको समयमा सिता पुर्जाको होटलमा हो-हल्ला सुनी जाँदा सिता पुर्जा मात्र थिइन् । अन्य कोही थिएनन् । निजलाई के भएको भनी सोध्दा झगडा भएको हो भनेकी थिइन् । सोको भोलिपल्ट रविन पुन हराएको भन्ने थाहा पाएको हुँ भन्नेसमेत बेहोराको हमाया पुर्जाको कागज, त्यस्तै झगडा हुँदा रविन पुन हराएको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको टकमाया गर्बुजाको कागज ।
मिति २०७२।०३।१० गते थुनिएको कालीगण्डकी बग्ने क्रममा हेर्दा १/२ सय मिटर टाढा नाङ्गो सेतो मान्छेको लास जस्तो देखेको हुँ । रविन पुनको फोटो हेरी चिनेँ, पानी धमिलो भएकोले छुट्टाउन सकिन, रविन पुनको लास हो होइन यकिन भएन भन्नेसमेत बेहोराको दिपक लालपालको कागज ।
मिति २०७२।०३।१० गते घटनास्थलमा घाँस काटेका भनिएका बौद्धिक अपाङ्ग मनबहादुर पुर्जालाई यस कार्यालयमा बोलाई अपाङ्ग सङ्घ, म्याग्दीका कर्मचारी तथा दोभाषेको रोहवरमा सोधपुछ गर्दा दोभाषेले सोधेको कुरा मनबहादुरले नबुझेको र मनबहादुर पुर्जाले भन्न खोजेको कुरा दोभाषेले बुझ्न नसकेको भन्ने मनबहादुर पुर्जाको कागज ।
प्रतिवादी जना ७ कै पोलिग्राफ परीक्षण गरेको परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न अनुसन्धानको क्रममा सङ्कलित कागज प्रमाणबाट मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा जिल्ला म्याग्दी, बेगखोला गा.वि.स. वडा नं. ९ तिप्ल्याङ स्थित सिता पुर्जाको होटलमा बसिरहेका रविन पुनलाई विरूद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले बल प्रयोग गरी डर, त्रास देखाई हातहतियारसमेतको प्रयोग गरी वारदात स्थललाई घेरा हाली ज्यानै लिने उद्देश्यले कुटपिट गर्दा निज रविन पुन होटलको पछाडितर्फको ढोका हुँदै भाग्ने क्रममा प्रतिवादीहरूले पछ्याउँदै गई अपहरण गरी कब्जामा लिई हालसम्म बेपत्ता बनाएको तथ्य पुष्टि हुन आएको देखिँदा निज प्रतिवादीहरू धर्मेन्द्र सिंजाली, घनश्याम गर्बुजा, यामबहादुर खत्री, रमेश विश्वकर्मा, जयन गर्बुजा, टेकबहादुर गर्बुजा र सन्देश गर्बुजाको उक्त कार्य मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. र ऐ.२ नं. विपरीतको कसुर अपराध भएको हुँदा ऐ.३ नं. बमोजिम सजाय गरी प्रतिवादीहरू २ जनाभन्दा बढीको समूह भई सङ्गठित रूपमा उल्लिखित आपराधिक कार्य गरेको हुँदा ऐ.७ नं. बमोजिम थप सजाय गरी पाउन र ऐ.१२ नं. बमोजिम क्षतिपूर्ति दिलाई भराई पाउनसमेतको अभियोग मागदाबी लिई सक्कल मिसिल र पक्राउ प्रतिवादीहरू धर्मेन्द्र सिंजाली, घनश्याम गर्बुजा, यामबहादुर खत्री, रमेश विश्वकर्मा, जयन गर्बुजा, टेकबहादुर गर्बुजा र सन्देश गर्बुजालाई यसै अभियोग पत्रसाथ पेस गरिएको छ भन्ने वादी नेपाल सरकारको अभियोग मागदाबी ।
मिति २०७२।०२।०९ गतेका दिन हामी प्रतिवादीहरू र रविन पुनसमेत तिप्ल्याङमा भलिबल खेलेका हौं । मनकुमार पुनले खेलेका होइनन् । निज ग्राउन्डको छेउमा बसेर होहल्ला गरिरहेका थिए । खेल सकिएपछि हामीहरू हातमुख धोई चौतारीमा बसेकोमा निज मनकुमार पुनले भलिबल मात्र के खेल्ने अरू पनि खेलौँ भनी भनेका थिए । धर्मेन्द्रले कपडा फेर्न भनी घरतर्फ गएकोमा रविन र मनकुमारले धर्मेन्द्रलाई पिछा गरेपछि हामी पनि धर्मेन्द्रको घरतर्फ गयौँ । त्यसपछि हामी खेल मैदानतर्फ आयौँ । त्यसपछि रविन र मनकुमार सिता पुर्जाको घरमा गएका रहेछन् । हामीहरू खाजा खान जयनको घरतर्फ जान भनी सिता पुर्जाको पसलनजिक पुग्दा निजहरू भागेका हुन् । किन भागे थाहा भएन । जाहेरीमा भने जस्तो कुटपिट, लुटपाट गरेको होइन । झगडा पनि भएको होइन । हामीहरूले अपहरण गर्ने ज्यान लिने केही गरेका होइनौँ । हामीहरू निर्दोष भएकोले सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुजन भन्ने घनश्याम गर्बुजाले अदालतमा गरेको बयान ।
मिति २०७२।०२।०९ गतेका दिन हामी प्रतिवादीहरू भलिबल खेलिरहेका थियौँ । खेल नसकिँदै मनकुमार, रविन, दिनेशसहितका मानिसहरू आई हामीहरूलाई पनि खेल्न देउ भनी भनेकामा उक्त खेल सकिएपछि रविन, सन्दिप, दिनेशसमेत भई खेल खेलिसकेपछि उनीहरू सिता पुर्जाको पसलमा गएका रहेछन् । हामीहरू चौतारीमा बसिरहेकोमा पीडित भनिएका व्यक्तिहरू पनि सोही ठाउँमा आई हामीहरूलाई नराम्रो शब्द बोलिरहेका थिए । पछि धर्मेन्द्रको घरमा गएरसमेत निजहरूले नराम्रो शब्द बोलिरहेका थिए । हामी खाजा खान भनी मेरो घरतर्फ हिँडेकोमा सिता पुर्जाको घरमा पुग्दा पीडित भनिएका व्यक्तिहरू भाग्दै थिए । कोसँग झगडा भयो थाहा
भएन । नाम थाहा नभएकी दिदीको घरमा रक्सी खाई साथी रमेश विश्वकर्माको घरमा गई सुतेको हो । हामीले निजहरूलाई छोएकोसमेत होइन । मैले कुनै अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी जयन गर्बुजाले अदालतमा गरेको बयान ।
मिति २०७२।०२।०९ गतेका दिन हामी प्रतिवादीहरू र रविन पुनसमेत तिप्ल्याङमा भलिबल खेलेको हो । मनकुमार पुनले बाहिर बसी खेल हेरेका
हुन् । निज मनकुमार पुनले धागोले बुनेको झोला बोकिरहेको र झोलामा सेतो बिँड भएको खुकुरी देखिएको थियो । बल खेलिरहँदा मनकुमार पुनले अपशब्द बोलिरहेका थिए र हामीहरूसँग निहुँ खोजिरहेका थिए । तर रविन पुनले त्यस्तो केही गरेका होइनन् । म कपडा फेर्न भनी मेरो घरमा आउन लाग्दा मेरो पछिपछि मनकुमार पनि आएका थिए । सोदेखि मेरा साथीहरू पनि मेरो घरतर्फ आएका थिए । मेरो घरनजिकै आएर पनि निज कराइरहेका थिए । हामीहरू पुनः चौतारोमा बस्यौँ । हामीहरू पार्टी खान भनी जयनको घरमा जान लागेकोमा बाटोमा पर्ने सिता पुर्जाको पसलमा पुग्दा निज पीडित भनिएका व्यक्तिहरू भागाभाग गरेका हुन् । निजहरू हामीलाई देखी भागेका हुन् वा आफू आफूमा झगडा भई भागेका हुन् थाहा भएन । हामीहरू जयनको घरमा जान भनी हिँडेकोमा त्यहाँ भएका मानिसहरूले केटाहरू किन भागे, आज ठिक छैन, घर जाओ भनी भनेकाले फर्की आएको हो । हामीहरूले रविन पुनबाट सामानहरू लुट्ने, निजलाई अपहरण गर्नेलगायतको काम गरेका होइनौँ । हामीहरूलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी धर्मेन्द्र सिंजालीले अदालतमा गरेको बयान ।
मिति २०७२।०२।०९ गतेका दिन करिब ४:३० बजेको समयमा हामीहरू भलिबल खेलिरहेकोमा रविन र मनकुमारसमेत आई हामीहरूलाई पनि भलिबल खेलाओ भनी भनेकोमा खेलिरहेको म्याच सकिएपछि रविनले समेत भलिबल खेलेका हुन् । खेल्ने क्रममा मनकुमार पुनले बाहिर बसी अनावश्यक शब्द बोलिरहेको थियो । हामीहरू चौतारोमा बसिरहेकोमा रविन र मनकुमार आई बल खेलौँ भनेपछि भलिबल खेलेको र अब रात पर्यो नखेलौँ भनेपछि हाम्रो साथी धर्मेन्द्र घरमा जान लाग्दा रविनहरू पनि निजको पछि लागेपछि हामीहरू पनि निजहरूको पछि
लाग्यौँ । हामीहरू खाजा खान जयनको घरमा जान भनी हिँडेकोमा बाटोमा पर्ने सिता पुर्जाको घरमा पुग्न लाग्दा रविन र मनकुमार भागाभाग गर्न लागे । पछि हामीहरू त्यहीँको एउटी दिदीको घरमा बसी हल्का खाएपछि मलगायत साथी आ-आफ्नो घरमा गएका
हौँ । रविन र मनकुमारसँग हामीहरूको झगडासमेत भएको होइन । उनीहरूलाई हान्ने, लुट्ने, अपहरण गर्ने भन्ने त कुरै भएन । मैले कुनै कसुर नै नगरेको हुँदा सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी रमेश विश्वकर्माले अदालतमा गरेको बयान ।
मिति २०७२।०२।०९ गतेका दिन हामी प्रतिवादीहरू र रविन पुनसमेत भलिबल खेलेका हौं । मनकुमार पुन भलिबल नखेली हेर्ने चिच्याउने गरेका हुन् । रविन पुनसमेत अन्य दोसल्लेबाट आएका केटाहरू भलिबल खेलेका हुन् । भलिबल खेलिसकेपछि हामीहरू त्यहीँ चौतारामा बसिरहँदा मनकुमार पुनले हामीहरूसँग निहुँ खोजिरहेका थिए र हातमा खुकरीसमेत लिएका थिए । धर्मेन्द्र घरमा जाँदा मनकुमारसमेत पछि लागेपछि झगडा हुन सक्छ भनी हामीहरूसमेत धर्मेन्द्रको घरमा गई पछि पुन: चौतारामा आई बसेका हौं । धर्मेन्द्रले म पार्टी गर्छु भनी भनेकाले जयनको घरमा जान भनी हिँडेका हौं । सिता पुर्जाको होटेलतिर आउँदा त्यहीँ बसिरहेका मनकुमार पुनसमेत चिच्याउँदै भागेका हुन् । होटल साहुनीलाई किन भागेको भनी सोध्दा तिमीहरूलाई देखेर हो कि ? दिउँसो झगडा भएको हो र ? भनी हामीलाई सोधेकी हुन् । भोलिपल्ट बिहान दोसल्लेबाट जाहेरवालालगायतका मानिसहरू तिप्ल्याङ आएका हुन् तर हामीहरूलाई केही सोधखोज गरेका होइनन् । धर्मेन्द्र सिंजाली र मनकुमारको पुरानो रिसइवीका कारण बदला लिन र हामीहरूलाई फसाउन यस्तो जाहेरी दिएका होलान् । हामीहरूले गल्ती गरेका छैनौँ । हामीहरूलाई सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजाले अदालतमा गरेको बयान ।
मिति २०७२।०२।२ मा म मामाको घरमा गएको थिएँ । मिति २०७२।०२।०९ गतेका दिन हामीहरू र रविन पुन तथा निजसँग आएका केटाहरू तिप्ल्याङमा भलिबल खेलेका हौं । मनकुमारले भलिबल खेलेका होइनन् । उनी मैदानमा बसी होहल्ला गर्ने गरिरहेका थिए । उनी रक्सी खाई मातेका हुनाले हामीहरूले उनले बोलेका कुरामा ध्यान दिएनौँ । हामीहरूले धारामा हातमुख धोई चौतारामा बसेकोमा धर्मेन्द्र घरमा गएको र मनकुमारसमेत त्यतै गएकोले झगडा हुन सक्छ भनी हामीहरू पनि धर्मेन्द्रको घरमा गएका हौं । हामीहरू पुनः चौरमा आई बसेको र मनकुमारहरू आफ्नो बाटो लागेका हुन् । केहीछिन थकाई मेटेपछि जयनको घरमा जान आउँदै गर्दा बाटोको छेउमा पर्ने सिता पुर्जाको पसलनजिक पुग्दा मनकुमार पुर्जासमेत आफैँ भागेका हुन् । हामीले किन भागेका हुन् भनी सोध्दा रक्सी खान लागेका थिए किन भागेका हुन् थाहा भएन भनी सिता पुर्जाको लोग्नेले भनेका थिए । हामीहरूलाई जयनको घर जान मन नलागी फर्की आ-आफ्नो घर गएका हौँ । झगडा भएको होइन । रविन पुनबाट नगदसमेत लुटेको
होइन । हामीहरू सबै प्रतिवादीहरू प्रहरी हिरासतमा नै छौँ । कसरी रविनलाई अपहरण गरी बन्धक राख्न सक्छौ । हामीलाई सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी यामबहादुर खत्रीले अदालतमा गरेको बयान ।
यी प्रतिवादीहरूउपरको किटानी जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, बरामदी मुचुल्का, मौकामा कागज गर्ने सिता पुर्जालगायतका व्यक्तिहरूको भनाइ, प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानसमेतका तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू कसुरदार होइनन् भन्न सकिने अवस्थाको विद्यमानता नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा, जोगेन्द्र भन्ने जयन गर्बुजा, यामबहादुर खत्री, एकेन्द्र भन्ने सन्देश गर्बुजा र धर्मेन्द्र सिंजालीबाट मुलुकी ऐन, अ.बं. ११८ को देहाय ५/१० नं. बमोजिम जनही रू.५५,०००।- (पचपन्न हजार रूपैयाँ) धरौट वा सो बराबरको जेथा जमानत दिए लिई मुद्दा पुर्पक्षको लागि तारेखमा राख्नू । दिन नसके नियमानुसारको सिधा खान पाउने गरी थुनामा राख्न स्थानीय कारागार कार्यालय, म्याग्दीमा पठाइदिनु भनी मुलुकी ऐन, अ.बं. १२४(ग) नं. बमोजिम यो आदेश पर्चा
गरिदिए । प्रस्तुत आदेश पुनर्विचारको लागी माननीय जिल्ला न्यायाधीशज्यूको उपस्थितिमा यथाशीघ्र पेस गर्नु भन्नेसमेत बेहोराको सुरू जिल्ला अदालतबाट भएको आदेश ।
तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीहरू अहिले नै निर्दोष रहेछन् भन्न मिल्ने नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल यी प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा, जोगेन्द्र भन्ने जयन गर्बुजा, यामबहादुर खत्री, एकेन्द्र भन्ने सन्देश गर्बुजा र धर्मेन्द्र सिंजालीलाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ नं. बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा प्रतिवादीहरूबाट मिति २०७२।०४।११ मा धरौट माग गरी भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ । प्रतिवादीहरूलाई मुलुकी ऐन, अ.बं. ११८ को देहाय २ नं. बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने गरी निजहरूलाई अ.बं. १२१ नं. बमोजिमको थुनुवा पुर्जी दिई स्थानीय कारागार कार्यालय, म्याग्दीमा थुनामा राख्न पठाइदिनू । प्रतिवादी चुक्ता भइसकेकोले वादी तथा प्रतिवादीका साक्षी बुझी नियमानुसार पेस गर्नु भनी मुलुकी ऐन, अ.बं. १२४ नं. बमोजिम यो आदेश पर्चा गरिदिएको छ भन्नेसमेत बेहोराको सुरू जिल्ला अदालतबाट भएको आदेश ।
घटना विवरण कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मिति २०७२।०२।०९ गते म मेरो छोरी बल खेल्न गएकोले छोरीलाई लिएर आउँदा सिता पुर्जाको होटेलमा हल्ला थियो । सिता पुर्जाले गिलास फुटेको छ भनेर कराएको बाटोबाटै सुनेको
हुँ । दोसल्ले र तिप्ल्याङका केटाहरू झगडा गरेको भन्ने सुनेको हुँ । म छोरीलाई लिएर घरमा आई सुतेको हुँ । भोलिपल्ट रविन हरायो भनी खोज्न आएका
थिए । प्रतिवादीहरूलाई गल्तीअनुसार सजाय हुनु पर्दछ भन्नेसमेत बेहोराको वादीका साक्षी हमाया पुर्जाले अदालतमा गरिदिएको बकपत्र ।
घटना विवरण कागजमा भएको बेहोरा र सहीछाप मेरो हो । मिति २०७२।०२।०९ गते के भयो मलाई थाहा भएन । मिति २०७२।०२।१० मा दोसल्ले र तिप्ल्याङका मानिसहरू जम्मा भई होहल्ला गर्दा मलाई थाहा भएको हो । मेरो घर तिप्ल्याङको माथिल्लो झोलुङ्गे पुलनजिक पर्ने हुनाले झगडा भएको मलाई थाहा भएन भन्नेसमेत बेहोराको वादीका साक्षी टकमाया गर्बुजाले अदालतमा गरेक बकपत्र ।
वस्तुस्थिति मुचुल्काको बेहोरा र सहीछाप मेरो हो । म उक्त दिन खेतबाट आएर घरमा बसेको
थिएँ । त्यतिकैमा रविन पुनसमेतका भदैहरू आएर खानेकुरा मागे । म भान्सामा काम गर्दै थिएँ । प्रतिवादीहरू एकाएक घरभित्र पसेर होहल्ला मच्चाए । मेरो सानो छोरी भएकी र अँध्यारो भएकोले छोरीलाई मार्छन कि भनी छोरी च्यापी पल्लो घरभित्र पसेँ । पछि शान्त भएपछि म घरमा आएको हुँ । भोलिपल्ट मेरो श्रीमती सिता पुर्जाले घरपछाडिको बारीबाट रविन पुनले लगाउने जुत्ता लिई आएको देखेको हुँ । हालसम्म रविन पुनको कुनै अत्तोपत्तो छैन । प्रतिवादीहरूले नै बेपत्ता बनाएका हुन् । प्रतिवादीहरू सबैलाई गल्तीअनुसार सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको वादीका साक्षी जगबहादुर पुर्जाले अदालतमा गरेको बकपत्र ।
मिति २०७२।३।२० मा मैले गरेको कागजको बेहोरा र सहीछाप मेरो हो । यी प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको वादीका साक्षी चक्रलाल थकालीले अदालतमा गरेको बकपत्र ।
मिति २०७२।२।१० गते कालीगण्डकी नदी थुनिई खुल्ने क्रममा मेरो पसलनजिकको मल्ल इलेक्ट्रोनिक्सको छतमा बसी भिडियो बनाई रहेको थिए । सो क्रममा मलगायत मेरो साथीहरूले रातो कपडासहितको मान्छे जस्तो देखिने वस्तु बग्दै आएको देखी मान्छे, मान्छे बगायो भनी भनेका हौं । भिडियो बनाउन बसेको ठाउँ र कालीगण्डकी नदी टाढा भएको र पानी धमिलो भएकोले उक्त वस्तु मानिस नै हो भनी यकिन गर्न सकिएन । तिप्ल्याङमा घटना घटेको, मानिस बेपत्ता भएको भन्ने मलाई केही थाहा थिएन भन्नेसमेत बेहोराको वादीका साक्षी भुपेन्द्र पुनले अदालतमा गरेको बकपत्र ।
मिति २०७२।०२।०९ गते बेलुका सिता पुर्जाको पसलमा खाजा खाइरहेको अवस्थामा प्रतिवादीहरू घरभित्र पसी मनकुमार पुनलाई खुकुरी प्रहार गरी अरूलाई बाहिर निकाली रविन पुनलाई एक्लै पारी कालीगण्डकीतिर लगी मारी फालेका हुन् । होटलबाट लखेट्दै गरेको, बाटोमा घाँस माडिनु, त्यही ठाउँमा खुकुरीको दाब भेटिनु र होटलमा रविनको टिसर्ट भेटिनुसमेतले रविन पुनलाई प्रतिवादीहरूले मारी फालेको हुनुपर्छ । कर्तव्य ज्यानमा मुद्दा चलाउनुहोस् भन्दा सरकारी पक्षले लाश नभेटिएकोले अपहरणमा मुद्दा चलाउनुपर्छ भनेका हुन् । प्रतिवादीहरूलाई अभियोग मागदाबीबमोजिम हदैसम्मको सजाय हुनुपर्दछ भन्नेसमेत बेहोराको जाहेरवाला निलप्रसाद पुनले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीहरू धर्मेन्द्र सिंजाली, सन्देश गर्बुजा र जयन गर्बुजालाई मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद तथा रू.५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना हुने र निज प्रतिवादीहरू दुई जनाभन्दा बढी भई कसुर गरेको देखिँदा निजहरूलाई ऐ. ऐनको ७ नं. बमोजिम जनही २/२ वर्ष थप कैदसमेत हुने ठहर्छ । अन्य प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर खत्रीउपरको अभियोग दाबी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नआएकोले निजहरूले अभियोग मागदाबीबाट सफाइ पाउने
ठहर्छ । साथै बेपत्ता रहेका रविन पुनलाई पुग्न गएको शारीरिक तथा मानसिक क्षतिको मूल्याङ्कन गर्न सकिने अवस्था नरहेकोले सोही महलको १२ नम्बरबमोजिम क्षतिपूर्ति दिलाई पाउँ भन्ने अभियोग दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत बेहोराको सुरू म्याग्दी जिल्ला अदालतबाट मिति २०७३।०२।२३ मा भएको फैसला ।
मसमेत दोषी भएको कुरा पुष्टि गर्न नेपाल सरकारले यी रविन पुनलाई कुन ठाउँबाट मसमेतले अपहरण गर्यौँ, कुन ठाउँमा लगेर बन्धक बनाई राख्यौँ, कति समय राख्यौं र के कुन तरिकाले नेपाल सरकारले अपहरणबाट रविन पुनलाई मुक्त गरायो भन्ने कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि हुनुपर्ने सो सम्बन्धमा मिसिलले केही कुरा बोलेको अवस्था छैन । कुनै पनि कुरा पुष्टि गरेको अवस्था छैन । शरीर अपहरण तथा शरीर बन्धक लिनुपर्ने कारण के हो ? सो कारण अभियोगपत्रलगायत अन्य कागज प्रमाणमा कहीँकतै केही खुल्दैन । केबल शंकाको भरमा मसमेत उपर अभियोग लगाइएको हो । अभियोग लगाउँदा प्रमाणले पुष्टि गर्नुपर्ने हुन्छ सो अवस्था देखिँदैन । कुनै एकान्त जङ्गलको घटना होइन । घटनास्थल भनिएको ठाउँमा दोसल्लेबाट आएका दिनेश गर्बुजा, प्रेम पुर्जा, सन्दिप पाइजा, सन्तोष गर्बुजा, मनकुमार पुन र रविन पुनसहितका ७ जना भलिबल खेल्ने भलिबल टिमका मानिसहरू सिता पुर्जा, हमाया पुर्जा, डबलबहादुर पुनलगायतका दर्जनौं मानिसको अगाडि झगडा भएकोमा सो ठाउँबाट रविन पुन र निजको भाइ मनकुमार पुन भागी गएको अवस्था हो सो कुरा घटनाकी प्रत्यक्षदर्शी सिता पुर्जाले पनि आफूले गरेको बकपत्र कागजमा सो कुरा उल्लेख गरेकी छिन् । घटनास्थल भनिएको ठाउँबाट निज रविन पुन भागी गएका छन्, घटनास्थलबाट पहिले नै भागी गएका रविन पुनलाई हामीहरूले अपहरण गरेका होइनौं, शरीर बन्धक लिएका होइनौं, हामीलाई लगाइएको अभियोग कतै कुनै प्रमाणले पुष्टि गरेको छैन । हामीले अपहरण गरी राखेको ठाउँको घटनास्थल मुचुल्का एवं अन्य मुचुल्कासमेत हुनुपर्नेमा सोसमेत देखिँदैन । जाहेरवालाको जाहेरीलाई अन्य प्रमाणले पुष्टि गर्नुपर्ने गरेको छैन । सिता पुर्जाको होटलबाट रविन पुन, मनकुमार पुन भागी गएपछि निजहरू कहाँ गई, के-के गरे हामीहरूलाई केही थाहा जानकारी छैन, घटनास्थलबाट रविन पुन र मनकुमार पुन भागी गएका धर्मेन्द्र सिंजालीलाई पहिले सिता पुर्जाले र पछि धर्मेन्द्रका आमा तथा पत्नीले समय राखेको अवस्था मिसिलबाट देखिँदा घटनास्थलबाट शरीर बन्धक लिनेको अपहरण गरी बेपत्ता बनाएको भन्ने कुरा झुठ्ठो पुष्टि भएको छ । हामीहरूको पोलिग्राफ जाँचबाट पनि हामीहरूले अपराध गरेका छैनौं होइनौ भन्ने पुष्टि भएको अवस्था छ । जाहेरवालाले मिति २०७३।०३।०२ मा दिएको जाहेरी केवल अनुमानको भरमा दिएको जाहेरी हो । जाहेरीको कुरालाई कुनै पनि प्रमाणले पुष्टि गर्न सकेको छैन । मनकुमार पुनको बकपत्र र घटना विवरण भनाइ आपसमा मेल खान सकेको छैन, जाहेरवालाले पहिलो पटक मिति २०७२।०२।१४ मा हामीउपर ज्यान मार्ने उद्योगमा जाहेरी दिई पछि मिति २०७२।०४।०६ मा सोही वारदातको सम्बन्धमा पुनः अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन पाउने हैन । मिसिल संलग्न कुन पनि प्रमाणले मसमेतका प्रतिवादीहरूले पीडित रविन पुनलाई अपहरण तथा शरीर बन्धक लिएको भन्ने कुरा पुष्टि हुन नआउने हुँदा म निर्दोष भएको पुष्टि भएको अवस्थामा मलाई अपहरण तथा शरीर बन्धक लिनेको महलको १ र ३ नं. को कसुर ठहर गरी ७ वर्ष कैद तथा रू.५०,०००।- (पचास हजार रूपैयाँ) जरिवाना साथै ऐ. ऐन को ७ नं. बमोजिम जनही २ वर्ष थप कैद हुने ठहराई भएको सुरू फैसला नमिलेको हुँदा बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादी ऐकेन्द्र योगेन्द्र भन्ने सन्देश गर्बुजासमेत जना दुईको उच्च अदालत पोखरा, बागलुङ इजलासमा परेको पुनरावेदनपत्र ।
मिसिल संलग्न किटानी जाहेरी दरखास्त, प्रतिवादीहरूको अनुसन्धान समस्या भएको बयान, पीडित रविन पुनको भाइ मनकुमार पुनले मौका र अदालतमा गरेको बकपत्र बेहोरा, सिता पुर्जाको मौकाको अदालतमा भएको बकपत्र बेहोरा, घटनास्थल प्रकृति मुचुल्का, चक्रलाल थकाली भट्टचन, गजबहादुर पुर्जासमेतको वस्तुस्थिति मुचुल्का, टकमाया गर्बुजाको कागजसमेतबाट प्रतिवादीहरूले पीडित रविन पुन र मनकुमार पुनलाई घेरा हाली प्रतिवादीमध्येको धर्मेन्द्र सिंजालीले मनकुमार पुनलाई खुकुरी प्रहार गरी कुटपिट गर्न थालेपछि पीडित रविन पुन होटलको पछाडितर्फको ढोका हुँदै भाग्ने क्रममा प्रतिवादीहरूले पछ्याउँदै गई अपहरण गरी कब्जामा लिई हालसम्म बेपत्ता बनाएको तथ्य पुष्टि भएको अवस्थामा प्रतिवादीमध्येका धर्मेन्द्र सिंजाली, सन्देश गर्बुजा र जयन गर्बुजालाई अपहरण तथा शरीर बन्धकतर्फ सजाय गरी अन्य प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर खत्रीलाई अभियोग दाबीको कसुरबाट सफाइ दिने गरी भएको सुरू फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिएका प्रतिवादीहरूलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको उच्च अदालत पोखरा, बागलुङ इजलासमा परेको पुनरावेदनपत्र ।
यसमा वादी नेपाल सरकारको प्रतिवादी टेकबहादुर पुर्जासमेत जना ४ को हकमा पुनरावेदन परेको र प्रतिवादीमध्येका सन्देश गर्बुजा र जयन गर्बुजाको पनि पुनरावेदन परेको देखिँदा दुवै पक्षको पुनरावेदन परेको जानकारी एक अर्को पक्षलाई गराई प्रतिवादी टेकबहादुर पुर्जा‚ रमेश विश्वकर्मा‚ घनश्याम गर्बुजा‚ यामबहादुर खत्रीलाई अ.बं. २०२ नं. तथा उच्च अदालत नियमावली‚ २०७३ को नियम ६४ बमोजिम झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७३।११।०४ को
आदेश ।
प्रतिवादीहरू धर्मेन्द्र सिंजाली‚ सन्देश गर्बुजा र जयन गर्बुजालाई मुलुकी ऐन‚ अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद तथा रू.५०‚०००।- जरिवाना हुने तथा ऐ. महलको ७ नं. बमोजिम जनही २/२ वर्ष थप कैद सजाय हुने तथा प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर खत्रीलाई अभियोग दाबीको कसुरबाट सफाइ दिने तथा ऐ. महलको १२ नं. तर्फ अभियोग दाबी नपुग्ने ठहराई भएको सुरू म्याग्दी जिल्ला अदालतबाट मिति २०७३।०२।२३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकार र प्रतिवादी सन्देश गर्बुजा र जयन गर्बुजाको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत बेहोराको उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७४।३।२८ मा भएको फैसला ।
यसमा हामी प्रतिवादीहरूले पीडित भनिएका रविन पुनसँग भलिबल खेलेको कुरालाई स्वीकार गर्दैमा हामीले निजलाई अपहरण गरी शरीर बन्धक लिएको भन्ने कसुरमा कसुरदार ठहर गर्न मिल्ने होइन किनकि वारदात भएको भनिएको स्थलमा उपस्थित प्रत्यक्षदर्शी भनिएको सीता पुर्जालगायतका व्यक्तिहरूले अनुसन्धानमा गरिएको कागज तथा अदालतसमक्ष भएको बकपत्रमा हामीले नै अपहरण गरी शरीर बन्धकमा लिएको भनी लेखाउन सकेको नदेखिएको र यसै तथ्यउपर सुरू म्याग्दी जिल्ला अदालतमा हामीउपर ज्यान मार्ने उद्योग मुद्दा चलाइसकेपछि पुन: हामीमाथि अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन मिल्ने
होइन । प्रमाणमा सङ्कलित कागज र हामीले अनुसधानमा गरेको बयानमा समेत रविन पुनलाई हामीले अपहरण गरी शरीर बन्धक गरेको भन्ने पनि उल्लेख छैन । घाइते भनिएका मनकुमार पुनले समेत आफ्नो बकपत्रमा हामीहरूले मनकुमारलाई दाउराले हान्न थालेकोमा रविन पुन र मनकुमार पुन भागी कालीगण्डकीतर्फ गएको र आफू डबल पुनको घरमा लुकीछिपी बसेको भन्नेबाहेक अन्य कुरा खुलाउन सकेको पाइँदैन । हामीले नदी किनारातर्फ जान बाध्य पारेको पनि होइन । कोही कुनै ठाउँबाट भागी गएको कुरालाई अपहरण भन्न मिल्ने होइन । अपहरण गरिएका भनिएका व्यक्तिलाई कुन ठाउँबाट अपहरण गरी कहाँ लगिएको, कहाँ राखिएको भन्ने कुरा फैसलामा नखुलाइएको अवस्थामा अपहरण तथा शरीर बन्धकको कसुर ठहरिने होइन । अपहरण हुन के कस्तो तथ्य विद्यमान हुनुपर्ने हो भन्ने कानूनले व्यवस्था गरेकोमा मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. बमोजिमको अवस्था यहाँ विद्यमान नदेखिएकोले अपहरण तथा शरीर बन्धक भएको भन्न मिल्दैन । प्रमाण ऐनको दफा २५ बमोजिम हामीउपर लगाइएको अभियोग निर्विवाद रूपले पुष्टि गर्न सकेको पाइँदैन । कसैउपर अभियोग लगाउनु मात्र पर्याप्त हुँदैन । प्रमाणबाट प्रमाणित पनि हुनु पर्दछ । फौजदारी मुद्दामा अभियुक्तमाथि लगाइएको आरोप वादी पक्षले पूर्णरूपले प्रमाणित गर्नुपर्दछ । शंकाको भरमा मात्र कसुर कायम गर्न मिल्दैन भन्ने सिद्धान्तविपरीत गई सुरू म्याग्दी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी मिति २०७४।३।२८ मा उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसलामा संविधान तथा कानूनको गम्भीर त्रुटि हुनुका साथै सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको समेत पालना नगरिएको हुँदा उक्त त्रुटिपूर्ण फैसलालाई न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याई हेरी म्याग्दी जिल्ला अदालत र उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला बदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको मुद्दा दोहोर्याई पाउँको संयुक्त निवेदन ।
यसमा टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा, जोगेन्द्र भन्ने जयन गर्बुजा, यामबहादुर खत्री, योगेन्द्र भन्ने सन्देश गर्बुजा र धर्मेन्द्र सिंजालीलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीत कसुर गरेकोमा निजहरूलाई सोही महलको २ नं. बमोजिम सजाय गरी प्रतिवादीहरू २ जनाभन्दा बढीको समूह भई सङ्गठित रूपमा उल्लिखित कसुर गरेकाले सोही महलको ७ नं. बमोजिम थप सजाय गरी ऐ. १२ नं. बमोजिम क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने अभियोग दाबी रहेको छ । बेपत्ता भनिएका रविन पुनलाई कालीगण्डकी नदीतर्फ जान बाध्य पारिएको र हालसम्म निज बेपत्ता रहेको भन्ने दाबी रहेको छ । मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. मा भएको कानूनी व्यवस्था र प्रस्तुत मुद्दाको वारदातको स्थितिलाई विचार गर्दा कसुरदार कायम गर्ने गरी उच्च अदालत पोखरा, बागलुङ इजलासबाट भएको मिति २०७४।०३।२८ को फैसलामा कानूनी व्याख्यात्मक प्रश्न उपस्थित भई प्रमाण ऐन, २०३१ को दफा ५४ तथा मुलुकी ऐन, अ.बं. १८४(क) र १८५ नं. को समेत त्रुटिपूर्ण भई न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमानुसार पेस गर्नु भन्नेसमेत बेहोराको यस अदालतबाट मिति २०७४।१०।१९ मा भएको आदेश ।
यसमा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट विद्वान् अधिवक्ता श्री गोपालप्रसाद शर्मा र नेपाल सरकारका तर्फबाट उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले पेस गर्नुभएको बहसनोट मिसिल सामेल
रहेको ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री गोपालप्रसाद शर्माले अपहरण तथा शरीर बन्धकको कसुर हुनका लागि साबिक मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. को अवस्था र ३ नं. को उद्देश्यले गरिएको हुनु पर्दछ । प्रतिवादीहरूले पीडित भनिएका रविन पुनसँग भलिबल खेलेको कुरालाई स्वीकार गर्दैमा कसुर ठहर गर्न मिल्दैन । प्रत्यक्षदर्शी भनिएकी सिता पुर्जालगायतका व्यक्तिहरूले अनुसन्धानमा कागज गर्दा र अदालतमा समेत बकपत्र गर्दा अपहरण गरी शरीर बन्धक लिएको भनी स्पष्ट लेखाउन सकेको
देखिँदैन । अपहरण तथा शरीर बन्धक जस्तो गम्भीर प्रकृतिको मुद्दामा शंकाको भरमा यी पुनरावेदक प्रतिवादीहरूलाई कसुर कायम गरेको सुरू म्याग्दी जिल्ला अदालतको फैसला सदर गरेको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी मेरो पक्षलाई अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो ।
प्रत्यर्थी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले प्रतिवादीमध्येका धर्मेन्द्र सिंजालीसँग भएको पूर्वरिसइवीका कारण यी प्रतिवादीहरूसमेत भई मनकुमार पुनलाई ज्यान मार्ने उद्देश्यले संवेदनशील अङ्ग टाउकोमा प्रहार गरी घाइते बनाएको र रविन पुनलाई लखेट्दै कालीगण्डकीतर्फ जान बाध्य पारी लगी मारी बेपत्ता पारेको भन्ने किटानी जाहेरीलाई जाहेरवालाले अदालतमा आई बकपत्र गरी घटना पुष्टि गरेको अवस्था छ । साबिक मुलुकी ऐन, अपहरण तथा शरीर बन्धक लिनेको महलको १ नं. बमोजिम यी प्रतिवादीहरूले रविन पुनलाई कालीगण्डकीतर्फ जान बाध्य गराई बेपत्ता बनाएको तथ्य मिसिल संलग्न कागज प्रमाणहरूसमेतबाट प्रस्तुत वारदात अपहरण तथा शरीर बन्धकको वारदातभित्र पर्ने देखिएकोले उच्च अदालत पोखरा, बागलुङ इजलासले गरेको फैसला मिलेकै देखिँदा उक्त फैसला सदर गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो । साथै दुवै पक्षको तर्फबाट पेस भएको बहसनोटसमेत अध्ययन गरियो ।
उपर्युक्त तथ्य र बहस जिकिर भएको प्रस्तुत मुद्दामा सुरू म्याग्दी जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरी उच्च अदालत पोखरा, बागलुङ इजलासले मिति २०७४।३।२८ मा गरेको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा, छोरा रविन पुनलाई विपक्षीहरूले कर्तव्य गरी मारी लास कालीगण्डकीमा बगाएको भनी रविन पुनका पिता निलप्रसाद पुनको किटानी जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान कार्य प्रारम्भ भएको देखिए तापनि जाहेरवालाको छोरा रविन पुनलाई बल प्रयोग गरी डर, त्रास देखाई हातहतियारसमेत प्रयोग गरी प्रतिवादीहरूले अपहरण गरी कब्जामा लिई हालसम्म बेपत्ता बनाएकोले प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीतको अपराध कसुर गरेकाले ऐ. महलको ३ नं. बमोजिम सजाय गरी सोही महलको ७ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेतको दाबी लिई अभियोगपत्र दायर भएको देखिन्छ ।
३. सुरू म्याग्दी जिल्ला अदालतले प्रतिवादीहरू ऐकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजा, जोगेन्द्र भन्ने जयन गर्बुजा र धर्मेन्द्र सिंजालीलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद तथा रू.५०,०००।- जरिवाना हुने र ऐ. को ७ नं. अनुसार जनही २/२ वर्ष थप कैद हुने र प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर खत्रीउपरको अभियोग दाबी वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नआएकोले निजहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई फैसला गरेको देखिन्छ । सुरू जिल्ला अदालतको फैसलाउपर वादीको र प्रतिवादीहरू सन्देश गर्बुजा र जयन गर्बुजाको पुनरावेदन परेकोमा सुरू फैसला सदर हुने ठहर्याई उच्च अदालत पोखरा, बागलुङ इजलासबाट फैसला भएकोमा सो फैसला दोहोर्याई पाउँ भनी प्रतिवादीहरू जोगेन्द्र भन्ने जयन गर्बुजा र एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजाको निवेदन परेकोमा यस अदालतबाट मिति २०७४।१०।१९ मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको रहेछ ।
४. उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसला हेर्दा मिति २०७२।२।९ गते दिउँसो तिप्ल्याङ स्थित ग्राउन्डमा भलिबल खेल हुँदा आफूसमेत एउटा टिमबाट खेलेको र रविन पुन अर्को टिममा रही भलिबल खेल समाप्त भएपछि ४/५ बजेतिर प्रतिवादी धर्मेन्द्र सिंजाली घरमा आई खुकुरी लिई वारदात स्थल आई पीडित मनकुमारलाई प्रहार गरी रविन पुनलाई प्रहार गर्न खोज्दा रविन पुन भागेपछि प्रतिवादीहरूले रविन पुनलाई पछ्याएको कुरा अनुसन्धान अधिकारीसमक्षको बयानमा स्वीकार गरेको देखिन्छ । साथै कालीगण्डकी नदीको किनारासम्म प्रतिवादीहरूले खुकुरीसमेत हातमा लिई डर, त्रास देखाई घेरा हाली रविन पुनलाई कालीगण्डकी नदीतर्फ जान बाध्य पारेको र निज रविन पुन सो स्थानबाट बेपत्ता भएको भन्ने पुष्टि भएकोले प्रस्तुत मुद्दाको वारदात अपहरण र शरीर बन्धक लिने कसुर नै हो भन्ने देखिन्छ । प्रतिवादी धर्मेन्द्र सिंजालीले खुकुरीले पीडित मनकुमारको टाउकोमा प्रहार गरेको, रविन पुन सो स्थानबाट भाग्दै गर्दा निजलाई प्रतिवादी धर्मेन्द्र सिंजाली र अन्य प्रतिवादी सन्देश गर्बुजा र जयन गर्बुजा भई घेरा हाली कालीगण्डकीतर्फ जान बाध्य पारेको र सो नदी किनाराबाट रविन पुन बेपत्ता हुन गएको पुष्टि भइरहेकोले वारदातमा पुनरावेदक प्रतिवादी सन्देश गर्बुजा र जयन गर्बुजा संलग्न रहेको देखिन्छ भन्दै सुरू म्याग्दी जिल्ला अदालतको फैसलालाई सदर गरेको पाइन्छ ।
५. उच्च अदालत पोखरा, बागलुङ इजलासले अपहरण र शरीर बन्धक लिने वारदात भएको भन्ने ठहर गर्दा प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई नै निर्णायक प्रमाणको रूपमा ग्रहण गरेको देखिन्छ । यसैगरी वारदातमा प्रतिवादीहरूको संलग्नताको सम्बन्धमा कुनै किटानी कारण र आधार उल्लेख नगरी केवल "पुष्टि भइरहेको" भन्ने शब्दको प्रयोग भएको देखिन्छ । सुरू म्याग्दी जिल्ला अदालतमा यी प्रतिवादीहरू आरोपित कसुरमा पूर्णतया इन्कार रही अदालतमा बयान गरे तापनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा सीता पुर्जाको होटलमा मनकुमार पुनसमेतलाई प्रहार गरेपछि निज होटलपछाडि गएकोमा निज रविन पुनलाई खोज्दै पछिपछि गएको तथ्यमा प्रतिवादीहरू साबित रहेको र अन्य प्रतिवादीहरू टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर के.सी. ले पनि यी प्रतिवादीहरू रविन पुनको पछिपछि गएका हुन् भनी अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा लेखाई दिएको, कालीगण्डकीतर्फ फर्किएको अवस्थामा रविन पुनको जुत्ता फेला परेको र तत्पश्चात् पनि रविन पुनको अवस्था अज्ञात रहेको भन्ने आधारमा अपहरण तथा शरीर बन्धकको कसुर स्थापित भएको भनी पुनरावेदक प्रतिवादीहरूलाई कसुरदार ठहर्याएको देखिन्छ ।
६. जाहेरवाला निलप्रसाद पुनले दिएको यही जाहेरी दरखास्तको आधारमा अनुसन्धान भई सीता पुर्जाको होटलमा भएको वारदातका सम्बन्धमा वादी निलप्रसाद पुनको जाहेरीले नेपाल सरकार प्रतिवादी टेकबहादुर पुर्जासमेत भएको संवत् २०७१ सालको स.फौ.नं. ०६०-०७१-००२४१/०७१-CR-००४४ को ज्यान मार्ने उद्योग मुद्दामा सुरू म्याग्दी जिल्ला अदालतले प्रस्तुत अपहरण तथा शरीर बन्धक मुद्दाका पुनरावेदक प्रतिवादीहरू वारदात स्थलमा रहेकोसम्म देखिएको तर मनकुमार पुनउपर प्रहार गरेको नदेखिएकोले यी प्रतिवादीहरूले ज्यान मार्ने उद्योगको कसुर गरेको ठहर्दैन भनी मिति २०७३।२।२३ मा भएको फैसला उच्च अदालत पोखरा, बागलुङ इजलासबाट सदर भई अन्तिम भएर रहेको पाइन्छ ।
७. जाहेरवालाले छोरा रविन पुनलाई विपक्षीहरूले कर्तव्य गरी मारी लास कालीगण्डकीमा बगाएको भन्ने बेहोराको जाहेरी दरखास्त दिएको भए तापनि जाहेरवालाको छोरा रविन पुनलाई बल प्रयोग गरी डर, त्रास देखाई हतियारसमेत प्रयोग गरी प्रतिवादीहरूले अपहरण गरी कब्जामा लिई हालसम्म बेपत्ता बनाएकोले यी प्रतिवादीहरूलाई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ र २ नं. विपरीतको कसुर अपराध गरेकाले ऐ. महलको ३ नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत दाबी लिई वादीले अभियोगपत्र दायर गरेको देखिन्छ । मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको १ नं. हेर्दा "कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई डर, त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई, छलकपट गरी, झुक्यानमा पारी वा नशालु वा मादक पदार्थ सेवन गराई वा कुनै यातायातको साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई कुनै ठाउँमा जान बाध्य गराउन वा कुनै व्यक्तिलाई निजको मन्जुरीबिना वा नाबालक र मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको हितको निमित्त निजको बाबु, आमा वा संरक्षकको मन्जुरीबाहेक कुनै ठाउँमा लैजान हुँदैन । सो गरे अपहरण गरेको मानिने छ ।" भन्ने व्यवस्था रहेको छ ।
८. यसैगरी ऐ. महलको २ नं. ले "मानसिक रूपमा अस्वस्थ व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मन्जुरी लिई असल नियतले निजको हितको निमित्त थुनिएकोमा बाहेक कसैले कुनै व्यक्तिलाई बल प्रयोग गरी वा प्रयोग गर्ने धम्की दिई, डर, त्रास देखाई, जोरजुलुम गरी, हातहतियार देखाई, छलकपट गरी, झुक्यानमा पारी वा नशालु वा मादक पदार्थ सेवन गराई वा कुनै यातायातको साधन वा ठाउँ कुनै किसिमले कब्जामा लिई वा त्यसउपर अनधिकृत तवरले नियन्त्रणमा लिई थुन्न हुँदैन । सो गरे शरीर बन्धक लिएको मानिने छ" भनी शरीर बन्धक लिनेको कसुरको परिभाषा गरेको
पाइन्छ ।
९. प्रमाण ऐन, २०३१ को दफा २५ ले अभियोग दाबी प्रमाणित गर्ने भार वादीउपर रहेकोले अभियोजन पक्षले दाबी लिएबमोजिम यी पुनरावेदक प्रतिवादीहरू एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजा र जोगेन्द्र भन्ने जयन गर्बुजाले जाहेरवालाको छोरा रविन पुनलाई अपहरण गरी बन्धक बनाई राखेको हो भन्ने तथ्य निर्विवादित प्रमाणहरूबाट प्रमाणित गर्न सक्नु पर्दछ ।
१०. वादी पक्षबाट आफ्नो दाबी प्रमाणित गर्ने प्रयोजनका लागि अदालतसमक्ष प्रस्तुत गरेको गवाह जाहेरवाला निलप्रसाद पुनले अदालतसमक्ष बकपत्र गर्दा मिति २०७२।२।९ गते बेलुका सीता पुर्जाको पसलमा खाजा खाइरहेको अवस्थामा प्रतिवादीहरू घरभित्र पसी मनकुमार पुनलाई खुकुरी प्रहार गरी पल्टाई अरूलाई बाहिर निकाली रविन पुनलाई एक्लै पारी कालीगण्डकीतिर मारी फालेका हुन् । कर्तव्य ज्यान मुद्दा चलाउनुहोस् भन्दा सरकारी वकिलले लास नभेटिएकोले अपहरणमा मुद्दा चलाउनुपर्छ भनेका हुन् भनी बकाई लेखाई दिएबाट प्रस्तुत मुद्दामा जाहेरवालाको बकपत्रको बेहोरा सम्बद्ध प्रमाणको रूपमा स्वीकारयोग्य रहेको देखिँदैन । दोस्रो, जाहेरवालाको जाहेरीको बेहोराको सम्बन्धमा अभियोजन पक्ष स्वयंले विश्वास गर्न नसकी जाहेरवालाले आफ्नो छोरा रविन पुनलाई आक्रमण गरी साथमा रहेको धनमाल, सुनसमेत लुटी डाँका, चोरी गरी कर्तव्य गरी मारी छोराको लास कालीगण्डकीमा फालेको भन्ने बेहोराको जाहेरी दरखास्त दिए तापनि चोरी, डाँका र कर्तव्यतर्फ अभियोजन गर्न सकेको देखिएन ।
११. सुरू म्याग्दी जिल्ला अदालत र उच्च अदालत पोखरा, बागलुङ इजलासले प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयान र सहअभियुक्तको पोललाई निर्णायक प्रमाणको रूपमा स्वीकार गरी अपहरण तथा शरीर बन्धकको कसुरको वारदात स्थापित भएको भन्ने ठहरमा पुगेकोले उक्त प्रमाणहरूको मूल्याङ्कन गरिनुपर्ने देखिन आयो ।
१२. प्रस्तुत जाहेरी दरखास्तकै आधारमा म्याग्दी जिल्ला अदालतमा यिनै प्रतिवादीहरूसमेत उपर दायर भएको संवत् २०७१ सालको स.फौ.नं.०६०-०७१-००२४/०७१-CR-००४४ को ज्यान मार्ने उद्योग मुद्दामा सीता पुर्जाको होटलमा प्रतिवादी धर्मेन्द्र सिंजालीले पीडित मनकुमार पुनलाई खुकुरीले प्रहार गरेको र प्रतिवादी सुजन गर्बुजाले पीडितलाई दाउराले निधारमा प्रहार गरेकोले यी प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १५ नं. बमोजिमको कसुर गरेको पुष्टि हुन आयो । जोगेन्द्र भन्ने जयन गर्बुजा, एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजासमेतका अन्य प्रतिवादी वारदात मितिमा दिउँसो भलिबल खेल्ने समयमा निजहरूसमेत भलिबल ग्राउन्डमा पीडित मनकुमार पुन र प्रतिवादी धर्मेन्द्र सिंजाली र घनश्याम गर्बुजासँग साथै रहेको भन्ने देखिए तापनि पीडित मनकुमार पुनलाई निजहरूले के, कस्ता किसिमबाट प्रहार गरेका वा पीडितसँग निजहरूको पूर्वरिसइवी रहेको भन्ने मिसिल संलग्न वस्तुनिष्ठ प्रमाण कागजातहरूबाट देखिन आउँदैन । केवल वारदातस्थल वरिपरि मौजुद रहेको भन्ने मात्र आधारमा आशंकाको आधारमा फौजदारी कसुरमा कसुरदार ठहर्याउन विवेकसम्मत नहुने भएकोले निजहरूलाई प्रस्तुत मुद्दाको अभियोग दाबीबाट सफाइ हुने ठहर्छ भनी फैसला भएको देखिन्छ ।
१३. ज्यान मार्ने उद्योग मुद्दाको तथ्यमा नै आधारित भई प्रस्तुत अपहरण तथा शरीर बन्धक मुद्दामा पनि प्रतिवादीहरूउपर अभियोग दाबी गरिए पनि सुरू तथा पुनरावेदन सुन्ने अदालतको ज्यान मार्ने उद्योग मुद्दामा भएको फैसलाबाट मिति २०७२।२।९ गते सीता पुर्जाको होटलमा मनकुमार पुनलाई धर्मेन्द्र सिंजालीले खुकुरीले प्रहार गरेको र प्रतिवादी सुजन गर्बुजाले दाउराले हानेको तथा प्रस्तुत मुद्दाका पुनरावेदक प्रतिवादीहरू सन्देश गर्बुजा र जयन गर्बुजा वारदातस्थलमा वरिपरि मौजुद रहेको भन्नेसम्मको तथ्य स्थापित भइरहेको देखिन्छ ।
१४. सोही वारदात स्थलमा मनकुमार पुनउपर प्रहार भएपछि साथमा रहेका रविन पुन होटलपछाडिबाट भागी गएको अवस्थामा प्रतिवादीहरू धर्मेन्द्र सिंजाली, सन्देश गर्बुजा र जयन गर्बुजाले लखेटी कालीगण्डकीतर्फ जान बाध्य बनाएको र तत्पश्चात् रविन पुनको अवस्था अज्ञात रहन गएको भन्ने आधारमा प्रस्तुत अभियोगपत्र दायर भएको देखिन्छ ।
१५. पुनरावेदक प्रतिवादी सन्देश गर्बुजाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०७२।२।९ गते १९:३० बजेको समयमा सीता पुर्जाको होटलबाट मनकुमार पुनले हामीहरूलाई ओ धर्मेन्द्र यता आइज भनी बोलाएकोले धर्मेन्द्र सिंजाली त्यहाँ जाँदा दुवैतर्फ विवाद हुँदाहुँदै हानाहान भएको, हानाहान हुँदा मनकुमार सोही ठाउँमा ढलेपछि सुजन गर्बुजाले दाउराले निधारमा प्रहार गरेको अवस्थामा देखेको हुँ, त्यसपछि होटल साहुनी सीता पुर्जाले धर्मेन्द्र सिंजाली र सुजनलाई समातेको थिइन् । रविन पुन नालीको बाटो हुँदै दौडिँदै होटलपछाडितर्फ गएको देखेको हुँ, त्यसपछि निजहरू गएतर्फ धर्मेन्द्र, जयन्द्र र म खोज्दै गएका थियौँ । कहीँकतै फेला नपरेपछि म आफ्नो घरतर्फ गएको हुँ भनी लेखाई दिएको पाइन्छ ।
१६. त्यसैगरी यी प्रतिवादी सन्देश गर्बुजाले अदालतसमक्ष बयान गर्दा मिति २०७२।२।९ गते भलिबल खेलिसकेपछि हामीहरू चौतारामा बसिरहँदा मनकुमार पुनले हामीहरूसँग निहुँ खोजिरहेका थिए । हातमा खुकुरीसमेत लिएका थिए । धर्मेन्द्र घर जाँदा मनकुमार पनि पछि लागेपछि झगडा हुन सक्छ भनी हामीहरूसमेत धर्मेन्द्रको घरमा गई पछि पुन: चौतारामा आई बसेका हौं । धर्मेन्द्रले पार्टी गर्छु भनी भनेकोले जयनको घरमा जान भनी हिँडेका थियौं । सीता पुर्जाको होटलतिर आउँदा त्यहीँ बसेका मनकुमार पुनसमेत चिच्याउँदै भागेका हुन् । हामीहरूले कुनै गल्ती गरेका छैनौं भनी लेखाई दिएको देखिन्छ ।
१७. अर्का पुनरावेदक प्रतिवादी जयन गर्बुजाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मिति २०७२।२।९ गते धर्मेन्द्र सिंजालीले नास्ता खुवाउँछु भनी भनेकोले सीता पुर्जाको होटलमा जाँदै गर्दा होटलमा रविन पुन र मनकुमार पुन रक्सी खाँदै थिए । मनकुमारले धर्मेन्द्रलाई तँ यहाँ आइज भनी बोलाएपछि विवाद हुँदा म, यमबहादुर के.सी., सुजन गर्बुजा, टेकबहादुर पुर्जा सँगै भित्र गयौं । भित्र जाँदा दुवै पक्षबिच हानाहान भएको थियो । मैले बोतलले रविन पुनको टाउकोमा प्रहार गर्न खोज्दा निजले छलेकोले धर्मेन्द्रको बायाँ हातमा लाग्न गएको हो । दुवै पक्षबिच हानाहान हुँदा पछाडिबाट रविन पुन र मनकुमार पुन भागेका हुन् । यिनीहरूलाई छोड्न हुँदैन भनी हामी खोज्न जाँदा भेटेको होइन । रविन पुनलाई अपहरण गरेको पनि होइन भनी लेखाएको पाइन्छ ।
१८. यी प्रतिवादी जयन गर्बुजाले अदालतमा बयान गर्दा भलिबल खेल सकिएपछि रविन, सन्दिप, दिनेशसमेत सीता पुर्जाको होटलमा गएका
रहेछन् । हामीहरू चौतारीमा बसिरहेकोमा पीडित भन्ने व्यक्तिहरू सोही ठाउँमा आई नराम्रो शब्द बोलिरहेका थिए । हामी खाजा खान मेरो घरतर्फ जाँदा सीता पुर्जाको होटलनजिक पुग्दा पीडित भनेका व्यक्ति भाग्दै थिए । कोसँग झगडा भयो थाहा भएन । मैले कुनै अपराध गरेको छैन भनी लेखाई दिएको पाइन्छ ।
१९. यसरी पुनरावेदक प्रतिवादी सन्देश गर्बुजा र जयन गर्बुजाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मनकुमार पुन र रविन पुनसँग भलिबल खेलेको, बेलुका सीता पुर्जाको होटलमा खाना खाने क्रममा मनकुमार पुनसँग धर्मेन्द्र सिंजालीको कुटपिट, हानाहान भएको र कुटपिट वारदातस्थल सीता पुर्जाको होटलपछाडिबाट मनकुमार पुन र रविन पुन भागी गएको र निजहरूलाई खोज्न पछिपछि यी प्रतिवादीहरू पनि गएको, मनकुमार पुन र रविन पुन फेला नपरेपछि फर्की आएको भन्ने तथ्य स्वीकार गरेको देखिन्छ । तर यी प्रतिवादीहरूले अदालतसमक्ष बयान गर्दा मनकुमार पुन र रविन पुनलाई खोज्न गएको भन्ने तथ्यमा समेत इन्कार रहेका छन् ।
२०. यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको तथ्यलाई प्रमाणमा ग्रहण गर्नुभन्दा पहिले बयानमा उल्लेख भएका कुराहरू स्वतन्त्र एवं तथ्ययुक्त अन्य प्रमाणहरूबाट समर्थित भएको छ, छैन भन्ने हेर्नु
पर्दछ । प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्षको बयानलाई नै आधार बनाई सुरू अदालतले ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादीहरूलाई दोषी करार गरेको र उच्च अदालतसमेतबाट सदर भइरहेको छ । तर त्यहीँ बयानलाई आधार बनाई यी प्रतिवादीहरूउपर अपहरण तथा शरीर बन्धकको कसुरमा अभियोग दायर गरिएको र सुरू तथा उच्च अदालत पोखरा, बागलुङ इजलासले कसुर ठहर गरेको देखिन्छ ।
२१. सीता पुर्जाको होटल पछाडिबाट गएका मनकुमार पुन र रविन पुनलाई यी प्रतिवादीहरूले खोज्न गएको र फेला नपरेपछि फर्की आएको भन्ने तथ्य शंकारहित तवरले प्रमाणित भएको भनी मान्ने हो भने पनि त्यसैबाट रविन पुनको अपहरण भएको र निजलाई बन्धक बनाइएको कसुर पुष्टि भएको भन्न मिल्दैन । घटनाको कुनै तथ्य स्विकार्नु र आरोपित कसुर स्वीकार गर्नु बिलकुल फरक फरक विषय हो । प्रतिवादीहरूले रविन पुनलाई बल प्रयोग गरी डर, त्रास देखाई, जोरजुलुम गरी, हतियार देखाई वा छलकपट गरी आफ्नो नियन्त्रणमा लिई यातायात वा अन्य कुनै माध्यम प्रयोग गरी अन्यत्र जान बाध्य गराएको भन्ने तथ्य शंकारहित प्रमाणबाट पुष्टि नभएसम्म अपहरणको कसुर वारदात स्थापित भएको मान्न मिल्दैन । त्यसैगरी रविन पुनलाई प्रतिवादीहरूले बल प्रयोग गरी डर, त्रास देखाई वा हतियार देखाई कुनै यातायातको साधनमा वा कुनै ठाउँमा नियन्त्रणमा लिई राखेको वा थुनेको तथ्य प्रमाणित नभएसम्म शरीर बन्धकको कसुरको वारदात स्थापित भएको मान्न मिल्दैन ।
२२. प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा सीता पुर्जाको होटलबाट रविन पुन भागेपछि खोज्न गएको र रविन पुन फेला नपरेपछि फर्की आएको भन्नेसम्म लेखाई दिएको तथा अपहरण तथा शरीर बन्धकको कसुरबाट सफाइ पाएका टेकबहादुर पुर्जा, रमेश विश्वकर्मा, सुजन गर्बुजा भन्ने घनश्याम गर्बुजा र यामबहादुर खत्रीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा होटलपछाडि गएका रविन पुनको पछिपछि सन्देश गर्बुजा र जयन गर्बुजासमेत गएको भनी लेखाई दिएकैबाट रविन पुनको अपहरण भएको भन्ने तथ्य स्थापित हुँदैन ।
२३. त्यसैगरी सुरू म्याग्दी जिल्ला अदालतले आफ्नो फैसलामा रविन पुन सीता पुर्जाको होटलबाट भागी गएपछि प्रतिवादीहरूले निजलाई पछिपछि खोज्दै गएको र घटना स्थलबाट कालीगण्डकीतर्फ बिचमा रविन पुनको जुत्ता बरामद भएको तथा तत्पश्चात् रविन पुनको अवस्था अज्ञात रहन गएको भन्ने जस्ता परिस्थितिजन्य प्रमाणबाट अपहरणको कसुर स्थापित भएको छ भनी उल्लेख गरेको आधारका सम्बन्धमा हेर्दा कसैबाट कुनै कसुरको वारदात भएको भन्ने तथ्य स्थापित गर्न सो तथ्य शंकारहित तवरबाट प्रमाणित भएको देखिनु नै पर्दछ । कुनै वारदात प्रमाणित गर्न परिस्थितिजन्य प्रमाणको आधार लिइँदा सम्बद्ध तथ्यहरूको अन्योन्याश्रित सम्बन्ध देखिनु पर्दछ । एक तथ्य अर्को तथ्यसँग मालाकार रूपमा गाँसिएर रहेको र त्यसबाट निर्विवाद निष्कर्षमा पुगेको हुनु पर्दछ ।
२४. परिस्थितिजन्य प्रमाण जहिले पनि प्रत्यक्ष र निर्विवादित हुनु पर्दछ । परिस्थितिजन्य प्रमाण अनुमान र अन्दाजबाट समर्थित हुने विषय पनि होइन । फैसलामा परिस्थितिजन्य प्रमाण भनी उल्लेख गर्दैमा पर्याप्त हुँदैन । त्यस्तो परिस्थितिजन्य प्रमाणको उपस्थिति मिसिलबाट देखिनु पनि
पर्छ । प्रस्तुत मुद्दामा अदालतले रविन पुनको अपहरण भएको तथ्य ठहर गर्नुपर्ने भएकोले प्रतिवादीहरूले रविन पुनलाई लखेटेको, रविन पुनलाई फेला पारेको, रविन पुनलाई डर, धाक देखाई वा कुनै हतियार देखाई वा अन्य कुनै किसिमबाट बल प्रयोग गरी नियन्त्रणमा लिई यातायातको साधन वा अन्य कुनै तवरले अर्को ठाउँमा लगेको र थुनामा राखेको भन्नेसम्मको तथ्य परिस्थितिजन्य प्रमाणहरूको कडीबाट प्रमाणित हुन पर्दछ । तर प्रस्तुत मुद्दामा त्यस्ता सम्बद्ध तथ्यहरूको सर्वथा अभाव देखिन्छ । प्रतिवादीहरूले रविन पुनलाई खोज्दै हिँडेको र कालीगण्डकीतर्फ फर्किएको अवस्थामा रविन पुनको जुत्ता फेला परेको भन्ने यी दुई तथ्यहरूले मात्र रविन पुनको अपहरणको वारदात पुष्टि गर्न सक्ने परिस्थितिजन्य प्रमाणको स्थान ग्रहण गर्न सक्दैन ।
२५. वादी दाबी प्रमाणित गर्ने दायित्व वादीउपर नै रहेको हुन्छ । वादी तर्फबाट आफ्नो अभियोग दाबीअनुसारको वारदात भएको भन्ने तथ्य नै प्रथमदृष्टिमा स्थापित गरेको देखिनु पर्दछ । फौजदारी मुद्दामा वादीले पहिले आपराधिक घटना भएको भन्ने तथ्य (Corpus delicti) नै प्रमाणित र स्थापित गर्न सक्नु पर्दछ । आपराधिक घटनाको वारदात स्थापित भइसकेपछि मात्र अभियोग लगाइएको व्यक्तिले नै त्यस्तो अपराध गरेको हो भनी प्रमाणित गर्नु पर्दछ । कुनै पनि व्यक्तिलाई त्यस बेलासम्म दोषी करार गर्न सक्दैन जबसम्म वादी दाबीअनुसारको आपराधिक वारदात भएको तथ्य स्थापित हुँदैन ।
२६. आपराधिक वारदात भएको तथ्य स्थापित हुनु पर्दछ भन्ने कुरा प्रमाणसम्बन्धी नियमका साथै फौजदारी कानूनको आधारभूत व्यवस्था पनि
हो । आपराधिक वारदात स्थापित नभएसम्म प्रतिवादीले अपराध गरेको भनी साबित भए पनि उक्त साबितीलाई प्रमाणको रूपमा स्वीकार गर्नु हुँदैन भन्ने नै प्रमाणको नियम हो । त्यसैगरी अभियोजन पक्षले आपराधिक घटनाको वारदात (Corpus delicti) स्थापित नगरेसम्म कसैलाई कसुरदार बनाइनु हुँदैन भन्ने फौजदारी कानूनको आधारभूत नियम हो ।
२७. तसर्थ, कुनै पनि फौजदारी कसुरको अभियोगमा कसैलाई दोषी ठहर गर्न सर्वप्रथम आपराधिक घटनाको वारदात स्थापित भएको हुनु
पर्दछ । कुनै पनि व्यक्ति काल्पनिक वारदात वा अनुमानित वारदातको लागि दोषी ठहर्नु हुँदैन भन्ने फौजदारी न्यायको स्थापित मान्यतालाई हाम्रो फौजदारी विधिशास्त्रले स्वीकार गर्दै आएको छ । प्रस्तुत मुद्दामा वादी दाबीअनुसारको वारदात भएको तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको कानूनी व्यवस्थातर्फ पनि अभियोजन पक्षको ध्यान पुग्न सकेको देखिँदैन ।
२८. अनुसन्धान तहकिकातबाट सही तथ्यको ठोस र शंकारहित प्रमाणहरूको सङ्कलन गरी अभियोजन गर्नुपर्ने दायित्व बोकेको वादीको तर्फबाट दायर गरिएको प्रस्तुत मुद्दाको अभियोगपत्र अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलले गरेको कानूनी व्यवस्थाअनुसार मिलेको स्थिति देखिँदैन । अपुरो, अधुरो र कमजोर अनुसन्धान तहकिकात, जाहेरी दरखास्त र जाहेरवालाको बकपत्रबाट विरोधाभाष देखिएको तथ्यहरूको आधारमा गरिएको अभियोजन र आफूले लिएको दाबी स्थापित गराउन न्यूनतम प्रमाणसमेत प्रस्तुत गर्न नसकेको अवस्थामा शंका, अनुमान र अन्दाजको आधारमा गरिएको अभियोग दाबीको आधारमा कसैलाई कसुरदार ठहर्याउन न्यायोचित हुँदैन ।
२९. अत: उल्लिखित एवम् विवेचित आधार र कारणहरूबाट प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूले जाहेरवालाको छोरा रविन पुनलाई अपहरण गरेको र बन्धक बनाएको वारदात नै अभियोजन पक्षले स्थापित गर्न नसकेको तथा आपराधिक घटनाको वारदात नै स्थापित हुन नसकेको अवस्थामा कुनै पनि व्यक्तिउपर फौजदारी कसुरमा अभियोजन नै हुन नसक्ने भन्ने फौजदारी कानूनको आधारभूत सिद्धान्तसमेत भएकोले यी प्रतिवादीहरू जोगेन्द्र भन्ने जयन गर्बुजा र ऐकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजालाई वादी दाबीबमोजिम आरोपित कसुर गरेको ठहर्याई मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद तथा रू.५०,०००।- जरिवाना हुने र ऐ. महलको ७ नं. बमोजिम जनही २/२ वर्ष थप कैदसमेत हुने ठहर्याएको सुरू म्याग्दी जिल्ला अदालतको मिति २०७३।२।२३ को फैसलालाई सदर हुने ठहर्याई उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७४।३।२८ मा भएको फैसला मिलेको नदेखिँदा उल्टी भई पुनरावेदक प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने
ठहर्छ ।
३०. अभियोग दाबीअनुसारको रविन पुनको अपहरण गरी शरीर बन्धक बनाएको भन्ने कसुरको वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी बस्ने प्रतिवादी धर्मेन्द्र सिंजालीको हकमा तत्कालीन मुलुकी ऐन, अ.बं. २०५ नं. बमोजिम विचार गर्नुपर्ने हुन आई त्यसतर्फ विचार गर्दा अ.बं. २०५ नं. मा "एकै मुद्दामा हार्ने झगडियामध्ये कसैको पुनरावेदन उजुर परेकोबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सो इन्साफ वा सजाय उल्टाई फैसला गर्दा पुनरावेदन उजुर नदिने झगडियाका हकमा समेत इन्साफ सजाय उल्टीन जाने भयो भने त्यस्तोमा पुनरावेदन उजुर परेको छैन भनी सदर गरिदिनु हुँदैन । पुनरावेदन उजुर नदिनेका हकमा समेत पुनरावेदन उजुर दिनेसरह उल्टाई छिनिदिनुपर्छ" भन्ने व्यवस्था भएको पाइन्छ । उक्त कानूनी व्यवस्थाबाट कुनै फौजदारी कसुरको सम्बन्धमा चलेको मुद्दामा झगडिया भई कसैको पुनरावेदन परी पुनरावेदन सुन्ने अदालतले इन्साफ जाँच गर्दा निज पुनरावेदकको हकमा इन्साफ वा सजाय उल्टी हुन्छ भने पुनरावेदन नगर्ने झगडियाको हकमा पनि कानून र न्यायको सिद्धान्तमा एकरूपता कायम गर्न त्यस्तो व्यक्तिको हकमा पनि इन्साफ वा सजाय उल्टाई निर्णय निरूपण गर्नुपर्ने देखिन्छ । यस सम्बन्धमा फिदिम घर भई कमलपोखरी डेरा गरी बस्ने सुभाष नेवाङ विरूद्ध श्री ५ को सरकार भएको राजकाज मुद्दामा पुनरावेदनबाट इन्साफ जाँची निर्णय गर्दा पुनरावेदन नपर्नेको हकमा समेत इन्साफ उल्टिने भयो भने निजको हकमा समेत इन्साफ उल्टाई निर्णय गर्नुपर्ने भन्ने कानूनमा व्यवस्था भएको प्रस्ट देखिने भनी यस अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको देखिन्छ । (ने.का.प. २०३६, भाग २१, अङ्क १, नि.नं.१३१२) ।
३१. तसर्थ, प्रस्तुत मुद्दामा पनि पुनरावेदन नगर्ने प्रतिवदी धर्मेन्द्र सिंजालीको हकमा विचार गर्दा पुनरावेदकहरू एकेन्द्र योगेन्द्र भन्ने सन्देश गर्बुजा र जोगेन्द्र भन्ने जयन गर्बुजालाई जुन प्रमाण र कारणको आधारमा अभियोग कायम गरी सजाय गरिएको थियो सोही आधार र प्रमाणकै आधारमा प्रतिवादी धर्मेन्द्र सिंजालीलाई सजाय गरेको देखिँदा अभियोग दाबीबमोजिमको वारदात नै स्थापित हुन नसकेकोले पुनरावेदन नगर्ने यी प्रतिवादी धर्मेन्द्र सिंजालीले अभियोग दाबीबमोजिमको कसुर गरेको भन्नु न्यायको रोहमा मिल्ने नदेखिँदा निज प्रतिवादी धर्मेन्द्र सिंजालीले पनि अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल खण्ड
१. माथि ठहर खण्डमा उल्लेख भएबमोजिम उच्च अदालत पोखरा, बागलुङ इजलासबाट मिति २०७४।०३।२८ मा भएको फैसला उल्टी भई प्रतिवादीहरू जोगेन्द्र भन्ने जयन गर्बुजा, एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजा र धर्मेन्द्र सिंजालीले सफाइ पाउने ठहरेकाले निज प्रतिवादीहरूमध्ये प्रतिवादी जोगेन्द्र भन्ने जयन गर्बुजा र एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजा यस अदालतको मिति २०७७।१०।१० को संक्षिप्त आदेशद्वारा कैदमुक्त भइसकेको देखिँदा निज प्रतिवादीहरूका नाउँको लगत कट्टा गर्नु र प्रतिवादी धर्मेन्द्र सिंजालीको हकमा समेत प्रस्तुत मुद्दामा म्याग्दी जिल्ला अदालत तथा उच्च अदालत पोखरा, बाग्लुङ इजलासको फैसलाअनुसार निजका नाउँमा राखेको कैदको लगत कट्टा गर्नु भनी सुरू म्याग्दी जिल्ला अदालत तहसिल शाखामा लेखी
पठाउनू------------------------------------------१
२. प्रस्तुत मुद्दा विद्युतीय प्रमाणित अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ------------------२
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृत : मञ्जु शर्मा
इति संवत् २०७७ साल माघ २२ गते रोज ५ शुभम् ।