शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८२७० - कर्तव्यज्यान

भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११

निर्णय नं. ८२७०        फागुन, २०६६

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी

माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला

संवत् २०६५ सालको स.फौ.पु.नं.०८१६

संवत् २०६५ सालको साधक नं.०२१

फैसला मितिः२०६६।७।४।४

 

मुद्दा :कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.६ बस्ने शुकबहादुर नेम्वाङ्ग

विरुद्ध

प्रत्यर्थी वादीः जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.७ बस्ने, नन्दकुमारी नेम्वाङ्गको जाहेरीले नेपाल सरकार

 

नन्दकुमारी नेम्वाङ्गको जाहेरीले नेपाल सरकार

विरुद्ध

जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.६ बस्ने शुकबहादुर नेम्वाङ्ग

 

§  आत्मरक्षा आफूले मनलागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्ति (exhaust at other grounds of defense) मा जिकीर लिन पाइने होइन । अपितु बास्तवमा नै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम बिकल्पको रुपमा हतियार उठाएको वा आफ्नो ज्यान जोखिममा पार्ने माथि प्रहार गरेको हुनु पर्‍यो । यो अवस्था कुनै संदेहविना प्रमाणित हुनुपर्ने ।

(प्रकरण नं.३)

शुरु फैसला गर्ने

मा.जि.न्या. श्री लेखनाथ घिमिरे

पुनरावेदन फैसला गर्नेः

मा.न्या. श्री ऋषिराज मिश्र

मा.न्या. श्री पुरुषोत्तम भण्डारी

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री टेकबहादुर रावल

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  ज्यानसम्बन्धी महलको १३(१) नं.

§  अ.बं.१८८ नं.

 

फैसला

न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, ईलामको मिति २०६४।९।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत परेको पुनरावेदन र ऐ.ऐनको दफा १०(१) बमोजिम साधक जाँचको लागि साधक दायरीमा समेत दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

मिति २०६३।५।२० गते दिउँसो मेरो श्रीमान मानबहादुर र देवर शुकबहादुर नेम्वाङ्ग समेत २ जना ईलाम महमाइ७ लक्ष्मीचोक पुगी घर फर्की आउने क्रममा बाटामा बिवाद गर्दा भाई शुकबहादुर नेम्वाङ्ग आवेशमा आई निजले भीरेको दापमा रहेको कर्द (चक्कु) निकाली श्रीमान मानबहादुरको कोखा र छाती लगायतको भागमा पटक पटक प्रहार गरी घटनास्थलमा नै कर्तव्य गरी मारेका र स्थानीय मानिसहरूले देखी घटनास्थल आउँदा अभियुक्त शुकबहादुर नेम्वाङ्ग रक्ताम्बे कर्द देखाई केही पर खोल्सीमा फ्याली भागी फरार भएकाले मिति २०६३।५।२१ गते बिहान मानिस भेला भई लाश खोलामा जलाई अन्तिम दाह संस्कार गरेको हुँ । यसरी मेरो श्रीमान मानबहादुरलाई धारिलो हतियार कर्द प्रहार गरी कर्तव्य गरी मार्ने शुकबहादुर नेम्वाङ्गलाई पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको नन्दकुमारी नेम्वाङ्गको जाहेरी दरखास्त ।

ईलाम महमाई६ ठेवाटार स्थित पूर्व पश्चिम, ऐ.७ नं.वडा लक्ष्मीचोकबाट ऐ.वडा नं.१ पलासेसम्म आवतजावत गर्ने सडक, दक्षिणमा बुद्धिमान घिसिङ्गको घर, उत्तरमा बलबहादुर तामाङ्गको घर यति चार किल्ला भित्र रहेको पूर्व पश्चिम बाटोको दक्षिण पट्टि छेउमा मानबहादुर नेम्वाङ्ग लिम्बूलाई आफ्नै भाई शुकबहादुर नेम्वाङ्ग लिम्बूले मिति २०६३।५।२० गते अं.१७.३० बजेको समयमा आफैले भिरेको खुकुरीको दापमा रहेको कर्द (चक्कु) ले मानबहादुर नेम्वाङ्ग लिम्बूको शरीरको अगाडि छातीका भागमा विभिन्न ठाउँमा घोची रोपी कर्तव्य गरी मारेको भनिएको घटनास्थलमा रहेको झार जंगलमा रगत जस्तो पदार्थ लागेको सो समेत प्रहरीले उठाई लगेको घटनास्थल नजिकमा रहेको खुकुरी काठको खाली दाप र एकथान कर्द समेत वरामद गरेको समेत ठिक छ भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।

ईलाम महमाइ ६ ठेवाखोला किनारमा आगोले जलेको कालो ठुटाहरू अंगार खरानी समेत रहेको सोही स्थानमा हड्डी जस्तो देखिने आगोले जलेको सेता टुक्रा थान दुई समेत वरामद गरेको, उक्त स्थानमा नै मिति २०६३।५।२१ गते मृतक मानबहादुर नेम्वाङ्गको लाश सद्‌गद गरेको घटनास्थल मुचुल्का ।

मृतक मानबहादुर नेम्वाङ्गको पत्नी नन्दकुमारी नेम्वाङ्गले मेरो श्रीमानलाई शुकबहादुर नेम्वाङ्गले कर्दले रोपी घोची कर्तव्य गरी मारेकोले आवश्यक कारवाही गरिपाऊँ भन्ने जाहेरी दरखास्तबमोजिम घटनास्थल मुचुल्का गरी सो स्थानमा फेला परेको कर्द, खुकरी, काठको दाप समेत बरामद गरी लाश सद्‌गद गरेको घटनामा फेला परेको आगोले जलेको हड्डी जस्तो देखिने थान २ समेत वरामद गरी अभियुक्त शुकबहादुर नेम्वाङ्गलाई आवश्यक कारवाहीका लागि प्रतिवेदन साथ दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.नि.पोष्टराज ढकालको प्रतिवेदन ।

मिति २०६३।५।२० गतेका दिन अं.१०।११ बजेको समयमा ईलाम महमाइ ६ स्थित ठेवाटारमा भेट भई दुबै जना भोटे तामाङ्गको घरमा रक्सी समेत खाई घर फर्की आउने क्रममा दाजु मानबहादुर नेम्वाङ्ग पछाडिबाट आइ मैले भिरेको खुकुरी दापबाट निकाली फाली मलाई अनुहारमा मुक्काले हान्न थाले पछि म आवेशमा आई दाप भित्र रहेको कर्द (चक्कु) निकाली निजको कोखा, दायाँ पाखुरा र छातीमा घोच्दा निज दाजु रगताम्मे भई भूईमा ढली निजको घटनास्थलमानै मृत्यु भएको हो वरामद खुकरी, कर्द र दाप समेत मेरै हो भन्ने समेत व्यहोराको प्रतिवादी शुकबहादुर नेम्वाङ्गले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

शुकबहादुर नेम्वाङ्गको शरीर तलासी गरी निजले लगाएको हरियो रंगको कटुमा रगत जस्तो रातो टाटा देखिएकोले सो कट्टु प्रहरीले जिम्मा लिएको ठिक हो भन्ने समेत व्यहोराको शुकबहादुर नेम्वाङ्गसँग लिएको शरीर तलासी मुचुल्का ।

मृतक मानबहादुर नेम्वाङ्ग (लिम्बू) र भाई शुकबहादुर नेम्वाङ्ग (लिम्बू) एक आपसमा झगडा गर्दा गर्दै भाई शुकबहादुर नेम्वाङ्ग लिम्बूले आफ्नो दाजु मानबहादुर नेम्वाङ्ग लिम्बूलाई आफ्नो साथमा रहेको खुकुरी विनाको दापमा रहेको कर्द (चक्कु) निकाली रोप्न थाले पछि म निजहरू तर्फ जान सकिन मानिसहरूलाई हल्ला खल्ला गरेपछि निज प्रतिवादी शुकबहादुर नेम्वाङ्ग भागेछन् । मृतक मानबहादुर नेम्वाङ्गलाई प्रतिवादी शुकबहादुर नेम्वाङ्गले कर्तव्य गरी मार्न प्रयोग गरेको कर्द (चक्कु) प्रहरीले वरामद गरी लगेका हुन् भन्ने समेत व्यहोराको माकलुबीर नेम्वाङ्गको कागज ।

मृतक मानबहादुर नेम्वाङ्ग र निजको भाई शुकबहादुर नेम्वाङ्ग मेरो घर बाहिर बसी जोड जोड वाझे झगडा गरे जस्तो गरी कुरा गरी रहेका थिए । केही बेरमा दुबै जना बाटोमा निस्किए भान्सामा पसें । बाहिर बच्चाहरूले मान्छे मार्‍यो, मान्छे मार्‍यो भनी कराएको सुनी बाहिर बाटोमा निस्किएर हेर्दा मानबहादुर नेम्वाङ्गलाई प्रतिवादी शुकबहादुर नेम्वाङ्गले कर्द (चक्कु)ले प्रहार गरी ढाली मृत्यु भइसकेको रहेछ भन्ने समेत व्यहोराको माइली तामाङ्गको कागज ।

मृतक मानबहादुर नेम्वाङ्ग र निजकै भाइ प्रतिवादी शुकबहादुर नेम्वाङ्ग महमाइ६ स्थित घटनास्थलमा बादबिवाद गरी रहेको अवस्थामा शुकबहादुर नेम्वाङ्गले आफ्नो कम्मरमा भिरेको दापमा रहेको कर्द (चक्कु) निकाली दाजु मानबहादुर नेम्वाङ्गको कोखा, छातीमा यत्रतत्र रोप्न घोच्न थाले पछि निज मानबहादुर नेम्वाङ्ग घटनास्थलमा नै ढलेका र निजको तत्कालै मृत्यु भएको देखेको हुँ, मानबहादुर नेम्वाङ्गको मृत्यु भइसकेपछि पनि पक्राउ प्रतिवादी शुकबहादुर नेम्वाङ्ग हातमा सोही कर्द (चक्कु) बोकी उभिई रहेका थिए भन्ने समेत व्यहोराको बुद्धिमाया तामाङ्गको कागज ।

मिति २०६३।५।२० गते म आफ्नै घरमा थिएँ । राति गाउँ घरमा खैलाबैला भएकोले के रहेछ भनी बुझ्दा जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.६ बस्ने हालमा पक्राउ प्रतिवादी शुकबहादुर नेम्वाङ्गले आफ्ना दाजु मृतक मानबहादुर नेम्वाङ्गको छाति तथा कोखामा कर्द (चक्कु)ले रोपी मारेका छन् भन्ने सुनी भोलिपल्ट बिहान सो घटनास्थलमा गई हेर्दा मृतक मानबहादुर नेम्वाङ्गको छाति तथा कोखामा धारिलो बस्तुले रोपेको रगताम्मे लाश देखेको हुँ भन्ने समेत व्यहोराको डिल्लीशेर नेम्वाङ्ग लिम्बूको कागज ।

मिति २०६३।५।२० गते अं.१७.३० बजेको समयमा मृतक मानबहादुर नेम्वाङ्ग र निजका भाई शुकबहादुर नेम्वाङ्ग एक आपसमा वादविवाद गरी ईलाम महमाई६ मा पुग्दा प्रतिवादी शुकबहादुर नेम्वाङ्ग आवेशमा आई आफ्नो कम्मरमा भिरेको खुकुरीको दापमा रहेको कर्द (चक्कु) निकाली दाजु मृतक मानबहादुर नेम्वाङ्गको छाति, कोखा लगायतका शरीरका अन्य भागमा पटकपटक रोपी घोची मानबहादुर नेम्वाङ्गको घटनास्थलमा नै मृत्यु भएको र मृतकको लाशलाई माओवादीमा संलग्न मानिसहरूले पोष्टमार्टम गर्नु पर्दैन भनी ऐ.२१ गते ठेवाखोलामा लगी लाश जलाई सद्गद् गरेका रहेछन भन्ने कुरा थाहा पाएको हो भन्ने समेत व्यहोराको मनबहादुर शंखर समेतका मानिसको एकै मिलानको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी शुकबहादुर नेम्वाङ्गले दाजु मानबहादुर नेम्वाङ्गलाई २०६३।५।२० गते अं.दिनको १७.३० बजे ईलाम महमाई६ स्थित ठेवाटारमा वरामद भएको कर्द (चक्कु) ले कोखा, छाती समेतका शरीरका अंगमा प्रहार गरी रोपी कर्तव्य गरी मारी निज मृतकको लाश भोलिपल्ट ०६३।५।२१ मा ठेवा खोलामा जलाई अन्तिम दाहसंस्कार गरेको तथ्य स्थापित हुन आई विरुद्ध खण्डका प्रतिवादी शुकबहादुर नेम्वाङ्गले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं.अन्र्तगतको कसूर गरेको पुष्टि हुन आएकोले निज शुकबहादुर नेम्वाङ्गलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।

मृतक दाजु मानबहादुर नेम्वाङ्गले रक्सीले माती आई मलाई अनुहार, टाउको समेतका भागमा हातले कुटी मैले बोकेको सौदा मट्टितेल समेत खोसी फ्याँकी दिए । किन यसो गरेको भनी सोध्दा केही नभनी कुटिरहेकोले मेरो कानबाट रगत निस्किए पछि मलाई ज्यादै रिस उठी मेरो कम्बरको निज दाजुले झिकी फ्यालेको खुकुरीको दापबाट कर्द (चक्कु) झिकी घोची मारेको हुँ । मैले मेरो दाजु मानबहादुर नेम्वाङ्गलाई मारेको ठिक हो, बरामद खुकुरी मेरो हो । कर्द (चक्कु) चाँही यहाँ रहेनछ प्रहरीबाट कता पठाइयो थाहा भएन भनी प्रतिवादी शुकबहादुर नेम्वाङ्गले अदालतमा गरेको साविती बयान ।

जाहेरी दरखास्त, प्रमाणका व्यक्तिको भनाई वस्तुस्थिति मुचुल्का, तत्काल प्रमाणबाट ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सजायको माग दावी लिइएको प्रतिवादीलाई निर्दोष मान्न सकिएन प्रतिवादीउपर अ.बं.११८ नं.को देहाय २ को अवस्था विद्यमान देखिंदा पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी यी प्रतिवादीलाई पुर्पक्षको क्रममा कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न अ.बं.१२१ नं.बमोजिम थुनुवा पूर्जी दिई कारागार शाखा ईलाममा पठाई दिनु भन्ने समेत व्यहोराको मिति २०६३।६।२ गतेको ईलाम जिल्ला अदालतको आदेश ।

अदालतका आदेशबमोजिम जाहेरवाला नन्दकुमारी नेम्वाङ्ग, बुझिएका मानिस डिल्लीशेर नेम्वाङ्ग, माइली तामाङ्ग, माकलुबीर नेम्वाङ्ग, नाखबीर नेम्वाङ्ग, रामप्रसाद लिम्बू समेतको बकपत्र भई मिसिल सामेल रहेको ।

मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले दाजु मानबहादुर नेम्वाङ्गलाई चक्कुले हानी घोची ज्यानसम्बन्धी महलको १ नं.को बर्खिलाप कर्तव्य गरी ज्यान मारेको देखिंदा निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्छ र घटना घटेको परिस्थिति समेतलाई विचार गर्दा प्रतिवादीलाई कानूनबमोजिम सजाय गर्दा चर्को हुने हुँदा १० बर्ष मात्र कैद गर्न उपयुक्त हुने देखी अ.बं.१८८ नं. बमोजिमको सजाय प्रस्ताव गरिएको छ भन्ने समेत व्यहोराको ईलाम जिल्ला अदालतबाट मिति २०६३।८।२० मा भएको फैसला ।

एक आँतका आफ्नै दाजुभाइ सँगसँगै हिडिरहेका बखत परस्पर वादविवाद हुँदा हुँदै कर्द (चक्कु) ले घोची घोची स्वयं दाजु मृतकलाई प्रतिवादीले कर्तव्य गरी मार्दछन् भने त्यसलाई सामान्य कसूर र अपराध हो भन्न मिल्दैन र साह्रै घटी सजाय गर्न पनि उचित हुँदैन मृतक दाजुप्रति रिस उठे पछि प्रतिवादीले पनि कुटपीट मात्र गरेर पनि आफ्नो रिस पोख्न सक्थे, तर त्यसो नगरी चक्कु जस्तो कर्दले घोचीघोची, रोपीरोपी पीडा दिई मृतकको हत्या गर्ने प्रतिवादीलाई केवल १० बर्ष मात्र कैद सजाय गर्दा निज प्रतिवादीको आपराधिक मनोवल बढ्नुका साथै समाज एवं पीडित परिवारको दृष्टिमा समेत अदालतप्रतिको जनआस्थामा केही नकारात्मक शोच उत्पन्न हुन सक्ने अवस्थालाई समेत हृदयगंम गर्दा अ.बं.१८८ नं. बमोजिम शुरुले राय प्रकट गरेको १० बर्ष मात्र कैद सजायको सट्टा प्रतिवादीलाई १२ बर्ष कैद सजाय गर्न उचित हुने देखी राय समेत प्रकट गरिएको छ भन्ने समेत व्यहोराको मिति २०६४।९।२ को पुनरावेदन अदालत, ईलामको फैसला ।

मिति २०६३।५।२० गते म पुनरावेदक आफ्नै कामको उद्देश्यले गएको र संयोगवस दाजुसँग भेट भै दाजु मानबहादुर नेम्वाङ्गले विद्यालयको प्राङ्गणको बिषयमा विवाद गरेको र मेरो खुकुरी फाली दिएको, मलाई कुटपीट गरेको कारणबाट मैले आफ्नो आत्मारक्षाको लागि जाई लाग्दा निज दाजुको मृत्यु हुन गएको कुरा लिखत प्रमाणबाट पुष्टि भैरहेकोमा त्यसको विश्लेषण नगरी गरिएको फैसला त्रुटिपूर्ण छ । जबकि म पुनरावेदकले सम्मानीत अदालतलाई आफ्नो भएको साँचो सत्य व्यहोरा उल्लेख गरी सहयोग गरेको छु । चश्मदित भनिएका माकलुबीरले समेत मेरो खुकुरी फाली दिएको कुरा उल्लेख गरेकै छ  र त्यसमा पनि मृतक दाजुले मलाई कुटपीट गरेको कुरा लिखत कागजले पुष्टि गरी रहेकैछ । यस्तो अवस्थामा ज्यानसम्बन्धी महलको ७ नं.ले सफाइ पाउनु पर्नेमा ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद सजाय गरी शुरु ईलाम जिल्ला अदालतबाट अ.बं.१८८ नं. अनुसार १० बर्षको राय पेश गरेकोमा सोमा २ बर्ष थप गरी १२ बर्षको राय पेश गरेको पुनरावेदन अदालत, ईलाम समेतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी ज्यानसम्बन्धी महलको ७ नं.अनुसार सफाइ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निणर्याथ आज यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावलले प्रतिवादी र मृतक मानबहादुर नेम्वाङ्ग दाजुभाइ नाताका भएका र मानबहादुर नेम्वाङ्गले मेरो पक्षलाई विनाकारण लगातार कुटपीट गरेको र निजको कानबाट रगत समेत आउँदा कुट्न नछोडे पछि बाध्य भै आत्मरक्षाको लागि कर्द प्रयोग गरी आफू बचेको अवस्था छ । यदि त्यस्तो नगरेको भए मेरो पक्षको मृत्यु अवश्यभावी थियो । यस्तो अवस्थालाई ध्यान नदिई सर्वश्वसहित जन्मकैद गर्ने गरी भएको शुरु फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला बदर गरी मेरो पक्षलाई सफाइ दिलाई पाऊँ भन्ने समेत व्यहोराको बहस  गर्नुभयो ।

विद्वान वैतनिक अधिवक्ताको बहस बुँदालाई समेत मध्यनजर राखी मिसिल संलग्न प्रमाण कागजको अध्ययन गरियो । शुरु जिल्ला अदालतबाट मिति २०६३।८।२० मा ज्यानसम्बन्धी महलको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद सजाय गरी गरेको फैसला मनासिब ठहराई अ.बं.१८८ नं.अनुसार प्रतिवादीलाई १२ बर्ष कैद सजाय गर्न उचित हुने भनी राय प्रकट गरी मिति २०६४।९।२ मा पुनरावेदन अदालत, ईलामबाट साधक जाहेरी फैसला भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, ईलामबाट प्रतिवादी शुकबहादुर नेम्वाङ्गको सजायको साधक सदरको लागि यस अदालतमा दायरी रहेको लगत कट्टा गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम प्रतिवादीको पुनरावेदन परेकोले सोही पुनरावेदनको रोहबाट इन्साफ गर्नुपर्ने भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, ईलामबाट मिति २०६४।९।२ मा भएको फैसला मिले नमिलेको के हो ? पुनरावेदन जिकीरबमोजिम हुनुपर्ने हो वा होइन ? त्यस विषयमा निर्णय दिनुपर्ने देखियो ।

निर्णयतर्फ विचार गर्दा, मृतक मानबहादुर नेम्वाङ्गका भाई प्रतिवादी शुकबहादुर नेम्वाङ्गले मिति २०६३।५।२० गते मृतकको शरीरमा कर्दले पटकपटक घोची, रोपी कर्तव्य गरी मारेकोले निज शुकबहादुर नेम्वाङ्गलाई ज्यानसम्बन्धी महलको १ नं.विपरीतको कसूरमा ऐ.महलको १३ नं. को देहाय १ नं.बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी भएको प्रस्तुत मुद्दामा मानबहादुर नेम्वाङ्गलाई ज्यानसम्बन्धीको १३(१) नं.अनुसार कसूर र सजाय ठहर गर्दै अ.बं.१८८ न..अनुसार १० बर्ष मात्र कैद गर्नुपर्ने राय गरी शुरु जिल्ला अदालतले गरेको फैसलामा इन्साफ सदर गरी रायतर्फ १२ बर्ष सजाय गर्नुपर्ने अ.बं.१८८ नं. अनुसार राय व्यक्त गर्दै पुनरावेदन अदालतबाट फैसला भएको रहेछ । सोही फैसला साधक जाहेरी गर्न आएकोमा प्रतिवादीको पुनरावेदन समेत परी सो पुनरावेदन निर्णयार्थ पेश भएको पाइयो ।

२.    प्रतिवादी शुकबहादुर नेम्वाङ्गले मिति २०६३।५।२० गते आफैले भिरेको खुकुरीको दापमा रहेको कर्द (चक्कु) ले आफ्नै दाजु मानबहादुर नेम्वाङ्गको शरीरको अगाडि छातीका भागमा विभिन्न ठाउँमा घोची, रोपी कर्तव्य गरी मारेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का र मिति २०६३।५।२१ गते मृतक मानबहादुर नेम्वाङ्गको लाश सद्‌गद गरेको घटनास्थल मुचुल्काबाट पुष्टि हुन्छ । मृतकको लाश नभए तापनि तथ्यमा कुनै बिवाद देखिदैन । मेरो कम्मरमा भिरेको दापमा रहेको कर्द (चक्कु) निकाली पटक पटक गरी घोच्दा, रोप्दा, छातीमा परे पछि मात्र निजको घटनास्थलमा नै मृत्यु भएको हो भनी अनुसन्धान अधिकारी एवं अदालतमा समेत प्रतिवादी स्वयं स्वैच्छाले आरोपित कसूर गरेको कुरा स्वीकार गर्दै पूर्णतः साविती बयान गरेको देखिन्छ । मृतक मानबहादुर नेम्वाङ्गलाई प्रतिवादी शुकबहादुर नेम्वाङ्गले नै मारेको हुन भनी जाहेरवाली नन्दकुमारी नेम्वाङ्गले अदालतमा आई बकपत्र गरेको देखिन्छ । प्रतिवादीले आफ्नो दापमा रहेको कर्द (चक्कु) झिकी मृतकलाई प्रहार गर्न लाग्दा देखेको हुँ । म केही टाँढा भएकोले छुट्याउन भ्याइन भन्ने समेत व्यहोराको प्रत्यक्षदर्शी माकलुबीर नेम्वाङ्गको बकपत्र र सोही व्यहोरासँग मिल्दोजुल्दो अर्का प्रत्यक्षदर्शी माइली तामाङ्गको बकपत्र मिसिल सामेल रहेको छ । शुरु ईलाम जिल्ला अदालतबाट प्रतिवादी शुकबहादुर नेम्वाङ्गले अभियोग दावीअनुसारको कसूर गरेको प्रमाणित भएको भनी अभियोग माग दावी अनुसार निजलाई सर्वश्वसहित जन्मकैद सजाय गरी अ.बं.१८८ नं.बमोजिम १० बर्ष मात्र कैद गर्ने राय समेत लगाई मिति २०६३।८।२० मा भएको फैसलाउपर यी प्रतिवादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको अवस्था छ । यसबाट आफ्नै दाजु मानबहादुरले प्रारम्भमा यी प्रतिवादीलाई पिटेको र निजको खुकुरी पनि फाली दिएको समेत कारण निजसँग रिसाई आफूले भिरी राखेको कर्द (चक्कु) ले पटकपटक हिर्काउँदा मानबहादुरको मृत्यु भएको तथ्य शंकारहित र निर्बिवाद तथ्यबाट प्रमाणित भई रहेको छ । प्रस्तुत घटनाक्रमको सिलसिला र स्वरुप हेर्दा यो वारदात अचानक भएको वा यी प्रतिवादीले आफ्नो जीउको सुरक्षाका लागि आत्मरक्षार्थ मात्र हतियार उठाउनु परेको भन्ने देखिन आउँदैन । त्यसमा एकातिर प्रतिवादीको दाजु मानबहादुरले घातक हतियारले प्रतिवादी माथि घातक प्रहार गरेको पुष्टि हुँदैन भने अर्कातिर आत्मरक्षाको जिकीर यी प्रतिवादीले शुरुमा लिएको पाइदैन । अपितु जिल्ला अदालतको फैसलामा चित्त बुझाई बसेको समेत देखिन्छ ।

३.    यस्तो अवस्थामा दोस्रो तहको पुनरावेदनमा मात्र लिएको आत्मरक्षाको जिकीर आत्मरक्षाको सिद्धान्त Doctrine of self Defense सँग मेल खाँदैन । साथै घटना क्रमले पनि आत्मरक्षार्थ हतियार उठाएको पुष्टि गर्दैन । एक पटक मात्र होइन, पटक पटक चक्कुको प्रहार गरिएको छ । त्यसकारण प्रतिवादीको पुनरावेदन परेको एकातर्फ देखिदैन भने हाल आएर आत्मरक्षाको लागि बचाउ गर्दा दाजु मानबहादुर नेम्वाङ्गको निधन हुन गएकोले ज्यानसम्बन्धी महलको ७ नं.अनुसार गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन जिकीर न्याय र कानूनसम्मत देखिएन । आत्मरक्षा आफूले मनलागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्तिमा (exhaust at other grounds of defense) जिकीर लिन पाइने होइन । अपितु बास्तवमानै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम बिकल्पको रुपमा हतियार उठाएको वा आफ्नो ज्यान जोखिममा पार्ने माथि प्रहार गरेको हुनु पर्‍यो । यो अवस्था कुनै संदेहविना प्रमाणित पनि हुनु पर्छ । प्रस्तुत मुद्दामा यी प्रतिवादीले शुरुमा आत्मरक्षाको जिकीरसम्म पनि लिन नसकेको र वारदातको प्रकृति हेर्दा पनि आत्मरक्षाको पुनरावेदन जिकीरमा विश्वास गर्नुपर्ने अवस्था देखिन आएन ।

४.    अतः माथि बिवेचित आधार प्रमाणबाट प्रतिवादी शुकबहादुर नेम्वाङ्गलाई ज्यानसम्बन्धी महलको १ नं.र १३ नं.को कसूर गरेको ठहराई सोही नं.अनुसार सर्वश्वसहित जन्मकैद सजाय गरेको इन्साफ मनासिब देखिन आयो । अब अ.बं.१८८ नं. अनुसार सजाय छुटको लागि व्यक्त गरिएको राय सम्बन्धमा विचार गर्दा मृतक र प्रतिवादीबीच खास दाजु भाईको घनिष्ट नाता छ । यी दुई बीच एक अर्काको ज्यानै लिनु पर्ने सम्मको पुरानो शत्रुता वा इवी रहेको छैन । त्यस्तो शत्रुवत् व्यवहार पनि पहिला देखि गरी आएको छैन । सामान्य कारण परी तत्कालै आवेशमा आई आफ्नै दाजुको ज्यान मार्नेसम्मको कर्तव्य गरेको देखिन आए पनि यी प्रतिवादीले अपराध अनुसन्धान र न्यायिक कारवाहीमा सहयोग पुर्‍याएको देखिन्छ । सजायबाट आफूलाई बचाउन भाग्दै हिडेको वा आपराधसँग सम्बन्धित तथ्य, प्रमाण लुकाउने वा नष्ट गर्ने काम पनि गरेको देखिएको छैन । मारिएको व्यक्ति मानबहादुरको शव अनधिकृत तवरबाट जलाई सकिए पनि आफुले गरेको कसूरमा सावित रही अनुसन्धानको कार्य अगाडि बढाउन यी प्रतिवादीले सहयोग पुर्‍याएको अवस्था छ । यसको अतिरिक्त निजको उमेर र पहिलाको अपराधिक प्रवृत्तिको अभाव तथा पारिवारिक अवस्था समेतलाई विचार गर्दा २० बर्ष नभई १२ बर्षको कैद गर्दा पनि फौजदारी न्यायको उद्देश्य पूरा हुने देखिन्छ । तसर्थ अ.बं.१८८ नं. बमोजिम प्रतिवादीलाई १२ बर्ष सजाय गर्न उचित हुने देखि पुनरावेदन अदालतबाट व्यक्त गरी पठाएको राय समेत सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू । 

 

उक्त रायमा म सहमत छु ।

 

न्या. मोहनप्रकाश सिटौला

इति संवत् २०६६ साल कात्तिक ४ गते रोज ४ शुभम्

 

इजलास अधिकृतः विद्याराज पौडेल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु