निर्णय नं. १०६७९ - वैदेशिक रोजगार कसुर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की
माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
फैसला मिति : २०७६।९।१६
०७४-CR-१४१६
मुद्दाः वैदेशिक रोजगार कसुर
पुनरावेदक / वादी : लालबहादुर वटालासमेतको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन, दिव्यनगर गा.वि.स. वडा नं.३ हाल चित्रवन न.पा. वडा नं.१४ बस्ने रामबहादुर भुजेलकी श्रीमती सिर्जना भुजेल
सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्ने
नहुने । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । वस्तुनिष्ठ प्रमाणको अभावमा आरोप लगाइएको आधारमा मात्र कसैलाई फौजदारी कसुरको कसुरदार मान्न नमिल्ने ।
कुनै अपराधमा आरोपित व्यक्तिको संलग्नता प्रमाणले जुन तहसम्म पुष्टि गर्दछ सोही तहसम्मको कानूनले तोकेको सजाय कसुरदारले भोग्नुपर्ने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
सुरू तहमा फैसला गर्नेः
माननीय अध्यक्ष श्री रेवन्तबहादुर कुँवर
सदस्य श्री देवेन्द्रराज ढकाल
वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं
फैसला
न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(क) र वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
तथ्य खण्ड
हामी जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मीनाकुमारी महतो (पीडित मेघनाथ महतो) लाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई सेक्युरिटी गार्डमा रोजगारी दिलाइदिन्छु भनी प्रतिवादीले हामी जाहेरवालाहरूबाट जनही रू.५,८०,०००।- बुझी लिई कम्बोडिया मुलुकमा पुर्याई भनेबमोजिम काम लगाउन नसकी हामी नेपाल फर्की आएको हुँदा हामी जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मीनाकुमारी महतो (पीडित मेघनाथ महतो) बाट देहायबमोजिमको बुझिलिएको प्रतिव्यक्ति रू.५,८०,०००।- र सोको ५० प्रतिशत हुन आउने हर्जानाबापत समेतको रकम दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको जाहेरवालाहरूले दिएको जाहेरी दरखास्त ।
सि. नं. जाहेरवालाहरूको नाम बिगो रकम ५० प्रतिशत अन्य खर्च जम्मा
१ लालबहादुर वटाला रू.५,८०,०००।- रू.२,९०,०००।- रू.४२,०००।- रू.९,१२,०००।-
२ अर्जुनबहादुर भुजेल रू.५,८०,०००।- रू.२,९०,०००।- रू.४२,०००।- रू.९,१२,०००।-
३ विष्णुबहादुर भुजेल रू.५,८०,०००।- रू.२,९०,०००।- रू.८,७०,०००।-
४ मेघनाथ महतो रू.५,८०,०००।- रू.२,९०,०००।- रू.८,७०,०००।-
जम्मारू.२३,२०,०००।-रू.११,६०,०००।-रू.८४,०००।-रू.३५,६४,०००।-
प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतो वैदेशिक रोजगारको लागि कम्बोडिया मुलुकमा पठाई रोजगारी दिलाइदिने भनी जाहेरवालाहरूबाट जनही रू.५,८०,०००।- का दरले रकम बुझिलिई गरिदिएको सक्कल लिखत कागजहरू ।
प्रतिवादी अर्जुन महतोले मेरो फुपू सिर्जना भुजेलले वैदेशिक रोजगारका लागि मानिसहरू कम्बोडिया पठाउने गरेकोमा यी जाहेरवालाहरू विदेश जाने कुरा मेरो फुपूसँग गरी केही रकम फुपू सिर्जना भुजेललाई नै बुझाएको अरू बाँकी रकम डलरमा साटी कम्बोडियामा रहेका नाम नजानेका नेपालीलाई नै जाहेरवालाहरू र मैले प्रतिव्यक्ति ६००० डलर बुझाएकोमा कम्बोडियाबाट भियतनामतिर भिषा लगाउनुपर्छ भनी हामीसँग रकम लिई फरार भएपछि हामीहरू नेपाल फर्की आएका हौं । यी जाहेरवाला र मेरो फुपूसमेतको मिलेमतोमा मलाई जबरजस्ती सहीछाप गराएका हुन् । उक्त लिखत कागजमा भएको सहीछाप मेरो नै हो । मैले वैदेशिक रोजगारमा पठाउन पाउने इजाजत अनुमतिपत्र लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुन महतोले वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
जाहेरवालाहरू र प्रतिवादीबिच लेनदेन भएको ठिक साँचो हो । प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतोसमेतलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिने भनी प्रतिव्यक्ति रू.५,८०,०००।- बुझिलिई गरिदिएको कागजमा मसमेत साक्षी बसी सहीछाप गरिदिएको ठिक साँचो हो । रकम बुझिलिई सम्झौताबमोजिम नगरी लिए खाएको रकमसमेत फिर्ता नगर्ने निज प्रतिवादीलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको लिखत कागजका साक्षी कृष्णकुमार महतोले गरेको कागज ।
हामी पीडित जाहेरवाला विष्णुबहादुर भुजेलसमेत कम्बोडिया देशमा पुगेपछि यी अमृत कुँवर र पुरन खड्कासँग भेटघाट भएको हो । हामीलाई कम्बोडियामा बस्ने खाने व्यवस्था यी अमृत कुँवर र पुरन खड्काले मिलाएको हो । नेपालबाट कम्बोडिया जाँदाखेरी नै प्रतिवादीले नै यी दुई अमृत कुँवर र पुरन खड्कालाई भेट भनेकोले भेटेको हो । यी दुई अमृत कुँवर र पुरन खड्काको प्रस्तुत मुद्दामा संलग्नता
होला । निजहरूलाई कुनै रकम दिएको छैन । हामी सबैले सक्कल लिखत कागजबमोजिमको रकम प्रतिव्यक्ति रू.५,८०,०००।- प्रतिवादी अर्जुन महतोलाई दिई लेनदेन गरी उक्त लिखत कागज गरेका हौं भनी जाहेरवालाहरू लालबहादुर वटालासमेतले गरेको कागज बेहोराअनुसार प्रतिवादीहरू अर्जुन महतो र सिर्जना भुजेलको आपसी मिलेमतोमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत अनुमतिपत्र नलिई जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतोसमेतलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिन्छु भनी प्रतिव्यक्ति रू.५,८०,०००।- रकम बुझिलिई भनेबमोजिमको रोजगारीमा नपठाई बुझिलिएको रकमसमेत फिर्ता नगरेको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी, प्रतिवादीहरूले जाहेरवालाहरूबाट लिए खाएको बिगो रकम र सोको ५० प्रतिशतले हुन आउने हर्जाना रकमसमेत प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।
मलाई अभियोगबमोजिम सजाय हुनुपर्ने
होइन । म पनि जाहेरवालहरूसँगै विदेश कम्बोडिया गएको थिएँ । त्यहाँ काम दिने मान्छेहरूले यो ठाउँ छोडेर अर्को ठाउँमा भिषा लगाउन जानुपर्छ भनेर कम्बोडियाबाट भियतनाम भिषा लगाउन पठाई हामी सबैको पैसा खाएर भागेको हुनाले हामी नेपाल फर्कन बाध्य भयौँ । नेपाल आएपछि जाहेरवालाहरूले नै मसँग चिनजान भएको कारणले गर्दा मलाई जबरजस्ती कागज गराई पैसा तिर्नुपर्छ भने । म उनीहरूसँगै फर्केको तथा पैसा फसेको प्रमाण छ । तिनीहरूले मलाई पैसा बुझाएको कुनै प्रमाण छैन । म पनि एउटा पीडित हो । मेरो पनि पैसा फसेको छ । जुन मान्छेले पैसा खाएको हो त्यो मान्छेलाई नसमाती मसँग चिनजान भएको कारणले गर्दा मलाई समातेको हो । वास्तविक पैसा खाने मानिस अमृत कुँवर र पुरनकुमार खड्का हुन् । यताबाट मलाई र जाहेरवालाहरूलाई पठाउने व्यक्ति मेरो फुपू सिर्जना भुजेल र रामबहादुर भुजेल
हुन् । मैले वैदेशिक रोजगारमा पठाउन पाउने इजाजत अनुमतिपत्र लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी अर्जुन महतोले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दाको पुर्पक्षको लागि मुलुकी ऐन, अ.बं.११८ नं. को देहाय ५ र १० नं. बमोजिम प्रतिवादी अर्जुन महतोले पीडितहरूलाई विदेशसमेत पठाइसकेको देखिँदा मुलुकी ऐन, अ.बं.११८ नं. को देहाय २ अनुसार प्रतिवादी अर्जुन महतोलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्नेसमेत बेहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट ०७३।९।३ मा भएको आदेश ।
मैले वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमतिपत्र लिएको छैन । अभियोग दाबी झुट्टा हो । मैले जाहेरवालाहरूलाई वैदेशिक रोजगारको लागि कम्बोडियामा पठाइदिन्छु भनी उक्त रकम लिएको होइन । जाहेरी दरखास्तसाथ पेस भएको वैदेशिक रोजगारको कागज मैले गरेको होइन र जाहेरवालाहरूले मेरोउपरमा जाहेरी दिएका छैनन् । जाहेरवालाहरूसँग कसैले कहिले के कामका लागि कति रकम लिए / नलिएको सम्बन्धमा मलाई केही थाहा जानकारी छैन । मैले जाहेरवालाहरूलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिन्छु भनी रकम लिएको
छैन । जाहेरवालाहरू र अर्जुन महतोबिच के कस्तो काम कुरा भएको थियो सो सम्बन्धमा मलाई केही थाहा जानकारी छैन भन्नेसमेत बेहोराको प्रतिवादी सिर्जना भुजेल महतोले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बयान ।
पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल मुद्दाको पुर्पक्षको लागि मुलुकी ऐन, अ.बं.११८ नं.को देहाय ५ र १० नं.बमोजिम यी प्रतिवादी सिर्जना भुजेलबाट रू.१,००,०००।- नगद धरौट वा सो बराबरको जेथा दिए, लिई तारेखमा राखिदिनु, नसके कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भन्नेसमेत बेहोराको वैदेशिक रोजगार न्यायाधिकरणबाट २०७३।१०।२८ मा भएको
आदेश ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०७३।१०।२८ को आदेशानुसार प्रतिवादी सिर्जना भुजेलले नगद धरौट राखी तारेखमा रहेको ।
प्रतिवादी सिर्जना भुजेल महतो सोझो इमान्दार खेती किसान गरी बस्ने मानिस हुन् । प्रतिवादी अर्जुन महतोले पोल गरेको बाहेक यी प्रतिवादीले वैदेशिक रोजगारको व्यवसाय गरेको भन्ने र गर्ने मानिस हुन् भन्ने कुनै आधार प्रमाण छैन । निजका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा आजभन्दा ३/४ वर्षअघि देखि नै विदेश कतारमा बस्नु हुन्छ । यी प्रतिवादी सिर्जना भुजेल गाउँमा खेती गरी बस्ने मानिस हुँदा वैदेशिक रोजगार कसुर मुद्दामा कुनै संलग्नता छैन र अभियोग दाबीबाट सफाइ पाउनु पर्दछ भन्नेसमेत बेहोराको प्रतिवादी सिर्जना भुजेलका साक्षी अभिलाष भुजेलले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।
प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा पठाइदिन्छु भनी कुनै रकम लिएका होइनन् । प्रतिवादीहरूमध्येकै सिर्जना भुजेलले अर्जुन महतोलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाएका हुन् भनी जाहेरवालाहरूलाई पनि यिनै सिर्जना भुजेलले १ महिनापछि पठाएकी रहिछन् । सिर्जना भुजेलले कम्बोडियामा रहेका पुरनकुमार खड्का र अमृत कुँवरमार्फत काम लगाउने भनी चाँजोपाँजो मिलाएको सुनेको थिएँ । यिनै पुरनकुमार खड्का र अमृत कुँवरले त्यहाँ रोजगार दिलाउन नसकेपछि जाहेरवालाहरूसँग नेपाल फर्किएका
हुन् । मिति २०७३।२।१९ मा नेपाल फर्की आएपश्चात् गोंगबु बसपार्क गेष्ट हाउसमा राखी बन्धक जस्तो गरी राखी सिर्जना भुजेल तिम्रा नाताका मानिस हुन् तिनैले हामीलाई फसाए, अब तिमीहरूले कागज गर्नुपर्दछ भनी धाक धम्की देखाई यी प्रतिवादीलाई पहिला नै तयार पारी ल्याएको कागजमा जबरजस्ती करकापमा सही गराएको रहेछ । यी प्रतिवादीले जाहेरवालाहरूबाट कुनै रकम खाएका छैनन् भनी प्रतिवादी अर्जुन महतोका साक्षी खेमबहादुर महतोले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।
मैले वैदेशिक रोजगारको लागि कम्बोडिया मुलुकमा सेक्युरिटी गार्डको रूपमा काम गर्न जान भनी सन् २०१६ मे. २४ मा निज प्रतिवादी अर्जुन महतोको हातैमा कम्बोडिया मुलुकको होटलमा बसी रू.७,००,०००।- दिएको हो । रकम दिने बेलामा कुनै कागज गरेको छैन । प्रतिवादी पहिलैदेखि कम्बोडियामा थिए । म पनि पहिले मलेसियामा वैदेशिक रोजगारीमा थिएँ र निजसँग मेरो ससुराली नजिकैको मानिस भएकोले चिनजान पनि थियो । उसले कम्बोडियामा राम्रो तलब हुन्छ भनेकोले मैले मलेसियाको जागिर छोडी आएँ । प्लेन टिकट र भिजिट भिषा मैले आफैँले बनाएर उतै गएपछि रकम बुझाएको हो । सो क्रममा मसँगै अरू २ जना गएका थिए । तर रकम बुझाएपछि पनि निजले क्यासिनोमा पहिले कबुल गरेअनुसार काम लगाउन सकेनन् । कम्बोडियामा वर्क पर्मिट पाउन २४ घण्टा कम्बोडिया छोडी जानुपर्छ भनी भियतनामबाट कम्बोडिया फर्कने कुनै काम बढाएनन् । तर पछि कम्बोडियामा रहेका र काम लगाइदिने भनेका अर्जुन महतोका साथीहरू सम्पर्कविहीन भए भनेपछि घरबाट नै टिकट काटी मलेसिया हुँदै नेपाल फर्किएको हो । नेपाल फर्कने क्रममा अर्जुन महतोलाई पनि सँगै लिएर आएपछि ५ लाख ८० हजारको कागज भरतपुरमा वकिलकोमा गई बनाएको हो । त्यो बिचमा उता कम्बोडियामा पनि खर्च भयो भनी हामीले १ लाख २० हजार घटाई कागज गरेको हो । हामीले ५ महिनामा रकम बुझाउने भनी कागज गरेको तर प्रतिवादी अर्जुन महतो सम्पर्कविहीन भएपछि हामीले उजुर दिएको हो । मैल कुनै रकम फिर्ता पाएको छैन भनी जाहेरवाला विष्णुबहादुर भुजेलले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष गरेको बकपत्र ।
प्रतिवादी अर्जुन महतोले अभियोग दाबीबमोजिम वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० एवं ४३ बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई ऐ. ऐनको दफा ४३ बमोजिम ३।०।० (तीन वर्ष) कैद र रू.३,००,०००।- (तीन लाख) जरिवाना हुने तथा जाहेरवालाहरूले अभियोग दाबीबमोजिमको बिगो, हर्जाना र अन्य खर्चसमेत प्रतिवादी अर्जुन महतोबाट भराई पाउने ठहर्छ । अर्का प्रतिवादी सिर्जना भुजेलका हकमा निजउपरको अभियोग पुष्टि हुने कुनै प्रमाण वादी पक्षबाट दाखिल हुन आएको नदेखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भन्नेसमेत बेहोराको मिति २०७४।०५।२६ मा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको
फैसला ।
प्रस्तुत मुद्दाका प्रतिवादी अर्जुन महतोलाई अभियोग मागदाबीबमोजिम कसुर ठहर भएकाले वैदेशिक रोजगार कसुरको वारदात पुष्टि भएको अवस्था छ । प्रस्तुत मुद्दामा कसुर ठहर भएका प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरूलाई विदेश पठाउने कार्यमा प्रतिवादी सिर्जना भुजेलको संलग्नता रहेको र जाहेरवालाहरूको रकम सिर्जना भुजेलले नै लिएको हो भनी अनुसन्धानका क्रममा पोल गरेको अवस्था छ । साथै निजले अदालतसमक्ष बयान गर्दा सिर्जना भुजेलको समेत संलग्नतामा जाहेरवालालाई विदेश पठाएको हो भनी बयान गरेबाट निज प्रतवादी सिर्जना भुजेल प्रस्तुत कसुरमा संलग्न रहेको स्पष्ट देखिएको अवस्था छ । प्रतिवादी सिर्जना भुजेल अनुसन्धानका क्रममा फरार रही मुद्दा हेर्ने अधिकारीसमक्ष उपस्थित रही इन्कार बयान गरेको अवस्था छ । जाहेरी दरखास्त एउटा कसुरको सूचनासम्म हो जाहेरी किटानी नै हुनुपर्ने नभई कसुरमा को कस्को के कस्तो संलग्नता रहेको भन्ने अनुसन्धानबाट निर्क्यौल हुने विषय रहेकाले अनुसन्धानबाट प्रतिवादी सिर्जनाको संलग्नता रहेको भनी खुलेको अवस्थामा किटानी जाहेरी नपरेको, प्रतिवादी सिर्जनाले इन्कार बयान गरे तापनि निजलाई प्रतिवादी अर्जुन महतोले पोल गर्नाको कारणसमेत खुलाउन सकेको अवस्था नदेखिएको जस्ता असान्दर्भिक कुरालाई आधार मानी प्रतिवादी सिर्जना भुजेललाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७५।०२।०७ मा यस अदालतमा नेपाल सरकारको तर्फबाट दायर भएको पुनरावेदनपत्र ।
ठहर खण्ड
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतमले प्रस्तुत मुद्दामा कसुर ठहर भएका प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरूलाई विदेश पठाउने कार्यमा प्रतिवादी सिर्जना भुजेलको संलग्नता रहेको र जाहेरवालाहरूको रकम सिर्जना भुजेलले नै लिएको हो भनी अनुसन्धानका क्रममा पोल गरेको अवस्था छ । साथै निजले अदालतसमक्ष बयान गर्दा सिर्जना भुजेलको समेत संलग्नतामा जाहेरवालालाई विदेश पठाएको हो भनी बयान गरेबाट निज प्रतिवादी सिर्जना भुजेल प्रस्तुत कसुरमा संलग्न रहेको स्पष्ट देखिएको अवस्था छ । अनुसन्धानबाट प्रतिवादी सिर्जनाको संलग्नता रहेको भनी खुलेको अवस्थामा किटानी जाहेरी नपरेको, प्रतिवादी सिर्जनाले इन्कार बयान गरे तापनि निजलाई प्रतिवादी अर्जुन महतोले पोल गर्नाको कारणसमेत खुलाउन सकेको अवस्था नदेखिएको जस्ता असान्दर्भिक कुरालाई आधार मानी प्रतिवादी सिर्जना भुजेललाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भनी बहस गर्नुभयो ।
वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताको उपर्युक्तानुसारको बहस जिकिरसमेत सुनी प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीहरू अर्जुन महतो र सिर्जना भुजेलको आपसी मिलेमतोमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउने इजाजत अनुमतिपत्र नलिई जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतोसमेतलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिन्छु भनी प्रतिव्यक्ति रू.५,८०,०००।- रकम बुझिलिई भनेबमोजिमको रोजगारीमा नपठाई बुझिलिएको रकमसमेत फिर्ता नगरेको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेको हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी, प्रतिवादीहरूले जाहेरवालाहरूबाट लिए खाएको बिगो रकम र सोको ५० प्रतिशतले हुन आउने हर्जाना रकमसमेत प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट प्रतिवादी सिर्जना भुजेलका हकमा निजउपरको अभियोग पुष्टि हुने कुनै प्रमाण वादी पक्षबाट दाखिल हुन आएको नदेखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहरी भएको फैसलाउपर वादी नेपाल सरकारले चित्त नबुझाई प्रस्तुत मुद्दामा अभियोग दाबीबमोजिम कसुर ठहर भएका प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरूलाई विदेश पठाउने कार्यमा प्रतिवादी सिर्जना भुजेलको संलग्नता रहेको र जाहेरवालाहरूको रकम सिर्जना भुजेलले नै लिएको हो भनी अनुसन्धानका क्रममा पोल गरेको, निजले अदालतसमक्ष बयान गर्दा सिर्जना भुजेलको समेत संलग्नतामा जाहेरवालालाई विदेश पठाएको हो भनी बयान गरेको, अनुसन्धानबाट समेत प्रतिवादी सिर्जनाको संलग्नता रहेको भनी खुलेको अवस्थामा प्रतिवादी सिर्जना भुजेललाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भनी प्रस्तुत पुनरावेदन गरेको देखियो ।
प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा अभियोग दाबीबमोजिम कसुर ठहर भएका प्रतिवादी अर्जुन महतोको पुनरावेदन गर्ने म्यादभित्र पुनरावेदन नपरेकोले निजको हकमा केही बोलिरहनु परेन ।
अब, सुरू अदालत वैदेशिक रोजगार न्यायाधिकरणबाट प्रतिवादी सिर्जना भुजेललाई सफाइ दिने गरी मिति २०७४।०५।२६ मा भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी सिर्जना भुजेलले जाहेरी दरखास्तसाथ पेस भएको वैदेशिक रोजगारको कागज मैले गरेको होइन र जाहेरवालाहरूले मेरोउपरमा जाहेरी दिएका छैनन् । जाहेरवालाहरूसँग कसले कहिले के कामका लागि कति रकम लिए / नलिएको सम्बन्धमा मलाई केही थाहा जानकारी
छैन । मैले जाहेरवालाहरूलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिन्छु भनी रकम लिएको छैन । जाहेरवालाहरू र अर्जुन महतोबिच के कस्तो काम कुरा भएको थियो सो सम्बन्धमा मलाई केही थाहा जानकारी छैन भन्नेसमेत बेहोरा उल्लेख गरी वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष कसुरमा इन्कार रही बयान गरेको देखिन्छ । यी प्रतिवादी सिर्जना भुजेलउपर जाहेरवालाहरूले किटानी गरी जाहेरी दिएको देखिँदैन । त्यसैगरी २०७३।०२।२१ मा कृष्णकुमार महतोको रोहवरमा भएका वैदेशिक रोजगारसम्बन्धी लिखतहरूमा यी प्रतिवादी सिर्जना भुजेलको नाम उल्लेख भएको मिसिल संलग्न लिखतहरूबाट देखिँदैन । जाहेरवाला विष्णुबहादुर भुजेलले वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष उपस्थित भई बकपत्र गर्दा रकम मैले प्रतिवादी अर्जुन महतोलाई दिएको हुँ निजले कसलाई दिए थाहा भएन भनी उल्लेख गरेको तर यी प्रतिवादी सिर्जना भुजेलको नाम लिन सकेको देखिँदैन । त्यस्तै २०७३।०२।२१ को लिखतका साक्षी कृष्णकुमार महतोले समेत प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतोसमेतलाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिने भनी प्रतिव्यक्ति रू.५,८०,०००।- बुझिलिई गरिदिएको कागजमा मसमेत साक्षी बसी सहीछाप गरिदिएको ठिक साँचो हो भन्नेसमेत बेहोराको अनुसन्धान अधिकृतसमक्ष कागज गरिदिएको तर प्रतिवादी सिर्जना भुजेलले वैदेशिक रोजगारीका लागि जाहेरवालाहरूबाट रकम बुझिलिएको भनी जिकिरसम्म लिन सकेको अवस्था मिसिल संलग्न सो कागजबाट देखिँदैन । यसरी केवल प्रतिवादी अर्जुन महतोको बयान पोलका आधारमा मात्र प्रस्तुत मुद्दामा सिर्जना भुजेललाई प्रतिवादी कायम गरेको देखिन आयो । प्रतिवादी अर्जुन महतोले आफूसहित जाहेरवालाहरूको रकम लिएको भनी सिर्जना भुजेलउपर पोल गरी बयान गरे तापनि सिर्जना भुजेलले आरोपित कसुरमा पूर्णरूपमा इन्कार रहेकी र २०७३।०२।२१ को लिखतमा समेत प्रतिवादी अर्जुन महतोले नै जाहेरवालाहरूलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भनी रकम बुझिलिएको भन्ने किटानीसाथ उल्लेख भएकोसमेत देखिन्छ ।
३. सामान्यतया सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्ने हुँदैन । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । वस्तुनिष्ठ प्रमाणको अभावमा आरोप लगाइएको आधारमा मात्र कसैलाई फौजदारी कसुरको कसुरदार मान्न मिल्दैन । कुनै अपराधमा आरोपित व्यक्तिको संलग्नता प्रमाणले जुन तहसम्म पुष्टि गर्दछ सोही तहसम्मको कानूनले तोकेको सजाय कसुरदारले भोग्नुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा सहप्रतिवादी अर्जुन महतोले सिर्जना भुजेलले नै जाहेरवालाहरूबाट माग दाबीबमोजिमको रकम बुझी भनेबमोजिम वैदेशिक रोजगारमा नपठाएको र जाहेरवालाहरूले आफूलाई जबरजस्ती कागज गराएको भनी सिर्जना भुजेलउपर पोल गरेको बयान मिसिल संलग्न कुनै पनि स्वतन्त्र कागज प्रमाणबाट पुष्टि हुन सकेको देखिएन । प्रतिवादी सिर्जना भुजेलउपर मौकामा किटानी जाहेरी नपरेको, प्रतिवादी सिर्जना भुजेलले आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही गरेको बयान, २०७३।०२।२१ गते गरेको वैदेशिक रोजगारको लिखतमा यी प्रतिवादी सिर्जना भुजेलको नामसम्म उल्लेख नभएको, जाहेरवाला तथा २०७३।०२।२१ का लिखतहरूका साक्षी कृष्णबहादुर महतोलगायतका व्यक्तिहरूले समेत प्रतिवादी सिर्जना भुजेलले जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा कम्बोडिया पठाइदिने भनी रकम बुझेको भनी जिकिर लिनसम्म नसकेको अवस्थामा प्रमाणबिना नै सिर्जना भुजेललाई प्रतिवादी कायम गरिएको देखिँदा वादी पक्षबाट यी प्रतिवादी सिर्जना भुजेलले आरोपित कसुर गरेको पुष्टि हुने कुनै पनि वस्तुनिष्ठ सबुत प्रमाण पेस गर्न सकेको नदेखिँदा प्रमाणको अभावमा प्रतिवादी सिर्जना भुजेललाई कसुरदार ठहर गरी सजाय गर्न मिल्ने आधार देखिन आएन ।
४. तसर्थ, प्रतिवादी सिर्जना भुजेलउपर मौकामा किटानी जाहेरी नपरेको, प्रतिवादी सिर्जना भुजेलले आरोपित कसुरमा पूर्णरूपमा इन्कार रही गरेको बयान, २०७३।०२।२१ गते गरेको वैदेशिक रोजगारको लिखतमा यी प्रतिवादी सिर्जना भुजेलको नामसम्म उल्लेख नभएको, जाहेरवाला तथा २०७३।०२।२१ का लिखतहरूका साक्षी कृष्णबहादुर महतोलगायतका व्यक्तिहरूले समेत प्रतिवादी सिर्जना भुजेलले जाहेरवालाहरूलाई वैदेशिक रोजगारमा कम्बोडिया पठाइदिने भनी रकम बुझेको भनी जिकिर लिनसम्म नसकेको र सहप्रतिवादी अर्जुन महतोले यी प्रतिवादी सिर्जना भुजेलको समेत संलग्नता रहेको भनी निजउपर गरेको बयान पोल मिसिल संलग्न कुनै पनि स्वतन्त्र कागज प्रमाणबाट पुष्टि हुन नसकेकोले वस्तुनिष्ठ सबुत प्रमाणको अभाव देखिँदा वैदेशिक रोजगार न्यायाधिकरणबाट यी प्रतिवादी सिर्जना भुजेलका हकमा निजउपरको अभियोग पुष्टि हुने कुनै प्रमाण वादी पक्षबाट दाखिल हुन आएको नदेखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहरी भएको फैसला मिलेकै देखिन आयो ।
५. अतः माथि उल्लिखित आधार र कारणबाट प्रतिवादी सिर्जना भुजेलका हकमा निजउपरको अभियोग पुष्टि हुने कुनै प्रमाण वादी पक्षबाट दाखिल हुन आएको नदेखिँदा निजले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ भनी मिति २०७४।५।२६ मा वैदेशिक रोजगार न्यायाधिकरणबाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको विद्युतीय प्रति अभिलेख गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.पुरूषोत्तम भण्डारी
इजलास अधिकृत : कृष्णप्रसाद अधिकारी
इति संवत् २०७६ साल पुष १६ गते रोज ४ शुभम् ।