निर्णय नं. ४४२९ - कर्तव्य ज्यान

निर्णय नं. ४४२९ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४६ सालको फौ.पु.नं. ३८०, सा.नं. ६५
फैसला भएको मिति: २०४८।८।२२।१ मा
पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा चितवनमा थुनामा रहेको भैरवबहादुर भण्डारी
विरुद्ध
विपक्षी/वादी: राजनकुमार खड्काको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) जघन्य अपराध भरसक्य लुकेरै गर्ने हुँदा चश्मदिद गवाह नहुनुलाई अस्वभाविक मान्न सकिदैन र शव परीक्षण हुँदा लास सडी गली सकेकोले कारण नखुले पनि लासको लुगा आदि विवरण तथा प्रहरीको साविती अन्य सबूदबाट समर्थित भएको अवस्था देखिएबाट अपराध र अपराधी प्रमाणित हुने ।
(प्रकरण नं. २९)
पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना
विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ
फैसला
न्या.गोविन्दबहादुर श्रेष्ठ
१. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति ०४६।८।६।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । (साविक पेज नं. ८०४)
२. मेरो पिताको नामको जग्गा भैरवबहादुरलाई कमाउन दिएको थियो । भैरवबहादुरले बाली बुझ्न बोलाएकोले ०४३।४।२१ गते भैरवबहादुर कहाँ जानु भएकोमा भाद्र १६ गतेसम्म घर नफर्कनु भएकोले भैरवबहादुरलाई सोद्धा पोखरा जानु भएको भन्थ्यो । पछि बुझ्दा जग्गा भैरवबहादुरकी श्रीमती कल्पनाकुमारीको नाममा दर्ता गरिसकेको र निजै दुईजना मिली मेरो पितालाई बेपत्ता पारेकोले पक्राउ गरी ज्यान पत्ता लगाई पाउँ भन्ने समेत व्यहोराको राजनकुमार खडकाको जाहेरी दर्खास्त ।
३. उक्त जग्गाको रुपैयाँ पचाउने नियतले मेरो पितालाई कर्तव्य गरी मारी लाश बेपत्ता पारी नक्कली चिठ्ठी पठाउन लागेकाले साँचो कुरा पत्ता लगाई कारवाही किनारा हुन मैले जाहेरी दर्खास्त दिएको हो भनी जाहेरवालाले गरेको सनाखत कागज ।
४. ढलकबहादुरको बम्बैमा मृत्यु भयो भनी हिन्दी र नेपाली दुई छुट्टा छुट्टै भाषामा लेखिएको पत्रहरु मिसिल सामेल रहेछ ।
५. म लेखापढी गर्न जिल्ला कार्यालय अगाडि बसिरहेको अवस्थामा एक जना मानिसले कागज लेखी दिनु पर्यो भनेबाट लेखी नाम सोद्धा नीर शम्शेर भनेका थिए निजको नाम भैरवबहादुर रहेछ भन्ने अहिले थाहा भयो । लेखन्दास हुँदा लेखी दिएको हुँ भन्ने समेत व्यहोराको ओमप्रकाश जोशीको जि.प्र.का.चितवनमा भएको बयान कागज ।
६. मिति ०४३।५।२ गते बेलुका ढलकबहादुर रक्सी खाई मेरो घरमा आएको रहेछ । दिसा बस्न भनी घोल तर्फ गएको थियो । निजलाई मार्न पाए रुपैयाँ तिर्न पर्दैन भनी घाँटी थिची मारी दिएको हुँ । पछि खोजतलास गर्दा म माथि शड्ढा नगरुन भनेर नक्कली चिठ्ठी पठाएको हुँ भन्ने समेत व्यहोराको भैरवबहादुरको प्रहरी समक्ष भएको बयान कागज ।
७. चितवन पंचकन्या गा.पं. वडा नं. ९ जय मंगला बस्ने भैरवबहादुरको बारीमा खाल्टो भित्र ढलकबहादुरको लाश पुरी ढलकबहादुरको लाश हो भनी राजकुमार समेतले गरिदिएको सनाखत मुचुल्का ।
८. भैरवबहादुर भण्डारीले ढलकबहादुरलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ श्रीमतीको नाममा जग्गा पास गरेबाट श्रीमती समेतको संलग्नता रहेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
९. म बिहान बेलुका पढ्न जाने हुँदा दाजु भाउजुले के के गर्छ थाहा छैन भन्ने समेत व्यहोराको भैरवबहादुरको बहिनी विमला भण्डारीको प्रहरी समक्ष भएको बयान कागज ।
१०. भैरवबहादुरले ढलकबहादुरलाई कर्तव्य गरी मारेको देखिँदा ज्यानसम्बन्धीको १३(३) बमोजिम कारवाही सजाय हुन र निजकै श्रीमतीको संलग्नताबाट घटना घटाएकोले कल्पनाकुमारी उपर ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम सजाय हुनुपर्ने माग दावी भएको प्रहरी प्रतिवेदन पत्र ।
११. म मिति २०४३।५।२ मा नुवाकोट पुगी ४ दिन बसी ६ गते मात्र घर आएको हुँ मैले ढलकबहादुरलाई कर्तव्य गरी मारेको होइन । प्रहरीले डरत्रासले साबिती बयान गराएका हुन भन्ने समेत व्यहोराको भैरवबहादुरको अदालत समक्ष भएको बयान ।
१२. मिति ०४३।५।२ गते म मेरो माइती गएको थिएँ । मैले ढलकबहादुरसंग जग्गा किनेको हुँ, मैले ढलकबहादुरलाई मारेको होइन भन्ने समेत व्यहोराको कल्पनाकुमारीकोे अदालतमा भएको बयान ।
१३. मिति ०४३।५।२ गते भैरवबहादुर मेरो घरमा जानु भएको हो ५ गते मात्र त्यहाँबाट फर्कनु भएको हो भन्ने समेत व्यहोराको जगतबहादुर अधिकारीको बयान ।
१४. प्र.भैरवबहादुरले अदालत समक्ष इन्कारी बयान गरे तापनि निजको समर्थनमा त्यस बाहेक अन्य प्रमाण नहँुदा प्र. भैरवबहादुरले ढलकबहादुरलाई कर्तव्य (साविक पेज नं. ८०५) गरी मारेको ठहर्छ प्र.कल्पनाकुमारीले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतको फैसला ।
१५. शुरु जिल्ला अदालतको फैसाल उपर चित्त नबुझी प्र.भैरवबहादुरको ना.अं.अ. मा परेको पुनरावेदनपत्र ।
१६. प्र.कल्पनाकुमारीलाई सफाई दिएको शुरुको इन्साफ मिलेन भनी श्री ५ को सरकारको ना.अं.अ.मा परेको पुनरावेदनपत्र ।
१७. मादक पदार्थ सेवन गरी आएको मौका पारी पुनरावेदकले ढलकबहादुरलाई मारेको देखिएकोले सर्वश्वसहित जन्मकैद गर्ने ठहराएको शुरुको इन्साफ मनासिब ठहर्छ र प्र.कल्पनाकुमारीले अपराध गरेकै हो भन्ने तथ्ययुक्त आधार प्रमाण नभेटिएकोले निजले सफाई पाउने ठहराएको समेत इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको ना.अं.अ. को मिति ०४५।११।२९ को फैसला ।
१८. प्र.कल्पनाकुमारीको हकमा सफाई दिने गरेकोसम्म इन्साफ मिलेन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरी पाउँ भनी श्री ५ को सरकारको तर्फबाट म.क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।
१९. म निर्दोष निरपराध व्यक्तिलाई लगाइएको अभियोग अनुसार सर्वश्वसहित जन्मकैद गरेको नमिलेको हुँदा सफाई पाउँ भनी प्र.भैरवबहादुरको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।
२०. यसमा पुनरावेदन परेकोले साधकको लगत कट्टा गर्नु । कागज प्रमाण समेतका आधारमा ढलकबहादुरको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिएन । प्र.भैरवबहादुर कर्तव्य गरेकोमा प्रहरीमा सावित भएका अदालतमा इन्कार भए तापनि निजकी श्रीमतीले मृतकसंग २०, ०१० मा जग्गा खरीद गरेको र लास आफ्नो बारी खनेर निस्केको कुरा स्वीकार गरेकी छिन । लास गाडेको ठाउँ भैरवबहादुरले देखाएको भनी सरजमीनका मानिसको बकपत्र तिलकुमारी शाहीको बकपत्र जाहेरवालको बकपत्रमा समेत लेखी बकी दिएको र आफ्नो वारीमा गाडिएको अवस्थामा लास फेला परेको कुरामा भैरवबहादुर सावित भएको कारणबाट समेत भैरवबहादुरले कर्तव्य गरी ढलकबहादुरलाई मारेको देखिँदा भैरवबहादुरले कर्तव्य गरी मारेको ठहर्याएको ना.अं.अ. को फैसला मिलेकै देखिन आउँछ । प्र.कल्पनाकुमारीको सम्बन्धमा निज कसूरमा इन्कार रहेकी, भैरवबहादुरले निज उपर कुनै पोल नगरेको निजको साक्षीले सफाई दिने गरी बकपत्र गरेको निजले कसूर गरेको भन्न सकिने गरी वादीले कुनै प्रमाण पेश गर्न नसकेको बिना प्रमाण कसूरदार ठहर्याउन नसकिने र शंकाको सुविधा अभियुक्तले पाउने हुँदा निजलाई सफाई दिने गरी शुरुको सदर गरेको ना.अं.अ. को फैसल मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को फैसला ।
२१. मेरो विरुद्ध शंका रहित तवरले कसूर प्रमाणित छैन । ज्यान जस्तो गम्भीर अपराधमा केवल सरजमीन आदिको शंका र विश्वासको आधारमा जन्मकैद गर्नु उपयुक्त नहुने र फौज्दारी न्यायको सिद्धान्त अनुरुप शंकाको सुविधा अभियुक्तले पाउनु पर्ने ने.का.प. ०३३, नि.नं. ९९८ मा प्रतिपादित सिद्धान्तको समेत पालना नभई म.क्षे.अ. बाट फैसला भएकोले मेरो अदालतमा भएको बयान तथा प्रस्तुत पुनरावेदन जिकिर अनुसार झुठ्ठा प्रहरी प्रतिवेदनबाट फुर्सद पाउँ भनी प्र.भैरवबहादुरको यस अदालतमा परेको पुनरावेदन ।
२२. मृतक ढलकबहादुरले यो यस्तो लुगा लगाएको र निजको हुलिया यस्तो थियो भनी मौकाको जाहेरीमा लेखिएको पाइँदैन । लास सडी गली गएको चिन्ने अवस्थाको देखिन्न ढलकबहादुरलाई प्र.भैरवबहादुरले कर्तव्य गरी मारेको देख्ने चस्मदिद गवाह देखिन्न जाहेरवालाले जाहेरीमा प्र.भैरवबहादुरले मारेको भनी लेख्न सकेको पाइन्न । प्रहरी साविती स्वतन्त्र प्रमाणबाट समर्थित समेत नभएको हुँदा म.क्षे.अ. समेतको इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई कानुन बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०४७।८।१९ को आदेश । (साविक पेज नं. ८०६)
२३. नियम बमोजिम साधकको लगतमा समेत चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्र. भैरवबहादुरको पुनरावेदन परेको हुँदा अ.बं. २१५ नं. अनुसार साधक तर्फबाट विचार गरी रहनु पर्ने अवस्था नहुँदा साधक तर्फको लगत कट्टा गरी दिनु ।
२४. यस्मा पुनरावेदक भैरवबहादुर भण्डारीलाई शुरु चितवन जिल्ला अदालतले आरोपित ज्यानसम्बन्धीको १३(३) बमोजिम कसूरदार ठहर्याई गरोको इन्साफलाई सदर गरेको नारायणी अञ्चल अदालतको फैसलालाई समर्थन गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी भैरवबहादुरको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना र श्री ५ को सरकारतर्फबाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठको बहस सुनियो ।
२५. पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले आफ्नु बहसको क्रममा मृतक भनिएका ढलकबहादुरको हुलिया जाहेरी दर्खास्तमा नखुलाइएकोले बरामद लासलाई जाहेरवाला राजनकुमार खड्का (मृतकको छोरा) ले कटु, दाँत र घडिको आधारमा बाबु ढलकको हो भन्दैमा रीतपूर्वक सनाखत भएको मान्न मिल्दैन र त्यो लास ढलकबहादुर बाहेक अन्य व्यक्तिको होइन भन्ने निश्चित प्रमाण नभएसम्म अवस्था शंकास्पद नै हुन्छ । साथै वारदातको अवस्थामा मेरो पक्ष नुवाकोटमा भएको कुरा साक्षी जगतबहादुरले भनेकोले अन्यत्र उपस्थिति ९ब्ष्दिष्० को सिद्धान्त लागू हुनको साथै हत्याको चस्मदिद साक्षीको अभाव र अनुसन्धान सुचारु रुपले नभएको हुँदा मेरो पक्षले ढलकबहादुरलाई कर्तव्य गरी मारेको प्रमाणित हुँदैन भन्ने बहस प्रस्तुत गर्नु भयो । वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताले मृतक ढलकबहादुरको लाशलाई मृतकको छोरा राजन खड्काले सनाखत गरेको र प्र.भैरवबहादुरले इड्डित गरेको स्थानबाट नै लास बरामद भएको तथ्यलाई सरजमीनका व्यक्तिहरुको कथनबाट समेत पुष्टि भएको तथा साक्षी ओमप्रकाश जोशीको भनाइबाट नक्कली चिठ्ठी भैरवबहादुरले लेख्न लगाएको समेतबाट यस मुद्दामा प्रतिवादी भैरवबहादुर उपरको अपराध प्रमाणित भएको छ साथै भैरवबहादुरको बैनी बिमलाको कागजबाट प्र. भैरवबहादुर वारदातको अवस्थामा गाउँ घरमै भएको तथ्य स्थापित हुन्छ भन्ने बहस प्रस्तुत गर्नु भयो ।
२६. यसमा विद्वान अधिवक्ताहरुको बहस सुनी प्र.भैरवबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम कसूरदार ठहरिएको इन्साफ ठीक छ छैन भन्ने तर्फ नै यस अदालतबाट निर्णय दिनु परेको छ ।
२७. सर्वप्रथम बरामद भएको लाश मृतक ढलकबहादुरको हो होइन भन्ने प्रारम्भिक प्रश्नमा विचार गर्दा बरामद भएको लाश प्र.भैरवबहादुरको घर बारी पछाडिको जग्गामा भुइँ मुनि गाडिएको छ भनी निजै प्र.भैरवबहादुरले देखाएको स्थानबाट ६ फिट मुनि सम्म खनेर बरामद भएको कुरा मुचुल्कामा बसेका २५ जना तथा सरजमीनका रामजी खनाल समेतका धेरै मानिसले अदालतमा आई बकपत्र गरे समेतबाट प्रमाणित हुन्छ । सो लाशलाई तपबहादुरले देखाई दिएको स्थानबाट बरामद भएको भनि प्र.भैरवबहादुरले अदालत समक्ष बयान गरेको भए पनि निजले आफ्नो सो जिकिरलाई कुनै साक्षी वा प्रमाणबाट पुष्टी गराउन सकेका छैनन् । यसरी प्रमाणिक रुपबाट निजको सो जिकिर पुष्टी हुन नसकेको अवस्थामा मृतकको लाश तप्तबहादुरले देखाई दिएको स्थानबाट बरामद भएको भनी निजले लिएको जिकिर मान्य हुन सक्दैन । यसबाट मृतकको लाश प्र.भैरवबहादुरले देखाएकै स्थानबाट बरामद भएको भनी मान्नु पर्ने देखिएको छ । आफूले बरामद गराएको हुँदा सो लाश ढलकबहादुर बाहेक अन्य व्यक्तिको हो भनी प्र.भैरवबहादुरले भन्न देखाउन सक्नु पर्ने थियो तर सो सकेको देखिँदैन । ढलकबहादुरको छोरा राजनले लाशमा भएको कटु, दाँत र घडीको आधारमा लाश पहिचान गरेको देखियो लाश आफ्नु बाबुको नभए सो लाशलाई आफ्नो बाबुको हो भनी भन्नु पर्ने अवस्था समेत नहुँदा बरामद (साविक पेज नं. ८०७) भएको लाशलाई ढलकबहादुरकै हो भनी मान्नु पर्ने हुन्छ । लाश सनाखत गर्ने बारे पुनरावेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ताले पेश गर्नु भएको नजिर नि.नं. १७९६, ने.का.प. २०४०, अंक १० पुनरावेदक वादी श्री ५ को सरकार विरुद्ध बिलट चौधरी थारु समेतको ज्यान मुद्दामा भएको निर्णय हेर्दा लाश फेला नपरेको तर लाश गाडेको भनिएको ठाउँबाट केही पर अलग अलग ठाउँबाट केही हाड, करङ, दाँत बरामद गरिएकोबाट उक्त लाश फलाना व्यक्ति कै हो भनी सनाखत हुन सक्ने अवस्था नभएको भनी विपक्षीहरुलाई गडाउ गर्न नमिल्ने भन्ने सिद्धान्त प्रतिपादित भएको रहेछ । तर प्रस्तुत मुद्दामा २/२१२ महीना पछिको भए पनि लाश नै फेला परेको कटु गंजी लाशकै शरीरमाा विद्यमान रहेको अवस्थामा छोरा राजन खड्काले लाश सनाखत गरेको देखिएकोले उपर्युक्त नजीरको तथ्य यस मुद्दासंग मिलेको मान्न नमिल्ने हुँदा उक्त नजीर यस मुद्दामा लागू हुन्छ भन्ने विद्वान वरिष्ठ अधिवक्ताको तर्कसंग सहमत हुन सकिएन ।
२८. अब ढलकबहादुरलाई प्र.भैरवबहादुरले कर्तव्य गरे नगरे तर्फ हेर्दा निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा इङित गरेको स्थानबाट लाश बरामद भएको र गमछाले ढलकबहादुरको घाँटी कसी दिएको तथा रुमालले बाँधेको भनी निजले आफ्नो बयानमा उल्लेखित तथ्य अनुरुप बरामद लाश घाँटी तथा मुखमा रुमाल बाँधिएको अवस्थामा फेला परेको देखिएकोले मौकाको लाश जाँच मुचुल्काबाट प्रहरीमा भएको प्र.भैरवबहादुरको बयान समर्थित हुन आएको छ । ढलकबहादुरलाई मार्नु पर्ने कारणमा आफ्नी श्रीमती कल्पना भण्डारीको नाउँमा पास गराएर बाँकी रुपैयाँ तिर्नु नपरोस् भन्ने भावना रहेको समेत देखियो । ओमप्रकाश जोशीले प्रहरी तथा अदालत समक्ष गरेको बकपत्रमा नक्कली चिठ्ठी लेखाउने व्यक्ति यिनै हुन् भनी प्र.भैरवबहादुरलाई देखाएको र ओमप्रकाशसंग प्र.भैरवबहादुरको पूर्व परिचय वा रिसइवी भएको नदेखिएकोबाट झुठ्ठा पोल गर्नु पर्ने अवस्था विद्यमान नभएको समेतबाट भैरवबहादुरले आफूले गरेको अपराध लुकाउने चेष्टा गरेको छर्लड्ड हुन्छ । सरजमीनका रामराजा खड्का –१, रामजी प्रसाद खनाल–१, राम प्रसाद खनाल–१, तिलकुमारी शाही १, केदारनाथ १ समेतले अदालतमा गरेको बकपत्रमा यिनै प्र.भैरवबहादुरले देखाएको स्थानबाट नै लाश बरामद भएको हो भनी किटानी बकेकोबाट पनि भैरवबहादुरको अपराधको पुष्टी हुन आएको छ । जहाँसम्म अपराध भएको भन्ने दिन अर्थात् ०४३।५।२ मा प्र.भैरवबहादुर चितवनमा नरही नुवाकोटमा रहेको भन्ने निजका साक्षी जगतबहादुरको भनाई छ सो सम्बन्धमा विचार गर्दा सरजमीन समेतबाट ०४३।५।२ को दिन प्र.भैरवबहादुर आफ्नु गाउँ घरमा नै देखिएको र निजकी बैनी विमलाले प्रहरीमा गरेको कागजमा आफ्नो दाजु सो दिन वारदात स्थलमा नरही नुवाकोट गएको भनी भन्न लेखाउन समेत नसकेको परिप्रेच्छमा ०४३।५।२ मा प्र.भैरवबहादुर चितवनमा नरही नुवाकोटमा रहेको भन्ने तथ्य खम्बिर हुन्छ भनी मान्न मिलेन ।
२९. संयुक्त इजलासका सहयोगी विद्वान न्यायाधीशहरुबाट अ.बं. २०२ नं. अनुसार विपक्षी झिकाउँदा जाहेरीमा बाबु ढलकबहादुरले लगाएको लुगाको विवरण खुलाउन नसकेको र भैरवबहादुरले मारेको भन्ने पोल नभएको भन्ने तर्क तर्फ विचार गर्दा जाहेरी पर्दाको अवस्थामा अपराधी किटान गर्न सम्भव नभएको तथा आफ्नु घर छाडी जाँदा बाबुले के कस्तो कटु लगाएका थिए भन्ने कुरा खुलाई राख्न सम्भव नहुँदा उक्त तर्कसंग सहमत हुन सकिएन । साथै चश्मदिद गवाह नभएको प्रहरीको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थन नभएको तथा शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण नखुलेको भन्ने आदेशको तर्क तर्फ समेत विचार गर्दा ज्यान मार्ने जस्तो जघन्य अपराध भरसक्य लुकेरै गर्ने हुँदा चश्मदिद गवाह नहुनुलाई अस्वभाविक मान्न सकिँदैन र शवपरीक्षण हुँदा लाश सडी गली सकेकोले कारण नखुले पनि (साविक पेज नं. ८०८) लाशको लुगा आदि विवरण तथा प्रहरीको साविती अन्य सबूदबाट समर्थित भएको अवस्था देखिएबाट अपराध र अपराधी प्रमाणित हुन आएको हुँदा साविती बयान समर्थित नभएको भन्ने विद्वान सहयोगी न्यायाधीशहरुको तर्कसंग सहमत हुन सकिएन ।
३०. अतएवं मृतक ढलकबहादुरलाई प्र.भैरवबहादुरले बाँकी रुपैयाँ तिर्नु नपरोस भन्ने उद्देश्यले कर्तव्य गरी मारेको हो भन्ने कुरा मिसिल संलग्न सबूद प्रमाणबाट समर्थित भइराखेको हुँदा प्र.भैरवबहादुर भण्डारीलाई शुरु चितवन जि.अ.ले ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको कसूरदार ठहर्याई गरेको सजायँलाई समर्थन गरेको नारायणी अञ्चल अदालतको इन्साफलाई सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ । आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने पुनरावेदक प्रतिवादी भैरवबहादुर भण्डारीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४८ साल मार्ग २२ गते रोज १ शुभम् ।
(साविक पेज नं. ८०९)