निर्णय नं. १०६३१ - हाडनाता तथा जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७७।३।२६
०७३-CR-००६९
मुद्दा : हाडनाता तथा जबरजस्ती करणी
पुनरावेदक / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, नवलपुर गा.वि.स. वडा नं.३ स्थायी घरबास भई ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.२२ चाकुपाट बस्ने हाल जिल्ला कारागार शाखा नख्खुमा थुनामा रहेका परिवर्तित नाम चाकुपाट (ग)
विरूद्ध
प्रत्यर्थी / वादी : चाकुपाट (क) को जाहेरीले नेपाल सरकार
जबरजस्ती करणी मुद्दामा पीडितले व्यक्त गरेका कुराहरू कृत्रिम र बनावटी जस्तो देखिएको, अन्य प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको तथा पीडितको भनाइमा निकै विरोधाभाष भई शंकास्पद देखिएको अवस्थामा बाहेक पीडितको बयानमा सत्यता छ भन्ने अदालतले अनुमान गर्नुपर्ने ।
(प्रकरण नं.५)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लवप्रसाद मैनाली र अधिवक्ता श्री ज्ञानबहादुर श्रेष्ठ
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य
जाहेरवालाको तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री शोभा पोख्रेल र श्री सन्तोष महर्जन
अवलम्बित नजिर :
ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९
ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१०
ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री टेकनारायण कुँवर
ललितपुर जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्नेः
माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट
माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय
पुनरावेदन अदालत पाटन
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ ।
तथ्य खण्ड
मेरो छोरी वर्ष १५ की हाल परिवर्तित नाम जावलाखेल (छ) कक्षा ९ मा अध्ययन गर्दै आइरहेकी छन् । छोरीको जुत्ता सानो भएको कारणले मिति २०७१।०१।२४ गतेका दिन स्कुल नगई कोठामा नै बसेकी थिइन् । मेरो श्रीमान् परिवर्तित नाम चाकुपाट (ग) नाइटमा सवारी चालकको काम गर्ने र दिनभर कोठामा नै सुत्ने गर्नुहुन्थ्यो । सो दिनमा पनि श्रीमान् कोठामा नै सुतिरहनु भएको थियो । म जाहेरवाला कामको सिलसिलामा कोठाबाट बाहिर गएको बखत उक्त दिन दिउँसो अं.१४:०० बजेको समयमा आफ्नै कोठा चाकुपाटमा आफ्नै छोरी वर्ष १५ की जावलाखेल (छ) लाई कोठामा चुकुल लगाई‚ धाक धम्की दिई‚ डर त्रासमा पारी जबरजस्ती करणी गरेको र सो कुरा कसैलाई नभन्नु‚ भनेमा तेरो आमा र तँलाईसमेत जे पनि गर्न गराउन सक्छु भनी धाकधम्की दिएको
रहेछ । छोरीले सो कुरा फोनबाट मेरी बहिनीलाई बताएकी हुँदा मैलेसमेत थाहा पाएकोले यो जाहेरी दिन आएकी छु । निज प्रतिवादीलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम चाकुपाट (क) को मिति २०७१।०१।२९ जाहेरी दरखास्त ।
ललितपुर जिल्ला‚ ललितपुर उ.म.न.पा.‚ वडा नं. २२‚ चाकुपाट सैंठु गणेश स्थित पूर्वमा ज्यापु कल्याण भवन तथा खाली पार्क रहेको, पश्चिममा खाली जग्गा, उत्तरमा शर्मिला महर्जनको साढे दुई तले पक्की घर, दक्षिणमा खाली जग्गा यति चार किल्लाभित्र विन्दे कुमालको साढे पाँच तले पक्की घरको मूल ढोकाबाट प्रवेश गरी हेर्दा सो घरको पहिलो तल्लामा २ वटा कोठाहरू रहेको‚ सो कोठामध्ये पश्चिमतर्फको कोठाको ढोकाबाट प्रवेश गरी हेर्दा भुइँमा खैरो रंगको कार्पेट बिछाइएको‚ सो कोठाको उत्तरपट्टि स्टिलको दराज रहेको‚ सोही छेउमा कागजको कार्टुनहरू रहेको‚ सोही छेउमा काठको दराज रहेको‚ सोही छेउमा विस्तरासहितको काठको लो बेड रहेको‚ सो कोठाको पश्चिमतर्फ २ वटा झ्याल रहेको‚ सोही कोठामा टाटमाथि निलो रंगमा सेतो बुट्टा ओछ्याइएको गलैँचा‚ सोही नजिकै पूर्वतर्फ अर्थात् कोठाको बायाँतर्फ काठको घर्रासहितको टेबुलमाथि कम्प्युटर सेट रहेको । सोही स्थानदेखि दक्षिणतर्फ रहेको विस्तरासहितको पलङमा परिवर्तित नाम चाकुपाट (ग) ले आफ्नै छोरी परिवर्तित नाम जावलाखेल (छ) लाई मिति २०७१।०१।२४ गते जबरजस्ती करणी गरिएको भनिएको स्थानको चार किल्ला विवरणसहितको घटनास्थल मुचुल्का ।
चाकुपाट (क) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) भएको जबरजस्ती करणी मुद्दामा प्रतिवादीलाई खोज तलास गर्दै जाँदा मिति २०७१।०१।२९ गते ललितपुर जिल्ला‚ ल.पु.उ.म.न.पा.‚ वडा नं. २२‚ चाकुपाट सैंठु गणेश भन्ने स्थानमा स्थानीय मानिसहरूले घेरी कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारी तत्काल नियन्त्रणमा लिई औषधी उपचारसमेत गराई आवश्यक कारबाहीको लागि यसै प्रतिवेदनसाथ दाखिला गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन ।
जाहेरवाला परिवर्तित नाम चाकुपाट (क) मेरो आमा हुन् । प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) मेरो बुबा हुन् । आमा प्रायः जसो दिउँसो सधैँ कोठाबाहिर काममा जाने गर्नुहुन्छ । बुबाले नाइट सवारी साधन चलाउने (ड्राइभिङ) गर्नुहुन्छ । बुबा दिउँसो घरमा नै बस्नु हुन्छ । त्यसै क्रममा आजभन्दा ४ वर्षअगाडि बुबाले मलाई पहिलो पल्ट आफ्नै डेरा कोठामा आमा तथा भाइ घरमा नभएको अवस्थामा जबरजस्ती‚ डर‚ त्रास देखाई कोठाको चुकुल लगाई करणी गरेका थिए । त्यसपश्चात् बुबाले लगातार पटकपटक गरी चार वर्षदेखि करणी गर्दै आई अन्तिम पटक मिति २०७१।०१।२४ गतेका दिनसम्म मलाई डर‚ त्रासमा पारी करणी गर्दै आइरहनु भएको थियो । निज बुबाको डरले उक्त कुरा कोही कसैलाई नभनी डराई बसेकी थिएँ । मिति २०७१।०१।२४ गतेका दिन मेरो स्कुल जाने जुत्ता सानो भएकाले आमाले जुत्ता साटेर ल्याइदिन्छु‚ आज घरमा नै बस भनी आफू बाहिर जानु भएको थियो । उक्त दिन बुबा पनि घरमा नै बस्नु भएको थियो । दिउँसो अं. १४:०० बजेको समयमा आमा बाहिर गएको मौका छोपी‚ निज बुबाले कोठा बन्द गरी‚ चुकुल लगाई मलाई बुबा आमा सुत्ने विस्तरामा लडाई‚ मेरो कपडा खोली‚ निजको लिङ्गमा कण्डमसमेत लगाई मलाई जबरजस्ती करणी गरेका हुन् । सो दिन मलाई करणी गरेको कुरा मैले आमाको बहिनी मेरो सानी आमालाई बताएपश्चात् निजले आमा तथा घरका परिवारलाई बताएकोले मेरो आमाले जाहेरी दिएको हो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम जावलाखेल (छ) ले घटनाबारे खुलाई लेखाई दिएको कागज ।
पीडित परिवर्तित नाम जावलाखेल (छ) को योनि झिल्ली च्यातिएको‚ स्तनमा दधारिएको चिह्नहरू भएको भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित जावलाखेल (छ) को पाटन अस्पतालको च.नं. ३२० मिति २०७१।१।२९ गतेको पत्रसाथ प्राप्त स्वास्थ्य परीक्षण प्रतिवेदन ।
ललितपुर जिल्ला‚ ल.पु.उ.म.न.पा.‚ वडा नं. २२‚ चाकुपाट सैंठु गणेश स्थित जाहेरवालाको छोरी वर्ष १५ को परिवर्तित नाम जावलाखेल (छ) लाई निजको बुबा परिवर्तित नाम चाकुपाट (ग) ले विगत ४ वर्षअगाडिदेखि विभिन्न डर‚ त्रास, धाक‚ धम्की दिई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गर्दै आएका रहेछन् । मिति २०७१।०१।२४ गतेका दिन दिउँसो १४:०० बजेको समयमा घरमा कोही नभएको अवस्थामा निज प्रतिवादीले आफ्नै छोरी परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको भन्ने थाहा पाएको हुँ । निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत अनुसन्धानको क्रममा बुझिएका पुरूषोत्तम राजभण्डारी, अमृत राजभण्डारी र सूर्यमान राजभण्डारीसमेतका मानिसहरूको एकै मिलान बेहोराको घटना विवरण कागज ।
जाहेरवाला हाल परिवर्तित नाम चाकुपाट (क) मेरो दिदी हुन् । हाल परिवर्तित नाम पीडित जावलाखेल (छ) मेरो दिदीको छोरी हुन् । निज प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) मेरो भिनाजु तथा जाहेरवालाको श्रीमान् हुन् । निज परिवर्तित नाम जावलाखेल (छ) मेरो दिदीको छोरी भए तापनि निजलाई केही समस्या, अप्ठ्यारो परेको कुरा मलाई भन्ने गर्दथिन् । मिति २०७१।०१।२४ गतेका दिन मेरो काठमाडौं स्थित घरमा निज जावलाखेल (छ) ले फोन गरी बुबाले मलाई विभिन्न अश्लील क्रियाकलाप गर्नु हुन्छ भनी रूँदै बताएकी हुँदा मिति २०७१।०१।२९ गतेका दिन म निजहरूको कोठामा आई घरका सबै मानिसहरूलाई राखी कुराकानी गर्दा निज परिवर्तित नाम जावलाखेल (छ) ले रूँदै मलाई बुबाले विगत ४ वर्षअगाडिदेखि जबरजस्ती करणी गर्दै आएको र सो कुरा कोही कसैलाई भनेमा तँ, तेरो आमा तथा मामा घरका मान्छेहरूसमेतलाई मारी दिन्छु भनी धम्की दिने गरेका थिए । मिति २०७१।०१।२४ गतेका दिनसमेत कोठामा आमा नभएको मौका पारी मलाई बुबा आमा सुत्ने विस्तरामा सुताई जबरजस्ती करणी गरेको हो । बुबाले डरले मैले सो कुरा उक्त दिन फोनमा नभनेकी हुँ भनी बताएकी हुन् भन्नेसमेत बेहोराको मन्दिता राजभण्डारीले गरेको कागज ।
मिति २०७१।०१।२९ गतेका दिन मैले परिवर्तित नाम चाकुपाट (ग) को विरूद्धमा राजीखुसीले नै जाहेरी दिएकी हुँ । उक्त जाहेरी दरखास्तमा उल्लिखित बेहोरा मेरो नै हो । मेरो श्रीमान् परिवर्तित नाम चाकुपाट (ग) ले बताएअनुसार अं. ४ वर्षअगाडि राति सँगै निजसँग सुतेकी छोरीको कपडा सुरूवाल खोली निजको योनिमा जिब्रोले चुसिरहेको अवस्थामा मैले राति उठ्दा देखी गाली गरेको र निज श्रीमान्ले माफी मागेको हुँदा १ पटक सुध्रिने मौका देउ‚ अब आइन्दा यस्तो व्यवहार गर्दिन भनेकाले मैले हप्काई छाडिदिएकी थिएँ । त्यसपश्चात् निजले छोरीलाई दुर्व्यवहार गरेको मैले थाहा पाएकी थिइनँ । छोरीले समेत मलाई बताएकी थिइनन् । एक्कासी मिति २०७१।०१।२८ गतेका दिन मेरो बहिनी मन्दिता राजभण्डारीले बोलाई श्रीमान्ले छोरीलाई दुर्व्यवहार गरेको कुरा बताएकोले ऐ. २९ गते निज छोरीलाई म, बहिनी तथा अन्य परिवारका व्यक्तिसमेत भई सोधपुछ गर्दा निजले विगत ४ वर्षअगाडिदेखि नै डर‚ त्रास देखाई घरमा कोही नभएको मौका पारी छोरीलाई जबरजस्ती करणी गर्ने गरेका रहेछन् । अन्तिम पटक मिति २०७१।०१।२४ गतेका दिन म बाहिर गएको मौकामा निज छोरीलाई करणी गरेको कुरा मेरो बहिनीले बताएकी हुँदा मैले श्रीमान्को विरूद्धमा किटानी जाहेरी दिएकी हुँ भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम चाकुपाट (क) ले खुलाई लेखाई दिएको कागज ।
जाहेरवाला परिवर्तित नाम चाकुपाट (क) तथा निज प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) मेरो घर कोठामा स–परिवार बस्दै आएका छन् । निजहरू घरको भुईं तलामा बस्ने र म माथिल्लो तलामा बस्ने भएकाले काम पर्दा मात्र बोलचाल हुने गर्दछ । त्यसै क्रममा मिति २०७१।०१।२४ गतेका दिन म काम विशेषले बाहिर गएको थिएँ । ऐ. २९ गतेका दिनमा पनि काम भएकोले बिहान बाहिर गएको थिएँ । त्यसैक्रममा सोही दिन अं. १२:३० बजेको समयमा मेरो छिमेकीले मेरो घरमा झगडा भएको छ भनी खबर गरेकाले म घरमा आई बुझ्दा मेरै घरमा भाडामा बस्ने प्रतिवादी हाल परिवर्तित नाम चाकुपाट (ग) ले आफ्नै नाबालिका छोरी वर्ष १५ की परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको भनी निज प्रतिवादीका आफन्त तथा छरछिमेकीसमेतले घेरी कुटपिट गरेका रहेछन् भन्नेसमेत बेहोराको घरधनी विन्दे कुमालले गरेको कागज ।
जाहेरवाला परिवर्तित नाम चाकुपाट (क), म, छोरा तथा छोरी हाल परिवर्तित नाम जावलाखेल (छ) समेतको परिवार ललितपुर जिल्ला‚ ल.पु.उ.म.न.पा. वडा नं. २२‚ चाकुपाट सैंठु गणेश स्थित डेरा कोठा गरी बस्दै आएका थियौं । म नाइटमा गाडी चलाउने काम गरी परिवारको पालनपोषण गर्दै आइरहेको छु । त्यसैक्रममा अं. २ वर्षअगाडि मैले छोरी हाल परिवर्तित नाम जावलाखेल (छ) लाई राति सँगै आफू सुत्ने विस्तरामा सुताई श्रीमती तथा छोरालाई सोही कोठामा रहेको अर्को विस्तरामा सुत्न पठाई राति सुती राखेकी छोरीको कपडा सुरूवालसमेत खोली निजको योनिमा मैले जिब्रोले चुसी जिब्रो छोरीको योनिमा पसाली यौन क्रिडा गरी यौन आनन्द लिइरहेको अवस्थामा श्रीमती ट्वाइलेट जान उठेको अवस्थामा देखी श्रीमती रिसाई मलाई गाली गरेकोले मैले अब आइन्दा छोरीलाई यस्तो व्यवहार गर्दिन भनी माफी मागेपश्चात् श्रीमतीले अब आइन्दा यस्तो व्यवहार नगर भनी सम्झाएकी थिइन् । त्यसपश्चात् डेढ वर्षपहिला श्रीमतीको बहिनी सालीलाई पनि घुम्न जाउँ भनी काठमाडौं स्थित लजमा हाल नाम थाहा भएन‚ उक्त स्थानमा लगी करणी गर्न खोज्दा निज साली उक्त लजबाट भाग्न सफल भएकी थिइन् । छोरीलाई एक्लै भएको मौका पारी डर‚ त्रास, धाक‚ धम्की दिई निजको संवेदनशील अङ्गमा छुने, समाउने, स्तनहरू मुखले चुस्नेसमेतको कार्य गर्ने गरेको थिएँ । मिति २०७१।०१।२४ गते पनि मैले श्रीमती बाहिर गएको मौका पारी निज छोरी कोठामा भएको मौका पारी कोठाको चुक्कुल लगाई निजको गालालगायत संवेदनशील अङ्गहरूमा चुस्ने‚ चाट्ने तथा मुसार्नेसमेतका कार्य गरेको हुँ भने योनिमा मैले लिङ्ग घुसाउने करणी गर्ने कार्य गरेको छैन भन्नेसमेत बेहोराको प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) को अनुसन्धानको क्रममा भएको बयान ।
प्रतिवादी चाकुपाट (ग) उपर मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं., २ नं. र ३(३) नं. बमोजिमको तथा हाडनाता करणीको महलको १ नं. समेतको कसुर अपराधमा जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम र प्रतिवादी चाकुपाट (ग) ले आफ्नै छोरी वर्ष १५ की हाल नाम परिवर्तित जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको हुँदा निज प्रतिवादीलाई ऐ. महलको २ नं. ले निर्देशित गरेबमोजिम हाडनाता करणीको महलको १ नं. बमोजिमको सजाय थप हुनसमेत तथा जबरजस्ती करणीको महलको १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाटै मनासिब क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने बेहोराको अभियोग दाबी ।
मेरो श्रीमती‚ १ छोरी र १ छोरा छन् । मेरो बुबा र आमालाई मसँग राखेको विषयमा मेरी श्रीमतीसँग विगत ७-८ वर्षदेखि मनमुटाव भएकोले मेरी श्रीमतीले मउपर किटानी जाहेरी दिएको हुनुपर्छ । घटनास्थल मुचुल्काको बारेमा मलाई थाहा छैन । छोरीको केटा साथीले बेला-बेलामा फोन गर्ने गरेकोले फोन नगर भनी गाली तथा कुटपिट गर्ने गरेको कारण छोरीले विगत ४ वर्ष र मिति २०७१।०१।२४ गतेका दिन पनि जबरजस्ती करणी गरेको हो भनी कागज गरिदिएको हुनुपर्छ । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान मेरो होइन । प्रहरीले कुटपिट गरी बयान गराएको
हो । मलाई बेहोरा नसुनाई सहीछाप गर भनेकोले मैले सहीछाप गरेको हो । सहीछाप मेरो हो । मैले छोरीसँग हाडनाता तथा जबरजस्ती करणी नगरेको हुँदा मलाई सजाय हुनुपर्ने होइन भन्नेसमेत बेहोराको प्रतिवादी चाकुपाट (ग) ले सुरू अदालतमा गरेको बयान ।
म कक्षा ५ मा पढ्दादेखि बाबाले मलाई यौनजन्य दुर्व्यवहार गर्दै आउनु भएको हो । मलाई उहाँले ४-५ दिनको अन्तरमा जबरजस्ती करणी गर्नुहुन्थ्यो । मलाई चलाउने, कण्डम लगाई देखाउने, सर्ट पाइन्ट लगाएमा यस्तो नलगाउ, फ्रक लगाउ भन्नु हुन्थ्यो । म निदाउने बेलामा मेरो पाइन्टको चेन खोल्ने, आफ्नो सु गर्ने कुरा चलाउने र त्यहाँबाट निस्केको कुरा पनि मेरो मुखमा खुवाउने गर्नुहुन्थ्यो । अरूलाई भनेमा तेरो सब परिवार मारिदिन्छु । तेरो मामाघरको सबैलाई मारिदिन्छु र तँलाई पनि मारिदिन्छु भनी डर‚ त्रासमा पारी मलाई जबरजस्ती करणी गर्नुहुन्थ्यो भन्नेसमेत बेहोराको पीडित परिवर्तित नाम जावलाखेल (छ) ले अदालतमा गरेको बकपत्र ।
दुई वर्षअगाडि बाबुले छोरीलाई आफूसँग सुताई छोरीको सुरूवाल खोली योनिमा चुसिरहेको म आफैँले देखेको थिएँ । मेरो श्रीमान्ले मलाई अब म सुध्रिन्छु कसैलाई नभन र एक पटकलाई सुध्रिने मौका देउ भनेकाले मैले कसैलाई नभनेको हुँ । मिति २०७१।०१।२४ गते छोरीउपर जबरजस्ती करणी भएको कुरा मेरो छोरीले दिदी बहिनीहरूलाई भनेछ र मलाई दिदी बहिनीहरूले भनेपछि थाहा पाएकी हुँ । मैले छोरीलाई सोध्दा हो भनेकीले छोरीउपर जबरजस्ती करणी भएकै हो भन्नेसमेत बेहोराको जाहेरवाला परिवर्तित नाम चाकुपाट (क) ले अदालतमा गरेको बकपत्र ।
जाहेरवाली मेरी दिदी र प्रतिवादी मेरी भिनाजु नाताका व्यक्ति हुन् । भिनाजुले नानुलाई लुगा फुकालेर आउ भन्ने, sex गर्ने‚ उहाँको लिङ्ग नानुको योनिमा छिराएर आनन्द लिने‚ भिनाजुले लिङ्ग निकालेर नानुको मुखमा मैथुन गराएर sperm नानुको मुखमै झार्ने, दुधमा टोक्ने, योनिमा चुस्ने, लिङ्ग मुखभित्र छिराउने र नाईं नाईं भन्दा पनि गर्ने र नमानेमा सिरानीले मुख छोपी दिने, डर‚ त्रासमा पार्ने गर्नु भएका कुराहरू नानुले मलाई मिति २०७१।०१।२४ मा फोन गरी बताएकी हुन् । घरमा छलफल हुँदा नानुलाई बोलायौँ र सोधेपछि थप कुरा थाहा पाई हामीले भिनाजुलाई सोध्यौँ । पहिला उहाँले होइन
भन्नुभयो । पछि नानुलाई समेत सँगै राखी सोध्दा हो भनेकोले एक पटकलाई माफ पाउँ आइन्दा यस्तो काम गर्दिन भन्नुभयो भन्नेसमेत बेहोराको बुझिएका व्यक्ति मन्दिता राजभण्डारीले अदालतमा गरेको बकपत्र ।
जाहेरवाला मेरी दिदी, प्रतिवादी मेरो भिनाजु र पीडित भान्जी नाताका व्यक्ति हुन् । भान्जीलाई भएको पीडा मेरो बहिनी मन्दितालाई भनेपछि स-परिवार बसी छलफल गर्दा उसको बुबाले विभिन्न धाक‚ धम्की देखाई डर‚ त्रासमा पारी अनैतिक काम गरेको थाहा पायौँ । दिदी (जाहेरवालालाई) बोलाई सोध्दा विगतमा पनि छोरीलाई लुगा फुकाली चुम्बन गरेको, स्तन चलाउने र गुप्ताङ्गमा छुने गरेको दिदीले Red hand देखेको भनी बताउनु भएको थियो भन्नेसमेत बेहोराको बुझिएका व्यक्ति अमृत राजभण्डारी‚ बिमला कुमाल र मधु लामासमेत जना ३ ले अदालतमा गरेको बकपत्र ।
मैले प्रतिवादी चाकुपाट (ग) लाई चिनेको १० वर्षजति भयो । उहाँले यस्तो अनैतिक कार्य गर्ला जस्तो मलाई लाग्दैन । उक्त घरका दिदी बहिनीहरू ६/७ जना छन् । आउने जाने क्रम भइरहन्छ । साथै आमा बुबा पनि सँगै बस्नुहुन्छ । यस्तो हुन सक्दैन भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी मदनकृष्ण श्रेष्ठले अदालतमा गरेको बकपत्र ।
मैले जाने बुझेसम्म प्रतिवादी चाकुपाट (ग) राम्रो मान्छे हो । पहिला दिन रात नभनी पाउँको व्यवसाय गर्थ्यो । हामीले दुःख पाए पनि छोरा छोरीको भविष्य उज्ज्वल बनाउनुपर्छ भनेर बिहानदेखि बेलुकासम्म काममा खटिरहनु हुन्थ्यो । उहाँले पाउँको व्यवसाय सँगसँगै किस्तामा ट्याक्सी किनी किस्तामा र नाइट गाडी चलाउनुहुन्थ्यो । उहाँमाथि लागेको आरोप सबै झुठो हो । फसाउनको लागि जाल रचेको मात्र हो । त्यसैले बिना कसुरमा कसैलाई पनि सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी राजु श्रेष्ठले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी चाकुपाट (ग) मेरो भाइ नाताका व्यक्ति हुन् । मेरो भाइले पहिला पाउँको काम गर्दा २/३ जना मानिस राखेको थियो । पछि गाडी किनेर आफैँ चलाउँथ्यो । निज काम गर्दाको अवस्थामा बुबा‚ आमा र अरू काम गर्ने मानिस भएकोले त्यस्तो काम गर्ने समय पाउने कुरै भएन । उसको चालचलन राम्रो भएकोले यस्तो काम गर्छ भन्ने कुरा सोच्नै सक्दिन । मेरो भाइ एकदमै निर्दोष छ । निजले सफाइ पाउनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादीको साक्षी सुशीला श्रेष्ठले अदालतमा गरेको बकपत्र ।
परिवर्तित नाम जावलाखेल (छ) को स्तनमा अन्दाजी १ महिनाजति पुरानो दधारिएको जस्तो चिह्न थियो । उसको योनिको झिल्ली च्यातिएको थियो । झिल्ली च्यातिनुमा maximum sexual intercourse बाट हुन्छ तर कुनै-कुनै बेला लड्दा, चोटपटक लाग्दा, regular cycling गर्दा पनि हुन सक्छ । स्तनमा दधारिएको चिह्न नङले कोतारिँदा हुन सक्छ । पीडितले perspeculum र pervaginal examination गर्न मान्नु भएन । पीडित डराई राख्नु भएको थियो । Hymen ruptured जबरजस्ती करणीबाटै भएको हो वा होइन भनी हामी भन्न सक्दैनौँ । सबै Hymen ruptured सँगसँगै vaginal bleeding हुँदैन । ४ वर्षदेखि यौन शोषण हुन्छ भने शारीरिक विकासमा केही असर पर्दैन । तर मानसिक रोगको सङ्क्रमण चाहीँ हुन सक्छ भन्नेसमेत बेहोराको पीडित जावलाखेल (छ) को स्वास्थ्य परीक्षण गर्ने डा. रोजिना मानन्धरले अदालतमा गरेको बकपत्र ।
प्रतिवादीलाई अभियोग मागदाबीअनुसार मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र हाडनाता करणीतर्फ १० वर्ष कैद गरी जम्मा २० वर्ष कैद सजाय हुने ठहर्छ । पीडितको शारीरिक मानसिक र मनोवैज्ञानिक विकासको लागि पीडितलाई आवश्यक पर्ने स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श राज्यको तर्फबाट निःशुल्क उपलब्ध गराउने, पीडितको शैक्षिक अधिकार संरक्षणको लागि राज्यको तर्फबाट पीडितको प्रतिस्पर्धात्मक शैक्षिक योग्यताको आधारमा निजले चाहेको विषयमा उच्च शिक्षासम्म निःशुल्क उपलब्ध गराउने, प्रतिवादीबाट पछि राज्यले असुलउपर गर्ने गरी हाल देखिएको पीडितको शारीरिक मानसिक र मनोवैज्ञानिक क्षतिको गम्भीरताको आधारमा तत्काल एकमुष्ठ रू. ५,००,०००।– (पाँच लाख) राज्यको कोषबाट पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइदिने ठहर्छ भन्नेसमेत सुरू ललितपुर जिल्ला अदालतबाट मिति २०७१।०६।२९ मा भएको फैसला ।
प्रतिवादीबाट पीडितलाई अभियोग मागदाबीबमोजिम क्षतिपूर्ति भराई दिनुपर्ने स्पष्ट हुँदाहुँदै प्रतिवादीबाट क्षतिपूर्ति नभराई कानूनमा नै नभएको व्यवस्थाबमोजिम राज्यको तर्फबाट पीडितलाई रू. पाँच लाख क्षतिपूर्ति भराइदिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग माग दाबीबमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था गरिपाउँ भन्ने बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
अदालतले आफूलाई बढी अधिकार भएसरह फैसलामा बढी बेहोरा उल्लेख गरे पनि जाहेरवालाको जाहेरी दरखास्त, बयान र बकपत्रमा एकरूपता नहुनु पीडित भनिएकी जावलाखेल (छ) ले भनेपछि थाहा पाएको भनी विवरणका मानिसले भने पनि पीडित भनिएकीले गरेको बयान र बकपत्रलाई पुष्ट्याइँ गर्ने कुनै प्रमाण नहुनु, प्रत्यक्षदर्शी कोही नहुनु, जावलाखेल (छ) ले समेत विगतको अवस्था भनी स्पष्टसँग उल्लेख गर्न नसकी विगतमा आफूउपर भए गरेको कार्यको विवरणलाई सबैतिर एक रूपताको साथ उल्लेख गर्न नसक्नु, मेरो अनुसन्धान अधिकृतसमक्ष गरेको बयानमा समेत आरोपित कसुरमा इन्कारी भई अदालतमा समेत अनुसन्धान अधिकृतसमक्ष गरेको बयान पूरै इन्कारी गरेको अवस्थामा मबाट नै नाबालक छोरीउपर जबरजस्ती करणी गरेको कुरा पुष्टि हुने प्रमाण स्वयं वादी पक्षबाट दाखिल गर्न नसकेको अवस्थामा म श्रीमतीका साथमा बस्ने व्यक्तिले श्रीमती साथमा रहँदारहँदै नाबालक छोरीलाई त्यो पनि परिवारका अन्य सदस्यसमेत बस्ने गरेको डेरा कोठामा करणी गरेको भन्ने कुरा असामान्य र अपत्यारिलो देखिएको अवस्थामा मैले आरोपित कसुर नै नगरेको अवस्थामा कसुरदार ठहर्याई बुझ्नुपर्ने प्रमाणसमेत नबुझी आदेशअनुसारका काम नै बाँकी भएको अवस्थामा आफू वादी भई चल्ने मुद्दाभन्दा बाहिर गई मैले कसुर गर्दै नगरेको कुरामा हाडनाता करणीतर्फ थप १० वर्ष भनी मलाई जबरजस्ती करणी र हाडनाता करणीतर्फ कसुरदार ठहर्याई दुवै कसुरमा जम्मा २० वर्ष कैद सजाय हुने र पछि राज्यले मबाट असुल्ने गरी क्षतिपूर्तिसमेत दिने भनी ललितपुर जिल्ला अदालतले गरेको मिति २०७१।०६।२९ को फैसला पूरै उल्टी गरी अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चाकुपाट (ग) को तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको
पुनरावेदन ।
वादी नेपाल सरकारको र प्रतिवादीको दोहोरो पुनरावेदन परेको देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ नेपाल सरकारको पुनरावेदन पत्रको जानकारी प्रतिवादी चाकुपाट (ग) लाई र प्रतिवादीको पुनरावेदन पत्रको प्रतिलिपिसहितको सूचना पुनरावेदन सरकारी वकिल कार्यालय पाटनलाई दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत पाटनबाट मिति २०७२।५।२९ मा भएको आदेश ।
प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी भएको फैसला मिलेको देखिएको र पीडितलाई क्षतिपूर्ति भराइदिने सम्बन्धमा प्रतिवादीको कुनै सम्पत्ति नदेखिएको अवस्थामा प्रतिवादीबाट पछि राज्यले असुल गर्ने गरी तत्काल क्षतिपूर्तिबापत राज्यकोषबाट रू. ५ लाख रकम पीडितलाई उपलब्ध गराइदिने गरी भएको सुरू फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई पीडितलाई तत्काल क्षतिपूर्ति स्वरूप रू. १ लाख राज्यकोषबाट उपलब्ध गराइदिने ठहर्छ भन्नेसमेत पुनरावेदन अदालत पाटनबाट मिति २०७२।७।१७ मा भएको फैसला ।
पीडितको बयानलाई पुष्ट्याइँ गर्ने थप कुनै अर्को प्रमाण नरहेको, घटनाका सम्बन्धमा खुलाइदिने पुरूषोत्तम राजभण्डारी, अमृत राजभण्डारी, सूर्यमान राजभण्डारी र मन्दिता राजभण्डारी मेरा क्रमश: साला र साली नाताका व्यक्ति भई निजहरूले मउपर बनावटी बेहोरा खडा गरेको र जाहेरवालाले मउपर किटानी जाहेरी दिन तथा करणी नै भएको भनी कुनै प्रमाण पेस गर्न नसकेको, विशेषज्ञको भनाइबमोजिम योनिको झिल्ली च्यातिने कुनै कुनै बेला लड्दा, चोटपटक लाग्दा, साइकल चलाउँदा पनि हुनसक्छ भनिएको र मैले अधिकारप्राप्त अधिकारी र अदालतसमक्ष बयान गर्दासमेत कसुरमा इन्कारी रही बयान गरेबाट म प्रतिवादीबाट अभियोग दाबीबमोजिमको क्रियाकलाप नभएको भन्ने देखिन्छ । यातना दिई गरिएको बयानलाई आधार मान्दा पनि आशय करणीतर्फ हेरिनुपर्नेमा हाडनाता करणीसमेतलाई समावेश गरी दुवै कसुरको अभियोग दाबीअनुसार थप सजाय गर्ने गरी ललितपुर जिल्ला अदालतले गरेको फैसला म प्रतिवादीलाई सजाय गरेको हदमा सदर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।०७।१७ मा भएको फैसला नमिलेको हुँदा बदर गरी अभियोग दाबीबमोजिमको कसुरबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी चाकुपाट (ग) को यस अदालतमा पर्न आएको पुनरावेदन ।
यसमा Hymen Ruptured जबरजस्ती करणीबाटै भएको हो वा होइन त्यो भन्न नसकिने भनी पीडित जावलाखेल (छ) को स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञले अदालतमा बकपत्र गरेको, यी प्रतिवादीले अनुसन्धान अधिकारी तथा अदालतमा समेत आरोपित कसुरमा इन्कारी भई बयान गरेको देखिएको हुँदा पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रमाण मूल्याङ्कनका दृष्टिले विचारणीय देखिएकोले तत्कालीन मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. तथा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतबाट मिति २०७५।१२।५ मा भएको आदेश ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री लवप्रसाद मैनाली र अधिवक्ता श्री ज्ञानबहादुर श्रेष्ठले प्रतिवादीउपर लगाइएको आरोपहरू कुनै वस्तुनिष्ठ प्रमाणहरूबाट पुष्टि हुन सकेको छैन । पीडितको योनिको झिल्ली च्यातिएको भनी उल्लेख भए तापनि कुनै कुनै बेला लड्दा, चोटपटक लाग्दा वा Regular Cycling को कारणले पनि त्यस्तो भएको हुन सक्छ र जबरजस्ती करणीबाटै Hymen Ruptured भएको भनी भन्न सकिने अवस्था छैन भनी स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालतमा बकपत्र गरेको अवस्था छ । यातना दिई अनुसन्धान अधिकारीसमक्ष गर्न लगाइएको बयानलाई आधार मान्दा पनि आशय करणीतर्फ मुद्दा चलाउनुपर्नेमा सो नगरी जबरजस्ती करणीतर्फ मुद्दा चलाउने र हाडनाता करणीसमेत समावेश गरी सजाय गरेको हदसम्म सुरू फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेको हुँदा उल्टी भई प्रतिवादीले अभियोग दाबीबाट सफाइ पाउनु पदर्छ भन्नेसमेत बहस
गर्नुभयो ।
त्यसैगरी, वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री रूद्रप्रसाद आचार्य तथा जाहेरवालाको तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री शोभा पोख्रेल र श्री सन्तोष महर्जनले प्रतिवादी र पीडित बाबु छोरी नाताको भएकोमा कुनै विवाद छैन । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी किटानी जाहेरी परेको, प्रतिवादीले आफूलाई जबरजस्ती करणी गरेको भनी पीडितले मौकामा कागज गरी अदालतमा बकपत्रसमेत गरेको, पीडितको शारीरिक जाँच प्रतिवेदनबाट समेत जबरजस्ती करणी भएको पुष्टि भएको र अनुसन्धानको क्रममा मौकामा बुझिएका व्यक्तिहरूले जाहेरी तथा अभियोग दाबी पुष्टि हुने गरी बकपत्रसमेत गरेको अवस्था हुँदा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य शंकारहित तवरबाट पुष्टि भएको छ । यस अवस्थामा प्रतिवादीलाई सजाय गर्ने गरी भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुँदा सदर हुनुपर्दछ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहस जिकिरसमेत सुनी प्रस्तुत मुद्दामा देहायका प्रश्नहरूको सम्बन्धमा निर्णय गर्नुपर्ने देखियो ।
क. प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) ले छोरी नाताकी पीडित परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको हो वा होइन ?
ख. प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) ले पीडितलाई जबरजस्ती करणी गरेको भए के कति सजाय हुनुपर्ने हो ?
ग. सुरू ललितपुर जिल्ला अदालतको फैसलालाई केही उल्टी गरी भएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन ?
२. निर्णयतर्फ विचार गर्दा मेरो छोरी वर्ष १५ की परिवर्तित नाम जावलाखेल (छ) लाई मेरो श्रीमान् परिवर्तित नाम चाकुपाट (ग) ले मिति २०७१।१।२४ गते दिउँसो १४:०० बजेको समयमा आफ्नै कोठामा चुकुल लगाई डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको हुँदा पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी दरखास्तबाट अनुसन्धान प्रारम्भ भएको प्रस्तुत मुद्दामा प्रतिवादी चाकुपाट (ग) लाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं., २ नं. र ३(३) नं. बमोजिम तथा हाडनाता करणीको महलको १ नं. समेतको कसुर अपराधमा जबरजस्ती करणीको ३(३) नं. बमोजिम सजाय गरी हाडनाता करणीको महलको १ नं. बमोजिम थप सजाय गरी जबरजस्ती करणीको १० नं. बमोजिम पीडितलाई प्रतिवादीबाटै मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग पत्र दायर भएको देखिन्छ । उपर्युक्त अभियोग मागदाबी रहेकोमा सुरू ललितपुर जिल्ला अदालतले अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद र हाडनाता करणीतर्फ १० वर्ष कैद गरी जम्मा २० वर्ष कैद सजाय गरी राज्यको कोषबाट पीडितलाई रू.५,००,०००।- क्षतिपूर्ति भराउने फैसला गरेको देखिन्छ । उक्त सुरू फैसलामा चित्त नबुझाई प्रतिवादीको तर्फबाट तथा राज्यकोषबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी भएको हदसम्म चित्त नबुझाई वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनले प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी भएको हदसम्म सुरू फैसला सदर गरी पीडितलाई तत्काल एकमुष्ट रू. ५,००,०००।- राज्यको कोषबाट क्षतिपूर्ति उपलब्ध गराइदिने गरेको हदसम्म केही उल्टी गरी निज पीडितलाई तत्काल क्षतिपूर्ति स्वरूप रू.१,००,०००।- (एक लाख) राज्यकोषबाट उपलब्ध गराइदिने ठहर गरी फैसला गरेकोमा सो फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परेको र यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेश भई पेस हुन आएको देखियो ।
३. प्रस्तुत मुद्दाको तथ्यलाई दृष्टिगत गर्दै पीडितउपर परेको गम्भीर सामाजिक, मनोवैज्ञानिक प्रभाव र पीडितले प्राप्त गर्नुपर्ने क्षतिपूर्ति तथा भविष्यको लागि राज्यबाट गरिनुपर्ने जिम्मेवारीतर्फ तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको अवस्था देखिएन । अत: प्रतिवादीको तर्फबाट परेको पुनरावेदनको हकमा सम्म विचार गर्नुपर्ने
देखियो ।
४. अब, प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग)ले छोरी नाताकी पीडित परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको हो वा होइन ? भन्ने पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) र पीडित परिवर्तित नाम जावलाखेल (छ) बाबु छोरी भएको भन्ने सम्बन्धमा कुनै विवाद छैन । त्यसैगरी, जाहेरवाला परिवर्तित नाम चाकुपाट (क) यी प्रतिवादीको श्रीमती तथा पीडितको आमा भएको तथ्यमा पनि कुनै विवाद देखिँदैन । यसरी यी प्रतिवादीको विरूद्धमा आफ्नै श्रीमतीले किटानी जाहेरी दरखास्त दिएको अवस्था छ र त्यो पनि आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा । जाहेरी दरखास्तको बेहोरा अध्ययन गरी हेर्दा मिति २०७१।१।२४ गतेका दिन आफू बाहिर गएको समयमा आफ्नो पति अर्थात् यी प्रतिवादीले छोरीलाई डर, धाक, धम्की देखाई कसैलाई नभन्नु भनी जबरजस्ती करणी गरेको भनी किटानी रूपमा उल्लेख गरेको देखिन्छ भने पीडितले अनुसन्धान अधिकारीसमक्ष गरेको कागजमा प्रतिवादीले आफूलाई ४ वर्षअगाडिबाट जबरजस्ती करणी गर्दै आएको र अन्तिम पटक मिति २०७१।१।२४ गते जबरजस्ती करणी गरेको भनी उल्लेख गरेको देखिन्छ । त्यसैगरी, पीडितले अदालतमा गरेको बकपत्रमा आफू कक्षा ५ मा पढ्दादेखि नै यौनजन्य दुर्व्यवहार गर्दै आएको र हरेक ४-५ दिनको अन्तरालमा जबरजस्ती करणी गर्ने गरेको, आफू निदाउने बेलामा आफ्नो पाइन्टको चेन खोल्ने, आफ्नो सु गर्ने कुरा चलाउने, त्यहाँबाट निस्केको कुरा खुवाउनेलगायतका कार्यहरू गर्दै आएको भनी उल्लेख गरेको देखिन्छ । यसरी जाहेरवालाले जाहेरी दरखास्तमा उल्लेख गरेको कुरालाई पीडितले मौकामा गरेको कागज तथा अदालतमा गरेको बकपत्रमा समर्थन गरेको देखिन्छ । बुझिएका मानिसहरूमध्ये मन्दिता राजभण्डारीले अदालतमा गरेको बकपत्रमा प्रतिवादीले पीडितलाई यौन शोषण गर्दै आएको कुरा पीडितले मिति २०७१।१।२४ मा आफूलाई फोनमा बताएकोमा घरमा छलफल गरी सोधपुछ गर्दा प्रतिवादीले पहिला होइन भनेको, तर पीडितलाई समेत राखी सोधपुछ गरेकोमा एकपटकलाई माफी पाउँ, अब यस्तो गर्दिन भनी स्वीकार गरेको भनी बकपत्र गरेको देखिन्छ भने बुझिएका अन्य मानिसहरू अमृत राजभण्डारी, बिमला कुमार र मधु लामाले पनि सोही बेहोरा उल्लेख गरी बकपत्र गरेको देखिन्छ । मिति २०७१।१।२४ गते प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी उजुरी परेपश्चात् पीडितको स्वास्थ्य परीक्षण भएकोमा उक्त स्वास्थ्य परीक्षण प्रतिवेदनमा "योनि झिल्ली च्यातिएको र स्तनमा दधारिएको चिह्नहरू छन्" भन्ने बेहोरा उल्लेख भएको देखिन्छ भने पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रोजिना मानन्धरले अदालतमा उपस्थित भई गरेको बकपत्रमा समेत "योनिको झिल्ली च्यातिनेचाहिँ Maximum Sexual Intercourse" बाट हुन्छ । स्तनमा दधारिएको चिह्न नङले कोतरिएको हुन सक्छ" भन्ने उल्लेख गरेको देखिन्छ । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट समेत उक्त दिन पीडितमाथि जबरजस्ती करणी भएको भन्ने देखिन्छ ।
५. जबरजस्ती करणीको अपराध व्यक्तिको शरीर विरूद्ध हुने गम्भीर प्रकृतिको अपराध हो । यस प्रकारको कसुरमा कसुरको वारदात स्थल भनेको पीडितको शरीर हो । सामान्यतः लुकीछिपी गरिने अपराध भएकोले वारदातको पहिलो र प्रत्यक्ष साक्षी भनेको पनि पीडित नै हुन्छ । पीडितको शरीरमाथि अपराध गरिने र फेरी त्यो पनि अन्य व्यक्तिको अनुपस्थितिमा लुकीछिपी गरिने अपराध भएकाले पीडित नै वारदातको देखी जान्ने र भोगी जान्ने दुवै प्रकारको साक्षी हुने स्थिति रहन्छ । त्यसकारण जबरजस्ती करणीको मुद्दामा पीडितको भनाइलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने हुन्छ र यसको प्रामाणिक मूल्य धेरै हुन्छ । जबरजस्ती करणी जस्तो जघन्य अपराध जहाँ केबल शारीरिक र मानसिक पीडा मात्र नभई सामाजिक पीडाको पनि शिकार हुनुपर्छ त्यस प्रकारको अपराधमा आफूलाई कसैले जबरजस्ती करणी गर्यो भनी बिनाकारण उजुरी गर्दछ भनी सामान्यतः अनुमान गर्ने अवस्था रहँदैन । पीडितले व्यक्त गरेका कुराहरू कृत्रिम र बनावटी जस्तो देखिएको, अन्य प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको तथा पीडितको भनाइमा निकै विरोधाभाष भई शंकास्पद देखिएको अवस्थामा बाहेक पीडितको बयानमा सत्यता छ भन्ने अदालतले अनुमान गर्नुपर्ने हुन्छ । हाम्रो न्यायिक अभ्यास हेर्दा पनि जबरजस्ती करणीको मुद्दामा पीडितको बयानलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिने गरेको देखिन्छ र यस सम्बन्धमा विभिन्न मुद्दाहरूमा यस अदालतबाट व्याख्यासमेत भएका
छन् । वादी नेपाल सरकार वि. सरोज हिङमाङसमेत (ने.का.प.२०६७, अङ्क ९, नि.नं. ८४६९) भएको मुद्दामा यस अदालतको संयुक्त इजलासबाट "जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्ने" भनी व्याख्या भएको देखिन्छ । दिपक रावल वि. नेपाल सरकार (ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७) भएको मुद्दामा "जबरजस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यसमा प्रत्यक्षदर्शी साक्षी हुन सक्दैन । यस्तो अपराधमा पीडित महिलाको भनाइलाई अन्यथा नभएसम्म सर्वमान्य प्रमाणको रूपमा लिनुपर्दछ" भनी व्याख्या भएको पाइन्छ । त्यसैगरी, लक्ष्मण गौतम वि. नेपाल सरकार (ने.का.प. २०७४, अङ्क १२, नि.नं. ९९१०) भएको मुद्दामा पनि "वारदातको देखी जान्ने मात्र होइन भोगी जान्ने साक्षी पीडित स्वयंले अदालतमा उपस्थित भई बकपत्र गरेको र सो बकपत्रले जाहेरी दरखास्तमा उल्लिखित बेहोरालाई समर्थन गरेकोले त्यसले प्रामाणिक मूल्य पाउने कुरालाई नकार्न नमिल्ने" भनी व्याख्या भएको देखिन्छ ।
६. जबरजस्ती करणीको मुद्दामा पीडितको बयानलाई के कति आधिकारिक मान्नुपर्छ भन्ने सम्बन्धमा भारतमा Nirbhaya Rape Case पश्चात् अपराध कानूनको संशोधन गर्न बनेको Justice Verma Committee, 2013 को Reports of the Committee on Amendments to Criminal Law को पृष्ठ ७८ मा व्यक्त भएको कुरालाई सन्दर्भ सामग्रीको रूपमा लिन सकिन्छ । उक्त प्रतिवेदनमा "It is well settled that the evidence of the Victim of rape is on the same footing as the evidence of an injured complainants or witness. Her testimony alone is sufficient for conviction. In prosecutions of rape, the law does not require corroboration. It is only by way of abundant caution that the court may look for some corroboration so as to satisfy its conscience and rule out any false accusation." भन्ने उल्लेख भएको पाइन्छ । साथै भारतको सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरूमा पीडितको बयानलाई महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने भनी व्यख्या भएको पाइन्छ । उदाहरणको लागि State of Chattisgarh Vs. Derha (AIR 2004 SC 4404) भएको मुद्दामा भारतको सर्वोच्च अदालतले "The testimony of victim in cases of sexual offences is vital and unless there are compelling reasons, which necessitate looking for corroboration for her statement, the court should find no difficulty to act on the testimony of a victim of sexual assault alone. The evidence of a girl or woman, who complains of rape or sexual molestation, should not be viewed with doubt, disbelief or suspicion. Her evidence is entitled to great weight even without corroboration." भनी व्याख्या गरेको छ भने Rajesh Patel vs. State of Jharkhand (AIR 2013 SC 1497) भएको मुद्दामा "…court can rely upon the evidence of the prosecutrix even without seeking corroboration, if it seems natural and inspires confidence…" भनी व्याख्या गरेको छ । उल्लिखित सन्दर्भसमेतबाट पीडितको भनाइ प्राकृतिक देखिन्छ भने जबरजस्ती करणीको मुद्दामा पीडितको भनाइलाई प्रमाणको रूपमा लिन मिल्ने देखिन्छ र निजको भनाइलाई अन्यथा सोच्नुपर्ने कारण रहँदैन ।
७. प्रस्तुत मुद्दामा पीडितले आफूलाई प्रतिवादीले विगत ४ वर्षदेखि निरन्तर रूपमा यौन शोषण गर्दै आएको र उक्त दिन पनि कोठामा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भनी अनुसन्धान अधिकारी तथा अदालतमा उपस्थित भई गरेको बकपत्रमा समेत उल्लेख गरेको छ । नाबालक उमेरकी पीडितले आफ्नै बाबुमाथि जबरजस्ती करणी जस्तो जघन्य अपराध गरेको आरोप त्यतिकै रिसइवी साँध्न वा कसैको उक्साहटमा परी गरेको भनी सामान्य व्यक्तिले कल्पनासम्म पनि गर्न सक्दैन । यौनिक क्रिया के हो भन्नेसम्म राम्रोसँग नबुझ्ने अवस्थाको एक अवोध बालिकाले बिनाकारण आफूउपर आफ्नै बाबुबाट लामो समयदेखि यौनिक आक्रमण भएको तथ्यलाई मार्मिक ढङ्गबाट प्रस्तुत गर्दै आरोपित गर्नुपर्नाको अरू कुनै कारण हुन सक्दैन । स्वयम् पुनरावेदक प्रतिवादीले अदालतमा गरेको बयानमा आफूले अभियोग दाबीबमोजिमको कसुर गरेको कुरालाई इन्कार गरेको भए तापनि अनुसन्धान अधिकारीसमक्ष गरेको बयानमा २ वर्षअघि पनि "छोरीको सुरूवाल खोली निजको योनिमा जिब्रोले चुसी यौन आनन्द लिएको अवस्थामा श्रीमतीले देखी अब-आइन्दा त्यस्तो नगर्ने भनी मिलाएको र मिति २०७१।१।२४ गते पनि छोरीको छाती तथा शरीरका संवेदनशील अङ्गमा चाट्ने तथा चुस्ने कार्य गरेको हुँ" भनी उल्लेख गरेको देखिन्छ । निजै प्रतिवादीको श्रीमतीले अदालतमा समेत आई त्यस प्रकारको यौनकार्य गरेको प्रत्यक्ष देखेको छु भनी बकपत्रसमेत गरेकी छिन् । पीडितले समेत यौन शोषण गर्ने गर्दै आएको भनी अदालतमा आई बकपत्र गरेकी छिन् । निजको शारीरिक परीक्षणबाट Hymen rupture भएको भन्ने देखिन आएको छ । विशेषज्ञ डाक्टर अदालतमा आई निज पीडितलाई जाँच गर्दा डराएकी थिइन् भनी बकपत्र गरेको पाइन्छ । अत: निज प्रतिवादीले दिएको उक्त बयानको बेहोराबाट नै निज प्रतिवादी आफ्नै छोरीलाई समेत कुदृष्टि राखी यौन शोषण गर्न तयार हुने यौन पिपासु प्रवृत्तिको रहेको स्पष्ट हुन जान्छ । निजको उक्त बयानबाट पनि निज प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको हो भन्ने निजउपरको अभियोग समर्थित हुन पुगेको छ ।
८. एउटा कोठामा प्रतिवादी, निजको श्रीमती, छोरा र पीडित छोरी सुत्ने गरेको भन्ने देखिन्छ । सो कोठामा दुईवटा विस्तरासहितको बेड पलङ रहेको भन्ने घटनास्थल विवरणबाट देखिन्छ । पीडित छोरीलाई पलङमा आफूसँग सुताउने गरेको भन्ने पनि खुल्न आएको छ । राति ट्याक्सी चलाउने, प्रायजसो दिनभर कोठामा नै हुने, दिनको समयमा कोठामा कोही नभएको अवस्थामा प्रतिवादीले जबरजस्ती करणी गरेको भनी नाबालिका पीडितले मौकामा गरेको कागज र अदालतमा आई गरेको बकपत्र तथा निजको शारीरिक परीक्षण प्रतिवेदनसमेतबाट प्रतिवादी चाकुपाट (ग) ले आफ्नै छोरी परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणीको कसुर अपराध गरेको पुष्टि हुन आएको छ । आफ्नै पिता जसले हरेक किसिमबाट आफ्ना सन्तानप्रति अभिभावकत्व लिनुपर्ने हो निजै पिताबाट नै त्यसप्रकारको घृणित कसुर गर्दै आएको देखिँदा यस्तो वातावरणमा नाबालिका पीडितले कुनै प्रतिकार गर्न सक्ने अवस्था नै रहन सक्तैन । अत: यो घटना वास्तविक होइन उजुर जाहेरी झुट्ठा हो भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर मनासिब देखिन आएन ।
९. पुनरावेदक प्रतिवादीले आफ्नो ससुरालीतर्फ राम्रो सम्बन्ध नभएकोले ससुरालीहरूको उक्साहटमा परी आफू विरूद्ध यस प्रकारको जाहेरी दिएको भन्ने पुनरावेदन जिकिर लिएको भए तापनि उक्त जिकिर आफैँमा अपत्यारिलो देखिन्छ । माइतीको उक्साहटमा परेकै कारणले कुनै महिलाले आफ्नै पति विरूद्ध आफ्नो छोरीलाई जबरजस्ती करणी गरेको भनी जाहेरी दिन्छ, अनि छोरीले पनि आफ्नै बाबुले जबरजस्ती करणी गरेको भनी भन्छ भनेर सोच्न सकिँदैन । अतः प्रतिवादी परिवर्तित नाम चाकुपाट (ग) को पुनरावेदन जिकिर तथ्यपरक र विश्वासयोग्य देखिन नआएको हुँदा उपर्युक्त विवेचना गरिएका तथ्य प्रमाणहरूको आधारमा यी प्रतिवादीले आफ्नै छोरी नाबालिका परिवर्तित नाम जावलाखेल (छ) लाई जबरजस्ती करणी गरेको पुष्टि हुन आएको छ ।
१०. प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने तथ्य प्रमाणित हुन आएकोले यी प्रतिवादीलाई के कति सजाय हुनुपर्ने हो भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा यी प्रतिवादीलाई सुरू ललितपुर जिल्ला अदालतले मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(३) नं. बमोजिम १० वर्ष कैद र हाडनाता करणीतर्फ १० वर्ष कैद गरी जम्मा २० वर्ष कैद सजाय ठहर्याएकोमा पुनरावेदन अदालत पाटनले पनि सोही सजायलाई सदर गरेको छ । मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. मा जबरजस्ती करणीको परिभाषा गरी सोही महलको ३ नं. मा जबरजस्ती करणी गर्नेलाई हुने सजायको सम्बन्धमा व्यवस्था गरिएको छ । जसअनुसार उक्त दफाको देहाय ३ मा चौध वर्ष वा सोभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी भए छ वर्षदेखि दश वर्षसम्म कैद हुने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दाको पीडित १५ वर्षको नाबालक भएकोमा कुनै विवाद रहेको
देखिँदैन । यसर्थ प्रतिवादीलाई उक्त दफाबमोजिम छ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने अवस्था
देखियो । उक्त दफाले सजायको माथिल्लो र तल्लो हद तोकी जबरजस्ती करणीको कसुर प्रमाणित भएपश्चात् सजाय निर्धारण गर्दा न्यायकर्तालाई स्वविवेकीय अधिकार प्रदान गरेको देखिन्छ । न्यायकर्तालाई दिइने यस प्रकारको स्वविवेकीय अधिकारको प्रयोग स्वेच्छाचारी रूपमा नगरी मनासिब रूपमा गर्नुपर्ने
हुन्छ । यस प्रकारको स्वविवेकीय अधिकारको प्रयोग गर्दा अपराध गर्ने व्यक्तिलाई दिइने दण्ड निजले गरेको कसुरको गम्भीरतासँग समानुपातिक हुनुपर्ने भन्ने सिद्धान्तलाई आत्मसात् गरिएको हुनुपर्दछ । कसुरदारको अवस्था, सामाजिक परिवेश, पीडितको उमेर र अवस्था, पीडितलाई पर्न गएको सामाजिक, शारीरिक, मानसिक तथा मनोवैज्ञानिक असरलगायतका आधारहरूलाई गम्भीर रूपमा विवेचना गरी सजायको माथिल्लो हद तोक्ने वा तल्लो हद तोक्ने हो भन्ने सम्बन्धमा न्यायकर्ता निष्कर्षमा पुग्नुपर्ने
हुन्छ । प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा सुरू जिल्ला अदालत र पुनरावेदन अदालतले सजायको माथिल्लो हद तोकेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले आफ्नै नाबालक छोरीलाई डर, त्रास र धम्की दिई जबरजस्ती करणी गरेको अवस्था छ । एउटा सभ्य समाज र सामान्य मगजले परिकल्पना नै गर्न नसक्ने यस प्रकारको कार्य सिङ्गो मानव समाजकै कलङ्क हो । यसप्रकारको घृणित अपराध गर्ने व्यक्तिप्रति अदालतले सहानुभूति देखाउनुपर्ने कुनै आधार र कारण नरहेको हुँदा प्रतिवादीलाई जबरजस्ती करणीको महलको १ नं. को कसुरमा सोही महलको ३(१) नं. बमोजिम १० वर्ष कैद सजाय गरेको उपयुक्त नै देखिन्छ ।
११. प्रतिवादीलाई जबरजस्ती करणीको २ नं. बमोजिमसमेत थप सजाय हुनुपर्छ भन्नेसमेत अभियोग मागदाबी रहेकोमा उक्त २ नं. मा "हाडनाताकी स्वास्नी मानिसको जबरजस्ती करणी गरेमा यस महलबमोजिमको सजायमा हाडनातामा करणी गर्नेको महलमा लेखिएको सजायसमेत थपी सजाय हुन्छ । जन्मकैदको सजाय पाउनेमा भने जबरजस्ती करणीबापतको सजाय थप हुँदैन" भन्ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा प्रतिवादी र पीडित सहोदर बाबु छोरी नाताको भएको भन्ने देखिन आएको छ । यस अवस्थामा हाडनाता करणी गर्नेको महलमा लेखिएको सजायसमेत थपी सजाय गर्नुपर्ने देखिन्छ । मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नं. मा "...आफूले जन्माएका छोरीको करणी गर्नेलाई दश वर्ष कैद हुन्छ" भन्ने कानूनी व्यवस्था उल्लेख भएकोले प्रतिवादीलाई उक्त दफाबमोजिम दश वर्ष कैदसमेत थप गरी सजाय गर्नुपर्ने नै अवस्था देखिन आएकाले प्रतिवादीलाई हाडनाता करणीतर्फ थप १० वर्ष कैद सजाय गरेकोसमेत मिलेकै देखियो ।
१२. मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. तथा १०ग. नं. ले कुनै महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा त्यस्ती महिलालाई पीडक प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराई दिनुपर्ने प्रावधान भए तापनि प्रस्तुत मुद्दामा यी प्रतिवादीसँग क्षतिपूर्ति भराउनको लागि कुनै अचल सम्पत्ति वा जायजेथा भएको देखिँदैन । आफ्नै बाबुबाट जबरजस्ती करणी जस्तो जघन्य अपराधको पीडित बनी गम्भीर प्रकारको शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा सामाजिक असर खेप्नुपरेको विडम्बनापूर्ण अवस्थामा प्रतिवादीको कुनै सम्पत्ति नभएको भन्ने आधारमा पीडितलाई क्षतिपूर्तिबाट वञ्चित गरिएमा त्यो न्यायसङ्गत हुन सक्दैन र क्षतिपूर्ति भराउने जिम्मेवारी स्वाभाविक रूपमा राज्यमा आउँछ । नागरिकहरूको अन्तिम अभिभावक भनेको राज्य
हो । प्रस्तुत मुद्दामा परिवारको अभिभावकत्व लिनुपर्ने व्यक्ति बाबुबाट नै छोरीलाई जबरजस्ती करणी गरेको ठहर भएको छ र यस्तो अवस्थामा निज प्रतिवादीबाट पीडितले तत्काल क्षतिपूर्ति भराई पाउन सक्ने स्थिति रहेको पनि देखिँदैन । अत: यस परिवेशमा अपराधबाट पीडितले व्यावहारिक रूपमा क्षतिपूर्ति प्राप्त गर्न नसक्ने भई पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्ने उक्त कानूनी व्यवस्थाको परिपालनामा अवरोध सिर्जना हुनजाने स्थिति रहन जान्छ । यस्तो परिस्थितिमा पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति भराई दिनुपर्ने दायित्व राज्यकै काँधमा आइपुग्दछ । पीडितलाई तत्काल राज्यकोषबाट १ लाख उपलब्ध गराउनु भन्ने पुनरावेदन अदालतको फैसलाउपर नेपाल सरकारले चित्त बुझाई पुनरावेदन गरेको पनि नदेखिँदा पीडितलाई राज्यकोषबाट १ लाख उपलब्ध गराउनु भन्ने तत्कालीन पुनरावेदन अदालतको फैसला अन्तिम भइरहेको हुँदा यसतर्फ थप विवेचना गरिरहनपर्ने अवस्था देखिन आएन ।
१३. अब, सुरू ललितपुर जिल्ला अदालतको फैसलाले पीडितलाई क्षतिपूर्ति भराई दिनुपर्ने रकमको सम्बन्धमा सम्म केही उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ वा छैन भन्ने अन्तिम प्रश्नको सम्बन्धमा विचार गर्दा, माथिल्ला प्रकरणहरूमा विवेचना भएबमोजिम यी प्रतिवादीले आफ्नो सहोदर नाबालक छोरीलाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं., २ नं. र ३(३) नं. बमोजिमको तथा हाडनाता करणीको महलको १ नं. समेतको कसुर गरेको तथ्य शंकारहित तवरबाट पुष्टि भएकोले उक्त कसुरमा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(३) नं. बमोजिम १० वर्ष कैद र हाडनाता करणीतर्फ १० वर्ष कैद गरी जम्मा २० वर्ष कैद सजाय गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई पीडितलाई तत्काल क्षतिपूर्ति स्वरूप पाँच लाख रूपैयाँ राज्यकोषबाट उपलब्ध गराउने गरेको हदसम्म मात्र उक्त सुरू फैसला केही उल्टी गरी निज पीडितलाई तत्काल क्षतिपूर्ति स्वरूप रू.१,००,०००।- (एक लाख) राज्यकोषबाट उपलब्ध गराउने गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।७।१७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने
ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुष्मालता माथेमा
इजलास अधिकृतः- दिपेन्द्र थापा मगर र कल्याण खड्का
इति संवत् २०७७ साल असार २६ गते रोज ६ शुभम् ।