निर्णय नं. १०६७२ - सवारी ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
फैसला मिति : २०७६।७।७
०७२-CR-१००८
मुद्दा: सवारी ज्यान
निवेदक / वादी : विशम्भर यादवको जाहेरीले नेपाल सरकार
विरूद्ध
विपक्षी / प्रतिवादी : भारत, जिल्ला गोरखपुर थाना कैन्ट, ग्राम मोतिपुर, कुडाधर स्थायी वतन भई हाल भारत, जिल्ला कुशीनगर, थाना कसहिया, ग्राम सामपुर बस्ने रामवृक्ष सिंह
सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा निजले कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था रहेको नदेखिने ।
(प्रकरण नं.९)
निवेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेल
विपक्षी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री चन्द्रमणि ज्ञवाली
रूपन्देही जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण
मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान
पुनरावेदन अदालत बुटवल
फैसला
न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः-
तथ्य खण्ड
रूपन्देही जिल्ला, गोनाहा गा.वि.स. वडा नं. ६ स्थित सिद्धार्थ सिमेन्ट उद्योग कम्पाउन्डको उत्तर भागमा जीपसम गोदाम छिर्ने दक्षिणतर्फबाट १० फिट चौडाईको कच्ची सडक रहेको, जिपसम गोदाम छिर्ने मूलद्वारदेखि १६ फिट उत्तरमा बाटोको पूर्वी किनारमा टाउकोको भाग किची फुटी गिदी छरपस्ट भएको अवस्थामा प्लाष्टिकको पहेंलो रङ्गको बोरामाथि उत्तर टाउको, दक्षिण खुट्टा, भुइँमा उत्तानो अवस्थामा अकलेस यादवको मृत लास रहेको, लासको टाउकोको भागदेखि उत्तरमा ना.१ क २८४८ नं. को लोडर गाडीको इन्जिनतर्फको अगाडिको बायाँ टायर रहेको, सो टायरमा रगत जस्तो रातो तरल पदार्थ लागेको, लासको टाउकोदेखि २५ से.मि. पूर्वसम्म टाउकोबाट आएको गिदी छरपस्ट भएको भन्नेसमेत बेहोराको मिति २०७०।५।२९ गतेको घटनास्थल लासजाँच मुचुल्का ।
मेरो भतिजा अकलेश यादव बिगत ३ महिनादेखि सिद्धार्थ सिमेन्ट उद्योगमा लेवर काम गर्दै आइरहेकोमा मिति २०७०।५।२८ गते राति डिउटी भएकोले निज सो उद्योगमा काम गर्न गएको अवस्थामा मिति २०७०।५।२९ गते बिहान ४ बजे सोही उद्योगको ना.१ क २८४८ नं. को डोजरले किची घटनास्थलमा नै मृत्यु भएको कुरा जानकारी हुन आएकोले घटनास्थलमा गई हेर्दा डोजर चालक फरार रहेको हुँदा निज चालकलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी क्षतिपूर्ति र क्रियाखर्चको रकमसमेत दिलाइपाउँ भन्नेसमेत बेहोराको विशम्भर यादवको जाहेरी दरखास्त ।
मृतक पक्षले पाउनुपर्ने क्रियाखर्च तथा क्षतिपूर्तिबापतको रकम रू.५,००,०००।– मृतक अकलेश यादवको बाबु चिखुरी अहिरले बुझी लिएको भन्ने भरपाई कागज ।
विशम्भर यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ना.१ क २८४८ नं. को डोजर चालक भएको सवारी ज्यान मुद्दामा वारदातपश्चात् फरार रहेका डोजर चालकको खोजतलास गर्दै सुराक पत्ता लगाउँदा वारदातका अवस्थामा डोजर चालक भारत, कुशिनगर घर भएका वर्ष ४६ का रामवृक्ष सिंह भन्ने पत्ता लागेकोले निजलाई पक्राउ गरी दाखिला गरेको भन्ने प्रहरी प्रतिवेदन ।
ना.१ क २८४८ नं. को डोजरको ब्रेक, क्लज, एक्सिलेटर, स्टेरीङसमेतको पाटपुर्जा ठिक हालतमा रहेको भन्नेसमेत बेहोराको मेकानिकल चेक जाँच प्रतिवेदन ।
ना.१ क २८४८ नं. को डोजर खोजी गरेको बखत दाखिला गर्ने गरी अरूण अग्रवालले बुझी लिएको भरपाई कागज ।
करिब २ महिनाअगाडिदेखी सिद्धार्थ सिमेन्ट उद्योगमा ना.१ क २८४८ नं. को लोडर गाडी चलाउँदै आइरहेकोमा मिति २०७०।५।२९ गते बिहान अन्दाजी ४ बजेको समयमा सोही उद्योगको कम्पाउन्डमा रहेको सिमेन्ट बनाउन प्रयोग हुने जिपसम माटोभित्र गोदाममा राख्नको लागि सोही लोडरमा लोड गरी भित्र गोदाममा राखी फर्कने क्रममा मैले हाँकी ल्याएको लोडरको बायाँ साइडले अकस्मात सोही उद्योगमा लेवर काम गर्ने अकलेश यादवलाई ठक्कर दिँदा निज भुइँमा लडेको देखी तत्काल ब्रेक लगाउँदै गर्दा सोही लोडरको पछाडि इन्जिनको भागको बायाँ टायरले निज अकलेश यादवलाई ठक्कर दिएकोमा निजको तत्कालै मृत्यु भएको देखी उद्योगको कम्पाउन्डबाट भागी हिँडेको हुँ । वारदात मिति समयमा लोडर २ नं. गियरमा ५ देखि ७ को गतिमा थियो । मैले भारत, गोरखपुरस्थित मोहोडीपुर कुँडाघाटबाट सवारी चालक अनुमति-पत्र प्राप्त गरेको छु भन्नेसमेत बेहोराको प्रतिवादी रामवृक्ष सिंहले मौकामा गरेको बयान ।
मिति २०७०।०५।२९ गते सिद्धार्थ सिमेन्ट उद्योगमा लेवर काम गर्ने अकलेश यादवलाई ठक्कर दिई निजको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हो । उक्त ना.१ क २८४८ नं. को डोजर चालकको तत्काल नाम थाहा नभएकोमा हाल आएर भारत, कुशीनगर घर भएका रामवृक्ष सिंहले चलाएको र डोजरले एक्कासी ठक्कर दिन पुग्दा अकलेश यादवको घटनास्थलमै मृत्यु भएको भन्ने सुनी थाहा पाएकोले मृतकलाई के कसरी ठक्कर दिए थाहा भएन । मृतकका नजिकको हकदारले पाउनुपर्ने क्रियाखर्च तथा क्षतिपूर्तिबापतको रकम सवारी धनीका तर्फबाट पाइसकेका छन् । निज प्रतिवादीलाई कानूनबमोजिम कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्का ।
टाउकाको चोटको कारण मृत्यु भएको भन्नेसमेतको मृतकको शव परीक्षण प्रतिवेदन ।
सिद्धार्थ सिमेन्ट उद्योगभित्र मेसिन चलेको अवस्थामा जिपसम, क्लिनकर र फ्लाइएस जस्ता कच्चा पदार्थ मिसावट गरी राख्नुपर्ने हुँदा लोडर चलाउनुपर्ने हुन्छ । सोही सिलसिलामा वारदातको मिति, समयमा रामवृक्ष सिंहले ना.१ क २८४८ नं. को लोडर हाँक्ने क्रममा घटना घटेको मलाई विश्वास लाग्छ भन्नेसमेतको करिब एकै मिलानको चन्दन थापा तथा सुरेश पराजुलीको एवं वारदातको मिति समयमा ना.१ क २८४८ नं. को लोडर रामवृक्ष सिंहले चलाएको भन्ने घटनापश्चात् सुनी थाहा पाएको हो । मैले तुलसीपुर दाङबाट लोडर हाँक्ने चालक अनुमति-पत्र पाएको छु । लोडरअनुसार गियर फरकफरक हुन्छ । ना.१ क २८४८ नं. को लोडरमा ३ नं. गियरसम्म छ । ३ नं. गियर पछाडि लाग्ने गियर हो भन्नेसमेत बेहोराको कान्छुराम चौधरीको घटना विवरण कागज ।
प्रतिवादी रामवृक्ष सिंहले लापरवाही गरी सवारी चलाएको कारणबाट दुर्घटना भई मृतकको मृत्यु भएको एवं निजले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४७ विपरीत दफा १६१(२) को कसुर गरेकोले उक्त कसुरमा निज प्रतिवादी रामवृक्ष सिंहलाई सोही ऐनको दफा १६१(२) अनुसार सजाय गरी दफा १६१(४) अनुसार थप सजाय हुनसमेतको मागदाबी लिई दायर हुन आएको अभियोग-पत्र ।
मिति २०७०।५।२९ गते बिहानको समयमा मैले ना.१ क २८४ नं. को लोडरमा जिपसम सिमेन्टमा प्रयोग गर्ने माटो लोड गरी गोदाममा झारेर गाडी ब्याक गर्दै बाहिर निस्कँदै गर्दा धुलो उडी रहेको अवस्थामा विस्तारै गाडी ब्याक गरी बाहिर निकाल्न लाग्दा बिनाकाममा कताबाट आएका लेवर अकलेश यादवलाई ठक्कर दिन पुग्यो र मैंले एक्कासी ब्रेक लगाउँदा पनि पछाडिको चक्का निजको टाउकोमा चढ्न पुगी मृत्यु भएको हो । मैले लापरवाहीपूर्वक गाडी चलाएको
होइन । मैले मादक पदार्थ सेवन गर्दिन । गाडीको गति ५/७ कि.मी. प्रतिघण्टा थियो । मैले भारत गोरखपुरबाट हेभी गाडी चलाउने सवारी चालक अनुमति-पत्र प्राप्त गरेको छु भन्नेसमेत बेहोराको प्रतिवादी रामवृक्ष सिंहले सुरू रूपन्देही जिल्ला अदालतसमक्ष गरेको बयान ।
सिद्धार्थ सिमेन्ट फ्याक्ट्रीमा मृतकको राति डिउटी थियो । लोडर पनि त्यहीँ काम गरिरहेको थियो र मृतक पनि त्यहीँ यताउती गरेका थिए । लोडरले यताउता गरेको र मृतकले सो माल यताउता गरी मिलाएको अवस्थामा लोडर पछाडि ब्याक हुँदा सोही अवस्थामा किचिन गएका हुन् । लोडर चालकले लापरवाहीपूर्वक किच्याएका होइनन् । अन्जानमा किचिन गई मृत्यु भएको हो भन्नेसमेत बेहोराको जाहेरवाला विशम्भर यादवले सुरू रूपन्देही जिल्ला अदालतसमक्ष गरेको बकपत्र ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) मा ज्यान मर्न सक्छ जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यस्तो व्यक्तिलाई कसुरदार मानी सजायको व्यवस्था गरेको पाइन्छ । प्रस्तुत घटना वारदात प्रतिवादीले चलाएको लोडर ब्याक गर्दा सोको पछाडि रहेका सोही फ्याक्ट्रीमा काम गर्ने व्यक्तिलाई अचानक ठक्कर लाग्न गई निजको मृत्यु हुन गएको अवस्था देखिँदा प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) को कसुर गरेको देखिन आउँदा प्रतिवादी रामवृक्ष सिंहलाई सोही ऐनको दफा १६१(३) बमोजिम कैद महिना ५(पाँच) र रू.२,०००।– (दुई हजार) जरिवानासमेत हुन्छ भन्नेसमेत बेहोराको रूपन्देही जिल्ला अदालतको मिति २०७०।११।६ को फैसला ।
अत्यन्तै साँघुरो सडकमा दायाँबायाँ, अगाडि पछाडि नहेरी भिडभाड नभएको ठाउँमा जेसुकै होस् भन्ने मानी स्पिडमा गाडी चलाएको कारणले वारदात भएको र भारतमा प्राप्त लाइसेन्स पनि नेपाल कानूनअनुसारको प्रक्रिया पुर्याई वैध बनाउन नसकेको र वारदातपश्चात् ऐनबमोजिमको कर्तव्य निर्वाह नगरी भागी फरार रहेकोबाट निजले आफ्नो कार्यको दुष्परिणाम थाहा पाउँदापाउँदै पनि त्यसतर्फ ध्यान नदिई लापरवाही गरेको पुष्टि भइरहेको अवस्थामा अभियोग दाबीभन्दा पृथक् कसुर ठहर्यार्इ कम सजाय हुने गरी भएको फैसला नमिलेको हुँदा बदर गरी प्रतिवादीलाई अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन-पत्र ।
जाहेरीमा प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाएको कारण दुर्घटना भएको भनी उल्लेख नभएको, जाहेरीलाई समर्थन गरी जाहेरवालाले अदालतमा आई बकपत्र गरिदिएको, प्रतिवादीले भारतबाट सवारी चालक अनुमतिपत्र लिएको तर नेपालबाट कानूनबमोजिम नियमित नगरेको कुरालाई अनुमतिपत्र नै नलिई सवारी चलाएको भन्न नमिल्ने, प्रतिवादीले मौका र अदालतसमक्ष बयान गर्दा मैले चलाएको लोडरले पछाडिबाट आएका मृतकलाई लोडरको पछाडिको भागले ठक्कर दिँदा मृत्यु हुन गएको हो भनी वारदातलाई स्वीकारेको अवस्थासमेत देखिई निजको लापरवाहीबाट मृतकको मृत्यु हुन गएको भन्ने नदेखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम सजाय हुने ठहर्याएको सुरू फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०७१।९।९ को फैसला ।
प्रतिवादीले चलाएको लोडरबाट मृतकको मृत्यु भएको कुरामा विवाद छैन । वारदात भएको सडकको चौडाइ १० फिट मात्र भएको देखिन्छ । वारदात बिहान ५ बजे भएको छ । प्रतिवादीले ब्रेक लगाउँदै गर्दा पछाडिको इन्जिनको भागको बायाँ टायरले मृतकलाई किचेको भनी स्वीकारेको छ । यस अवस्थामा बिहान ५ बजे अरू कोही नभएको साँघुरो सडकमा दायाँबायाँ नहेरी लापरवाहीपूर्वक सवारी चलाएको कारण घटना भएको देखिन्छ । घटना घटेपछि तत्काल घाइतेलाई उद्धार गरी स्वास्थ्य संस्थामा लगी आफू प्रहरीको सम्पर्कमा आउनुपर्नेमा उल्टै भागी फरार रहेबाट पनि लापरवाही उद्घाटित भएको छ । प्रतिवादीले नेपालबाट प्रचलित कानूनी विधि र प्रक्रिया पूरा गरी सवारी चालक अनुमति-पत्र लिएको पनि छैन । यस अवस्थामा अभियोग मागदाबीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र १६१(४) बमोजिम सजाय नगरी १६१(३) बमोजिम सजाय गर्ने र १६१(२) र (४) को दाबी नपुग्ने ठहर्याएको सुरू फैसलालाई सदर गरी भएको पुनरावेदन अदालत बुटवलको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को अवस्था विद्यमान भई त्रुटिपूर्ण हुँदा सो फैसला दोहोर्याई हेरी प्रतिवादीलाई सुरू अभियोग मागदाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट मिति २०७२।२।२९ मा यस अदालतमा दर्ता हुन आएको निवेदन-पत्र ।
यसमा प्रतिवादीले मौकामा गरेको बयानमा लोडरको बायाँ साइडले आकस्मात ठक्कर दिँदा निज भुइँमा लडेको देखी तत्काल लोडरको ब्रेक लगाउँदै गर्दा सोही लोडरको पछाडि इन्जिनको भागको बायाँ टायरले ठक्कर दिएकोमा तत्कालै रोकी" भनी उल्लेख भएको बेहोराबाट प्रतिवादीको काबुभन्दा बाहिरको परिस्थिति परी दुर्घटना भएको देखिन नआई प्रतिवादीले वरपरतिर सबै हेरविचार गरी सवारी चलाउनुपर्नेमा लापरवाहीपूर्वक लोडर जस्तो भारी सवारी चलाएबाट वारदात भएको पुष्टि भएको सो प्रमाणको मूल्याङ्कन नगरी प्रतिवादीलाई सफाइ दिएको पुनरावेदन अदालत बुटवलको फैसलामा मुलुकी ऐन, अ.बं. १८४(क), १८५ नं. र प्रमाण ऐन, २०३१ को दफा ३, ७, ९, २५ र ५४ नं. समेतको त्रुटि देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत बेहोराको यस अदालतको मिति २०७२।९।७ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम आजको दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक / वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेलले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ मा सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउन नहुने र ऐ. को दफा ५२ मा नेपाल बाहिरबाट सवारी चालक अनुमति-पत्र लिने व्यक्तिले तोकिएको अधिकारीसमक्ष दरखास्त दिएमा प्रक्रिया पुर्याई नेपालबाट सवारी चालक अनुमतिपत्र दिन सकिने व्यवस्था हुँदाहुँदै यी प्रतिवादी चालकले सो प्रक्रिया पूरा गरी नेपालको सवारी चालक अनुमति-पत्र लिएको छैन । निजले असावधानीपूर्वक लोडर जस्तो भारी सवारी साधन तीव्र गतिमा चलाएकै कारण आफू काम गर्ने फ्याक्ट्रीकै मजदुरको मृत्यु हुन गएको स्पष्ट देखिइरहेको अवस्थामा अभियोग दाबीभन्दा कम सजाय गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्तबमोजिम बहस जिकिर सुनी पुनरावेदन-पत्रसहितको मिसिल कागजात अध्ययन गरी सुरू फैसला सदर गरी पुनरावेदन अदालत बुटवलबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, भारत घर भई सोही देशबाट सवारी चालक अनुमतिपत्र लिएका प्रतिवादी रामवृक्ष सिंहले सिद्धार्थ सिमेन्ट उद्योगको कम्पाउन्डभित्र सोही उद्योगको नाम दर्ताको ना.१ ख २८४८ नं. को लोडर चलाउँदा लापरवाहीपूर्वक चलाएको कारण सोही उद्योगमा लेबर काम गर्ने अकलेश यादवलाई किची निज अकलेश यादवको मृत्यु हुन गएको हुँदा प्रतिवादी रामवृक्ष सिंहलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गरी भारतबाट लिएको सवारी चालक अनुमति-पत्रको आधारमा ऐ. दफा ४५ र ५२ बमोजिम कानूनी प्रक्रिया पूरा गरी नेपालबाट अनुमति-पत्र नलिएको हुँदा ऐ.ऐनको दफा १६१(४) बमोजिम थप सजायसमेत गरिपाउँ भनी अभियोग मागदाबी लिएको रहेछ । सुरू रूपन्देही जिल्ला अदालतबाट फैसला हुँदा ऐ. दफा १६१(२) को अवस्था नदेखिई १६१(३) को अवस्था विद्यमान हुँदा सोही १६१(३) नं. बमोजिम ५ महिना कैद र रू.२,०००।- जरिवाना हुने र भारतबाट लिएको चालक अनुमति-पत्रलाई नेपालबाट नियमित गरी नेपालको अनुमति-पत्र नलिएको अवस्थालाई अनुमति-पत्रबिना नै नलिई सवारी चलाएको भन्न नमिल्ने हुँदा दफा १६१(४) बमोजिम थप सजाय नहुने ठहर्याई भएको सुरू फैसला सदर हुने ठहर्याई पुनरावेदन अदालत बुटवलबाट भएको फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकारले मुद्दा दोहोर्याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भई प्रस्तुत पुनरावेदन दर्ता भएको रहेछ ।
३. यस अदालतसमक्षको पुनरावेदनमा बिहान ५ बजेको समयमा १० फिट चौडाइ रहेको साँघुरो सडकमा चालकले लोडर जस्तो भारी सवारी साधन असावधानीपूर्वक चलाएकै कारण मृतकलाई किच्दा निज मृतकको मृत्यु भएको देखिएको अवस्थामा लापरवाहीले घटना भएको नहुँदा १६१(२) को दाबी नपुग्ने र १६१(३) बमोजिम कम सजाय हुने एवं नेपालबाट कानूनी प्रक्रिया पुर्याई चालक अनुमति-पत्र नलिएको अवस्थामा १६१(४) को दाबीसमेत नपुग्ने ठहर्याएको सुरू फैसला सदर गरी भएको पुनरावेदन अदालत बुटवलको फैसलामा त्रुटि हुँदा सो त्रुटि सच्याई अभियोग दाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाउँ भनी जिकिर लिएको पाइयो ।
४. तत्सम्बन्धमा हेर्दा, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२),(३),(४) तथा दफा ४५ र ५२ को कानूनी व्यवस्था र सोको उद्देश्यको विश्लेषणद्वारा नै प्रस्तुत विवादमा उठेका प्रश्नको निरूपण हुनु उपयुक्त हुने देखिन आएको छ ।
५. तत्कालीन सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) मा “कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलार्इ किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भर्इ सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिर्इ गरेको नभए तापनि त्यसरी, सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसैको कारणबाट कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुने छ” भन्ने प्रावधान रहेको छ । उक्त कानूनी व्यवस्थाको मकसद र विधायिकी मनसाय के होला भन्नेतर्फ विश्लेषण गर्दा, कुनै सवारी चालकले आफूले चलाएको सवारी साधनले सवारी साधनमै रहेको वा बाहिर रहेको अर्को व्यक्तिलाई ठक्कर दिन वा दुर्घटना हुन सक्छ भन्ने जान्दाजान्दै वा दुर्घटना हुनसक्ने प्रबल सम्भावना रहेको कुरा देखिँदादेखिँदै र सतर्कता अपनाउन सक्ने अवस्था रहँदारहँदै सतर्कता वा सावधानीको बाटो नअपनाएको कारण दुर्घटना हुन गएको अवस्था हुनुपर्ने देखिन्छ । यो नं. को प्रावधानअनुसार चालकले आफ्नो सवारीले अर्को व्यक्तिलाई ठक्कर दिन वा दुर्घटना हुन सक्ने कुराको सहज अनुमान लगाउन सक्ने अवस्था भई सतर्कता वा होसियारी अपनाउनुपर्नेमा नअपनाएको कारण लापरवाहीबाट घटना घट्न गएको अवस्था हुनुपर्ने कुराको परिकल्पना गरेको पाइन्छ ।
६. त्यसैगरी ऐ. दफा १६१(३) मा “कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।” भन्ने व्यवस्था रहेको पाइन्छ ।
७. उल्लिखित कानूनी व्यवस्थालाई प्रस्तुत वारदातको सन्दर्भमा विश्लेषण गर्दा, यी सवारी चालक प्रतिवादी रामवृक्ष सिंहले बिहान ४ बजेको समयमा सिद्धार्थ सिमेन्ट उद्योगको कम्पाउन्डभित्र सिमेन्ट बनाउन प्रयोग हुने जिपसम माटो गोदामभित्र राख्नको लागि लोडरमा लोड गरी गोदाममा राखी गाडी (लोडर) ब्याक गरी फर्कने क्रममा सोही उद्योगमा मजदुर काम गर्ने मृतक अकलेश यादवलाई लोडरको पछाडिको चक्काले ठक्कर दिई किच्दा मृत्यु हुन गएको भन्ने घटना विवरण कागज, प्रतिवादीको मौका र अदालतसमक्षको बयानसमेतबाट देखिन्छ । वारदातको यथार्थ वस्तुस्थिति हेर्दा बिहान ४ बजेको समयमा वारदातस्थलमा चालक र मृतक मात्र रहेको, १० फिट चौडाइको साँघुरो सडकमा लोडर ब्याक गर्ने क्रममा लोडरको पछाडिको चक्काले मृतकलाई धक्का दिई लडाई किच्दा तत्काल मृतकको मृत्यु हुन गएको भन्ने देखिन्छ । यस अवस्थामा बिहान ४ बजे दिनको उज्यालो आउन नसक्ने समय रहेको देखिन्छ । १० फिटे सडकमा गाडी ब्याक गर्दा लोडरको पछाडिको चक्काले मृतकलाई ठक्कर दिई लडाएको र तत्काल टाउकोमाथि चक्का परी किची मृतकको मृत्यु भएको देखिएको यस वारदातमा माथि विश्लेषण गरिएअनुसार चालकले सावधानी र होसियारी अपनाई दुर्घटना हुनबाट बच्न सक्ने अवस्था रहँदारहँदै पनि दुर्घटनाबाट बच्ने उपायको अवलम्बन नगरी लापरवाहीपूर्वक लोडर चलाएको कारण दुर्घटना हुन गएको रहेछ भन्न सकिने देखिएन । साँघुरो सडक, बिहानको अपूर्ण प्रकाश, लोडरको पछाडिको चक्काले किचेको र पछाडि मान्छे छ भनी सूचना दिने अन्य व्यक्तिसमेत घटनास्थलमा नरहेको यस परिस्थितिमा दफा १६१(२) बमोजिम दुर्घटना हुन वा मानिस मर्नसक्ने अवस्थाको जानकारी थियो तर चालकले सावधानी नअपनाएको कारण मृतकको मृत्यु भएको रहेछ भन्नुपर्ने अवस्था नदेखिई दफा १६१(३) अनुसार दुर्घटना हुन वा मान्छे मर्न सक्छ भन्ने अनुमान गर्न सक्ने अवस्था नभई सावधानी अपनाउने मौका नै नपाएको अवस्था रहेको देखियो । यस प्रकार सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा १६१(३) बमोजिमको अवस्था रहेको तथ्य स्थापित भएको देखिँदा ऐ. दफा १६१(२) को दाबी नपुग्ने ठहर्याएको सुरू र पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्नुपर्ने देखिएन ।
८. अब प्रतिवादीले भारतबाट लिएको सवारी चालक अनुमति-पत्रलाई दफा ५२ बमोजिमको कानूनी प्रक्रिया पूरा गरी नेपालबाट चालक अनुमतिपत्र नलिई सवारी चलाएको कारण दफा १६१(४) बमोजिम थप सजायसमेत हुनुपर्दछ भन्ने पुनरावेदन जिकिरतर्फ विचार गर्दा, ऐ. ऐनको दफा ४५ मा “कुनै पनि व्यक्तिले सवारी चालक अनुमति-पत्र नलिई सवारी चलाउन हुँदैन” भन्ने तथा दफा ५२ मा “कसैले विदेशी राष्ट्रबाट चालक अनुमतिपत्र प्राप्त गरेको रहेछ भने सो अनुमतिपत्रमा लेखिएको सवारी चलाउन त्यस्तो व्यक्तिले दफा ४८ बमोजिम दरखास्त दिएमा अधिकारप्राप्त अधिकारीले त्यस्तो व्यक्तिबाट चालक अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिई चालक अनुमतिपत्र दिन सक्ने छ । तर त्यस्तो व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनुपर्ने छैन ।” भन्ने व्यवस्था रहेको छ । निजले सो व्यवस्थाबमोजिम नेपालमा सवारी चलाउन अनुमति-पत्रको लागि दरखास्त नदिएको भन्नेसम्म देखिन्छ । उक्त दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा निजले कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था पनि रहेको छैन । अभियोगपत्रमा दाबी लिइएको ऐनको दफा १६१(४) मा “चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफाबमोजिम हुने सजायमा थप दुई हजार रूपैयाँ जरिवानासमेत हुने छ ।” भन्ने व्यवस्था रहेको पाइन्छ । यसरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ र दफा १६१(४) को व्यवस्थाको एक आपसमा सम्बन्ध नभई फरक फरक रहेको देखिन्छ ।
९. उपर्युक्तअनुसारको कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा प्रतिवादी रामवृक्ष सिंहले भारतबाट लिएको सवारी चालक अनुमतिपत्र पेस गरेको
देखिन्छ । यसरी अर्को देशबाट लिएको चालक अनुमति-पत्रलाई नेपालको कानून सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ बमोजिम प्रक्रिया पूरा गरी नेपालबाट अनुमति-पत्र नलिएको अवस्थालाई अनुमति-पत्र नै नलिएको भन्न मिल्ने देखिएन । अनुमति-पत्रलाई कानूनले अनिवार्य गरेको
छ । सवारी चलाउने योग्यता, दक्षता र कौशलता नभएको व्यक्तिले सवारी नचलाओस् र अन्य व्यक्ति र समाजको सुरक्षा र अधिकारमा बाधा नपरोस् भन्ने उद्देश्यले सो व्यवस्था राज्यहरूले गर्ने गरेको हुन्छ । नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा अर्को देशबाट चालक अनुमति-पत्र लिने व्यक्तिले सोको आधारमा नेपालबाट अनुमतिपत्र लिनको लागि आवेदन दिएमा अधिकारप्राप्त अधिकारीले अनुमति-पत्र दिनसक्ने कुरा उल्लेख भएको पाइन्छ । तर यसरी आवेदन दिई नेपालबाट सवारी चालक अनुमति-पत्र नलिई सवारी चलाएमा अन्य देशबाट प्राप्त गरेको चालक अनुमति-पत्रले नेपालमा सवारी चलाउन नपाउने भन्ने प्रावधान रहेको छैन । यस अवस्थामा भारतबाट सवारी चालक अनुमति-पत्र लिएको अवस्थालाई अनुमति-पत्र नै नलिएको अवस्था भनी दफा १६१(४) बमोजिम थप सजाय गरिपाउँ भन्ने पुनरावेदन जिकिर र यस अदालतबाट निस्सा प्रदान गर्दा लिइएको आधारसँग समेत सहमत हुन सकिएन ।
१०. अत: माथि विवेचित आधार कारण र प्रमाणबाट प्रतिवादी रामवृक्ष सिंहलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) बमोजिम ५(पाँच) महिना कैद र रू.२,०००।- (दुई हजार रूपैयाँ) जरिवाना हुने, दफा १६१(२) र (४) बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी पुग्न नसक्ने ठहर्याई भएको सुरू रूपन्देही जिल्ला अदालतको फैसला सदर हुने ठहर्याई भएको पुनरावेदन अदालत बुटवलको मिति २०७१।९।९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक / वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । फैसलाको प्रतिलिपिसहितको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू । यो फैसला विद्युतीय प्रणालीमा अपलोड गर्नु र दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.डम्बरबहादुर शाही
इजलास अधिकृत : फणेश्वरी घिमिरे
इति संवत् २०७६ साल कार्तिक ७ गते रोज ५ शुभम् ।