निर्णय नं. १०६८१ - जबरजस्ती करणी

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
फैसला मिति : २०७७।४।१२
०७२-CR-१७३२
मुद्दा : जबरजस्ती करणी
पुनरावेदक / वादी : जमुना नेपालको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम, पञ्चकन्या गा.वि.स. वडा नं. ४ बस्ने नरबहादुरको छोरा दुर्गाप्रसाद खत्री चौलागाईं
अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिले पनि पुष्टि हुने । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न नसक्ने । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रदान गर्ने मात्र हुने ।
(प्रकरण नं.९)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइराला
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४
सुरू तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री प्रकाश ढुंगाना
इलाम जिल्ला अदालत
पुनरावेदन तहमा फैसला गर्ने :
माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल
माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य
पुनरावेदन अदालत इलाम
फैसला
न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१)(क) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः-
तथ्य खण्ड
मिति २०७०।०५।०४ गते बिहान म तीनघरे बजार आएको थिएँ । बुबासमेत बजारतर्फ नै आउनु भएको थियो । घरमा मेरो दिदी केही सुस्त मनस्थिति भएकी वर्ष २५ की परिवर्तिन नाम रमा मात्र
हुनुहुन्थ्यो । दिउँसो म बजारबाट घर फर्की जाँदा घरमा दिदी रोएर बसिरहनु भएको थियो । मैले दिदीलाई के भयो भनी सोध्दा दिदीले म घरमा एक्लै भएको मौका छोपी अन्यायी दुर्गाप्रसाद खत्री चौलागाईं घरमा आई मलाईं घरभित्रै तलामुनि कोठामा काठको टेबलमा लडाई जबरजस्ती करणी गरे । मैले हल्ला गर्न खोज्दा निजले मेरो मुखसमेत थुनी हल्ला गरेमा कुटपिटसमेत गर्छु भनी डर त्रासमा पारी निजले जबरजस्ती करणी गरे भनी रूँदै सुनाउनु भयो । यसरी सुस्तमनस्थिति भएकी एक अपाङ्ग महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्ने दुर्गाप्रसाद खत्री चौलागाईंलाई पक्राउ गरी जबरजस्ती करणीको महलबमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको जमुना नेपालको मिति २०७०।५।५ को जाहेरी दरखास्त ।
जिल्ला इलाम पञ्चकन्या-४ स्थित पूर्वमा भक्तिप्रसाद नेपालको घर, पश्चिममा पदमप्रसाद नेपालको बारी, उत्तरमा ऐ.ऐ.को बारी, दक्षिणमा भक्तिप्रसाद नेपालको बारी, यति चार किल्लाभित्र रहेको पदमप्रसाद नेपालको दक्षिण मोहडा भएको ढुङ्गाको गाह्रो, टिनको छाना भएको टाडे घरको तलामुनि तीनवटा कोठा रहेको उत्तरपूर्वतर्फको कोठामा काठको टेबल रहेको, सो टेबलमा मिति २०७०।०५।०४ गते जिल्ला इलाम पञ्चकन्या-४ बस्ने दुर्गाप्रसाद खत्री चौलागाईंले परिवर्तित नाम रमालाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।
मिति २०७०।०५।०४ गते बिहान म मात्र घरमा थिएँ । छिमेकी दुर्गाप्रसाद खत्री मेरो घरमा आउनु भयो । म खाना खाँदै थिएँ । निज मेरो घरभन्दा केही पर काठ काटेको ठाउँमा गए । म खाना खाई धारामा भाँडा धोई घरभित्र तलामुनि कोठामा गएको थिएँ । सोही अवस्थामा निज दुर्गाप्रसाद खत्री सोही कोठामा एक्कासी आइपुगे र एक्कासी मेरो संवेदनशील अङ्गहरूमा छुन लागे । मैले हल्ला गर्दा मेरो मुख थुनी दिई मलाई विभिन्न डर त्रास देखाई सोही कोठामा रहेको काठको टेबलमा लडाई मैले लगाएको सुरूवाल तथा पेन्टीसमेत खोली निजले आफूले लगाएको सुरूवाल तथा पेन्टी खोली निजको लिङ्ग मेरो योनिमा प्रवेश गराई केहीबेरसम्म हल्लिएर वीर्यसमेत योनिभित्रै स्खलन गरे । कपडा लगाई निजले यो कुरा अरूलाई बताइस् भने ठिक हुने छैन भनी हिँडे । दिउँसो बजारबाट आएकी बहिनी जमुनालाई मैले सो कुरा बताएको हुँ । यसरी मलाई जबरजस्ती करणी गर्ने यी प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई कडा कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको ललिता नेपालसमेतको रोहबरमा परिवर्तित नाम रमाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज ।
मिति २०७०।५।४ गते बिहान अं.९ बजे म रूख किन्न भनी कमल आचार्यको बारीमा रहेको चिलाउनेको रूख हेर्न भनी परिवर्तित नाम रमाको घर आँगनको बाटो हुँदै जाँदा निजलाई रहेको भात खसीलाई देउ भन्दै म रूख हेर्न गएँ । फर्की आउँदा निज परिवर्तित नाम रमाको आँगनमा आइपुग्दा निज आँगनमा भाँडा माझ्दै थिइन् । निज औषधी छिट्न ट्याङ्की बोकी निजको मूल घरभित्र कोठामा पसिन् र म सिकुवामा उभिएँ र सोही कोठाभित्र पसेँ । सोही कोठामा रहेको काठको टेबलमा निज परिवर्तित नाम रमा बसिन् । मैले निजलाई सोही टेबलमा लडाई निजले लगाएको सुरूवाल तथा पेन्टी तल तानी मैले लगाएको सुरूवाल खोली मेरो लिङ्ग निकाली निजलाई टेबलको डिलमा तानी मैले उभिएरै निजको योनिमा मेरो लिङ्ग प्रवेश गराएँ । निजले हल्ला चाहीँ गरिनन् । म करणी गरी कपडा लगाई घरतिर गएँ । मैले निजलाई करणी गर्दा निजको योनिभित्र वीर्य स्खलन गरिन भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाप्रसाद खत्रीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
पीडक दुर्गाप्रसाद खत्रीको लिङ्गको टुप्पो वरिपरि र लिङ्गको छोप्ने छालामा (foreskin) त्यस्ता घर्षणको लक्षणहरू नदेखिएको, जबरजस्ती करणीको यकिन हुन नसकेको भन्ने बेहोराको इलाम अस्पतालबाट भएको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
पीडितको योनि वरिपरि घर्षणका कुनै पनि लक्षणहरू (वीर्य) रगतका टाटाहरू नपाइएको, पीडितको हाइमन झिल्ली नच्यातिएको, निजको योनिभित्र वीर्य भए नभएको यकिनको लागि हाई भेजाइनल स्वाब निकाली परीक्षणको लागि प्रयोगशाला पठाइएको, जबरजस्ती करणी भएको हो वा होइन भन्ने यकिन ल्याब परीक्षण पश्चात् मात्र गरिने, पीडित सुस्तमनस्थितिको भएको भन्नेसमेत बेहोराको इलाम अस्पतालबाट मिति २०७०।०५।०६ मा पठाइएको स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिति २०७०।०५।०४ गते बिहान सुस्तमनस्थिति भएकी परिवर्तित नाम रमा मात्र घरमा भएको मौका छोपी प्रतिवादी दुर्गाप्रसाद खत्रीले जबरजस्ती करणी गरेको हल्ला सुनी म पनि घटनास्थलमा आई परिवर्तित नाम रमालाई घटनाबारे सोध्दा दुर्गाप्रसाद खत्रीले म मात्र घरमा भएको मौका पारी विभिन्न डर, त्रास देखाई मलाई जबरजस्ती करणी गरेका हुन् भनी बताउँदा सुनेको हुँ । यसरी बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गर्ने प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको कोपिला ढकालले गरेको घटना विवरण कागज ।
मिति २०७०।०५।०४ गते बिहान परिवर्तित नाम रमा मात्र घरमा भएको मौका छोपी प्रतिवादी दुर्गाप्रसाद खत्रीले पीडितको घरमा आई पीडित रमालाई निजको घरभित्र तलामुनि कोठामा काठको टेबलमा लडाई जबरजस्ती करणी गरी हल्ला गरेमा कुटपिटसमेत गर्छु भनी निज प्रतिवादीले पीडितलाई डर त्रास देखाएका रहेछन् । यसरी सुस्तमनस्थिति भएकी परिवर्तित नाम रमालाई जबरजस्ती करणी गर्ने दुर्गाप्रसाद खत्रीलाई कारबाही हुनुपर्छ भन्नेसमेत बेहोराको ठाकुर नेपालसमेतले लेखाएको प्रायः एकै मिलानको वस्तुस्थिति मुचुल्का ।
महिला तथा बालबालिका कार्यालय, इलामबाट मिति २०७०।०५।०९ मा जारी भएको परिवर्तित नामः रमा, जन्ममितिः २०४५।०३।०८ र अपाङ्गताको किसिमः बौद्धिक अपाङ्गता (सुस्त) भन्नेसमेत बेहोरा जनिएको पीडित रमाको अपाङ्गता परिचयपत्रको प्रतिलिपि मिसिल संलग्न रहेको ।
मिसिल संलग्न आधार प्रमाणहरूबाट प्रतिवादी दुर्गाप्रसाद खत्रीले मिति २०७०।०५।०४ गते बिहान अं.९ बजेको समयमा वर्ष २५ की बौद्धिक अपाङ्गता भएकी परिवर्तित नाम रमालाई पीडितकै घर कोठामा जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम सजाय गरी पाउनका साथै पीडित वर्ष २५ की परिवर्तित नाम रमा बौद्धिक अपाङ्गता, सुस्तमनस्थितिकी अपाङ्ग भएको प्रमाणपत्र मिसिल संलग्न रहेको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजाय हुन र जबरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादी दुर्गाप्रसाद खत्रीबाट पीडित परिवर्तित नाम रमालाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत वादी नेपाल सरकारको अभियोगपत्र ।
मिति २०७०।०५।०४ गते काठ काट्ने मिस्त्रीसँग कुरा गरी फर्किने क्रममा घरमा परिवर्तित नाम रमा भाँडा माझ्दै थिइन् । अनि मैले खाना खाइसक्यौ भनी सोधेको मात्र हो । मैले निजलाई करणी गरेको छैन । निज रमालाई मैले पनि घरमा एक्लै देखेको चाहिँ हो तर मैले निजलाई केही पनि गरेको छैन । जाहेरी दरखास्त बेहोरा झुट्ठा हो । जग्गाको साँध सिमाना विषयका कुराले रिसइवी साँध्नका लागि यस्तो आरोप लगाएको हो । मौकामा भएको मेरो बयानको बेहोरा उनीहरूले लेखेको मैले सहीछाप गरेको हो । मैले जबरजस्ती करणी गरेको नहुँदा सजाय हुनु हुँदैन भन्नेसमेत बेहोराको प्रतिवादी दुर्गाप्रसाद खत्रीले सुरू इलाम जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई मुलुकी ऐन, अ.बं.११८ को देहाय २ नं. बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्नु भन्ने निमित्त स्रेस्तेदारको मिति २०७०।०५।२६ को आदेश र सो आदेश मिलेकै देखिँदा समर्थन गरिदिएको छ भन्नेसमेत बेहोराको मिति २०७०।०७।११ को सुरू इलाम जिल्ला अदालतको आदेश ।
मिति २०७०।०५।०४ गते बिहानको ९ बजेको समयमा परिवर्तित नाम रमा घरमा एक्लै भएको अवस्थामा घरको कोठाभित्र तान्दै लगी जबरजस्ती करणी गरेको कुरा रमाबाटै सुनी थाहा पाएको हो । जाहेरी दरखास्तमा भएको बेहोरा र सहीछाप मेरो
हो । घटना भएपछि समाज बसी जाहेरी दिनुपर्छ भनेपछि जाहेरी दिएको हो भन्नेसमेत बेहोराको जाहेरवाला जमुना नेपालले सुरू अदालतमा गरेको बकपत्र ।
वारदात मिति समयमा प्रतिवादी दुर्गाप्रसाद खत्री हाम्रो घरमा आई मलाई तानेर भित्र लगी जबरजस्ती खाटमा सुताए । मेरो सुरूवाल खोली उसको पनि सुरूवाल खोली उसको सु गर्ने मेरो सु गर्नेमा लगायो । त्यसपछि मेरो सुरूवाल लगाइदियो र उसको पनि सुरूवाल लगाउँदै हिँड्यो । प्रतिवादीले तानेर लैजाँदा म चिच्याएँ, कोही आएन । मेरो योनिमा वीर्य स्खलन भयो, मैले बैनी जमुनालाई सो कुरा सुनाएँ भन्नेसमेत बेहोराको पीडिता रमाले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७०।०५।०४ गते बिहान दुर्गाप्रसाद खत्री पीडिताको घर आई एक्लै भएको अवस्थामा पीडितालाई भित्र लगी जबरजस्ती गरेको र सबै भई माइती नेपालमा गएकोमा त्यहाँबाट प्रहरीमा जानु भनेकाले इलाका प्रहरी कार्यालय, पशुपतिनगरमा गई जाहेरी गरेको हो । पीडिता सानैदेखि सुस्तमनस्थितिकी हुन् । मिति २०७०।०५।१९ मा भएको वस्तुस्थिति मुचुल्काको बेहोरा र सहीछाप मेरो हो भन्नेसमेत बेहोराको वस्तुस्थिति मुचुल्काका मानिस ठाकुर नेपालले सुरू अदालतमा गरेको बकपत्र ।
मिति २०७०।०५।०४ गते राति करिब ९ बजे म र प्रतिवादी सँगै पीडिताको घर गयौं । त्यहाँ लगभग १५० जना जति मानिसहरू थिए । त्यहाँ पीडिता र प्रतिवादीलाई राखी करणी गरेको हो, होइन भन्ने विषयमा छलफल हुँदा विवाद समाधान नभएपछि माइती नेपालमा गई सोपश्चात् इलाका प्रहरी कार्यालय, पशुपतिनगर गएको हो । त्यसपछि म घरतिर लागेँ भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षी रामबहादुर बस्नेतले सुरू अदालतमा गरेको बकपत्र ।
प्रतिवादी दुर्गाप्रसाद खत्रीको अंशलगायत अन्य सम्पत्ति रोक्का राख्नु भन्ने सुरू इलाम जिल्ला अदालतको मिति २०७०।०७।११ को आदेशानुसार मिति २०७०।११।२८ मा अंश रोक्का मुचल्का
भएको ।
इलाम अस्पतालको च.नं.२५२ मिति २०७१।०२।०६ को पत्रबाट पीडितको भेजाइनल स्वाब परीक्षण प्रतिवेदन प्राप्त भई मिसिल संलग्न
रहेको ।
मिसिल संलग्न जाहेरी दरखास्त, प्रतिवादीको मौकाको बयान, जाहेरवालाको बकपत्र, वस्तुस्थिति मुचुल्का, अधिकारप्राप्त अधिकारीसमक्ष गरेको कागज, पीडिताको यस अदालतमा गरेको बकपत्रसमेतका तथ्य एवं आधार प्रमाणसमेतबाट प्रतिवादी दुर्गाप्रसाद खत्रीले अभियोग माग दाबी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको पुष्टि हुँदा प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद हुने ठहर्छ । साथै, पीडितले प्रतिवादीबाट जबरजस्ती करणीको महलको १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.३०,०००।- भरिपाउनेसमेत ठहर्छ । प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. अनुसार थप सजाय माग दाबी सम्बन्धमा हेर्दा, पीडितले प्राप्त गरेको अपाङ्गताको परिचयपत्र प्रस्तुत मुद्दाको जाहेरी दरखास्त मिति २०७०।०५।०५ मा परेपश्चात् मिति २०७०।०५।०९ मा प्राप्त गरेको देखिनुका साथै निजले अनुसन्धानको क्रममा कागज गर्दा तथा यस अदालतमा बकपत्र गर्दा सोधिएका प्रश्नहरूको युक्तियुक्त जवाफ दिएको र सो परिचयपत्रमा उल्लिखित अति अशक्त, अपाङ्गताको परिभाषाभित्र निज पीडित पर्ने नदेखिँदा प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३ क नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी पुग्न नसक्ने ठहर्छ भन्ने सुरू इलाम जिल्ला अदालतबाट मिति २०७१।०२।२२ मा भएको फैसला ।
मुलुकी ऐन, जबरजस्ती करणी महलको ३क. नं. मा महिलालाई सामूहिक रूपमा जबरजस्ती करणी गर्ने वा गर्भवती, अशक्त वा अपाङ्ग महिलालाई जबरजस्ती करणी गर्नेलाई यस महलमा लेखिएको सजायमा थप पाँच वर्ष कैद गर्नुपर्छ भन्ने प्रस्ट कानूनी व्यवस्था रहेको छ । सुरू जिल्ला अदालतबाट फैसला गरिँदा कुनै व्यक्तिले अपाङ्गताको परिचय प्राप्त गरेपछि मात्र अपाङ्ग ठहर्ने अपाङ्गताको परिचय प्राप्त गर्नुअघिको अपाङ्गलाई अपाङ्ग नमानिने जस्ता आधार पनि लिएको पाइन्छ । अपाङ्गता भएकै कारणले अपाङ्गताको परिचयपत्र राज्यले प्रदान गर्ने हो । मिति २०७०।०५।०५ मा जाहेरी दिएपछि २०७०।०५।०९ मा प्राप्त गरेको परिचयपत्रबाट जबरजस्ती करणीको ३क. नं. बमोजिमको थप हुने सजायलाई नठहर्याएको सुरूको फैसला प्रमाण मूल्याङ्कनको प्रश्नमा गम्भीर त्रुटि हुँदा सो हदसम्मको फैसला बदर गरी प्रतिवादीलाई सो जबरजस्ती करणी महलको ३क. नं. बमोजिमको थप सजायसमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत इलाममा दर्ता भएको पुनरावेदनपत्र ।
प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायको दाबी नपुग्नेसमेत ठहर्याएको सुरू इलाम जिल्ला अदालतको मिति २०७१।०२।२२ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने तत्कालीन पुनरावेदन अदालत इलामको मिति २०७१।१२।३० को फैसला ।
यी पीडित बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुन् भनी मिसिल संलग्न रहेको किटानी जाहेरी दरखास्त, ठाकुर नेपालसमेतको मौकाको कागज र बकपत्रको स. ज. १० मा पीडित अपाङ्गता भएको भनी स्पष्ट खुली आएको र पीडितको परिचय पत्र तथा स्वास्थ्य परीक्षण रिपोर्टमा पीडित सुस्तमनस्थिति भएको उल्लेख भएबाट पनि पीडित सुस्तमनस्थिति भएकी अपाङ्ग भन्ने पुष्टि भइरहेको अवस्थामा जबरजस्ती करणीको महलको ३क. नं. को गलत व्याख्या गरी सो नं. बमोजिम थप सजाय नगर्ने गरी भएको फैसला त्रुटिपूर्ण छ । कुनै व्यक्तिले अपाङ्गताको परिचय प्राप्त गरेपछि मात्र अपाङ्ग ठहर्ने अपाङ्गताको परिचयपत्र प्राप्त गर्नुअघि अपाङ्ग नठहर्ने भन्ने
होइन । अपाङ्गता भएकै कारणले अपाङ्गताको परिचय पत्र राज्यले प्रदान गर्ने हो र निश्चित समयावधिभित्र परिचयपत्र प्राप्त गरिसक्नुपर्ने कानूनी व्यवस्थासमेत नभएको अवस्थामा आधिकारिक रूपमा सरकारी निकायबाट प्राप्त गरेको अपाङ्गताको परिचयपत्रलाई प्रमाणमा नलिई मिति २०७०।०५।०५ मा जाहेरी दिएको र मिति २०७०।०५।०९ मा मात्र प्रमाणपत्र प्राप्त गरेको भन्ने आधारमा जबरजस्ती करणीको ३क. नं. बमोजिमको थप सजाय नहुने भनी प्रमाणको गलत मूल्याङ्कन गरी दाबीबमोजिम जबरजस्ती करणीको ३क. नं. बमोजिम थप सजाय नहुने ठहर गरी भएको तत्कालीन पुनरावेदन अदालत इलामको फैसला सो हदसम्म गम्भीर कानूनी त्रुटिपूर्ण हुँदा सो हदसम्मको फैसला बदर गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा दर्ता हुन आएको मुद्दा दोहोर्याई हेरिपाउँ निवेदन ।
यसमा जाहेरी परेपछि पीडितको जाँच गरी निजलाई दिइएको अपाङ्गताको प्रमाणपत्र सोही कारणले अमान्य हुने कानूनी व्यवस्था नरहेको र निज यथार्थ रूपमा अपाङ्ग भए नभएको कुरा स्वास्थ्य विशेषज्ञहरूको परीक्षणबाट मात्र यकिन हुने हुँदा सोबमोजिम यकिन गरी दिइएको प्रमाणपत्रलाई बिना आधार अमान्य ठहर्याएको पुनरावेदन अदालत इलामको मिति २०७१।१२।३० को फैसलामा मुलुकी ऐन, जबरजस्ती करणी महलको ३क. नं. र प्रमाण ऐन, २०३१ को दफा ९, १०, १९ र ५४ को त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । नियमबमोजिम गर्नु भन्ने यस अदालतको मिति २०७३।०१।१४ को आदेश ।
ठहर खण्ड
नियमबमोजिम दैनिक तथा साप्ताहिक पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजातहरूको अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री अर्जुन कोइरालाले, पीडित बौद्धिक अपाङ्गता भएकी व्यक्ति रहेको भन्ने तथ्य निजले प्राप्त गरेको अपाङ्गताको परिचयपत्रबाट पुष्टि भएको अवस्था छ । उक्त तथ्य मौकामा कागज गर्ने व्यक्ति तथा अस्पतालबाट भएको निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि खुलेको छ । पीडित एक बौद्धिक अपाङ्गता भएको तथ्य सम्पूर्ण मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भएको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायसमेत हुनुपर्नेमा सो नगरेको हदसम्म तत्कालीन पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायसमेत गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी दुर्गाप्रसाद खत्रीको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापाले, पीडितले अपाङ्गताको परिचयपत्र वारदातको सम्बन्धमा जाहेरी परेको मितिभन्दा पछिल्लो मितिमा लिएको भन्ने देखिन्छ । यसरी वारदात मितिभन्दा पछि लिएको परिचयपत्रको न्यायको रोहमा प्रामाणिक मूल्य हुँदैन । पीडितले अदालतमा संरक्षकबिना नै आफूमाथि भएको घटनाको सम्पूर्ण विवरण स्पष्ट खुलाई बकपत्रसमेत गरेको अवस्थामा निजले प्राप्त गरेको अपाङ्गताको परिचयपत्र शंकास्पद देखिन्छ । तसर्थ, ठोस र वस्तुनिष्ठ प्रमाणले निज बौद्धिक अपाङ्गता भएकी व्यक्ति हो भनी पुष्टि हुन नसकेको अवस्थामा प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने मागदाबी नपुग्ने ठहरी भएको तत्कालीन पुनरावेदन अदालत, इलामको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त बहससमेत सुनी तत्कालीन पुनरावेदन अदालत इलामबाट मिति २०७१।१२।३० मा भएको फैसला मिलेको छ वा छैन ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा
होइन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी दुर्गाप्रसाद खत्रीले मिति २०७०।०५।०४ गते वर्ष २५ की बौद्धिक अपाङ्गता भएकी परिवर्तित नाम रमालाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम सजाय गरी पाउनका साथै पीडित बौद्धिक अपाङ्गता सुस्तमनस्थिति भएकी व्यक्ति भन्ने देखिँदा निज प्रतिवादीलाई ऐ. महलको ३क. नं. बमोजिम थप सजाय हुन र ऐ.महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादी दुर्गाप्रसाद खत्रीले जबरजस्ती करणीको महलको १ नं.बमोजिमको कसुर गरेको पुष्टि हुँदा निज प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३(५) नं. बमोजिम ५ वर्ष कैद हुनका साथै पीडितले प्रतिवादीबाट ऐ. महलको १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.३०,०००।- भरिपाउने र ऐ.महलको ३क. नं. बमोजिम थप सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी पुग्न नसक्ने ठहरी सुरू इलाम जिल्ला अदालतबाट फैसला भएको रहेछ । प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजाय नगरेको हदसम्मको उक्त फैसलाउपर वादी नेपाल सरकारको पुनरावेदन परेकोमा तत्कालीन पुनरावेदन अदालत इलामबाट सुरू फैसला सदर भएको रहेछ । उक्त फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाउँ भनी निवेदन परेकोमा मिति २०७३।०१।१४ मा अनुमति प्रदान भई पुनरावेदनको रोहमा प्रस्तुत मुद्दा यस इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको देखियो ।
३. मिसिल संलग्न रहेका किटानी जाहेरी दरखास्त, मौकाको कागज तथा राज्यबाट प्रदान गरिएको पीडितको अपाङ्गताको परिचयपत्र तथा स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पीडित सुस्तमनस्थिति भएको उल्लेख भएबाट पीडित बौद्धिक अपाङ्गता सुस्तमनस्थिति भएकी व्यक्ति भनी स्पष्ट खुली आएको अवस्थामा जबरजस्ती करणीको महलको ३क. नं. को गलत व्याख्या गरी प्रतिवादी दुर्गाप्रसाद खत्रीलाई सो नं. बमोजिम थप सजाय नगर्ने गरी भएको तत्कालीन पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायसमेत गरिपाउँ भन्ने वादी नेपाल सरकारको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ । निज प्रतिवादीलाई जबरजस्ती करणीको कसुर ठहर भई जबरजस्ती करणीको महलको ३(५) नं. अनुसार ५ वर्ष कैद सजाय र ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितले क्षतिपूर्तिबापत रू.३०,०००।- भरिपाउने ठहरी भएको सुरू अदालतको फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत तथा यस अदालतमा समेत पुनरावेदन परेको नदेखिँदा वादी नेपाल सरकारको उल्लिखित पुनरावेदन जिकिरमा नै सीमित रही निर्णय दिनुपर्ने देखियो ।
४. वारदात मिति २०७०।०५।०४ गतेका दिन घरमा मेरी दिदी केही सुस्तमनस्थिति भएकी पीडित परिवर्तित नाम रमा मात्र हुनुहुन्थ्यो । यसरी सुस्तमनस्थिति भएकी एक अपाङ्ग महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गर्ने दुर्गाप्रसाद खत्रीलाई कारबाही गरिपाउँ भनी पीडितकी बहिनी परिवर्तित नाम जमुना नेपालले जाहेरी दरखास्त दिएको देखिन्छ । त्यसैगरी, अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय, पशुपतिनगर, इलामका अनुसन्धान अधिकृतसमक्ष मिति २०७०।०५।०५ गते पीडित परिवर्तित नाम रमाले घटनाको सम्बन्धमा लेखाएको कागजको रोहवरमा ललिता नेपाल, तारा राई र जाहेरवाली पीडितकी बहिनी जमुना नेपालसमेत बसेको देखिन्छ ।
५. पीडित बौद्धिक अपाङ्गता सुस्तमनस्थिति भएकी व्यक्ति भएको भन्ने तथ्य अनुसन्धानको क्रममा तयार भएको वस्तुस्थिति मुचुल्कामा खगेन्द्र आचार्य, वेदप्रसाद नेपाल, युवक नेपाल तथा ठाकुर नेपालसमेतले खुलाई दिएको बेहोराबाट समेत खुल्न आएको छ । साथै, उक्त वस्तुस्थिति मुचुल्काको कागज गर्ने व्यक्तिहरूमध्ये ठाकुर नेपालले अदालतसमक्ष गरेको बकपत्रको प्रतिवादीतर्फका कानून व्यवसायीले गरेको जिरह खण्ड तथा स.ज. १० मा पीडिता खुलेर बोल्न र राम्ररी पढ्न नसक्ने भएकाले बौद्धिक अपाङ्ग भनेको हुँ, निज सानै उमेरदेखि नै सुस्तमनस्थितिकी हुन् भनी वस्तुस्थिति मुचुल्काको बेहोरा समर्थित हुने गरी लेखाएको देखिन्छ । यसरी पीडितको घर छिमेकमा रहेका व्यक्ति ठाकुर नेपालले पीडित सानै उमेरदेखि सुस्तमनस्थितिकी भएको भनी निजको मानसिक अवस्थाको सम्बन्धमा अनुसन्धानदेखि अदालतमा समेत व्यक्त गरेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ ले “कुनै काम घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रूपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ” भन्ने कानूनी व्यवस्थाको सन्दर्भमा अन्यथा भन्नुपर्ने देखिएन ।
६. मिसिल संलग्न रहेको इलाम अस्पतालबाट मिति २०७०।०५।०६ मा पठाइएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि पीडित परिवर्तित नाम रमा सुस्तमनस्थितिको भएको भन्नेसमेत बेहोरा खुल्न आएको देखिन्छ । साथसाथै, महिला तथा बालबालिका कार्यालय, इलामबाट मिति २०७०।०५।०९ मा जारी भएको पीडित परिवर्तित नाम रमाको अपाङ्गता परिचयपत्रको प्रतिलिपिमा परिवर्तित नामः रमा, जन्ममितिः २०४५।०३।०८ र अपाङ्गताको किसिमः बौद्धिक अपाङ्गता (सुस्त) भन्नेसमेत बेहोरा उल्लेख भएको देखिन्छ । यसरी सरकारी अस्पतालबाट तयार भएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र सरकारी निकायकै रूपमा रहेको महिला तथा बालबालिका कार्यालय, इलामबाट जारी भएको अपाङ्गताको प्रमाणपत्रबाट पीडित बौद्धिक अपाङ्गता सुस्तमनस्थितिकी व्यक्ति भएको तथ्य स्थापित भएको देखिन्छ ।
७. मिति २०७०।०५।०४ गते वारदात भई मिति २०७०।०५।०५ मा जाहेरी परेको र जाहेरी परेपश्चात् पीडितले अपाङ्गताको प्रमाणपत्र मिति २०७०।०५।०९ मा मात्र लिएको तथा पीडित अदालतसमक्ष बकपत्रका लागि उपस्थित हुँदा संरक्षकबिना नै आफू एक्लै उपस्थित भई बकपत्रमा सोधिएको सवालको जवाफ पीडितले असङ्गत प्रकृतिको नदिई सहजरूपमा दिएको हुँदा पीडितको अदालतसमक्षको बकपत्रबाट बौद्धिक अपाङ्ग रहेको नदेखिएको र अन्य कुनै वस्तुनिष्ठ प्रमाणबाट पीडित बौद्धिक अपाङ्ग हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा वारदात मिति र जाहेरी दर्तापश्चात् प्राप्त अपाङ्गताको प्रमाणपत्रकै आधारमा मात्र पीडित बौद्धिक अपाङ्ग हुन् भनी मान्न न्यायसम्मत नहुने भनी सुरू तथा पुनरावेदन अदालतबाट भएको फैसलामा आधार लिएको देखिन्छ ।
८. यस सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा २(ख) ले “अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ” भनी परिभाषित गरी ऐ. ऐनको अनुसूचीको (क)७. मा बौद्धिक अपाङ्गताः उमेरको वृद्धिसँगै सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति; (ख) अशक्तताको गम्भीरताको आधारमा (ख) (४) सामान्य अपाङ्गताः सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रूपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति र (ख) (३) मध्यम अपाङ्गताः भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरूको सहयोग लिई वा नलिई नियमित दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति भनी वर्गीकरण गरिएको छ भने अपाङ्गताको परिचयपत्र वितरणलगायत अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारसम्बन्धी विभिन्न व्यवस्थासमेत गरेको देखिन्छ । अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ लाई खारेज गरी लागु भएको उक्त ऐनको उल्लिखित परिभाषालाई प्रस्तुत मुद्दामा पनि सान्दर्भिक मान्न सकिन्छ ।
९. अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिलेपनि पुष्टि हुने हुन्छ । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न
सक्दैन । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रदान गर्ने मात्र हो । प्रस्तुत मुद्दाकी पीडित परिवर्तित नाम रमा पूर्ण रूपमा बौद्धिक अपाङ्गता भएको व्यक्ति नभई केही सुस्तमनस्थिति भएकी भन्ने बेहोरा जाहेरी दरखास्तको बेहोराबाट खुल्दछ । पीडित परिवर्तित नाम रमाले कक्षा ६ सम्मको अध्ययन गरेको भन्ने पनि पीडितकी बहिनी परिवर्तित नाम जमुना नेपालले अदालतसमक्ष गरेको बकपत्रको स. ज. ११ बाट देखिन्छ । यस अवस्थामा पीडित बौद्धिक अशक्तताका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन नसक्ने अवस्थाकी व्यक्ति भए तापनि सामान्य पढलेख गरेर पिता तथा बहिनीको सामान्य रेखदेखमा आफ्नो दैनिक क्रियाकलापसम्म गर्दै आएकी भन्ने देखिन्छ । साथै, पीडित तथा जाहेरवालीले अदालतसमक्ष बकपत्र गर्दा प्रतिवादीतर्फबाट उपस्थित कानून व्यवसायी तथा अदालतको तर्फबाट समेत पीडितको बौद्धिक अपाङ्गताको विषयलाई लिएर कुनै जिरह तथा सोधपुछ भएकोसमेत देखिएन । तसर्थ, कानूनले नै अपाङ्गता भएका व्यक्तिले यो यति समयभित्र अपाङ्गताको परिचयपत्र लिइसक्नुपर्ने भनी समय हद नतोकेको अवस्थामा बौद्धिक अपाङ्गता भएकी पीडित परिवर्तित नाम रमाले वारदातपश्चात् निजको अपाङ्गताको औपचारिक प्रमाणपत्र प्राप्त गरे पनि जाहेरीदेखि खडा भएका सम्पूर्ण प्रमाणहरूले सो तथ्यलाई समर्थन गरिरहेको र ती प्रमाणहरू अन्यथा हो भनी प्रतिवादीले कुनै वस्तुनिष्ठ प्रमाणबाट खण्डन गर्न सकेको नदेखिँदा उक्त प्रमाणपत्र अन्यथा हो भन्न मिलेन । केवल वारदातपश्चात् प्रमाण खडा गरेको तथा पीडित अदालतसमक्ष बकपत्रका लागि उपस्थित हुँदा संरक्षकबिना नै आफू एक्लै उपस्थित भई असङ्गत प्रकृतिको बकपत्र नगरेको भन्ने आधारमा प्रतिवादी दुर्गाप्रसाद खत्री चौलागाईंलाई जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजाय नहुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट भएको फैसला न्यायको रोहमा मनासिब देखिएन ।
१०. अतः माथि विवेचित मुद्दाको तथ्य, प्रमाण र कानूनी व्यवस्थाहरूसमेतको आधार कारणबाट प्रतिवादी दुर्गाप्रसाद खत्री चौलागाईंलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायको दाबी नपुग्नेसमेत ठहर्याएको सुरू इलाम जिल्ला अदालतको मिति २०७१।०२।२२ को फैसला सदर हुने ठहरी भएको तत्कालीन पुनरावेदन अदालत इलामको मिति २०७१।१२।३० को फैसला सो हदसम्म नमिलेको देखिँदा केही उल्टी भई प्रतिवादी दुर्गाप्रसाद खत्री चौलागाईंलाई अभियोग दाबीबमोजिम साबिक मुलुकी ऐन, २०२० को जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप ५ वर्ष कैद सजायसमेत हुने ठहर्छ । बाँकी तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी दुर्गाप्रसाद खत्री चौलागाईंलाई मुलुकी ऐन, २०२० को जबरजस्ती करणीको महलको ३क. नं. बमोजिम थप सजायको अभियोग दाबी नपुग्नेसमेत ठहरी भएको सुरू इलाम जिल्ला अदालत तथा तत्कालीन पुनरावेदन अदालत इलामको फैसला केही उल्टी भई अभियोग दाबीबमोजिम थप ५ (पाँच) वर्ष कैद सजायसमेत हुने ठहरेकोले निजलाई सुरू इलाम जिल्ला अदालतको फैसलाबमोजिम राखिएको ५ (पाँच) वर्ष कैदको लगत संशोधन गरी १० वर्ष कैद सजायको लगत कसी निज प्रतिवादी कैदमा बसिसकेको अवधि कट्टा गरी बाँकी असुलउपर गर्नुपर्ने कैदको लगत कायम गरी कानूनबमोजिम असुलउपर गर्नु भनी सुरू इलाम जिल्ला अदालतमा लेखी पठाउनू--------------------१
प्रस्तुत फैसलाको प्रतिलिपिसमेत साथै राखी महान्यायाधिवक्ताको कार्यालयलाई फैसलाको जानकारी दिनू----------------------------------------२
प्रस्तुत फैसला विद्युतीय प्रणालीमा अपलोड गरी दायरीको लगत कट्टा गर्नु र मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू------------------------३
उक्त रायमा सहमत छु ।
न्या.बमकुमार श्रेष्ठ
इजलास अधिकृतः हेमा पाण्डे
इति संवत् २०७७ साल साउन १२ गते रोज २ शुभम् ।