निर्णय नं. १०६६९ - लागु औषध
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७६।८।१०
मुद्दाः लागु औषध (चरेस)
०७१-CR-०९३९
पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला प्रिती गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको वर्ष २३ को साजन राई भन्ने सुजनकुमार सुनुवार
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्र राजभण्डारीसमेतको जाहेरीले नेपाल सरकार
०७३-CR-११६१
पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला बैरेनी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको सुक्रे भन्ने सुकराम तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्र राजभण्डारीसमेतको जाहेरीले नेपाल सरकार
०७३-CR-११६२
पुनरावेदक / प्रतिवादी : काठमाडौं बाडभन्ज्याङ गा.वि.स. वडा नं. ९ घर भई सितापाइला बस्ने हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको शुकुबहादुर तामाङ
विरूद्ध
प्रत्यर्थी / वादी : विरेन्द्रराज राजभण्डारीको जाहेरीले नेपाल सरकार
स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हुन्छ l अर्थात्, मुद्दाको तथ्य नमिलेसम्म त्यस्तो नजिर उद्धृत गरिनुले मात्र त्यसको अर्थपूर्ण सम्बन्ध स्थापित हुन सक्तैन l कुनै न्यायिक निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको विपरीत छ भनी जिकिर लिँदा त्यस्तो जिकिरकर्ताले फैसलामा लिइएको के कुन आधार त्यसरी प्रतिपादित के कुन नजिर सिद्धान्त प्रतिकूल वा अनुकूल छ भनी पक्षको हकहित स्थापित हुने उद्देश्यले स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ अनि मात्र त्यस्तो जिकिरलाई अदालतले मुद्दाको अभिन्न अंशको रूपमा हेरी विवेचना गर्नुपर्ने विषय बन्न जाने ।
(प्रकरण नं.६)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल
प्रत्यर्थी / वादीका तर्फबाट :
अवलम्बित नजिर :
ने.का.प.२०५७, अङ्क २, नि.नं.६८६१
ने.का.प.२०६४, अङ्क ३, नि.नं.७८२९
ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२४३
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
लागु औषध (नियन्त्रण) ऐन, २०३३
सुरू तहमा फैसला गर्ने :
मा. जिल्ला न्यायाधीश श्री जगतप्रसाद श्रेष्ठ
काठमाडौं जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने:
माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण
मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला
उच्च अदालत पाटन
फैसला
न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :
मुद्दाको तथ्य
मिति २०६६/५/२३ गते दिनको अन्दाजी १२:३० देखि १४:१५ बजेको समयमा म जाहेरवालाको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका (का.जि.का.म.न.पा.) वडा नं.१३ बाफल कुमारीगाल गल्लीस्थित घरबाट अपरिचित चोरहरूले घरको मूलढोका फुटाई भित्र प्रवेश गरी छोरी स्वर्णिमा राजभण्डारी तथा दिदी रजनी राजभण्डारीसमेतको कोठाको लक तोडीभित्र प्रवेश गरी घरमा भएको नगद र सुनचाँदीका गरगहना गरी रू.१२,६९,५००।- (बाह्र लाख उनान्सत्तरी हजार पाँच सय) मूल्य बराबरका धनमाल चोरी गरी लगेको हुँदा चोरी अपराध गर्ने व्यक्तिहरू पक्राउ परेपछि यकिन गरी किटानी जाहेरी पुनः दिने छु l हाललाई यो सूचना दिन आएको भन्नेसमेत बेहोराको विरेन्द्रराज राजभण्डारीले मिति २०६६/०५/२४ मा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंमा दिएको हुलिया जाहेरी ।
प्रकरण नं. १ बमोजिमको सूचना मिति २०६६/०५/२४ गते महानगरीय प्रहरी वृत्त, कालिमाटीमा दिएकोमा उक्त धनमाल यस जाहेरीमा उल्लिखित सुजनकुमार सुनुवार राईसमेतका व्यक्तिहरूले चोरी अपराध गरेको यकिन भएको हुँदा निजहरूलाई पक्राउ गरी मुलुकी ऐन, चोरीको महलअन्तर्गत हदैसम्मको कारबाही गरी उल्लिखित धनमालहरू पत्ता लगाई फिर्ता गराइपाउँ भन्नेसमेत बेहोराको विरेन्द्रराज राजभण्डारीले महानगरीय प्रहरी वृत्त कालिमाटीमा पेस गरेको किटानी जाहेरी ।
का.जि.का.म.न.पा. वडा नं.१५ स्वयम्भू भगवानपाउस्थित सडकको उत्तरतर्फ मसानघाटको खाली चौरमा शंकास्पद रूपमा साथमा झोला लिई बसेको सुजन राई (सुनुवार) ले पछाडिपट्टि भिरेको PUMA लेखेको कालो रंगको झोलाबाट सेतो हिरोइन जस्तो धुलो पदार्थ प्लाष्टिकभित्र रहेको ८ ग्राम, चन्द्र भन्ने चक्रबहादुर तामाङले बोकेको झोलाबाट बरामद भएको चरेश जस्तो देखिने कालो पदार्थ १११ ग्राम, सुभाष भन्ने शुकुबहादुर तामाङको साथबाट सेतो हिरोइन जस्तो धुलो पदार्थ ६ ग्राम, चेङ्गा तामाङको पेन्टको गोजी तथा पर्सबाट बरामद भएको चरेश जस्तो कालो पदार्थ १४८ ग्राम, सुमन तामाङले बोकेको फुस्रो झोलाबाट बरामद भएको चरेश जस्तो कालो पदार्थ १२८ ग्राम, फुच्चे भन्ने बुद्ध लामासँग बरामद भएको प्लाष्टिकको झोलाबाट सेतो हिरोइन जस्तो धुलो पदार्थ ६ ग्राम, रोशन तामाङको साथबाट २.८ MM ग्लास लेखेको क्यानन कम्पनीको रिलवाला क्यामेरा थान १, चरेश जस्तो कालो पदार्थ ११४ ग्राम बरामद भएको हुँदा उल्लिखित व्यक्तिहरूलाई नियन्त्रणमा लिई स्थानीय मानिसहरूको रोहबरमा बरामदी मुचुल्का गरी बरामद भएका ती सामानहरूमध्ये केही सामान जाहेरवाला विरेन्द्रराज राजभण्डारीको घरबाट चोरी भएको सामानहरूसँग मिल्न गएको र ती सम्पूर्ण सामानहरू चोरी गरी ल्याएको सामान नै हो भनी मुख साबित भएकोले तत्काल प्रहरीले बरामद गरी लगेको ठिक साँचो हो भन्नेसमेत बेहोराको मिति २०६६।०६।०१ गतेको चारकिल्लासहितको खानतलासी एवं बरामदी मुचुल्का ।
काठमाडौं सितापाइला गा.वि.स. वडा नं. ९ स्थित छुकुटोलस्थित शान्तामाया महर्जनको घरको तल्लो तलामा रहेको शुक्रे भन्ने शुकराम तामाङको कोठामा खानतलासी लिँदा ६ ग्राम तौलको सेतो हेरोइन जस्तो धुलो पदार्थ फेला परेको साँचो हो भन्नेसमेत बेहोराको बरामदी तथा खानतलासी मुचुल्का l
विरेन्द्रराज राजभण्डारीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सुजनकुमार सुनुवार राईसमेत भएको चोरी मुद्दामा कारबाही तथा अनुसन्धानको सिलसिलामा च.नं.५७६ मिति २०६६।६।०२ गतेको पत्रसाथ यस कार्यालयमा दाखिल हुन आएको बरामदी सामानसहितका प्रतिवादीहरू सुजनकुमार सुनुवार राई, चन्द्र भन्ने चक्रबहादुर तामाङ, रोशन तामाङ घिसिङ, सुक्रे भन्ने सुकराम तामाङ, सुभाष भन्ने शुकुबहादुर तामाङ, सुमन तामाङ, बुद्ध लामा, चेङ्गा तामाङसमेतको साथबाट लागु औषध सेतो हेरोइन तथा कालो चरेशसमेत बरामद भई आएको हुँदा निज प्रतिवादीहरूउपर लागु औषध मुद्दामा समेत म्याद थप गरी आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६६/६/१९ गतेको प्रहरी प्रतिवेदन ।
प्रतिवादीहरू सुभाष भन्ने शुकुबहादुर तामाङ, फुच्चे भन्ने बुद्ध लामा र सुक्रे भन्ने सुकराम तामाङबाट बरामद भएको ६/६ ग्राम सेतो हेरोइन जस्तो धुलो पदार्थमा परीक्षणका लागि ३/३ ग्राम र अदालतको लागि ३/३ ग्राम, प्रतिवादी सुजनकुमार सुनुवार राईको साथबाट बरामद भएको ८ ग्राममा परीक्षणको लागि ३ ग्राम, अदालतको लागि ३ ग्राम, अनुसन्धान अधिकारीको लागि बाँकी २ ग्राम निकालिएको, प्रतिवादी चन्द्र भन्ने चक्रबहादुर तामाङ, चेङ्गा तामाङ, सुमन तामाङ र रोशन तामाङसमेत ४ जनाबाट बरामद भएको चरेश जस्तो कालो पदार्थमध्ये ३/३ ग्राम परीक्षणको लागि, अदालतको लागि र अनुसन्धानको लागि नमुना निकाली बाँकी रहेको चरेश जस्तो पदार्थ एकै ठाउँमा पोका पारी सिलबन्दी गरी प्रहरी कार्यालयमा फिर्ता पठाई सम्मानित काठमाण्डौं जिल्ला अदालतको रोहबरमा यो नमुना निकालिएको ठिक छ भन्नेसमेत बेहोराको मिति २०६६/०६/१९ गतेको नमुना मुचुल्का ।
का.जि.का.म.न.पा.वडा नं.३ स्थित अण्डरग्राउण्डसहितको ४ तले उत्तर मोहडाको सविना महर्जनको पक्की घरमा प्रहरी टोलीले साथै लिई आएका प्रतिवादी रोशन तामाङको कोठा खोली कानूनबमोजिम खानतलासी गर्दा कोठाको पश्चिमतर्फ झुण्ड्याइरहेको अवस्थामा रहेको कालो कलरको नाइलनको कपडाको झुण्ड्याउनेसमेत भएको झोलामा पहेँलो कलरमा स्टार चिह्न तथा सेतो कलरमा Converse लेखेको झोला एकथान फेला परेकोले प्रहरीले हामीहरूको रोहबरमा बरामद गरी लगेको ठिक हो भन्नेसमेत बेहोराको मिति २०६६।६।२१ को चार किल्लासहितको खानतलासी एवं बरामदी मुचुल्का ।
का.जि.का.म.न.पा. वडा नं.२९ बस्ने लसता महर्जनको घरमा डेरा गरी बस्ने सुमन तामाङ, का.जि. सितापाइला गा.वि.स.२ उद्धव खड्काको घरमा डेरा गरी बस्ने सुभाष भन्ने शुकुबहादुर तामाङ, का.जि. विष्णु गा.वि.स. वडा नं.५ सुशिल तामाङको घरमा डेरा गरी बस्ने चन्द्रे भन्ने चक्रबहादुर तामाङ, जिल्ला ललितपुर इमाडोल गा.वि.स. वडा नं.७ अशोक कुँवरको घरमा डेरा गरी बस्ने फुच्चे भन्ने बुद्ध लामा, का.जि.का.म.न.पा. वडा नं.१५ चित्रबहादुर कार्कीको घरमा डेरा गरी बस्ने सुजनकुमार सुनुवार राईसमेतको डेरा कोठा खानतलासी गर्दा अपराधसँग प्रमाण लाग्ने कुनै पनि चिजवस्तुहरू फेला नपरेको भन्नेसमेत बेहोराको मिति २०६६/६/२० गतेको अलग-अलग खानतलासी एवं बरामदी मुचुल्का ।
पूर्वचिनजानका पक्राउ प्रतिवादीहरू रोशन तामाङसमेतसँग चिनजान भई सबैजनाको सल्लाहमा विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने क्रममा मिति २०६६।५।२३ गते दिउँसो चोरी गर्ने उद्देश्यले म तथा सँगै पक्राउ परी आएका प्रतिवादी रोशन तामाङ (घिसिङ), सुभाष भन्ने शुकुबहादुर तामाङ, सुक्रे भन्ने सुकराम तामाङसमेत भई फलामे औजारहरू लिई उपयुक्त स्थानको खोजी गर्दै जाने क्रममा हाल नाम थाहा भएका जाहेरवाला विरेन्द्रराज राजभण्डारीको घरमा कोही नभएको देखी म घरबाहिर बसी अन्य साथीहरू घरभित्र गई भएको गरगहना तथा नगद रू.३५ हजारसमेत लिई आई नगद तत्काल बाँडी लिएको र फेला परेका सुन तथा चाँदीका गरगहनाहरू बारा जितपुरमा लगी बिक्री गर्दा पाएको ८५,०००।- जति रकमबाट अन्दाजी १८,०००।- जति भाग परेको
थियो । साथी सुक्रे भन्ने सुकराम तामाङसमेतले ल्याएको बरामद भई आई देखाइएको सोही रडले ढोका फुटाई चोरी गरेको हो । उक्त रड निजहरूले के कहाँबाट ल्याए थाहा भएन, बरामद भई आएको सामानहरूमध्ये लागु औषध चरेश मसँग बरामद भएको होइन l अन्य सामान मैले विभिन्न ठाउँबाट चोरी गरी ल्याएको
हुँ । हामीहरूले चोरी गरेका घरहरू तत्काल थाहा नभए तापनि हाल बुझ्दा बाफलको विरेन्द्रराज राजभण्डारी, कपनको भावुक शर्मा, पेप्सीकोलाको मदनराज घिमिरे, ललितपुर सानेपाको डा.मनोहरप्रसाद गुप्ता, पेप्सीकोलाकी रेणु लामा, सोही ठाउँकै बटुककृष्ण ढुङ्गाना, डल्लु बस्ने प्रेम प्रजापती, स्वयम्भू बस्ने दिपक मानन्धरसमेतको घरमा चोरी गरेका
रहेछौं । उक्त ठाउँमा चोरी गरेको रकम तत्काल बाँडी लिई खाइसकेको र अन्य सुन चाँदीका गरगहना बारा जितपुरमा लगी बिक्री गर्ने गरेको हो । जाहेरवालाको घरमा के कति धनमाल चोरी गरियो थाहा भएन । सुनचाँदी बिक्री गर्न दिने व्यक्तिले कमिसन खाने र खरिद गर्ने व्यक्तिले समेत चोरीको हो भनी हचुवाको भरमा लिने हुँदा जाहेरीमा उल्लिखित रकम र पाएको रकममा फरक पर्न गएको हुनुपर्छ भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङको मिति २०६६/०६/२३ गतेको बयान ।
हामी जाहेरीमा उल्लिखित साथीहरूसमेत भई ग्याङ्ग बनाई चोरी गर्ने कार्यमा संलग्न हुने गरेका
छौं l समय र परिस्थितिअनुसार भूमिका र ठाउँ फेरिरहन्छौँ l बरामदी मुचुल्कामा उल्लिखित सामानहरूमध्ये सेतो हेराइन मेरो साथबाट बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रकरण ८ मा प्रतिवादी सुमन तामाङले गरिदिएको बयानसँग मिल्दो बेहोराको प्रतिवादी सुभाष भन्ने शुकुबहादुर तामाङको मिति २०६६।०६।२३ गतेको बयान ।
बरामदी मुचुल्कामा उल्लिखित लागु औषध सेतो हेरोइन जस्तो धुलो पदार्थ मेरो साथबाट बरामद भएको होइन l अन्य सामानहरू मैंले बोकेको झोलाबाट बरामद भएको सामानहरू हुन् भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले प्रकरण ९ मा खुलाइदिएबमोजिम आफू पनि चोरीको यसै ग्याङको सदस्य भएको भन्ने बेहोरालाई समर्थन गर्ने आशयको प्रतिवादी सुजनकुमार सुनुवार राईको मिति २०६६।०६।२३ गतेको बयान ।
बरामदी मुचल्कामा उल्लिखित मलाई देखाइएको सामानहरूमध्ये सि.नं.१८ मा लेखिएको चरेश जस्तो पदार्थ मेरो साथबाट बरामद भएको होइन भन्नेसमेत उल्लेख भएको बेहोराको प्रतिवादी सुमन तामाङले प्रकरण ८ मा खुलाइदिएबमोजिम आफू पनि चोरीको यसै ग्याङको सदस्य भएको भन्ने बेहोरालाई समर्थन गर्ने आशयको प्रतिवादी चक्रबहादुर तामाङको मिति २०६६/०६/२३ गतेको बयान ।
बरामदी मुचुल्कामा उल्लिखित सामानहरूमध्ये चरेश मेरो साथबाट बरामद भएको होइन भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले प्रकरण ९ मा खुलाइदिएबमोजिम आफू पनि चोरीको यसै ग्याङको सदस्य भएको भन्ने बेहोरालाई समर्थन गर्ने आशयको प्रतिवादी रोशन तामाङ (घिसिङ) को मिति २०६६/०६/२३ गतेको बयान ।
बरामदी मुचुल्कामा उल्लिखित सेतो हेरोइन जस्तो धुलो पदार्थ मेरो साथबाट बरामद भएको
होइन l मैले लागु औषधसम्बन्धी कुनै कारोबार गरेको छैन l अन्य सामान मेरो साथबाट बरामद भएका सामानहरू हुन् भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले प्रकरण ९ मा खुलाइदिएबमोजिम आफू पनि चोरीको यसै ग्याङको सदस्य भएको भन्ने बेहोरालाई समर्थन गर्ने आशयको प्रतिवादी सुक्रे भन्ने सुकराम तामाङको मिति २०६६/०६/२३ गतेको बयान ।
बरामदी मुचुल्कामा उल्लिखित चरेश जस्तो देखिने कालो पदार्थ मेरो साथबाट बरामद भएको होइन l मैले हालसम्म कुनै पनि लागु औषधसम्बन्धी कुनै कार्य गरेको छैन । जाहेरवाला विरेन्द्रराज राजभण्डारीसमेतको घरमा भएको चोरीको घटनामा नगएको भए तापनि प्रतिवादी रोशन तामाङ (घिसिङ) ले चोरी गरी ल्याएको सामान मेरो कोठामा फेला परेको र निजहरूले मलाईसमेत पोलेकोले निज जाहेरवालाले मसमेतउपर किटानी जाहेरी दिएको हुनपर्छ भन्नेसमेत बेहोरा भएको भन्नेसमेत बेहोराको प्रतिवादी सुमन तामाङले प्रकरण ९ मा खुलाइदिएबमोजिम आफू पनि चोरीको यसै ग्याङको सदस्य भएको भन्ने बेहोरालाई समर्थन गर्ने आशयको प्रतिवादी चेङ्गा तामाङको मिति २०६६।०६।२३ गतेको बयान ।
छिमेकी विरेन्द्रराज राजभण्डारीको घरमा मिति २०६६।५।२३ गते कोही नभएको अवस्थामा अपरिचित चोरहरूले जाहेरवालाको घरको ढोकामा लगाएको ताला फलामे रडले तोडी भित्र प्रवेश गरी कोठाको लकसमेत तोडी दराजहरूबाट नगद र सुनचाँदीका करीब रू.१२,६९ ५००।- (बाह्र लाख उनान्सत्तरी हजार पाँच सय) मूल्य बराबरका धनमाल चोरी गरेकोले प्रहरी टोली आई घटनास्थल मुचुल्कासमेतको कार्य गरी उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजतलास गर्दै जाने क्रममा मिति २०६६।६।०१ गतेका दिन सुजनकुमार सुनुवार राईसमेत ८ जनालाई चोरी भएको दशीका सामान तथा लागु औषध सेतो हेरोइन चरेशसहित महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट पक्राउ गरी जाहेरवाला विरेन्द्रराज राजभण्डारीको घरबाट उक्त मितिमा चोरी भएका दशीका सामानसमेत बरामद गरी जाहेरवालाबाट सनाखतसमेत गरिएको र निजहरूको साथबाट लागु औषधसमेत बरामद भएको हुँदा लागु औषध मुद्दामा समेत अनुसन्धान भइरहेको भन्ने हाल सुनी थाहा पाएको हो । निजहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ भन्नेसमेत बेहोराको रामप्रसाद सापकोटासमेतले मिति २०६६/०६/२४ गते गरिदिएको कागज ।
प्रतिवादीहरू सुभाष भन्ने शुकुबहादुर तामाङ, फुच्चे भन्ने बुद्ध लामा, सुक्रे भन्ने सुकराम तामाङ र सुजनकुमार सुनुवार राईको उक्त कार्य लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क)(घ) र (च) विपरीतको कसुर अपराध भएको हुँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा १४ को देहाय (१)(छ)(१) बमोजिम र अन्य प्रतिवादीहरू चन्द्रे भन्ने चक्रबहादुर तामाङ, रोशन तामाङ (घिसिङ), च्याङ्गा तामाङ र सुमन तामाङको हकमा सोही ऐनको दफा १४ को देहाय १(घ)(२) बमोजिम सजाय होस् भन्ने बेहोराको वादी नेपाल सरकारको अभियोग मागदाबी ।
म / हामीलाई प्रहरीले डेरा कोठाबाट चोरीको आरोपमा भनी पक्राउ गरेको हो l आफूहरूसँग लागु औषध नरहेको, अनुसन्धान अधिकारीसमक्ष भएको बयानको केही बेहोरा सत्य हो भने केही म / हामीले भने लेखाएबमोजिमको होइन भन्नेसमेत बेहोराको प्रतिवादीहरू शुकुराम तामाङ, सुजनकुमार सुनुवार राई, चन्द्रे भन्ने चक्रबहादुर तामाङ, सुमन तामाङ, रोशन तामाङ घिसिङ, सुभाष भन्ने शुकुबहादुर तामाङ, फुच्चे भन्ने बुद्ध लामा र चेङ्गा तामाङले सुरू अदालतमा गरेको एकै मिलानको छुट्टाछुट्टै बयान ।
परीक्षणार्थ प्राप्त नमुनामा लागु औषध हेरोइन र चरेस पाइएको भन्ने बेहोराको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको मिति २०६६/०७/१६ को प्रयोगशाला प्रतिवेदन l
अभियुक्तहरू चोरीको कसुरमा साबित भए पनि लागु औषधको कसुरमा इन्कार रहेको
पाइन्छ l के कस्तो प्रयोजनको लागि को बाट खरिद गरी प्रतिवादीहरूले सो लागु पदार्थ निजहरूको साथमा रहेको थियो भनी वादी पक्षले अनुसन्धानबाट खुलाउन सकेको छैन । चोरीको सामान बरामद भएको तथा चोरी गरेको तथ्यमा समेत साबित हुने प्रतिवादीहरूले लागु औषधको कसुरमा भएको इन्कारीलाई अन्यथा भन्न सकिने अवस्था नदेखिँदा प्रतिवादीहरू सुभाष भन्ने शुकुबहादुर तामाङ, फुच्चे भन्ने बुद्ध लामा, सुक्रे भन्ने सुकराम तामाङ, सुजनकुमार सुनुवार राई, चन्द्रे भन्ने चक्रबहादुर तामाङ, रोशन तामाङ (घिसिङ्ग), च्याङ्गा तामाङ र सुमन तामाङले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्ने बेहोराको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६८/०९/२२ को फैसला ।
प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने भनी सुरू अदालतले गरेको फैसलामा सन्तुष्ट हुन नसकी वादी नेपाल सरकारले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ बमोजिम प्रतिवादीहरूबाट बरामद भएको लागु औषधलाई अन्यथा भन्ने प्रमाण प्रतिवादीहरूले पेस गर्नुपर्नेमा सो गर्न सकेको नदेखिँदा वादी पक्षले प्रमाणित गर्नुपर्ने भन्ने आधारमा आरोपित कसुरबाट प्रतिवादीहरूलाई सफाइ दिएको नमिलेको हुँदा सुरू अदालतको फैसला उल्टी भई अभियोग मागदाबीबमोजिम प्रतिवादीहरू सुजन राई, सुभाष भन्ने शुकुबहादुर तामाङ, फुच्चे भन्ने बुद्ध लामा र शुक्रे भन्ने सुकराम तामाङलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) (छ) र (च) विपरीतको कसुरमा निजहरूलाई ऐनको दफा १४(१)(छ)(१) बमोजिम जनही ५ वर्ष कैद र पाँच हजार जरिवाना हुने तथा प्रतिवादीहरू चक्रे भन्ने चक्रबहादुर तामाङ, रोशन तामाङ, च्याङ्गा तामाङ र सुमन तामाङको हकमा ऐ.ऐनको दफा १४(१)(घ)(२) बमोजिम जनही तीन महिना कैद र तीन हजार जरिवाना हुने ठहर्छ भन्नेसमेत बेहोराको उच्च अदालत पाटनबाट मिति २०७१/०५/०३ मा भएको फैसला l
मेरो साथबाट लागु औषध बरामद भएको छैन । अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहेको छु l अभियोग दाबीअनुसारको कसुर गरेको छैन, म निर्दोष छु l सुरू काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी साजन राई भन्ने सुजनकुमार सुनुवार राईले यस अदालतमा पेस गरेको
पुनरावेदनपत्र l
लागु औषध बरामद भएको होइन l नियोजित तरिकाले फसाउनलाई बरामदी मुचुल्कामा लागु औषध थप गरिएको हो l अनुसन्धान अधिकारी र अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रहेका हामी निर्दोष छौं l चित्तबुझ्दो प्रमाणबिनै हामीलाई कसुरदार ठहर गर्ने उच्च अदालत पाटनको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ९(२), १८, २५ र ५४, मुलुकी ऐन अदालती बन्दोबस्तको १८४क, १८५ नं., ने.का.प. २०५७, अङ्क २, निर्णय नं. ६८६१, ने.का.प. २०६४, अङ्क ३, निर्णय नं. ७८२९, ने.का.प. २०६६, अङ्क १०, निर्णय नं. ८२४३ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएको हुँदा सो फैसला उल्टी भई सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भन्नेसमेत मुख्य बेहोरा भएको करिब एकै मिलानको प्रतिवादी सुक्रे भन्ने शुकराम तामाङ र प्रतिवादी सुभाष भन्ने सुकुबहादुर तामाङले यस अदालतमा पेस गरेको छुट्टाछुट्टै पुनरावेदनपत्र l
अदालतको ठहर
आजको पेसीसूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गर्दा विरेन्द्रराज राजभण्डारीले दिएको चोरी मुद्दाको किटानी जाहेरीमा अनुसन्धान हुँदै जाँदा उक्त चोरी मुद्दाका प्रतिवादीहरूको साथबाट लागु औषधसमेत बरामद भएकोले निजहरूलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सजाय गर्नुपर्ने भनी पेस भएको प्रहरी प्रतिवेदनबाट यस मुद्दाको उठान भएको देखियो l
प्रतिवादीहरू शुकुबहादुर तामाङ, बुद्ध लामा, सुकराम तामाङ र सुजनकुमार सुनुवार राईलाई लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) (घ) र (च) को कसुर अपराधमा सोही ऐनको दफा १४ को देहाय (१)(छ)(१) बमोजिम र अन्य प्रतिवादीहरू चक्रबहादुर तामाङ, रोशन तामाङ (घिसिङ्ग), च्याङ्गा तामाङ र सुमन तामाङको हकमा सोही ऐनको दफा १४ को देहाय १(घ)(२) बमोजिमको सजाय हुनुपर्ने भनी वादी नेपाल सरकारले अभियोग दाबी लिएकोमा बरामद भएको लागु औषध प्रतिवादीहरूको साथमै थियो भन्ने सन्तोषजनक प्रमाण वादी पक्षबाट पेस हुन नसकेको भन्ने आधारमा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने भई वादी नेपाल सरकारको अभियोग दाबी नठहर्ने भनी सुरू काठमाडौं जिल्ला अदालतले फैसला गरेको देखियो l
सुरू अदालतबाट भएको फैसलाउपर वादी नेपाल सरकारले पुनरावेदन गरेकोमा, बरामद भएको लागु औषधलाई अवैधानिक होइन भनी प्रमाणित गर्ने कानूनी दायित्व प्रतिवादीको हुने भन्ने विशेष कानून (लागु औषध नियन्त्रण ऐन, २०३३) मा भएको व्यवस्थाअनुसार यी प्रतिवादीहरूले वस्तुनिष्ठ प्रमाणद्वारा आफ्नो निर्दोषिता पुष्टि गर्न नसकेको भन्ने मूल आधारबाट सुरू अदालतको फैसला नमिलेको ठहर गरी सो फैसला उल्ट्याई प्रतिवादीहरूले अभियोग दाबीअनुसारको कसुर गरेको ठहर्ने भनी उच्च अदालत पाटनले पुनरावेदनको रोहमा उक्त मुद्दा हेरी मिति २०७१/०५/०३ निर्णय दिएको पाइन्छ l
बरामद भएको भनिएको लागु औषध आफूहरूको साथमा नरहेको र लागु औषधको कसुरमा आफूहरू सुरूदेखि नै इन्कार रहेको भन्ने आधारसमेतबाट उच्च अदालतले प्रस्तुत मुद्दामा गरेको फैसला प्रमाण ऐन, मुलुकी ऐन, अदालती बन्दोबस्तको महलका उल्लिखित कानूनी व्यवस्था र सर्वोच्च अदालतबाट प्रतिपादित उल्लिखित कानूनी नजिर सिद्धान्तविपरीत भएकोले सो फैसला उल्टी गरी अभियोगबाट सफाइ पाउँ भन्ने मुख्य जिकिरसहित यी तीनजना प्रतिवादीहरू सुजनकुमार सुनुवार राई, शुकराम तामाङ र सुकुबहादुर तामाङ यस अदालतमा पुनरावेदन लिई उपस्थित भएको देखियो l
पुनरावेदक प्रतिवादी सुजनकुमार सुनुवार राईको तर्फबाट कानूनी प्रतिरक्षा गर्न उपस्थित हुनुभएका विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेलले प्रतिवादीहरूलाई चोरीमा सजाय भइसकेको र बरामद नै नभएको लागु औषधमा मुद्दा चलाइएको हुँदा उच्च अदालत पाटनले गरेको फैसला विचारणीय भई प्रत्यर्थी झिकाउने आदेश हुनुपर्दछ भनी इजलाससमक्ष गर्नुभएको बहस जिकिरसमेत सुनियो l
उपर्युक्त तथ्य भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान् कानून व्यवसायीको तर्कयुक्त बहस जिकिरसमेत सुनिसकेपछि प्रतिवादीहरूलाई अभियोग दाबीअनुसार सजाय गर्ने उच्च अदालत पाटनबाट भएको उल्लिखित फैसला मिले नमिलेको र सोउपर पुनरावेदन गर्न आएका यी प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्ने वा नसक्ने भन्ने विषयमै निर्णय गर्नुपर्ने देखियो l
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सुजन राईको साथबाट हेरोइन जस्तो धुलो पदार्थ ८ ग्राम, प्रतिवादी शुकुबहादुर तामाङको साथबाट सेतो हेरोइन जस्तो धुलो पदार्थ ६ ग्राम बरामद भएको भन्नेसमेत बेहोराको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा बसी गरिएको खानतलासी तथा बरामदी मुचुल्का र प्रतिवादी सुकराम तामाङको साथबाट सेतो हेरोइन जस्तो धुलो पदार्थ ६ ग्राम बरामद भएको भन्नेसमेत बेहोराको काठमाडौं सितापाइला गा.वि.स. वडा नं. ९ स्थित छुकुटोलमा बसी खडा गरेको खानतलासी तथा बरामदी मुचुल्काबाट देखिन्छ भने उल्लिखित खानतलासी तथा बरामदी मुचुल्काहरूमा यी प्रतिवादीहरू उपस्थित भई रोहबरमा बसी दस्तखत गरिदिएका रहेछन् l केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, काठमाडौंको मिति २०६६/०७/१६ को प्रयोगशाला प्रतिवेदनले यी प्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषधजस्तो सेतो धुलो पदार्थ लागु औषध हेरोइन भएको भनी प्रमाणित गरिदिएको हुँदा पुनरावेदन गर्न आएका यी प्रतिवादीहरूको साथबाट बरामद उक्त वस्तु लागु औषध हेरोइन भएको कुरामा विवेचना गरिरहनु परेन l लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा भएको कानूनी व्यवस्थाअनुसार आफ्नो साथमा फेला परेको लागु औषध अवैध होइन भन्नका लागि सो कुराको प्रमाण प्रतिवादीले नै पुर्याउनुपर्ने हुन्छ l अभियोग दाबीअनुसारको लागु औषधको कसुर हामीले गरेका होइनौं भनी यी प्रतिवादीहरूले मौका र अदालतमा गरेको बयानद्वारा इन्कार गरे पनि चोरीका अन्य सामानहरू बरामद हुँदाका बखत सो लागु औषध आफूहरूकै साथमा भएको कुरा सत्य हो भन्नेसमेत बेहोरा भएको बरामदी मुचुल्काको रोहबरमा बसी आफैँले दस्तखत गरिदिएको कुरालाई ठोस एवम् विश्वसनीय प्रमाणले खण्डन गर्न सकेका छैनन् l प्रमाण ऐन, २०३१ को दफा ९(१) अनुसार मुद्दाका पक्षले व्यक्त गरेको कुरालाई उसका विरूद्ध प्रमाणमा लिन मिल्ने भए पनि प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर इन्कार गरी आफ्नो बचाउमा बोलेको कुरालाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगर्दासम्म प्रमाणको रूपमा ग्रहण गर्न र यी प्रतिवादीहरूको साथबाट बरामद भएको मुचुल्काअनुसारको लागु औषध अवैध होइन भन्ने कुरालाई प्रतिवादीहरूले अन्य विवादरहित प्रमाणले खण्डन गर्न नसकेको हुँदा प्रतिवादीको साथबाट बरामद भएको लागु औषध हेरोइनलाई अवैध नै मान्नुपर्ने देखिँदा यी प्रतिवादीहरूको हकमा अभियोग दाबीअनुसारको कसुर ठहर गरेको उच्च अदालत पाटनको मिति २०७१/०५/०३ को फैसलालाई अन्यथा भनिरहनुपर्ने अवस्था भएन l
३. प्रतिवादीहरूले पुनरावेदनमा जिकिर लिएका कानूनी व्यवस्थाहरू मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८४क., १८५ नं. तथा प्रमाण ऐन, २०३१ का दफाहरू ३, ९(२), १८, २५ र ५४ प्रमाण परीक्षणसँग सम्बन्धित भएको हुँदा अभियोजन पक्षले अभियोग दाबीलाई समर्थन गर्ने प्रमाण पेस गरेकै देखिएको तर लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ बमोजिम अभियोग दाबीबाट सफाइ पाउनेसम्मको सन्तोषजनक प्रमाण प्रतिवादीले पेस गर्न नसकेको आधार कारणसमेतबाट उच्च अदालत पाटनले सो फैसलामा लिएको प्रमाण मूल्याङ्कनको आधारलाई अन्यथा भन्नुपर्ने अवस्था नदेखिई सो हदसम्म प्रतिवादीहरूको पुनरावेदन जिकिर र प्रत्यर्थी झिकाउनुपर्ने भन्ने प्रतिवादीतर्फका विद्वान् कानून व्यवसायीको बहससँग सहमत हुन सकिएन l
४. पुनरावेदकहरूले प्रस्तुत फैसला नेपाल कानून पत्रिकामा प्रकाशित कानूनी नजिर सिद्धान्तसमेतको प्रतिकूल भएको भनी केही नजिरहरूसमेत उल्लेख गरेको सन्दर्भमा त्यसतर्फ हेर्नुपर्ने हुन्छ l सो सम्बन्धमा प्रथमतः, पुनरावेदन जिकिरको ने.का.प. २०५७, अङ्क २, निर्णय नं. ६८६१ मा के कस्तो कानूनी सिद्धान्त प्रतिपादन भएको रहेछ भनी हेरौं l यसमा, बरामदी मुचुल्काको रोहबरमा बसेका व्यक्तिले नै अदालतमा आई सरकारी साक्षीको रूपमा बकपत्र गर्दा प्रतिवादीको साथबाट लागु औषध बरामद भएको आफूले नदेखेको भनी बताएको कारणसमेतबाट पेस भएका प्रमाणलाई अदालतले शंका गर्नुपर्ने परिस्थिति उत्पन्न भई प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर गरेको हुँदा सो नजिरमा अभियोजन पक्ष नै प्रतिवादीउपरको प्रमाणमा विश्वस्त हुन नसकेको अवस्थामा अदालतले त्यस्तो कुरालाई निर्विवाद प्रमाणको रूपमा लिन नसक्ने सिद्धान्त ग्रहण गरी प्रमाण परीक्षणमा देखा परेको शंकाको सुविधा अभियुक्तलाई दिएको देखिन्छ तर प्रस्तुत मुद्दामा अभियोजन पक्षले पेस गरेको दसी (लागु औषध) प्रयोगशालाबाट प्रमाणित भएको, बरामद गर्दाका बखत यी प्रतिवादीहरू स्वयम् उपस्थित भई रोहबरमा बसी दस्तखत गरेको र प्रतिवादीको साथबाट बरामद भएको भन्ने कुरालाई प्रतिवादीबाहेक अरूले अन्यथा भनेको अवस्था नहुँदा तथ्य नै नमिलेको प्रस्तुत फैसला उल्लिखित नजिर सिद्धान्तको विपरीत भयो भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन l
५. त्यसैगरी प्रतिवादीले जिकिर लिएको अर्को नजिर ने.का.प. २०६४, अङ्क ३, निर्णय नं. ७८२९ मा प्रतिपादित सिद्धान्तसँग सम्बन्धित छ l यस निर्णयमा लागु औषध मुद्दामा निर्दोशिताको प्रमाणको भार प्रतिवादीमा रहने भन्ने विशेष कानूनको व्यवस्थालाई उद्धृत गरी वादीले केवल अभियोग मात्र लगाई केही नगरी बस्नुले लागु औषध नियन्त्रण गर्ने उद्देश्यले बनेको विधायिकी कानूनको उद्देश्य पूरा नहुने भनी आफूलाई बेकसुर प्रमाणित गर्ने भार प्रतिवादीमा रहने भए पनि अभियोग पुष्टि हुने प्रमाण पेस गर्नुपर्ने दायित्वबाट अभियोजन पक्ष पन्छिन नमिल्ने भनी अदालतले सिद्धान्त विकास गरेको पाइन्छ l प्रस्तुत मुद्दामा अभियोजन पक्षले पेस गरेका दसी प्रमाणलाई माथिका प्रकरणहरूमा विवेचित आधार कारणसमेतबाट अन्यथा भन्नुपर्ने अवस्था नहुँदा प्रतिवादीले यस नजिरलाई आधार बनाई प्रत्यर्थी झिकाउनुपर्ने भनी लिएको जिकिरसँग समेत सहमत हुन सकिएन l
६. त्यसैगरी, पुनरावेदकले उक्त फैसला ने.का.प. २०६६, अङ्क १०, निर्णय नं. ८२४३ प्रतिपादित नजिर सिद्धान्तसमेतको विपरीत रहेकोले त्रुटिपूर्ण भयो भनी जिकिर लिएको अवस्था छ l सो सम्बन्धमा विचार गर्दा, नेपाल सरकार विरूद्ध मगरे खाँसमेत भएको उक्त लागु औषध मुद्दामा मूलतः लागु औषध नै बरामद नभएको अवस्थामा पनि प्रतिवादीलाई अभियोग लगाइएको विषयमा तत्कालीन संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय र घरेलु कानूनी उपचार, कानून र न्यायका मान्य सिद्धान्तसमेतलाई समेटी बृहत् व्याख्याको माध्यमबाट लागु औषध (नियन्त्रण) ऐनको समग्र उद्देश्य र बरामद भएको लागु औषध नक्कली ठहरिएमा समेत लागु औषध (नियन्त्रण) ऐनबमोजिम कसुर ठहर गरी सजाय गर्नुपर्ने भन्ने कानूनी व्यवस्थाको विधायिकी औचित्यता, त्यस्तो कसुरदारमा लागु औषधको कसुर हुनका लागि आवश्यक पर्ने मनसाय तत्त्वको उपस्थितिबाटै पुष्टि हुने भनी सिद्धान्त विकास गरिएको, फौजदारी मुद्दामा प्रमाणको भारसम्बन्धी वादी प्रतिवादी दुवै पक्षको कानूनी दायित्व, फौजदारी मुद्दामा अभियोजनको संवेदनशीलता जस्ता सवालहरूमा एकभन्दा बढी न्यायिक सिद्धान्तहरू प्रतिपादन भएको पाइन्छ l प्रस्तुत मुद्दाको फैसलामा लिइएको के कुन आधार कारण एवम् निर्णयाधार यस नजिर सिद्धान्तको के कुन व्यवस्थासँग प्रतिकूल भयो भन्ने दाबी पुनरावेदन जिकिर लिने प्रतिवादीले पुनरावेदनपत्रमा र कानून व्यवसायीले बहसका क्रममा उल्लेख गरेको पाइँदैन l स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हुन्छ l अर्थात्, मुद्दाको तथ्य नमिलेसम्म त्यस्तो नजिर उद्धृत गरिनुले मात्र त्यसको अर्थपूर्ण सम्बन्ध स्थापित हुन सक्तैन l कुनै न्यायिक निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको विपरीत छ भनी जिकिर लिँदा त्यस्तो जिकिरकर्ताले फैसलामा लिइएको के कुन आधार त्यसरी प्रतिपादित के कुन नजिर सिद्धान्त प्रतिकूल वा अनुकूल छ भनी पक्षको हकहित स्थापित हुने उद्देश्यले स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ अनि मात्र त्यस्तो जिकिरलाई अदालतले मुद्दाको अभिन्न अंशको रूपमा हेरी विवेचना गर्नुपर्ने विषय बन्न जान्छ l अदालतले कुन कुराको विश्लेषण गरी न्यायिक निकासा दिनुपर्ने हो भन्ने तथ्यसमेत नखुलेका गोलमटोल र केवल बुद्धिविलास एवं प्राज्ञिक मनोरन्जन गर्ने अभिप्रायले लिइएका अस्पष्ट र गोश्वारा रूपमा उल्लिखित निर्णय नम्बरका नजिरभित्र प्रवेश गरी असम्बद्ध कुराको पनि विवेचना गर्नुपर्ने कुरा अदालतको लागि केवल अलमलको विषय र समयको बर्बादी भएकोले प्रत्युत्पादकसमेत ठहरिन्छ l पक्षको तर्फबाट अदालतमा लिइने यस्तो अस्पष्ट जिकिर, मुद्दाको कारबाही र किनाराको विषय बन्न सक्तैन l तसर्थ, वस्तुनिष्ठ आधारबिनै उल्लेख गरिएको यस नजिर सिद्धान्तले प्रतिवादीको कुन कुराको जिकिर सम्बन्धमा विचार गर्नुपर्ने भन्ने नै नखुलेको हुँदा प्रतिवादीले यस नजिरमा प्रतिपादित सिद्धान्तका विषयमा उठाएको पुनरावेदन जिकिरको औचित्य नै पुष्टि हुन नसकी सो कुरा इजलासको विवेचनाको विषय बन्न सक्ने देखिएन l
७. अतः माथि वर्णित पृष्ठभूमिमा प्रस्तुत मुद्दाको तथ्यको विश्लेषण, प्रमाणको मूल्याङ्कन, उल्लिखित नजिर सिद्धान्तको अनुपालन र प्रचलित कानूनी व्यवस्थाको कसीमा प्रस्तुत मुद्दामा प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरेको सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्ट्याई प्रतिवादीहरू साजन राई भन्ने सुजनकुमार सुनुवार राई, सुभाष भन्ने शुकुबहादुर तामाङ र शुक्रे भन्ने सुकराम तामाङलाई अभियोग दाबीबमोजिम लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (क) (छ) र (च) को कसुरमा निजहरूलाई ऐजन ऐनको दफा १४(१)(छ)(१) बमोजिम जनही ५ वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर्याई प्रस्तुत मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७१/०५/०३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ l सम्बन्धित उच्च अदालतको फैसला सदर भएकोले पुनरावेदन नगर्ने अन्य प्रतिवादीहरूको हकमा केही बोलिरहनु
परेन l पुनरावेदक प्रतिवादीहरू सुजनकुमार सुनुवार राई, शुकराम तामाङ र सुकुबहादुर तामाङको पुनरावेदन जिकिर पुग्न सक्तैन l प्रस्तुत मुद्दाको पुनरावेदन दायरीको लगत कट्टा गरी मिसिल अभिलेख शाखामा बुझाई दिनू l
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृतः ताराप्रसाद डाँगी
इति संवत् २०७६ साल मंसीर १० गते रोज ३ शुभम् ।