निर्णय नं. १०६६५ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
फैसला मिति : २०७७।११।७
०७६-RC-०१६८
मुद्दाः- कर्तव्य ज्यान
वादी : प्र.ना.नि. होमनाथ अधिकारीसमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : बाल सुधार गृह भक्तपुरमा रहेका परिवर्तित नाम थर ४४ कुश्मा (९)
बालबालिकाको अधिकारको परिप्रेक्ष्यमा किशोर अवस्थामा रहेका कानूनले बालबालिका हुन् भनी निर्धारित गरेको उमेर समूहभित्र देखिएका वा सामान्यतया २० वर्षको उमेरसम्मका किशोर किशोरीहरूबिच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसुरजन्य कार्यमा कानून कार्यान्वयन गर्दा उदार दृष्टिकोण अपनाउनु उपयुक्त देखिने ।
किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने हुँदा तथा असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या देखिन सक्ने ।
(प्रकरण नं.६)
असुरक्षित यौन सम्बन्धका कारण जुनसुकै उमेर समूहका महिलाबाट जन्मिने नाबालकलाई वा कानूनले निर्धारण गरेको बालबालिकाको उमेर समूह वा बिस वर्षभन्दा कम उमेर समूहका महिलाबाट त्यस्तो असुरक्षित यौन सम्बन्धका कारण जन्मने नाबालकको तत्काल गरिने जातक हत्या (Infanticide) का सम्बन्धमा महिलालाई हेर्ने परिवर्तित संवैधानिक, कानूनी तथा सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, उनीहरू रहेको सामाजिक परिस्थिति तथा त्यस्तो कार्यमा संलग्न महिलाहरू क्रूर तथा अपराधी नभई सम्बन्धित पुरूष गैरजिम्मेवार भएको र लोकलज्जाका कारण त्यस्तो कार्य गर्न बाध्यात्मक अवस्था सिर्जना भई अविवाहित वा विवाहित अवस्थामा पनि बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सिर्जना भएको हुन सक्ने ।
जातक हत्याको अभियोगमा परेका महिलाहरूले गरेको ज्यानसम्बन्धी कार्य कसुरको रूपमा मानिने भए तापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने ।
न्यायिक दृष्टिकोणले अदालतहरूले यस प्रकृतिको कसुरमा उल्लिखित आधार र कारणसहित सम्बन्धित महिलाको आत्मसम्मान, समानताको हक र समाजमा महिलाको परिवर्तित पहिचानसमेतलाई मध्यनजर गरी यस प्रकृतिको कसुरमा न्यूनतम सजाय गर्दा पनि न्यायको उद्देश्य पूरा हुने ।
(प्रकरण नं.७)
असुरक्षित यौन सम्बन्ध हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जातकको हत्या गरेको अवस्था तथा परिस्थितिलाई समेत विचार गरी निर्णय गर्नु उपयुक्त देखिने ।
सामाजिक तिरस्कार तथा लोकलज्जाबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले हत्या गरेको तथा प्रारम्भदेखि नै कसुर स्वीकार गरी न्यायिक प्रक्रियालाई सहयोग पुर्याएकोले ऐनअनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी निजलाई २ वर्ष कैद गर्दा पनि कानूनको मकसद पूरा हुने ।
(प्रकरण नं.८)
वादीका तर्फबाट :
प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०७२, अङ्क २, नि.नं.९३५२
ने.का.प.२०६३, अङ्क १२, नि.नं.७७९७
ने.का.प.२०३८, अङ्क २, नि.नं.१४३९
सम्बद्ध कानून :
मुलुकी अपराध (संहिता) ऐन, २०७४
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
बालबालिकासम्बन्धी ऐन, २०७५
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री सूर्यबहादुर थापा
पर्वत जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी
माननीय न्यायाधीश श्री शकुन्तला घिमिरे
उच्च अदालत पोखरा, बागलुङ इजलास
फैसला
न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १० तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ बमोजिम साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः-
तथ्यगत बेहोरा
मिति २०७५।५।१८ गते अन्दाजी १६ बजे जिल्ला पर्वत फलेवास न.पा. वडा नं.१० स्थित ठुलो कुलोमा पानीले बगाइरहेको अवस्थामा नवजात स्त्री जातको शिशु मृत अवस्थामा फेला परेको भन्ने प्रहरी चौकी फलेबास, पर्वतबाट जानकारी प्राप्त हुनासाथ घटनास्थलमा खटी गई अभिभावकको खोज तलास गर्दा परिवर्तित नाम ४४ कुश्मा (९) ले नवजात शिशु (स्त्री) जन्माई कर्तव्य गरी मारी फालेको भन्ने बुझिन आएको हो । निज ४४ कुश्मा (९) लुकी छिपी बसेको अवस्थामा मिति २०७५।५।२० गते पक्राउ गरी सोधपुछ गर्दा निजले जिल्ला पर्वत फलेवास न.पा.वडा नं.१० बस्ने गणेश मल्लसँगको यौन सम्बन्धबाट गर्भ रहेको कसैलाई थाहा थिएन । महिना पुगी मिति २०७५।५।१८ गते बिहान आफ्नै घरमा कोही नभएको समयमा जिउँदै स्त्री जातको नवजात शिशु जन्माई रून कराउन नपाउने गरी मुख थुनी कर्तव्य गरी मारी सिमेन्टको बोराभित्र राखी घरनजिकै पानी बगी राखेको कुलोमा फाली दिएको भनेकी हुँदा निज ४४ कुश्मा (९) समेतलाई कानूनबमोजिम गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन जाहेरी ।
जिल्ला पर्वत फलेबास न.पा. वडा नं.१० स्थित कुर्घाफाँट ठुलो कुलोको पूर्व र पश्चिममा खोलाबाट कुर्घाफाँट आउने ठुलो कुलो, उत्तरमा भवानीप्रसाद पौडेलको धानखेत र दक्षिणमा यमप्रसाद लम्सालको धानखेत यति चार किल्लाभित्र कुलोमा मिति २०७५।५।१८ गते अन्दाजी १६ बजे स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेको, मृत शिशु टाउको पूर्व खुट्टा पश्चिम भई उत्तानो अवस्थामा पानीमा तैरिई रहेको र सो नवजात शिशुको टाउको हल्लाउँदा पूरै हल्लिने भन्ने घटनास्थल तथा लास जाँच प्रकृति मुचुका ।
Cause of death मा UNDETERMINED. BODY UNDERWENT ADVANCED STAGE OF DECOMPOSITION. उल्लेख भएको नवजात शिशुको शव परीक्षण प्रतिवेदन ।
परिवर्तित नाम ४४ कुश्मा (९) ले बच्चा जन्माएको हो । योनिको घाउचोटमा (II° Perineal Tear) उल्लेख भएको प्रतिवादी परिवर्तित नाम कुश्मा (९) को स्वास्थ्य तथा शारीरिक जाँच परीक्षण प्रतिवेदन ।
मिति २०७४ सालको आश्विन महिनादेखि जिल्ला पर्वत फलेवास न.पा. वडा नं.१० बस्ने मलाई आफ्नो नाम गणेश भनी बताउने व्यक्तिसँग मेरो चिनजान, भेट तथा सम्पर्क भयो । वास्तवमा निज यामबहादुर मल्लको छोरा मनबहादुर मल्ल रहेछन । निजसँग सामाजिक सञ्जाल फेसबुकमा चिनजान भई फेसबुक हुँदै मोबाइलमा समेत कुराकानी हुन
थाल्यो । कुरा गर्दा गर्दै हामी मिति २०७४।८।२७ गते घर नजिकको जङ्गलमा भेट भयौं । एकान्त जङ्गलमा निजले मसँग करणी गरेको महिनादेखि मेरो मासिकश्राव बन्द भयो । सोपश्चात् निज मनबहादुर मल्ललाई भेटी निजको गर्भ बसेको कुरा जानकारी गराउँदा निजले जन्मेपछि मारेर फालिदिनु भनेको हुँदा मैले कोही कसैलाई उक्त कुरा बताउन सकिन । त्यसपछि मनबहादुर मल्ल सम्पर्कमा आएनन् । कसैले थाहा पाउलान् भनी पेट ढाकिने कपडा लगाउँदै ढाकछोप गर्दै आएकोमा मिति २०७५।५।१८ गते अन्दाजी १० बजे मेरै घरमा मलाई प्रश्रव व्यथा लागी नवजात शिशुको जन्म भयो । सो समयमा मेरो घरमा कोही थिएनन् । मैले शिशु जन्मनासाथ निजको नाक मुख कपडाले थुनी रून कराउन नदिई थिची निज शिशु शिथिल भएपछि मर्यो होला भनी सिमेन्टको बोरामा पोको पारेर घरनजिकैको पानी बगिरहेको कुलोमा फ्याँकी घर फर्किएँ । सोही दिन दिउँसो सोही कुलोमा मैले फ्याकेको स्थानभन्दा केही तल गाउँलेहरूले लास देखी प्रहरीलाई खबर गरेछन् । प्रहरी आई लासजाँचसमेतका कार्य गरी लास उठाई लिई गए भन्ने कुरा सुनेँ । २० गते मेरो घरमा प्रहरी आई मलाई सोधखोज गरेपछि मैले शिशु जन्माई मारी फ्याकेको कुरा बताएपश्चात् मलाई घरबाटै प्रहरीले पक्राउ गरी लगेका हुन् भन्ने प्रतिवादी परिवर्तित नाम, थर ४४ कुश्मा (९) ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मिति २०७५।५।१८ गते पर्वतको फलेबास स्थित कुलोमा नवजात शिशुको लास फेला परेको कुरा सुनेको थिएँ । २० गते परिवर्तित नामथर ४४ कुश्मा (९) लाई सोही घटनामा प्रहरीले पक्राउ गरेको भन्ने पनि थाहा पाएँ । कुश्मा (९) को बयानमा सो घटनामा मेरोसमेत संलग्नता रहेको भनी उल्लेख गरेको कुरा हाल आएर थाहा पाएँ । मिति २०७४।८।२७ गते हामी दुई जनाबिच निजको घरनजिकैको जंगलमा एकपटक शारीरिक सम्पर्क भएको हो । शारीरिक सम्पर्क हुँदा मैले कण्डम प्रयोग गरेको थिएँ । मैले लगाएको कण्डम फुट्यो कि फुटेन मलाई यकिन भएन । निजले मासिकश्राव रोकियो भने के गर्ने हो भनी सोध्दा मैले चिन्ता नगर म छँदै छु नि भनेको थिएँ । हाम्रो शारीरिक सम्पर्क भएको डेढ महिनापछि निजले मलाई भेटी म गर्भवती भएँ अब के गर्ने भन्दा त्यो बेला मलाई टेन्सन भएकाले म तिमीलाई विवाह पनि गर्दिन र पेटको बच्चा जन्माएर फ्याँकिदिए हुन्छ भनेको थिएँ । हाल आएर निजले मास पुगेको शिशु जन्माई कर्तव्य गरी मारी फ्याकेको कुरा थाहा पाएँ भन्ने प्रतिवादी मनबहादुर मल्लले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
जिल्ला पर्वत फलेबास न.पा. वडा नं.१० स्थित पूर्वमा ठुलो कुलो, पश्चिममा मिहीराज पौडेलको धानखेत, उत्तरमा निजैको भैंसी गोठ, दक्षिणमा निजकै खेत, यति चार किल्लाभित्र मिहीराज पौडेलको घर रहेको सो घरको दोस्रो तलाको दक्षिणतर्फको कोठामा परिवर्तित नामथर ४४ कुश्मा (९) बस्ने गरेको, उक्त कोठाभित्र प्रवेश गरी हेर्दा रगत जस्तो पदार्थको टाटाहरू रहेको, सो घरबाट अन्दाजी १०० मिटर उत्तर ठुलो कुलोको खोल्साको उत्तरतर्फको झाडीमा १५ से.मी.को मासुको डल्लो (साल) सडेको (कुहिएको) अवस्थामा रहेको भन्ने घटनास्थल मुचुल्का ।
छोरी कुश्मा (९) ले मिति २०७५।५।१८ गते बिहान म महिनावारी भएकी छु, आज स्कुल जान्न भनेकी हुँदा बुहारीले बिहानको खाना निजकै कोठामा लगी दिँदा निजले खाना खाइनन् भनी फर्काई ल्याएकी थिइन् । सो दिन अन्दाजी १६ बजे फलेवास न.पा.वडा नं.१० स्थित ठुलो कुलोमा पानीले बगाइरहेको अवस्थामा स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेको भन्ने गाउँमा हल्ला सुनेकी हुँ । २० गते म घरमै बसेको अवस्थामा प्रहरी आई चेक गर्नुपर्यो भनी ४४ कुश्मा (९) लाई प्रहरीले सोधखोज गर्दा निजले गणेश मल्लसँगको शारीरिक सम्पर्कबाट गर्भ बोकी घर परिवारलाई थाहा जानकारी नदिई १८ गते बिहान आफ्नै घर कोठामा जिउँदै छोरी जन्माई मुख थुनी कोही कसैले थाहा नपाउने गरी नजिकैको बगी रहेको कुलोमा फाली दिएको हुँ भनी बताउँदा मैले थाहा पाएकी हुँ । बुझ्दा मनबहादुर मल्लले गणेश हुँ भनी नाम ढाँटेर सम्बन्ध राखेको थाहा पाएँ । मनबहादुर मल्लले ४४ कुश्मा (९) लाई गर्भ बोकाई बच्चा जन्माई फ्याँकिदिए हुन्छ भनेको र प्रतिवादी ४४ कुश्मा (९) ले नवजात शिशुको मुख थुनी कर्तव्य गरी मारी फालेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्ने परिवर्तित नाम ४४ कुश्मा (११) र ४४ कुश्मा (२०) समेतको एकै मिलान बेहोराको घटनाविवरण कागज ।
मिति २०७५।५।१८ गते अन्दाजी १६ बजे पर्वत जिल्ला फलेवास न.पा. वडा नं.१० स्थित ठुलो कुलोमा पानीले बगाई रहेको अवस्थामा स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेको भन्ने कुरा गाउँमा हल्ला सुनी घटनास्थलमा गई हेर्दा लास देखेको हो । मृत नवजात शिशुको अभिभावक खोजतलास गर्ने क्रममा हाल पक्राउमा परी आएकी परिवर्तित नाम ४४ कुश्मा (९) लाई घरबाटै प्रहरीले पक्राउ गरी लगेका
हुन् । निज कुश्मा (९) ले मनबहादुर मल्लसँग शारीरिक सम्पर्क राखी निजको गर्भ बोकी घर परिवारलाई थाहा जानकारी नदिई नवजात शिशु (स्त्री) आफ्नै घर कोठामा जिउँदै जन्माई मुख थुनी कोही कसैले थाहा नपाउने गरी नजिकैको कुलोमा फाली दिएको भनी निजले बताउँदा सुनी थाहा पाएको हुँ । प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्ने चुडामणी उपाध्याय, पिताम्बर शर्मा र भवानीप्रसाद शर्माको एकै मिलान बेहोरा रहेको वस्तुस्थिति मुचुल्का ।
जिल्ला प्रहरी कार्यालय, पर्वतले मिति २०७५।५।३१ मा DNA परीक्षण गरिदिनका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौंलाई लेखेको पत्र ।
अभियुक्त ४४ कुश्मा (९) ले सहअभियुक्त मनबहादुर मल्लसँगको यौन सम्पर्कबाट गर्भधारण गरी मास पुगेपछि २०७५।५।१८ गते बिहान आफ्नै घरमा बच्चा जन्माउनासाथ शिशुको नाक मुख कपडाले थुनी रून कराउन नदिई मारी सिमेन्टको बोरामा पोको पारी नजिकैको पानी बगिरहेको कुलोमा फ्याँकेकी र अर्का अभियुक्त मनबहादुर मल्लले अभियुक्त ४४ कुश्मा (९) सँग अवैध यौन सम्पर्क राखी बच्चा जन्मिएपछि मारेर फालिदिनु भनी ४४ कुश्मा (९) लाई भनेर बच्चा (शिशु) मार्न लगाएकोले यी प्रतिवादीहरू दुवै जनाले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को दफा १७७ को उपदफा (१) को कसुर गरेको हुँदा अभियुक्तहरू परिवर्तित नाम ४४ कुश्मा (९) तथा मनबहादुर मल्ल दुवैलाई ऐ. दफा १७७ को उपदफा (२) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोगपत्र ।
देखाइएका मृत नवजात शिशुका फोटोहरू मैले मास पुगी जन्माई मारी फालेको शिशुका हुन् । मनबहादुर मल्लसँग मेरो फेसबुक र फोन सम्पर्कबाट चिनजान भई निजसँग मेरो कुराकानी भइरहन्थ्यो । पहिला निजले आफ्नो नाम गणेश मल्ल भनेका थिए । मेरो घरनजिकैको जङ्गलमा मिति २०७४।८।२७ गते हाम्रो भेटघाट भई निजले मसँग यौन सम्पर्क राखेपश्चात् मेरो महिनावारी रोकियो । मैले निजलाई महिनावारी रोकिएको जानकारी गराउँदा जेसुकै गर, बच्चा जन्माएर मारेर फाल भनेको हो । मैले मिति २०७५।५।१८ गते बिहान १० बजेतिर म सुत्ने कोठामा मास पुगेको स्त्री जातको बच्चा जन्माएकी हुँ । बच्चा जन्मिँदा रोएको होइन र केही समयपछि उसको मुख अँठ्याएकी हुँ । केहि समय मुख अँठ्याएपछि निज नचलेको हुँदा अब मर्यो होला भन्ने लागी शिशुलाई सिमेन्टको बोरामा राखेर घरनजिकैको कुलोमा लगी फालेकी हुँ । मनबहादुर मल्ललाई मैले मेरो महिनावारी रोकिएको जानकारी गराउँदा निजले म जिम्मा लिन्न, बच्चा जन्मियो भने मारेर फाल्नु भनेबमोजिम नै नवजात शिशुलाई मारी फालेकी हुँ भन्ने प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) ले अदालतसमक्ष गरेको बयान ।
परिवर्तित नाम ४४ कुश्मा (९) को बयान झुट्ठा हो । निजले फेसबुक र फोनमार्फत मसँग चिनजान भएको र मिति २०७४।८।२७ गते घरनजिकैको जङ्गलमा यौन सम्पर्क भई गर्भ रहन गएपछि गर्भमा रहेको बच्चा जन्मेपछि मारी फाल्नु भनी मैले भनेको भन्ने बयान गरे तापनि उक्त मितिमा म प्रतिनिधि सभा चुनावको लागि म्यादी प्रहरीको रूपमा फलेवास चौकीमा थिएँ । मलाई निजले बाटोमा कहीँकतै देखेको आधारमा ममाथि आरोप लगाएको हुनुपर्छ । अनुसन्धानका क्रममा भएको मेरो बयानमा भएको बेहोरा मेरो होइन उक्त बयान प्रहरीले मलाई पढ्न नदिई सहीछाप गर भनेपछि मैले सहीछाप गरेको हुँ । उक्त बयानमा के बेहोराको लेखिएको छ भन्ने बारेमा मलाई केही थाहा भएन । ४४ कुश्मा (९) सँग मेरो यौन सम्पर्क भएको छैन र मैले बच्चा जन्माई मारेर फाल्नु भनेको पनि छैन । म निर्दोष छु भन्ने प्रतिवादी मनबहादुर मल्लको अदालतसमक्षको बयान ।
प्रतिवादीमध्येका मनबहादुर मल्लले अदालतसमक्ष बयान गर्दा फरक बयान गरेको देखिएको हुँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ३३(७) बमोजिम निज प्रतिवादी मनबहादुर मल्लउपरको छुट सजाय रद्द गरी साबिकबमोजिम नै सजाय पाउँ भन्नेसमेत बेहोराको जिल्ला सरकारी वकिल कार्यालय, पर्वतको मिति २०७५।६।१५ गतेको निवेदन ।
मिति २०७४।५।२० गते जिल्ला प्रहरी कार्यालय पर्वतमा मसमेतले प्रतिवेदन दिएको हो । प्रतिवेदनको बेहोरा सत्य हो मिति २०७४।५।१८ मा घटना भएपछि हामी प्रहरीहरू २० गते अनुसन्धान गर्दै गाउँमा जाँदा ४४ कुश्मा (९) ले मारेर फालेको हो भन्ने थाहा पाई उनलाई सोध्दा उनले पनि स्वीकार गरेकी हुन् । उनले जन्माएर फालेको बच्चा गणेश मल्लको हो भनेकी थिइन् । उनले बताएअनुसारको बेहोरा भएको प्रतिवेदन साँचो हो भन्ने प्रहरी नायव निरीक्षक होमनाथ अधिकारीको बकपत्र ।
मौकामा भएको घटना विवरण कागजको बेहोरा साँचो हो । मिति २०७५।५।२० गते रहाले चौकीबाट सई साबहरू जानुभएको थियो । सरहरूले भनेपछि मैले उक्त घटनाको बारेमा थाहा पाएकी हुँ भन्ने घटना विवरण कागज गर्ने ४४ कुश्मा (२०) को
बकपत्र ।
प्रतिवादी मनबहादुर मल्ल २०७४।७।१२ गतेदेखि पुस ७ गतेसम्म म्यादी प्रहरीमा खटिई फलेवास चौकीमा बसेका थिए । प्रहरीको कन्ट्रोलमा भएको मान्छे फलेवासबाट कुर्घा गएर यौनसम्पर्क गरेको कुरा झुट्टा लाग्छ । करणी गर्ने अवस्था थिएन । प्रतिवादी मनबहादुर र सहप्रतिवादी कुरा गरेको केही प्रमाण नभेटिएको र बच्चा जन्मेपछि मारी फालिदिनु भनेको भन्ने कुरा झुट्टा लाग्छ । प्रतिवादी मनबहादुर मल्ललाई षड्यन्त्र गरी फसाइएको हो । मनबहादुर मल्ल निर्दोष भएकोले न्याय पाउनुपर्छ । कुश्मा (९) लाई अरूले सिकाएर त्यो कुरा लेखाइएको हो । पहिला उसले गणेश मल्लको गर्भ हो भनेकोमा गणेश मल्लले विदेशबाट पैसा पठाई बच्चा फाल्न भनेको भन्ने हल्ला मैले गाउँमा सुनेको हुँ । गणेश मल्ल २०७४ कार्तिकमा विदेश गएको थाहा पाएपछि मेरो माइलो दाइको छोरा मनबहादुर मल्लको गर्भ हो भनी झुठो आरोप लगाएको हो । गणेश मल्ल मेरो साहिँलो दाइको छोरा हुन् । प्रहरीले खोज्न दुःख हुने भनेर मनबहादुर मल्ललाई यो मुद्दामा फसाएको हो । मनबहादुर मल्ललाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी मनबहादुर मल्लका साक्षी चतुर मल्ल ठकुरीको बकपत्र ।
मलाई सो गर्भको बारेमा केही थाहा भएन घरमा हुँदा छोरीले महिनावारी भएको भनेकी थिइन । मैले थाहा पाएको भए बच्चालाई मार्न नदिई जसको हो उसैको जिम्मा लगाई दिन्थे भन्ने परिवर्तित नाम ४४ कुश्मा (११) को बकपत्र ।
प्रतिवादी मनबहादुर मल्ल मिति २०७४।८।२७ मा म्यादी प्रहरी भई ड्युटीमा
थिए । ड्युटीमा भएकोले सहप्रतिवादीसँग यौनसम्पर्क गर्ने अवस्था थिएन । प्रतिवादी मनबहादुर मल्लले मार भनेको भए पनि सहप्रतिवादी ४४ कुश्मा (९) १२ कक्षामा पढ्ने परिपक्व मान्छे भएकोले मार्न हुँदैनथ्यो । प्रतिवादी मनबहादुर मल्लले नवजात बच्चालाई मार भनेका पनि होइनन् । उक्त मितिमा मनबहादुर मल्ल म्यादी प्रहरीको क्याम्पमा
थिए । मनबहादुर मल्ललाई सजाय हुनुपर्ने होइन भन्ने प्रतिवादी मनबहादुर मल्लका साक्षी दधिराम कुँवरको बकपत्र ।
प्रतिवादी मनबहादुर मल्ल म्यादी प्रहरीको तालिममा रहेको भन्ने थाहा छ तर कुन चौकीमा खटिई गएका हुन् थाहा भएन । मनबहादुर ड्युटीमा भएकाले प्रतिवादीहरूबिच यौनसम्पर्क हुने अवस्था थिएन । मनबहादुरले बच्चा जन्मेपछि मारेर फालिदिनु भनी भनेको कुनै आधार प्रमाण छैन । मनबहादुर मल्लले न्याय पाउनुपर्छ भन्ने प्रतिवादी मनबहादुर मल्लका साक्षी कृष्णबहादुर क्षेत्रीको बकपत्र ।
प्रतिवादी मनबहादुर मल्ल मिति २०७४ कार्तिक १२ गतेबाट पौष ७ गतेसम्म म्यादी प्रहरीमा कार्यरत थिए । प्रतिवादी मनबहादुर गाउँमा नभएको बेलामा करणी गरेको हुनै सक्दैन । मनबहादुरलाई झुठो मुद्दा लगाइएको छ । मनबहादुर मल्लले सफाइ पाउनुपर्छ । प्रतिवादी मनबहादुरले सहप्रतिवादीलाई बच्चा जन्मिए मारी फालिदिनु भनेको भन्ने कुरा झुठो हो भन्ने वस्तुस्थिति मुचुल्काका मानिस भवानीप्रसाद शर्माको बकपत्र ।
वस्तुस्थिति मुचुल्कामा मेरो बेहोरा आंशिक रूपमा तोडमोड गरिएको छ । सहीछाप मेरो हो । प्रतिवादी मनबहादुरले प्रतिवादी कुश्मा (९) लाई गर्भ बोकाएको होइन, प्रतिवादी कुश्मा (९) ले बच्चा जन्माई मारेको हुनाले कानूनबमोजिम होस् । २०७४ कार्तिक १२ गतेदेखि म्यादी प्रहरीमा रहेका मनबहादुरले सफाइ पाओस् भन्ने वस्तुस्थिति मुचुल्काका चुडामणी उपाध्यायको बकपत्र ।
मैले गरेको वस्तुस्थिति मुचुल्काको बेहोरा आंशिक रूपमा तोडमोड गरिएको छ । सहीछाप मेरो हो । प्रतिवादी मनबहादुरले सफाइ पाउनुपर्छ भन्ने वस्तुस्थिति मुचुल्काका पिताम्बर शर्माको बकपत्र ।
नमुना परीक्षणको लागि पठाइएको मृतक शिशुको DNA प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) र प्रतिवादी मनबहादुर मल्लको DNA सँग मिलेको र उक्त शिशु प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) र प्रतिवादी मनबहादुर मल्लको जैविक सन्तान हो भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको DNA परीक्षण प्रतिवेदन ।
मृतक नवजात शिशु परिवर्तित नाम ४४ कुश्मा (९) र मनबहादुर मल्लको जैविक सन्तान हो भन्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको DNA परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादीमध्येकी परिवर्तित नाम ४४ कुश्मा (९) ले अभियोग दाबीबमोजिम मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७(१) बमोजिम कसुर अपराध गरेको र प्रतिवादी मनबहादुर मल्लले मतियार भई ऐ. दफा ३६(२) बमोजिमको कसुर अपराध गरेको ठहर्छ । सजाय निर्धारणतर्फ हेर्दा, प्रतिवादी ४४ कुश्मा (९) लाई ऐ. (संहिता) ऐनको दफा १७७(२) ले जन्मकैदको २५ वर्ष कैद सजाय हुनेमा निज प्रतिवादी १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरको नाबालक भएकोले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(४) बमोजिम दुई तिहाईले हुन आउने १६ वर्ष ८ महिना कैद हुन सक्नेमा निजले अनुसन्धानमा सहयोग पुर्याएकोले सजाय छुटको अभियोग दाबी रहेकोले निजले सजायमा छुट पाउने ठहर्छ । सो ठहर्नाले निज प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई १२ वर्ष ६ महिना कैद सजाय हुने र अर्का प्रतिवादी मानबहादुर मल्ललाई ऐ. (संहिता) ऐनको दफा ३६(३)(ख) बमोजिम ६ वर्ष कैद हुने ठहर्छ भन्ने सुरू पर्वत जिल्ला अदालतको मिति २०७५।११।८ को फैसला ।
सहप्रतिवादी ४४ कुश्मा (९) लाई मैले बच्चा जन्मिएपछि मारेर फाल्नु भनेर आदेश दिएको
होइन । निज ४४ कुश्मा (९) ले अनुसन्धान अधिकारी एवं अदालतसमक्ष बयान गर्दा मलाई नै किटानी गरी भन्न नसकी कतै मनबहादुर कतै गणेश भनी उल्लेख गरेकी छन् । निजले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान बेहोरामा एक रूपता नभई स.ज. ९ मा मनबहादुर मल्लसँग भेट भएकाले मेरो पेटमा गर्भ रहेको कुरा निजलाई जानकारी गराउँदा निजले जन्माई फाल्ने भए फाल भनेको हुन् भन्ने र स.ज. १० मा भेट भएको बेलामा मनबहादुर मल्लले जे गर्ने हो गर भनी मलाई भनेका हुन् भनेकीमा स.ज. १४ मा मनबहादुर मल्लको सल्लाहबमोजिम मैले उक्त कसुरजन्य कार्य गरेकी हुँ भनी उल्लेख गरेबाट पनि प्रस्तुत वारदातमा मलाई पोल गरिएको कपोल कल्पित भनाइ रहेको स्पष्ट छ । मलाई सुरू जिल्ला अदालतबाट कर्तव्य ज्यानको मतियारको रूपमा कसुर ठहर भएकोमा, मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ३६(१) ले गरेको मतियारको परिभाषाअनुसारको कुनै पनि कसुरजन्य कार्य मैले गरेको छैन । यस सम्बन्धमा सुरू पर्वत जिल्ला अदालतको फैसलामा पनि वारदातको कसुरमा मेरो प्रत्यक्ष रूपमा संलग्नता नरहेको कुरा स्वीकार गरिएको छ । केबल सहप्रतिवादीको अमूर्त पोललाई आधार मानी सुरू अदालतबाट मलाई मतियार ठहर्याएको फैसला त्रुटिपूर्ण भएकाले उक्त फैसला बदर गरी प्रस्तुत आरोपित कसुरबाट सफाइ पाउँ भन्ने प्रतिवादी मनबहादुर मल्लले उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदन ।
प्रतिवादी मनबहादुर मल्लले सहप्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई निजको इच्छाविपरीत जंगलमा लगी यौन सम्पर्क गरी गर्भधारण गराएको, गर्भधारण गरेपश्चात् मनबहादुरलाई ४४ कुश्मा (९) ले गर्भ बसेको जानकारी गराउँदा जन्माई मारी फाल भनेर ४४ कुश्मा (९) सँग सम्पर्कविहीन भएको, ४४ कुश्मा (९) ले मिति २०७५।५।१८ मा प्रतिवादी मनबहादुर मल्लको आदेशअनुसार शिशु जन्मनासाथ मुख थुनी कराउन नदिई शिथिल भएपछि बोरामा राखी पछि कुलोमा फ्याँकेको भनी बयान गरेको देखिन्छ । ४४ कुश्मा (९) को सो बयान बेहोरालाई प्रतिवादी मनबहादुर मल्लले अनुसन्धान अधिकारीसमक्षको बयानमा बच्चा जन्माएर फ्याँकिदिए हुन्छ भनी भनेको हुँ भनी गरेको बयान बेहोराले समर्थन गरेको देखिन्छ । अदालतमा इन्कारी बयान गरे तापनि निजले अनुसन्धानको अवस्थामा गरेको बयान बेहोरा निजको नभएको भन्ने कुनै प्रमाण पेस गर्न सकेका छैनन् । सहप्रतिवादी परिवर्तित ४४ कुश्मा (९) ले अदालतसमक्ष बयान गर्दा यी सहप्रतिवादी मनबहादुर मल्लले मैले बच्चा जिम्मा लिन्न, बच्चा जन्मियो भने मारेर फाल्नु भनेबमोजिम नै नवजात शिशु जन्माई मारी फालेकी हुँ भनी लेखाएबाट प्रतिवादी मनबहादुर मल्ल पनि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७(१) अनुसारकै मुख्य अभियुक्त एवं कसुरदार भएको हुनाले सुरू पर्वत जिल्ला अदालतबाट प्रतिवादी मनबहादुर मल्ललाई मतियार ठहर गरेको फैसला सो हदसम्म बदर गरी प्रतिवादी मनबहादुर मल्ललाई अभियोग मागबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट उच्च अदालत पोखरा, बागलुङ इजलासमा परेको पुनरावेदन ।
म एक १६ वर्षीय किशोरी भएकीले के ठिक के बेठिक हो भन्ने कुरा छुट्ट्याई सही निर्णय गर्न सक्ने अवस्थामा थिएन । मनबहादुर मल्लले मसँग आफ्नो वास्तविक नाम ढाँटेर गणेश भन्ने नाम बताई कृत्रिम माया र प्रेम जाल गरेका रहेछन् । मैले अस्वीकार गर्दा गर्दै पनि निजले शारीरिक सम्बन्ध राखेपश्चात् मेरो मासिकश्राव बन्द भएको कुरा निजलाई भन्दा पनि विवाह गर्न अस्वीकार गरी बच्चा जन्मेपछि मारेर फालिदिनु भन्दै मेरो सम्पर्कबाट टाढा भए । मेरो बाल मनस्थितिका कारण उचित निर्णय गर्न नसकेकी, घरपरिवार, इष्टमित्र, छरछिमेकी र आफन्तले के भन्लान भन्ने मानसिक तनाव र चिन्ताबाट गुज्रदै ९ महिनासम्म गर्भ लुकाएर बसेँ । बच्चा जन्मिएपछि रोएको थिएन, सो नवजात शिशु जीवित थियो वा मृत थियो मैले यकिन गर्न सकिन । परिवार र समाजबाट तिरस्कृत हुनुपर्ने र लोक लज्जा घृणाबाट बच्नका लागि मैले बच्चालाई बोरामा राखी कुलोमा फाल्न प्रतिवादी मनबहादुर मल्लकै कारण बाध्यता भएकी हुँ । अरू कुनै उपाय नभएकाले प्रस्तुत वारदात घट्न गएको हो । मेरो विवशतासमेत विचार गरी सुरू पर्वत जिल्ला अदालतबाट भएको फैसलाले तोकेको सजाय घटाई उचित न्याय पाउँ भन्ने प्रतिवादी परिवर्तित नाम ४४ कुश्मा (९) ले उच्च अदालत पोखरा, बागलुङ इजलासमा गरेको पुनरावेदन ।
प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीमध्येकी परिवर्तित नामथर ४४ कुश्मा (९) ले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिम कसुर अपराध गरेको ठहरेकाले सोही संहिताको दफा १७७(२) बमोजिम जन्मकैद २५ वर्ष कैद सजाय हुनेमा निज १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको नाबालक भएकोले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(४) र ऐ. संहिताको दफा ४५(४) बमोजिम दुई तिहाईले हुन आउने १६ वर्ष ८ महिना कैद सजाय हुन सक्नेमा निजले अनुसन्धानको सिलसिलामा सहयोग पुर्याएकोले सजाय छुटको अभियोग दाबी रहेको र ऐ. संहिताको दफा ४७ मा ५० प्रतिशतसम्म सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहे भएकोले निज प्रतिवादीलाई १२ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरी भएको सुरू पर्वत जिल्ला अदालतको मिति २०७५।११।८ को फैसला सदर हुने ठहर्छ । सजायको हकमा पुनरावेदक प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) को कसुर गर्दाको उमेर, निजले गरेको कसुरको प्रकृति, प्रतिवादीउपर समाजले हेर्ने दृष्टिकोणका कारण लोकलाजबाट बच्नका लागि प्रस्तुत वारदात घटाउन बाध्य भएको अवस्था मिसिल संलग्न प्रमाण कागजबाट देखिएकाले प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई सुरू अदालतबाट भएको सजाय चर्को पर्न जाने देखिएकाले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क. बमोजिम ५ वर्ष कैद सजाय हुन मनासिब देखिएकोले निजलाई ५ वर्ष कैद सजाय हुन राय व्यक्त गरिएको छ । पुनरावेदक प्रतिवादीमध्येका मनबहादुर मल्ललाई ६ वर्ष कैद सजाय हुने ठहर्याई सुरू अदालतबाट भएको फैसला केही उल्टी भई निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ३६(३)(ख) बमोजिम ४ वर्ष कैद सजाय हुने ठहर्छ भन्ने उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७६।२।२३ को फैसला ।
यस अदालतको ठहर
नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी साधक जाँचका लागि पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । यसमा उच्च अदालतबाट परिवर्तित नाम ४४ कुश्मा (९) लाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुर अपराधमा १२ वर्ष ६ महिना कैद हुने साथै निजलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने भएकाले ५ वर्ष कैद सजाय हुन मनासिब देखिएको राय व्यक्त भएको फैसला मिलेको छ, छैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी ४४ कुश्मा (९) ले सहअभियुक्त मनबहादुर मल्लसँगको यौन सम्पर्कबाट गर्भधारण गरी आफ्नै घरमा छोरी जन्माई जन्मनासाथ निजको नाक मुख कपडाले थुनी रून कराउन नदिई थिची मारी सिमेन्टको बोरामा पोको पारी नजिकैको पानी बगिरहेको कुलोमा फ्याँकी दिएकी र अर्का अभियुक्त मनबहादुर मल्लले अभियुक्त ४४ कुश्मा (९) सँग अवैध यौन सम्पर्क गरी गर्भधारण भएको जानकारी गराउँदा बच्चा जन्मिएपछि मारेर फालिदिनु भनी बच्चा मार्न लगाएकोले प्रतिवादीहरू दुवैजनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७(१) को कसुरमा ऐ. दफा १७७(२) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेको
देखियो । प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई १२ वर्ष ६ महिना कैद सजाय हुने तथा प्रतिवादी मनबहादुर मल्ललाई सोही ऐनको दफा ३६(२) को कसुरमा दफा ३६(३)(ख) बमोजिम ६ वर्ष कैद सजाय हुने ठहर गरी सुरू पर्वत जिल्ला अदालतबाट भएको फैसला प्रतिवादी ४४ कुश्मा (९) को हकमा सदर हुने र प्रतिवादी मनबहादुर मल्लको हकमा केही उल्टी भई निजलाई ४ वर्ष कैद सजाय हुने ठहर हुनुका साथै प्रतिवादी ४४ कुश्मा (९) लाई फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क. बमोजिम ५ वर्ष कैद सजाय हुन राय व्यक्त गरिएको उच्च अदालत पोखरा, बागलुङ इजलासको फैसलाउपर निज प्रतिवादीको पुनरावेदन नपरेको कारण साधक जाँचको निमित्त यस अदालतमा दायर रहेको देखियो ।
३. प्रस्तुत मुद्दामा प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुरमा सजाय गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ क. बमोजिम ५ वर्ष कैद सजाय हुन राय व्यक्त गरिएको उच्च अदालतको फैसला साधक जाँचको निमित्त दायर भएकाले निजबाहेकका प्रतिवादीको हकमा विवेचना गरिरहन परेन ।
४. मृतक शिशुको DNA प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) र प्रतिवादी मनबहादुर मल्लको DNA सँग मिलेको, मृतक नवजात शिशु परिवर्तित नाम ४४ कुश्मा (९) र मनबहादुर मल्लको जैविक सन्तान हो भनी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको DNA परीक्षण प्रतिवेदनसमेतका मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी ४४ कुश्मा (९) ले प्रतिवादी मनकुमार मल्लको अवैध गर्भधारण गरी छोरी जन्माएको पुष्टि हुन्छ । निज प्रतिवादीले छोरी जन्माउनासाथ नवजात छोरीको कपडाले नाकमुख थुनी मारी फालेको भन्ने निजमाथि लगाइएको अभियोग दाबीलाई स्वीकार गरी अदालतमा समेत साबित रहेको र निजको बयान बेहोरालाई मिसिल संलग्न प्रमाणले पुष्टि गरेकोले निज प्रतिवादीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७(१) बमोजिमको कसुर ठहर गरी निजलाई ऐ. दफा १७७(२) बमोजिमको सजायमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(४) ले तथा सजाय छुटको अभियोग दाबीसमेतका आधारमा सजायमा छुट गरी निजलाई १२ वर्ष ६ महिना कैद सजाय हुने गरी भएको उच्च अदालतको फैसला मिलेकै देखियो ।
५. निज प्रतिवादीलाई फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७(क) बमोजिम ५ वर्ष कैद सजाय हुन मनासिब हुने राय व्यक्त गरिएकोतर्फ विचार गर्दा, निज प्रतिवादी वारदातका बखत १८ वर्ष नपुगेको नाबालक रहेको, अर्का प्रतिवादी मनबहादुर मल्लसँग भएको यौन सम्पर्कबाट गर्भ रहेपछि मनबहादुर मल्ललाई गर्भ रहेको कुरा भन्दा जन्मिएपछि मारेर फालिदे म बेहोर्दिन भन्ने जवाफ दिएको, त्यसपछि मनकुमार सम्पर्कविहीन भएको, गर्भको बच्चाको बाबुले बच्चा नस्वीकार्ने भएकै कारण प्रतिवादीले आफू गर्भवती भएको कुरा गाउँघरमा बताउन नसकी गर्भलाई कपडाले छोपी लुकाई छिपाई सामाजिक लोकलाजबाट बची आएको अवस्थामा निज घरमा एक्लै भएका बखत बच्चा जन्मिएकाले बच्चा जन्मनासाथ रून कराउन नदिई मुख थुनी चल्न छाडेपछि बोरामा राखी पछि कुलोमा बगाएर समाजबाट आफ्नो इज्जत जोगाउन प्रयत्न गरेको भनी अदालतसमक्ष समेत घटना स्वीकार गरेको
देखिन्छ । कसुर गर्दाका अवस्थामा प्रतिवादीको नाबालक उमेर, कसुरको प्रकृति, बच्चा जन्माएको सार्वजनिक भएमा प्रतिवादीलाई समाजले हेर्ने दृष्टिकोणसमेतका लोकलाजबाट बच्नका लागि प्रस्तुत वारदात घटाउन निज बाध्य भएको अवस्थासमेतलाई विचार गर्दा निज प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. बमोजिम ५ वर्ष कैद सजाय हुन मनासिब हुने गरी उच्च अदालतबाट राय व्यक्त भएको पाइयो ।
६. बालबालिकाको अधिकारको परिप्रेक्ष्यमा किशोर अवस्थामा रहेका कानूनले बालबालिका हुन् भनी निर्धारित गरेको उमेर समूहभित्र देखिएका वा सामान्यतया २० वर्षको उमेरसम्मका किशोर किशोरीहरूबिच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसुरजन्य कार्यमा कानून कार्यान्वयन गर्दा उदार दृष्टिकोण अपनाउनु उपयुक्त देखिन्छ । किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोरकिशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने हुँदा तथा असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोरकिशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या देखिन सक्छ ।
७. मूलत: असुरक्षित यौन सम्बन्धका कारण जुनसुकै उमेर समूहका महिलाबाट जन्मिने नाबालकलाई वा कानूनले निर्धारण गरेको बालबालिकाको उमेर समूह वा बिस वर्षभन्दा कम उमेर समूहका महिलाबाट त्यस्तो असुरक्षित यौन सम्बन्धका कारण जन्मने नाबालकको तत्काल गरिने जातक हत्या (Infanticide) का सम्बन्धमा महिलालाई हेर्ने परिवर्तित संवैधानिक, कानूनी तथा सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, उनीहरू रहेको सामाजिक परिस्थिति तथा त्यस्तो कार्यमा संलग्न महिलाहरू क्रूर तथा अपराधी नभई सम्बन्धित पुरूष गैरजिम्मेवार भएको र लोकलज्जाका कारण त्यस्तो कार्य गर्न बाध्यात्मक अवस्था सिर्जना भई अविवाहित वा विवाहित अवस्थामा पनि बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सिर्जना भएको हुनसक्छ । यस्तो परिस्थितिमा परेका महिलाहरूले गरेको ज्यानसम्बन्धी कार्य कसुरको रूपमा मानिने भए तापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने हुन्छ । एउटा परिस्थितिमा गरिएको कसुरजन्य कार्यका कारण कारागारमा राख्दा खतरनाक कसुरदारसँग सङ्गत भई सामाजिक पुनर्स्थापनामा समस्या देखिन सक्ने
हुन्छ । यस अदालतले पनि "लोकलाज" का कारण भएका यस्ता कसुरजन्य कार्यमा यथासम्भव कम सजाय गर्ने गरेको देखिन्छ । तसर्थ, न्यायिक दृष्टिकोणले अदालतहरूले यस प्रकृतिको कसुरमा उल्लिखित आधार र कारणसहित सम्बन्धित महिलाको आत्मसम्मान, समानताको हक र समाजमा महिलाको परिवर्तित पहिचानसमेतलाई मध्यनजर गरी यस प्रकृतिको कसुरमा न्यूनतम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुने नै देखिन्छ ।
८. यस परिप्रेक्ष्यमा प्रस्तुत मुद्दामा पनि प्रतिवादी कुस्मा ९ नाबालक अवस्थामै रहेको र निजको कोखको बच्चालाई स्वीकार गर्न सम्बन्धित पुरूष तयार नभएको अवस्था देखिन्छ । असुरक्षित यौन सम्बन्ध हुन गई गर्भ रहन गएको र सामाजिक लाञ्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको अवस्था तथा परिस्थितिलाई समेत विचार गरी निर्णय गर्नु उपयुक्त देखिन्छ । निज प्रतिवादी मानसिक रूपमा समेत अपरिपक्व रही नाबालिकाकै अवस्था रहेको हुँदा उचित निर्णय गर्न सक्ने क्षमता पनि विकास नभएको देखिन्छ । घरपरिवार, इष्टमित्र, छरछिमेकी र आफन्त तथा समाजको तिरस्कार, लोकलज्जा तथा सम्भावित घृणाका कारण गर्भधारण गरेको समयदेखि नै लुकाएर बसकेको देखिन्छ । अनपेक्षित गर्भधारणबाट जन्मिएका शिशुका कारण महिलाले सामाजिकरूपमा बहिस्कृत हुनुपर्ने र लामो समयसम्म सामाजिक लाञ्छनाको कारण आफ्नो इज्जत र प्रतिष्ठामा लागेको दाग बोकी हिँड्दा मानसिक अवस्थामा समेत विचलन आउन सक्दछ । यस्तो कसुरमा सम्बन्धित महिलाको उमेर, सामाजिक परिस्थिति वा लोकलाजको अवस्थालगायतका कुराहरूलाई समेत विचार गरी कम सजाय गर्नु न्यायिक दृष्टिकोणबाट उपयुक्त देखिन्छ । सामाजिक तिरस्कार तथा लोकलज्जाबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले हत्या गरेको तथा प्रारम्भदेखि नै कसुर स्वीकार गरी न्यायिक प्रक्रियालाई सहयोग पुर्याएकोले ऐनअनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी निजलाई २ वर्ष कैद गर्दा पनि कानूनको मकसद पूरा हुने देखिन्छ ।
९. अतः माथि विवेचित आधार, कारण र प्रमाणबाट प्रतिवादी परिवर्तित नामथर ४४ कुश्मा (९) लाई फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७क. बमोजिम ५ वर्ष कैद हुन मनासिब हुने राय व्यक्त गरिएको उच्च अदालत पोखरा, बाग्लुङ इजलासबाट मिति २०७६।२।२३ को रायमा उक्त दफा १७क. बमोजिम २ वर्ष कैद गर्दा मनासिब हुने देखिएकाले निज प्रतिवादीलाई २ वर्ष कैद हुने ठहर्छ । निजलाई ठहर भएको २ वर्ष कैद निजले थुनामा बसी भुक्तान भइसकेकोले यस अदालतको मिति २०७७।११।७ को अदेशानुसार च.नं. २०७६ मिति २०७७।११।७ बाट निज प्रतिवादीलाई थुनामुक्त गर्न पत्राचार भइसकेको देखिँदा हाल केही गरिरहन
परेन । यस फैसलाअनुसार ४४ कुश्मा (९) लाई २ वर्ष कैद हुने गरी लगतमा संशोधन गर्नु भनी सुरू अदालतमा लेखी पठाउनू । प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गर्नु र मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.ईश्वरप्रसाद खतिवडा
इजलास अधिकृत:- मुकुन्द निरौला (उपसचिव) र रक्षाराम चमार (शा.अ.)
इति संवत् २०७७ साल फाल्गुन ७ गते रोज ६ शुभम् ।