शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १०६५१ - बन्दीप्रत्यक्षीकरण

भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई

माननीय न्यायाधीश श्री कुमार रेग्मी

आदेश मिति : २०७७।७।२४

०७७-WH-००९८

 

मुद्दाः- बन्दीप्रत्यक्षीकरण

 

निवेदक : हुम्ला जिल्ला, नाम्खा गाउँपालिका वडा नं. ६ स्थित स्थायी ठेगाना भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने हाल कारागार कार्यालय, धुन्चे रसुवामा थुनामा राखी बन्दी बनाइएको कुन्जोक छिरिङ तामाङको हकमा कानून व्यवसायी अधिवक्ता डिलहरी शर्मा

विरूद्ध

विपक्षी : कारागार कार्यालय, धुन्चे, रसुवासमेत

 

बन्दीप्रत्यक्षीकरणको रिटबाट अदालत वा मुद्दा हेर्न कुनै निकायमा विचाराधीन मुद्दाको तथ्यभित्र प्रवेश गरी विवादित विषयमा प्रमाणसमेत बुझी केलाई ती अदालत वा निकायले गर्ने फैसलामा नै प्रभाव पार्ने गरी ‍औचित्यताको खोजी गर्ने कार्य गरिँदैन । बन्दीलाई थुनामा राखिएको कार्यको वैधतासम्म परीक्षण गरी गैरकानूनी तरिकाबाट थुनामा राखिएको भएमा बन्दीलाई थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिने ।

स्वच्छ सुनुवाइ गर्नुपर्ने दायित्त्व हरेक तहको अदालतमा रहन्छ । न्यायिक स्वायत्तता मर्ने गरी तल्लो तहमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्नु उचित हुँदैन । त्यसो गर्दा न्यायिक निकायहरूको तहगत सोपान खलबलिन जान्छ । सबै तहका अदालतले सक्षमतापूर्वक सुनुवाइ गरी विवादहरूको निरूपण गर्छन् भन्ने विश्वास सर्वोच्च अदालतले राख्नुपर्छ । सर्वोच्च अदालत अन्तिम तहको न्यायकर्ता हुँदा सबै तहका अदालतले न्याय गर्छन् भन्ने कुरालाई यसले चनाखोपूर्वक हेर्ने हो, हरेक तहमा हस्तक्षेप गर्ने होइन ।

(प्रकरण नं.११)

 

निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री डिलहरी शर्मा र श्री चिरञ्‍जिवी कोइराला

विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयय र विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई

अवलम्बित नजिर : 

ने.का.प. २०६८, अङ्क ८, नि.नं. ८६६५

सम्बद्ध कानून :

नेपालको संविधान

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९

 

आदेश

न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारभित्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य खण्ड एवं आदेश खण्ड यस प्रकार छ:

तथ्य खण्ड

रसुवा जिल्ला अदालतमा कारबाही चलिरहेको वादी नेपाल सरकार प्रतिवादी कुन्जोक लामासमेत भएको अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको ०७६-C२-०००५ नं. को मुद्दामा कुन्जोक छिरिङ तामाङलाई गैरसंवैधानिक र गैरकानूनी किसिमले थुनामा राखी बन्दी बनाइएको 

छ । उक्त ०७६-C२-०००५ नं. को मुद्दामा प्रतिवेदन, बरामदी तथा खानतलासी मुचुल्कासमेतका कागजपत्रहरूमा कुन्जोक छिरिङ तमाङको नाम उल्लेख छैन । उक्त कागजपत्रहरूमा कुन्जोक लामाको नाम उल्लेख छ । कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति नभई फरक-फरक व्यक्ति हुन् । अभियोगपत्रमा समेत कुन्जोक छिरिङ तामाङको नाम उल्लेख भएको छैन । अदालतमा बयान गर्दा कुन्जोक छिरिङ तामाङले आफ्नो नाम कुन्जोक छिरिङ तामाङ लेखेको अवस्था छ । कुन्जोक लामा भन्ने मानिस कुन्जोक छिरिङ तमाङ होइन भन्ने कुरा नाम्खा गाउँपालिका वडा नं. ६ को कार्यालयको मिति २०७७।६।१९ को प्रमाणित कागजले पुष्टि गरेको 

छ । म कुन्जोक लामा नभएको पुष्टि कुन्जोक छिरिङ तामाङको नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय, हुम्लाबाट झिकाई हेरिएमा पनि स्पष्ट हुन्छ । उक्त आखेटोपहार मुद्दामा प्रतिवादी कुन्जोक लामाको वतन तिब्बत देखाइएको छ । म नेपाली नागरिक कुन्जोक छिरिङ तामाङलाई जबरजस्ती पक्राउ गरी अनुसन्धान ब्युरोले आफ्नो प्रहरी नियन्त्रणमा राखी म लेखपढ गर्न नजान्ने निरक्षर व्यक्तिलाई उनाउ व्यक्ति म नै हुँ भनी कागज गराई सहीछाप गराएकै भरमा अवैध आखेटोपहार ओसारपसार मुद्दाको प्रतिवादी हो भनी थुनछेक गरी थुनामा राख्ने कार्य त्रुटिपूर्ण रहेको छ । यसपूर्व ३ वर्षअघि पनि अनुसन्धान ब्युरोले मलाई प्रस्तुत मुद्दाका सम्बन्धमा सोधपुछको लागि बोलाई उक्त मुद्दाको प्रतिवादी नभएको भनी छोडिएको थियो । 

मुद्दाका सहप्रतिवादीहरूमध्येका बलराम श्रेष्ठले मेरो मोबाइल नं. ९८५१०३८३३३ टिपाएकै आधारमा मलाई दोषी करार गर्न मिल्ने पनि 

होइन । मेरो व्यक्तिगत विवरणसम्बन्धी नागरिकतासमेतका प्रमाण हेरी व्यक्ति पहिचान गर्नुपर्ने हुन्छ । सहप्रतिवादीसँग अवैध सामान बरामद हुनु र नहुनुसँग मेरो कुनै सरोकार छैन । मबाट कुनै अवैध सामान बरामद भएको पनि छैन । जसले कुन्जोक लामालाई चिनेका छौं भनी हुलिया दिएका छन् । निजबाट म निवेदक कुन्जोक छिरिङ तामाङ नै कुन्जोक लामा हो भनी सनाखत गराइएको छैन । व्यक्तिको पहिचान नखुलेको अवस्थामा सफाइ पाउने भनी राजिव गुरूङ विरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भएको 

छ । निवेदक कुन्जोक छिरिङ तामाङ रसुवा जिल्ला अदालतको ०७६-C२-०००५ को अवैध रूपमा ‌आखेटोपहार ओसारपसार गरेको मुद्दाको प्रतिवादी कुन्जोक लामा नभई अर्कै व्यक्ति भएकोमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी रसुवा जिल्ला अदालतले उक्त मुद्दामा मिति २०७७।३।१४ मा बेरितपूर्वक थुनछेक गरी कारागार कार्यालय धुन्चे रसुवामा थुनामा राखेको कार्य त्रुटिपूर्ण हुँदा वर्तमान समयमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थासमेतलाई मध्यनजर गरी रसुवा जिल्ला अदालतको मिति २०७७।३।१४ को आदेश बदर गरी निवेदक कुन्जोक छिरिङ तामाङलाई थुनामुक्त गर्नु भनी विपक्षीहरूका नाममा सर्वोच्च  अदालत नियमावली, २०७४ को नियम ३३ र ३५(क) बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको कुन्जोक छिरिङ तामाङको हकमा कानून व्यवसायी अधिवक्ता डिलहरी शर्माले यस अदालतमा मिति २०७७।७।२ मा पेस गरेको निवेदन पत्र ।

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई यो आदेश प्राप्‍त भएको मितिले बाटोको म्यादबाहेक ३ (तीन) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्‍नेसमेत बेहोराको मिति २०७७।७।३ मा यस अदालतको आदेश ।

रिट निवेदकले रिट निवेदनमा जुनसुकै बेहोरा उल्लेख गरेको भएपनि अधिकारप्राप्त अधिकारीको लिखित आदेश बिना यस कार्यालयलाई कुनैपनि व्यक्तिलाई थुनामा राख्ने र थुनामुक्त गर्ने अधिकार नभएको, सम्मानित रसुवा जिल्ला अदालतको च.नं. मिति २०७७।३।१४ गतेको थुनुवा पुर्जीसहित थुनामा राख्न पठाइएका निज निवेदक सोही दिनदेखि यस कारागार कार्यालयमा थुनामा रहेको हुँदा सम्मानित अदालतको आदेशबमोजिम थुनामा रहेको अवस्थालाई कानूनविपरीत थुनामा राखेको भन्ने रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको कारागार कार्यालय, रसुवाको मिति २०७७।७।६ को लिखित जवाफ ।

दुर्गाबक्स गणको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी यी निवेदक कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङसमेत भएको ०७६-C२-०००५ नं. को अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको च.नं.६९८ मिति २०७७।३।१४ को पत्रले अभियोग पत्रसाथ उपस्थित गराइदिएका यी निवेदक प्रतिवादीको बयान कार्य सम्पन्न भई मिसिल संलग्न तत्काल प्राप्त कागज प्रमाणको मूल्याङ्कन गरी मुद्दा पुर्पक्षको लागि निवेदकलाई थुनामा राख्ने गरी मिति २०७७।३।१४ मा यस अदालतबाट भएको आदेशबमोजिम निवेदक थुनामा रहनु भएको हो । यसरी यस अदालतमा दायर हुन आएको उल्लिखित मुद्दाको पुर्पक्षको सिलसिलामा यस अदालतको आदेशानुसार यी निवेदक कानूनबमोजिम थुनामा रहनु भएको हुँदा उल्लिखित थुनालाई गैरकानूनी थुना भन्न मिल्ने नदेखिएको र निवेदकलाई थुनामा राख्ने कार्य कानूनसम्मत नै देखिँदा प्रस्तुत बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिपाउँ भन्‍नेसमेत बेहोराको मिति २०७७।७।५ मा रसुवा जिल्ला अदालतको लिखित जवाफ ।

वादी नेपाल सरकार प्रतिवादी मिङमार छिरिङ तामाङसमेत भएको अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको थुनामा फरार अभियुक्त कन्जोक लामालाई प्रकाउ गरी आवश्यक सहयोग गरिदिनु हुन भनी लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको च.नं. २३० मिति २०६९।३।२० गतेको पत्र यस ब्युरोमा प्राप्त हुन आएकोले पत्रसँग सम्बन्धित कागजपत्रमा तत्काल पक्राउ प्रतिवादी बलराम श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मुद्दामा संलग्न रहेको प्रतिवादीको नाम कुन्जोक लामा ठेगाना काठमाडौं बौद्ध र निजले प्रयोग गर्ने मोबाइल नं. ९८५१०३८३३३ भनी खुलाई दिएका छन् । यी निवेदकलाई पक्राउ गर्दा सोही नं. को मोबाइल लिएको, यी निवेदकको नागरिकतामा बाबुको थर लामा लेखेको, निज रिट निवेदकले आफूलाई गाउँघरमा कुन्जोक लामा भनी चिन्ने गरेको र वास्तविक नाम कुन्जोक छिरिङ तामाङ भएको, ठेगाना हुम्ला जिल्ला साबिक लिमी गा.वि.स. वडा नं. ४ हाल नाम्खा गाउँपालिका वडा नं. ६ भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने र मोबाइल नं. ९८५१०३८३३३ प्रयोग गर्दै आएको भनी खुलाएको हुँदा कुन्जोक लामा भनेर चिनिने कुन्जोक छिरिङ तामाङ फरक व्यक्ति नभई एउटै व्यक्ति भएको स्पष्ट हुन आएको छ । यी निवेदकको थरसम्म फरक परेको आधारमा निजले कसुर अपराधबाट बच्न सक्ने अवस्था हुँदा निजलाई पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, रसुवामा दाखिल गरेको र रिट निवेदकलाई अधिकारप्राप्त निकाय वा अधिकारीको आदेशले कानूनबमोजिम थुनामा राखिएको हुनाले प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको मिति २०७७।७।५ को लिखित 

जवाफ ।

यस अदालतको आदेश

नियमबमोजिम पेसी सूचीमा चढी निर्णायार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको मिसिल अध्ययन गरी रिट निवेदकका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री डिलहरी शर्मा र श्री चिरञ्‍जिवी कोइरालाले रसुवा जिल्ला अदालतमा विचाराधीन ०७६-C२-०००५ नं. को अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दाको प्रतिवादी कुन्जोक लामा र प्रस्तुत रिटका निवेदक कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति नभई फरक-फरक व्यक्ति हुन् । सोतर्फ रिट निवेदकको नागरिकताको प्रमाणपत्र र सम्बन्धित गाउँपालिका वडा कार्यालयको फरक व्यक्ति रहेको भन्‍ने पत्रबाट पुष्टि भएको छ । उक्त मुद्दामा कुन्जोक छिरिङ तामाङबाट कुनै अवैध आखेटोपहार बरामद भएको छैन । किटानी जाहेरी, प्रतिवेदन छैन । केवल सहप्रतिवादी बलराम श्रेष्ठले चाइना घर ठेगानाका कुन्जोक लामा भन्‍ने व्यक्तिलाई पोल गरेको आधारमा अर्कै व्यक्ति रिट निवेदक कुन्जोक छिरिङ तामाङलाई पक्राउ गरी प्रहरीमा जबरजस्ती कागज गराई अदालतमा पेस गरी रसुवा जिल्ला अदालतमा रिट निवेदकले आफू उक्त मुद्दाको प्रतिवादी कुन्जोक लामा भन्‍ने व्यक्ति होइन भन्दाभन्दै पनि रसुवा जिल्ला अदालतले थुनामा राख्‍ने आदेश गरेकोले अर्कै उनाउ व्यक्तिले गरेको कसुरका सम्बन्धमा निवेदकलाई थुनामा राख्‍ने कार्यले रिट निवेदकको वैयक्तिक स्वतत्नत्राको अपरहरण भई गैरकानूनी रूपमा बन्दी जीवन बिताउनु परेको हुनाले विपक्षीहरूका नाममा निवेदन मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी रिट निवेदक कुन्जोक छिरिङ तामाङलाई थुनामुक्त गरिपाउँ भनी गर्नुभएको बहस सुनियो ।

रिट निवेदनका विपक्षी रसुवा जिल्ला अदालतसमेतको तर्फबाट उपस्थित विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयय र विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराईले जिल्ला अदालतमा सामान्य अधिकारक्षेत्रअन्तर्गत थुनछेकको आदेशबाट पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिको थुनाको वैद्यता सामान्य अधिकारक्षेत्रबाट नै विचार गरी हेर्ने विषय हुँदा त्यस्तो विषयमा असाधारण अधिकारक्षेत्र आकर्षित हुन सक्दैन । यी रिट निवेदकउपर रसुवा जिल्ला अदालतमा अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दा विचाराधीन रहेको छ । उक्त मुद्दामा प्रतिवादीको नाम कुन्जोक लामासम्म उल्लेख भएको हुँदा यी निवेदकको नाम नै फरक परेको होइन । नागरिकतामा तामाङ थर उल्लेख हुँदैमा नाम फरक रहेको भन्‍न मिल्दैन । यी निवेदकले अनुसन्धान अधिकारीसमक्ष गाउँघरमा कुन्जोक लामा भनी बोलाउछन् नागरिकताको नाम कुन्जोक छिरिङ तामाङ हो भनी कागज गरेका छन् । सहप्रतिवादी बलराम श्रेष्ठले यी निवेदकलाई पोल गरी यी निवेदकले प्रयोग गर्ने मोबाइल नं. ९८५१०३८३३३ खुलाई बयान गरेका छन् । उक्त नं. को मोबाइल यिनै निवेदकले प्रयोग गरेको अवस्था छ । यी निवेदकको सवारी चालक अनुमति पत्रमा पिताको नाम कुन्चोक लामा उल्लेख भएबाट लामा र तामाङ एउटै जाति तथा थर भएको स्पष्ट छ । कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्‍ने व्यक्ति एउटै भएको तथ्य रसुवा जिल्ला अदालतमा विचाराधीन अवैध रूपमा आखेटोपहार ओसारपसार मुद्दाको मिसिल संलग्न कागजबाट देखिई तत्काल प्राप्त प्रमाणबाट आरोपित कसुरका सम्बन्धमा पुर्पक्षको लागि थुनामा राख्‍नुपर्ने देखिई रसुवा जिल्ला अदालतले यी निवेदकलाई पुर्पक्षको लागि थुनामा राख्‍न पठाएकोमा साधारण अधिकारक्षेत्रबाट क्रमिक उपचारको मार्ग अवलम्बन नगरी दायर भएको प्रस्तुत रिट निवेदन मागबमोजिमको आदेश जारी हुन सक्ने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

उल्लिखित दुवैतर्फको विद्वान्‌हरूको बहस सुनी मिसिलसमेत अध्ययन गरी हेर्दा निवेदकको निवेदन मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निवेदकलाई थुनामुक्त गर्नुपर्ने हो वा होइन भन्‍ने सम्बन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, रिट निवेदकले प्रस्तुत रिट निवेदनमा रसुवा जिल्ला अदालतमा विचाराधीन वादी नेपाल सरकार प्रतिवादी कुन्जोक लामासमेत भएको ०७६-C२-०००५ नं. को अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दामा असम्बन्धित व्यक्ति रिट निवेदक “कुन्जोक छिरिङ तामाङ” लाई “कुन्जोक लामा” भनी पक्राउ गरी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा जबरजस्ती कागजसमेत गराई रसुवा जिल्ला अदालतमा पेस गरी रिट निवेदकलाई पुर्पक्षको लागि कारागार कार्यालय धुन्चे रसुवामा थुनामा राख्‍ने गरी रसुवा जिल्ला अदालतबाट मिति २०७७।३।१४ मा आदेश भई हाल गैरकानूनी रूपमा थुनामा राखिएको छ । रिट निवेदक “कुन्जोक छिरिङ तामाङ” र ०७६-C२-०००५ नं. को मुद्दाका प्रतिवादी “कुन्जोक लामा” फरक व्यक्ति रहेको तथा रिट निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रमा नाम कुन्जोक छिरिङ तामाङ लेखिएबाट स्पष्ट भएको हुँदा निवेदकलाई थुनामा राख्‍ने गरी रसुवा जिल्ला अदालतबाट मिति २०७७।३।१४ मा भएको त्रुटिपूर्ण आदेश बदर गरी निवेदकलाई थुनामुक्त गर्नेगरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी माग गरेको 

देखिन्छ ।

३. विपक्षी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोसमेतको लिखित जवाफ हेर्दा वादी नेपाल सरकार प्रतिवादी मिङमार छिरिङ तामाङसमेत भएको अवैध रूपमा आखेटोपहार ओसारपसार मुद्दामा फरार प्रतिवादी कुन्जोक लामाको कसुरमा संलग्नता भई निजको मोबाइल नं. ९८५१०८३३३ रहेको, रिट निवेदकले अनुसन्धान अधिकृतसमक्ष कागज गर्दा आफ्नो गाउँघरमा बोलाउने नाम कुन्जोक लामा र नागरिकताको नाम कुन्जोक छिरिङ तामाङ रहेको भनी उल्लेख गरेको, निजको सवारी चालक अनुमतिपत्रमा पिताको नाम कुन्चोक लामा भनी उल्लेख गरेको हुँदा तामाङ र लामा फरक लेखिएपनि कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्‍ने व्यक्ति एउटै हुँदा निजलाई पक्राउ गरी अवैध रूपमा आखेटोपहार मुद्दामा रसुवा जिल्ला अदालतबाट तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा राख्‍ने गरी मिति २०७७।३।१४ मा भएको आदेशानुसार कुन्जोक लामा भन्‍ने कुन्जोक छिरिङ तामाङलाई कारागार कार्यालय धुन्चे रसुवामा थुनामा राखिएको हो । गैरकानूनी रूफमा थुनामा राख्‍ने कार्य नभएकोले रिट निवेदन खारेज गरिपाउँ भनी उल्लेख गरेको पाइयो ।

४. प्रस्तुत रिट निवेदनमा निवेदकको निवेदन बेहोरा, विपक्षीतर्फको लिखित जवाफको बेहोरा एवम् सो साथ पेस हुन आएको अन्य कागजातहरू हेर्दा श्री दुर्गाबक्स गणको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी कुन्जोक लामासमेत भएको अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दामा फरार प्रतिवादी कुन्जोक लामालाई पक्राउ गरिदिनु हुन भनी लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयबाट मिति २०६९।३।२० गते भएको पत्राचारबमोजिम प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले फरार प्रतिवादी कुन्जोक लामा र यी रिट निवेदक कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति रहेको भनी यी रिट निवेदकलाई पक्राउ गरी लाङटाङ राष्ट्रिय निकुञ्‍ज कार्यालयको मिति २०७७।३।१४ को पत्रले मुद्दा मुल्तबीबाट जगाई यी निवेदकको अदालतमा बयान गराई निजलाई मुद्दा पुर्पक्षको लागि थुनामा राख्न रसुवा जिल्ला अदालतबाट आदेश भएको देखिन्छ । 

५. कुन्जोक लामासमेत उपरको रसुवा जिल्ला अदालतमा दायर भएको ०७६-C२-०००५ को अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दाको अभियोग पत्र हेर्दा प्रतिवादीहरूको मिलेमतोमा संरक्षित वन्यजन्तु बाघ, चितुवा र ओत जस्ता लोपोन्मख वन्यजन्तु मारी मार्न लगाई तीनका अङ्ग आखेटोपहारहरू अवैध ओसारपसार गरी राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५(क), १९(१), २०, २६(१) र हिमाली राष्ट्रिय निकुञ्‍ज नियमावली, २०३६ को नियम ८(ख) को कसुर गरेको हुनाले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) बमोजिम सजायको दाबी गरेको देखिन्छ । उक्त अभियोगका सम्बन्धमा यी निवेदक कुन्जोक छिरिङ तामाङ नै प्रतिवादी कुन्जोक लामा भएको भनी पक्राउ गरी पेस गरिएका यी निवेदकको बयानसमेत लिई रसुवा जिल्ला अदालतबाट मिति २०७७।३।१४ मा भएको थुनछेक आदेश हेर्दा, “यी प्रतिवादीले अदालतमा बयान गर्दा आरोपित कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भनी सो कसुरउपर पूर्ण इन्कार रही बयान गरे तापनि पाटे बाघको छाला थान-५, बाघको हड्डी ११३ के.जी., चितुवाको छाला थान-३६ तथा ओतको छाला थान-२३८ समेत बरामद भएको देखिएको, सहप्रतिवादीहरू बलराम श्रेष्ठ, मिङमार छिरिङ तामाङ, रिसाङ लामा र निटुप लामाले अनुसन्धान अधिकारी एवम् मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादीसमेत कसुरमा संलग्न रहेको भनी पोल गरी बयान गरेको देखिएको, निज सहप्रतिवादीहरूले बयान गर्दा यी प्रतिवादीको हुलियासमेत खुलाई दिएको देखिएको, सहप्रतिवादी बलराम श्रेष्ठले अनुसन्धान अधिकारी एवं मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादीको मोबाइल नं. ९८५१०३८३३३ भनी खुलाई लेखाई दिएकोमा यी प्रतिवादीले अदालतमा बयान गर्दा उक्त मोबाइल नं. आफ्नो भएको भनी पुष्टि गरेको र सो मोबाइल हालसम्म पनि आफूले निरन्तर रूपमा प्रयोग गर्दै आएको भनी खुलाएको देखिएको, उक्त मोबाइल नं. यी प्रतिवादीको नाममा जारी भएको देखिएको, प्रतिवादीले मिति २०७७।३।११ मा केन्द्रीय अनुसन्धान ब्युरोमा गरेको घटनाविवरण कागजबाट कुन्जोक लामा र यी प्रतिवादी कुन्जोक छिरिङ तामाङ एकै व्यक्ति रहेको भन्‍ने बेहोरा खुल्न आएको देखिएबाट प्रतिवादीले अदालतमा बयानको क्रममा लिएको जिकिर विश्‍वसनीय नदेखिएको, सहप्रतिवादीहरू बलराम श्रेष्ठ, मिङमार छिरिङ तामाङ, रिसाङ लामा र निटुप लामालाई आरोपित कसुरमा सजाय भई सर्वोच्च अदालतबाट अन्तिम फैसला भइसकेको देखिएकोसमेतका आधार प्रमाणबाट निज प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भनी अहिले नै निर्क्यौल गर्न सकिने अवस्था स्थितिको विद्यमानता नदेखिँदा प्रतिवादीले लिएको जिकिरसमेतको हकमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई मुद्दा पुर्पक्षको लागि प्रतिवादी कुन्जोक लामा भन्‍ने कुन्जोक छिरिङ तामाङलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ एवम् विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय खण्ड ङ बमोजिम थुनुवा पुर्जी दिई जिल्ला कारागार कार्यालय रसुवामा थुनामा पठाई दिनू” भनी उल्लेख भएको पाइन्छ ।

६. प्रस्तुत विवादमा रसुवा जिल्ला अदालतले आफ्नो साधारण क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दा आरोपित कसुरका कसुरदार भनी प्रतिवादी बनाई वादी नेपाल सरकारले पेस गरेका व्यक्ति यी निवेदक कुन्जोक छिरिङ तामाङको बयानसमेत लिई मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को परिच्छेद ७ को दफा ६७ मा भएको थुनछेकसम्बन्धी कानूनी व्यवस्थाबमोजिम पुर्पक्षको लागि थुनामा पठाउने आधार कारणसमेत उल्लेख गरी पुर्पक्षको लागि यी निवेदकलाई कारागार कार्यालयमा थुनामा राखेको देखिन्छ । यी निवेदकले रसुवा जिल्ला अदालतले गरेको थुनछेकसम्बन्धी आदेशको प्रक्रिया त्रुटिपूर्ण रहेको भनी दाबी नगरी रसुवा जिल्ला अदालतमा बयान गर्दासमेत अवैध रूपमा आखेटोपहार ओसारपसार मुद्दाको प्रतिवादी बनाइएको कुन्जोक लामा भन्‍ने व्यक्ति आफू नभएको भनी जिकिर लिएको र प्रस्तुत रिटमा समेत आफू कुन्जोक लामा नभई अर्कै व्यक्ति कुन्जोक छिरिङ तामाङ भएकोले उनाउ व्यक्तिको कसुरका सम्बन्धमा आफूलाई थुनामा राखेको कार्य त्रुटिपूर्ण रहेको भनी बन्दीप्रत्यक्षीकरणको आदेशको माग गरेको पाइन्छ ।

७. रिट निवेदकले आफू लेखपढ गर्न नजान्ने निरक्षर व्यक्तिलाई उनाउ व्यक्ति भनी कागज गराई सहीछाप गराएकै भरमा अवैध आखेटोपहार ओसारपसार मुद्दाको प्रतिवादी हो भनी थुनछेक गरी थुनामा राख्ने कार्य त्रुटिपूर्ण रहेको भनी लिएको निवेदन जिकिरको सन्दर्भमा हेर्दा, यी रिट निवेदकले विभिन्न वाणिज्य बैंकहरू (नेपाल बंगलादेश बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि.) मा खाता खोल्ने फाराम तथा आफ्नो मोबाइल फोनको सिम कार्ड (Ncell) को मिसिल संलग्न फारम प्रतिलिपिबाट उक्त फारामहरू भर्ने क्रममा आफ्नै हस्तलिपीले आफ्नो व्यक्तिगत विवरण भरेको र ती फारामहरूमा दस्तखत गरेको देखिएबाट निज निरक्षर हो भनी मान्न मिल्ने देखिँदैन । त्यस्तै लामा तथा तामाङ एउटै हुँदैन भन्ने निवेदकको जिकिरलाई हेर्दा, निवेदकको Ncell को सिम कार्डको फाराममा निजले आफ्नो बुबाको नाम भर्ने महलमा “Kunchok Lama (कुन्चोक लामा)” भनी लेखेको देखिन्छ भने निजको सवारी चालक अनुमति पत्रमा समेत बुबाको नाम “Kunchok Lama (कुन्चोक लामा)” नै लेखाएको देखिन्छ । नेपालमा रहेको विभिन्न जातका समुदायभित्र एउटै जातको पनि विभिन्न थरहरू लेख्ने प्रचलन रहेको पाइन्छ । तामाङ जातिको पुरोहितको रूपमा काम गर्ने मानिसहरू जो तामाङ नै भएपनि लामा लेख्ने, त्यसैगरी बौद्धमार्गमा लागेकाहरूले लामा लेख्ने चलन पनि छ । त्यसैले कसैले लामा, कसैले लामा तामाङ र कसैले तामाङ भनी आफ्नो थर लेख्ने आमप्रचलन भएबाट लामा र तामाङ एउटै होइन भन्न मिल्ने अवस्था देखिएन ।

८. अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दा नं.०७६-C२-०००५ को मुद्दाको सहप्रतिवादी बलराम श्रेष्ठले अनुसन्धान अधिकारी एवं मुद्दा हेर्ने अधिकारीसमक्ष बयान गर्दा यी प्रतिवादीको मोबाइल नं. ९८५१०३८३३३ भनी खुलाई लेखाई दिएकोमा यी रिट निवेदकले सुरू अदालतमा बयान गर्दा उक्त मोबाइल नं. आफ्नो भएको भनी पुष्टि गरेको र सो मोबाइल हालसम्म पनि आफूले निरन्तर रूपमा प्रयोग गर्दै आएको भनी खुलाएको देखिन्छ । यी निवेदकले नेपाल बंगलादेश बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि. मा खाता खोल्ने फाराम, Ncell कम्पनीको सिम कार्डको फाराम र सवारी चालक अनुमति पत्रमा समेत आफ्नो नाममा जारी भएको नेपाल दुरसञ्चार कम्पनीको उक्त मोबाइल नं. ९८५१०३८३३३ नै प्रयोग गरेको देखिन्छ । यी रिट निवेदकले केन्द्रीय अनुसन्धान ब्युरोमा गरेको कागजमा “...मलाई गाउँघरमा साथीभाइहरूले कुन्जोक लामा भनेर चिन्ने र बोलाउने गर्दछन्...” भनी लेखाएको साथै उक्त अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दामा ठहर भएका सहप्रतिवादीहरू छेवाङ लामा, बलराम श्रेष्ठ र निटुप लामालाई चिन्दछु भनी आफ्नो बयानमा लेखाएको पाइन्छ ।

९. रसुवा जिल्ला अदालतले मिति २०७७।३।१४ को थुनछेक आदेशमा नै प्रतिवादीले लिएको जिकिरका सम्बन्धमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरबमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा राख्‍ने भनी उल्लेख गरेको पाइन्छ । प्रस्तुत विवादमा जिल्ला अदालतमा साधारण अधिकार क्षेत्रअन्तर्गत दायर भई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कानूनी व्यवस्थाबमोजिम कानूनको उचित प्रक्रिया (due process of law) अवलम्बन गरी जिल्ला अदालतबाट पुर्पक्षसम्बन्धी आदेश भएको विषय सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रबाट हेरिने विषय हो वा होइन भन्‍ने सन्दर्भमा नेपालको संविधानको धारा १७ र धारा १३३(२) को रोहमा  हेर्दा, “कानूनबमोजिम बाहेक कुनै व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण नहुने” र “संविधान प्रदत्त मौलिक हकको प्रचलनको लागि अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भएपनि अनुचित र प्रभावहीन देखिएको अवस्थामा सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत आदेश जारी गर्न सक्ने” भन्‍ने देखिन्छ । यसबाट कानूनको उचित प्रक्रिया (Due process of law)  बिना कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुन नसक्ने देखिन्छ । 

१०. प्रस्तुत रिट निवेदनमा रिट निवेदकले रसुवा जिल्ला अदालतबाट भएको पुर्पक्षसम्बन्धी आदेशमा कानूनको उचित प्रक्रिया (Due process of law) को अभाव भएको भनी दाबी गरेको देखिँदैन । रसुवा जिल्ला अदालतले आफ्नो क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको मुद्दामा प्रतिवादीको बयान लिई तत्काल प्राप्त प्रमाणको विवेचना गरी पुर्पक्षसम्बन्धी आदेश गरेको कार्य कानूनको उचित प्रक्रिया (Due process of law) अनुरूप नै भए गरेको देखिन्छ । सो आदेश मिलेको छैन भन्ने विषयमा यी निवेदकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अन्तर्गत दिएको निवेदन हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको देखिन्छ । अदालतमा विचाराधीन रहेको मुद्दामा स्वच्छ सुनुवाइ गर्नु उक्त अदालतको कर्तव्यको विषय हो । सो सुनुवाइको क्रममा निवेदकको परिचय र पहिचान यकिन गर्ने र सो सम्बन्धमा अन्य आवश्यक प्रमाणहरूसमेत बुझी निर्णय गर्ने कार्य उक्त अदालतले आफ्नो साधारण क्षेत्राधिकारअन्तर्गत गर्ने नै हुन्छ । कानूनको उचित प्रक्रियाअनुरूपको आदेशबाट निवेदक थुनामा रहेको, न्यायिक निकाय अदालतमा नै विचाराधीन विषयमा तत्काल प्राप्त प्रमाणको आधारमा परिचयको विषयसमेत निरूपण गरेको देखिन्छ । साथै थुनछेकसम्बन्धी आदेश गर्दा पनि अदालतले सो विषयमा पछि थप प्रमाण बुझ्ने कुरालाई अस्वीकार गरेको पनि देखिँदैन ।

११. बन्दीप्रत्यक्षीकरणको रिटबाट अदालत वा मुद्दा हेर्न कुनै निकायमा विचाराधीन मुद्दाको तथ्यभित्र प्रवेश गरी विवादित विषयमा प्रमाणसमेत बुझी केलाई ती अदालत वा निकायले गर्ने फैसलामा नै प्रभाव पार्ने गरी ‍औचित्यताको खोजी गर्ने कार्य गरिँदैन । बन्दीलाई थुनामा राखिएको कार्यको वैधतासम्म परीक्षण गरी गैरकानूनी तरिकाबाट थुनामा राखिएको भएमा बन्दीलाई थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिने हुन्छ (ने.का.प. २०६८, अङ्क ८, नि.नं. ८६६५) । प्रस्तुत विवादमा निवेदकले मुलतः रसुवा जिल्ला अदालतमा विचाराधीन अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको मुद्दाको प्रतिवादी कुन्जोक लामा भन्‍ने व्यक्ति र निवेदक कुन्जोक छिरिङ तामाङ भन्‍ने व्यक्ति एउटै नभई फरक रहेको हुँदा उनाउ व्यक्तिले गरेको कसुरका सम्बन्धमा निवेदकलाई पक्राउ गरी पुर्पक्षको लागि थुनामा राख्‍ने कार्य गैरकानूनी भनी दाबी गरी परिचयको कुरा उठाएको र सम्बन्धित मुद्दा सामान्य क्षेत्राधिकारमा विचाराधीन रहेको र निवेदकले उठाएका विवादित विषयमा विचार गरी निर्णय गर्ने सम्बन्धित अदालतको क्षेत्राधिकारमा हस्तक्षेप गर्नु उचित देखिँदैन । यी निवेदकले कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ भन्‍ने व्यक्ति एउटै नभई फरक व्यक्ति हुन् भनी उठाएको विवादबाट दुवै व्यक्ति अलग हुन् भनी निश्चयात्मक रूपमा भन्न सकिने र पुष्टि भइसकेको अवस्था छैन भने व्यक्तिको पहिचान गर्ने दायित्त्व साधिकार निकाय / अदालतलाई नै छाड्नु उचित हुन्छ । स्वच्छ सुनुवाइ गर्नुपर्ने दायित्त्व हरेक तहको अदालतमा रहन्छ । उसले सो कार्य गर्छु भनेकै छ भने उसको न्यायिक स्वायत्तता मर्ने गरी तल्लो तहमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्नु उचित हुँदैन । त्यसो गर्दा सर्वोच्च अदालतले आफू नै सबैथोक हुँ भनेको देखिनसमेत गई न्यायिक निकायहरूको तहगत स्वपान खलबलिन जान्छ । सबै तहका अदालतले सक्षमतापूर्वक सुनुवाइ गरी विवादहरूको निरूपण गर्छन् भन्ने विश्वास यस अदालतले राख्नुपर्छ । सर्वोच्च अदालत अन्तिम तहको न्यायकर्ता हुँदा सबै तहका अदालतले न्याय गर्छन् भन्ने कुरालाई यसले चनाखोपूर्वक हर्ने हो, हरेक तहमा हस्तक्षेप गर्ने होइन ।

१२. तसर्थ, माथि विवेचित आधार कारणहरूबाट रसुवा जिल्ला अदालतबाट अवैध रूपमा आखेटोपहार ओसारपसार मुद्दा नं. ०७६-C२-०००५ को मुद्दामा पक्राउ परी पेस गरिएका यी निवेदकको बयानसमेत लिई तत्काल प्राप्त प्रमाणको आधारमा परिचयको विषयमा सुनिश्चित भई निजले बयानको क्रममा लिएका जिकिरका सम्बन्धमा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय धुन्चे रसुवामा थुनामा राख्‍ने गरी भएको आदेशानुसार निवेदक थुनामा रहेको देखिएको र उक्त थुना कानूनको उचित प्रक्रिया (Due process of law) अनुरूप भएको देखिँदा निवेदकको थुनालाई गैरकानूनी थुना भन्‍न नमिल्ने हुँदा विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गरिपाउँ भन्‍ने निवेदकको निवेदन दाबीसँग सहमत हुन सकिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी आदेश विद्युतीय प्रणालीमा अपलोड गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.कुमार रेग्मी

 

इजलास अधिकृत: करूणा श्रेष्‍ठ

इति संवत् २०७७ साल कार्तिक २४ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु